माओवादी केन्द्रको एसिया महादेश संगठन समितिद्वारा बाढीपीडितलाई ८,३८,३३९ सहयोग

काठमाडौं, ६ कात्तिक । नेकपा माओवादी केन्द्र एसिया महादेश संगठन समन्वय समितिले बाढीपहिरो पीडितका लागि आठ लाख ३८ हजार तीन सय ३९ रुपैयाँ सहयोग गरेको छ ।

समितिले आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सो रकमको चेक हस्तान्तरण गरेको हो ।

समितिका इञ्चार्ज पम्फा भुसाल, सहइञ्चार्ज ओम शर्मा, केन्द्रीय सदस्य डिबि क्षेत्री, प्रवास प्रदेश कार्यालय मुख्य सचिव टिबी पाठक, प्रदेश समिति सहसचिव दीपक पुन र सदस्य ईश्वर कठायतले चेक हस्तान्तरण गर्नुभएको थियो ।

चेक ग्रहण गर्दै अध्यक्ष प्रचण्डले सहयोगका लागि एसिया महादेश संगठन समन्वय समितिलाई धन्यवाद दिनुभयो । नेपालमा पटकपटक आउने विपतपछि उद्धार, राहत र पुनर्स्थापनामा माओवादीले नै पहलकदमी लिने गरेको उल्लेख गर्दै उहाँले यसपटक पनि बेलैमा पहलकदमी लिएर संकट व्यवस्थापनको नेतृत्व गरेको बताउनुभयो ।

बाढीपहिरोको पछिल्लो घटनालगत्तै पार्टीले पहल लिएर देशब्यापीरुपमा उद्धार र पुनर्स्थापनामा कार्यकर्ता परिचालन गरिएको जानकारी दिँदै उहाँले प्रवासका पार्टी कमिटीहरुले पनि योगदान गरेकोमा प्रशंसा गर्नुभयो ।

उहाँले पार्टी कार्यालयमै हेल्प डेस्क स्थापना गरेर विपत क्षेत्रको क्षतिको अद्यावधिक गरिएको, केन्द्रीय राहतकोष स्थापना गरिएको, विज्ञहरुको टोलीले गरेको घटनास्थलको अध्ययनका आधारमा तयार पारेकोे पार्टीको ज्ञापनपत्र सरकारलाई बुझाइसकिएको र हिजोसम्म आउँदा बिपक्षी दलहरुको तर्फबाट पनि तत्काल राहत र पुनर्स्थापनाको काम गर्न ज्ञापनपत्र बुझाइएको जानकारी दिनुभयो । 

मानवीय विपतको मिलेर सामना गर्नुपर्ने उल्लेख गर्दै उहाँले पार्टी कमिटीहरुले यसपटक दसैं तिहारको शुभकामना आदानप्रदान नै नगरी पीडित जनताको पीडा र दुःखसँग हातेमालो गर्न गर्ने कार्यक्रम बनाएको बताउनुभयो ।

यी भूभागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना

काठमाडौं । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले लुम्बिनी र मधेश प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन रचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ। त्यसैगरी, आज राती देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । देशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । आज सूर्योदय बिहान ६ बजेर ७ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर २९ मिनेटमा हुनेछ ।

कक्षा १२ को ग्रेडवृद्धि परीक्षामा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि अर्थात् पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डले आइतबार सार्वजनिक गरेको नतिजाअनुसार ७०.६० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। बोर्डले गत भदौ २५ र २६ गते सञ्चालन गरेको कक्षा १२ को ग्रेडवृद्धि (पूरक परीक्षा)मा एक लाख २२ हजार १७१ विद्यार्थी सहभागी भएका थिए। सहभागी परीक्षार्थीमध्ये ८६ हजार २४६ विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरी उत्तीर्ण भएका बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए। परीक्षामा दुईजनाको नतिजा रद्द गर्नुका साथै तीनजनाको परीक्षा स्थगित भएको थियो। सार्वजनिक भएको नतिजामा परीक्षार्थीलाई चित्त नबुझेर पुनर्योग गर्न चाहनेले १५ दिनभित्र आवेदन दिन सक्ने बोर्डले जनाएको छ।

एसइईको नतिजा सुधारमा जुट्यो भरतपुर महानगर, विद्यालयले तोके लक्ष्य

 चितवन । भरतपुर महानगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयहरुले आगामी वर्ष कक्षा ८ र एसईईको नतिजा सुधार्ने प्रतिवद्धता जनाएका छन् । विद्यालयहरुले महानगरपालिकासँग आगामी वर्ष नतिजा सुधार्ने लिखित प्रतिवद्धता जनाएका हुन् ।  पछिल्लो समय सार्वजनिक शिक्षा सुधारका लागि कम्मर कसेर लागेको भरतपुर महानगरले नगरभित्रका सबै सामुदायिक विद्यालयहरुसँग एसईईको नतिजा सुधार गर्ने प्रतिबद्धता लिएको हो । सबै विद्यालयहरुसँग २८ बुँदे कार्यसम्पादन करार गर्दै महानगरले कक्षा ८ र एसईईको नतिजा  सुधार्ने प्रतिबद्धता लिएको हो ।  जसरी अन्य व्यापारिक कम्पनी या संघसंस्थाले आगामी वर्षका लागि लक्षित उपलब्धि निर्धारण गर्छन् त्यसरी नै महानगरले विद्यालयहरुसँग सिकाइ उपलब्धिको लक्ष्य वा टार्गेट निर्धारण गरिदिएको हो । लक्ष्य मात्रै निर्धारण गरिएको छैन महानगरले लक्ष्य पूरा गर्नका लागि विद्यालयहरुसँग कार्ययोजना पनि मागेको छ ।  महानगरले विद्यालयका प्रअहरुसँग आगामी वर्षको लक्षित सिकाइ उपलब्धिको प्रतिवद्धता लिएसँगै प्रअ र विद्यालयहरुले फेरि शिक्षकहरुसँग पनि त्यस्तै खालको प्रतिवद्धता लिएका छन् । फेरि शिक्षकहरुले आफ्ना विद्यार्थीहरुसँग नतिजा सुधार्ने त्यस्तै खालको लिखित सम्झौता गरेका छन् ।  गतवर्षको कक्षा ८ को वार्षिक परीक्षा र एसईईमा कति नतिजा थियो, अहिले कति छ र अब कति बनाउने हो ? विद्यालयहरुलाई सहभागी विद्यार्थी सङ्ख्याका आधारमा लक्ष्य निर्धारण गर्न लगाइएको छ । अब हरेक परीक्षाको नतिजा पछि लक्ष्य पूरा भए नभएको विद्यालयमै समीक्षा हुने महानगरको शैक्षिक प्रशासन  महाशाखा प्रमुख सुवास आचार्यले जानकारी दिए ।  लक्ष्य पूरा नभएमा किन पूरा नभएको हो ? कार्यायोजना कार्यान्वयनमा कहाँनेर समस्या भयो त्यसबारे महानगरले सुझाव पनि दिने गरेको छ । महानगरले सहयोग गर्नुपर्ने कुरा भए बुँदागत रुपमा मागेर सहयोग गर्ने पनि गरिएको छ ।  विद्यालयमा भर्ना भएर पढिरहेका विद्यार्थीहरुको नतिजा प्रति विद्यालयहरुलाई जिम्मेवार बनाउनका लागि कार्यसम्पादन करार गरिएको शैक्षिक प्रशासन महाशाखा प्रमुख आचार्यले जानकारी दिए । विद्यालयहरुको आगामी वर्षको नतिजा सुधारको लक्ष्य महानगर आफैले तोकिदिएको भने होइन । विद्यालयहरु आफैले आफ्नो वस्तुस्थिति मूल्यांकन र शिक्षक विद्यार्थीहरुसँग छलफल गरेर लक्ष्य निर्धारण गरेका हुन् । कतिपय विद्यालयहरुले पछि आएर पनि तोकिएको लक्ष्य  बढाउने पनि गरेका आचार्यले जानकारी दिए ।  शैक्षिक प्रशासन महाशाखाले महानगरका नगरप्रमुख र उपप्रमुखकै उपस्थितिमा औपचारिक कार्यक्रम गरेर विद्यालयका प्रअहरुसँग तीनपन्ने २८ बुँदे कार्यसम्पादन करार गरेको हो । विद्यालयहरुसँग कार्ययोजना सहित २०८१ को कक्षा ८ को अन्तिम परीक्षा र एसईईमा कति नतिजा पुर्याउन सक्नुहुन्छ भनेर लक्ष्य मागिएको थियो । हरेक त्रैमासिक परीक्षा पछि निर्धारित लक्ष्य, नतिजा र कार्ययोजनाबारे समीक्षा गर्ने गरिएको महाशाखा प्रमुख आचार्यले जानकारी दिए ।  नतिजामा सुधार नआएसम्म भवन राम्रो बनाउँदैमा, सबै विद्यार्थी भर्ना गर्दैमा शिक्षा सुध्रिदैन महाशाखा प्रमुख आचार्यले भने, आएका विद्यार्थीले के गरेर गए भन्ने कुरा महत्वपूर्ण हो ।  कक्षा ८मा महानगरले प्रश्नपत्र मात्रै बनाएर पठाउँदा नतिजा ९२–९४ प्रतिशत छ । ९ को र ११ कक्षाको पनि शतप्रतिशत नतिजा छ । १० र १२ कक्षामा मात्रै किन फेल हुन्छन् त विद्यार्थी ? आचार्यले प्रश्न गरे, आफैले प्रश्नपत्र बनाउने र परीक्षण गर्दा राम्रो हुने, अर्कैले गर्दा नराम्रो नतिजा आउने भएपछि हाम्रा शिक्षकमा कहीँ न कहीँ समस्या देखियो ।  हाम्रो ५० प्रतिशत बढी शिक्षक दरबन्दी कक्षा ५ सम्मको छ । तर उनीहरुको जवाफदेहिता कहीँ कतै छैन । कक्षा ५ देखि नै शिक्षकलाई नतिजाप्रति उत्तरदायी बनाउँदै लगे मात्रै माथिल्ला कक्षाको नतिजा सुध्रने आचार्य बताउँछन् ।  कक्षा ५ सम्मका शिक्षकलाई न राम्रो गर्नेलाई प्रोत्साहित गर्न सकियो न नराम्रो गर्नेलाई कारवाही ? अब सुधारको सुरुवात तल्लो तहबाटै हुनुपर्नेमा उनको जोड देखिन्छ । कक्षा ५ को अन्तिम परीक्षा पनि पालिकास्तरमा लिने वातावरण भए माथिल्ला तहका नतिजामा सुधार आउने उनको विश्वास देखिन्छ ।  शैक्षिक प्रशासन महाशाखाले विद्यालयहरुले आगामी वर्षका लागि तय गरेको कक्षा ८ र एसईईको लक्ष्य सबैले देखिनेगरी भित्तामा टाँसिदिएको छ । हरेक आगन्तुकले सजिलै विदालयहरुको यो वर्षको नतिजा र आगामी वर्ष विद्यालयले ल्याउन प्रतिबद्धता जनाएको लक्ष्य सजिलै देख्छन् ।  अझ महानगरले विद्यालयहरुसँग नतिजा सुधारको प्रतिवद्धता मात्रै जनाएको छैन त्यसका लागि र्शक्षिक सामग्री पनि सहयोग गर्ने गरेको छ । भर्खरै सोल्टी होटर लिमिटेडको सहयोग र मातृ नेपालसँगको सहकार्यमा २० विद्यालयहरुलाई मातृका डिजिटल सिकाइ सामग्री पनि वितरण गरेको छ ।   

चिनियाँ नेता छेन्ले भेटे प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटीका सदस्य एवं सिङहाइ प्रान्तका सेक्रेटरी छेन् गांग नेतृत्वको प्रतिनिधिमण्डलले आज भेट गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुई देश र दुई पार्टीबीचको आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको बताइएको छ । भेटमा प्रधानमन्त्री ओलीले चिनियाँ कम्युनिष्ट पार्टी र महासचिव सी जिनपिडको नेतृत्वमा चीनमा गरिबीको अन्त्यसहित भएको चौतर्फी विकास असाधारण रहेको उल्लेख गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । चिनियाँ नेता छेन्‌ले नेपालका राजनीतिक दलले गरेका निर्णयमा आफूहरुको सम्मान रहने र भ्रमणका क्रममा आएका विषयवस्तु महासचिव सीलाई जानकारी गराउने बताउनुभयो। यसअघि छेन्‌ नेतृत्वको प्रतिनिधिमण्डलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई छुट्टाछुट्टै गरेको थियो ।

लामिछानेको रिहाइका लागि ७७ जिल्लामै ज्ञापनपत्र बुझाउने रास्वपाको तयारी

काठमाडौं । सहकारीको बचत ठगीको अभियोगमा कास्की प्रहरीको हिरासतमा रहेका पार्टी सभापति रवि लामिछानेको रिहाइका लागि दबाब दिन रास्वपाले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउने तयारी गरेको छ। पार्टी केन्द्रीय सचिवालयले शनिबार राति निर्देशन पठाउँदै ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउन निर्देशन दिएको हो। ‘जिल्लामा हुनुभएका साथीहरूले सम्बन्धित सिडिओलाई ज्ञापनपत्र बुझाउने भन्ने कुरा छलफल भइराखेको छ। त्यसका लागि जिल्लामा भएका साथीहरूलाई परिचालन गरेर तयारी अवस्थामा रहनु भन्नुपर्छ। तर यसको लागि पोखरा आउन छोडेर जिल्लामा बस्नु चाहिँ भएन,’ तहगत समितिहरूलाई पठाइएको सन्देशमा भनिएको छ। ज्ञापनपत्र बुझाउन जाँदा जिल्लामा सम्भावना भएका सबैलाई खबर गर्ने, कुनै एक स्थानमा भेटघाट हुने, ज्ञापनपत्र बुझाउनको लागि सिडिओ (प्रमुख जिल्ला अधिकारी) वा सिडिओ नभए सहायक सिडिओको समय लिने, ज्ञापनपत्र बुझाउन जाँदैछौं भनेर मिडियाहरूलाई पनि साथै लाने, ज्ञापन पत्र बुझाउन सबैजना तयार भइसकेपछि ज्ञापनपत्र पढेर सुनाउने र सिडिओलाई ज्ञापनपत्र हस्तान्तरण गर्ने र त्यसपछाडि छोटो अनौपचारिक कुरा गरेर सिडिओसँग बिदा हुने भनेर पनि सचिवालयले सूचित गरेको छ। यसैबीच रास्वपाले प्रत्येक जिल्लाबाट सय—सय जना नेता कार्यकर्ता पोखरा उतार्न आन्तरिक निर्देशन दिएको छ।  

लामिछानेलाई आज अदालतमा उपस्थित गराइने

पोखरा । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वउपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइने भएको छ । प्रहरीले म्याद थपका लागि उनलाई अदालतमा उपस्थित गराउन लागेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले पूरक मुद्दाका लागि अनुसन्धान अगाडि बढाएको बताए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शुक्रबार काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेको थियो । उहाँलाई स्थलमार्ग हुँदै शनिवार बिहान पौन ३ बजे पोखरा ल्याइएको थियो ।  

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव, यस्तो रहनेछ मौसम

काठमाडौं ।अहिले देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही भूभागमा आंशिकदेखि साधारणतया बदली रही र बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भईरहेको छ । आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । देशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै, आज राती कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । यसैगरी, कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज सूर्योदय बिहान ६ बजेर ६ मिनेटमा हुनेछ भने सूर्यास्त साँझ ५ बजेर ३१ मिनेटमा हुनेछ ।

सुनको मूल्य तोलामै २ हजारले बढ्यो, चाँदीको कति ?

काठमाडौं । सुनको मूल्य तोलामै २ हजारले वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै आज नेपाली बजारमा छापावाल सुनको भाउ एकै पटक तोलामा २ हजारले बढेर १ लाख ६४ हजार ४ सयको उचाइमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार ६ सयले बढेर १ लाख ६२ हजार ४ सयको रेकर्ड कायम भएको थियो । यसदिन चाँदीको भाउ पनि तोलामा ३० रुपैंयाँले बढेर १९ सय ८० कायम भएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा यतिखेर सुन प्रतिऔंन्स २७ सय २५ डलर आसपासमा कारोबार भइरहेको छ 

कोरला नाकामा सञ्चार सुविधा विस्तार भएपछि सहज

काठमाडौं । हिमालपारीको जिल्ला मुस्ताङ र छिमेकी मुलुक चीनको स्वशासित क्षेत्र तिब्बतस्थित कोरला नाकामा नेपाल टेलिकमको बिटिएस टावर स्थापना भएपछि सहज भएको छ । टेलिकमको बिटिएस टावरको सहयोगमा सीमा नाकामा सुरक्षाको अवस्थाबारे बुझ्न, कोरला नाकाको भ्रमणमा पुग्ने पर्यटकसँग जानकारी लिन र दैनिक रुपमा सूचना आदानप्रदान गर्न राहत मिलेको हो । यसअघि नाका क्षेत्रमा सञ्चारको सुविधा नहुँदा कोरला नाकामा सुरक्षाको अवस्था पत्ता लगाउन, पर्यटकलाई परेको समस्या र तत्कालै उद्धार तथा समन्वय गर्नका लागि समस्या भैरहेको थियो । तर अहिले टेलिकमको टावर सञ्चालनमा आएपछि सीमा नाकामा सुरक्षाको जानकारी लिन, त्यहाँ पुग्ने पर्यटकलाई लेक लागेमा तत्कालै उद्धार गर्न, नाकाको भ्रमण गर्ने पर्यटकहरुको तथ्याङ्क सङ्कलन गर्नुका साथै आवश्यक समन्वय तथा सहजीकरणमा समेत सहज भएको मुस्ताङका प्रहरी नायव उपरीक्षक सूर्य बोगटीले जानकारी दिए। सीमा नाकामा टेलिकमको टावर निर्माणसँगै कोरला नाकाको भ्रमणमा पुग्ने पर्यटकहरु, मालसामान खरिद–बिक्री गर्न जाने स्थानीय व्यापारी र सर्वसाधारणहरु लाभान्वित बनेका छन् । मुस्ताङको लोमान्थाङ गाउँपालिका–१, छोसेरस्थित कोरला नाकामा यही असोजको दोस्रो सातादेखि टेलिकमको टावर स्थापना गरी सञ्चालनमा ल्याइएको हो । नेपाल टेलिकम दुरसञ्चार कार्यालय बागलुङको प्राविधिक तथा लोमान्थाङ गाउँपालिकाको भौतिक सहयोगमा टेलिकमको बिटिएस टावर स्थापना गरिएको छ । समुन्द्री सतहदेखि करिब ४७ सय मिटरको उचाइमा रहेको कोरला नाकामा टेलिकमको टुजी र फोरजी टावर सोलारको माध्यमबाट चल्ने गरी जडान गरिएको छ । बिटिएस टावरमा उच्च गतिको इन्टरनेट तथा टेलिफोन सेवाको क्षमता रहेको हुँदा भोल्ट आधारित प्रविधिको भिडियो कल गर्न र नमस्ते मोबाइलमा वाइफाई चलाएर सजिलै कुराकानी गर्न सकिन्छ । नाका क्षेत्रमा नै सञ्चार सुविधाको विस्तार भएकाले खासगरी सूचना तथा जानकारीहरु आदानप्रदानमा सहज भएको लोमान्थाङ गाउँपालिकाले जनाएको छ । कोरला नाका क्षेत्रमा नेपाल टेलिकमको टावर सञ्चालनसँगै नाकामा हुन सक्ने अवाञ्छित क्रियाकलापहरु रोक्नका लागि समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । कोरला नाकाको नेपालतर्फ गएको असार महिनामा गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा पूर्वाधार विकास कार्यालय मुस्ताङमार्फत एकीकृत भवन निर्माण भैसकेको छ । यसअघि नाकाको सुरक्षा र अनुगमन तथा निरीक्षणको लागि भन्दै नेपाल सरकारले सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरेको थियो ।

देशभर तापक्रम क्रमशः घट्दो क्रममा

काठमाडौं । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा स्थानीय वायुको पनि केही प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  देशबाट मनसुन बाहिरिएसँगै काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागको तापक्रम क्रमशः घट्न थालेको छ । काठमाडौँ उपत्यकाको अहिलेको तापक्रम १६ डिग्री सेल्सियस मापन गरिएको छ । आज यहाँको अधिकतम तापक्रम २६ देखि २८ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ ।  विभागका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा आंशिकदेखि साधारणतया बदली रहेको र बाँकी भागमा मौसम  सफा रहेको छ । विभागले आज बिहान ६ः०० बजे जारी गरेको मौसम बुलेटिन अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थान तथा  बाँकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । त्यसैगरी आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

लेबनान र प्यालेस्टाइनमा बर्बरतापूर्ण आक्रमण रोक्न माग गर्दै काठमाडौंमा प्रर्दशन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियू (क्रान्तिकारी)ले लेबनान र प्यालेस्टाइनका जनतामाथि भइरहेको बर्बरतापूर्वक आक्रमण रोक्न माग गरेको छ । बिहीबार माइतीघर मण्डलामा प्रदर्शन गर्दै विद्यार्थी संगठनले इजरायली आक्रमणको विरोध जनाएको हो। संगठनले लेबनान र प्यालेस्टाइनका जनताप्रति समवेदना र सहानुभूतिसमेत प्रकट गरेको छ। प्रर्दशनका क्रममा इजरायल र लेबनानमा रहेका नेपाली समुदायलाई सुरक्षितरुपमा नेपाल फर्काउन पहल गर्न नेपाल सरकारसमक्ष माग गरेको छ । साथै, हमासको कब्जामा रहेको भनिएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि इजरायली दूतावास, नेपाल सरकार र अन्तर्राष्ट्रिय समुदायलाई पहल गर्न संगठनले आग्रह गरेको छ ।

संक्रमणकालिन न्याबारे तीन दलका शीर्ष नेता छलफलमा

काठमाडौं। संक्रमणकाललिन न्याबारे  प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका शीर्ष नेताको बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा सुरु भएको छ । बैठकमा नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुुख प्रतिपक्षी दलका नेता नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, महान्याधिवक्ता रमेश वडाल सहभागी हुनुुहुन्छ ।  बैठकमा शान्ति प्रक्रियालाई टुुङ्गोमा पु¥याउने विषयसँग जोडिएका सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोग गठनलगायतका विषयमा छलफल हुने जनाइएको छ ।  ती आयोगसम्बन्धी कानुनलाई संशोधन गर्ने विधेयक गत भदौ १३ गते राष्ट्रपतिबाट प्रमाणीकरण भएको थियो।

पुंगी खोलामा पर्ने मापदण्ड विपरितका संरचना घरधनीले आफैले भत्काउन थाले

चितवन । गत असोज २ गते भरतपुर महानगरले मापदण्ड विपरितका भोगचलन गरी निर्माण भएका संरचनाहरुमा डोजर चलायो । महानगरले डोजर चलाउदाँ धनजनको क्षति नपुग्ने गरी भत्काउने नीतिअनुसार सम्बन्धित घरधनीलाई एक हप्ताको समय सीमा दियो ।  दशैसकिए लगतै पुंगी खोला क्षेत्रमा पर्ने संरचना धमाधम घरधनीहरुले भत्काउन थालेका छन् । नारायणगढको लायन्स क्लबको पाँचतले भवन अहिले घरधनीहरुले भत्काइरहेका छन् । कामदारहरुले ट्रष्ट निकालेर ढलान फुटाउने काम गरी रहेका छन् । महानगरले पुंगी खोला सौन्दर्यकरण अभियान अन्तर्गत लायन्स भवनबाट डोजर चलाउन सुरु गरेको थियो । यो भवन सामाजिक संस्था लायन्स क्लब अफ नारायणगढले ३० वर्षअघि निर्माण गरेको थियो ।  नारायणगढ ओरालो सकिने स्थानमा रहेको भवन पुङ्गी खोलाको ८० प्रतिशत भाग र सडकको २० प्रतिशत भागको जग्गा ओगटेर निर्माण गरिएको थियो । भरतपुर महानगरपालिकाका इन्जिनियर सूर्य लामाले लयान्स भवन लगायत अन्य भवनहरु क्रमश घरधनी आफैले भत्काउन सुरु गरेको जानकारी दिनुभयो । अतिक्रमित संरचना हटाउन पटक पटकको सूचनामा भइसकेकाले आफै संरचना भत्काउन अनुरोध गरिएको उहाँले बताउनुभयो । घरधनीले अटेरी गरी संरचना नभत्काए महानगरको ऐन कानुनअनुसार जरिवाना लिइने उहाँको भनाई छ । भरतपुर महानगर प्रमुख रेनु दाहालले पुंगी खोला मिचेर बनाइएका सबै अवैध संरचना हटाउने अभियान जारी रहेको उल्लेख गर्नुभयो । पुंगी खोला विकास तथा सौन्दर्यकरण करिडोर निर्माणका लागि सघन सहरी तथा भवन निर्माण आयोजनाबाट ६ करोड ६५ लाख रुपैयाँ बजेट छुट्याएको छ। ‘अहिले घरधनीहरुले मापदण्ड विपरितका संरचना आफै भत्काइ रहनु भएको छ’,उहाँले भन्नुभयो,‘ यो खुसीको विषय हो । महानगरपालिका बल प्रयोग गरेर भत्काउने पक्षमा छैन । अटेर गरे बल प्रयोग गर्न बाध्य हुनेछौ ।’   महानगरपालिकाले मापदण्ड विपरितका संरचना भत्काउने र सँग सँगै सौन्दर्यकरणको कार्य पनि अघि बढाएको छ ।

गौशाला धर्मशाला खाली गराउने काम रोक्न पर्यटनमन्त्रीको निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गौशाला धर्मशालासम्बन्धी विवाद अन्त्य गर्ने प्रयासस्वरुप पशुपति क्षेत्र विकास कोषको बैठक आह्वान गरेका छन् । साथै उनले धर्मशालासम्बन्धमा कुनै काम नगर्न कोषलाई निर्देशन पनि दिएका छन् । पशुपति क्षेत्र विकास कोषका अध्यक्षसमेत रहेका मन्त्री पाण्डेले असोज ३० गते ‘शान्ति सुरक्षामा समस्या उत्पन्न भएको’ भन्दै कोषलाई गरेको पत्राचारमा पशुपति गौशाला धर्मशाला खाली गराउने काम रोक्न निर्देशन दिएका हुन् । साथै उनले यही कात्तिक ४ गते परिषद् बैठक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आह्वान गरेका कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए । कोषले आफ्नो पूर्ण स्वामित्वमा रहेको राज्यको सम्पत्ति धर्मशालालाई कुनै व्यक्ति वा व्यापारिक समूहलाई सञ्चालन गर्न नदिने बरु गैरनाफामूलक ढङ्गले काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा सञ्चालन गर्ने घोषणा गरेपछि विवाद भएको हो । यसअघि धर्मशाला सञ्चालन गर्ने आएको मारवाडी सेवा समिति कोषको उक्त निर्णयको  विरोधमा उत्रिएको छ । कोषभन्दा पहिले मारवाडीको हातमा पत्र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषलाई असोज ३० गते बुधबार लेखेको पत्र मारवाडी सेवा समितिले बुधबारै प्राप्त गरेको छ । कोषका एक सदस्यका अनुसार बिहीबार बिहान १० बजे कार्यालय खुल्दा उक्त पत्र कोषले प्राप्त गरेको छैन । मारवाडी सेवा समितिका पदाधिकारीले विभिन्न सञ्चारकर्मीलाई ‘हामीले जित्यौ, पशुपति धर्मशाला हाम्रै हो’ मन्त्रालयको पत्र पठाइरहेका छन् । तर मन्त्रालयले कोषलाई लेखेको पत्र मारवाडी सेवा समितिका पदाधिकारीलाई कसले दियो भन्ने प्रश्न गम्भीर छ । मन्त्रालयको गोपनियतामा सवाल उठ्ने गरी मारवाडीले पत्र सार्वजनिक भएपछि धार्मिक अगुवाहरूले मन्त्रीमाथि नै छानबिनको माग गरेका छन् । पत्रको व्यहोरामा भनिएको छ, ‘पशुपति क्षेत्र विकास कोषको च.नं. ३३२ मिति २०८१ असोज २३ को शान्ति सुरक्षाको व्यवस्था मिलाइदिने विषयमा गृह मन्त्रालयमा पत्राचार भई यस मन्त्रालयलाई समेत बोधार्थ दिइएको पत्र प्राप्त भएको सन्दर्भमा लेखिदैछ। पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को मिति २०८१ असोज २० गते बसेको बैठकको निर्णय नं। २ को कार्यान्वयन गर्ने सम्बन्धमा तहाँबाट भए गरेका कार्यहरूले आराध्यदेव भगवान पशुपतिनाथको पवित्र क्षेत्रको शान्ति सुरक्षामा समस्या उत्पन्न भएको व्यहोरा उक्त पत्रबाट समेत बुझिन आएकोले परिषद बैठकबाट भएको उक्त निर्णय कार्यान्वयनको सन्दर्भमा तहाँबाट गरिएका कार्यहरू परिषदको अर्को बैठकबाट निक्यौल नभएसम्म स्थगन गर्न गराउनुहुन र तहाँबाट भए गरेका कार्यहरूको विषयमा छलफल गर्न मिति २०८१ कार्तिक ४ गते आइतबार विहान ९ः०० बजे पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषदको बैठक यस मन्त्रालयको बैठक कक्षमा बस्ने गरी बोलाउनुहुन पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ को दफा ११ को उपदफा ११।१ बमोजिम परिषद्का अध्यक्ष एवं माननीय मन्त्रीज्यूबाट निर्देशन भएको व्यहोरा जानकारी एवं आवश्यक कार्यार्थ अनुरोध छ ।’ गौशाला धर्मशाला पशुपतिनाथको सम्पत्ति पशुपति क्षेत्र विकास कोषले पशुपति गौशाला धर्मशाला राज्यको सम्पत्ति भएकाले कानुन अनुरूप फिर्ता ल्याउने प्रस्ट पारेको छ । कोषले आफ्नो पूर्ण स्वामित्वमा रहेको गौशाला धर्मशालामा कुनै व्यक्ति वा समूहलाई नदिने, गैरनाफामूलक रूपमा सञ्चालन गर्न काठमाडौँ महानगरपालिकासँग सहकार्य गर्ने जनाएको हो । कोषले कुनै व्यक्ति वा व्यापारिक समूहलाई कौडीको भाउमा राज्यको सम्पत्ति सुम्पिन नमिल्ने निष्कर्षसहित स्थानीय सरकारसँग सहकार्य आरम्भ गरिएको बताएको छ । कोषले पशुपति क्षेत्र विकास कोष नै अविच्छिन्न उत्तराधिकारवाला स्वशासित र सङ्गठित संस्था भएकाले विधि, कानुनबमोजिम गौशाला सञ्चालन गरिने बताएको छ । कोषले मारवाडी सेवा समितिले २०६० जेठ १२ गतेको सम्झौतापछि जग्गा कब्जा गरेर व्यापारिक प्रयोजनले प्रयोग गर्दै आएको पशुपति गौशाला धर्मशालाका सन्दर्भमा उठेको मोहियानीको सवाल पनि प्रस्ट पारेको छ । गौशाला २०२१ को नापीमा उल्लेख छ । २०४२ को नापीमा गाईगोठ र धर्मशाला भनेर नापी भएको थियो । २०५८ मा मारवाडी सेवा समिति दर्ता भएको हो । ‘यसरी जिल्ला प्रशासन कार्यालयमा समिति दर्ता हुँदा २०४२ को नापी निस्सामा उल्लेख भएको गाईगोठ र धर्मशालाको नामसँग मिल्ने गरी मारवाडी सेवा समिति नेपालले नयाँ संस्था दर्ता गराएको देखिन्छ । मोहियानी हक कानुनी हक हो, त्यसैले कानुनबमोजिम मात्र प्राप्त र समाप्त हुन्छ । गौशाला धर्मशाला पशुपतिनाथको सम्पत्ति हो । मोहियानी लाग्दैन,’ कोषले भन्यो । २०२१ मा सरकारले घर घरमा गएर जग्गाधनीको नाम, जग्गाको विवरण, जोताहा मोहीको पारिवारिक सदस्यको नामावली उल्लेख गरी १ नम्बर लगत तयार भएको थियो । त्यही लगत अनुसार नापीको समयमा सर्वसाधारणको सूचनाका लागि २ नम्बर अनुसूची नापी टोलीले प्रकाशित गरी त्यसैका आधारमा वास्तविक मोही पहिचान गरी भूमिसूधार कार्यालयले जोताहाको अस्थायी निस्सा प्रदान गरेको थियो । २०२१ को नापी तथा २०४२ को नयाँ सरकारी नापीमा पनि धर्मशाला क्षेत्रलाई मारवाडी समुदायको कुनै पहिचान जनाउने गरी नाप नक्सा नभएको कोषले जनाएको छ । ‘तत्कालीन समयमा गौशाला धर्मशाला शब्द मिसाएर मिल्दोजुल्दो हुने गरी जिल्ला प्रशासन कार्यालयमा मारवाडी सेवा समिति नेपाल नामको संस्था दर्ता गरेको देखिन्छ । यो २०५८ सालमा भएको हो,’ कोषले भन्यो । २०५८ अघि कुनै कानुनी व्यक्तिको अस्तित्व छैन । २०५८ पछि कुनै कानुनी व्यक्ति खडा गरिए पनि  व्यक्तिले २०५३ पुस २४ गते भएको भूमिसम्बन्धी ऐन चौथो संशोधनले मोहियानी हक प्राप्त गर्न सक्ने अधिकार हुन सक्दैन ।  कोषका प्रवक्ता रेवतीरमण अधिकारीले २०४६ वैशाख २२ गते तत्कालीन अमालकोट कचहरीका प्रमुख द्वारे लालध्वजको सहीछापबाट वितरित ‘मोही दर्ता प्रमाणपुर्जा’ को मोही महलमा ‘श्रीपशुपति गौशाला धर्मशाला’ उल्लेख भएको बताए । उनले अहिले यो नामको कुनै कानुनी संस्था नरहेको र अमालकोट कचहरी हाल कोष नै रहेकाले मोही पुर्जामा उल्लिखित ‘गौशाला धर्मशाला’ श्रीपशुपतिनाथ अन्तर्गतकै गौशाला धर्मशाला रहेको प्रस्ट पारे । राज्यकै निकायको खबरदारी प्रवक्ता अधिकारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६५ चैत ३० गतेको निर्णय अनुसार २०६६ वैशाख १४ गते पशुपति क्षेत्र विकास कोष, श्रीपशुपतिनाथ अमालकोट कचहरी र तत्कालीन संस्कृति तथा पुनर्संरचना मन्त्रालयलाई सुझाव पठाएर पशुपति गौशाला धर्मशालासम्बन्धी सम्झौता नवीकरण गर्न भनेको थियो । उनले आयोगले सम्झौतामा समयावधि उल्लेख नभएको र अनन्तकालसम्म कुनै संस्थालाई प्रयोग गर्न दिइरहनु न्यायोचित नदेखिएको, कोषले पाउने भनिएको वार्षिक ५१ हजार रुपियाँ अत्यन्तै न्यून भएको र समयसापेक्ष नदेखिएकाले नयाँ सम्झौता गर्न उचित हुने सुझाव दिएको बताए । उनका अनुसार आयोगको निर्णय विशेष अदालत काठमाडौँले सदर गरेपछि समितिले सर्वोच्च अदालतमा ‘अख्तियारको कार्यक्षेत्र होइन’ भनी मुद्दा दायर गरेको थियो तर सर्वोच्चले सम्झौताको समयावधि किटान गरी समसामयिक रूपमा भाडा निर्धारण गरी पुनः सम्झौता गर्न आदेश दिएको थियो । सार्वजनिक लेखा समिति र महालेखा परीक्षकले पनि कोषलाई समितिले बुझाउने भाडा न्यून रहेकाले नयाँ सम्झौता गर्नुपर्ने निष्कर्ष दिएको थियो । २०६२/६३ को प्रारम्भिक प्रतिवेदनमा सार्वजनिक लेखा समितिले कोषलाई दिएको निर्देशनमा ‘छ महिनाभित्र गौशाला धर्मशाला आफैँले सञ्चालन गर्नुपर्ने’ भनेको थियो । सार्वजनिक लेखा समितिको २०७८ को ५८ औँ वार्षिक प्रतिवेदन र २०७९ को ५९ औँ वार्षिक प्रतिवेदनमा समेत सोही अनुसार सुझाव दिइएको छ । यस्तो छ इतिहास विसं १९९९ जेठ ५ गतेको पुर्जीले पशुपतिमा छोडिएका दुध कटुवा नन्दी (साँढे) को संरक्षणका लागि जुनेलो घाँस लगाउन हरिनारायण भनिने रामकुमार मारवाडीलाई एक रोपनी दुई आना जग्गा उपलब्ध गराएको दस्ताबेजमा उल्लेख छ । साबिक पशुपति पञ्चायत वडा नं। २ ‘क’ को कित्ता नं. ८३ को चार रोपनी दुई आना र कि.नं. ८५ को चार रोपनी १० आना गरी जम्मा नौ रोपनी नौ आना दुई पैसा जग्गामा कोही पनि मोही नरहेको तथ्य कोषको अभिलेखमा देखिन्छ । २०६० मा समितिसँगको सम्झौतामा वर्षको ५१ हजार रुपियाँ लिने भनिएको छ तर मोहीसँग सम्झौता गरिँदैन । सहयोग पनि लिइँदैन । समितिलाई धर्मशाला सञ्चालन गर्न मात्रै दिइएको थियो । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्ले २०८० साउन १७ गते श्रीपशुपतिनाथ अमालकोट कचहरी कार्यालय ९हाल पशुपति क्षेत्र विकास कोष० र मारवाडी सेवा समितिबिच २०६० मा भएको सम्झौता खारेज गरेको थियो । त्यसअघि कोषले सम्झौता खारेज गरी करार गर्न उपस्थित हुन २०८० जेठ १२ गते नै मारवाडी सेवा समितिलाई पत्राचार गरेको थियो तर समितिले करार नवीकरण गर्न चासो देखाएन । सम्झौता खारेजीको निर्णयपछि समितिले ‘करार रद्द गर्ने निर्णय बदर गरी यथावत् पुनर्बहाली गरिपाऊँ’ शीर्षकमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले असोज १६ गते फैसाला गर्दै कोष सञ्चालक परिषद्को निर्णय कार्यान्वयन गर्न बाटो खुला गरेको हो । समितिको दाबी नपुग्ने फैसालापछि कोषले असोज २२ गते महानगरसँग पशुपति गौशाला धर्मशाला सञ्चालन र व्यवस्थापन गर्ने सहमति गरेको छ ।

राष्ट्रिय सभा अध्यक्ष दाहाल र भारतीय लोकसभा अध्यक्ष बिरलाबीच भेटवार्ता

जेनेभा। राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल र भारतीय संसद लोकसभाका अध्यक्ष ओम बिरलाबिच शिष्टाचार भेटवार्ता भएको छ।  अन्तर(व्यवस्थापिका संघको १४९ औं महासभामा सहभागी हुन जेनेभामा रहनुभएका अध्यक्ष दाहाल र लोकसभा अध्यक्ष बिरलाबीच द्विपक्षीय भेटवार्ता भएको हो। सो अवसरमा दुई देशबीचको सम्बन्ध, संसदीय सहकार्य, अनुभव आदान प्रदान तथा आपसी हितका बारेमा छलफल भएको थियो। भेटमा राष्ट्रिय सभा अध्यक्ष दाहालले नेपाल(भारत दुई देशबीच कूटनीतिक(राजनीतिक तहमा मात्रै नभई जनस्तरमा गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै जनताबीचको भावनात्मक सम्बन्धले दुई देशको सम्बन्धलाई अझ बलियो बनाएको बताउनु भयो। “नेपाल(भारत असल छिमेकीका रुपमा ऐतिहासिक सम्बन्ध त छँदैछ, अध्यक्ष दाहालले भन्नुभयो, “जनस्तरको गहिरो भावनात्मक सम्बन्धले दुई देशबीचको सम्बन्धलाई अझ बलियो बनाएको छ।” संघीय संसदले विगतदेखि नै नेपाल(भारत संसदीय मैत्री समूह गठन गरिरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले दुई देशका संसदहरू बीचको पारस्परिक सहयोग, अभ्यास र अनुभव आदान प्रदानका लागि भेटघाट र भ्रमणलाई जोड दिनुपर्ने बताउनु भयो। एक अर्काका संसदीय अभ्यास र अनुभव आदान प्रदानले लोकतान्त्रिक मूल्यमान्यतालाई सुदृढ गर्न र सम्बन्ध थप सुदृढ गर्न मद्दत पुग्ने अध्यक्ष दाहालले बताउनु भयो। सो अवसरमा भारतीय लोकसभाका अध्यक्ष बिरलाले भारत र नेपाल छिमेकी मात्रै नभई ऐतिहासिक सम्बन्ध र संस्कृतिका संरक्षक भएको बताउनु भयो। दुई देशका सामाजिक, सांस्कृतिक सम्बन्ध परापूर्वकालदेखि नै घनिष्ट रहेको भन्दै उहाँले कूटनीतिक सम्बन्ध स्थापित हुनुपूर्व नै दुई देशका जनताबीच बलियो सम्बन्ध रहेको बताउनु भयो। अध्यक्ष दाहालको सचिवालयका अनुसार भारतीय संसदका विविध आयाम र पक्षहरुको चर्चा गर्दै अध्यक्ष बिरलाले दुवै देशका संसदीय प्रक्रिया र अभ्यास उस्ताउस्तै भएकोले संसदीय अनुभव पनि एकै खालको भएको बताउनु भयो। भौगोलिक हिसाबले पनि नजिक भएकाले आवश्यकता अनुसार जतिबेला पनि भेटघाट, भ्रमण आदान प्रदान गर्न सकिने भन्दै उहाँले दुई देशका संसदीय भ्रमण र सहकार्य वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो। भेटमा दुवै देशका प्रतिनिधिमण्डलमा सहभागी सांसद तथा प्रतिनिधिहरुको सहभागिता रहेको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।