महाराजगन्ज क्याम्पसमा विद्यार्थीबीच कुटाकुट, दुई जना घाइते

काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संस्थानअन्तर्गत महारागगन्ज क्याम्पसमा अध्ययनरत विद्यार्थीको दुई टोलीबीच झडप भएको छ । शुक्रबार राति भएको आक्रमणबाट एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत सागर खड्का र वीरेन्द्रजंग कुँवर घाइते भएका छन् । आफूहरुमाथि छात्रबासमै बस्ने अर्को सिनियर टोलीले कुटपिट गरेको उनीहरुको आरोप छ ।

घाइते कुँवरको त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ । खड्काको टाउको सामान्य चोट लागेको छ । कुँवरको भने पाखुरामा धारिलो वस्तुले प्रहार गरेको गहिरो चोट देखिन्छ ।

आफूमाथि आक्रमण भएपछि कुँवरले काठमाडौं प्रहरी वृत्त महाराजगन्जमा उजुरी दिएका छन् । उनले एमबीबीएस अध्ययनरत सुलभ आचार्य, रमेश बलायर, सूर्यप्रकाश जोशी, शिव सिंह, विकास देव, सुरज भट्ट, सम्राट भट्ट र सुमित बोहराविरुद्ध कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिएका हुन् । राति मादकपदार्थ सेवन गरेर छात्रवासमा आएका व्यक्तिहरुले सिसालगायत धारिलो वस्तुले प्रहार गरेको खड्काको आरोप छ । घाइते खड्काले घटनाबारे क्याम्पस प्रशासनलाई जानकारी गराउँदा प्रहरीमा जान भनेको तर प्रहरीले जाहेरी दर्ता गर्न नमानेको उनको गुनासो छ ।

महाराजगन्ज वृत्तका डिएसपी प्रमेश विष्टले भने पीडितको उजुरीको आधारमा घटना अनुसन्धान भइरहेको जानकारी दिए । आक्रमणबाट चोट लागेका व्यक्तिको घाउ जाँच गर्न पठाइएको र रिपोर्ट आउन बाँकी रहेको उनले बताए । ‘घटनाको अनुसन्धानपछि कुन कसुरमा मुद्दा चलाउने स्पष्ट हुन्छ, अहिले घाइते भएका व्यक्तिको घाउ जाँच गरिएको छ,’ उनले भने । अर्को समूहले पनि आफूहरुमाथि आक्रमण बताएको तर यसबारे प्रहरीमा उजुरी भने नआएको डीएसपी विष्टले बताए ।

२५ आवश्यक सेवामा हड्ताल गर्न निषेध

काठमाडौं । सरकारले २५ वटा आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गरेको छ। जेठ १० गते बसेको मन्त्रीपरिषद्को बैठकले सार्वजनिक हितको लागि २५ वटा आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको हो। बुधबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकामा सञ्चालन हुने साइबर सेक्युरेटी लिडरसिप प्रोग्राम तथा ट्रेनिङमा सहभागी हुन नायब महान्यायाविधवक्ता टेकबहादुर घिमिरेको भ्रमण स्वीकृत गर्ने निर्णय भएको बताए। त्यस्तै सरकारले अमेरिकाको हवाईस्थित होनलुलुमा जेठ १८ देखि २० गतेसम्म आयोजना हुने कन्प्रिहेन्सिभ सेक्युरिटी कोर्समा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेस प्रदेशका प्रमुख सचिव कृष्णबहादुर राउतलाई सहभागी हुन स्वीकति प्रदान गर्ने निर्णय गरेको छ। प्रवक्ता कार्कीले आउँदो जेठ १८ देखि २५ गतेसम्म भारतमा आयोजना हुने हाई लेभल नेपाल स्टडी मिसन टु इन्डिया अन राइट टु फुड एन्ड फुड सर्भिरेन्टी एक्ट कार्यक्रममा सहभागी हुन कृषि तथा पशुपंक्षी विकास मन्त्रीको नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृत दिने निर्णय भएको पनि जानकारी दिए। त्यस्तै सरकारले आगामी जेठ २९ देखि असार ५ सम्म जर्मनी, बेल्जियम र फ्रान्समा लर्निङ एन्ड नलेज सेयरिङ अन युरोपियन कोअप्रेटिभ सिस्टम एन्ड गुडप्राक्टिसेस अन एग्रिकल्चर फ्रुट एन्ड भिजिटेबल कोअप्रेटिभ्स मार्केट डेभलपमेन्ट कार्यक्रममा सहभागी हुन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीको नेतृत्वको भ्रमण टोलीलाई स्वीकृत प्रदान गर्ने, रूवाण्डाको किगालीमा जेठ २३ गतेदेखि असार २ गतेसम्म आयोजना हुने वर्ल्ड टेलिकम्युनिकेसन डेभलपमेन्ट कन्फरेन्समा भाग लिन सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई स्वीकृत दिने निर्णयसमेत गरेको छ। प्रवक्ता कार्कीले लोकसेवा आयोगको सिफारिस बमोजिम नेपाल कृषि सेवा, मत्स्य समूह, राजपत्राङ्कित प्रथम श्रेणीको पदमा बढुवा तथा नियुक्ति पदस्थापना गर्ने निर्णय गरेको पनि बताए।

माओवादीले जनप्रतिनिधिलाई एकै ठाउँमा प्रशिक्षण दिने

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई एकै ठाउँ राखेर प्रशिक्षण दिने भएको छ । बुधबार बसेको सो पार्टीको केन्द्रीय कार्यालयको बैठकले आगामी जेठ १८ र १९ गते स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूलाई काठमाडौंमा प्रशिक्षण दिने निर्णय गरेको हो ।   उनीहरुलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित विशेषज्ञले प्रशिक्षण दिने माओवादी केन्द्रीय कार्यालयले जनाएको छ । नेकपा माओवादीले स्थानीय तह निर्वाचनमा ७५३ स्थानीय तहमध्ये १२१ स्थानीय तहमा जित हासिल गरेको छ । अघिल्लो स्थानीय तहको चुनावमा जितेका ३ दर्जनभन्दा बढि स्थानीय तह गुमाएपछि माओवादीले जनतामा प्रभावकारी काम कसरी गर्ने र आफ्नो पकड कायम राखिरहने भन्ने बारे प्रशिक्षण गर्न लागेको हो । माओवादीले यसपटकको स्थानीय तह चुनावमा नयाँ पालिकाहरु थपेपछि पुराना पालिकाहरु गुमाएको छ ।

यूरोपमा समलिङ्गीहरुको रेभ सेक्स पार्टीबाट मंकिपक्स फैलिएको दावी

काठमाडौं । यूरोपमा समलिङ्गीहरुबीच असुरक्षित यौन सम्पर्कबाट मंकिपक्स संक्रमण फैलिएको दावी गरिएको छ । हालैमात्र स्पेन र बेल्जियममा भएका दुई वटा रेभ पार्टीमा सहभागीमा यो संक्रमण देखिएको थियो । लागुपदार्थ र मदिराको सेवनसँगै संगीत, नृत्य र सेक्स समेत रहने रेभ पार्टीैमा जोखिमजन्य व्यवहार नै यूरोपमा संक्रमण फैलाउने मुख्य कारण भएको डा। डेभिड हेमनले बताएका छन् । उनी विगतमा विश्व स्वास्थ्य संगठनको आपतकालिन विभागका प्रमुख थिए । मिडियालाई दिएको एक अन्तर्वार्तामा उनले संक्रमित मानिसहरुसँग करिबी सम्पर्कबाट मंकिपक्स हुने र यौन सम्बन्धलाई यसलाई तीब्रता दिएको दावी गरेका हुन । मंकिपक्स संक्रमण पहिलोपटक१९५८ मा खोजिएको थियो । त्यो बेला अनुसन्धानका लागि राखिएको दुईवटा बाँदरमा दादुरा जस्ता बिरामीका लक्षण देखिएका थिए । मानिसमा भने यसको पहिलो घटना सन् १९७० मा कंगोमा ९ वर्षका बालकमा देखिएको थियो । लामो समयदेखि संक्रमणका अन्य घटना नदेखिएपनि अहिले भने अफ्रिकाबाट फर्केकाहरुमा संक्रमण देखिएको छ । हालसम्म संक्रमणका १३० भन्दा बढी घटना देखिएका छन् ।

एक महिनाभित्र पाठ्यपुस्तक छापिसक्न सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले विद्यालय तहको पाठ्यपुस्तक एक महिनाभित्र छापिसक्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र जनक शिक्षा सामग्री केन्द्रलाई निर्देशन दिएको छ । १ जेठदेखि नयाँ शैक्षिक सत्र सुरु भए पनि सरकारले विद्यार्थीलाई पाठ्यपुस्तक दिन सकेको छैन । यस विषयमा छलफल गर्न बुधबार शिक्षा तथा स्वास्थ्य समितिले शिक्षा मन्त्रालय र जनक शिक्षा सामग्री केन्द्रका अधिकारीलाई बोलाएको थियो । उनीहरुसँगको छलफलपछि समितिले छापिसकेका पुस्तक तत्काल वितरण गर्न पनि निर्देशन दिएको छ । समितिको बैठकमा जनक शिक्षा सामग्री केन्द्रका महाप्रबन्धक अनिल झाले ३५ लाख पुस्तक छाप्न बाँकी रहेको जानकारी गराएका थिए । सबै पुस्तक छापिसकेर मात्र वितरण गर्ने तयारी गरेकाले ढिलाइ भएको उनको भनाइ छ । कोरोना महामारी, स्थानीय तहको निर्वाचन र रुस युक्रेन युद्धका कारण भारतमा कागज अभाव भएको र भारतमै अभाव हुँदा नेपालमा पनि अभाव देखिएको महाप्रबन्धक यादवले बताए । उनले पुस्तक छाप्न अहिले कागज अभाव छ वा छैन भन्नेबारे केही खुलाएनन् ।

भारतद्धारा चिनी निर्यातमा रोक, नेपालमा कस्तो असर पर्ला ?

काठमाडौं । भारतले चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको छ । १ जुन (१८ जेठ) देखि कार्यान्वयन हुनेगरी भारतले आफ्नो मुलुकबाट हुने चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको हो । भारतको वैदेशिक व्यापार महानिर्देशनालयले १ जुनदेखि अक्टोबर ३१ (चार महिना) सम्मका लागि चिनी र त्यसका सबैखाले कच्चा पदार्थ निर्यातमा रोक लगाउने निर्णय गरेको हो ।   रुस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खला बिग्रिए पछि विभिन्न मुलुकले त्यसको असरबाट आफ्नो मुलुकलाई बचाउन खाद्यान्न जोहोको निर्णय गरिरहेका छन् । केही दिन अघि भारतले फलामको कच्चा पदार्थ स्पन्ज आइरनको निर्यातमा कर वृद्धिको निर्णय गरेको थियो । वाणिज्य विज्ञ रविशंकर सैजुका अनुसार भारतले लगाएको निर्यात रोकको असर नेपाली बजारमा पर्नेछ । नेपालको आन्तरिक उत्पादनले नपुग्ने भएकाले नेपाल(भारत लगायतका मुलुकमा चिनीमा परनिर्भर रहेको उनले बताए । नेपाल चिनी उद्योग संघले दिएका जानकारीअनुसार यो चालु आवमा नेपालमा ३ लाख २१ हजार मेट्रिक टन चिनी उत्पादन भएको थियो । तर, त्यसमा कति उपभोग भयो भन्ने विवरण कुनै सरकारी निकायसँग छैन् । चालु आर्थिक वर्षको वैशाखसम्म ४ अर्ब ८३ करोडको ९४ हजार ८४ मेट्रिकटन चिनी नेपालमा आयात भएको भन्सारको विवरणमा देखिन्छ ।

प्रदेश १ को बजेट अधिवेशन जेठ १६ गते आह्वान

विराटनगर । प्रदेश १ को प्रदेश सभाको दशौँ तथा बजेट अधिवेशन यही जेठ १६ गते सोमबार बिहान ११ बजेका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसअनुसार बैठक आह्वान गरेका हुन् । उनले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम उक्त दिन अधिवेशन आह्वान गरेका हुन्। प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा अधिवेशन आह्वानसम्बन्धी सूचना उल्लेख छ ।

बढ्यो नेपाली क्रिकेट खेलाडीको तलब

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरूको तलब १० हजारका दरले बढेको छ । क्यान राष्ट्रिय सम्झौतामा रहेका पुरुष खेलाडीहरूको तलव बढेको हो ।   क्यानले राष्ट्रिय खेलाडीहरुलाई ए, बी र सी ग्रेडमा राखेको छ । सोही अनुसार मासिक पारिश्रमिक दिने गरेको छ । क्यानले महिला राष्ट्रिय क्रिकेट टिमको ग्रेड सी मा रहेका खेलाडीहरुको मासिक पारिश्रमिक ५ हजार, बी र ए ग्रेडमा रहेका खेलाडीहरूको मासिक पारिश्रमिक ६ हजारले बढाएको छ । त्यसै गरी, सम्पूर्ण मैदान कर्मचारीहरूको मासिक पारिश्रमिक ३ हजारले, मैदान कार्यालय सहयोगीको मासिक पारिश्रमिक ५ हजारले वृद्धि गरेको छ । त्रिवि क्रिकेट मैदान पिच क्युरेटरको मासिक पारिश्रमिक ६ हजारले वृद्धि गरिएको छ ।

एमालेबाट जितेका गाउँपालिका अध्यक्षले कार्यालयमा ओलीको फोटो राखेर गरे पदभार ग्रहण

अछाम। स्थानीय तहको निर्वाचन सम्पन्न भएर देशका अधिकांश स्थानीय तहले जनप्रतिनिधि पाइसकेका छन् भने केही पालिकामा मत गणना जारी रहेकाले जनप्रतिनिधिको टुंगो लाग्ने क्रम जारी छ। निर्वाचित भएर शपथ खाइसकेका जनप्रतिनिहरू भटाभट निर्णय गर्न थालिसकेका छन्। यसैक्रममा अछामको तुर्माखाँद गाउँपालिकाका नवनिर्वाचित अध्यक्षले भने कार्यकक्षमा आफ्नो पार्टी अध्यक्षको फोटो टाँसेर पदभार ग्रण गरेका छन्। यस्तो गर्ने जनप्रतिनिधि हुन् नवनिर्वाचित पालिका अध्यक्ष डम्बर बहादुर विसी। उनी नेकपा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन्। सामान्यता कार्यालयहरूमा राष्ट्रपति र प्रधानमन्त्रिको फोटो झुण्ड्याउने प्रचलन रहेपनि उनले आफ्नो कार्यकक्षमा एमाले अध्यक्ष केपी शर्मा ओलीको तस्बिर झुण्ड्याएर जिम्मेवारी सम्हालेका छन्। विसीले गाउँपालिका कार्यालयमा आफ्ना पार्टी अध्यक्षको फोटो झुन्ड्याएपछि सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ। सरकारी सेवासुविधा खाने जनप्रतिनिधि भएर गाउँपालिका कार्यालयमा आफ्नो पार्टी अध्यक्षको फोटो टाँसेर पार्टी कार्यालय बनाउन खोजेको भन्दै धेरैले आलोचना गरिरहेका छन्।

रवीन्द्र मिश्रले दिए विवेकशील साझाको अध्यक्षबाट राजीनामा

काठमाडौं । रवीन्द्र मिश्रले विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएका छन् । स्थानीय तहको निर्वाचन २०७९ मा पार्टीले अपेक्षित परिणाम हासिल नगरेपछि मिश्रले राजीनामा दिएका हुन् । निर्वाचनमा प्राप्त परिणामको जिम्मेवारी लिँदै बुधबारबाटै लागू हुने गरी आफूले राजीनामा दिएको मिश्रले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । उनले भनेका छन्, “स्थानीय निर्वाचनमा २०७९ मा विवेकशील साझा पार्टीको आम रूपमा निराशाजनक परिणाम आएको सर्वविदित नै छ। गत ५ वर्ष तन, मन र धनले भ्याएसम्म पहिले संयोजक र पछि अध्यक्षका रूपमा निस्वार्थ र इमानदार प्रयास गर्दागर्दै पनि निर्वाचनमा जस्तो परिणाम आयो त्यसको सम्पूर्ण जिम्मेवारी लिँदै पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा आजकै मितिबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु। म पार्टीको साधारण सदस्य रहिरहने छु ।” विवेकशीलले काठमाडौं र भरतपुरसहित अधिकांश ठाउँमा उम्मेदवारी दिएको थियो । विवेकशीलका उम्मेदवारले अपेक्षित परिणाम भने ल्याउन सकेनन् । विवेकशील साझा पार्टीले यस पटक बाराको फेटा गाउँपालिकामा अध्यक्षसहित केही वडामा मात्र जित हात पारेको छ । फेटामा विवेकशीलका रुस्तम अन्सारी अध्यक्ष र नीलम साह उपाध्यक्षमा निर्वाचित भएका छन् । फेटामा जित हात पार्नुको पछाडि अन्सारीकै हात रहेको उल्लेख गर्दै उनले भनेका छन्, “हाम्रा उम्मेदवारहरू ुइमानदार र सक्षमु हुँदाहुँदै राम्रो नतिजा हासिल गर्न नसक्नुको जिम्मेवारी पार्टी नेताका रूपमा मैले लिनुपर्छ। बाराको फेटा गाउँपालिका र त्यहाँको दुई वटा वडामा हासिल भएको विजयको सम्पूर्ण श्रेय सो क्षेत्रका अत्यन्तै लोकप्रिय व्यक्तित्व र प्रतिष्ठित समाजसेवी तथा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष रुस्तम अन्सारीलाई जान्छ। मैले पार्टी अध्यक्षबाट राजीनामा दिए पनि नमुना गाउँपालिका निर्माण गर्न उहाँलाई पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्न चाहन्छु।”

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । साताको चौथो दिन बुधबार बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार २ सय रुपैयाँले बढेर ९८ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । तेजावी सुन प्रतितोलामा ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि बुधबार ५ रुपैयाँले बढेर १ हजार २ सय ७५ रुपैयाँमँ कारोबार भइरहेको महासंघले जनाएको छ ।

काठमाडौले रुचाएन काँग्रेस–एमाले, स्वतन्त्र उम्मेदवार बालेन्द्र साह विजयी

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह उर्फ बालेन शाह विजयी भएका छन् । मतगणना सकिनुअघि नै उनले गन्न बाँकी भन्दा बढी मतान्तर बनाएर उनी विजयी बनेका हुन् । अब काठमाडौं महानगरपालिकामा १९ हजार ३२३ मत गन्न बाँकी छ भने हालसम्म काठमाडौं महानगरपालिकामा १ लाख ७१ हजार ८०२ मत गनिएको छ ।   साहको एमालेबाट मेयर पदका उम्मेदवार केशव स्थापितसँग २१ हजार १२१ र सत्ता गठबन्धनको साझा उम्मेदवार नेपाली काँग्रेसकी सिर्जना श्रेष्ठसँग २० हजार ३७६ को मतान्तर छ । काठमाडौं महानगरपालिकामा काँग्रेस र एमालेको बलियो संगठनलाई तोड्दै साह विजयी भएका हुन् । यस्तै उप मेयरमा भने एमालेकी सुनिता डंगोल भारी मतान्तरका साथ विजयी भएकी छन् ।

आमाको हत्याको अथियोगमा छोरा पक्राउ

धरान। धरान उपमहानगरपालिकाको वडा नं १४ विजयपुरका २५ वर्षीय सौगात सुवेदीलाई आमाको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । झापा चन्द्रगढी घर भई हाल हात्तीसार कलेज धरानको क्वाटरमा बस्दै आएकी ४२ वर्षीया शान्त सुवेदीलाई छोरा सौगातले गत शनिबार धारिलो हतियार बाम्फोकले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए । पक्राउ परेका सौगात डिप्रेसनको बिरामी भएको र औषधि सेवन गरिरहेको बताइएको छ । आमालाई बाम्फोकले प्रहार गरेपछि सौगातले आफ्नै घाँटी रेटेर आत्महत्याको प्रयास गरेका थिए । गम्भीर घाइते आमा र छोरालाई बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानमा उपचारको लागि लगिएको थियो । सुवेदीलाई थप उपचारका लागि प्रतिष्ठानबाट विराटनगरको न्यूरो अस्पताल रिफर गरिएको थियो । न्यूरो अस्पतालमा उपचार हुन नसक्ने भएपछि चिकित्सकको सल्लाहअनुसार घर लैजाने क्रममा बुधबार बिहान बाटोमै सुवेदीको मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । घटनामा संलग्न रहेका सौगातलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।

विद्यार्थीमाथि दुर्व्यवहार हुन नदिने प्रतिबद्धता गर्छौ : सेन्ट लरेन्स कलेज

काठमाडौं । सेन्ट लरेन्स कलेजले आगामी दिनमा विद्यार्थी उपर कुनै पनि प्रकारका दुर्व्यवहार हुन नदिने तर्फ थप सचेत रही नियमित निगरानी गर्न प्रतिबद्धता जनाएको छ । कलेजका शिक्षकमाथि विद्यार्थीलाई यौन दुर्व्यवहारको आरोप लागेपछि कलेजले विज्ञप्ति जारी गर्दै घटनाको सम्बन्धमा प्रहरी तथा सम्बन्धित निकायहरूले गर्ने अनुसन्धानमा आवश्यक सहयोग गर्न कलेज व्यवस्थापन तथा प्रशासन सदैव तत्पर रहेको बताएको हो ।   विज्ञप्तिमा भनिएको छ, ‘कक्षा ११ मा अध्ययनरत छात्राहरू उपर दुर्व्यवहार भएको भन्ने सम्बन्धमा २०७९।०२।०६ गते शुक्रवारका दिन कलेज प्रशासनमा अनौपचारिक जानकारी प्राप्त भएको थियो । कलेज प्रशासनको तर्फबाट सो घटनाको सम्बन्धमा खोजी गरी सम्बन्धित पीडित छात्राहरूसँग घटनाको बारे जानकारी लिएका थियौँ । तत्पश्चात् पीडित छात्राहरू र अभिभावक समेतसँग मिति २०७९।०२।०९ गते सोमबारको दिन घटनाको सम्बन्धमा छलफल गरेका थियौँ । सो छलफल लगत्तै सोही दिन कलेज व्यवस्थापनले आरोपित शिक्षकलाई बर्खास्त गर्ने निर्णय गरिसकेको छ ।’ कलेजमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएका दुई शिक्षकलाई अदालतले ५ दिन हिरासतमा राख्न अनुमति दिइसकेको छ । विद्यार्थीले आन्दोलन चर्काएपछि मंगलबार प्रहरी वृत्त गौशालाले क्याम्पसका कोअर्डिनेटर काभ्रे घर भएका एमाले नेता जनार्दन अधिकारी र राजनकुमार पौडेललाई पक्राउ गरेको छ।

पोखरा महानगर प्रमुखमा एकीकृत समाजवादीका आचार्य, उपप्रमुखमा एमालेका गुरुङ(मेयर आचार्यको जीवनी सहित)

गण्डकी । कास्कीको पोखरा महानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य र उपप्रमुखमा नेकपा (एमाले) की मञ्जुदेवी गुरुङ विजयी भएका छन् । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत गत वैशाख ३१ गतेदेखि सुरु भएको मतगणनाको आज बिहान सार्वजनिक गरिएको अन्तिम मतपरिणामअनुसार प्रमुखमा आचार्यले एमालेका कृष्णबहादुर थापालाई ६ हजार ४५ मतले पराजित गरे। आचार्यले ५८ हजार ८९३ मत प्राप्त गर्दा उनका निकटतम् प्रत्यासी थापाले ५२ हजार ८४८ मत ल्याए । यसैगरी प्रमुखमा राप्रपाका शङ्कर खरालले पाँच हजार ६७४, स्वतन्त्रका खडकराज पौडेलले तीन हजार ३०, मङ्गोल नेशनल अर्गनाइजेशनका प्रेमप्रसाद गुरुङले ५४६ र विवेकशील साझाका सुशीला केसीले ३३८ मत प्राप्त गरे । पोखराको प्रमुखमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी २० उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए । यसैगरी उपप्रमुखमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी कोपिला रानाभाटलाई पराजित गर्दै एमालेकी गुरुङ दोस्रो कार्यकालका लागि विजयी भएकी छन्। गुरुङले ६० हजार ५४६ मत प्राप्त गर्दा उनका निकटतम् प्रत्यासी रानाभाटले ५६ हजार ६६३ मत ल्याएकी हुन् । उपप्रमुखमा राप्रपाका रञ्जनाकुमारी सेन पौडेलले पाँच हजार ६९९, विवेकशील साझाका माधव भण्डारीले २६४ र आमुल परिवर्तन मसिया पार्टीका पदमबहादुर गुरुङले १३४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उपप्रमुखमा राजनीतिक दल तथा स्वतन्त्र गरी आठ उम्मेदवार चुनावी मैदानमा थिए । पोखरा महानगरका ३३ वडामध्ये कांग्रेसले २३, एमालेले नौ र वडा नं २२ मा स्वतन्त्र उम्मेदवार हिमलाल बराल विजयी भएका छन् विसं २०७४ को पहिलो स्थानीय तह निर्वाचनमा प्रमुख, उपप्रमुखसहित २२ वडामा एमाले विजयी बनेको थियो । विद्यार्थी राजनीति हुँदै महानगरको प्रमुखसम्म धनराज पोखरा महानगरपालिका–३३ भरतपोखरीको गैरागाउँमा बुवा ऋतुनाथ आचार्य र आमा जमुनादेवी आचार्यको कोखबाट २०२६ चैत १७ गते जन्मिएका धनराज आचार्य नेकपा (एकीकृत समाजवादी)को कास्की अध्यक्षका साथै केन्द्रीय सदस्यको जिम्मेवारीमा छन् । विसं २०३९ मा १३ वर्षको उमेरमा भरतपोखरीमा अनेरास्ववियुको प्रारम्भिक कमिटीको सदस्यतासँगै उनले विद्यार्थी राजनीति सुरु गरेका थिए । विद्यालयबाट आरम्भ भएको उनको विद्यार्थी राजनीतिले क्याम्पस तहमा पुगेपछि थप गति लियो । देशकै ठूलो र प्रतिष्ठित मानिने पोखराको पृथ्वीनारायण क्याम्पसमा उनी अनेरास्ववियुको प्रारम्भिक कमिटीमार्फत सक्रिय बने । एमालेसम्वद्ध विद्यार्थी सङ्गठनमा २०४४ सालमा आवद्ध भएपश्चात उनले अनेरास्ववियुको विभिन्न जिम्मेवारी संहालेका थिए। विसं २०४५ मा अनेरास्ववियुको कास्की जिल्ला सदस्य रहेका आचार्य त्यसपछि सङ्गठनको सचिव र अध्यक्षका रूपमा सक्रिय बने । विसं २०४८ मा अनेरास्ववियुको गण्डकी अध्यक्ष बनेका उनी २०४९ मा सो सङ्गठनको केन्द्रीय सदस्य बने । पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निवार्चनमा विभिन्न पदमा निर्वाचित भई जिम्मेवारी सम्हालेका उनी २०४९ सालमा पृथ्वीनारायण क्याम्पस स्ववियुको कोषाध्यक्ष बने भने २०५१ मा स्ववियुको सभापति निर्वाचित भए । विसं २०५१ देखि २०५३ सम्म स्ववियु काउन्सिलको महासचिव बनेका आचार्यले अनेरास्ववियुमा २०५० देखि २०५४ सम्म पश्चिमाञ्चल प्रमुख र २०५४ देखि २०५८ सम्म केन्द्रीय सचिवालय सदस्य बनेर विभागीय प्रमुखको जिम्मेवारी निर्वाह गरेका थिए । विद्यार्थी राजनीतिमा जस्तै पार्टी जीवनमा पनि उनी कलिलै उमेरमा लागेका हुन । चौध वर्षको उमेरमा नै तत्कालीन नेकपा (माले) को युवा लिगमा आवद्ध थिए। विसं २०४५ मा राष्ट्रिय पञ्चायतका सदस्य प्रत्याह्वानविरुद्धको आन्दोलनमा घाइते र गिरफ्तार आचार्य दुई वर्ष निरन्तर जेलका राजबन्दी र पार्टीबीचको सम्पर्क सूत्रको जिम्मेवारीमा रहे । उनले विसं २०४७ मा मालेको सङ्गठित सदस्यता प्राप्त गरेका थिए । तत्पश्चात उनले २०४६ सालदेखि पाँच वर्षसम्म पार्टी विद्यार्थी इलाका कमिटीमा सदस्य र सचिवको जिम्मेवारी निर्वाह गरे । नेकपा (एमाले) कास्की जिल्ला कमिटी सदस्यका रूपमा २०५२ सालमा जिम्मेवारीमा रहेका नेता आचार्य २०५४ मा पार्टी विभाजनका बेला नेकपा (माले)मा आवद्ध भए । विसं २०५४ मा मालेको कास्की जिल्ला कमिटीको सचिवालय सदस्य बने। पार्टीको विद्यार्थी सङ्गठनबाट राजनीतिक यात्रा सुरु गरेका आचार्यले व्यावसायिक सङ्गठनहरूको नेतृत्वमा रहेर पनि काम गरेका छन् । विसं २०६० मा एमाले कास्कीको उद्योग व्यवसाय विभाग प्रमुख रहेका उनी २०६४ देखि पाँच वर्षसम्म फ्रयाक्सन सचिवका रूपमा जिम्मेवारीमा रहे । त्यसैगरी विसं २०६९ देखि २०७६ सम्म नेपाल उद्योग व्यवसायी महासङ्घको स्थायी कमिटी सदस्य र २०७१ देखि चार वर्षसम्म एमाले केन्द्रीय उद्योग तथा श्रम व्यवसाय विभाग सदस्य बने । विसं २०७५ देखि २०७८ सम्म नेकपाको उद्योग तथा व्यवसाय विभाग सदस्य रहेका आचार्य पार्टीमा आन्तरिक विवादसँगै अगाडि बढेका समानान्तर गतिविधिमा सामेल बने । एमालेभित्र कास्कीमा समानान्तर गतिविधि अगाडि बढाउन नेतृत्व लिए । विसं २०७८ मा एमाले जिल्ला कमिटी कास्कीको सामानान्तर अध्यक्ष बने । एमालेभित्र नेता माधवकुमार नेपालले थालेको समानान्तर गतिविधिमा सामेल उनी पार्टी विभाजनसँगै स्थापना भएको नेकपा (एकीकृत समाजवादी)को जिल्ला नेतृत्वमा रहेका छन् । राजनीतिबाहेक उनी विभिन्न व्यावसायिक र सामाजिक संस्थामा पनि अध्यक्ष, सञ्चालक र प्रमोटरका रूपमा आवद्ध रहँदै आएका छन् । उनको पाठ्यपुस्तक प्रकाशन गृह, शैक्षिक सामग्री उद्योग, स्कुल–कलेज सञ्चालन, रासायनिक मल उद्योग र हाइड्रोपावरजस्ता व्यावसायिक क्षेत्रमा संलग्नता छ । त्यसैगरी कृषि, पर्यटन, बैंकिङ र हस्पिटालिटीलगायत दुई दर्जन व्यासायिक प्रतिष्ठानमा आचार्य संग्लन छन्। नेपाल पुस्तक तथा व्यवसायी महासङ्घको महासचिव र राष्ट्रिय अध्यक्ष, पोखरा उद्योग वाणिज्य सङ्घको कार्यकारी सदस्य, उच्चस्तरीय पुस्तक नीति मस्यौदा समितिको विज्ञ सदस्य र पाठ्यपुस्तक मूल्य निर्धारण समितिमा विज्ञ सदस्यका रूपमा उनी सक्रिय छन्। पोखरा महानगरको शिक्षा विज्ञ, लायन्स क्लब्स अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ बी–१ को क्याबिनेट सेक्रेटरी र गभर्नर रहेका उनी स्व रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान पोखराको महासचिव पनि हुन् । पढाऔं अभियान नेपालका सूत्रधार उनले अर्थतन्त्र, शिक्षा प्रणाली तथा नीतिका सन्दर्भमा दर्जनौँ कार्यपत्र प्रस्तुत गरेका छन् । विभिन्न तालिम र अध्ययनका सिलसिलामा आचार्यले विश्वका ४५ देशको भ्रमण गरिसकेका छन् । भरतपोखरीको शान्ति उदय मावि हुँदै शैक्षिक यात्रा सुरु गरेका आचार्यले एमबीए र एमएडसम्मको अध्ययन गरेका छन्।

सुकुम्बासी समस्या समाधान गर्ने बुटवलका मेयरको पहिलो निर्णय

काठमाडौं । बुटवल उपमहानगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण गरेका छन् । सोमबार पदभार ग्रहण गर्दै जनप्रतिनिधिले बुटवलको भूमिहीन सुकुम्बासी समस्यालाई समाधान गर्ने निर्णय गरेका हुन् ।   बुटवलका मेयर खेलराज पाण्डेयले बुटवलमा लामो समयदेखि समस्याको रुपमा रहेको सुकुम्बासी समस्यालाई समाधान गर्नको लागि लगत संकलन, प्रमाणित निस्सा उपलब्ध गराउने तथा नापजाँच प्रकृया बाँकी रहेकाहरुको लागि काम अगाडि बढाउन राष्ट्रिय भूमि आयोगमा अनुरोध गर्ने निर्णय भएको बताए । यस्तै उपभोक्ता हितको लागि बजार अनुगमनलाई प्राथमिकता दिने निर्णय गरिएको छ । सेवा प्रदायक तथा विक्रेताको नियमित अनुगमन गरी आम उपभोक्ताको हित प्रवद्धन गर्ने कार्यलाई प्राथमिकता दिई बजार अनुगमन तथा नियमन कार्यलाई प्राथमिकता दिने निर्णय गरिएको हो ।