बस र पिक अप ठोकिँदा १ को मृत्यु ८ जना घाइते
कपिलवस्तु । कपिलवस्तुको बुद्ध भूमि नगरपालिका ४ झडुलामाईमा यात्रु बाहक बस पिक अप ठोकिँदा १ जनाको मृत्यु भएको छ । मङ्गलवार बिहान ५ः३० बजे काठमाडौँबाट सुर्खेत जाँदै गरेको क.प्र.०२–००१ख ०५२५ नम्बरको बस र लु १ च ९२८४ नम्बरको पिक अप एक आपसमा ठक्कर खाएका थिए । घटनामा परी पिक अप चालक कपिलवस्तु शिवराज नगरपालिका बस्ने हिरालाल बढईको घटना स्थलमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक अनीश भण्डारीले बताए ।
ठक्कर पछि पिकअपमा च्यापिएका बढईको २ घण्टा पछि उद्धार गरिएको थियो । घाइतेहरू लाई उपचारको लागि बुटवल पठाइएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक वीर बहादुर सुनारले बताए ।
नेप्से परिसूचक बढ्यो
काठमाडौँ। यो सातामा कारोबारको पहिलो आइतबार चार दशमलव ५९ अङ्कले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज दोस्रो दिन आठ दशमलव ९० अङ्कले बढेको छ । आज नेप्से परिसूचक शून्य दशमलव ४२ प्रतिशतले बढेर दुई हजार ८२ दशमलव ०९ को बिन्दुमा कायम भएको हो । आज तीन सय १४ कम्पनीको एक करोड १६ लाख ३४ हजार छ सय १८ कित्ता शेयर ७१ हजार नौ सय ४८ पटक खरिदबिक्री हुँदा पाँच अर्ब ४९ करोड छ लाख नौ हजार सात सय ८२ बराबरको कारोबार भएको छ । बैङ्किङ समूह शून्य दशमलव ०२, होटल तथा पर्यटन शून्य दशमलव ९३, जीवन बीमा शून्य दशमलव २४, म्युचुअल फन्ड तीन दशमलव ७४, व्यापार समूह दुई दशमलव ०३ र अन्य समूह शून्य दशमलव ०३ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । आज विकास बैङ्क समूह शून्य दशमलव ३६, वित्त एक दशमलव २१, जलविद्युत दुई, लगानी शून्य दशमलव १५, लघुवित्त शून्य दशमलव ६२ र निर्जीवन बीमा समूह एक दशमलव २८ प्रतिशतले बढेको छ । कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेड, त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड र पिपुल्स पावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने जानकी फाइनान्स कम्पनी लिमिटेड आठ दशमलव ६७ र बाराही हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य पाँच दशमलव २९ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको रु. ४१ करोड ८७ लाख ६३ हजार दुई सय छ बराबरको छ लाख २७ हजार छ सय ७६ कित्ता शेयर किनबेच भएको छ ।
राष्ट्र बैंकका तथ्यांक: ३.०१ प्रतिशतले घट्यो मूल्यवृद्धि
काठमाडौं । नेपाल राष्ट्र बैंकले मूल्यवृद्धि १० महिनामा ३.०१ प्रतिशतले घटेको दाबी गरेको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेको नयाँ तथ्यांकअनुसार २०८१ वैशाखमा वार्षिक विन्दूगत उपभोक्ता मुद्रास्फीति ४.४० प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिना यस्तो मुद्रास्फीति ७.४१ प्रतिशत थियो। समीक्षा अवधिमा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ६.२७ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९६ प्रतिशत रहेको छ । यस अवधिमा खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत तरकारी उपसमूहको वार्षिक विन्दूगत मूल्य सूचकाङ्क २३.११ प्रतिशत, दाल तथा गेडागुडीको १०.८५ प्रतिशत, मरमसलाको ८.९८ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ७.४२ प्रतिशत र चिनी तथा चिनीजन्य वस्तुहरुको ७.२५ प्रतिशतले बढेको छ। घ्यू तथा तेल उपसमूहको वार्षिक विन्दूगत मूल्य सूचकाङ्क ७.१३ प्रतिशतले घटेको छ । गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाहरु उपसमूहको वार्षिक विन्दूगत मूल्य सूचकाङ्क १२.२६ प्रतिशत, शिक्षाको ५.६४ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको .४६ प्रतिशतले बढेको छ । सञ्चार उपसमूहको वार्षिक विन्दूगत मूल्य सूचकाङ्क ०.४८ प्रतिशतले घटेको छ । २०८१ वैशाखसम्म काठमाडौं उपत्यकाको वार्षिक विन्दूगत उपभोक्ता मुद्रास्फीति ४.३०, तराईको ४.३२, पहाडको ४.७० र हिमालको ४.२२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः ७.६८, ७.१५, ७.५७ र ७.१२ प्रतिशत रहेको थियो ।
गृहमन्त्री लामिछानेविरुद्धको रिटमा सीआईबीको प्रतिवेदन झिकाउन सर्वोच्चको आदेश
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमा सर्वोच्च अदालतले प्रमाण झिकाउने आदेश गरेको छ । न्यायाधीशद्वय डा.मनोजकुमार शर्मा र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले लामिछानेविरुद्ध जुनसुकै जिल्लामा रहेका उजुरीसहित सहकारी ठगी प्रकरणमा सीआईबीको प्रतिवेदनको प्रमाणित कपी झिकाउने आदेश भएको रिट निवेदक अधिवक्ता अनुपम भट्टराईले जानकारी दिए । उनका अनुसार लामिछानेको सचिवालयले समाचार आएका आधारमा खण्डन गर्दै पठाएको पत्रसमेत झिकाउन सर्वोच्चले आदेश दिएको छ ।
रामप्रसाद सुवेदी स्विट्जरल्याण्डका लागि आवासीय राजदूत नियुक्त
काठमाडौँ । मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले स्विट्जरल्याण्डका लागि नेपाली आवासीय राजदूतमा रामप्रसाद सुवेदीलाई नियुक्त गरेका छन् । सुवेदीलाई सान मारियो देशको गैर आवासीय राजदूतसमेत बनाइएको छ । यस्तै, हालका संयुक्त राष्ट्रसंघका स्थायी प्रतिनिधि लोकबहादुर थापालाई ल्याटिन अमेरिकी मुलुक निकारागुआको गैर आवासीय राजदूतमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले एक विज्ञप्तिमार्फत जानकारी दिएकी छन् ।
निजी वनको दिगो व्यवस्थापन अति आवश्यक : उपराष्ट्रपति
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले निजी वनको दिगो व्यवस्थापन अति आवश्यक रहेको बताएका छन्। सोमबार काठमाडौंमा पारिवारिक निजी वन संघले नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले मुलुकमा काष्ठ र गैरकाष्ठ वन पैदावरको सहज आपूर्तिको व्यवस्था गर्नसके देशको आर्थिक समृद्धि र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे। उनले बढ्दो बसाइँसराई, महत्वपूर्ण जैविक विविधताका क्षेत्र वरपर बढ्दो अव्यवस्थित शहरीकरण, जनताको पूर्वाधार विकासप्रतिको तिब्र चाहना र आवश्यकता जल तथा वायु प्रदूषण, जलवायु परिवर्तनका कारणले हुने गरेको अतिवृष्टि, अनावृष्टि, खण्डवृष्टि आदि संरक्षण र दिगो विकासका लागि विद्यमान चुनौतीहरुलाई चिर्न सबै सरोकारवाला पक्ष सचेत र सावधान हुँदै दत्तचित्त भई अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए। उनले वातावरण संरक्षण र वनको दिगो विकासका चुनौतीहरुलाई अवसरका रूपमा परिणत गर्नका लागि सरोकारवाला बीचको सहकार्य, समन्वय र सहभागिताको आवश्यकता निर्विकल्प रहेको पनि बताए। उनले खेर गइरहेको निजी आवादी जमिनमा हरियाली बनाउन छिटो, छरितो बढ्ने विरुवाहरुको वृक्षारोपण अभियान सञ्चालन गरी जलवायु परिवर्तनका असरलाई न्युनिकरण गर्न सकिने बताए। उनले भने, ‘निजी वनको दिगो व्यवस्थापन अति आवश्यक छ। मुलुकमा काष्ठ र गैरकाष्ठ वन पैदावरको सहज आपूर्तिको व्यवस्था गर्नसके देशको आर्थिक समृद्धि र विकासमा टेवा पुग्न सक्दछ। बढ्दो बसाईंसराई, महत्वपूर्ण जैविक विविधताका क्षेत्र वरपर बढ्दो अव्यवस्थित शहरीकरण,जनताको पूर्वाधार विकासप्रतिको तिब्र चाहना र आवश्यकता जल तथा वायु प्रदूषण, जलवायु परिवर्तनका कारणले हुने गरेको अतिवृष्टि, अनावृष्टि, खण्डवृष्टि आदि संरक्षण र दिगो विकासका लागि विद्यमान चुनौतिहरुलाई चिर्न सबै सरोकारवाला पक्ष सचेत र सावधान हुँदै दत्तचित्त भइ अघि बढ्नुपर्दछ।ु उपराष्ट्रपति यादवले जलवायु परिवर्तनको असर न्युनीकरण तथा अनुकूलनका लागि निजी वनले पुर्याएको योगदानको समीक्षा र मूल्यांकन हुन जरुरी रहेको बताए।
गृहमन्त्री लामिछानेको निलम्बन माग गरिएको रिट न्यायाधीश शर्मा र श्रेष्ठको इजलासमा
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निलम्बन माग गरिएको रिट न्यायाधीशहरू डा. मनोज शर्मा र तीलप्रसाद श्रेष्ठको इजलासमा परेको छ । सहकारी ठगीमा कतै पनि उजुरी र अभियोजन नरहेको भन्दै महान्यायाधीवक्ता कार्यालयले अनधिकृत रूपमा पत्र दिएपछि अधिवक्ता अनुपम भट्टराईले त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। गृहमन्त्रीविरुद्ध प्रहरीमा उजुरी नै नभएको र ठगीमा संलग्न नरहेको भन्दै दिएको पत्रले गृहमन्त्री लामिछानेलाई कानुनी दायित्वबाट उन्मुक्ति दिएको भन्दै पत्र बदर गर्न माग गरिएको छ।उनले सहकारीमा ठगीमा संलग्न रहे अथवा नरहेको अनुसन्धानका लागि गृहमन्त्री पदमा रहँदा बाधा हुनेभन्दै उनलाई निलम्बन गरी अनुसन्धानका लागि प्रधानमन्त्रीका नाममा आदेश जारी गर्न पनि रिटमा माग गरेका छन्। यसअघि न्यायाधीश श्रेष्ठको इजलासले रविविरुद्धको उजुरी ल्याउन आदेश जारी गरेको थियो। कास्की प्रहरीमा रविविरुद्ध उजुरी परेको छ। बुटवलको सुप्रिम सहकारीबाट पनि लामिछानेले अनधिकृत रूपमा दुई करोड रुपैयाँ लिएको उल्लेख भए पनि उनलाई विपक्षी नबनाई मुद्दा दायर भएको छ।
सुनचाँदीको मूल्य स्थिर
काठमाडौं । स्थानीय बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४१ हजार रुपैयाँमा नै कारोबार भएको थियो। तेजाबी सुन प्रतितोला एक लाख ४० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला एक हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।
राष्ट्रिय छन्द कविता प्रतियोगितामा बाराकी सरु बस्नेत प्रथम
भरतपुर। भरतपुरमा आयोजित राष्ट्रिय कविताको प्रथम पुरस्कार बाराकी सरु बस्नेतले जितेकी छन् । नवसाहित्य मञ्जरी भरतपुर १३, चम्पानगरले ‘देशका लागि युवाको खाँचो’ विषयमा देशभरबाट सङ्कलित दुई सय कवितामध्ये निर्णायकहरुको मूल्याङ्कनपछि उत्कृष्ट ९ कविता छनोट गरेर शनिबार सर्जकलाई भौतिकरुपमै उपस्थित गराएर अन्तिम प्रतिस्पर्धा गराएको थियो। लेक ट्वान्टी थाउजेन्ड फार्म एण्ड रिट्रिट (एलटिके/हवेली) मा भएको अन्तिम प्रतियोगितामा बस्नेत प्रथम हुदाँ नुवाकोटका कृष्णप्रसाद पौडेल दोश्रो र दाङ्गका हरिप्रसाद पौडेल तेस्रो भए । सुनसरीका मुक्ति पोखरेल र बाँकेका पदमावती रिजालले सान्त्वना पुरस्कार प्राप्त गरेको नवसाहित्य मञ्जरीको सचिव रमना अधिकारीले जानकारी दिईन् । उनका अनुसार प्रथम हुनेले २५ हजार, दोस्रो हुनेले २० हजार, तेस्रो हुनेले १५ हजार र सान्त्वना दुई जनाले जनही ५ हजार रुपैयाँ पुरस्कार एवं प्रमाणपत्र प्राप्त गरेका छन् । विजयीहरुलाई भरतपुर महानगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष प्रकाश दवाडीले पुरस्कार हस्तान्तरण गरेका थिए । कविता मूल्यांकनका लागि वरिष्ट साहित्यकार छन्दवादी कवि हरिप्रसाद रिमाल, गौंडाकोट नगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति गोविन्द विनोदी र वरिष्ट साहित्यकार केशवराज भट्टराई आमोदी सहितको तीन सदस्यीय मूल्यांकन समिति बनाइएको थियो । कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानको तर्फबाट सदस्य रामहरी श्रेष्ठ, अमर न्यौपाने, भरतपुर महानगरपालिका प्रज्ञाप्रतिष्ठानका उपकुलपति इन्द्र रेग्मी, कवी प्रा.डा.देवी नेपालको सहभागिता रहेको थियो । आयोजक संस्थाका अध्यक्ष सूर्यमणि रेग्मीले भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल बनाउँदै मौलिक साहित्यको प्रवद्र्धन, प्रचारप्रसार तथा प्रतिभाको पहिचान र उत्प्रेरणाका लागि प्रतियोगिता आयोजना गरिएको बताए । कार्यक्रमलाई गीतकार विष्णुबाबु देवकोटाले सहजीकरण गरेका थिए ।
अन्तरजातीय विवाह गर्ने दश जोडीलाई भरतपुर महानगरको सम्मान
चितवन। भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गरेका १० जोडीलाई सम्मान गरेको छ । आईतबार एक कार्यक्रमका बीच भरतपुर महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत उपेन्द्र पौडेलले संयुक्त रुपमा सम्मान गरेका हुन् । सम्मानित हुनेमा भरतपुर महानगरपालिका–१९ का आशिष विक र शान्ति घर्ती, भरतपुर–१९ कै सुवन गहतराज र शान्ता श्रेष्ठ, भरतपुर–२३ का नविन विक र कमला श्रेष्ठ, भरतपुर–११ का विवेक सुनार र अमिबका कार्की, भरतपुर–१६ सुशिल परियार र सुस्मिता बुढाथोकीको जोडी रहेका छन् । यस्तै भरतपुर–२५ का अविनास सुनार र मिना भुजेल, भरतपुर १४ विवस महतो र प्रतिभा सुनार, भरतपुर १४ कै पदम बहादुर विक र फुलमायाँ लावती, भरतपुर १५ का विनोद परियार र अरुणा राई, भरतपुर ६ का सुवास विक र मायाँ कुमालको जोडी रहेका छन् । उनीहरूलाई महानगरले आईतबार एक कार्यक्रमकाबीच एक जोडीलाई नगद रु एक–एक लाखसहित सम्मान गरेको हो । कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख दाहालले विगत ४ वर्षदेखि सुरुवात भएको सम्मान कार्यक्रममा क्रमश जोडीको संख्या वृद्धि हुदै गएको बताइन्। भरतपुर महानगरपालिकालाई सभ्य र सुसंस्कृत बनाउने उद्देश्यले यो अभियानको थालनी गरिएको बताइन् । जातीय विभेदलाई अन्त्य गराउन यस्ता कार्यक्रमलाई प्राथामिकतामा राखेको प्रमुख दाहालले उल्लेख गरिन् । हिजोको समान्तवादी सोच, चिन्तत र प्रवृति आज पनि देखिने गरेको उनको भनाई छ । संविधानले जातीय विवेदलाई अपराधजन्य कार्य भनेर ठहर गरेपनि सोचे जति परिवर्तन हुन नसकेको उनको भनाई थियो । जनयुद्धको समयभन्दा अगाडि मान्छेले मान्छेलाई पशुजन्य व्यवहार गर्ने गरेको घटना स्मरण गर्दै प्रमुख दाहालले पहिलाकाके अवस्था निकै काहाली लाग्दो रहेको बताइन्। जनयुद्धको जगमा पाएका अधिकारलाई कार्यान्वन गर्न निरन्तर खबरदारी र संर्घष जारी राख्नुपर्ने उनको भनाई थियो । भरतपुर महानगर उपप्रमुख चित्रसेन अधिकारीले शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायतका विषयमा फड्को मारेको र जात जातिमा हुने विवेद अन्त्यको लागि सम्मान कार्यक्रम गरिएको बताए। नेपालका ७५३ पालिका मध्ये भरतपुर महानगरले अन्तरजातीय जोडीलाई सम्मान गरी उदाहरणीय कार्य गरेको उपप्रमुख अधिकारीले बताए। कार्यक्रममा महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत उपेन्द्र पौडेलले छुवाछुत समाजिक अन्धविश्वास रहेकाले यसको उन्मुलनको लागि सबै पक्ष एकजुट हुनुपर्ने बताए। मानिसको दुई जात महिला र पुरुषमात्र भएकाले सबैले आत्मसम्मानसहित बाच्न पाउनुपर्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए। महानगरले यसअघि १३ जोडीलाई सम्मान गरिसकेको छ । महानगरले हालसम्म अन्तरजातीय विवाह गर्ने २३ जनालाई सम्मान गरिसकेको छ ।
रुकुम पश्चिमको नेपानेमा बोलेरो दुर्घटना, तीनजनाको मृत्यु
सुर्खेत । रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१ नेपानेमा बोलेरो गाडी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। तीनजना घाइते भएका छन्। मुसिकोट नगरपालिका-१ खलंगा बाँफिकोट गाउँपालिकाको-४ छिनखेत जाँदै गरेको वर्ल्ड लिंक कम्युनिकेसनको डबल क्याप बोलेरो आइतबार बेलुकी साढे ९ बजे दुर्घटना भएको हो। दुर्घटनामा चालक सुर्खेतको गुर्भाकोट नगरपालिका-८ मेहलकुनाका ३० वर्षीय धर्मेन्द्र श्रेष्ठ, बर्दियाको ठाकुरबाबा नगरपालिका-५ कालीगौडीका २७ वर्षीय सौगात विक र सुर्खेत बराहताल गाउँपालिका-५ बड्डीचौरका १९ वर्षीय जितबहादुर कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रवक्ता प्रहरी निरीक्षक बखत शाहीले जानकारी दिए। जिल्ला अस्पताल सल्ले पुर्याउँदा चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका हुन्। पश्चिमको बाँफिकोट गाउँपालिका-४ छिनखेतका १७ वर्षीय सुजल विक, बर्दियाको ठाकुरबाबा नगरपालिका-५ बनकट्टीका २६ वर्षीय दिलीप थापा र बर्दियाको ठाकुरबाबा नगरपालिका-५ कालीगौडीका २७ वर्षीय टीकाराम खनाल घाइते भएका छन्। उनीहरूमध्ये सुजल र टीकारामको अवस्था गम्भीर छ। उनीहरूलाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज ‘रेफर’ गरेको शाहीले जानकारी दिए। दिलीपको उपचार जिल्ला अस्पतालमै भइरहेको छ। प्रहरीका अनुसार गाडी सडकबाट करिब २०० मिटर भन्दा तल खसेको थियो। इन्टरनेट जडानको काम गरिरहेका उनीहरू बाँफिकोटको छिनखेत जाँदै थिए। बाँफिकोट क्षेत्रमा फाइबर नेट विस्तार गरिरहेका उनीहरू छिनखेतमा बस्दै आएका थिए।
गण्डकीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै
काठमाडौं ।गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशसभामा आज विश्वासको मत लिँदै छन् । विश्वासको मत प्रयोजनका लागि दिउँसो ३ बजे प्रदेशसभा बैठक बस्दैछ । असार १ गतेसम्म नीति तथा कार्यक्रम ल्याइसक्नुपर्ने भएकाले मुख्यमन्त्री पाण्डेले त्यसअघि नै विश्वासको मत लिन लागेका हुन् । नेपाली कांग्रेस गण्डकी प्रदेशका संसदीय दलका नेतासमेत रहेका पाण्डे सर्वोच्च अदालतको परमादेश अनुसार नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको नेताको हैसियतमा जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ जना सांसदको समर्थन आवश्यक पर्दछ । गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८, राप्रपाका दुई र एकजना स्वतन्त्र सांसद गरी ६० सदस्य छन्। पाण्डेलाई राप्रपा र स्वतन्त्र सांसद दीपक मनाङेले समर्थन गरे पनि अझै एक सांसदको आवश्यक पर्दछ । यो अवस्थामा पाण्डेले प्रदेशसभामा सहजै विश्वासको मत प्राप्त गर्ने सम्भावना न्यून देखिन्छ ।
राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा सवारी दुर्घटना न्यूनीकरण गर्ने भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गर्ने कार्यसूची रहेको छ । यस्तै, राष्ट्रियसभाका सचिव डा। सुरेन्द्र अर्यालले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष जानकारी गराई टेबुल गर्ने कार्यक्रम छ । यसैगरी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘मिडिया काउन्सिल विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
यस्तो छ सोमबारको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । आज २०८१ साल जेठ २८ गते सोमबार सन् २०२४ जुन १० तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। तीन दिनदेखि अमेरिकी डलर र कतारी रियालको मूल्य स्थित छ । अमेरिकी डलर, युरो र बेलायती पाउण्डको विनिमय दर भने सामान्य घटेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १० पैसा र बिक्री दर १३३ रुपैयाँ ७० पैसा पुगेको छ।युरो एकको खरिद दर १४३ रुपैयाँ ७७ पैसा र बिक्री दर १४४ रुपैयाँ ४२ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ३४ पैसा र बिक्री दर १७० रुपैयाँ १० पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५० पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। हेर्नुहोस् विनिमय दर
मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक निरीक्षकको मृत्यु
सिन्धुली । सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा एक प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ । अर्का एक प्रहरी घाइते भएका छन् । फिक्कल गाउँपालिका वडा नम्बर–५ झगडेँबेसी स्थित भित्री कच्ची सडकखण्डको सोल्पाडाँडाबाट गस्ती गर्दै चौकी तर्फ फर्कने क्रममा दुई प्रहरी सवार ३–०२–००१ ब ४७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो। मोटरसाइकलमा सवार धनुषाको कमला नगरपालिका–९ घर भई प्रहरी चौकी रत्नावतिमा कार्यरत प्रहरी सहायक निरीक्षक रविन्द्र कुमार ठाकुरको मृत्यु भएको हो। उनको खुर्कोटस्थित सामुदायिक अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गोविन्दराज काफ्लेले जानकारी दिए। यसैगरी तनहुँको भिमाद नगरपालिका–७ घर भई सोही चौकीमा कार्यरत प्रहरी सहायक हबलदार सूर्य कुमार श्रेष्ठ गम्भीर घाइते भएका छन्।
विश्वासको मत माग्दै एमालेलाई मुख्यमन्त्री पाण्डेले लेखे पत्र
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत दिन गण्डकी प्रदेशसभामा प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले०सँग आग्रह गरेका छन् । मंगलबार (भोलि) बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिन लागेका उनले आज पत्र लेखेर उक्त आग्रह गरेका हुन् । नेपालको संविधान र प्रदेशसभा नियमावली, २०८० ले व्यवस्था गरेबमोजिम आफूले ०८१ जेठ २८ गते दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मतका निम्ति प्रस्ताव पेस गर्न लागेको मुख्यमन्त्री पाण्डेको पत्रमा उल्लेख छ । “स्थायित्व र जनआकांक्षाअनुरूप प्रदेशको समग्र विकास तथा उन्नति हामी राजनीतिक दलबीचको सहकार्य र समन्वयबाट मात्रै सम्भव छ,” उनले भनेका छन् । राजनीतिक दलबीचको सहकार्यबाट स्थिर सरकार निर्माण गरी प्रदेशलाई दिगो विकासको दिशामा अगाडि बढाउन आफूले गरेको विश्वासको मतको प्रस्तावका पक्षमा एमालेका प्रदेशसभा सदस्यले मतदान गरी सहयोग गरिदिन मुख्यमन्त्री पाण्डेले पत्रमार्फत आग्रह गरेका छन् । उक्त पत्र प्रदेशसभामा नेपाली कांग्रेसका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले एमालेका मुख्य सचेतक गोविन्द नेपालीलाई हस्तान्तरण गरेका छन् ।

