सुनको डल्लोसहित चार जना पक्राउ

काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित चार जना पक्राउ परेका छन् । भन्सार छलेर लैजान लगेको आरोपमा चार जनालाई पक्राउ गरेको नेपाल प्रहरीले जनाएको छ । 

कतार एयरको उडानमार्फत आएका मोरङ केराबारी गाउँपालिका–९ का ३१ वर्षीय सरोज कोइराला र रौतहट कटहरिया नगरपालिका–६ बस्ने २४ वर्षीय मोहम्मद इन्तेयाम आलमलाई शनिबार राति पक्राउ गरेको हो। उनीहरूलाई २५ ग्रामको सिक्री र ६९ ग्राम ९९ मिलिग्रामको काँचो सुनको डल्लोसहित पक्राउ गरेको हो।

उनीहरूलाई विमानस्थलको आगमन पार्किङ क्षेत्रबाट प्रहरीले पक्राउ गरेको थियो। शनिबार दिउँसो प्रहरीले थप दुई जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेहरूमा सप्तरी सुरुङ्गा नगरपालिका–५ बस्ने २१ वर्षीय मोहमद अरमान र सप्तरी खडक नगरपालिका–६ बस्ने ३७ वर्षीय ज्याउदिन मिँया छन् । उनीहरूबाट करिब ५० ग्राम सुनको सिक्री बरामद भएको थियो । ज्याउदिन कतार एयरको उडान दोहाबाट नेपाल आएका थिए। 

ज्याउदिनले भन्सार छली ल्याएको उक्त धातु अरमानलाई दिने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बुझाइने छ ।

फर्मासिस्टको लाइसेन्स परीक्षामा ११ प्रतिशत मात्र उत्तीर्ण

काठमाडौं । नेपाल फार्मेसी परिषद्ले लिएको पछिल्लो नाम दर्ता (लाइसेन्स) परीक्षामा ११.७५ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण भएका छन्। परिषद्ले यही जेठ २६ गते लिएको बी फार्मेसीको २५औँ लाइसेन्स परीक्षामा ८८५ जना सहभागी थिए । तीमध्ये १०४ परीक्षार्थी उत्तीर्ण भएका हुन् । परिषद्का अनुसार, परीक्षाका निम्ति सबैभन्दा धेरै आवेदन भारतीय विश्वविद्यालयबाट (५८.४३) प्रतिशत परेको थियो । सबैभन्दा कम बंगलादेश र पाकिस्तानका विश्वविद्यालयबाट पढेर आएका विद्यार्थीको ०.३२ प्रतिशत परेको थियो । नेपाली विद्यार्थीमा सबैभन्दा धेरै पूर्वाञ्चल विश्वविद्यालयबाट २४.१५ प्रतिशत र सबैभन्दा कम काठमाडौं विश्वविद्यालयका १.५२ प्रतिशत विद्यार्थी सहभागी थिए।

प्रदेश योजना आयोगको गाडीमा विद्यार्थीद्वारा आगजनी

विराटनगर । आन्दोलनरत विद्यार्थीको समूहले विराटनगरमा एउटा सरकारी गाडीमा आगजनी गरेको छ । आइतबार महेन्द्र मोरङ बहुमुखी क्याम्पस अगाडि विद्यार्थीको समूहले को–१ झ ६४४ नम्बरको कोसी प्रदेश योजना आयोगको स्कारपियो गाडीमा आगजनी गरेका हुन् ।   मोरङको रंगेली नगरपालिकाका नगर रक्षकलाई कुटपिट गरेको आरोपमा ६ विद्यार्थी शुक्रबार पक्राउ परेका थिए ।  पक्राउ परेको समूहले नगरपालिकाका कार्यवाहक प्रमुख एवं रंगेली–८ का वडाध्यक्ष ढकप्रसाद आचार्य र प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपानेमाथि पनि दुर्व्यवहार गरेको प्रहरीको भनाइ छ ।  उनीहरूविरुद्ध अभद्र व्यवहार मुद्दा चलाइ पाँच दिन म्याद थप भएको छ । पक्राउ परेका सबै रिहा हुनुपर्ने विद्यार्थीको माग राखेका छन्।

एकै दिन चार हजारले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।आइतबार सुन तोलामा ४ हजारले घटेर तोलाको एक लाख ४१ हजार पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य एक लाख ४० हजार ३०० पुगेको छ । यस अघि शुक्रबार सुन प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको थियो । यो अहिलेसम्म नेपालमा कायम भएको उच्च मूल्य थियो । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा ७५ रुपैयाँले घटेर प्रतितोला १८२५ रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि शुक्रबार तोलाको १९०० मा कारोबार भएको थियो ।

निगरानीपछि बढ्यो पशुपतिको भेटी

काठमाडौं। पशुपतिनाथ मन्दिरमा दर्शनार्थीले चढाएको भेटी चोरीमा संलग्न रहेको अभियोगमा पाँच अभियुक्त पक्राउ परेपछि दुई महिनायताकै सर्वाधिक भेटी सङ्कलन भएको छ।  पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संरक्षणमा भेटी चोरीमा संलग्न कोषका नायब सुब्बासहितका कर्मचारी पक्राउ परेपछि कोषमा जम्मा हुने भेटी बढेको हो ।  कोषका सदस्य सचिव डा.मिलनकुमार थापाका अनुसार भेटी चोरीको गिरोहलाई प्रहरीमा बुझाएपछि र सिसिटिभीमार्फत निगरानी बढाउँदा यस वर्षको सर्वाधिकसहित जेठ १ देखि २२ गतेसम्ममै एक करोड पाँच लाख नौ हजार १६७ रुपियाँ भेटी सङ्कलन भएको छ।  यसअघि वैशाख १ देखि ३१ गतेसम्ममा एक करोड १२ लाख पाँच हजार ७३२ रुपियाँ सङ्कलन भएको छ। उनले जेठ २० गते दुई महिनायताकै सर्वाधिक सात लाख सात हजार ३१६ रुपियाँ भेटी सङ्कलन भएको बताउनुभयो । उहाँले सङ्कलित भेटी मन्दिर परिसरबाटै मुचुल्का गरेर नेपाल इन्भेस्टमेन्ट मेघा बैङ्कमा जम्मा गरिने बताए।  डा। थापाले भने, “भगवान् पशुपतिनाथ मन्दिरमा दर्शनार्थीले आस्थाले चढाएको भेटी चोरी गर्ने गिरोह नै पहिल्यैदेखि सक्रिय रहेछ । भेटी चोरी हुने गुनासो आएपछि हामीले उच्च प्राथमिकताका साथ निगरानी ग¥यौँ । सिसिटिभी निगरानी गरेर रङ्गेहात नियन्त्रणमा लिई प्रहरीमा बुझाएपछि अनुपातिक रूपमा भेटी सङ्कलनमा वृद्धि भएको छ ।” जेठ ८ गते कोषका नायब सुब्बा नवराज ढोडारी, मन्दिरका ब्राह्मण नवराज घिमिरे, मन्दिरमा बाजा बजाउने कर्मचारीत्रय अनिल परियार, सञ्जय कपाली र कुमार परियारलाई महानगरीय प्रहरी वृत्त गौशालाले काठमाडौँ जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।  मुख्य आरोपीमाथि भएन छानबिन गौशाला प्रहरीका प्रमुख प्रहरी नायब उपरीक्षक केशवराज थेबेले नियन्त्रणमा लिइएका पाँचै जनामाथि अनुसन्धान भइरहेको बताउनुभयो । नासु ढोडारीको घरबाटै छ लाख रुपियाँ बरामद भएपछि प्रहरीले अझै सूक्ष्म ढङ्गले अनुसन्धान अघि बढाएको छ । तर भेटी चोरी गर्ने कार्यका लागि कर्मचारी नै खटाउने भनी पोलिएका कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीसँग प्रहरीले बयान लिएको छैन ।  संस्कृति संरक्षण महाशाखाका नासु ढोडारी, ब्राह्मण घिमिरेसहित बाजा बजाउने कर्मचारीमाथि मात्रै अनुसन्धान भइरहेको छ । डिएसपी थेबेले भन्नुभयो, “आवश्यक परे जसलाई पनि बोलाउँछौँ ।” २०८० जेठ १६ गते वर्षायाम सुरु भएपछि कोषले भेटी अलपत्र हुने भएकाले संस्कृति संरक्षण महाशाखाका कर्मचारीलाई पूर्ण रूपले गणना गर्नेलाई १५ दिनको र अतिरिक्त समयमा काम गर्नेलाई  १० दिनको तलब सुविधा दिने गरी  खटाएको थियो । तर कोषाध्यक्ष सुवेदीको निर्देशनमा आफूहरूले कामलाई निरन्तरता दिएको बयान बाजा बजाउने कर्मचारी अनिलको थियो । पक्राउ पर्नासाथ त्यस्तो बयान सार्वजनिक भए पनि प्रहरीले कोषाध्यक्ष सुवेदीलाई बोलाएको छैन । पक्राउ परेका अभियुक्तको बयान अनुसार पाँच सय र एक हजार दरका गरी दैनिक १५ हजार रुपियाँसम्म लाने र नासु ढोडारीलाई बुझाउने गरिएको थियो ।  कोषाध्यक्ष सुवेदीले भेटी चोरीमा आफ्नो संलग्नता अस्वीकार गर्दै आउनुभएको छ ।उनले भने, “मेरो नाम आयो तर भेटी चोरीमा मेरो संलग्नता छैन । त्यहाँ के के भएको मलाई थाहै छैन ।” नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय निर्वाचन आयोग सदस्य सुवेदीलाई २०७८ मा तत्कालीन पर्यटनमन्त्री प्रेमबहादुर आलेले कोषाध्यक्षमा नियुक्त गर्नुभएको हो ।  सदस्य सचिव डा। थापाले पशुपतिनाथ, बासुकी र हनुमान मन्दिरबाट दानभेटी, चन्दन वितरणको दानभेटी, बुढानीलकण्ठको भेटी, नवग्रहको भेटीसहितका शीर्षकमा दैनिक भेटी सङ्कलन हुने बताए। उनले पशुपतिनाथ मन्दिरमा प्रविधि एवं सिसिटिभीको प्रयोग गरी जुनसुकै छिद्रबाट हुने चोरी पनि नियन्त्रण गरिने बताए।उनले भने, “आस्थाको केन्द्रप्रति जनविश्वास अभिवृद्धि गर्नकै लागि हामीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वयमा सुधारका कार्यक्रम गरिरहेका छौँ । अब यस्ता प्रवृत्ति पूर्णतः निषेध गरिने छ ।” गोरखापत्रमा समाचार छ । 

मोदीको शपथग्रहणमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आज भारत जाँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको मैत्रीपूर्ण मिन्त्रणामा आज नयाँदिल्ली जाँदै छन् । भारतीय समकक्षी नरेन्द्र मोदीले प्रधानमन्त्रीमा तेस्रो कार्यकालको शपथग्रहण गर्ने समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड दिउँसो साढे १ बजे नेपाल एयरलाइन्सबाट नयाँ दिल्ली जान लागेका हुन् । मोदीलाई आज अपराह्न राष्ट्रपति भवनमा राष्ट्रपति द्रौपदी मुर्मूले शपथ गराउने कार्यक्रम छ। प्रधानमन्त्रीका साथ कानून मन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्री छोरी एवं स्वकीय सचिव गंगा दाहाल तथा परराष्ट्र मन्त्रालयका शिस्टाचार महापाल बिष्णु गौतमलगायत रहने छन् । शपथग्रहण समारोहपछि प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भारत सरकारले शपथग्रहण समारोहमा नेपालसहित बंगलादेश, भुटान, श्रीलंका, माल्दिभ्सलगायतका प्रधानमन्त्री तथा राष्ट्रप्रमुखलाई निमन्त्रणा गरेको छ । प्रधानमन्त्री प्रचण्ड सोमबार अपराह्न स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

यी प्रदेशमा छ वर्षा र हावाहुरीको सम्भावना

काठमाडौं । हाल नेपालमा स्थानीय र पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ। कोसी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोसी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोसी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ। राति, कोसी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोसी प्रदेशको थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

उपप्रधानमन्त्री नारायणकाजी र नेकपाका महासचिवबिच भेट

माडी । माओबादी केन्द्र का बरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र नेपाल कम्युनिष्ट पार्टीका नेकपाका महासचिव नेत्र विक्रम चन्द्र विप्लव ‘सी’बिच माडीमा भेटवार्ता भएको छ।  उहाँहरुबिच पार्टी एकता लगायतका राजनैतिक  विषयमा छलफल भएको हो।   पछिल्लो समय पूर्व माओवादीहरुबिच एकताको प्रयास भइरहेका बेला दुई नेताबिचको भेटघाटलाई अर्थपूर्णरुपमा हेरिएको छ।  दुबै नेता आज माडीमै रहने  छ ।  उहाँहरुबिच पार्टी एकता लगायतका विषयमा छलफल हुने बुझिएको छ।   यसैबिच उपप्रधानमन्त्री श्रेष्ठले स्थानीयहरुसँगसमेत भेटघाट गरेका  छन्।  घेटका क्रममा माडीका स्थानीयहरुले माडीमा बजेट कम विनियोजन भएको   लगायतका गुनासोहरु राखेका थिए।  माअ‍ेवादी केन्द्रका युवा नेता सन्तोष पनेरुका अनुसार बसन्तपुरमा  हुने भुवानि प्रसाद पौडेल सातौं स्मृति जिल्ला स्तरिय अन्तर विद्यालय फुटबल प्रतियोगिताको फाईनल खेलको अवलोकन समेत गर्ने कार्यक्रम रहेको छ।

राहुल गान्धी भारतको विपक्षी दलका नेता नियुक्त

नयाँदिल्ली। प्रधानमन्त्री नरेन्द्र मोदीका प्रमुख प्रतिद्वन्द्वी राहुल गान्धीलाई शनिबार संसदमा भारतको विपक्षीको नेतृत्व गर्न मनोनयन गरिएको छ। मोदीले पछिल्लो समय आम चुनाव जितेपछि तेस्रो कार्यकालका लागि शपथ लिँदै हुनहुन्छ । भारतीय राष्ट्रिय काङ्ग्रेस पार्टीले सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)लाई बहुमतबाट वञ्चित गरेको थियो, जसले भाजपालाई शासन गर्न गठबन्धन सहयोगीमा भर पर्न बाध्य तुल्यायो । गान्धीले विश्लेषकको अपेक्षा र एक्जिट पोललाई बेवास्ता गर्दै आफ्नो पार्टी (कांग्रेस)लाई संसदीय सङ्ख्या लगभग दोब्बर बनाउन मद्दत गर्दै गर्दाको प्रयासमा एक दशक अघिदेखि मोदी सत्तामा आएपछि सबैभन्दा राम्रो परिणाम हो । शनिबार कांग्रेस नेतृत्वको बैठकमा गान्धीलाई भारतको आधिकारिक विपक्षी नेताको रूपमा चयनको लागि सिफारिस गर्न सर्वसम्मतिले मतदान भएको थियो । यो पद सन् २०१४  देखि खाली रहेको थियो । सबै सहभागीले सर्वसम्मतिले प्रस्ताव पारित गरी राहुल गान्धीले संसदमा विपक्षको नेताको पद लिनुपर्ने र केसी वेणुगोपालले पार्टी कार्यकारिणीको बैठक पछि पत्रकार सम्मेलनमा बताए । शनिबार पछि कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनका दुई सय ३२ विधायकको बैठकमा नामाङ्कन पेस गरिनेछ । गान्धी दशकौँसम्म भारतीय राजनीतिमा प्रभुत्व जमाउने वंशको वंशज हुनुहुन्छ भने स्वतन्त्रता नेता जवाहरलाल नेहरुबाट सुरु गरेर पूर्वप्रधानमन्त्रीका छोरा र नाति हुन् ।

एमालेसँग तत्काल एकताको सम्भावना छैन : माधवकुमार नेपाल

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो पार्टीप्रति सकारात्मक हुन आग्रह गरेका छन्। शनिवार पार्टी केन्द्रीय कार्यालय आलोक नगरमा नेकपा (एकीकृत समाजवादी) कोशी कमिटीद्वारा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन्। उनले विगतको कुरा छोडेर कुनै समीक्षा नगर्दा पनि एमालेसँग तत्काल एकताको सम्भावना नरहेको बताए। अध्यक्ष नेपालले एमालेसँग एकताका लागि एमालेले पनि चाहना देखाउन आवश्यक रहेको बताए। नेपालले आफ्नो पार्टीप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सकारात्मक रहेको समेत बताए। उनले समाजवादी मोर्चाको पुनःगठन गरेर अघि बढ्ने सोच आफूहरूको रहेको र सोहीअनुसार अघि बढिरहेको बताए। महिन्द्रराय यादव समूह पनि सकारात्मक देखिनुभएको छ। उपेन्द्रजीलाई पनि सोध्ने प्रयासमा छौँ। हामी छिटै अर्को समाजवादी मोर्चा समाजवादी मोर्चाको पुनःगठन गरेर कति घटक हुन्छन्, सहकार्य गरेर जानेछौँ।’

सरकारले लोकप्रिय काम गरेको छ : मन्त्री शर्मा

काठमाडौं। नेकपा माओवादी केन्द्रकी स्थायी कमिटि सदस्य एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जनता माँझ जानका लागि सामाजिक संघ सस्थाको महत्वपूर्ण भुमिका हुने बताएकी छन्। पार्टी कमिटीको समाज कल्याण विभागद्धारा आयोजित दुई दिने सामाजिक अभियन्ताहरुको राष्ट्रिय भेला तथा अन्तरक्रिया कार्यक्रमको समापन समारोहलाई संवोधन गर्दै सरकारका प्रवक्ता मन्त्री शर्माले जनयुद्धमा पार्टीले नै सामाजिक संघ सस्थाको काम गरेको तर, शान्ति प्रक्रिया पछि जनता माझ पुग्नका लागि समाज कल्याण विभागमार्फत् काम गरिरहेको बताइन्। उनले माओवादी केन्द्र नेतृत्वको सरकारले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै लोकप्रिय कामहरु गरिरहेकाले त्यसलाई समाजमा स्थापित गर्न भूमिका निर्वाह गर्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन समेत दिइन्।

जसपाले महाधिवेशन जनकपुरमा गर्ने

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी जसपाको प्रथम राष्ट्रिय महाधिवेशनमा २० हजार मान्छेको उपस्थित रहने आयोजकले जनाएको छ ।  जसपा नेपालले यही जेठ २८ गते जनकपुरमा हुने प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा २० हजार मान्छे सहभागी हुने पार्टी प्रवक्ता मनिस सुमनको बताएका छन् ।  जसपाले महाधिवेशनमा अन्य पार्टीका नेताहरूलाई पनि निमन्त्रणा दिएको छ । उनका अनुसार अहिलेसम्ममा केन्द्रका नेताहरू नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेकपा महासचिव नेत्रविक्रम चन्द्र विप्लवले महाधिवेशनमा आउने निर्णय गरिसकेका छन् ।  एमाले अध्यक्ष केपी ओली, प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति  रवि लामिछाने र जनमतका अध्यक्ष सिके राउतलाई निमन्त्रणा पठाइसकेको बताइएको छ ।

सरकार गिराने खेलमा लाग्दैनौं : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विसं। २०८४ सालसम्म नेपाली कांग्रेस प्रतिपक्षको भूमिकामा रहने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले कांग्रेसले चुनावमा पाएको मतअनुसार सरकारमै रहनुपर्ने भए पनि केही राजनीतिक दलहरूले प्रतिवद्धता बिर्सिंदा कांग्रेस प्रतिपक्षमा पुगेको बताए ।  कांग्रेसले विसं। २०८४ सम्म सरकार बनाउन र गिराउन कतै आँखा नलगाउने उनको भनाइ छ । महामन्त्री थापाले प्रतिपक्षको भूमिका निर्वाह गर्दैगर्दा नेकपा एमाले, नेकपा (माओवादी केन्द्र)सँग कुराकानी गर्न छोड्न भने नहुने बताए ।  कांग्रेस संसद्को ठूलो दल र संविधान निर्माण गर्दा नेतृत्व गरेको पार्टी भएकाले केही जिम्मेवारी रहेको महामन्त्री थापाको भनाइ छ । उनले संविधानमा केही कुरा संशोधनका लागि अन्य राजनीतिक दलसँग कुराकानीमा रहने बताए ।  महामन्त्री थापाले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठमाथि अभद्र टिप्पणी गरेको आरोप लगाए । उनले ओलीले महिला भएकै कारणले स्त्रीदोषी अभिव्यक्ति दिएको बताए ।  महामन्त्री थापाले पार्टीका विषयमा छलफल गर्ने परिपाटी पुनः विकास गर्न जरुरी रहेको बताए । उनले काठमाडौं कांग्रेसले ‘रिभाइभ’ गरेर अघि बढ्न जरुरी रहेको बताए । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै नयाँ राजनीतिक दल भन्दैमा दोषबाट मुक्त गर्न नमिल्ने बताए ।

काठमाडौंका यी स्थानमा ६ दिन विद्युत् अवरुद्ध हुने

काठमाडौं । विद्युतीय लाइन भूमिगत कार्यका भन्दै नेपाल विद्युत् प्राधिकरणले शनिबारदेखि असार ३ गतेसम्म काठमाडौँका विभिन्न क्षेत्रमा बिजुली कटौती गर्ने भएको छ। प्राधिकरणले रत्नपार्क  वितरण केन्द्रअन्तर्गत विभिन्न स्थानमा शनिबार, सोमबार, बुधवार,  असार २ र ३ गते विद्युत् कटौती गर्न लागेको हो। यी दिनमा बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ। प्राधिकरणका अनुसार शनिबार बबरमहल क्षेत्रस्थित सैनिक मुख्यालय, सुनधारा टेलिकम, भन्सार विभाग, पशु अस्पताल, रानीपोखरी प्रहरी र स्वास्थ्य मन्त्रालय लगायत स्थानमा विद्युत् अवरुद्ध हुनेछ। यस्तै सोमबार कालिकास्थान, बुधबार भीमसेनस्थान, शुक्रबार गैरीधारा, असार २ गते पानीपोखरी र ३ गते सामाखुशी क्षेत्रमा विद्युत् अवरुद्ध हुने प्राधिकरणले प्रकाशन गरेको सूचनामा उल्लेख छ। यी स्थानमा हुनेछ विद्युत् कटौती

यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल जेठ २६ गते शनिबार सन् २०२४ जुन ८ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १० पैसा र बिक्री दर १३३ रुपैयाँ ७० पैसा पुगेको छ।युरो एकको खरिद दर १४४ रुपैयाँ ९९ पैसा र बिक्री दर १४५ रुपैयाँ ६४ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ३१ पैसा र बिक्री दर १७१ रुपैयाँ ०८ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५० पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर 

यी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं ।ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार  हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको छ।कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।  दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्विनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हावा हुरीको पनि सम्भावना रहेको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यसैगरी, विभागका अनुसार आज राती कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशको थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। पछिल्लो २४ घण्टामा काठमाडौंमा हल्कादेखि मध्यमसम्म वर्षा भएको छ । विभागका अनुसार ललितपुरको खुमलटारमा सबैभन्दा धेरै वर्षा भएको छ । मौसमविद् लामिछानेका अनुसार खुमलटारमा ३०.७ मिलिमिटर वर्षा भएको छ । कीर्तिपुरमा १२.२, बबरमहलमा ७.६, बूढानीलकण्ठमा २.४ मिलिमिटर वर्षा भएको छ ।