स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा व्यथितिः एउटै शिर्षकमा २६ पटक रकमान्तर

स्याङ्जा। स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले एउटै शिर्षकमा २६ पटक रकमान्तार गरेको पाइएको छ ।

महालेखा परीक्षक कार्यालयद्धारा सार्वजनिक ५९ औँ वार्षिक प्रतिवेदनअनुसार कालीगण्डकी गाउँपालिकाले मूल बाटो र शाखा बाटो सरसफाइका लागि २६ पटक रकमान्तर गरेको पाइएको हो ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७३ मा स्वीकृत सीमा र शीर्षकबाहिर गई खर्च गर्न नपाउने व्यवस्था छ ।

कालीगण्डकी गाउँपालिकाको सभाले मूल बाटो र शाखा बाटो सरसफाइका लागि रु ८३ लाख २१ हजार बजेट विनियोजन गरेको थियो ।

पार्टी फुटाउन खोजेको भन्द बाबुराममाथि यादवको कारबाही

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)का केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई लगायतका नेताहरुले पार्टी फुटाउने प्रयास गरेकाले कारबाही गरिएको बताएका छन् । शुक्रबार वीरगञ्जमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष यादवले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई लगायतका ९ जना नेताहरुले पार्टीको एकता तोड्ने प्रयास गरेकाले कारबाही गरिएको बताए । बिहीबार सम्पन्न जसपाको केन्द्रीय समिति बैठकले डा। भट्टराईसहित, गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, रमेश यादव, हिसिला यमी र भक्तबहादुर शाह लगायतका नेताहरुलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको उनले जानकारी दिए । कारबाहीमा पर्ने नेताहरुले पार्टीको हित विपरित काम गरेको, पार्टीको सिद्धान्त विपरित अभिव्यक्तिहरु दिएको र छुट्टै पार्टी खोल्ने निर्णय गरेको उनले आरोप लगाए । उनले भने, ‘अर्को पार्टी बन्ने निर्णय भइसकेपछि डा। बाबुराम भट्टराई, महेन्द्र राय यादव, गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, रमेश यादव, हिसिला यमी, भक्त बहादुर शाह लगायत ९ जना प्रमुख भुमिका खेल्नेहरुलाई पार्टीको हित विपरित, पार्टीको एकतालाई तोड्ने प्रयास गरेको र पार्टीको जुन घोषित लक्ष्य छ, उद्देश्य छ, सिद्धान्तका विपरित अभिव्यक्तिहरु दिएको र छुट्टै पार्टी खोल्ने निर्णय समेत, नयाँ पार्टी स्थापना गर्ने भन्ने निर्णय समेत गरिसकेको अवस्थामा उहाँहरुलाई पार्टीमा सम्हालेका पद र सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको छ । पदमुक्ति सँगै सम्पूर्ण जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरिएको छ ।’ अध्यक्ष यादवले सरकारले संसदमा पेश गरेको नागरिकता सम्बन्धी विधेयकलाई फाष्ट ट्रयाकमा पारित गर्नुपर्ने बताए । उनले फाष्ट ट्रयाकमा पारित गर्न गठबन्धनमा समझदारी पनि बनेको स्पष्ट पारे । जसपामा विवाद बढेपछि संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले भने केन्द्रीय समितिको छुट्टै बैठक काठमाडौंमा सम्पन्न गरेका थिए । यादव पक्षको यो निर्णय सँगै जसपा औपचारिक विभाजनको नजिक पुगेको छ ।

विवादित गभर्नर अधिकारीले राजीनामा दिनुपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गभर्नर महाप्रसाद अधिकारीले राजीनामा दिनुपर्ने बताएका छन् । विवादमा आएको भन्दै राजीनामा दिएर वातावरण सहज बनाउँनुपर्ने उनको धारणा थियो । नेकपा एमालेले एम अधिकारी, खोटाङको नाममा अर्थ तथा योजना विभागको सदस्यमा राखेपछि गभर्नर अधिकारी विवादमा परेका छन् । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको शुक्रबार बसेको बैठकमा नेताहरुले पनि यो विषय उठाएका थिए । त्यसक्रममा प्रधानमन्त्री देउवाले अधिकारीले राजीनामा दिनुपर्ने बताएका छन् । बैठकमा सहभागी एक नेता भन्छन्, ‘नेताहरुले कुरा उठाउनु भएको थियो । प्रधानमन्त्रीले नैतिक रुपमा पनि राजीनामा दिनुपर्छ । राजीनामा दिनु बाहेक के विकल्प हुन्छ र ? भन्नु भएको छ ।’

रसुवागढी–केरुङ नाकामा दुईतर्फी ब्यापार सञ्चालन गर्ने सहमति

काठमाडौं । नेपाल र चीन रसुवागढी–केरुङ नाकामा दुईतर्फी ब्यापार सञ्चालन गर्न सहमत भएका छन् । नेपाल–चीनबीच बिहिबार भएको सीमा परामर्श बैठकमा उक्त सहमति भएको हो । भर्चुअल रुपमा बैठकमा चीनले स्वास्थ्य मापदण्ड पालना गर्दै रसुवागढी नाकाबाट दुवै मुलुकमा सामान आयात निर्यात सुचारु गर्न सहमति जनाएको हो । रसुवागढी नाका कोभिड–१९ महामारी सुरु भएदेखि आंशिक मात्रै संचालनमा रहेको छ । परामर्श बैठकमा नेपाली टोलीको नेतृत्व परराष्ट्र मन्त्रालयका उत्तर पूर्वी एसिया महाशाखा प्रमुख लोकबहादुर थापा र चिनियाँ टोलीको नेतृत्व विदेश मन्त्रालयको सीमा तथा समुन्द्री मामिला विभागका महानिर्देशक होङ लियाङले गरेका थिए । त्यस्तै दुई देशबीच हुम्लाको हिल्सा–पुराङ सीमा बन्दरगाह खोल्ने निर्णय पनि भएको छ । परराष्ट्र मन्त्रालयले दुई देशबीच आयात निर्यात ब्यापारका लागि महामारी रोकथाम र नियन्त्रण संयन्त्र स्थापना गर्ने समेत सहमति भएको जनाएको छ ।

लागू औषधसहित प्रहरी हवल्दार पक्राउ

सर्लाही । सर्लाहीको नवलपुरबाट लागूऔषधसहित प्रहरी हवल्दार पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय नवलपुरमा कार्यरत वरिष्ठ प्रहरी हवल्दार सुवोध कुमार सिंह बिहीबार दिउँसो लागूऔषध कारोबारमा संलग्न रहेको भन्दै प्रहरी हिरासतमा पुगेका हुन् । प्रहरी हवल्दार सिंहले उखुबारीभित्र तीनवटा बोरामा लुकाएर राखेको कोडिवेल नामक कोरेक्स एक सय एमएलको ४ सय ४६ पिस र विनसिरेक्स १ सय एमएलको १ सय ५३ बोतल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ । लालबन्दी नगरपालिका–१ नवलपुरस्थित उखुबारीभित्र लुकाएर राखिएको लागूऔषधसहित सिंहलाई पक्राउ गरिएको सर्लाही प्रहरीका प्रमुख ९एसपी० प्रवीण पोखरेलले जानकारी दिनुभयो । सिंहले सुरूमा बोराभित्र रहेको उक्त लागूऔषध नवलपुर बजारकै एक पसलमा राख्न दिएको र पछि पसलेले धेरै दिन भएपछि बोरा लैजान दबाब दिएपछि उनले उखुबारीमा लगेर लुकाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । रौतहट घर भएका हवल्दार सिंहलाई अहिले इलाका प्रहरी कार्यालय लालबन्दीको हिरासतमा राखि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गठबन्धनको बैठक सकिए लगत्तै मन्त्रीपरिषद् बैठक बस्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक बिहान साढे १० बजेका लागि बोलाइए पनि सत्ता गठबन्धनको बैठक बसिरहेको कारण केही ढिलाइ हुने भएको छ । मन्त्रीहरु निर्धारित समयमै बालुवाटार पुगेका छन् । गठबन्धनको बैठक सकिए लगत्तै मन्त्रिपरिषद बैठक सुरु हुने बताइएको छ । बालुवाटारमा जारी बैठकमा सत्तारुढ दलका शीर्ष नेताहरू प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा नागरिकता विधेयक, आगामी निर्वाचनको मिति तोक्ने लगायतका विषयमा छलफल भइरहेको बुझिएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज शुक्रबार १ बजे तीन दिने भारत भ्रमणमा जानुअघि गठबन्धनको बैठक बसेको हो ।

प्रचण्ड भारत भ्रमणमा निस्कनुअघि बालुवाटारमा गठबन्धनको बैठक

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध ५ दलको बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्रीको सरकारी निवासमा साढे नौ बजेबाट बसेको बैठकमा सत्तारुढ दलका शीर्ष नेताहरू प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा नागरिकता विधेयक, आगामी निर्वाचनको मिति तोक्ने लगायतका विषयमा छलफल भइरहेको बुझिएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज शुक्रबार नै तीन दिने भारत भ्रमणमा जानुअघि समसामहिक विषयमा छलफलका लागि गठबन्धनको बैठक बसेको हो ।

चट्याङ लागेर एक जनाको मृत्यु, दुई घाइते

ताप्लेजुङमा चट्याङ लागेर बिहीबार एकजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । मृत्यु हुनेमा मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका १५ वर्षीय लालकुमार शेर्पा छन् । मकै गोड्ने क्रममा चट्याङ लागेर शेर्पाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चट्याङ लागेर सोही ठाउँका १९ वर्षीय निमतेम्वा शेर्पा र १२ वर्षीय निमल्हमु शेर्पा घाइते भएका छन् । घाइते दुवै जना स्थानीय स्वास्थ्यचौकीमा उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।

हतियार किन्ने निर्णय गरिएको छैन : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले हतियार किन्ने निर्णय नगरेको बताएका छन् । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सदस्यहरुले देशमा डलरको सञ्चिती घटेर अर्थतन्त्र धरासयी बनिरहेका बेला नेपाल प्रहरीका लागि डलर खर्च गरेर हतियार किन्न लागेको भन्दै सरकारमाथि प्रश्न उठाएका थिए । बैठकमा अर्जुननरसिंह केसी र अन्तिममा बोलेका गोपालमान श्रेष्ठले यसबारमा कुरा उठाएका थिए । श्रेष्ठले हतियार किन्न लागेको हो भने सरकारले रोक्नु पर्ने भनेपछि देउवाले उनलाई रोकेर भने, ‘हतियार किन्ने कुरा कहाँ छ ? हतियार किन्ने कुरा सरकारले गरेको छैन ।’   विदेशी मुद्रा सञ्चितिका घटेका कारण अर्थतन्त्र धरासायी बन्ने भन्दै आयातमा कडाइ गरिरहेका बेला सरकारले नेपाल प्रहरीका लागि ८४ करोड रुपैयाँ बराबरको हतियार तथा भिड नियन्त्रण सामग्री खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । नेपाल प्रहरीले सात वर्ष अघिदेखि हतियार खरिद नभएको भन्दै एक अर्ब ३५ करोड रुपैयाँ बराबरको हतियार तथा गोलीगठ्ठा खरिद गर्ने प्रस्ताव गरेको थियो । तर सरकारले यो आर्थिक वर्षको अन्त्यतिर प्रहरीलाई हतियार खरिदका लागि ८४ करोड रुपैयाँ रकमान्तर गरिदिएको छ । जसका कारण सरकारको आलोचना भइरहेको छ ।

फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान देशकै डिम प्रोजेक्ट हाे : मन्त्री अथक

धनगढी । फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिले आगामी वर्षदेखी काम थाल्ने भएको छ । समितीको कार्यसुचि अन्तर्गत तालीका बनाएर काम अगाडी बढाइैने बताइएको हो । समितिले धनगढी उपमहानगरपालिकाभित्रको उपर्युक्त स्थानमा यथाशिघ्र कार्यालय स्थापना गर्ने, समितिका लागि आवश्यक कर्मचारीको अस्थायी दरबन्दी स्वीकृतिका लागि मन्त्रालयलाई सिफारिस गर्ने, डीपीआर तयारीका लागि कार्यक्षेत्रगत शर्त तथा लागत अनुमान तयार गर्ने र डीपीआर तयारीका लागि परामर्शदाता छनोट गर्ने कार्य अघि बढाउँने, ईआईएको कार्य अघि बढाउँन कार्यक्षेत्रगत शर्त तथा लागत अनुमान तयार गरी परामर्शदाता छनौटको कार्य अघि बढाउँने, समितिलाई चाहिने आगामी आव २०७९–८० का लागि आवश्यक बजेट नेपाल सरकारबाट माग गर्ने लगायतका निर्णय गरेको जनाएको छ । युवा तथा खेलकुद मन्त्रालयका माननीय मन्त्री श्री महेश्वर जंग गहतराज (अथक)ले फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम सुदूरपश्चिमको मात्रै नभई देशकै विकासको कोशेढुंगा रहेकोले सरकारले यसलाई उच्च प्राथमिकतामा राखि निर्माणकार्यलाई द्रूत गतीमा अघि बढाउँने प्रतिबद्धता जनाएका छन् । उनले विकासमा राजनीति गर्न नहुने दोहोर्याउँदै रंगशाला निर्माण अभियानमा जोडिन सम्पूर्णलाई आह्वान गरेका छन् । यस्तै समितिका अध्यक्ष शाहीले सुदूरपश्चिमबासीले लामो समयदेखि देख्दै आएको फाप्लामा रंगशाला बनाउँने सपना साकार हुने भन्दै यस सपनालाई साकार गर्न सबै तहका सरकार तथा आम जनताको सहयोगका लागि अपिल गरेका छन् । सो क्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव डा.दमोदर रेग्मीले पूर्वाधार निर्माण सम्बन्धि जारी गठन आदेशले नेपालमा विकास पूर्वाधार निर्माणको नयाँ मोडल परिकल्पना गरेकाले यो पूर्वाधार निर्धारित समयमा बन्ने कुरामा आफू ढुक्क रहेको बताए । यस्तै समितिका नवनियुक्त कार्यकारी निर्देशक शेर बहादुर बि.सी.ले सुदूरपश्चिम क्षेत्रको विकासमा कोशेढुंगा सावित हुने पूर्वाधार निर्माण सम्बन्धि परियोजनाको मुख्य जिम्मेवारी सम्हाल्न पाउँदा खुशी लागेको बताउँदै यस अवसर र चुनौतीको सही सदुपयोग गर्दै समयमै सम्पन्न गर्ने कार्यमा आफ्नो पूर्ण प्रतिबद्धता व्यक्त गरे ।  

त्रिविले विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको भन्दै कारबाही गर्न निर्देशन

काठमाडौं ।त्रिभुवन विश्वविद्यालयले विद्यार्थीको भविष्यमा खेलबाड गरेको भन्दै तुरुन्त कारबाही गर्न शिक्षा तथा स्वास्थ्य समिति बैठक समितिले सरकारलाई निर्देशन दिएको छ । सभापति जयपुरी घर्तीको अध्यक्षतामा सिंहदरबारमा बसेको बेठकले उक्त निर्देशन दिएको हो । बैठकमा त्रिभुवन विश्वविद्यालयले संचालन गरेको स्नातक र स्नातकोत्तर तहको परिक्षामा गतसालको प्रश्नपत्रहरु हुबहु दोहोरिएर आएको र स्नातक तहको प्रश्नपत्रमा शीर्षक समेत अर्कै विषय लेखेको तर भित्र अर्को विषय भएको प्रति समितिले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । सो छलफलमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देविन्द्र पौडेल, समितिका सदस्यहरु, मन्त्रालयका प्रतिनिधि, त्रिभुवन विश्वविद्यालयका उपकुलपति र रेक्टर लगायतको सहभागिता रहेको थियो ।सभापति शैक्षिक क्षेत्रको लापरबाही टुलुटुलु हेरेर बस्न नहुने बताइन् ।

उपसभामुखमा गठबन्धनबाट भुसाल र एमालेबाट भट्टराईको उम्मेदवारी

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि दुईजनाको उम्मेदवारी दर्ता भएको छ। सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल गौतम र प्रमुख प्रतिपक्ष दल एमालेको तर्फबाट सांसद विद्या भट्टराईले उम्मेदवारी दर्ता गरेकी हुन् । बिहीबार संघीय संसद् भवन नयाँबानेश्वर पुगेर उनीहरूले उम्मेदवारी दर्ता गराएका हुन्। भुसालले माओवादी केन्द्रका देव गुरुङको प्रस्ताव र एकीकृत समाजवादीकी लक्ष्मीकुमारी चौधरीको समर्थनमा तथा भट्टराईले शान्ता चौधरीको प्रस्ताव र कृष्णभक्त पोखरेलको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन् ।

विराटनगरको नाङ्लो रेष्टुरेन्टमा आगलागी

विराटनगर । विराटनगरको तीनपैनी चोकमा रहेको नाङ्लो रेष्टुरेन्टमा आगलागी भएको छ । बिहीबार दिउँसो रेष्टुरेन्टमा आगलागी भएको हो । आगलागीका कारण रेष्टुरेन्ट पूर्णरूपमा जलेको प्रहरीले बताएको छ । आगोले रेस्टुरेन्ट नजिक रहेको प्रतिनिधि सभा सदस्य मोति दुगडको घरमासमेत सामान्य क्षति पुगेको छ ।   आगो नियन्त्रणमा आए पनि क्षतिको विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

काठमाडौंमै चितुवाको आक्रमण, ५ जना घाइते

काठमाडौं । काठमाडौंमा चितुवाको आक्रमणमा परी पाँच जना घाइते भएका छन् । बुधबार राति साढे एक बजे नागार्जुन नगरपालिका८ भीमढुङ्गामा घरमा पसेर चितुवाले आक्रमण गर्दा पाँच जना घाइते भएका हुन् ।   भीमढुङ्गास्थित हर्सनखोलामा ४९ वर्षीय पन्चकुमार भट्टराईको घरमा चितुवाले आक्रमण गरेको थियो । चितुवाको आक्रमणबाट उनको परिवारका पाँच जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूको मनमोहन अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको शरीका विभिन्न ठाउँमा चोट लागेको छ ।

सीपीसी विदेश विभाग प्रमुख लिउले भनेः बीपी, महेन्द्र र प्रचण्ड नेपालका धेरै अग्ला नेता हुन्

काठमाण्डौं । चार दिने नेपाल भ्रमणमा आएका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओले चिनियाँ माझ नेपालका तीन नेताको स्थान उच्च रहेको बताएका छन् । नेपालमा काँग्रेस संस्थापक बीपी कोइराला, तत्कालीन राजा महेन्द्र शाह र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको औसतभन्दा बढी राजनीतिक उचाइ हासिल गरेका नेता भएको उनको टिप्पणी थियो । लिउले मंगलबार माओवादी अध्यक्ष प्रचण्डसँग उनकै निवास खुमलटारमा भएको दुई घण्टा लामो वार्तामा प्रचण्डको खुलेरै प्रशंसा गरे । ‘चिनियाँहरुका बीचमा विशेष गरेर तीन जना नेपाली नेताहरु चर्चित र सम्मानित हुनुहुन्छ’, लिउको भनाइ उद्धृत गर्दै भेटमा सहभागी एक माओवादी नेताले भने, ‘बीपी कोइराला, राजा महेन्द्र र प्रचण्डको उचाइको नेता नेपालमा अरु छैनन् ।’ बीपी र महेन्द्र दिवंगत भइसकेको उल्लेख गर्दै उनले चीनका नेता र जनस्तरमा समेत धेरैपटक आफूले प्रचण्डका विषयमा चर्चा सुन्ने गरेको उल्लेख गरे । यस्तै पछिल्लोपटक अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) रोक्न निर्णायक भूमिका खेलेकामा पनि चिनियाँ नेताले प्रचण्डको प्रशंसा गरे । हिन्द प्रशान्त रणनीतिको अंगका रुपमा चीन घेर्ने उद्देश्यका साथ आएको एसपीपी रोकेर राम्रो काम गरेकामा उनले नेपालको सरकार, राजनीतिक दलका नेता र जनतालाई धन्यवाद दिए । दुई घण्टा अरु नेताहरुसहित सामूहिक वार्ता गरेका लिउ र प्रचण्डले एक घण्टा एक्लाक्लै कुराकानी गरेका थिए ।

प्रतिशतमा कमिशन खाएर बजेट विनियोजन गरिएको भन्दै सुदूरपश्चिम सरकारको चर्को विरोध

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाश बहादुर रावलले प्रदेश सभा बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७९–०८० को बजेटमाथि चार सातापछि बुधबार मात्र छलफल सुरु भयो। छलफलमा भाग लिँदै सत्तापक्ष र प्रतिपक्ष सबै दलका सासंदहरुले आवश्यकता र औचित्यको आधारमा नभई बिचौलियाको सेटिङमा कमिशन खाएर बजेट विनियोजन गरिएको भन्दै चर्को बिरोध गरेका छन्। सासंदहरुले शंसोधन गरेर मात्र यो बजेट पारित हुनुपर्ने माग राखेका छन्। नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य कुन्ती जोशीले प्रतिशत कमिशन खाएर बजेट र योजना बितरण गरिएको भन्दै बिरोध गरिन्। उनले क्रमागत योजना, ठेक्का भएका योजनामा पनि बजेट विनियोजन नगरिएको बताइन्। नेपाली कांग्रेसका प्रदेश सभा सदस्य भरत बहादुर खड्काले सरकारले ल्याएको बजेट देखेर लज्जाबोध भएको बताए। सरकारको नियत ठिक भएको भए बिगतका विकृती हटाएर ल्याउन सक्नु पर्नेमा त्यस अनुसार बजेट नआएको उनले बताए। सरकारले जनताको आवश्यकताको आधारमा नभई बिचौलियाको आधारमा ल्याएको बजेटका कारण जनतामा घृणा पैदा भएको बताए। प्रदेश संरचनामाथि नै वितृष्णा उत्पन्न भएको बताए। प्राविधिक दृष्टीकोणले त पास होला, स्वतन्त्ररुपमा बजेटको पक्षमा मत हालेमा मन्त्री बाहेक कुनै सासंदले मत हाल्दैन, ११ मन्तीमा पनि ४, ५ जनाले मत हाल्दैनन् गैर जिम्मेवार ढंगले सत्ताको प्रयोग गरिएको उनले बताए। ‘सत्ताको उन्माद लाग्नू नहुने उल्लेख गर्दै भोलिका दिनमा छिमेकी, वरपरका मान्छेले घृणा गर्ने, घरमा आगो लाग्ने र ठाउँ छोड्ने दिन नआओस’ उनले भने। ‘करको कुराको सूचना पनि चुहाइएको छ, यो अपराध हो, जनबिरोधी,राष्ट्र विरोधी काम हो।’ सत्ता पक्षका सासंदले विपक्षी दलका भन्दा बढी असन्तुष्टी र आक्रोश व्यक्त गरेका छन्। मुख्यमन्त्रीले सहकार्यको राम्रो कुरा गर्दै बजेट बनाउदाँ बिचौलियासँग सहकार्य गरेको हो भनेर उनले प्रश्न गरे। बिभागिय मन्त्रीलाई समेत योजना काटेको र कुन योजना हालेको थाहा नभएको उनले बताए। मन्त्रीसँग समेत सहकार्य नगरेको उनको भनाई छ। सरकारले ल्याएको बजेटका कारण प्रदेश संरचनामाथि नै वितृष्णा पैदा भएको उनले बताए। नेकपा माओवादी केन्द्रका प्रदेश शभा सदस्य महेश दत्त जोशीले बिचौलियाहरुको प्रभावबाट यो बजेट बनेको बताए । जनताले भनिरहेका छन् ‘दलालहरुका योजना परे, तपाईँहरुका योजना परेन। जनताले नमागेका ठाउँमा पनि बजेट गएका छन्।’ बिचौलियाकोे पोल्टामा नजाने गरी बजेट सन्तुलन हुने गरि बजेट शंसोधन भएमात्र पारित हुनुपर्छ। त्रुटीहरु सच्याईनुपर्छ। बजेटलाई निजी पेवा सम्पती बाँडे जस्तै बाडिएको उनले बताए। जनताले नमागेको ठाउँमा पनि बजेट विनियोजन गरेको उल्लेख गर्दै बिचौलिया र ठेकेदारले माग गरेर विनियोजन गरिएको उनको भनाई छ। ‘ बजेटमाथि सरकारले छानविन गर्नुपर्छ। एक दुई मन्त्रीको खल्तीको जस्तो बजेट भयो।‘ यती मनोमानी ढंगले बजेट ल्याइयो, व्यवस्था प्रति नै बितृष्ण पैदा हुने भो’ करका प्रवाधानमा पनि बिचौलियाको आधारमा हेरफेर गरेको सरकारको नियतमाथि शंका लाग्छु, उनले भने। यो बजेट सच्याउन उनले माग गरे। नेकपा एमालेका प्रदेशसभा सदस्य पठान सिंह बोहराले सत्तापक्ष र विपक्षी दलका सासंदहरुको बुझाई र धारणा एउटै रहेको बताए। यहाँ छलफलमा सासंदहरुको एउटै आवाज आउदाँ को सत्तापक्ष र को प्रतिपक्ष छुट्याउन सकिने अवस्था छैन। प्रतिपक्ष दलका एक सासंदलाई प्रलोभन दिएर बजेटको पक्षमा बोल्न आग्रह गरेको उल्लेख गर्दै सरकारको नियत नै गलत भएको बताए। ‘क्रमागत, बहुवर्षिय गौरवका योजना काटिएका छन्, शिक्षा, स्वास्थ्य,महत्वपुर्ण योजनामा न्युन बजेट छ। अनुत्पादक रुपमा बजेट वितरण गरिएको छ’ उनले भने, ‘शिक्षा, स्वास्थ्य, खेलकुदमा कम बजेट छ तर मन्दिरमा धेरै बढी बजेट छ, समाजिक मन्त्रालयमार्फत पनि मन्दिरमा बजेट छ।’ संसदमा आज मात्र छलफल सुरु भएपनि बिचौलियाको सेटिङमा, कमिशनको खेलमा ल्याइएको बजेटको कुरुप रुपवारे जनताका बिचमा पहिलेदेखि व्यापक छलफल भैसकेको उनले बताए। ‘यो संसदको कार्यकाल सकिदैछ, हामी के छोडेर जादै छौं, उनले प्रश्न गरे। नेकपा एकीकृत समाजवादीका सासंद शुसिला बुढाथोकीले बजेट सन्तुलित नभएको बताइन्। मुख्यमन्त्री र मन्त्रीको जिल्ला र निर्वाचन क्षेत्रमा धेरै बजेट बिनियोजन भएको तर सासंदहरुको निर्वाचन क्षेत्रमा न्युन बजेट बिनियोजन भएको उनले बताइन्। जनताको आवश्यकता अनुसार नभएर मन्त्रीको मनोमानीरुपमा बजेट विनियोजन भएको उनको भनाई छ। नेकपा एमालेका सासंद कृष्णराज सुवेदीले बजेट र योजनाको वितरणमा सेटिङ मिलाउन सरकारले धनगढीका दुई होटलमा बिचौलियासँग कुरा गरेको बताए। सरकारलाई सच्चिन उनले माग गरे। विपक्षी दलहरुसँग १४ बुदे सहमति भएपछि बुधबार प्रदेश सभा बैठकमा छलफल सुरु भएको हो। यसअघि प्रतिपक्ष दलका साथै सत्ता पक्षकै सासंदहरुले पनि चर्को असन्तुष्टी र विरोध गरेकाले बजेट माथिको छलफल नै हुन सकेको थिएन। बजेटमाथि छलफलका लागि असार ८ गते, असार १२ गते र असार १६ र असार २६ गतेको प्रदेश सभाको बैठक सुरु हुनुअघि नै सूचना टाँस गरेर स्थगित गरिएको थियो। बजेट प्रस्तुत पछि पहिलो पटक सोमबार बसेको प्रदेश सभा बैठकमा विपक्षी दल नेकपा एमाले, जसपा र लोसपाका सासंद अनुपस्थित भएकाले शभामुख अर्जुन बहादुर थापाले कामकारबाही सुरु नगरि बैठक स्थगितको घोषणा गरेका थिए। मंगलबार दिउँसो १२ बजको बसेको बैठकमा विपक्षी दलका साथै नेपाली काँग्रेस र एकीकृत समाजवादीका सासंद पनि अनुपस्थित थिए। गणपुरक संख्या नपुगेकाले शभामुख थापाले बैठक स्थगित गरेका थिए। भने दोश्रो पटक मंगलबार दिउँसो ३ बजे बसेको बैठक पनि विपक्षी दलको बहिष्कारका कारण शभामुख थापाले स्थगित गरे। मुख्यमन्त्री त्रिलोचन भट्ट र प्रतिपक्ष दल नेकपा एमाले, जसपा, लोसपाबीच बुधबार १४ बुँदे वार्ता भएपछि बजेटमाथिको छलफल सुरु भएको हो। बजेट शंसोधन गरेर मात्र पारित गरिनुपर्ने आफूहरुको माग सरकार सकरात्मक भएकाले बजेट छलफलमा सहभागी भएको नेकपा एमालेका सासंद वोहराले बताए। आफूहरुको कमजोरी भएको सरकारले स्विकारे गल्ती सुधार्ने प्रतिबद्धता भएपछि बजेटमाथि छलफल भएको उनले बताए। प्रदेश सरकारले १ असारमा आगामी आर्थिक वर्ष २०७९र०८० का लागि प्रदेश सरकारको ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजारको बजेट सार्वजनिक गरेको थियो।नागरिक दैनिकमा खबर छ ।