चिनियाँ उपविदेशमन्त्री काठमाडौँमा
काठमाडौँ। जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुन वेइडोङ नेपालको तीनदिने औपचारिक भ्रमणका लागि काठमाडौँ आइपुगेका छन्।
उपविदेशमन्त्री सुनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयको उत्तर पूर्व एसिया महाशाखाका प्रमुख कृष्णप्रसाद ढकालले स्वागत गरे। भ्रमणका क्रममा उनी यही असार ११ गते काठमाडौँमा हुने नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
परामर्श संयन्त्रको बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् भने प्रतिनिधिमण्डलमा विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारी सम्मिलित हुनेछन्। भ्रमणका क्रममा नेपाल र चीनबिचको द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रबारे छलफल गरिने मन्त्रालयले जनाएको छ ।
भ्रमणका क्रममा चिनियाँ उपविदेशमन्त्री सुनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्तासमेत गर्ने कार्यक्रम छ। उपविदेशमन्त्री सुन भ्रमण सम्पन्न गरी असार १२ गते काठमाडौँबाट प्रस्थान गर्नेछन् ।
युरोकप २०२४ : जर्मनीसँग स्वीट्जरल्याण्ड पराजित
काठमाडौं । जर्मनीमा जारी १७औं संस्करणको युरोकप फुटबलमा आयोजक जर्मनी र स्वीट्जरल्याण्डले बराबरी खेलेका छन् । आज बिहान फ्र्याङ्कफर्टमा सम्पन्न समूह ‘ए’ को खेलमा जर्मनी र स्वीट्जरल्याण्डले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । स्वीट्जरल्याण्डका डान एनडोयो र जर्मनीका निकोलस फुलक्रुगले एक–एक गोल गरेका थिए । खेलको २८औँ मिनेटमा एनडोयोले गोल गर्दै स्वट्जरल्याण्डलाई सुरुवाती अग्रता दिलाएका थिए । तर खेलको दोस्रो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा जर्मनीका फुलक्रुगले गोल गर्दै टोलीलाई हारबाट जोगाउन सफल भए । यो बराबरीसँगै ३ खेलबाट जर्मनी ७ अंकका साथ समूहको शीर्षस्थानमा रहँदै अन्तिम १६ मा पुगिसकेको छ भने स्वीट्जरल्याण्ड ५ अंकसहित दोस्रो स्थानमा छ ।
बागमती, कोशी र गण्डकीमा मुसलधारे वर्षाको सम्भावना
काठमाडौं । हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभाग तथा लुम्बिनी प्रदेशका पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ । कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थानका साथै गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, गण्डकी र बागमती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मुसलधारे वर्षाको सम्भावना रहेको छ । भारी वर्षा हुने क्षेत्रमा गेग्रान बहाव, बाढीपहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ । आज सूर्योदय बिहान ५ बजेर ९ मिनेटमा भयो भने सूर्यास्त साँझ ७ बजेर ३ मिनेटमा हुनेछ ।
गण्डकीका पदमुक्त सांसद देवकोटाको मुद्दा हेर्दाहेर्दैमा
काठमाडौं । गण्डकी प्रदेशका निलम्बित सांसद फणीन्द्र देवकोटाले दायर गरेको रिट आज हेर्दा हेर्दैमा राखिएको छ। आज यो रिट न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा पेशी तोकिएको थियो। आज सुनुवाइ नसकिएपछि हेर्दा हेर्दैमा राखिएको हो। देवकोटालाई माओवादी केन्द्रले आफ्नो सांसद भएको दाबी गर्दै कारबाही गरेपछि सो निर्णयविरुद्ध रिट दायर गरेका थिए। गोरखाबाट माओवादीको निर्वाचन चिह्नबाट निर्वाचित भएका देवकोटाले आफू नेपाल समाजवादी पार्टीको कार्यकर्ता भएको र राजनीतिक दल सम्बन्धी ऐन अनुसार माओवादीको चुनाव चिन्ह लिएर लडेको बताउँदै आफूलाई माओवादी केन्द्रले कारबाही गर्न नसक्ने दाबी गरेका छन्। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेको पक्षमा विश्वासको मत दिएपछि माओवादी केन्द्रले कारबाही गरेको थियो । माओवादी केन्द्रले पार्टीको ह्विप उल्लङ्घन गरेको भन्दै कारबाही गरेको थियो ।
किन गरे सुशील प्याकुरेलले गरे राजदूत पद अस्वीकार ?, यस्तो छ विज्ञप्ति
काठमाडौं । मन्त्रिपरिषद्द्वारा दक्षिण कोरियाका लागि प्रस्तावित राजदूत सुशील प्याकुरेलले उक्त पद अस्वीकार गरेका छन्। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्र पठाउँदै सिफारिस फिर्ता लिइदिन अनुरोध गरेका छन् । उनले सिफारिस फिर्ताको पत्र प्रधानमन्त्री कार्यालयमा बुझाएका हुन्। उनले राजदूत सिफारिस हुनुअघि आफूसँग कुनै विमर्श नगरिएको र विगतमा सरकारले तय गरेको मापदण्ड पनि ख्याल नगरेको भन्दै प्याकुरेलले पद अस्विकार गरेका हुन् । यस्तो छ प्याकुरेलको विज्ञप्ति राजदूत नियुक्तिका सम्बन्धमा मेरो धारणा मन्त्रीपरिषदको मिति २०८१ असार ७ गतेको निर्णयअनुसार मलाई गणतन्त्र कोरिया (दक्षिण कोरिया) को राजदूत पदमा नियुक्त गर्न सिफारिश गरिएको जानकारी मैले समाचार माध्यमहरूबाट पाएँ । देशको औपचारिक प्रतिनिधिजस्तो गरीमामय पदमा मलाई नियुक्त गर्ने सरकारको चाहनाप्रति कृतज्ञता व्यक्त गर्दै वर्तमान सरकारले ममाथि गरेको विश्वासका लागि आभार प्रकट गर्दछु । सरकारको यो निर्णय मैले गैर सरकारी संस्थाहरूको अभियान, यस अघिका सरकारद्वारा विश्वासका साथ सुम्पिएको जिम्मेवारीहरू निर्वाह गरेको परिणामका रुपमा ग्रहण गरेको छु । तर यसका साथै यो विषयमा मेरो धारणा सार्वजनिक गर्नै पर्ने आवश्यकता देखेकोले यो प्रेस विज्ञप्ति जारी गर्दैछु । विगत पाँच दशकभन्दा लामो समयदेखि सामाजिक न्याय र मानव अधिकारको क्षेत्रमा सक्रिय रहने क्रममा मैले विभिन्न आरोह अवरोहको सामना गरेको छु । यस सन्दर्भमा, म देशमा राष्ट्रिय मानव अधिकार आयोगको एक संस्थापक आयुक्तमा नियुक्त भएर मानव अधिकार अवस्था अत्यन्त कठिन भएको समयमा पनि कर्तव्य निर्वाह गर्न सकेको प्रसंग स्मरण गर्दछु । देश संघीय लोकतान्त्रिक गणतन्त्रको चरणमा प्रवेश गरेपछि म दोश्रो राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको राजनीति तथा मानव अधिकार विज्ञ सल्लाहकारका रुपमा कार्यरत रहेको र त्यसअघि र पछि पनि मानव अधिकार तथा समाजिक न्यायका सन्दर्भमा सधैँ सक्रिय रहँदै आएको कुरा पनि सार्वजनिक जानकारीमा रहेकै छ । यसै पृष्ठभूमिमा मैले प्रष्ट शब्दमा उल्लेख गर्नै पर्छ, मलाई दक्षिण कोरियाको राजदूत पदमा सिफारिश गर्नु अघि परराष्ट्र मन्त्रालय वा मन्त्री परिषद सचिवालयबाट कुनै सम्पर्क वा संकेत समेत दिइएन् । राजदूत जस्तो राष्ट्रको प्रतिनिधित्व गर्ने पदको जिम्मेवारी प्रदान गर्नुअघि सम्बन्धित व्यक्तिको पृष्टभूमि, कार्यदक्षता, रुची, कूटनीतिको विषय र सम्बन्धित मुलुकको राजनीतिक, आर्थिक, सामाजिक स्थिति सम्बन्धी ज्ञानका विषयमा पूर्व विमर्श नगर्ने सरकारको प्रचलनबाट म आश्चर्यचकित छु । यस सन्दर्भमा राजदूत नियुक्ति सम्बन्धी विगतमा सरकारले तय गरेको मापदण्ड र संसदीय सुनुवाईको औचित्य र राजदूतको कार्यकालका विषयमा समेत गम्भीर विमर्श आवश्यक देख्दछु । तसर्थः आजै प्रधानमन्त्रीज्यूलाई सम्बोधन गर्दै सरकारले मप्रति देखाएको विश्वासका लागि धन्यवाद ज्ञापन गर्दै दक्षिण कोरियाको राजदूत पदका लागि गरिएको सिफारिश फिर्ता लिइदिनुहुन विनम्र अनुरोधसहित लेखेको पत्र प्रधानमन्त्री कार्यालयमा विधिवतः दर्ता गराइसकेको छु । यसबीच मलाई बधाई, शुभकामना दिँदै मप्रति सद्भाव प्रकट गर्नु हुने सबैमा धन्यवाद ज्ञापन गर्दछु । सुशील प्याकुरेल
‘ब्याड लोन’ उठाउने कम्पनी खोल्न ऐन बनाउँदै राष्ट्र बैंक
काठमाडौं ।नेपाल राष्ट्र बैंकले ‘ब्याड लोन’ उठाउने छुट्टै कम्पनी सञ्चालनमा ल्याउन ऐन बनाउने तयारीमा जुटेको छ।नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले खराब कर्जा उठाउन नयाँ कम्पनी आवश्यक पर्ने भएकाले त्यसका लागि ऐनको ड्राफ्ट भइरहेको बताए। आइतबार नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको कार्यक्रममा गभर्नर अधिकारीले ब्याड लोन उठाउन कम्पनी आवश्यक महसुस भएको बताएका हुन्। कम्पनी ऐनले स्थापना भएको कम्पनीले यो काम गर्न सहज नहुने भन्दै यसका लागि विशेष किसिमको ऐनको आवश्यकता महसुस गरिएको उनले बताए। तर, यसको मोडालिटी कस्तो हुने भन्ने विषयमा थप छलफल गर्ने गभर्नर अधिकारीले बताए।
डेंगु सङ्क्रमण बढ्न नदिनतर्फ सचेत रहन मन्त्रालयको आग्रह
काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यस वर्ष डेंगु बढ्न सक्ने भएकाले सचेत रहन सबैमा आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विज्ञप्ति जारी गर्दै सो आग्रह गरेका छन् । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार यो वर्ष नेपालमा सरदरभन्दा बढी वर्षा हुने आङ्कलन गरेकाले डेँगु फैलिन सक्ने खतरा भएकोभन्दै मन्त्रालयले सचेत गराएको छ । मनसुन लामखुट्टेको प्रजननका लागि अनुकूल वातावरण हुने भएकाले सङ्क्रमणको सङ्ख्यामा समेत बढोत्तरी हुन सक्ने डा.बुढाथोकीले विज्ञप्तिमा उल्लेख गरे। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म ७२ जिल्लाहरूबाट १ हजार २४१ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ। पानी जमेको ठाउँमा लामखुट्टेले फूल पार्ने हुँदा पानी जम्न नदिने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, झुलको प्रयोग गर्ने र पुरै शरीर छोपिने लुगा लगाउन उनको सुझाव छ । उनले डेंगु सङ्क्रमण रोकथाम नियन्त्रण गर्न सबैको सहकार्य आवश्यक भएकाले यस अभियानमा सर्वसाधारण, निजी क्षेत्र र सरोकारवाला सबैले आफ्नो स्थानमा समन्वय, सहजीकरण एवं सहभागिता जनाउन अनुरोध गरे। डेंगुको बढ्दो सङ्क्रमणलाई न्यूनीकरण गर्न मन्त्रालयले सात प्रदेश तथा सबै स्थानीय तहहरूमा बर्षातको समयमा हुन सक्ने डेंगु लगायत अन्य स्वास्थ्य विपद्का लागि द्रुत प्रतिकार्य समिति तथा टोलीलाई तयारी अवस्थामा रहन र आवश्यक भएको अवस्थामा परिचालन हुन पत्राचार गरिसकेको उनले जानकारी दिए। मन्त्रालयले सङ्घ, प्रदेश, स्थानीय तह, मातहतका निकायसँगको समन्वय, रोगको बारेमा विभिन्न सञ्चारका माध्यमहरूमा सन्देशमूलक सूचना प्रकाशन गर्नुका साथै रोगलाई नियन्त्रण गर्न योजना बनाएको उल्लेख गरे। उनका अनुसार डेंगु रोग निदानका लागि चाहिने रोग निदान किट, औषधोपचार र अन्य आवश्यक सामग्री समेत तयारी अवस्थामा राखिएको छ। उच्च ज्वरो आउनु, जोर्नी र मांसपेशीहरू बेस्सरी दुख्नु, आँखाको गेडी दुख्नु, बेस्सरी टाउको दुख्नु, शरीरमा राता बिमिराहरू आउनु, वाकवाकी लाग्नु वा वान्ता हुनु डेंगुका मुख्य लक्षण हुन्। एक्कासि उच्च ज्वरो आउने, वान्तामा रगत देखापर्ने, नाक वा गिजाबाट रगत, रक्तस्राव, धेरै पेट दुखाई, श्वास प्रश्वासमा समस्या, र बेहोस हुनेजस्ता लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा परामर्श गर्न उनको सुझाव छ।
प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)
काठमाडौं ।प्रतिनिधिसभा बैठक जारी छ ।आजको प्रतिनिधिसभाबाट विनियोजन विधेयक २०८१ आज पास गर्ने तयारी छ।
गण्डकीका पदमुक्त सांसद देवकोटाको मुद्दा न्यायाधीश राउतको इजलासमा
काठमाडौं । गण्डकी प्रदेशका पदमुक्त गरिएका सांसद फणीन्द्र देवकोटाले दायर गरेको रिटको पेसी न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा तोकिएको छ। देवकोटालाई माओवादी केन्द्रले आफ्नो सांसद भएको दाबी गर्दै कारबाही गरेपछि सो निर्णयविरुद्ध रिट दायर गरेका थिए । गोरखाबाट माओवादीको निर्वाचन चिह्नबाट निर्वाचित भएका देवकोटाले आफू नेपाल समाजवादी पार्टीको कार्यकर्ता भएको र राजनीतिक दल सम्बन्धी ऐन अनुसार माओवादीको चुनाव चिह्न लिएर लडेको बताउँदै आफूलाई मओवादी केन्द्रले कारबाही गर्न नसक्ने दाबी गरेका छन्। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेको पक्षमा विश्वासको मत दिएपछि देवकोटालाई माओवादी केन्द्रले पार्टीको ह्वीप उल्लंघन गरेपछि कारबाही गरेको थियो।
एकैदिन तोलामा २७ सयले घट्यो सुनको मूल्य
काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आइतबार एकैदिन दुई हजार ७०० रुपैयाँ घटेको छ । आज सुन प्रतितोला एक लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन शुक्रबार सुन प्रतितोला एक लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यस दिन चाँदीको मूल्य तोलामा ५० रुपैयाँ घटेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार ८१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
विश्वकप : अष्ट्रेलियामाथि अफगानिस्तानको जित
काठमाडौं । आइसिसी टी-२० विश्वकपको सुपर ८ मा अष्ट्रेलियामाथि जीत हासिल गर्दै अफगानिस्तानले सेमिफाइनल सम्भावनालाई कायमै राखेको छ। जारी विश्वकपको सुपर आठ अन्तर्गतको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २१ रनले पराजित गरेको हो। विश्वकपमा अफगानिस्तानले अस्ट्रेलियालाई पराजित गरेको पहिलो पटक हो। अफगानिस्तानले दिएको १४९ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले १९दशमलव २ ओभरमा अल आउट हुँदै १२७ रन बनाएको थियो। अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले सर्बाधिक ५९ रन बनाएका थिए भने अन्य ब्याट्सम्यानले उनलाई साथ दिन असफल भएका थिए। त्यस्तै अफगानिस्तानका बलरले यस खेलमा शानदार बलिङ गरेका थिए।अफगानिस्तानका लागि गुलबदीन नैबले सर्बाधिक ४ विकेट लिए भने नवीन उल हकले ३ विकेट लिएका थिए। त्यस्तै, मोहमद नावी र राशिद खानले एक एक विकेट लिए। त्यस अघि अलराउन्डर प्याट कमिन्स लगातार ह्याट्रिक विकेट लिएको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई १४९ रनको लक्ष्य दिएको थियो। वेष्ट इन्डिजको किङ्सटावनमा टस हारेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ४८ रन बनायो। अफगानिस्तानको इनिङ्समा ओपनरद्वय रहमानुल्लाह गुर्बाज र इब्राहिम जाद्रनले १५ दशमलव ५ ओभरसम्म एक सय १८ रनको साझेदारी गरेका थिए। त्यसपछि क्रिजमा आएका खेलाडीले ठूला सट खेल्ने प्रयास गर्दा ठूलो स्कोर बन्न सकेन। गुर्बाजले ४९ बलमा समान चार चौका र छक्कासहित ६० रन बनाएका हुन्। जाद्रनले ४८ बलमा ६ चौकासहित ५१ रन बनाए। करिम जानतले १३ रनको योगदान गरे।अस्ट्रेलियाका अलराउन्डर प्याट कमिन्स लगातार ह्याट्रिक लिए। उनले २०औं ओभरको सुरुआती दुई ओभरमा दुई विकेट लिएका थिए। त्यसअघि १७ दशमलव ६ ओभरमा अर्को विकेट लिएका हुन्। योसँगै अफगानिस्तान र अष्ट्रेलियाको समान २–२ अंक भएको छ। यो समूहबाट भारत सेमिफाइनलमा प्रवेश गरेको छ। अष्ट्रेलियाले भोलि भारतसँग खेल्नेछ भने। अफगानिस्तानले मंगलबार बंगलादेशसँग खेल्नेछ।
संसदमा अनिवार्य उपस्थित हुन कांग्रेसको ह्वीप
काठमाडौं । सरकारले आजै बजेट पारित गर्ने तयारी गरेपछि नेपाली कांग्रेस संसद्मा अनिवार्य उपस्थित हुन सांसदलाई निर्देशन दिएको छ। पार्टीले यसअघि शुक्रबार बसेको संसदीय दलको बैठकमा पनि बजेट पारित नहुञ्जेलसम्म अनिवार्य बैठकमा उपस्थिति हुन सांसदहरुलाई निर्देशन दिएको थियो। विपक्षी दल नेपाली कांग्रेसले बजेट असन्तुलित, पक्षपाती र पूर्वाग्रहपूर्ण रहेको आरोप लगाउँदै आएको छ । बजेटमा संशोधन गर्नुपर्ने थुप्रै विषय रहे पनि हुबहु पारित गर्न लागिएको भन्दै कांग्रेस नेताहरुले आपत्ति जनाउँदै आएका छन्।
माओवादी संसदीय दलको बैठक बस्दै
काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दैछ । बैठक बिहान साढे १० बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । प्रतिनिधिसभाबाट आज विनियोजन विधेयक, २०८१ पास गर्ने तयारी रहेकाले सोही विषयमा छलफलका लागि दलको बैठक बस्न लागेको हो । माओवादीले बजेटको पक्षमा मतदान गर्न पार्टीका सांसदहरुलाई ह्वीप लगाउने तयारी स्वरुप बैठक बोलाएको हो ।
पहिरोले डुम्रे-बेँसीसहर सडक पुनः अवरुद्ध
लमजुङ । गएरातिदेखि भएको निरन्तरको वर्षाले पहिरो खस्दा डुम्रे(बेँसीसहर सडक पुनः अवरुद्ध भएको छ । यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका-१, दलालमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक थानेश्वर चपाईँले पानी परिरहेको र पहिरो पनि निरन्तर खसिरहेकाले बाटो खुल्न समय लाग्ने बताए । सडक अवरुद्ध भएपछि लमजुङबाट संघीय राजधानी काठमाडौं, गण्डकी प्रदेश राजधानी पोखरा तथा चितवन, भैरहवालगायत स्थान जानेआउने र बेँसीसहरतर्फको सवारी आवागमन बन्द भएको छ । बाटोमा सयौँ यात्री अलपत्र परेका छन् । यसअघि यही असार ४ गते पनि पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।
चिकित्सा शिक्षा आयोगको निर्देशकमा चार जना सिफारिस
काठमाडौँ । चिकित्सा शिक्षा आयोगको निर्देशक पद नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले चार जनाको नाम सिफारिस गरेको छ। समितिले सर्ट लिस्टमा परेका १२ जना मध्येबाट प्रा.डा. गुरुप्रसाद खनाल, प्रा।डा। सुजनबाबु मरहट्टा, प्रा.डा. सुदीप आचार्य र डा. सरला श्रेष्ठलाई सिफारिस गरेको हो । प्रारम्भिक छनोटमा परेका १२ जनामध्येबाट खनाल, मरहट्टा, आचार्य र श्रेष्ठलाई नियुक्तिका लागि सिफारिस गरिएको छ । मापदण्ड तथा प्रत्यायन निर्देशनालय, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज गरी ३ वटा निर्देशनालय र एक बोर्डमा निर्देशक नियुक्त हुनेछन् । चिकित्सा शिक्षा आयोगमा निर्देशकका ४ पद रिक्त छन् । चिकित्सा शिक्षा आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ०८० कात्तिक २३ गते राष्ट्रिय योजना आयोगका वरिष्ठ सदस्य डा. रामकुमार फुयाँलको संयोजकत्वमा ३ सदस्यीय निर्देशक नाम सिफारिस समिति गठन गरेका थिए। समितिले ०८० मंसिरमा माग गरेको विज्ञापनमा २० जनाले आवेदन दिएका थिए । त्यसमध्ये १२ जनाको नाम सर्ट लिस्टमा परेको थियो।
आजको मौसम
काठमाडौं । हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भू–भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ साथै बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै बाँकी भू–भागका थोरै स्थानहरुमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै आज राती कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

