भरतपुर देशकै नमुना बन्छ : मेयर रेनु दाहाल

भरतपुर । भरतपुर महानगरका मेयर रेनु दाहालले महानगरभित्र दीर्घकालिन महत्वका आयोजनाहरु कार्यान्वयनको चरणमा रहेको बताएकी छन् । १२ औँ नगरसभामा नीति तथा कार्यक्रम एव्म बजेट कार्यान्वयनको समीक्षा गर्दै उहाँले महानगरलाई देशकै नमुना महानगरमा रुपान्तरण गर्न थुप्रै विकास निर्माणले गति लिएको बताइन् ।
उनका अनुसार पुस मसान्तसम्म महानगरभित्र थप २६ किमि सडक कालोपत्रे भएको छ । महानगरभित्र हालसम्म ६ सय ४८ किमि सडक नयाँ कालोपत्रे बनिसकेको छ । ६ महिनामा ४ दशमलव ५ किमि सडक मर्मत र १० किमि सडक ग्राबेल गरिएको छ । ४ सय ३२ किमि सडक स्तरोन्नती अर्थात ग्राबेलिङ गरिएको छ ।
मेयर दाहालले पूर्वपश्चिम राजमार्गको नारायणी नदीमा सिग्नेचर ब्रीज निर्माणका लागि टेण्डर भैसकेको बताइन् । नारायणी तटमा सि–बिच मोडेलको विकास गर्ने काम अगाडि बढेको जानकारी दिइन् । नारायणी नदी नियन्त्रण आयोजनाबाट १५ करोड ५० लाख, सघन सहरी विकास आयोजनाबाट २ करोड, पर्यटन विभागबाट ७ करोड सहित २४ करोड ५० लाख बराबरको काम भैरहेको बताइन् ।

मेयर दाहालले नारायणी नदी आसापासका वस्तीलाई डुबान हुनबाट जोगाउन तटबन्धनको काम भैरहेको बताइन् । नारायणी तटबन्धनको काम ५ खण्डमा २ अर्ब ५४ करोड ५० लाखको ठेक्का सम्झौता भएर काम अगाडि भएको जानकारी दिइन् । पुलचोकदेखि गोन्द्राङसम्म हरियाली सहितको ६ लेनको सडक फुटपाथ र सर्भिस ट्रयाक निर्माण भैरहेको बताउनुभयो । यस्तै वाइपास सडक ४ लेनमा विस्तार कार्य अन्तिम चरणमा पुगेको उल्लेख गरिन् । हुलाकी सडकको १९ किमि विस्तार, भरतपुर–मेघौली–गोलाघाट (सहायक राजमार्ग) खण्डको ८ किमि सडक निर्माणाधिन रहेको जानकारी दिइन् । यस्तै निर्माणाधिन सिटी हल आगामी आर्थिक वर्षमा सम्पन्ने हुने अवस्थामा पुगेको बताइन् । भरतपुर महानगरको रिंगरोडको ८८ किमि मध्ये ४२ किमि सडक निर्माण सम्पन्न हुने चरणमा पुगेको बताइन् ।

मेयर दाहालले आगामी वर्ष २०८० लाई ‘घुमौं भरतपुर’ अभियान चलाउने बताइन् । महानगरको पर्यटन प्रवर्धनका लागि भरतपुर–पोखरा–लुम्बिनी गोल्डेन ट्रयाङगल टुरिजम् सर्किटको अवधारणालाई अगाडि बढाइएको बताइन् । महानगर क्षेत्रको पर्यटन प्रवर्धन र विकास गर्न निजी क्षेत्रको समेत सहकार्यमा पर्यटकीय गन्तव्य पहिचान गरी ६ रात ७ दिनको टुर प्याकेज घोषणा गरिएको जानकारी दिइन् ।


भरतपुर । भरतपुर महानगरपालिकाले पुरक बजेट ल्याएको छ । १२ औँ नगरसभामा महानगरले २५ करोड ९५ लाख ४१ हजार बराबरको पूरक बजेट ल्याएको हो । उपमेयर चित्रसेन अधिकारीले पूरक बजेट प्रस्तुत गर्दै उनले पूरक बजेट ल्याउँदा थप दायित्व सृजना नहुने बताए । अख्तियारी रकम प्रयाप्त नभएमा वा कुनै सेवा वा क्षेत्रमा बढी खर्च गर्नुपरेमा स्थानीय तहले पूरक बजेट ल्याउन सक्ने व्यवस्था छ ।

थप २४ वटा नयाँ कार्यक्रम तथा शिर्षकहरुमा बजेट परेको हो । पशु विकास तथा दूध अनुदानमा १ करोड ९० लाख, विपन्न आर्थिक सहायता मृगौला डायलासिसका लागि १ करोड ५० लाख, परियोजना बैंक तयारीका लागि ९३ लाख ४१ हजार, समपुरक साझेदारी कोषमा ५ करोड, विशेष आकस्मिक कोषमा ३ करोड, वेपत्ता तथा घाइते परिवारको लागि २० लाख, विपन्न आर्थिक सहायतका लागि ५ लाख, भरतपुर आँखा अस्पताललाई १ करोड, वडास्तरीय पार्क वडा नम्बर १८ मा ३० लाख, एमआरसी सेण्टर स्थापनाका लागि ८ लाख बजेट छुट्टाइएको छ ।

यस्तै स्मार्ट सिटी माष्टर प्लान निर्माणका लागि १ करोड, मागमा आधरित सडक तथा अन्य पूर्वाधार निर्माणमा ३ करोड, मागमा आधरित ग्राबेलिङका लागि १ करोड, ह्युमपाइप खरिदका लागि ५० लाख बजेट छुट्टाएको छ । महानगरले चालु आर्थिक वर्षका लागि ५ अर्ब
८४ करोड ४२ लाख ५६ हजार बजेट प्रस्तुत गरेको थियो । पुस मसान्तसम्म चालु तर्फ ८८ करोड ६३ लाख १९ हजार र पूँजिगत तर्फ ५३ करोड ८३ लाख १७ हजार खर्च भएको जनाइएको छ ।

पूँजिगत तर्फ ३५ र चालु तर्फ १७ प्रतिशत खर्च भएको महानगरले जनाएको छ । महानगरले १ अर्ब ५० करोड राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा पुस मसान्तसम्म ३४ करोड २९ हजार अर्थात २२ प्रतिशत मात्रै संकलन भएको छ । “स्रोत सुनिश्चत गरेर योजना समयमै सम्पन्न गर्न पूरक बजेट ल्याएका हौँ”, उपमेयर अधिकारीले भन्नुभयो, “समुन्नत र सुदृद्ध महानगर बनाउन सहयोग पुग्ने अपेक्षा छ ।” महानगरले पुरक बजेट ल्याएपछि अब महानगरको कुल बजेट ६ अर्ब १० करोड ३७ लाख ९७ हजार ४ सय रुपैयाँ पुग्नेछ ।
चितवन । भरतपुर महानगरपालिकाको १२ औँ नगर सभा पूरक बजेट र विभिन्न ऐनहरु अनुमोदन गर्दै सम्पन्न भएको छ ।

शुक्रबार बीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालको अडेटेरियम हलमा भएको नगर सभाले महानगरको विकासका कामलाई तीब्रता दिदै आर्थिक गतिविधिलाई चलयमान बनाउने गरी भएका निर्णयहरुलाई सर्वसम्मत अनुमोदन गरेको छ ।
भरतपुर महानगरपालिकाले शिक्षा ऐन, २०७५ (तेस्रो संशोधन) र भरतपुर महानगरपालिका सहकारी ऐन, २०७५ (तेस्रो संशोधन) लाई सर्वसम्मत रुपमा अनुमोदन गरेको हो ।

यस्तै मेलमिलापकर्ताहरुको सूचीकरण गर्ने प्रस्ताव पनि सर्वसम्मत अनुमोदन भएको छ । नगरसभालाई सम्बोधन गर्दै मेयर दाहालले भरतपुरको विकासको लागि पार्टीभन्दा माथि उठेर विगतको कार्यकालमा काम गरेको र यो कार्यकालमा पनि निश्पक्ष रुपमा काम गर्ने बताइन् ।
मेयर दाहालले भरतपुरको समृद्धिको लागि कुनै पनि योजनालाई अगाडि बढाउन तयार रहेको प्रष्ट पार्नुभयो । भरतपुरमा भईरहेको सन्तुलित विकासलाई निरन्रता दिन अहोरात्रा खट्ने गरेको उनको भनाई थियो
भरतपुरलाई एउटा उचाईसम्म पुराएर यो अन्तिम कार्यकाल पुरा गर्ने उद्देश्यका साथ दीर्घकालिन महत्वका विकासका पूर्वाधारलाई प्राथामिकतामा परेको बताइन् ।
मेयर दाहालले करको दर नभई करको दायारा फराकिलो बनाई भरतपुरको अन्तरिक आम्दानीलाई बलियो बनाउन सबै जनप्रतिनिधिहरुले हातेमालो गर्नुपर्नेमा जोड दिइन् ।

 

 

फागुन १५ गते चार कम्युनिस्ट पार्टीले एकताको कार्यक्रम सार्वजनिक गर्ने

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार कम्युनिस्ट पार्टीबीचे पार्टी एकताका लागि आगामी फागुन १५ गते संयुक्त बैठक बोलाइएको छ । शुक्रबार नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगर काठमाडौंमा बसेको ती पार्टीहरुका बैठकले एकताको ठोस कार्यक्रम निर्माण गरी सार्वजनिक गर्ने निर्णय गरेको हो । बैठकले देशको वर्तमान राजनैतिक अवस्थाको विश्लेषण गर्दै स्थिति चरम संकट र गम्भिर अवस्थामा रहेको निष्कर्ष निकालेको छ । ‘नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलन र देशको संकटपूर्ण अवस्थालाई दृष्टिगत गरी चार पार्टीको बीचमा पार्टी एकता एवं क्रान्तिकारी ध्रुवीकरणको निम्ति समय निर्धारण गरी बहस छलफल आरम्भ गर्ने, संयुक्त मोर्चालाई थप व्यवस्थित गर्ने निर्णय लिइएको छ’बैठकपछि जारी संयुक्त विज्ञप्तिमा भनिएको छ । विप्लव नेतृत्वको नेकपा,ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी,आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र कर्णजीत बुढाथोकी नेकपा समाजवादी माओवादीबीच पार्टी एकताको पहल भएको हो ।

राष्ट्रपतिको सम्बोधन आज

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई शुक्रबार सम्बोधन गर्ने भएकी छन्। संसद् सचिवालयका अनुसार संयुक्त बैठकलाई उनले शुक्रबार अपराह्न ३ बजे सम्बोधन गर्दै छन् । संविधानको धारा ९५ बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त बैठकमा सम्बोधन गर्ने र राष्ट्रपतिको सम्बोधनपछि सदनले धन्यवाद प्रस्ताव पारित गर्नेछ। त्यसको लगत्तै ५ः०० बजे दुवै सदनको छुट्टाछुट्टै बैठक बस्ने कार्यसूची तय भएको छ।

सुधारका कार्यक्रम एक साताभित्र पेस गर्न सञ्चारमन्त्री शर्माको निर्देशन

काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विद्यमान बजेट र कानुनभित्रबाट गर्न सकिने सुधारका कार्यक्रम एक साताभित्र पेस गर्न मातहतका निकायलाई निर्देशन दिएको छ । चालु आवको दोस्रो त्रैमासिकरअर्धवार्षिक समीक्षा एवम् मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा सञ्चारमन्त्री रेखा शर्माले आगामी फागुन ५ गतेभित्र ती कार्यक्रम पेस गर्न निर्देशन दिइन् । वर्तमान सरकार गठन भएपछि जनताले ठूलो आशा र अपेक्षा गरेको जनाउँदै उनले जनचाहना पूरा गर्ने योजना बनाउन आग्रह गरिन् । यसअघि मन्त्रालयसमक्ष गरेका प्रतिबद्धता समयमै पूरा गर्नेतर्फ मातहत निकायका प्रमुखको ध्यानाकर्षण गराउँदै उनले स–साना विषयलाई तत्काल सम्बोधन गरेर जनतामा आशा जगाउन सकिने बताइन् । “जे छ त्यसमा प्रभावकारी काम गर्ने प्रयत्न गरौँ, गर्न सकिने योजना ल्याउनुहोस्”, सरकारको प्रवक्ता शर्माले भनिन्, “विद्यमान कानुन र बजेटअनुसार आफैँले योजना बनाउनुहोस् ।” जनताको सञ्चारसम्बन्धी आधारभूत आवश्यकता पूरा गर्ने जिम्मेवारी मन्त्रालयको काँधमा रहेको जनाउँदै उहाँले तत्काल राजमार्गमा मोबाइल फोन लाग्ने वातावरण सिर्जना गर्न नेपाल दूरसञ्चार कम्पनीलाई निर्देशन दिइन्। “आफैँले गरेको प्रतिबद्धता किन पूरा भएनन्, पूरा नहुने प्रतिबद्धता किन गर्‍यौँ ?” मन्त्री शर्माले प्रश्न गरिन् । पूरा हुने योजना मात्र ल्याउन उनले सुझाइन् । “प्रत्येक निकायबाट तीन÷चार वटा योजना मन्त्रालयमा पेस गर्नुस्”, मन्त्री शर्माले भनिन्, “मन्त्रालयले त्यसलाई आफ्नो कार्यक्रम बनाएर लागू गर्छ ।” अर्थ मन्त्रालयलाई मन्त्रालयले अगाडि बढाएको योजनाको महत्त्वबोध गराउनुपर्नेमा जोड दिँदै उनले त्यस्ता योजनालाई सम्पन्न गराउन दुवै मन्त्रालयको संयुक्त टोलीमा छलफल गर्नुपर्ने बताइन् । दोस्रो त्रैमासिकसम्म आइपुग्दा धेरै काम गर्न नसकिएको स्वीकार गर्दै उनले समग्र मन्त्रालयको बजेट खर्च गर्ने दिशामा अगाडि बढ्नुपर्ने बताइन् । पूँजीगत खर्च सन्तोषजनक नभएकाले लक्ष्यअनुसार पूँजीगत खर्च वृद्धि गर्न निर्देशन दिइन्। मन्त्रालयको कार्यसम्पादनलाई प्रभाकारी बनाउन काम गर्ने तौरतरिका, शैली, प्रशासनिक झन्झट अन्त्य गर्नुपर्नेमा जोड दिँदै उनले कर्मचारीतन्त्रको क्षमतालाई राजनीतिक नेतृत्वले सही ढङ्गले सदुपयोग गर्ने बताइन् । मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले कुनै बहानाबाजी नगरी तोकिएका काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दिए । मातहतका निकायका प्रमुखसँग गरिएको कार्यसम्पादन सम्झौतासँग सम्बन्धित निकायको ‘परर्फमेन्स’ जोडेर हेरिने उनको भनाइ छ । मन्त्रालय मातहतका निकायबीचको समन्वयलाई बलियो बनाएर लैजानुपर्नेमा जोड दिँदै उनले ती निकायबीच उचित समन्वयबाट मात्रै बजेटले लिएको लक्ष्यमा पूरा हुने बताए । “अन्तर निकाय समन्वयका लागि मन्त्रालय तयार छ, त्यस्ता विषयलाई स्पष्टसँग लेखेर ल्याउनोस्”, उनले भने, “निर्धारित लक्ष्यअनुसार खर्च नहुँदा बजेट काटिन सक्छ, कार्यान्वयनमा गइरहेका योजनाको बजेट कटौती हुँदैन ।” राष्ट्रिय योजना आयोगका सहसचिव डा किरण रुपाखेतीले पूँजीगत खर्च वृद्धिमा ध्यान दिन आग्रह गर्दै मन्त्रालयको वित्तीय र भौतिक प्रगति सन्तोषजनक नरहेको बताइन् । अर्थ मन्त्रालयको खर्च कटौती प्रस्तावले केही महत्त्वपूर्ण योजना प्रभावित हुन सक्ने भन्दै उनले विशेष योजनाका लागि सहजीकरण गर्न अर्थ मन्त्रालयसमक्ष आग्रह गरे। मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयका शाखा अधिकृत गणेश घिमिरेले अनियमितता, ढिलासुस्ती, निर्णयविहीनताको अवस्था अन्त्य गरेर बजेट कार्यान्वयनमा लाग्नुपर्ने बताए। परिणाममुखी काम गर्न कार्यालय प्रमुखले महत्त्वपूर्ण पहल लिनुपर्ने उनको भनाइ थियो । कार्यक्रममा मन्त्रालय मातहतका १८ निकायका प्रमुखले बजेट कार्यान्वयनको प्रगतिबारे जानकारी गराएका थिए ।   मन्त्रालयको पूँजीगत खर्च न्यून चालु आवको अर्धवार्षिक अवधिमा सञ्चार मन्त्रालयको विनियोजित बजेटतर्फ चालु तथा पूँजीगत खर्च न्यून देखिएको छ । चालु आवको पुस मसान्तसम्म चालु खर्च ३९ दशमलव ४४ र पूँजीगत खर्च १३ दशमलव ७७ प्रतिशत खर्च भएको मन्त्रालयले जनाएको छ । आर्थिक वर्ष २०७९/०८० मा मन्त्रालयका लागि चालु खर्च रु पाँच अर्ब ४२ करोड ४३ लाख र पूँजीगत खर्च रु तीन अर्ब १९ करोड ६३ लाख गरी कुल आठ अर्ब ६२ करोड छ लाख विनियोजन भएको थियो । त्यसमा हालसम्म चालुतर्फ दुई अर्ब १३ करोड ९४ लाख र पूँजीगततर्फ ४४ करोड दुई लाख खर्च भएको छ ।

माओवादी केन्द्रको उपाध्यक्षमा सापकोटा र भुषाल मनोनीत

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेताहरू अग्निप्रसाद सापकोटा र पम्फा भुषाललाई उपाध्यक्षमा मनोनीत गरेको छ । स्थायी कमिटी बैठकको निर्णयअनुसार दुई नेतालाई उपाध्यक्षमा चयन गरिएको हो । भुषाल यसअघिको पदाधिकारी चयनमा उपमहासचिव थिइन् भने सापकोटा सभामुखको जिम्मेवारी सकिएसँगै पार्टीको जिम्मेवारीमा आएका हुन् । माओवादीले वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरालाई चयन गरेको थियो। यस अघिको कार्यविभाजनमा सापकोटा सभामुख भएका कारण छुटेका थिए । महासचिवमा देव गुरुङ, उपमहासचिवमा गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, जनार्दन शर्मा, मातृका यादव र शक्ति बस्नेत चयन छन् । सचिवमा गणेश साह, दिनानाथ शर्मा, चक्रपाणी खनाल, देवेन्द्र पौडेल, लिलामणी पोखरेल, हितराज पाण्डे, हितमान शाक्य, राम कार्की र डिलाराम आचार्य रहेका छन् । कोषाध्यक्षमा श्रीराम ढकाल रहेका छन् ।  

टर्कीका भूकम्प पीडितलाई नेपालको सहयोग

काठमाडौं। टर्की र सिरियाका भूकम्प पीडितलाई नेपालले राहत सामग्री पठाएको छ । नेपालमा रहेका मुस्लिम समुदायले सङ्कलन गरी टर्कीका भूकम्प पीडितलाई राहत सामग्री पठाएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले टर्कीका भूकम्प पीडितका लागि राहत सामग्री पठाएको जनाएको छ । टर्कीको दक्षिणी प्रान्त कहरामनमारसमा स्थानीय समयअनुसार सोमबार बिहान ७.७ म्याग्निच्यूडको भूकम्प गएको थियो भने त्यसको केही मिनेटपछि देशको दक्षिणी प्रान्त गाजियान्टेपमा ६।४ म्याग्निच्यूडको भूकम्प गएको थियो । त्यसको सोही दिन दिउँसो पुनः ७.६ म्याग्निच्यूडको भूकम्प गएको थियो । टर्की र सिरिया क्षेत्रमा सोमबार गएका दुई ठूला र घातक भूकम्पको केन्द्रबिन्दु रहेको कहरमानमारासमा उद्धारकर्मीहरूले जीवित व्यक्तिहरूको खोजीका लागि जुटेका छन् । भूकम्पमा परी आज (बिहीबार) बिहानसम्म १५ हजार ३८३ जनाको मृत्यु भइसकेको छ । साथै, नेपाल सरकारले भूकम्पबाट नराम्रोसँग प्रभावित भएको टर्की र सिरिया क्षेत्रमा मिडिकल टिम सहित सहयोग पठाउने तयारी गरिरहेको छ ।

सुदूरपश्चिम प्रदेशसभा बैठक ४ः०० बजे पुनः बस्ने

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने कार्यसूची रहेको सुदूरपश्चिम प्रदेशसभाको बैठक आज दिउँसो १ः०० बस्ने कार्यतालिका थियो । सो बैठक विशेष कारण स्थगित भएको र आजै दिउसो ४ः०० बजे बस्ने गरि तोकिएको जनाएको छ । यसअघि हिजो दिउँसो १ः०० बजे बस्ने कार्यतालिका रहेको प्रदेशसभा बैठक स्थगित भई आज दिउसो १ः००बजेका लागि तोकिएको थियो । मुख्यमन्त्री रावललाई विश्वासको मत प्राप्त गर्न सुदूरपश्चिम प्रदेशमा ७ सिट रहेको नागरिक उन्मुक्ति पार्टी निर्णायक देखिन्छ । ५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेशसभामा बहुमतका लागि २७ जना आवश्यक पर्छ । यहाँ काँग्रेस १९, एमाले १०, माओवादी केन्द्र ११, नागरिक उन्मुक्ति ७, नेकपा एस ४ , राप्रपा १ र स्वतन्त्र १ जना प्रदेशसभा सदस्य रहेका छन् ।

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक ३ः०० बजे बस्दै

काठमाडौँ । सत्ता साझेदार दलका शीर्ष नेता सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज दिउँसो ३ः०० बजे बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रपतिको निर्वाचनको उम्मेदवार लगायतका विषयमा छलफल हुने बताइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउने सहमति भएको थियो । उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रहेका छन् ।

टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउने ११ हजार बढी

एजेन्सी । टर्की र सिरियामा सोमवार गएको भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघेको छ।टर्कीको विपद्सम्बन्धी निकायका अनुसार त्यहाँ ज्यान गुमाउनेहरूको सङ्ख्या ८,५७४ पुगेको छ। सिरियामा मृतकको सङ्ख्या पुष्टि गर्न कठिन भइरहेको छ तर त्यहाँ २२६२ जनाको मृत्यु भएको सरकारी सञ्चारमाध्यम र सहायता संस्थाहरूले जनाएका छन्। उद्दारमा सहयोग गरिरहेका संस्थाहरूले भग्नावशेषमा पुरिएका व्यक्तिहरूलाई जीवितै भेटाउने सम्भावना कम हुँदै गएको बताइरहेका छन्। अत्यधिक चिसोका बाबजुद रातको समयमा समेत खोजी प्रयासहरू जारी रहँदा भग्नावशेषमुनि बाँचेकाहरूलाई भेट्ने समय कम हुँदै गएको हो । सर्वाधिक प्रभावित टर्कीका सहरहरूमध्ये एकमा भूकम्पका कारण भत्किएका आवासीय भवनहरूमा बस्ने पीडितका आफन्त नै अङ्कुशलगायत विभिन्न औजार लिई उद्धार कार्यमा खटिएका छन्। टर्कीमा सोमवार बिहान पहिलो पटक ४ बजेर १७ मिनेटमा ७.८ म्याग्निट्यूडको भूकम्प गएको थियो। त्यसको केही घण्टापछि ७.५ म्याग्निट्यूडको भूकम्प गएको थियो ।

गाई चोरेको आरोपमा विवाद : सप्तरीमा भारतीयले चलाए गोली

राजविराज । सप्तरीमा बुधबार दिउँसो गोली चलेको छ। हनुमाननगर कंकालिनी नगरपालिका १३ गोवरगाढामा भारतीयले गोली चलाएका हुन्। गाई हराएको विषयमा नेपाली र भारतीयबीच विवाद हुँदा भारतीयले गोली चलाएको सप्तरी प्रहरी प्रमुख एसपी नरेन्द्र कार्कीले बताए। गाई चारेको आरोपमा स्थानीय नेपालीले भारतीय नागरिक जावेदलाई पक्राउ गरेर नेपालतर्फ ल्याएर सोधपुछ गरेका थिए। उनलाई नेपाल ल्याएपछि २५–३० जना भारतीय नेपाल आएर ३ राउण्ड कटुवा पेस्तोलबाट फायर गरेका थिए। गोली चलाएपछि नेपाली भागेका थिए भने भारतीयले आफ्ना नागरिक लिएर फर्किएका थिए। गोलीको छर्रा लागेर स्थानीय ६२ वर्षीय महेन्द्र पासवान घाइते भएको स्थानीयले प्रहरीलाई जानकारी दिएका छन्। घुँडामुनि गोली लागेका उनी सामान्य छन्। उपचारमा जान मानेका छैनन्। घटनास्थलमा प्रहरी पुगेर फर्किएको एसपी कार्कीले बताए।

प्रधानमन्त्री प्रचण्ड र बेलायतका रक्षामन्त्री एण्ड्रयू मोरिसनबीच भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र बेलायतका रक्षामन्त्री एण्ड्र्यू मोरिसनबीच भेटवार्ता भएको छ । बुधवार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा पुगेर मोरिसनले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

नेपाल र अमेरिकाबीचको सम्बन्ध थप सुमधुर बनाउनेछौं : उपविदेशमन्त्री न्युल्याण्ड

काठमाडौं । दुई दिने नेपाल भ्रमणमा रहेकी अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया न्युल्याण्डले नेपाल र अमेरिकाबीचको सम्बन्ध र सहकार्यलाई थप अघि बढाउने बताएकी छन्। सोमवार ललितपुरमा पत्रकार सम्मेलन गरी उनले यस्तो बताएकी हुन्। उनले नेपालको आर्थिक विकासमा अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसि) परियोजनामार्फत सहयोग गरिरहेको पनि बताइन् । उनले अमेरिकाले नेपालको स्वास्थ्य, शिक्षा, साईबर क्राइमका क्षेत्रमा भइरहको अपराधलाई रोक्न नयाँ टेक्नोलोजीमा सहयोग गर्ने विषयमा आगामी दिनमा झनै सशक्त बनाउँदै जाने प्रतिवद्धता जनाइन् । उनले नेपाललाई अमेरिकाले बहुपक्षीय सहयोग गरिरहेको भन्दै आगामी दिनमा पनि आपसी हीतका विषयमा निरन्तरता दिने प्रतिवद्धता जनाइन् । उनले नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध, लोकतन्त्रको विकास तथा सुशासनमा पु¥याउँदै आएको सहयोगलाई अझै सुदृढ बनाउँदै जाने बताइन् । उपविदेशमन्त्री न्युल्याण्डले नेपालको नयाँ सरकारले अमेरिका र नेपालबीचको सम्बन्धलाई झनै सुमधुर बनाएर लैजानेमा आशावादी रहेको बताइन् । सो अवसरमा उपविदेशमन्त्री न्युल्याण्डले पाटन दरबार स्क्वायरको समेत अवलोकन गरेकी छन्। आज नै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री डा.विमला राई पौड्याल, नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छन्। नयाँ सरकार बनेपछि अमेरिकी सरकारको तर्फबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।

बीबीसीको ‘डकुमेन्ट्री’ प्रतिबन्दविरुद्ध भारतीय सर्वोच्च अदालतमा रिट दायर

काठमाडौं । बीबीसीबाट निर्मित ‘इन्डियाः द मोदी क्वयस्चन’ भारतमा प्रत्यक्ष वा अप्रत्यक्षरुपबाट प्रदर्शन गर्न प्रतिबन्द लगाइएको विरुद्धमा भारतीय सर्वोच्च अदालतमा रिट परेको छ । वरिष्ठ पत्रकार तथा द हिन्दूका पूर्वसम्पादक एन राम, अधिवक्ता र नागरिक अधिकार अभियन्ता प्रशान्त भूषण र तृणमूलका कांग्रेसका सांसद महुआ मोइत्राले संयुक्तरुपमा रिट दायर गरेका हुन् । बीबीसी निर्मित डकुमेन्ट्रीमा सन् २००२ को गुजरातमा भएको विद्रोह र सोमा मोदीको भूमिका प्रशारण गरिएको छ । सो डकुमेन्ट्रीको प्रशारणमा रोक लगाउने कार्य भारतको संविधान प्रदत्त सूचनाको हकको प्रतिकूल भएको भन्दै सोमबार रिट दायर भएको हो । डकुमेन्ट्रीलाई सत्तामा बस्नेहरूलाई प्रतिकूल हुने आधारमा प्रतिबन्ध लगाउन नमिल्ने निवेदकको जिकिर छ । भारतमा प्रतिबन्द लगाइएको डकुमेन्ट्री विश्वविद्यालयका विद्यार्थीले अवैधानिकरुपमा हेरेको भन्दै विद्यालयले १० विद्यार्थीलाई निलम्बनसमेत गरेको हो ।

नेप्सेमा उच्च अंकको गिरावट

काठमाडौं । सोमबार सेयर बजार नेप्सेमा उच्च अंकको गिरावट भएको छ। नेप्से परिसूचक ४१.०१ अंकले घटेर दुई हजार १२७.५२ बिन्दुमा कायम भएको छ । आज सेन्सेटिभ इन्डेक्स ७.३३, फ्लोट इन्डेक्स २.८६ र सेन्सेटिभ फ्लोट इन्डेक्स २.५९ अंकले घटेको छ । यसदिन २५६ कम्पनीका ८८ लाख ३६ हजार ४८८ कित्ता सेयर खरिदबिक्री हुँदा तीन अर्ब ३० करोड २२ लाख एक हजार रुपैयाँबराबरको कारोबार भएको छ । आज नेप्सेका सबै उपसमूहको सूचकमा गिरावट आएको हो । सबैभन्दा धेरै होटल तथा पर्यटन उपसमूह ३.६१ प्रतिशतले घट्दा फाइनान्स ३.४२ प्रतिशत, हाइड्रोपावर २.८९ प्रतिशत र निर्जीवन बिमा २.८५ प्रतिशतले घटेको छ । बाँकी उपसमूहको सूचकमा पनि एक प्रतिशतभन्दा धेरैले गिरावट आएको छ। बजार उच्च अंकले घटेपनि आज दुई कम्पनीको सेयर सर्किट मूल्यमा कारोबार भएको छ । लुम्बिनी जनरल इन्स्योरेन्स र आदर्श लघुवित्त वित्तिय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।

नेत्रज्योति संघद्धारा नेपालगंजमा २ हजार ८६८ विद्यार्थिको निःशुल्क आँखा जाँच

काठमाडौं । नेपाल नेत्रज्योति संघ फत्तेवाल आँखा अस्पताल नेपालगंजको आयोजनामा बाँकेका विभिन्न ४ बिद्यालयका दुई हजार ८६८ जना बिद्यार्थिहरुको निःशुल्क आँखा जाँच गरिएको छ । नेपाल सरकारको सहयोगमा आयोजना गरिएको उक्त निःशुल्क विद्यालय आँखा जाँच शिविर कार्यक्रम नेपालगंज महानगरपालिकाका ४ वटा सामुदायिक बिद्यालयमा सम्पन्न गरिएको हो । फुलटेक्रा माध्यामिक विद्यालयका ४०० जना, महेन्द्र माध्यामिक विद्यालयका ४०४ जना, युद्ध संस्कृत माध्यामिक विद्यालयका २१४ जना र धम्बोझि माध्यामिक बिद्यालयका १ हजार ८५० जना विद्यार्थीहरुको निःशुल्क आँखा जाँच गरिएको अस्पतालका बाह्य कार्यक्रम प्रमुख उमर सादिकले जानकारी दिए । आँखा जाँच गरिएका विद्यार्थीहरु मध्यमा दृष्टिदोषको समस्या देखिएका ७१ जना विद्यार्थीहरुलाई निःशुल्क चस्मा समेत वितरण गरिएको सादिकले बताए । बिद्यालय बढ्ने विद्यार्थीहरुलाई आँखाको समस्याका कारण कुनै कठिनाई नहोस् भन्ने उद्देश्यले संघले नियमित रुपमा विद्यार्थीहरुको बिद्यालयमा गई आँखा जाँच गर्दै आइरहेको छ भने दृष्टिदोषको समस्या देखिएका विद्यार्थीहरुलाई निःशुल्क चस्मा समेत वितरण गर्दै आइरहेको छ । नेपाल नेत्रज्योति संघद्धारा सञ्चालित विभिन्न अस्पतालहरुले विभिन्न संघ संस्थाहरुसंगको सहकार्यमा देशैभरी निःशुल्क आँखा उपचार तथा शल्यक्रिया शिविर सञ्चालन गर्दै आइरहेका छन् । नेपाल नेत्रज्याति संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल तथा १५० भन्दा बढि आँखा उपचार केन्द्र संचालन गरिरहेको छ । संघले देशभरका आँखा अस्पताल, आँखा उपचारका केन्द्र र विभिन्न आँखा शिविरहरु मार्फत हरेक जिल्लाका नागरिकहरुलाई आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ ।

अमेरिकी उपविदेशमन्त्री न्युल्यान्ड र एमाले अध्यक्ष ओलीबीच भेट

काठमाडौं । अमेरिकाका कुटनीतिक तथा राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया न्युल्यान्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्त भएको छ । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा भेट भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ । भेटमा नेपाल र अमेरिकाको द्धीपक्षीय सम्बन्धका बारेका छलफल भएको उनको सचिवालयले जनाएको छ । हिजो नेपाल भ्रमणमा आएकी उपविदेशमन्त्री भिक्टोरियाले प्रधानमन्त्री प्रचण्ड , कांग्रेस सभापति शेरबहादुर देउवा लगायत नेताहरुसँग भेटघाट गरिसकेकी छन् ।