कुरिनटारमा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौं । चितवनको ईच्छाकामना गाउँपालिका–४ कुरिनटारमा आज बिहान ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख ५९१३ नम्बरको ट्रकमा आज बिहान साढे ३ बजे सोही दिशातर्फ जाँदै गरेको बा ८८ प ५३०१ नम्बरको मोटरसाइकल पछाडीबाट ठोक्किँदा मोटरसाइकल चालक दैलेखको ल्याती बिन्द्रासाईनी नगरपालिका-६ का २५ वर्षीय सरोज रोकाया र पछाडी सवार काठमाडौंका ३२ वर्षीय सरोज माझीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचार क्रममा नयाँ मेडिकल कलेजमा मृत्यु भएको हो ।

ट्रक सहित चालकलाई इलाका प्रहरी कार्यालय मुग्लिङले नियन्त्रणमा लिएको छ ।
Photo: Symbolic only

हामी संघियताको विरोधी होइनौँ, प्रदेशमा समस्या रहेकाले उमेदवारी नदिने भनेका हौं : रवि लामिछाने

काठमाडौं । नेपाल स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रदेश संरचनामा समस्या रहेकाले आफूहरूले प्रदेशसभाका लागि उमेदवारी नदिने घोषणा गरेको बताएका छन् । बिहीबार केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर लामिछानेले आफूहरू व्यवस्थाको विरोधी नरहेको तर प्रदेशमा समस्या देखिएकाले उमेदवारी नदिने निर्णय गरेको बताए । ‘हामी अहिले प्रदेशसभाको निर्वाचनमा सहभागी हुँदैनौँ । यसमा समस्या छ भनेर बहस सुरु गरेका हौँ । हामी व्यवस्थाको विरोधी होइनौँ,’ सभापति लामिछानेले भने ।

बिहिबार ५४२ जनामा कोरोना संक्रमण, ४२१ संक्रमणमुक्त

काठमाडौैं । पछिल्लो २४ घण्टामा ५४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ८२ पीसीआर परीक्षणमा २२४ र दुई हजार ८४८ एन्टिजेन परीक्षणमा ३१८ जना गरी ४२१ जनामा संक्रमण पुष्टि भएको हो हो ।   पछिल्लो २४ घण्टामा ४२१ जना कोरोना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु भएको छैन । हाल देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार २६५ जना रहेको छ ।

नेप्सेमा हरियाली २८ अंकले वृद्धि , कारोबार पनि सुधार

काठमाडौं । साताको पाँचो कारोबार दिन बिहीबार सेयर बजारमा हरियाली छाएको छ । सेयर बजार परिसूचक नेप्से २७.७२ अंक (१.३६ प्रतिशत) ले वृद्धि भएर २०६८.४२ अंकमा बन्द भएको हो । सोमबार ५५.८८ अंकले वृद्धि भएको नेप्से मंगलबार २४.८३ अंक र बुधबार ०.३६ अंकको सामान्य गिरावट भएर बिहीबार पुन वृद्धि भएको हो । बिहीबार सुरुवातबाटै वृद्धि भएको बजारमा केही उतारचढाव देखिए पनि अन्तिममा लगानीकर्तालाई उत्साह थपेर बन्द भएको हो । नेप्सेसँगै सबै उपसूक बढ्दा वित्त कम्पनी र विकास बैंक उपसूचक ३ प्रतिशत माथि र हाइड्रोपावर उपसूचक २.९८ प्रतिशतले बढेको छ । नेप्सेमा सुधार हुँदा कारोबार रकम पनि बढेको छ । बुधरबार कारोबार रकम घटेर डेढ अर्बबाट तल झरेको मा बिहीबार पुनः २ अर्ब नाघेको छ । बुधबार १ अर्ब ४० करोड ६० लाख कारोबार भएको बजारमा बिहीबार ५१ लाख १ हजार २२० कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५ करोड ७९ लाख ८० हजारको कारोबार भएको छ । जसमध्ये रिडी हाइड्रोपावरको सर्वाधिक १० करोड ४३ लाख ५९ हजारको कारोबार भएको छ । यस्तै अपी पावरको ७ अर्ब ८० करोड २७ लाख र शिवम् सिमेन्टको ६ करोड ३ लाख ९४ हजारको कारोबार भएको छ । बिहीबार बजारमा कुल १८६ कम्पनीको सेयर कारोबार भएकोमा १७१ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै १२ कम्पनीको सेयर मूल्य बढ्दा ३ कम्पनीको स्थिर छ । कारोबार भएकामध्ये मंदाकीनी हाइड्रोपावर, अपर सोलु हाइड्रो इलेक्ट्रिसिटी कम्पनीको सेयमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै अपर हेवाखोला जलविद्युत् कम्पनी, श्वेतगंगा हाइड्रोपावर ९.९७ प्रतिशत र अपर सोलु हाइड्रो इलेक्ट्रिसिटी कम्पनीको सेयमूल्य ९.९६ प्रतिशतले बढेको छ । बुधबार सेयरमूल्य बढेर सकारात्मक सर्किट लागेको सपोर्ट लघुवित्तको सेयरमूल्य भने ३.२८ प्रतिशतले गिरावट भएको छ ।

विवेकशील साझाका प्रवक्ताले दिए राजीनामा

काठमाडौं। विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले राजीनामा दिएका छन्। बिहीबार विज्ञप्ति जारी गर्दै प्रवक्ताको जिम्मेवारीबाट राजीनामा पेश गरेको प्रवक्ता पाठकले जानकारी गराएका हुन्। पार्टीमा हालै नयाँ नेतृत्व चयन भएपछि नयाँ प्रवक्ता चयनका लागि मार्ग प्रशस्त गर्न नैतिकताका आधारमा राजीनामा दिएको उनले राजीनामा पत्रमा उल्लेख गरेका छन्। पाठक विगतमा साझा पार्टीको पनि प्रवक्ता थिए। विवेकशीलसँग पुनस् एकीकरणपछि पनि उनलाई एकीकृत पार्टीले प्रवक्ताको जिम्मेवारी दिएको थियो। पाठक २०७४ को निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार थिए।

मन्त्री कुँवर र उत्तर कोरियाका राजदूत मेनबीच भेटवार्ता

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र उत्तर कोरियाका राजदूत जो योङ मेनबीच शिष्टाचार भेटवार्ता भएको छ । राजदूत जो योङ मेन मन्त्री कुँवरलाई भेट्न बिहीबार मन्त्रालयमा पुगेका थिए । उनीहरूबीचको भेटमा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धका विषयमा छलफल भएको थियो । नेपाल र उत्तर कोरियाबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगलाई निरन्तरता दिने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । भेटमा मन्त्री कुँवरले उत्तर कोरियाले नेपाललाई पटक–पटक गरेको सहयोगको लागि धन्यवाद दिएका थिए । त्यस्तै राजदूत मेनले नेपालमा लगानी गर्न आउने कोरियाली नागरिकलाई प्रवेशाज्ञा प्रक्रिया सहज बनाइदिन मन्त्री कुँवरसँग आग्रह गरेका थिए । नेपालमा ८ वटा उत्तर कोरियाली कम्पनीले लगानी गरेका छन् । अस्पताल, होटल, रेष्टुरेन्ट, सफ्टवेयर डेभलपमेन्ट कम्पनीमा लगानी गरेका छन् । लगानी गर्न आउने कोरियाली नागरिकलाई प्रवेशाज्ञामा समस्या परेको भन्दै त्यसका लागि सहजीकरण गरिदिन राजदूत मेनले आग्रह गरेका हुन् ।

भरतपुर महानगरकाेआर्थिक समिक्षा : सेवा प्रवाह चुस्त बनाउन मेयर दाहालको निर्देशन

चितवन । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष ०७८/०७९ मा गरेका उपलब्धीबारे समिक्षा गरेको छ । महानगरपालिकाले आर्थिक वर्षमा महानगरभित्र भएका विकास निर्माण, राजस्व संकलन, सुशासन लगायतका विषयमा समिक्षा गरेको हो । महानगरपालिकाको सभाहलमा भएको समिक्षा गोष्ठीमा २९ वडाका सचिवहरूले गत आर्थिक वर्षमा भएका कामहरूको प्रगति, चुनौती र सम्भावनाका विषयमा प्रस्तुतीकरण गरेका थिए । महानगरपालिकाले गत आर्थिक वर्षमा सबैभन्दा बढी सडक पूर्वाधार निर्माण, सडकको स्तरोन्नती गरेको देखिएको छ । ५ वर्षअघि १ किलोमिटर कालोपत्रे पनि भएको वडामा अहिले औसतमा ३० किमी सडक कालोपत्र निर्माण भएको तथ्याङकमा उल्लेख छ । भरतपुर महानगरपालिकाले विगत ५ वर्षको अवधिमा ६१० किमी सडक कालोपत्रे निर्माण गरेको थियो । सडक पूर्वाधारपछि महानगरले शिक्षा पूर्वाधार निर्माणमा रकम खर्च भएको पाइएको छ । महानगरभित्र रहेका विद्यालयको पूर्वाधार निर्माण गरी प्राविधिक शिक्षालाई जोड दिएको वडाहरुको तथ्याङ्कले देखाएको छ । महानगरमा रहेका विद्यालयहरुमा पछिल्लो समय आर्कषण वृद्धि भइ विद्यार्थीको संख्यामा क्रमश बढेको छ । महानगरमा विगतमा ५ वर्षको अवधिमा सामुदायिक विद्यालयको विद्यार्थीको संख्या ७ हजारले वृद्धि भएको छ । विद्यालयहरुको गुणस्तर वृद्धि गर्न शिक्षा क्षेत्रलाई प्रथामिकतामा राखेको थियो । महानगरपालिकाले कृषि उत्पादन वृद्धि गर्न सिँचाईको सुविधा, निकुञ्जसँग जोडिएको वडामा मेषजाली निर्माणमा रकम विनियोजन गरी काम गरेको देखिएको छ । गत आर्थिक वर्षमा महानगरपालिकाले गरेका सम्पूर्ण कामहरूको प्रगति, त्यसको प्रभाव र समस्याहरूको समिक्षा गरी असल अभ्यासहरूलाई यस आर्थिक वर्षमा प्रभावकारी ढंगले काम अगाडि बढाउन सहयोग पुग्ने महानगरपालिकाले बताएको छ । योजनाहरूको छनोट समयमै मुल्याङकन र अनुगमनका साथै भूक्तानी प्रक्रियालाई सरल बनाउँने र आन्तरिक नियन्त्रण प्रणालीको विकास गर्दै न्यूनिकरण गर्दै लैजाने समिक्षा बैठकमा छलफल भएको थियो । सो अवसरमा राजस्व असुली, करका दर र दायराहरूको विस्तार र विकासकासाथै सामाजिक सुरक्षा र सुशासन प्रवाह गर्न भूमिका खेल्ने बताइएको छ । वार्षिक समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सेवा प्रवाहमा सुस्त भएको प्रति असन्तुष्टी जनाइन् । मेयर दाहालले महानगर मातहतका कर्मचारीलाई कार्यतालिका बनाएर परिणाम देखिने गरी काम गर्न निर्देशन समेत दिइन् । ‘सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउनुहोस,उनले भनिन् ,‘सेवाग्राहीमैत्री कार्य प्रणाली लागु गर्नुहोस् । कुनै पनि कार्यमा अवरोध भए त्यसको समधानतर्फ लाग्नुहोस् । काम गर्न चाहेँ असम्भव केही पनि छैन ।’ मेयर दाहालले पूर्वाधार निर्माणमा गुणस्तरीयता मुख्य विषय भएकाले नियमित अनुगमन र सुपरिवेक्षण गर्न सम्बन्धीत कर्मचारीलाई निर्देशन दिइन् । समयमै काम नगर्ने, गुणस्तरहिन काम गर्ने निर्माण गर्ने निर्माण व्यवसायी र उपभोक्ता समितिहरुलाई कारबाही समेत गर्न निर्देशन दिइन्। वार्षिक समिक्षा गोष्ठीमा वडा अध्यक्षहरूका साथै शाखा, महाशाखाका कर्मचारीहरूले विषयगत समिक्षा,समस्या र समाधानका विषयहरु प्रस्तुत गरेका थिए ।

नागरिकता विधेयकको विरोध गर्दै नेमकिपा

काठमाडौं । नेपाल मजदुर किसान पार्टीले नागरिकता विधेयकको विरोधमा बिहीबार राजधानीमा जुलुस तथा सभा गर्ने भएको छ । कोटेश्वरमा भेला भई जुलुस संसद् भवन नयाँ बानेश्वरमा पुग्ने कार्यक्रम तय भएको पार्टीले जनाएको छ । नयाँ बानेश्वरमा पुगेर सभा हुने पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले जनाए । उनका अनुसार सभामा केन्द्रीय नेताहरूले सम्वोधन गर्ने छन् । पार्टीले नागरिकता विधेयकविरुद्ध निरन्तर आवाज उठाउँदै आएको छ । उसले नागरिकता विधेयक खारेजीको माग गर्दै आएको छ। विदेशी महिलाले बिहे गरेलगत्तै नागरिकता पाउने भन्दै नेमकिपाले विरोध गर्दै आएको छ । विधेयक आज संसदबाट पास गर्ने तयारी छ ।

नेपाल स्वयंसेवी रक्तदाता समाजद्धारा रक्तदान सम्पन्न

काठमाडौं।नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्यको विशेष उपस्थितिमा अराधन कम्प्लेक्स् बागबजार २८ वडा काठमाडौं महानगरपालिकामा रक्तदान कार्यक्रमको आयोजना गरि सम्पन्न भएको छ । नेपाल स्वयंसेवी रक्तदाता समाजको आह्वानलाई सार्थक सिद्द गर्दै रक्तदान कार्यक्रमलाई सामाजिक उत्तरदायित्व अन्तर्गत यो कार्यक्रमको आयोजना गरिएको संघका जिल्ला अध्यक्ष तथा कार्यक्रमका सभापति चन्द्र रणपहेलीले बताए। सो कार्यक्रममा प्रमुख अतिथि संघका केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठ,बिशेष अतिथि नेपाल कपडा तथा सिलाई ब्यवसायी महासंघ बागमती प्रदेशका सचिव तथा केन्द्रीय सदस्य राज कार्की रहेका थिए । कोभिडको बढ्दो ग्राफलाई मध्ये नजर गर्दै बिरामीको उपचारमा सहजता मिलोस् भनि रक्तदान कार्यक्रमको आयोजना गर्न – गराउन नेपाल स्वयंसेवी रक्तदाता समाजकले देशभर अभियान सञ्चालन गर्दै आइरहेकोमा यो संघले पनि रक्तदान कार्यक्रमको आयोजना गरिएकोमा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी रक्तदाता कर्माचार्यले धन्यवाद तथा कार्यक्रमको पूर्ण सफलताको ब्यक्त गरेका थिए । उक्त कार्यक्रममा महिला तथा पुरूष गरि जम्मा ५७ जना स्वयंसेवी रक्तदाताहरूले रक्तदान गरेका थिए।

४० माइक्रोनभन्दा कमको प्लास्टिक झोलामा पूर्ण प्रतिबन्ध, १ लाखसम्म जरिवाना

काठमाडौं । सरकारले बुधबारबाट ४० माइक्रोनभन्दा कमको प्लास्टिक झोलामा प्रतिबन्ध लगाएको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गत वातावरण विभागले प्लास्टिकजन्य पदार्थबाट हुने वातावरणीय प्रदूषण न्यूनीकरण गर्न ४० माइक्रोनभन्दा पातलो प्लास्टिक उत्पादन, आयात, बिक्री वितरण र प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको हो । विभागले प्लास्टिकका झोला प्रतिबन्ध नीति तथा निर्णय आगामी दिन थप कडाइसाथ लागू गर्ने तयारीसमेत गरेको छ । यस्तो उत्पादन, आयात, बिक्री विरतरण तथा प्रयोग अवस्थाबारे अनुगमन र उल्लंघन भएको पाइए कारबाही गर्ने विभागको भनाइ छ । १ भदौबाट सरकारको निर्णयविपरीतका कार्य भएको पाइए वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम कारबाही हुने जनाइएको छ । सरकारले यसअघि १९ असोज २०७८ मा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोला उत्पादन, आयात, बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको थियो । यसलाई प्रभावकारी कार्यान्वयनका लागि गत माघमा मन्त्रिपरिषद्ले प्लास्टिक झोला प्रतिबन्धसम्बन्धी कार्ययोजना, २०७८ स्वीकृत गरिसकेको छ । तर, कोरोना महामारीका कारण पर्याप्त अुनगमन नहुँदा सरकार कारबाहीमा उत्रिएको थिएन । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्य सहित दर्जनौं विद्यार्थी अखिल(क्रान्तिकारी)मा

काठमाडौं । समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्यको नेतृत्वमा दजनौं युवा विद्यार्थी माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी)मा प्रवेश गरेका छन् । आज अखिल(क्रान्तिकारी)को केन्द्रीय कार्यालय बागबजारमा एक कार्यक्रममा नवप्रवेशीहरुलाई संगठनकी केन्द्रीय अध्यन पंचा सिंहले स्वागत गरिन् । अध्यक्ष सिंहले नवप्रवेशीहरुलाई संगठनमा स्वागत गर्दै युवा विद्यार्थीहरु क्रान्तिकारी विद्यार्थी संगठनमा गोलब्ध हुन ढिलो गर्न नहुने बताइन् ।

माओवादीले बिहीबार पदाधिकारी टुंग्याउने

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी पदाधिकारीसहित सांगठनिक कमिटीलाई पूर्णता दिने भएको छ । बुधबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा पार्टी कमिटीलाई पूर्णता दिनेबारे बृहद छलफल भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । उनले बैठक संगठन सम्बन्धी एजेण्डामा केन्द्रीत रहेको भन्दै केन्द्रीय कमिटीमा थप्नुपर्ने केही सदस्य, पोलिटब्युरो र स्थायी कमिटीलाई पूर्णता दिँदै पदाधिकारी टुंग्याउनेगरी छलफल अघि बढेको बताए । ‘सवैमा विस्तृत छलफल गर्यौँ, भोली विहान टुंगोमा पुग्छौँ । आज छलफल सुरु भयो’, महराले बैठकपछि भने, ‘पदाधिकारी पनि भोली नै टुंग्याउछौँ ।’ माओवादी केन्द्रको महाधिवेशन गत पुसमा भएपनि पदाधिकारी टुंग्याउन सकेको थिएन ।

निहारिका बलात्कार आरोपितलाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं । निहारिका राजपुत (सोनाली सिंह) बलात्कारको आरोप लागेका शिवराज श्रेष्ठमाथि अनुसन्धान हुने भएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले अभद्र व्यवहारमा अनुसन्धान गर्न प्रहरीलाई पाँच दिनको म्याद दिएसँगै अनुसन्धानको बाटो खुलेको हो । हिजो साँझ पक्राउ परेका श्रेष्ठलाई जिल्ला प्रशासन कार्यालय धनुषाले पाँच दिन थुनामा राखी अनुसन्धान गर्न म्याद दिएको हो । धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीले प्रहरीलाई गालीगलौज गरेपछि श्रेष्ठलाई पक्राउ गरिएको जानकारी दिए । ‘हिजो प्रहरी सोधपुछ गर्न पुगेको थिए । त्यही क्रममा उल्टै प्रहरीमाथि गालीगलौज गरेपछि पक्राउ गरिएको हो,’ प्रहरीले जनाएको छ । प्रहरी उच्च स्रोतका अनुसार १० दिनदेखि अनशनरत निहारिकाले न्याय नपाएसम्म अनशन नतोड्ने अडान राखेपछि गृह मन्त्रालयको दबाबमा धनुषा प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेको बलात्कार आरोपी श्रेष्ठलाई जिल्ला अदालत धनुषाले सफाइ दिएपछि फैसलाविरुद्ध निहारिका ६ महिनाअघि पुनरावेदन पुगेकी थिइन् । तर, अहिलेसम्म पेशी बस्न सकेको थिएन । निहारिकाले शुक्रबार राष्ट्रपति कार्यालयअगाडि आत्मदाह प्रयास गरेपछि सरकारले उनको मुद्दामा चासो देखाएको छ । सोमबार कानुनमन्त्री गोविन्द बन्दीले शिक्षण अस्पताल पुगेर निहारिकालाई भेटेका थिए । न्याय दिलाउने प्रतिबद्धता जनाउँदै उनले अनशन तोड्न आग्रह गरे पनि निहारिकाले न्याय नपाएसम्म अनशन जारी राख्ने अडान राखेकी थिइन् । आरोपित श्रेष्ठले भने पक्राउ पर्नुअघि निहारिका र आफू प्रेम सम्बन्धमा रहेको तर बलात्कार नगरेको दाबी गर्दै विभिन्न सञ्चारमाध्यममा अन्तर्वार्ता दिँदै हिँडेका थिए । निहारिकाले धनुषा क्षीरेश्वरनाथ नगरपालिका– ३ का २३ वर्षीय शिवराज श्रेष्ठले नसालु पदार्थ पिलाएर आफूलाई बलात्कार गरेको, तर त्यसबाट जन्मिएको बच्चा अस्वीकार गरेको भन्दै जबर्जस्ती करणीको मुद्दा दायर गरेकी थिइन् । तर, जिल्ला अदालत धनुषाका न्यायाधीश परशुराम भट्टराईले २४ माघ ०७८ मा जबर्जस्ती करणीको दाबी नपुग्ने भन्दै आरोपी श्रेष्ठलाई सफाइ दिएका थिए । यता, न्यायाधीश भट्टराईमाथि न्यायपरिषद्ले छानबिन थालिसकेको छ । अरु नै मुद्दाका कारण सर्वोच्च अदालत तानिएका उनीमाथि परिषद्ले यसबारे पनि सोधपुछ थालेको हो ।

राप्रपाको युवा संघका जिल्ला उपाध्यक्ष सहित दजनौं युवा माओवादी प्रवेश

भरतपुर । चितवनमा दजनौं युवाहरु माओवादी केन्द्र प्रवेश गरेका छन् । राप्रपा नेपाल निकट राष्टिय प्रजातान्त्रिक युवा सघंको जिल्ला उपाध्यक्ष शंकर विश्वकर्माको नेतृत्व ५० जना राप्रपामा संगठित नेता कार्यकर्ता नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका हुन् । नवप्रवेशी नेताकार्यकर्तालाई माओवादी केन्द्र चितवनका अध्यक्ष रामचन्द्र अधिकारीले खादा माला र अविर लगाएर स्वागत गरेका थिए । पार्टी प्रवेश गर्दै शंकर विश्वकर्माले देशको विकास गर्ने,युवाहरुको भावना बुझेर युवालाई स्थान दिने र देशको आवश्यकता पुरा गर्ने पार्टी माओवादी केन्द्र र नेतृत्व प्रचण्डको पार्टी भएको बताए । उनले युवाहरुलाई माओवादी केन्द्र र प्रचण्डको नेतृत्वमा गोलबन्ध हुन आग्रह समेत गरे । चितवनको विकास र समृद्धि माओवादी केन्द्रको नेतृत्वमा मात्रै सम्भव भएको भन्दै पछिल्लो समय माओवादी केन्द्रप्रति युवाहरुको आर्कषण बढेको अध्यक्ष अधिकारीले बताए ।

भरतपुर महानगरको बेरुजु घटाउन सक्रिय लेखा समिति

चितवन। भरतपुर महानगरपालिकाले बेरुजु फछर्यौटका लागि क्रियाशीलता देखाएको छ। महानगरमा गठित लेखा समितिले बेरुजु फछर्यौटका लागि काम अघि बढाएको हो। संघ संस्था र व्यक्ति विशेषलाई टेलिफोन र पत्राचार गरी बेरुजु फछर्यौट गर्न ताकेता गरिएको छ। महानगरको ११औँ नगरसभाले भरतपुर महानगरपालिका–१ का अध्यक्ष केशब महर्जनको संयोजकत्वमा लेखा समिति गठन गरेको थियो। समितिका सदस्य सचिव महानगरका लेखा प्रमुख जगन्नाथ अर्यालका अनुसार पुरानो बेरुजु धेरै छ। नगरपालिका स्थापनादेखि हालसम्म आइपुग्दा बेरुजु एक अर्ब भन्दामाथि छ। पछिल्लो पटक जनप्रतिनिधि आएपछि पाँच वर्ष यताको बेरुजु भने १२ करोड हाराहारी मात्र छ। सो रकममध्ये धेरै नियमित गर्ने बेरुजु रहेको उनी बताउँछन्। महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७७–७८ को राष्ट्रपतिलाई बुझाएको वार्षिक प्रतिवेदनमा भरतपुरको बेरुजु ६ महानगरमध्ये सबैभन्दा कम थियो। अर्यालयका अनुसार भरतपुरको ० दशमलव ५६ प्रतिशत बेरुजु थियो भने बढी हुने विराटनगरको १६ दशमलब ५७ प्रतिशत रहेको थियो। महानगरले हाल भएको बेरुजुको अध्ययन गर्ने र नियमित प्रकृतिको बेरुजुलाई फछर्यौट गर्ने गरी तयारी गरेको छ। समितिले तयार पारेको बेरुजुको फछर्यौट गर्न कार्यापालिका बैठकमा पेस गर्ने गरी आफ्ना कामलाई अगाडि बढाएको उनले जानकारी दिए। नगरसभाले निर्णयगरेको बेरुजु महालेखा परीक्षकको कार्यालयबाट खटिएको टोलीले पुनःअवलोकन गरी फछर्यौट गर्दछ। लेखा समितिले महानगरभित्र निर्माणधीन सडक पूर्वाधार, तटबन्ध र मोज्याक टायल विच्छयाएको स्थानको अनुगमन गरी महानगरलाई सुझाव बुझाउने काम अघि बढाएको छ। लेखा समितिको क्रियाशीलताले बेरुजुमा कमी आउने, पारदर्शीता कायम हुने र आर्थिक सुशासनमा वृद्धि हुने सचिव अर्यालले बताए। अर्यालले बेरुजु तत्काल फछर्यौट गर्ने परिपाटीको विकासकै कारण बेरुजु कम भएको बताए। ऐन, नियम र मापदण्डको पूर्णपालना, उपभोक्ता समितिलाई पेश्की दिन कार्यमा कडाई र बेरुजु फछर्यौटमा विशेष जोड दिएकाले अन्य महानगरपालिकाको तुलनामा भरतपुरको बेरुजु निकै कम भएको उनको भनाइ छ। कम भएको बेरुजुलाई पनि फछर्यौट गर्नुपर्ने भन्दै महानगरपालिकाले क्रियाशीलता बढाएको हो। महानगर प्रमुख रेनु दाहालले आर्थिक सुशासन र पारदर्शीतामा महानगर अग्रणी रहेको भन्दै बेरुजु फछर्यौट गर्न समितिले काम गरेको बताइन्। उनले भनिन्, ‘जवाफदेहीता, पारदर्शीता र आर्थिक मितव्ययितामा हामी प्रतिबद्ध छौँ।’ सुशासनमा ध्यान दिँदै जनताको मन जितेर विकासमा महानगर जुटेको उनी बताउँछिन्।  

टिम भित्रको कमजोरी थाहा भयो,अब सुधारको आवश्यक छ : प्रभाकर

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकरले नेपाली टोलीको कमजोर पक्ष आफूले पत्ता लगाइसकेको बताएका छन् । उनले आफूले उक्त कमजोरीलाई सुधार गर्ने पहिलो प्राथमिकतामा राखेको बताए । प्रभाकर भर्खरै मात्र राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका हुन् । क्यानले उनीसँग एक वर्षको सम्झौता गरेको छ । प्रभाकरले सोमबारदेखि टिममा प्रशिक्षण दिइरहेका छन् । उक्त प्रशिक्षणको क्रममा टिमको कमजोरीको विषयमा आफूले भिडियोमार्फत पहिले नै थाहा पाएको र अहिले त्यसको सुधारका लागि लागिरहेको बताए । ‘टिमको कमजोरीको विषयमा पहिले नै थाहा पाएको थिए । अहिले त्यसको सुधारको विषय खोजिरहेको छु । सानो कमजोरी छन् त्यसलाई सुधार गर्न धेरै समय लाग्दैन,’ प्रभाकरले अभ्यासका क्रममा पत्रकारसँग कुरा गर्दै भने । प्रभाकरले आफूले टिमको ब्याटिङको विषयमा पहिले समाधानको उपाय निकालिरहेको बताए । नेपालको टिममा अहिलेको मुख्य समस्या नै ब्याटिङ भएकाले त्यसलाई सुधारका लागि आफूले काम गरिरहेको र त्यो चाडै सुधार हुने बताए । ‘टिममा अहिले ब्याटिङको समस्या छ । अहिले त्यसैमा फोकस गरिरहेका छौं,’ प्रभाकरले भने । नेपाली राष्ट्रिय क्रिकेट टोलीले भदौ ९ देखि २० सम्म केन्यासँग पाँच खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज र तीन एकदिवसीय सिरिज खेल्दैछ ।