संचालनमा आयो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि मुलुकभित्र अर्को नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माण गरिएको बहुप्रतिष्ठित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि विधिवत्रुपमा सञ्चालनमा आएको हो ।

नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग औपचारिक रुपमा सञ्चालनमा आएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल विधिवत्रुपमा सञ्चालन आएको छ । ७४ वर्षको नागरिक उड्डयन क्षेत्रको इतिहासमा यो कोसेढुङ्गा हो । परियोजनासँग जोडिएका प्रत्यक्ष र अप्रत्यक्षरुपमा संलग्न सबैलाई विशेष धन्यवाद दिन चाहन्छौं ।”

महानिर्देशक अधिकारीले विमानस्थलको पुरानो एक हजार ५०० मिटर लामो धावनमार्ग बन्द गरेर अन्तर्राष्ट्रियतर्फको तीन हजार मिटर लामो नयाँ धावनमार्ग सञ्चालन गरिएको जानकारी दिनुभयो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग आजदेखि सञ्चालनमा आए पनि अन्तर्राष्ट्रिय उडान भने आगामी जेठ २ गते बुद्धजयन्तीका दिनदेखि हुने प्राधिकरणले जनाएको छ । आजदेखि नयाँ धावनमार्गबाटै आन्तरिक उडान सञ्चालन भइसकेको छ । तथापि अब विदेशी एयरलाइन्सको जहाजले काठमाडौँ विमानस्थल बन्द भएको अवस्था वा अन्य कुनै आपतकालीन अवस्थामा भैरहवा विमानस्थलमा जहाज अवतरण गर्न सक्नेछन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि आन्तरिकतर्फ उडान सुरु भएको अप्रेसन रेडिनेश एन्ड एयरपोर्ट ट्रान्सपोर्टका सहसंयोजक विक्रम गौतमले जानकारी दिनुभयो । नयाँ धावनमार्गबाट सबै उडान सञ्चालन हुने उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “सन् १९५८ जुलाई ४ मा भैरहवा आन्तरिक विमानस्थलको रुपमा सञ्चालनमा आएको थियो । अहिले आएर हामीले अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा आजदेखि सुरु भयो भनेर घोषणा गरिसकेका छौँ ।”

यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भर्नका लागि जजीरा एयरले सम्पूर्ण तयारी गरिसकेको छ । जेठ २ गतेदेखि अन्तर्राष्ट्रिय उडान सञ्चालन हुनेछ । हालसम्म औपचारिकरुपमा जजीराले अनुमति लिएको छ । अन्य एयरलाइन्सले पनि सम्पर्क गरिरहेका छन् । विमानस्थलको भ्रमणदेखि विभिन्न प्रक्रियामा चासो दिएका छन् । छिट्टै अन्य एयरलाइन्सले पनि उडान गर्ने विमानस्थलको विश्वास छ ।

गौतमबुद्ध विमानस्थलमा न्यारोबडी र वाइडबडी जहाजले उडान अवतरण गर्नेछन् । यो विमानस्थलमा यान्त्रिक परीक्षण उडान ९क्यालिब्रेसन फ्लाइट० सम्पन्न भइसकेको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध विमानस्थल व्यवसायिक रुपमा सञ्चालनमा आउनु मुलुकको हवाई उड्डयन इतिहासमा नयाँ फड्को भएको सम्बद्ध अधिकारी बताउछन् ।

आन्तरिकतर्फ यती एयरलाइन्सको पहिलो उडान

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग आजदेखि विधिवत्रुपमा सञ्चालनमा आएसँगै आन्तरिक एयरलाइन्सले उडान सुरु गरिसकेका छन् । नयाँ धावनमार्गबाट आज पहिलो उडानको रुपमा निजी क्षेत्रको हवाई सेवा प्रदायक यती एयरलाइन्सले उडान भरेको विमानस्थलले जनाएको छ ।

बिहान ७ः४५ बजे पहिलो उडान भरेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो । निजी क्षेत्रको बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलाइन्सलगायत कम्पनीले उडान भर्दै आएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै क्षमतामा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन हुने प्राधिकरणले जनाएको छ । गौतमबुद्ध विमानस्थल रुग्ण अवस्थामा पुगेर चाँडो प्रगति हासिल गरेको आयोजना हो । राष्ट्रिय गौरवका आयोजनामध्ये चाडो प्रगति हासिल गर्ने नमूना आयोजना भएको प्राधिकरणको बुझाइ छ ।

सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्ने गरी सन् २०१५ को सुरूआतमा थालनी भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापर्बाहीले रोकिएको थियो । पछिल्लो पटक सन् २०२० को मार्चसम्म निर्माण सक्ने योजना रहे पनि कोभिड–१९ महामारीका कारण करिब पाँच वर्षपछि विमानस्थल व्यावसायिकरुपमा सञ्चालनमा आएको हो ।

विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरेको हो । एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको यो आयोजनाको पहिलो चरणमा करिब रु ११ अर्ब खर्च भएको प्राधिकिरणले जनाएको छ । अब दोस्रो चरणको टर्मिनल भवन पनि छिट्टै निर्माण प्रक्रिया अघि बढाइने छ ।

कूल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थललाई व्यावसायिकरुपमा सञ्चालनमा आउँदा हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण हुने विश्वास लिइएको छ । बढ्दो हवाई उडान चाप व्यवस्थापनका लागि प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थललाई २४सै घण्टा सञ्चालन गर्ने तयारी गरेको हो । टिआइएसहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि अब २ सै घण्टा सञ्चालन हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका महानिर्देशक अधिकारीका अनुसार जेठ १५ गते गणतन्त्र दिवसका दिनदेखि टिआइएलाई २४सै घण्टा सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । उहाँले कोरोना महामारीपछि बढेको हवाई चापलाई व्यवस्थापन गर्न काठमाडौँ विमानस्थललाई २४सै घण्टा सञ्चालन गर्ने निर्णय भएको बताउनुभयो ।

ऋषि धमला भन्छन् : पत्रकार आचार संहिता बल्ल थाहा पाएँ, अब सुध्रन्छु

काठमाडौं । सञ्चारकर्मी ऋषि धमलाले प्रेस काउन्सिल नेपालको कार्यालयमा पुगेर पत्रकार आचार संहिता पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले दिएको लिखित स्पष्टिकरण चित्त बुझ्दो नभएपछि सोमबार छलफलका लागि काउन्सिलले कार्यालयमा बोलाएको थियो । सञ्चारकर्मी धमलाले आफूलाई पत्रकार आचारसंहिताबारे ज्ञान नभएको र अब पालना गर्ने बताएका छन् । उनले आफूबाट कमी कमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा सुधारेर जाने प्रतिबद्धता ब्यक्त गरेको प्रेस काउन्सिलका सुचना अधिकारी रामशरण बोहोराले जानकारी दिए । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण सकेर स्वदेश फर्किने क्रममा भिडियो छायांकन गर्दै धमलाले देउवा बसेको स्थानमा जर्बजस्ती घुस्ने प्रयास गरेका थिए । सो सामग्री प्राइम टिभीबाट समेत प्रशारण भएपछि काउन्सिलले चैत २२ गते २४ घण्टे लिखित स्पष्टिकरण सोधेको थियो । धमलाले बुझाएको लिखित स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै काउन्सिलको बैठकले सोमबार उनलाई छलफलका लागि बोलाएको हो ।

हेलिकप्टर प्रयोग गरी पर्यटकको उद्वार

काठमाडौं । हिमाली पदयात्राका क्रममा बिरामी परेका एक पर्यटकलाई हेलिकप्टर प्रयोग गरी उद्धार गरिएको छ । राहदानी नं ३३१६२३२२ इजरायली नागरिक ओेरेन जैव इडेनलाई डानेष्टिक एअरको हेलिकप्टरद्वारा रसुवाको चन्दनबारीबाट उद्धार गरी काठमाडौँ पु¥याइएको हो । हिमाली पदयात्राका क्रममा आइतबार गोसाइँकुण्डमा बिरामी परेका पर्यटकलाई आज बिहान मात्र उद्धार गरिएको चन्दनबारीस्थित होटल रेडपान्डाका ङवाङ फिन्जो तामाङले जानकारी दिए । चन्दनबारीमा उक्त होटलको मात्र हेलिप्याड छ । आइतबार उच्च भागमा दिनभर प्रतिकूल मौसमका कारण हेलिकप्टरले गोसाइँकुण्डको अवतरण गर्न नसकेपछि ती पर्यटकलाई स्थानीय होटल व्यवसायी समेतको सहयोगमा साँझ चन्दनबारी ल्याई आज काठमाडौँ पठाइएको बताइएको छ ।उद्धार गरिएका पर्यटकको अहिले काठमाडौँको कालोपुलस्थित स्वागन अस्पताल उपचार भइरहेको डानेष्टिक एअरका उडान प्रबन्धक दावा शेर्पाले बताए । दुईजना साथी मिलेर पदयात्रामा हिँडेका ती इजरायली पर्यटकमा शनिबार १४ हजार ३८० मिटरको उच्च भागमा गोसाइँकुण्ड पुगेपछि टाउको दुख्ने समस्या भएको थियो । उपचारपश्चात् ती पर्यटकको शारीरिक अवस्था सामान्य बन्दै गएको बताइएको छ । हिमाली पदयात्राका क्रममा कुनै पर्यटक बिरामी पर्दा वा यात्राको सहजीकरण गर्नु परेमा स्याफ्रुबेँसीस्थित पर्यटन प्रहरी एवं जिल्ला प्रहरी कार्यालयलाई खबर गरी दिन आग्रह गरिएको प्रहरीले जनाएको छ । रासस

पोखरीमा डुबेर सप्तरीमा ८ वर्षीय बालकको मृत्यु

जनकपुरधाम । सप्तरीमा पोखरीमा डुबेर आठ वर्षीय बालकको मृत्यु भएको छ । राजगढ गाउँपालिका–४ मा रहेको सार्वजनिक पोखरीमा नुहाउने क्रममा बालकको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । बिष्णुपुर गाउँपालिका–२२ सिमराहाका ईन्द्र देव यादवका छोरा देव राज यादव मामाघर राजगढ–४ गएका बेला नुहाउने क्रममा डुबेर घाइते भएका थिए । उनको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । बालकको शवको पोस्टमार्टम गरी परिवारलाई जिम्मा लगाइएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

सर्लाहीमा २०० बोरा चिनी बरामद

सर्लाही । भारतबाट धान लिएर आएको कन्टेनरलाई सर्लाही भन्सार कार्यालय मलङ्गवामा जाँच गर्ने क्रममा २०० बोरा चिनी बरामद भएको छ । भारतको पटनाबाट धान भनेर ल्याइएका दुई कन्टेनरबाट २०० बोरामा राखिएको १० हजार किलो चिनी बरामद भएको भन्सार कार्यालयका प्रमुख मुरारीप्रसाद काफ्ले जानकारी दिए । कन्टेनरको अगाडिको भागमा धान राखेर भित्रपट्टि चिनी राखिएको अवस्थामा फेला परेको उनले जानकारी दिए । कन्टेनरबाट बरामद भएको २० क्विन्टल धान र चिनी जफत गरिएको छ भने कन्टेनरलाई नियन्त्रणमा राखेर मुद्दा प्रक्रिया बढाइएको भन्सार प्रमुख काफ्लेले बताए । कन्टेनरका चालकलाई रु तीन लाख धरौटीमा छाडिएको भन्सार कार्यालयले जनाएको छ । धान सर्लाहीको हरिवनमा लिएर जाँदै गरेको चालकले बयान दिए पनि चिनीका बारेमा केही नबताएको भन्सार कार्यालयले जनाएको छ । भारतीय कस्टम सोनबर्षा र सीमामा खटिएको भारतीय सुरक्षाकर्मी एसएसबीले जाँच पास गरेको कन्टेनरबाट उक्त परिणाम बराबरको चिनी बरामद गरिएको हो ।

महानगरले बनाएको कंक्रिट संरचना पुरातत्व विभागले हटाउँदै

काठमाडौं । विश्व सम्पदा क्षेत्र बसन्तपुर डबलीमा काठमाडौं महानगरपालिकाले मापदण्ड विपरीत बनाएको कंक्रिट संरचना पुरातत्व विभागले भत्काउन सुरु गरेको छ । विभाग अन्तर्गत हनुमानढोका दरबार हेरचार अड्डाका कार्यालयबाट शुक्रबार भत्काउन सुरु गरेको हो । संरचना हटाउन करिब दुई हप्ता लाग्ने जनाएको छ । पुरातत्व विभागले महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी, अभियन्ता र स्थानीयहरूको उपस्थितिमा गत चैत्र १ गते संरचना रहेको नटबोल्ट काटेको थियो । झण्डा राख्न ३ फिट गहिरो ८ वटा कंक्रिटको आधार संरचनामा अनाधिकृत रूपमा महानगरले रातारात बनाएको थियो । विश्व सम्पदा क्षेत्रमा कुनै पनि नयाँ संरचना बनाउन नपाइने नियमका कारण कंक्रिट संरचना हटाएको अड्डाले जनाएको छ । अभियन्ता र स्थानीयले सम्पदाको संरक्षण गर्ने संस्था नै सम्पदा मास्न लागेको र जनताले तिरेको करको दुरुपयोग भन्दै क्षतिपूर्ति भराउन माग समेत गरेको छ ।

मकवानपुरको बागमती गाउँपालिकाका भूमिहिन दलितले पाए लालपूर्जा

मकवानपुर । संविधानमा व्यवस्था भएअनुसार भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) वितरणको कामलाई तिब्र पारिएको छ । मकवानपुरको बागमती गाउँपालिकाको वडा नं. ४ मा भूूमिहिन दलितलाई लालपूर्जा वितरण गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले देशभर रहेका सबै भूूमिहिनले जग्गा प्राप्त गर्ने गरी अभियान तिब्र पारिएको बताईन् । मन्त्री श्रेष्ठको एक वर्षभित्र देशभर रहेका सबै खालका भूमिहिनहरुले जग्गा प्राप्त गर्ने अभियान अगाडी बढिसकेको भन्दै सरकारले शुरु गरेको अभियानमा वास्तविक भूमिहिन कोहीपनि जग्गा पाउनबाट छुट्न नहुनेमा जोड थियो । मन्त्री श्रेष्ठले भुमिहिनलाई लालपूर्जा वितरण गर्ने क्रममा धेरै अबरोधहरु सिर्जना गर्ने काम भइरहेको भएपनि आफू संविधानमा व्यवस्था भएको भूमिहिनले एकपटक जग्गा पाउने हक कार्यन्वयन गर्न प्रतिबद्ध भएर लागेकै कारण परिणाम दिनेगरी काम गर्न सफल भएको बताईन् । मन्त्री श्रेष्ठले सबै विधि र प्रक्रिया पुरा गरेर भूूमिहिनलाई लालपूूर्जा वितरण गरिएको भन्दै सरकारमा जोसुुकै आएपनि अब यो लालपूूर्जा कसैले खोस्न नसक्नेमा ढुुक्क हुन समेत सबैलाई आग्रह गरिन् । कार्यक्रममा भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्का लगायत जिल्ला भूमि आयोगका पदाधिकारी सहभागि थिए । बागमती गाउँपालिकामा आज ३ भूूमिहिन दलित घरपरिवारलाई लालपूर्जा वितरण गरेर शुरु गरिएको अभियान अन्र्तगत लगत संकलन र विभिन्न वडामा रहेका भूूमिहिन दलिहरुकालागि जग्गा नापजाँचको काम भइरहेको छ । यसअघि सिन्धुली जिल्लाको दुधौली नगरपालिका वडा नं ९ को मुसहर बस्तीमा १०६ भूमिहिन दलित घरपरिवारलाई लालपूर्जा वितरण गरिसकिएको छ । यस्तै चितवनको भरतपुर महानगरपालिका वडा नं २ का ४६ भूमिहिन दलित घरपरिवारलाई बुुधवार लालपूूर्जा वितरण गरिएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले मन्त्रालय संहालेपछि ४ महिनाको अवधिमा देशका विभिन्न गाउँब्लकमा रहेका २० हजार भन्दाबढी घरपरिवारलाई लालपूर्जा वितरण गरिसकिएको छ ।

युवा लक्षित सबै कार्यक्रम एउटै छाता भित्र ल्याउनु पर्छ : मन्त्री अथक

काभ्रेपलान्चोक । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज ‘अथक’ले युवा स्वरोजगार तथा सिप सिकाउने सरकारका छरिएका कार्यक्रमलाई एउटै छाता भित्र ल्याउनुपर्ने बताएका छन् । छरिएका कार्यक्रम र बजेटले लाखौं बेरोजगार युवाहरुलाई सिप सिकाउन र स्वरोजगार बनाउन नसकिने उल्लेख गर्दै मन्त्री अथकले प्रधानमन्त्री कार्यालय मातहत तथा अन्य मन्त्रालयसँग रहेका युवा लक्षित कार्यक्रम एउटै छातामा ल्याउनु पर्ने बताएका हुन् । युवा तथा साना ब्यावसायी कोषको आयोजनामा कर्मचारीहरुको २ दिने क्षमता अभिवृद्धि तालिम कार्यक्रमको आज काभ्रेको धुलिखेलमा उद्घाटन गर्दै मन्त्री अथकले त्यसका आफुले पहल गरिरहेको बताए । त्यसका लागि कानुनी हिसाबले गर्नुपर्ने काम अघि बढाउन निर्देशन दिदै मन्त्री अथकले भने,“ म आईसकेपछि स्वरोजगार सृजना गर्न र गरिबी निवारणका लागि केही बहसको सुरुवात भएको छ । युवा स्वरोजगार कोष, गरिबि निवारण कोष, प्रधानमन्त्री स्वरोजगार कोष उस्तै प्रकृतिका कोष छन् । यीनीलाई एउटै छातामा ल्याएर काम गर्न मैले पहल गरिरहेको छु । एउटै लक्ष र कार्यभार भएका एउटै प्रकृतिका फरक फरक निकाय बनाउनु भन्दा एउटै छाता भित्र ल्याउनु उचित हुन्छ ।” मन्त्री अथकलले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट सम्म यस्ता प्रकृतिका निकायलाई एउटै छाता मुनि ल्याउने प्रयास गर्ने बताए । मन्त्री अथकले भने , “सरकारको नीति तथा कार्यक्रम तथा बजेट निर्माणका बेलासम्म निचोडमा पुर्याउने प्रयास गरिरहेको छु । स्वरोजगार तालिम वा स्वरोजगार बैंक, तालिमका लागि पनि त्यही बनाएर कानुनी रुपले कोषलाई बलियो बनाउनु पर्ने आवश्यकता छ । यसमा कोषले आवश्यक प्रकृया अघि बढाओस म सहयोग गर्न तयार छु ।” युवा स्वरोजगार कोषले नेपाली युवालाई विदेश जानबाट रोक्न अहिले पनि ८४ हजार युवालाई स्वरोजगार बनाएको बताएको छ ।

२० देशमा सिफारिस भए राजदूतहरू (नामसहित)

काठमाडौं । सरकारले विभिन्न २० देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ८ जना परराष्ट्र सेवाका र १२ जना राजनीतिज्ञ गरी २० जनालाई राजदूतका लागि सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए । चीनका लागि नेपाली राजदूतमा नेकपा माओवादी केन्द्रका नेता विष्णुपुकार श्रेष्ठ सिफारिसमा परेका छन्। चीनका लागि नेपाली राजदूतमा नेकपा माओवादी केन्द्रका नेता विष्णुपुकार श्रेष्ठ सिफारिसमा परेका छन् भने नेकपा एकीकृत समाजवादीको कोटामा रसियाका लागि मिलन तुलाधर, अष्ट्रेलियाका लागि केशवराज पोखरेल, मलेसियाका लागि डिल्ली पौडेल सिफारिस भएका छन् । जनता समाजवादी पार्टीका नवराज सुवेदी साउदी अरव, दानवहादुर तामाङ दक्षिण अफ्रिका, शर्मिला पराजुली ढकाल स्पेन, बाशुदेव मिश्र श्रीलंका, शान्ता रिजाल इजरायल, ज्योति प्याकुरेल दक्षिण कोरिया, प्रा.डा रामशुरज राय यादव डेनमार्क र नरेश विक्रम ढकालको देश अहिले खुलाइएको छैन । यता परराष्ट्र सेवाबाट घनश्याम भण्डारी, हरिशचन्द्र घिमिरे, तीर्थराज वाग्ले, डोरनाथ यादव ९पासपोर्ट विभागका डिजि०, शशिल कमार लम्साल, भरतकुमार रेग्मी, निर्मलराज काफले, दुर्गा बहादुर सुवेदीलाई राजदूतमा सिफारिस गरिएको छ । उनीहरूको पनि देश खुल्न सकेको छैन ।

संक्रमणकालीन न्यायका बाँकी काम टुंग्याउँछु : कानुनमन्त्री बन्दी

काठमाडौं । गोविन्दप्रसाद शर्मा कोइरालाले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति विद्या भण्डारीबाट सपथग्रहण गरेलगत्तै मन्त्री कोइरालाले मन्त्रालयको पदभार ग्रहण गरेका हुन् । मन्त्रालयको पदभार ग्रहण गर्दै उनले अन्तरिम संविधानले अगाडि सारेका ऐन, कानूनहरु सम्पन्न गर्ने जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्ने बताएका छन्। नवनियुक्त मन्त्री कोइरालाले अन्तरिम संविधानले अगाडि सारेका कुराहरुमध्ये संक्रमणकालीन न्यायसँग सम्बन्धित केही कामहरु बाँकी रहेको र त्यसलाई टुंग्याउने जिम्मेवारी आफूले पाएको बताए । नवनियुक्त मन्त्री कोइरालाले भने, “हिजो म फरक भूमिकामा थिएँ । आज राज्यको तर्फबाट ती कामहरु पूरा गर्ने जिम्मेवारीमा पुगेको छु । मन्त्रालयले गर्नसक्ने कुरा हामी गर्दछौं। अन्तरिम संविधानपछिको जुन नयाँ संविधान बनायौं । त्यो संविधान बनाउँदा के प्रतिज्ञाहरु भएको थियो, अन्तरिम संविधानले अगाडि सारेका कुराहरुमध्ये संक्रमणकालीन न्यायसँग सम्बन्धित केही कामहरु बाँकी थिए । त्यसलाई सम्पन्न गर्ने दायित्व राज्यको हो ।’   नवनियुक्त मन्त्री कोइरालाले संक्रमणकालीन न्यायसँग सम्बन्धित कामहरु सर्वोच्च अदालतबाट विभिन्न मुद्दामा प्रतिवादित भएका सिद्धान्त, अन्तर्राष्ट्रिय कानूनका व्यवस्थाहरु, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधानमा अघि सारेका प्रस्तावनाहरु लगायतका कुरालाई हेरी कानून संशोधन गरेर अघि बढ्नुपर्ने बताएका छन् ।

स्वरोजगार श्रमिकले दिए आन्दोलनमा उत्रने चेतावनी

काठमाडौं । नेपाल स्वतन्त्र सडक व्यापार श्रमिक संगठनले काठमाडौं महानगरपालिकाले ठेकेदार माधवप्रसाद काफ्ले सँगको मिलेमतोमा सहरी सेवा केन्द्र रत्नपार्कमा रहेका स्वरोजगार श्रमिकहरूमाथि ज्यादती गरेको आरोप लगाएको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उक्त संगठनले महानगरको आतंक बन्द नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । गत कार्तिक ११ गते काठमाडौं महानगरपालिकाले दिएको पसल बन्द गर्ने निर्देशनलाई व्यापारीहरुले पालना गरेर वार्तापछि २ वर्ष म्याद थप्ने कुरा भएपनि चैत २१ गते व्यापारीहरूलाई कुनै जानकारी नै नदिईकन ९ वटा सटर भत्काइनु र ४ वटामा तालाबन्दी गर्नु खेदजनक कार्य भएको संगठनको भनाई छ । कार्यक्रममा बोल्दै संगठनका अध्यक्ष कुमार सापकोटाले आफैले रोजगारी सिर्जना गरेर सटर तथा सडक व्यापार गरेका श्रमिकहरुलाई राज्यले पटक–पटक धरपकड गर्न खोज्नु दुःखद् रहेको बताए । साथै, उनले सरकारले श्रमिकहरुलाई नजरअन्दाज गरे कडा सडक आन्दोलन गर्न बाध्य हुने भन्दै श्रमिकहरुलाई श्रम गरेर खान दिनुपर्ने बताए । राष्ट्रिय स्वरोजगार व्यवसायी संघका केन्द्रीय अध्यक्ष लीलाबहादुर दाहालले गरिबी उन्मूलन गर्छु भन्ने सरकारले आफ्नो व्यापार तथा व्यवसाय गरेर बसेका व्यवसायीमाथि अवरोध सिर्जना गर्नु आपत्तिजनक विषय भएको बताए । एकीकृत ट्रेड युनियन महासंघ नेपालका सचिव प्रेमबहादुर कार्कीले सडकमा बसेर व्यापार गर्ने कसैको रहर नभएको भन्दै राज्यले कानून बनाएर सडक व्यापारीहरूलाई व्यवस्थापन गर्नुपर्ने धारणा राखे । उनले काठमाडौं महानगरपालिकाले ठेकेदारसँगको मिलेमतोमा स्वरोजगार श्रमिकमाथि आतंक मच्चाएको भन्दै महानगरको यस कार्यप्रति महासंघको ध्यानाकर्षण भएको बताए । राज्यले श्रमिकहरुलाई तर्साउने कार्य जारी राखे महासंघ मूकदर्शक भएर नबस्ने बरु सशक्त संघर्षमा उत्रिने पनि उनले चेतावनी दिए ।

मन्त्री भुसालद्धारा कार्यविनायक र मछिन्द्रबहाल जोड्न झोलुङ्गे पुल उद्घाटन

काठमाडौं । ललितपुर महानगर पालिका वडा नं २२ स्थित धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रलाई जोड्ने उद्देश्यले झोलुङ्गे पुलको निर्माण भएको छ । कार्यविनायक र मछिन्द्रबहालबीचको सहज सम्पर्क स्थापित गर्ने उद्देश्यबाट निर्माण गरिएको सो झोलुङ्गे पुलको आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उद्घाटन गरिन् । पुलको लम्बाई १३५ मिटर रहेको छ । सो पुल ७९ लाख ७६ हजार ७८९ लागतमा निर्माण सम्पन्न भएको हो । उपत्यकामा रहेका झोलुङ्गे पुल पर्यटकीय आकर्षणका रुपमा रहँदै आएका छन् । कार्यविनायक र मछिन्द्रवहाललाई जोड्ने उक्त पुल निर्माणपछि दोहोरो पर्यटन प्रवद्र्धनमा सघाउन पुग्ने विश्वास व्यक्त गरिएको छ । सो स्थानमा पुल नहुँदा कार्यविनायक र मछिन्द्रबहाल पुग्ने पर्यटक एकअर्को स्थानमा जान कठिनाइ थियो । पुल बनेसँगै छोटो अवधिमा दुवै स्थानमा पुग्न सकिने भएको छ । पुल निर्माणसँगै आन्तरिक र बाह्य पर्यटकलाई दुवैस्थानको भ्रमणका लागि सहजीकरण हुने स्थानीयको भनाइ छ । सो क्षेत्रमा पर्यटकीय गतिविधि बढेसँगै स्थानीयको आयआर्जनमा महत्वपूर्ण सघाउ पुग्ने, विदेशी पर्यटकको आगावगमनले नेपालको हस्तकला, काष्ठकला तथा मूर्तिकलाको विश्वव्यापीकरणमा सहयोग मिल्ने छ । मन्त्री भुसालको पहलमा स्थानीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गतको बजेटबाट सो पुल निर्माण गरिएको हो । पुल उद्घाटन गर्दै मन्त्री भुसालले धार्मिक तथा पर्यटकीय केन्द्रलाई जोड्ने उक्त पुलले नेपालको हस्तकला, काष्ठकला र मूर्तिकलाको संरक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन्। बाह्य र आन्तरिक पर्यटन प्रवद्र्धनमा पनि उक्त झोलुङ्गे पुल कोशेढुंगा सावित हुने बताईन् । मन्त्री भुसालले आन्तरिक तथा बाह्य पर्यटकका लागि लक्षित गर्दै ‘एक घर, एक पर्यटक’ अभियान चलाउन स्थानीयवासीसँग आग्रह गरिन् । “यसबाट आयआर्जनका साथै नेपालको कला संस्कृतिको प्रवद्र्धनमा पनि टेवा पुग्छ, स्थानीय उत्पादनको बजारीकरण गर्न पनि यसले सघाउ पु¥याउँछ”, उनले भनिन्। वडा नं २२ का वडाध्यक्ष अम्बिरराज शाक्यले धार्मिक तथा सांस्कृतिको उच्च सम्भावना बोकेका दुई पर्यटकीय जोड्न पुलको आवश्यकता महसुस गर्दै पुल निर्माण गरिएको बताए। स्थानीयको आकांक्षालाई सरकारले सहयोग गरेको भन्दै भन्दै मन्त्री भुसाललाई आभार व्यक्त गरेका थिए ।

स्वदेश फर्किए चिनियाँ विदेशमन्त्री वाङ

काठमाडौं । तीन दिने नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किएका छन् । विदेशमन्त्री वाङ आइतबार अपरान्ह स्वदेश फर्किएका हुन् । विदेशमन्त्री वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका कर्मचारीले विदाई गरेका छन् । शुक्रबार काठमाडौं आएका विदेशमन्त्री वाङले शनिबार र आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा.नारायण खड्का, एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष प्रचण्ड लगायतका नेताहरुसँग शिष्टाचार भेटवार्ता गरेका थिए । माओवादी अध्यक्ष प्रचण्डसँगको भेटमा विदेशमन्त्री वाङले रसुवागढी र तातोपानी नाका खोल्न सकारात्मक रहेको बताएका थिए । शनिबार दुई देशबीच विभिन्न ९ बुँदे सम्झौता समेत भएको थियो ।

चीनले ११ अर्ब ४० करोड सहयोग उपलब्ध गराउने

काठमाडौं । चीन सरकारले आर्थिक एवं प्राविधिक सहयोगअन्तर्गत नेपाल सरकारलाई ११ अर्ब ४० करोड रुपैयाँभन्दा बढी अनुदान सहयोग उपलब्ध गराउने भएको छ । उक्त रकम दुवै देशको सहमतिमा निर्धारण गरिएका परियोजना कार्यान्वयन गर्न खर्च गरिने अर्थ मन्त्रालयले जनाएको छ । उक्त रकम सन् २०२० का लागि प्रदान गरिएको हो । यसैबीच, नेपालको भ्रमणमा रहेका चीनका विदेशमन्त्री वाङ यीले आफ्ना राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेला घोषणा भएको विकास सहायता रकम पनि उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । शनिबार राजधानीमा सम्पन्न नेपाल–चीन परराष्ट्रमन्त्रीस्तरीय वार्तामा उनले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् । साथै, उनले रसुवागढी र तातोपानी सीमानाकामा वस्तु तथा सेवाको दुईतर्फी आवागमन पूर्ण रूपमा सञ्चालन गर्न सहमति जनाएका छन् । वार्ताका क्रममा दुवै देशका परराष्ट्रमन्त्रीले सम्बद्ध निकायलाई सीमानाका शीघ्र सञ्चालन गर्न आवश्यक तयारीका निम्ति निर्देशन दिइसकेका छन् । चिनियाँ विदेशमन्त्रीले नेपाली विद्यार्थीलाई चाँडोभन्दा चाँडो चीन फर्काउने आश्वासन पनि दिएका थिए । रासस

पछल्लो २४ घन्टामा आठजनामा संक्रमण

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या घट्दै जान थालेको छ। पछिल्लो २४ घन्टामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर गरिएको २ हजार ६ सय ५५ कोरोना परिक्षणका क्रममा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। कोरोनाका कारण शनिबार पनि कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ। त्यस्तै थप २ सय १० संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६४ लाख ६०८ निको भएका छन्। हाल नेपालमा १ हजार ७ सय ५८ सक्रिय संक्रमित आइसोलेसनमा छन्।

टीयूमा देखिएका समस्या तत्काल समाधान हुनुपर्छ: मन्त्री भुसाल

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले ऐतिहासिक विरासत बोकेको त्रिभुवन विश्वविद्यालयमा चुनौती चुलिदै गएको बताएकी छन् । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, त्रिभुवन विश्वविद्यालय केन्द्रीय समितिको चौथो राष्ट्रिय अधिवेशन उद्घाटन कार्यक्रममा उनले विश्वविद्यालय सम्बद्ध पक्षले गम्भीर समीक्षा गरेर उत्पन्न चुनौतीलाई व्यवस्थापन गर्नेतर्फ लाग्न आग्रह गरिन् । व्यक्तिले खोलेका शिक्षण संस्थाले नाफा कमाउने र त्यहाँ विद्यार्थीको लाइन हुने तर त्रिभुवन विश्वविद्यालयका कुनै संकायमा विद्यार्थीभन्दा शिक्षक बढी हुने अवस्था कसरी आयो भन्दै मन्त्री भुसालले व्यवस्थापन, प्रशासन र प्राध्यापन तीनै क्षेत्रले गम्भीर भएर जवाफ दिने अवस्था आएकोे बताईन्। उनले भनिन् “एकले अर्कोलाई देखाउनेभन्दा पनि समस्याको समाधान कसरी गर्ने भन्ने विषयमा विशेष ध्यान जानुपर्छ।” जनताको कर र जनताका छोराछोरीले तिरेको ‘फि’बाट चल्ने संस्थाले आफ्नो जिम्मेवारी भुल्न नहुने उल्लेख गर्दै मन्त्री भुुसालले साधन र स्रोतको सही तवरले सञ्चालन तथा व्यवस्थापन गरेर फाइदा लिनुपर्ने बताईन् । उनले भनिन् , “भिसी र रेक्टरकोमा ताला लागेको ६८ दिन भयो रे, एक दिन पनि बिलम्ब नगरी समस्याको समाधान खोज्नुहोस् ।” एकपछि अर्को समस्या त्रिभुवन विश्वविद्यालयबाटै उत्पन्न हुने गरेको उल्लेख गर्दै मन्त्री भुसालले शिक्षाले पार्ने प्रभाव व्यक्तिको जीवनभर र राष्ट्रको लागि सयौं वर्षसम्म पर्ने भएकाले उत्पन्न चुनौतिको व्यवस्थापन गर्नुपर्नेमा उनको जोड छ । त्रिभुवन विश्वविद्यालयले महत्वपूर्ण योगदान गरेको स्मरण गर्दै मन्त्री भुसालले भनिन्, “अधिकांश सार्वजनिक क्षेत्रका जनशक्ति टीयूकै छन् । देशको विकासका निम्ति आवश्यक पर्ने जनशक्ति उत्पादनमा त्रिभुवन विश्वविद्यालयको महत्वपूर्ण योगदान छ ।” त्रिभुवन विश्वविद्यालयको कर्मचारी हुनुमा गर्व गर्न कर्मचारीलाई उनको सुझाव थियो । कार्यक्रममा त्रिभुन विश्वविद्यालयका शिक्षाध्यक्ष शिव भुसालले समग्र शैक्षिक सुधारका लागि त्रिभुवन विश्वविद्यालयको सुधार हुनुपर्ने बताईन् । उनले भनिन् “टियुले शैक्षिक गुणस्तरको नेतृत्व गर्नुपर्छ, त्यसका लागि निरन्तर काम गर्नुपर्छ ।” कार्यक्रममा शैक्षिक क्षेत्रमा योगदान गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।