राष्ट्रपति पौडेल दोहाबाट जेनेभा प्रस्थान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्यान्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ अधिवेशनमा सहभागी हुने सिलसिलामा आज बिहान कतारको राजधानी दोहाबाट त्यसतर्फ प्रस्थान गरेका छन् ।  

मंगलबार राति दोहा पुगेको राष्ट्रपति नेतृत्वको प्रतिनिधिमण्डललाई हमाद इन्टरनेसनल विमानस्थलमा कतारका लागि नेपालका राजदूत नरेशविक्रम ढकाल, कतारी विदेश मन्त्रालय र नेपाली राजदूतावासका कर्मचारीले बिदाइ गरेका राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । 


राष्ट्रपति पौडेलले आज स्वीस महासंघका राष्ट्रपति भिओला आमहर्डसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भोलि ९बिहीबार० उनले सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन मञ्चको उद्घाटन सत्रलाई सम्बोधन गर्नेछन् । भोलि नै राष्ट्रपति पौडेलसँग अन्तर्राष्ट्रिय श्रम संगठन ९आईएलओ०का महानिर्देशक गिल्बर्ट एफ होग्ङबोले शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

राष्ट्रपति पौडेल आगामी असार १ गते जेनेभाबाट बर्लिनतर्फ प्रस्थान गर्नेछन् । संघीय गणतन्त्र जर्मनीका राष्ट्रपति फ्रैंक–वाल्टर स्टाइनमायेरको निमन्त्रणामा राष्ट्रपति पौडेल जर्मनीको औपचारिक भ्रमणमा जान लागेका हुन् । उनले असार ३ गते आफ्ना जर्मन समकक्षीसँग औपचारिक वार्ता गर्नेछन् । 

जर्मनीमा राष्ट्रपति पौडेलले पोष्टडाम इस्टिच्युट फर क्लाइमेट इम्प्याक्ट रिसर्च इन्स्टिच्युट, जर्मन रिसर्च फर जियो– साइन्स, टेलेग्राफफेनवर्ग क्याम्पसको अवलोकन गर्ने कार्यक्रम छ । साथै सेसिलीयानहोफ एण्ड स्यान्ससोसी प्यालेस गार्डेन र सेसिलीयानहोफ एण्ड स्यान्ससोसी प्यालेस म्युजियमको पनि अवलोकन गर्ने कार्यक्रम छ ।

असार २ गते गैरआवासीय नेपाली संघ जर्मनीले राष्ट्रपति पौडेललाई अभिनन्दन गर्ने कार्यक्रम छ । सोही कार्यक्रममा उनले जर्मनीमा रहेका नेपालीलाई सम्बोधन गर्नेछन् ।  

राष्ट्रपतिले असार ३ गते जर्मनी ‘ट्रेड एण्ड इनभेष्ट’मा आबद्ध उद्योगी व्यापारीसँग भेट गर्ने कार्यक्रम छ । राष्ट्रपति पौडेल असार ५ गते स्वदेश फर्कनेछन् । 

तीन प्रदेशमा वर्षाको सम्भावना, यस्तो रहनेछ देशभरको मौसम

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको जनाएको छ । यस्तै बाँकी भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। महाशाखाका अनुसार अहिले मनसुनी प्रणालीको प्रभावका कारण कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । यस्तै, सुदूरपश्चिम, कर्णाली लगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनुका साथै बाँकी भागको मैसम सफा रहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज राति भने कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज सूर्योदय बिहान ५ बजेर ७ मिनेटमा भयो भने सूर्यास्त साँझ ७ बजे हुनेछ ।

राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपतिलाई

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको पदीय जिम्मेवारी उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई प्रदान गरिएको छ । राष्ट्रपति पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ अधिवेशनमा सहभागी हुन स्वीट्जरल्याण्डको जेनेभा गएका छन्‌ । नेपालको संविधानको धारा ६७ को उपधारा ९२० बमोजिम राष्ट्रपतिले उक्त जिम्मेवारी उपराष्ट्रपतिले सम्पादन गर्नेगरी तोकेका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

पाइलट पन्तको उडान निलम्बन फुकुवा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल वायुसेवा निगमका विमान चालक भावना पन्तमाथि निलम्बन फुकुवा गरेको छ। पन्तले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निषेधित क्षेत्रमा निषेधिक काम गरेको उजुरीका आधारमा ‘एक्टिभ ड्युटी’बाट हटाएको भएको थियो। तर, छानबिनका क्रममा पन्त दोषी नदेखिएपछि उडान निलम्बन फुकुवा गरिएको क्यानका प्रवक्ता हंसराज पाण्डेले जानकारी दिए।  उनले भने, “पाइलट पन्तविरुद्ध निषेधित क्षेत्रमा निषेधित कार्य गरेको भन्ने उजुरी परेको थियो, छानबिन गर्दा गम्भीर र सुरक्षा असर नपर्ने देखिएकाले उहाँको उडान निलम्बन फुकुवा गरिएको हो।” नेपाल वायुसेवा निगमको न्यारो बडी जहाज ‘ए३२०-२००’ का पाइलट पन्तलाई क्यानले यही जेठ २१ गते ‘एक्टिभ ड्युटी’ बाट हटाएको थियो। रासस

कोशी प्रदेश  योजना आयोगका सदस्यले गरे शपथग्रहण

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश योजना आयोगका नवनियुक्त सदस्यलाई आज पद तथा गोपनीयताको शपथग्रहण गराएका छन्। मुख्यमन्त्री कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आज आयोजित समारोहमा प्रदेश योजना आयोगका सदस्यलाई शपथग्रहण गराएका हुन्।  प्रदेश मन्त्रिपरिषद्को हिजोको बैठकले काठमाडौँ महानगरपालिका–९ का डा सीताराम बस्नेत, सोलुखुम्बु जिल्ला मुक्ली गाउँपालिका–६ का किशोरकुमार राई र मोरङ जिल्ला केराबारी गाउँपालिका–२ की नमिता न्यौपानेलाई सदस्य नियुक्त गरेको थियो। समारोहमा प्रदेशका विभिन्न मन्त्रालयका मन्त्रीहरु, प्रदेशसभा सदस्यहरु, प्रदेश योजना आयोगका उपाध्यक्षलगायतको उपस्थिति थियो।

नेप्सेमा हरियाली : ३३.१५ अंकको वृद्धि,  कारोबार कति?

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक मंगलबार ३३.१५ अंकले बढेर २११५.२४ विन्दुमा पुगेको छ । यस दिन नेप्से उच्च अंकले बढेसँग सबै परिसूचक हरियाली छाएको छ। गत सोमबारको तुलनामा नेप्से १.६९ प्रतिशतले वृद्धि भएको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार मंगलबार पाँच अर्ब ५५ करोड ५३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सोमबार पाँच अर्ब ४९ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । यसदिन २०३ कम्पनीको सेयर मूल्य बढेको छ भने ४१ कम्पनीको सेयर मूल्य घटेको छ । एसियन हाइड्रोपावर र दोर्दी खोला जलविद्युत् कम्पनीको सेयर मूल्य भने स्थिर छ । मंगलबार बरूण हाइड्रोपावर, ग्रीनभेन्चर, कुथेली बुखरी स्मल हाइड्रोपावर र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । मंगलबार कारोबारमा आएका १३ वटै समूहको परिसूचक वृद्धि भएको छ । सर्वाधिक परिसूचक वृद्धि हाइड्रोपावर समूहको भएको छ । यो समूहको परिसूचक २।५८ प्रतिशतले वृद्धि भएको छ । 

बालेन, रवि र हर्कको उदयको कारण नयाँ संविधान : झक्कु सुवेदी

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का राष्ट्रियसभा सदस्य झक्कुप्रसाद सुवेदीले आफूहरूले गरेको बलिदानीबाट आएको संविधानका कारण रवि लामिछाने, मेयर बालेन्द्र साह र हर्क साम्पाङको उदय भएको विचार व्यक्त गरेका छन् । रास्वपा अध्यक्ष रवि, काठमाडौँका मेयर बालेन्द्र र धरानका मेयर हर्कको उदय नयाँ संविधानका कारण भएको बताउँदै जनता पुराना पार्टीसँग रिसाएर नयाँ राजनीतिक दल आएको भन्ने कुरा सत्य नभएको बताउदै उनले माओवादी लगायत राजनीतिक शक्तिको बलिदानको उपलब्धि भएको उल्लेख गरे । मंगलवारको राष्ट्रियसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले यस्तो तथ्यलाई अहिले हल्लाले छोपेको बताए। उनले पुराना पार्टीप्रतिको निराशाले उनीहरूको उदय भएको नभई नयाँ संविधानले उनीहरूलाई जन्माएको बताए। उनले जनताको शिर उठाउने गणतन्त्र र समानुपातिक निर्वाचन प्रणालीले लामिछाने, बालेन र हर्कहरूलाई निर्वाचित गरेको बताए। सुवेदीले भने, ‘कसैले के भन्छन् भने नयाँ पार्टी आए। किन नयाँ पार्टी आए रे भने जनता पुराना पार्टीसँग रिसाएर नयाँ पार्टी आयो रे तर मलाई त्यस्तो लाग्दैन। हामी समस्या आइसकेपछि समाधान खोज्नेतिर जानुपर्छ। तथ्यलाई अहिले हल्लाले छोपेको छ। तथ्यले के भन्छ भने बालेन आए, हर्क आए, रविहरू आए तर उनीहरूले भोट पाए, चुनाव जिते पुराना पार्टीहरूसँगको निराशाले होइन। बालेन, हर्क र रविहरू नयाँ संविधानले जन्माएका हुन्। यदि यो संविधान हाम्रो ठूलो बलिदानबाट आउँदैनथ्यो भने रवि, बालेन र हर्कहरूको यहाँ उपस्थिति देखिँदैनथ्यो।’ उनले गणतन्त्रले जनताको शिर उठाएको बताए ।

नयाँ चरणको आर्थिक सुधारको बाटोमा छौँ : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले तीन खम्बे अर्थनीति अनुसार नै नयाँ चरणको आर्थिक सुधारको बाटोमा अघि बढेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा निजी क्षेत्रलाई अग्रभूमिकामा राख्दै संविधानमा उल्लेख तीन खम्बे अर्थनीति अनुसारनै नयाँ चरणको आर्थिक सुधारको बाटोमा अघि बढेको बताएका हुन् । राजनीतिक नेतृत्व लगायतका विज्ञहरूको सहभागितामा आर्थिक सुधारका लागि नीतिको निरन्तरतासहितको रोडम्याप आयोगमार्फत बनाइने उनले बताए ।  अर्थमन्त्री पुनले जलविद्युत क्षेत्र, सिमेन्ट क्षेत्र लगायतमा पुरानै नीति भएकै कारण उक्त क्षेत्र राम्रो भएको भन्दै सूचना प्रविधि लगाएका रुपान्तकारी क्षेत्रमा पनि साझा रोडम्याप बनाउन जरुरी रहेको धारणा राखे ।  सरकारले लिएको लक्ष्य अनुसार नयाँ चरणको आर्थिक सुधारको काममा सरकार प्रतिवद्ध रहेको उनको भनाइ छ । 

आम जनताले नबुझ्ने सूचना र प्रविधि क्षेत्र, धेरै अनियमितता हुने क्षेत्र : मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना र प्रविधिको क्षेत्र धेरै अनियमितता हुने गरेको स्वीकार गरेकी छन् । मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन्। उनले  सूचना र प्रविधिको क्षेत्र आम जनताले नबुझ्ने क्षेत्र र धेरै अनियमितता हुने क्षेत्र रहेको बताएकी हुन् ।  उनले अनियमिततालाई नियन्त्रण गर्न यस क्षेत्रलाई आम जनताले बुझ्न सक्नुपर्ने बताइन् । यस क्षेत्रको अनियमितताबारे सबैतिरबाट खबरदारी हुन आवश्यक रहेको उनको भनाई थियो ।  उनले भनिन्, ‘यो सूचना र प्रविधिको क्षेत्र भनेको आम जनताले नबुझ्ने क्षेत्र र असाध्यै धेरै अनियमितता हुने क्षेत्र हो । त्यो अनियमिततालाई नियन्त्रण गर्न पनि के गर्नुपर्छ भने यो क्षेत्रलाई आम जनताले बुझ्न सक्नुपर्छ । सबैतिरबाट खबरदारी हुनुपर्छ । जसरी अन्य क्षेत्रमा हुने अनियमितताको विषयमा सबै जानकार हुन्छन् । तर यो क्षेत्रमा हुने अनियमितताको बारेमा जानकार नहुँदा रहेछन् । त्यसकारण हाम्रा विगतका नीति, नियम, कानुन र जनतालाई सचेत गराउने कुरा मुख्य कुरा हो ।’ मन्त्री शर्माले आगामी आर्थिक वर्षलाई सूचना, प्रविधि दशकको प्रस्थान वर्षको रूपमा अगाडि बढाउने र सूचना प्रविधिलाई अर्थतन्त्रको खम्बाहरूका रूपमा स्थापित गर्ने बताइन् । नेपाललाई सूचना प्रविधि हबको रूपमा विकास गर्ने, सूचना प्रविधि क्षेत्रमा १० वर्षमा ३० खर्ब रुपैयाँ बराबरको सेवा निर्यात गर्ने र ५ लाखलाई प्रत्यक्ष, अप्रत्यक्ष १० लाखलाई रोजगारी सिर्जना गर्ने लक्ष्य निर्धारण गरिएको उनको जिकिर थियो ।  उनले भनिन्, ‘आगामी वर्षको बजेटले अब हामी कता जाँदैछौँ भन्ने प्रारम्भिक खाका तय गरेको छ । आगामी आर्थिक वर्षलाई सूचना, प्रविधि दशकको प्रस्थान वर्षको रूपमा अगाडि बढाउने र सूचना प्रविधिलाई अर्थतन्त्रको खम्बाहरूका रूपमा स्थापित गर्ने, नेपाललाई सूचना प्रविधि हबको रूपमा विकास गर्ने, सूचना प्रविधि क्षेत्रमा १० वर्षमा ३० खर्ब रुपैयाँ बराबरको सेवा निर्यात गर्ने र ५ लाखलाई प्रत्यक्ष, अप्रत्यक्ष १० लाखलाई रोजगारी सिर्जना गर्ने लक्ष्य निर्धारण गरिएको छ । हामीले अहिले एउटा सानो कार्यदल बनाएर भए पनि जसरी आइसिटी दशकलाई कसरी अघि यहाँ पनि कुरा उठ्यो, पहिलो वर्षमा, दोस्रो र तेस्रो वर्षमा के गर्छौँ रु कसरी यो लक्ष्य हासिल गर्छौँ भन्ने कुराको स्पष्ट दृष्टिकोण आवश्यक छ । यसको निम्ति सञ्चार मन्त्रालय अन्तर्गत कार्यदल बनाएर काम अघि बढाउने भनेर होमवर्क गरिरहेका छौँ । यसबाट हामीले स्पष्ट दृष्टिकोण ल्याउने छौँ ।’ मन्त्री शर्माले २०७६ सालमा सुरु भएको डिजिटल नेपाल फ्रेमवर्कको प्रभावकारी कार्यान्वयन हनु नसकेको बताइन् ।

चीनसँग सीमा र पाकिस्तानसँगको आतंकवाद मुद्दा समाधान गर्ने जयशंकरको विश्वास

काठमाडौं । भारतका विदेशमन्त्री एस जयशंकरले दोस्रोपटक विदेश मन्त्रालयको कार्यभार सम्हालेपछि दुई छिमेकी चीन र पाकिस्तानसँगको सम्बन्धका बारेमा प्रतिक्रिया दिएका छन् ।  जयशंकरले समाचार संस्था एएनआईसँग भनेका छन्, “खासगरी लोकतन्त्रमा कुनै पनि सरकार लगातार तीन पटक बन्छ भने यसले यो सन्देश दिन्छ कि– भारतमा राजनीतिक स्थिरता छ। जनता आफ्नो प्रधानमन्त्रीमाथि विश्वास गर्छन्।”  सो क्रममा विश्वसामु भारतको हित अगाडि बढाउने दाबी उनले गरे । “चीन र पाकिस्तान अलग देश हुन्। उनीहरूसँगको सम्बन्ध अलग छ। समस्या पनि अलग छन् । चीनसँग सीमासम्बन्धी केही मुद्दा बाँकी छन् । समाधान गर्ने हामी कोसिस गरिरहेका छौँ । पाकिस्तानसँग वर्षौंदेखि सीमा आतंकवाद मुद्दा छ । हेरौँ हामी यसको समाधान कसरी गर्छौँ,” जयशंकरले भने । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार जयशंकरलाई मन्त्री नियुक्त गरेका थिए। सोमबार मोदीले उनलाई दोस्रोपटक विदेशमन्त्रीको जिम्मेवारी दिएका हुन्।

सूनको मूल्य तीन दिनदेखि स्थिर

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तीन दिनदेखि स्थिर छ। गएको आइतबारयता सुन एकै मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार र आइतबार पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको थियो। तेजाबी सुन पनि सोमबारकै मूल्यमा कारोबार भइरहेको छ। तेजाबी सुन प्रतितोला एक लाख ४० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ८१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ८२५ रुपैयाँमा कारोबार भएको थियो ।

संसद्‌मा खेलकुदमन्त्री नआएपछि...

काठमाडौं । प्रतिनिधिसभा बैठकमा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको खोजीको भएको छ । मंगलबारको बैठकमा बजेटमाथिको मन्त्रालयगत छलफल गर्ने कार्यतालिकामा उल्लेख छ । सोहीअनुरुप सांसदहरुले मन्त्रालयगत खर्च कटौती प्रस्ताव पेस गरिरहेका थिए ।  सोही क्रममा कांग्रेस सांसद रामहरि खतिवडाले खेलकुदमन्त्रीको खोजी गरे । उनले मन्त्रालयगत बजेटमा उठेको प्रश्नको जवाफ मन्त्रीले दिनैपर्ने भन्दै अनिवार्य उपस्थितिबिना बैठकअघि बढ्न नसक्ने बताए ।  उनले बैठक स्थगन गरेर मन्त्री आएपछि बैठक अघि बढाइनुपर्ने माग राखे । त्यसपछि सभामुख देवराज घिमिरेले खेलकुद मन्त्रालयसम्बन्धी छलफल कार्यसूचीबाट हटाए ।

गण्डकीमा मनाङे र देवकोटा मन्त्री नियुक्त

पोखरा । गण्डकी प्रदेशमा स्वतन्त्र सांसद दीपक मनाङे (राजीव गुरुङ) र सोमबार फ्लोर क्रस गरेका सांसद फणिन्द्र देवकोटा मन्त्री बनेका छन् ।  उनीहरूलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले मंगलबार पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । मनाङेले भौतिक र देवकोटाले उर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

मलावीका उपराष्ट्रपतिसहित नौ जना सवार विमान बेपत्ता

एजेन्सी । मलावीका उप-राष्ट्रपति साउलोस चिलिमासहित नौ जना सवार एउटा विमान बेपत्ता भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । मलावी डिफेन्स फोर्सको विमान सोमबार बिहान राजधानी लिलोङवेबाट निस्किएपछि राडारबाट बाहिर गएको बताइएको छ । उक्त विमान स्थानीय समय अनुसार बिहान १० बजेपछि देशको उत्तरमा रहेको एक अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका लागि तय गरिएको थियो । सोमबार ढिलो सम्बोधन गर्दै राष्ट्रपति लाजरस चकवेराले खोजी तथा उद्धार कार्य जारी रहेको बताएका छन् । विमान बेपत्ता हुनुको कारण अहिलेसम्म थाहा नभएको त्यहाँका अधिकारीहरुले जनाएका छन् । चिलिमा तीन दिनअघि निधन भएका पूर्व क्याबिनेट मन्त्री राल्फ कसम्बाराको अन्त्येष्टिमा सरकारको प्रतिनिधित्व गर्न गएका थिए।

सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष सहित नौ जना पक्राउ

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीको टोलीले ठगी मुद्दामा अनुसन्धानका लागि सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठ सहित नौ जनालाई पक्राउ गरेको छ । ठगी मुद्दामा अनुसन्धानका लागि तत्कालीन अध्यक्ष राजेश श्रेष्ठ, सुनिलकुमार न्यौपाने, प्राडा गीता प्रधान, रमेशकुमार निरौला, रणबहादुर श्रेष्ठ, राजेशकुमार दली, उमाकुमारी श्रेष्ठ, शिवगोपाल रिसाल तथा अभिषेक बज्राचार्यलाई पक्राउ गरिएको सीआइबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक होबिन्द्र बोटगीले जानकारी दिए। यसअघि कमसल धितोमा बढी कर्जा प्रवाह गरेको आरोपमा गत फागुन १५ गते सेञ्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत सिइओ मनोज न्यौपाने र तुलसी गौतमसहितका अन्य कर्मचारी पक्राउ परेका थिए। सेञ्चुरी बैंकमा रहँदा कमसल धितोमा दुई अर्ब ११ करोड ६५ लाख ५५ हजार कर्जा प्रवाह गरेको सिआइबीको अनुसन्धानले देखाएको छ ।उक्त ऋण धितोभन्दा ९७ करोड ४१ लाख ७० हजार ७ सय ७२ ले बढी पाइएको सीआइबीको दाबी छ । हाल सेञ्चुरी बैंक प्रभु बैंकमा गाभिइसकेको छ । देउराली बहुउद्देशीय सहकारी संस्था लिमिटेडका अध्यक्ष रवीन्द्र चौलागाईंको योजना र मिलेमतोमा सेञ्चुरी बैंकका तत्कालीन चिफ क्रेडिट अफिसर राजेश भण्डारी, तत्कालीन सिइओ न्यौपाने, त्यसअघिका सिइओ गौतमलगायतका व्यक्तिले कमिसन लिई कम धितो राखेर बढी ऋण प्रवाह गरी बैंकलाई हानी नोक्सानी पुर्याएको आरोप छ । बचतकर्ताको सात अर्ब हिनामिनाको आरोप लागेका देउरालीका अध्यक्ष चौलागाईं अहिले प्रहरी हिरासतमा रहेका छन् ।

फ्लोर क्रस गर्ने प्रदेशसभा सदस्यलाई माओवादीले कारबाही गर्ने

गण्डकी । फ्लोर क्रस गरेर गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेशसभा संसदीय दलका सदस्य फणिन्द्र देवकोटालाई सो दलले कारबाही गर्ने भएको छ। संसदीय दलको ह्वीप उल्लङ्घन गरेकाले उहाँलाई कारबाहीको प्रकृया अगाडि बढाइएको माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमानले जानकारी दिए । “प्रकृया पूरा भएपछि सभामुखलाई कारबाहीको सूचना दिन्छौँ”, उनले भने, “संसदीय दलको निर्णय विपरीतको क्रियाकलाप गरेपछि उनलाई कारबाही गर्नुपर्ने अवस्था आएको हो ।” नेपाल समाजवादी पार्टी (नेसपा)मा आबद्ध देवकाटा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर गोरखा–२ (क) बाट निर्वाचित भएका थिए । राजनीतिक दल फरक रहेपनि प्रदेशसभामा उनी माओवादी केन्द्रको संसदीय दलको सदस्यका रुपमा रहेका छन् । राजनीतिक दलसम्बन्धी ऐनको दफा ४९ मा दुई वा दुईभन्दा बढी दलले एकल चुनाव चिन्ह लिई निर्वाचनमा भाग लिनसक्ने तर जुन दलले बढी सिट प्राप्त गर्छ त्यही दलका नाममा एउटा मात्र संसदीय दल गठन हुने व्यवस्था छ । यसैबीच नेपाल समाजवादी पार्टीका प्रवक्ता कृष्णा शर्माले प्रेस विज्ञप्ति जारी गर्दै प्रदेशसभा सदस्य फणिन्द्र देवकोटाले मुख्यमन्त्री पाण्डेलाई दिएको विश्वासको मत संविधानसम्मत् भएको दाबी गरे । “निर्वाचनपश्चात निर्वाचन आयोगले उहाँलाई नेपाल समाजवादी पार्टीको विजयी सांसदका रुपमा प्रमाणपत्र र परिचयपत्र दिएको हो । निर्वाचन आयोगमो अभिलेखमा समेत नेपाल समाजवादी पार्टीका प्रदेशसभा सदस्य भनेर उल्लेख गरेको अवस्था छ । तसर्थ गण्डकी प्रदेशसभामा पार्टीले संविधान र कानुनले दिएको अधिकार प्रयोग गरी विश्वासको मत दिएको हो”, विज्ञप्तिमा भनिएको छ ।