संसद सचिवालयका कर्मचारीको आन्दोलनबारे बालुवाटारमा छलफल

काठमाडौं । सङ्घीय संसद सचिवालयका कर्मचारीको आन्दोलनका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभामुखसहित शीर्ष नेताहरुसँग छलफल गरिरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्री वर्षमा पुन र कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी सहभागी भएको स्रोतले जानकारी दियो ।
साथै बैठकमा मुख्य सचिव डा.बैकुण्ठ अर्याल र संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय पनि उपस्थित छन्।

सभामुखले संसद सचिवालयका कर्मचारीको मागबारे सम्बद्ध पक्षहरूसँग केही दिनदेखि औपचारिक तथा अनौपचारिक रुपमा छलफल गर्दै आएका थिए।

यसअघि यही असार ३ गते सभामुख घिमिरे, राष्ट्रिय सभा अध्यक्ष दाहालले दलका प्रमुख सचेतकहरूसँग गरेको छलफलमा कर्मचारीहरुले राखेको माग सम्बोधन गर्न पहल गर्ने सहमति भएको थियो।

संसद सचिवालयका कर्मचारीहरु विभिन्न ११ बुँदे मागसहित जेठ अन्तिमदेखि आन्दोलनरत छन् ।जसलाई संसद्का सिनियर कर्मचारीले पनि समर्थन गरेका छन् ।

समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्नेगरी बजेट ल्याएका छौँ : अर्थमन्त्री

काठमाडौँ। अर्थमन्त्री वर्षमान पुनले उत्पादन वृद्धि, रोजगारी सिर्जना र समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने मूल नाराका आधारमा बजेट प्रस्तुत भएको बताएका छन् । शनिबार काठमाडौँमा नेकपा (माओवादी केन्द्र) अछाम(काठमाडौँ सम्पर्क समन्वय समितिको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले बजेटमा कृषि, पर्यटन, जलविद्युत, आइटी क्षेत्रलाई नेपालको अर्थतन्त्रमा रूपान्तरण ल्याउने क्षेत्रका रूपमा अघि सारिएको बताए। ‘‘अहिले हामीले बजेटमा पनि उत्पादन वृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने र समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने मूल नाराका आधारमा बजेट प्रस्तुत भएको छ।अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा निर्देशन भएर। कृषि, पर्यटन, जलविद्युत, आइटी र उत्पादनमूलक क्षेत्रहरू नेपालको अर्थतन्त्रमा रूपान्तरण ल्याउने क्षेत्र हुनसक्छन् । सात प्रदेशका सात वटा विशेषता छुट्याएका छौँ।,’’मन्त्री पुनले भने, ‘‘सुदूरपश्चिमलाई पर्यटकीय हबको रूपमा विकास गर्नुपर्छ भनेर लगानी कर्तालाई आह्वान गरेका छौँ । एउटा प्रदेशले एउटा विशेषतामा लैजाने भन्ने किसिमबाट बजेट प्रस्तुत गरेका छौँ। अरू हाम्रो पार्टी, कार्यकर्तालाई पनि उत्पादनसँग जोड्ने आयोजनाहरू, रोजगारी सम्बन्धी कार्यक्रमहरू अघि सारेका छौँ। उत्पादनसँग जोडिनुपर्छ।’’ उनले सात प्रदेशका सात वटा विशेषता छुट्याएको बताए। उनले सुदूरपश्चिमलाई पर्यटकीय हबको रूपमा विकास गर्नेगरी बजेटमा विनियोजन गरिएको बताए। उनले सरकारले अहिले सुशासन, सामाजिक न्याय, समृद्धिलाई जोडेर लैजाने गरी काम गरिरहेको जिकिर गरे। उनले मानिस धनी हुने मात्रै नभई समानतातिर लैजाने किसिमले उत्पादन केन्द्रित बजेट ल्याएको औँल्याए। उनले भने, ‘‘उत्पादनसँग जोडिने, श्रम गर्ने, ट्याक्स तिर्ने, र आफ्नो उत्पादनलाई आफैँले प्रयोग गर्ने काम गरौँ भनेका छौँ। सरकारले अहिले सुशासन, सामाजिक न्याय, समृद्धिलाई जोडेर लैजाने र सोह्रौँ आवधिक योजनालाई बोक्ने मुख्य नारा बनाएको छ। हामी केही मानिस धनी हुने मात्रै नभई समानतातिर लैजाने किसिमले उत्पादनमा केन्द्रित छौँ। भ्रष्टाचार लगायत विभिन्न खालका विकृति नियन्त्रण गरेर मात्रै सुशासन स्थापित गर्नसक्छौँ।’’ उनले समाजको नैतिक धरातललाई नबिर्सीकन काम गर्दा समाज र देश समृद्ध बन्ने बताए ।

परराष्ट्रमन्त्री श्रेष्ठ आज इरान जाँदै

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज इरान जाँदै छन्। एसिया सहयोग संवाद (एसिया कोअपरेसन डायलग)को परराष्ट्र मन्त्रीस्तरीय १९औँ  बैठकमा भाग लिन श्रेष्ठ इरान जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्री श्रेष्ठले असार १० गते इरानको राजधानी तेहरानमा हुने बैठकमा भाग लिने छन्। यस्तै, परराष्ट्रमन्त्री श्रेष्ठले विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको जनाइएको छ । मन्त्रीस्तरीय बैठक अघि आइतबार तेहरानमा हुने एसिया सहयोग संवादको वरिष्ठ अधिकारीहरूको बैठकमा मन्त्रालयको क्षेत्रीय संगठन महाशाखाका सहसचिव ज्ञानबहादुर मगर सहभागी हुनेछन्। उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठ असार १२ गते काठमाडौं फर्कने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ।

पहिरो हटाएपछि नारायणगढ-मुग्लिन सडक दुईतर्फी नै सञ्चालनमा

चितवन । पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ। इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार यो सडक खण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका(२९ सिमलतालमा पहिरो खस्दा गए राति १ः३० बजेदेखि सडक दुइतर्फी  अवरुद्ध भएको थियो।  पहिरो पञ्छाएसँगै अवरुद्ध सडक आज बिहान ५ः३० बजेदेखि दुइतर्फी सञ्चालनमा आएको हो। सडक अवरुद्ध हुँदा रोकिएका सबै सवारी साधन गन्तव्यतर्फ लागेका छन्। 

फेवातालमा पौडी खेल्ने गएका युवाको डुबेर मृत्यु

काठमाडौं । कास्कीस्थित फेवातालमा पौडि खेल्न गएका युवाको डुबेर मृत्यु भएको छ। पोखरा महानगरपालिका२२, चिसापानीस्थित फेवातालमा डुब्दा शुक्रबार अन्नपूर्ण गाउँपालिका २ नौडाँडाका २५ वर्षीय सञ्जय भण्डारीको ज्यान गएको हो। प्रहरीका अनुसार शुक्रबार साँझ ५ बजेतिर तालमा डुबेका उनलाई सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तथा गोताखोर टोलीले अचेत अवस्थामा उद्धार गरेको थियो। कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माका अनुसार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा चिकित्सकले उनलाई साँझ साढे ७ बजे मृत घोषणा गरेका हुन्। पोखरा–६, लेकसाइडको क्विन पार्कमा काम गर्ने भण्डारी चार साथीसहित पौडी खेल्न फेवाताल गएका थिए। उनीसँगै पौडी खेल्न गएका अन्य सकुशल रहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ।

काठमाडौंका यी स्थानमा दुई दिन विद्युत् आपूर्ति बन्द हुने

काठमाडौं । काठमाडौंका केही स्थानमा आज र भोलि विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार मातातीर्थ सबस्टेसनबाट आपूर्ति भइरहेका फिडरहरूमा विद्युत् सेवा आपूर्ति नहुने भएको हो ।   मर्स्याङ्दी काठमाडौं २२० केभी प्रसारण लाइन आयोजनाबाट निर्माण भएको मातातीर्थ २२० केभीको नयाँ कन्ट्रोल रुममा काम गर्नुपर्ने भएकाले विद्युत् आपूर्ति सेवा प्रभावित हुने भएको हो ।  मच्छेगाउँ, सतुंगल, मातातीर्थ, फर्पिङ फिडर अन्तरगत शनिबार बिहान १० देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।  आइतबार मातातीर्थ फिडरमा १० देखि १२, सतुंगल फिडर १२ देखि २, मच्छेगाउँ फिडर २ देखि ४ बजेसम्म र फर्पिङ फिडर ४ देखि ६ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ ।

यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल असार ८ गते शनिबार सन् २०२४ जुन २२ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलर, युरो, बेलायती पाउण्ड र कतारी रियालको विनिमयदर सामान्य अंकमा घटेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १३३ रुपैयाँ ९६ पैसा पुगेको छ।युरो एकको खरिद दर १४२ रुपैयाँ ५१ पैसा र बिक्री दर १४३ रुपैयाँ १५ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ५१ पैसा र बिक्री दर १६९ रुपैयाँ २७ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५८ पैसा र बिक्री दर ३६ रुपैयाँ ७५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर 

चारवटा प्रदेशमा बिहानैदेखि वर्षा, गण्डकी र लुम्बिनीमा ठुलो वर्षाको सम्भावना

काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । गण्डकी, वाग्मती, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली छ । बाँकी भू–भागमा आंशिक बदली छ ।    जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा हुनेछ।  वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही, कोसी र मधेस प्रदेशका थोरै तथा बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।  विभागले राति कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा हुनेछ ।  कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । मनसुनी प्रणालीको प्रभाव कोसी, मधेस, वाग्मती, गण्डकी प्रदेशका अधिकांश भू–भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू–भागमा छ  । बाँकी भू–भागमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव छ । आज सूर्योदय बिहान ५ बजेर ९ मिनेटमा भयो भने सूर्यास्त साँझ ७ बजेर ३ मिनेटमा हुनेछ ।

सामाजिक रुपान्तरणका कथावस्तुलाई प्राथमिकता दिन चलचित्रकर्मीलाई मन्त्री शर्माको आग्रह

धनगढी।सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक रुपान्तरणका कथावस्तुलाई प्राथमिकता दिन चलचित्रकर्मीहरुलाई आग्रह गरेकी छिन्। चलचित्र विकास बोर्डको आयोजनामा कैलालीको धनगढीमा सुरु भएको तीने दिन दोस्रो बाल चलचित्र महोत्सव उद्घाटन गर्दै उनले चलचित्र समाज रुपान्तणको महत्वपूर्ण माध्यम भएकाले यसमा सामाजिक रुपान्तरणका कथावस्तुलाई प्राथमिकता दिनुपर्ने बताएकी हुन्। ‘हामी आज जुन प्रदेशमा उभिएर बोलिरहेका छौं, यसका कयौं जिल्लाहरुमा अझै पनि छाउपडीजस्ता अमानवीय प्रथाहरु बाँकी छन्’, मन्त्री शर्माले भनिन्, ‘हामीले संविधान र कानुबाट जातीय छुवाछुत, लैंगिक विभेदजस्ता थुप्रै असमानताको अन्त्य गर्यौं तर व्यवहारमा अहिले पनि पूर्ण रुपमा हटिसकेको छैन । यस्ता विकृति र विसंगतिको अन्त्य गर्ने महत्वपूर्ण माध्यमको रुपमा कला संस्कृतिलाई अघि बढाइनुपर्छ, त्यसमा पनि चलचित्र क्षेत्र सशक्त माध्यम हुनसक्छ।’ विभिन्न राजनीतिक आन्दोलनबाट प्राप्त अधिकारलाई जनताको जीवनसँग अब सामाजिक रुपान्तरण आवश्यक भएकाले यसलाई सबैले साझा अभियान बनाउनुपर्नेमा उनले जोड दिइन् बालबालिकाहरू माझ चलचित्रको माध्यमबाट शिक्षा र संस्कृतिलाई अगाडि बढाउन र बालबालिकाहरूमा चलचित्र निर्माणको चासो बढाउन सफल यो महोत्सव उपयोगी हुने विश्वास व्यक्त गर्दै उनले यस्ता महोत्सवबाट अन्तराष्ट्रियस्तरमा हुने महोत्सवहरुमा नेपालको सहभागी बढाउन सहयोग पुग्ने पनि बताइन्। नेपालबाट नेपाली बालबालिकाले बनाएका वा उनीहरुका बारेमा बनेका चलचित्र अन्तर्राष्ट्रयस्तरमा प्रतिष्पर्धा गर्न लायक बनाउनुपर्ने उनले स्पष्ट गरिन् । बालबालिकाको हकहितका सवालमा सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री शर्माले नेपालका बालबालिकाको हकहितमा के कस्ता नियम कानुन रहेका छन् र यसको कार्यान्वयन कसरी भइरहेको छ भन्ने सन्दर्भ पनि बाल चलचित्र निर्माणका कथावस्तु बनाउनुपर्ने धारणा राखेकी छन्। नेपालले बाल अधिकार सुनिश्चित भएको बालमैत्री समाजको परिकल्पना गरेको उल्लेख गर्दै उहाँले बालबालिका तथा किशोरकिशोरीलाई सबै प्रकारको हिंसा, दुव्र्यवहार र शोषणबाट मुक्त गर्नुपर्ने बताइन्।  मन्त्री शर्माले सरकारले नेपाली चलचित्रको प्रवर्धनलाई जोड दिएको उल्लेख गर्दै समाज रूपान्तरणका लागि सङ्घर्ष गर्ने व्यक्ति तथा घटनासँग सम्बन्धित ऐतिहासिक चलचित्र, वृत्तचित्र तथा स्वदेशी चलचित्र निर्माणलाई प्रोत्साहन र प्रवर्द्धन गर्न बजेट व्यवस्था गरिएको बताइन्। चलचित्र क्षेत्रमा सूचना प्रविधिको प्रयोग गरी मौलिक, गुणस्तरीय र प्रतिस्पर्धी चलचित्र निर्माणको लागि चलचित्र विकास बोर्डमा पोस्ट प्रोडक्सन ल्याब स्थापनाको कार्य प्रारम्भ भएको र बक्स अफिस प्रणालीलाई स्तरोन्नति गर्दै लगिएको जानकारी दिंदै उनले चलचित्र क्षेत्रबाट राष्ट्रका लागि योगदान गर्ने चलचित्रकर्मीहरुको सम्मानका लागि परिचयपत्र प्रदानदेखि चलचित्र क्षेत्रको माध्यमबाट समाज रुपान्तरणमा योगदान गर्ने चलचित्रकर्मीहरुलाई सम्मान र पुरस्कार लगायतका व्यवस्थाले पनि नेपाली चलचित्र क्षेत्रको प्रवर्धनमा टेवा पुग्ने विश्वास रहेको बताइन्। बोर्डका अध्यक्ष भुवन केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य रुपा चौधरीलगायतले शुभकामना दिएका थिए । महोत्सव असार ९ गतेसम्म चल्नेछ ।

पार्टीको महाधिवेशनलाई रोक्नसक्ने कुनै शक्ति नेपालमा छैन : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीको महाधिवेशनलाई कसैले रोक्न नसक्ने बताएका छन् ।नेपाल खेलकुद महासंघ, समाजवादीले ललितपुरमा आयोजना गरेको मैत्रीपूर्ण फुटबल प्रतियोगितमा बोल्दै उनले यस्तो बताएका हुन् ।  उनले असार १६ गतेदेखि पार्टीको महाधिवेशन तोकिएको भन्दै त्यसलाई रोक्नसक्ने कुनै पनि शक्ति नेपालमा अहिले नरहेको उल्लेख गरे।उनले महाधिवेशन सफलतापूर्वक सम्पन्न हुने दावी गरे । पार्टीको महाधिवेशनलाई सफल बनाउन एकतावद्ध हुनुपर्ने उनको भनाइ छ । महाधिवेशनलाई ऐतिहासिक, प्रगति, एकता, पुनःगठनको महाधिवेशन बनाउन आग्रह गरे ।  उनले भने, 'नौ दिनपछि हाम्रो १०औँ महाधिवेशन उद्घाटन गर्न गइरहेका छौँ । यसको पूर्वसन्ध्यामा यो फुटबल प्रतियोगिता आयोजना गरेर महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न अभिप्रेरित गर्ने काम खेलकुद महासंघले गरेको छ । हाम्रो कम्युनिष्ट आन्दोलनको इतिहासमा नै अत्यन्त महत्त्वपूर्ण ऐतिहासिक महाधिवेशन हुँदै छ । यसलाई रोक्न, छेक्न सक्ने कुनै शक्ति अहिले नेपालमा छैन । यो सफल हुन्छ नै ।' सम्मानित नेता खनालले पार्टीको महाधिवेशन कम्युनिष्ट आन्दोलनको इतिहासमा नै महत्त्वपूर्ण ऐतिहासिक महाधिवेशन हुन लागेको बताए ।

सुनको मूल्य फेरि उकालो लाग्यो

काठमाडौं । सुनको मूल्य पुनः उकालो लागेको छ ।अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै शुक्रबार नेपाली बजारमा सुनको मूल्य एकै पटक तोलामा १९ सयले बढेर १ लाख ४४ हजार ७ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार देखि १ लाख ४२ हजार २ सयमा स्थिर रहेको सुनको भाउ हिजो ६ सयले बढेर १ लाख ४२ हजार ८ सय कायम भएको थियो । शुक्रबार चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँ बढेर १८ सय ६५ मा कारोबार भैरहेको पनि महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा यतिखेर सुन प्रतिऔंन्स २३ सय ७० डलरको आसापासमा कारोबार भइरहेको छ ।

खेल क्षेत्रको विकास राष्ट्र विकासको आधार : अध्यक्ष दाहाल

काभ्रे। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले खेलकुद क्षेत्रको विकास राष्ट्र विकासको महत्त्वपूर्ण आधार भएको बताएका छन् । शुक्रबार छैटौं इण्डो–नेपाल फ्रेण्डसिप सोतोकान कराँते च्याम्पियनसिप प्रतियोगिताको उद्घाटनमा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले खेलको विकासबाट राष्ट्रको सर्वाङ्गीण विकासको ढोका खोल्न सकिने बताए । अध्यक्ष दाहालले भने, ‘‘अहिलेको अवस्थामा खेल शारीरिक तथा मानसिक स्वास्थ्यको आधार मात्र नभएर कूटनीति, अर्थतन्त्र एवम् सहकार्य र एकताको स्तम्भसमेत हुन पुगेको छ । राज्यले खेल क्षेत्रसँग सम्बन्धित सम्पूर्ण नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्न, आवश्यक नीतिहरू निर्माण गर्न, संस्थागत एवम् संरचनागत विकास र खेलाडीहरूको वृत्तिविकासका साथै क्षमता अभिवृद्धि गर्न जरुरी छ । राष्ट्रिय सभाको अध्यक्ष हुनुको नाताले मैले नेपालको खेलकुद क्षेत्रको विकासका लागि आवश्यक ऐन कानुन निर्माण र भएका कानुनहरुको कार्यान्वयनका लागि उपयुक्त पहल र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’’ यसैगरी, खेलकुदका विविध विधामध्ये सोतोकान कराँते पनि एक महत्त्वपूर्ण विधा भएको उनले बताए। 

भोलि इरान जादैँ परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ भोलि शनिबार इरान जाने भएका छन् । एसिया को(अपरेसन डाइलग (एसीडी) सदस्य राष्ट्रहरुको विदेशमन्त्रीस्तरीय बैठकमा भाग लिन श्रेष्ठ इरान जान लागेका हुन् । भ्रमणमा क्रममा परराष्ट्रमन्त्री श्रेष्ठले एसीडी सदस्य राष्ट्रका विदेशमन्त्रीहरुसँग द्वीपक्षीय भेटवार्ता पनि गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । मन्त्री श्रेष्ठ बुधबार स्वदेश फर्किनेछन् ।

रबिलाई गृहमन्त्रीबाट निलम्बन माग गरिएको रिटको सुनुवाइ आज

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री  रवि लामिछानेलाई निलम्बन माग गर्दै दायर रिटको आज सुनुवाइका लागि पेशी तोकिँदै छ। सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता देखिने गरी जाहेरी समेत परेको दाबी गर्दै अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिट सुनुवाइका क्रममा रहेको छ । यस अघि उक्त रिट यसअघि हेर्न नमिल्ने भन्दै न्यायाधीशको पेशी पर्दै सरेको थियो। इजलासबाटै सुनुवाइको मिति तोकिएकाले आजका लागि पेशी तोकिएको थियो । आज दुई न्यायाधीशको इजलासले यो विवादमा सुनुवाइ गर्ने छन्।  महान्यायाधीवक्ता कार्यालय गृहमन्त्री लामिछानेलाई क्लिनचिट देखिने गरी कुनै पनि जिल्लामा अनुसन्धान,अभियोगपत्र र जाहेरी नभएको भनी पत्र लेखेपछि अधिवक्ता भट्टराईले रिट दायर गरेका थिए । सुरुमा उक्त रिट दरपिठ भएको थियो । पछि न्यायाधीश टेकनारायण ढुंगानाको इजलासले दर्ता गर्न आदेश गरेपछि पुन दर्ता भएको थियो ।  रिटमाथि पहिलो सुनुवाइ गर्दै सर्वोच्चले पोखरादेखि रुपन्देहीसम्म जाहेरी दर्ता तथा अभियोग पत्रसम्म मगाउने आदेश गरेको थियो । त्यस्तै सर्वोच्चमा पोखराको सूर्य दर्शन र बुटवलको सुप्रिम सहकारी ठगी बारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले गरेको अध्ययन प्रतिवेदन समेत पेस भइसकेको छ।

संसद्का तीन समितिको बैठक बस्दै प्रस्तावित निर्वाचन आयुक्तको संसदीय सुनुवाइ हुँदै

काठमाडौं । संघीय संसद्अन्तर्गत संसदीय सुनुवाइ समितिको बैठक बस्ने भएको छ। मध्याह्न १२ बजे बस्ने बैठकमा प्रस्तावित निर्वाचन आयुक्तको सुनुवाइ हुनेछ ।  संवैधानिक परिषद्को बैठकले कृष्णमान प्रधानलाई निर्वाचन आयुक्तमा सिफारिस गरेको छ ।  त्यसैगरी आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा पुरानो संसद भवनको पुनःनिर्माण, निर्माणाधीन संसद् भवन निर्माणको प्रगतिलगायत विषयमा छलफल हुनेछ ।  उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक पनि आजै बस्दै छ । बैठकमा नेपाल सिमेन्ट उत्पादक संघबाट प्राप्त निवेदनका सन्दर्भमा संघका प्रतिनिधिसँग छलफल हुनेछ ।  

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ ।  बैठक संघीय संसद् भवन नयाँ बानेश्वर, ल्होत्से हलमा अपराह्न ३ बजे बस्ने बताइएको छ ।  बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने संसदीय दलको कार्यालयले जनाएको छ ।