निर्वाचन खर्च : सबैभन्दा धेरै एकीकृत समाजवादीको, कसको कति ? (सूचीसहित)

काठमाडौं ।गएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बन्दसूची बुझाएका ४७ वटै राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ भएको प्रचारप्रसारको खर्च विवरण पेस गरेका छन् । आयोगले दलहरूले गर्न पाउने खर्चको सीमा तोकेको थियो ।

आयोगमा बुझाइएको विवरणानुसार नेकपा (एकीकृत समाजवादी)को सबैभन्दा धेरै खर्च भएको देखिन्छ । एकीकृत समाजवादी समानुपातिकतर्फ करिब पाँच हजार मत नपुग्दा राष्ट्रिय दल बन्नबाट वञ्चित भएको थियो । सो पार्टीले एक करोड ९० लाख ८९ हजार ५०० रुपैयाँ खर्च भएको विवरण आयोगमा बुझाएको छ ।

उक्त निर्वाचनबाट सात पार्टी राष्ट्रिय दल बनेका थिए । दोस्रो सबैभन्दा बढी खर्च राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गरेको देखिन्छ । राप्रपाले एक करोड ८९ लाख खर्च भएको जनाएको छ ।

नेपाली कांग्रेसले एक करोड ५५ लाख ३२ हजार ५७८ खर्च भएको विवरण पेस गरेको छ ।

नेकपा (एमाले)ले एक करोड ३३ लाख २६ हजार ६९३ खर्च गरिएको विवरण बुझाएको छ ।

नेकपा (माओवादी केन्द्र)ले एक करोड चार लाख ३४६ रुपैयाँ खर्च भएको विवरण पेस गरेको छ ।

माओवादी र डा। राम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) एकल चुनाव चिह्न लिएर निर्वाचनमा होमिएका थिए ।

निर्वाचनमा पहिलोपटक प्रतिस्पर्धा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले ३६ लाख ८६ हजार २२५ रुपैयाँ खर्च गरेको जनाएको छ ।

आयोगमा बुझाइएको विवरणानुसार जनता समाजवादी पार्टी (जसपा)ले ३५ लाख खर्च गरेको छ । जनमत पार्टीले तीन लाख ८८ हजार खर्च गरेको छ ।

बहुजन शक्ति पार्टीले समानुपातिक निर्वाचनको प्रचारप्रसारका लागि खर्च नै नभएको जनाएको छ ।

खर्च विवरण हेर्नोस्–

सङ्घीय संसद् अन्तर्गत दुवै सदनको बैठक बस्दै

काठमाडौं । आज सङ्घीय संसद् अन्तर्गत दुवै सदनको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ। आजको प्रतिनिधि सभाको बैठकमा सभामुखले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यहरूको नाम हेरफेर गर्ने, नवनिर्वाचित सभामुख र उपसभामुखलाई दलीय आधारमा बधाई एवं शुभकामना प्रदान गरिने कार्यक्रम रहेको छ । त्यस्तै राष्ट्रिय सभाको बैठकमा सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन, २०७९ माथि छलफल गरियोस् भन्ने प्रश्ताव सभा समक्ष पेस हुने, शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले नेपाल विश्वविद्यालय विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।

निगमका पाँच जना पाइलटलाई निलम्बन गर्न प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल वायुसेवा निगमका पाँच जना पाइलटलाई निलम्बन गर्न निर्देशन दिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले नियम पालना नगर्ने निगमका पाँच पाइलटलाई निलम्बन गर्न निर्देशन दिएको बताए । उनका अनुसार नेपाल एयरलाइन्सको जहाज हङकङ विमानस्थलमा अवतरण गर्नेक्रममा त्यहाँको एटीसीको निर्देशन नमानेपछि पाइलट उद्धव घिमिरे, राजेश कुशवाह र नरबहादुर विश्वकर्मा तथा काठमाडौँबाट जापान उड्ने क्रममा स्टान्डर अप्रेशनल प्रोस्युड्युल पालना नगरेकाले प्रशन्न राना र वाइपी जुवारचनलाई निलम्बन गर्न प्राधिकरणले निर्देशन दिएको हो । जहाज विमानस्थलमा अवतरण गर्दा एटीसीको नियम पालना गर्नुपर्ने तथा उसैको निर्देशनअनुसार अवतरण गर्नुपर्ने हुन्छ । नेपाल वायुसेवा निगमका पाइलटले त्यसलाई पालना नगरेको पाइएपछि कारबाहीका लागि निर्देशन दिइएको प्राधिकरणले जनाएको छ । प्राधिकरणको निर्देशनसँगै निगमले पाँचै पाइलटलाई निलम्बन गर्नुपर्ने हुन्छ । त्यसपछि, प्राधिकरणले ती पाइलटलाई बोलाएर सोधपुछ गरेपछि निलम्बन लम्ब्याउने वा नलम्ब्याउने विषयमा निर्णय हुने प्रवक्ता निरौलाले जानकारी दिए ।

प्रहरी प्रवक्तामा प्रहरी नायब महानिरीक्षक पोखरेल

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डिआइजी)पोषराज पोखरेललाई दिइएको छ । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले महानिरीक्षकको सचिवालयमा कार्यरत प्रहरी नायब महानिरीक्षक पोखरेललाई सोमबार केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिएका हुन् । यसअघिका प्रवक्ता टेकप्रसाद राई लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङ सरुवा भएपछि प्रहरी नायब महानिरीक्षक पोखरेललाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

नेपाली कफीको जातीय अनुवांशिक अनुसन्धानमा युरोपियन युनियनको सहयोग

काठमाडौं। उत्तम कफीको जात पहिचान गरी नेपालको कफीको उत्पादकत्व तथा जलवायु परिवर्तन अनुकुलनमा सुधार ल्याउन सहयोग गर्ने उद्देश्यले युरोपियन युनियनको सहयोगमा संचालन भएको इयु नेपाल व्यापार तथा लगानी कार्यक्रम मार्फत अन्तर्राष्ट्रय व्यापार केन्द्रको प्राविधिक सहयोगमा एक अध्ययन सम्पन्न भयो । नेपालमा रहेका कफीका जातहरूको बारेमा गरिएको कफी जिनोटाइप डिएनए सिक्वेन्सिङ ( DNA Sequencing) अध्ययन सहितको उक्त प्रतिवेदनआज काठमाडौंमा सार्वजनिक गरियो । वातावरण , कफी खेती , कफी भित्र्याए पछिका अभ्यासहरू तथा कफीका आणुवांशिक वा जातीय भिन्नताले कफीका बोटको उत्पादकत्व, जलवायु परिवर्तन अनुकुलनमा प्रभाव पार्ने क्षमता तथा कार्वनफुटप्रिन्ट नियन्त्रण मलखादको प्रयोग प्रभावकारिता तथा तयारी कफी कपको गुणस्तर निर्णारण गर्छ । नेपाल बर्बोन कफीको देश भएको निर्क्योल गर्दै यस प्रतिवेदनले एकै किसिमको आणवांशिक पृष्ठभूमिको कफीको जातमा मात्र भरपर्दा आउन सक्ने जोखिम न्यूनीकरण गर्न नेपालले आणुवांशिक भूपरिदृश्यमा विविधता ल्याउनु पर्ने सुझाव दिएको छ। अनुसन्धानको क्रममा देशका १३ वटा कफी नर्सरीबाट २६ जातका कफीको १०४ वटा नमुना संकलन गरिएका थिए । नेपालमा रहेका कफीका जातहरूबारे राम्रोसँग बुझ्न तथा उच्च सम्भावना भएको कफी जातीको छनौट , कलमी तथा क्लनिङमा सुधारका उपायहरूको खोजीमा यो अध्ययन सहयोगी भएको छ । किसानहरूलाई कफीका विरूवाहरू वितरण गरिरहेका सारकारी तथा निजी नर्सरीहरूबाट अध्ययनका लागि नमुना विरूवाहरू संकलन गरिएका थिए । यस अनुसन्धानले समेटेका मध्ये ७० प्रतिशत नमुना बोर्बोन आणुवांशिक पृष्ठभूमिका रहेको र निजी नर्सरीबाट संकलन गरिका मध्ये ९८ प्रतिशत बोर्बोन आणवांशिक पृष्ठभूमि रहेको देखिएको छ । ‘बोर्बोन जातहरू जलवायु उत्थानशील रहेको र साना किसानहरूका लागि अनुकुल रहेकोले यस जातीकै आणवांशिक एकरूपता नेपालका लागि फाइदाजनक भए पनि यस जातका कफी छिटो कुहिने खालको भएकोले नेपालका लागि यो ठूलो जोखिम पनि हो,’ प्रतिवेदन अगाडि भन्छ ‘ ठूलोमात्रामा बोर्बोन कफीमा भरपर्दा कुहिने रोगको महामारी निम्तिन सक्छ जुन अघिल्लो दशकमा ल्याटिन अमेरिकामा देखिएको थियो। ’ यो प्रतिवेदनले सरकारी नर्सरीहरूले आणवांशिक विविधता काम गरिरहेको देखाएको छ । अध्ययनको क्रममा संकलन गरिएका नमुनाहरूमध्ये ८० प्रतिशत परम्परागत अरेविका जातका भेटिएका थिए । कुल नमुनाहरूमध्ये ७१ प्रतिशत बोर्बोन जात, १६ प्रतिशत इन्ट्रोग्रेस्ड ( मिश्रित ) जात र ३ प्रतिशत इथियोपियिन पृष्ठभूमिका थिए । यो अनुसन्धान नेपाल कृषि अनुसन्धान परिषद अन्तरगतको कफी अनुसन्धान केन्द्रको सहकार्यमा गरिएको हो । कफीका सरोकारवाला समुह तथा निकायहरूलाई नेपालमा कफीका जात र उत्पादन , उत्पादकत्व , गुणस्तर, रोजाइ , प्रवर्द्धनात्मक उपायहरू तथा रणनीतिहरूमा यिनीहरूको प्रभावबारे जानकारी दिन यस प्रतिवेदन संप्रेषण कार्यक्रमको आयोजना गरिएको हो । नेपाल कृषि अनुसंधान परिषद (नार्क) वरिष्ट बैज्ञानिक जीत नारायण चौधरीले नेपालमा किसानले स्थानीय स्तरमै कफीको आफ्नै तरिकाले स्थानीय रूपमा नाम दिएको र आधिकारीक रूपमा कफीको जातको नामकारण नभएको अवस्थामा नेपालमा उपलव्ध भएका कफीका आणवांशिक जातका बारेमा पहिचान गर्न यो अनुसंधान गरिएको वताउनु भयो । उक्त अवसरमा युरोपियन युनियनको इयु नेपाल टिआइपीका कार्यक्रम संयोजक डा विदुर घिमिरेले कार्यक्रमले नेपालको व्यापार क्षमता अभिवृद्धिमागरेको सहयोगबारे चर्चा गर्नुभएको थियो । कार्यक्रममा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, नेपाल कृषि अनुसंधान परिषद , कृषि तथा वन विश्‍व विद्यालय तथा नेपाल कफी उत्पादक संघ लगायत कफी क्षेत्रका प्रमुख सरोकारवाला निकायको उपस्थिति थियो । इयुको आर्थिक सहयोगमा संचालिन चार वर्षे इयु नेपाल व्यापार तथा लगानी कार्यक्रम (टिआइपी) सन् २०२० फेब्रुअरीमा भएको हो र यसले व्यापार तथा क्षेत्रिय एवं विश्व मूल्य श्रंखलामा सहभागिता बढाएर नेपाल सरकारलाई दिगो तथा समावेशी आर्थिक वृद्धि हासिल गर्न एवं गरिबी घटाउन नेपाल सरकारलाई सहयोग गर्छ । अन्तर्राष्ट्रिय व्यापार केन्द्र (आइटिसी) द्धारा कार्यान्वयन भइरहेको यस परियोजनाले नेपालको कफी तथा पस्मिनाको मूल्य श्रृंखलाको दिगो तथा समावेशी विकासका लागि निर्यात केन्द्रित भइ सहयोग गर्छ ।

प्रधानमन्त्री र लुम्बिनी प्रदेश प्रमुखबीच बधाई साटासाट

काठमाडौ । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री प्रचण्डलाई भेट्न शेरचन मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए। उनीहरुबीच बधाई तथा शुभकामना आदान–प्रदान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। साथै, समसामयिक राजनीतिका विषयमा पनि छलफल भएको छ।

‘सानो उमेरमा पत्रकारितामा त्रिभुवन पौडेलको ठूलो योगदान’

पोखरा,१० माघ । गत माघ १ गते पोखरामा विमान दुर्घटनामा निधन भएका पत्रकार त्रिभुवन पौडेलले सानो उमेरमा नेपाली पत्रकारितामा ठूलो योगदान गरेको सञ्चार क्षेत्रका व्यक्तिहरुले बताएका छन् । पौडेलको निधन भएको आइतबार आठौँ दिनमा प्रेस सेन्टर नेपाल केन्द्रीय समिति, गण्डकी प्रदेश कास्की शाखा र पोखरा महानगर कमिटीले संयुक्त रुपमा आज पोखरामा आयोजना गरेको शोकसभामा पौडेलले पत्रकारितामा गरेको योगदान बारे चर्चा गरियो । पौडेल प्रेस सेन्टरको केन्द्रीय उपाध्यक्ष तथा नेपाल पत्रकार महासङ्घको केन्द्रीय सदस्य थिए । प्रेस स्वतन्त्रता सेनानी एवं राष्ट्रिय समाचार समिति(रासस)का पूर्व अध्यक्ष कोमलनाथ बरालले छोटो समय बाँचेर पनि पौडेलले पत्रकारितामा धेरै कुरा दिएको बताए । विशेषगरी गण्डकी प्रदेशमा जनपक्षिय पत्रकारिताको विकाससँगै पत्रकार महासङ्घका भौतिक पूर्वाधार निर्माणमा पौडेलले नेतृत्वदायी भूमिका खेलेको बरालले बताए । बरालले भने,“पौडेल छोटो समय बाँच्नुभयो तर उहाँले पत्रकारितामा सँधै स्मरण हुने काम गरेर जानुभएको छ ।” पौडेलले कक्षा १० मा पढ्दा देखीनै पत्रकारिता क्षेत्रमा रुची राख्थे र मेहनत गरेर स्थापित बनेको बरालको स्मरण छ । स्व.पौडेल पत्रकार महासङ्घ कास्कीको दुई कार्यकाल सचिव थिए । सोही बेलानै महासङ्घको सुविधासम्पन्न दुई तलाको भवन निर्माण गरिएको थियो । पौडेलले पत्रकार महासङ्घ गण्डकी प्रदेशको संस्थापक अध्यक्ष बनेर पहिलो कार्याकालमानै प्रदेश समितिको पक्की कार्यालय भवन बनाए । प्रेस सेन्टर नेपालका केन्द्रीय महासचिव सन्तोष पौडेलले गण्डकी प्रदेश र केन्द्रमा समेत स्थापित पत्रकार पौडेलको निधनले पत्रकारिता क्षेत्रमा क्षति पुगेको बताए । उनले त्रिभुवनको मृत्युले प्रेस सेन्टर सहित समग्र पत्रकारिता क्षेत्र स्तब्ध बनेको बताए । महासचिव पौडेलले गण्डकीको पत्रकारितामा पौडेलको अभाव खट्किन दिन नहुनेमा जोड दिए । प्रेस सेन्टर कास्कीका अध्यक्ष कृष्ण दवाडीले पौडेल भौतिक रुपमा नरहेकाले उनका सपनाहरु पूरा गर्नुपर्ने जिम्मेवारी सबैको काँधमा आएको बताए । पौडेलप्रति शोक व्यक्त गर्न र परिवारमा समवेदनाका लागि प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष निर्मल ज्ञवाली, सुरेशचन्द्र अधिकारी, दयानिधि भट्ट, केन्द्रीय उपमहासचिव दीपक श्रेष्ठ, सचिव माधव पनेरु, शान्ता अधिकारी, प्रदेश अध्यक्ष अर्जुन काफ्ले, प्रेस सेन्टरका केन्द्रीय सदस्यहरु, प्रदेशका पदाधिकारी, जिल्लाका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो । विसं २०४३ भदौ ७ गते पर्वतको आर्थर डाँडाखर्कमा जन्म लिएका पौडेलको बाल्यकाल पोखरा मानै व्यतित भएको थियो । पोखराको जनप्रिय माविमा विसं २०५८ मा कक्षा ९ मा अध्ययन गर्दै गर्दा उनी स्वाभिमान साप्ताहिक पत्रिका मार्फत सानो उमेरमानै पत्रकारितामा प्रवेश गरेका थिए । काठमाडौँबाट पोखरा फर्किने क्रममा यती एयरलाइन्सको विमान सेती नदी खोँचमा दुर्घटना हुँदा पत्रकार पौडेल सहित ७२ जनाको ज्यान गएको थियो । दुर्घटनामा परेका एक जना अझै फेला पर्न सकेका छैनन् ।

आजबाट हिउँदे वर्षाको सम्भावना , तीनवटा प्रदेशमा हिमपात,सतर्क रहन विभागको आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । विभागले आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै भू–भागमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । आज राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जनाएको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै भू–भागमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । चारवटा प्रदेशका पहाडी भू–भाग वर्षाको सम्भावना रहेको र तीनवटा प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन विभागको आग्रह छ । नेपाल पश्चिमी भू–भागमा अहिले पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको विभागको भनाइ छ ।

गल्याङका पूर्वमेयर सहित ७ कर्मचारीविरुद्ध मुद्दा, २ करोड भ्रष्टाचार ठहर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको गल्याङका तत्कालीन मेयर भुपराज अधिकारीसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अदुवाको बीउ खरिदमा भ्रष्टाचार गरेको भन्दै तत्कालीन मेयर अधिकारीसहित प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डे, बाली विकाश अधिकृत अरविन्द मणी त्रिपाटी, लेखापाल राजेन्द्र रेग्मी, खरिददार सन्तोष कोइराला, बीउ आपूतिकर्ता स्पुक ट्रेड्स प्राली र त्यसका प्रतिनिधि शिवप्रसाद न्यौपानेविरुद्ध मुद्दा दायर भएको हो । स्पेसिफिकेसनमा उल्लेखित कागजात परीक्षण नै नगरी गुणस्तरहीन अदुवाको बीउ गानो खरिद गरेर भुक्तानी गरेकाले भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्तासमेत रहेका सहसचिव श्यामप्रसाद भण्डारीले एक विज्ञप्तिमार्फत जानकारी गराएका छन् । अनियमितता गर्ने नियतले अस्वभाविक दररेट कायम गरेर अदुवा खरिद गरेको र नगरपालिकालाई १३ लाख अतिरिक्त आर्थिक भार पुर्याएको भन्दै मेयर अधिकारीविरुद्ध अभियोग लगाइएको छ । यस्तो खरिद गरिद गरिएको अदुवा विउ गुणस्तरहीन रहेको भन्दै नगरपालिकाका मेयरसहित ४ कर्मचारी गरेर ५ जनाविरुद्ध एक करोड ९७ लाख ७० हजार ४९९ सय रुपैयाँ बिगो दाबी गरेर मुद्दा दायर गरिएको छ । नगरपालिकाले काठमाडौं तीनकुनेको स्पुक ट्रेडर्स प्रालिबाट अदुवाको बीऊ खरिद गर्दा बजेट २ करोड १४ लाख ५० हजार रुपैयाँ रहेकोमा ३ लाख ७९ हजार ५०१ रुपैयाँ अग्रिम करकट्टी गरेर बाँकी २ करोड १० लाख ७० हजार ४९९ रुपैयाँ स्पुक ट्रेडर्स प्रालिलाई भुक्तानी गरेको थियो । स्पुकलाई भुक्तानी गरेको रकममध्ये १३ लाख रुपैयाँ तत्कालीन नगर प्रमुख अधिकारीले अस्वभाविक रुपमा दररेट थप गरेर नोक्सान गरेको पाइएको अख्तियारले जनाएको छ । अदुवाको बीउ आपुर्तीकर्ता स्पुक ट्रेड्स प्राली र त्यसका प्रतिनिधि न्यौपानेविरुद्ध २ करोड १० लाख ७० हजार ४९९ रुपैयाँ बिगो र कैद सजाय माग गरिएको छ । अख्तियारले बीउ आपूर्ति गर्ने स्पुक ट्रेडर्स प्रालि तिनकुनेका प्रतिनिधि शिवप्रसाद न्यौपानेविरुद्ध पनि भ्रष्टाचारको मुद्धा दायर गरेको छ । गुणस्तरहीन अदुवाको बीउ बिक्री गरेर आफूले लाभ लिएको र गल्याङ नगरपालिकालाई हानी नोक्सानी पुर्याएको भन्दै आयोगले न्यौपानेलेसँग २ करोड १० लाख ७० हजार ४९९ रुपैयाँ बिगो माग दाबी गरेको छ । नगरप्रमुख अधिकारी नेकपा एमालेबाट निर्वाचित भएका थिए । स्याङजाका नेकपा एमाले जिल्ला कमिटि सदस्यसमेत रहेका अधिकारीले गत बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा अन्तरघात गरेको भन्दै पार्टीको कुनै पनि जिम्मेवारी नरहनेगरी पार्टीले कारवाही गरेको थियो ।  

उपसभामुख रानाले लिइन् पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित उपसभामुख इन्दिरा रानाले पद तथा गोपनीयताको शपथ लिएकी छन् । सोमबार उपसभामुख राणाले राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा प्रतिनिसभाका सभामुख देवराज घिमिरेबाट पद तथा गोपनियताको सपथ लिएकी हुन् । रानाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम ९ को अनुसूची २ बमोजिम उपसभामुख पदको शपथ लिनुभएको राष्ट्रपति कार्यालय शीतल निवासले जनाएको छ ।

त्रिभुवन विमानस्थल आन्तरिक टर्मिनल प्रमुख चुँडाल घुससहित पक्राउ

काठमाडौं । त्रिभुवन विमानस्थलस्थित आन्तरिक टर्मिलन व्यवस्थापन प्रमुख पूर्णप्रसाद चुँडाल घुससहित पक्राउ परेका छन्। उनलाई त्रिभुवन विमानस्थलस्थित आन्तरिक टर्मिनलको कार्यकक्षबाटै स्रोत नखुलेको रकमसहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए। ‘विमानस्थल आन्तरिक टर्मिनल व्यवस्थापन प्रमुखलाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेका छौँ’, उनले भने, ‘उक्त रकम घुस हुन सक्ने भएकाले अनुसन्धान भइरहेको छ। बरामद रकमबारे विस्तृत जानकारी दिनेछौँ।’

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त भएका छन् । माओवादी केन्द्रका उपमहासचिव समेत रहेका गजुरेललाई प्रधानमन्त्रीले आफनो प्रमुख राजनीतिक सलालहकार नियुक्त गरेका हुन् ।

योजना आयोगका उपाध्यक्ष श्रेष्ठले लिए सपथ

काठमाडौं ।राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले पद तथा गोपनीयताको सपथ लिएका छन् । उपाध्यक्ष श्रेष्ठलाई सिंहदरबारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सपथ ग्रहण गराएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले श्रेष्ठलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो। योजना आयोगमा नियुक्त भएका उपाध्यक्ष श्रेष्ठले यसअघि एक कार्यकाल बिताइसकेका छन्। श्रेष्ठ पहिलो कार्यकालका योजना आयोगको उपाध्यक्ष हुनुअघि नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागका कार्यकारी निर्देशक थिए।

गण्डकी प्रदेशमा ७ मन्त्रालय रहने (सूचीसहित)

पोखरा । गण्डकी प्रदेश सरकारले ७ वटा मन्त्रालयको टुंगो लगाएको छ । मुख्यमन्त्री खगराज अधिकारीले सत्तारुढ दलका नेताहरुसँग आइतबार गरेको छलफलमा १२ वटा मन्त्रालयलाई ७ मा झार्ने सहमति भएको थियो । तर कुन कुन मन्त्रालय खारेज गरेर कुन कायम गर्ने भन्ने तय भएको थिएन । सोमबार विहान मन्त्रालयहरु टुंगिएका छन् । अब मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, आर्थिक मामिला, अन्तरिक मामिला तथाकानुन, भौतिक पूर्वाधार निकास, सामाजिक विकास तथा स्वास्थ्य, उद्योग, पर्यटन, वन तथा वावरण र कृषि तथा जलस्रोत मन्त्रालय रहनेछ । बेलुकासम्म मन्त्रालयको भागबन्डा गरेर मन्त्रिपरिषद बिस्तार हुने प्रवक्ता तथा बिना विभागीय मन्त्री सीता सुन्दासले जानकारी दिइन् ।

नेपाली कांग्रेसको पत्रकार सम्मेलन आज

काठमाडौं । नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्दैछ । कांग्रेसले पछिल्लो समयमा भएका राजनीतिक घटनाक्रमबारे जानकारी गराउन पत्रकार सम्मेलन गर्न लागेको हो । पत्रकार सम्मेलन दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ । पार्टी सरकारबाट बाहिरिएपछि नेताहरुबाट फरक फरक खालका प्रतिक्रिया आइरहेको अवस्थामा पार्टीले पत्रकार सम्मेलनमार्फत पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा धारणा सार्वजनिक गर्न लागेको हो ।

विभागीय मन्त्रीले अनुगमन गरेकै दिन यातायात कार्यालयबाट सात जना पक्राउ

काठमाडौं। यातायात कार्यालयमा सेवाग्राहीलाई अनुचित प्रभावमा पार्ने सात जनालाई प्रहरीले नियन्त्रमा लिएको छ। पाँच जना विचौलिया र फर्जी स्वास्थ्य परीक्षण रिपोर्ट बनाउने दुई जनालाई विभिन्न कार्यालयबाट प्रहरीले नियन्त्रणमा लिएको हो। मंगलबार कठमाडौं उपत्यका प्रहरी कार्यालय र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो। यातायात व्यवस्था कार्यालय, एकान्तकुना, ठूलोभर्‍याङ र चाबहिलबाट पाँच जना र स्वास्थ्य परीक्षण रिपोर्ट फर्जी दिने दुई जनालाई यातायात व्यवस्था कार्यालय, चाबहिलबाट प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरुमाथि अनुसन्धान सुरु भएको कठमाडौं उपत्यका प्रहरी कार्यालयले विज्ञप्तिमार्फत् जानकारी गराएको छ। उप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले सेवाग्राहीको चाप रहने यातायात कार्यालय, एकान्तकुनामा पुगेर मंगलबार अनुगमन गर्नुभएको थियो। उहाँले अनुगमन गर्नुभए लगत्तै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।