घरेलु मैदानमा नेपालको फराकिलो हार

काठमाडौं । घरेलु दर्शक र घरेलु मैदानको फाईदाका बाबजुत नेपालले युएईसँगको फराकिलो हार खाएको छ । अर्जुन साउद र दीपेन्द्रसिंह ऐरी बाहेक अन्य ब्याटर चल्न नसकेपछि नेपाल पहिलो ओडिआई खेलमा युएईसँग ८४ रनले पराजित भएको हो । यो जितसँगै तीन ओडिआई खेलको सिरिजमा युएईले १–० को अग्रता लिएको छ ।

जितको लागि २ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७९ रन मात्रै बनाउन सक्यो । दीपेन्द्रसिंह ऐरी ८४ बलमा ६ चौकासहित ५४ रनमा क्याच आउट भए । डेब्यू खेल खेलेका अर्जुन साउद ७९ बलमा ५ चौकासहित ५१ रनमा आउट भए ।

यी दुई बाहेक अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । कप्तान रोहित पौडेललाई एक रनमा बोल्ड आउट भए, कुशल भुर्तेल सातौं नम्बरमा ब्याटिङ गर्दै ६ रन,आसिफ शेखले १२ तथा अर्का डेब्यु खेलाडी हरिशंकर साहले ८ रन बनाए ।

सोमपाल कामी र करण केसीले तीन तीन रन बनाए । गुलझन झा र ललित राजवंशी ६ रनमा अविजित रहे । युएईका आयन अफ्जल खानले १० ओभरमा ४ मेडनसहित १४ रन खर्चेर ४ विकेट लिए । बासिल हामिदले ६ ओभरमा १ मेडनसहित १८ रन खर्चेर २ विकेट लिए । युएईका जहूर खान, रोहन मुस्तफा र अहमेद राजाले एक एक विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ६३ रन बनाएको थियो । नेपालका तीव्र गतिका बलर गुलशन झाले ६ ओभरमा २६ रन खर्चेर २ विकेट लिए ।

सोमपाल कामीले १० ओभरमा ६७ रन खर्चेर १ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ८ ओभरमा ३० रन खर्चेर १ विकेट लिए । नेपालका अन्तराष्ट्रिय स्तरका बलर तथा पूर्व कप्तान सन्दीप लामिछाने बालिका बलात्कारको आरोपमा मुद्धा लडिरहेका छन् । नेपालले दोस्रो खेल बुधबार र तेस्रो खेल शुक्रबार हुनेछ ।

नेपालमा डेंगुको कहर : संक्रमित ५० हजार नाघ्यो, ५५ जनाको मृत्यु

काठमाडौं । कात्तिक २१ गतेसम्म नेपालमा डेंगु संक्रमितको संख्या ५० हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगु संक्रमितको संख्या ५० हजार २ सय ६३ पुगेको छ ।त्यस्तै डेंगुबाट अहिलेसम्म यो वर्ष संख्या ५५ जनाको ज्यान गएको छ । यो संख्या सन् २००४ यताकै उच्च रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा जनाएको छ ।महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहालका अनुसार हाल देशका ७७ वटै जिल्लामा डेंगु संक्रमण फैलिएको छ । डेंगु संक्रमण सार्ने एडिस जातको लामखुट्टेको लार्भा अनुकुल वातावरणमा आठ महिनासम्म जीवित रहनसक्ने र फेरि लामखुट्टेको रुपमा विकास हुनसक्ने भएकाले जोखिम भने अझै कम नभएको विज्ञहरुको भनाइ छ ।

रवि लामिछानेले धोका दिएको भन्दै सुन्दर डल्लाकोटीको समर्थन उमेश श्रेष्ठलाई

चितवन । चितवन क्षेत्र नम्बर २ का एक स्वतन्त्र उम्मेद्वारले लोकतान्त्रिक वामगठबन्धनका उम्मेद्वार उमेश श्रेष्ठलाई समर्थन गरेका छन । आज कालिका नगरपालिकामा भएको चुनावी कोणसभामा स्वतन्त्र उम्मेद्वार सुन्दर डल्लाकोटीले श्रेष्ठलाई समर्थन गर्ने घोषणा गरेका हुन् । उक्त कार्यक्रममा बोल्दै डल्लाकोटीले रवि लामिछानेले पैसा खाएर चितवन क्षेत्र नम्बर ३ छाडेर क्षेत्र नम्बर २ मा उम्मेद्वारी दिएको सुनेपछि आफूले उमेश श्रेष्ठलाई समर्थन गरेको बताए । ‘पहिला म क्षेत्र नम्बर २ मा लड्ने र रवी क्षेत्र नम्बर ३ मा लड्न सहमति भएको थियो तर उनले पैसा खाएर धोका दिएपछि मैले उनको साथ छोडें ।’ डल्लाकोटीले भने । आफू प्रतिगमन र मण्डलेको सधै विरोधमा रहेकोले कुनैपनि हालतमा त्यस्ता छद्मभेषी उम्मेद्वारलाई छाडेको उनको भनाई थियो । ‘म यही क्षेत्र बुझेको हिडेको व्यक्ति यस्ता धोकेबाज र मण्डलेलाई समर्थन गरेर चितवनका जनतालाई थप पछाडि धकेल्न हुन्न भनेर उमेश श्रेष्ठलाई समर्थन गरेको हुंँ । ’उनले भने । क्षेत्र नम्बर २ मा श्रेष्ठ जस्तो स्वच्छ , विकासप्रेमी उम्मेदवार कोही नरहेको भन्दै आफ्ना पार्टीका साथीहरुकै सल्लाहामा समर्थन गरेको उनले बताए । ‘उहांँले यसअघि पनि पटक पटक संसद र मन्त्रालयमा काम गरेर देखाई रहनुभएको छ । आफ्नो सम्पूर्ण सम्पत्तिको आधा ट्रष्टलाई दिने घोषणा गरिसक्नु भएको छ । हामी जस्तो युवाले उहांँलाई सपोर्ट नगरे कसले गर्छ ।’ उनले भने । जिल्लाका नेता तथा उम्मेद्वारले डल्लाकोटीले गरेको समर्थन र साथको स्वागत गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति राजेश्वर खनाल वडास्तरीय सभापति लगायत पांँचदलीय गठबन्धनका नेता तथा कार्यकर्ता लगायतको सहभागिता रहेको थियो

गठबन्धन ओलीतन्त्रविरूद्ध बनाएका हौं, ५ वर्षसम्म कायम रहन्छ : वर्षमान पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले चुनावपछि पनि गठबन्धन निरन्तर रहने बताएका छन्। उनले कम्तिमा ५ वर्ष गठबन्धन निरन्तर रहने बताए। लोकतान्त्रिक वाम गठबन्धनले रोल्पामा गरेको कार्यक्रममा उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा गरेका कदमका विरूद्धमा गठबन्धन गरिएको बताए। २०७४ को निर्वाचनबाट जनताले स्थिरता र विकासका लागि मत दिए पनि तत्कालीन प्रधानमन्त्री ओलीको घमण्ड र अहंकारले ५ वर्ष खेर गएको उनको भनाइ थियो। उनले ओलीमा निरंकुश चरित्र भएको आरोप लगाए। ‘५ वर्ष एक ढंगले खेर गयो। हामीले समयको सदुपयोग गर्न सकेनौँ। अघि हिँड्ने मानिस सही ढंगले हिँडेन र बाटो बिरायो भने अरुले दुःख पाउँछ। अघि हिँड्नेले घमण्ड गर्दा अरुले दुःख पाए,’ उनले भने, ‘ओलीमा निरंकुशता र व्यक्तिवादको भूत सवार भयो। म एक्लैले दुनियाँ थामेको छु जस्तो गर्न थाल्नुभयो। ओलीतन्त्रविरूद्ध यो गठबन्धन बनेको छ, कम्तिमा ५ वर्षसम्म गठबन्धन रहन्छ।’ ओलीले प्रदेश र स्थानीय तहलाई अधिकार दिन आनाकानी गरेको आरोप उनको थियो। ‘गुप्तचर, राजश्व अनुसन्धान विभागसहितका निकाय केन्द्रित गरेर निरंकुश शासकले जस्तै शासन गर्नुभयो। मन्त्रीहरुलाई सामान्य कारिन्दाजस्तो व्यवहार गर्ने। सचिवहरुमार्फत काम गरेर पेन्डुलम बनाउने, प्रदेश सरकारहरुलाई मातहतका सरकारजस्तो बनाउने। स्थनीय सरकारको कुनै भाउ नहुने अवस्था उहाँले नै ल्याउनुभयो। बुद्धिजीवीलाई गाली गर्दै हिँड्नुभयो। आलोचना र सुझावलाई ग्रहण गर्नुको साटो बुद्धिजीवीलाई आऊ बहस गर्न कुन भाषामा आउँछौं भनेर चुनौती दिनुभयो,’ उनले भने। ओलीले शक्ति पृथकीकरणको सिद्धान्त विपरीत काम गरेको पनि पुनको आरोप थियो। न्यायपालिका र व्यवस्थापिकाबीचको शक्ति सन्तुलनमा हस्तक्षेप गरेको आरोप पुनको छ। पार्टीभित्रको अन्तरसंघर्षलाई देखाएर ओलीले दुईपटक संसद विघटन गरेको पुनको भनाइ छ। निरंकुशतालाई रोक्न र प्रतिगमन सच्याउनका लागि गठबन्धन निर्माण भएको पुनले उल्लेख गरेका थिए। जनताको अधिकार संरक्षण र संविधानको रक्षाका गठबन्धन बनेको भन्दै पुनले गठबन्धन पाँच वर्षपछिसम्म जान सक्ने आधार रहेको उल्लेख गरेका थिए। राजनीतिक व्यवस्था परिवर्तनपछि अब मुलुकको आर्थिक अवस्था परिवर्तनको समय आएको उनले बताए। पुनले विगतमा भन्दा विकासका काममा गति आइरहेको पनि बताए। एकात्मक राज्य व्यवस्थाको अन्त्यसँगै स्थानीय तहसमेत अधिकार सम्पन्न भएकाले समन्यायिक विकासको अवधारणा अघि बढेको नेता पुनको भनाइ छ। ‘हामीले व्यवस्था बदल्यौँ, अब अवस्था बदल्छौँ। विगतमा भन्दा विद्यालय, अस्पताल, स्वास्थ्य केन्द्रहरुको निर्माण तीव्र गतिमा भइरहेको छ। हाम्रो निर्वाचन प्रणालीले कुनै एक दललाई बहुमत दिँदैन। राजनीतिक स्थायित्व चाहिएको छ, अर्कातिर विकास चाहिएको छ। जनताको अवस्था बदल्नु छ,’ उनले भने।

राष्ट्रपति भण्डारीले संविधान उल्लंघन गरेको कांग्रेस नेता कोइरालाको आरोप

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसदबाट दुई पटक पास गरेर पठाएको नागरिकता विधेयक पास नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान उल्लंघन गरेको आरोप लगाएका हुन् । चुनाव प्रचारप्रसारका क्रममा आज आइतबार विराटनगर–११ मा पुगेका कांग्रेसका प्रभावशाली नेता समेत रहेएका कोइरालासँग आमनागरिकले नागरिता विधेयक पास नहुँदा गैरनागरिक बनेर बस्नु परेको गुनासो गरेका छन् । सर्वसाधारणको गुनासो सुनेपछि नेता कोइरालाले राष्ट्रपतिको कारण नागरिकता समस्या समाधान नभएको बताए । मोरङ क्षेत्र न. ६ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका नेता कोइरालाले राष्ट्रपतिले संविधान नमान्दा नागरिकता विधेयक पास नभएको बताए। आइतबार चुनावी प्रचारप्रसारका क्रममा आयोजना गरिएको सभालाई सम्बोधन गर्दै नेता कोइरालाले मंसिर ४ गते हुने निर्वाचनपछि बन्ने कांग्रेस नेतृत्वको वर्तमान गठबन्धनको सरकारले नागरिकता विधेयक पास गर्ने दावी समेत गरे ।

किशोर–किशोरीको हत्या प्रकरणमा चार जना पक्राउ

दाङ । असोज ३० गते दाङको तुलसीपुरमा खाल्डोमा पुरेको अवस्थामा किशोर र किशोरीको फेला परेको शव प्रकरणमा चार जना पक्राउ परेका छन् । दाङका एसपी वीरबहादुर ओलीले किशोर र किशोरीको हत्यामा संलग्न ४ जनालाई पक्राउ गरिएको पुष्टि गरे । उनका अनुसार पक्राउ परेका चारै जनालाई आज सार्वजनिक गरिनेछ । तुलसीपुर उपमहानगरपालिका–१३ स्थित दमार गाउँको जंगलमा १४ वर्षीय शरद आचार्य र १५ वर्षीय रोशनी महतरा मृत अवस्थामा भेटिएका थिए । उनीहरूलाई अन्यत्र हत्या गरेर जंगलमा लगेर पुरेको प्रहरीको भनाइ छ । मृतक दुवै जनाको टाउकोमा चोट देखिएको थियो ।

पहिलो महिला सभामुख जसले कोर्दैछिन् काठमाडौं–२ को भविष्य

काठमाडौं । नेपालको पहिलो महिला सभामुख हुन ओनसरी घर्ती । रोल्पा जिल्लाको जंकोट –१ माडीचौरमा निम्न मध्यम वर्गीय मगर परिवारमा वि.सं. २०३४ कार्तिक २८ गते जन्मनु भएकी घर्ती सानैदेखि खेलकुदमा तथा नृत्यमा अभिरुचि राख्ने उहाँ पढाइमा पनि उत्तिकै तेज हुनुहुन्थ्यो । औपचारिक रूपमा माध्यमिक तहसम्मको अध्ययन पुरा गरेपछि भने उहाँ राजनीतिमा सक्रिय हुनुभयो । २०४६ सालदेखि विद्यार्थी आन्दोलनबाट राजनीतिमा प्रवेश गर्नुभएकी घर्ती २०४८ सालमा विद्यार्थी सङ्गठनको जिल्ला कोषाध्यक्ष र महिला जिल्ला सदस्य हुँदै तत्कालिन नेकपा (एकता केन्द्र)को पार्टी सदस्यता प्राप्त गर्नुभयो । माओवादीले २०५२ सालदेखि सुरु गरेको सशस्त्र सङ्घर्षमा रोल्पाबाट दलमा आबद्ध हुने थोरै महिला लडाकुमध्ये घर्ती एक हुनुहुन्छ । विसं २०५२ मै माओवादी नेता वर्षमान पुनसँग जनवादी प्रेम विवाह गर्नुभएकी उहाँ माओवादीको सशस्त्र सङ्घर्षको सुरुवातको रोल्पा होलेरी चौकी आक्रमणमा लडाकुका रुपमा सहभागी हुँदै सशस्त्र दश वर्षे जनयुद्धमा भूमिगत जीवन बिताउनुभयो । नेपालको संविधान २०७२ जारी भए संगै नेपालको पहिलो महिला सभामुख हुनुभयो । यसअघि उपसभामुख पदमा रहेर कार्य गरिसक्नुभएकी घर्तीले वि.सं. २०७२–०७४ सम्म सभामुख बन्नुभयो । २०७० को संविधानसभा निर्वाचनमा रोल्पा क्षेत्र नं. २ बाट निर्वाचित हुनुभएको थियो । त्यस्तै ०६४ र ०७० मा समानुपातिक सांसद बन्नुभएको थियो । उहाँ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश–५ की अध्यक्ष पनि हुनुहुन्छ । हाल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी सदस्य पनि हुुनुहुन्छ । मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशको निर्वाचनमा सत्तारुढ गठबन्धनका तर्फबाट काठमाडौं क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नुभएकी नेतृ घर्तीले देशको विकास र समृद्धिलाई आफ्नो प्रमुख एजेण्डा रहेको बताउनुभएको छ । घर्तीसँग प्रेस सेन्टर नेपालका लागि पुष्पा महराले गर्नुभएको कुराकानीको अंशः तपाई नेपालको पहिलो महिना सभामुख । तपाईको कार्यकालमा गर्नुभएका राम्रा कामहरु केके हुन् ? मैले मेरो कार्यकालमा एक सय भन्दा बढी कानुनहरु निर्माण भयो । म सभामुख भएका बेला मेरो विशेष पहलमा महिला हकहित तथा संघ÷प्रदेश र स्थानीयको आवश्यकताका आधारमा कानुन परिमार्जन गरियो । वर्षाेदेखि जरा गाडेर बसेको मुलुकी ऐनलाई परिमार्जन गर्न सकियो । मौलिक हकसम्बन्धी विभिन्न कानुन निर्माण भयो । उत्तम कुरा त महिला हक हितका लागि कानुन निर्माण गर्न सफल भएँ । महिलाको ४० प्रतिशत सहभागिता, अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख उपप्रमुखमा एक महिला नै हुनुपर्ने भन्ने मेरै बेलामा भएको हो । त्यस्तै पैतृक सम्पत्तिमा जम्नसिद्ध छोरा सरह छोरीको पनि समान हक हुनुपर्ने व्यवस्था ल्याइयो । तपाईका चुनावी एजेण्डाहरु केके छन् ? हरेक तह र तप्काका जनसमुदायको भावनालाई सम्बोधन हुने गरी कानुन निर्माण गर्ने । विकास निर्माणका सवालमा जनताको पहुँच सरकारसम्म पु¥याउनेछु । . स्थानीय तवरमा शंखरापुर नगरपालिकालाई पर्यटकीय नगरी बनाउने छु । कागेश्वर मनोहरालाई स्पोर्ट सिटी बनाउने र काठमाडौं महानगरपालिकभित्र पर्ने वडा नं. ९ र ३२ को शहरलाई कोर सिटी अर्थात सफा, सुन्दर र गुणस्तरीय विकास गराउने छु । यस क्षेत्रमा रहेका करिडोरको समस्यादेखि जग्गा एकीकरणको समस्या, मुआब्जाका समस्यालगायत विभिन्न समस्याहरु समाधानका लागि पहल गर्नेछु । जनताको गाँस बास र कपासको व्यवस्था तथा जनताको दैनिक जीवनमा आईपर्ने खानेपानी, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा सुधारका लागि विशेष पहल गर्नेछु । यस क्षेत्रको मुख्य समस्याहरु के के छन् ? तपाईले जित्नुभएपछि ति समस्या समाधान गर्नुहुने छ ? यहाँ मुख्यतः बाटोको समस्या छ । त्यस्तै यहाँ खानेपानीको बिकराल समस्या छ । जहाँ मेलम्चीको पानीको पहुँच नपुगेको स्थान पनि छ, सुन्दरी जलको पहुँच नभएको स्थान पनि छ । अव्यवस्थित करिडेर, अव्यवस्थित ढल निकास तथा जग्गा एकीकरणको कुरा समयमै कार्यान्वयन नहुँदा जनतामा समस्यामा छन् । त्यस्तै सफा सुन्दर र गुणस्तरीय विकास हुनुपर्ने जनताको माग छ । नजिकै रहेको शिवपुरी वन्यजन्तु आरक्षणबाट जंगली जनावरहरु आएर मानिसलाई क्षति पु¥याउने समेत गरेका छन् । त्यसको व्यवस्थापन समेत गर्नुछ । तपाई रोल्पाको मान्छे, किन काठमाडौंबाट चुनाव लड्ने निर्णय गर्नुभयो ? मेरो उम्मेदवारी महिलाहरुको प्रतिनिधित्व र प्रोत्साहन स्वरुप हो । त्यस्तै मेरो पार्टी र गठबन्धनले यस क्षेत्रमा नै महिला उम्मेदवार हुनुपर्छ भनेर निर्णय ग¥यो । त्यस्तै एक राजनीतिज्ञका लागि भुगोलको सीमा हुँदैन । जनताको सेवा जहाँ गएर पनि गर्न सकिन्छ । म पनि जनताको सेवा गर्न तम्तयार भएकी हुँ । मलाई अवसर दिनुस् । म गरेर देखाउनेछु । अर्काे कुरा काठमाडौं भनेको विज्ञ र वृद्धिजिवीहरुको बसोबास रहेको स्थान पनि हो, यहाँ उनीहरुसँगै बसेर काम गर्दा सिकेका ज्ञानहरुलाई मैले रोल्पा मात्रै होइन, देशैभरी बाँड्न सक्छु । यो निर्वाचनमा माओवादीलाई नै मत किन दिने ? यस पटक जनताले मेरो गठबन्धनलाई मत दिनुपर्छ । हामी प्रतिगमनको विरुद्धमा र परिवर्तनको पक्षमा उभिएका छौं । संविधानको रक्षा र स्थिर सरकार बनाउँदै जनताको समृद्धिको लक्ष्य राखेका छौं । परिवर्तन खोजिरहनु भएका जनताले गठबन्धनलाई भोट दिनुहुन्छ । त्यस्तै यो पटक महिलालाई भोट दिनुहोस् भन्न चाहन्छु । महिला कमजोर छैनन् । काम गर्न सक्छन् भन्ने म प्रमाणित गरिदिनेछु । आम मतदाताबाट कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ? जनसमुदायहरुले मलाई निकै स्वागत गर्नुभएको छ । उहाँहरुले आफ्नै छोरी, चेली, दिदी बहिनीको रुपमा लिनुभएको छ । समुदायहरुसँग हाम्रो छलफल हुन्छ । त्यसबेला उहाँहरुको तर्फबाट पनि केही प्रश्नहरु आउँछन्, म त्यसको जवाफ दिन्छु र उहाँहरु मबाट निकै आशावादी पनि हुनुहुन्छ र मलाई सहयोग गर्ने प्रतिवद्धता पनि जनाउनुभएको छ । २ नम्बर क्षेत्रका वासिन्दाहरुमा एक प्रकारको उत्साह छ । चुनाव जित्नेमा कत्तिको विश्वास छ ? चुनाव जित्नेमा म ढुक्क छु । उसैपनि गठबन्धनको मतले हामी धेरै माथि छौ । त्यस्तै चुनावी प्रचार प्रसारमा जनताको प्रतिक्रियाले पनि हामी निकै अगाडि छौं ।

उपेन्द्र यादवको प्रचारमा देखिएपछि डा. रञ्जित कुमार झालाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं । रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यकारी निर्देशक डा. रञ्जित कुमार झालाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। झालाई २४ घन्टाभित्र स्पष्टीकरण पेश गर्न निर्वाचन आयोगले निर्देशन दिएको हो। डा. झाले सप्तरी जिल्ला क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार उपेन्द्र यादव प्रचारप्रसार गरेको देखिएको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आचारसंहिता,२०७९ को दफा ७ को खण्ड (क) अनुसार नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न हुँदैन भन्ने व्यवस्था छ। स्पष्टीकरणमा भनिएको छ, ‘उल्लिखित सन्दर्भमा तपाईंले दलका उम्मेदवारको प्रचारप्रसारमा संलग्न हुनुभएको कार्यले निर्वाचन आचारसंहिता,२०७९ र प्रचलित सार्वजनिक सेवा सम्बन्धी कानून समेतको उल्लंघन हुन्छ, हुँदैन? तपाईंबाट उक्त कार्य भएको भए किन कानून बमोजिम कारवाही हुनु नपर्ने हो?’ स्पष्टीकरणमा आयोगको पत्र प्राप्त भएको समयले २४ घण्टाभित्र निर्वाचन आयोगमा स्वयं उपस्थित भई वा आयोगको इमेल ठेगाना [email protected] मा प्राप्त हुने गरी लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ।

बंगलादेशद्वारा पाकिस्तानलाई १२८ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा बंगलादेशले पाकिस्तानलाई १२८ रनको लक्ष्य दिएको छ ।​ एडिलेडमा पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२७ रन बनायो । बंगलादेशका लागि नजमउल्ला सान्तोषले ५४ रनको अर्धशतकीय पारी खेले । ४८ बल खेलेका उनले ७ चौका प्रहार गरे । त्यस्तै आफिफ हुसेनले २४ रन बनाउँदा सम्य सरकारले २० रनको योगदान गरे । बलिङतर्फ पाकिस्तानका लागि साहिन अफ्रिदीले सर्वाधिक चार विकेट लिए । त्यस्तै सादाब खानले दुई विकेट लिए । आजको खेलमा जित निकाल्दै पाकिस्तान सेमिफाइनलमा पुग्ने योजनामा छ । यता बंगलादेश पनि सोही लक्ष्यमा छ । दुबै टोली चार खेलबाट ४ अंक छ ।

श्रीलङ्काका क्रिकेटर दानुष्का गुणातिलके यौन दुर्व्यवहारको आरोपमा पक्राउ

एजेन्सी । श्रीलङ्काका क्रिकेटर दानुष्का गुणातिलके यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् । अस्ट्रेलियाको सिड्नीमा उनी पक्राउ परेका समाचार एजेन्सी पीटीआईले जनाएको छ । उनी हिजो पक्राउ परेका हुन् । सिड्नी प्रहरीले पनि यौन दुर्व्यवहारको आरोपमा एक जना पक्राउ परेको जानकारी दिएको छ । तर, नाम भने सार्वजनिक गरेको छैन । पीडित महिलाले गएको नोभेम्बर २ तारिखमा आफूमाथि यौन दुर्व्यवहारक भएको आरोप लगाएकी छिन् । उनीहरुबीच एक डेटिङ एपमार्फत कुराकानी भएको र भेटघाट भएको खबरमा उल्लेख छ ।

प्रधानमन्त्री देउवा आज पनि गृहजिल्ला डडेलधुरामा , यस्ता छन् कार्यक्रम

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज पनि आफ्नो गृहजिल्लाका दुई चुनावी कार्यक्रममा सहभागीता जनाउने भएका छन् । नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले आज डडेल्धुराको आलिताल गाउँपालिका गोदाममा ११ बजे र दिउँसो २ बजे परशुराम नगरपालिका जोगबुढामा हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम र रहेको छ । देउवाले बिहीबार अमरगढी नगरपालिकास्थित बसपार्कमा आयोजित गठबन्धनको आमसभालाई सम्बोधन गरेका थिए । त्यस्तै शुक्रबार नवदुर्गा गाउँपालिका बेलापुर खुनी र गन्यापधुरा गाउँपालिका बडालमा सम्बोधन गरेका थिए। त्यस्तै शनिबार अजयमेरू गाउँपालिका भद्रपुर र भागेश्वर गाउँपालिकाको आमसभा सम्बोधन गरेका थिए।उनी आफ्नो गृह जिल्लाको चुनावी कार्यक्रमलाई सम्बोधन गर्न बिहीबार डडेलधुरा पुगेका थिए। देउवा मंसिर ४ गते हुने चुनावमा सत्ता गठबन्धनका तर्फबाट डडेलधुरामा प्रतिनिधिसभा सदस्य उम्मेदवार छन्। डडेलधुरबाट उनी २०४८ सालयता कुनै पनि निर्वाचनमा पराजित भएका छैनन । उनी यो पटक आफ्नो सातौँ जितको खोजीमा छन् ।

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि, यस्ता छन् एजेण्डा

काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (यूएनएफसीसीसी) को पक्ष राष्ट्रको २७ औं सम्मेलन (कोप–२७) आज (आइतबार) देखि शुरु हुँदैछ । सम्मेलन मंसिर २ गते (नोभेम्बर १८ तारिख २०२२) सम्म इजिप्टको शार्म एल–शेखमा हुँदैछ । उक्त सम्मेलनले विज्ञानमा आधारित चुनौती र ‘रियो’ १९९२ देखि ‘ग्लास्गो’ २०२१ (कोप २६) सम्म भएका सम्झौता, निर्णय र प्रतिबद्धतामा आधारित भएर समावेशी तथा महत्वाकांक्षी परिणाम दिने अपेक्षा गरिएको छ । साथै उत्सर्जन न्यूनीकरण, अनुकूलन प्रयासलाई बढावा दिने र उपयुक्त वित्तको बढ्दो प्रवाहको माध्यमबाट विश्वव्यापी जलवायु कार्यलाई गति दिनेसमेत सम्मेलनको लक्ष्य छ । सम्मेलनमा पृथ्वीको तापक्रम वृद्धि एक दशमलव पाँच डिग्री सेल्सियसमा कायम गर्ने पाटोमा विश्वका सबै राष्ट्रहरू एक्यबद्ध हुने, यस वर्ष ग्लास्गो प्याक्टको कार्यान्वयन र राष्ट्रिय निर्धारित योगदान ९एनडीसीज० र न्यूनीकरणका महत्वाकांक्षाी लक्ष्यका कार्ययोजना तयार गर्ने, अनुकूलनका विश्वव्यापी लक्ष्यमा सहमत हुने र कोप २६ मा सहमत भएको अनुकूलन वित्तको कार्यान्वयन गर्ने बारेमा छलफल र निर्णय हुनेछ । यसबाहेक कोप–२७ मा वित्तसम्बन्धी सबै एजेन्डा अगाडि बढाइ जलवायु वित्तका विषयमा महत्वपूर्ण प्रगति गर्ने, सन्तुलित रूपमा ठोस नतिजा प्राप्त गर्न भएका सम्झौतालाई सुधार र सहजीकरण गर्ने, हानी नोक्सानीसम्बन्धी काम गर्ने संयन्त्र (सेन्टियागो नेटवर्क), हानी तथा नोक्सानी सुविधा सम्मेलनका एजेण्डा रहेको वन तथा वतावरण मन्त्रालयले जनाएको छ । नेपालको तयारीका लागि उक्त मन्त्रालयले सम्मेलनमा प्रस्तुत गरिने अवधारणापत्र तयार गरेको छ । अवधारणापत्रमा विशेष गरी हिमाली क्षेत्रका मुद्दा, अनुकूलन तथा कृषि र खाद्य सुरक्षा, न्यूनीकरण (दफा ६, एनडीसी, इटीएफ)लगायत विषय रहेको मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख तथा सहसचिव डा बुद्धिसागर पौडेलले जानकारी दिए । यसैगरी नेपालले विश्वव्यापी प्रगति समीक्षा, हानी तथा नोक्सानी (वित्त, सान्टियागो सञ्जाल), जलवायु वित्त (नयाँ संयुक्त वित्त लक्ष, वित्तको पूर्णता), लैङ्गिक, युवा, स्थानीय समुदाय, जनजाति र आदिवासी र प्रविधि हस्तान्तरण र क्षमता अभिवृद्धि विषय प्राथमिकताकासाथ उठाउने उनले बताए । नेपालले उठाउने विषय कोप–२७ मा नेपालले पर्वतीय मुद्दामा नेतृत्व गर्नेछ । विश्वका उस्तै समस्या भएका पर्वतीय मुलुकसँग सहकार्य रणनीति बनाउन नेपालले गत सेप्टेम्बरमा मुस्ताङ पैरवी सम्मेलन आयोजना गरी सो विषयमा विशेष घोषणापत्र जारी गरेको थियो । यसैगरी विश्वका धनी र विकसित राष्ट्रलाई आफ्नो महत्वाकांक्षी एनडीसीज र दीर्घकालीन न्यून उत्सर्जन विकास रणनीति परिमार्जन गरी पुनः बुझाउन अनुरोध गरिनेछ । साथै यसको पालनामा कोपको सचिवालयलाई सक्रिय नेतृत्वका लागि नेपालले पैरवी गर्ने सहसचिव पौडेलले बताए । नेपालले अनुकूलनका लागि दोब्बर घोषणा गरिएको वित्तको प्रवाह सार्वजनिक माध्यमद्वारा अनुदानस्वरूप प्रदान गर्ने र शार्म एल–शेख कार्य योजना तयार हुनुपर्ने विषय पनि नेपालको प्राथमिकतामा छ । नेपालले आफू जस्तै अति कम विकसित देश, साना टापु र विकासशील राज्यको हरित जलवायु कोष र अन्य कोषका लागि आवेदन प्रक्रियाको सरलीकरण गर्न, क्षमता अवरोध हटाउन र जलवायु कोषमा प्रत्यक्ष पहुँच सुधार गर्न सशक्तरूपमा बहस तथा पैरवी गर्नेछ । कृषि क्षेत्रमा कोरोनोभिया संयुक्त कार्यक्रमको रूपमा उल्लेख्य प्रगति हुनुपर्ने विषय पनि नेपालले प्राथमिकताका साथ उठाउने तयारी गरेको छ । यस वर्ष जर्मनीको वोन बैठकमा कोरोनोभिया कार्यक्रम अनुकूलनलाई बढी महत्व दिने विषयमा केही सहमति भएको थियो । नेपालले यो कार्यक्रमको कार्यान्वयन, वित्त र प्रविधि हस्तान्तरणमा जोड दिने र यसको नेतृत्व नेपाललगायत कृषि प्रधान देशले लिने गरी तयारी गरिएको छ । सम्मेलनमा नेपालले पेरिस नियम पुस्तिकालाई कार्यान्वयनमा ल्याउन र कोप–२६ मा स्थापित न्यूनीकरण महत्वाकांक्षा र कार्यान्वयन योजनाअन्तर्गत विकसित देशहरूलाई जलवायु महत्वाकांक्षामा नेतृत्व गर्न आग्रह गर्नेछ । यसैगरी कार्बन व्यापारसम्बन्धी दफा ६ अनुसार बजार र गैर–बजार संयन्त्रको बारेमा कार्यान्वयनमा थप प्रष्टताका लागि नेपालले अल्पविकसित राष्ट्रहरूको समूह र जी ७७ र चिनियाँ समूहसँग सामिप्यमा रही पैरवी गर्ने वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्का सदस्य डा विमलराज रेग्मीले जानकारी दिए । नेपालले कोप २७ मा विकसित राष्ट्रहरूले सामूहिक रूपमा दीर्घकालीन जलवायु वित्तको लक्ष्यअनुसार सन् २०२० देखि २०२५ सम्म प्रत्येक वर्ष १०० बिलियन अमेरिकी डलर प्रदान गर्ने विषय उठाउने उनले बताए । जलवायु कोषहरूमा नेपालको सरल तथा सहज पहुँच हुनुपर्ने र नेपालले अनुकूलन, उत्थानशीलता तथा हरित विकासको अवधारणा प्रवर्द्धनमा प्रदान गरिने वित्त अनुदानको रूपमा आउनुपर्ने निश्चितताबारे पैरवी गर्नेछ । हानि तथा नोक्सानीको छुट्टै एजेन्डा कोप–२७ मा हानि नोक्सानीसम्बन्धी मुद्दालाई औपचारिक एजेन्डा बनाउन पहल गरिनेछ । अल्पविकसित राष्ट्रहरूको समूह, जी ७७ र चिनियाँको समूहले हानि तथा नोक्सानी वित्तको छुट्टै व्यवस्थाको मागलाई उठाउने छन् । नेपाललगायत अल्पविकसित राष्ट्रहरू र जि ७७ र चिनियाँकोे समूहले हानि तथा नोक्सानी वित्तमा थप सहयोग गर्नुपर्ने र यसको यथेष्ट प्रमाण भएको कुरालाई प्रस्तुत गर्नेछ । नेपालले सेन्टियागो हानि तथा नोक्सानी संयन्त्रको प्रगति र हानि तथा नोक्सानी वित्तलाई औपचारिक रूपमा एजेन्डामा राखेर हानि तथा नोक्सानी वित्त व्यवस्था सुनिश्चित गर्न पहल गर्ने मन्त्रालयका सचिव डा प्रेमनारायण कँडेलले बताए । यसबाहेक विश्वव्यापी प्रगति समिक्षाका लागी विवरण सङ्कलन, न्यूनीकरण, अनुकूलन, हानि–नोक्सानी र कार्यान्वयनको संरचना र सहयोगसम्बन्धी प्रगति मापन गर्नु महत्वपूर्ण भएको र यसले पक्ष राष्ट्रहरूलाई आफ्नो महत्वाकाङ्क्षा र सहयोग तथा सहकार्य अगाडि बढाउन मद्दत पुर्याउने सचिव कँडेलले बताए । आदिवासी, महिला, युवा, बालबालिका, तथा जलवायुजन्य जोखिममा रहेका समुदायको अधिकार र उनीहरूको चासो सम्बोधन गर्ने विषय पनि नेपालको एजेन्डा रहेको छ । यसका लागि नेपालले लैङ्गिक कार्ययोजनालाई कार्यान्वयनमा ल्याउन आवश्यक वित्त हस्तान्तरण, प्रविधि हस्तान्तरण र लैङ्गिक सम्पर्क व्यक्तिको क्षमता अभिवृद्धिमा हासिल भएका प्रगतिबारे छलफल गर्ने र स्थानीय र आदिवासीको भूमिकाबारे प्रष्ट रणनीति हुनुपर्ने विषय उठान गरिनेछ । नेपाललाई अनुकूलन र न्यूनीकरणका कार्यहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रविधि सहज हस्तान्तरण र अतिकम विकसित राष्ट्रहरूमा विद्यमान क्षमताको कमी परिपूर्ति गर्नुपर्ने विषय नेपालको प्राथमिकतामा रहेको छ । कोप–२७ मा नेपालको सहभागिता नोभेम्बर ६ देखि ८ तारिखसम्म हुने राष्ट्र प्रमुखहरूको बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीको नेतृत्वमा नेपालको प्रतिनिधिमण्डलले सहभागिता जनाउने छ । नोभेम्बर ९ देखि १८ तारिखसम्म हुने कोप–२७ का औपचारिक र अनौपचारिक बैठकमा वन सचिव, सहसचिव र सरकारी प्रतिनिधिले सहभागिता जनाउने छन् । त्यस्तै नोभेम्बर ६ देखि १८ तारिखसम्म हुने अन्य बैठकमा सचिव, सह–सचिव र सरकारी र अन्य प्रतिनिधिले साइड इभेन्टहरूमा नेपालको प्रस्तुति गर्न सहभागिता जनाउने मन्त्रालयले जनाएको छ ।

एमाले अध्यक्ष ओलीको अभिव्यक्ति विरुद्ध भिम रावलको आक्रोश

काठमाडौं । कञ्चनपुरमा भएको चुनावी सभालाई संवोधन गर्ने क्रममा एमाले अध्यक्ष केपी ओलीले दिएका अभिव्यक्ति प्रति नेता भिम रावलले आक्रोश ब्यक्त गरेका छन् । ओलीले सार्वजानीक कार्यक्रममै रावललाई उनी बुढा भइ सकेका र उनको काम नभएको बताएका थिए । कञ्चनपुरमा भएको चुनावी सभामा एक कार्यकर्ताले रावलको नाम लिए पछि ओलीको उत्तेजित हुँदै दशकौदेखी उनको मुख खाली नरहेको भन्दै ‘भीम रावलको तपाईलाई किन चिन्ता, ४८ सालदेखि एक छिन मुख खाली छैन , बुढो भइसक्नु भयो, वेकार किन भीम रावलको चिन्ता गर्नुहुन्छ’ भनेका थिए । उनले रावल प्रति आक्रोश पोख्दै अब रावललाई मात्र नभएर अरुलाई पनि पालो दिन पर्ने भन्दै –‘अरुलाई पालो दिनु पर्दैन, एउटै भीम रावल, भीम रावल, के को खेती गरिराख्या भीम रावल, के भीम रावल, थुप्रै रावलहरु हुनुहुन्छ नि त सुदूरपश्चिममा , थुप्रो रावलहरुलाई अगाडि बढाइन्छ’ भनेका थिए । नेता रावलले ओलीका यस्ता कुराले उनी भित्र बलिरहेको क्रोध , बदला, निषेध र द्वेषपूर्ण दुर्भाव उदाँग भएको भनेका छन् । ओलीको अव्यिक्ति विरुद्ध नेता रावलले विभिन्न पाँच प्रश्न गरेका छन् । १. मलाई ४८ सालमा तत्कालिन महासचिव मदन भण्डारी र नेता माधव नेपालले चुनाव नजितिने भएपनि हाम्रा मतहरु सुरक्षित गर्न अछाममा गएर लड्नु होस् भन्दा म तयार भएँ तर सांसद ५१ सालदेखि मात्र भएँ । ओलीजी ४८ सालदेखि सांसद, मन्त्री, पार्टी अध्यक्ष र प्रधानमन्त्री हुनुभएको छ र कहिल्यै मुख खाली छैन” र फेरी पनि खान को लागि मुख किन वाउनु भएको त ? २. म ६७ वर्ष लागेकालाई बुढो” भन्ने हो भने ७० वर्ष काटि सकेका ओलीजी फेरी सांसद र प्रधानमन्त्रीका लागि कसरी तन्नेरी हुनु भयो? म भन्दा उमेर बढी भएका अरुलाई उम्मेदवारका लागि किन सहमति दिनु भयोरु ३। हो, अरुलाई पालो दिन पार्टीले मापदण्ड बनाएमा सबैले मान्नु पर्छ । तर अरुलाई पालो दिनु पर्ने भए ओली जी र सचिवालय तथा स्थायी कमिटीका अनेकौं पदमा रहेका र अनेकौं पटक सांसद र मन्त्री भएका व्यक्तिका हकमा अरुलाई पालो दिनुपर्ने भन्ने किन लागु नहुने त ? ४. ओलीजीले थर विशेषलाई पनि उल्लेख गरी सुदूरपश्चिममा थुप्रै रावल भएका र तीनलाई अगाडि बढाउने भन्दै व्यक्तिगत रुपमा अपमान हुने गरी बोल्नु भएको रहेछ । स्मरण होस् , अछाम जिल्ला लगायत देशका विभिन्न भागमा ब्राम्हण र क्षेत्री गरी थुप्रै ओलीहरु पनि छन् , तिनलाई एमालेमा तत्काल पार्टी अध्यक्ष र प्रधानमन्त्री किन नबनाउने त? ५. पार्टी अध्यक्ष र प्रधानमन्त्री भइसकेको व्यक्तिबाट मञ्चमा भाषण गर्दैगर्दा प्रदर्शन गरिएको उत्तेजनाले अछामी जनताको तर्फबाट भएको निर्णय उल्ट्याउनुको रहस्यको एउटा पर्दा उनेको छ ।

डुडुवाको तटबन्ध योजनालाई पूर्णता दिइनेछ: मन्त्री अथक

कोहलपुर । पाँच दलीय वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई कोहलपुर नगरपालिका वडा नं. १० का मतदाताले डुडुवा तटबन्ध योजनालाई पूर्णता दिनुपर्नेमा जोड दिएका छन् । शुक्रबार प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार महेश्वरजंग गहतराज (अथक) र प्रदेशसभा सदस्य पदका उम्मेदवार फुलाराम थारुसहित वाम लोकतान्त्रिक गठबन्धन दलहरूको घरदैलो कार्यक्रममा ‘डुडुवा समस्या समाधानका लागि तटबन्धन, मुलुकको समृद्धिका लागि वाम-लोकतान्त्रिक गठबन्धन’ अपरिहार्य रहेको भन्दै मतदाताहरू उत्साही देखिएका छन् । घरदैलोका क्रममा विद्युत्‌ रोड, कालिकानगर र एकतानगर क्षेत्रका मतदाताहरूले विकास र समृद्धिको अभियानलाई पूर्णता दिन सकेको खण्डमा राजनीतिक नेतृत्व सफल हुने बताए । वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूले विकास र समृद्धिको एजेण्डा नै अहिलेको गठबन्धनको औचित्य भएकाले क्षेत्रगत विकासको सन्दर्भमा सदैव संवेदनशील रहने प्रतिबद्धता व्यक्त गरेका छन् । मतदातामा देखिएको उत्साहले गठबन्धनका उम्मेदवारहरूले नै काम गर्ने जिम्मेवारी पाउनेमा कुनै शंका नरहेको माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा बाँके निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका उम्मेदवार अथकको भनाइ छ । ‘मतदाताको घरदैलोमा पुग्दै गर्दा आत्मियता र सदासायता प्रकट गर्ने मतदाताहरुको मनोभावविपरीत हामी कहीँ कतै विचलित हुने छैनौँ,’ अथकले भने, ‘डुडुवा खोलाले बर्सेनि पुर्‍याउँदै आएको कटान र डुवानको समस्या समाधानका लागि तटबन्धनको योजनालाई पूर्णता दिन प्रतिबद्ध छौँ ।’ यस्तै प्रदेशसभा सदस्य सदस्य पदका उम्मेदवार फुलाराम थारुले वडा नं. १० का मतदाताहरूको साथ र समर्थनले थप ऊर्जा मिलेको प्रतिक्रिया दिए । हिजो मुलुकमा चर्किरहेको १० वर्षे द्वन्द्व व्यवस्थापनमा तत्कालीन नेपाली कांग्रेसका सभापति गिरिजा प्रसाद कोइराला र विद्रोही पक्ष तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निभाएको भूमिकालाई विश्व राजनीतिमा महत्त्वका साथ हेरिएको बताउँदै थारूले गिरिजा र प्रचण्डले नेपाली राजनीतिमा नयाँ चरणको विकास र समृद्धिको मार्ग देखाएअनुरुप आज मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेको उल्लेख गरे । उनले नेपाली कांग्रेस र माओवादी केन्द्रबीचको गठबन्धनपछि राजनीतिक विकासक्रममा नयाँ आयाम थपिनेमा मतदाता विश्वस्त देखिएकाले जनताका सबै खाले समस्या समाधानका लागि गठबन्धनको आवश्यकता रहेको दाबी गरे । घरदैलो कार्यक्रममा माओवादी केन्द्रकी स्थाई समिति सदस्य पूर्ण कुमारी सुवेदी, नेपाली कांग्रेसका नेता बलराम शर्मा, कृष्ण कार्की, टेक नारायण भुषाल, निरज चलाउनेलगायतका अगुवा नेता-कार्यकर्ताको सहभागिता रहेको थियो । बाँके निर्वाचन क्षेत्र नं. १ को प्रतिनिधिसभामा महेश्वर जंग गहतराज (अथक) गोलाकार भित्रको हसिया हथौडा, प्रदेश सभा १ (क) मा कृष्णा केसी (नमुना) गोलाकार भित्रको हँसिया हथौडा र १ (ख) मा फुलाराम थारु रुख चुनाव चिह्न लिएर चुनावी मैदानमा छन् ।

संसद्को एक कार्यकाल संविधान जोगाउनमा लाग्यो : नेता सिंह

काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान कार्यान्वयनसँगै आर्थिक विकासका लागि सत्ता गठबन्धनलाई मत दिन आवश्यक रहेको बताएका छन्। सङ्घीयता अनुसारको तीनै तहलाई अधिकार सम्पन्न गर्न संविधान अधिकारसूची अनुसार कानुन बनाउन आवश्यक रहेको उनको भनाइ छ।काठमाडौँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका सिंहले संसद्को एक कार्यकाल संविधान जोगाउनमा लागेको बताए। “संसद्को दुई कार्यकाल संविधान लेखनमा गयो, एक कार्यकाल संविधान जोगााउनै लाग्यो, अब कार्यान्वयनमा लैजानुपर्यो”, शनिबार भएको प्रचारप्रसार कार्यक्रममा उनले भने। रासस

१६ थान कौडा र २ लाख ८६ हजार ६८० रुपैयाँसहित ८ जना पक्राउ

जुवा खेलेको आरोपमा काठमाडौंको पैयाटारबाट ८ जनालाई प्रहरीले पक्राउ गरेको छ। बुधबार राति पौने १२ बजे तार्केश्वर नगरपालिका पैयाटारस्थित भिमबाबु केसी घरबाट ८ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले जानकारी दिए। उनीहरूबाट १६ थान कौडा र २ लाख ८६ हजार ६८० रुपैयाँ बरामद भएको छ। प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। प्रहरी वृत्त बालाजुले थप अनुसन्धान गरिरहेको छ।