अर्थतन्त्र बचाउने मौद्रिक नीति आउँछ : गभर्नर अधिकारी

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले सरकारको आर्थिक अवस्था कमजोर रहेको बताएका छन्। मंगलबार नेपाल राष्ट्र बैङ्कसँग महासङ्घले आयोजना गरेको मौद्रिक नीतिबारेको छलफलमा बोल्दै गभर्नर अधिकारीले अर्थतन्त्रका धेरै पक्ष बलियो भए पनि सरकारको आर्थिक पक्ष कमजोर भएको उल्लेख गरेका हुन्।

उनले कोभिडको बेलामा राष्ट्र बैङ्कले दिएको सुविधाले व्यवसाय बाँचेको बताए। उनले त्यतिबेला राष्ट्र बैङ्कले सुविधा नदिएको भए व्यवसाय र अर्थतन्त्र दुवै बाच्ने अवस्था नभएको बताए। 

उनले राष्ट्र बैङ्कले व्यवसायमा सुविधा दिनुको अर्थ पनि अर्थतन्त्रलाई बचाउनु भएको बताए। उनले राष्ट्र बैङ्कले अर्थतन्त्रको वर्तमान अवस्थालाई हेरेर उचित मौद्रिक नीति ल्याउने उल्लेख गरेका छन्।

उनले घरजग्गा कारोबार, साना तथा घरेलु उद्यममा दबाब र निर्माण क्षेत्रमा दबाब रहेको भन्दै राष्ट्र बैङ्क मौद्रिक नीतिमार्फत क्षेत्रगत रूपमा दिनसक्ने सहजता अपनाउने उल्लेख गरे। उनले  लोन टु भ्यालु रेसियो, जोखिम भार लगायतका विषय माइक्रो पोसिली अन्तर्गत पर्ने बताए। उनले त्यो विषयमा पनि गहन छलफल गरेर उचित नीति लिने बताए।

उनले भने, ‘‘लोन टु भ्यालु रेसिया, जोखिम भार, ब्याजदर कोरिडोर लगायतका विषयमा माइक्रो पोसिली अन्तर्गत पर्छन्। त्यो विषयमा पनि गहन छलफल गरेर उपयुक्त नीति लिनेछौँ। राष्ट्र बैङ्कले नीति लिँदा सर्वपरी मुलुकको अर्थतन्त्रलाई राख्नुपर्छ। कोभिडको बेलामा सुविधा लिएको भनेर धेरै राष्ट्र बैङ्कलाई गाली गरे तर त्यो बेला लिएको सुविधाले व्यवसाय बाँचेको छ। सुविधा दिनुको अर्थ अर्थतन्त्रलाई बचाउनु थियो। अर्थतन्त्रका केही पक्ष सबल छन्। फिजिकल साइट सरकारकै आफ्नै अवस्था कमजोर छ। घरजग्गा कारोबार, साना तथा घरेलु उद्यमहरूमा दबाब र निर्माण क्षेत्रमा दबाब छ।’’ 

उनले पछिल्लो समय सबैले नेपाल राष्ट्र बैङ्कले कर्जा विस्तार लगायत अन्य विषयमा बाँधेर राख्यो भन्ने आरोप लागेको भन्दै आरोपको खण्डन गरेका छन्। उनले राष्ट्र बैङ्कले उद्योग व्यवसायलाई अप्ठ्यारो पर्ने नीतिमा कहाँ बाँधेको छ, बाँधेको डोरी देखाए फुकाउन तयार रहेको बताए। ‘‘कर्जामा नेपाल राष्ट्र बैङ्कले रोकेको छ भन्नेकुरा छ। राष्ट्र बैङ्कले बाँधेको छ भन्ने छ। राष्ट्र बैङ्कले बाँधेको डोरी देखाउनुपर्छ। हामी बाँधेको डोरी फुकाइदिन्छौँ। त्यतिकै बोल्नु भएन। आन्तरिक कच्चा पदार्थ प्रयोग गर्ने व्यवसायीलाई दुई प्रतिशत भन्दा बढी लगाउन नपाउने स्पष्ट व्यवस्था छ। बैङ्कले पनि त्यो भन्दा बाहिर जान पाउँदैन। गएको पायो भने राष्ट्र बैङ्कलाई जानकारी गराउनु होला। मौद्रिक नीतिको अन्तिम रूपमा छौँ।’’

राष्ट्रपति पौडेलद्वारा जगन्नाथ रथ यात्राको शुभारम्भ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जगन्नाथ रथयात्रा महोत्सवको शुभारम्भ गरेका छन् । आइतबार काठमाडौँमा अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (ईस्कोन)द्वारा  आयोजित  ३९ औं जगन्नाथ रथयात्रा  महोत्सवको राष्ट्रपति पौडेलले शुभारम्भ गरेका हुन् । त्यस अवसरमा राष्ट्रपति पौडेलले भगवान् जगन्नाथको पूजा अर्चना र आरती गरेका छन् । नेपाली संस्कृतिको जगेर्ना तथा समाजमा आध्यात्मिक वातावरण स्थापनाको निम्ति प्रेरित गर्न रथ यात्राको आयोजना गरिएको आयोजकले जनाएको छ ।

भ्रष्टाचार विरोधी कारबाहीको डरले सरकार फेरबदल : सांसद पराजुली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले व्यक्तिगत स्वार्थ र भ्रष्टाचार विरोधी कारबाहीको डरले सरकारको समीकरण र फेरबदलमा लागि परेको बताएका छन् ।  आइतबारको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले विगत लामो समयदेखि जनतालाई निरन्तर शोषण र लेकका खरी जुकाले रगत चुसेजस्तै चुसिरहेका राजनीतिक दलहरू विपद्का समयमा सत्ताको दाउपेचमा लागि परेको आरोप उनको थियो । जनता पहिरोमा पुरिएको, घरवारविहीन र डुवानका कारण ज्यान गुमाइरहँदा राज्य छ भन्ने महसुस दिन नसकेको उल्लेख गरे ।  “अनि त्यो परिवर्तन आफू र आफ्नाहरूलाई भ्रष्टाचारविरुद्धको कारबाहीबाट बचाउनुबाहेक अरू कुनै स्वार्थ छैन,” उनले भने, “वा १ सम्मानित नेताहरू भाषण त गज्जब गर्नुहुन्छ । प्रतिपक्षमा बस्दा गिरीबन्धुका फाइल खोलियोस् भन्नुहुन्छ । ४७ साल यताका फाइल खोलियोस् भनेर महत्त्वपूर्ण सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराउनुहुन्छ ।”  उनले असार १५ मा प्रतिपक्षमा बस्दा गिरीबन्धुका फाइल खोलौँ भन्नेहरू भुटानी शरणार्थी प्रकरणमा अब हामी कोही नबच्ने रहेछौँ है भनेर नयाँ सहमतिको अवसर जुरेको भन्दै आक्रोश पोखे । “असार १५ कै अवसरमा होस् बूढालीलकण्ठबाट बालकोटसम्मको यात्रा तय गर्दैगर्दा तमाम नेपाली जनताले नजिकबाट नियालिरहेका छन्,” उनले भने ।

स्याङ्जा, पर्वत र तनहुँमा पहिरोमा पुरिएर सातजनाको मृत्यु

काठमाडौं । अविरल वर्षापछि पहिरोमा परी पर्वत, तनहुँ र स्याङ्जामा सातजनाको मृत्यु भएको छ। पर्वतको फलेवास नगरपालिका–१, कार्किनेटाका कुलप्रसाद पाध्याको घर शनिबार दिउँसो पहिरोले पुरिँदा दुईजनाको मृत्यु भएको छ। कुलप्रसादका ४० वर्षीय छोरा झलकप्रसाद शर्मा र स्याङ्जाको आँधीखोला गाउँपालिका–३, पाखरीगोर ढुंगाका ३२ वर्षीय तुलसीप्रसाद शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ। त्यसैगरी, तनहुँको शुक्लागण्डकी नगरपालिका–७, काउरेका ४० वर्षीया हीरा नेपाली र सुनमाया कुमालको घर पहिरोले पुरिँदा दुईजनाको मृत्यु भएको छ। पहिरोले पुरिएर हीरा र ६५ वर्षीय श्याम भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ। पहिरो खस्दै गर्दा घरभित्र रहेका सामान स्थानीयवासी मिली निकाल्न जाने क्रममा हीरासहित तीनजना बेपत्ता भएका थिए। खोजी गर्ने क्रममा दुवैजनाको शव फेला परेको हो। बेपत्ता एकजनाको प्रहरीले खोजी गरिरहेको छ। स्याङ्जाको बिरुवा गाउँपालिका–६, लामाखेतका ईश्वरी लम्सालको घर शनिबार बिहान पहिरोले पुरिँदा तीनजनाको मृत्यु भएको छ। बिरुवा–६, स्याङ्दी माझकोटका ६५ वर्षीया गुइश्वरी शर्मा मरासिनी, ७१ वर्षीय माधव शर्मा र उनकी श्रीमती ६७ वर्षीया हरिमाया शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ।

कसैले चाहँदैमा प्रधानमन्त्रीको राजीनामा आउँदैन : लेखनाथ दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कसैले चाहाँदैमा राजीनामा नदिने बताएका छन्। संघीय संसदको प्रतिनिधि सभामा शुन्य समयमा आफ्नो धारणा राख्दै उनले सरकारले एक महिना भित्र संवैधानिक प्रावधान अनुसार राजीनामा दिने बताए।  “सरकारलाई समर्थन दिइसकेको राजनीतिक दलले विशवासको मत छैन भनेर फिर्ता लिइसकेपछि सरकारले महिना दिनभित्र विशवासको मत लिने संवैधानिक प्रावधान छ। -असार_ २८ गते विश्वासको मत लिँदै हुनुहुन्छ,” उनले भने, “संवैधानिक प्रावधानानुसार विश्वासको मत लिन खोज्नु अनैतिक हुनु हो < कसैले चाहँदैमा राजीनामा आउँदैन।” उनले संवैधानिक व्यवस्थाअनुसार अघि बढ्ने भन्दै ‘अनैतिक र भ्रष्टहरू’ले नैतिकताको पाठ सिकाउन जरुरी नभएको बताए। अल्पमतमा परिसकेपछि प्रधानमन्त्रीले २८ गते विश्वासको मत लिनका लागि समय लिइसकेको र यसलाई नैतिकतासँग जोडेर हेर्नु आवश्यक नभएको उनले बताएका छन्। सरकारलाई समर्थन दिएको दल नेकपा एमाले, जसपा नेपालले समर्थन फिर्ता लिएपछि वर्तमान सरकार अल्पमतमा परेको छ। एमाले आजैदेखि संसदको प्रतिपक्षी बेन्चमा बसेको छ। 

सिद्धार्थ राजमार्ग भासियो

वालिङ (स्याङ्जा)। स्याङ्जाको गल्याङ नगरपालिका–११, तुल्सीभञ्ज्याङमा सिद्धार्थ राजमार्ग भासिएको छ। शुक्रबारदेखि परेको अविरल वर्षाले तुल्सीभञ्ज्याङस्थित सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गको करिब ५० मिटर सडक भासिएको हो।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाका अनुसार गए राति सडक भासिएको हो । सडक भासिएपछि सवारीसाधन बीच बाटोमै थन्किएका छन् । वर्षा निरन्तर रूपमा भइरहेकाले सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो खस्ने क्रम रोकिएको छैन । ग्रामीण क्षेत्रका सहायक मार्ग पनि वर्षासँगै पहिरो आएकाले अवरुद्ध छन् ।  विद्युत् अवरुद्ध हुँदा सेवाग्राही अन्धकारमा शनिबार बिहानदेखि विद्युत् अवरुद्ध हुँदा बुटवल पावर कम्पनीका ४० हजार सेवाग्राही मर्कामा परेका छन् । शुक्रबारदेखिको अविरल वर्षासँगै आँधीखोलामा आएको बाढीका कारण विद्युत् सेवा अवरुद्ध भएको छ । स्याङ्जाको गल्याङस्थित बुटवल पावर कम्पनी (बीपीसी)को आँधीखोला जलविद्युत् आयोजनाको बाँधस्थलमा क्षति पुर्याएपछि शनिबार बिहान ८ बजेदेखि विद्युत् सेवा अवरुद्ध भएको हो । रासस

सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौं । स्थानीय बजारमा सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।  शुक्रबार भने उक्त सुन प्रतितोला एक लाख ४४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।यसअघि गत जेठ २५ गते एक लाख ४५ हजार रुपैयाँमा कारोबार भएको थियो।  यस दिन तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।  त्यस्तै, चाँदीको मूल्य पनि बढेर कारोबार भएको छ । चाँदी तोलामा २० रुपैयाँ बढेर एक हजार ८९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।      

गण्डक ब्यारेजमा पानीको बहाव उच्च, सबै ढोका खोलियो

नवलपुर। लगातारको वर्षाको कारण नारायणी नदीमा पानीको बहाव उच्च भएपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ। संरचना पुरानो भएकाले गण्डक ब्यारेजमा तीन लाख क्युसेक पानीको प्रवाहमा खतराको सूचक मानिन्छ। बिहान ९ गते ब्यारेजमा ३ लाख ९५ हजार क्युसेक पानीको प्रवाह छ । पानीको बहाव उच्च भएपछि २ लाख ६० हजार क्युसेक बहाव हुँदा ब्यारेजका सबै ३६ वटै ढोका खोलिएको थियो। तर , पानीको सतह भने बढ्दै गएको छ। बिहान ७ बजे पानीको बहाल ४ लाख १५ हजार क्युसेक मापन गरिएको गण्डक ब्यारेजका भुआर्जन अधिकृत काशीनाथ हरिजनले जानकारी दिए।  नारायणी नदीले देवघाटमा खतराको सतह पार गरेपछि ब्यारेजमा पानीको सतह थप बढ्ने हरिजनले बताए।

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं। नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। बैठक बिहान १० बजे ल्होत्से हलमा बस्नेछ। संसद् बैठक बस्नुअघि एमालेले संसदीय दलको बैठक बोलाएको हो। नेपाली कांग्रेस र एमालेबीच सत्तासाझेदारी गर्ने सम्बन्धमा समझदारी भएअनुरुप भावी योजनाबारे छलफल गर्न बैठक आह्वान गरिएको जनाइएको छ।

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । संघीय संसद प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी र कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ। यस्तै, प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले प्रतिनिधिसभामा उत्पत्ति भएको ‘विनियोजन विधेयक, २०८१’का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराउने छन्। पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८०’ पेश गर्ने कार्यक्रम छ। यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९–२०८०’ पेश गर्ने कार्यसूची रहेको छ ।  

देशैभर वर्षा, यी प्रदेशमा धेरै वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वदेखि पश्चिमसम्म नै सरदर स्थानको उत्तरमा अवस्थित छ। देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको छ। कोसी, वाग्ममती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई  स्थानमा  हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार आज दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। सबै प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेस प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेशको एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ। त्यसैगरी, जल तथा मौसम विज्ञान विभागका अनुसार राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा  गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ।

एकीकृत समाजवादीको बैठक भोलि पनि बस्ने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को आज बसेको प्रथम बैठक भोलि ११ बजे बस्ने गरि स्थगित भएको छ।  बैठकले दशौँ राष्ट्रिय महाधिवेशनको  प्रारम्भीक समीक्षा गर्दै  महाधिवेशनले सम्पूर्ण नेपालीको ध्यानाकर्षण गराउन सफल भएको निष्कर्ष निकालेको छ। बैठकले महाधिवेशन भव्यताका साथ सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ। बैठकले अर्को व्यवस्था नहुन्जेल सम्म तत जिम्मेवारीलाई निरन्तरता दिने अन्तरिम व्यवस्था गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए। भोलि बस्ने बैठकले कमिटीलाई पूर्णता दिन मापदण्ड बनाएर अघि बढ्ने प्रचार विभाग प्रमुख  खतिवडाले जानकारी गराए।

दोलखामा बाढीले तीन घर बगायो, एक जना बेपत्ता

दोलखा । दोलखाको गौरीशङ्कर गाउँपालिका–९ स्थित डोडाङमा अविरल वर्षापछि आएको बाढीमा परेर सोही स्थानका एक जना बेपत्ता भएका छन् भने तीन वटा घर बगेका छन्। शुक्रबार राति रोल्वालिङ खोलाको बाढीले रोल्वालिङ पदमार्ग डोडाङमा होटल सञ्चालन गर्दै आएकी ६४ वर्षीया जाङ्मु शेर्पा सम्पर्कविहीन भएकी गौरीशङ्कर–९ का वडाध्यक्ष निमा गेली शेर्पाले बताए। वडाध्यक्ष शेर्पाका अनुसार बाढीबाट भएको क्षतिको विवरण संकलन भइरहेको बताए। छ्योतछयोत सिमिगाउँकी जाङ्मु शेर्पा करिब ३० वर्षदेखि गौरीशङ्कर–९ डोडाङमा होटल व्यवसाय गर्दै आएकी थिइन्। 

मधेसमा जनमत र एमाले बाहेकका सबै मन्त्री बर्खास्त

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले जनमत र एमाले बाहेकका सबै मन्त्रीलाई बर्खास्त गरेका छन्।मुख्यमन्त्री सिंहले सबै मन्त्रीलाई राजिनामा दिन आग्रह गरेपछि राजिनामा दिन नमानेपछि सबैलाई बर्खास्त गरिएको बताए।  मधेस सरकारमा माओवादीबाट संसदीय दलका नेता भरत साह अर्थ मन्त्री र युवराज भट्टराई उद्योग वाणिज्य तथा पर्यटन मन्त्री, नेकपा एसका संसदीय दलका नेता गोविन्द न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र बेची लुंगेली ऊर्जा सिँचाइ तथा खानेपानी मन्त्री नागरिक उन्मुक्ति पार्टीकी एक मात्र सांसद उर्मिला चौधरी श्रम तथा रोजगार र नेपाल संघीय समाजवादी पार्टीकी पनि एक्ली सांसद विमला अन्सारी गृह तथा सञ्चार मन्त्रीलाई बर्खास्त गरिएको हो । 

एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौं ।नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक आइतबार बिहान १० बजे नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्ने बताइएको छ । बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम तथा कांग्रेससँगको सत्ता समीकरणको सहमतिबारे सांसदहरुलाई जानकारी गराउने प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । गत सोमबार राति कांग्रेससँग सत्ता समीकरणको सहमतिसँगै एमाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिसकेको छ । यस्तै, सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । कांग्रेस र एमालेबीच सरकारको नेतृत्व आलोपालो, संविधान संशोधन लगायतका विभिन्न बुँदामा सहमति भएको छ ।

यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल असार २२ गते शनिबार सन् २०२४ जुलाई ६ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। बेलायती पाउण्डको खरिदले १७० नाघ्दा र बिक्रीदरले १७१ रुपैयाँ पार गरेको छ । राष्ट्र बैंकका अनुसार शनिबार अमेरिकी डलर र कतारी रियालको मूल्य घट्दा यूरो र बेलायती पाउण्डको विनिमयदर बढेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २८ पैसा र बिक्री दर १३३ रुपैयाँ ८८ पैसा पुगेको छ।युरो एकको खरिद दर १४४ रुपैयाँ २४ पैसा र बिक्री दर १४४ रुपैयाँ ८८ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ४४ पैसा र बिक्री दर १७१ रुपैयाँ २१ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५५ पैसा र बिक्री दर ३६ रुपैयाँ ७१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर