राप्रपाको केन्द्रिय समिति बैठक आज पनि बस्दै
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रिय समिति बैठक आज पनि बस्दैछ ।
सोमबारबाट सुरु भएको बैठकमा अध्यक्ष राजेन्द्र लिङदेन ‘यथास्थितिवादी राजनीतिक कित्ताको एकमात्र विकल्प राप्रपा’ नामक राजनीतिक प्रतिवेदनलगायतमा आजबाट छलफल सुरु हुनेछ ।
यसैगरी, आजको बैठकमा अध्यक्ष लिङदेनले पेश गरेको राजनीतिक प्रतिवेदनसहित महामन्त्रीले पेश गरेको सांगठनिक र कोषाध्यक्षले पेश गरेको आर्थिक प्रतिवेदनमाथि केन्द्रिय सदस्यहरूले धारणा राख्ने कार्यक्रम रहेको छ ।
अध्यक्षको राजनीतिक, महामन्त्रीको सांगठनिक र कोषाध्यक्षको आर्थिक प्रतिवेदनमाथि छलफल हुने प्रवक्ता सगुन लावतीले जानकारी दिए ।
प्रहरीले संसद सचिवालयलाई दियो रायमाझी पक्राउ परेको जानकारी
काठमाडौं । प्रहरीले फरार एमाले सांसद टोपबहादुर रायमाझीलाई पक्राउ गरेको सूचना संसद सचिवालयलाई दिएको छ। कुनै पनि सांसदलाई नियन्त्रणमा लिएको जानकारी प्रहरीले प्रतिनिधि सभामा जानकारी दिएपछि सभामुखले निलम्बन गर्ने प्रावधान छ। प्रतिनिधि सभा नियमावलीको नियम २४८ मा सांसद पक्राउ परेको सूचना सभामुखले सदनलाई जानकारी दिनुपर्ने व्यवस्था छ। भुटानी शरणार्थीसम्बन्धी ठगी प्रकरणमा प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि रायमाझी फरार भएका थिए। उनलाई आइतबार साँझ प्रहरीले बूढानीलकण्ठबाट पक्राउ गरेको थियो। वैशाख २० गते प्रहरीले पक्राउ पुर्जी जारी गर्दा अर्घाखाँचीमा रहेका रायमाझी त्यसयता फरार थिए ।
रायमाझीलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगियो
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सचिव एवं पूर्व उपप्रधानान्त्री टोपबहादुर रायमाझीलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ । रायमाझीलाई सोमबार प्रहरीले सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएपछि म्याद थपका लागि अदालत लगेको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा वैशाख २० गते पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार भएका थिए । उनलाई अनुसन्धानका लागि प्रहरीले आइतबार साँझ काठमाडौंको बूढानीलकण्ठस्थित पासीकोटबाट पक्राउ गरेको थियो । शरणार्थी प्रकरणमा रायमाझीका छोरा सन्दीपविरुद्ध वैशाख २० गते नै पक्राउ पुर्जी जारी भएको थियो । उनका छोरा सन्दीप भने यसअघि नै पक्राउ परिसकेका छन् ।
आगलागीमा परेर बारामा एकै परिवारका ४ जना घाइते
बारा । बाराको आदर्श कोतवाल गाउँपालिका–१ च्युटाहास्थित एक घरमा आइतबार राती आगलागी हुँदा एकै परिवारका चार जना जलेर घाइते भएका छन् । घाइते हुनेमा पतीपत्नी र दुई छोरा रहेका छन् । लामखुट्टे भगाउन बालिएको घुरबाट आगो सल्किएर घरमा आगलागी हुँदा ३५ वर्षीय मनोज यादव, उनकी पत्नी ३० वर्षीया चेतरीदेवी, चार वर्षीय छोटु यादव र तीन वर्षीय सन्दीप यादव जलेर घाइते भएका हुन् । उनीहरुको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार घाइतेमध्ये चेतरीदेवीको अवस्था गम्भिर रहेको छ । सुतिरहेको बेला अचानक घरमा आगलागी भएपछि स्थानीयले उद्धार गरी उनीहरुलाई अस्पताल लगेका थिए । आगलागीबाट घर पूर्णरुपमा जलेर नष्ट भएको छ । घरमा आगलागी हुँदा सामान, लत्ताकपडा, अन्न जलेर नष्ट भएको छ भने पशुचौपाया समेत जलेर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता पाण्डेकाअनुसार आगलागीबाट चार लाख १० हजार बराबरको क्षति भएको छ ।
पूर्वगृहमन्त्री खाँण बयानका लागि सरकारी वकिलको कार्यालयमा
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर हिरासतमा रहेका कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले बयानका लागि सरकारी वकिलको कार्यालयमा लगेको छ । प्रहरीले सोमबार बयानका लागि खााणलाई काठमाडौंको बबरमहल स्थित सरकारी वकिलको कार्यालय लगेको हो ।पूर्वगृहमन्त्री खाँण सहित नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकालाई आइतबार हिरासतमा राखेर अनुसन्धानका लागि चार दिनको म्याद थप गरिएको थियो । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै गरिएको ठगीमा पक्राउ परेका मुख्य आरोपितहरुले खाँणको नाम लिएपछि उनको संलग्नाता रहेको भन्दै प्रहरीले खाँणलाई गत साता पक्राउ गरेको थियो । यही प्रकरणमा तानिएर फरार भएका नेकपा एमालेका सचिव एवं पूर्व उपप्रधमामन्त्री टोप बहादुर रायमाझीलाई प्रहरीले आईतबार राति पक्राउ गरेको थियो ।
काठमाडौं उपत्यकामा वितरण गरिँदै आएको मेलम्चीको खानेपानी आजदेखि बन्द
काठमाडौं । काठमाडौं उपत्यकामा वितरण गरिँदै आएको मेलम्चीको खानेपानी आजदेखि बन्द भएको छ। आयोजना स्थलको मुहानमा आवश्यक मर्मत सम्भार गर्न दुई साताका लागि पानी वितरण बन्द गरिएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए। सामान्य बाढी आएका बेला पनि आयोजना सञ्चालनमै राख्ने गरी अहिले उपकरण जडान तथा मर्मतसम्भार गर्न लागिएको हो। गेट नम्बर–९ मा रहेको हेडवर्क्समा नयाँ सिलिन्डर जडान गर्नु पर्ने छ। त्यसका लागि पानीको प्रवाह नै बन्द गर्नु परेको कुँवरको भनाइ छ। यस्तै गेट नम्बर–१ मा पनि जाली राख्नुपर्ने उनले जानकारी दिए। गत वर्ष फलामको पाता राखेर पानी बन्द गरिएको थियो। ठूलो बाढी आएको बेला सुरक्षित रूपमा आयोजनालाई बन्द गर्न मिल्ने र सामान्य बाढी आएको बेला आयोजनालाई सञ्चालनमै राख्ने गरी अहिले उपकरण जडान तथा मर्मत सम्भार गर्न लागिएको हो। मर्मत सम्भारपछि पानी वितरण कार्य पुनः नियमित रूपमा सञ्चालन गरिने आयोजनाले जनाएको छ।
नेपाल बंगलादेश ऊर्जा सचिवस्तरीय बैठक आजदेखि
काठमाडौं । नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय पाँचौं बैठक आज सुरु हुने भएको छ। बंगलादेशको ढाकामा आज सह–सचिवस्तरीय बैठकमा ऊर्जा व्यापारका विषयमा प्राथमिकताका साथ छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। बैठकमा ६ सय ८३ मेगावाटको जलाशययुक्त सुनकोशी तेस्रो आयोजना संयुक्त लगानीमा कसरी अघि बढाउने भनेर पनि छलफल हुने ऊर्जा मन्त्रालयले जनाएको छ। भोलि सचिवस्तरीय बैठक बस्नेछ। परराष्ट्रमन्त्री एनपी साउदको बंगलादेश भ्रमणका क्रममा आइतबार दुई देशका निजी क्षेत्रकाबीच पनि विद्युत व्यापारको विषयमा छलफल भएको थियो । मन्त्री साउदले प्रधानमन्त्री शेख हसिनासँग नै विद्युत व्यापारका बारेमा छलफल गरेका थिए।
नारायणी नदीमा डुबेर श्रीमान् श्रीमतीको मृत्यु
त्रिवेणी । नवलपरासी–(बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित नारायणी नदीमा डुबेर श्रीमान् श्रीमतीको मृत्यु भएको छ । जिल्लाको मध्यविन्दु नगरपालिका–२ नन्दपुरस्थित नारायणी नदीमा डुबेर मध्यविन्दु–२ कोल्हुवाका करिब ५५ वर्षीय सोमबहादुर बोटे र उनकी श्रीमती करिब ५० वर्षीया बगरी बोटेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वनवलपुरका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए । नारायणी पारी चितवन राष्ट्रिय निकुञ्जमा निगुरो टिप्न जाँदा नदी तर्ने क्रममा उनीहरुलाई नदीले बगाएको थियो । आइतबार बेलुका नदीले बगाएर बेपत्ता भएका दुवै जनालाई राति मृतावस्थामा फेला पारिएको प्रहरी नायब उपरीक्षक पाठकले बताए ।
उद्योग मन्त्री रिजाल अनुुगमनमा, दबाबमा नपरी काम गर्न मातहतका कर्मचारीलाई निर्देशन
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले कसैको दबाबमा नपरी काम गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् । नेपाल गुणस्तर तथा नापतौल विभागको आज अनुगमन गर्ने क्रममा मन्त्री रिजालले कर्मचारीलाई यस्तो निर्देशन दिएका हुन् । सचिव, महानिर्देशक या स्वयम् म आफैँले पनि कुनै अनुचित काम गर्न दबाब दिए भने त्यो काम नगर्नुहोला,’ मन्त्री रिजालले भने । उनले सेवाग्राहीलाई झन्झटरहित सेवा उपलब्ध गराउन आग्रह गरे । मन्त्री रिजालले आजै खानी तथा भूगर्भ विभागको पनि अनुगमन गरे । देशलाई समृद्धि तर्फ लैजाने गरी उपलब्धिमूलक काम गर्न हौसला दिँदै उनले पारदर्शी भएर काम गर्न आग्रह गरे । ‘हामी त आउँछौँ जान्छौँ, तपाईँहरु स्थायी सरकार हो, हामीले त गाइडलाइन दिने हो, काम गर्ने तपाईँहरूले हो,’ मन्त्री रिजालले भने ।
५९ औँ विद्यार्थी दिवस : प्रचण्ड, माधव र विप्लव सहितका नेताले एउटै मञ्चबाट सम्वोधन गर्ने
काठमाडौं । ५९ औँ विद्यार्थी दिवसको अवसरमा पाँच विद्यार्थी संगठनले काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गर्ने भएका छन् । नेकपा माओवादी निकट अखिल क्रान्तिकारी, नेकपा एस निकट अनेरास्ववियु, राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौ, नेसपा निकट समाजवादी विद्यार्थी युनियन र नेकपा निकट अखिल क्रान्तिकारीले संयुक्त रुपमा कार्यक्रमको आयोजना गर्ने भएका हुन् । विद्यार्थी संगठनले सोमवार राष्ट्रिय नाचघरमा “विद्यार्थी दिवस र अबको बाटो “ विषयक कार्यक्रम आयोजना गर्न लागेको अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए। पराजुलीका अनुसार कार्यक्रममा प्रधानमन्त्री एवम् नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई ,राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव सहभागी हुनेछन् । विद्यार्थीहरुमा एकताको सन्देश दिन आफुहरुले संयुक्त कार्यक्रम गर्न लागेका छौँ पराजुलीले भने, पार्टी सडक र सत्तामा जहा भएपनी हामी सँगै छौ र सँगै हुनेछौ।
विदेशमा छ महिना काम गरेर फर्किएकाले मात्र दुई वटा फोन ल्याउन पाउने
काठमाडौं। वैदेशिक रोजगारीमा छ महिनासम्म काम गरेर फर्किएका नेपालीले मात्रै दुई वटा मोबाइल फोन ल्याउन पाउने भएका छन्। भन्सार विभागले आइतबार एक सूचना जारी गर्दै श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको छ महिना पूरा भएकाले मात्रै दुई वटा मोबाइल फोन ल्याउन पाउने जनाएको हो। विभागका निर्देशक पुण्यविक्रम खड्काले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीले एउटा चलाइरहेको र एउटा ‘सिलप्याक’ वा दुवै चलाइरहेको मोबाइल ल्याउन पाउने बताए । उनका अनुसार अध्ययन तथा अन्य प्रयोजनका लागि विदेशीएका नेपालीले भने एक थान मात्रै फोन ल्याउन पाउनेछन्। “श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गई लगातार कम्तीमा छ महिनासम्म काम गरी फर्केका नेपाली नागरिकले महसुल सुविधामा ल्याउन पाउने थप एक थान मोबाइल फोनको भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रक्रिया पूरा गर्नुपर्छ”, जारी सूचनामा भनिएको छ, “अन्य प्रयोजनका लागि विदेशीएका नेपालीले एक थान मोबाइल फोन सेटको घोषणा भने भन्सार कार्यालयमा गर्नुपर्दैन।” यही वैशाख २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको थियो। यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका मालवस्तुसम्बन्धी आदेश, २०७७ मा विदेशबाट फर्कने यात्रुले आफूले प्रयोग गरिरहेको मोबाइल फोन थान एक महसुल नतिरी ल्याउन पाउने व्यवस्था रहेको छ। सोही व्यवस्थाअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले जेठ १ गतेदेखि अवैध फोन नियन्त्रण गर्ने प्रणाली एमडीएमएस लागू गर्दैछ। उक्त फोन नेपाल दूरसञ्चार प्राधिकरणका प्रणालीमा व्यक्ति स्वयंले अनलाइन माध्यमबाट दर्ता गर्नुपर्ने भन्सार कार्यालयले जनाएको छ। दर्ताका लागि राहदानी वा नागरिकता र विदेश जाँदा र फर्किंदा देखिने राहादानीको पृष्ठ वा बोर्डिङ पास अपलोड गर्नुपर्नेछ हुन्छ। यसअघि गत पुस १५ गतेदेखि प्राधिकरणले अवैध फोन नियन्त्रण गर्ने प्रविधि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ९एमडिएमएस० लागू गर्ने तयारी गरेको थियो। प्राधिकरणले उक्त सिष्टम लागू गर्ने तयारी गरेकामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा तत्कालका लागि उक्त काम रोकिएको थियो।
यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका राईविरुद्ध सात दिन म्याद थपेर अनुसन्धान हुँदै
काठमाडौं । खोटाङ जिल्ला अदालतले कृषी विद् मदन राईमाथि बाल यौन दुर्व्यवहार मुद्दामा अनुसन्धान गर्न प्रहरीलाई ७ दिनको समय दिएको छ । यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका खोटाङको दिक्तेलस्थित ‘शुभद्रा मदन फाउन्डेसन’ (शुभम) का संस्थापक राईविरुद्ध बाल यौनदुरुपयोग कसुरमा अनुसन्धानका लागि अदालतबाट सात दिन म्याद थप भएको हो । फाउन्डेसनका आवासीय छात्रालाई यौन दुर्व्यवहार गरेको कसुरमा खोटाङ प्रहरीले राईलाई उनकै शुभम् फाउन्डेसनबाट नियन्त्रणमा लिएको थियो । अहिले म्याद थपेर अनुसन्धान भइरहेको छ ।
प्याब्सक अध्यक्षमा राजन श्रेष्ठ निर्वाचित
काठमाडौं। निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याब्सक)को अध्यक्षमा राजन श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार भएको संस्थाको पाचौं अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् । समितिको उपाध्यक्षमा मिरा सिलवाल र पुष्पराज सिंखडा, महासचिवमा सुदिप काफ्ले चयन भए । यस्तै, उपमहासचिवमा राजु पुडासैनी, सचिवमा लक्ष्मी गुरूङ, कोषाध्यक्षमा राजेश्वर तिवारी र सहकोषाध्यक्ष होम लक्ष्मी गुरूङ चयन भए । २०६१ सालमा स्थापित यो संस्थाले विद्यार्थीको पढाइ, शिक्षक, सञ्चालक र प्रधानाध्यापकको क्षमता विकास तथा अधिकारका क्षेत्रमा काम गर्ने गर्दछ ।
विद्युतीय शवदाह गृह निःशुल्क गर्ने तयारी
काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा दाहसंस्कारका लागि ल्याइने शवलाई निःशुल्क शवदाहको व्यवस्था गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बसेको कोष सञ्चालक परिषद्को बैठकले थप चार विद्युतीय शवदाह गृहको व्यवस्था गरी निःशुल्क दाहसंस्कारको व्यवस्था गर्ने निर्णय गरेको कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले जानकारी दिए । “कोषले कार्यविधि निर्माण गरेपछि कोष सञ्चालक परिषद्ले सो कार्यविधि पारित गर्ने छ । यसका लागि केही समय लाग्ने छ”, उनले भने । पशुपतिमा रहेका दुई वटा विद्युतीय शवदाह गृहमध्ये एउटाको यन्त्र बिग्रिएको छ । हाल एउटा शवदाह गृह मात्र सञ्चालनमा रहेको सदस्य सचिव थापाले बताए । सोही स्थानमा थप चार विद्युतीय शवदाह गृह निर्माण गरी घाटमा आउने सबै शवलाई निःशुल्क दाहसंस्कारको व्यवस्था गर्ने तयारी गरिएको कोषले जनाएको छ । पशुपति आर्यघाटमा शवको दाहसंस्कार गरेबापत दाउराबाट जलाउने घाटमा रु १५ हजार र विद्युतीय शवदाह गृहमा रु चार हजार शुल्क तोकिएको छ । इच्छुक दाताका लागि स्वेच्छाले कोषको खातामा आर्थिक सहयोग गर्न चाहेमा विकल्प खुला राखिने कोषले जनाएको छ । थप विद्युतीय शवदाह गृह यन्त्र खरिदका लागि कोषले आफ्नै स्रोतबाट रु आठ करोड छुट्याएको छ । शवदाह गृह निर्माणपछि निःशुल्क सञ्चालनका लागि कोषले रु एक करोडको अक्षय कोष स्थापना गरेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । बैठकको अध्यक्षता संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री सुदन किराँतीले गरेका थिए । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पालीकोसमेत उपस्थिति थियो ।
पूर्व गृहमन्त्री ‘बादल’का छोरा प्रतिकविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं । पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतिक थापाविरुद्ध पक्राउ अनुमति जारी भएको छ । जिल्ला अदालत काठमाडौँले शुक्रवार प्रतिकविरुद्ध पक्राउ अनुमति जारी गरेको उपत्यका प्रहरी कार्यालयका एकजना अधिकृतले बताए । भुटानी शरणार्थीको कोटामा नेपालीलाई अमेरिका पठाउने नाममा ठगेको प्रकरणमा प्रतिकको संलग्नता देखिएको छ । नेकपा (एमाले)का उपाध्यक्ष ‘बादल’ गृहमन्त्री हुँदा गिरोहले भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने धन्दा सुरु गरेका थिए । सो प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे र ‘बादल’का सुरक्षा सल्लाहकार डा.इन्द्रजित राईसहित १२ जना थुनामा छन् । शरणार्थीको नाममा आरोपीहरूले अहिलेसम्म ४० करोड ठगेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
शरणार्थी प्रकरणमा कांग्रेसका पूर्वसभासद शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं । नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा नेपाली कांग्रेसका पूर्वसभासद आङतावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । हिरासतमा सानु भण्डारीलाई भेटेका उनीमाथी पक्राउ पुर्जी जारी भएको काठमाडौं प्रहरी स्रोतले जानकारी दियो । यो प्रकरणमा मुछिएका कांग्रेस नेताले शेर्पालाई भण्डारीसँग भेट गर्न पठाएको र बयान प्रभावित गर्न खोजेको आरोप लागेको थियो । शेर्पाले जिल्लाका विभिन्न व्यक्तिहरूलाई अमेरिका पठाइदिने भन्दै रकम असुलेको र यो प्रकरण सार्वजनिक भएपछि आरोपी सानु भण्डारीलाई थुनामा नै गएर भेटेको आरोप छ । शेर्पा २०७० सालमा रामेछापबाट सांसदमा निर्वाचित भएका थिए ।