महिला साफ च्याम्पियनसिप आजबाट सुरु हुँदै, यस्तो छ खेल तालिका
काठमाडौं । महिला साफ च्याम्पियनसिप फुटबलको सातौं संस्करण आज सुरु हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साफ च्याम्पियनसिपको सर्वाधिक सफल टोली भारतले पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात हुनेछ। खेल साँझ ५ः३० बजे सुरु हुनेछ।
सन् २०१० देखि सुरु भएको साफ च्याम्पियनसिपको ६ संस्करणमा ५ पटक विजेता बनेको थियो। दुई वर्षअघि नेपालमा भएको पछिल्लो संस्करणमा भने भारत सेमिफाइनलमा पराजित भएको थियो। त्यति बेला नेपालसँग पराजित हुँदै भारत प्रतियोगिताबाट बाहिरिएको थियो।
नेपालले भारतलाई महिला फुटबलमा हराएको त्यो पहिलो पटक थियो। भारत सदा जस्तै प्रतियोगिताको मुख्य दाबेदार मध्येको टोली हो।
पाकिस्तानको भने साफ च्याम्पियनसिपमा कमजोर उपस्थिति रहँदै आएको छ। २०१० मा बाहेक पाकिस्तान सेमिफाइनलमा पनि पुग्न सकेको छैन। भारतलाई रोक्न सके वा हराउन सके पाकिस्तानी फुटबलका ठूलो नतिजा हुनेछ। भारत, पाकिस्तानसँगै बंगालादेश समूह एमा छन् ।
नेपालसहित भुटान, श्रीलंका र माल्दिभ्स अर्को समूहमा छन्। भुटानसँग शुक्रवार खेल्दै नेपालले च्याम्पियनसिपको सुरुवात गर्नेछ। खेल ५ः३० बजे सुरु हुनेछ। त्यसअघि शुक्रवार श्रीलंका र माल्दिभ्स बीच खेल हुनेछ। नेपालले लगातार तेस्रो पटक साफ च्याम्पियनसिपको आयोजना गर्दैछ।
हेर्नुहोस् खेल तालिका

यस वर्षको दसैंको टीका र जमरा लगाउने आज अन्तिम दिन
काठमाडौं । आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रूपमा यस वर्षको बडादसैँको टीका र जमरा लगाउने अन्तिम दिन हो । सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आजै परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । साँझमा पूर्णिमा तिथि पर्दा गरिने पूर्णिमा व्रत भने कात्तिक १ गते बिहीबार परेको समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्राध्यापक देवमणि भट्टराईले जानकारी दिए । यसैले आज मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने अन्तिम दिन हो । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रमको आज दिन हो । मान्यजन टाढा टाढा हुने आफन्त विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घर घरमा जाने गर्छन् । आफन्त टाढा हुनेका लागि बडादसैं नवदुर्गाको प्रसाद र आशीर्वाद लिनुका साथै भेटघाट गर्ने अवसर पनि हो । महाअष्टमी र महानवमीका दिन सुनसान प्रायः देखिएको राजधानीमा विजयादशमीदेखि नै चहलपहल बढ्न थालेको छ । निधारमा रातो टीका र जमरा लगाएका नागरिक मान्यजनकहाँ टीका लगाउन गइरहेका देखिन्छन् । बडादसैंको सार्वजनिक बिदा सोमबार सकिएर मङ्गलबारदेखि सरकारी कार्यालय खुलेका छन् । टीका र आशीर्वाद थाप्ने क्रम भने कोजाग्रत पूर्णिमामा अखिल बलि पूर्ति नभएसम्म निरन्तर चलिरहने शास्त्रीय व्यवस्था रहेको छ । यस वर्ष आज अखिल बलिपूर्ति र कोजाग्रत पूर्णिमा तथा कात्तिक १ गते बिहीबार पूर्णिमा व्रत परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । कोजाग्रत पूर्णिमाका दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गरिन्छ । कात्तिक १ गतेदेखि नेपालीको महान् चाड बडादसैँ समापन हुन्छ ।
लेबनानमा रहेका नेपाली शान्ति सैनिक सुरक्षित
काठमाडौं । लेबननमा युद्ध चर्किरहेका बेला संयुक्त राष्ट्रसङ्घबाट त्यहाँ खटिएका नेपाली शान्ति सैनिकहरू "हालसम्म सुरक्षित रहेको" नेपाली सेनाले जनाएको छ। हिजबुल्लाहविरुद्ध इजरेलले लेबननको भूमिमा गरिरहेको हवाई तथा स्थल आक्रमणका क्रममा केही शान्ति सैनिकहरू घाइते भइसकेका छन्। शान्ति सैनिकहरू घाइते भएको विवरण आएसँगै त्यहाँ रहेको नेपाली फौजबारे पनि सामाजिक सञ्जालमा धेरैले चासो र चिन्ता व्यक्त गरिरहेका छन्। लेबननस्थित संयुक्त राष्ट्रसङ्घीय अन्तरिम सुरक्षा फौज अर्थात् यूनिफिलमा योगदान गर्ने ३४ वटा देशहरूले शान्ति सैनिकहरूमाथि भएको आक्रमणको निन्दा गरेका छन्। लेबननमा खटिएको संयुक्त राष्ट्रसङ्घको अन्तरिम बल (यूनिफिल)ले आफ्ना शान्ति सैनिकहरू घाइते हुनुका साथै शान्ति सैनिकहरू रहेका शिविरहरूमा आईडीएफले हस्तक्षेप गर्ने गरेको विवरण सार्वजनिक गरिरहेको छ। इजरेलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले संयुक्त राष्ट्र सङ्घलाई दक्षिणी लेबननमा रहेको शान्ति सेना 'तत्काल' त्यहाँबाट फिर्ता गर्न आग्रह गरेका थिए। तर संयुक्त राष्ट्र सङ्घीय शान्ति सेनाका प्रमुखले त्यसलाई अवज्ञा गर्ने बताएका छन् र शान्ति सेना सैनिकहरूलाई यथास्थानमा बस्न निर्देशन दिएका छन्।
दसैँ मनाउन घर गएकाहरु उपत्यका फर्कने क्रम तीब्र
काठमाडौं । दसैँ मनाउन उपत्यकाबाट बाहिरिएकाहरू फर्किने क्रम बढेको छ । उपत्यका प्रवेश गर्ने नाकामा यात्रुको चाप बढेको छ । भक्तपुरको जगाती, काठमाडौंको बल्खु, नागढुंगा र माछापोखरीलगायत नाकाबाट यात्रु उपत्यका भित्रिने क्रम बढेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दसैँको टीकाको दिन शनिबारदेखि मंगलबारसम्म चार लाख यात्रु उपत्यका भित्रिसकेका छन् । यीमध्ये तीन लाख यात्रु बस र मिनीबसबाट भित्रिएका थिए भने अन्य यात्रु हवाईजहाज, भ्यान, कार, ट्रकलगायत सवारीसाधनबाट भित्रिएका हुन् । प्रहरीका अनुसार विजयादशमीको दिनयता हवाईमार्गबाट करिब १० हजार यात्रु उपत्यकामा भित्रिएका छन् । यसपटक दसैँ मनाउन उपत्यका छाड्ने यात्रुको संख्या करिब १२ लाख थियो । सडकको असहज अवस्थाका कारण विगतमा भन्दा यसपटक उपत्यका छाड्नेको संख्या कम छ ।
आज यी प्रदेशमा हुने छ हल्का वर्षा
काठमाडौं । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेश, बाग्मती र गण्डकी प्रदेशमा आंशिक प्रभाव छ । साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेकाले आज यी स्थानमा बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको मौसमी बुलेटिनका अनुसार हाल कोशी, बाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारण बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा हल्कादेखि मध्यम बदली रहनेछ । आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । तीनवटै प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । रातिको समयमा पनि कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । सोमबार पनि कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली साथै बाग्मती प्रदेशक र गण्डकी प्रदेशका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।
आज र भोलि रिङरोडमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा
काठमाडौं । बडादसैँको अवसरमा यात्रुहरूको सहजताको लागि सशस्त्र प्रहरी बलले शुक्रबार र शनिबारका लागि काठमाडौँको रिङरोडमा नि:शुल्क बस सेवा सञ्चालन गरेको छ । आज बिहान ६ बजेबाट सुरु भएको नि:शुल्क बस सेवा अन्तर्गत एउटा बस प्रधान कार्यालयबाट कलङ्की, सातदोबाटो, कोटेश्वर, गौशाला , महाराजगन्ज, बालाजु रुटमा सञ्चालन गरिएको छ । अर्को बस प्रधान कार्यालयबाट बालाजु, महाराजगन्ज, गौशाला, कोटेश्वर, सातदोबाटो, कलङ्की रुटमा सञ्चालन गरिएको छ । चाडपर्वको समयमा सार्वजनिक गाडी कम गुड्ने भएकोले सर्वसाधारणको सुविधाको लागि बस सञ्चालन गरिएको सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । बडादसैँको अवसरमा यस अघिका वर्षमा पनि काठमाडौँमा सशस्त्र प्रहरी बलले निःशुल्क बस सेवा सञ्चालन गरेको थियो । यसै गरि विगत वर्षहरू जस्तै यस वर्ष पनि सर्वसाधारणका लागि सशस्त्र प्रहरी बलले देश भरी स्थानीय निकायसँगको समन्वय समेतमा १ सय ९७ वटा लिङ्गे पिङ राखेको छ । विगत करिब १४ वर्षदेखि पिङ राख्ने कार्यलाई यो वर्ष पनि निरन्तरता दिइएको हो ।
एक सातामा तेह्र लाखले छाडे काठमाडौं उपत्यका
काठमाडौं । एक सातामा काठमाडौँ उपत्यकाबाट १३ लाख मानिस बाहिरिएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार उक्त सङ्ख्या शुक्रबारसम्मको हो। अठार लाख मानिस दसैँ मान्न काठमाडौँ उपत्यकाबाट बाहिरिने अपेक्षा गरिएकामा बाढीपहिरोका कारण १३ लाखको हाराहारीमा मानिस बाहिरिएका महासङ्घका अध्यक्ष विजय स्वारले जानकारी दिए। ‘हामीले यस वर्ष दसैँमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरेका थियौँ’ , उनले भने, ‘तर मुलुकका विभिन्न स्थानमा बाढीपहिरोका कारण सडक अवरुद्ध भएकाले जोखिम मोलेर पनि १३ लाख बाहिरिएका छन्।’ अघिल्लो वर्षको दसैँमा १८ लाख मानिस काठमाडौँबाट बाहिरिएका थिए।
काठमाडौं उपत्यकाबाट ८ लाख यात्रु बाहिरिए
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार अहिलेसम्म ८ लाख यात्रु दसैं मान्न काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् । महासंघका अनुसार यस वर्ष १० लाखको हाराहारीमा यात्रु बाहिरिने अनुमान गरिएको छ । महासंघका अध्यक्ष विजय स्वारले यस वर्षको दसैंमा १५ देखि १८ लाख यात्रु उपत्यका बाहिरिने अनुमान गरिए पनि बाढी पहिरोका कारण सडक सञ्चालनमा अवरोध भएपछि अनुमानभन्दा कम बाहिरिएको बताए । 'सडक राम्रो छैन, सर्वसाधारणले कठिन यात्रा गरिरहेका छन्,' उनले भने, 'उपत्यका बाहिर घर हुनेले पनि यस वर्ष काठमाडौमै दसैं मान्ने योजनामा छन्, कयौँ त हवाईयात्राबाट पनि गएका छन् ।' स्वारका अनुसार शुक्रबारसम्म दसैंका लागि उपत्यका छोड्ने क्रम जारी रहने भएकाले समग्रमा कति यात्रु उपत्यकाबाट बाहिरिने हुन् भन्ने तथ्यांक आउन बाँकी छ । 'आज कति यात्रु बाहिरिनुभएको छ, साँझसम्म यो क्रम जारी रहन्छ, शुक्रबार पनि बाहिरिन्छन्,' उनले भने । काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रवक्ता विश्वराज खड्काले दसैंमा आवतजावत बढ्ने हुँदा सडक दुर्घटना न्यूनिकरण गर्न सजगताका साथ राजमार्गहरूमा ‘चेक’ भइरहेको जानकारी दिए ।
मेलम्चीको पानी आज बेलुकादेखि काठमाडौंमा वितरण हुने
काठमाडौं । मेलम्चीको पानी मंगलबार बेलुकासम्म काठमाडौंमा वितरण सुरु हुने भएको छ । मेलम्ची खानेपानी विकास समितिका अनुसार अहिले सिन्धुपाल्चोकको हेलम्बुबाट पानी सुरुङमा पठाउन प्राविधिकहरूले मेसिनको सहायताले काम गरिरहेका छन् । खानेपानी सुरुङको मुखमा पठाउने काम भइरहेको छ । मेलम्ची खोलालाई सुरुङको मुखबाट पानी भित्र पठाउन ढुंगा र बालुवा पन्छाउने काम भइरहेको प्राविधिकहरूले जानकारी दिउका छन् । खानेपानीमन्त्री प्रदीप यादवले सोमबार राति बाढीप्रभावित हेलम्बुवासीको समस्या हल गर्ने सहमति गरेपछि सुरुङमा पानी प्रवेश गराउन लागिएको हो । स्थानीयसँग राति अबेरसम्म पानी पठाउने सहमति गरेर मन्त्री यादव मंगलबार बिहान काठमाडौं फर्किएका छन् । २०७८ को बाढीपछि मेलम्चीको पानी निरन्तर वितरण हुन सकेको छैन । बाढीबाट मुहान र सुरुङ बचाउन हरेक बर्सातमा पानी बन्द गरिँदै आएको छ । गत असारमा बन्द भएको पानी अहिले पुनः सुरुङमा प्रवेश गराउन लागिएको हो । समितिका कार्यकारी निर्देशक रत्न लामिछानेका अनुसार अहिले काठमाडौंमा वितरण गरिएको बागमती मुहानको पानी बागमती खोलामा पठाएर मेलम्चीको पानी जोड्ने तयारी गरिएको छ । मेलम्चीको पानी बन्द भएपनि गत असारदेखि वितरण प्रणालीमा बागमतीको पानी पठाइएको थियो । गत असारमा बन्द गरेको २६ किलोमिटर सुरुङमा बर्सातका बेला पनि पानी भरिएरै बसेको थियो । त्यसैले कारण मुहानबाट पठाउने बितिक्कै सुन्दरीजल प्रशोधन केन्द्रबाट पानी काठमाडौंको थोक प्रणालीमा पठाउने लामिछानेले जानकारी दिए । सुरुङ खाली भएको अवस्थामा भने पूर्ण रुपमा भरिन १२ दिन लाग्ने प्राविधिकले जानकारी दिए । २०७८ सालको बाढीबाट क्षतिग्रस्त मेलम्ची मुहान क्षेत्रकाबासिन्दाले पुनर्स्थापना, पुनर्निर्माण र पानीको लेबी सम्बन्धी माग राखेर आन्दोलन गर्दै आएका थिए । उनीहरूले माग सम्बोधनको सुनिश्चत नभई पानी लैजान नदिने अडान राखेको कारण समस्या भएको थियो । मन्त्री यादव आफै मुहानका बासिन्दासँग वार्ता गर्न हेलम्बु गएका थिए ।
१७ हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि, आठको मृत्यु
काठमाडौं । देशभर १७ हजार भन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि हुनुका साथै आठ जना सङ्क्रमितको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्याङ्क अनुसार जुम्लामा बाहेक सबै जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ । ईडिसिडीको तथ्याङ्कअनुसार ७६ जिल्लामा १७ हजार ६०२ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ। ईडिसिडीको कीटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालले कास्की, काठमाडौंँ, तनहुँमा सबैभन्दा बढी सङ्क्रमण पुष्टि भएको छ। दाहालका अनुसार कास्कीमा दुई हजार ७०९, काठमाडौँमा दुई हजार ५६७, तनहुँमा एक हजार ९५४, पर्वतमा एक हजार ४२१ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ। त्यसैगरी, चितवनमा ९०७, गोरखामा ६२०, ललितपुरमा ६४६, बागलुङमा ५८९, भक्तपुरमा ३०८, स्याङ्जामा २९६ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको दाहालले जानकारी दिनुभयो। प्रदेश अन्तर्गत गण्डकी, बागमती,लुम्बिनी र कोशी प्रदेशमा सबैभन्दा बढी डेंगु सङ्क्रमण पुष्टि भएको छ। गण्डकी प्रदेशमा आठ हजार ६२, बागमती प्रदेशमा पाँच हजार ५७१, कोशी प्रदेशमा एक हजार ४२२ जनामा डेंगु पुष्टि भएको छ। यसैगरी, लुम्बिनी प्रदेशमा एक हजार १३५, कर्णाली प्रदेशमा २५१, मधेश प्रदेशमा ३४३ र सुदूरपश्चिम प्रदेशमा ८१८ जनामा डेंगु पुष्टि भएको छ।
एमाले केन्द्रीय सदस्य शेर्पालाई बहुविवाह कसुरमा कैद सजाय
काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पालाई बहुविवाह गरेको कसुरमा एक वर्ष जेल सजाय र पाँच हजार रुपैयाँ जरिवाना गर्ने जिल्ला अदालतको फैसला उच्च अदालतबाट पनि सदर भएको छ । काठमाडौं जिल्ला अदालतले गरेको फैसला उच्च अदालत पाटनले पनि सदर गरेको हाे । उच्च अदालत पाटनले यही ६ असोजमा र जिल्ला अदालतले २३ चैत २०७९ मा त्यस्तो फैसला गरेका हुन् । शेर्पाकी श्रीमती करिश्मा खरेलले शेर्पा र उनकी अर्की श्रीमती पूजा परियारविरुद्ध जिल्ला अदालत काठमाडाैंमा बहुविवाह मुद्दा दायर गरेकी थिइन् । साे मुद्दामा जिल्ला अदालतले पासाङ शेर्पा र करिश्मा खरेलबीच २९ असार २०६२ मा र पासाङ शेर्पा र पूजा परियारबीच २८ मंसिर २०६३ मा विवाह भएको ठहर गरेको छ । जिल्लाको फैसलामा भनिएको छ, ‘पासाङ शेर्पाले निजकी पत्नी यी जाहेरवालासँगको दाम्पत्य सम्बन्ध कायम रहेकै अवस्थामा पूजा परियारसँग विवाह गरी मुलुकी ऐन बिहेबारीको महलको ९ नम्बरको कसुर गरेको देखिँदा निजलाई ऐ. को दफा १० बमोजिम १ वर्ष कैद र रु. ५ हजार जरिवाना हुने ठहर्छ ।’ शेर्पासँग विवाह गरेकी पूजा परियारको हकमा भने जिल्ला अदालतले सफाइ दिएको थियो । उच्च अदालत पाटनले पनि उक्त फैसला सदर गरेको छ ।
जनप्रगतिशिल मञ्च अष्ट्रेलियाले राहत स्वरुप पठायो दुई लाख
काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट प्रवासी संगठन नेपाली जनप्रगतिशिल मञ्च अष्ट्रेलियाले नेपालमा गत हप्ता भिषण वर्षाका कारण आएको बाढी तथा पहिरोबाट पिडित नागरिलाई राहत स्वरुप सहयोग गरेको छ । जनप्रगतिशिल मञ्चले बाढी तथा पहिरोबाट प्रभावितहरुका लागि राहत स्वरुप दुई लाख पठाएको हो । अहिले पनि ठूलो संख्यामा नागरिक बेपत्ता भएकाले उहाँहरुको खोजी गर्नु, घाइते हरुको उपचार गर्नु, घरवार बिहिन भएकाहरुलाई सुरक्षित गर्दै पुनर्स्थापना शुरु गर्नु सबैको पहिलो कर्तव्य हुने भन्दै प्रवासी संगठन नेपाली जनप्रगतिशिल मञ्च अष्ट्रेलियाले जनताको दुःखमा सँगै रहेको बताएको छ । उक्त सहयोग दुःखमा सँगै रहेको भन्नका लागि पठाएको अध्यक्ष दीपक पाण्डेले बताउनुभयो । आफुहरु विदेसमा रहेको भए पनि विपतको यो घडिमा पीडित नेपालीसँगै रहेको बताउँदै मञ्चका अध्यक्ष दीपक पाण्डेले भन्नुभयो -'बिपत्तिको घडीमा देश गम्भीर पिडामा हुदा हामी प्रवासीहरुको पनि स्वाभाविक रूपमा मन दुखेको छ र रोएको छ। दशै तिहार जस्तो नेपाली हिन्दु समुदायको महान चाड नजिकिएको बेला कतिपयले परिवारका सदस्य गुमाएका छन, कतिपय अस्पतालको शैयामा छन, थुप्रै बेपत्ता छन भने हजारौ नागरिक खाना बिहिन छाना बिहिन हुन परेको छ । यो विषम परिस्थिति र अबस्थालाइ मलम लगाउन जहाँ जहाँ हामी नेपाली छौं त्यहीँ त्यहीँबाट हामिले हातेमालो गर्ने पर्छ र यो हाम्रो दायित्व पनि हो यसर्थ हामी पीडित नेपाली सगै छौं र हुने छौं।' अध्यक्ष पाण्डेका अनुसार संगठनले आफ्नो मातहतका सबै कमिटी, पदाधिकारी, सल्लाहकारलाई स्वैच्छिक रूपमा बाढीपीडितलाई आर्थिक राहत संकलन सहभागी हुन आग्रह समेत गरेको छ ।
अपडेटः दाउन्नेमा दुईतर्फी सवारी सञ्चालन
नवलपरासी । सोमबार दिउँसो सडक भासिएपछि अवरुद्ध बनेको पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडक दुईतर्फी सञ्चालनमा आएको छ । बर्दघाट-४ खुर्सानीखोलामा सोमबार दिउँसो सडक भासिएपछि डाइभर्सनमार्फत सडक सञ्चालनमा आएको प्रहरीले जनाएको छ । रातभर डाइभर्सन बनाइएर यातायात सञ्चालन गरिएको हो । बिहान ९ बजे एकतर्फी सञ्चालनमा आएको सडक केही केहीबेर अगाडिदेखि दुईतर्फी सञ्चालनमा आएको हो । सडक खुलेपछि हिजोदेखि अलपत्र परेका सवारी गन्तव्यतर्फ लागेका छ्न् । (अद्यावधिक गरिएको)
बाढीपहिरो अपडेटः ज्यान गुमाउनेको संख्या दुई सय पुग्यो, २६ जना बेपत्ता
काठमाडौं । शुक्रबार र शनिबारको भारी वर्षाका कारण एकैसाथ देशभरि आएको बाढी, पहिरो र डुबानका कारण मृत्यु हुनेको संख्या दुई सय पुगेको छ । नेपाल प्रहरीका अनुसार सोमबार अपरान्हसम्मको अवधिमा बाढी पहिरो र डुबानबाट मृत्यु हुनेको संख्या दुई सय पुगेको हो । त्यस्तै, घाइते १२७ र २६ जना बेपत्ता रहेका छन् । प्रहरीका अनुसार विपद्मा परेका ४ हजार दुई सय २२ जनाभन्दा बढीको उद्धार भएको छ । अहिले देशैभरि मौसममा क्रमिक सुधार हुँदै गइरहेको छ भने बाढी र डुबानमा फसेको जनजीवन समेत सामान्य बन्दैछ ।
झ्याप्लेको अवरुद्ध सडक सुचारु
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि राजमार्गमा अलपत्र परेका एक हजार सात सय सवारिसाधन काठमाडौँ उपत्यका भित्रिएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि अलपत्र यात्रुहरुसहित सवारीसाधन काठमाडौँ भित्रिएको जानकारी दिए। उनले आज दिउँसोदेखि काठमाडौँबाट सो मार्ग हुँदै बाहिरिने सवारी साधन पठाउने तयारी भइरहेको जानकारी दिए। प्रवक्ता तिवारीले मौसम पूर्ण रुपमा समान्य बनिनसकेको अवस्था रहेकाले यात्रा गर्दा सचेत रहन अपिल गरेका छन् । अवरुद्ध सडक सञ्चालन गर्न सरोकारवाला निकायका साथै मुलुकका विभिन्न स्थानमा सुरक्षाकर्मीको टोली समेत परिचालन भएको जनाइएको छ ।
प्रेस सेन्टर नेपाल कपिलबस्तुको अध्यक्षमा कार्की
कपिलवस्तु । प्रेस सेन्टर नेपाल कपिलवस्तु शाखाकाे छैठौ जिल्ला अधिवेशन सम्पन्न भएको छ । कपिलवस्तु नगरपालिकाको सभाहलमा सम्पन्न भएको अधिवेशनले मनिस कार्कीको अध्यक्षतामा १५ सदस्य निर्विरोध समिति चयन भएको छ । जस्काे उपाध्यक्ष माधव बेल्बासे, भगवती न्यौपाने,सचिव पिताम्बर घिमिरे (हरी),सहसचिव सूर्य गुरूङ्ग, सहसचिव अजय शाहनी,कोषाध्यक्ष सहबाज खान लगायत अन्य सदस्यमा रहनु भएको छ । अधिवेशनमा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कपिलवस्तु जिल्ला इन्चार्ज रुद्रप्रसाद बञ्जाडेले पत्रकारको प्रेस सेन्टर सङगठनलाइ सुदृढ गर्दै सक्रिय बनाउन आवश्यक रहेको बताउनुभयो । समाज रुपान्तरणमा सञ्चार क्षेत्रको भुमिका महत्त्वपूर्ण रहेकाले निशपक्ष र इमान्दार भएर काम गर्नुपर्नेमा जाेड दिनु भयाे । त्यस्तै माओवादी केन्द्र कपिलवस्तुका अध्यक्ष विष्णु बेलबासेले कपिलवस्तुको विकासको लागि सञ्चार माध्यमले शसक्त भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । साथै उहाँले अनैतिक र अनियमित गतिविधि विरुद्ध बुलन्द आवाज उठाउन पनि आह्वान गर्नुभयो । प्रेस सेन्टर कपिलवस्तुका सस्थापक अध्यक्ष सिपि शर्माकाे नामबाट स्थापित युवा पुरस्कारबाट युवा जनपक्षीय पत्रकार मनिष गुप्ता सम्मानित हुनु भएको छ । कार्यक्रममा प्रेस सेन्टर नेपालका लुम्बिनी प्रदेशका अध्यक्ष मानसिह विश्वकर्मा, प्रेस सेन्टरका केन्द्रीय सदस्य बसन्त गिरि, प्रेस सेन्टरका केन्द्रीय सदस्य तथा कपिलवस्तुका इन्चार्ज डिलाराम भुसाल, प्रेस सेन्टरका प्रदेश समितिका सचिव चिन्ता परियार लगायत बाेल्नु भएको थियाे । प्रेस सेन्टर नेपाल कपिलवस्तुका शाखा अध्यक्ष अर्जुन बेलबासेकाे अध्यक्षता,उपाध्यक्ष भुपाल थापाको स्वागत मन्तव्यमा भएको कार्यक्रमकाे सञ्चालन सचिव माधव बेलबासेले गर्नु भएको थियाे ।

