आयात प्रतिस्थापन गर्न मुलुकभित्र उत्पादन वृद्धि गर्नुको विकल्प छैन : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आयात प्रतिस्थापनको लागि मुलुकभित्र उत्पादन वृद्धि गर्नुको विकल्प नभएको बताउनुभएको छ । मंगलबार काठमाडौंमा भएको निक्षेप तथा कर्जा सुरक्षण कोषको ४९ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताएका हुन् ।

शर्माले सरकारको मुख्य उद्देश्य आयात प्रतिस्थापन र व्यापार घाटासँग भएको भन्दै कृषि क्षेत्रको उत्पादन वृद्धि र कृषिबाट उत्पादित वस्तुलाई आन्तरिक बजार मात्रै नभएर अन्तर्राष्ट्रिय बजारमा समेत निर्यात गर्न सक्नुपर्ने बताए ।

मन्त्री शर्माले नेपाली उत्पादनमा वृद्धी गरी विदेशमा निर्यात बढाउनको लागि बैंक तथा वित्तीय संस्थाको लगानी उत्पादन उद्योगमा बढाउन आवश्यक भएको बताए । उनले उत्पादनमूलक उद्योगमा दिने एक करोडसम्मको कर्जाको सीमा बढाउनुपर्ने धारणा राखे ।

मन्त्री शर्माले औद्योगिक क्षेत्रमा लगानीको अभावका कारण धरासायी हुने अवस्था आएको भन्दै उद्योगलाई सरकारले संरक्षण गर्ने बताए । उनले लगानी अभावका धरासायी हुने अवस्थामा पुगेका औद्योगिक क्षेत्रलाई सरकारले बचाउन नसके देशको आर्थिक विकास र समृद्धि सम्भव नभएको दाबी गरे ।

अर्थमन्त्री शर्माले उत्पादनशील क्षेत्रको कर्जाको प्रिमियम संशोधन गर्नुपर्ने भन्दै उत्पादनशील क्षेत्रको कर्जाको प्रिमियम २ प्रतिशत बढी भएकाले कम गर्न राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई ध्यानाकर्षण गराए ।

“अब उत्पादनशील क्षेत्रमा २ प्रतिशत प्रिमियम बढी भयो, यसले धेरै उद्योग समस्यामा छन्, यसलाई संसोधन गर्नुपर्छ । प्रारम्भिक १ करोड भनिएको छ, त्यसले पुग्दैन त्यो नीतिलाई पनि संशोधन गर्नुपर्नेछ,” शर्माले भने, “औधोगिक क्षेत्रहरु लगानीको अभावका धरासायी हुने अवस्था छ त्यसबाट सरकारले बचाउनु पर्छ । त्यसलाई बचाउन सकेनौँ भने देशको आर्थिक विकास र समृद्धि सम्भव छैन । त्यसतर्फ राष्ट्र बैंकका गभर्नर साबको पनि ध्यानाकर्षण गराउन चाहन्छु ।”

मन्त्री शर्माले उत्पादनको क्षेत्रमा लगानी वृद्धि गरेर मात्रै समग्र राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन सकिने भन्दै चालु आर्थिक वर्षमा ३० प्रतिशत आयात कम गर्ने सरकारको उदेश्य रहेको बताए । उनले तरलता चाप समस्या समाधानको लागि राष्ट्र बैंकको नेतृत्वमा अर्थ मन्त्रालय र बैंक तथा वित्तिय संस्थाहरुसँग बृहत् छलफल गरेर समाधान खोज्ने बताए ।

“उत्पादनको क्षेत्रमा लगानी वृद्धि गरेर मात्रै समग्र राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन सक्छौँ र यो चालु आर्थिक वर्षको मुल उद्देश्य त्यही हो । ३० प्रतिशतसम्म आयात कम गर्ने लक्ष्य लिएका छौँ,” शर्माले भने, “अहिले बजारमा भएको तरलता अभावको समस्या समाधानको लागि राष्ट्र बैंकको नेतृत्वमा अर्थ मन्त्रालय र बैंक तथा वित्तिय संस्थाहरुसँग वृहत छलफल गरेर समाधान गर्नेछ ।”

अर्थमन्त्री शर्माले साना किसान र ग्रामीण अर्थतन्त्रको विकास गर्न नसके मुलुक आर्थिक समृद्धिको बाटोमा जान नसक्ने बताए । उनले मुलुकमा आर्थिक समृद्धि ल्याउनको लागि ग्रामीण अर्थतन्त्रमा जोड दिन आवश्यक रहेको बताए ।

मन्त्री शर्माले सरकारले अब ग्रामीण अर्थतन्त्रलाई जोड दिएर ग्रामीण क्षेत्रमा भएको स्रोत र साधनको प्रयोग गरी उत्पादन वृद्धि गर्ने बताए । उनले साना किसान र ग्रामीण अर्थतन्त्र सबल बनाउनको लागि अहिले बैंक तथा वित्तीय संस्थाहरुको कर्जा नीतिहरु परिर्वतन गर्न आवश्यक रहेको बताए ।

“कृषि कर्जा लिएर जग्गामा लगानी गर्ने अवस्थाको अन्त्य हुनुपर्छ । यसका लागि बैंकको नीति बदल्नुपर्छ । देशको आवश्यकताका आधारमा नीतिहरु विकास र बिस्तार गर्नुपर्छ,” शर्माले भने, “सर्वसाधारण जनताको विश्वास जित्नेगरी वित्तीय क्षेत्रले काम गर्नुपर्छ । परियोजनालाई कसरी सम्पत्ति मान्ने छुट्टै धितो चाहिने अवस्था छ त्यसको लागि कस्तो नीति आवश्यक छ भन्ने विषय सोच्नुपर्छ ।”

मन्त्री शर्माले सरकारले लघुवित्त लगानी कोष बनाउने तयारी गरेको बताए । उनले सरकारी संस्थानहरुमा भएको कोषको समेत लगानी रहने गरी मन्त्रालयले लघुवित्त लगानी कोष नियमावली र कार्यविधि बनाइरहेको जानकारी दिए ।

पोखरामा अवैध संरचना हटाउन मेयर आचार्यको निर्देशन

काठमाडौं । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले अवैध संरचना हटाउने बताएका छन । फेवाताल किनाराका अवैध संरचनाको निरीक्षण गर्न पुग्नु भएका आचार्यले नगर प्रहरीलाई अवैध संरचना हटाउन निर्देशन दिएका हुन । फेवातालदेखि ६५ मिटरभित्र कुनै पनि नयाँ संरचना बनाउन नपाईने नियम रहेको छ । पछिल्लो समय संरचना बन्न नरोकिएको सूचना पाएपछि मेयर आचार्यले निरीक्षण गरे । महानगरको निर्देशनलाई अटेर गरी संरचना निर्माण गरे भत्काउन लाग्ने खर्च समेत सम्बन्धित व्यक्तिबाट अशुलउपर गर्ने पनि उनले बताए। महानगरले अवैध संरचना निर्माणमा प्रयोग भएको रेडी मिक्सचर समेत नियन्त्रणमा लिएको छ ।

डा केसीको स्वास्थ्य अवस्था नाजुक, अन्यत्र रिफर गर्न सेती प्रादेशिक अस्पतालको सुझाव

धनगढी । धनगढीमा ८ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि सेती प्रादेशिक अस्पताल धनगढीले अन्यत्र स्थानान्तरण (रिफर) गर्न सुझाव दिएको छ । अस्पतालले सोमबार एक सूचना जारी गर्दै उनको उपचारको लागि बहुविशेषज्ञ भएको विशिष्टिकृत अस्पतालमा स्थानान्तरण गर्न सुझाव दिएको हो । उनी गत भदौ २७ गतेदेखि धनगढीमा अनशनरत छन् । तर उनले राखेको मागबारे सरकारले अझैसम्म सुनुवाइ गरेको छैन । आइतबार डा.केसी र सरकारी पक्षबीच पहिलो चरणको वार्ता भएको थियो । तर निष्कर्षविहीन भइ टुंगिएको थियो ।

संविधान दिवसको अवसरमा नेपाल टेलिकमको संविधान दिवस अफर

काठमाडौं । संविधान दिवस २०७९ को अवसरमा नेपाल टेलिकमले संविधान दिवस अफर उपलब्ध गराइरहेको छ । कम्पनीका ग्राहकहरुका लागि टेलिकमले सहुलियत दरका डाटा र भ्वाइससहितको प्याक उपलब्ध गराएको जनाएको हो । अफर अन्तर्गत ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक ९८ रुपैयाँमा खरिद गर्न सकिने जनाइएको छ । यसैगरी २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबिपिएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक ४९ मा उपलब्ध हुने पनि कम्पनीले जनाएको छ । यस्तै, १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा प्याक जम्मा २ सय ९४ मा खरिद गर्न सकिने पनि टेलिकमले जनाएको छ । यो अफर असोज २ गतेदेखि असोज ४ गतेसम्म उपलब्ध हुने कम्पनीले जनाएको छ ।

बाँकेको विकासमा मन्त्री ‘अथक’ को सार्थक पहल

काठमाडौं । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री एंव बाँके क्षेत्र न.१ का संघीय सांसद महेश्वर गहतराज ‘अथक’ले बाँके जिल्लाको समग्र विकासमा सार्थक पहल गरेका छन । माओवादी केन्द्रका युवा नेता अथकले निर्वाचमा जित हासिल गरेपछी त्यहाँको शिक्षा,स्वास्थ्य,यातयात र समाजिक क्षेत्रमा विकासको मुल फुटेको छ । मन्त्री अथकले बाँके जिल्लामा शिक्षा मन्त्रालय अन्तरगत राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम मार्फत उनको निर्वाचन क्षेत्रका विभिन्न विद्यालयमा भवन तथा आइसिटि ल्याबको योजना पारेका छन्। मन्त्री अथकले निर्वाचन क्षेत्र भित्र पर्ने कोहलपुर नगरपालिका राप्ती सोनारी र नरैनापुर गाउंपालिकाका १२ वटा सरकारी बिद्यालयहरुमा पक्की भवन र ८ वटा बिद्यालयहरुमा आइसिटी ल्याबको योजना पारेका हुन् । त्यसैगरी मन्त्री अथकको पहलमा राप्ती सोनारी र नरैनापुर गाउपालिकाका सबै वडाहरु बिधुतीकरण भएको छ । राप्ती नदिको वारिपारि तटबन्ध निर्माण भएको छ । ६ घण्टा लाग्ने हुलाकी कच्ची सडकलाई कालोपत्रे गरि ५० मिनेटमा पुग्ने सकिने बनाइएको छ । बन्द भएको सिक्टा सिंचाइ आयोजनालाई तिब्र गतिमा सुचारु गर्नुका साथै आफ्नो निर्वाचन क्षेत्र भित्र रणनीतिक,स्थानीय,कृषि सडकको संजाल विस्तार स्तरउन्नति सहित कालोपत्रे गर्ने काम भएको छ । उनी त्यस क्षेत्रबाट निर्वाचित भएपछि अन्तर प्रदेश सडक र अन्तर जिल्ला जोड्ने सडकहरुको स्तरउन्नति गरीएको छ । एक पालिका एक खेलकुद ग्राम निर्माण गर्ने योजना अघि बढेको छ । त्यसैगरी,एक पालिका एक १५ सैयाको हस्पिटल निर्माण,बाँके जिल्लालाई हिमनदिको पहुँच पुर्याउनका लागि भेरी बबई डराइबर्सनलाई बबई मानखोला डराइबर्सन गरी बहुउपयोग गर्ने र बाँके जनतालाई प्राप्त खानेपानी र सिक्टाको पहुँचबाट टाढा भएको जमिनलाइ सिंचाइ गर्नका आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । उनी खेलकुद मन्त्री भएपछि कोहलपुरमा अन्तर्राष्ट्रिय मापदण्डको राष्ट्रिय महिला कृकेट एकेडेमीको स्थापना गरेका छन् । सरकारी विद्यालयहरुमा टिनका छानाहरु विस्थापन गरेर ५००० हजार विद्यार्थीहरुलाई पक्की भवनमा स्थापित गर्ने कार्य भएको छ । बाँके राष्ट्रिय निकुञ्ज लाई पर्यटन प्रबर्द्धन गर्न आवश्यक प्रक्रिया अघि बढाउनुका साथै गरिब बिपिन्नहरुका खरका छाना बिस्थापित गरेर ३००० घर टिनका छानामा स्थापित गरिएको छ । राप्ती नदि लगायत अन्य स्थानीय खोलाहरुमा मोटरेबल पक्की पुलहरु र झुलङ्गे पुलहरु निर्माण,सुकुम्बासी र घरबिहिन समुदायहरुका लागि २२ वटा पक्की घर निर्माण गरी एकीकृत नमुनाबस्ती हस्तान्तरण गरिएको छ ।

नेपाली रुपैयाँ बलियो बन्दै

काठमाडौं । गत आर्थिक वर्षको अन्तिम महिनासँग तुलना गर्दा चालु आर्थिक वर्षको पहिलो महिना डलरसँग नेपाली रुपैयाँ केही बलियो हुन पुगेको देखिएको छ । २०७९ असार मसान्तको तुलनामा २०७९ साउन मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ०.३ प्रतिशतले अधिमूल्यन भएको हो । यस्तो स्थिति अघिल्लो वर्षको सोही अवधिमा डलरसँग नेपाली रुपैयाँ ०.५ प्रतिशतले अधिमूल्यन भएको थियो । २०७९ साउन मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर १२७ रुपैयाँ १६ पैसा पुगेको छ । २०७९ असार मसान्तमा यस्तो विनिमय दर १२७ रुपैयाँ ५१ पैसा रहेको थियो ।

लालपुर्जा वितरणको काम तत्काल रोक्न राष्ट्रिय भूमि आयोगलाई निर्देशन

काठमाडौं । निर्वाचन आयोगले लालपुर्जा वितरणको काम तत्काल रोक्न राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिएको छ । प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा स्वच्छता र निष्पक्षताका लागि भन्दै आयोगले भूमि आयोग र मातहतका निकायबाट हुने लालपुर्जा वितरणको काम चुनाव नसकिएसम्म बन्द गर्न निर्देशन दिएको हो । आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले बिहीबार निकाल्नु भएको विज्ञप्तिमा जग्गा वितरणसम्बन्धी निवेदन लिने, जग्गा नापजाँच गर्ने र जग्गाको निस्सा तथा लालपुर्जा वितरण गर्नेलगायतका सम्पूर्ण कार्य तत्काल स्थगित गर्न आग्रह गरिएको छ । यस्तै, आयोगले लालपुर्जा वितरणको यथार्थ जानकारी दुई दिनभित्र आयोगलाई दिन राष्ट्रिय भूमि आयोग काठमाडांैलाई निर्देशन दिइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘आसन्न निर्वाचनमा स्वच्छता र निष्पक्षता कायम राख निर्वाचन सम्पन्न नभएसम्मका लागि आफू र आफ्नो मातहतबाट हुने र भइरहेका जग्गा वितरणसम्बन्धी निवेदन लिने, जग्गा नापजाँच गर्ने र जग्गाको निस्सा तथा लालपुर्जा वितरण गर्नेलगायतका सम्पूर्ण कार्यहरु तत्काल स्थगित गरी सोको यथार्थ जानकारी दुई दिनभित्र निर्वाचन आयोगलाई दिन राष्ट्रिय भूमि आयोग, ताहाचल, काठमाडौंलाई निर्देशन दिएको छ ।’ यसैगरी, संघीय सरकार, प्रदेश सरकार तथा पालिकालाई वैदेशिक भ्रमण नगर्न पनि आयोगले निर्देशन दिएको छ ।

तातोपानी र रसुवागढी नाका सञ्चालनमा

काठमाडौं । डेढ महिनादेखि बन्द चीन तर्फका तातोपानी र रसुवागढी नाका सञ्चालनमा आएका छन् । रसुवागढी नाका भएर बिहीबार बिहान सात वटा कन्टेनर नेपाल भित्रिएको छ भने तातोपानी नाकाबाट दुई वटा कन्टेनर नेपाली भूमिमा प्रवेश गरेको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार बिहीबार बिहान नाकाबाट सात वटा कन्टेनर नेपाली भन्सार यार्डमा आएका हुन् । यता तातोपानी नाकाबाट कति कन्टेनर दैनिक नेपाल भित्रिन्छन् भन्ने स्पष्ट जानकारी नआएको भन्सार कार्यालयले जनाएको छ । बिहीबार भित्रिएको कन्टेनरमा एउटामा कच्चा उन र अर्कोमा जलविद्युत् पूर्वाधारका सामग्री रहेको भन्सार कार्यालयले जनाएको छ ।

पहिरोका कारण सिद्धार्थ राजमार्गको पाल्पा खण्ड अवरुद्ध

पाल्पा । निरन्तरको वर्षासँगै पहिरो खसेपछि सिद्धार्थ राजमार्गको पाल्पा खण्डमा ठाउँठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । वर्षासँगै तिनाउ गाउँपालिकास्थित पौठेडाडाँमा ढुंगासहित र रम्भा ३ सेरामा लेदोसहितको पहिरोले आवागमन बन्द भएको प्रहरीले जनाएको छ । पहिरो खसेपछि राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले दिए । सडक डिभिजन पाल्पाको स्काभेटर मगाएर सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । सोही राजमार्गको तिनाउ ५ स्थित हिउँदे खोलामा सडक फेरि भासिएको छ । यसअघि पूर्ण रुपमा सडक भासिएर बनाइएको नयाँ डाइभर्सनन पनि केही भासिएको र निरन्तर पानी परेमा माथिबाट समेत पहिरो खस्ने जोखिम रहेको प्रमुख मल्लले बताए । कमजोर भु भाग रहेको र चुरे क्षेत्रमा धेरै पानी परेका कारण यो सडक भासिने र पहिरो जाने समस्या देखिएको छ । बुधबार बेलुकादेखि निरन्तर पानी परेका कारण अन्य स्थानमा पनि पहिरो खस्ने जोखिम रहेको हुँदा सावधानी अपनाएर अत्यावश्यक काममा मत्रै यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।

मुगुमा माओवादी केन्द्रले सबै निर्वाचन क्षेत्रका उम्मेदवार सिफारिस गर्‍यो

मुगु । आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागी नेकपा (माओवादी केन्द्र) मुगुले सबै निर्वाचन क्षेत्रका उम्मेदवारहरु सिफारिस गरेको छ । सहमति हुन सकेको निर्वाचन क्षेत्रमा एकल र सहमति हुन नसकेको निर्वाचन क्षेत्रमा आकांक्षी उम्मेदवारहरुको नाम केन्द्रमा सिफारिस गरेको छ । सत्तारुढ दलहरु बीच चुनावी गठवन्धन भएमा प्रदेश सभा निर्वाचन क्षेत्र (ख)माओवादी केन्द्रले पाउनु पर्ने दाबी सहित जिल्लाका सिनियर नेताहरुले प्रदेशसभा (ख) मा उम्मेदवारी दाबी गरेका छन् । माओवादी केन्द्र मुगुले पार्टी केन्द्रीय सदस्य मंगल बहादुर शाही (प्रतिक), कर्णाली प्रदेश समिति सह सचीव बिर्ख बहादुर थापा (मानव प्रकाश) र मुगु जिल्ला संयोजक सुकबिर बुढा (सुर्य)लाई प्रदेश सभा निर्वाचन क्षेत्र (ख) को प्रत्यक्ष उम्मेदवारका लागी सिफारिस गरेको छ । एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको मुगुमा प्रतिनिधि सभा र प्रदेश सभा (क) मा माओवादी केन्द्रले दाबी नगरे तापनि उम्मेदवार भने सिफारिस गरेको छ। प्रतिनिधि सभा प्रत्यक्ष उम्मेदवारको लागी अनेरास्ववियू (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य नवराज कार्कीलाई सिफारिस गरेको छ भने प्रदेश सभा निर्वाचन क्षेत्र (ख)को प्रत्यक्ष उम्मेदवारको लागि पार्टी प्रदेश समिती सदस्य केबल बहादुर मल्ललाई सिफारिस गरेको छ । त्यसैगरी माओवाद केन्द्र मुगुले सबै निर्वाचन क्षेत्रका लागी समानुपातिक तर्फका उम्मेदवार पनि सिफारिस गरेको छ। प्रतिनिधि सभाको लागी खस आर्य कलस्टर बाट मर्णिचन्द्र कार्की, जनजाति बाट सोनाम यान्की लामा र दावा पुटिक लामा, दलित बाट बिर्ख टमाटा र महिला बाट मधुली नेपाली सिफारिस भएका छन् । प्रदेश सभा निर्वाचन क्षेत्र (क) को लागी खस आर्य बाट सन्तोष कुमार मल्ल, जनजाति बाट पेमा लामा, दलित बाट कर्ण बहादुर कुलालो र महिला बाट झरना देवि बुढा छन् । प्रदेश निर्वाचन क्षेत्र (ख)का लागी खस आर्य तर्फबाट लाल भक्त संज्याल, दलित बाट पदम परियार, महिला बाट बाँचु धामी र सुकुमाया शाही सिफारिस भएका छन् ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा ३४७५ विद्यालय छनोट (सूचीसहित)

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ३४७५ विद्यालय छनोट गरेको छ । बुधबार मन्त्रालयले ४ कोठे, २ कोठे र आइसीटी ल्याब गरी ३ हजार ४ सय ७५ विद्यालय छनोट गरेको शिक्षा तथा मानवस्रोतका महानिर्देशक चुडामणि शर्माले जानकारी दिए । देशभरको सूची यहाँ क्लिक गर्नुहाेस्

काभ्रेमा पहिरोले घर पुरिँदा एकै परिवारका तीनजनाको मृत्यु

काठमाडौं । काभ्रेको बेथानचोक गाउँपालिका–४ चलालमा पहिरोले घर पुरिँदा एकै परिवारका तीनजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आज बिहान साढे ३ बजे पहिरोले घर पुरिँदा ६५ वर्षीया लालजुङ तामाङ, छोरा ४४ वर्षीय निरबहादुर तमाङ र छोरी ४० वर्षीया छोरी सावित्रीको मृत्यु भएको हो। राति सुतिरेहका बेला पहिरो खसेपछि घर पुरिएको थियो। स्थानीय र प्रहरीले उद्धार गर्ने क्रममा तीन जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ

पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयलाई सरकारी जग्गा लिजमा उपलब्ध गराउने

काठमाडौं । नेपाल सरकारले पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयलाई सरकारी जग्गा लिजमा उपलब्ध गराउने निर्णय गरेको छ । मिति २०७९–०५–२७ गते बसेको मन्त्रिपरिषद्को बैठकले लिजमा सरकारी जग्गा उपलब्ध गराउने निर्णय गरेको हो । पोष्ट बहादुर बोगटी बहुप्राविधिक शिक्षालयलाई सरकारी जग्गा लिजमा उपलब्ध गराउने विषयमा भूमि व्यवस्था , सहकारी तथा गरिबी निवारण मन्त्रालयले मन्त्रिपरिषद्मा पस्ताव लगेको थियो । उक्त पस्ताव २७ गतेको मन्त्रिपरिषद् बैठकमा पेश हुनुका साथै स्वीकृत भएको हो । यससँगै पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयलले १४२ रोपनी जग्गा प्राप्त गर्नेछ । यस शिक्षालयले त्यस क्षेत्रको प्राविधिक शिक्षामा महत्वपूर्ण योगदान पुर्याउने छ । शिक्षालयले कृषितर्फ बाली विज्ञान ,पशु विज्ञानसहित होटल तथा पर्यटन,सिभिल इञ्जिनीयरिङ र फार्मेसी अध्यापन गराउँदै आएको छ । नुवाकोटको तुप्चेमा जन्मिएका पोष्टबहादुर बोगटीको हृदयघातका कारण २०७१ भदौ ३० गते निधन भएको थियो । उनी तत्कालीन नेकपा (माओवादी) का केन्द्रीय उपाध्यक्ष तथा ऊर्जा तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री समेत रहेका थिए । निडर, इमान्दार तथा जनप्रिय नेताको रुपमा रहेको उनको छविको सम्मानका लागि सिटिइभिटीमार्फत उनकै नाममा नुवाकोटमा शिक्षालय स्थापना गरिएको हो ।

जबर्जस्ती करणीका घटनामा २८ प्रतिशत दलित महिला

काठमाडौँ — सर्लाहीको विष्णु गाउँपालिकाका यादव थर गरेका १९ वर्षे युवकले विवाह गर्ने आश्वासन देखाएर गाउँकै १७ वर्षीया दलित किशोरीलाई भगाएर लगे । बाराको जितपुरमा लगी २० दिनसम्म राखेका उनले पछि जातको कारण देखाउँदै किशोरीलाई उनकै घरमा लगेर छाडिदिए । यता, माइती पक्षले विवाह गरिसकेकी छोरीलाई घर भित्र्याउन नमिल्ने भन्दै गोठमा राखे । विवाहको आश्वासन दिई जबर्जस्ती करणी र शरीर बन्धकमा युवकविरुद्धको मुद्दा जिल्ला अदालतमा विचाराधीन छ । *** कल्याणपुर–३ सिरहाका मण्डल थर गरेका युवकमाथि विवाह गर्छु भन्दै दलित किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोप लाग्यो । बिहान किशोरीलाई उनकै घरमा लगेर छाडिदिएपछि परिवारले किशोरीलाई लिएर मण्डलकै घरमा पुगे । तर, ‘हाम्रो घरमा दलितको छोरीको पानी चल्दैन’ भन्दै मण्डल परिवारले स्विकारेन । पीडितले केटा पक्षविरुद्ध जबर्जस्ती करणी आरोपमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका छन् । रौतहटको देवाही गोनाही नगरपालिका–७ बस्ने ५० वर्षीय कुशवाह थरका पुरुषले सोही गाउँकी दलित महिलालाई घर बनाउने सामान खरिद गरिदिने प्रलोभन देखाएर मोटरसाइकलमा राखेर लगे । उनले वडा ५ स्थित सिँचाइ खोला नजिक झाडीमा आफूमाथि जबर्जस्ती करणी गरेको महिलाको आरोप छ । समता फाउन्डेसनले प्रकाशन गरेको ‘दलित मानवअधिकार पुस्तक २०७८’ मा मानवअधिकार हनन भएका घटनाको विश्लेषण गर्दा जबर्जस्ती करणी भएकामध्ये २८ प्रतिशत दलित महिला रहेको उल्लेख छ । जसमा ८ प्रतिशत जबर्जस्ती करणी प्रयासका घटना छन् । यौन दुर्व्यवहार ३ प्रतिशत, अन्तरजातीय प्रेम विवाह १३ प्रतिशत, आत्महत्या दुरुत्साहन ८ प्रतिशत, जातीय भेदभाव तथा छुवाछूत १८ प्रतिशत, छुवाछूत/कुटपिट १४ प्रतिशत, हत्या ६ प्रतिशत, ज्यान मार्ने उद्योग र प्रहरी हिरासतमा मृत्यु भएका घटना १/१ प्रतिशत छन् । अधिवक्ता प्रकाश नेपाली, रोजी विसुंके र प्रकृति बुढामगरको उक्त अनुसन्धानात्मक पुस्तकलाई फाउन्डेसनले बुधबार सार्वजनिक गरेको हो । लैंगिकताको दृष्टिकोणले हेर्दा पनि दलित पुरुषभन्दा महिला बढी पीडित भएको तथ्यांकले खुलाएको छ । ६८ प्रतिशत महिला लैंगिकताको आधारमा पीडित छन् । अधिकारकर्मी धनकुमारी सुनारका अनुसार आर्थिक, सामाजिक र जातीय विभेदका कारण सबैभन्दा जोखिममा दलित महिला छन् । समग्र महिलाकै घटना र अवस्था विश्लेषण गर्ने हो भने पनि मानवअधिकारबाट वञ्चित हुने पीडित महिलाको संख्या बढी छ । ‘यद्यपि यसको मसिनो तथ्यांक न प्रहरीसमक्ष छ, न त अन्य निकायमा,’ उनी भन्छिन्, ‘दलित महिला हरेक दृष्टिले उच्च जोखिम मोलिरहेका छन् ।’ महिला आयोगकी प्रवक्ता चमिला भट्टराईले आयोगमा पर्ने हिंसाका उजुरीमध्ये दलित महिलाको अवस्था अन्यको तुलनामा दर्दनाक रहेको बताइन् । सामाजिक रूपमा पछि पारिएका दलित महिला विभिन्न डर र प्रलोभनमा पारिएर पीडित भएका थुप्रै घटना रहेको उनको भनाइ छ । राष्ट्रिय दलित आयोगका प्रवक्ता सुन्दर पुर्कुटीले विभेदमा आर्थिक हैसियत र समाजको प्रतिष्ठाले फरक पार्ने बताए । ‘जसको केही छैन, जो गरिब छ उसैलाई हेप्ने प्रवृत्ति छ,’ उनले भने, ‘जसका कारण दलित महिला हिंसाको उच्चतम जोखिममा परेका हुन् ।’ महान्यायाधिवक्ता कार्यालयका अनुसार २०७७ यता जिल्ला अदालतमा २६३ मुद्दा दर्ता भएका छन् । तीमध्ये २७ मात्रै पुनरावेदनतर्फ उच्च अदालतमा गएको छन् भने सर्वोच्चमा ४ वटा मात्र रहेका छन् । अधिवक्ता एवं अनुसन्धाता प्रकाश नेपाली भन्छन्, ‘दलितमाथि विभेद कायमै छ, यसमा राज्य पनि जिम्मेवार छ ।’ कान्तिपुर दैनिकबाट

रूपाको वक्तृत्वकलामा शिवालयकी करिनाको ह्याट्रिक, एस. ई. ई. मा छात्र-छात्रा दुवैमा शिवालय उत्कृष्ट

पोखरा । कास्कीको रूपा गाउँपालिका-२ स्थित शिवालय माविकी करिना ओझाले वक्‍तृत्वकला प्रतियोगितामा ह्याट्रिक गरेकी छिन् । बुधबार रूपा गाउँपालिकाद्वारा ५८ औँ बालदिवसका अवसरमा आयोजित ‘शिक्षा क्षेत्रको विकासमा स्थानीय तहको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगितामा प्रथम भएसँगै उनले ह्याट्रिक गरेकी हुन् । यसै शैक्षिक सत्रमा मात्रै उनले यसअघि गोनेसा नेपाल र पुष्पकमल सुवेदी स्मृति प्रतिष्ठानद्वारा रूपा गाउँपालिकाभित्रका विद्यालयका बिच सम्पन्न गरेका वक्‍तृत्वकला प्रतियोगितामा प्रथम स्थान हासिल गरेकी थिइन् । उनी शिवालय बाल क्लबकी अध्यक्ष पनि हुन् । बाल दिवसका अवसरमा आयोजित सो प्रतियोगितामा रामकोट माविकी सजिता अधिकारी, अरुणोदय आविका विश्वास विक र विश्वशान्ति माविकी सफलता हायु राई क्रमशः दोस्रो, तेस्रो र सान्त्वना भएका थिए । यसै बिच, बाल दिवसकै अवसरमा रूपा गाउँपालिकाभित्रका विद्यालयहरूबाट २०७८ को एस. ई. ई. परीक्षामा सम्मिलित परीक्षार्थीहरूमध्ये सर्वोत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरूलाई जनही ५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको छ । जसअनुसार शिवालय माविका धिरज सुनार छात्रतर्फ र सोही विद्यालयकी कृति ओझाले छात्रातर्फ सर्वोत्कृष्ट अङ्क ल्याएबापत पुरस्कृत भएका थिए । धिरजसँगै छात्रतर्फ समान जी. पी. ए. ३.२५ ल्याउने विश्वशान्ति माविका आदर्श घिमिरे पनि पुरस्कृत भएका थिए । यसअघि पनि शिवालयकै छात्र-छात्रा दुवैतर्फ उत्कृष्ट जी. पी. ए.सहित पुरस्कृत भएका थिए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष नवराज ओझाले शिक्षाका क्षेत्रमा पढाइका अलावा विद्यार्थीको प्रतिभा प्रस्फुटनमा पनि गाउँपालिकाले प्रयास गर्दै आएको बताए । शिक्षा शाखा प्रमुख सन्दिप पौडेलको सञ्चालनमा भएको कार्यक्रममा वक्तृत्वकला प्रतियोगितातर्फ बृहस्पति अधिकारी, सीता सापकोटा र मनोज पौडेल निर्णायक रहेका थिए ।

हिमाली क्षेत्र सोलुमा समेत देखियो डेंगु सङ्क्रमण

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा समेत डेंगु सङ्क्रमण पुष्टि भएको छ । जिल्लाको थुलुङ दूधकोशी गाउँपालिकाभित्रका दुई पुरुषमा सङ्क्रमण पुष्टि भएको जिल्ला अस्पताल फाप्लुले जनाएको छ । अस्पताल निमित्त प्रमुख सानी शेर्पाकाअनुसार थुलुङ दूधकोशी गाउँपालिका–२ काँगेलका ३३ बर्षीय युवक र वडा नम्बर ३ का ६० बर्षीय वृद्धलाई सङ्क्रमण पुष्टि भएको हो । उनीहरुको ट्राभल हिस्ट्री नभएको बताइएको छ । काँगेलका वृद्धलाई बस्तुभाउ चराउने क्रममा दिउँसो लामखुट्टेले टोकेको थियो । त्यसको केही दिनमा उनलाई टाउको दुख्ने, ज्वरो आउने, बान्ता हुने जस्ता लक्षणका कारण बिरामी परेका थिए ।तराईमा मात्रै देखिने गरेको डेङ्गु मौसम परिर्वनको कारण हिमाली क्षेत्रमा समेत देखा पर्न थालेको हो । मोबाइलको रिङ ब्याकटोनमा राखिएको सन्देशको सुनेर शंका लागेपछि फाप्लु अस्पतालमा परिक्षण गर्दा डेंगु पुष्टि भएको पारिवारिक स्रोतले जनाएको छ ।