पेट्रोलियम पदार्थको मूल्य घट्यो (सूचीसहित)
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको बैठकले आइतबार बिहानदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर रु दुई, डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु एक घटाएको हो ।
आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर रु पाँच र अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर अमेरिकी डलर ३७ ले घटाइएको निगमले जनाएको छ ।
निगमले पेट्रोल पहिलो, दोस्रो र तेस्रो वर्गका क्षेत्रमा प्रतिलिटर क्रमशः रु एक सय ६०.५०, एक सय ६२ र एक सय ६३ तथा डिजेल र मट्टितेल प्रतिलिटर क्रमशः रु एक सय ५१।५०, एक सय ५३ र एक सय ५४ तोकेको छ ।
आन्तरिकतर्फको हवाई इन्धनको मूल्य समायोजन भएर प्रतिलिटर रु.एक सय ३२ कायम गरिएको छभने अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर अमेरिकी डलर एक हजार पाँच तोकिएको छ ।
निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायल डिपोलाई सूचीकृत गरेको छ ।
इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको भाउ घटेर आएकाले स्थानीय बजारमा पनि समायोजन गरिएको निगमद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । एलपी ग्यासको खरिद मूल्यमा प्रतिसिलिन्डर ३५ रुपैयाँ ११ पैसाले बढेर आएको भएपनि हाललाई बिक्री मूल्य यथावत् नै राखिएको निगमले जनाएको छ ।

मुख्य सचिवको बढुवामा असन्तुष्टि जनाउँदै सचिव ज्ञवालीको राजीनामा
काठमाडौँ । मुख्य सचिव बढुवामा असन्तुष्टि जनाउँदै सचिव तोयानारायण ज्ञवालीले राजीनामा दिनुभएको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले चौथो नम्बरका सचिव एकनारायण अर्याललाई मुख्य सचिवमा नियुक्तिको निर्णय लिएसँगै सबैभन्दा वरिष्ठ सचिव ज्ञवालीले राजीनामा दिनुभएको हो । सरकारले आफूभन्दा कनिष्ठलाई नियुक्त गरेपछि ज्ञावालीले राजीनामा दिएको स्रोतले बताएको छ । वरिष्ठताको आधारमा आफूलाई मुख्य सचिव बनाउने छनक नपाएपछि उहाँ बुधवार दिउँसोदेखि नै कार्यालय जानुभएको थिएन । बिहीबार ज्ञवालीले राजीनामा नै दिनुभयो । ज्ञवाली राष्ट्रिय योजना आयोगमा सचिव हुनुहुन्थ्यो। ज्ञवाली पहिलो, सार्वजनिक खरिद अनुगमन कार्यालयका रामकृष्ण सुवेदी दोस्रो र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका दिनेश भट्टराई तेस्रो वरीयताका सचिव हनुहुन्छ । ज्ञवालीको कार्यकाल यही २२ गते सकिँदै थियो । मन्त्रिपरिषद्ले उनको राजीनामा बिहीबार नै स्वीकृत गरिसकेको छ ।
प्रधानमन्त्रीको विरोध गरेको भन्दै युवा थुन्नु निरंकुश चरित्र : अखिल(क्रान्तिकारी)
काठमाडौं । परिवर्तनका पक्षधर युवाहरुलाई पक्राउ गरी हिरासतमा राख्नु निरंकुश चरित्र भएको अखिल (क्रान्तिकारी)ले जनाएको छ । शान्तिपूर्ण धर्ना, जुलुस, विरोध प्रदर्शन गर्न पाउनु नागरिकको संबैधानिक अधिकार भएको बताएको छ । गौरापर्व मनाउन टुडिखेल पुग्नु भएका प्रधानमन्त्री केपी शर्मा ओली र पुर्व प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवालाई विरोध गरेको नाममा परिवर्तनका पक्षधर केही युवाहरुलाई पक्राउ गरि हिरासतमा राखिएको घटनाप्रति आफ्नो संगठनको गम्भीर ध्यानाकर्षण भएको अखिल (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंहले विज्ञप्ति मार्फत जनाउनुभएको छ । विज्ञप्तिमा भनिएको छ -'आफ्नो संबैधानिक अधिकार प्रयोग गरे बापत युवाहरुलाई बिनाकारण हिरासतमा राखेर सरकारले आफ्नो निरंकुश चरित्र जनतासामु उदाङ्गो पारेको छ । सरकारको उक्त निरंकुश र असंवैधानिक रवैयाको घोर निन्दा एवं भत्सर्ना गर्दछौं।दलाल सरकारका विरुद्ध युवाहरुले विरोध गरेकै कारण लगाईएको झुटा मुद्दा तत्काल खारेज गरी विना शर्त हिरासतमा भएका युवाहरूलाई २४ घण्टा भित्र रिहाई गर्नको निम्ति अखिल (क्रान्तिकारी) जोडदार माग गर्दछ। यदी पक्राउ गरिएका युवाहरुलाई विना सर्त तत्काल रिहाई नगरे हाम्रो संगठन चरणवद्ध आन्दोलनमा उत्रने जानकारी यसै विज्ञप्ति मार्फत जानकारी गराउन चाहान्छौं।'
प्रधानमन्त्रीद्धारा सामाजिक सञ्जालबाटै मुख्यसचिवलाई निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मुख्यसचिव एकनारायण अर्याललाई सुशासन कायम गर्न कर्मचारी प्रशासन चुस्त बनाउन निर्देशन दिनुभएको छ । सामाजिक सञ्जाल फेसबुकबाट अर्याललाई बधाई दिंदै प्रधानमन्त्रीले नागरिकलाई चुस्त सेवा दिन र विकास आयोजनालाई अगाडि बढाउन पनि निर्देशन दिनुभएको हो । ‘सरकारले नीतिगत नेतृत्व मात्र गर्छ, कार्यान्वयन प्रभावकारी हुन कर्मचारी प्रशासनको ठूलो भूमिका हुन्छ’, उनले भनेका छन्, ‘सरकारहरू आवधिक हुन्छन्, निजामती प्रशासन स्थायी सरकार हो।’ प्रधानमन्त्रीले अधिकारीलाई आफ्नो कामप्रति जवाफदेही बनाउने, तत्काल गुनासो सुन्ने र समाधान गर्ने प्रणाली बनाउन हरेक निकायका अधिकारीले सार्वजनिक रूपमा सुनुवाइ गर्न मिल्ने गरी सामाजिक सञ्जालमा आ–आफ्नो कामको विवरण दिने पेज बनाउनु राम्रो हुने सुझाव प्रधानमन्त्री ओलीको छ ।
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार सुन तोलामा ३ सयले घटेर एक लाख ५२ हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि बिहीबार सुनको मूल्य १ लाख ५३ हजार २ सयमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर १८२० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
अमेरिकामा मुना पाण्डेको हत्या लुटपाटको क्रममा भएको खुलासा
काठमाडौं । अमेरिकामा हत्या भएकी नेपाली युवती मुना पाण्डेमाथि चोरीको उद्देश्यले अपार्टमेन्टमा पुगेका बोबिसिंह शाहले गोली हानेको खुलासा भएको छ। अदालतको विवरणमा लुटपाटको उद्देश्यले बोबिसिंह मुनाको अपार्टमेन्टमा पुगेको र सोहि क्रममा गोली हानेर हत्या गरेको उल्लेख गरिएको छ। अब बोबीसिंहलाई सेप्टेम्बर ३ मा अदालतमा उपस्थित गराइने र मुनाको हत्या बाहेक गैरकानुनी हतियार राखेको मुद्धा समेत चलाइने भएको छ । गैर कानुनी हत्याको मुद्धामा उनलाई सेप्टेम्बर ५ मा अदालतमा उपस्थित गराइने भएको छ। ५१ वर्षीय शाहलाई प्रहरीले तस्बिर सार्वजनिक भएपछि प्राप्त सूचनाका आधारमा ट्राफिकमा रोकिएको अवस्थामा पक्राउ गरेको थियो। शाह मुना मृत भेटिएको स्थानमा अगस्ट २४ को बेलुका ९ बजेर ४८ मिनेटमा देखिएपछि प्रहरीले तस्बिर सार्वजनिक गरेको थियो।
पाँचथरको विस्फोटमा परेका दुई बालबालिकाको मृत्यु
पाँचथर । पाँचथरको फालेलुङ ५ प्राङबुङमा भएको विस्फोटमा परेका दुई बालबालिकाको मृत्यु भएको छ । एकै परिवारका दाजु बैनीको मृत्यु भएको हो । घाइते दुई वर्षीया प्रिन्सा साँवाको उपचारका लागि लैजाँदै गर्दा इलाममा र उनको दाइ ११ वर्षीय दिप्सन साँवाको उपचारका क्रममा बी एण्ड सी अस्पताल झापामा मृत्यु भएको प्रहरी जनाएको छ । अर्का घाइते पवन राईको पाँचथर अस्पतालमा उपचार भइरहेको छ । विस्फोटको कारण उनीहरूको शरीर जलेको छ । बिहीबार दिउँसो विस्फोट भएको थियो । ग्रिनेट विस्फोट भएको प्रारम्भिक अनुमान छ । सोही स्थानमा अर्को शंकास्पद बस्तु पनि फेला परेको छ । नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको छ । शंकास्पद बस्तु डिस्पोज गर्ने र नयाँ हो कि पुरानो बस्तु विस्फोट भएको हो त्यसको अनुसन्धान हुने पाँचथरका डीएसपी हेमन्त भण्डारीले जानकारी दिनुभयो ।
चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त
काठमाडौं । सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेशराज दाहाल (डिसी)लाई नियुक्त गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले डीसीलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । बैठकमा सहभागी एक मन्त्रीका अनुसार बोर्डको अध्यक्षका लागि तीन जनाको अन्तिम सूची मन्त्रिपरिषद्मा पठाइएको थियो। ती मध्ये डीसीलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरिएको हो । डिसी फिल्म निर्देशक, अभिनेता तथा संचारकर्मी हुनुहुन्छ । उहाँले सन् १९९७ मा रिलिज भएको फिल्म ‘सुनचाँदी’बाट अभिनय सुरु गर्नुभएको हो ।
भयावह बन्दै डेंगुः पाँच हजारमा पुष्टि, तीन जनाको मृत्यु
काठमाडौं । देशका ७५ जिल्लाबाट पाँच हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा(ईडिसिडी )को तथ्याङ्क अनुसार ७५ जिल्लाबाट पाँच हजार ५८९ जनामा डेंगु पुष्टि हुनुका साथै तीन जना सङ्क्रमितको मृत्यु भएको छ । दुई जिल्लामा पाँच सयभन्दा बढिमा सङ्क्रमण पुष्टि भएका छन् । तनहुँमा एक हजार ६७, कास्कीमा ५३६ जनामा डेंगु पुष्टि भएको इडिसिडीले जनाएको छ । यसैगरी, चितवनमा ४८६, काठमाडौँमा ४६६, पर्वतमा ३१७, गोरखामा २०८, झापामा १६०, मकवानपुरमा १११, भोजपुरमा ९६, पाल्पामा ९४ जनामा डेंगु पुष्टि भएको छ । प्रदेश अनुसारमा बागमती र गण्डकी प्रदेशमा सबैभन्दा बढी डेंगु सङ्क्रमण पुष्टि भएको छ । बागमती प्रदेशमा एक हजार ४८६, गण्डकी प्रदेशमा दुई हजार ४४०, कोशी प्रदेशमा ७४९, लुम्बिनी प्रदेशमा ४१८, सुदूरपश्चिम प्रदेशमा ३३४, मधेश प्रदेशमा ५६ जनामा डेंगु पुष्टि भएको छ ।
टुडिखेलमा नाराबाजी गर्नेमाथि दमन थालिएकोमा भीम रावलद्वारा बिरोध
काठमाडौं । काठमाडौंको टुडिखेलमा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध भएको नाराबाजीमा संलग्न भएको आशंकामा सरकारले युवाहरुलाई पक्राउ गर्न थालेकोमा एमाले भीम रावलले बिरोध गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत उहाँले बिरोध जनाउनुभएको हो । ‘टुडिखेलमा नाराबाजी गरेको भनी नेताले मञ्चबाटै गाली गर्नु र पछि गिरफ्तार गराउनु संविधानले दिएको मौलिक अधिकारको उल्लङ्घन हो’– उहाँले भन्नुभएको छ– ‘जनताले विरोध र आलोचना किन गरेछ भनी आफुलाई बुझ्ने जनमुखी ठहरिन्छ भने दमनमा उत्रिने निरंकुश स्वेच्छाचारी।जनआक्रोशको कारण र समाधान खोज्नु जिम्मेवारको कर्तब्य हो। दमनले के निम्त्याउछ, नेपालको इतिहासको फेरी अध्ययन र स्मरण गर्नु उचित हुन्छ।'
बाँकेमा बस दुर्घटना, दुईको मृत्यु, २७ घाइते
नेपालगञ्ज । कोहलपुर–नेपालगन्ज सडक खण्डको गनापुरमा बिहीबार बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता, प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार, दाङको तुलसीपुरबाट नेपालगन्ज आउँदै गरेको भे १ ख २१२८ नम्बरको बस अनियन्त्रित भई पल्टिएको हो । दुर्घटनामा परी दाङको तुल्सीपुरका ६० वर्षीय धनबहादुर ओली र तुलसीपुरकै बसका सहचालक २४ वर्षीय सन्तोष भुसालको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा २७ जना घाइते भएको छ । घाइतेहरु मध्ये २१ जनाको भेरी अस्पताल नेपालगन्जमा, ५ जनाको कोहलपुर शिक्षण अस्पतालमा उपचार भैरहेको छ । दुर्घटनामा घाइते १ जना नेपालगन्ज मेडिकल कलेजमा उपचार पछि डिस्चार्ज भएका छन् । बसका चालकले बसको पट्टा भाँचिदा बस अनियन्त्रित भई दुर्घटना भएको प्रहरीलाई बताएका छन् । अनियन्त्रित बसले एउटा मोटरसाइकललाई पनि ठक्कर दिएको हुनसक्ने प्रहरीले बताएको छ । सकडमा पल्टिएको बस डोजरको मद्दतले सडकबाट साइडमा राखिएको छ ।
विश्वमै दुर्लभ डंगर गिद्ध नेपालमा बच्चा हुर्काउँदै
काठमाडौं । विश्वमै दुर्लभ मानिएको डंगर गिद्ध नेपालका १३ जिल्लामा पाइन्छ । सन् २०२३/०२४ मा सबैभन्दा धेरै कपिलवस्तुमा १ सय ७० वटा गुँड भेटिएका थिए । पन्छी संरक्षण संघ (बीसीएन) ले गरेको अनुगमनमा राजापानी, भृकुटी र प्रतिभा सामुदायिक वन तथा मायादेवी साझेदारी वनमा ती गुँड भेटिएका थिए । त्यहाँ १ सय २२ जोडीले बचेरा हुर्काएको बीसीएनका परियोजना अधिकृत दिलीप चन्द ठकुरीले बताउनुभएको छ । २०२३/२४ मा नवलपुरमा १ सय २२ जोडीले गुँड लगाएकोमा ८७ ले बचेरा हुर्काएका थिए । कञ्चनपुरमा १ सय १४ जोडीले गुँड लगाएकोमा ८६ वटाले बचेरा हुर्काएका थिए । दाङमा ९१ जोडीले गुँड लगाएकोमा ६८ ले बचेरा हुर्काएका थिए । पश्चिम तराईको वन क्षेत्र दुर्लभ डंगर गिद्धका बचेरा हुर्काउने उत्कृष्टस्थल बनेका छन् । सुरक्षाका लागि अग्ला वन क्षेत्रमा रहेका साल, असना, साज, कुसुम र सिमलका रुखमा गुँड बनाई गिद्धले बचेरा कोरलेका हुन् । डंगर ठूला रूखको १९ देखि २९ मिटर अग्लो ठाउँमा ओथारो बस्छ । डंगर गिद्धले एउटा मात्र अण्डा पार्छ । प्रकृतिको कुचिकार भनेर चिनिने लोपोन्मुख पन्छी गिद्ध प्रतिदिन संकटमा पर्दै गएका बेला यसको संख्या बढ्दै जानुलाई सकारात्मक मानिएको छ । बीसीएनले गर्दै आएको डंगर गिद्धको अध्ययनले तीन वर्षयता गुँड लगाउने जोडीको संख्या बढिरहेको देखाएको छ । २०२३/२४ मा डंगरका ६ सय ५८ जोडीले अण्डा पारेर बच्चा जन्माए पनि ४ सय ८० वटा मात्र उडाउन सफल भएको बीसीएनका गिद्ध संरक्षण अधिकृत अंकितविलास जोशी बताउनुहुन्छ । उहाँका अनुसार १३ जिल्लामा हिमाली, सानो खैरो, हाडफोर र सेतो गिद्धका ५३ गुँड भेटिएकामा ३२ वटा बचेरा मात्र उडेको रेकर्ड छ । यस्तै २०२२/२३ मा डंगर गिद्धका ५ सय ६९ जोडीले गुँड बनाएकामा ४ सय २ जोडी बचेरा उडाउन सफल भए । अन्य प्रजातिका ५७ जोडीले गुँड लगाएकामा ३६ जोडीले मात्र बचेरा उडाएका थिए । नेपालमा पाइने ९ प्रजातिका गिद्धमध्ये ६ प्रजातिले मात्र गुँड बनाएर बच्चा कोरल्ने गर्छन् । डंगर जस्तै सुन र सानो खैरो गिद्धले रूखमा गुँड लगाउँछन् । पहाडमा सल्लो र सिमलका रूखमा गुँड लगाउँछन् । हिमाली, हाँडफोर र सेतो गिद्धले पहाडका पहरा र खोचमा गुँड लगाएका हुन्छन् । ‘ओथारो बसेकामध्ये ७० प्रतिशत गिद्धले मात्र बच्चा हुर्काएर उडाएको देखिन्छ, कतिपयको अण्डामै बच्चा नपर्ने, बचेरा उडन सिक्दा लडेर घाइते भई मर्ने र विषादी भएका सिनोलाई आहारामा माउले बचेरालाई खुवाउँदा मर्ने समस्या हुन्छ,’ गिद्ध संरक्षण अधिकृत जोशीले भन्नुभयो । विज्ञ कृष्णप्रसाद भुसालका अनुसार प्रायः एक्लो बस्ने पोथी गिद्धले कात्तिक–मंसिरतिर प्रजननका लागि जोडी खोज्छ । जोडी नै मिलेर ओथारो बस्न गुँड बनाउँछन् र बच्चा हुर्काउँछन् । पुस दोस्रो–तेस्रो साता अण्डा पारेर गिद्ध ओथारो बस्छ । ५० देखि ६० दिनसम्म ओथारो बसेपछि माघ–फागुनमा बच्चा जन्मन्छ । ‘बचेरा ३ महिनाको भएपछि माउले उड्न सिकाउँछ,’ उहाँले भन्नुभयो । सन् १९९० ताका भारत र नेपालमा डंगर गिद्धको संख्यामा निकै घटेको थियो । भारतमा ९९.९ र नेपाल ९१ प्रतिशत बढी लोप भइसकेको थियो । डंगर गिद्ध लोप हुने प्रमुख कारणमा पशुमा लगाइने डाइक्लोफेनेक औषधि थियो । संरक्षणकर्मीको पहलमा सरकारले ०६३ जेठमा पशु उपचारमा प्रयोग गरिने डाइक्लोफेनेकको उत्पादन, बिक्री वितरण र प्रयोगमा प्रतिबन्ध लगाएपछि गिद्धको संख्या बढ्दै गएको हो । नेपालमा वयस्क डंगर गिद्धको संख्या सन् २०१६ मा बढेर २ हजार पुगेको थियो, त्यसयता भने संख्या अध्ययन भएको छैन ।
कांग्रेस सभापति देउवा महामन्त्रीद्वय शर्मा र थापासँगको छलफलमा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पनि महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापासँग छलफल सुरु गर्नुभएको छ । सभापति देउवाले महामन्त्रीद्वयले पेश गरेको प्रस्तावबारे बुढानिलकण्ठस्थित निवासमै छलफल थाल्नुभएको हो । यस अघि मंगलबार भएको छलफलमा महामन्त्री थापा र शर्माले आफ्नो प्रस्तावबाट पछि नहट्ने अडान लिएपछि निष्कर्षमा पुगेको थिएन । पार्टीको महासमिति बैठकमा महामन्त्री थापाले आगामी निर्वाचनदेखि कसैसँग पनि गठबन्धन गर्न नहुने र अर्का महामन्त्री शर्माले नेताहरू एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटकभन्दा बढी सांसद बन्न नपाउने प्रस्ताव अगाडि सारेको विषयमा छलफल भइरहेको हो । पार्टी केन्द्रीय समितिमा महामन्त्रीद्वयको प्रस्तावमा छलफल जारी रहेका बेला सभापति देउवाले यस प्रस्तावलाई परिमार्जित गर्न खोज्नुभएको छ । महामन्त्री शर्माले अगाडि सारेको प्रस्ताव पारित भएमा देउवाका लागि अब प्रधानमन्त्री हुने बाटो बन्द हुनेछ । सभापति देउवा चुनावमा गठबन्धन गर्ने विषय नीतिगत नभएर पार्टीको रणनीतिक योजना भएकाले यसलाई अहिले नै निर्णय गरेर जान नहुने पक्षमा हुनुहुुन्छ । महामन्त्रीद्वयको प्रस्तावमा सहमति हुन नसक्दा गत मंगलबार बस्ने भनिएको केन्द्रीय समितिको बैठक भदौ १६ गतेका लागि सारिएको छ ।
कर्णालीबासीको प्रश्न– अघिल्लो सरकारले पारित गरेको सिञ्जा सभ्यता संरक्षण विधेयक खोई ?
जुम्ला । सरकारले सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयकलाई सैद्धान्तिक सहमति प्रदान गरेको लामो समयसम्म पनि विधेयक अघि नबढाइएको भन्दै कर्णालीबासीले बिरोध जनाएका छन् । कर्णालीबासीको तर्फबाट जुम्लाका नेता नरेश भण्डारीले प्रधानमन्त्री र मुख्यसचिवलाई सार्वजनिक पत्र लेख्दै भन्नुभएको छ– ‘सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयकलाई सैद्धान्तिक सहमति प्रदान गर्न प्रचण्ड सरकारको मन्त्रीपरिषद्ले निर्णय गरेको छ । तत्कालीन कानुन मन्त्री धनराज गुरूङ नेतृत्वको बिधेयक समितिले एक वर्ष बन्धक बनाएको विधेयक निवर्तमान गृहमन्त्री रबि लामिछाने नेतृत्वको बिधेयक समितिको बैठकले सहमति दिने निर्णय गरेको छ ।’ विधेयकमाथि अर्थ र कानुन मन्त्रालयको सहमतिसँगै १२ बुँदे अवधारणा पत्र र प्रस्तावित बिधेयकको मस्यौदा पेश भए पनि अघि नबढाइएको भन्दै भण्डारीले आपत्ति जनाउनुभएको छ । ‘विधेयक आवश्यक छ, प्रक्रिया पनि पुगेको छ तर तपाई नेतृत्वको सरकारले किन बिधेयक प्रमाणीकरण गरेको छैन ?’– प्रधानमन्त्रीलाई प्रश्न गर्दै भण्डारीले लेख्नुभएको छ– ‘बिधेयक प्रमाणीकरण प्रक्रियाले होइन पूर्वाग्रह र कुशासनले रोकेको छ भन्ने निष्कर्षमा जुम्ला तथा कर्णालीवासी मात्र नभई नेपाली भाषा, सभ्यता र संस्कृतिलाई माया गर्ने समस्त नेपालीहरू पुग्न कठिन छ र ?’ बिधेयक प्रमाणीकरण गर्न जुम्ला तथा कर्णालीबासीले आन्दोलनको सहारा लिनु पर्ने हो भनेर प्रश्न गर्दै भण्डारीले भन्नुभएको छ– ‘सुर्खेतदेखि सिंहदरबारसम्मको संघर्षका क्रममा मैले मात्र यस बिधेयकका लागि दुई सय भन्दा ज्यादा दिनहरू उपयोग गरेको छु । पहल समिति सहसंयोजक बलबहादुर महत, भिमनीधि हमाललगायत पहल समिति सदस्यहरू तथा क्रियाशील अन्य व्यक्तित्वहरूले कैयन दिन यसैका लागि योगदान गर्नुभएको छ ।’ कर्णालीका सिञ्जा सभ्यता, हुम्लाको हुल्मु जातिलाई जनजातिमा सूचिकृत गर्ने र सल्यान क्याम्पसलाई आंगिक बनाइने निर्णय बाहेक एउटै क्याबिनेटबाट पारित भएका अन्य निर्णय प्रमाणीकरण भइसकेको उल्लेख गर्दै उहाँले कर्णालीप्रति सरकारले गरेको यो प्रतिनिधिमूलक विभेद भएको टिप्पणी गर्नुभएको छ । ‘उल्लिखित निर्णयहरु प्रमाणीकरण गर्न सरकारलाई अनुरोध गर्दछुँ । अन्यथा कर्णालीवासीलाई सैह्य हुने छैन्’– भण्डारीले लेख्नुभएको छ–‘सरकारलाई हेक्का होस्, यस बिधेयक पारित गर्न दुई सय दिन होइन दुई हजार दिन संघर्ष गर्न तयार छौं ।’
पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध
जुम्ला । अविरल वर्षाले पहिरो खस्दा कर्णाली राजमार्गमा यातायात सञ्चालनमा रोकिएको छ । सुर्खेत–जुम्ला सडकअन्तर्गत कालिकोटको गगनेखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिनुभयो । उहाँले पहिरो पन्छाउने काम भइरहेको बताउनुभयो । वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालिकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो जाने गरेको छ ।
देउवा दम्पत्तिविरुद्ध फेसबुकमा टिप्पणी गर्ने युवाहरुलाई कागज गराएर छाडियो
धनगढी । कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नीसमेत रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवामाथि फेसबुकमा टिप्पणी गरेको आरोपमा कैलाली प्रहरीले धनगढीका दुई युवालाई नियन्त्रणमा लिएर छाडेको छ । जिल्ला प्रहरी कार्यालयले फेसबुकमा ‘स्टाटस’ लेखेको आरोपमा धनगढीका प्रतीक जोशी र रचित शाहलाई मंगलबार दिउँसो नियन्त्रणमा लिई राति छाडेको हो । पक्राउ गर्नुको कारण खुलाएको छैन । तर, शान्तिसुरक्षामा खलल नपुर्याउने कागज गराएर उनीहरूलाई रिहा गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले मौखिक उजुरीका आधारमा दुईजनालाई केहीबेर नियन्त्रणमा लिइएको बताए । उनले कस्तो खालको उजुरी भन्नेबारे खुलाएनन् । ‘शान्तिसुरक्षाको सवालमा केही चुनौती आउन सक्ने भन्ने थियो, ल्याएर हिजै छोडेका छौँ,’ उनले भने, ‘यसबारे योभन्दा धेरै नबोलौँ ।’ फेसबुकमा आफूले कुनै आपत्तिजनक विषय नलेखे पनि प्रहरीले आफूलाई नियन्त्रणमा लिएको प्रतीकले बताए । ‘मुलुक अहिले वास्तवमा संकटै संकटमा छ, आमजनता संकटको अवस्थामा छन्,’ प्रतीकले लेखेका थिए, ‘संस्कार नभएका भनेर बोलेको लोकलाजको विषय बनेको छ । तपाईंहरूको प्रजातन्त्रमा यस्तै हुन्छ ?’ शान्तिसुरक्षामा खलल नपुर्याउने कागज गराएर प्रहरीले राति रिहा गरेको उनले बताए । रचितले पाँचपटक प्रधानमन्त्री हुँदा पनि पनि देउवाले केही काम गर्न नसकेको, भुटानी शरणार्थी काण्डमा पूर्वगृहमन्त्रीलाई पार्टीबाट कारबाही नगरेको र गिरीबन्धु घोटालाका आरोपितलाई प्रधानमन्त्री बनाएको आशयले स्टाटस लेखेका थिए । प्रतीकका अनुसार अपराह्न चार बजेतिर बोराडाँडीमा खाजा खाने क्रममा आएका प्रहरीले सोधपुछ गर्नु छ भनेर दुवैजनालाई नजिकैको प्रहरी बिटमा लगेका थिए । ‘त्यहाँबाट जिल्ला प्रहरी कार्यालय जानुपर्यो भनेपछि आफ्नै गाडीमा जिल्ला प्रहरीमा गयौँ,’ प्रतीकले भने, ‘डेढ घण्टासम्म परिसरमा राख्यो । पछि प्रहरीले फेसबुक प्रोफाइलमा के छ, पढाइ, राजनीतिक आस्था के हो भनेर सोधे ।’

