जिम्मेवारी ‘गर वा मर’को अवस्थामा पूरा गर्नुपर्छ : सीके राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले जनतासँग गरिएका प्रतिबद्धता इमानदारिताका साथ पूरा गर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा उनले जनताको साथका कारण नै आफ्नो पार्टी राष्ट्रिय पार्टी बन्न सफल भएको उल्लेख गरे । निर्वाचनमा पाएको साथ र समर्थन काम गर्दा अझै बढी आवश्यक पर्ने उनले बताए ।

राउतले आफूहरूले काम गर्न नसके देश र जनता निराशामा जाने भन्दै पाएको जिम्मेवारी ‘गर वा मर’को अवस्थामा पूरा गर्नुपर्ने धारणा राखे ।

उनले पुराना दललाई छाडेर नयाँ दललाई विश्वास गरेर सप्तरीका जनताले बहुआयामिक सन्देश दिएको तर्क गरे । उनी योपटक सप्तरी क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

स्याङ्जा–२(२) एमालेका श्रेष्ठको अग्रता

स्याङ्जा । स्याङ्जा क्षेत्र नं २ (२) मा प्रदेशसभा सदस्यमा नेकपा (एमाले)का उम्मेदवार डा.बुद्धिमान श्रेष्ठले अग्रता कायम गरेका छन् । उनी निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका उम्मेदवार महेश भट्टराईभन्दा एक सय ९० मतले अगाडि छन् । एमाले उम्मेदवार श्रेष्ठले दुई हजार एक सय ४६ मत प्राप्त गर्दा काँग्रेसका भट्टराईले दुई हजार तीन सय ३६ मत ल्याएका छन् । अहिलेसम्म कालीगण्डकी गाउँपालिकाको वडा नं १,२ र ३ को मतगणना सम्पन्न भएको छ । यस निर्वाचन क्षेत्रमा कालीगण्डकी गाउँपालिका, चापाकोट नगरपालिका र गल्याङ नगरपालिकाको १, २, ३, ४, ५, ८, ९, १० र ११ पर्दछन् ।

तीन महिनाभित्र जन्मसिद्ध नागरिकता नदिए आन्दोलन हुन्छ : महासेठ

जनकपुरधाम । नेकपा एमालेका सचिव तथा धनुषा निर्वाचन क्षेत्र नम्बर ४ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रघुवीर महासेठले तीन महिनाभित्र जन्मसिद्ध आधारमा नागरिकता दिन सुरु नभए आन्दोलन गर्ने बताएका छन् । “निर्वाचनको बेला मेरो बारेमा विभिन्न भ्रम फैलाइयो । तर जनताले भम्र फैलाउनलाई पत्याएनन्,” शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले भने, “तीन महिनाभित्र जन्मसिद्धको आधारमा नागरिकता दिन सुरु भएन भने नेकपा एमालेले दशभर आन्दोलन गर्छ ।” एमाले अध्यक्ष केपी ओलीले पनि नागरिकता विधेयक ल्याउँदा भम्र फैलाएको आरोप समेत लगाए ।

उपमहासचिव पुन उपचारका लागि आज चीन जाने

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन फलोअप उपचारका लागि आज चीन जाने भएका छन् । नेता पुनलाई पुरानै रोग वंशाणुतग रूपमा रहेको जण्डिसले फेरि सताएपछि नेता पुन यस अघि उपचार गरिएको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पताल जान लागेका हुन् । यस अघि २०७८ मंसिरमा पनि उनको सोही अस्पतालमा एक महिना उपचार पछि निको भएका थिए । चीन–नेपाल नियमित उडान नभएकाले पूर्व अर्थ तथा ऊर्जामन्त्रीसमेत रहेका उपमहासचिव पुन आज साँझ ७ बजे इमिरेट्सको उडानबाट दुवई, ग्वान्झाओ हुँदै सेनजेन जान लागेको उनको सचिवालयले जनाएको छ । गत वर्ष चीनमा उपचार गरेर फर्कदा जण्डिसको मात्रा (बिलरुविन) ९ रहेकोमा अहिले बढेर ३५ पुगेको छ । नेता पुनसँगै उपचारका लागि पूर्व सभामुख तथा पत्नी ओनसरी घर्ती र छोरी शीला आज चीनको सेनजेन जान लागेका हुन् । काठमाडौंमा रगत, ब्लड प्रेसर, मुटुको चाल, बिलरुविनको मात्रा जस्ता परिक्षण गरेर थर्ड पिपुल्स अस्पतालका चिकित्सकसँग नियमित सम्पर्कमा रहेका पुनलाई चिकित्सकले फलोअपमा अस्पताल नै आउन सल्लाह दिएपछि आज चीन जान लागेका हुन् । चीन जानु अघि उपमहासचिव पुनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवासँगसमेत परामर्श गरिसकेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि अफ्नो निर्वाचन क्षेत्र रोल्पाको चुनावी कार्यक्रममा उनी घरदैलोमा निस्कन सकेनन् । मंसिर ४ गते मतदान गरेलगत्तै उनी काठमाडौंमा आएर आराम गरिरहेका छन् । माओवादी केन्द्रका तर्फबाट सत्तारुढ गठबन्धनमा सिट बाँटफँड कार्यदलमा रहेर काम गरेका नेता पुनको कार्यव्यवस्थताका कारण पुरानै रोग जण्डिस बल्झिएको थियो । नेता पुन स्थानीय तह र संघ तथा प्रदेशको निर्वाचनमा माओवादीका तर्फबाट सिट बाँटफाँड कार्यदलमा सहभागी थिए । त्यतिबेला हरेक दिन मध्यराति सम्म बैठक हुने र खाना तथा आरामको समय नमिलेका कारण उनलाई पुरानै रोगको असर देखिएको उनको सचिवालयको भनाई छ । अस्वस्थाताका बाबजुत नेता पुन सिट बाँटफाँड कार्यदलमा सक्रिय भएर लागेका थिए । वंशाणुतग रूपमा रहेको जण्डिस दोहोरिएपछि नेता पुन गत वर्ष असोज १३ गते बैंककतर्फ लागेका थिए। बैंककमा उपचार सफल नभएपछि चीनको सेनजेन लगिएको थियो ।

धनराजसँगको घट्यो पद्माको मतान्तर

काठमाडौं । प्रतिनिधिसभा सदस्यतर्फ स्याङ्जा निर्वाचन क्षेत्र नम्बर–२ मा मतगणना जारी छ । नेपाली कांग्रेसका उमेदवार धनराज गुरुङको अग्रता कायमै छ । पछिल्लो मतपरिणामानुसार कांग्रेसका उपसभापति समेत रहेका गुरुङले १२ हजार ९५३ मत पाएका छन् । दोस्रो स्थानमा रहेकी नेकपा (एमाले)की उमेदवार पद्माकुमार अर्यालले १० हजार ६२७ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ । उनीहरूबीचको मतान्तर दुई हजार ३२६ छ । यसअघि, गुरुङ दुई हजार ४१८ मतान्तरले अगाडि थिए । यस्तै, तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार टिकराज गुरुङले पाँच हजार ६७६ मत पाएका छन् ।

दोलखामा माओवादी केन्द्रका उम्मेदवार कार्की दोब्बर मतले अगाडि

दोलखा। दोलखामा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका नेकपा माओवादीका उम्मेदवार गङ्गा कार्कीले दोब्बर मतको अग्रता लिएका छन्।हालसम्म ६ हजार ३१ मतगणना हुँदा माओवादी केन्द्रका उम्मेदवार गङ्गा कार्कीले तीन हजार ६१८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बालकृष्ण शिवाकोटीले एक हजार ८०० मत प्राप्त गरेका छन्। मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार दोलखाको प्रदेशसभा (१)मा सत्ता गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका कुन्दनराज काफ्ले तथा प्रदेशसभा (२) मा एमालेका भरत केसीले अग्रता लिएका छन्। दोलखाको १० मतदान केन्द्रमा बिहीबार पुनः मतदान भएको थियो।  

देशभर कोरोना १५६ सक्रिय संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर पाँचजनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । ९०३ वटा स्वाब नमुनाको परीक्षण गर्दा पाँचजनामा संक्रमण देखिएको हो । यो अवधिमा देशभर २४ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १५६ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ ।

संसदीय दलको नेताबारे गगनसँग कुरा भएको छ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संसदीय दलको नेता चयनमा संख्याको कुरा नै निर्णायक हुने भन्दै अहिलेको अवस्थामा सभापति शेरबहादुर देउवा नै बलियो रहेको बताएका छन्। ‘संसदीय दलका नम्बर गेम मुख्य कुरा हुन्छ’, बिहीबार विराटनगरस्थित कोइराला निवासमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘अहिले नम्बर गेम हेर्दा शेरबहादुरजीसँगै बढी देखिन्छ। तर, यसबारे कुरा हुन पाएको छैन। म उहाँसँग र अन्य नेताहरूसँग छलफल गर्नेछु।’ महामन्त्री गगन थापालाई समर्थन गर्नुहुन्छ कि हुन्न भन्ने प्रश्नमा शेखरले त्यो विषयमा प्रवेश गर्ने बेला नभइसकेको बताए। ‘गगनजीसँग फोनमा अलिअलि कुरा भएको छ’, उनले भने, ‘म काठमाडौं गएपछि सभापति, वरिष्ठ नेता सबैसित छलफल हुन्छ।’ तपाईं आफैं प्रधानमन्त्रीमा दाबी गर्नुहुन्छ भन्ने सञ्चारकर्मीको अर्को जिज्ञासामा उनले ‘दाबी गर्ने भनेर मात्रै नहुने’ दोहोर्‍याउँदै छलफल गर्ने बताए। चुनावअघिको गठबन्धन अब पनि कायम हुने बताउँदै उनले गठबन्धनमा अन्य दल थप्ने गृहकार्य सुरू भएको जानकारी दिए। मंसिर ४ मा भएको प्रतिनिधि सभा चुनावमा एमालेका लालबाबु पण्डितलाई हराएर कोइराला मोरङ६ बाट निर्वाचित भएका हुन्।

भरतपुर महानगरले व्यवसायीक मत्स्य फार्कको विद्युत महशुलमा ५०% अनुदान दिने

चितवन । भरतपुर महागरपालिकाले व्यपसायीक मत्स्य कृषकको लागि विद्युत महशुलमा ५० % अनुदान दिने भएको छ । महानगरले आफ्नीनो नीति तथा कार्यक्रममा यहाँको कृषि उत्पादनलाई वृद्धि गर्ने लक्ष्य लिएको छ । भरतपुर महानगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को स्वीकृत पशु सेवा विकास कार्यक्रम अन्तरगत व्यवसायीक मत्स्य फर्मको विद्युत महशुलमा ५०% अनुदान कार्यक्रम समावेश गरिएको थियो । यो कार्यक्रमले मत्स्य कृषकलाई प्रोत्सहान गर्न सहयोग पुराउने महानगरले अपेक्षा लिएको छ । आवेदन दिनको लागि भरतपुर महानगरपालिकाको वेवसाईट वा कृषि महाशाखामा सम्पर्क गर्नुपर्ने छ । महानगरपालिकाले यस अघि दूध उत्पादनमा अनुदान लगायतको विभिन्न अनुदानका कार्यक्रहरु सञ्चालन गर्दै आईरहेको छ ।

अब प्रधानमन्त्री बन्ने तयारीमा लाग्छु : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले प्रधानमन्त्री बन्नका लागि संसदीय दलको निर्वाचनको तयारीमा लाग्ने बताएका छन्। महिला हिंसा विरुद्धको १६ दिने अभियानका सन्दर्भमा महिला सुरक्षा दबाब समूहले बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा आफू संसदीय दलको निर्वाचनको तयारीमा रहेको बताएका हुन्। उनले भने, ‘शुक्रबारसम्म मतदातालाई धन्यवाद दिने र त्यसपछि अर्को चुनाव अर्थात् पार्टीभित्रको संसदीय दलको नेताका लागि तयारीमा जुट्छु।’ त्यस्तै, महामन्त्री थापाले पाँच वर्षपछि हुने निर्वाचनमा ३३ प्रतिशत महिला सहभागीताका लागि अहिलेदेखि नै आवश्यक कानुन निर्माणको थालनी गर्नुपर्ने पनि बताए । कहिलेकाही मन्त्रिपरिषद्मा महिला सहभागीता शून्य हुने अवस्थालाई पनि अब अन्त्य गर्नुपर्ने उनले बताए। त्यस्तै थापाले महिला हिंसालाई जरैदेखि हटाउनका लागि दलहरु मिलेर काम गर्नुपर्ने र आवश्यक नीतिनियम तर्जुमा गर्नुपर्ने धारणा राखे।

नेकपा एसलाई मत दिएर राष्ट्रिय पार्टी बनाउन सहयोग गरौं : शर्मा

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का नेता हिमाल शर्माले एकीकृत समाजवादी पार्टीलाई प्रतिनिधि सभाको समानुपातिकतर्फ मत दिएर राष्ट्रिय पार्टी बनाउन सहयोग गर्नुपर्ने बताएका छन्। बुधबार सामाजिक सञ्जालमा शर्माले आफै सकेसम्म ३ प्रतिशत कटाएर राष्ट्रिय पार्टी बनोस्, यदि त्यसो हुन नसकेमा राष्ट्रिय पार्टी बनाउन सहयोग गर्नुपर्ने उल्लेख गरेका छन्। शर्माले लेखेका छन्,‘पहिलो कुरा अबको बाँकी गणनामा आफै ३ प्रतिशत पुगोस् कामना गरौँ, थोरैले अपुग हुन गएमा अब चुनाव हुन बाँकी रहेका मतदान केन्द्रमा प्रतिनिधिसभाको समानुपातिक तर्फ कलम चिन्हमा मतदान गरेर नेकपा (एकीकृत समाजवादी) लाई राष्ट्रिय पार्टी निर्माण हुनमा सहयोग गरौँ। !’

गठबन्धन सरकारले कालिगण्डकी वारितर्फ सालिग्राम करिडोर बनाउँदै छ : प्रकाश मल्ल

गल्याङ् । नेपाली कांग्रेसका नेता तथा स्याङ्जा क्षेत्र २(ख)का प्रदेशसभा सांसद प्रकाश मल्लले गण्डकी प्रदेशमा गठबन्धन सरकार बनिसकेपछि स्याङ्जा जिल्लाको तल्लो बेल्टको विकासले महत्व पाएको बताएका छन् । कालिगण्डकी करिडोर पाल्पा जिल्ला तर्फबाट बनिरहेको सन्र्दभमा कालिगण्डकी वारिको (तनहुँ र स्याङ्जा)तर्फको सडकलाई एमाले नेतृत्वको सरकारले वेवास्ता गरेको उनको भनाई थियो । उनले भने –‘एमाले नेतृत्वको सरकार ढलिसकेपछि हामीले गठबन्धनको सरकार बनायौं । त्यसपछि वारितर्फको सडकलाई सालिग्राम करिडोरको रुपमा विकास गर्न डिपिआर गरेर बजेट छुट्टयाएका छौं ।’ उनले गठबन्धनको साझा उम्मेदवारको रुपमा नेपाली कांग्रेसबाट क्षेत्र २ का उम्मेदवार रहेका धनराज गुरुङले सालिग्राम करिडोरलाई रणनितिक महत्वको सडकको रुपमा विकास गर्ने बताए । सालिग्राम करिडोर नवलपरासी , तनहुँ स्याङ्जाकाका कलिगण्डकी बेसीका जनताको भौतिक विकासको आधार बन्नेछ । एमाले नेता पद्मा अर्याललाई स्याङ्जाली जनताले मत दिएर सांसद मन्त्री बनाएको भएपनि स्याङ्जाको विकासमा ध्यान नदिएको मल्लले आरोप लगाए । स्याङ्जा जिल्लाका दुई ग्रामीण सडक गल्याङ चापकोट र वालिङदेखि पर्वत जाने सडकलाई पद्मा अर्यालले अलपत्र पारेको उनले बताए । एमालेले स्याङ्जाको विकासलाई पछाडी परेको भन्दै गठबन्धन सरकार आइसकेपछी सडकहरु पिच हुन थालेको उनको भनाई थियो । साथै, उनले उम्मेदवार कांग्रेसको भएपनि गठबन्धन दल माओवादी केन्द्र र नेकपा समाजवादीसँगको सल्लाहमै स्याङ्जाको विकास निर्माणमा अघि बढ्ने विश्वास व्यक्त गरे । उनले एकमत भएर गठबन्धन दलका उम्मेदवारलाई मतदान गर्न आग्रह समेत गरे ।

गण्डकीका भौतिक पूर्वाधारमन्त्री पनि बर्खास्त

पोखरा । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुमार खड्का बर्खास्त भएका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उनलाई बर्खास्त गरेका हुन् । खड्काले समाल्दै आएको मन्त्रालय मुख्यमन्त्री पोखरेल आफैंले सम्हाल्ने गरि हटाएका हुन् । खड्काले गठबन्धनका कास्की (२ ख का उम्मेदवार विन्दुकुमार थापालाई असहयोग गरेको भन्दै मुख्यमन्त्री पोखरेलले बर्खास्त गरेको बताइएको छ । खड्काले पछिल्लो समय गठबन्धनका उम्मेदवारविरुद्ध माग्दै हिँडेको आरोप छ । खड्का ०७४ सालमा निर्वाचनमा समानपातिकबाट गण्डकी प्रदेश सभा सदस्य पदमा निर्वाचित भएको थिए । बागी फिर्ता लिएपनि एमालेसँग मिलेर भोट काट्ने योजना बनाएपछि उनलाई बर्खास्त गरिएको एक मन्त्रीले बताए । मन्त्री खड्काले भने आफूलाई बर्खास्त भएको खबर प्राप्त नभएको सुनाए ।

डेङ्गु सङ्क्रमणका कारण ६ जनाको मृत्यु

चितवन । जिल्लामा साउन यता उपचारका लागि आएका ६ जनाको डेङ्गु रोगको सङ्क्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला र जिल्लाबाहिरका रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार हालसम्म १० हजार नौ सय ७४ जनाको परीक्षण गरिएकामा दुई हजार नौ सय ४९ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । सङ्क्रमितमध्ये २० हजार ५० जना चितवनका हुन् भने अन्य बाहिरी जिल्लाका रहेका छन् । ठेगाना नखुलेका दुई सय ९१ र ठेगाना खुलेका ६ सय आठजना रहेको कार्यालयले जनाएको छ । जिल्लामा सबैभन्दा बढी डेङ्गु रोगको सङ्क्रमण भरतपुर महानगरपालिकामा देखिएको छ । जहाँ एक हजार चार सय ५० जनामा डेङ्गु रोग देखिएको केसीले बताए। उनका अनुसार खैरहनी नगरपालिकामा एक सय ६४, माडी नगरपालिकामा ३५, रत्ननगर नगरपालिकामा दुई सय ४३ जनामा डेङ्गु रोग देखिएको थियो । यस्तै राप्ती नगरपालिकामा ९६, कालिका नगरपालिकामा ४८ र इच्छाकामना गाउँपलिकामा १४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । कार्यालयका अनुसार जिल्लामा भेटिएका सङ्क्रमितमध्ये एक हजार एक सय ३६ पुरुष र नौ सय १४ जना महिलामा डेङ्गु रोगको सङ्क्रमण देखिएको उनले बताए।

बसुन्धारामा घरधनीलाई बन्धक बनाएर लुटपाट

काठमाडौं । काठमाडौँको बसुन्धारामा गए राति लुटपाट भएको छ । बसुन्धारास्थित नन्द मल्लको घरमा गए राति ६–७ जनाको समूहमा आएका लुटेराले नगद र सुन लुटेर भागेका हुन् । लुटेराले घरधनी नन्द सहित ५ जना महिलालाई बन्धक बनाएर लुटपाट गरेका हुन् । लुटेरा समूहले ह्यामर प्रहार गरेर घरधनीलाई घाइते बनाएका छन् । उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । राति ७ बजेतिर लुटेरा समूह घरमा प्रवेश गरेर ९ बजे निस्केका थिए । ४५ लाख भन्दा बढी नगद र ठुलो परिमाणमा सुन लुटिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालयका र प्रहरी वृत्त महाराजगञ्जको टिमले अनुसन्धान गरिरहेको छ । मल्लको घर नजिकै बंगलादेश राजदूतावास छ ।  

ओनसरीलाई भोट माग्दै प्रकाशमानले भने : सक्षम महिलालाई अगाडि बढाउनुस्

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं क्षेत्र नम्बर २ मा स्थापित महिला उम्मेदवारलाई सबैले साथ दिनुपर्ने बताएका छन् । काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ बाट लोकतान्त्रिक–वाम गठबन्धनबाट उम्मेदवार माओवादी नेता तथा पूर्वसभामुख ओनसरी घर्तीको पक्षमा मत माग्न साँखु पुगेका सिंहले सक्षम महिलालाई अगाडि बढाउन मतदातालाई आग्रह गरे । साँखुमा सोमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पूर्व महामन्त्री सिंहले काठमाडौं २ मा मतदाताले सोचेभन्दा बढी विकास गर्नसक्ने क्षमताको उम्मेदवार ओनसरी घर्ती भएको बताए । ‘पूर्वसभामुख यहाँबाट प्रतिनिधिसभाको लागि उम्मेदवार हुनुहुन्छ । उहाँलाई मैले संविधानसभाकै क्रममा सदस्यका नाताले नजिकबाट चिन्ने मौका पाएको हो । सभामुख हुँदाखेरि संसदमा उहाँले खेलेको सकरात्मक भूमिका, उहाँको क्षमता देखेको कारणले समर्थन गर्न आग्रह गर्दछु ।’ उनले थपे, ‘१६५ वटै निर्वाचन क्षेत्रबाट निर्वाचित हुने सांसद नै हुन्छन् । तर सबैको मन्त्री, उपप्रधानमन्त्री, सभामुख र उपसभामुख हुने हैसियत हुँदैन, उनले भने, ‘उपसभामुखबाट सभामुख भइसकेको संसद्‍मा उहाँको क्षमता राम्रोसँग देखिएकाले गर्दाखेरि भरोसा र विश्वास छ ।’ त्यस्तै, नेता सिंहले संविधान कार्यान्वयन गर्नका लागि लोकतान्त्रिक–वाम गठबन्धन बनेको बताए । उनले संविधान जारी भएपछिको पहिलो प्रतिनिधिसभाले संविधान कार्यान्वयनका लागि आवश्यक पर्ने कानुन निर्माण गर्न नसकेको, स्थानीय तह र प्रदेशहरूलाई संविधानमा सुनिश्चित अधिकार प्राप्त नभएको बताए ।