बोर्डका अध्यक्ष केसीविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं। चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी विरुद्धको रिटमा सोमबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

अध्यक्ष केसीको शैक्षिक योग्यता नपुगेको भन्दै उनको नियुक्तिविरुद्ध गत बिहीबार सर्वोच्चमा रिट दर्ता भएको थियो । उक्त मुद्दाको सुनुवाइ सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा परेको छ ।

साउन ९ गते बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्षमा केसीलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

उक्त नियुक्त विरुद्ध नरेश पौडेलसहित पाँच जनाले शैक्षिक योग्यता नपुग्ने भन्दै नियुक्ति बदरको माग गरी केसीविरुद्ध रिट दर्ता गरेका थिए ।

रुपन्देहीमा लुटपाट गरी गुरुङ माथि गोली प्रहार

बुटवल । रुपन्देहीको ओमसतियामा लुटेराको गोली प्रहारबाट एकजना युवक गम्भीर घाईते भएका छन् । अज्ञात समूहले चलाएको गोली लागेर सिद्धार्थनगर नगरपालिका १ वेलहिया बस्ने बिकास गुरुङ घाईते भएको प्रहरीले जनाएको छ । रुपन्देहीको ओमसतिया ४ बसन्तपुरमा अज्ञात समूहले गुरुङमाथि गोली प्रहार गरेको थियो । प्रत्यक्षदर्शीका अनुसार रोहिणी गाँउपालिका १ बाइपास स्थित सिद्धर्थ कटेजमा करिब ११ बजे राती अज्ञात समूहद्वारा लुटपाट गरी भाग्दै गरेको अवस्थामा ओमसतियाको वसन्तपुर वडा कार्यालय अगाडि जम्का भेट भएका गुरुङमाथि लुटपाट गर्ने समूहले गोली प्रहार गरेको थियो । लुटेराहरुले सो कटेजबाट दुई तोला सुन र केही नगद लुटेको बताइएको छ । प्रहरीका अनुसार घाइते गुरुङले मोटरसाईकलमा भाग्दै गरेका तीन जना लुटेराहरुको समूहलाई पछ्याउँदै गएर ओभरट्याक गर्दा आफुमाथि गोली प्रहार भएको बताएका छन्। बायाँ कोखमा गोली लागेका गुरुङको युनिभर्सल मेडिकल कलेजमा उपचार भईरहेको छ । उनको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक दिपक कुँवरले बताए । गोली प्रहार गर्ने समूहको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

काठमाडौंबाट फोहोर लिएर गएका गाडी बीच बाटोमै रोकिए

काठमाडौं । काठमाडौंबाट फोहोर बोकेर बन्चरेडाँडा ल्याण्डफिल साइट पुगेका सबै गाडीहरुलाई स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुले बीच बाटोमै रोकिदिएका छन् । धादिङको धुनीबेंसी नगरपालिका वडा नम्बर १ का सत्ताधारी दलमा आवद्ध पार्टीहरुले विज्ञप्ती नै निकालेर फोहोर फाल्न नदिने भनेका थिए । धुनीबेंसी नगरपालिका वडा नम्बर १ का नेकपा एमाले र राप्रपा सहितका सत्ताधारी दलहरु समेतको संलग्नतामा गाडि रोकिएको काठमाडौं महानगरले जनाएको छ । आज सोमबार बिहान काठमाडौंबाट फोहोर लिएर गएका कुनै पनि गाडीलाई फोहोर विसर्जन गर्न दिइएको छैन् । स्थानीय बासिन्दाले स्थानीयको समस्या पहिले समाधान गर्नुपर्ने बताएका छन् । उनीहरुले स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुलाई समेत ल्याण्डफिल साइटमा प्रवेश गर्न रोकेका छन् ।

रसुवा थाम्बुचेतमा प्रहरी र स्थानीयबीच झडप, आठ प्रहरी घाइते

रसुवा । उत्तरी रसुवाको थाम्बुचेतमा प्रहरी तथा गतलाङबासीबीच भएको झडपमा प्रहरी निरीक्षक समेतका केही सुरक्षाकर्मी घाइते भएका छन् । गोल्जुङ र चिलिमेका बासिन्दा सरह अतिप्रभावित किसिमको जल विद्युत् शेयर पाउनुपर्ने माग राख्दै आन्दोलनमा उत्रेका गतलाङवासी र प्रहरीबीच आइतबार झडप भएको हो । सो झडपमा दुई प्रहरी निरीक्षक समेत आठ प्रहरी घाइते भएका छन् । आन्दोलनरत पक्षले विद्युत् आयोजनाका सवारी साधन तथा कार्यालयको भौतिक संरचना तोडफोड गर्न थालेपछि दुई पक्षका बीचमा झडप भएको थियो । घाइते हुनेमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका एकरएक प्रहरी निरीक्षकसहित तीन सशस्त्र प्रहरी र तीन नेपाल प्रहरी छन् । आन्दोलनरत गतलाङवासीको मागलाई साञ्जेन जलविद्युत्का आयोजना प्रमुख र सञ्जेन जलविद्युत् कम्पनीका प्रबन्ध निर्देशकसमेतका कम्पनी बोर्डका पदाधिकारी समेतले स्थानीयवासीको माग बेवास्ता गरी प्रहरीसँगको झडप गराउने स्थिति सिर्जना गराएको उनीहरूले आरोप लगाएका छन् । स्थानीयवासीले सञ्जेन जलविद्युत्को थाम्बुचेतस्थित कार्यालय तथा ग्यारेज परिसरमा प्रवेश गरी टिपर एक, हाइलक्स छ, लोडर दुई, छवटा मोटर साइकल अफिस, तथा टेबुल कुर्सी समेत तोडफोड गरेका जनाइएको छ । स्थितिलाई नियन्त्रणमा ल्याउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका संयुक्त सुरक्षा बलले अश्रु ग्यास र फाइरिङ गरी स्थिति नियन्त्रणमा लिएका थिए । ७५ लाख बराबरको भौतिक संरचना क्षति भएको प्रारम्भिक अनुमान गरिएको र क्षतिको यकिन तथ्याङ्क निकाल्ने काम भइरहेको जिल्ला प्रहरी प्रवक्ता विष्णुप्रदीप बत्स्यालले जानकारी दिए । स्थिति नियन्त्रणको क्रममा पाँच गतलाङका बासिन्दा पक्राउ परेका छन् । यसरी पक्राउ पर्नेमा सागर तामाङ, राजनलामा, पूणर्बहादुर तामाङ, चन्द्रमान तामाङ र पासाङ छेवाङ तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । साञ्जेन जलविद्युत् कम्पनीमा जिम्मेवार कर्मचारीले मात्र एकाधिकार निणर्य गरी आफूहरुलाई उपेक्षा गरेको गतलाङ्वासीको भनाइ छ ।

घुस लिएको आरोपमा मोहन्याल गाउँपालिकामा कार्यरत अधिकृतविरुद्ध मुद्दा

काठमाडौं। कैलालीको मोहन्याल गाउँपालिका अधिकृत दीपेन्द्र बुढाक्षेत्रीविरुद्ध ४४ हजार रुपियाँ घुस लिएको आरोप मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार आइतबार अधिकृत बुढाक्षेत्रीविरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा दायर भएको हो। साउन १ गते सेवाग्राहीबाट ३० हजार रुपियाँ घुस लिएको अवस्थामा बुढाक्षेत्रीलाई नियन्त्रणमा लिइएको थियो। आयोगले छैटौं अधिकृत बुढाक्षेत्रीले सेवाग्राहीसँग सामानको बिल भुक्तानी गर्नका निम्ति १४ हजार रुपियाँ बैंक खातामा समेत ट्रान्सफर गर्न लगाएको अनुसन्धानबाट खुलेको छ। भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बुढाक्षेत्रीविरुद्ध कैद र जरिवाना सजायको माग दाबीसहित विशेष अदालतमा आइतबार मुद्दा दायर भएको हो।

निजी विद्यालयलाई छात्रवृत्तिको विवरण टाँस्न महानगरको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयलाई छात्रवृत्तिको सूचना विद्यालयको सूचना पाटीमा टाँस्न निर्देशन दिएको छ । महानगरपालिका शिक्षा विभागले यसअघि साउन २२ गते नै संस्थागत विद्यालयहरुले विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ मा भर्ना भएका कूल विद्यार्थी संख्याको १० प्रतिशत नघट्ने गरी नियमानुसार समावेशी आधारमा छात्रवृत्ति वितरणको लागि सूचना पाटीमा सूचना टाँस गर्न पत्राचार गरेको थियो । उक्त सूचनाको आधारमा अभिभावकबाट आवेदन लिई भदौ १५ गतेभित्र छात्रवृत्तिको व्यवस्था गर्न सूचित गरेपनि कतिपय विद्यालयहरुले हालसम्म पनि सूचना टाँस प्रचार नगरेको गुनासो परेपछि महानगर शिक्षा विभागले पुनः निर्देशन दिनुपरेको शिक्षा अधिकारी रामप्रसाद सुवेदीले जनाएका छन् । शिक्षा अधिकारी सुवेदीले सबै वडा कार्यालयहरुलाई सम्बन्धित वडा अन्र्तगतका विद्यालयहरुमा नियमानुसार छात्रवृत्ति छनोट गरी विवरण पठाउने व्यवस्था गर्न निर्देशन गरेका छन् ।

४५५ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ४ सय ५५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ८ सय २९ जनाको नमूना परीक्षण गरिएको थियो । २ हजार ३ सय ८ जनाको पीसीआर र २ हजार ५ सय २१ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ४ सय ५५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आइतबार ३ सय २ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ५ हजार ४ सय ३४ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४ घण्टामा कोरोनाका कारण २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिनिधि सभाबाट दुई विधेयक पारित, सांसद बिचैमा बाहिरिदा कोरम नपुगेर बैठक स्थगित

काठमाडौं । प्रतिनिधि सभाको आइतबारको बैठक कोरम नपुगेर स्थगित भएको छ । सार्वजनिक ऋण विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव भए पनि कोरम नपुगेसँगै बैठक स्थगित भएको हो । कोरम पुग्न ६९ जना सांसद चाहिनेमा बैठकमा ६७ जना मात्रै सांसद उपस्थित भएपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए । तर पुनः बैठक सञ्चालन गरे पनि कोरम नपुगेपछि बैठक आगामी साउन ३१ गतेसम्मका लागि स्थगित गरिएको सभामुख सापकोटाले जानकारी गराए । यस अघि, बैठकबाट बीमा सम्बन्धी र शहरी क्षेत्र यातायात प्राधिकरण सम्बन्धी गरी दुई बिधेयक पारित भएका थिए । दुई विधेयक पारित हुँदासम्म कोरम पुगेको र त्यसपछि सांसदहरू बाहिरिएकाले कोरम नपुगेको हो ।

नवनियुक्त मन्त्री शाहीले लिए सपथ

काठमाडौं । कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा वीरबहादुर शाही नियुक्त भएका छन् । उनलाई आइतबार प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको सपथ खुवाएका हुन् । नवनियुक्तमन्त्री शाही डोल्पाबाट निर्वाचित सांसद हुन् । यसअघि २०७८ माघ २३ गते नियुक्त भएका हुम्लाका गैरसांसद छिरिङ डम्डुल लामा (कार्चेन) को पदावधि साउन २३ गतेखि सकिएपछि उनको ठाउँमा शाहीलाई नियुक्त गरिएको हो ।

प्रश्‍नपत्र छानविन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्न अनेरास्ववियू क्रान्तिकारीको माग

काठमाडौं । अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयको व्‍यवस्थापन संकायको प्रश्‍नपत्र दोहोरिएको घटनाबारेको प्रतिवेदन सार्वजनिक नगरिए आन्दोलन गर्ने चेतावनी दिएको छ । अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्‍चा सिंहले विज्ञप्ति जारी गर्दै प्रश्‍नपत्र दोहोरिएको घटना छानबिनका लागि बनाएको समितिले प्रतिवेदन सार्वजनिक नगरिएको भन्‍दै आन्दोलन गर्ने चेतावनी दिएकी हुन् ।   विज्ञप्तिमा भनिएको छ,  ‘ व्‍यवस्थापन संकायको प्रश्‍नपत्र दोहोरिएको घटना टानबिनका लागि बनाइएको छाबिन समितिको प्रतिवेदन सत्यतथ्यसहित तत्काल सार्वजनिक नगरिए र ट्रान्सक्रसिप्ट, प्रोभिजनल, माइग्रेसनको लागि देशका विभिन्‍न क्‍याम्पसबाट फेरि त्रिभुवन विश्वविद्यालय धाउनु पर्ने अवस्था रहिरहे हाम्रो संगठन तत्काल आन्दोलनमा जाने चेतावनी दिन चाहन्छौं।’ हेर्नुस् विज्ञप्ति

डोल्पामा डोजरमाथि पहिरो खस्दा, चालकको मृत्यु

काठमाडौं । डोल्पामा डोजरमाथि पहिरो खसेर पुरिदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्काभेटर चालक बाँके नेपालगञ्ज उपमहानगरपालिका वडा नं १९ राझा मोहोनपुर बस्ने वर्ष ३२ को सुरज बसाल मगर रहेका छन् । प्रहरीका अनुसार आइतबार बिहान ८ बजेतिर त्रिपुरा सुन्दरी नगरपालिका वडा नं. ३ जिऊ भन्ने स्थानमा बाटो खनिरहेको अवस्थामा माथिबाट पहिरो खसेको थियो । पहिरोले स्काभेटर पुरिँदा चालक सुरजको मृत्यु भएको हो । अहिले प्रहरी त्यहाँ उद्दार कार्यमा खटिएको छ ।

फिनल्याण्ड पुगेर ऊर्जामन्त्री भुसालले भनिन्– नेपालमै सुखी जीवन बिताउन सकिन्छ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विदेशमा रहेका नेपालीका दक्षता र अनुभव नेपालको समृद्धिमा लगाउनुपर्ने बताएकी छन्। रोजगारी, शिक्षालगायत विभिन्न अवसरको खोजीमा विश्वभर छरिएका नेपालीले आफ्नो मातृभूमिको आर्थिक तथा सामाजिक विकासका लागि योगदान गर्नुपर्ने उनले बताइन्। फिनल्याण्डमा बसोबास गर्ने नेपाली समुदायले हेल्सिन्कीमा शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले भनिन्, ‘यहाँ बसेर तपाईंहरूले कामलाई पूजा गर्न सिक्नुभएको छ, नेपालमा पनि यो संस्कारलाई सम्मान गर्ने अवस्था सिर्जना गर्नुपर्छ, आत्मविश्वास र स्वाधिनताको भावना बोकेर नेपाल आउनुहोस्, यहाँ जत्तिको पसिना नबगाइकन स्वदेशमै सुखी जीवन बिताउन सकिन्छ।’ उनले अब नेपालको उद्देश्य आर्थिक र सामाजिक विकास भएको बताइन्। ‘सबैले शिक्षा, रोजगार, आवास र स्वास्थ्य पाउन सक्ने अवस्था हामीले संविधानमै व्यवस्था गरेका छौँ। यहाँहरू पनि नेपालमा आएर देशलाई समृद्ध बनाउने अभियानमा लाग्नुहोस्,’ उनले भनिन्। विकसित देशका राम्रा कुरा सिकेर आफ्नै देश निर्माणमा जुट्नुपर्नेमा जोड दिँदै उनले फिनल्याण्डवासीले आर्थिक समृद्धिमा अगाडि बढेजस्तै नेपालीले पनि आफ्नो देशलाई आर्थिकरूपमा सबल बनाउनका लागि विश्वभरका नेपाली लाग्नुपर्ने बताइन्। भुसालले आफूले कृषियोग्य जमिनमा सिँचाइ पुर्याउने लक्ष्यका साथ अगाडि बढेको र आगामी दिनमा पूरा हुने बताइन्। नेपाली समाजलाई एकीकृत गरेर आफ्ना हक अधिकारका लागि अगाडि बढ्न सुझाव दिँदै मन्त्री भुसालले भनिन्, ‘फिनल्याण्डमा बस्ने नेपाली एकीकृत हुनुपर्छ, आफ्ना अधिकारलाई सुनिश्चित गर्नका लागि सामूहिक पहल गर्नुपर्छ। विदेशमा बसेर आफूहरूबीच नै विभाजनको मनस्थिति राख्नु हुँदैन, राजनीति गर्न हुँदैन।’ उनले कन्सुलर अफिस स्थापना गरेर नेपालीलाई भिसाका लागि हुने समस्यालाई समाधान गर्न पहल गर्ने विश्वास दिलाइन्। मन्त्री भुसालले युरोपेली सङ्घभित्रको फिनल्याण्डमा राजनीतिक तथा प्रशासनिक काममा महिला अगाडि बढेको अवस्थालाई अनुशरण गर्दै नेपाली महिलाले पनि आफ्ना क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिइन्। रासस

कोहलपुरमा करेन्ट लागेर एक युवतीको मृत्यु

कोहलपुरमा करेन्ट लागेर २५ वर्षीय एक युवतीको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार कोहलपुर नगरपालिका वडा नम्बर २ निवासी प्रशाना आचार्यको करेन्ट लागेर मृत्यु भएको हाे । आचार्यको गत राति ११ बजे आफ्नै घरको झ्यालमा करेन्ट लागेर मृत्यु भएको हो । घटनापछि मृतकको शव पोष्टमार्टम गरी परिवारको जिम्मा लगाइसकेको प्रहरीले जनाएको छ ।

एक साताभित्र प्रहरी समायोजन नभए आन्दोलन गर्ने मधेश सरकारको चेतावनी

काठमाडौं । मधेश सरकारले एक साताभित्र प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न प्रदेश प्रमुखमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको छ।उसले यो साताभित्र प्रहरी समायोजन नगरिए आन्दोलन गर्ने चेतावनी समेत दिएको छ । गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साहको नेतृत्वमा मन्त्रीहरु सहितको टोलीले प्रदेश प्रमुख हरि शंकर मिश्रमार्फत प्रधानमन्त्री शेर बहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएको हो। नेपालको संविधानको धारा २६८ ले प्रदेश प्रहरी संगठनको व्यवस्था गरेको तथा अनुसूची ६ को क्रम संख्या १ मा प्रहरी, शान्ति सुरक्षा सम्बन्धी अधिकार प्रदेश सरकारको क्षेत्राधिकार भित्र रहेपनि प्रहरी समायोजन नहुँदा प्रदेश सरकारले सरकारको अनुभूति गर्न नसकेको हुँदा अविलम्ब प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न आग्रह गरिएको छ। प्रहरी हस्तान्तरणको लागि प्रधानमन्त्रीलाई यसअघि नै ज्ञापनपत्रसमेत बुझाइसकेको स्मरण गराउँदै मधेश सरकारले एक साताभित्र प्रहरी समायोजन नगरिए शान्तिपूर्ण अहिंसात्मक आन्दोलन गर्न बाध्य हुने बताएको छ । मधेश सरकारको आयोजनामा जनकपुरधाममा सम्पन्न ६ वटा प्रदेशका गृहमन्त्री स्तरीय भेलाले यथाशिघ्र समायोजन हुनुपर्ने माग सहितको घोषणा पत्र समेत जारी गरेको थियो। ध्यानाकर्षण पत्र बुझाउने टोलीमा भौतिक पूर्वाधार विकासमन्त्री राम सरोज यादव, कृषि मन्त्री विजय कुमार यादव, उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतो, खानेपानी तथा उर्जा मन्त्री ओम प्रकाश शर्मासहित सहभागी थिए । ध्यानाकर्षण पत्र बुझदै प्रदेश प्रमुख मिश्रले आजै प्रधानमन्त्री कार्यालयमा पठाउने बताए।

कोपोमिस प्रणालीमा सहकारीको आबद्धता बढाउन जोड

जनकपुरधाम । सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस)लाई सहकारी संस्थामा पूर्ण कार्यान्वयनमा ल्याउनका लागि नेफ्स्कूनले देशव्यापी कार्यक्रम सञ्चालन गरिरहेको छ । मधेश प्रदेशमा सञ्चालित सहकारीहरुलाई लक्षित गरी आज जनकपुरधाममा कोपोमिस तालिम प्रदान गरिएको हो । तालिममा महोत्तरी र धनुषाका ५५ ओटा बचत तथा ऋण सहकारी संस्थाबाट ६० जनाको सहभागिता रहेको थियो । नेफ्स्कून जनकपुर फिल्ड कार्यालय व्यवस्थापन उपसमितिका सदस्य सुधिर पाण्डेको अध्यक्षतामा कार्याक्रमको उद्घाटन भएको थियो । उपसमिति सदस्य पाण्डेले सहकारीका समसामयिक विषय र विद्यमान वस्तुस्थिति साथै सहकारी सुशासनमा देखिएको कमी कमजोरीका बारेमा चर्चा गर्दै सहकारी संस्था सञ्चालनमा पालना गर्नुपर्ने नीति विधि र सिद्धान्तका बारेमा जानकारी गराए। उनले जनकपुरधामलाई लक्षित गरी नेफ्स्कूनद्वारा महत्वपूर्ण तालिम तथा कार्यक्रमहरु निरन्तर भइरहेकोले यसमा सक्रिय सहभागिता भएर प्राप्त ज्ञान सीप संस्था सञ्चालनका क्रममा कार्यान्वयनमा ल्याउन समेत अनुरोध गरे । सहकारी विभागले जारी गरेको सूचना सम्पूर्ण सहकारी संघ संस्थाले पालना गनुपर्ने र सहकारी सम्बन्धी वास्तविक तथ्यांक राज्यलाई दिनुपर्ने भएकोले सबै सहकारी संस्थाले कोपोमिसमा आफ्ना सहकारीको तथ्यांक भर्न उनको अनुरोध थियो । कोपोमिस तालिमको सहजीकरण नेफ्स्कून सूचना प्रविधि अधिकृत प्रविण अधिकारीले गरेका थिए भने कार्यक्रम व्यस्थापन नेफ्स्कून फिल्ड कार्यालय जनकुपरधामले गरेको थियो ।

प्रधानमन्त्रीसँग छलफल गर्दै लोसपा नेताहरू

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्ने भएको छ। छलफल आइतबार अपरान्ह ४ बजे बालुवाटारमा हुन लागेको एक नेताले जानकारी दिए । चुनावको मिति घोषणा गर्नुअघि लोसपा सरकारमा जान तम्तयार भएको लोसपा सत्ता गठबन्धनभित्र कुरा नमिल्दा सरकारमा जान सकेको छैन। प्रधानमन्त्री देउवा लोसपालाई सरकारमा ल्याउने पक्षमा छन्। आज प्रधानमन्त्रीसँग हुने छलफल सरकारमा सहभागितासहित आफ्ना कार्यकर्तामाथि लगाइएका राजनीतिक मुद्दा फिर्ता लिने सम्बन्धमा पनि कुरा हुने लोसपा नेता शरतसिंह भण्डारीले बताए। लोसपा देउवा सरकारमा सहभागी नभए पनि विश्वासको मत दिएको थियो।