मापदण्डविपरीतका पेट्रोल पम्प तिहारलगत्तै हटाउने तयारीमा काठमाडौं महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले मापदण्डविपरीतका पेट्रोल पम्पको हटाउने तयारी गरेको छ । नक्साविपरीत अवैध रुपमा सञ्चालित पेट्रोल पम्प हटाउने तयारी गरेको हो ।

तिहार सकिएलगत्तै महानगरको मापदण्ड पालना नगर्ने पेट्रोल पम्प हटाउने महानगरका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए । उनले मापदण्ड पालना गरेका र नगरका पेट्रोल पम्प छनोट गर्ने काम भइरहेको बताए ।

महानगरले ३५ दिने सूचना जारी गरेर अवैध संरचना हटाउने अभियान सुरु गरेको थियो । बानेश्वर क्षेत्रबाट सुरु भएको अभियान तिहारको समयमा केही दिनका लागि स्थगित भएको महानगरले जनाएको छ ।

तिहार सकिएलगत्तै बृहत रुपमा अवैध संरचना हटाउने काम अघि बढाइने एसपी पाण्डेले बताए ।

रुपन्देहीको विकास देश विकासको आधार : गृहमन्त्री खाण

लुम्बिनी। गृहमन्त्री बालकृष्ण खाणले मुलुकको करिब मध्य भागमा रहेको रुपन्देहीको विकासले समग्र देश विकासको आधारशिला खडा गर्ने बताएका छन् । गौतमबद्धको जन्मस्थल लुम्बिनी स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहीयानाका, दोस्रो ठूलो भन्सार नाका, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समेत यहाँ भएकाले रुपन्देही देशकै प्रमुख आर्थिक केन्द्र समेत बन्ने उनको भनाइ छ । नेपाली कांग्रेसबाट रुपन्देही क्षेत्र नं ३ बाट पाँच दलीय गठबन्धनका प्रतिनिधि सभा उम्मेदवार समेत रहेका मन्त्री खाणले भैरहवामा आयोजित कार्यक्रममा सो कुरा बताए । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई यात्रुबाहकको साथै कार्गो सेन्टरको रूपमा विकास गरेर भैरहवालाई आर्थिक हब बनाउने अवसर पनि रहेको उनको भनाइ छ । ‘खाली यात्रु ल्याउने लैजाने मात्र होइन, गृहमन्त्री खाणले भने– ‘गौतमबुद्ध विमानस्थललाई कार्गो सेन्टरको रूपमा पनि विकास गरी रुपन्देहीलाई आर्थिक केन्द्र बनाउन सकिने अवसर हामीसँग छ । यसतर्फ सरकार लागिरहेको छ ।’ काठमाडौको कालीमाटी फलफूल तथा तरकारी केन्द्रभन्दा ठूलो खालको थोक बजार केन्द्र निर्माण योजना रुपन्देहीको सेमलारमा आएको र सो थोक बजार निर्माण पश्चात् यस क्षेत्रमा उत्पादित कृषिजन्य बस्तु गौतमबुद्ध विमानस्थल हुँदै विदेश निर्यात गर्न सकिने उनले बताए । विदेशबाट हवाइमार्ग हुँदै ल्याउनुपर्ने मालसामान गौतमबुद्ध विमानस्थल हुँदै ल्याउने र विदेश निर्यात गर्ने सामान पनि यही विमानस्थलबाट पठाउने वातावरण सिर्जना गर्न सके हजारौँ रोजगारीका अवसर खुल्ने उनको भनाइ छ । रोजगारीमा यसै क्षेत्रका स्थानीयले प्राथमिकता पाउने पनि उनले विश्वास व्यक्त गरे । अर्को प्रसङ्गमा उनले नेपाली जनतालाई नै नेपालको मालिक बनाउन पाँच दलीय गठबन्धन बनेको दाबी गरे। ‘संविधानको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संरक्षण गर्ने काम यही गठबन्धनबाट हुन्छ उनले भने– ‘संविधानको पालना गर्दै यहाँभित्र भएका कमीकमजोरी संशोधन गर्न पनि निर्वाचनपछि गठबन्धनकै सरकार आवश्यक छ ।’

लक्ष्मीपूजाको साँझ पनि भारतलाई बेचियो ३८० मेगावाट बिजुली

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लक्ष्मीपूजाको साँझ पिक आवरमा पनि बिजुली भारत निर्यात गरेको छ। प्राधिकरणका अनुसार सोमबार साँझ पिक आवरमा बढी भएको ३८० मेगावाट बिजुली भारतीय बजारमा बेचिएको हो। लक्ष्मीपूजाको साँझ ६ बजेर १० मिनेटमा नेपालमा सबैभन्दा धेरै बिजुली माग भएको थियो। त्यो समयमा १३०५ मेगावाट बिजुली खपत भएको थियो। निर्यातसहितको बिजुली जोड्दा त्यतिबेला प्राधिकरणको प्रणालीबाट १६८५ मेगावाट बिजुली आपूर्ति भएको थियो। प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठबाट आइएक्समा बिक्री सुरू गरेको थियो। नेपालमा बढी भएको बिजुली भारतीय बजारमा बेच्न सुरू भएसँगै पहिलो पटक यसपालि प्राधिकरण लक्ष्मीपूजाको साँझ पनि बिजुली भारत पठाएको हो। नेपाली विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले चालु आर्थिक वर्षमा २० अर्ब रुपैयाँ बराबरको बिजुली भारतलाई बेच्ने लक्ष्य रहेको बताएका छन्। भारतको केन्द्रीय विद्युत् प्रणाली अन्तर्गत दैनिक विद्युत् बजार (डे अहेड मार्केट) मा विद्युत बिक्री गरिन्छ छ। प्राधिकरणले हरेक दिन बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म एक्सचेन्ज बजारमा बिक्री गरिने विद्युतको परिमाणसहित बिडमा प्रतिस्पर्धा छ। विद्युत प्रणालीमार्फत तय हुने ‘मार्केट क्लियरिङ प्राइस’का आधारमा विद्युतको प्रति युनिट बिक्री दर तय हुन्छ। प्रतिस्पर्धी दर तय भएपछि रातिको १२ बजेदेखि अर्को दिनको रातको १२ बजेसम्म अर्थात २४ घन्टा विद्युत निर्यात गरिन्छ।

आज तिहारको चौथो दिन, गाई, गोरु र गोवर्द्धन पूजा गरिंदै

काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको चौँथो दिन आज मंगलबार गाईको पूजा गरि मनाइँदै छ । यो पर्व कार्त्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले सुरु भएर कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन) मनाइन्छ । पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ । गाई तिहार यमपञ्चकको चौँथो दिन मनाइने गरिन्छ । यमपञ्चकमा क्रमशः काग, कुकुर, लक्ष्मी, गाई र भाइ पूजा गरिन्छ। आजको दिन गाई मात्र नभएर गोरु र गोवर्द्धन पूजा गर्ने गरिन्छ । गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने धार्मिक विश्वास रहेको छ । नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औंसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहेपनि औंसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ । गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत छ । आजैका दिन कृषि कर्म गर्न हलो जोतेर वर्षभर साथ दिने गोरुलाई समेत पूजा गरी मीठो –मीठो खान दिने गरिन्छ। गोरुलाई भगवान महादेवको वाहन अर्थात् साँढेका रूपमा पनि पूजा गर्ने परम्परा छ । साथै आजका दिन गाईको गोबरको पर्वत बनाइ त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । हिन्दू धर्म अनुसार भगवान श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने गरिन्छ । बिहान सम्पूर्ण पूजा गरिसकेर बेलुकी घर– घरमा देउसी खेल्ने गरिन्छ। देउसी खेल्न आएका देउसेहरूलाई नाङलोमा चामल राखि दियो बालेर बिभिन्न प्रकारका खानेकुरा र नगद दिने गरिन्छ । देउसी खेल्न आएका देउसेहरूलाई खुशी पार्नसकेमा उनीहरूले आशिर्वाद दिने र आशिर्वाद लाग्ने धार्मिक विश्वाश छ ।

संविधानको प्रत्येक शब्दमा जनताको रगत बगेको छ : मन्त्री पौडेल

बागलुङ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संविधानमा उल्लेख भएका प्रत्येक शब्दमा जनताको बलिदान भएको बताएका छन्। बडिगाड गाउँपालिकामा चुनावी सम्पर्क कार्यालय उद्घाटन गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न र जनताको बलिदान भएको बताएका हुन्। केपी ओली आफ्नै दल भित्र अल्पमत परेपछि दुई दुई पटक संसद विघटन गरी संविधानले दिएको अधिकार भन्दा विपरीत गएर काम गरेकाले गठबन्धन बनाएको बताए। ‘शान्ति प्रक्रियामा होस् या, शान्ति पक्रिया पछि ल्याएको प्रणालीलाई संरक्षण गर्न लोकतान्त्रिक पक्षधर एक ढिक्का भएका हौं,’ उनले भने, ‘यो गठबन्धनलाई टुटाउन षड्यन्त्रकारी लागि परिरहेको छन्।’ यस अघिको सरकारले विदेशी कूटनीतिक क्षेत्र बिगारेको भन्दै गठबन्धनको सरकारले त्यसलाई सुधार गर्दै अर्थ प्रणालीलाई थप मजबुत बनाउने काममा लागि परेको जानकारी दिए। ‘प्रतिगमन र आर्थिक उन्नतिका लागि गठबन्धनलाई सँगै लैजानुपर्नेछ,’ उनले भने, ‘सरकार बनाउन भन्दा प्रणाली बचाउन गठबन्धन भएको हो।’ निर्वाचन क्षेत्र रणनीतिक सडकको निर्णय भई अघि बढेको बताउँदै मध्य पहाडी लोक मार्गको विकल्पको मल्म पाण्डवखानी भीमगिठे दर्लिङ, निसी हुँदै प्युठान जोड्ने सडक हुने बताए। ‘संघीय लोकतान्त्रिक व्यवस्थालाई जोगाउन बाम लोकतान्त्रिक शक्तिहरूको एक ठाउँमा उभिएका छौं,’ उनले भने, ‘देशी विदेशी शक्तिहरू गठबन्धनलाई भत्काउन विभिन्न तरिकाले लागे तर विफल भएको छ।’ जनताको मतसँगै विकाश र समृद्धि जोडिएको भन्दै बागलुङको विकाशका लागि जीवनरहेसम्म लागिरहने प्रतिबद्धता व्यक्त गरे। बागलुङ जिल्ला सुरुङ मार्गको युगमा प्रवेश गरेको बताउँदै अहिले नै सम्भाव्यता अध्ययनका लागि सरकारले बजेट छुटाएको बताए। प्रदेशसभा सदस्यका उम्मेदवार जीतबहादुर शेरचनले तत्कालीन प्रधानमन्त्री केपी ओलीले दुई दुई पटक संविधानलाई च्यात्ने काम गरेकाले त्यसको रक्षाका लागि गठबन्धन भएको बताए।

सत्ता गठबन्धनले आज काठमाडौंमा संयुक्त भेला गर्दै

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले प्रदेशस्तरिय अन्तिम भेला आज काठमाडौंमा गर्दै छन् । आसन्न निर्वाचनलाई लक्षित गरेर गत ४ कात्तिकबाट सुरू भएको सत्ता गठबन्धनको संयुक्त भेला ६ वटा प्रदेशमा सकिसकेको छ। गठबन्धनले सार्वजनिक गरेको तालिका अनुसार अन्तिम भेला आज काठमाडौंमा हुँदैछ। गठबन्धनले ‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ नाराका साथ सातै प्रदेशमा संयुक्त कार्यकर्ता भेला आयोजना गर्न लागेको बताएको छ। गठबन्धनले नेकपा एकीकृत समाजवादीको समन्वयमा पहिलो दिन गण्डकी प्रदेशको पोखरा र नेपाली कांग्रेसको समन्वयमा लुम्बिनी प्रदेशको बुटवलमा संयुक्त भेला गरेको थियो। कार्तिक ५ गते कांग्रेसको समन्वयमा प्रदेश १ को विराटनगर र मधेस प्रदेशको जनकपुरमा संयुक्त भेला भएको थियो। कार्तिक ६ गते नेकपा माओवादी केन्द्रको समन्वयमा सुदूरपश्चिमको धनगढी र कांग्रेसको समन्वयमा कर्णाली प्रदेशको सुर्खेतमा भेला आयोजना भएको थियो।

कांग्रेसको घोषणापत्र आज सार्वजनिक हुने

काठमाडौं । कांग्रेसले सोमबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार बिहान साढे १० बजे घोषणापत्र सार्वजनिक गर्ने तय भएको जानकारी दिए । यसअघि कांग्रेसले आइतबार अपराह्न ५ बजे घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम तय गरेको थियो । तर, केही विषय थप गर्नुपर्ने भएपछि मिति सरेको हो । कांग्रेसले डिजिटल घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ । समितिका प्रवक्ता सहमहामन्त्री जीवन परियारका अनुसार घोषणापत्रको डिजिटल कपी जुममार्फत सार्वजनिक गर्न लागिएको हो । ‘डिजिटल घोषणापत्र सार्वजनिक गरेर कांग्रेसका एजेन्डा धेरैभन्दा धेरैको पहुँचमा पुर्‍याउने तयारीमा छौँ,’ उनले भने, ‘सार्वजनिक कार्यक्रममा आ–आफ्ना निर्वाचन क्षेत्रमा रहनुभएका नेतादेखि विदेशस्थित जनसम्पर्क समितिहरूलाई पनि सहभागी गर्ने कार्यक्रम छ ।’

७० प्रतिशत मतपत्र छपाइ सकियो

काठमाडौं । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यका लागि पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ४० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएको छ । योसँगै समानुपातिक तथा पहिलो हुने निर्वाचित हुने प्रणाली दुवै गरी कुल सङ्ख्याको करिब ७० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएको छ । आइतबारसम्म पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ एक करोड ६७ लाख पाँच सय मतपत्रको छपाइ सम्पन्न भएको छ । जसमा प्रतिनिधि सभाका लागि ८७ लाख एक हजार र प्रदेश सभाको ८० लाख ५७ हजार पाँच सय मतपत्र रहेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको करिब चार करोड मतपत्र भने यसअघि नै छपाइ सम्पन्न भइसकेको छ । आयोगको पछिल्लो तथ्याङ्कअनुसार निर्वाचनमा कुल एक करोड ७९ लाख ८५ हजार ७० जना मतदाता रहेका छन् । यी मतदाताले समानुपातिक तथा पहिलो हुने निर्वाचित हुने दुई प्रणालीका लागि चारवटा मतपत्रमा भोट हाल्नुपर्ने हुन्छ । यसअनुसार आगामी निर्वाचनका लागि करिब आठ करोड मतपत्र आवश्यक पर्छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ भने ६८ जिल्लामा मतपत्र ढुवानी भइसकेको छ । अब नौवटा जिल्लामा मात्र मतपत्र ढुवानी हुन बाँकी छ । ढुवानी भएकामध्ये प्रदेश सभाका लागि एक करोड ९६ लाख १७ हजार तथा प्रतिनिधि सभातर्फ एक करोड ९३ लाख १३ हजार मतपत्र रहेको छ । अब प्रदेश सभाको पाँच लाख ६८ हजार तथा प्रतिनिधि सभाको पाँच लाख ५८ हजार मतपत्र मात्र ढुवानी हुन बाँकी छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

तिहारको तेस्रो दिन आज कुकुर तिहार

काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घरघरमा सुरक्षा गर्ने कुकुरलाई पूजाआराधनासहित मीठा मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्राडा देवमणि भट्टराई नरके चतुर्दशी र कुकुर तिहार सूर्योदयकालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने बताउँछन् । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले जानकारी दिए । वैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ । घरमा कुकुर पाल्नाले मुटु र मधुमेह रोग लाग्दैन भनी विश्वास गर्नेहरुको सङ्ख्यासमेत बढ्न थालेको छ । नरक चतुर्दशी आज बिहानै अरुणोदयकालमा विभिन्न तीर्थ, नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बाली बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका कारण नरक चतुर्दशीमा नुहाउने विधिसमेत रहेको धर्मशास्त्रविद् गौतमले बताए । यसरी बत्ती बालेर बगाउनुलाई नरके बगाउने भनिन्छ । यमपञ्चक अर्थात् तिहारका पाँचै दिन तिलको तेल लगाएर स्नान गर्ने प्रचलन छ । यसो गरेमा शरीर स्वस्थ हुने आयुर्वेदिक मत छ । यसैले तिहार स्वास्थ्य सुरक्षाका दृष्टिले पनि महत्वपूर्ण पर्वका रुपमा मनाइन्छ ।

गठबन्धनको जित सुनिश्चित : देब गुरूङ

लम्जुङ । नेकपा माओवादी केन्द्रका महासचिव तथा लमजुङबाट प्रतिनिधि सभामा गठबन्धनका तर्फबाट साझा उम्मेदवार रहेका देव प्रसाद गुरूङले लमजुङमा गठबन्धनको जित सुनिश्चित रहेको बताएका छन् । गठबन्धन दल निकट लमजुङ काठमाडौं सम्पर्क समन्वय समिति र मन्चहरूले शनिबार काठमाडौंमा आयोजना गरेको दिपावली छठ लगायतका चाडपर्वको शुभकामना तथा उमेदवार परिचय कार्यक्रममा सम्वोधन गर्दै महासचिव गुरूङले राजनीतिक स्थिरता, सुशासन,लमजुङको विकास र समृद्धिको लागि गठबन्धनले जित्न आवश्यक रहेको बताए । उनले भने हामीले हाम्रो उमेदवारी फगत निर्वाचन जित्नको लागि मात्रै नभएर लमजुङको विकास र समृद्धिको लागि दिएका हौं । उनले सुशासनसहितको विकास र बजार व्यवस्था सहितको उत्पादन प्रणालीमार्फत जनताको आर्थिक समृद्वि आफुहरूको मुख्य एजेण्डा रहेको बताए । उनले त्यसको लागि कृषिमा यान्त्रिकरण, भएका सडक कालोपत्रे, नयाँ सडक विस्तार गरि उत्पादन केन्द्र सम्म पुर्याउने र पर्यटन तथा जलविद्युत्का सम्भावनालाई अत्याधिक मात्रामा उपयोग गर्ने पनि आफ्नो योजना रहेको बताए । उनले गठबन्धन यो चुनावसम्म मात्रै नभएर सरकार निर्माण , संविधान रक्षा र शान्ति प्रक्रियाको पुर्णताको लागि पनि आवश्यक रहेकाले ढुक्कसँग मत दिन सबै मतदातालाई आग्रह पनि गरेका छन् । कार्यक्रममा नेपाली कांग्रेसका पुर्व केन्द्रीय सदस्य दिलबहादुर घर्तीले ओली मण्डलीले संविधान मिच्ने र निरंकुशता लाद्ने प्रयास गरेकाले माओवादीसहितको गठबन्धन बनेकाले संविधानको रक्षा र लमजुङको विकास र समृद्धिको लागि गठबन्धनका उमेदवारलाई ढुक्कसँग भोट दिएर जिताउन कांग्रेस सहित सबै दलका कार्यकर्ता र मतदातालाई आग्रह गरे । उनले देव गुरूङ जस्तो नेतालाई आफुहरूले साझा उमेदवारको रूपमा प्रान्त गर्नु लमजुङको लागि गौरवको विषय भएको बताए । त्यसैगरी लमजुङको प्रदेश सभा क का उमेदवार तथा कांग्रेस लमजुङका सभापति डा। टकराज गुरूङले आफुहरूको लमजुङको विकास समृद्धि र संविधान रक्षा बाहेक कुनै स्वार्थ नरहेको भन्दै गठबन्धनको जितलाई कसैले रोक्न नसक्ने बताए । उनले लमजुङको भाग्य र भविष्यको जिम्मेवारी गठबन्धनमा रहेकाले प्रतिगमनकारी एमाले गठबन्धनलाई पराजित गरि लमजुङको विकास र समृद्धिको ज्ञारेन्टी गर्न पार्टी कार्यकर्ता र मतदातालाई आग्रह गरे । त्यसैगरी प्रदेश सभा ख का प्रत्यासी भेष बहादुर पौडेलले लमजुङको विकास र समृद्धि अब टाढा नभएको बताए । उनले गठबन्धनका उमेदवारहरूको साझा उमेदवारीले त्यो संकेत गरिसकेको बताए । उनले आफ्नो कुनै व्यक्तिगत स्वार्थ नरहेको स्पष्ट पार्दै आफुसँग लमजुङको विकास पर्यटन, कृषि, उद्योग र जलविद्युत्मामार्फत हजारौंको रोजगारीको योजना रहेको बताए । कार्यक्रममा माओवादी केन्द्रका लमजुङ इन्चार्ज तथा समानुपातिक उमेदवार पारसमणी पौडेलले गठबन्धनका उमेदवारको जितलाई सुनिश्चित गर्न काठमाडौंवासी लमजुङका मतदाताहरूको निर्णायक भुमिका हुने बताए । कार्यक्रममा नेकपा एस का जिल्ला अध्यक्ष रामबाबु अधिकारीले गठबन्धनका दलहरूबीचमा कुनै समस्या नभएको तथा प्रतिद्वन्दी दल एमालेमा गम्भीर विवाद र असहमति देखिएकाले गठबन्धनका उमेदवारहरूको जित सुनिश्चित रहेको बताए । सो अवसरमा माओवादी केन्द्रबाट प्रतिनिधिसभामा समानुपातिक उमेदवार उर्मिला माझी, तारा कुमाल, कांग्रेसको प्रदेश सभा उमेदवार टीका बस्याल, पार्वती तामाङले पनि गठबन्धनका उमेदवारलाई जिताउनु प्रमुख जिम्मेवारी रहेको बताउँदै आफ्नो दललाई समानुपातिक तर्फ मतदान गर्न अपिल गरेका थिए ।

सत्तागठबन्धन पवित्र उद्देश्यबाट निर्देशित : माधव नेपाल

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूहरूले पवित्र उद्देश्यबाट निर्देशित भएर गठबन्धन गरेको बताएका छन्। आइतबार वीरेन्द्रनगरमा आयोजित सत्तागठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उनले संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि आफूहरूले गठबन्धन गरेको जिकिर गरे। फरक सिद्धान्त बोकेका कांग्रेस र कम्युनिस्ट ०७ सालदेखि ०६४ सालसम्म आवश्यक पर्दा एकताबद्ध भएका स्मरण गराउँदै अध्यक्ष नेपालले अहिले पनि प्राप्त उपलब्धिहरू गुम्ने खतरा रहेकाले आफूहरूले गठबन्धन गरेको बताए। ‘त्यो एकताको क्रम अघि बढिरहेको छ। कहिले कांग्रेस–माओवादीसहितको सरकार, कहिले एमाले र कांग्रेसको सरकार, कहिले हामी सबैको संयुक्त सरकार विभिन्न समयमा बन्दै आएको छ। त्यसो हुनाले हामीबीचको यो एकता र गठबन्धन स्वाभाविक हो,’ उनले भने। प्रतिपक्षले राष्ट्रको हितमा कुठाराघात गर्नेहरूसँग गठबन्धन गररेको आरोप लगाउँदै नेपालले लोकतन्त्र र गणतन्त्र अहिले पनि जोखिममा रहेको जिकिर गरे।

सत्रकिलाेमा पहिराे, नारायणगढ-मुग्लिन सडक बन्द

चितवन — लगातार भारी वर्षाका कारण नारायणगढ-मुग्लिन सडककाे भरतपुर महानगरपालिका-२९ सत्रकिलाेमा पहिराे खसेपछि यातायात अवरूद्ध भएकाे छ । चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) नरहरि अधिकारीका अनुसार बिहिबार बिहान ८:२० बजे लेदाेसहितकाे पहिराे आएर दुईतर्फी रूपमै यातायात बन्द भएकाे हाे ।

गोरखा दरबारबाट फूलपाती हनुमानढोका पठाइयो

काठमाडौं । गोरखा दरबारस्थित दसैँघरबाट काठमाडौंको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ। विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहान ७ बजेर १० मिनेटको शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौं पठाएका हुन्। फूलपातीको डोली बा२झ ३८८२ नंको सरकारी गाडीमा राखेर हनुमानढोका दरबार पठाइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिए। गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबार पु¥याइएपछि आज साँझ हर्षबढाइँका साथ हनुमानढोका दरबारमा फूलपाती भित्र्याउने प्रचलन रहँदै आएको छ। कार्यालयका कर्मचारीसमेत रहनुभएका चण्डीथानका पुजारी कुलबहादुर थापाको नेतृत्वमा हुनमानढोका दरबारमा फूलपाती पठाइएको कार्यालय प्रमुख भुसालले जानकारी दिए। तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँको हनुमानढोका दरबारबाट राजकाज सुरु गरेदेखि बर्सेनि बडादसैँको सातौँ दिन गोरखा दरबारको दसैं घरबाट फूलपातीसहितको डोली काठमाडौंको हनुमानढोका दरबार पु¥याएर भित्र्याउने प्रचलन रहँदै आएको छ। गोरखा दरबारको दसैँघरबाट सतिपिपलस्थित फूलपाती चौतारासम्म फूलपातीको डोली दरबारका सुसारेहरूले बोकेर ल्याई त्यहाँबाट हनुमानढोका दरबार पठाउने प्रचलन रहँदै आएको छ। विधिपूर्वक दसैँघरबाट सतिपिपल चौतारासम्म ल्याएर गोरखाबाट फूलपातीको बिदाइ गरिएको उनले बताए। गोरखा दरबारको दसैँघरमा पनि आजै साँझ फूलपाती भित्र्याइन्छ । गोरखा दरबार परिसरबाट गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगर, प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यलगायतले फूलपातीको बिदाइ गरेका थिए। त्यस्तै सतिपिपल चौताराबाट गण्डकी प्रदेशका ऊर्जा जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्य, गोरखा नगरपालिकाका निवर्तमान नगरप्रमुख राजनराज पन्तलगायतले हनुमानढोका दरबारका लागि फूलपाती बिदाइ गरेका हुन्।

चार्ड पर्वको अवसरमा हुने कालोबजारी नियन्त्रण गर्न जन उपभोक्ता मंचको आग्रह

काठमाडौं । जन उभोक्ता मन्च नेपालले चार्ड पर्वहरूको अवसर पारेर हुने कालो बजारी, ठगी देखि लिएर यातायातमा मनपरी भाडा असुली, खाध्य वस्तुमा मिसावट लगायतका कार्यहरु गर्न नदिन संबन्धित पक्षलाई आग्रह गरेको छ । साथै, मंचले एक विज्ञप्ति जारी गर्दै आम उपभोक्ताहरुलाई पनि चनाखो र सचेत हुन आग्रह गर्नुकासाथै नेपालीहरूको महान चार्ड (२०७९)वडा दशै, दिपावली, छट लोसार , नेपाल संवत लगायतका पर्वहरुको शुभकामना व्यक्त गरेको छ ।

त्रिभुवन विमानस्थलको पाँच किलोमिटरभित्र ड्रोन उडाए कारबाही गरिने

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पाँच किलोमिटर क्षेत्रभित्र ड्रोन उडाउनेलाई कारबाही गरिने जनाएको छ । विमानस्थलको पाँच किलोमिटर क्षेत्रभित्र ड्रोन उडाउने कार्यले विमानको उडान सुरक्षामा गम्भीर असर पर्ने भन्दै उक्त कार्य नगर्न÷नगराउन प्राधिकरणले आग्रह गरेको छ । नेपाल नागरिक उड्डययन प्राधिकरणले एक सूचना जारी गर्दै त्रिभुवन विमानस्थलको पाँच किलोमिटर क्षेत्रभित्र ड्रोन नउडाउन एक सूचना प्रकाशित गरी जानकारी गराएको र उक्त सूचनाको अटेर गरेमा कानूनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ । ड्रोन उडानसम्बन्धी नियम २०२१ ले विमानस्थलको आसपास ड्रोन उडाउन बन्देज गरे पनि पछिल्लो केही समययता उक्त नियमलाई अटेर गरी ड्रोन उडाउने कार्य भइरहेको पाइएकाले ड्रोन उडाउन बन्द गरिएको प्राधिकरणको भनाइ छ ।

खोटाङमा गुडिरहेको बसमा आगलागी

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित कदुवानजिकैको घुम्तीमा गुडिरहेको बसमा आगलागी भएको छ। काठमाडौंबाट यात्रु लिएर खोटाङतर्फ आइरहेको बा३ख ८९८१ नंको यात्रुवाहक बसमा आज साँझ एक्कासी आगलागी भएको हो। बसमा आगलागी हुँदा कुनै मानवीय क्षति भने नभएको घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गुडिरहेको बसमा एक्कासी आगलागी हुँदा बससहित बसमा भएका सामान जलेर नष्ट भएको छ। बसमा आगलागी भएपछि त्यसमा सवार यात्रु अलपत्र परेका छन्। बसमा ३२ यात्रु सवार थिए। उनीहरूलाई गन्तव्यसम्म पुर्‍याउन दिक्तेलबाट अर्को बस मार्फत गन्तब्यमा पुर्याइएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङ्माङले जानकारी दिए। गुड्दै गरेको बसको इन्जिनबाट आगो निस्केको यात्रुले बताएका छन् । आगलागी भएको बस पुरानो भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक रामबालक रायले जानकारी दिए।