खेलकुद मन्त्रालयका सचिवले अपमानजनक व्यवहार गरेको सांसद कुसारीको गुनासो

काठमाडौं । प्रतिनिधि सभा सदस्य कल्पना मियाँ कुसारीले खेलकुद मन्त्रालयका सचिवले आफूलाई अपमानजनक व्यवहार गरेको गुनासो गरेकी छिन्।

मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद कुसारीले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा आयोजकबाटै आफूहरू अपमानित हुनुपरेको बताइन् । उनले आगामी दिनमा कार्यक्रम गर्दा त्यस्तो नगर्न ध्यानाकर्षण समेत गराइन्।

उनले भनिन्,‘हिजो अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा हामी ४० वर्ष मुनिका युवालाई याक एण्ड यतिको कार्यक्रममा बोलाइयो । हामी गयौँ । त्यहाँ गइसकेपछि खेलकुद मन्त्रालय र युवा परिषद्को संयुक्त आयोजनामा भएको त्यो कार्यक्रममा सचिवज्युको नियतवश अपमानजनक व्यवहारले हामी दुःखित भएका छौँ । यस्तो व्यवहार अबदेखि कुनैपनि मन्त्रालयबाट नहोस् ।’

उनले मन्त्रालयका सचिवले नै नियतवश अपमानजनक व्यवहारले दुःखी तुल्याएको बताइन्।

काँग्रेस केन्द्रीय समितिको बैठक आज पनि जारी

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।  आजको बैठकमा प्रस्तुत भएका ११ वटा विभिन्न एजेन्डामाथि नेताहरूले आफ्नो धारणा राख्ने क्रम जारी रहनेछ । आज सबै नेताहरूको धारणा सुनिसकेपछि नेतृत्वले जवाफ दिने र आज नै बैठक सक्ने तयारी काँग्रेसको छ । 

आज २५ औं अन्तर्राष्ट्रिय युवा दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आज २५औं अन्तर्राष्ट्रिय युवा दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि’ भन्ने नारासहित नेपालमा विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय युवा दिवस नेपालमा पनि मनाउन लागिएको हो । सो अवसरमा युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा राष्ट्रपति रामचन्द्र पौडेलको सहभागितामा मूल समारोह हुँदैछ । त्यसअघि बिहान सात बजे काठमाडौँको भृकुटीमण्डपबाट युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अगुवाइमा प्रभातफेरि आयोजना हुँदै छ । सन् १९९८ अगस्ट ८–१२ तारिखमा संयुक्त राष्ट्रसंघको समन्वयमा पोर्चुगलको लिसवनमा १४० देशका युवा मामिला हेर्ने मन्त्रीहरूको सहभागितामा विश्व सम्मेलन भएको थियो । सम्मेलनले आ(आफ्ना देशमा राष्ट्रिय युवा नीति तर्जुमा गर्ने साझा प्रतिबद्धता सहित ८८ बुँदे लिसवन घोषणापत्र जारी गरेको थियो । सन् १९९९ को डिसेम्बर १७ मा बसेको राष्ट्रसंघको ५४औं महासभाले उक्त प्रस्ताव अनुमोदन गरेपछि सन् २००० बाट हरेक वर्षको अगष्ट १२ को दिनलाई अन्तर्राष्ट्रिय युवा दिवसको रूपमा मनाउन थालिएको हो ।  

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ । संघीय संसद्अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे  बस्नेछ ।  आजको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल हुने कार्यसूची छ।

माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि जारी रहने भएको छ ।  शुक्रबार देखि पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसिरहेको बैठक आज पनि बस्ने जारी रहने भएको हो । आइतबार बसेको बैठकमा नेताहरुको सकिएको छैन । बैठक भोलिसम्म चल्ने बताइएको छ ।

आज साउनको अन्तिम सोमबार, देशभरका शिवालयमा भक्तजनको भीड

काठमाडौं । आज साउन महिनाको अन्तिम सोमबार । शिव लङ्ग दर्शन गर्न बिहानैदेखि दर्शनार्थीहरु पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पुगेका छन्। आज दर्शनार्थीको भिड हुने भएकोले पशुपति क्षेत्र विकास कोषले पूजाआजा गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केकाहरूका लागि बिहानदेखि नै मन्दिरमा सहज रूपमा दर्शनको व्यवस्था मिलाएको छ । दर्शनार्थीका लागि सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायत व्यवस्थापन मिलाइएको कोषले जनाएको छ । अहिले उपत्यकामा पशुपतिनाथसहित, गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किरातेश्वर, भालेश्वरसहितका साथै काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्दीको गलेश्वरलगायत देशभरका शिवालयमा भक्तजनले बिहानैदेखि स्नान गरी महादेवको पूजा आराधन गरिरहेका छन् । साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरमा दूध र जल चढाई पूजा गरेमा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।साउनमा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोलबम यात्रा गरी जल चढाउने भक्तजनको पनि घुइँचो लाग्ने गर्दछ । सोमबारको व्रत गर्ने भक्तजनले आज व्रत पूरा गरी उद्यापनका लागि गोदान र पूर्णपात्र गर्ने विधि रहेको छ ।

यी प्रदेशका यी स्थानमा हुनेछ मध्यमदेखि ठूलो वर्षा

काठमाडौं ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । महाशाखाका अनुसार अहिले सबै प्रदेशमा साधारणतया बदली रहेको छ । कोशी र बागमती प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ । आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना छ । आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम र क्षतिबाट बच्न महाशाखाले सबैमा अनुरोध गरेको छ ।

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । साताको पहिलो कारोबार दिन अर्थात आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ७०० रुपैयाँले बढेर १ लाख ४८ हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि, शुक्रबार छापावाल सुन १ लाख ८८ हजार १०० रुपैयाँ कायम रहेको थियो । यता, आज चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले घटेर १७ सय २० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १७ सय ३० रुपैयाँ कायम रहेको  थियो ।

गायक प्रकाश तिमिल्सिनाको निधन

काठमाडौं । गायक प्रकाश तिमिल्सिनाको ३७ वर्षको उमेरमा निधन भएको छ । उनको शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ । शनिवार साँझ भैँसेपाटीस्थित डेरामा बेहोश अवस्थामा फेला परेका उनलाई अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषित गरेका थिए । तिमिल्सीनाको शव आज केही समय सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान नक्साल भगवती बहालमा अन्तिम श्रृद्धान्जलीका लागि राखिने संगीतकार चेतन सापकोटाले जानकारी दिए। तिमिल्सिनाको अन्तिम संस्कार आजै पशुपति आर्यघाटमा गरिने बताइएको छ । तिमिल्सिना गायन प्रतियोगिता ‘नेपाली तारा’ मार्फत सङ्गीत क्षेत्रमा उदाएका थिए । तिमिल्सिनाका ‘प्रिय तिम्रो सिउँदोमा सिन्दूर भर्न देऊ’, ‘नमान लाज यसरी’, ‘नआए नि हुन्थ्यो’ लगायतका दर्जनौँ गीत छन् ।

काँग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकमा प्रस्तावित ११ वटा एजेण्डाहरुमा छलफल जारी छ । नेताहरुले सो विषयमा आफ्ना धारणा राखिरहेका छन् । साथै समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ ।

माओवादीको प्राथमिकता जनताको ऐजेण्डा र मुलुकको समृद्धि : वर्षमान पुन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले आफूहरूको प्राथमिकतामा नेपाली जनताको एजेण्डा र मुलुकको समृद्धि रहेको बताएका छन् । पार्टी सम्बद्ध काठमाडौं–रोशी गाउँपालिका (काभ्रे) सम्पर्क समितिको पालिका भेलालाई आज यहाँ सम्बोधन गर्दै उनले भने, “सरकारका लागि हामीलाई कुनै हतारो छैन । कुनै अप्ठेरो पनि छैन ।” उपमहासचिव पुनले पार्टीले सरकारमा रहेर सुरु गरिएको भ्रष्टाचार, अनियमितता र राज्य दोहनविरुद्धको सङ्घर्षलाई संसद् र सडकसम्म विस्तार गर्ने बताए । उनले एक वर्षमा न्यूनतम शुल्क तिर्न नसक्ने एक लाख ८० हजार घरेलु ग्राहकको ६० दिनपछि विद्युत् काट्ने गरिएको भन्दै डेडिकेटेड र ट्रङ्कलाइनको विद्युत् उपयोग गरेर व्यवसायीले रु आठ अर्ब तिर्दिनँ भन्न नपाउने उनको भनाइ छ । कार्यक्रममा सो पार्टीका नेता एवं प्रतिनिधिसभा सदस्य सूर्यमान दोङ तामाङलगायतका नेताले जनअधिकारको संरक्षणका लागि पार्टीपङ्क्ति जनताको साथमा अगाडि बढ्ने बताए ।

माओवादीको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठक बस्दैछ । बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्नेछ । बैठकमा पछिल्ला राजनीतिक समसामयिक घटनाक्रम, पार्टीको भूमिका, प्रतिपक्षको भूमिका, जनदबाबका कार्यक्रम, जनसंगठन विस्तार एवं सुदृढीकरण र जनतामा जाने विशेष कार्यक्रमका बारेमा छलफल हुनेछ । बैठकमा नेताहरूले आफ्ना आफ्ना धारणा राख्ने क्रम जारी रहने पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।

काठमाडौंका यी क्षेत्रमा विद्युत् सेवा अवरुद्ध

काठमाडौं । काठमाडौंका विभिन्न क्षेत्रमा आज विद्युत् सेवा अवरुद्ध हुने भएको छ ।  बलम्बु सहायक वितरणक केन्द्रको थानकोट फिडर अन्तर्गतका क्षेत्रमा बिहान ७ बजेदेखि मध्याह्न १२ बजेसम्म विद्युत् सेवा अवरूद्ध हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।  थानकोट फिडर अन्तर्गत बलम्बु विद्युत् कार्यालय, गुर्जुधारा, दाउराडीपो, राधाकृष्ण टोल, हाइभिजन कोलोनी, सिर्जना चोक, खहरे बसपार्क, इन्द्रथान, श्रीकृष्ण स्कुललगायत क्षेत्रमा विद्युत् अवरूद्ध हुने प्राधिकरणले जनाएको छ ।  

यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल साउन २६ गते शनिबार सन् २०२४ अगष्ट १० तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलर र युरोको विदेशी विनिमय दर घटेको छ भने बेलायती पाउण्डको विनिमय दर बढेको छ। कतारी रियालको विनिमय दर स्थिर छ। अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०४ पैसा र बिक्री दर १३४ रुपैयाँ ६४ पैसा पुगेको छ।युरो एकको खरिद दर १४६ रुपैयाँ ३४ पैसा र बिक्री दर १४६ रुपैयाँ ९९ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ८४ पैसा र बिक्री दर १७१ रुपैयाँ ६१ पैसा पुगेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७६ पैसा र बिक्री दर ३६ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर 

३० औँ विश्व आदिवासी दिवस सम्पन्न

काठमाडौँ। ३०औं विश्व आदिवासी दिवस आज मनाइएको छ । शुक्रबार दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घको नेतृत्वमा काठमाडौँमा झाँकीसहितको र्‍याली निकालेको थियो। मगर, थारु, नेवार, तामाङ, राई र लिम्बूलगायत जातीय संस्थाहरुले आफ्नो ब्यानर र्‍याली निकालेका छन् भने र्यालीमा सहभागीहरु परम्परात पोशाकमा सजिएका थिए । भृकुटीमण्डपबाट निकालिएको र्‍याली कमलादीस्थित प्रज्ञा भवन सम्म पुगेको थियो । प्रज्ञा भवनमा महासङ्घ ३०औं विश्व आदिवासी दिवसको अवसरमा कार्यक्रममा गरेको थियो ।कार्यक्रममा आदिवासी जनजातिबाट राज्यका उच्च पदमा आसिन नेता तथा सामाजिक व्यक्तित्वको सहभागीता थियो ।

प्रेस सेन्टर नेपालले गरायो प्रेस काउन्सिलको ध्यानाकर्षण

काठमाडौं । प्रेस सेन्टर नेपालले पत्रपत्रिकाको वर्गीकरणको नतिजालगायतका विषयमा प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण गराएको छ । प्रेस सेन्टर नेपालका वरिष्ठ उपाध्यक्ष कमल गिरीको नेतृत्वमा उपाध्यक्ष हरु  लक्ष्मण खडका,  ओपेन्द्र शर्मा , दिपेन्द्र रावल  र महासचिव सन्तोष पौडेल लगाएत करिब २०  जनाको प्रेस सेन्टरको टोलीले काउन्सिल पुगेर अध्यक्ष बालकृष्ण बस्नेतको ध्यानाकर्षण गराएको हो । वरिस्ट उपाध्यक्ष गिरीले प्रेस काउन्सिल नेपाल नेपाली पत्रकारहरूको आशा र भरोसाको केन्द्र भएको बताए। अन्तर्राष्ट्रिय र नेपाली मान्यताअनुसार पनि काउन्सिल अर्धन्यायिक निकाय भएकाले यसले सम्पादन गर्ने कार्यहरू न्यायोचित हुनुपर्ने आफूहरूको मान्यता रहेको बताए। गिरीले पछिल्लो समय प्रेस काउन्सिल नेपालले गरेको पत्रपत्रिका वर्गीकरण, पुरस्कार वितरणलगायतमा पक्षधरता देखिएको गुनासो आएको बताए। काउन्सिलको विषयमा यस्तो टिप्पणी आउनु समग्र पत्रकारिताकै लागि नराम्रो हुने भन्दै उहाँले यसबारेमा काउन्सिल नेतृत्वले गम्भीर भएर सोच्नुपर्ने बताए। पछिल्लो पटक पत्रपत्रिकाको वर्गीकरणको विषयमा आफूहरूको असहमति रहेको र त्यसलाई सच्याएर काउन्सिल अघि बढ्नुपर्ने गिरीको भनाइ थियो ।  कार्यक्रममा उपाध्यक्ष लक्ष्मण खडका, ओपेन्द्र शर्मा  लगाएतले पत्रपत्रीका बर्गिकरण न्यायोचित नभएको सच्चाउनु पर्नेमा जोडदिनु भएको थियो कार्यक्रममा महासचिव पौडेलले प्रेस सेन्टरको वक्तव्य पढेर सुनाएका थिए । काउन्सिल अध्यक्ष बस्नेतले काउन्सिलको सफलतामा प्रेस सेन्टर जस्ता पत्रकारहरूका संगठनको सहयोग आवश्यक रहेको उल्लेख गरे । यसपटकको पत्रपत्रिकाको वर्गीकरणका विषयमा बढी गुनासो आएको उल्लेख गर्दै अध्यक्ष बस्नेतले त्यसमा पुनर्विचार गर्ने प्रतिबद्धता जनाए।