पर्यटनमन्त्री श्रेष्ठद्वारा पशुपति संग्रहालयको उद्घाटन

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल इन्भेष्टमेन्ट बैंकको आर्थिक सहयोगमा पुनर्निर्माण सम्पन्न भएको पशुपति संग्रहालय तथा महास्नान भवनको उद्घाटन गरे । संग्रहालयमा धार्मिक महत्त्वका सुनका जलप लगाइएका मूर्ति, तामा–पित्तल–ढलौटका मूर्तिहरु, ढुंगाका प्रस्तरकला, संस्कृति झल्काउने भेषभूषा, गरगहना, मुकुण्डो एवम् पुरातात्विक महत्वका काष्ठकला, चित्रकला, मुर्तिकला, लिञ्छविकालीन मानदेवको शिलालेख, ऐतिहासिक पुस्तक, प्राचीन मुद्रा तथा मूर्त अमूर्त सम्पदाका सामग्रीहरु राखिएको छ ।

कार्यक्रममा मन्त्री श्रेष्ठले नेपालको पर्यटन क्षेत्रको विकासका लागि सांस्कृतिक सम्पदाहरुलाई संरक्षण र संवर्द्धन गर्नुपर्ने बताए। मन्त्री श्रेष्ठले पाशुपत क्षेत्रमा छरिएर रहेका धार्मिक, सांस्कृतिक महत्त्वका सामग्रीहरुलाई एकै स्थानमा संकलन, अभिलेखीकरण र प्रस्तुतिकरण गरी संग्रहालयको रुपमा विकास गरिनु निकै ठुलो उपलब्धी भएको बताए।

पशुपति परिसर सभ्यताको पहिचान बोकेको स्थान रहेको बताउँदै उनले यसको संरक्षण, व्यवस्थापन र सरसफाईमा समेत ध्यान दिनुपर्ने बताए। २०७२ सालको भूकम्पले क्षतिग्रस्त धार्मिक, सांस्कृतिक तथा पुरातात्विक दृष्टिले महत्त्वपूर्ण पशुपति महास्नानघर भवनलाई नेपाल इन्भेष्टमेन्ट बैंकले पुनर्निर्माण गरेको हो । पुनर्निर्माणपछि बैंकले पशुपति क्षेत्र विकास कोषलाई पुननिर्मित पशुपति संग्रहालय महास्नान घर हस्तान्तरण गरेको छ ।

बैंकले पशुपति संग्रहालय महास्थानघर परियोजनामा ५ करोड १४ लाख रुपैयाँ तथा पाशुपत क्षेत्रको संरक्षणार्थ करिब ४ करोड गरी कुल ९ करोडभन्दा बढी सहयोग गरेको छ । बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेले पशुपति संग्रहालय तथा महास्नान भवनको संरक्षण र मर्मतसम्भारमा समेत निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाए । मन्त्री श्रेष्ठले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत नेपाल इन्भेष्टमेन्ट बैंकले गरेको प्रयास अन्य बैंक तथा वित्तीय संस्थाका लागि पनि अनुकरणीय रहेको बताए ।

न्यायालयमा सुधारको प्रयास भइरहेको छ : कामु प्रधानन्यायाधीश

काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायालयमा सुधारको प्रयास भइरहेको बताएका छन् । विशेष अदालतको नवनिर्मित भवनको उद्घाटन गर्दै आज उनले अदालतमा ढिलासुस्ती, भ्रष्टाचार, अनियमितता भएको बाहिर सुनिँदै आए पनि विकृति र विसङ्गतिलाई हटाउँदै सुधारका प्रयास भइरहेको बताएका हुन् ।   “न्यायपालिकामा निरन्तर सुधारको प्रयास भइरहेको छ”, कामु प्रधानन्यायाधीश कार्कीले भने, “सर्वोच्च अदालतमा मुद्दाको फछ्र्योट आठ प्रतिशत थियो, अहिले असार मसान्तसम्म मुद्दा फछ्र्योटको सङ्ख्या बढेर १९।२ प्रतिशत भएको छ ।” सर्वोच्च अदालतमा पुराना मुद्दाको फछ्र्योट गर्ने उद्देश्यले अहिले शुक्रबार पनि पूरा समय काम गर्नसमेत प्रारम्भ गरिएको छ । न्यायालयमा भएका विकृति विसङ्गतिलाई न्यूनीकरण गर्नका लागि सर्वोच्च अदालतमा न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयन गरिरहेको र न्यायपालिका तथा बारबीच सुमधुर समन्वय गरेर अघि बढेन उनको भनाइ थियो । “सर्वोच्च अदालतमा पाँच वर्ष, सात वर्ष र १० वर्षका मुद्दा पनि छन् भन्दा मलाई पनि आत्मग्लानि हुन्छ”, कामु प्रधानन्यायाधीश कार्कीले भने, “अब यो अवस्था नरहोस् भनेर निरन्तर मुद्दा फछ्र्योट गरेर सुधार गर्ने काम गरिरहेको छौँ, सबै अदालतले सेवाग्राहीलाई खुसी बनाएर पठाउनुस् ।” नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्यायपालिकाले राम्रो कामका लागि सम्मान गर्दै न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयनमा लैजानुपर्ने माग गरे । “सर्वोच्च अदालतमा अहिले पनि १० वर्षसम्मका मुद्दा बाँकी छन्”, उनले भने, “फैसला ढिला हुँदा सेवाग्राही निराश भएका छन् ।” अध्यक्ष घिमिरेले तीन वर्षभित्र सम्पूर्ण कानुन व्यवसायीलाई करको दायरमा ल्याउने तयारी रहेको जानकारी दिँदै न्यायालयकर्मी, कानुन व्यवसायी, सरकारी वकिल, सरकारी कर्मचारी सच्चिए न्यायालय पूर्णरुपमा सुधार हुने बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव तोयम रायाले अदालतले अझै छिटो न्याय सम्पादनमा ध्यान दिनुपर्ने र छिटो फैसला भएमात्र न्याय पाउने कुरालाई मनमा राखेर काम गर्नुपर्नेमा जोड दिए । सर्वोच्च अदालतका रजिष्ट्रार निर्मला पौडेलले विशेष अदालतले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणका मुद्दाको कारबाही किनारा गर्ने अदालतको भवन निर्माण भएकामा खुसी व्यक्त गर्दै आगामी दिनमा छिटोछरितो अनुसन्धान र फैसला कार्यान्वयन हुने विश्वास व्यक्त गरिन् ।​ सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक प्रेमप्रसाद भट्टराइले उपभोक्ताको मागलाई ध्यानमा राखेर छिटो न्याय दिनुपर्ने र त्यसका लागि कर्मचारी र न्यायकर्मीको क्षमता विकासमा ध्यान दिनुपर्ने बताइन् । कार्यक्रममा कामु प्रधानन्यायाधीश कार्कीले नवनिर्मित भवनको उद्घाटन गरेका थिए । साथै विशेष अदालत स्थापनाको २० वर्ष पुगेका अवसरमा प्रकाशित ‘विशेष अदालत स्मारिका, २०७९’ समेत उनले सार्वजनिक गरे । कार्यक्रममा भवन निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने उक्त अदालतका रजिष्टार अशोककुमार क्षेत्रीलाई सम्मान गरिएको थियो । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेलले उक्त भवन निर्माण सम्झौता भएको एक सय ४५ दिनअघि नै निर्माण सम्पन्न भएको र उक्त भवनले मुद्दाको सम्पादन गर्न अली सहज हुने विश्वास व्यक्त गरे । रासस

प्रतिनिधि सभा बैठकमा शोक प्रस्ताव पारित

काठमाडौंं । प्रतिनिधि सभाले प्रतिनिधि सभा सदस्य प्रदीप गिरीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । सोमवार बसेको प्रतिनिधि सभा बैठकले प्रतिनिधि सभा सदस्य प्रदीप गिरीको निधन भएकोप्रति शोक प्रस्ताव पारित गर्दै श्रद्धाञ्जली व्यक्त गरेको हो । गिरीको गत शनिवार राति ९ः३० बजे उपचारका क्रममा ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा निधन भएको थियो ।   गिरी नेपाली काँग्रेस पार्टीबाट वि.सं.२०५१ सालमा सिरहा जिल्ला क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए । त्यस्तै वि.सं.२०६४ र २०७० सालको संविधान सभा निर्वाचनमा समानुपातिक तर्फबाट निर्वाचित भएका थिए भने वि.सं. २०७४ सालमा सिरहा जिल्ला क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । प्रतिनिधि सभाको अर्को बैठक भदौ ७ गते मंगलवार बिहान १० बजे बस्ने गरी बोलाइएको छ ।

नारायण दवाडी सचिवमा बढुवा, सुदूरपश्चिम प्रदेशमा प्रमुख सचिवको जिम्मेवारी

काठमाडौं । सरकारले सहसचिव नारायण दवाडीलाई सचिवमा बढुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उद्योग बाणिज्य तथा आपूर्ति सहसचिव दवाडीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । सचिवमा बढुवा भएका दवाडीलाई सुदूरपश्चिम प्रदेशमा प्रमुख सचिवका रुपमा खटाउने निर्णय भएको उद्योग मन्त्री दिलेन्द्र बडूले बताए । आजको बैठकले केही कार्यविधि पनि पास गरेको उनले बताए ।

निर्वाचनका लागि प्रहरीले सेनासँग हतियार सापटी लिने

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा सुरक्षाका लागि हतियार अपुग भएको बताउँदै नेपाल प्रहरीले नेपाली सेनासँग हतियार मागेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार चुनावी सुरक्षाका लागि सेनासँग २ हजार ६ सय थान साना हतियार माग गरिएको छ । स्थानीय तहको निर्वाचनमा समेत सेनासँग हतियार मागेर काम चलाएको प्रहरीले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि पनि सेनासँग हतियार सापट लिन लागेको हो । स्थानीय तहको चुनावमा प्रहरीले सेनासँग २ हजार थान पेस्तोल माग गरेको थियो । त्यतिबेला सेनाले समय थोरै भएको भन्दै हतियार संकलन गर्न नसकिएको जानकारी गराउँदै १ हजार थान पेस्तोल मात्रै प्रहरीलाई उपलब्ध गराएको थियो । संघ र प्रदेशको चुनावमा एकै चरणमा गनुपर्ने र मतदानस्थल र मतपेटिका पनि स्थानीय तहको भन्दा बढी हुने भएकाले सुरक्षाकर्मीका साथै हतियार पनि यो पटक धेरै चाहिने प्रहरीको विशेष सुरक्षा समितिको ठहर छ । सेनाले माग अनुसार नै हतियार उपलब्ध गराएको अवस्थामा चुनावी सुरक्षाका लागि पेस्तोलको उपलब्धता पर्याप्त हुने प्रहरीले जनाएको छ । नेपाल प्रहरीले आगामी निर्वाचनका लागि १ लाख २० हजार म्यादी प्रहरी भर्ना गर्नुपर्ने भन्दै प्रस्ताव पेस गरेको छ । यसअघि स्थानीय तहको निर्वाचनमा १ लाख म्यादी प्रहरी भर्ना गरिएको थियो । प्रहरीले चुनावी प्रयोजनका लागि भन्दै ३ अर्ब ४७ करोड ३५ लाख बजेट माग गरेको छ । बजेटको धेरै हिस्सा गाडी खरिद र भाडामा लिन प्रयोग हुने प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

एनएमबि बैंकको एटिएम मेशिन फोडेर चोरी गर्ने अनिश पक्राउ

पोखरा । कास्की प्रहरीले बैंकको एटीएम मेशिन फोडेर चोरी गर्ने व्यक्ति एक महिनापछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी देवचुली नगरपालिका वडा नं. ५ घर भइ हाल पोखरा महानगरपालिका वडा नं. ३० डुँडाकोमुख बस्ने वर्ष २१ का अनिश तामाङ रहेका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको संयुक्त अनुसन्धान टोलीले तामाङलाई रूपन्देही बेलहिया (नेपाल–भारत सीमा नजिक)बाट भारततर्फ जाँदै गरेको अवस्थामा पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तामाङले गत साउन २ गते राति पोखरा ३० स्थित एनएमबि बैंकको एटीएम मेशिन फोडेर १५ लाख रुपैयाँ रकम चोरेका थिए । उनले सोही राति एनआइसी एशिया बैंकको एटीएम मेशिन पनि फोड्ने प्रयास गरेका थिए । कास्की प्रहरी प्रमुख एसपी अजय केसीका अनुसार घटनापछि प्रहरीले अनुसन्धान गर्नेक्रममा दुवै घटनामा एउटै व्यक्तिको हुलियार सो घटनामा ग१०प २९६३ नम्बरको मोटरसाईकल र हेल्मेटसमेत प्रयोग भएको देखिएको थियो । थप अनुसन्धान गर्नेक्रममा तामाङले चोरी गरेको भन्ने पुष्टि भएपछि उनको खोजी गर्नेममा पक्राउ परेका हुन् । पक्राउ परेका तामाङलाई चोरी तथा डाँका सम्बन्धी कसूरमा कास्की जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान शुरु गरिएको कास्की प्रहरी प्रमुख एसपी अजय केसी जानकारी दिए ।

गिरीको निधन लोकतान्त्रीक आन्दोलमा क्षति : राष्ट्रिय जनमोर्चा

काठमाडौं । नेता प्रदिप गिरीको निधन प्रति राष्ट्रिय जनमोर्चाले दुःख व्यक्त गरेको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वक्तब्य जारी गर्दै बौद्धिक व्यक्तित्व, निष्ठावान समाजवादी चिन्तकको मृत्युले नेपालको लोकतान्त्रिक आन्दोलनको लागि क्षति पुगेको बताएका हुन् । विज्ञप्तीमा भनिएको छ,–‘प्रदिप गिरी एउटा बौद्धिक व्यक्तित्व, निष्ठावान समाजवादी चिन्तक, लोकतन्त्रवादी तथा नेपाली कांग्रेसका नेता हुनुहुन्थ्यो । उहाँको मृत्युले नेपालको लोकतान्त्रिक आन्दोलनको लागि क्षति पुगेको छ । हामीले उहाँको मृत्युप्रति दुःख प्रकटगर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ तथा शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ ।’

१० वर्षे सार्वजनिक विद्यालय सुधार योजना सार्वजनिक गरिसकेका छौं : शिक्षामन्त्री पौडेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालय सुधारको अभियान थालिएको बताएका छन्। आइतबार ज्ञानोदय माविको ३५ कोठे भवनको उद्घाटन गर्दै मन्त्री पौडेलले सार्वजनिक विद्यालय सुधार अभियान शुरु भएको बताए। ‘१० वर्षे सार्वजनिक विद्यालय सुधार योजना सार्वजनिक गरिसकेका छौं,’ मन्त्री पौडेलले भने, ‘१२ हजार विद्यालयको भौतिक संरचना बनिसकेका छन् अब तीन वर्षमा भौतिक पूर्वाधारको काम सक्ने गरी अघि बढ्छौं।’ विद्यालयको भौतिक पूर्वाधारसँगै कानुनी सुधार र शिक्षण सिकाई प्रक्रियाको सुधार मन्त्रालयको प्राथमिकतामा रहेको बताउँदै विद्यालय सुधार गर्न साझा संकल्प गर्नुपर्ने बताए। ‘शिक्षकहरूका सेवा सुविधामा समस्या होलान् तर मन्त्रालय कर्मचारी सरहको सेवा सुविधा दिनेगरी अघि बढेको छ’, उनले भने, ‘शिक्षा मन्त्रालय कर्मचारीको मात्र नभई शिक्षकासाथीहरुको हो ।’ दुई हजार भन्दा बढी विद्यार्थी भएका विद्यालयहरुमा बसको व्यवस्था, दरबन्दी मिलानलगायतका समस्यामा मन्त्रालयले विशेष ध्यान दिने आश्वासन दिए। उनले उच्च शिक्षालाई जोड्न विद्यालय शिक्षासँग प्राविधिक शिक्षा जोड्ने प्रक्रिया गत वर्षदेखि शुरुवात भएको बताउँदै यस वर्ष थप एक सय विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गर्ने बताए। ‘१ सय ४० विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम चलिरहेका छ,’ मन्त्री पौडेललेभ भने, ‘यस वर्ष थप सय विद्यालय छनोट गरी सीपलाई रोजगारसँग जोड्छौं।’ मन्त्री पौडेलले शिक्षा सुधार गर्ने जिम्मेवारी शिक्षकहरुको भएको बताउँदै उनीहरुलाई गाली गरेर नभई अधिकार, माया र प्रोत्साहन गर्नुपर्ने तर्क गरे। उनले सार्वजनिक शिक्षा सुधारका लागि शिक्षक ‘होम टु, भिजिट’को प्रक्रिया थाल्नुपर्र्ने बताए। ‘शिक्षकहरुलाई संस्थागत विद्यालयले भन्दा नीजिले सेवा सुविधा कम दिएका छन्’ मन्त्री पौडेलले भने, ‘कम सेवा सुविधा भएपनि शिक्षकको मिहिनतले विद्यार्थीको आकर्षण नीजिमा भएको देखिन्छ ।’ सोही कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सार्वजनिक शिक्षालय सुधार गर्ने काममा महानगरपालिका लागिरहेको बताए। सार्वजनिक विद्यालयको गुणस्तरमा थप सुधार गर्ने महानगरपालिकाको योजना रहेको बताउँदै विद्यालय सुधारका लागि महानगरले सहयोग गर्न तत्पर रहेको प्रतिबद्धता व्यक्त गरे। यस्तै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले सही नेतृत्व हुँदा विद्यालयको गुणस्तरमा परिवर्तन आउने बताए। उनले हिजोका गल्तीकमजोरीलाई सच्चाउँदै विद्यालयको नक्सांकन, दरबन्दी मिलानलगायतका विषयमा महानगरले ध्यान दिनुपर्ने सुझाव दिए। नवर्निमित ३५ कोठे विद्यालयको भवन ३ करोड ५० लाख लागतमा सम्पन्न भएको छ । विद्यालयका प्रअ नातिकाजी महर्जनका अनुसार काठमाडौं महानगरपालिकाको १ करोड, महायक्षबाट ६७ लाख, बागमती प्रदेशबाट ९० लाख, जिल्ला शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट २९ लाख, प्रदेश सांसद विकाश कोषबाट ५० लाख, जिल्ला शिक्षा, समन्वय ईकाईबाट २१ लाख सहयोग प्राप्त भएको थियो। एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याएको विद्यालयमा साइन्स, म्यानेजमेन्ट, ल, र सिभिल इन्जिनियरिङको पढाई हुने गरेको छ। हाल विद्यालयमा ४ हजार २ सय विद्यार्थी अध्ययनरत रहको प्रअ महर्जनको भनाइ छ।

राजपुत र सरकार बीचमा तीन बुँदे सहमति, तोडिन् अनशन

काठमाडौं । आफ्नो बच्चाको ‘डिएनए’ परीक्षणको माग राख्दै आमरण अनसन बसेकी निहारिका राजपुत र सरकार बीचमा तीन बुँदे सहमति भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल र राजपुतबीच आइतबार राति तीन बुँदे सहमति भएसँगै राजपुतले आमरण अनशन तोडेकी हुन् । उनीले कानुनमन्त्री गोविन्दप्रसाद कोइराला ‘बन्दी’ को उपस्थितिमा विगत १७ दिनदेखि बसेको अनशन तोडेकी हुन् । सहमतिमा राजपुतको मागअनुसार उच्च अदालत जनकपुरमा विचाराधीन मुद्दामा डिएनए परीक्षण गर्न अदालतसमक्ष जाहेरवालाका तर्फबाट सरकारी वकिलले माग गर्ने सहमति भएको छ । यस्तै, डिएनए परीक्षणलाई विश्वसनीय बनाउन अदालतसमक्ष आवश्यक प्रक्रिया अपनाउन माग गर्ने सहमति भएको हो ।

आफ्ना मागहरू सम्बोधन गर्न सहिद तथा बेपत्ता परिवार कास्कीको ध्यानाकर्षण

काठमाडौं। माओवादी जनयुद्धका कास्कीका सहिद एवं बेपत्ता परिवारहरु यतिबेला काठमाडौं आएका छन्। वर्षौंदेखि आफन्तहरुको खोजिमा रहेका सहिद एवं बेपत्ता परिवार संघीय संसद अन्तरगत प्रतिनिधिसभाको बैठकमा बेपत्ता सम्वन्धी विधेयक प्रस्तुत भएसँगै उनीहरु काठमाडौं आएका हुन्। आफ्ना मागहरू सम्बोधन गर्न सहिद तथा बेपत्ता परिवार कास्कीले सरकारको ध्यानाकर्षण गराएको छ। यसै सन्दर्भमा उनीहरुले आइतबार प्रधानमन्त्री शेरवहादुर देउवा, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री डा.बावुराम भट्टराई, अर्थमन्त्री जनार्दन शर्मा, कानुनमन्त्री गोविन्द बन्दी लगायतसँग विशेष भेटघाट गरेका थिए। उनीहरुसँगको भेटपछि सहिद एवं बेपत्ता परिवारहरुले भने, ‘हाम्रा आफन्तको स्थिति छिट्टै सार्वजनिक हुनेछ र सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गरिनेछ, वर्षौं देखिको हाम्रो प्रयासले सार्थकता पाओस्, यो गर्विलो इतिहास एवं हालको अवस्था यतिकै निर्माण भएको होइन हामी र हाम्रा आफन्त जस्तै हजारौं वीर सपुतहरुको त्याग समर्पण र वलिदानले मात्रै सम्भव भएको हो भन्ने कुरा राज्यलाई हेक्का रहोस्। हामी आसा र अपेक्षा गर्दछौं।’ संघीय संसद अन्तरगत प्रतिनिधिसभाको अब बस्ने बैठकमा संक्रमणकालीन न्याय सम्बन्धि विधेयकमा छलफल गर्ने कार्यसूची रहेको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्माले बेपत्ता पारिएका ब्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोगको तेस्रो संशोधन विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाकोतर्फबाट ‘न्याय परिषद र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन पेश हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

दुर्गन्धित काठमाडौं -भोलिसम्ममा सडकका फोहोर उठाइसक्छौं : महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले भोलिसम्ममा सडकका फोहोर उठाइसक्ने बताएको छ । पछिल्लो केही दिनयता दैनिक रुपमा झन्डै दुई सय वटा फोहर बोकेका गाडी बञ्चरेडाँडा गरेको महानगरले जानकारी दिएको छ । आज महानगरपालिकाका कमलादी र कमलपोखरी क्षेत्रका फोहर उठाइने महानगरले जनाएको छ । त्यस्तैगरी भोलि कहाँ कहाँ फोहोर छुटेका छन् तिनीहरुकमो अनुगमन गरेर उठाइनेछ महानगरले भनेको छ । यसअघि महानगरपालिकाले कुहिने र नकुहिने फोहरलाई छुट्याउन प्रत्येक घरलाई निर्देशन दिएको थियो । यद्यपि अहिले भने महानगरले सडकबाट एकै वर्षमा राखेर फोहोर उठाएको छ । यो पटकको फोहोर व्यवस्थापन सकिएपछिको चरणमा मात्रै कुहिने र नकुहिने वर्गिकरण गरिने बताइएको छ । विगतका समयभन्दा लामो गरि सडकका फोहोर नउठेपछि काठमाडौं दुर्गन्धित बनेको थियो । फोहोर विसर्जन गर्ने स्थान बञ्चरेडाँडाका स्थानीयले आन्दोलन चर्काएपछि व्यवस्थापनमा समस्या परेको थियो । काठमाडौंलाई डुङ्ग डुङ्ग गन्हाउन हालेर अनावश्व टिकाटिप्णीमा लागेको भन्दै मेयर बालेन शाहको चर्को आलोचना हुँदै आएको छ ।

सहकारी संघहरूलाई वित्तीय रिपोर्ट सार्वजनिक गर्न रजिस्ट्रार पण्डितको आग्रह

काठमाडौं । वित्तीय विचलनका कारण प्रारम्भिक सहकारी संस्थाहरुमा समस्या आइरहेका बेला सहकारी विभागका रजिस्ट्रार रुद्रप्रसाद पण्डितले केन्द्रीय सहकारी संघहरूलाई पनि वित्तीय रिपोर्ट सार्वजनिक गर्न आग्रह गरेका छन् । रजिस्ट्रार पण्डितले सहकारी ऐन, २०७४ को दफा २ (फ)लाई स्मरण गराउँदै विषयगत केन्द्रीय संघ, प्रदेश संघ र जिल्ला संघहरूलाई अबिलम्ब वित्तीय रिपोर्ट सार्वजनिक गर्न आग्रह गरेका हुन् । पाण्डेले सामाजिक सञ्जाल मार्फत नै भनेका छन्, –‘केन्द्रीय संघ, प्रदेश संघ र जिल्ला संघहरु सहकारी ऐनको दफा २(फ)अनुसार संस्थाको परिभाषामा संघ पनि पर्ने भएकोले संघहरूले पनि वित्तीय सूचक स्वतःजारी गर्नुपर्ने होइन र !! ढिला नगरौ श्रावण सम्मको सूचना शीघ्र जारी गरौं है ! गत आर्थिक वर्ष २०७८–७९ को संस्थाको वित्तीय विवरण सार्वजनिक गर्न रजिस्ट्रार पण्डितले आग्रह गरेका हुन् ।

ब्राजिलका र कोरियाका राजदूतले लिए शपथ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र ब्राजिलका लागि नेपाली राजदूत निर्मलराज काफ्ले र गणतन्त्र कोरियाका लागि नेपाली राजदूत प्राडा ज्योति प्याकुरेल भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छन् ।   राष्ट्रपतिको कार्यालय महाराजञ्जमा आयोजित एक समारोहका बीच राष्ट्रपति भण्डारीले राजदूत पदको शपथ गराएकी हुन् । उक्त अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

गिरीको पार्थिव शरीर अन्त्येष्टिको लागि पशुपति पुर्‍याइयो

  काठमाडौं । नेपाली कांग्रेसका दिवङ्गत नेता प्रदीप गिरीको पार्थिव शरीर अन्त्येष्टिका लागि पार्टी कार्यालय सानेपाबाट शव यात्रासहित पशुपति आर्यघाट लगिएको छ । शवयात्रा सानेपा, सातदोबाटो, कोटेश्वर, एयरपोर्ट हुँदै गौशाला भएर पशुपति आर्यघाटसम्म पुर्‍याइएकाे छ । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली कांग्रेसका दिवंगत नेता प्रदीप गिरिलाई श्रद्धाञ्जली दिन पशुपति आर्यघाट पुगेका छन् । शनिबार राति निधन भएका गिरिको अहिले पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कारको काम भइरहेको छ । गिरिलाई श्रद्धाञ्जली दिन कांग्रेससहित विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता पशुपति आर्यघाट पुगेका छन् ।   पशुपति आर्यघाट लैजानुअघि श्रद्धाञ्जलीका लागि गिरिको पार्थिव शरीरलाई कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो । घाँटीको क्यान्सर र निमोनियाबाट पीडित गिरिको शनिबार राति साढे ९ बजे ७४ वर्षको उमेरमा निधन भएको थियो ।

भरतपुरको मुहार फेर्न अहोरात्र खटिरहेका छौं : मेयर दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको मुहार फेर्न अहोरात्र खटिरहेको बताए्की छन् । आईतबार भरतपुर–१७ मा अवस्थित धावालिङ बौद्ध गुम्बामा निर्माण भएको मूर्तिको अनावरण गर्दै मेयर दाहालले भरतपुरको जनताको मुहारमा खुसी ल्याउने गरी अहोरात्र खटिरहेको उल्लेख गरिन्। मेयर दाहालले विगत ५ वर्षमा पुरा हुन नसकेको अधुरा कामलाई निरन्तरता दिदै जनताको इच्छा र चाहानालाई सम्बोधन गर्दै अबको ५ वर्ष अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे। भरतपुर महानगरपालिकालाई नेपालकै नमुना महानगरका रुपमा स्थापित गर्न यहाँ आवश्यक पूर्वाधार निर्माण भइरहेकाले सुन्दर र सुसंस्कृति शहरका रुपमा परिचित हुने क्रममा रहेको मेयर दाहालको भनाई थियो । भरतपुरमा निर्माण भइरहेका पूर्वाधार निर्माण सम्पन्न हुदाँ देशभरबाट हेर्न आउने शहर बन्ने मेयर दाहालले बताइन्। ‘भरतपुर महानगरले सबै क्षेत्रलाई समेटेकै छ, उनले भनिन् ,‘जनताको हेरक सुख दुःखमा स्थानीय सरकार साथमा छ । महानगरबासीको इच्छा र चाहाना अनुसार विकासको कामलाई अगाडि बढाएको छौ । धेरै कामहरु गर्न बाँकी छ । ५ वर्षमा धेरै काम गर्न सकिन्छ ।’ सडक पूर्वाधार, भौतिक पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, रोजगारीको क्षेत्रमा उल्लेख्य विकास भएकाले अब जनतालाई कसरी खुसी बनाउन सकिन्छ भन्ने तर्फ महानगरपालिकाले ध्यान केन्द्रीत गरेको मेयर दाहालको भनाई थियो । सबै धर्म, क्षेत्र, वर्गलाई भरतपुर महानगरपालिकाले समान दृष्टिकोणबाट प्रर्वधन गर्ने नीति लिएको मेयर दाहालले स्पष्ट पारिन्। महानगरपालिकाले प्राथामिकताको आधारमा सबै क्षेत्रलाई हरेक वर्ष बजेट विनियोजन गरी विकास निर्माणको कार्यलाई अगाडि लैजाने गरेको मेयर दाहालले बताइन्। भरतपुरमा निर्माणधिन योजनामा जनस्तरबाट अनुगमन गर्ने, खबरदारी गरी समयमै काम सम्पन्न गराउन स्थानीयबासीले भूमिका निर्वाह गर्नुपर्ने उनको धारणा थियो ।

राजनेता गिरीको निधनले सच्चा र असल नेता गुमायौं : गोपालमान श्रेष्ठ

काठमाडौं । नेपाली काङ्ग्रेसका पूर्व उपसभापति एवं पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले कांग्रेसका नेता एवं समाजवादी चिन्तक राजनेता प्रदीप गिरीको निधनले देशले एक सच्चा र असल नेता गुमाएको बताएका छन् । श्रेष्ठले सामाजिक संजाल मार्फत गरीको निधनले आफु स्तब्ध भएको भन्दै सो कुरा बताएका हुन् । उनले समाजिक संजालमा लेखेका छन्–‘नेपाली काङ्ग्रेसका नेता एवं समाजवादी चिन्तक वैचारिक राजनेता मेरा परम मित्र प्रदीप गिरीजीको असामयिक निधनको खबरले म स्तब्ध भएको छु। वहाँको निधनले एक सच्चा र असल नेता गुमाएको छ। उहाँको आत्माको चीरशान्तिको कामना गर्दै यस दुखद घडीमा शोकसन्तप्त समस्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु।’