ग्यास विस्थापनबारे मन्त्रालयको क्यान्टिनमा अर्थमन्त्रीको निरीक्षण

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालयस्थित क्यान्टिन निरिक्षण गर्दै ग्यास सिलिण्डर विस्थापित भएनभएको जानकारी लिएका छन् । अर्थमन्त्रीको सचिवालयका अनुसार अर्थमा शतप्रतिशत विद्युतीय चुलो जडान गरी सिलिण्डर विस्थापित भएको छ ।

मन्त्री शर्माले अर्थ मन्त्रालयमातहतका सिहंदरबार बाहिरका क्यान्टिनमा समेत सिलिण्डर हटाउन निर्देशन दिएका छन् । सरकारले यसवर्ष बजेटमै साउनभित्र सिंहदरबारबाट ग्याँस सिलिन्डर विस्थापित गर्ने घोषणा गरेको थियो ।

गणतन्त्र र राजतन्त्रको विवाद आवश्यक छैन : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले गणतन्त्र र राजतन्त्रको विवाद आवश्यक नरहेको बताएका छन्। गणतन्त्रवादी र राजावादी सबै मिलेर देश बचाउनु र बनाउनु अहिलेको आवश्यकता रहेको उनले बताएका हुन्। राप्रपा फुटाएर राप्रपा नेपाल पार्टी गठन गरेका थापाले आफु अब गणतन्त्रवादी भएको भन्दै राजतन्त्रको औचित्य समाप्त भएको बताएका थिए । ‘धर्म परिवर्तनको डढेलोबाट सनातन धर्म संस्कृति र परम्पराको रक्षा गरौँ,’ बुधबार उनले ट्वीटरमा लेखेका छन्, ‘गणतन्त्र र राजतन्त्रको विवाद आवश्यक छैन। गणतन्त्रवादी र राजावादी सबै मिलेर देश बचाउनु र बनाउनु अहिलेको आवश्यकता हो ।’ हिजो सम्पन्न भएको केन्द्रीय समितिको बैठकले पार्टीलाई पुर्ण रुपमा निर्वाचन केन्द्रित गराउने निर्णय गरेको छ ।

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बुधबार पनि बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ । बुधबारको बैठकमा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने नेपाल समाजवादी पार्टी र राष्ट्रिय एकता अभियानले राखेका शर्तहरुको बारेमा छलफल हुने बताइएको छ । साथै आगामी निर्वाचनको बारेमा पनि छलफल हुनेछ । माओवादी केन्द्रको स्थायी कमिटी बैठक मंगलबार पनि बसेको थियो । मंगलबारको बैठकले डा. बाबुराम भट्टराई र बामदेव गौतम नेतृत्वको पार्टीलाई आफ्नै चुनाव चिन्ह दिएर चुनावमा जान दिने निर्णय गरेको थियो ।

सिट बाँडफाँट कार्यदल बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बालुवाटारमा बस्दैछ । बैठक बुधबार अपरान्ह ४ बजे बालुवाटारमा बस्ने बैठकमा संयोजक कृष्णप्रसाद सिटौलाले सिट बाँडफाँट आधारको खाका प्रस्तुत गर्ने तयारी छ । वैशाखको स्थानीय चुनाव, २०७४ को प्रतिनिधि सभा प्रत्यक्षतर्फ र समानुपातिकतर्फ दलले ल्याएका मत, संसदमा अहिले दलको प्रतिनिधित्वलगायत हेरेर सिट बाँडफाँटको आधार खाका बनाइएको १ नेताले जानकारी दिए । कार्यदललाई सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले छिटोभन्दा छिटो प्रतिवेदन दिन निर्देशन दिएको छ ।

चोलेन्द्रशम्शेर बिरुद्धको महाअभियोग सिफारिस समितिको बैठक बस्दै

काठमााडौं । चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोगमाथि अध्ययन गर्न गठित महाअभियोग सिफारिस समितिको बैठक बुधबार बस्दैछ । निलम्बनमा रहेका प्रधानन्यायाधीश जबराबिरुद्धको महाभियोग बारे छलफल गर्न समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने जनाइएको छ । जबराबिरुद्ध विभिन्न २१ वटा आरोपका साथ महाभियोग लागेको छ । उक्त आरोप गत फागुन फागुन १ गते प्रतिनिधि सभामा महाभियोग दर्ता भएको थियो । त्यसपछि जबराबिरुद्ध फागनु २२ गते महाभियोग सिफारिस समिति गठन गरिएको थियो । आजको बैठकमा समितिको आन्तरिक कार्यविधि निर्माणका साथै पारित गरिने छ । त्यस्तैगरी समितिको संयोजक पनि चयन हुनेछ । समितिमा एकवाल मियाँ, कल्याणीकुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, मीनबहादुर विश्वकर्मा, यशोदा गुरुङ सुवेदी, रामबहादुर विष्ट, रेखा शर्मा, लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल र डा.शिवमाया तुम्बाहाङ्फे सदस्य रहेका छन् ।

अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु

रोल्पा । रोल्पा नगरपालिका १० धाङ्सी निवासी ५४ वर्षीय जय बहादुर बुढा मगरको अरिङ्गालको टोकाइबाट मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश भुषालले दिएको जानकारी अनुसार मृतक जय बहादुर बुढाले आफ्नो घरनजिक रहेको बनमा अरिङ्गाललाई पोल्ने क्रममा अरिङ्गालले टोकेको हो ।   अरिङ्गालको टोकाईबाट गम्भीर घाइते बनाएको र रोल्पा अस्पताल रेउघामा उपचारको क्रममा मृत्यु भएको भुषालले बताए।

मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

बुटवल । बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँमा आज मोटरसाइकल दुर्घटना हुँदा एक युवकको निधन भएको छ । लु३६प ४७४२ नंको मोटरसाइकल दुर्घटना हुँदा बुटवल–११ कालिकानगरका २८ वर्षीय सञ्जय खत्रीको बिहान ५ बजे निधन भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेले जानकारी दिए । खत्रीको शवपरीक्षणका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

ट्रकको ठक्करबाट घाइते स्कुटर चालकको मृत्यु

झापा । गत साउन २७ गते झापाको दमकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ८ ख ३३३३ नम्बरको ट्रकले दक्षिणबाट उत्तरतर्फ बाटो क्रस गर्दै गरेको प्रदेश नम्बर १–०४–००१ प २४५५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । दुर्घटनामा घाइते भएका स्कुटर चालक दमक–४ निवासी ६८ वर्षीय रामुजुलुम नायकको विराट नर्सिङ होम विराटनगरमा उपचार भइरहेको थियो । उनको मंगलबार बिहान १० बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ट्रक चालक ३८ वर्षीय मातृका दनुवार र ट्रक इलाका प्रहरी कार्यालय झापाको नियन्त्रणमा रहेको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

माओवादीसँग वामदेवको माग प्रदेश सभामा २ र प्रतिनिधि सभामा १ सिट

काठमाडौं । नेकपा माओवादी केन्द्रको चिह्नबाट चुनाव लड्ने निर्णय गरेका नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले प्रदेश सभामा २ र प्रतिनिधि सभामा १ सिट माग गरेका छन् । गौतमले यही मागका साथ माओवादी केन्द्रको चिह्नबाट आसन्न निर्वाचनमा भाग लिन लागेका हुन्। माओवादीको चुनाव चिह्न आफूहरुलाई सहज लागेको गौतमले बताएका छन्। उनले यो पार्टी एकीकरण नभई चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिन लागेको मात्र भनेर प्रष्ट्याए । नेकपा माओवादी केन्द्रको आज बिहान बसेको स्थायी कमिटी बैठकले वामदेव गौतम र बाबुराम भट्टराई नेतृत्वको नेसपालाई गोलाकार भित्रको हसिया हथौडा चिह्नमा चुनाव लड्न दिने निर्णय गरेको छ । बैठकपछि माओवादी प्रवक्ता कृष्णबहादुर महराले वामदेव गौतम र बाबुराम भट्टराईलाई माओवादी केन्द्रको चुनाव चिह्नमा लड्न दिने निर्णय गरेको जानकारी दिए । माओवादी केन्द्र, बाबुराम नेतृत्वको नेसपा र वामदेव नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियानका नेताहरु आज निर्वाचन आयोगको कार्यालयमा पुगेर एउटै चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिने जानकारी गराउँदै छन् । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएर नेकपा गठन हुँदा बामदेव गौतम प्रचण्ड खेमामा थिए । तर सर्वोच्च अदालतले पार्टी एकता भंग गरिदिएर पूर्ववत अवस्थामा फर्किंदा गौतम भने कतै पनि लागेनन् । उनले एमाले र माओवादीलाई एकता प्रक्रियामा ल्याउन प्रयास जारी गर्ने भन्दै १४ माघ २०७७ मा नेकपा राष्ट्रिय एकता अभियान घोषणा गरेका थिए । दुई वा दुई भन्दा बढी दलले एउटै चुनाव चिह्नमा चुनाव लडेपछि परिणामले सबैभन्दा ठूलो दल जुन हुन्छ, उसैको संसदीय दल अन्तर्गत निर्वाचित जुन प्रतिनिधि रहन्छन् ।

दक्षिण एशियाली पत्रकारको सम्मेलन सुरू

काठमाडौं । दक्षिण एशीयाली पत्रकारहरुको सम्मेलन काठमाडौंमा सुरू भएको छ । दक्षिण एसियाको आर्थिक न्याय, लैगिंक न्याय र जलवायु न्याय सम्बन्धी मुद्दाहरुमा दक्षिण एशियाका पत्रकारहरुको साझा धारणाका बिषयमा छलफल हुनेछ । त्यसैगरी दक्षिण एशियामा देखिएको आर्थिक मन्दी, गरीबी, उर्जा संकट, कर प्रणाली र जलवायु परिवर्तनमा देखिएको असरको बारेमा सुधार गर्ने विषयमा पत्रकारहरुको भूमिकाको बारेमा छलफल हुने छ । सम्मेलनले अहिले देखिएको उर्जा संकट, आर्थिक संकट र न्याय प्रणालीमा दक्षिण एशियाली पत्रकारहरुको साझा धारणा बनाउन भूमिका खेल्ने ग्रामिण पुनर्निर्माण संस्था (आरआरएन) का अध्यक्ष डा. अर्जुन कार्कीले बताए। सम्मलेनमा आ–आफ्नो देशको समस्या र अनुभवको आदान प्रदान हुने छ । दुई दिनसम्म चल्ने सम्मेलनमा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, फिलिपिन्सलगायत देशका ५० भन्दा बढी पत्रकारहरुको सहभागिता छ । एशियाली जनआन्दोलन अन डेब्ट एण्ड डेभलपमेन्टले वर्षेनी दक्षिण एशियाली देशहरुमा पत्रकारहरुको सम्मेलन गर्दै आएको छ ।

टानको अध्यक्षमा बाँस्तोला विजयी

काठमाडौँ । पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) को अध्यक्ष पदमा निलहरि बाँस्तोला विजयी भएका छन्। गएराति सम्पन्न टानको ४४औँ वार्षिक साधारणसभा एवं निर्वाचनबाट उनी ६१६ मतप्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी रामप्रसाद सापकोटाले २६४ मत प्राप्त गरे । निर्वाचनमा अध्यक्षका प्रतिस्पर्धी बाँस्तोलाको प्यानल नै विजयी भएको छ । निर्वाचन समितिका अनुसार टानको वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहाल, प्रथम उपाध्यक्षमा प्रदीप पण्डित, द्वितीय उपाध्यक्ष धनबहादुर गुरुङ, महासचिवमा विनोद सापकोटा (बाबु) , सचिवमा होमनाथ भट्टराई र कोषाध्यक्षमा पुरुषोत्तम तिमिल्सिना, सहकोषाध्यक्षमा छिङ दोर्शी शेर्पा विजयी भए । महिला सदस्यमा सजना त्रिपाठी ,खुल्ला सदस्यमा सदस्यहरुमा रामप्रसाद बञ्जारा, राजु अर्याल, गणेश बहादुर अधिकारी, कुमार लामा, नविनाथ देवकोटा, सुवास भण्डारी, लाक्पा दोर्जे शेर्पा र कृष्णबहादुर परियार निर्वाचित हुनुभएको टान निर्वाचन समितिले जनाएको छ । टानका नवनिर्वाचित अध्यक्ष बास्तोलाले टानलाई व्यवसायीको साझा संस्थाको रुपमा स्थापित गर्न सरोकारवालासँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । उनले निर्वाचनका दौरानमा प्रस्तुत गरिएको २० बुँदे घोषणापत्र कार्यान्वयनका लागि प्राथकिताका साथ लाग्ने विश्वास व्यक्त गरे । टानलाई समयसापेक्ष बनाउँदै सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाएर व्यवसायीको समस्यालाई सम्बोधन गरिने उनको भनाइ छ । कोभिडबाट शिथिल बनेको मुलुकको पर्यटन पुनरुत्थानका लागि सरकार तथा निजी क्षेत्रले सहकार्य गरेर पर्यटन क्षेत्रमा सकारात्मक उत्साह जगाउने कार्यमा लाग्ने अध्यक्ष बाँस्तोलाले बताए । टानको निर्वाचनमा अध्यक्ष, पदाधिकारी र सदस्य गरी कूल २५ सदस्यीय कार्य समितिमध्ये १७ निर्वाचित र बाँकी सदस्य मनोनित गरिनेछ । एक हजार ८५० व्यवसायी आबद्ध छन् ।

होटलको कोठामा महिला बेडमा, पुरूष झुण्डिएर मरेको भेटिए

बुटवल । बुटवलस्थित फूलबारी चोकमा रहेको स्याङजा कारीकोट होटलमा एक महिला र एक पुरूष मृत अवस्थामा भेटिएका छन् । होटलको कोठा नं. १३४ मा महिला बेडमै मृत अवस्थामा रहेको र पुरुष पंखामा पासो लाएर झुण्डिएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । मृतकमध्ये अन्दाजी ३५–३६ वर्ष उमेरका सिताराम भुजेल धादिङको कुम्पुर घर भएका हुन् भने अन्दाजी ३३ वर्षकी पुष्पा नामकी महिलाको घर दाङमा रहेको बुझिएको छ । उक्त होटमा उनीहरु आइतबार राति सँगै बसेको र सोमबार बिहान मृत भेटिएको बताइएको छ । इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेका अनुसार महिलाको शव पलङमै उत्तानो परेको अवस्थामा भेटिएको थियो । पुरूष भने सोही कोठाको पंखामा पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएका हुन् । महिलाका श्रीमान विदेश रहेको र उनी पछिल्लो एक–दुई महिनादेखि हराइरहेको भन्ने सुन्नमा आएको प्रहरीको भनाइ छ । तर पूरा पहिचान र थप विवरण खुल्न सकेको छैन । मृतक दुवैको शव पोस्टमार्टमका लागि लगिएको छ ।

संसदमा गणपूरक संख्या पुग्न छोडेकोप्रति सभामुख असन्तुष्ट

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदमा विधेयक पारित गर्ने बेलामा गणपूरक संख्या पुग्न छोडेको भन्दै असन्तुष्टि जनाएका छन् । सोमबार संघीय संसद सचिवालयमा आयोजित ‘संसदमा कानून, न्याय तथा मानव अधिकार समितिः अभ्यास र उपलब्धि’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उहाँले पछिल्ला दिन संसदमा गणपूरक संख्या नपुगेकोप्रति असन्तोष व्यक्त गरेका हुन् । पछिल्लो समय संसदमा हाजिर गरेर सांसदहरू बाहिरिने गरेपछि विधेयक पारित गर्न गणपूरक संख्या पुग्न छोडेको छ । आइतबार मात्रै बसेको प्रतिनिधिसभाको बैठकमा समेत विधेयक पारित गर्नका लागि सांसदहरूको गणपूरक संख्या नपुग्दा मंगलबारसम्मका लागि बैठक स्थगित गर्नुपरेको थियो । सभामुख सापकोटाले संसदलाई जनतामा जोड्नका लागि धेरै परिश्रम गर्नुपरेको उल्लेख गर्दै सांसदहरू अनुपस्थित भइदिँदा जनमुखी विधेयकहरू प्रमाणीकरण र पारित गर्न संसदलाई अफ्ठ्यारो भइरहेको बताए । विधेयक पारित गर्नको लागि धेरै पटक घण्टी बजाउनुपरेको र मन्त्रीहरू बोलाउन कुर्नुपरेको भन्दै सबै सांसद र मन्त्रीहरू जिम्मेवार र गम्भीर हुनुपर्ने बताए । सभामुख सापकोटाले समितिमा दोहोरपन देखिएको बताए । उनले समितिले दिएका निर्देशन सरकारले किन लागू गरेन भन्ने भन्दा पनि देशको धरातललाई बुझेर निर्णय भएका हो वा होइनन् भन्ने कुरा स्वयं समितिले आत्मालोचना गर्नुपर्ने बताए । सापकोटाले देशको धरातलीय यथार्थअनुकुल समितिले निर्देशन गरेको छ वा छैन भन्ने कुराको समीक्षा हुन जरुरी रहेको बताए। सरकारलाई समितिले आफ्ना निर्देशन लागू गर्न बाध्य पार्ने कुरा भनेको धरातलीय यथार्थ बुझेर जनहीतमुखी निर्देशन हुनुपर्ने बताए । सभाुमख सापकोटाले सरकार उदियमान व्यवस्थापिकाको पक्षमा रहेको बताए। उनले संघीय संसदलाई जीवन्त र जनमुखी बनाउनुपर्नेमा जोड दिए । अहिले विश्वव्यापी रूपमा अभिभावक खाँचो भएको जस्तो महशुस भएको बताए । उनले अरुले बनाएको विश्व दृष्टिकोणबाट राष्ट्रिय दृष्टिकोण बनाऔंला भनेर बस्ने छुट नरहेको भन्दै आफैँले विश्व दृष्टिकोण निर्माण गर्नुपर्ने बताए। सभामुख सापकोटाले खोज, अनुसन्धान गरेर प्रभावकारी बनाएका कारण अमेरिका, स्वीडेन, जर्मनीका समितिहरु धेरै शक्तिशाली रहेको उल्लेख गरे । उनले त्यहाँका समितिहरु कानून निर्माणमा असाधारण खोज, अनुसन्धान गरेका कारण शक्तिशाली भएको समेत बताए । सभामुख सापकोटाले नेपालमा खोज, अनुसन्धान आवश्यक ध्यान नपुगेको बताए । उनले तथ्यांकहरुको महत्व नबुझ्दा गत वर्ष मेलम्ची र मनाङका विपद्जन्य घटना न्यूनिकरण गर्न नसकेको बताए । सभामुख सापकोटाले अहिले संसदमा तथ्याङ्क विधेयकहरू पास भइरहेको उन्दै तथ्यांकलाई समयमै बुझेर तथ्याङ्क संकलन गर्न आवश्यक रहेको बताए । सरकारले बनाएका कानूनको सही कार्यान्वयन भएरनभएको मूल्याङ्कन हुनु जरुरी रहेको उनको भनाइ छ ।

सभामुख सापकोटाद्वारा पुस्तक विमोचन

काठमाडौं। प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले ‘संसदमा कानुन, न्याय तथा मानवअधिकार समितिः अभ्यास र उपलब्धि’ पुस्तक विमोचन गरेका छन् । कानुन, न्याय तथा मानवअधिकार समितिद्वारा प्रकाशित सो पुस्तक सभामुख सापकोटाले पुस्तक विमोचन गरेका हुन्। सोमबार सिंहदरबारस्थित सङ्घीय संसद सचिवालयमा पुस्तक विमोचन समारोहको आयोजना गरिएको थियो ।

प्रधानमन्त्रीले काँग्रेसका जनप्रतिनिधिलाई रात्रिभोज दिँदै

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अभिमुखीकरण कार्यक्रमका लागि देशभरबाट आएका पार्टीका जनप्रतिनिधिलाई सोमबार रात्रिभोज दिने भएका छन् । उनले सोमबार राति ललितपुरको हेरिटेज गार्डेनमा रात्रिभोज दिन लागेका हुन् । हेरिटेजमै काँग्रेसका जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रम सोमबारदेखि सुरु भएको छ । आफ्नै खर्चले काठमाडौं आउने र बसोबासको व्यवस्थापन मिलाएर आएका जनप्रतिनिधिलाई प्रधानमन्त्रीले स्वागत गर्दै रात्रिभोज दिने कार्यक्रम रहेको काँग्रेस पार्टी कार्यालयले जनाएको छ। जनप्रतिनिधिलाई सोमबार विषय विज्ञले प्रशिक्षण दिएका छन् भने मंगलबार महामन्त्रीद्वय र प्रवक्ताले प्रशिक्षण दिएपछि कार्यक्रम सम्पन्न हुनेछ ।

निहारिकाको मुद्दा फैसला गर्ने न्यायाधीश सर्वोच्च तानिए

काठमाडौं । एक बलात्कार मुद्दामा प्रमाणको मूल्यांकन नगरी आरोपितलाई सफाइ दिएको आरोपमा धनुषाका जिल्ला न्यायाधीश डा.परशुराम भट्टराई सर्वोच्च अदालतमा तानिएका छन् । न्यायपरिषदको बैठकमा भएको छलफलपछि कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले उनलाई सर्वोच्च अदालतमा काजमा तानेका हुन् । धनुषाका जिल्ला न्यायाधीश भट्टराईले गरेको फैसला काठमाडौंको विभिन्न ठाउँमा न्यायको याचना सहित गरेको प्रदर्शनमा संलग्न निहारिका राजपुतसँग सम्बन्धित छ । उनले केही दिनअघि राष्ट्रपति कार्यालय शितल निवास अगाडी आत्मदाहको प्रयास गरेकी थिइन् । घटना लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले कानूनमन्त्री गोविन्द बन्दी र महान्यायाधीवक्ता खम्मबहादुर खातीलाई घटनावारे सोधेकी थिइन् । परिषद स्रोतका अनुसार, न्यायाधीश भट्टराईमाथि छानबिनका लागि परिषदका सदस्य एवं वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठको संयोजकत्वमा समिति गठन भएको छ ।