यस्तो छ लुम्बिनी प्रदेशको बजेट (पूर्णपाठ)
रुपन्देही । लुम्बिनी सरकारले चालू आर्थिक वर्षमा भन्दा आगामी आर्थिक वर्षमा डेढ अर्ब कमको बजेट ल्याएको छ। प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९५ करोड ९५ लाख ३६ हजारको बजेट ल्याएको हो ।
आन्तरिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले प्रदेशसभाको चौथो अधिवेशनको १३औं बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ का लागि उक्त बजेट प्रस्तुत गरेका हुन् ।उनले कुल विनियोजनमध्ये चालूतर्फ ११ अर्ब २४ करोड २७ लाख र पूँजीगतर्फ २४ अर्ब ५८ करोड रुपैयाँ विनियोजन गरेका छन्। वित्तीय हस्तान्तरणका लागि ३ अर्ब १४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
आगामी वर्षमा अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत आन्तरिक राजस्वमार्फत ७ अर्ब ५१ करोड र सङ्घबाट प्राप्त हुने राजस्वमार्फत १२ अर्ब १ करोड र सङ्घबाट प्राप्त हुने रोयल्टी ५० करोड र स्थानीय तहबाट प्राप्त हुने राजस्व २ अर्ब ९२ करोड हुने प्रदेश अर्थमन्त्रालयले जानकारी दिएको छ ।
प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८०/८१ का लागि कुल ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो। संघीय सरकारले दिने अनुदान र प्रदेशको राजस्वको स्रोत पनि वृद्धि नभएका कारण गत वर्षभन्दा बजेट बढाउन नसकेको मन्त्री आचार्यले बताए ।
संविधानले सबै समुदायको उत्थानमा जोड दिएको छ : मुख्यमन्त्री महरा
लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले सबै जनजाति, भाषाभाषी, धर्म, संस्कृति तथा समुदायको उत्थान र विकासमा जोड दिएको बताएका छन्। भूमे पर्व (भुम्या पर्व) २०८१ का अवसरमा आज जारी शुभकामना सन्देशमा उनले पर्वले सबै नेपालीमा सकारात्मक सोचको विकास गरी भ्रातृत्व, एकता, सद्भाव र मेलमिलापको वातावरण सृजना एवं देश निर्माणमा टेवा पु¥याउने विश्वास व्यक्त गरेका छन्। उनले विज्ञप्तिमा परापूर्वकालदेखि प्रकृतिपूजक मगरहरूले मानवीय क्षति नहोस् र प्राकृतिक विपत्ति नआओस् भनी भूमिपूजा अर्थात् प्रकृतिको पूजा गरी भूमे पर्वको सुरुआत गरेको उल्लेख गरेका छन्।
स्कटल्यान्डविरुद्ध जर्मनीको फराकिलो जीत
काठमाडौं । युरो–२०२४ को पहिलो खेलमा स्कटल्यान्डविरुद्ध जर्मनीले ५–१ को फराकिलो जित निकालेको छ ।शुक्रबार एलियन्ज एरिनामा भएको खेलमा जर्मनीलाई जित दिलाउन फ्लोरियन विर्ट्ज, जमल मुसियाला, काई हाभार्ट्ज, निकोलस फुलक्रुग र एमरे क्यानले गोल गरे । स्कटल्यान्डले जर्मनीकै एन्टोनियो रुडिगरबाट आत्मघाति गोल उपहार पाएको थियो । खेलको १०औँ मिनेटमा विर्ट्जले गोल गर्दै जर्मनीलाई अग्रतामा राखेका थिए । १९औँ मिनेटमा मुसियालाले घरेलु टिमको अग्रता दोब्बर बनाए । ४४औँ मिनेटमा र्यान पोर्टेयसले रातो कार्डको दर्शन गरेपछि स्कटल्यान्ड १० खेलाडीमा समेटिएको थियो। पहिलो हाफको इन्जुरी समयमा हाभार्ट्जले पेनाल्टीमार्फत गोल गर्दै जर्मनीलाई ३–० को अग्रतामा राखेका थिए । ६८औँ मिनेटमा फुलक्रुगले गोल गर्दै जर्मनीलाई ४–० को अग्रतामा पुर्याए। ८७औँ मिनेटमा जर्मनीका रुडिगरबाट स्कटल्यान्डले आत्मघाति गोल पाएको थियो। खेलको इन्जुरी समयमा क्यानले गोल गरेपछि जर्मनीले ५–१ को जित पक्का गरेको हो।जितसँगै जर्मनीले समूह ‘ए’ मा तीन अंक जोडेको छ। हारबाट प्रतियोगिताको सुरुआत गरेको स्टकल्यान्ड तालिकाको पुछारमा छ । यो समूहमा जर्मनी र स्कटल्यान्डसँगै हंगेरी र स्वीट्जरल्यान्ड छन्।
दक्षिण अफ्रिकाद्वारा नेपाललाई १ सय १६ रनको लक्ष्य प्रस्तुत
काठमाडौँ । टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले नेपाल सामु जितका लागि १ सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय १५ रन बनाएको हो। टोलीका लागि ओपनर रिजा हेन्डरक्सिले ४९ बलमा सर्वाधिक ४३ रन बनाए । उनले ५ चौका र १ छक्का प्रहार गरे। ट्रिस्टन स्टब्सले १८ बलमा २७ रनको योगदान दिए । उनले २ चौका र १ छक्का प्रहार गरे। कप्तान एडेन मार्क्रमले २२ बलमा १५ रन बनाए । उनले २ चौका प्रहार गरे । क्वीन्टन डी ककले ११ बलमा १० रन जोडे । उनले एक चौका हिर्काए । नेपालका लागि कुशल भुर्तेलले ४ विकेट हात पारे । त्यस्तै दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए । ४ ओभर बलिङ गर्दै उनले मात्र २१ रन खर्चिए । यस खेलमा कम्ब्याक गरेका सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै मात्र १८ रन खर्चिए पनि विकेट भने लिन सकेनन् ।
वाग्मती र कोसीमा बिहानैदेखि मेघगर्जनसहित वर्षा, यस्तो हुनेछ आजको मौसम
काठमाडौं । देशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । कोसी प्रदेशका थोरै स्थान र वाग्मती प्रदेशका केही भू–भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी प्रदेशमा साधारणतया बदली रहेको छ । मधेस र वाग्मती प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ । विभागले दिउँसो कोसी, मधेस र वाग्मती प्रदेश गायत गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोसी र वाग्मती प्रदेशका केही स्थानमा, मधेस र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोसी प्रदेशको केही स्थानमा साथै वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मधेस प्रदेशलगायत बाँकी भू–भागका एकदुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले बताएको छ । हाल नेपालको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव छ । बाँकी भू–भागमा स्थानीय र पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको विभागले बताएको छ ।
११ वाणिज्य बैंकले घटाए ब्याजदर, तीन वटाले बढाए
काठमाडौं । वाणिज्य बैंकहरूले असार महिनामा निक्षेपको ब्याजदर थपघट गरेका छन्। सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ११ बैंकले ब्याजदर घटाएका छन् भने तीन वटाले बढाएका छन् । मुद्दति निक्षेपको औसतमा ०.१२ प्रतिशत विन्दुले ब्याजदर घटेको हो। नेपाल इन्भेस्टमेन्ट मेगा, स्ट्यान्डर्ड चार्टर्ड, कृषि विकास, नेपाल बैंक, सिद्धार्थ र प्रभु बैंकले असारमा पनि व्यक्तिगत मुद्धति निक्षेपको सीमा जेठकै ब्याजदरलाई निरन्तरता दिएका छन् । कृषि विकास बैंकको सबैभन्दा न्यून ५=६६ प्रतिशत र एभरेस्ट बैंकको ५=७५ प्रतिशत ब्याजदर छ। हिमालयन बैंकले असारमा बढाएर ८=२५ प्रतिशत ब्याजदर पुर्याएको छ । त्यस्तै, नबिल बैंकले ७ प्रतिशत पुर्याएको छ। माछापुच्छ्रे बैंकले मुद्दति निक्षेपमा ब्याजदर बढाएर ७=५ प्रतिशत बनाएको छ। प्राइम, सानिमा, सिटिजन्स, एनएमबी, राष्ट्रिय वाणिज्य बैंक, नेपाल एसबीआई, लक्ष्मी सनराइज, ग्लोबल आइएमई, कुमारी र एनआईसी एसिया बैंकले भने ब्याजदर घटाएका छन्।
अवैध व्यापार रोक्न बिजकमा एचएस कोड अनिवार्य
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले भन्सार छली गरी अवैध मार्गबाट भित्रिने वस्तुको व्यापार नियन्त्रण गर्न आगामी आर्थिक वर्षको बजेटमा नयाँ व्यवस्था ल्याएका छन् । पुनले मूल्य अभिवृद्धिकर नियमावलीमा संशोधनमार्फत भ्याट बिल जारी गर्दा ‘हार्मोनाइज्ड’ (एचएस) कोड अनिवार्य गरेका हुन् । एचएस कोड भनेको सामानको पहिचान (आइडेन्टिटी) नम्बर हो । मूल्य अभिवृद्धि कर (२६औं संशोधन) नियमावली–०८१ को अनुसूची–५, अनुसूची–५ को (ख) र अनुसूची–६ संशोधन गरी बिजक जारी गर्दा एसएस कोड अनिवार्य गरिएको हो । नयाँ व्यवस्थाअनुसार बिजकको नयाँ ढाँचा राजपत्रमा प्रकाशित भइसकेको छ । मूल्य अभिवृद्धि करसम्बन्धी नियमावलीको अनुसूची–५ (ख)मा कर नयाँ बिजकको ढाँचा समावेश गरिएको छ। जसमा पहिलो कोठामा सि.नं., दोश्रो कोठामा एचएस कोड र तेश्रो कोठामा विवरण उल्लेख छ । यसअघि बिजकको पहिलो कोठामा सि।नं। र दोश्रोमा विवरण उल्लेख गर्ने गरिएको थियो। बिजको नयाँ ढाँचाअनुसार अबदेखि बिजक जारी गर्दा एसएस कोडको सुरुको चार अंक अनिवार्य खुलाएको हुनैपर्नेछ। यस्तै नियमावलीको अनुसूची–६ संशोधन गरी निकासी भन्ने शब्दको सट्टा निर्यात शब्द राखिएको छ । नयाँ व्यवस्थाले वैध वा अवैध बाटोबाट आयातित सामान छुट्याउन सकिने र राजश्व वृद्धिमा उल्लेख्य सुधार हुने अर्थ मन्त्रालयको राजश्व महाशाखा प्रमुख एवं बजेट लेखन समितिका संयोजक सह–सचिव धनिराम शर्माले बताए। उनका अनुसार आगामी दिनमा कुनै पनि सामान वैध च्यानलबाट आएको हो वा होइन भन्ने छुट्याउन सजिलो हुन्छ । ‘बिजकमा बिक्री भएको सामानको एसएस कोड अनिवार्य गर्नुपर्ने व्यवस्थाले बजार अनुगमनका क्रममा अवैध रुपमा भित्रिएका सामान बिक्री वितरण भए÷नभएको सजिलै ट्रयाक गर्न सकिन्छ’, शर्माले भने, ‘कुन सामान भन्सारको बाटो भएर आएको हो र कुन सामान भनसार छली गरीे आयात गरिएको हो छुट्याउन सकिने भएकाले राजश्व वृद्धिमा यो व्यवस्थाले सकारात्मक नतिजा आउने छ ।’ गत जेठ १६ गतेबाटै नयाँ व्यवस्था कार्यान्वयनमा आइसकेको शर्माले जानकारी दिए । यो सँगै व्यक्तिगत प्रयोजनका नाममा अनौपचारिक च्यानलबाट ल्याएर बजारमा बिक्री गर्ने प्रवृत्तिसमेत निरुत्साहित हुने विश्वास अर्थ मन्त्रालयको छ । खास गरी विदेश भ्रमण वा रोजगारीबाट फर्कनेहरुले घरासयी प्रयोजनका लागि ल्याउन पाउने सुविधा प्रयोग गरी ल्याइएका सुन–चाँदीका गहना, मोबाइल, ल्यापटप, टिभी, क्यामेरा, घडी, मदिरा र कपडाजस्ता सामान बजारमा बेच्ने प्रचलन थियो । अब त्यसरी सामान ल्याएर बिक्री गर्ने व्यक्ति र व्यवसायीमाथिसमेत कारबाही हुनेछ । यस्तै अनलाइन बिलिङ प्रणालीमार्फत आयातित सामान तथा आन्तरिक खपतको तथ्याङ्क संकलनसमेत नयाँ व्यवस्थाले सहज हुनेछ ।
नोभेम्बर १६ मा अमेरिकामा गोल्डेन नेपाली फिल्म अवार्ड
काठमाडौं। अमेरिकाको सन फ्रान्सिस्कोमा आगामी नोभेम्बर १६ (मंसिर १ गते) मा गोल्डेन नेपाली फिल्म अवार्ड आयोजना गरिने भएको छ। गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नीया, हिमालयन फाउन्डेसन कर्प र गोल्डेन स्टेट मुभी मेकर्स प्रालिले आयोजना गर्ने अवार्ड बारे बिहीबार ठमेलस्थित अलफ्टमा प्रेसमिट गरि जानकारी दिइयो। ०८० साउन १ देखि ०८१ असार मसान्तसम्म प्रदर्शनमा आएका फिल्महरुले प्रतिस्पर्धा गर्न पाउने प्रावधान राखिएको अवार्डमा सहभागी हुन नेपालबाट करिब दुई दर्जन चर्चित कलाकार अमेरिका जाने छन् भने आयोजक संख्याले अमेरिकामै रहेका नेपाली तथा स्थानीय कलाकार तथा बिभिन्न पेशाका बिशिष्ट ब्यक्तिहरुलाई कार्यक्रममा सहभागी गराउने छ। आयोजक संस्थाका प्रमुख यज्ञलाल श्रेष्ठले सानैदेखि कलाकारितामा रुचि रहेको भए तापनि आफू खेलकुदमा लागेको स्मरण गर्दै बिगतमा पनि आफूले केही चलचित्र निर्माणमा साथ दिएको उल्लेख गरे। उनले भने,‘म नेपाली कलाकारिता र कलाकारप्रति उच्च सम्मान गर्दछु । त्यसैले यो क्षेत्रको बिकास,बिस्तार र समृद्धिका लागि केही पहल गर्ने उद्धेश्यले अवार्ड आयोजना गर्न लागेको हुँ।’ यसअघि ग्लोवल फिल्म अवार्डको प्रमुख एक आयोजक भइ प्रयाप्त अनुभव संगालीसकेका उनले अब भने निकै भब्यताका साथ एकल पहलमा गोल्डेन नेपाली फिल्म अवार्ड आयोजना गर्न लागेका हुन्। म्याराथुन धावकका रुपमा अन्तराष्ट्रिय प्रतियोगीतामा भाग लिएर मेडल समेत जितेका उनी पछि अमेरिकामै बसोबास गर्न थाले । खेलाडी, सफल ब्याबसायि हुदै समाजसेवामा पनि उत्तिकै सक्रिय उनले हरेक आर्थिक बर्षभित्र प्रदर्शन भएका नेपाली फिल्महरुलाई समेटेर अवार्ड आयोजना गर्न लागेका हुन् । अवार्ड आयोजक टिममा बरिष्ट अभिनेता शिब श्रेष्ठ,खलअभिनेता सुनील थापा, अभिनेत्री,निर्देशक दीपाश्री निरौला,कलाकार सुनील कटवाल र पत्रकार,फिल्म निर्देशक लक्ष्मण सुवेदी छन् । पपुलर अवार्डका रुपमा आयोजना गर्न लागिएको अवार्डमा बिभिन्न १० बिधामा अवार्ड प्रदान गरिने बताइएको छ । केही बिशिष्ट योगदानकर्मी कलाकारलाई बिशेष योगदान सम्मान समेत प्रदा नगरिने अवार्डको अफिसियल एमसी नरेश भट्टराई छन् । प्रेसमिटमा बरिष्ट अभिनेता नीर शाह,शिब श्रेष्ठ,सुनील थापा,कृष्ण मल्ल तथा बरिष्ट अभिनेत्री बसुन्धरा भुसालले आयोजक यज्ञलालको कामको तारिफ गर्दै नेपाली फिल्मको श्रीबृद्धिमा यो अवार्डले निकै टेवा पुर्याउने बिश्वास ब्यक्त गरे । सोही अबसरमा समाजसेवी संस्था सिन्धुपाल्चोक समाज नेपालको औपचारिक उद्घाटन गरियो । नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेत्रीहरु भुवन चन्द,बसुन्धरा भुसाल,चैत्य देवी,बरिष्ट अभिनेता नीर शाह,शिब श्रेष्ठ,चलचित्र कलाकार संघका पूर्वअध्यक्ष रबिन्द्र खड्का र सिन्धुपाल्चोक समाजका संस्थापक समेत रहेका यज्ञलालले संयुक्त रुपमा समाजको उद्घाटन गरे । आफूहरुले संसारभर छरिएर बसेका सिन्धुपाल्चोकबासीलाई एकत्रित गरि समाजसेवाको कार्यलाई तीव्रता दिनका लागि समाज गठन गरेको जानकारी अध्यक्ष फुर्वा ग्याल्बो लामाले जानकारी दिए । सिन्धुपाल्चोक समाज,अमेरिकाका अध्यक्ष,युवा ब्याबसायि दीपेश लामाले आफुहरु जहाँ रहे तापनि मन भने आफ्नै जन्मस्थानमा हुने बताउदै सिन्धुपाल्चोकबासी बर्षेनी बाढीपहिरोबाट पीढित हुने गरेकाले आपतबिपद्मा परेकालाई सहयोग गर्न आफूहरु एकजुट भइ लाग्नुपर्ने बिचार राखे। गोल्डेन स्टेट मुभी मेकर्सका अध्यक्ष यज्ञलाल श्रेष्ठको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा बिभिन्न क्षेत्रका बरिष्ट ब्यक्तित्व,कलाकर्मी तथा संचारकर्मीको बाक्लो उपस्थिति थियो ।
राज्यले ऐन, कानुनको परिधिमा रहेर मात्र परियोजनाहरूलाई स्वीकृति दिन्छ : मन्त्री चौधरी
काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले राज्यले ऐन, कानूनको परिधिमा रहेर मात्र देशमा आउने परियोजना, कार्यक्रमहरूलाई स्वीकृति दिने बताएकी छन्। आज मन्त्रालयमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था संघ नेपालका नवनिर्वाचित नेतृत्वसँगको भेटघाट कार्यक्रममा मन्त्री चौधरीले त्यस्तो बताएकी हुन्। मुलुकमा अन्तर्राष्ट्रिय गैर सरकारी तथा राष्ट्रिय गैर सरकारी संस्था मार्फत आउने परियोजना, कार्यक्रमहरू राज्यको सर्वोपरि हित हुने गरी अनुमति दिने उनको भनाई थियो। मन्त्री चौधरीले केही परियोजना स्वीकृतिका लागि आउँदा केही पनि सच्याउन नमिल्ने हिसाबले आउने र स्वीकृतिका लागि दबाब दिने गरिएको समेत बताइन्। तर राज्यले जहिले पनि मुलुकको सर्वोपरि हितलाई ख्याल गरेर मात्र स्वीकृति दिने उनको भनाई थियो। राज्यले ऐन, कानूनले तोकेको परिधिभित्र रहेर काम गर्छ । राज्यले निषेध गरेका विषय वा क्षेत्रमा कार्यक्रम गएको छ कि छैन भनेर हेर्ने गर्छु, मन्त्री चौधरीले भनिन्। मन्त्री चौधरीले राज्यको दायराभित्र रहेर लक्षित समुदाय, आर्थिक सूचकाङ्कका हिसाबले पछाडि परेका लक्षित वर्ग, सोह्रौँ राष्ट्रिय योजनाले लिएको लक्ष्यलाई केन्द्रमा राखेर कार्यक्रमहरू बनाउनुपर्ने बताइन्। उनले स्वीकृतिका लागि आएका फाइलहरू के कारणले अड्किएको छ भन्ने कुरामा पनि ध्यान दिनुपर्ने भन्दै सच्याउनका निम्ति दिइएका सुझावहरूलाई पनि विकास साझेदार संस्थाहरूले ध्यान दिनुपर्ने बताइन्। विषय वा प्राथमिकताका आधारमा राज्यलाई के कति फाइदा हुन्छ भन्ने कुरा ध्यानमा राखेर काम गर्नुपर्ने उनको भनाई थियो। अधिकार र जिम्मेवारीका सन्दर्भमा मन्त्री चौधरीले राज्य सधैँ जिम्मेवार ढङ्गले काम गर्ने बताइन्। यसैबिच सोही अवसरमा मन्त्रालयका सचिव दिनेश भट्टराईले विकास साझेदार संस्थाहरूले मुलुकको विकासका निम्ति गर्दै आएको कार्य प्रशंसनीय भएको भन्दै केही कुराहरू राज्यले मसिनो गरी हेर्नै पर्ने बताए। राज्यले निर्धारण गरेको अनुशासनभित्र रहेर काम गर्नुपर्ने भन्दै उनले मुलुकको विकासका लागि राज्य र नागरिक समाजबिच समन्वय गर्दै काम गर्नुपर्ने बताए। कार्यक्रममा समाज कल्याण परिषद्का सदस्य सचिव मनोज भट्टले सुशासन र विकासका लागि राज्य र सरोकारवाला साझेदार संस्थाहरू मिलेर काम गर्नुपर्ने बताए। यससम्बन्धी नीति, नियमलाई सरल, सहज बनाउन आवश्यक रहेको भन्दै उनले गलत कुरा र भ्रमहरूलाई निरुत्साहित गर्नुपर्ने समेत बताए। त्यसैगरी अन्तर्राष्ट्रिय गैरसरकारी संस्था संघ नेपालका तर्फबाट नवनिर्वाचित अध्यक्ष डा।एसपी कलौनेले यस क्षेत्रमा थुप्रै चुनौतीहरू रहेको भन्दै सम्भावनाहरू पनि प्रशस्तै भएको बताए। समाज कल्याण परिषद्लाई डिजिटाइजेशन गर्ने कुरा मन्त्री चौधरीले गरेको बताउँदै त्यसमा संस्थाका तर्फबाट आवश्यक सहयोग गर्न तयार रहेको समेत बताए।
चितवनमा बस र कार ठोक्किँदा २० जना घाइते
काठमाडौं । चितवनमा बस र कार ठोक्किँदा २० जना घाइते भएका छन्। नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ४०६२ नम्बरको बस र काठमाडौंबाट चितवन तर्फ जाँदै गरेको प्र.१-०२९ च ३७२० नम्बरको कार चितवनको फिस्लिङमा ठोक्किँदा २० जना घाइते भएको चितवन प्रहरीले जनाएको छ। कारमा सवार ५ जना र बसका १५ यात्रुको उद्धार गरी चितवनका विभिन्न अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिङले जनाएको छ। दुर्घटनामा घाइते मध्ये केहीको अवस्था गम्भीर छ।
यी नदीमा आज बाढीको सम्भावना, तटीय क्षेत्रमा सतर्क रहन आग्रह
काठमाडौं । देशका केही नदी तथा खोलामा आज जलसतह बढ्ने भएको छ। कोसीसहित केही प्रदेशका एक/दुई स्थानमा वर्षाको सम्भावना रहेका कारण नदी तथा खोलामा बाढीको सम्भावना रहेको हो। जल तथा मौसम विज्ञान विभागका अनुसार आज ताप्लेजुङ, संखुवासभा, पाँचथर, इलाम र आसपास भइ बहने केही स–साना नदीमा आकस्मिक बाढीको जोखिम रहने पूर्वानुमान छ । यी क्षेत्रका नदी तटीय भू–भागमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। कमला, वाग्मती, नारायणी, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई, कर्णाली, महाकाली र यसका सहायक नदीहरूमा पनि जलसतह सामन्य घटबढ हुने विभागले जनाएको छ। यसैबीच, आगामी तीन दिन कोसी र यसका सहायक नदीहरू तमोर, अरूण, सुनकोसी तथा कन्काई र यसका सहायक नदीहरूमा जलसतह सतर्कता तलै हुनेछ । यद्यपि, जलसतह बढ्दो क्रममा रहने भएकाले नदी तटीय क्षेत्रका कृयाकलापमा सतर्कता अपनाउन पनि विभागको आग्रह छ।
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
काठमाडौं । संघीय संसद्अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि विज्ञसँग छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
प्रतिनिधि सभाको बैठक बस्दै (कार्यसूचीसहित)
काठमाडौँ । शुक्रबार संघीय संसद्अन्तर्गत् प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे सुरु हुनेछ । शुक्रबारको बैठकमासमेत विनियोजन विधेयकमाथि छलफल हुनेछ। शुक्रबार विभिन्न मन्त्रालयको बजेटमाथि संसदले छलफल गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी गराएको छ । सरकारले गत जेठ १५ गते १८ खर्ब ६० अर्बको बजेट प्रस्तुत गरेको थियो। शुक्रबारको बैठकमा वन तथा वातावरण, खानेपानी, सञ्चार तथा सूचना प्रविधि र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको बजेटमाथि छलफल हुनेछ।
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौं । हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेशमा साधारणतया बदली, मधेश प्रदेश र बागमती प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली भई बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेशको थोरै स्थानहरुमा तथा बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ। मधेस प्रदेशमा मनसुनको सामान्य प्रभाव देखिन थालेको मौसमविद्ले बताएका छन्। सोमबार देशको पूर्वी भागबाट प्रवेश गरेको मनसुन कोशीबाहेक अरु प्रदेशमा फैलन नसक्दा अरु प्रदेशको जनजीवन गर्मीले कष्टकर बनेको छ। बिहीबारदेखि मधेश प्रदेशमा मनसुनको प्रभाव देखिन थाले पनि पानी पार्ने प्रणाली भने सक्रिय हुन अझै समय लाग्ने मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए।मौसमविद् अर्यालका अनुसार कोशी, मधेस र बागमती प्रदेशमा मनसुनको सामान्य प्रभाव देखिए पनि मध्ये र पश्चिम तराईमा भने अझै तातो हावाको लहर केही दिन चल्ने देखिएको छ। दिउँसो कोशी र मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशका लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा मधेश प्रदेश सहित देशका बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राती कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
भ्रष्टाचार मुद्दामा दोषी ठहर लुम्बिनी विकास कोषका इन्जिनियरलाई ६ वर्ष कैद
काठमाडौं । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका लुम्बिनी विकास कोषका इन्जिनियर सरोज भट्टराईलाई ६ वर्ष जेल सजाय तोकिएको छ ।गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी मु्द्दामा गत जेठ २४ गते दोषी ठहर भएका भट्टराईको सजाय र जरिवाना विशेष अदालतले बिहीबार निर्धारण गरेको हो । विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले बिहीबार भट्टराई ठेकेदारसँग लिएको ८० लाख रुपैयाँ घुस प्रकरणमा ६ वर्ष जेल सजाय तोकेको हो । लुम्बिनी विकास कोषका इन्जिनियर भट्टराई भ्रष्टाचार मुद्दामा दोषी ठहर विशेषले उनीबाट बिगो बमोजिम ८० लाख रुपैयाँ असुलउपर गर्नुपर्ने फैसला पनि सुनाएको छ । ठेकेदारबाट कमिशन लिएर आएको गैरकानुनी आम्दानीले भट्टराईले सम्पत्ति जोडेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० चैत २५ भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको थियो । लुम्बिनी विकास कोषमा ठेक्का लगाउने क्रममा निर्माण कम्पनीका सञ्चालकबाट घुसस्वरुप लिएको पैसा उनले आमा जनकनन्दनी भट्टराईको नाममा भक्तपुरको गुण्डुमा जग्गा किनेको ठहर अख्तियारले गरेको थियो । अख्तियारका अनुसार घुसस्वरुप आएको रकमबाट उनले आमाको नाममा भक्तपुरको गुण्डुमा २ रोपनी ९ आना र २ आना १ पैसा जग्गा खरिद गरेका थिए । अदालतले यस प्रकरणमा जनकनन्दनीलाई सफाइ दिइसकेको छ।अख्तियारका अनुसार निर्माणसम्बन्धी ठेक्का पाएका सफिक अहमदबाट इन्जिनियर भट्टराईले अर्को व्यक्तिमार्फत ८० लाख रुपैयाँ घुस लिएका थिए।त्यही रकमले उनले अचल सम्पत्ति जोडेको निष्कर्षसहित विशेषले दोषी ठहर गरेको हो ।
ताप्लेजुङमा बाढी : बगायो पुल र बाटो, यातायात अवरुद्ध
ताप्लेजुङ। बुधबारदेखि भित्रिएको मनसुनका कारण पूर्वी नेपालमा भारी मात्रामा वर्षा भइरहेको छ। वर्षातका कारण ताप्लेजुङसहितका पहाडी जिल्लामा बाढी आउन थालेको छ।ताप्जेजुङको फक्ताङ्लुङ-५ तापेथोकस्थित सिसावाखोलामा बाढी आउँदा फुङ्लिङ नगरपालिका र फक्ताङ्लुङ गाउँपालिकाको केन्द्र जोड्ने तमोर करिडोर सडक अवरुद्ध भएको छ। यो खोलामा आएको बाढीका कारण केही काठे पुल र बाटो पनि बगाएको छ। बाढीका कारण मानवीय क्षति भने भएको छैन। सिसावा खोलामा आएको बाढी तमोर नदीमा मिसिएपछि करिडोरसमेत ढाकिने गरी ड्यामको आकारमा पानी जम्मा भएको छ। तर तमोर नदीबाट पानीको निकास नरोकिएकाले ड्यामको जोखिम भने कम रहेको स्थानीयले बताएका छन्। सिसावा खोलाको बाढीले बनेको ड्यामका कारण तापेथोक बगरस्थित प्रहरी चौकी, स्वास्थ्य चौकी र सर्वसाधारणका घर डुब्ने जोखिम भने छ। बाढीकाा कारण तमोर करिडोर अन्तर्गतको फक्ताङ्लुङ गाउँपालिका प्रवेश गर्ने सबै सवारी साधनको आवतजावत बन्द भएको छ। गएरातिको बाढीले हाइड्रोले निर्माण गर्दै गरेको मोटरेबल पुलको जगसमेत बगाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

