भरतपुर महानगरले दियो २ सय ६६ विद्यार्थीलाई पूर्ण छात्रवृत्ति


चितवन । भरतपुर महानगरपालिकाले संस्थागत विद्यालयको कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । यस वर्षका लागि दुई सय ६६ विद्यार्थीले पूर्ण छात्रवृत्ति पाएका छन् । महानगरले कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई अनलाइन आवेदन माग गरी शिक्षा ऐन तथा भरतपुर महानगरको छात्रवृत्ति व्यवस्थापन कार्यविधि अनुसार छात्रवृत्तिमा छनोट गरेको हो ।


भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले विद्यार्थीको क्षमता र योग्यताका आधारमा कक्षा १२ सम्म पढ्नका लागि छात्रवृत्ति वितरण गरिएको बताउनुभयो ।


प्रमुख दाहालले शिक्षा क्षेत्रमा भरतपुर महानगरले उल्लेख्य फड्को मारेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “महानगरले शिक्षा क्षेत्रमा शैक्षिक तथा भौतिक रुपमा ठूलो फड्को मारेको छ ।” शिक्षामा सबैको पहुँच पु¥याउने उद्देश्यले महानगरपालिका अघि बढिरहेको उहाँले बताउनुभयो ।


“शिक्षा क्षेत्रमा सबैको पहुँच पु¥याउनका लागि वैज्ञानिक ढङ्गले छात्रवृत्ति वितरणको काम गरिएको छ ।” वितरणलाई अझै प्रभावकारी र वैज्ञानिक बनाउँदै लगिने उहाँले बताउनुभयो । सरकारी विद्यालयको सुधार गर्दै संस्थागत विद्यालय सरह बनाउने गरी महानगरले शिक्षा क्षेत्रमा काम गर्दै आएको उहाँको भनाइ थियो ।


छात्रवृत्तिका लागि छनोट भएका विद्यार्थीलाई आईतबार सिफारिसपत्र वितरण गरिएको छ । अल्पसङ्ख्यक र सीमान्तकृत समुदायका विद्यार्थीलाई समेत छात्रवृत्ति वितरण गरिएको छ ।
‘जेहेन्दार विद्यार्थीलाई पढाइमा प्रोत्साहन गर्ने नीति लिएका छौँ’, शैक्षिक प्रशासन महाशाखा प्रमुख सुभाषचन्द्र आचार्यले भन्नुभयो । ३० संस्थागत विद्यालयबाट छात्रवृत्ति दिइएको छ । छात्रवृत्ति पाएकामध्ये विज्ञानतर्फ एक सय ८९ र अन्य ७७ जना रहेका छन् ।


छात्रवृत्ति पाउनेमा जेहेन्दारतर्फ ९९, गरिब तथा विपन्नतर्फ ९६, आदिवासी जनजातितर्फ २६, दलिततर्फ १३, अपाङ्गता भएका ८, जनआन्दोलनका घाइते तथा सहिदका सन्ततितर्फ २४ जना रहेका छन् ।


जसमध्ये अरोमा कलेज ४५ जना, अर्किड कलेज ३० जना, बालमीकि शिक्षा सदन २५ जना, नारायणी पब्लिक कलेज २४ जान, गुरुकुल एकेडमी १८ जना, एपेक्स एकेडमी १३ जना, सप्तगण्डकी कलेज ९ जना, अंकुरम एकेडमी ९ जना, अरबिट यूनिक स्कुल ९ जना र अन्य स्कुल गरी २६६ जनाले छात्रवृत्ति पाएका छन् ।
महानगरले वार्षिक रुपमा छात्रवृत्ति वितरण गर्दै आएको छ । गत वर्ष महानगरले २ सय ७४ जनालाई छात्रवृति दिएको थियो ।

रामेछाप घटनाप्रति अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रामेछापमा पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत रामेछापको दोरम्बा शैलुङ गाउँपालिका ३ टोकरपुरको लेकखर्कमा पहिरोमा परी छ जनाको दुखद निधन, चार जना बेपत्ता र एक जना घाइते भएको तथा चारवटा घर पूर्णरुपमा क्षतिग्रस्त भएको खबरले स्तब्ध बनाएको उल्लेख गर्दै उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार, उपचार र राहतमा प्रभावकारी पहल गर्न सरकारको ध्यानाकर्षण गराउन गराउनुभएको छ । ‘प्राकृतिक प्रकोपका मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु’– अध्यक्ष प्रचण्डले भन्नुभएको छ– ‘उद्दार कार्यमा आवश्यक सहयोग र सहकार्यमा जुटेका हाम्रा पार्टीका सबै नेता कार्यकर्तालाई धन्यवादसहित जनसेवामा निरन्तर जुट्न निर्देशित गर्दछु।’

सुनकोशीबाट गाडी निकालियो, यात्रु अझै बेपत्ता

काठमाडौं । सिन्धुलीको गोलोन्जोर गाउँपालिका–१ कुँडुलेबाट शनिबार साँझ सुनकोसी नदीमा गाडी खस्दा बेपत्ता भएका तीनजना युवा अझै फेला परेका छैनन्।  घटना लगत्तैदेखि बेपत्ताको खोजी चलिरहे पनि उनीहरुलाई अझै फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले जानकारी दिनुभयो ।  खोटाङको हलेसी महादेव मन्दिरको दर्शन गरेर काठमाडौँ आउँदै गरेका भक्तपुरका चार युवा सवार प्रदेश ३ ख ०२३ च ६३६६ नम्बरको हाइलक्स गाडी गोलान्जोर गाउँपालिका–१ कुँडुलेबाट आइतबार साँझतिर सुनकोसी नदीमा खसेको थियो। 

बिहारमा नेपाली तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ३० बढी घाइते

काठमाडौं । भारत बिहारको समस्तीपुर जिल्लामा नेपालीहरु सवार बस दुर्घटना भएको छ । दुर्घटनामा कम्तीमा ३० भन्दा बढी घाइते भएका छन् । ४३ जना सवार  ना ७ ख ६४४६ नम्बरको उक्त बसलाई शनिबार राति पछाडिबाट एक ट्रकले ठक्कर दिएको र अनियन्त्रित भएर पल्टिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । भारतका विभिन्न अनलाइनहरुले लेखेका समाचार अनुसार दुर्घटनामा तीन दर्जन यात्री घाइते भएका छन् । एक किशोरसहित पाँच जनाको अवस्था गम्भीर छ । घाइतेहरुको उपचार मुसरीघरारी अस्पताल र निजी क्लिनिकहरुमा भइरहेको छ । सडक किनारमा पल्टिएको बसलाई क्रेनको सहायताले उठाइएको छ । ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।  

माओवादी केन्द्र गण्डकीको परामर्श बैठक पोखरामा सुरु

पोखरा । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय परामर्श बैठक आजबाट गण्डकीमा सुरु भएको छ। भोलिसम्म चल्ने बैठकमा केन्द्रीय पदाधिकारीसहित सो प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको सहभागिता रहने माओवादी केन्द्र गण्डकी प्रदेशले जनाएको छ। केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने दस्ताबेज लेख्नुअघि केन्द्र र प्रदेशका नेताहरूसँग परामर्श गर्ने कार्यक्रमअन्तर्गत परामर्श बैठक सुरु गरिएको हो । जसअनुसार बागमती, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशको बैठक सम्पन्न भइसकेको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केन्द्रीय पदाधिकारीले प्रदेशमा कार्यक्षेत्र भएका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरुको परामर्श लिने गर्नुभएको छ । प्रदेश परामर्श बैठकमा अध्यक्ष प्रचण्डले सुरुमा विषय प्रवेश गराएर नेताहरूको सुझाव सुन्ने गर्नुभएको छ । प्रदेश परामर्श बैठकपछि माओवादीको केन्द्रीय कमिटी बैठक बस्नेछ। केन्द्रीय कमिटीले ठोस निर्णय गरेर नियमित कार्यक्रमिकरुपमा जनतामा जाने माओवादीको तयारी छ। परामर्श बैठक कहाँ कहिले ? * बागमती प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ ५ र ६ गते । * उपत्यका विशेष तथा सम्पर्क समन्वय प्रदेशमा कार्यरत के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ ७ र ८ गते । * गण्डकी प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ ९ र १० गते । *सुदूपश्चिम प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ १२ र १३ गते । * कर्णाली प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ १४ र १५ गते । * लुम्बिनी प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ १६ र १७ गते । * तीन वटै केन्द्रीय आयोगका सदस्यहरूको बैठक भदौ १८ र १९ गते । * मधेश प्रदेशका के.स. हरूको बैठक भदौ २२ र २३ गते । * १ नं प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ २४ र २५ गते । * ज.व.स. मोर्चामा कार्यरत पार्टी के.स. हरू र केन्द्रीय विभागहरूमा कार्यरत पार्टी के.स. हरूको बैठक भदौ २७ र २८ गते ।  * प्रवास प्रदेशमा कार्यरत पार्टी के.स. हरू तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ ३१ र असोज १ गते । * जेष्ठ कम्युनिस्ट मञ्च र केन्द्रीय सल्लाहकारहरूको बैठक असोज २ र ३ गते ।  

भरतपुर भ्रमण वर्षको अवसरमा कार्तिकमा धार्मिक महोत्सव सञ्चालन हुने

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्ष २०२४ का लागि लिएको संकल्प पुरा भएको बताउनुभएको छ । होटल व्यवसायी संघ चितवनको २८ औ साधारण सभालाई सम्बोधन गर्दै प्रमुख दाहाले भ्रमण वर्षको अवसरमा पर्यटन प्रवर्धन हुने महत्वपूर्ण काम गरेको उल्लेख गर्नुभयो । भ्रमण वर्षको अवसरमा वन्यजन्तु उद्धार केन्द्रमार्फत पाटे बाघ हेर्ने सुविधा, भारतीय पर्यटकलाई सहज आवागमनका लागि ठोरी भन्सार सञ्चालन, दियालो बंगला दरबार सर्वसाधरणका लागि खुला गरिएको प्रमुख दाहालले बताउनुभयो । भ्रमण वर्षमा थप पर्यटक भित्र्याउन कात्तिक महिनामा एक हप्ते धार्मिक महोत्सव गर्न लागिएको उहाँले उल्लेख गर्नुभयो । यसको संयोजन देवघाट क्षेत्र विकास समिति र संरक्षकमा भरतपुर महानगर रहने उहाँको भनाई छ । यस्तै भ्रमण वर्षको समापनमा खाना महोत्सव गर्ने क्यालेण्डर तय भएको प्रमुख दाहालले बताउनुभयो । यस्ता गतिविधिले प्रत्यक्ष रुपमा यहाँका होटल व्यवसायीलाई टेवा पुग्ने उहाँले बताउनुभयो । बजार क्षेत्रको पार्किङको समस्या समधान गर्न यहाँका स्थानीय र महानगरको समवन्यमा स्थानको खोजी गर्नुपर्ने उहाँले बताउनुभयो । यसअघि महानगरले पार्किङ स्थलको व्यवस्थापन गरेको भएपनि सञ्चालनमा कठिनाई आएको स्मरण गर्नुभयो । होटल व्यवसाय संघका केन्द्रीय अध्यक्ष दिनेश कुमार चुकेले पर्यटन ऐन संशोधन नहँुदा नेपालका १० औं हजार होटेल ब्यवसायी मर्कामा परेको उल्लेख गर्नुभयो । उहाँले चितवनका २०० बढी होटल पर्यटनमा दर्ता हुने क्रममा रहेको जानकारी दिनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै होटल व्यवसायी संघ चितवनका पूर्व अध्यक्ष इमान्दु बरालले बजारका होटलहरु २४ घण्टा खुला चल्ने व्यवस्था गरिदिन अनुरोध गर्नुभयो ।  व्यवसायीलाई एकद्वार प्रणालीबाट कर तिर्ने वातावरण बनाइदिन उहाँले आग्रह पनि गर्नुभयो । कार्यक्रममा भरतपुर वडा नम्बर १ का अध्यक्ष केशव महर्जन, उवा संघ चितवन कार्यवहाक अध्यक्ष चिरञ्जीवी सुवेदी, घरबहाल उपभोक्ता मन्च चितवन अध्यक्ष जनकलाल कट्टेलले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष लोकनाथ भट्टको अध्यक्षतामा सम्पन्न भएको हो ।

चितवनको घुमाउने बस दुर्घटना, १२ घाइते

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर २९ घुमाउनेमा यात्रुवाहक बस दुर्घटन हुँदा १२ जना घाइते भएका छन्। घाइते सबैजनाको उपचार चितवनमा भइरहेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सु प्र प्र ०२ ००१ ख १३३२ नम्बरको बस कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको यात्रुबाहक बस बिहान ७ः१५ बजेतिर दुर्घटनामा परेको हो। प्रारम्भिक विवरण अनुसार बस अनियन्त्रित भएर दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिनुभयो। घाइतेहरुको अहिले उद्धार भइरहेको छ।

अहिलेको सरकार बिचौलियाले बनाएको भ्रष्टाचारीहरुको सरकार हो: प्रचण्ड

अध्यक्ष प्रचण्डले २०८४ को निर्वाचनमा आफ्नो पार्टीले २०६४ कै हाराहारीमा हैसियत प्राप्त गरेर पहिलो दल बन्ने वातावरण बन्दै गएको बताउनुभयो । उहाँले आफ्नो पार्टी नेतृत्वको सरकारले अघि बढाएको सुशासनको अभियानले पार्टीलाई पुनः जनतासँग नयाँ सम्बन्ध स्थापित गर्ने अवसर प्राप्त भएको बताउनुभयो ।

भारतमा पहिरो परी मृत्यु भएका तीन जनाको शव नेपाल ल्याइयो

कञ्चनपुर ।  भारत उत्तराखण्डको केदारनाथ नजिकै पहिरोमा परी मृत्यु भएका तीनजनाको शव नेपाल ल्याइएको छ । शनिबार दिउँसो गड्डाचौकी नाका हुँदै उनीहरुको शव नेपाल ल्याइएको हो ।  पहिरोमा परी मृत्यु भएका चितवन माडीका तुलबहादुर परिवार, कृष्ण परियार र पुर्ण नेपालीको शव नेपाल ल्याइएको हो । उनीहरुको शव एउटै गाडीमा ल्याइएको छ । आज रातिसम्म घरमा पुगेपछि भोलि अन्तिम संस्कार गरिने मृतक तुलबहादुरका भान्जा गोपाल परियारले जानकारी दिनुभयो । गोपालको परिवार र मृतक चारैजनासँगै काम गर्दै आएका थिए । पहिरोमा परी मृत्यु भएका दैलेखका दिपक बुढाको भने केदारनाथ क्षेत्रमै अन्तिम संस्कार गरिएको छ । बिहीबार राति केदारनाथ नजिकै फाटा भन्ने ठाउँमा पहिरोमा परी ४ जना नेपाली कामदारको मृत्यु भएको थियो ।

भ्रष्टाचारजन्य कसुरमा हदम्याद नराख्न माग गर्दै प्रदर्शन

भ्रष्टाचारजन्य कसुरको हदम्यादलाई ५ वर्षभित्र सीमित गर्ने तथा सङ्घीय र प्रदेश मन्त्रिपरिषद्‌ले गरेका भ्रष्टाचारजन्य काम कारबाहीलाई अनुसन्धानको दायराबाट उन्मुक्ति दिने गरी विद्यमान ऐनमा गरिन लागेको संशोधनको विरोधमा शनिबार राजधानी काठमाडौँमा प्रदर्शन गरिएको छ ।  बृहत् नागरिक आन्दोलन र रुवि खानाले माइतीघरदेखि नयाँ बानेश्वरसम्म मार्चपास गरेका हुन्।  हदम्यादसम्बन्धी विवाद के हो? अहिले नेपालमा भ्रष्टाचार तथा अख्तियार दुरुपयोगसम्बन्धी कसुरमा अभियोजन गर्न, मुद्दा चलाउन र सजाय गर्नका निम्ति भ्रष्टाचार निवारण ऐन, २०४९ प्रचलनमा रहेको छ। अहिलेको विधेयकमा उक्त ऐनको दफा ४५ को प्रावधान संशोधन गर्ने प्रस्ताव गरिएको छ। हाल प्रचलित ऐनको दफा ४५ मा 'अवकाशप्राप्त व्यक्तिउपर पनि मुद्दा चलाउन सकिने' व्यवस्था छ। त्यसमा भनिएको छ, "कुनै राष्ट्रसेवकले आफू कुनै पदमा बहाल रहेको अवस्थामा सरकारी वा सार्वजनिक सम्पति वा नेपाल सरकारको स्वामित्व भएको संस्थाको सम्पति हिनामिना वा हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धमा त्यस्तो व्यक्तिले आफ्नो पदबाट अवकाश प्राप्त गरेपछि पनि निजउपर मुद्दा चलाउन यस ऐनमा लखिएको कुनै कुराले बाधा पुर्‍याएको मानिने छैन।" अहिलेको विधेयकमा चाहिँ उक्त प्रावधानलाई संशोधन गरेर हदम्यादको व्यवस्था गरिएको छ। त्यसलाई थप स्पष्ट पार्दै उपदफा (२) मा यस्तो लेखिएको छ, "उपदफा (१) मा जनुसुकै कुरा लेखिएको भए तापनि सार्वजनिक पद धारण गरेको कुनै व्यक्तिले निज त्यस्तो पदमा बहाल रहँदाको बखत भ्रष्टाचार गरेको रहेछ र त्यस्तो विषय यस ऐनबमोजिम तत्काल कारबाही हुन सक्ने रहेछ भने निज जुनसुकै ब्यहोराबाट अवकाश प्राप्त गरेको भए पनि अवकाश भएको मितिले पाँच वर्षभित्र निजउपर यस ऐनबमोजिम कारबाही गर्न वा मुद्दा चलाउन बाधा पर्ने छैन।" तर विधेयकमा कस्तो अवस्थामा पाँचवर्षे हदम्याद लाग्दैन भन्ने पनि खुलाइएको छ। अहिले प्रचलनमा रहेको ऐनको दफा ४५ संशोधनकै प्रसङ्गमा विधेयकमा उक्त दफाको उपदफा (३) मा भनिएको छ, "उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि सरकारी, सामुदायिक वा सार्वजनिक सम्पत्ति वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तह वा सार्वजनिक सस्थाको स्वामित्व वा नियन्त्रणमा रहेको सम्पत्ति हिनामिना गरी भ्रष्टाचार गरेकोमा मुद्दा चलाउन त्यस्तो हदम्याद कायम रहने छैन।” विधेयकमा रहेको सोही प्रावधानलाई लिएर त्यसको पक्ष र विपक्षमा संसद्‌मा र बाहिर पनि विवाद देखिएको हो।

‘आर्थिक पारदर्शितामा भरतपुर महानगरपालिका उत्कृष्ट छ’

चितवन । भरतपुर महानगरपालिकाको आयोजनामा आर्थिक वर्ष २०८०/०८१ को तेस्रो चौमासिक (चैत–असार) भएका कार्यको सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । शुक्रबार भरतपुर–७ स्थित विपी कोईराला मेमोरिय क्यान्सर अस्पताल सभाहलमा भएको सार्वजनिक सुनुवाईका क्रममा वडावासीले महानगरले दिने सेवालाई थप जनमुखी बनाउन सुझाव दिएका छन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले ४ महिनाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । तेस्रो चौमासिकमा गौतम बुद्ध क्रिकेट रंगशालाको टेण्डर गर्ने, भरतपुर भ्रमण वर्ष २०२४ अभियान, नारायणी तटबन्धन, सिटी हल, खानेपानी, हरियाली सडक, सिक्स लेन सडक, लगायतका गौरवका आयोजनामा भएका प्रगति विवरण प्रस्तुत गर्नुभयो ।   सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिकले सडक, बत्ती, ढल निर्माण, शिक्षा, स्वास्थ्य लगायतका शुसासनका विषयमा महानगर प्रमुख रेनु दाहाललाई प्रश्न गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरमा साझेदार निकाय, संघीय सरकार र प्रदेश सरकारद्वारा सञ्चालित विकास निर्माणका कामहरूमा गुणस्तरलगायत कुनै पनि कुरामा गुनासो नआउने गरी काम गर्न निर्देशन दिनुभयो ।  महानगरबासीका प्रश्नको उत्तर दिँदै महानगर प्रमुख दाहालले आर्थिक पारदर्शितामा भरतपुर महानगरपालिकाका उत्कृष्ट रहेको बताउनुभयो । भरतपुरले फोहर व्यवस्थापनमा सोचे अनुरुप काम गर्न नसकेको उहाँले स्पष्ट पार्नुभयो । ल्याण्डफिल साईटको जग्गाको देखिएको समस्या समधान भए निर्माण प्रकृयामा जाने उहाँको भनाई थियो । यस तेस्रो चौमासिक प्रगति समीक्षामा नगरबासीको रचनात्मक सुझाव र विकासमा तीब्र चासो रहेको बताउँदै उहाँले यसलाई मनन गरेर अगाडि बढ्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो। कार्यक्रममा बोल्दै भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले महानगर योजनावद्ध र सन्तुलित विकासको नीतिलाई अवलम्बन गर्दै दिगो र आत्मनिर्भर विकासको पक्षमा काम अगाडि बढाइरहेको बताउनुभयो। शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सामाजिक सुरक्षा र सुशासन कायम गर्दै अगाडि बढिरहेको बताउदै उहाँले यसलाई कायम गर्न महानगरवासीको रचनात्मक सुझाव र खबरदारी निरन्तर रहनु पर्ने बताउनुभयो। कार्यक्रममा चौमासिक प्रगति प्रतिवेदन पेश गर्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत पौडेलले आर्थिक वर्ष २०८०/८१ को विनियोजित ६ अर्ब ४२ करोड १३ लाख ३० हजार रहेकोमा रु ४ अर्ब १७ करोड ३७ लाख ७६ हजार खर्च भएको उल्लेख गर्नुभयो । यो बजेटको ६४ दशमलव ९९ प्रतिशत हो । जसमध्ये चालुतर्फ ८४ दशमलव ७ प्रतिशत र पूँजीगततर्फ ५० दशमलव ५ प्रतिशत खर्च भएको छ । यसैगरी महानगरले आर्थिक वर्ष २०८०/०८१ को लागि रु १ अर्ब ७५ करोड लक्ष्य लिएकोमा रु १ अर्ब ३० करोड ९१ लाख ४८ हजार राजस्व संकलन गरेको छ । जुन लक्ष्यको ७५ प्रतिशत हो ।

बस दुर्घटनाका मृतकको शव परीक्षण चितवनमा सुरू

चितवन । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका मृतकको शव परीक्षण सुरू गरिएको छ। आज बिहानैदेखि भरतपुर अस्पतालमा शवको परीक्षण सुरू गरिएको हो। पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो। त्यसमध्ये २६ जनाको आँबुखैरेनी र एक जनाको भरतपुरमा उपचारका क्रममा मृत्यु भएको थियो। आँबुखैरेनी अस्पतालमा मृत्यु भएका २६ जनाको शव शुक्रबार राति नै चितवन ल्याइएको र अहिले शव परीक्षण सुरू गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । शव परीक्षणपश्चात् भैरहवा हुँदै भारत पठाइने उहाँले जानकारी दिनुभयो। दुर्घटनाका १६ जना घाइतेलाई शुक्रवार नै हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ लगिएको थियो।

तनहुँ दुर्घटनाप्रति पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा दुःख व्यक्त

काठमाडौं ।  पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तनहुँमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको उद्धार र उपचारलाई प्रभावकारी बनाउन आग्रह गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले दुःख व्यक्त गर्दै भन्नुभएको छ– ‘तनहुँको आँबुखैरेनीस्थित ऐना पहाराबाट मर्स्याङ्दी नदीमा यात्रुवाहक बस खस्दा भएको ठूलो मानवीय क्षतिले स्तब्ध बनाएको छ। घटनाप्रति दुःख व्यक्त गर्दै थप मानवीय क्षति हुन नदिन घाइतेहरुको शीघ्र उद्वार र प्रभावकारी उपचारका लागि सरकारसहित सबै पक्षको ध्यानाकर्षण गराउन चाहन्छु।’ मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँले पछिल्लो समय बढिरहेका सवारी दुर्घटना न्यूनीकरणका लागि लाग्न सबै पक्षलाई आग्रह पनि गर्नुभएको छ । तनहुँको आँबुखैरेनीस्थित ऐना पहाराबाट मर्स्याङ्दी नदीमा भारतीय बस खस्दा १४ जनाको मृत्यु भएको छ । घटनास्थलबाट १६ जना घाइतेको उद्धार गरिएको प्रहरीले जनाएको छ । शुक्रबार बिहान पोखराबाट काठमाडौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खसेको हो । बस नदी किनारमा अड्किएको छ ।

टिआरसी विधेयक पारित भएकोमा राष्ट्रसंघको स्वागत

काठमाडौं ।  संयुक्त राष्ट्रसङ्घले सङ्क्रमणकालीन न्यायसम्बन्धी शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिन बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगलाई आवश्यक पर्ने ऐन, कानुन बनाउने विधेयक सङ्घीय संसद्का दुवै सदनबाट पारित भएकामा स्वागत गरेको छ । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्का उच्चायुक्त भोल्कर टर्कले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक नेपालका दुवै सदनबाट पारित भएकामा त्यसको स्वागत गर्दै विधेयकको कार्यान्वयन पीडितकेन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ । शान्ति सम्झौता भएको १८ वर्षपछि पारित भएको उक्त विधेयक नेपालमा दिगो शान्ति स्थापनामा कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्दै उहाँले सत्य निरुपण र मेलमिलापसम्बन्धी सबै मुद्दा निरुपण गर्न सहज हुने बताउनुभएको छ । बिहीबार राति जेनेभामा जारी गर्नुभएको वक्तव्यमा उच्चायुक्त टर्कले पारदर्शी ढङ्गले स्वतन्त्र व्यक्तिहरू दुवै आयोगमा पदाधिकारीहरू नियुक्त हुनुपर्नेमा जोड दिनुभएको छ । शान्ति प्रक्रियालाई सफलतापूर्वक तार्किक निष्कर्षमा पुर्‍याउने उदाहरणीय मुलुकका रुपमा नेपाल क्षेत्रीय एवं अन्तरराष्ट्रिय जगत्मा स्थापित भएको उल्लेख गर्दै उहाँले शान्ति प्रक्रियाको यो महत्त्वपूर्ण चरणमा नेपाल सरकारलाई हरतरहले सहयोग गर्न आयोग तत्पर रहेको बताउनुभएको छ ।

यस्ता थिए टिकटकको प्रतिबन्ध हटाउन अघिल्लो सरकारले तोकेका शर्तहरु

काठमाडौं । सरकारले सामाजिक सञ्जाल प्लेटफर्म टिकटकमाथिको प्रतिबन्ध फुकुवा गरेको छ । सर्तसहित टिकटक खोल्न दिने निर्णय विहीवारको मन्त्रिपरिषद् बैठकले गरेको सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । ‘सामाजिक सद्भाव र वातावरणमा खलल पुर्याउन भूमिका खेलेको’ निष्कर्षसहित मन्त्रिपरिषद्को गत २७ कात्तिकको बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो । सञ्चारमन्त्री गुरुङका अनुसार टिकटकले सामाजिक सञ्जाल सञ्चालन निर्देशिकाअनुसार दर्ता हुनेसहित पाँच सर्त तीन महिनाभित्र पूरा गर्नुपर्नेछ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको अघिल्लो सरकारले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका २०८० जारी गर्दै सामाजिक सञ्जाल प्लेटफर्मको सूचीकरण अनिवार्य गरेको थियो । त्यतिबेला निर्देशिकाले तोकेका अन्य शर्तसहित सूचीकरण हुन टिकटकले मानिरहेको थिएन । अघिल्लो सरकारले टिकटक प्रतिनिधिहरुसँगको छलफलमा विभिन्न शर्त अघि सारेको थियो ।  के थिए अघिल्लो सरकारले टिकटिकसँग अघि सारेका शर्तहरु ? कानुनी तथा नीतगत पक्ष –नेपालको मौजुदा कानुन (सञ्चार, सामाजिक सञ्जाल, करलगायत) अन्तर्गत रही सञ्चालन गर्नुपर्ने । –नेपाल सरकारको सम्बन्धित कानुन (ऐन नबन्दासम्म निर्देशिका)अनुसार सम्बन्धित निकायहरुमा सूचीकरण भई उत्तरदायित्व निर्वाह गर्ने । –सामाजिक सञ्जाल तथा कम्पनीसँग सम्बन्धित गुनासो सम्बोधन गर्न नेपालको प्रचलित कानुनले तोकेको निकायसँग आवश्यक समन्वय गर्न नेपालका लागि डेडिकेटेट सम्पर्क संयन्त्र (व्यक्ति तथा प्रणाली) सुनिश्चित गर्ने ।  सामग्री नियमन र सहजीकरण –सामग्री नियमन र व्यवस्थापनका लागि नेपाली भाषामा पोख्त भएका नेपाली जनक्ति चरणवद्धरुपमा थप गर्ने ।  –हाल कम्पनीमा कार्यरत रहेका नेपालीभाषी कर्मचारीहरुलाई समेत थप क्षमता अभिवृद्धि गर्ने ।  –नेपालको कानूनले निषेध गरेका सामग्री नियमनको प्रयोजनार्थ नेपाल सरकारले तोकेको निकायलाई प्रत्यक्ष रिपोर्ट प्रणालीको सुनिश्चितता गर्ने ।  –हाल रिपोर्ट गर्न प्रयोगमा रहेको सिस्ष्टमका बारेमा सम्बन्धित निकायलाइ अनुक्षिण प्रदान गर्ने । सामग्री रिपोर्ट संयन्त्र सुधारका लागि निरन्तर परामर्स र छलफल गर्ने ।   –प्रयोगकर्ताको डाटामा पहुँचका लागि नेपालको कानुन बमोजिम अधिकारप्राप्त निकायले माग गरेको खण्डमा प्रयोगकर्ताको डाटा उपलब्ध गराउन नेपाल सरकारलाई सहयोग गर्ने ।  –बालयौन दुव्र्यवहार, बालश्रम, बाल तथा महिला बेचबिखन, वयस्क सामग्री, अश्लीलता, देहव्यापार, लागु औषधको कारोबार एवं प्रयोगलगायतका कानुनले निषिद्ध गरेका संवेदनशील सामग्री नियन्त्रणका लागि विशेष अतिरिक्त उपायहरु अवलम्बन गर्ने । र, सोसम्बन्धी आवश्यकता अनुरुप नेपाल सरकारको कानुन बमोजिम तोकिएको निकायले माग गरेका डाटा उपलब्ध गराउने ।  –नेपालको कानूनले निषिद्ध गरेका सामाजिक अपराधहरु नियन्त्रणमा सहयोग गर्न सोसँग सम्बन्धित शब्द, चित्र, संकेत, दृश्य, ग्राफिक, ध्वनी आदि सामग्री स्व–सूचितको नेपालमै आएर परिक्षण गरी सोही अनुरूप नियमन हुने प्रणाली विकासका लागि नेपाल सरकारको सम्बन्धित निकायसँग समन्वय र सहकार्य गर्ने ।  –सामाजिक सञ्जालका प्रयोगकर्ताले पोष्ट गर्न नहुने सामग्री भनी कानुनले परिभाषित गरिएका सामग्रीहरुलाई अथवा नेपाल सरकारको सम्बन्धित निकायले रिपोर्ट गरेका सामग्रीको गाम्भीर्यताका आधारमा नियमनका लागि आवश्यक उपाय अवलम्बन गर्ने ।  –टिकटक प्लेटफर्मलाई मर्यादित तथा सामाजिक हितमा प्रयोग गर्न नेपालको कानुनले तोकेको निकायसँग नियमित सहकार्य र सहयोग गर्ने ।  –टिकटक पुनः संचालनमा आएसँगै कानुन बमोजिम गर्न नहुने विषयहरुबारे सुसुचित गर्न नेपाल सरकारले उपलब्ध गराएको सूचना सामग्री प्रयोगकर्ताले स्वतः देखिने गरी प्रसारण हुने व्यवस्था मिलाउने । नेपालमा लगानी तथा सामाजिक उत्तरदात्विका कार्यक्रम –नेपालको स्वीकृत पाठ्यक्रम अनुसार सामुदायिक विद्यालयहरुका लागि डिजिटलाइज पाठ्यसामग्री, सिकाइ कक्षा, छात्रवृति, विद्यालय डिजिटलाइजेसन लगायतका कार्यक्रम सञ्चालन गर्ने । –सामुदायिक विद्यालयहरुलाई आइसिटी ल्याब अथवा अन्य मोडालिटीमा डिजिटलाइसेनका लागि शिक्षा मन्त्रालयसँगको सहकार्यम आवश्यक सहयोग गर्ने ।  –नेपाल सरकारको निकायले तोकेबमोजिमका कक्षा अनुकुल हुने गरी डिजिटल पाठ्यसामग्रीको विकास गरी नियमित अनलाइन कक्षा संचालनका लागि सहयोग गर्ने ।  –इन्टरनेटको सुरक्षित प्रयोग तथा यस सम्बन्धी आम जनतालाई सुसुचित गर्न नेपाल सरकारको सुझाव अनुसार डिजिटल साक्षरता अभियान सञ्चालन गर्ने । –सूचना तथा संचार मन्त्रालयसँग समन्वय गरी इन्टरनेटको सुरक्षित प्रयोग, साइबर सुरक्षा लगायत विषयमा डिजिटल साक्षरता सम्बन्धी सागग्रीको विकास गर्ने । –नेपाल सरकारका निकाय तथा नागरिक समाजका लक्षित संघसंस्थाहरुसँगको समन्वय एवं सहभागितामा माथि उल्लेखित विषयमा जनचेतनामूलक कार्यक्रम संचालन गर्ने । –स्थानीय तह, प्रदेस तथा संघीय निकायका पदाधिकारीको सुरक्षित इन्टरनेट, साइबर सुरक्षा तथा डिजिटल साक्षरताका विषयमा क्षमता अभिवृद्धिका लागि अनुभव साटासाट लगायतका कार्यक्रम संचालन गर्ने । –नेपालको आर्थिक तथा सामाजिक विकासका लागि पर्यटन लगायतका क्षेत्रको प्रचार प्रसारमा सघाउ पुर्याउने ।  –नेपाल सरकारले उपलब्ध गराएबमोजिमका जनचेतनाका सामग्री आवश्यकता अनुसार प्लेटफर्मबाट निःशुल्क प्रसारण गर्ने । 

घाटामा जाने उद्योगहरू नचलाउनुस् : प्रधानमन्त्री ओली

काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले चलाएका कुनै पनि उद्योग र संस्थान घाटामा जान नहुने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायसँग सम्बन्धित विषयमा आज भएको ब्रिफिङमा प्रधानमन्त्री ओलीले उद्योगका लागि सडक बाटो, बिजुलीलगायत पूर्वाधारका वातावरण तयार भइसकेकाले अब औद्योगिकीकरणमा लाग्न आग्रह गरे । “साना साना लगानीमा धेरै कृषिमा आधुनिकीकरण र स्टार्टअप उद्योग खोलेर बेरोजगारीलाई रोजगारी दिन सकिन्छ । उत्पादन बढाएर आयात विस्थापन गर्न सकिन्छ,” प्रधानमन्त्री ओलीले भने, “नचल्ने र घाटामा जाने उद्योग चलाउन बल नगरौँ । डुब्ने र प्रतिफल नदिने उद्योग नचलाऔँ ।’’ मद्यपान र धुमपानसँग सम्बन्धित उद्योगलाई भन्दा रोजगारी सृजना गर्ने र समाजलाई सभ्य तथा स्वस्थ्य बनाउने खालका उत्पादनमा जोड दिन आग्रह गर्दै प्रधानमन्त्री ओलीले उद्योगका नाममा भएका बेथिति रोक्न र राम्रा काम गर्नेलाई संरक्षण गर्न निर्देशन दिए। उद्योगमन्त्री दामोदर भण्डारी, नेपाल सरकारका मुख्यसचिव लीलादेवी गड्तौला, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठ, उद्योग मन्त्रालयका सचिव कृष्णबहादुर राउतसहितको छलफलमा प्रधानमन्त्री ओलीले खनिज र पेट्रोलियम पदार्थको अन्वेषण र उत्खनन् कार्यलाई निरन्तरता दिँदै यसका आधारमा विकास गर्न सकिने उद्योगको योजना ल्याउन आग्रह गरे ।