प्रतिनिधिसभा बैठक : सांसदका प्रश्नमा मन्त्रीहरूले जवाफ दिने कार्यसूची
काठमाडौं । प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । बैठक आज बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने सम्भावित कार्यसूची रहेको छ।
कार्यसूचीमा उल्लेख भएअनुसार सांसदहरू पुष्पबहादुर शाह, अमरेशकुमार सिंह र ध्रुवबहादुर प्रधानले विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन् ।
त्यस्तै, सांसद प्रेम सुवालले विनियोजन विधेयक, २०८१ अन्तंगत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाइयोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
त्यसैगरी दोस्रो बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले बताए ।

मेलम्ची आयोजनाको हेडबक्स सार्न अन्तर्राष्ट्रिय परामर्श दाताहरू छनोट गरिदै
काठमाडौँ। मेलम्ची खानेपानी आयोजनाले आयोजनाको हेडबक्स सार्नका लागि परामर्शदाता छनोट प्रक्रिया अघि बढाएको छ। मन्त्रिपरिषद् बैठकले आयोजनाको हेडबक्स सार्नका लागि सैद्धान्तिक अनुमति दिने निर्णय गरेसँगै आयोजनाले विस्तृत अध्ययनका लागि परामर्शदाता छनोट प्रक्रिया अघि बढाएको हो । गत जेठ २४ गते बसेको मन्त्रिपरिषद् बैठकले आयोजनाको हेडबक्स सुरक्षित स्थानमा सार्नका लागि सैद्धान्तिक सहमति दिएसँगै आयोजनाले असार मसान्तभित्र सम्ममा विस्तृत अध्ययनका लागि परामर्शदाता छनोटका लागि इओआई निकाल्ने गरी तयारी अघि बढाएको हो । आयोजना प्रमुख रत्न लामिछानेका अनुसार हेडबक्सलाई आठ सय मिटरदेखि एक हजार मिटरको दूरीमा र दुवैपट्टी रक भएको स्थानमा टावर इन्टेक बनाएर टनेलभित्र नै संरचना बनाएर १२ महिना काठमाडौँ पानी पठाउन सकिन्छ। हेडबक्सलाई सुरक्षित क्षेत्रमा स्थान्तरण गर्न मन्त्रिपरिषद् बैठकले पनि सैद्धान्तिक सहमति दिने भन्ने निर्णय पछि हेडबक्स सार्ने कामका लागि अन्तर्राष्ट्रिय परामर्श दाताहरु छनोट गर्ने प्रक्रियामा इओआई निकाल्न लागेको हो । आयोजनाले हेडबक्स सार्नका लागि विस्तृत अध्ययनका लागि परामर्शदाताहरुको छनोट प्रक्रियामा अघि बढाएको छ । २०७८ साल असार १ गते आएको बाढीपहिरोले हेडबक्सको ९० प्रतिशत भूभाग गेग्रानले पुरेको थियो । त्यसलगत्तै हेडबक्स वरपरको गेग्रान सफा गरिसकेपछि फेरि २०८० साउन २७ गते आएको बाढीले गेग्रान थुपारेको थियो । अहिलेको हेडबक्सको क्षेत्र नजिकै सधैँ पहिरो बगिरहने ठुलो पहाड छ । विषय विज्ञहरुबाट गराइएको विभिन्न अध्ययनले हेडबक्सलाई पुनः सोही स्थानमा निर्माण गर्नु थप जोखिमयुक्त रहने देखाएकाले हेडबक्स सार्ने निर्णयमा पुगेको आयोजनाले जनाएको छ । दातृ निकाय एसियाली विकास बैंकले दुई वर्षअघि नै हेडबक्स सार्न खानेपानी मन्त्रालयलाई सुझाव दिएको भए पनि सरकारले केही दिनअघि मात्रै यसमा सैद्धान्तिक सहमति दिने निर्णय गरेको हो । हेडबक्सका संरचना बगरमुनि नै पुरिएका छन् र गेग्रान निकाल्न सकिने अवस्था छैन । हेडबक्सका पुरिएका संरचनालाई खोतलेर इन्टेकमाथि जालीको प्रबन्ध गरी गेग्रान छानेर पानी पठाउन सक्ने अवस्था नभएपछि विज्ञसँगको लामो परामर्शपछि आयोजनाले हेडबक्सलाई झण्डै एक हजार मिटरमाथि सार्ने भएको हो । दुईवटा पहाडका बिच खोचमा सार्न लागिएको हेडबक्स निर्माणको विस्तृत अध्ययनका लागि असार मसान्तभित्र सूचना प्रकाशित गर्ने तयारी आयोजनाले गरेको प्रमुख लामिछानेले जानकारी दिए। ‘‘अहिले हामीले अल्टरनेट डाइभर्सन टनेलबाट हिउँदको समयमा काठमाडौँमा पानी पठाउने काम गरिरहेका छौँ । यो २०७८ सालको बाढीपछि सफा गरिसकेपछि फेरि २०८० साउन २७ गते भरिएको हो । यहाँ देखिएको टावरभएको क्षेत्र हेडबक्सको क्षेत्र हो । यहाँको पारी पटी बगिरहने पहिरो छ । त्यसैले यही स्थानमा हेडबक्स बनाएर काठमाडौँमा दीर्घकालीन रुपमा पानी लगिरहने अवस्था देखिँदैन ।’’ आयोजना प्रमुख लामिछानेले भने, ‘‘बाढी ल्याएर ठुुलो गेग्राान थुपारेकाले यसको तहमा आइपुग्न ५ किलोमिटरदेखि नदीको च्यानल खोल्दै ल्याउनुपर्ने हुन्छ र यसका लागि असाध्यै धेरै लगानी गर्नुपर्ने हुन्छ । तर पछि माथिबाट आउन सक्ने गेग्रान र देब्रेसाइटमा रहेको निरन्तर पहिरो आइरहने पहाडका कारण जो जोखिमरहित हुनसक्ने अवस्था देखिँदैन । त्यसैले यसका लागि नेपालका विज्ञ, प्रोफेसरलगायतसँग हामीले परामर्श गरेका छौँ ।’’ पुरानो हेडबक्सभन्दा झण्डै १ हजार मिटर दूरी अगाडि (माथि)बनाउन लागिएको हेडबक्सका लागि झण्डै साढे तीन अर्ब लागत लाग्ने अनुमान आयोजनाले गरेको छ । असारभित्रै हेडबक्सको डिपिआरका लागि परामर्शदाता छनोट गर्न सूचना प्रकाशित गर्ने तयारी गरेको आयोजनाले समयमै काम सम्पन्न भएमा चार वर्षभित्र हेडबक्सका सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने प्रक्षेपण गरेको छ । मेलम्ची परियोजनासँगै याङ्ग्री र लार्के खोलाको पानी पनि हेडबक्समार्फत नै सुरुङमा पठाइने हुँदा झण्डै याङ्ग्री र लार्के परियोजनाको डिपिआर पनि सँगै गरिने प्रमुख लामिछानेले जानकारी दिए । हेडबक्स सारे पनि त्यस भेमाथाङ विपत्तिको क्षेत्र भएकाले मेलम्ची, याङ्ग्री र लार्के परियोजना सम्पन्न गर्न अझै पनि कम चुनौतीपूर्ण छैन । दोस्रो चरणको परियोजनाअन्तर्गत याङ्ग्री र लार्केको पानी नदीमा मिसाएर हेडबक्स हुँदै काठमाडौँ ल्याउने सरकारको योजना थियो । तात्कालीन समयमा प्राविधिक हिसाबले यी दुई खोलाको पानी मिसाउन सकियोस् भनेर हेडबक्स हेलम्बुको पुछारमा बनाइएको थियो । हेडबक्सलाई पानीसँग सम्बन्धित संरचनामा प्राथमिक गेटवे मानिन्छ । पानी जम्मा हुने, थिग्रिने, बालुवा तथा ढुङ्गा छानिनेलगायत संरचनाहरु हेडबक्सभित्र रहने गर्दछ । पहिला हेडबक्स बाहिर राखिएको थियो भने अबको संरचना टनेलभित्र नै राख्ने गरी व्यवस्थापन गरिने आयोजनाले जनाएको छ । हेडबक्स प्रयोगमा भएको संयन्त्रले वर्षाद्को समयमा पानीमा मिसिएर आउने बालुवालाई छान्ने गर्दछ । भेमाथाङ क्षेत्रमा आएको बाढीले आयोजनाको मुख्य हेडबक्स क्षेत्रमा ठूलो नोक्सान पुर्याएको थियो । त्यहाँ रहेका १९ गेटमध्ये दुई गेट मात्रै खोलेर अहिले काठमाडौँमा पानी ल्याइएको छ । मेलम्चीको बाढी आउनु एक वर्षअघि २०७७ चैतमा काठमाडौँमा पानी ल्याइएको थियो । सञ्चालनमा ल्याउने तयारीकै बिच बाढीका कारण हेडबक्स पुरिएपछि हिउँदको समयमा मात्रै वैकल्पिक टनेल बनाएर काठमाडौँमा पानी पठाउँदै आएको आयोजनाले वर्षा हुने क्रम बढ्दै गएपछि विस्तारै बन्द गर्ने तयारी गरेको छ । यसअघि असार १ गतेदेखि काठमाडौँ पठाउँदै आएको पानी वितरण रोक्ने बताइएको थियो तर वर्षा र जोखिमलाई आँकलन गरेर मात्रै पानी बन्द गर्ने तयारी गरेको आयोजनाले अहिले नै पानी रोकिसकेको छैन ।
प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)
काठमाडौँ। सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक जारी छ ।मङ्गलबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा मन्त्रालयगत बजेटका शीर्षकमाथि छलफल जारी छ । आजको बैठकमा सांसद डा. अमरेशकुमार सिंहले विनियोजन विधेयक, २०८१ अन्तर्गत गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपियाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यस्तै, सांसद प्रेम सुवालले विनियोजन विधेयक, २०८१ अन्तर्गत गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाइयोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने, बुद्धिमान तामाङले विनियोजन विधेयक, २०८१ अन्तर्गत गृह मन्त्रालय शिर्षकको खर्च रकमलाई घटाई एक रुपियाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुने र रोशन कार्कीले विनियोजन विधेयक, २०८१ अन्र्तगत परराष्ट्र मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपियाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुने कार्य सूची रहेको छ । सांसद राजेन्द्रप्रसाद लिङदेनले विनियोजन विधेयक, २०८१ अन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपियाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने, सांसद ज्ञानबहादुर शाहीले विनियोजन विधेयक, २०८१ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपियाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुने र सांसद ध्रुवबहादुर प्रधानले “विनियोजन विधेयक, २०८१ अन्तर्गत राष्ट्रिय योजना आयोग शीर्षकको खर्च रकमलाई घटाई एक रुपियाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन्। यसैगरी, सांसद विना लामाले विनियोजन विधेयक, २०८१ अन्तर्गत उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपियाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने र विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकहरुमाथि जारी छलफलअन्तर्गत गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयमाथि छलफल हुनेछ ।
सुनको मूल्य स्थिर, चाँदीको मूल्य वृद्धि
काठमाडौं । स्थानीय बजारमा सुन सोमबारकै मूल्यमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार पनि छापावाल सुन प्रतितोला सोही मूल्यमा कारोबार भएको थियो । मंगलबार तेजाबी प्रतितोला एक लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, मंगलबार चाँदीको मूल्य भने १५ रुपैयाँले बढेर कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
बोटे समाज चितवनमा प्रदिपको नेतृत्व
भरतपुर । नेपाल बोटे समाज चितवनको अध्यक्षमा प्रदिप बोटे चयन भएका छन् । भरतपुरको पटिहानीमा सम्पन्न समाजको चौथो अधिवेशले प्रदिपको अध्यक्षता नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनबाट समाजको उपाध्यक्षमा विश्व बोटे र शोभा बोटे तथा सचिवमा सन्तोष बोटे चयन भएका छन् । यस्तै कोषाध्यक्षमा दीलिप बोटे निर्वाचित भएका छन् । कार्यसमिति सदस्यहरुमा अस्मिता बोटे, एंंजिला बोटे, भोज बहादुर बोटे, बलिराम बोटे, बिफली बोटे र दुर्गा बोटे रहेका छन् । कार्यक्रमका प्रमुख अतिथि नेपाल बोटे समाजका केन्द्रीय अध्यक्ष राजकुमार बोटेले चितवनको बोटे समुदाय बोटे जातिको इपिसेन्टर रहेको बताए । तर राज्यले बोटे समुदायलाई दमन गरिरहको भन्दै चनाखो भएर कदम चाल्नु पर्ने आवश्यकता रहेको उनको भनाइ थियो । कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद चितवनका अध्यक्ष महेन्द्र दुरा, बोटे समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष साउने बोटे लगायत विशिष्ट अतिथि थिए । कार्यक्रम इन्दिरा बोटेको अध्यक्षतामा सम्पन्न भएको हो ।
राहुल गान्धीले छोडेको वायनाडबाट प्रियंका चुनाव लड्ने
काठमाडौं । भारतीय नेशनल कांग्रेसकाका नेता राहुल गान्धीले केरलाको वायनाड सिटबाट राजीनामा दिने भएका छन्।हालै सम्पन्न लोकसभा निर्वाचनमा राहुलले उत्तर प्रदेशको रायबरेली र केरलाको वायनाड गरि दुई ठाउँबाट चुनाव जितेका उनले वायनाड क्षेत्र छाड्ने भएका हुन् । कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले राहुल गान्धीले केरलाको वायनाड सिटबाट राजीनामा दिने जानकारी दिए। यस बारेमा निर्णय गर्ने आज अन्तिम दिन हो । अब कांग्रेसले वायनाडको उपचुनावमा प्रियंका गान्धीलाई चुनावमा उठाउने भएको छ । समाचार एजेन्सी एएनआईका अनुसार अध्यक्ष खड्गेले भने-‘राहुल गान्धी दुई सिटबाट निर्वाचित भएका छन् । कानुन अनुसार उनले एउटा सिट खाली गर्नुपर्छ र उनी एउटा सिटमा सांसद रहन सक्छन् । हामीले निर्णय गरेका छौँ कि राहुल गान्धी रायबरेली सिटबाट सांसद हुनेछन्, किनभने उनको परिवार पहिलेदेखि नै रायबरेलीसँग नजिक छ।’ राहुल गान्धीले समाचार एजेन्सी एएनआईलाई रायबरेली र वायनाड दुवैसँग आफ्नो हृदयको सम्बन्ध रहेको बताए । उनले प्रियंका गान्धी वायनाडबाट चुनाव लड्ने बताएका छन् ।
पहिरोले डुम्रे–बेँसीसहर सडक अवरुद्ध
लमजुङ । गए रातिदेखिको निरन्तर वर्षाले डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ।बेँसीसहर नगरपालिका–१ दलालमा लेदोसहितको पहिरो जाँदा आज बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चपाईंले जानकारी दिए। सडक खुलाउन प्रहरी टोली परिचालन भए पनि पानी निरन्तर परिरहेकाले समस्या भएको उनले बताए। सडक अवरुद्ध हुँदा सवारीसाधन तथा यात्रु अलपत्र परेका छन्। बेँसीसहरबाट काठमाडौँ, पोखरा, चितवनलगायतका स्थानमा जाने यात्रु र सो स्थानबाट बेँसीसहर र बेँसीसहर हुँदै हिमाली जिल्ला मनाङ जाने यात्रु समस्यामा परेका हुन्। बिरामी बोकेको एम्बुलेन्ससमेत रोकिएका छन्। डुम्रे–बेँसीसहर ४२ किलोमिटर रहेको छ। यस वर्ष यो सडक पहिलोपटक अवरुद्ध भएको हो।
गुल्मीमा ४ दिनदेखि बेपत्ता व्यक्ति मृत फेला
गुल्मी । गुल्मीमा एक जना व्यक्ति मृत फेला परेका छन् ।इस्मा गाउँपालिका-१ निवासी ६२ वर्षका ठगबहादुर राना मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए । घरबाट जेठ ३२ गते खेतमा जान्छु भनेर हिंडेका राना मुसिकोट नगरपालिका-२ टारीडाँडास्थित खेतमा ४ दिनपछि मृत फेला परेको प्रहरीले जनाएको छ ।घटनाबारे थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक सूर्यभान चौधरीको कमान्ड प्रहरी टोली खटिएको छ ।
वैदेशिक रोजगारीको एघार महिना, विदेश जाने झण्डै सात लाख
काठमाडौँ। वैदेशिक रोजगारीमा दक्ष भएर जाने नेपाली श्रमिकको सङ्ख्या पछिल्लो पटक बढेको छ । विसं २०८० जेठको तुलनामा २०८१ को जेठमा दक्ष भएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढेको हो । वैदेशिक रोजगार विभागका अनुसार गत जेठमा दक्ष भएर जानेको सङ्ख्या ६४ प्रतिशत रहेकोमा गएको जेठमा ७१ प्रतिशत पुगेको छ । गएको जेठ महिनामा ७२ हजार ८६१ जनाले श्रम स्वीकृति लिएर गएकोमा ५१ हजार ६२० जना दक्ष भएर वैदेशिक रोजगारीमा गएका छन् । गत २०८० जेठमा ५९ हजार ४९९ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकोमा ३७ हजार ८९८ जना दक्ष भएर गएको विभागले जनाएको छ । विभागका अनुसार गएको जेठमा श्रम स्वीकृति लिएर विदेश गएकोमा उच्च दक्ष र व्यवसायी भिसामा श्रम स्वीकृति लिएर विदेश जाने ५८४ जना (०.८० प्रतिशत) अर्धदक्ष भएर जाने सात हजार २६ जना (आठ प्रतिशत) र अदक्ष १४ हजार ६३१ जना (२० प्रतिशत) रहेका छन् । गत वर्षको जेठमा श्रम स्वीकृति लिएर गएका ५९ हजार ४९९ गएकोमा उच्च दक्ष र व्यावसायिक १६४ जना (०.२७ प्रतिशत), अर्धदक्ष चार हजार ९७१ (१० प्रतिशत) अदक्ष १२ हजार ४९७ (२७ प्रतिशत) रहेको थियो । चालु आव २०८०/८१ को ११ महिनामा रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जाने नेपाली युवाको सङ्ख्या छ लाख नाघेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आवको साउनदेखि जेठसम्म रोजगारीका लागि छ लाख ८४ हजार ८६१ जनाले लिएका छन् । चालु आवको ११ महिनामध्ये सबैभन्दा धेरै जेठ महिनामा ७२ हजार ८६१ जनाले श्रम स्वीकृति लिएका छन् भने सबैभन्दा कम कात्तिक महिनामा ४३ हजार ६२२ जनाले श्रम स्वीकृति लिएर विदेश गएका छन् । पहिलो श्रम गन्तव्य युएई जेठ महिनामा पहिलो श्रम गन्तव्य संयुक्त अरब इमिरेटस् (युएई)बनेको छ । यस अवधिमा युएईमा २० हजार ४२४ जनाले श्रम स्वीकृति लिएर गएको विभागले जनाएको छ । चालु आवको ११ महिनामा एक लाख ७४ हजार ९१७ जनाले श्रम स्वीकृति लिएर युएई पुगेका छन् । यस अवधिमा दोस्रो श्रम गन्तव्य साउदी अरब १३ हजार ३६६ जना, तेस्रो गन्तव्य कतार ११ हजार ९७३ जना गएका छन् । यस अवधिमा मलेसिया चौथो श्रम गन्तव्य आठ हजार ७५२ जनाले श्रम स्वीकृति लिएर गएका छन् । अघिल्लो वर्ष लगातार तेस्रो श्रम गन्तव्य देश रहेको युएई चालु आवको वैशाख महिनाबाहेक सबै महिनामा पहिलो श्रम गन्तव्य बन्न सफल भएको छ । यस अवधिमा साउदी दोस्रो र कतार तेस्रो श्रम गन्तव्य बनेको छ । यस्तै यस अवधिमा चौथो श्रम गन्तव्य मलेसिया, दक्षिण कोरिया नेपालीको पाँचौँ श्रम गन्तव्य बनेको छ । विभागका महानिर्देशक डण्डुराज घिमिरेले चालु आवको ११ महिनासम्म युएई नेपालीको पहिलो श्रम गन्तव्य बन्न सफल भएको बताउनुभयो । गतका दुई वर्ष मलेसिया नेपालीको पहिलो श्रम गन्तव्य देश रहेकोमा यो वर्षको सुरुदेखि नै युएई पहिलो गन्तव्य बन्न सफल भएको उहाँको भनाइ छ । विप्रेषण करिब बाह्र खर्ब श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढेसँगै ती श्रमिकले विदेशमा काम गरेर पठाउने विप्रेषण दरमा पनि वृद्धि भएको छ । नेपाल राष्ट्र बैङ्कले जेठ महिना सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आवको १० महिना (वैशाख) सम्म १२ खर्ब विप्रेषण (रेमिट्यान्स)भित्रिएको छ । नेपाल राष्ट्र बैङ्कले चालु आवको १० महिना (२०८० साउनदेखि २०८१ वैशाखसम्म) को देशको वर्तमान आर्थिक स्थितिसम्बन्धी सार्वजनिक प्रतिवेदन अनुसार १० महिनामा रेमिट्यान्स १९.२ प्रतिशतले वृद्धि भएको हो । सो अवधिमा ११ खर्ब ९८ अर्ब ६० करोड रकम नेपाल भित्रिएको छ । अघिल्लो वर्ष सो अवधिमा तुलनामा १९.८ प्रतिशतले धेरै हो । यो तथ्याङ्क हेर्दा मासिक औसत एक खर्ब २२ अर्ब रुपियाँ भित्रिएको देखिन्छ । यो वर्षको यस अवधिसम्म आएको विप्रेषण गत वर्षको यसै अवधिको तुलनामा २५.३ प्रतिशत धेरै रहेको राष्ट्र बैङ्कले जनाएको छ । गोरखापत्रमा सीता शर्माले समाचार लेख्नुभएको छ ।
यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । आज २०८१ साल असार ४ गते मंगलबार सन् २०२४ जुन १८ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४० पैसा र बिक्री दर १३४ रुपैयाँ शून्य पैसा पुगेको छ।युरो एकको खरिद दर १४२ रुपैयाँ ९५ पैसा र बिक्री दर १४३ रुपैयाँ ५९ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ०३ पैसा र बिक्री दर १६९ रुपैयाँ ७९ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५९ पैसा र बिक्री दर ३६ रुपैयाँ ७५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा सञ्चार तथ सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यस्तै मन्त्री शर्माले ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनलाई सहमति गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।
बागमतीसहित यी प्रदेशमा मनसुनी प्रणालीको प्रभाव, विहानैदेखि वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञन विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको जनाएको छ। यस्तै बाँकी भूभागमा स्थानीय वायु तथा भारतको बिहार आसपास रहेको न्यून् चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। महाशाखाका अनुसार अहिले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका केही तथा मधेश प्रदेशलगायत बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहनेछ । आज सूर्योदय बिहान ५ बजेर ८ मिनेटमा भयो भने सूर्यास्त साँझ ७ बजेर २ मिनेटमा हुनेछ ।
मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्षको निधन
विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारको निधन भएको छ ।चार महिनाअधि मस्तिष्क पक्षघात भएर थलिएका उनको सोमबार दिउँसो निधन भएको हो । नेपाली कांग्रेस मोरङका उपसभापति भक्तिनाथ माझीले मंगलबार उनको अन्तिम संस्कार गरिने जानकारी दिए । राष्ट्रियसभा निर्वाचनमा मत दिन विराटनगर आउँदा उनी बेहोस भएका थिए । उनलाई अर्धचेत अवस्थामा एक महिनायता ग्रामथानस्थित घरमै राखिएको थियो । उनी गम्भीर बिरामी परेपछि चार महिनादेखि उपाध्यक्ष गुणवर्तीदेवी थारूले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।
ट्यांकर चालक संघ र सरकारबीच सहमति, पेट्रोलियम ढुवानी समस्या समाधान (सहमतिसहित)
काठमाडौं । सरकार र आन्दोलनरत नेपाल पेट्रोलियम ट्यांकर चालक संघबीच सहमति भएको छ । सोमबार सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तामा अध्ययन गरेर सबै समस्याको बारेमा प्रतिवेदन पेस गर्ने र सोहीअनुसार माग पूरा गर्ने सहमति भएसँगै अहिले देखिएको ढुवानी समस्या समाधान हुने भएको हो । नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार निगमको बजार व्यवस्थापन शाखाका नायव कार्यकारी निर्देशक संयोजकत्वमा समिति गठन हुने सहमति भएको हो। उक्त समितिले १५ दिनभित्र प्रतिवेदन तयार पार्ने र सोहीअनुसार चालक सहचालकहरूको माग सम्बोधन गरिने उनले जानकारी दिए। “समिति गठन हुने सहमति भएको छ । अब उहाँहरू डिपोमा पेट्रोलियम पदार्थ लिन जानुहुन्छ,” उनले भने, “आज बजारमा देखिएको पेट्रोलको अभाव एक घण्टाभित्र समाधान हुन्छ ।” यस्तै चालक संघका अध्यक्ष ईश्वर लामाले निजी ट्यांकर चालक र सरकारी ट्यांकर चालकबीच रहेको पारिश्रमिक अन्तर समाधान हुनुपर्ने बताए । पेट्रोल पम्पमा काम गर्ने कर्मचारी जोखिममा हुने र उनीहरुको सुरक्षाको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । अन्यथा १५ दिनभित्र समाधान नभए देशभर ढुवानी बन्द गरेर आन्दोलनमा उत्रिने उनले चेतावनी दिए ।
प्रतितोला ६०० रुपैयाँ घट्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज तोलामा ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँ निर्धारण भएको छ । आइतबार छापावाला सुन प्रतितोला एक लाख ४२ हजार ८०० मा कारोबार भएको थियो । तेजाबी सुन आइतबार प्रतितोला एक लाख ४२ हजार १०० मा कारोबार भएकोमा आजका लागि एक लाख ४१ हजार ५०० रुपैयाँ निर्धारण भएको छ । चाँदी प्रतितोला एक हजार ८०० रुपैयाँ निर्धारण भएको छ । आइतबार चाँदी प्रतितोला एक हजार ८२० मा कारोबार भएको थियो ।
सबैलाई आदर र सम्मान गर्ने हाम्रो आफ्नै विशिष्ट परम्परा छ : सभापति देउवा
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ‘बकर इद (इद उल अजहा)’ को अवसरमा शुभकामना व्यक्त गरेका छन् । इस्लाम धर्मावलम्बीको पर्व बकर इदको अवसरमा आज शुभकामना सन्देश दिर्दै उनले इस्लाम धर्मावलम्बी ‘बकर इद’ लाई पवित्र पर्वका रूपमा मनाउँदै आएका जनाउँदै यस पर्वले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै आएको उल्लेख गरेका छन् । शुभकामना सन्देशमा नेपाल–प्राचीनकालदेखि विभिन्न जात, जातिको बसोबासको सङ्गमस्थल रहेकाले यहाँ विभिन्न भाषा, विभिन्न धर्म, विभिन्न संस्कृति र चाडपर्वको आफ्नो बेग्लै विशेषता छ र सबैलाई आदर र सम्मान गर्ने हाम्रो आफ्नै विशिष्ट परम्परा छ भनिएको छ । सभापति देउवाले यस पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । उनले ‘बकर इद ’ ले सम्पूर्ण जातजाति तथा धर्मावलम्बीमा एकताको सन्देश दिन सफल हुनेछ भन्ने विश्वासका साथ सम्पूर्ण मुस्लिम समुदायमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

