‘भरतपुर लागनी सम्मेलन’को तयारी भईरहेको छ : मेयर रेनु दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ‘भरतपुरमा लगानी सम्मेलन’को तयारी थालिएको बताएकी छन्।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालद्धारा मंगलबार भरतपुरमा जारी होटल व्यवसायी महासंघको १० औँ साधारण सभा तथा चौथो महाधिवेशनको उद्घाटन गर्दै मेयर दाहालले यही वर्षभित्र लगानी सम्मेलन गर्ने गरी महानगरपालिका अगाडि बढेको बताइन् ।

मेयर दाहालले लगानी सम्मेलनमार्फत राष्ट्रिय र अन्तर्राष्ट्रिय लगानीकर्तालाई भरतपुरमा बोलाएर यहाँको विभिन्न क्षेत्रमा गर्न सकिने लगानीबारे सम्भावना प्रस्तुत गरिने उल्लेख गरिन्।

लगानी सम्मेलनपछि भरतपुरको पर्यटकीय क्षेत्रमा लगानी गर्ने वातावरण उच्च रहेको उनको भनाई थियो । मेयर दाहालले भरतपुरमा निर्माणधिन भौतिक पूर्वाधार निर्माण सम्पन्न भएसँगै पर्यटकीय गतिविधि वृद्धि हुने दाबी समेत गरिन् । भरतपुर महानगरपालिका दुई ठूला नदीले घेरिएको जल, जमिन र जंगलको अनुपम स्थल भएकाले हरेक क्षेत्रमा प्रचुर सम्भावना रहेको मेयर दाहालको भनाई छ ।

भरतपुर महानगरपालिका देशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्ने दिशामा अगाडि बढेको भन्दै मेयर दाहालले सन्२०८० लाई भरतपुर भ्रमण वर्षको रुपमा स्वास्थ्य पर्यटन, कृषि पर्यटन, शिक्षा पर्यटन तथा अन्य सबै पर्यटनको अवलोकन गर्न निमन्त्रणा गरिने बताइन् ।

‘भरतपुर लगानीकर्ताको आर्कषणको केन्द्र बनेको छ, उनले भनिन्,‘यहाँ तारे होटल खुलेका छन्, सुविधा सम्पन्न होटल र रिसोर्ट खुल्ने क्रम पनि जारी छ । पर्यटन गतिविधिका साथै राजगारी पनि सिर्जना भएका छन् ।’

मेयर दाहालले स्थानीय सरकारको हैसियतले पर्यटन तथा होटल व्यवसायीसँग समवन्य गर्दै अघि बढ्ने अभ्यास महानगरपालिकाले गर्दै आएको र भावी दिनमा पनि सहकार्य गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरिन् ।

भरतपुरको दिगो ढङ्गबाट पर्यटन प्रर्वद्धन गर्न महानगरपालिका सधै सबै क्षेत्रसँग समवन्य, सहकार्य र छलफल गरी अघि बढ्ने पनि उद्घोष गरिन् ।

कोठामा निसासिएर भारतमा तीन नेपालीको मृत्यु

धनगढी । मजदुरी गर्न भारत गएका तीन नेपालीको कोठामा सुतिरहेको अवस्थामा निसासिएर मृत्यु भएको छ । भारतको उत्तरप्रदेशको मेरठमा डोटीको बडिकेदार गाउँपालिका ५ लाना घर भई हाल कैलालीको गौरिगंगा नगरपालिका १ गोप्काका तीन जनाको मृत्यु भएको हो । कामका लागि भारतको मेरठमा रोजगारी गर्दै आएका आएका भुलको परिवार कोठामा कोइला (रेलमा प्रयोग हुने) बालेर सुतिरहेको अवस्थामा चन्ने भुल, उनकी श्रीमती कुमारी भुल र दुई वर्षकी छोरीको मृत्यु भएको हो । बन्द कोठामा कोइला बालेर उनीहरू सुतिरहेका थिए । मृतकको घरमा दुई छोरी र एक छोरा छन् ।

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सुरु

काठमाडौं । नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक केहीबेरअघिबाट सुरु भएको हो। आजको बैठकले वर्तमान सरकारमा सहभागी हुनेरनहुनेबारे आज निर्णय गर्ने जनाइएको छ। एकीकृत समाजवादीको यसअघि शनिबार र आइतबार स्थायी कमिटीको बैठक बसेको थियो। बैठकमा धारणा राख्ने अधिकांश सदस्यले सरकारलाई समर्थन गर्नुपर्ने बताएका थिए। स्थायी कमिटीमा आएका सुझावमाथि छलफल गरी पोलिटब्युरोबाट बाँकी निर्णय लिने पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। पाँचदलीय सत्ता गठबन्धन भत्किएर नयाँ सत्तासमीकरण बनेपछि एकीकृत समाजवादी अलमलमा परेको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल अब तीन सय शैयाको बन्ने

काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल अब तीन सय शैयामा विस्तार हुने भएको छ । अस्पतालको नयाँ भवन बनाउन गत बिहीबार टेण्डर आह्वान गरिएको छ । करिब तीन अर्ब लगानीमा बन्ने नयाँ भवन निर्माणको जिम्मा शहरी विकास तथा भवन निर्माण विभागले लिएको छ । अहिले भएका पुराना भवनहरूलाई पालैपालो भत्काइने र अहिले भएका एक सय शैयालाई विस्तारगरी तीन सय पुर्याइने छ । विभागले नयाँ बन्ने ६ तले भवनको डिजाइन तयार पारिसकेको र अबको तीन महिनाभित्र निर्माण कार्य सुरु गरिने छ । अस्पतालले अहिले रहेको आफ्नै जग्गामा ६ तले नयाँ भवन बनाउन लागेको हो ।

माओवादी केन्द्र गण्डकी संसदीय दलको नेतामा चुमान सर्वसम्मत

कास्की । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश संसदीय दलको नेतामा हरिबहादुर चुमान सर्वसम्मत चयन भएका छन् । सो दलको आइतबार साँझ बसेको संसदीय दलको बैठकले तनहुँ क्षेत्र नम्बर–१ ‘ख’बाट प्रत्यक्ष निर्वाचित चुमानलाई सर्वसम्मत दलको नेता चयन गरेको माओवादी केन्द्र गण्डकी प्रदेशका अध्यक्ष गायत्री गुरुङले जानकारी दिइन् । उनका अनुसार ज्येष्ठ सदस्य कृष्ण धितालको अध्यक्षतामा दलको बैठक बसेको थियो । संसदीय दलको नेताबाहेकका अरू पदाधिकारी पछि चयन गरिने माओवादीले जनाएको छ । ६० सदस्यीय प्रदेशसभामा माओवादीका प्रत्यक्ष निर्वाचित पाँच र समानुपातिकका तीन गरी आठ सदस्य छन् । माओवादी केन्द्र गण्डकी प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीसहितको संयुक्त बैठकले प्रदेश संसदीय दलको नेता चुमानलाई बनाउनेबारे संसदीय दलको बैठकमा प्रस्ताव लैजाने निर्णय गरेको थियो । त्यसपछि संसदीय दलको बैठक बसेर दलको नेता चुनिएको हो । दलको नेतामा चयन भएका चुमानले यसअघि गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री भएर तीन वर्ष काम गरेका थिए । उनी सो पार्टीका पोलिटब्युरो सदस्य समेत हुन् । संसदीय दलको बैठकमा माओवादी केन्द्रका केन्द्रीय सचिव एवं प्रतिनिधिसभामा सो दलका प्रमुख सचेतक हितराज पाण्डेले संसद् बैठकमा जिम्मेवार भएर जनताका समस्यालाई उठाउन निर्देशन दिएका थिए । रासस

उत्कृष्ट नारा लेखेर पुरस्कार जित्ने अवसर, निबन्ध लेखन प्रतियोगिता पनि गरिने

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनसम्बन्धी खुला राष्ट्रव्यापी कविता लेखन प्रतियोगिता आयोजना गरेको छ । आयोगको ३२औँ स्थापना दिवसका अवसरमा प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताका लागि प्राप्त हुने कवितामध्ये पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने प्रतियोगीलाई आउँदो माग २८ गते नगद र प्रमाणपत्रसहित पुरस्कृत गरिने आयोगले जनाएको छ । यस्तै, भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनसम्न्धी उत्कृष्ट नारालाई पुरस्कृत गरिनेछ । सोसम्बन्धी मौलिक र सन्देशमूलक नारा सिर्जना गरी माघ ६ गतेभित्र उपलब्ध गराउन आयोगको आग्रह छ । सोही अवसरमा निबन्ध लेखन प्रतियोगिता पनि आयोजना गरिएको छ । आयोग मातहतका सात कार्यालयमार्फत कक्षा–९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीबीच निबन्ध लेखन प्रतियोगिता गरिने अख्तियारले जनाएको छ । सूचना पढ्नोस्–

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पोलिटब्यूरो बैठक बोलाएको छ। सोमबार बस्ने गरी पोलिटब्यूरो बैठक बोलाइएको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। ‘हामीले पोलिटब्यूरो बैठक बोलाइएको छ। यसमा स्थायी कमिटीभन्दा धेरै संख्यामा नेताहरू हुनुहुन्छ। पोलिटब्यूरोले पार्टीलाई सुझाव दिन्छ,’ उनले भने। समसामयिक राजनीति, नयाँ सरकारबारे धारणा र पार्टी अब कसरी अघि बढ्ने भन्ने रणनीति तय गर्ने तथा सुझाव दिन बैठक गर्न लागिएको छ। अरू पार्टीसँग अहिले एकताको कुनै सम्भावना नरहेको खतिवडा बताउँछन्। ‘पार्टी एकताका कुरा बजार हल्ला मात्रै हुन्,’ उनले भने। एकीकृत समाजवादीले शनिबार र आइतबार स्थायी कमिटी बैठक गरेको थियो। उक्त बैठकले तत्काल सरकारलाई समर्थन नगर्ने निष्कर्ष पनि निकालेको छ। एकीकृत समाजवादीले गत मंसिरमा भएको चुनावमा प्रतिनिधि सभातर्फ १० सिट जितेको थियो भने राष्ट्रिय पार्टी बनेको थिएन। अहिले एकीकृत समाजवादीमा अहिलेको सरकारलाई समर्थन गर्ने वा नगर्नेमा दुई धार देखिएको छ।

राजनीतिमा ‘फउल’ गरे ‘रेड कार्ड’ नै दिनुपर्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले खेलकुदमा जस्तै राजनीतिमा पनि ‘फउल’ गरे ‘रेड कार्ड’ नै दिएर आउट गर्नुपर्ने बताएका छन् । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको स्थापना दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले खेललगायत सबै क्षेत्रमा अनुशासनको आवश्यकता औँल्याए । फउल गरे राजनीतिमा समेत ‘रेड कार्ड’ दिनुपर्ने उनको भनाइ छ । अनुशासन र नियममा चल्न नसके केही पनि रहन नसक्ने उनले उल्लेख गरे । खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्नका लागि आफूले सरकारसँग आग्रह गर्ने उनले बताए। नयाँ खेलकुदमन्त्री आउन अझै १०–१५ दिन लाग्न सक्ने उनले बताए । कार्यक्रममा ओलीले केही बेर टेबलटेनिस खेलेका थिए । खेलाडीहरूले विभिन्न कलाकौशल प्रस्तुत गरेका थिए ।

२ संक्रमित थपिए ,सक्रिय संक्रमितको संख्या २९

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ जना कोरोना संक्रमित थपिएका छन् । ३९४ वटा नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमित पुष्टी भएको हो । आज ३ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काम गर्नलाई मर्यादाक्रम मुख्य समस्या होइन, सञ्चो नभएर मन्त्रालय नगएको हुँ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले मर्यादाक्रममा समस्या रहे पनि यसै कारण आफू मन्त्रालय नगएको कुरा गलत रहेको बताएका छन् । ‘मर्यादाक्रमको विवादले मन्त्रालय नगएको भनेर फिजाइएको हल्ला गलत छ,’ शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘मन्त्री भएकै दिन मन्त्रालय गएको हो, नजाने भए पहिलो दिन नै मन्त्रालय जान्नथेँ ।’ मन्त्री भएकै दिन मन्त्रालय गएर कर्मचारीसँग भेटी आवश्यक निर्देशन दिइसकेको उनले बताए ।   ‘त्यसपछि सञ्चो नभएर मन्त्रालय जान सकिनँ, अहिले पनि घाँटी ठीक भइसकेको छैन,’ उनले भने, ‘तर मर्यादाक्रममा समस्यै नभएको भने होइन, समस्या छ, क्याविनेटको सिस्टम हुन्छ, न यो मेरो र अर्थमन्त्री विष्णु पौडेलबीच सम्बन्धको कुरा हो, न त्यो कारणले म मन्त्रालय नगएको हो ।’ यो सरकारलाई सफल बनाउने र त्यसका लागि आफू प्रतिबद्ध रहेको उनको भनाइ थियो । उनले आइतबारबाट मन्त्रालय गएर काम सुरु गर्नेसमेत बताए । ‘तर ७–८ वर्ष पहिले उप्रधानमन्त्री भइसकेको र अर्को उप्रधानमन्त्री छ भने त्यसमा मर्यादा क्रम हुनुपर्छ, एउटै पार्टीमा हुँदा पनि म छैठौं नम्बरमा थिएँ, उहाँ (विष्णु पौडेल) नवौं नम्बरमा हुनुहुन्थ्यो,’ उनले भने, ‘८ वर्ष पहिले उप्रधानमन्त्री थिएँ, तर उहाँ ८ वर्षपछि हुनुभएको हो, यस्ता केही समस्या छन्, तर काम गर्नका लागि यी मुख्य समस्या भने होइनन् ।’ आइतबार मन्त्रालय गएर यातायात व्यवस्था विभागबाट त्यहाँ के के समस्या छन् बुझेर समाधानको उपाय खोज्ने पनि उनले बताएका थिए ।

प्रदेश १ मा मुख्यमन्त्रीको दाबी पेश गर्न प्रदेश प्रमुखले गरे आव्हान

काठमाडौं। प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङ्गले सरकार गठनको लागि पुस २४ गते बेलुकी पाँच बजेभित्र दाबी पेस गर्न आव्हान गरेका छन्। नेपालको संविधानको धारा१६८उपधारा(२) बमोजिम सरकार गठनको आव्हान गरिएको हो। मुख्यमन्त्री नियुक्त गर्नको लागि प्रदेश सभामा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेकोले दुई/दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गरी मुख्यमन्त्रीको दाबी पेश गर्न उनले भनेका छन्।

नेपालमा बीएफ ७ को शंकास्पद नमुना भेटिएको छैन : एनपीएचएल

काठमाडौं । नेपालमा हालसम्म ओमिक्रोनको सब भेरियन्ट बीएफ ७ को शंकास्पद नमुना नभेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल)ले जनाएको छ । एनपीएचएलले जिन सिक्वेन्सिङका लागि देशभरिका प्रयोगशालाबाट संकलन गरेको पछिल्ला नमुनामा बीएफ ७ को शंका नदेखिएको जनाएको हो । एनपीएचएलले सीटी भ्यालु २५ भन्दा कम देखिएका नमुनाको जिन सिक्वेन्सिङ गरी भेरियन्ट तथा सब भेरियन्ट पहिचान गर्दै आएको छ । प्रयोगशालाले यसअघि ४८ नमुनाको जिन सिक्वेन्सिङ गर्दा सबैमा ओमिक्रोनका विभिन्न सब भेरियन्टहरू भेटिएको जनाएको थियो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अन्तर्राष्ट्रिय विमानस्थल भएर आउने विदेशी तथा स्वदेशी नागरिकमा स्क्रिनिङका क्रममा कोभिड–१९ का कुनै पनि लक्षण देखिए त्यहीँ एन्टिजेन परीक्षण गर्ने व्यवस्था गरेको छ । पछिल्लो समय छिमेकी मुलुक चीन, भारतलगायत देशमा बीएफ ७ को संक्रमण फैलँदो छ ।

त्रिविमा २२ दिन हिउँदे बिदा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले जाडो बढेसँगै हिउँदे बिदा दिने भएको छ । त्रिविअन्तर्गतका आंगिक र सम्बन्धनप्राप्त क्याम्पसमा आइतबारदेखि हिउँदे बिदा दिने भएको हो । त्रिवि कार्यकारी परिषद्ले १७ पुसदेखि बढीमा २२ दिन हिउँदे बिदा गर्ने निर्णय गरेको त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले जानकारी दिए । उनले उक्त समयमा पठनपाठन बन्द हुने र प्रशासनिक कार्य भने सञ्चालन हुने बताए । हिउँदे बिदाको समयमा तोकिएका परीक्षा भने नियमित सञ्चालन हुनेछन् । त्रिविमा ६२ आंगिक र एक हजार ४० सम्बन्धनप्राप्त क्याम्पस छन् ।

बागमतीमा माआवोदी संसदीय दलको नेतामा जमकट्टेल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को बागमती प्रदेश संसदीय दलको नेतामा शालिकराम जमकट्टेल चयन भएका छन्। माओवादी संसदीय दलको शनिबार बसेको बैठकले जमकट्टेललाई सर्वसम्मत नेता चयन गरेको हो। बैठकले सर्वसम्मत रुपमा उनको नाम पारित गरेको हो। संसदीय दलको नेतामा माओवादीबाट पूर्व सामाजिक विकास मन्त्री युवराज दुलाल र पार्टी प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलको पनि दाबी रहेको थियो । संसदीय दलको बैठकले पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री जमकट्टेललाई संसदीय दलको नेता चयन गरेको हो । यसमा पौडेल अहमति जनाउँदै संसदीय दलको नेताका लागि चुनाव हुनुपर्ने बताएका थिए ।

भरतपुर महानगर सबैको साझा चौतारी हो : मेयर रेनु दाहाल

भरतपुर । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले महानगरपालिका सबै भरतपुरबासीको साझा चौतारी भएको बताएकी छन्। तमु समुदायको नयाँ वर्ष ल्होसारको अवसरमा तुम ह्युल छोजधी राष्ट्रिय परिषद चितवनले भरतपुरको तीन खोले गुम्बामा आयोजना गरेको कार्यक्रममा मेयर दाहालले महानगरपालिकाले सबै समुदायलाई समान दृष्टिकोण र व्यवहार गर्दै आएको उल्लेख गरिन् । मेयर दाहालले विगतको कार्यकालमा पनि सबै धर्म, लिङ्ग, क्षेत्रलाई समान व्यवहार प्रस्तुत भएको स्मरण गर्दै उनले अहिले पनि त्यसलाई निरन्तरता दिएको जिकिर गरिन् । ‘विगतमा धेरै जसो वडामा गुम्बाहरु निर्माण भएका छन्, उनले भनिन्,‘त्यही संख्यामा मन्दिर र मस्जिद पनि निर्माण भएको छ । कसैलाई काखा र पाखा भएको छैन ।’

सुदूरपश्चिम प्रदेशका सांसदले लिए शपथ

कैलाली । सुदूरपश्चिम प्रदेशसभा सदस्यको आज शपथ ग्रहण सम्पन्न भएको छ । प्रदेशसभाको ज्येष्ठ सदस्यका हैसियतले अछाम निर्वाचन क्षेत्र नम्बर १ को ९२० बाट निर्वाचित सांसद मानबहादुर रावलले अन्य ५२ जना सांसदहरुलाई शपथ गराएका हुन् । त्यसअघि प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम प्रदेश प्रमुख देवराज जोशीले ज्येष्ठ सदस्य मानबहादुर रावललाई शपथ ग्रहण गराएका थिए । प्रदेशसभा सदस्यहरुका लागि नेपाली र मातृभाषामा शपथ ग्रहण गराइएको थियो । जसमा नागरिक उन्मुक्ति पार्टीका पाँच जना र नेपाली काँग्रेसकी समानुपातिक प्रदेश सभा सदस्य गीता चौधरीले मातृ भाषामा शपथ ग्रहण गरेको प्रदेश सभा सचिवालयले जनाएको छ। प्रदेश सभाका ६ जना सदस्य बाहेक अन्यले भने नेपाली भाषामा शपथ ग्रहण गरेका छन् । सुदूरपश्चिममा नेपाली काँग्रेसका १९, माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा ९एकीकृत समाजवादी० का चार, राप्रपाका एक र एक जना स्वतन्त्र प्रदेशसभा सदस्य निर्वाचित भएका छन्।