खुसीको पहिलो ढोका शिक्षा हो : मन्त्री पौडेल

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले खुसी हुने पहिलो ढोका शिक्षा रहेको बताएका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालको १५औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा मन्त्री पौडेलले राम्रो शिक्षा प्राप्त गरेका देशका नागरिक नै खुसी र सुखी हुने बताएका हुन्।

उनले जुन देशमा शिक्षामा लगानी राम्रो हुन्छ उक्त देशमा नै अन्य भौतिक विकासले फड्को मार्ने उल्लेख गर्दै शिक्षालाई प्रयोग गरेर देशलाई समृद्धितिर लानु आजको आवश्यकता रहेको औंल्याए। उनले भने, ‘अहिले शिक्षाको प्रयोग प्रत्यक्ष रुपमा सीप र सिकाइसँग मेल खानुपर्छ, अन्यथा विकासको कल्पना गर्न सकिँदैन।’

शिक्षा प्रणाली सुधार गर्नु राज्यको एक्लो दायित्व नभएकाले त्यसका लागि निजी क्षेत्रको पनि उत्तिकै आवश्यकता रहने जनाउँदै उनले सकारात्मक सल्लाह लिएर मन्त्रालय आउन प्याब्सनलाई आग्रह गरे। राज्यको एक मात्र लक्ष्य हाल कार्यान्वयनमा रहेको शिक्षा प्रणाली सुधार गरी दक्ष जनशक्ति उत्पादन गर्नु रहेको पनि उनले बताए।

कार्यक्रममा अध्यक्ष टीकाराम पुरीले सीपमूलक शिक्षा आजको आवश्यकता रहेको उल्लेख गर्दै यसका लागि राज्यले पहल गर्नुपर्ने धारणा राखे। हरेक दिन उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीको भीडले गिज्याइरहेको जनाउँदै अध्यक्ष पुरीले त्यसको जवाफ राज्यले दिनुपर्ने बताए।

कार्यक्रममा प्याब्सनका पूर्वअध्यक्ष राजेश खड्कालाई ‘प्याब्सन गौरव सम्मान’ बाट सम्मानित गरिएको छ। त्यसैगरी वी एन्ड शर्मा, सानु अमात्य, डोलराज पाण्डे र नारायण अधिकारीलाई ‘प्याब्सन रत्न सम्मान’ बाट सम्मानित गरिएको छ।

बिहीबारसम्म हुने महाधिवेशनले आगामी तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ। महाधिवेशनमा वर्तमान सहअध्यक्ष डिके ढुङ्गाना भावी अध्यक्षमा निर्विरोध भइसकेका छन्। अन्य केही पदमा पनि निर्विरोध चयन भएका छन्। प्याब्सनमा २७ पदाधिकारी र ३९ सदस्यसहित ६६ जनाको केन्द्रीय कार्यसमिति हुनेछ। महाधिवेशनमा देशका विभिन्न स्थानबाट दुई हजार तीन सय प्रतिनिधि सहभागी रहेका छन्। (रासस)

१० जिल्लाका डिएसपी फेरिए, २५ जनाको काज सरुवा

काठमाडौं। नेपाल प्रहरीका २५ जना प्रहरी नायब उपरीक्षकहरूको काज सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालय अन्तरगतको मानवस्रोत एवम् प्रशासन विभागले स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा काज सरुवा गरेको हो । प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचना अनुसार काज भए सरुवासँगै १० पहाडी जिल्लाका प्रहरी प्रमुखहरु परिवर्तन भएका छन्

फागुन २७ पछि आज कोरोनाबाट एक जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । विगत १० दिनयताको यो पहिलो पटक कोभिड–१९बाट मृत्यु भएको घटना हो । यसअघि फागुन २७ गते नेपालमा एक जना संक्रमितको मृत्यु भएको थियो । त्यसयता चैत ८ गते अर्थात् आज एक जना संक्रमितको मृत्यु भएको तथ्याङ्क स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको हो । पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस अवधिमा ४८१ जना संक्रमणमुक्त भएका छन् ।   हाल सक्रिय संक्रमितको सङ्ख्या २ हजार ६ सय ८८ रहेको छ भने, पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ९४ जनाको नमुना परीक्षण गरिएको थियो ।

आवेदन दिएकै साता लाइसेन्स परीक्षा दिन पाउने व्यवस्था गरिंने

काठमाडौं । यातायात व्यवस्था विभाग, काठमाडौंले चालक अनुमति पत्र (लाइसेन्स) परीक्षाका लागि आवेदन दिएको एक हप्ताभित्र परीक्षा हुने व्यवस्था गर्ने तयारी गरेको बताएको छ । अहिले परेको आवेदनको परीक्षा लिइसकेपछि यस्तो व्यवस्था सुरु गरिने विभागको भनाई छ । आवेदन दिनेको चाप अत्यधिक भएको भन्दै विभागले केही दिनअघि सूचना प्रकाशित गरेर अनिश्चितकालका लागि आवेदन प्रणाली बन्द गरेको थियो । विभागका अनुसार हाल लाइसेन्सका लागि पाँच लाख ७२ हजारको आवेदन परेको छ। परेको आवेदन आगामी जेठ १६ गतेभित्र सक्ने गरी लागेको विभागले जनाएको छ । परीक्षा कोटा बढाउने तीन सिफ्टमा परीक्षा सञ्चालन गर्ने तयारी विभागको छ। विभागको सूचना प्रविधि शाखाले बिहान, दिउँसो बेलुका गरी तीन सिफ्ट गरेर देशैभरका यातायात कार्यालयहरूबाट परीक्षा लिइने कार्यतालिका तयार गरिरहेको विभाग बताउछ ।   अबको लाइसेन्स आवेदन प्रणाली खुला भएपछि आवेदन दिएकै हप्ताभित्र परीक्षा दिन पाउने गरी व्यवस्था गरिने भएको हो ।   हाल आवेदन दिएर परीक्षाका लागि वर्षौं कुर्नुपर्ने बाध्यता छ। कोभिड महामारीका कारण लामो समय परीक्षा रोकिँदा पछिल्लो समय अत्यधिक चाँप देखिएको छ। विभिन्न कार्यालयमार्फत यसअघि फारम भरेकाहरूको पालो आउन झन्डै दुई वर्ष कुर्नुपर्ने अवस्था देखिएपछि विभागले यस्तो व्यवस्था गर्न लागेको हो । यो जम्मा भएको चाँप सकेर थोरै–थोरै आवेदन लिने र परीक्षा पनि लिइहाल्ने व्यवस्था मिलाउने विभागको योजना छ। देशभर २३ यातायात कार्यालय छन्। यी कार्यालयमध्ये पनि अध्यधिक चाप काठमाडौं उपत्यकाका कार्यालयहरूमा छ। उपत्यकाका यातायात कार्यालयले दैनिक पाँच सयदेखि एक हजारसम्मको परीक्षा सञ्चालन गर्दै आएको बताएका छन्। परीक्षा उत्तीर्ण गरेकाले पनि लामो समयदेखि स्मार्ट लाइसेन्स पाउन सकेका छैनन्। नवीकरण गर्नेहरू पनि पर्खाइमा छन्। विभागले दैनिक ६ हजार यस्तो कार्ड छापिरहेको जानकारी दिएको छ। गत मंसिरमा आएको १४ लाख नयाँ कार्डमा अब साढे दुई लाख छाप्न बाँकी रहेको विभागले बताएको छ। यसअघि स्मार्ट कार्ड अभावमा विभागले कारण छपाइ र वितरण पनि लामो समय बन्द गरेको थियो। गत मंसिरमा फ्रान्सको सेल्प कम्पनीले ठेक्का सम्झौताअनुसार १४ लाख स्मार्ट कार्ड उपलब्ध गराएसँगै २०७७ फागुनदेखि ठप्प लाइसेन्सको छपाइ पुसदेखि सुरू भएको हो। त्योभन्दा अगाडिको समयमा विदेश जानुपर्ने तथा अत्यावश्यक सेवाग्राहीलाई मात्रै लाइसेन्स उपलब्ध गराउँदै आएको थियो। कार्ड आपूर्तिमा लापरबाही र ढिलाइ हुँदा लाइसेन्स परीक्षा नै हुन सकेको थिएन। निषेधाज्ञा समयमा लाइसेन्स छपाइ पनि रोकिएको थियो। लामो समयसम्म स्मार्ट लाइसेन्स छपाइ बन्द हुँदा अहिले लाखौं चालकहरू स्मार्ट लाइसेन्सबाट बञ्चित छन्। नवीकरण गर्नेहरूले पनि वर्ष दिनभन्दा बढी कुर्नु परेको छ। उनीहरू राजस्व तिरेको रसिदलाई लाइसेन्सका रूपमा प्रयोग गरिहेका छन् । तर पछिल्लो समय ट्रायल उत्तीर्ण भएकाहरूलाई परीक्षणकालीन लाइसेन्स दिन थालेपछि केही सहज भने भएको विभागको भनाई छ। स्मार्ट लाइसेन्स छपाइमा भएको ढिलाइका कारण लाइसेन्स लिन सेवाग्राही वर्ष दिन कुर्नुपर्ने बाध्यताको विकल्पमा विभागले अस्थायी रूपमा एक वर्ष अवधिको परीक्षणकालीन लाइसेन्स दिन सुरू गरेको हो। यस्तो लाइसेन्स ट्रायल पास भएर राजश्व बुझाएकै दिन एक वर्षको म्याद राखेर वितरण भइरहेको छ। अस्थायी कार्ड वितरण सुरू भएसँगै पछिल्लो समय खरिद गरेको १४ लाख कार्डले अझै केही समय थेग्ने विश्वास विभागको छ। अस्थायी कार्डलाई विभागले एक वर्षको मान्यता दिएको छ। एक वर्षसम्म पाँच पटकसम्म ट्राफिक नियम उल्लंघन गरी कारबाहीमा परे यो कार्ड खारेज हुनेछ। पाँच पटकसम्म कारबाहीमा नपरे मात्रै चालकले एक वर्षपछि स्मार्ट लाइसेन्स पाउने छन्। यस्तो कार्ड प्रतिगोटा छपाइमा पचास रूपैयाँ मात्र खर्च लाग्ने विभागका महानिर्देशक नमराज घिमिरेको भनाइ छ। उनका अनुसार विभागले यस्तो कार्ड हाल निःशुल्क दिएको छ।

एमसीसीले भन्यो : अधिग्रहण गरेको जग्गा तत्काल खाली गर

काठमाडौं । मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनाअन्तर्गत् सब स्टेशन निर्माणका लागि नुवाकोटमा अधिग्रहण गरिएका घरजग्गा तत्काल खाली गर्न एमसिएले आग्रह गरेको छ । मिलिनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति काठमाडौंले एक सूचना जारी गर्दै अधिग्रहण गरिएका घरजग्गा ३५ दिनभित्र खाली गर्न भनेको हो । एमसीए–नेपालद्वारा निर्माण गर्न लागिएको ४०० केभी रातमाटे सब–स्टेसनका लागि आवश्यक जग्गा अधिग्रहण गर्न जग्गा प्राप्ति ऐन, २०३४ अनुसार जिल्ला प्रशासन कार्यालय, नुवाकोटबाट विभिन्न मितिमा सूचना प्रकाशन गरी मुआब्जालगायत क्षतिपूर्ति तथा पुनर्वास सहायता रकमहरू समेत निर्धारण भई सोको वितरण तथा जग्गाको लगत कट्टा एवं नामसारी समेत भइसकेको भन्दै सूचना जारी गरेको हो । “ती अधिग्रहण गरिएका जग्गामा स्वीकृत कार्यक्रम अनुरूप सब–स्टेसन निर्माणका लागि तारबार गर्ने कार्यलाई अविलम्ब अगाडि बढाउनु परेकोले मुआब्जालगायत क्षतिपूर्ति तथा पुनर्वास सहायता रकमहरू बुझिसकेका महानुभावहरूले अधिग्रहण गरिएका घरजग्गाहरू यो सूचना प्रकाशित भएको मितिबाट ३५ दिनभित्र खाली गरिदिनुहुन अनुरोध सहित यो सूचना प्रकाशित गरिएको छ,” सूचनामा उल्लेख छ।

प्रहरी बताउने समुहले कञ्चनपुरबाट एक नेपालीलाई भारतमा लगेर बन्धक बनाएकाे खुलासा

काठमाडौं ।आफूलाई प्रहरी बताउँदै एक समूहले कञ्चनपुरबाट आइतबार साँझ एक नेपालीलाई बन्धक बनाएर भारत लगेको खुलेको छ । कञ्चनपुरको बेतकोट नगरपालिका–७ स्थित आफ्नो ससुरालीमा बस्दै आएका कैलालीको जानकी गाउँपालिका–६, जगतपुरका मीनबहादुर शाहलाई बन्धक बनाएर भारत पुर्‍याइएको हो । उनलाई बन्धक बनाएर भारत लगेको नेपालको सीमा प्रहरीले समेत चाल पाएन । मीनबहादुर पछिल्लो एक महिनादेखि श्रीमतीसहित कञ्चनपुरमा रहेको ससुरालीमा बस्दै आएका थिए । स्कुटरमा आएका दुईजनाले आफूहरु प्रहरी भएको र ‘काम छ’ भन्दै मीनबहादुरलाई लिएर गएका थिए । आफन्तले प्रहरी कार्यालयमा सम्पर्क गर्दा उनी त्यहाँ नभएको जानकारीपछि अनुसन्धान सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटनाबारे अनुसन्धान भइरहेको बताएको छ । प्रहरीले कुनै पनि प्रहरी टोलीले उनलाई नलगेको जनाएको छ । उनलाई लैजाने को हुन् भन्नेबारे अनुसन्धान भैराखेको छ । प्रहरी अनुसन्धानका क्रममा बम कञ्चनपुरको सीमावर्ती भारतीय सहर बनबासामा प्रहरी हिरासतमा रहेको खुलेको छ । नेपाली नागरिक नेपालका सुरक्षा निकायको समन्वयबिना भारतीय प्रहरीको नियन्त्रणमा पुग्नु गम्भीर विषय भएको सुरक्षा अधिकारीहरु बताउछन् । प्रहरीका अनुसार केही समयअघि मीनबहादुर दम्पती भारतको गुडगाउँमा बस्दै आएका थिए । उनीहरू त्यहाँ बस्दा एक घरमा लुटपाट भएको र सो लुटपाटमा मीनबहादुरको नाम समेत जोडिएकाले लगेको हुन सक्ने आशंका नेपाल प्रहरीले गरेको छ ।

कुनैपनि बहानमा विद्युतिकरणमा ढिलाई हुँदैन, दुईवर्षमा सबैका घर बिजुली बल्छ: मन्त्री भुसाल

रुकुम पश्चिम । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले कुनैपनि बहानमा विद्युतिकरणमा ढिलाई नहुने बताएकी छन् । उनले अबको दुई वर्षमा सबैका घरमा बिजुली बाल्ने गरी कार्यक्रम तयार पारिएको बताएकी हुन् । मन्त्री भुसालले सबै नेपालीका घरमा दुई वर्षभित्रै बिजुली बाल्ने गरी योजना बनाएर मन्त्रालय कार्यान्वयनमा लागेको बताईन् । सोमबार मुसीकोट नगरपालिका–३ मा निर्माण भएको विद्युत् सबस्टेसनको उद्घाटन गर्ने क्रममा मन्त्री भुसालले आधारभूत आवश्यकताको रुपमा रहेको बिजुली सबै नेपालीको घरघरमा पुर्‍याउन सरकारको दाईत्व भएको बताईन् । त्यसका लागि सरकारले आवश्यक योजना र बजेटको समेत व्यवस्था गरिसकेको उनको भनाइ छ । ‘भौगोलिक विकटता, सडक असुविधा लगायत कारणले समयमै कति काम सम्पन्न नभएका हुन सक्छन्,’ मन्त्री भुसालले भनिन्, ‘अब कुनै पनि बहानामा विद्युत् विस्तार, विद्युतीकरणको काम नरोकियोस् भन्नेतर्फ सरकारले ध्यान दिइरहेको छ ।’ विद्युत्‌को पहुँच नपुगेको ठाउँमा विद्युतीकरणमा जोड दिएर जनताको दैनिकीलाई सजिलो बनाउने सरकारको प्राथमिकता रहेको मन्त्री भुसालको भनाइ छ । उनले जिल्लाका आठबीसकोट, चौरजहारी र मुसीकोट नगरपालिकाका अन्य विकासे योजनाको अनुगमन समेत गरेकी छन् ।

जातीय विभेद तथा छुवाछुत मानव समाजका कलङ्क हुन् : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ५७औंं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा जातीय विभेद उन्मूलनका लागि सङ्घर्ष गर्ने सम्पूर्ण अधिकारकर्मी, योद्धा तथा अग्रजहरूप्रति सम्मान व्यक्त गरेका छन् ।आज सोमबार २१ मार्चमा ५७ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस मनाइँदैछ । दिवसका अवसरमा शुभकामना सन्देशमार्फत देउवाले जातीय विभेद तथा छुवाछुत मानव समाजको कलङ्क भएको उल्लेख गर्दै २१ औं शताब्दीमा कोही पनि मानिस जातीय विभेद र छुवाछुतबाट अपहेलित र अपमानित हुन नहुने बताएका छन् । मानव अधिकारको विश्वव्यापी घोषणापत्रले सबै मानिस समान हुन् भन्दै सबैलाई स्वतन्त्रता र आत्मसम्मानपूर्वक बाँच्न पाउने हकको प्रत्याभूति गरेको छ । साथै, संयुक्त राष्ट्र सङ्घको जातीय भेद्भाव उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, १९६५ र अन्य विभिन्न घोषणा तथा प्रतिज्ञापत्रले पनि जातीय भेदभावलाई कानूनतः दण्डनीय बनाउँदै सबै मानवका लागि समानता, स्वतन्त्रता र अविभेदको सुनिश्चितता गरेका छन् । प्रधानमन्त्री देउवाले नेपाल यी अन्तर्राष्ट्रिय सन्धि तथा प्रतिज्ञापत्रहरूको पक्ष राष्ट्र भएको नाताले तिनमा भएका व्यवस्थाहरूको कार्यान्वयन गर्नु हाम्रो कानुनी र नैतिक दायित्व हुने बताए । नेपालको संविधानले सबै नागरिकलाई स्वतन्त्रता र समानताको हक सुनिश्चित गरी छुवाछुत तथा भेदभाव विरुद्धको हकलाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको छ । उनले तिनै विभिन्न ऐन, नियम तथा निर्देशिका एवं संरचनागत व्यवस्थामार्फत जातीय भेदभाव तथा छुवाछुतलाई उन्मूलन गर्न विभिन्न प्रयासहरू भएको बताए। “आज मुलुकमा जातीय छुवाछुत भेदभाव (कसुर र सजाय) ऐन, २०६८ र मुलुकी देवानी तथा फौजदारी संहिता जारी भई दलित तथा बहिष्करणमा परेका समुदायलाई न्याय र समानता सुनिश्चित गर्ने र उनीहरूलाई दुव्र्यवहार गर्ने विरुद्ध कानुनी कारबाही हुनसक्ने स्थिति निर्माण भएको छ । यी कानुनी व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गरी सबै नागरिकलाई सम्मानपूर्ण व्यवहार सुनिश्चित गर्न सरकार प्रतिबद्ध छ”, प्रधानमन्त्री देउवाले भनेका छन् । उनले आजभन्दा करिब २४ वर्ष अगाडि आफ्नै प्रधानमन्त्रित्व कालमा विसं २०५४ असोज १५ गते उपेक्षित, उत्पीडित, दलित वर्ग उत्थान विकास समिति र मिति २०५८ साउन ३२ गते राष्ट्रिय दलित आयोग गठन भएको स्मरण गराएका छन् । विसं २०६३ जेठ २१ गतेका दिन नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको हो । आज दलित र बहिष्करणमा परेका समुदायको हकअधिकार संरक्षण र संवद्र्धनका लागि राष्ट्रिय दलित आयोग र समावेशी आयोगजस्ता छुट्टै स्वतन्त्र र अधिकारसम्पन्न संवैधानिक निकायहरूको व्यवस्था भइसकेको छ । दलित र बहिष्करणमा परेकालाई राज्यको सबै क्षेत्रमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न आरक्षण र सकारात्मक विभेदलगायतका विभिन्न व्यवस्था गरिएको उनले अवगत गराएका छन् । प्रधानमन्त्री देउवाले यी कानुनी व्यवस्था तथा संरचनाहरूलाई थप प्रभावकारी बनाउँदै यस वर्गभित्र पनि सीमान्तीकृत र विपन्न समूहलाई बढी लाभ पु¥याउने गरी कार्य गर्न सबैमा आग्रह गरेका छन् । उनले मुलुकमा जातीय भेद्भाव र छुवाछुतलाई पूर्ण रूपमा अन्त्य गरी सबै नेपाली नागरिकलाई समानताको आधारमा आत्मसम्मानपूर्ण व्यवहार सुनिश्चित गर्न सबैलाई दिवसले अभिप्रेरणा दिन सकोस् भन्दै शुभकामना व्यक्त गरेका छन् ।

वाईसिएल उदयपुर जिल्लाकाे विस्तारित भेला तथा प्रशिक्षण सम्पन्न

  उदयपुर । वाईसिएल उदयपुरले सदरमुकाम गाईघाटमा विस्तारित भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । गाईघाटको टाउन होटलमा सम्पन्न भेलाले ज्ञानेन्द्र मगरको अध्यक्षतामा २५ सदस्यिय जिल्ला समितीको गठन गरेको छ । कार्यक्रम जिल्लाका ६ सय युवाको सहभागितामा भएको थियो । कार्यक्रमका प्रमुख अतिथि संघिय सांसद सुरेश राई हिमालले माओवादी केन्द्रलाई स्थानीय चुनावमा जिताउने कार्यमा महत्वपुर्ण भुमिका युवाहरुको हुने बताए । उनले एमाले कांग्रेस पुरातनवादी भएको भन्दै देशको निकास र विकासका लागि माओवादीले चुनाव जित्नुपने धारणा राखेका थिए । माओवादीले चुनाव नजिते प्रतिगमन हावी हुने भन्दै सांसद राईले युवाहरुलाई एमाले कांग्रेसको भम्र चिर्दै गाँउघरमा जनताको दैलोमा पुगेर जनताको मन जित्न निर्देशन दिए । उदयपुर जिल्ला वाईसिएलले उदयपुर माओवादीको राम्रो जनाआधार भएको क्षेत्र भएकोले आठ वटा पालिका जित्ने गरी अभियान चलाएको बताएको छ ।

भूमन्त्री श्रेष्ठले गरिन् १५ हजार घरपरिवारलाई लालपूर्जा वितरण

भूमिहीनता अन्त्य सरकारको उच्च प्राथमिकतामा रहेको भनाई काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयको जिम्मेवारी लिएपछि मन्त्री शशी श्रेष्ठ भूमि विहिनहरुलाई लालपुर्जा वितरणमा वेस्त छन् । मन्त्री श्रेष्ठले मन्त्रालय संहालेपछि हालसम्म देशभरको गाउँब्लकमा रहेका १५ हजार घरपरिवारलाई लालपूर्जा वितरण गरि सकिएको छ । मन्त्री श्रेष्ठले यसअघि महोत्तरीको रामगोपालपुर, सप्तरी, धनुुषा, सुनसरी र चितवन र काठमाडौंको किर्तिपुर नगरपालिकाको गाउँब्लकमा रहेका भूूमि विहिनहरुलाई लालपूर्जा वितरण गरेकी छन् । २०२१ साल यता जग्गाको नापी हुँदा गाउँब्लकका रुपमा राखिएका र विभिन्न समयमा जग्गा नापी भएर पनि लालपूर्जा विहिन बनिरहेकाहरुलाई लालपुुर्जा वितरण अभियान तिब्र पारिएको छ । मन्त्री शशी श्रेष्ठले संविधानमा लिपिबद्ध गरिएका जनताका अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्ने विषय अहिलेको सरकारको प्राथमिकतामा रहेको बताइन्। शुक्रवार भक्तपुरमा आयोजित जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण समारोहमा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएकी हुन् । उनले मध्यथिमी नगरपालिका (साविक वडा नं. ६ र ८) का ४५६ जग्गाविहीनहरूलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गर्दै संविधानमा व्यवस्था भएअनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्वासीहरूलाई जग्गा उपलब्ध गराउने, अव्यवस्थित बसोबासीहरूो व्यवस्थापन गर्ने कार्य सम्पन्न गर्न राष्ट्रिय भूमि आयोगले नेपालको इतिहासमै पहिलो पटक ऐन बनाएर अघि बढेको पनि बताइन्। ‘संविधानमा नै व्यवस्था भएको मुक्त कमैया, कमलरी, हरुवाचरुवा, हलिया, भूमिहीन सुकुम्वासीहरू पहिचान गरेर बसोबासका लागि घरघडेरी तथा जीविकोपार्जनका लागि कृषियोग्य जमिन वा रोजगारीको व्यवस्था गर्दै पुनः स्थापना गर्ने भन्ने विषय पनि प्राथमिकतामा छ,’ उनले भनिन् । मन्त्री श्रेष्ठले संविधानमा भएको नागरिकको हक कार्यान्वयनलाई अहिलेको सरकारले पहिलो प्राथमिकतामा राखेको भन्दै जनताको काम गर्न स्थानीय तहका जनप्रतिनिधि र मातहतका कर्मचारीलाई इमान्दार भएर लाग्न आग्रह समेत गरिन् । मन्त्री श्रेष्ठले यसअघि महोत्तरीको रामगोपालपुर, सप्तरी, धनुुषा, सुनसरी र चितवन र काठमाडौंको किर्तिपुर नगरपालिकाको गाउँब्लकमा रहेका भूूमि विहिनहरुलाई लालपूर्जा वितरण गरेकी छन् । मन्त्री श्रेष्ठले मन्त्रालय संहालेपछि हालसम्म देशभरको गाउँब्लकमा रहेका १५ हजार घरपरिवारलाई लालपूर्जा वितरण गरि सकिएको छ । २०२१ साल यता जग्गाको नापी हुँदा गाउँब्लकका रुपमा राखिएका र विभिन्न समयमा जग्गा नापी भएर पनि लालपूर्जा विहिन बनिरहेकाहरुलाई लालपुुर्जा वितरण अभियान तिब्र पारिएको छ ।  

जनयुद्धका सहिद परिवारलाई सम्मानसहित एक लाखको चेक प्रदान

बारा । मधेस प्रदेश सरकारले जनयुद्धका सहिदका परिवारजनका सदस्यहरूलाई सम्मानसहित रु. एक लाखको चेक प्रदान गरेको छ । बाराको सिमरामा मधेस प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय मधेसी सहिद प्रतिष्ठानले बाराका ६० जना सहिदहरूका परिवारलाई सम्मान गरेको हो । सङ्घीय सरकारका पूर्व मन्त्री मातृका प्रसाद यादव र प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साहले दोसल्ला र प्रशंसा पत्रले सम्मान गर्दै जनही सहिदका परिवारहरूलाई रु १ लाखको चेक हस्तान्तरण गरेक हुन् । अहिलेका सम्पुर्ण उपलब्धिहरू जनयुद्धका सहिदहरूकै देन भएकाले सहिदका परिवारजनहरूले गर्व गर्नुपर्ने पूर्व मन्त्री यादवले बताए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य गोपाल ठाकुर, जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्य क्षेत्र बहादुर श्रेष्ठ अनिल, संविधान सभा सदस्य जयराम दाहाल, केन्द्रिय सदस्य उद्धव पोख्रेल, प्रदेश सदस्य राजन पौडेल, गीता कँडेल लगायतको सहभागिता रहेको थियो ।

अमेरिकी सेनाको कार्गो जहाज काठमाडौं आएपछि

काठमाण्डौं । अमेरिकी एयर फोर्सको एउटा कार्गो जहाज शुक्रबार काठमाडौं आएर फर्किएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज आएलगत्तै सामाजिक सञ्जालमा फोटो र भिडियो राखेर एमसिसीसँग जोडेर विभिन्न किसिमका चर्चा गरेकाे सामाजिक संजाल तिर देखिएको छ । विमानस्थल स्रोतका अनुसार शुक्रबार काठमाडौं आएको कार्गो जहाज अमेरिकी दूतावास र कूटनीतिक निकायका सामग्री लिएर आएको थियो । आज आएको जहाजले सधैं झैं कूटनीतिक निकाय र दूतावासका सामग्री लिएको आएको विमानस्थल स्रोतले जनाएको छ । विमानस्थल स्रोतका अनुसार यस्तो जहाज यसअघि पनि कूटनीतिक नियोगका सामग्री लिएर आउने गरेको थियो । विमानस्थलका अनुसार शुक्रबार बिहान सवा ९ बजे काठमाडौं आएर जहाज पौने १२ बजे फर्किसकेको छ।

होलीलक्षित ट्राफिक व्यवस्थापन कडाः मापसे गरी गाडी हाक्ने १०६ जनालाई कारबाही

काठमाडौं । होलीका अवसरमा मादक पदार्थ सेवन गरी सवारी चलाउने १०६ जनालाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारबाही गरेको छ । फागु पूर्णीमा (होली)लाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन भन्दै बिहीबार प्रहरी महाशाखाले काठमाडौंमा १ हजार ३ सयभन्दा बढी ट्राफिक प्रहरी खटाएको थियो । उपत्यकाका विभिन्न ६८ स्थानहरुमा चेक प्वाइन्टहरु राखेर बिहानदेखि नै कडा चेकिङको व्यवस्था गरिएको प्रहरी महाशाखाले जनाएको छ । । होलीलक्षित ट्राफिक व्यवस्थापन कडा गरिएको कारण काठमाडौंमा कुनै अप्रिय घटना नभएको पनि प्रहरीले जनाएको छ ।

होली खेल्दा घरको छतबाट खसेर युवती गम्भीर घाइते

काठमाडौ‌ं । होली खेल्ने क्रममा घरको छतबाट खसेर एक युवती गम्भीर घाइते भएकी छन्। काठमाडौं जोरपाटीमा बस्दै आएकी २२ वर्षीया बिनिता चौलागाईं होली खेल्ने क्रममा घरको छतबाट खसेर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोक भोटेचौर घर भएकी उनी अस्थायी रुपमा जोरपाटी दक्षिणढोका बस्दै आएकी थिइन्। घरको छतमा होली मनाउँदै गर्दा दुई तला माथिबाट उनी खसेकी थिइन्। उनको अवस्था गम्भीर छ। प्रहरीका अनुसार उनलाई उपचारका लागि चाबहिलस्थित दिर्घायु अस्पतालमा लगिएको छ।

एमसिसीको विरोधमा ४ दल र १ मोर्चाद्वारा फागुन ४ गते नेपाल बन्दको घोषणा

काठमाण्डौं । एमसिसी सम्झौताका विरुद्ध विप्लव नेतृत्वको नेकपा लगायतका ४ दल र १ मोर्चाद्वारा भोलि फागुन ४ गते नेपाल बन्दको घोषणा गरेका छन् । उक्त मोर्चाले एमसिसी देशको लागि घातक सम्झौता सदनमा लान लागेको भन्दै त्यसको विरुद्ध आन्दोलन गर्दै आइराखेको छ । जनताको मागलाई वेवास्ता गर्दै एमसिसी पास गर्न कै लागि नेपालका केही ठुला दलका नेता र सरकार लागिपरेको उनिहरुको आरोप छ । आम जनसमुदायले विभिन्न खाले आन्दोलनका कार्यक्रम गरेतापनि सरकारले अटेरि गरेको कारण बाध्यतावस भोलि फागुन ४ गते ५ पार्टी र १ मोर्चाले नेपाल बन्दको आह्वान गर्नुपरेको बताएको छ ।

रत्ननगरमा मोवाइल पत्रकारिता तालिम सुरु

रत्ननगर। चितवनको रत्ननगरमा पत्रकारहरुको लागि मोवाइल पत्रकारिता तालिम सुरु भएको छ । उपमेयरसंग पत्रकार कार्यक्रम अन्तर्गत रत्ननगर नगरपालिकाको आयोजनामा दुई दिने तालिम सुरु भएको हो । प्रविधिको उच्चतम प्रयोग गरी तत्काल नागरिकलाई सुचना प्रदान गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो । तालिमको उद्घाटन गर्दै मेयर नारायण वनले पत्रकारहरुको क्षमता बृद्धि गर्दै उनीहरुलाई थप व्यवसायिक बनाउन तालिम आयोजना गरिएको बताए । मेयर वनले नगर विकासमा भएका राम्रा कुराहरुलाई प्राथमिकता दिन र हुन नसकेका कुराहरुलाई सचेत गराउने गरी समाचार प्रकाशित गर्नु पत्रकारको जिम्मेवारी रहेको बताए । उपमेयर विमला दुवाडीले मल्टिमिडियाको क्षेत्रमा पत्रकारहरुलाई दक्ष बनाउन तालिम आयोजना गरिएको भन्दै नागरिकलाई सुसुचित बनाउने काममा पत्रकारहरु जिम्मेवारी पूर्वक लाग्नुपर्ने बताइन । कार्यक्रममा मोवाइलबाट अनलाइन सञ्चार माध्यममा समाचार प्रकाशित गर्ने तरिका,भिडियो सम्पादन,फोटो इडिटिङ,भाषा सम्पादन,भिडियो छायाङ्कन,अडियो मिक्सिङ कला लगायतको विषयमा प्रशिक्षण दिइएको छ । विविसी एक्सन मिडियाका पूर्व सम्पादक भूवन तिमिल्सिनाले तालिममा प्रशिक्षण दिएका हुन । उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल,सामाजिक विकास समितिका संयोजक तथा वडाध्यक्ष केशब आचार्य,महिला विकास अधिकृत दीपा घिमिरे लगायतले मन्तव्य राखेका थिए । तालिममा पूर्वी चितवनलाई कार्यक्षेत्र बनाएर काम गर्ने २५ जना पत्रकारहरुको सहभागिता रहेको थियो ।