केन्यामा भएको सरकार विरोधी प्रदर्शनमा ३० जनाको मृत्यु

काठमाडौं । केन्यामा पूर्वी अफ्रिकी देशमा कर पर्याप्त मात्रामा बढाउने सरकारी अभियानको विरोधमा यस हप्ता भएको विरोध प्रदर्शनमा कम्तिमा ३० जनाको मृत्यु भएको ह्युमन राइट्स वाचले बताएको छ।

केन्याली सुरक्षा बलले सन् २०२४ जुन २५ मा प्रदर्शनकारीहरूको भीडमा सिधै गोली हानेका र यसमा भागिरहेका प्रदर्शनकारीको पनि मृत्यु भएको अधिकारवादी समूहद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

ह्युमन राइट्स वाचका सहयोगी अफ्रिका निर्देशक ओत्सिनो नाम्वायाले प्रदर्शनकारी भाग्न खोज्दा औचित्य बिना भीडमा सिधै गोली चलाउनु केन्या र अन्तर्राष्ट्रिय कानूनअन्तर्गत पूर्ण रूपमा अस्वीकार्य भएको जनाएका छन्।

यो वर्ष मलको अभाव हुँदैन : प्रधानमन्त्री प्रचण्ड

भरतपुर। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो वर्ष मलको अभाव हुन नदिने बताएका छन्। भरतपुर विमानस्थलमा शुक्रबार पत्रकारसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्। अघिल्लो वर्ष पनि मलको अभाव नभएको उनले प्रष्ट पारे। “अहिले हामी मलको राम्रो तयारीमा छौँ। अभाव हुन दिन्नौँ”, प्रधानमन्त्री प्रचण्डले भने, “गत वर्ष मलको अभाव थिएन। यो वर्ष पनि मलको अभाव हुँदैन।”  उनले दूध किसानको भुक्तानी दिने प्रकृया अगाडि बढाइसकेको जानकारी दिँदै यसमा गम्भीर रहेको उल्लेख गरे। ‘‘दूध किसानले बाँकी भुक्तानी चाँडै हुन्छ। यो विषयमा सरकार गम्भीर छ’, उनले भने केरा किसानको विषयमासमेत मन्त्रालयमा छलफल भइरहेको प्रधानमन्त्री प्रचण्डले प्रष्ट पारेका छन्। “किसानको केरा खेतीमा भएको क्षतिका बारेमा पनि मन्त्रालयमा छलफल भइरहेको छ। समस्या समाधानका लागि सरकारले गम्भीर पहल गरिरहेकै छ”, उनले भने। उनले किसानको समस्या समाधानमा छिटो भन्दा छिटो हुने प्रष्ट पारे। प्रधानमन्त्री प्रचण्डले एक अर्को प्रसंगमा अहिले वाम एकता वा पार्टी एकीकरण नहुने पनि स्पष्ट पारे।  

बुढीगण्डकीको काम अघि बढाउन बाबुरामको माग

काठमाडौं। पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा.बाबुराम भट्टराईले बुढीगण्डकी जलविद्युत आयोजनाको काम अघि बढाउन माग गर्दै सरकारलाई मागपत्र बुझाएका छन् । डा.भट्टराईले आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पुगी प्रधानमनत्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरी सरकारले जलासययुक्त आयोजनाको रुपमा निर्माण गर्न खोजेको बहुउद्देश्यीय आयोजनाको रुपमा सन्चालन गर्नुपर्ने माग राखेका हुन् । मागपत्र बुझ्दै प्रधानमन्त्रीले बुढीगण्डकीको काम अघि बढाउन आफु सकारात्मक रहेको बताएका थिए ।

तीन करोड भन्दा कमका योजनाहरुमा थप बजेट विनियोजन गर्न माग

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले ३ करोड रुपैयाँभन्दा कम विनियोजन भएका योजनाहरुमा थप रकम विनियोजन गर्न माग गरेका छन् ।  शुक्रवार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद दाहालले तीन करोड मुनिका योजनाहरु प्रदेश सरकार र स्थानीय सरकारलाई कार्यान्वयन गर्न दिँदा संघ सरकारसँग योजना नै नरहने बताए। उनले मन्त्रालयगत बजेट हेर्दा ९० प्रतिशतभन्दा बढी योजनाहरु ३ करोड रुपैयाँभन्दा मुनिका रहेका बताए। उनले १६५ वटै निर्वाचन क्षेत्रमा बहुवर्षिय ठेक्का स्वीकृत हुनेगरी बजेट थप गर्नुपर्ने बताए।  ‘मेरो आग्रह के छ भने ३ करोडभन्दा मुनिका आयोजनाहरु तल पठाउने होइन । ३ करोडभन्दा मुनिका आयोजनामा जो बजेट विनियोजन गरिएको छ, १ अर्ब बजेट लाग्ने ठाउँमा १ करोड विनियोजन गरिएको छ। नेपाल सरकारको तर्फबाट अर्थ विविध अन्तर्गत रहेको शीर्षकबाट १६५ वटै निर्वाचन क्षेत्रमा ३ करोडभन्दा बढी विनियोजन गरिदिनुप¥यो। थपिदिनु प¥यो। मन्त्रीपरिषद्ले निर्णय गरेर हुन्छ अथवा के गरेर हुन्छ। बहुवर्षिय ठेक्का स्वीकृत हुनेगरी १६५ क्षेत्रमै संघीय सरकारमार्फत बजेट विनियोजन हुने र कार्यान्वयन हुने सुनिश्चितताका लागि सभामुखको निर्देशनको अपेक्षा गर्दछु,’ उनले भने । साथै, सांसद दाहालले एसईई परिक्षामा ५२ प्रतिशत भन्दा बढी विद्यार्थीहरु अनुत्तिर्ण भएका भन्दै यसको सम्बन्धमा गम्भीर अध्ययन आवश्यक रहेको समेत बताए ।

सामाजिक सुरक्षा कोषको केन्द्रीय कार्यालय सर्‍यो

काठमाडौं । सामाजिक सुरक्षा कोषको केन्द्रीय कार्यालय सरेको छ । यसअघि बबरमहलबाट सेवा दिँदै आएकोमा कोषले अब थापाथलीस्थित राष्ट्रिय वाणिज्य बैंक भएको भवनबाट दिनेछ । कोषका प्रवक्ता विवेक पन्थीका अनुसार असार ९ गतेदेखि केन्द्रीय कार्यालयका सबै काम थापाथलीमा रहेको वाणिज्य बैंकको शाखा भएको भवनबाट दिइरहेको छ । यस भवनको दोस्रो, तेस्रो र चौथौ तलाबाट सेवा दिइने पनि उनले जानकारी दिएका छन् ।

सुनको मूल्य एकैदिन एक हजारले बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकैदिन एक हजारले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।तेजाबी सुन आज प्रतितोला एक लाख ४१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको मूल्य १० रुपैयाँ बढेर एक हजार ७९० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला एक हजार ७८० रुपैयाँमा कारोबार भएको थियो।

समाजवादको आधार तयार पार्न सरकार लागिपरेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्ति र परिवर्तनका उपलब्धीहरू संस्थागत गर्दै समाजवादको आधार तयार पार्न सरकार लागिपरेको बताएका छन् ।‘साहसिक योद्धा जगतबहादुर बोहराको जीवनी तथा संस्मरणहरू’ पुस्तक आज यहाँ लोकार्पण गर्दै प्रधानमन्त्री प्रचण्डले सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित सरकार अघि बढिरहेको बताए। “हजारौँ महान् शहिदहरू, हजारौँ बेपत्ता योद्धाहरू र लाखौँ क्रान्तिकारी योद्धाहरूले त्याग, तपस्या र बलिदानको जगमा आज हामी समाजवादउन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेका छौँ,” प्रधानमन्त्री प्रचण्डले भने, “यी उपलब्धीहरूलाई संस्थागत गर्दै समाजवादको यात्रा तय गर्नुपर्छ ।” जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि क।बोहराले देश र जनताको मुक्ति र परिवर्तनलाई नै केन्द्रमा राखेर काम गरेकाे स्मरण गर्दै प्रधानमन्त्रीले नेपाली समाजको क्रान्तिकारी रूपान्तरणका पक्षमा भएको महान् जनयुद्धको दौरानमा समेत उहाँको महत्त्वपूर्ण योगदान गर्नुभएको उल्लेख गरे।   एकदलीय निरङ्कुश पञ्चायती व्यवस्थाका विरूद्ध जनताले गरिरहेको वीरतापूर्ण प्रतिशोधमाथि दमनस्वरूप २०४० सालको माघे सङ्क्रान्तिका दिन सिन्धुपाल्चोक जिल्लाको पिस्करमा सर्वसाधारण जनतामाथि निर्मम दमन र हत्या भएको थियो। स्थानीय समुदायले माघीको अवसरमा शान्तिपूर्ण सांस्कृतिक कार्यक्रम भइरहँदा पञ्चायती शासकहरूले गरेको आक्रमणमा परी पिस्करमा इले थामी र वीरबहादुर थामी लगायतका योद्धाहरूले उच्च बलिदान गरेका थिए।  उक्त घटनामा छत्रबहादुर बोहरा, मानबहादुर थामी, मेघनाथ पौडेल, अरूण नेपाल, सरेश नेपाल, गोपाल थपलिया लगायतका दर्जनौँ योद्धाले जेलनेल र यातनाको सामना गरे। जगतबहादुर बोहरा उक्त घटनामा सख्त घाइते भएका थिए। 

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन छानियो हिमालयन कालिञ्चोक बीबीआर जेभी

काठमाडौं । चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि हिमालयन कालिञ्चोक बीबीआर जेभी छनोट भएको छ। भरतपुर महानगरपालिकाले आज सो कम्पनीको नाममा सात दिने आसयपत्र जारी गरेको हो। सो समय अवधि भित्र कुनै उजुरबाजुर नभए आठौं दिनमा निर्माण सम्झौता हुने छ।सम्झौता भएको दिनदेखि २६ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ। निर्माण लागत भ्याट र पीएस बाहेक ६८ करोड २ लाख ६४ हजार २ सय ७ रुपैयाँ ८४ पैसा छ। चितवनको भरतपुरमा बजेट अभावले निर्माण अलपत्र बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप पूर्वाधार निर्माणका लागि दोस्रोपटक आह्वान गरिएको टेण्डरमा १२ कम्पनीहरूले टेण्डर हालेका थिए ।तीमध्येबाट टेण्डर हालेको हिमालयन कालिन्चोक बीबीआर जेभीको नाममा आसयपत्र जारी गरिएको हो। सुरुमा रंगशाला निर्माण थालेको धुर्मस सुन्तली फाण्डेशनले ५ हजार बस्ने प्याराफिट तयार गरिसकेको छ।रंगशालामा मैदानसहित ५ वटा पिच, मैदानमा ड्रेनऐजसहित पछिल्लो प्रविधि अपनाएर मैदान निर्माण, २ वटा ३/३ तलाको टावर बनाइने छ। एउटामा भीआइपी र खेलाडी रहनेछन् भने अर्कोमा मिडिया, अम्पायर र कर्पोरेट बक्सहरू निर्माण गरिने छ। गत चैत २० गते बसेको मन्त्रिपरिषद् बैठकबाट सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व लिएर काम अगाडि बढाउने निर्णय गरेको थियो।

काठमाडौंको रामकोटमा कलभर्टमा कार खस्यो, एकजनाको मृत्यु

काठमाडौं । काठमाडौंको रामकोटमा कलभर्टमा एउटा कार खसेको छ । कलभर्टमा कार खस्दा एकजनाको मृत्यु भएको काठमाडौं प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार बिहान करिब २ बजेतिर कार कलभर्टमा खसेको थियो । बा.प ०२७ च ०४९१ नम्बरको कार कलभर्टमा खस्दा त्यसका चालक अन्दाजी ५० वर्षका पूर्ण दर्नालको मृत्यु भएको प्रहरीले जनाएको छ । बिहानीपखमात्रै कारलाई कलभर्टबाट बाहिर निकालिएको थियो ।

कायरोमा नेपालसम्बन्धी तस्बिर प्रदर्शनी

काठमाडौं । कायरोस्थित नेपाली राजदूतावासको समन्वयमा सोही दूतावासमा इजिप्टका कलाकारद्वारा नेपाली मुहार चित्रण शीर्षकमा कला तथा तस्बिर प्रदर्शनी आयोजना भएको छ। नेपाल–इजिप्ट द्विपक्षीय सांस्कृतिक आदानप्रदान प्रवर्द्धन कार्यक्रमअन्तर्गत तार, काठ र ढुंगाबाट सिर्जना गर्ने इजिप्टका कलाकार गलाल गोमाको प्रमुख आतिथ्यमा भएको प्रदर्शनीमा फोटो पत्रकार तथा वृत्तचित्र निर्माता अशरफ तलात र फोटोग्राफर यासेर अला मुबारकले नेपालमा खिचेका तस्बिर र मुहार चित्र एवं फौजी मोर्सीलगायत १८ जना कलाकारका मुहारचित्र राखिएको उक्त दूतावासका तृतीय सचिव माधवराज काफ्ले जानकारी दिए। प्रदर्शनीमा अशरफ तलातले गत मार्च र मेमा मुस्ताङ र लुम्बिनीमा खिचेका तथा यासेर आलाले गत शिवरात्रिमा पशुपतिनाथ मन्दिरको वरिपरि खिचेका तस्बिर समावेश गरिएका थिए। इजिप्टका सांसद डा.माई अल–बत्रानले नवीन अवधारणाको प्रयोगसहितको कला प्रदर्शनीले दुई मुलुकबीचको जनस्तरको सम्बन्धलाई सुदृढ गर्न टेवा पुग्ने धारणा व्यक्त गरे।  इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्सालले नेपालको विविधतापूर्ण परिदृश्य र सांस्कृतिक सम्पदा तथा नेपाली मुहारलाई जीवन्त रूपमा चित्रण गरिएको बताए ।  कलाकारका सृजनाले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई प्रवर्द्धनमा योगदान पुग्ने बताए। 

महामन्त्रीको प्रतिवेदनमाथि छलफल गर्न रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री डा.मुकुल ढकालले तयार गरेको पार्टीको वर्तमान अवस्था बारेको प्रतिवेदनबारे छलफल गर्न असर १९ गते बुधबार केन्द्रीय समितिको बैठक बोलाएको बोलाएको छ। इलाममा सम्पन्न उपनिर्वाचनमा पार्टीको नराम्रो हारसँगै रास्वपाले देश भरका नेता तथा कार्यकर्ताको धारणा बुझेर प्रतिवेदन बनाउन महामन्त्री ढकाललाई कार्यादेश दिए अनुसार प्रतिवेदन बनाएर सभापति रवि लामिछानेलाई बुझाइसकेका छन्। बैठक असार १९ गते बिहान ८ बजेदेखि बस्ने महामन्त्री ढकालले जानकारी दिएका छन्।महामन्त्री ढकालले तयार गरेको प्रतिवेदनमा रास्वपाको जनमत कमजोर बनेको र अहिलेको जस्तै गरि अगाडि बढिरहेमा रास्वपा विवेकशील साझा पार्टीको बाटोमा जाने निष्कर्ष निकालेका छन्। उनले प्रतिवेदनमा पार्टी माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको साथमा सत्ताका लागि सम्झौता गर्नुभन्दा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग सहकार्य गर्नु हितकर हुने समेत सुझाव दिएका छन्।  महामन्त्री ढकालले आम कार्यकर्ताबाट व्यक्त भएका भावनालाई प्रतिवेदनमा समेटेको र यसलाई कार्यान्वयन गर्न आफूले नेतृत्वलाई आग्रह गर्ने बताएका छन्।  आफूले जन्माएको पार्टी भएका कारण आफूले प्रतिवेदनमा यथार्थ उल्लेख गरेको बताउँदै उनले यसका लागि आफ्नो महामन्त्री पद समेत जान सक्ने उल्लेख गरेका छन् ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । देशका केही स्थानमा भारी वर्षा भइरहेको छ । काठमाडौंलगायत केही स्थानमा गएरातिदेखि नै वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव  रहेको छ।कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारण देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको छ ।  कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र  कर्णाली प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।साथै मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षा पनि भइरहेको छ। दिउँसोː देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम  प्रदेशका केही स्थानहरूमा र  बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।  रातीː देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ ।  बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू साथै बाँकी प्रदेशका  केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका  थोरै स्थानहरुमा भारी वर्षाको साथै कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको  पनि सम्भावना रहेको छ | 

राजनीति नसुधारी अन्य क्षेत्र सुधार्न असम्भव : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीति भन्नासाथ नाक खुम्चाउने स्थिति सिर्जना भएको बताएकी छन् । बिहीबार काठमाडौंमा नेपाल साहित्यिक पत्रकार संघको १८औँ स्थापना दिवस तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले राजनीति देशको मूल नीति भए पनि आज आएर भ्रष्टीकरणका कारण नाक खुम्चाउने स्थिति भएको बताइन् । उनले राजनीति देशको माउ नीति भएको राजनीति नसुधारिकन अन्य क्षेत्र सुधार गर्छु भनेर सम्भव नरहेको बताइन् । उनले राजनीतिलाई सुधार गर्न सबैले सोच विचार गर्न आवश्यक रहेको बताइन् । मन्त्री शर्माले साहित्यिक क्षेत्रबाट पनि राजनीतिक सुधारका लागि आवश्यक काम हुुनपर्नेमा जोड दिइन् । उनले अहिले समाज भ्रष्टीकरणमा गइरहेको बताए । उनले सकारात्मक तरिकाले समाज अघि बढाउने जिम्मेवारीलाई पूरा गर्नु सबै नागरिकको दायित्व भएको बताइन् ।  मन्त्री शर्माले भनिन्, “आज आएर राजनीतिभन्दा किन सबैले नाक खुम्च्याउने विषय बन्दैछ । आखिर राजनीति त देशको मूल नीति हो । यो माउ नीति हो । यो मुल नीति, माउ नीति नसच्चिएसम्म यो नसुध्रिकन अरु तमाम क्षेत्र सुधार्छु भनेर सम्भव छैन । त्यसकारण यसलाई कसरी सुधार गर्ने, कसरी अघि बढाउने भन्ने विषयमा हामी सबैले घोत्लिएर सोच्नुपर्ने हो कि । हिजो जसरी समाज परिवर्तनमा तपाईंहरुले हामीलाई हात समाएर डो¥याउनुभयो । त्यसैगरी आज पनि आवश्यकता छ । अहिले समाज जुन ढंगले स्खलित भएको छ, जसरी भ्रष्टीकरणमा जान खोज्दै छ । सकारात्मक तरिकाले समाज अघि बढाउने जिम्मेवारी हाम्रो हो । साहित्य क्षेत्रमा लाग्नुभएका व्यक्तिहरुले प्ररित गर्नुपर्ने हुन्छ ।’  

प्रमुख तीन दलका नेताहरू छलफलमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवलगायत शिर्ष नेताहरुको वालुवाटारमा छलफल भैरहेको छ ।  शान्ति प्रक्रियाको पूर्णता र सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकका विषयमा केन्द्रित रहेर प्रमुख तीन दलका नेताहरूको बिहीबार छलफल भएको हो।  'शान्ति प्रक्रियाको पूर्णता र सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकका विषयमा केन्द्रित रहेर प्रमुख तीन दलका नेताहरूको छलफल प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।' प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

भरतपुर महानगरपालिकाको १५औँ नगरसभा सम्पन्न

भरतपुर। नीति तथा कार्यक्रम र बजेट पास गर्दै भरतपुर महानगरपालिकाको १५ औँ नगर सभा सम्पन्न भएको छ । असार १० गतेदेखि वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल सभाहलमा सुरु भएको नगर सभा बुधबार नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पास भएपछि सकिएको हो।महानगरपालिकाले आर्थिक वर्ष  २०८१/०८२ का लागि अनुमानित आय व्ययसहितको ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार रूपैयाँको बजेट पास गरेको छ। १५ औँ नगर सभाले भरतपुर महानगरपालिका न्यायिक समितिको प्रतिवेदन, लेखा समितिको प्रतिवेदन र संगठन तथा व्यवस्थापन सर्वेक्षण, राजस्व र व्ययको अनुमान (बजेट) आर्थिक विधेयक २०८१ र विनियोजन विधेयक २०८१ पारित गरेको छ। नगर सभा समापन कार्यक्रममा महानगर प्रमुख रेनु दाहालले सबै नगरबासीको एकताले समृद्ध नगर निर्माण गर्न सहयोग पुग्ने बताए। भरतपुरको विकासको लागि सबैले आ–आफ्नो ठाउँबाट सकारात्मक र रचानात्मक प्रतिस्पर्धा हुन आवश्यक रहेको उनको भनाई थियो। नीति तथा कार्यक्रमलाई पूर्ण रुपमा कार्यन्वन हुनेमा विश्वस्त रहेको प्रमुख दाहालले बताए। महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले आन्तरिक आयआर्जनसँगै अन्तर सरकारी वित्तीय हस्तान्तरण,केन्द्र तथा प्रदेश सरकारको राजस्व बाँडफाँड तथा विविध कोष तथा आयबाट स्रोत व्यवस्थापन गर्ने गरी महानगरको आर्थिक वर्षको बजेट बिनियोजन गरेका थिए। प्रस्तुत बजेटमा अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट रु २ अर्ब ४ करोड ६३ लाख ३१ हजार, संघ राजस्व बाँडफाँडबाट रु ३२ करोड ४७ लाख तथा बागमती प्रदेश सरकारको राजस्व बाँडफाँडबाट रु २५ करोड ७५ लाख ६७ हजार गरी जम्मा रु ५८ करोड २२ लाख ६७  हजार, जनसहभागिता श्रमदानबाट रु ५० करोड, बैंक मौज्दात रु १ अर्ब ६० करोड,  सडक बोर्ड नेपालबाट रु ३ करोड रहने प्रक्षेपण गरिएको छ। बजेट प्रस्तुत गर्दै अधिकारीले सामाजिक सुरक्षालगायत अन्तरसरकारी अख्तियारी शीर्षकमा अनुमानित रु १ अर्ब ३० करोड रहने प्रक्षेपण गरिएको बताउनुभयो । चालु आर्थिक वर्षमा निर्माण सम्पन्न हुन नसकेका तथा भुक्तानी बाँकीमा रहेका र क्रमागत एवं बहुवर्षीय ठेक्का भएका योजनाहरु समयमै सम्पन्न गर्नको लागि रु १ अर्ब ६० करोड बजेट विनियोजन गरिएको छ। सभामा १५ जना सदस्यहरुले महानगरपालिकाको विकास निर्माण जनताको माग र चाहनाका साथै कार्य सम्पादनमा भए गरेका समस्याका बारेमा आआफ्नो धारणा राख्नुका साथै प्रस्तावित नीति, कार्यक्रम र विधेयकमाथि आफ्नो सुझाव राखेका थिए। यसै बीच नगर सभाको अवसरमा आर्थिक वर्ष ०८०/०८१ का असल करदातालाई पुरस्कृत तथा सम्मान गरिएको छ। मनोरन्जन करतर्फ  चितवन सिने प्यालेक्स, शिक्षातर्फ  ओमशान्ति एकेडेमी, घरबहाल करतर्फ  भाटभटेनी सुपरमार्केट, व्यवसायकरतर्फ न्यू चितवन ड्राइभिङ सेन्टर, वित्तीय संस्था एभरेष्ट बैंक, निर्माण व्यवसायीतर्फ रोयल चितवन बिल्डर्स प्रालि र सफल कृषकतर्फ बहानी सामुहिक कृषि फर्मलाई सम्मान गरिएको हो। यस्तै महानगरमा उत्कृष्ट कार्य सम्पादन गर्ने २३ जना कर्मचारीलाई पुरस्कृत तथा सम्मान गरिएको थियो भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा पदक हासिल गर्ने  १५ खेलाडीलाई पुरस्कारसहित सम्मान गरिएको थियो।

प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)

काठमाडौँ। सङ्घीय संसद्अन्तर्गतको  प्रतिनिधि सभा बैठक सुरु भएको छ। बिहीबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा सदस्यको नाम मनोनयन गर्ने कार्यसूची रहेको छ। त्यस्तै,  सभामुख घिमिरेले संयुक्त समितिअन्तर्गतको संसदीय सुनवाइ समितिमा सदस्यहरूको नाम हेरफेर गर्ने र प्रतिनिधि सभाअन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर हुने कार्यसूची छ । यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले राष्ट्रिय सभामा उत्पत्ति भएको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको प्रतिवेदनसहितको अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७८ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने, अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।