मधेश प्रदेशको नीति तथा कार्यक्रम मन्त्रिपरिषद्बाट स्वीकृत

काठमाडौं । मधेश प्रदेश सरकारले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत गरेको छ ।

शनिबार मुख्यमन्त्री निवास मधेश भवनमा बसेको मन्त्रिपरिषद् बैठकले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत गरेको हो ।

मन्त्रिपरिषद्बाट स्वीकृत नीति तथा कार्यक्रम प्रदेश प्रमुखले जेठ २२ गते प्रदेश सभामा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत हुने दिन आ–आफ्नो भेषभुषामा सहभागी हुन प्रदेश सांसदहरूलाई आग्रह गरिएको छ ।

२५ जिल्लाका सुत्केरीलाई ५ हजार रुपैयाँ पोषण भत्ता

काठमाडौं। सरकारले २५ जिल्लामा सुत्केरीलाई पोषण भत्ता दिने भएको छ । आगामी आर्थिक वर्षका लागि संसदमा पेश भएको बजेटमा २५ जिल्लाका सुत्केरीलाई ५ हजार पोषण भत्ता दिने व्यवस्था गरिएको छ । सरकारले विकट र विपन्न व्यक्तिको बाहुल्यता रहेका जिल्लमा यस्तो सुविधा दिएको हो ।

न्यून आय भएका गरिब परिवारका लागि हरेक स्थानीय तहमा सहुलियत पसल

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा गरिब तथा न्यून आय भएका परिवारका लागि सहुलियत पसल सञ्चालन गर्ने घोषणा गरेको छ । संसदका दुबै सदनको संयुक्त बैठकमा चालु आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले हरेक स्थानीय तहमा सुपथ पसल सञ्चालन गरिने बताएका हुन् । बजेटमा न्यून आय भएका श्रमिक र गरिब परिवार पहिचान गरी खाद्य सुरक्षा परिचयपत्रको व्यवस्था गरिने भएको छ । थोरै आय भएका परिवारहरूलाई परिचयपत्रको आधारमा सहुलियतदरमा सामग्री उपलब्ध गराउनेसमेत अर्थमन्त्री शर्माले बताएका हुन् । ‘न्यून आय भएका श्रमिक र गरिब परिवार पहिचान गरी खाद्य सुरक्षा परिचयपत्रको व्यवस्था गरिने छ,’ आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले भने, ‘हरेक स्थानीय तहमा सुपथ पसल सञ्चालन गरी सोही परिचयपत्रको आधारमा सहुलियतदरमा उपलब्ध गराउने व्यवस्था गरिनेछ ।’

धनगढी विमानस्थलको स्तरोन्नती गरिने

काठमाडौं । सरकारले निजगढ विमानस्थल निर्माणका लागि बजेट विनियोजन गरेको छ । संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको ढाँचा निर्माण गरी लगानी बोर्डमार्फत आयोजना विकास कार्य अगाडी बढाइने बताए । बजेटमा पोखराको र गौतम वुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चाँडै पूर्णरूपमा सञ्चालनमा ल्याउने, सुर्खेतको रामघाटमा प्रादेशिक विमानस्थल बनाउने धनगढी विमानस्थलको स्तोरोन्नती गरेर क्षेत्रीय विमानस्थल बनाउन सम्भाव्यता अध्ययन गर्ने पनि घोषणा गरिएको छ।

सर्वोच्चले विकल्प खोज्न भनेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई पनि बजेट

काठमाडौं । सर्वोच्च अदालतले विमानस्थल निर्माणको सबै निर्णय खारेज गर्दै विकल्प खोज्न भनेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ढाँचा निर्माण गर्ने बजेटमा उल्लेख भएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणका क्रममा उक्त विमानस्थल निर्माणको ढाँचा निर्माण गर्ने बताएका हुन् ।   हवाई पूर्वाधार निर्माण शीर्षकमा अर्थमन्त्री शर्माले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ढाँचा निर्माण गरी लगानी बोर्ड नेपालमार्फत आयोजना विकास कार्य अगाडि बढाइने उल्लेख गरेका हुन् । ढाँचा निर्माण गर्ने भनेपछि त्यसका लागि रातो किताबमा बजेट विनियोजनसमेत गरिएको छ । बिहीबार मात्रै सर्वोच्च अदालतको बृहत पूर्ण इजलासले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सरकारको नाममा परमादेश जारी गर्दै विमानस्थल चाहिने भए त्यसको विकल्प खोज्न सुझाव दिएको थियो । पर्यावरणीय दृष्टिकोणले बढी क्षति पुग्ने भएकाले उक्त विमानस्थल निर्माणको सबै काम रोक्न र अर्को विकल्प खोज्न परमादेश दिँदै यसअघि सरकारले गरेका सबै निर्णय बदर गरिदिएको थियो । सर्वोचको आदेशसँगै त्यसको पक्ष विपक्षमा बहस सृजना भएकााो छ । तर अर्थमन्त्री शर्माले आइतबार बजेट भाषण गर्ने क्रममा भने निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ढाँचा तयारी पारी लगानी बोर्ड नेपालमार्फत आयोजना विकास कार्य अगाडि बढाइने उल्लेख छ ।

उद्योग सञ्चालनका लागि ५० वर्षसम्म जग्गा भाडामा दिइने

काठमाडौं । अर्थमन्त्री जर्नादन शर्माले उद्योग सञ्चालनका लागि ५० वर्षसम्म जग्गा भाडामा दिइने बताएका छन्। आइतबार आर्थिक वर्ष २०७९–८० को बजेट प्रस्तुत गर्नुहुँदै हिमाली जिल्लालाई स्याउ उत्पादनको केन्द्रको रुपमा विकास गरिने बताएका हुन् । कपास खेती उत्पादन गर्न बजेटको व्यवस्थापन गरिएको छ, एक सय पाँच औद्योगिक ग्राम निर्माण गरिने, सुदूरपश्चिमको अत्तरियामा र कर्णलीको सुर्खेतमा जटिबुटी प्रशोधन केन्द्र स्थापन गर्ने गरिने छ । उन्नत जातको कपास खेतीलाई प्रोत्साहन गर्न स्थानीय तहबाट मेसिन उपलब्ध गराइने प्रबन्ध मिलाइएको छ, उन्नत जातको कपास खेतीलाई प्रोत्साहन गर्न स्थानीय तहबाट मेसिन उपलब्ध गराइने प्रबन्ध मिलाइएको छ । निजी क्षेत्रको साझेदारीमा ज्ञानमा आधारित व्यवसाय उत्पादन गर्न सातै प्रदेशमा विजनेश इनोभेटर सेन्टरका लागि २६ करोड बजेट विनियोजन गरिने छ । अति विपन्न र अति सीमान्तकृत वर्गका लागि निजी क्षेत्रको सहभागितामा रोजगारी सिर्जना गरिने छ, उद्योग सञ्चालनका लागि ५० वर्षसम्म जग्गा लिजमा दिइने छ । यसैगरी, सर्जकको बौद्धिक सम्पत्ति र प्रतिलिपि अधिकारको संरक्षणका लागि उपयुक्त कारबाही अघि बढाइनेछ, भैरहवा एकीकृत जाँचचौकी निर्माण कार्य प्रारम्भ हुने छ, सुदूरपश्चिम प्रदेशको हलैया र प्रदेश १ को सुनसरीमा विशेष आर्थिक क्षेत्रको निर्माण कार्यको सुरुवात गरिनेछ । औद्योगिक प्रशोधन शृङ्खलामा एकीकृत कार्ययोजना अगाडि बढाइने छ, स्वदेशी कच्चा पदार्थमा आधारित ब्राण्डिङ तथा पहुँच वृद्धिको व्यवस्था मिलाइने छ । धौवादी फलाम खानीबाट फलाम उत्पादनको पूर्वतयारीका कार्य सम्पन्न गरिने छ, निजी क्षेत्रलाई आर्थिक इन्जिनको रुपमा प्रयोग गरिने, विद्युत् मासिक १० करोडभन्दा बढी खपत गर्ने उद्योगलाई दुईदेखि १५ प्रतिशत छुट दिने छ । यस्तै, वैदेशिक लगानी आर्कषित गर्न दुई पक्षीय सम्झौता गरिने, प्रदेश र स्थानीय तहमा कृषि उपजको शाखा विस्तार गरिनेछ, वर्खा सुरुभएसँगै त्रसित हुँदै बाढीपहिरो जोखिम बस्तीका स्थानीय, भारतको सिलगुढीदेखि झापाको चारआलीसम्म पेट्रोलिय पाइप लाइन विस्तार गरिने छ ।

सेनाको टोली मानापाथी हिमालतर्फ परिचालन

काठमाडौं । तारा एयरको सम्पर्कविहीन ९ एन–‘एईटी’ ट्विनअटर बिमान खोज्नका लागी नेपाली सेनाले आफ्नो फौज मुस्ताङको मानापाथी हिमालतर्फ केन्द्रित गरेको छ । स्थानीयले दिएको सूचनाका आधारमा मानापाथी हिमालको पहिरोमुनि उद्धार टोलीलाई परिचालन गरिएको सैनिक प्रवक्ता (सहायकरथी) नारायण सिलवालले बताए ।   सेनाको टिम जाँदै गरेको मानापाथी हिमालको पहिरो नाउरिकोटबाट उत्तर पश्चिममा पर्छ । सैनिक टोली जाँदै गरेको ठाउँबाट लाङ्को खोलाको मुहान शुरु हुन्छ । नेपाली सेनाको एमआई–१७ हेलिकप्टर मुस्ताङको थासाङ गाउँपालिका–२ कोबाङमा अवतरण गरिएको छ । हेलिकप्टरमा पोखरास्थित मध्यकमाण्डका जर्नेल नेतृत्वमा उद्धारकर्मी छन् । विमानको खोजीमा ४ वटा पैदल टिमलाई मानापाथी हिमालको पहिरोतर्फ डाईभट गरिएको सहायकरथी सिलवालले जानकारी दिए । उनले भने– ‘सकेसम्म चाँडो पुग्न भनेका छौं, लगातार वर्षा र कुहिरोका कारण खोजी कार्य असहज भएको छ ।’ फौज पुगेर नहेरेसम्म विमान भेटिएको पुष्टि नहुने सहायकरथी सिलवालले बताए । यसअघि विमान थासाङ गाउँपालिकास्थित लेतेमा हुनसक्ने आशंका गरिएको थियो । तर, लेतेमा विमान भेटिएन । बाक्लो हुस्सुका कारण सम्भावित ठाउँमा हेलिकप्टर जान सकेको छैन ।

औद्योगिक पूर्वाधारतर्फ ३ अर्ब रुपैयाँ बजेट विनियोजन, १०५ उद्योग ग्राम पूर्ण सञ्चालन हुने

काठमाडौं । सरकारले औद्योगिक पूर्वाधारतर्फ ३ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । संसदमा आर्थिक वर्ष २०७९८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले देशका विभिन्न स्थानमा बनाइने औद्योगिक पूर्वाधारका लागि ३ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको बताए । चितवनको शक्तिखोरमा औद्यौीगक क्षेत्र निर्माण, हाल निर्माण भएका १०५ औद्यौगिक ग्राम सञ्चालनमा ल्याइने, बाँकी स्थानीय तहमा तयारी गरिने उनले बताए । औद्यौगिक क्षेत्रका लागि बजेट विनियोजन गरेको बताउँदै उनले भैरहवा, सिमरा विशेष आर्थिक क्षेत्रलाई पूर्णरुपमा सञ्चालनमा ल्याइने र सुपको हरैया र प्रदेश १ को सुनसरी लगायतका क्षेत्रमा औद्यौगिक क्षेत्रलाई अघि बढाउने समेत बताए ।

वैदेशिक रोजगारीबाट फर्कनेलाई च्यालेन्ज फण्डको व्यवस्था

काठमाडौं । सरकारले वैदेशिक रोजगारीबाट फर्केका नेपाली तथा युवाहरुलाई लक्षित गरी च्यालेन्ज फण्ड स्थापना गर्ने बताएको छ । चालु आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्रीले नयाँ व्यवसाय सुरु गर्न चाहनेका लागि उक्त व्यवस्था गरिएको बताए । यसका साथै ठूला तथा मझौला उद्योगले स्टार्ट अपलाई सहयोग गर्ने व्यवस्था मिलाइने समेत उनले घोषणा गरे । स्टार्ट अब व्यवसायका लागि सुरुवाती पूँजी दिइने र स्वदेशी उत्पादन प्रोत्साहनका लागि विशेष कार्यक्रम ल्याउने समेत सरकारले बताएको छ । यसका लागि ३ अर्ब विनियोजन गरिएको छ ।

कैलालीको मोहना नदीमा डुबेर दुई बालकको मृत्यु

धनगढी । कैलालीको मोहना नदीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका-३ स्थित धनगढीलाई कञ्चनपुरको राजघाट जोड्ने पक्की पुलमुनि मोहना नदीमा नुहाउने क्रममा डुबेर बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका-३ विशालनगरका १० वर्षीय अनुप चौधरी र १२ वर्षीय बुष्णु गुप्ता रहेका उनले बताए । उनीहरू मध्ये चौधरी नदीमा डुबेपछि निकाल्न गएका गुप्ताको पनि डुबेर मृत्यु भएको प्रहरीको भनाइ छ । दुवै जनाको शव नदीबाट निकालेर परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

यौन हिंसाको उजुरी दिने हदम्याद बढाउन विधेयक दर्ता

काठमाडौं । सरकारले यौन हिंसाविरुद्ध उजुरी दिने हदम्याद बढाउन कानुन बनाउने तयारी थालेको छ । यौन हिंसामा परेकाले एक वर्षभित्र उजुरी दिनुपर्ने विद्यमान कानुनले पीडितले न्याय पाउन नसकेको आवाज उठिरहेका बेला सरकारले हदम्याद बढाउने गरी कानुन बनाउन लागेको हो ।   यसका लागि आइतबार संघीय संसद सचिवालयमा विधेयक दर्ता गरिएको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्माले यौन हिंसाको मुद्दामा हदम्याद बढाउनेसम्बन्धी विधेयक सचिवालयमा दर्ता गरेका हुन् । यौन हिंसाका पीडितले उजुरी दिने हदम्याद नै राख्न नहुने पनि आवाज उठिरहेको छ । तर, सरकारले विद्यमान कानुनलाई संशोधन गरेर हदम्यादको समय बढाउने गरी विधेयक सचिवालयमा दर्ता गरेको हो ।

विमानको खोज तथा उद्धारमा ०१४११३००० मा फोन गरी सघाउन स्थानीयलाई आग्रह

काठमाडौँ । सरकारले मुस्ताङमा हराइरहेको तारा एयरको विमानको खोज तथा उद्धारमा सघाउन स्थानीय बासिन्दासँग अनुरोध गरेको छ । त्रिभुवन विमानस्थल कार्यालयले स्थल र हवाई मार्गबाट विमानको खोजी भइरहेको उल्लेख गर्दै मुस्ताङका सर्वसाधारणलाई हराइरहेको विमानका बारेमा जानकारी भएमा खोज तथा उद्धार समन्वय केन्द्रको फोन नम्बर ०१४११३००० मा सूचना दिन आग्रह गरेको छ ।

काठमाडौं महानगरका जनप्रतिनिधिको शपथ ग्रहण भोलि

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन), उपमेयर सुनिता डंगोल सहितका जनप्रतिनिधिहरूले सोमबार (भोलि)ं शपथ ग्रहण गर्ने भएका छन् । भोलि बिहान ११ बजेतिर काठमाडौं महानगरका मुख्य निर्वाचन अधिकृतले मेयर साहलाई राष्ट्रिय सभागृहमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम तय भएको काठमाडौं महानगरपालिकाका सूचना अधिकारी बसन्त आचार्यले जानकारी दिए । त्यसपछि मेयर साहले उपमेयर, वडा अध्यक्ष र सदस्यहरुलाई शपथ ग्रहण गराउने छन् । सूचना अधिकारी आचार्यका अनुसार मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्यहरु सबैको शपथ ग्रहण सोमबार राष्ट्रिय सभागृहमा हुनेछ । त्यसलगत्तै मेयर साह र उपमेयर डंगोलले पदभार ग्रहण गर्ने कार्यक्रम छ ।

विप्लव समूहको बैठक उदयपुरमा, फागुनमा महाधिवेशन गर्ने

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपा समुहको केन्द्रीय समिति बैठक उदयपुरमा जारी छ। गत १२ गते सुरु भएको बैठक केही दिन लम्बिने बताएको छ।   विप्लव समूह विभाजन भई धर्मेन्द्र बास्तोलाले नेकपा बहुमत गठन गरेपछि पहिलो पटक विप्लव समूहको बैठक बसेको हो। बैठकमा पार्टीको ९ औ महाधिवेशन फागुन १ गते गर्नेगरी छलफल चलेको एक नेताले बताए। यस्तै बैठकमा स्थानीय तह निर्वाचन समीक्षासहित आगामी कार्यदिशा र कार्ययोजनाका विषयमा छलफल भईरहेको बताएको छ।

गणतन्त्र समृद्ध बनाउन सबैलाई एकताबद्ध हुन उपराष्ट्रपति पुनको आग्रह

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्ध नेपाल निर्माणका लागि पुनः एकपटक राष्ट्रिय एकता प्रदर्शन गर्नुपर्ने बताएका छन् । गणतन्त्र दिवस–२०७९ का अवसरमा आज शुभकामना दिँदै उनले भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता, राष्ट्रियता र राष्ट्रिय एकतालाई अझै सुदृढ गर्दै लैजानुपर्ने बताए । गणतन्त्र प्राप्तिका सबै दल एकताबद्ध भएर सङ्घर्षमा उत्रिएको उल्लेख गर्दै उनले गणतन्त्रलाई समृद्ध बनाउन पनि एकताबद्ध भएर लाग्नुपर्ने बताए । गणतन्त्रलाई समृद्ध बनाउन आजको दिनले सबैलाई प्रेरणा दिने उनको विश्वास छ । गणतन्त्र प्राप्तिका लागि विभिन्न कालखण्डमा भएका जनआन्दोलन, सशस्त्र सङ्घर्ष, जनयुद्ध र ऐतिहासिक जनआन्दोलनमा बलिदानी दिने सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उपराष्ट्रपतिले घाइते योद्धाको स्वास्थ्यलाभको कामनासहित उनीहरूको योगदानप्रति उच्च सम्मान व्यक्त गरे । उनले गणतन्त्र प्राप्तिको सङ्घर्षका क्रममा बेपत्ता भएकाप्रति सम्मान व्यक्त गरे । गणतन्त्र प्रारम्भको १४ वर्षलाई नियाल्दा राजनीतिक तहमा ठूला–ठूला उथलपुथल भएको उल्लेख गर्दै उनले फलस्वरुप सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितका समानुपातिक समावेशी शासन व्यवस्थालाई संस्थागत गरेको संविधान बनेको बताए । संविधानबमोजिम दोस्रोपटक स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको र प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन सम्मुखमा रहेको जनाउँदै उपराष्ट्रपतिले संविधानले महिला, आदिवासी जनजाति, दलित, मधेसी, अल्पसङ्ख्यक, उत्पीडित क्षेत्रका समुदायलाई थुप्रै अधिकार दिइएको बताए । राजनीतिक परिवर्तनले जनताको दैनिक जीवन र राष्ट्रको समृद्धिमा सकारात्मक प्रभाव नपारेसम्म परिवर्तनको संस्थागत र दिगोपनामा चुनौती रहिरहने भन्दै उनले दलीय र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सहमति, सहकार्य र राष्ट्रिय एकताका साथ अगाडि बढ्न आग्रह गरे । “यति गर्न सकियो भने जनताको जीवन परिवर्र्तन तथा देशको विकास र समृद्धिमा कुनै ढिला हुँदैन । यसबाट जनतामा उत्साह थपिनेछ र गणतन्त्रप्रति विश्वास बढ्नेछ”, उनले भने , “गणतन्त्रप्रति जनताको प्रगाढ विश्वास हुँदा मात्रै यसको रक्षाका लागि बलिदान भाव जागृत हुनसक्छ । यसतर्फ म सबै पक्षको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।”

गणतन्त्रको रक्षाका लागि एकजुट हुन सभामुखको आग्रह

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले परिवर्तित व्यवस्थाप्रति आमनागरिकलाई आशावादी तुल्याउन राज्यका जिम्मेवार निकायका पदाधिकारीमा अधिक जिम्मेवारीबोध हुन आवश्यक रहेको बताएका छन् । गणतन्त्र दिवस–२०७९ का अवसरमा आज शुभकामना दिँदै उहाँले गणतन्त्र स्थापनाका लागि त्याग र बलिदान गर्नेको मूल्याङ्कन एवं सम्मान, यससँग जोडिएका जनअपेक्षाको सम्बोधन गर्न सबैले ध्यान दिनुपर्ने बताए । संविधानअनुरुप सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्ने दायित्व पूरा गर्न र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति सबै नेपालीले गर्व गर्ने अवस्था निर्माण गर्न अझ सुदृढ राष्ट्रिय एकताको खाँचो रहेको उल्लेख गर्दै सभामुख सापकोटाले राज्य संयन्त्रमा भएका परिवर्तन सबै तह र तप्काका नागरिकले अनुभूत गर्न सक्ने गरी कार्यान्वयन हुन आवश्यक रहेको बताए । गणतन्त्र दिवसका अवसरमा देश–विदेशमा रहनुुभएका सम्पूर्ण नेपाली दिदीबहिनी एवं दाजुुभाइमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्नुहुँदै गणतन्त्र दिवसले राष्ट्रहित, गणतन्त्र, संविधानसहित उपलब्धिको रक्षाका लागि एकजुट हुने प्रेरणा मिलोस् भनी कामना गर्नुभएको छ । गणतन्त्र स्थापनाका लागि भएका जनयुद्ध र जनआन्दोलनमा जीवन उत्सर्ग गर्ने सम्पूर्ण महान् सहिदप्रति श्रद्धाञ्जलि अर्पण गरे । उनले गणतन्त्र प्राप्तिको लामो र कठिन सङ्घर्षमा घाइते तथा अपाङ्ग भएकाहरू एवं बेपत्ता योद्धाको बलिदानीभावको स्मरण र उच्च सम्मान व्यक्त गरे ।