यस्तो छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं।आज २०८१ साल असार ७ गते शुक्रबार सन् २०२४ जुन २१ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

शुक्रबार अमेरिकी डलर, युरो र कतारी रियालको विनिमयदर बढ्दा बेलायती पाउण्ड भने सामान्य अंकमा घटेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ५५ पैसा र बिक्री दर १३४ रुपैयाँ १५ पैसा पुगेको छ।युरो एकको खरिद दर १४३ रुपैयाँ २८ पैसा र बिक्री दर १४३ रुपैयाँ ९२ पैसा रहेको छ।


बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ४७ पैसा र बिक्री दर १७० रुपैयाँ २४ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६३ पैसा र बिक्री दर ३६ रुपैयाँ ७९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

आजको विदेशी मुद्राको विनिमय दर 

रासायनिक मलको अभाव हुँदैन मन्त्री साह

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षमा रासायनिक मलको अभाव नहुने बताएका छन्।बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री साहले अहिले ९६ हजार मेट्रिक टन रासायनिक मल मौज्दुत रहेको बताए ।  उनले थप १ लाख ३१ हजार मेट्रिक टन रासायनिक मल असार मसान्तसम्म आयात भइसक्ने भन्दै मलको आवश्यकता पुरा हुने बताए। मन्त्री साहले आगामी आर्थिक वर्ष २०८१/०८२ मा रासायनिक मल आपूर्तिका लागि २७ अर्ब ९५ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए। उनले विनियोजित बजेटबाट नै ६ लाख मेट्रिक टन मल अनुदानमा उपलब्ध गराउन सकिने भएकाले मल आपूर्तिमा समस्या नहुने स्पष्ट पारे। मन्त्री साहले आगामी आर्थिक वर्षमा मलको सहज उपलब्धताको लागि २ लाख ५० हजार मेट्रिक टनको टेण्डर आह्वान भइसकेको र सोमध्ये ९० हजार मेट्रिक टनको आपूर्ति सम्झौता पनि भइसकेको भन्दै मलको अभाव नहुने बताए।मन्त्री साहले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि समयमै प्रक्रिया आरम्भ गर्नुपर्ने बताए।

नेपालका धार्मिकस्थलको दर्शन गर्न काँग्रेस प्रवक्ता महतको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले हिन्दु धर्मावलम्बीहरूका आस्थाका केन्द्र पशुपतिनाथ, मुक्तिनाथ र बौद्ध धर्माबलम्बीहरूको उद्गमस्थल लुम्बिनीको दर्शन गर्न आह्वान गरेका छन् ।    भारतीय वर्किङ जर्नालिस्ट युनियनले शुक्रबार काठमाडौंमा आयोजना गरेको सेमिनारमा उनले नेपाल देवभूमि भएको बताउँदै यी क्षेत्रहरूको दर्शन गर्न आह्वान गरेका हुन् ।  ‘हामीसँग प्रकृतिले दिएका संसारकै अग्ला  हिमशृङ्खला  छन्। मधेशदेखि हिमालसम्मको लोभ लाग्दो हावापानी हाम्रै नेपालमा छ । यसलाई जलवायु परिवर्तनको असरबाट जोगाउन सबै जुट्नु पर्ने बेला भयो,’ प्रवक्ता महतले भने, ‘हिन्दु धर्मावलम्बीहरुका आस्थाका केन्द्र पशुपतिनाथ, मुक्तिनाथ र बौद्ध धर्माबलम्बीहरूको उद्गमस्थल लुम्बिनी पनि हाम्रै नेपालमा छन् । यी पवित्र धार्मिकस्थलहरुको दर्शन गर्न म सबैलाई आग्रह गर्दछु ।’ उनले अहिले समाजिक सञ्जालमा गलत कुराको प्रचारबाजी गर्ने काम बढ्दै गएको भन्दै गलत कुराको प्रचाबाजी गर्ने कार्यलाई रोक्न भारतीय वर्किङ जर्नालिस्ट युनियनले पनि आफ्नो ठाउँबाट कलम चलाउनु पर्नेमा जोड दिए । प्रवक्ता महतले भारत र चीनको बीचमा भएकाले नेपाल सानो जस्तो देखिए पनि सानो देश नभएको बताए। जनसंख्या र भूगोलको हिसाबले विशाल देश भारतको हृदय पनि विशाल हुनुपर्ने उनको भनाइ थियो।  नेपाल र भारतको सम्बन्ध युगौंदेखिको भएको भन्दै महतले सम्बन्धलाई सुमधुर बनाउन दुवै देश सचेत हुनुपर्नेमा जोड दिए।

साम्प्रदायिकता फैलाउने गतिविधि नियन्त्रण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान विपरित धार्मिक तथा सामाजिक सदभाव विगार्ने र साम्प्रदायिकता फैलाउने गतिविधि नियन्त्रणका लागि जस्तो सुकै उपाय अपनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोध्नुभएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्रीले धार्मिक गतिविधिका नाममा साम्प्रदायिकता फैलाउन खोज्ने व्यक्ति तथा समूहलाई प्रचलित कानुन बमोजिम कानुनी कारबाही हुने स्पष्ट पारे। सरकारले गृह मन्त्रालय र मातहत स्थानीय प्रशासनमार्फत धार्मिक तथा सामाजिक सदभाव बढाउन केन्द्रीय स्तर तथा प्रादेशिकस्तरमा समेत छलफलका कार्यक्रम सञ्चालन गरिहेको प्रधानमन्त्रीले जानकारी दिए।  प्रधानमन्त्री प्रचण्डले भने, “बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवरद्धन गर्न सरकार प्रतिबद्ध छ।”

राजदूतहरूको नियुक्तिलाई थप व्यवस्थित एवं मर्यादित बनाइन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजदूतहरूको नियुक्तिलाई थप व्यवस्थित, मर्यादित, पारदर्शी एवं कार्यसम्पादनमा आधारित बनाइने बताएका छन्।प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्रीले नेपालको संविधान र परराष्ट्र नीतिले परिलक्षित गरेअनुसार राष्ट्रको सर्वोपरी हित हुनेगरी राजदूतहरूको नियुक्ति हुने स्पष्ट पारेका हुन् । “राष्ट्रको सर्वोपरी हित हुनेगरी विदेशस्थित कूटनीतिक नियोग तथा नियोग प्रमुखलाई परिचालन गर्न सरकार प्रतिबद्ध छ,” प्रधानमन्त्री प्रचण्डले भने, “राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ बमोजिम सरकारले आवश्यक ठानेमा राजदूतलाई पदावधि पूरा हुनु अगावै निर्णय गरी फिर्ता बोलाउन सक्ने प्रावधान छ।” उनले देशको हित र कूटनीतिलाई मजबुत बनाउन वस्तुगत आधारमा राजदूतहरूको मूल्याङ्कन गरी सोहीअनुरूप व्यवस्थापन गर्ने नीति सरकारले अवलम्बन गर्दै आएको स्पष्ट पारे।  त्यसैगरी नदीको प्रकृति र यसले पारिररहेको असरलाई दीर्घकालीन व्यवस्थापन गर्नुपर्ने देखिएकोले उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसङ्घको परियोजना सेवामार्फत्  जलवायु परिवर्तनसँग अन्तरसम्बन्धित गरी प्रतिवेदन तयार गरिएको र कार्यान्वयमा ल्याउने प्रक्रिया अगाडि बढेको जानकारी दिए।  शुक्लाफाँटा राष्ट्रिय निकुन्जबाट प्रभावितहरूको समस्याका बारेमा सरकार गम्भीर रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले विषयको संवेदनशीलतालाई आत्मसात गर्दै विभिन्न आयोगका सुझाव समेटी पीडित जनताका समस्या स्थायीरूपमा समाधान गर्न सरकार कटिबद्ध रहेको स्पष्ट पारे।

निर्माण व्यवसायीलाई भुक्तानीको समस्या छैन : प्रधानमन्त्री

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण व्यवसायीलाई उपलब्ध गराउनुपर्ने भुक्तानीमा कुनै समस्या नरहेको जानकारी गराएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोध्नुभएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्रीले पुष्पलाल मध्यपहाडी लोकमार्गको केही खण्डमा रेखाङ्कन विवादले निर्माण कार्य अगाडि बढ्न नसकेको भए पनि भुक्तानीका कारण नभएको स्पष्ट पारे। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल दिगो सञ्चालनका सम्बन्धमा सरोकारवालाहरूसँग छलफल र समन्वय गरी तदारूकताकासाथ कार्य भइरहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले अन्य मुलुकका अन्तर्राष्ट्रिय वायुसेवाहरूले पोखरा विमानस्थलबाट सेवा सञ्चालन गर्नका लागि विभिन्न छूटहरू तथा सहुलियतहरू माग गरेको हुँदा सो विषयमा समन्वय भइरहेको जानकारी दिए।  “पोखरा अन्तर्राष्ट्रिय विमानस्थल लगायत तीनवटै अन्तर्राष्ट्रिय विमानस्थलहरू दिगो रूपमा सञ्चालन गर्न सार्वजनिक निजी साझेदारीमा सञ्चालन र निर्माण सम्बन्धमा सुझाव पेश गर्न कार्य समिति गठन भएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “समितिको प्रतिवेदन तथा सिफारिश प्राप्त भएपछि अन्तर्राष्ट्रिय विमानस्थलहरू सार्वजनिक निजी साझेदारी वा अन्य उपयुक्त सञ्चालनको विधि तयगरी कार्यान्वयनमा ल्याइने छ ।”

सुनको मूल्यमा वृद्धि

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ। आज सुन प्रतितोला ६ सयले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको हो। महासंघका अनुसार आज छापावाल १ लाख ४२ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ४२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। यस अघि बुधबार छापावाल सुन १ लाख ४२ हजार २०० र तेजाबी सुन १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज चाँदीको मूल्य तोलाको ३५ रुपैयाँले बढेर प्रतितोला १८४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यस्तो छ बिहीबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं ।  आज २०८१ साल असार ६ गते बिहीबार सन् २०२४ जुन २० तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। बुधबार घटेको अमेरिकी डलर, युरो, बेलायती पाउण्ड र कतारी रियालको विनिमयदर बिहीबार भने बढेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २४ पैसा र बिक्री दर १३३ रुपैयाँ ८४ पैसा पुगेको छ।युरो एकको खरिद दर १४३ रुपैयाँ २३ पैसा र बिक्री दर १४३ रुपैयाँ ८८ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ६१ पैसा र बिक्री दर १७० रुपैयाँ ३७ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५४ पैसा र बिक्री दर ३६ रुपैयाँ ७१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर  

पूर्वी भूभागमा मनसुनको प्रभाव, यी चार प्रदेशमा वर्षाको हुने

काठमाडौं ।हाल देशका पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै, बाँकी भूभागमा स्थानीय वायु तथा भारतको बिहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । महाशाखाका अनुसार अहिले कोशी, मधेश, बागमतीमा पूर्ण बदली तथा गण्डकी प्रदेशमा साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही तथ सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । काठमाडौं उपत्यकामा रातिदेखि नै वर्षा जारी रहेको छ । महाशाखाका अनुसार पूर्वी नेपालका सिराहा, उदयपुर, सप्तरी, धनकुटा, सुनसरी, मोरङ र झापा आसपासको क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाले यी क्षेत्रमा भारी वर्षा हुनसक्ने भएकाले उक्त क्षेत्र भएर बहने ससाना खोलाहरूमा आकस्मिक बहाब बढ्नसक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ । आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै मधेश प्रदेशको थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै कोशी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । आज सूर्योदय बिहान ५ बजेर ८ मिनेटमा भयो भने सूर्यास्त साँझ ७ बजेर २ मिनेटमा हुनेछ ।

गृहमन्त्री र सिचुवान प्रान्तका उपगर्भनर हनविङ्गबीच भेटवार्ता

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र नेपाल भ्रमणमा रहेका चीनको सिचुवान प्रान्तका उपगर्भनर ये हनविङ्गबीच भेटवार्ता भएको छ। बुधबार सिंहदरबारस्थित गृह मन्त्रालयमा उनीहरुबीच भेटवार्ता भएको हो। भेटवार्तामा सुरक्षा क्षेत्रमा सामूहिक सहभागीता, विपद जोखिम न्यूनिकरण र पूर्वाधार क्षेत्रकमाथि केन्द्रित वर्षौं पुरानो सम्बन्धमाथि छलफल भएको थियो । उपगर्भनर ये हनविङ्ग सुरक्षा सम्बन्ध मजबुत बनाउन र द्वीपक्षीय सहकार्य बढाउन सहमत भएको गृहमन्त्रालयले जनाएको छ । विपद व्यवस्थापन सम्बन्धी सहमतिको कार्यन्वयन, नेपाली सुरक्षा निकायलाई सहयोग र सुदृढ सीमा व्यवस्थापनका विषयमा विशेष पनि कुराकानी भएको बताइएको छ । मन्त्रालयका अनुसार गृहमन्त्री लामिछानेले नेपालको पूर्वाधार विकास क्षेत्रमा चिनियाँ लगानीप्रति कृतज्ञता व्यक्त गरेका थिए।

तीन दिनदेखि सुनको भाउ स्थिर, यस्तो छ चाँदीको मूल्य

काठमाडौं । सुनको भाउ तीन दिनदेखि स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महसंघले बुधबारका लागि पनि तोलाको १ लाख ४२ हजार २ सय रुपैयाँ मूल्य तय गरेको छ। अघिल्ला दुई दिन पनि सोही मूल्यमा कारोबार भएको थियो। सुनको मूल्य जेठ २५ गते हालसम्मकै उच्च तोलाको १ लाख ४५ हजार रुपैयाँसम्म पुगेको थियो। त्यस्तै चाँदीको भाउ बुधबार तोलामा १० रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको १ हजार ८१५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ८०५ कायम भएको छ ।

प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)

काठमाडौं । प्रतिनिधिसभा बैठक जारी छ ।जारी बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने सम्भावित कार्यसूची रहेको छ।कार्यसूचीमा उल्लेख भएअनुसार सांसदहरू पुष्पबहादुर शाह, अमरेशकुमार सिंह र ध्रुवबहादुर प्रधानले विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यस्तै, सांसद प्रेम सुवालले विनियोजन विधेयक, २०८१ अन्तंगत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाइयोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । त्यसैगरी दोस्रो बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने छन् ।

चीन र ईयूबीच उच्चस्तरीय वातावरण तथा जलवायु सम्मेलन सम्पन्न

काठमाडौं । चीन र युरोपेली संघ (ईयू)बीचको पाँचौं उच्चस्तरीय वातावरण तथा जलवायु वार्ता ब्रसेल्समा सम्पन्न भएको छ।  बेल्जियमको राजधानी ब्रसेल्समा मङ्गलबार भएको छलफलमा दुवै पक्षले हरित सहयोगलाई अझ व्यवस्थित र मजभुत बनाउने विषमा सहमत भएको पिपुल्स डेली चाइनाले जनाएको छ। भेटवार्तामा चिनियाँ उपप्रधानमन्त्री दिङ सुएङयाङ र युरोपेली आयोगका कार्यकारी उपाध्यक्ष मारोस सेफकोभिक लगायत सहभागी थिए । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोको स्थायी समितिका सदस्य समेत रहेका दिङले हालैका वर्षहरूमा चिनियाँ राष्ट्रपति सी चिन फिङ र युरोपेली संघका नेताहरूले पटकपटक भेटघाट गरेका छन् ।

अमेरिकी पूर्वसभामुखले दलाई लामालाई भेट्ने, चीनको कडा चेतावनी

काठमाडौं । अमेरिकाका पूर्वसभामुख न्यान्सी पेलोसीसहितको एक प्रतिनिधिमण्डलले भारतको हिमाञ्चल प्रदेशमा गएर तिब्बती धर्म गुरु दलाई लामालाई आज (बुधबार) भेट्ने भएको छ। उक्त भेटघाटका क्रममा अमेरिकी सदनमा चीन–तिब्बत विवादलाई लिएर हालै पारित भएको एक विधेयकका विषमा समेत चर्चा हुने जनाइएको छ। यसरी अमेरिकी पूर्वसभामुख समेत रहेको टोलीले दलाई लामासँग भेट्न लागेको विषयलाई लिएर चीनले कडा असन्तुष्टि जनाएको छ।चीनले भनेको छ, “यदि, अमेरिका तिब्बतलाई चीनको हिस्सा नमानेर आफ्नो प्रतिबद्धताको सम्मान गर्दैन भने चीनले यसमा कडा कदम चाल्नेछ।”  चीनका विदेश मन्त्रालयका प्रवक्ता लिन चियानले १४ औँ दलाई लामा कुनै विशुद्ध धार्मिक व्यक्ति नभएको बताएका छन् । धर्मको आडमा चीन विरोधी पृथकतावादी गतिविधिमा लिप्त एक निर्वासित राजनीतिक व्यक्ति भएको टिप्पणी रहेको छ ।  लिनले खासगरी अमेरिकी राष्ट्रपति जो बाइडेनले कांग्रेसमा पारित भएको  चीन–तिब्बत विवाद सुल्झाउने वकालत गरिएको कानुनको समर्थन नगर्न अपिल गरेका छन् । लिनले भनेका छन्, “अमेरिकाले यो विधेयकमा हस्ताक्षर गरेर यसलाई कानुन बनाउनु हुँदैन। चीन आफ्नो सम्प्रभुता, सुरक्षा र विकासको हितलाई दृढताका साथ रक्षा गर्न कडा कदम उठाउनेछ ।”  भारतस्थित चिनियाँ दूतावासले पनि लामो वक्तव्य जारी गर्दै अमेरिकी पक्षसँग दलाई लामा समूहको चीन विरोधी पृथकतावादी प्रकृतिलाई पहिचान गर्न आग्रह गरेको छ । “शिजांग चीनले तिब्बतलाई भन्ने नामसँग जोडिएको मुद्दामा अमेरिकाले चीनसँग गरेको प्रतिबद्धताका सम्मान गरोस् र दुनियालाई गलत सन्देश दिने काम बन्द गरियोस्,” दूतावासले जनाएको छ ।   चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले शिजांग हमेसा चीनको हिस्सा रहेको बताएका छन् । उनले शिजांग चीनको आन्तरिक मामिला भएको बताएका छन् ।  “कुनै पनि बाहिरी हस्तक्षेपको कहिल्यै पनि अनुमति दिइने छैन । कुनै पनि व्यक्ति वा ताकतले कहिल्यै पनि चीनलाई नियन्त्रित गर्ने र दबाउन शिजांगलाई अस्थिर गर्ने प्रयास नगरोस् । यस्तो प्रयास कहिल्यै पनि सफल हुनेछैन,” उनले भनेका छन् ।  उनले अमेरिकासँग शिजांगलाई चीनको हिस्सा मान्ने आफ्नो प्रतिबद्धतामा कायम रहन पनि आग्रह गरेका छन् । उनले शिजांगको स्वतन्त्रताको समर्थन नगरे चीनले आफ्नो सम्प्रभुता, सुरक्षा र विकासको हितको रक्षार्थ कडा कदम उठाउने चेतावनी दिएका छन् ।  दलाई लामा भेट्न खोज्ने अमेरिकी प्रतिनिधिमण्डलमा न्यान्सीबाहेक टेक्सासका रिपब्लिकन नेता तथा अमेरिकी कांग्रेसमा विदेश मामिला समितिका अध्यक्ष माइकल मैककाल पनि सामेल छन् । बीबीसी

संसद् भवन परिसरमा प्रहरी जवानद्वारा आत्महत्या

काठमाडौँ । नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा नेपाल प्रहरीका एक जवानले गोली प्रहार गरेर आत्महत्या गरेका छन् । संसद् भवनमा ड्युटीमा खटिएका प्रहरी जवान अजित गोलेको शव आज बिहान ८ बजे शौचालयमा फेला परेको काठमाडौँ प्रहरी प्रमुख वसन्त रजौरेले जानकारी दिए । प्रहरी जवान गोलेले आफ्नो सेवा राइफलबाट निधारमा गोली प्रहार गरेका उनले बताए। घटनासम्बन्धी विस्तृत विवरण प्राप्त हुन बाँकी छ ।

विधायन व्यवस्था समितिको बैठक बस्दै, मिडिया काउन्सिल विधेयकबारे छलफल हुने

काठमाडौं । राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्था समितिको बैठक बस्दै छ। बैठक आज दिउँसो ३ बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा हुने जनाइएको छ । बैठकमा मिडिया काउन्सिल विधेयक २०८० माथि छलफल हुने सम्भावित कार्यसूचीमा उल्लेख छ ।