विमानस्थलमा पक्राउ परेका व्यक्तिलाई शौच गराउँदा एक किलो सुन निस्कियो

 

काठमाडौं । प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सुनसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय राहदानी नम्बर भी ११२२८९० वाहक ३१ वर्षका राहुल रेमानान छन् ।

उनलाई विमानस्थल सुरक्षा कार्यालयले शनिबार आगमन गेटबाट पक्राउ गरेको प्रहरी प्रधान कार्यालयको केन्द्रीय समाचार कक्षले जनाएको छ । उनी फ्लाई दुबईको उडानबाट दुबईबाट काठमाडौं आएका थिए ।

 

राहुलको गतिविधि शंकास्पद देखिएपछि नियन्त्रणमा लिएर काठमाडौं मेडिकल कलेजमा एक्स–रे गर्दा पेटभित्र शंकास्पद वस्तुको आकृति देखिएको थियो । त्यसक्रममा प्रहरी वृत्त गौशालामा लगेर शौच गराउँदा मलद्वाराबाट बेलनाकारको सुनको चार वटा पोका फेला परेको प्रहरीले जनाएको छ ।

थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

कांग्रेस निर्वाचनमा केन्द्रित : ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्ने भएको छ । कांग्रेसले पार्टी केन्द्रिय कार्यालय सानेपामा शनिबार पत्रकार सम्मेलन गरी यही भाद्र १० गतेदेखि २४ गतेसम्म आगामी निर्वाचनलाई लक्षित गरी सोहि अभियान सुरु गर्ने जानकारी गराएको हो । जनताकोबीचमा जाने, जनताको कुरा सुन्ने र कांग्रेस नेतृत्वको सरकारले गरेका कामहरुको बारेमा जनतालाई जानकारी गराएर आगामी निर्वाचनको तयारीको कामलाई अघि बढाउने गरी अभियान संचालन गर्न लागिएको पार्टीका प्रवक्ता डा। प्रकाशशरण महतले जानकारी दिए । उनका अनुसार यो अभियानमा पार्टीका केन्द्रिय प्रतिनिधिहरु सबै जिल्लामा सहभागी हुनेछन । उनीहरुको नेतृत्वमा प्रदेश समिति, जिल्ला कार्य समिति, क्षेत्रीय कार्य समिति हुँदै सोही अभियानमा वडा तहसम्मका पार्टीका समितिहरु परिचालित हुनेछन । उनले भने– ‘अहिले ‘जनताको साथमा कांग्रेस’ अभियान आउँदो भाद्र १० गतेदेखि संचालन हुन्छ । त्यसपछि दोस्रो चरणमा समानुपातिक उम्मेदवारी दर्तापछि जनताकाबीचमा जाने कार्यक्रम हुन्छ । र, त्यसपछि निर्णायक उम्मेदवारहरु चयन भएपछि १६५ वटै संघको निर्वाचन क्षेत्र र ३ सय ३० वटा प्रदेशको निर्वाचनमा क्षेत्रमा चुनावी प्रचार अभियानको कार्यक्रम हुन्छ । हामीले मुलतः यो अभियान जनताको बीचमा जाने, जनताको कुरा सुन्ने र त्यसलाई आत्मासात गर्ने र सँगसँगै नेपाली काँग्रेसको नेतृत्वमा हामीले के–के काम गर्यौं । के कस्ता उपलब्धी भए र आउने दिनमा के कार्यक्रम छन भनेर प्रस्तुत गर्छौ । यी विषयवस्तुमा केन्द्रित रहेर यो अभियान अगाडि बढछ । र, चुनावी तालमेल गरेर जाने भनेका छौं । यस विषयमा पनि त्यहाँ जानकारी लिने, परिस्थिति बुझ्ने र यसको आवश्यक्ताको बारेमा पनि हामी चर्चा, परिचर्चा गर्ने र त्यो किसिमको माहौल बनाउने अभियानको मूल उद्देश्य हुनेछ । ७७ वटै जिल्लामा पार्टीका केन्द्रिय सदस्यहरु परिचालित हुनुहुनेछ । भोलीनै पार्टी सभापतिको उपस्थितिमा उनीहरुलाई अभिमुखिकरण कार्यक्रम हुन्छ । केन्द्रिय प्रतिनिधिहरु सबै जिल्ला गएर जिल्ला कार्य समितिको बैठक राखेर विभिन्न तहलाई परिचालन गरी सो अभियानलाई सफल बनाउने योजना तय गर्नेछन ।’ प्रवक्ता महतले सत्तारुढ गठबन्धनबीचको सिट बाँडफाँडको टुंगो लगाउने काम कठिन नभएको बताए। निर्वाचनमा परिणाम गठबन्धनको पक्षमा आउने गरी सिट बाँडफाँड गर्ने कुरालाई आफ्नो पार्टीले पहिलो प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले गठबन्धनमा आवद्ध दलहरु सबै वीनवीन हुने गरी त्यसको टुंगो लगाउने बताए । प्रवक्ता महतले मतदातालाई स्वभाविक लाग्नेगरी सिटमा दावी गर्न पनि गठबन्धनमा आवद्ध अन्य दलहरुलाई आग्रह गरे । त्यसो हुन नसके चुनावमा गठबन्धनले अपेक्षित परिणाम ल्याउन नसक्ने उनको भनाइ थियो । प्रवक्ता महतले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनपछि पनि आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने गरी चुनावी प्रचार अभियानमा आफ्नो पार्टी केन्द्रित भएको बताए ।

२१ सय थान लागु औषधसहित दुई भारतीय नागरिक पक्राउ

काठमाडौं । बाराको कलैया उपमहानगरपालिका–२० बाट दुई जना भारतीय नागरिक लागु औषधसहित पक्राउ परेका छन् । प्रहरी चौकी वसन्तपुरले गण्डक नहर चोकबाट शनिबार उनीहरूलाई पक्राउ गरेको हो । भारतको बिहारबाट नेपाल आएको बीआर ३० आर ९३९१ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा प्रहरीले भारत बिहार मोतिहारी जिल्ला महुअवा थाना ग्राम पञ्चायत कोरैया–१ का ३२ वर्षीय चन्दन मिश्रा र २ का २५ वर्षीय धर्मजित कुशवाहालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूको पिठ्युँमा बोक्ने झोलाभित्र लुकाई छिपाई नेपालमा बिक्रीका निम्ति ल्याएको डाइजेपाम, फेनारगन र नुर्फिन ६–६ सय थान र नाइट्राभेट–१० तीन सय थान लागु औषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । लागुऔषध फेला परे पश्चात उनीहरू सवार मोटरसाइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धानका निम्ति जिल्ला प्रहरी कार्यालय बारा ल्याइएको छ । खुल्ला सीमाका कारण बारा लागुऔषध कारोबारीहरूका लागि मुख्य ट्रान्जिट बन्दै आएको छ ।

रुपन्देहीमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु, एक घाइते

काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ शंकरनगर चोकमा शनिबार बिहान २ बजे स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु २१ प ९५९४ नम्बरको स्कुटर दुर्घटना हुँदा चालक ओमसतिया गाउँपालिका–१ का ३० वर्षीय शंकर पुनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भिर घाइते भएका उनको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । यस्तै, घाइते भएका स्कुटरमा पछाडी सवार एक जनाको भने सोही अस्पतालमा उपचार भइरहेको छ । स्कुटर अनियन्त्रित भइ पल्टिएको वडा प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

करेन्ट लागेर बाबु र छोराको मृत्यु

नेपालगञ्ज। नेपालगञ्जमा करेन्ट लागेर आज बाबु र छोराको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१७ निवासी करिब ४० वर्षीय परसुराम कलवार र २५ वर्षीय बब्लु कलवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए। अटो रिक्सा चार्ज गर्ने क्रममा छोरा बब्लुलाई करेन्ट लागेको र उनलाई बचाउन खोज्दा बाबु पर्शुरामलाई पनि करेन्ट लागेर गम्भीर घाइते भएपछि उनीहरुको नेपालगञ्जस्थित नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको थियो । शव परीक्षणका लागि भेरी अस्पताल लगिएको छ ।

रातभर जाग्राम बसेर श्रीकृष्ण जन्माष्टमीको व्रत समापन

काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन गरिने ‘श्रीकृष्ण जन्माष्टमी’ व्रत शुक्रबार रातभर जाग्राम बसेर समापन गरिएको छ । अष्टमीका दिन पूजा आराधना गरी रात्रिकालमा जाग्राम बसेपछि ‘श्रीकृष्ण जन्माष्टमी’ व्रत समापन हुने विधि छ । वैदिक सनातन धर्मावलम्बीले भाद्र कृष्ण अष्टमीका दिन पूजा आराधना गरी देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरिएको थियो । शुक्रबार देशभरका कृष्णमन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको थियो । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले यस दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बसेका हुन् । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौं अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको पौराणिक मान्यता छ । कृष्ण जन्माष्टमीका दिन पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिर, राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाम, उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत सङ्घको कार्यालय परिसरमा रहेको कृष्णमन्दिर, पशुपति, वसन्तपुर र भक्तपुर दरबार क्षेत्रलगायत देशभरका कृष्णमन्दिरमा भक्तजनको भीड लागेको थियो ।

अब उम्मेदवारीसँगै सम्पत्ति विवरण अनिवार्य

काठमाडौं । निर्वाचन आयोगले आगामी निर्वाचनमा उम्मेदवारी दर्तासँगै अनिवार्य रूपमा सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था प्रस्ताव गरेको छ। आयोगले निर्वाचन आचारसंहिताको मस्यौदामा यस प्रकारको नयाँ व्यवस्था राखेको हो। आयोगका कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख यज्ञप्रसाद भट्टराईले सरोकारवालासँगको छलफलपछि आएका सुझावअनुसार थप केही व्यवस्था प्रस्ताव गरिएको जानकारी दिए । यसअघि उम्मेदवारले अचल सम्पत्तिको विवरण राख्ने व्यवस्था राखिएकोमा अब उक्त व्यवस्था परिमार्जन गर्न लागिएको हो। यो व्यवस्थापछि उम्मेदवारले चल, अचल सबै सम्पत्ति विवरण पेस गर्नुपर्ने हुन्छ। आचारसंहिता परिमार्जन गर्नुअघि आयोगले संशोधन गर्न लागेको विषयबारे राजनीतिक दलहरूसँग छलफल गर्नेछ। आचारसंहिता थप गर्ने विषयहरूमा राजनीतिक दलसँग आयोग पदाधिकारीले भदौ ६ गते छलफल गर्ने कार्यक्रम तय भएको छ। यो खबर आजको गोरखापत्र दैनिकमा समाचार छ ।

पदाधिकारी टुंगो लगाउन माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठक आज पनि बस्ने भएको छ । दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकले पदाधिकारी र स्थायी कमिटीलाई पूर्णता दिने बताइएको छ । यसअघि पदाधिकारी टुंगो लगाउन भन्दै बोलाइएको शुक्रबारको बैठक निष्कर्षविहीन भएको थियो । शुक्रबार बिहान पार्टी कार्यालय कोटेश्वरमा बसेको स्थायी कमिटी बैठकले पदाधिकारीसहित अन्य सांगठनिक संरचनालाई पूर्णता दिन असफल भएको हो । प्रवक्ता कृष्णबहादुर महराले पदाधिकारीको विषयमा गम्भीर छलफल भएपनि निष्कर्ष निस्कन बाँकी रहेको र आजको बैठकले यस विषयलाई टुंग्याउने विश्वास व्यक्त गरे ।

युनियनका सचिव भण्डारीलाई प्रहरी अधिकारीले दिएको धम्कीप्रति प्रेस युनियनको ध्यानाकर्षण

काठमाडौं । नेपाल प्रेस युनियनका सचिव छायाँचन्द्र भण्डारीलाई समाचार प्रकाशित गरेको विषयमा दरवारमार्ग वृत्त काठमाडौंका प्रहरी अधिकारीले धम्की दिएको भन्दै उक्त घटनाप्रति नेपाल प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । समाचारको विषयमा असहमति जनाउँदै सम्बन्धित प्रहरी अधिकारी कानुनी प्रक्रियामा अघि बढिसकेपछि पनि धम्की दिनु निन्दनीय भएको युनियनका महासचिव दिलिप पौडेलले विज्ञप्ती मार्फत जनाएका छन् । युनियनले यस्ता कार्य रोक्न सम्बन्धित अधिकारीलाई आग्रह समेत गरेको छ । युनियनले भनेको छ –’समाचारमा चित्त नबुझे त्यस उपर कानुनी कारबाहीका लागि प्रेस काउन्सिल वा अदालत जान सक्ने कानुनी व्यवस्था छ । समाचारको विषयलाई लिएर विद्युतीय कारोबार ऐनको दुरुपयोग गरी फौजदारी मुद्दा चलाउन पाइँदैन ।’ प्रहरी अधिकारी होस् वा पत्रकार सबै आफ्नो पदीय मर्यादामा बस्नुपर्छ भन्नेमा युनियन प्रष्ट रहेको बताएको छ । समाचार प्रकाशित गर्दा पत्रकार आचारसंहिता पूर्ण पालना गर्न, कसैको व्यक्तिगत चरित्र हत्या गर्ने प्रकारका सञ्चार सामग्री प्रकाशन तथा प्रसारण नगर्न प्रेस युनियन यसै विज्ञप्ति मार्फत् सबै सदस्य र पत्रकारहरुलाई आग्रह गरेको छ ।

लापरवाहीका कारण करेन्ट लाग्दा, पाँच जनाको मृत्यु

सप्तरी । तराई मधेसका जिल्लामा अत्याधिकरूपमा गर्मी बढेको छ । पानी परेको छैन, तापक्रम दिनदिनै बढ्दो छ । यसले मधेसमा गर्मी असह्य बनेको छ । बिहानैदेखि लाग्ने चर्को घामले जनजीवन कष्टकर बनाएको छ । उखरमाउलो गर्मीले सहर–बजारमा दिउँसो चहलपहल पातलिएको छ । गर्मी यति बिघ्न छ कि पङ्खाबिना एकै क्षण बस्न पनि गाह्रो छ । सप्तरीको बोदे बर्साईन नगरपालिका–३ मधुवनका रामअशिष यादवका छोरा १८ वर्षीय रामनरेश यादव आज घरबाहिर निस्कन सकेनन् । टन्टलापुर घाम र गर्मीका कारण घरबाट बाहिर निस्कन नसकेका उनी हावा खान घरकै बरन्डामा बसे । असह्य गर्मीका कारण पर्खालमा टेबल पङ्खा राखेर हावा लिन थाले । अचानक हातले पङ्खामा छुन पुगेका रामनरेश करेन्ट लागेर घाइते भए । घाइतेलाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज ल्याइयो । चिकित्सकले ढिला भएको भन्दै मृत घोषणा गरे । करेन्ट लागेर सप्तरीमा योसमेत नयाँ आर्थिक वर्षमा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । साउन १८ गते कञ्चनरूपमा बुहारीलाई करेन्ट लागेको देखेर जोगाउन जाँदा ससुरासमेतको मृत्यु भएको सप्तरीवासीले बिर्सिएका छैनन् । कञ्चनरूप नगरपालिका–६ घोघनपुरका नरेश सरदारकी श्रीमती २० वर्षीया अञ्जली सरदारलाई करेन्ट लागेको देखेर जोगाउन गएका उनका काका ससुरा ४० वर्षीय मधु भनिने सौदानन्द सरदारको समेत मृत्यु भएको थियो । घर आँगनमा रहेको ट्युबवेलमा जडान रहेको पानी तान्ने मोटर चलाउँदा अञ्जलीलाई करेन्ट लागेको थियो । यसैगरी सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुर बस्ने दुखी साहका छोरा ५६ वर्षीय शिवशङ्कर साहको समेत साउन १७ गते करेन्ट लागेर मृत्यु भएको थियो । आफ्नै घरको आँगनमा रहेको चापाकलमा जडान गरिएको मोटरमा पानी तान्ने क्रममा करेन्ट लागी उनको मृत्यु भएको हो । खडक नगरपालिका–११ लालपुरमा साउन ९ गते खेतमा सिँचाइ गर्नका लागि जडित मोटर खोल्ने क्रममा करेन्ट लागेर ६० वर्षीय शत्रुघ्न खङ्ग मण्डलको ज्यान गयो । लापरवाहीकै कारण सप्तरीमा गत एक वर्षको अवधिमा करेन्ट लागेर १२ जनाले अकालमा ज्यान गुमाएका छन् । यो वर्षको सुरुआतमै पाँच जनाको करेन्ट लागेर मृत्यु भइसकेको सप्तरी प्रहरीले जनाएको छ । आर्थिक वर्ष २०७८–०७९ को तथ्याङक हेर्दा करेन्ट लागेर ज्यान गुमाउनेको सङ्ख्या १२ र घाइते हुनेको सङ्ख्या २६ जना रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ । ज्यान गुमाउनेमा चार महिला, छ पुरुष र दुई बालक रहेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार करेन्टका ४० घटनामा तीन चौपायाको समेत मृत्यु भएको छ । घाइते हुनेमा १२ महिला, आठ पुरुष र छ बालक थिए । ज्यान गुमाउनुको मुख्य कारण मानिसहरूको लापरवाही र विद्युत् प्राधिकरणको पनि लापरवाही हुने गरेको जिल्ला प्रहरी कार्यालयको निष्कर्ष छ । सावधानीपूर्वक बिजुलीको प्रयोग गर्न, बिग्रेका विद्युत् उपकरणको समयमै मर्मत गरेर उपयोग गर्न र गैरकानूनी तरिकाले बिजुलीको दुरूपयोग नगर्न सप्तरी प्रहरीले अपिल गरेको छ ।

काठमाडौंको फोहोर उठाउन नसक्नु लज्जास्पद : महामन्त्री शर्मा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौंको फोहोर उठाउन नसक्नु लज्जास्पद रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित ‘कमरेडको जनै’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै महामन्त्री शर्माले तीन तहको सरकार हुँदा पनि काठमाडौंको फोहोर उठाउन नसक्नु लज्जास्पद कुरा भएको बताएका हुन् । उनले यस्तो लज्जित अवस्थाको अन्त्य गर्नुपर्ने बताए । उनले फोहोर समस्याको दीर्घकालीन समाधानका लागि सबै राजनीतिक दलहरुले साझा ढंगले सोच्नुपर्ने बताए । महामन्त्री शर्माले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई साथ दिनुपर्ने र बञ्चरेडाँडाँका नागरिकहरुको मागको पनि राज्यले सम्बोधन गर्नुपर्ने बताए । उनले भने, ‘शासनहरु बदलिन्छन् । राजसंस्थाबाट हामी गणतन्त्रमा पुग्छौँ । यो दलको शासनबाट त्यो दलको शासनमा पुग्छौँ । दलहरुबाट फेरि स्वतन्त्रमा पनि पुग्छौँ । स्वतन्त्रहरु कहीँ जिम्मेवारीमा । कहीँ दलहरु जिम्मेवारीमा । तिन तहको सरकार हुँदै गर्दा पनि बिहान र साँझको गरेर दुई खेपको फोहोर उठाउन नसक्ने अवस्था भनेको लज्जास्पद कुरा हो । मैले अपील गर्नैपर्छ, भन्नैपर्छ, विहान एक छाकको साँझ एक छाकको गरेर दुई छाकको सम्म फोहोर उठाउन तीन÷तीन तहको सरकारले नसक्ने खालको लज्जित अवस्थाबाट यसलाई अन्त्य गर्नुपर्छ ।’ उनले थपे, ‘काठमाडौं जस्तो शहरमा यो फोहोर उठाउने कुरा र यसको दीर्घकालीन समाधानको बारेमा सबै राजनीतिक दलले साझा ढंगले सोच्ने कुरा । निर्वाचित भएका महानगरका मेयर बालेनलाई सम्पूर्ण रुपले साथ दिएर बल पु¥याउने कुरा, अनि त्यहाँ बञ्चरेडाँडाँका नागरिकले मागेका सामान्य कुराहरुलाई राज्यले नसुन्नुपर्ने, हामी दलहरुले नबुझ्नुपर्ने, तिन तहको सरकारले सम्बोधन गर्न नपर्ने भन्ने होइन । एकाइसौं शताब्दीमा आँगनको फोहोर कसरी सफा गर्ने भन्ने विषय होइन । एकाइसौं शताब्दीमा यो विषयलाई सम्बोधन गर्नलाई हामी जुन तहबाट कमजोरी भइरहेको छ, केन्द्र, प्रदेश चाहेँ स्थानिय तहबाट यस्तो विषयलाई सम्बोधन गर्नुपर्छ ।’ उनले समस्या समाधानका लागि संघ, प्रदेश र स्थानीय तह सबै जिम्मवार हुनुपर्ने बताए ।

श्रमिकसँग श्रममन्त्रीले हप्ताको १ घण्टा छलफल गर्ने, यसरी गरौं कुरा

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले प्रत्येक आइतबार एक घण्टा श्रमिकसँग छलफल गर्ने भएका छन्। मन्त्रालय र मातहतका निकायबाट प्रदान गरिने सेवा सुविधाका सन्दर्भमा जानकारी, उजुरी र गुनासोलगायत विषयमा उनले आइतबार बिहान ११ देखि १२ बजेसम्म श्रमिकसँग साक्षात्कार गर्ने मन्त्रालयले जनाएको छ । उक्त कार्यक्रमलाई ‘श्रमिकसँग श्रममन्त्री’ नाम दिइएको छ । श्रमिकले पैसा नलाग्ने १११४ नम्बरमा टेलिफोन गरेर श्रममन्त्री कुँवरसँग गुनासो र उजुरी राख्न सक्नेछन् । त्यस्तै पैसा नलाग्ने टोल फ्रि नम्बर १६६००१५००५, ५९७००८ र ९८०१८०००१३ मा फोन गर्न सकिने छ । मन्त्री कुँवर उपत्यका बाहिर रहेको समयमा भने कार्यक्रम सञ्चालन नगरिने मन्त्रालयले जनाएको छ ।

थपिए ६२३ जना कोरोना संक्रमि, ४८७ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा ६२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार ९४५ वटा नमुना परीक्षण गर्दा ६२३ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, शुक्रबार ४८७ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २२४ पुगेको छ । कोरोनाका कारण शुक्रबार कसैको मृत्यु नभएको स्वास्थय मन्त्रालयले जनाएको छ ।

जबर्जस्ती करणी गर्न खोज्ने अभियुक्त छुटाउन एमाले नेताको चर्को दवाब

काठमाडौं । आफ्नै भतिजी बुहारीलाई जबर्जस्ती करणी गर्न खोजेको अभियोगमा प्रक्राउ परेका रामेछाप उद्योग वाणिज्य संघका कोषाध्यक्ष एवं व्यवसायी पवन कठायतलाइ छुटाउन राजनीतिक दलका लागि परेका छन् । खासगरी रामेछापका केही एमाले जिल्ला नेताहरुले आरोपी पवन कठायतलाइ रिहा गराउन र पीडित भतिजी बुहारी बिनु यादबलाइ सहयोग नगर्न भन्दै एमालेको शीर्ष नेतृत्वसँग हार गुहार गरेको श्रोतले बताएको छ । कठायतले बुहारी बिनुलाई मन्थली नगरपालिका– १ मच्छेडाँडीनजिकैको आफ्नै घरमा जबर्जस्ती करणी गर्न खोजेको भन्दै कठायतविरुद्ध बिनुले गत साउन १५ गते रामेछाप प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । प्रहरीमा जाहेरी परेको थाहा पाएपछि फरार रहेका कठायतलाई गत बुधबार रामेछाप प्रहरीले सदरमुकाम मन्थलीबाट पक्राउ गरेको थियो । सञ्चार माध्यमको चर्को दबाब पछि फरार कठायतलाई मन्थलीबाट प्रहरीले पक्राउ गरेको हो । तर उनले भने प्रहरीलाई अनुसन्धानमा सहयोग गर्न प्रहरीसमक्ष आफै उपस्थित भएको दाबी गर्दै आएका छन् । पीडित बिनुले कारवाही पूरा नगरी नेताको दवाबमा अभियुक्त कठायतलाई छोड्ने गल्ती प्रहरीले गरेमा आफू प्रहरी प्रधान कार्यालयको मूल ढोका अगाडि आत्मदाह गर्न पछि नपर्ने बताएकी छिन । बिनुलाई काका ससुरा कठायतले २०७९ बैशाख ७ गते जवर्जस्ती करणी गर्न प्रयास गरेका थिए। बिनु आफ्नै श्रीमान प्रदीप कठायतबाट पीडित महिला हुन् । पवन र प्रदीपलाई जोगाउँन प्रदीपका मामा पर्ने प्रहरी नायव उपरीक्षक सुरज कार्की पनि लागि परेका बिनुको भनाई छ ।

भाषाविज्ञहरु भने – नेपालमा प्रचलित भाषाहरु लोप हुने अवस्थामा पुग्यो

काठमाडौं । नेपालमा प्रचलित कतिपय भाषा लोप हुने अवस्थामा पुगेको विज्ञहरुले बताएका छन् । भाषा तथा लोकवार्ता परिषद् नेपालले बिहीबार प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठमा आयोजना गरेको कार्यक्रममा ‘वर्तमान सन्दर्भमा नेपालका भाषाहरु र भाषायोजना’ विषयक अन्तक्र्रियामा उनीहरुले उक्त धारणा राखेका हुन् । कार्यक्रमका मुख्य प्रस्तोता भाषाविज्ञ डा. गोपाल ठाकुरले नेपालमा प्रचलित भाषाको अवस्था र कार्ययोजनाका बारेमा चर्चा गरे । उनले भाषा संवादको माध्यमसँगै आमसंस्कृतिको संवाहक भएको बताए । उनले भने, ‘नेपालमा संविधानको बहुभाषिक नीति कार्यान्वयनमा आउन सकेको छैन । यसलाई व्यवहारिक ढंगले राज्यले संबोधन गर्नुपर्दछ । भाषा म¥यो भने सिंगो सभ्यता मर्दछ । तसर्थ भाषाको संरक्षणमा राज्यले विशेष पहलकदमी लिनुपर्दछ ।’ भाषाविज्ञ ठाकुरले नेपालमा पछिल्लो समय शिक्षामा अंग्रेजी हाउगुजीका कारण नेपाली भाषा पनि संकटमा परेको जिकिर गरे । उनले मातृभाषाको पाठ्यक्रम राज्यले बनाए पनि दरबन्दी नराखेको बताउँदै यसमा गम्भीर बन्नु पर्ने धारणा व्यक्त गरे । उनले नेपालमा वैदेशिक रोजगारीले गर्दा कोरियाली, जापानी, चिनियाँ लगायतका भाषा सिक्नु पर्ने बाध्यता आएको जनाए । डा. ठाकुरले भाषा संरक्षणमा कम्तिमा ३ कक्षासम्म मातृभाषामा अध्ययन गर्ने वातावरण बनाउनु पर्नेमा जोड दिँदै भने, ‘३ कक्षासम्म मातृभाषा भाषामा पठनपाठनको वातावरण बनाउन सकेमा भाषा संरक्षणमा महत्वपूर्ण योगदान हुन सक्छ । साथै शिक्षकको दरबन्दी पनि उचित ढंगले व्यवस्थापन गरिनु पर्दछ ।’ उनले लोपोन्मुख भाषाको संरक्षणका लागि अनौपचारिक तथा औपचारिक दुवै तरिकाले काम गर्नुपर्नेमा जोड दिए । डा. ठाकुरले मातृभाषामा काम गर्ने व्यक्तिलाई प्रोत्साहन दिन सम्मान तथा पुरस्कारको व्यवस्था गर्नुपर्ने धारणा राखे । उनले नेपालमा बोलिने सबै भाषाको संरक्षणका लागि राज्यले नीतिगत तथा व्यवहारिक पक्षलाई ध्यान दिँदै काम गर्नुपर्ने जनाए । कार्यक्रममा वाल्मीकि विद्यापीठका प्राचार्य प्रा.डा.भागवत ढकालले भाषाको विकास र संरक्षणमा सबै पक्ष गम्भीर भएर लाग्नुपर्ने विचार व्यक्त गरे । उनले संस्कृत भाषा सबैभन्दा पुरानो भाषा भएकाले यसको पनि सही ढंगले खोज अनुसन्धान हुनुपर्ने बताए । परिषद्का संयोजक डा. बालाकृष्ण अधिकारीले नेपालको संविधान २०७२ ले बहुभाषिक मुलुक भनेर मानेको जनाउँदै यसको कार्यान्वयन पक्षलाई सबल बनाउनु पर्ने विचार व्यक्त गरे । उनले भने, ‘मुलुकभित्रका भाषालाई समान ढंगले विकास गरिनुपर्दछ । यसमा राज्यले आवश्यक कानुन निर्माण गरेर भए पनि भाषाको विकास र संरक्षणमा विशेष पहल लिन जरुरी छ ।’ पूरक प्रस्तोता संस्कृतिकर्मी ईश्वरचन्द्र ज्ञवालीले भाषा गम्भीर व्यापक विषय भएकाले यसको मर्मलाई राज्यले संबोधन गर्नुपर्ने विचार व्यक्त गरे । उनले मानव सभ्यताको सिंगो इतिहास, राजनीति, सामाजिक परिवेश आदि सबैलाई भाषाले समेट्ने जनाउँदै मातृभाषाको विकास र संरक्षणमा राज्यले काम गर्नुपर्ने बताए । यस्तै, अर्का पूरक प्रस्तोता सहप्रा.डा. विष्णु दहालले निमाविभन्दा तल मातृभाषामा पढाउनु पर्ने बताउँदै भाषा मानिसको संवेदना र जीवनसँग जोडिएको विषय भएको धारणा व्यक्त गरे । सो कार्यक्रममा प्रा.डा. राजनप्रसाद दाहाल, अखिल नेपाल लेखक संघका अध्यक्ष डा. धनप्रसाद सुवेदी, प्रलेसका केन्द्रीय अध्यक्ष डा. मधुसूदन गिरी, भीम रेग्मी, अग्रज मिथिला कलाकार ससी सुमन, अग्रज कलाकार जुलुमलाल चित्रकार, प्रा.डा.देवनारायण यादव, प्रा.डा. गोपीन्द्र पौडेल, तेजनारायण यादव, चेतनाथ धमला, रमेश खतिवडा लगायतले नेपाली भाषा र तिनको अवस्थाका बारेमा बहस गरेका थिए । उपप्राध्यापक तेजविलास अधिकारीले भाषालाई संरक्षण गर्नुपर्ने दायित्य राज्यको भएको विचार व्यक्त गरे । उनले विद्यालयदेखि विश्वविद्यालयसम्म भाषालाई अध्ययनको विषय बनाउँदै तिनका विविध पक्षको अध्यापन गरिनुपर्नेमा जोड दिए । सो कार्यक्रममा प्राज्ञ प्रा.डा. गोपीन्द्र पौडेल, प्रलेस केन्द्रीय अध्यक्ष डा. मधुसूदन गिरी, प्रलेस केन्द्रीय कोषाध्यक्ष बाबा बस्नेत, जनसांस्कृतिक महासंघका उपाध्यक्षहरू देवेन्द्र थुम्केली, केशव सिलवाल, प्रगति महरा, भीम कुमाखी, डम्बर रोकाय, साहित्यिक पत्रकार संघका महासचिव चेतनाथ धमला, प्रा.डा. देवनारायण यादव, अखिल नेपाल लेखक संघका अध्यक्ष डा. धनप्रसाद सुवेदी, वाल्मीकि विद्यापीठका प्राध्यापकहरू डा. राजनारायण ठाकुर, विद्यार्थी रमेश खतिवडा, कर्मचारीहरू टेकनाथ पाण्डेय, घनश्याम सिग्देल र टेगराज पौडेल, विश्वभाषा क्याम्पसका प्राध्यापक भीमनाथ रेग्मी, ललितकलाका वरिष्ठ कलाकार जुलुमलाल चित्रकार, प्राज्ञ एस.सी. सुमन, पाल्साङमो लामा तथा नेपाली केन्द्रीय विभागका विद्यार्थीहरू– केशव सुवेदी, उमेश न्यौपाने, सुमन्द्रा साउद, दिवाकर विष्ट, सरोज तिमल्सिना अनि अन्य व्यक्तित्वहरू सन्तोष सिम्खडा, तेजनारायण ठाकुर, सुयशकुमार न्यौपाने तथा स्रष्टा शोभाराम ओलीलगायतको उपस्थिति रहेको थियो । सोही अवसरमा स्रष्टा शोभाराम ओलीको बाछिट्टा संग्रह ‘अथाह’ को विमोचन गरियो । नेपालका भाषाहरूको भाषा तथा लोकवार्ता परिषद्का संयोजक डा.बालाकृष्ण अधिकारीले जनाए । उनले भूमिका र तिनको उत्थान, विकास र समृद्धिका राज्यका तर्फबाट योजनाबद्ध पहलकदमी लिनुपर्ने कुरामा यस कार्यक्रमले गहन सुझावहरू प्रदान गरेको बताए । उनले भने, ‘संविधानको प्रस्तावनामै उल्लिखित बहुभाषिक मुलुकका रूपमा नेपाललाई स्थापित गर्न अविलम्ब भाषायोजनाको कार्ययोजना ल्याउनुपर्ने, मातृभाषाहरूको विकासमा ध्यान दिनुपर्ने र संकटापन्न अवस्थामा रहेका भाषाहरूलाई संरक्षण र अभिलेखीकरण गर्न सरकार र भाषा आयोगले विशेष पहल गर्नुपर्ने लगायतका सुझावहरू आएका छन् ।’ समालोचक तथा वाल्मीकि विद्यापीठका उपप्राध्यापक तेजविलास अधिकारीले सञ्चालन गरेको उक्त कार्यक्रम परिषदका संयोजक डा. बालाकृष्ण अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सबै तहका कर्मचारीले आत्मसम्मानका साथ काम गर्ने वातावरण पाउनुपर्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सबै कर्मचारीले आत्मसम्मानका साथ काम गर्ने वातावरण पाउनुपर्ने बताएका छन् । अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघको चौथो राष्ट्रिय सम्मेलनको काठमाडौंमा उद्घाटन गर्दै प्रचण्डले आफ्नो पार्टी श्रमिकको पक्षमा र सामाजिक सुरक्षाको पक्षमा लड्दै आएको बताए । ‘मैले प्रधानमन्त्रीको बहन गर्ने अवसर पाउँदा अस्थायी र ज्यालादारी कर्मचारीको सेवा सुविधाको विषयमा हेरफेर गर्ने अवसर प्राप्त भयो । तपाईंहरुको ज्याला बढ्नुपर्छ भनेर पहल गरेको व्यक्ति हुनुको नाताले मैले अहिले पनि थप पहल गर्ने विश्वास दिलाउन चाहन्छु’ प्रचण्डले भने, ‘निजामती सेवा ऐनलाई अन्तिम रुप दिन लागेकाले अब संसदबाट पारित गर्ने चरणमा छ ।’ अस्थायी करार तथा ज्यालादारी कर्मचारीले निजामती कर्मचारी सरह सुविधा पाउनुपर्यो भन्नु जायज माग भएको प्रचण्डको भनाई छ । महंगी भक्ता, स्वास्थ्य वीमा र योगदानमा आधारित सामाजिक सुरक्षाको व्यवस्था हुनुपर्ने बताए । अस्थायी करार र ज्यालादारी कर्मचारीको फाइल अर्थ मन्त्रालयमा पुगेको बताउँदै प्रचण्डले त्यसमा पार्टीको तर्फबाट सकारात्मक भूमिका खेल्ने बताए ।