नयाँ राजनीतिक घटनाक्रमबारे निर्णय गर्दै रास्वपा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दै छ। बैठक केही समयपछि सुरु हुने बताइएको छ।
सिंहदरबारमा बस्ने बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ। नयाँ सत्ता समीकरण बन्ने भएसँगै सो बारेमा पनि छलफल हुने बताइएको छ।
राष्ट्रिय सहमतिको सरकार बनाउने नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भएसँगै उक्त सरकारमा सहभागी बन्ने वा नबन्ने भन्ने निर्णय पनि बैठकले गर्ने बताइएको छ।
६० किलो सुन तस्करीमा महरा र पुनको संलग्नता छैन : सीआईबी
काठमाडौं । ६० किलो सुन तस्करीको दोस्रो चरणको अनुसन्धानमा माओवादी नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरा र दिपेश पुनको संलग्नता नदेखिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ। सुन तस्करीको दोस्रो चरणको अनुसन्धानबारे जानकारी दिन सोमबार आयोजित पत्रकार भेटघाटका क्रममा सीआईबीका प्रमुख एआईजी श्यामलाल ज्ञवालीले बताए । ज्ञवालीले ६० किलो सुन तस्करीमा महरा र दिपेशको संलग्न नभएको जानकारी गराएका हुन्। “६० किलो सुन तस्करीको अनुसन्धानमा कृष्णबहादुर महरा र दिपेश पुनको संलग्न भेटिएन । भेप प्रकरणको अनुसन्धान अझै जारी छ,” एआईजी ज्ञवालीले भने ।
सुनको मूल्य २०० रुपैयाँ बढ्यो
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । आज चाँदी भने आइतबारकै मूल्यमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला एक हजार ७९० रुपैयाँ कारोबार भएको थियो ।
प्रतीक थापाविरुद्ध आजबाट थुनछेक बहस
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीकविरुद्ध आजबाट थुनछेक बहस हुने भएको छ। गत शुक्रबार पक्राउ परेको प्रतीकलाई आइतबार काठमाडौं जिल्ला अदालतमा पेश गरिएको थियो । थापाविरुद्ध यसअघि नै नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको मुद्दा दर्ता भइसकेकाले उनलाई थुनछेक बहसका लागि जिल्ला अदालत पेश गरिएको हो। आइतबार समय अभाव भएका कारण हुन नसकेको थुनछेक बहस आज हुन लागेको हो। प्रतीकलाई ठगी, संगठित अपराध, सरकारी लिखत किर्ते, राज्यविरुद्धको कसुर र एकीकृत कसुरमा २४ वर्ष कैद माग दाबी गरिएको छ। त्यसअघि उनलाई काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा लगिएको थियो। रामबहादुर थापा गृहमन्त्री हुँदा प्रतीक स्वकीय सचिव थिए। नक्कली भुटानी शरणार्थी प्रकरणमा अन्य आरोपीहरु पक्राउ परेपछि उनी फरार रहँदै आएका थिए। भुटानी शरणार्थी प्रकरणमै पक्राउ परेका अर्का आरोपी बेचन झालाई भने जिल्ला अदालतबाट सात दिनको म्याद थप गरिएको छ। गत वर्ष शरणार्थी प्रकरण सतहमा आएदेखि फरार रहँदै आएका झालाई भारतबाट पक्राउ गरी गत शुक्रबार काठमाडौं ल्याइएको बुझिएको छ। झाले सोही गिरोहका रामशरण केसीबाट दुई करोडको चेक लिएको प्रमाण प्रहरीले फेला पारेको थियो।
कांग्रेस पदाधिकारी बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बस्नेछ। पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न सभापति देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका हुन्।
यी स्थानमा धेरै वर्षाको सम्भावना
काठमाडौं । सातवटै प्रदेशमा आज वर्षाको सम्भावना छ । केही प्रदेशमा भारी र केहीमा धेरै भारी वर्षाको सम्भावना छ । कोसी, मधेस, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । कासी, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ । भारी र धेरै भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । ती क्षेत्रहरूमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ । विभागका अनुसार बिहानैदेखि देशका केही स्थानमा वर्षा भइरहेको छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको छ । विभागले दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहने बताएको छ । देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ । विभागले राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने जनाएको छ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा तथा देशका बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । कोसी र गण्डकी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ । विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ । कम्तीमा अबको चार दिन देशभर मनसुन सक्रिय रहँदा धेरै स्थानमा वर्षाको सम्भावना छ ।
मुलुकमा शान्ति स्थापना गर्न माधवजीको महत्वपूर्ण भूमिका छ : देउवा
काठमाडौं । कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा शान्ति स्थापना गर्न र संविधान निर्माणमा माधव नेपालले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । नेकपा एसका महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै माधव नेपालले देशको राजनीतिमा महत्वपूर्ण योगदान दिएको बताए । उनले भने, ‘नेपालको संविधानको रक्षा, संघीय लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरण यसै संविधान मार्फत् मुलुकमा दिगो शान्ति, सुशासन, विकास तथा समृद्धि प्राप्त गर्नको लागि महत्वपूर्ण एजेण्डा हुन् । यो व्यवस्थाप्रति नेकपा एसले महत्वपूर्ण भूमिका खेलेको छ ।’
देशको आर्थिक समृद्धिमा सबै दल एकठाउमा आउनुपर्छ : रवि लामिछाने
काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि लामिछानेले नेपालमा आम जनता र नेताहरूको प्राथमिकता एउटै विषयमा नभएको बताएका छन् । नेकपा एकीकृत समाजवादीको महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै लामिछानेले आम जनता र राजनीतिक दलका नेताहरूको प्राथमिकता एकै नभएको बताएका हुन् ।उनले देशमा राजनीतिक परिवर्तन भएर, संविधान बनेर, सबै किसिमका अधिकार प्राप्त भएपछि पनि आम जनताको चाहना अनुसार काम हुन नसकेको बताए। उनले शीर्ष नेताहरुबीच जनताको चाहना अनुसारको काम गर्न नसकेको बताए ।उनले राजनीतिक समस्या समाधान गर्न सबै दल एक ठाउँमा आए जस्तै देशको आर्थिक विकास गर्न सबै एक ठाउँमा आउनुपर्ने बताए ।उनले देशको विकास गर्न सबै नेताहरू एक ठाउँमा आउन आव्हान समेत गरेका छन् ।
समाजवादी शब्द जति प्रिय लाग्छ उतिकै डर पनि लाग्छ : सीके राउत
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले नेकपा एकीकृत समाजवादी पार्टीको नाम प्रिय र पवित्र लाग्ने बताएका छन्। साथै उनले यो शब्दप्रति उत्तिकै डर पनि लाग्ने बताएका छन् । नेकपा एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशनमा शुभकामना व्यक्त गर्दै उनले नेकपा एकीकृत समाजवादी नामअनुसार शब्द थेग्न सक्छ या सक्दैन भनेर डर लाग्ने गरेको बताएका हुन् । उनले समाजवादी पार्टीहरूले भन्ने एउटा र गर्ने अर्कै भएको भन्दै त्यस्तो अवस्थामा ती शब्दहरूको अर्थ के हुने भनेर आफैलाई समेत प्रश्न गरे। ‘तपाईहरुलाई अनौठो लाग्ला तर मलाई तपाईहरुको पार्टीको मन पर्छ। नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी। कम्युनिस्ट शब्द पनि धेरै प्रिय र पवित्र लाग्छ । समाजवादी शब्द पनि उतिकै प्रिय लाग्छ’, उनले भने, ‘जति पवित्र र ठुलो लाग्छ त्यति नै डर पनि लाग्छ।’ उनले पुँजीवादी क्रान्तिविना समाजवादी चरणमा प्रवेश गर्न सकिन्छ भनेर प्रश्न समेत गरे ।
देउवाले बोलाए पदाधिकारी र पूर्वपदाधिकारीको बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् । सोमबार (भोलि) दिउँसो ३ बजे आफ्नै निवास बूढानीलकण्ठमा बस्ने गरी उनले बैठक बोलाएका हुन् । बैठकमा समसामयिक राजनीतिसँगै म्याद सकिएका भातृसंस्थाको आयु थप्ने वा नेतृत्वमा नयाँ व्यक्ति नियुक्त गर्ने भन्ने विषयमा छलफल गरिने मुख्यसचिव डा. कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।
लालीगुँरास सहकारीका अध्यक्षसहित ४ जना पक्राउ
काठमाडौँ । बचतकर्ताको रकम अपचलन गरेको आरोपमा ललितपुरस्थित लालीगुँरासका अध्यसहित चार जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा संस्थाका अध्यक्ष ७६ वर्षीय अमरदास श्रेष्ठ, सचिव तथा प्रमुख कार्यकारी अधिकृत ४६ वर्षीय सुरेन्द्र भण्डारी, कोषाध्यक्ष ७५ वर्षीय अमृतकुमार अर्याल र सदस्य ६१ वर्षीय कमदबाबा जोशी प्रधान रहेका छन् । सहकारी संस्था खोली सर्वसाधारण मानिसहरूलाई आकर्षक ब्याज दिने र चाहिएको बखत जम्मा भएको रकम झिक्न पाइन्छ भन्ने विश्वास दिलाई सञ्चालकहरूलाई लाभ र बचतकर्तालाई हानी पुर्याएको उनीहरूमाथि आरोप छ । बचतकर्ताहरूको निक्षेप अपचलन गरी ठगी गरेकोमा २०८० चैत १ गते जिल्ला प्रहरी परिसर ललितपुरमा ठगी कसुरमा मुद्दा दर्ता भई अनुसन्धान सुरु भएको थियो । मुद्दा दर्ता भएसँगै संस्थाका अध्यक्ष तथा अन्य सदस्यहरू फरार रहेकोमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई शुक्रबार काठमाडौँको विभिन्न स्थानहरूबाट पक्राउ गर्न सफल भएको थियो । चारै जनालाई थप आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।
सर्लाहीको हरैयामा मकैबारीमा महिलाको शव फेला, घटना शङ्कास्पद
सर्लाही। सर्लाहीको हरिपुर नगरपालिका–४, हरैयामा एक महिलाको हत्या भएको छ। स्थानीय ठगा रायकी श्रीमती ४५ वर्षीया कृष्णादेवी रायको हत्या भएको हो। कृष्णादेवीको शव शनिवार राति अबेर घरदेखि करिब पाँच सय मिटर पूर्व आफ्नै मकैबारीमा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। महिलाको शव फेला परेकोबारे शनिवार राति ९ः३० बजे प्रहरीमा खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय हरिपुरबाट प्रहरी निरीक्षक र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंहले मृतक महिलाको शरीरमा चोटपटक देखिएकाले घटना शङ्कास्पद रहेको बताए। परिवारका सदस्यका अनुसार कृष्णादेवी घाँस काट्न भनी शनिवार अपराह्न ४ बजेपछि घरबाट खेततर्फ गएकी थिइन्। साँझ अबेरसम्म पनि घर फर्किएर नआएपछि श्रीमानसहित छरछिमेकी खोज्न मकै खेतमा जाँदा उनको शव फेला परेको हो । घटनास्थलको प्रकृति मुचुल्का गरी मृतक महिलाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ।
संसद्लाई देश र जनतामा केद्रित गर्नुपर्नेमा सभामुखको जोड
काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय प्रक्रियामा भएका कमीकमजोरीलाई सुधार गर्दै संसद्लाई मुलुक र जनतामा केन्द्रित गर्नु आजको आवश्यकता भएको बताएका छन् । संसद् दिवसका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले कानुन निर्माण प्रक्रियामा सुधार तथा जनप्रतिनिधिको क्रियाशीलताले संसद् र संसदीय प्रक्रियामा देखिएका कमजोरीलाई सुधार गर्न सकिने बताएका छन् । संसद् अविच्छिन्न र जनप्रतिनिधिको जीवन्त अभ्यास गर्ने थलोका रूपमा रहेको उल्लेख गर्दै सभामुख घिमिरेले संविधानले निर्दिष्ट गरेका सिद्धान्त र मान्यताको आधारमा देशको संसदीय व्यवस्थालाई बलियो बनाउने दायित्व सबैको भएको सन्देशमा बताएका छन् । संसद्प्रति जनताको आस्था र विश्वासलाई उचाइमा पुर्याउन सबैको योगदान उत्तिकै महत्त्वपूर्ण रहेको उनको अभिमत छ । मुलुकको संसदीय इतिहास अन्य देशको तुलनामा नयाँ नभएको जनाउँदै सभामुखले नेपालको राजनीतिक व्यवस्थामा निरन्तर विभिन्न धक्का र उतारचढावका कारण संसदीय प्रणालीले अविच्छिन्न अभ्यास गर्ने, समृद्ध हुने र सुदृढ बन्ने मौका नै नपाएको सन्देशमा उल्लेख गरेका छन् । संसद् दिवसले संसदीय लोकतन्त्रको प्रवर्द्धन गर्दै संसद्लाई जीवन्त र जनमुखी बनाउन प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै सभामुख घिमिरेले यस अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा बधाई तथा शुभकामना व्यक्त गरेका छन् । रासस
सडक बत्तीको बक्यौता तिर्न किस्ताबन्दीको सुविधा
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले सडक बत्तीको बक्यौता महसुल बुझाउन स्थानीय तहहरूलाई किस्ताबन्दीको सुविधा दिने भएको छ । प्राधिकरणले सडक बत्ती जडान गरी विद्युत् उपभोग गरेका स्थानीय तहहरूले तिर्नुपर्ने थप दस्तुर सहितको बक्यौता विद्युत् महसुल बढीमा ६० महिना सम्मको किस्ताबन्दीमा बुझाउन पाउने व्यवस्था गरेको हो । आज एक सूचना जारी गर्दै प्राधिकरणले सम्बन्धित स्थानीय तहहरूले ४५ दिनभित्र प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा सम्पर्क गरी किस्ताबन्दीका लागि आवेदन दिन आग्रह गरेको छ ।
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक आज दिउँसो ३ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा आर्थिक विधेयक २०८१ माथि छलफल गरी अर्थमन्त्री वर्षमान पुनले पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ । त्यस्तै, अर्थमन्त्री पुनले नै राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयकमाथि छलफल गरी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ।कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर पूर्णतया बदली रहने छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानका साथै बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । आज राति भने देशभर पूर्णतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज सूर्योदय बिहान ५ बजेर ११ मिनेटमा भयो भने सूर्यास्त साँझ ७ बजेर ४ मिनेटमा हुुनेछ ।

