सुनको मूल्य आज एकै दिन १,५०० ले बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा एक हजार ५०० ले वृद्धि भएको छ। बिहीबार प्रतितोला एक लाख ४६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक लाख ४८ हजार १०० रुपैयाँ कायम भएको छ ।

यसैगरी तेजाबी सुन प्रतितोला एक लाख ४७ हजार ४०० रुपैयाँ पुगेको छ ।

यसैबीच, चाँदीको मूल्य तोलामा ४० रुपैयाँले वृद्धि भएको छ । बिहीबार प्रतितोला एक हजार ६९० मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार ७३० निर्धारण भएको छ ।

यी पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा मधेश प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ । आज राति पनि देशभर साधारणतया बदली रहने छ । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ ।

चार वटा संसदीय समितिको बैठक बस्दै, यी हुन् छलफलका विषय

काठमाडौं । आज एकैपटक ४ वटा संसदीय समितिको बैठक बस्दैछ ।जसअनुसार बिहान ११ बजे कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ । बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सम्बन्धमा संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल हुनेछ, केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल हुनेछ । त्यस्तै बिहान साढे ११ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा नेपालको अधिकांश ग्रामीण क्षेत्रमा बाँदर, बँदेल, दुम्सी, निलगाई लगायतका जंगली जनावरबाट कृषि बालीमा गरिरहेको क्षति, मानव बस्तीमा भइरहेको अतिक्रमण र बाघ, भालु, हात्ती लगायतका जनावरको आक्रमणबाट मानिसको ज्यानै लिनेगरी मानव जनधनमा पु¥याइरहेको अपुरणीय क्षतिका सम्बन्धमा वन तथा वातावरण मन्त्रालयका मन्त्री, माननीय राज्यमन्त्री एवं सचिव, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक र सम्बन्धित सरोकारवाला समेतको सहभागितामा छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ मा संशोधनकर्ता सदस्यसँग छलफल हुनेछ । त्यस्तै मध्यान्ह साढे १२ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल हुनेछ ।

४.१७ प्रतिशले घट्यो नेप्से

काठमाडौं । सेयर बजार परिसूचक मंगलबार कारोबारमा उच्च उतारचढाव देखिएको छ । मंगलबार नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा ठूलो करेक्सन आएको छ । बजार खुलेसँगै २८१२ पुगेको बजार दिउँसो १ बजेर ४४ मिनेट जाँदासम्म २६७९.५२ मा झरेको हो ।  नेप्से ११६.८६ अंकले घट्दा परिसूचक २६७९.५२ मा झरेको छ । यस समयसम्म १४ अर्ब ८७ करोड रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।  मंगलबार नेप्सेमा ठूलो करेक्सन र कारोबारमा नयाँ रेकर्ड राखेसँगै २३३ कम्पनीको शेयर मूल्य घटेको छ । आज ८ वटा कम्पनीको शेयर मूल्य मात्र वृद्धि भएको छ भने १ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।  आज २ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने २० वटा स्टकको मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । आज ३२२ वटा कम्पनीको शेयर २ लाख ७१ हजार ५८७ पटक किनबेच भएको छ । आज एकै दिन ५ करोड ३८ लाख ४४ हजार २३७ कित्ता शेयर किनबेच भएको छ ।

श्रीलंकालाई हराउँदै भारत फाइनलमा

काठमाडौं । भारत काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ । भारतले मंगलबार भएको पहिलो सेमिफाइनलमा श्रीलंकाविरुद्ध ३–० सेटमा जित निकाल्दै प्रतियोगिताको फाइनलमा स्थान सुनिश्चित गरेको हो ।  त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरमा रहेको कभर्ड हलमा भएको सेमिफाइनलमा भारतले पहिलो सेट २५–१५ र दोस्रो सेट २५–१६ ले जितेको थियो । अन्तिम सेट प्रतिस्पर्धात्मक बने पनि भारतले २५–२३ ले स्कोर आफ्नो पक्षमा राख्दै फाइनल यात्रा तय गरेको हो ।  भारत लिग चरणको विजेताको रूपमा सेमिफाइनल आएको हो । भारतले लिग चरणमा माल्दिभ्स, इरान र श्रीलंकालाई हराउँदा नेपालसँग भने पराजित भएको थियो ।  तालिकाको चौथो स्थानमा रहँदै सेमिफाइनल आएको श्रीलंकाले भने भारत, नेपाल र इरानसँग हार व्यहोर्दा माल्दिभ्सविरुद्ध जित निकालेको थियो । भारतले अब उपाधिका लागि नेपाल र इरानबीचको विजेतासँग खेल्ने छ । नेपाल र इरानबीचको दोस्रो सेमिफाइनल खेल पनि आजै हुने तालिका छ ।

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौँ । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी आज साँझ ५ बजेका लागि बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा मन्त्रालयले सम्पादन गरिरहेका काम र समस्याहरुबारे सम्बन्धित मन्त्रीले ब्रिफिङ गर्ने जनाइएको छ । त्यस्तै बैठकमा मन्त्रालयहरुबाट आएका प्रस्तावमाथि छलफल गरी निर्णय हुने बताइएको छ ।

चार वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज चार वटा संसदीय समितिको बैठक बस्दैछ ।जसअनुसार कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा विधायन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल हुनेछ । केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल हुनेछ । त्यस्तै दिउँसो २ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्वन्धमा छलफल हुनेछ । त्यस्तै बिहान साढे ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उपभोग्य तथा अत्यावश्यक वस्तु र सेवाको आपुर्ति एवं वितरण, मुल्य नियन्त्रण, गुणस्तर, बजार अनुगमन तथा उपभोक्ता हक संरक्षण तथा प्रवर्द्धन लगायतका सम्बन्धमा मन्त्रालयबाट भए गरेका काम कारबाही, समस्या र भावी कार्ययोजना सम्बन्धमा छलफल हुनेछ ।

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, यातायात ठप्प

बागलुङ ।अविरल वर्षाले पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ। सोमबार साँझदेखि परेको वर्षाका कारण पहिरो खस्दा राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको करिडोर पूर्ण रूपमा अवरुद्ध भएको हो। करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा करिडोर अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी जानकारी दिए। उनले करिडोर अवरुद्ध हुँदा लामा तथा छोटो दूरीका सवारीसाधन ठप्प भएको बताए। अहिले वर्षा भइरहेकाले सडक खुलाउन नसकिने जनाउँदै वर्षा रोकिएपछि खुलाउने उनको भनाइ छ। सडक अवरुद्ध हुँदा सदरमुकामसँग दक्षिण बागलुङको सिधा यातायात बिच्छेद भएको छ। पहिरोले सडक नै भासिएको छ। गतहप्ता पनि अवरुद्ध भएको सडक सोमबार दिउँसो सञ्चालनमा आएकोमा गएरातिको भारी वर्षाले सडक पुनः अवरुद्ध भएको हो।

एकैदिन तोलामा २३ सयले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाल बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सोमबारको तुलनामा सुनको मूल्य तोलामा दुई हजार ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार, यस दिन छापावाल सुन (२४ क्यारेट)प्रतितोला एक लाख ४७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार (हिजो) छापावाल सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला एक लाख ५० हजार रुपैयाँ थियो । चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ७२५ रुपैयाँमा कारोबार भइरहको महासंघले जनाएको छ ।

बंगलादेशका विद्यार्थी नेताले गरे सरकार प्रमुखमा नोबेल पुरस्कार विजेताको नाम प्रस्ताव

ढाका । बंगलादेशको विद्यार्थी आन्दोलनका नेता नाहिद इस्लामले अन्तरिम सरकारको मुख्य सल्लाहकारमा नोबेल पुरस्कार विजेता अर्थशास्त्री प्राध्यापक मोहम्मद युनुसको नाम प्रस्ताव गरेका छन् । उनले राष्ट्रपतिलाई जतिसक्दो चाँडो युनुसको नेतृत्वमा अन्तरिम सरकार बनाउन आग्रह गरेका छन् । मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो सन्देशमार्फत उनले उक्त प्रस्ताव गरेका हुन् । उक्त समयमा उनका साथ कोअर्डिनेटर आसिफ महमूद र अबू बक्र मजुमदार पनि उपस्थित थिए । उनले त्यसबारेमा युनुससँग आफ्नो छलफल भइसकेको जनाएका छन् । आफूले गरेको सिफारिसभन्दा अरूको नेतृत्वमा सरकार बनाइए अस्वीकृत गरिने उनले जनाएका छन् । उनले सेना नेतृत्वको सरकार पनि अस्वीकार गरिने बताएका छन् । बीबीसीबाट ।

चिनियाँ चिकित्सा पुनःस्थापना उपचार केन्द्रको उद्घाटन

काठमाडौं । नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय परम्परागत चिनियाँ औषधि पुनःस्थापना तथा उपचार केन्द्रको आइतबार उद्घाटन गरिएको छ । नेपालको भरतपुरमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा केन्द्र सञ्चालनमा आएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपालका लागि चिनियाँ राजदुत चेन सोङले लम्बरको समस्या भएका एकजना बिरामीले ३० डिग्रीसम्म कम्मर मात्र झुकाउन सक्ने र उपचारपछि ९० डिग्रीसम्म आफ्नो ढाडलाई सिधा समात्न सक्ने भएकाले स्थानीय जनतामा अकुपंक्चर उपचार लोकप्रिय भएको स्मरण गराए । विगत २५ वर्षमा नेपाली चिकित्सकसँगै नेपाली जनताको स्वास्थ्य सुधारका लागि मेमोरियल क्यान्सर अस्पतालमा २५० भन्दा बढी चिनियाँ चिकित्सक टोली पठाइएको चेनले बताए। सन् १९९८ को डिसेम्बरमा नेपाललाई हस्तान्तरण गरेदेखि नै चीनको सहयोगमा बनेको अस्पतालमा चिनियाँ मेडिकल टोलीहरू आलोपालो पठाइएको बताए। अस्पताल सञ्चालक समितिका अध्यक्ष विजय राई न्यौपानेले जनशक्ति आपूर्ति, चिकित्सा उपकरण तथा औषधि चन्दा र चिकित्सक तथा प्राविधिकहरुको तालिम लगायतका क्षेत्रमा चीनले गरेको सहयोगको प्रशंसा गरे।

गुँला पर्व शुरु, एक महिना मनाइने

काठमाडौं । नेवार समुदायका बौद्ध धर्मावलम्वीले मनाउने एक महिने गुँला पर्व आजदेखि शुरु भएको छ । नेपाल संवतको गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने गुँला पर्वका अवसरमा विभिन्न परम्परागत बाजागाजाका साथ बौद्ध चैत्यहरूको परिक्रमा गरिन्छ । आजबाट शुरु भएको गुँला पर्वको अवसरमा स्वयम्भूमा मेला लागेको छ । गुँला पर्वको अवसरमा विशेषगरी नौ बाजा बजाउने प्रचलन रहेको छ । गुँला पर्व खासगरी बौद्धमार्गीको पर्व भएपनि गुँला पर्वमा अन्य धर्मावलम्वीसमेत सहभागी हुने गर्दछन् । गुँला पर्वमा बौद्धमार्गी विशेषगरी स्वयम्भू महाचैत्यको दैनिक परिक्रमा गर्नुका साथै बौद्ध, पाटनको पुल्चोकलगायत उपत्यकाका विभिन्न चैत्यको समेत परिक्रमा गर्ने गर्दछन् । गुँला पर्वको प्रमुख विशेषता न्याकुँ बाजा हो । यो बाजा राँगाको सिङबाट निर्माण गरिएको हुन्छ । सो अवसरमा स्वयम्भूमा पर्वमा सहभागीहरु खेतीपाती सकेर मानिसहरु फुर्सद हुने र अन्य चाडवाडलाई पनि मध्यनजर गरी खुशीयाली साट्ने पर्व रहेको बताउँछन् । हरेक दिन अब एक महिनासम्म टोलटोलबाट बाजा लिएर चैत्य परिक्रमा गर्ने गर्दछन् । यो पर्व एक महिनासम्म बुद्धको विशेष पूजा आराधना गरेर मनाउने गरिन्छ । पछिल्लो समय विभिन्न मौलिक बाजागाजासहित गुँला पर्व मनाउने प्रचलनमा वृद्धि भएको छ । जसअनुसार धाः बाजा, बाँसुरी बाजा, धिमे बाजा, भुस्या बाजा बजाएर पनि चैत्यका साथै स्थानीय इष्टदेवता, गणेश, भीमसेन भैरवलगायतका देवी देवताको समेत परिक्रमा गर्ने प्रचलन छ । साथै बौद्ध धर्मावलम्बी बाहेकका समुदायसमेत गुँला पर्वको अवसरमा चैत्यहरूको परिक्रमा गर्न जाने गर्दछन् ।

जसपा नेपालबाट केन्द्रीय समितिको बैठक आह्वान

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा), नेपालले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । बैठक आगामी साउन २७, २८, २९ र ३० गते ललितपुरको सानागाउँस्थित थसी ब्याङक्वेटमा बस्ने पार्टीका केन्द्रीय सदस्य पूर्ण बस्नेतले जानकारी दिए। बैठकमा पार्टी एकताको राष्ट्रिय महाधिवेशनले तय गरेका पार्टीको वैचारिक, सैद्धान्तिक अवधारणा, वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिमा पार्टीले खेल्नुपर्ने भूमिका, वर्तमान भू–राजनीतिक अवस्था र नेपालको परराष्ट्र नीति तथा सम्बन्धलगायतका विषयहरुमा केन्द्रीय सदस्यहरुलाई प्रशिक्षण दिइने जनाइएको छ । यस्तै बैठकबाट पार्टीको आगामी वैचारिक, राजनीतिक, सङ्गठनात्मक कार्ययोजना तथा कार्यक्रमलगायतका विषयहरुमा छलफल गरी आवश्यक निर्णय गरिने बताइएको छ । जसपा नेपालले गत जेठ महिनाको अन्तिममा महाधिवेशन सम्पन्न गरेको थियो । बैठकमा केन्द्रीय सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिने पनि बस्नेतले बताए।

सुनको भाउमा नयाँ रेकर्ड

काठमाडौं । आज सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ।पछिल्लो समय थोरे घटदै धेरै बढ्दै सुनको मूल्यले रेकर्ड पछि रेकर्ड कायम गर्दै आएको छ । आइतबार प्रतितोला २०० रुपैयाँ घटेको सुनको भाउले सोमबार रेकर्ड कायम गरेको हो। आज सुनको भाउ प्रतितोला ३०० रुपैयाँले बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ५० हजार रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य हालसम्म कै उच्च हो। आइतबार २४ क्यारेट सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। आज २२ क्यारेटको सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। आज सोमबार चाँदी १ हजार ७८५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ। अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस सुन २ हजार ४५४ दशमलव १९ डलरमा कारोबार भइरहेको छ, भने प्रतिऔंस चाँदी २८ डलर ६१ पैसामा कारोबार भइरहेको छ।

‘नमेटिने घाउ को पोस्टर सार्वजनिक,चलचित्रको पोस्टरमा प्रधानमन्त्री ओली

काठमाडौं । अभिनेता रमित ढुङ्गानाको  निर्देशन तथा निर्माण रहेको सत्य घटनामा आधारित चलचित्र ‘नमेटिने घाउ' को फस्टलुक्स पोस्टर सार्वजनिक गरिएको छ ।भदौ ७ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र  ‘नमेटिने घाउ’को निर्देशक ढुंगानाले सोमबार पोस्टर सार्वजनिक गरेका हुन् । चलचित्रको सार्वजनिक पोस्टरमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ,प्रहरी उपरीक्षकद्वय बाल नर्सिह राणा र कुमुद ढुंगेल, प्रहरी निरीक्षक जेआर शर्मा लगायत चलचित्रका मुख्य कलाकारहरुलाई देख्न सकिन्छ । अभिनेता रमित ढुङ्गानाले निर्देशन तथा निर्माण रहेको सत्य घटनामा आधारित चलचित्र ‘नमेटिने घाउ’ मा प्रधानमन्त्री ओलीका अलावा पूर्व प्रधानमन्त्री माधव नेपालको समेत अभिनय रहेको छ । चलचित्रमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीकै भूमिका निर्वाह गरेका छन् ।   चलचित्र ‘नमेटिने घाउ’ एसिड सर्भाइभरहरुको वास्तविक जीवनीमा आधारित छ । चलचित्रमा एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कथालाई समेटेर बनाइएको छ । चलचित्रमा शिवम् अधिकारीको कथा रहेको छ । लेखक अधिकारीले पटकथा साढे दुई वर्ष लगाएर लेखेका हुन् । चलचित्रमा मुस्कान खातुन, प्राप्ति पौडेल ,इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, अपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, लालना चिमोरिया, स्वस्तीमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, विशाल देवकोटा, आरजु अधिकारी ,आरजु लेखक लगायतको अभिनय रहेको छ । चलचित्रमा सुरवीर पण्डित, सुनिल कटुवाल पुराना अनुहार रहने छ भने मुख्य भूमिकामा अधिकांश नयाँ अनुहारहरूको अभिनय रहेको छ। रमित ढुङ्गाना फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको यस चलचित्रमा सांसदद्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीको समेत अभिनय रहेको छ । चलचित्रमा नीरज कँडेलको छायाङ्कन,बनिश शाहको सम्पादन ,ओम सुनारको सङ्गीत र किरण ढकालको एक्सन रहेको छ ।

गुडिरहेको बसमा रुख बजारिँदा ८ यात्रु घाइते, एकको अवस्था गभ्भीर

धादिङ  । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका५ बाङ्गेमा सडक माथिबाट पहिरो खसेर रुख माइक्रोबसमा बजारिँदा ८ जना घाइते भएका छन्। घाइतेमध्ये एकजना वृद्धको अवस्था गम्भीर रहेको बताइएको छ । सुख्खा पहिरो खसेर गुडिरहेको एउटा माइक्रोबसमा रुख ढलेर लाग्दा आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।पहिरोमा परेको माइक्रोबसका यात्रुलाई उद्धार गरी उपचारका लागि गजुरी अस्पताल पठाइएको छ। घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ।   जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख गौतमकुमार केसीका अनुसार धादिङबेंसीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको ईभी माइक्रो बस गजुरी–५ जरेखोला नजिक पहिरोमा परेको थियो। गम्भीर घाइते ७१ वर्षीय वृद्धलाई भने थप उपचारका लागि काठमाडौं पठाइएको केसीको भनाइ छ।  माइक्रो बसमाथि रुख बजारिएपछि अवरुद्ध भएको सडक खुलाउने काम भइरहेको छ।राजमार्ग अवरुद्ध बनेका कारण काठमाडौं भित्रने र बाहिरिने सवारी रोकिएका छन्।