माओवादी केन्द्रको एसिया संगठन समितिद्धारा बाढीपीडितलाई पाँच लाख सहयोग
काठमाडौं, १३ असोज । नेकपा माओवादी केन्द्र एसिया संगठन समितिले बाढीपहिरो पीडितका लागि पाँच लाख सहयोग गरेको छ ।
समितिका इञ्चार्ज पम्फा भुसाल, सहइञ्चार्ज ओम शर्मा र संगठनका कार्यालय मुख्य सचिव टिबी पाठकले पाँच लाख रुपैयाँको चेक अध्यक्ष पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गर्नुभएको हो ।
चेक ग्रहण गर्दै अध्यक्ष प्रचण्डले एसिया संगठन समितिलाई सहयोगका लागि धन्यवाद दिनुभयो । बाढीपहिरोको पछिल्लो घटनालगत्तै पार्टीले पहल लिएर देशब्यापीरुपमा उद्धार र पुनस्थापनामा कार्यकर्ता परिचालन गरिएको जानकारी दिंदै उहाँले प्रवासको पार्टी कमिटीले पनि योगदान गरेकोमा प्रशंसा गर्नुभयो । उहाँले मानविय विपतलाई मिलेर सामना गर्नुपर्ने उल्लेख गर्दै पीडित जनताको पीडा र दुःखसँग हातेमालो गर्न पनि सबै नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।
अविरल वर्षासँगै देशभर बाढीपहिरोबाट ११ जनाको मृत्यु, १० बेपत्ता
काठमाडौं । अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोमा परी ११ जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर पाँचथरमा दुई, धनकुटामा दुईजनाको मृत्यु भएको छ । झापामा बाढीले बगाएर एजनाको मृत्यु भएको छ । काभ्रेमा पहिरोमा परेर तीन र ललितपुरमा एकजनाको मृत्यु भएको छ । काठमाडौंमा बाढी र पहिरोमा परेर एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । धादिङमा खोलाले बगाएर एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार १० जना बेपत्ता भएका छन् । ७६० जना सकुशल उद्दार गरिएको छ । १६२ घरमा क्षति भएको प्रहरीले जानकारी दिएको छ ।
उपत्यकामा अत्यधिक वर्षा, बागमती र बिष्णुमती सतर्कता तहभन्दा माथि
काठमाडौं । काठमाडौँ उपत्यकाको नदीले सतर्कताको तह पार गरेको छ। अझै बढ्दो क्रममा रहेकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ। उपत्यकास्थित बाग्मती नदी खोकना, गौरीघाट, बल्खु खोला बलम्बु र विष्णुमती गोङ्गबु बसपार्क जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरको हो। महाशाखाले बढ्दो क्रममा भएकाले नदीको तटीय क्षेत्रमा यात्रा गर्ने र बस्नेहरुले राती सम्मै उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ। यस्तै सिन्धुपालचोक जिल्ला स्थित मेलम्ची नदी नाकोटेको जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा रहेकाले तल्लो नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा सावधानी अपनाउन अनुरोध गरिएको छ।
पहिरो र लेदोका कारण नागढुंगा प्रवेशको नाका ठप्प
काठमाडौं । धादिङको धुनिबेसी नगरपालिका–९ खत्रिपौवामा लेदोसहितको पहिरो खस्दा काठमाडौँ प्रवेश गर्ने मुख्य सडक अवरुद्ध भएको छ। आजबिहानैदेखि परेको बर्षाका कारण नागढुंगा मार्गको प्रवेशद्वार नजिकै लेदोसहितको पहिरो खस्दा संघीय राजधानी काठमाडौँ प्रवेश गर्ने सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। आज दिउँसो १ बजेतिरको समयमा लेदो सहितको पहिरो खसेपछि उक्त सडक पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। सडक अवरुद्ध भएपछि काठमाडौँ प्रवेश गर्ने र बाहिरिने सवारीहरुको जाम लागेको बताइएको छ। निरन्तर वर्षाका कारण तत्काल पहिरो पन्छ्याउन सकिने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरिक्षक प्रल्हाद सिलवालले बताए।
सहकारी ठगेर भागेका एमालेका मेयर भारतमा पक्राउ
काठमाडौं । सहकारी ठगीमा फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई भारतको नयाँदिल्लीमा सुरक्षा अधिकारीले नियन्त्रणमा लिएका छन् । उनी एमालेबाट निर्वाचित भएका थिए । इन्टरपोलमा रेड नोटिस जारी भएका उनलाई दिल्लीमा फेला पारिएको भन्दै भारतीय पक्षले नेपाल प्रहरीलाई जानकारी गराएको छ । नेपाल प्रहरीका एक उच्च अधिकारीले भने, ‘भारतस्थित नेपाली दूतावासबाट समन्वय गरेर उनलाई नेपाल ल्याउने प्रक्रिया थालेका छौं ।’ नेपालीविरुद्ध १२ माघ ०८० मा रेड कर्नर नोटिस जारी भएको थियो । सहकारी ठगी प्रकरणमा जोडिएपछि मेयर नेपाली ५ जेठ ०८० देखि फरार थिए । इमेज सहकारीका संस्थापक अध्यक्ष नेपालीसहित नेपालीसहित कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन र सञ्चालक सदस्यहरू चित्रबहादुर भण्डारी, रूपा विक र झगबहादुर शाहीलाई ७ वैशाखमा गते गृहमन्त्रालयले यात्रा अनुमतिमा रोक लगाएको थियो । बचतकर्ताको २ अर्बभन्दा बढी रकम हिनामिना गरेको आरोप उनीमाथि छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जेठ १६ गते नेपालीसहित पदाधिकारीले बचतकताएको अर्बौं रकम अपचलन गरी संगठित ठगी गरेकाले उनीहरुविरुद्ध उजुरी लिन पत्राचार गरेको थियो ।
नरैनापुरमा पहिलोपटक सरकारी टोलीले गर्यो बजार अनुगमन
बाँके । बाँकेकोे नरैनापुर गाँउपालिकामा पहिलो पटक सरकारी टोलीबाट बजार अनुगमन गरिएको छ । बिहिबार नरैनापुर १ सुइयाबाट बजार अनुगमन सुरु गरिएको संयोजक मुकद्दर अली मुकेरीले जानकारी दिनु भयो । गाँउपालिकाले बजार अनुगमन समिति बनाए पनि नियमित रुपमा अनुगमन हुन सकेको थिएन् तर आजबाट चाड पर्वलाई लक्षित गरी अनुगमन सुरु गरिएको संयोजक मुकेरीले बताउनु भयो । नरैनापुर गाँउपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले किराना पसल, व्यवसाय, विक्रि स्थल, गोदाम, उद्योग लगायतमा अनुगमन निरिक्षणमा १६ वटा बुँदाहरु समेटिएको विवरण भए नभएको बारेमा जानकारी लिन अनुगमन समितिलाई निर्देशन दिएको बताउनु भयो । उहाँले भन्नुभयो सो अनुसार नभएको खण्डमा पहिलो चरणमा सचेत गराउने दोस्रो पटक पनि गल्ती पाइए जरिवानाका लागि सिफारीस गर्न सुझाव दिनु भयो । नरैनापुरमा दर्ता नभएको, दर्ता भएपनि नविकरण नभएको र साइन बोर्ड नभएको, मुल्य सूची नराखिएको, लेबल नभएको, नाप तौलको प्रमाण लगायत नभएको भेटिएको अनुगमन टोलीका सदस्य पशु शाखाका प्रमुख जगतराम यादवले बताउनु भयो । नरैनापुर १ सुईयामा रहेको रियासत दुध खरीद बिक्री केन्द्र सहित दुई दर्जन पसलहरुमा अनुगमन गरिएको बजार अनुगमन टोलीका संयोजक मुकेरीले जानकारी दिनु भयो । अनुगमनका क्रममा नरैनापुरका जगतराम यादव, नरैनापुर गाँउपालिकाका प्रेस बिज्ञ आलम खान, सुजीत तिवारी,हरी पाण्डे,रियाज खान र प्रहरी नयाब निरिक्षक प्रेम अधिकारी, प्रहरी हवल्दार जितेन्द्र केवटको सहभागिता रहेको थियो ।
पूर्वी नेपालका ६ जिल्लामा भारी वर्षा, अब पश्चिमतर्फ सर्दै
काठमाडौं । आज देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा भइरहेको छ । जल तथा मौसम विभागका अनुसार देशका विभिन्न जिल्लामा अति भारी वर्षा भएको छ । विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा १६ ठाउँमा वर्षाले चेतावनी तह पार गरेको छ । महाशाखाका अनुसार कोशी प्रदेशको झापामा अति भारी वर्षा भएको छ । झापाका अधिकांश ठाउँमा पछिल्लो २४ घण्टामा २ सय मिलिमिटरभन्दा बढी वर्षा भएको छ । चन्द्रगढीमा सबैभन्दा बढी २६३ मिलिमिटर वर्षा मापन भएको छ । त्यस्तै केचनामा पछिल्लो २४ घण्टामा २२२ मिलिमिटर वर्षा मापन भएको छ । त्यस्तै इलाममा समेत अति भारी वर्षा भएको छ । इलाममा पछिल्लो २४ घण्टामा २३७ मिलिमिटर वर्षा भएको छ । झापाको गौरादह र अनारमनी बिर्तामा पनि २ सय मिलिमिटरभन्दा बढी वर्षा मापन भएको छ । त्यस्तै पाल्पाको जाल्पा र अर्चलेमा समेत धेरै भारी वर्षा भएको छ । जाल्पामा पछिल्लो २४ घण्टामा १४८ र अर्चलेमा १५३ मिलिमिटर वर्षा मापन भएको छ । त्यस्तै मोरङ, सप्तरी र उदयपुरमा समेत पछिल्लो २४ घण्टामा धेरै वर्षा भएको छ । एक दिनमै १ सयदेखि २ सय मिलिमिटर पानी पर्दा त्यसलाई भारी वर्षा भन्ने गरिन्छ । त्यस्तै २४ घण्टाको अवधिमा २ सय मिलिमिटरभन्दा बढी पानी परेमा त्यसलाई अतिभारी वर्षा भनिन्छ । त्यसैगरी ५० मिलिमिटरदेखि १ सय मिलिमिटरसम्मलाई सामान्य, १० मिलिमिटरदेखि ५० मिलिमिटरसम्मलाई मध्यम र १० मिलिमिटरभन्दा कमलाई हल्का वर्षाका रूपमा वर्गीकरण गरिन्छ ।
संस्कृत विश्वविद्यालयका ताला तीन महिनापछि खोलियो
दाङ । नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय बेलझुन्डीमा लागेका सबै ताला तीन महिनापछि खुलेका छन् । विभिन्न विद्यार्थी संगठनहरूले तालाबन्दी गर्दै आएकोमा बिहीबार सबै संगठनले ताला खोलेको विश्वविद्यालयका तर्फबाट गठित वार्ता टोलीका संयोजक जनता विद्यापीठ बिजौरीका प्राचार्य योगराज शर्माले जानकारी दिनुभयो । यसअघि विद्यार्थी संगठन र आंशिक प्राध्यापकहरूले विभिन्न माग राखी तालाबन्दी गरेका थिए । आंशिक प्राध्यापकहरूले यसअघि नै ताला खोले पनि विद्यार्थी संगठनहरूको बाँकी थियो । लामो वार्ता र छलफलपछि विद्यार्थी संगठन ताला खोल्न सहमत भएको शर्माले जानकारी दिनुभयो । विश्वविद्यालयको बेलझुन्डीस्थित केन्द्रीय कार्यालय र आंगिक निकायमा तीन महिनादेखि ताला लाग्दा आर्थिक, शैक्षिक, प्राज्ञिक र प्रशासनीक काम पूर्ण रूपमा प्रभावित भएका थिए । तालाबन्दीका कारण असार २० मा मन्त्रिपरिषद्बाट विश्वविद्यालयको सयौं बिघा जग्गाको व्यवस्थापन गर्न गठित समितिले काम गर्न पाएको थिएन ।
स्थानीय तह उपनिर्वाचनको निर्वाचन कार्यक्रम सार्वजनिक
काठमाडौं ।निर्वाचन आयोगले मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाकाअनुसार मंसिर २ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ । त्यही दिन दिन बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ । उल्लिखित सूचीमा रहेका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि मंसिर ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । त्यही दिन दिउँसो ३ बजेपछि मंसिर ४ गते बेलुका ५ बजेसम्ममा मनोनयनपत्र र उजुरी उपर जाँचबुझ एवम् निर्णय गरी मंसिर ४ गते बेलुका ५ बजेदेखि ६ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम छ । मंसिर ५ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ बजेदेखि ५ बजे सम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ । मंसिर १६ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ । मतदान सुरु हुनुभन्दा अठचालिस घण्टा अगाडि अर्थात मंसिर १३ गते राति १२ बजेपछि प्रचारप्रसार निषेध अवधि लागु हुने आयोगले उल्लेख गरेको छ ।
नेपालकै लामो पुलको उद्घाटन आज
गत साल फागुनमा उद्घाटन गरिएको सिराहा र धनुषा जोड्ने गरी कमला नदीमा बनेको सबैभन्दा लामो झोलुंगे पुलको रेकर्ड ८ महिनामै तोडिने भएको छ। अहिलेसम्म उक्त पुल सबैभन्दा लामो हो। तर बिहीबारदेखि उक्त रेकर्ड तोडिने भएको छ। नवलपरासी (पश्चिम) सुस्तामा नारायणी नदीमा बनेको देशकै लामो झोलुंगे पुल विधिवत् रूपमा सञ्चालनमा आउँदै छ। यो पुल डेढ किलोमिटरभन्दा पनि लामो रहेको छ। बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेपछि उक्त पुल सञ्चालनमा आउने भएको छ। पश्चिम नवलपरासी सुस्ता गाउँपालिका–५ मा बनेको सो पुलले सुस्ता र सख्खर बिनही गाउँलाई जोड्नेछ। यसबाट यी दुई गाउँमा बस्ने करिब ३५० परिवारलाई आवतजावत गर्न सजिलो हुने भएको छ। यसअघि नारायण नदीपारिका बासिन्दालाई आफ्नै देशमा ओहोरदोहोर गर्न विदेशी भूमि प्रयोग गर्नुपर्ने बाध्यता थियो। अब त्यो बाध्यता हट्ने भएको छ। सहरी विकास मन्त्रालयमातहतका स्थानीय पूर्वाधार विभागका महानिर्देशक महेशचन्द्र न्यौपानेले सुस्तामा नेपालकै सबैभन्दा लामो झोलुंगे पुल निर्माण भएको बताए। उनका अनुसार सो पुल एक हजार ५७१ मिटर लामो रहेको छ।
बिदेशबाट फर्केका युवाले गरे श्रीमतीको गोली हानी हत्या
वीरगन्ज । सर्लाहीमा गोली हानेर आफ्नो श्रीमती हत्या गरेको छ । हरिपुर्वा नगरपालिका ५ मा गए राति पैने २ बजे आफ्नै श्रीमानले गोली हानेर श्रीमतीको हत्या गरेको सर्लाही प्रहरीले जनाएको छ । सर्लाहीका प्रहरीका अनुसार श्रीमान् चलाएको गोलीबाट हरिपुर्वा नगरपालिका ५ निवासी चित्रलेखा यादवको घटनास्थलमा मृत्यु भएको हो । पारिवारिक विवादका कारण श्रीमान्ले गोली चलाउँदा श्रीमतीको घटनास्थलमा मृत्यु भएको हो भने बुवा मध्यम घाइते भएका छन् । उनले चलाएको गोलीबाट बुवा घाइते छन् । छोराले गोली चलाउँदा ५४ वर्षीय बुवा रामदिनेश राय घाइते छन् । सर्लाही प्रहरीका अनुसार उनको बायाँ हातमा गोली लागेको छ । उनको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । आफ्नै बुवा र श्रीमतीलाई गोली हान्ने व्यक्तिको खोजी कार्य भइरहेको सर्लाही प्रहरी प्रवक्ता दीपक श्रेष्ठले बताए । उनका अनुसार गोली हान्ने व्यक्तिको पहिचान भइसकेको छ, तर अनुसन्धान चलिरहेकोले नाम भने प्रहरीले खुलाएको छैन । घटनास्थलबाट सानो हतियार र उक्त हतियारको दुई राउन्ड खोका र एक राउन्ड मिस फायर भएको गोली फेला परेको सर्लाही प्रहरीले जानकारी दिएको छ । श्रीमान् कामको सिलसिलामा विदेशमा बसिरहेका थिए । करिब एक महिना अगाडि मात्रै उनी कुबेतबाट फर्केका थिए । घरमा फर्केपछि केही समय मात्रै उनी घरमा बसे । कारण–घरमा विदेशबाट फर्केपछि पारिवारिक विवाद सुरु भएको थियो, त्यसपछि सबलाई मार्छु भन्दै उनी घरबाट निस्के । सर्लाही प्रहरीका अनुसार घरबाट निस्केको करिब एक महिना पछाडि बुधबार राती अचानक घरमा आए । प्रहरीको प्रारम्भिक अनुसन्धानमा छोरा गोली हान्ने व्यक्ति विदेशबाट फर्केपछि पारिवारिक सम्बन्ध ठिक नभएको पाइएको छ ।
त्रि.वि सुधारको माग गर्दै विद्यार्थीहरू धर्नामा,यस्ता छन् माग
काठमाडौं । त्रिभुवन विश्वविद्यालय सुधारको माग गर्दै विद्यार्थीहरुले धर्ना सुरु गरेका छन् । त्रिवि सुधारको आफ्ना माग ३ दिन भित्र पुरा गर्न माग गर्दै विद्यार्थीहरुले धर्ना सुरु गरेका हुन् । त्रिभुवन विश्व विद्यालयले सुधार गर्न सक्ने कामहरु समेत नगरेर विश्वविद्यालय र आम विद्यार्थीहरुको भविष्य धरापमा पारेको आन्दोलनरत विद्यार्थी प्रविन दाहालले बताउनुभयो । उहाँले विद्यार्थीका जायज माग ३ दिन भित्र सम्बोधन नभए आन्दोलनका तर्फबाट हुने सम्पूर्ण क्षतिको जिम्मेवार त्रि.वि. स्वयं हुने चेतावनी समेत दिनुभयो । यस्ता छन् विद्यार्थीका मागहरू १) आजसम्म year Gap र Year Overlapping(एकै वर्षमा २ वर्षको परीक्षा) का कारण ट्रान्स्कृप्ट नपाएका सम्पुर्ण विद्यार्थीहरुको ३ दिनभित्र ट्रान्स्कृप्ट उपलध गराउने सम्बन्धि निर्णय गर्नुपर्ने । २) नियम विपरित रहेर विद्यार्थीको भलाे गराउने क्याम्पस र परिक्षा दिलाउने प.नि.का. का सम्बन्धित पक्षहरुलाई कानून अनुसार कारबाही गरिनुपर्ने । ३) प्राज्ञिक परिषद्ले मिति २०१०-१२-०४ गते विद्यार्थीलाई ट्रान्स्कृप्ट उपलब्ध गराउने सम्बन्धि गरेको निर्णयको स्पष्टिकरण दिनुपर्ने । ४) विद्यार्थीको भविष्य अन्धकार बनाउने सबै निति नियमहरु यथासिघ्र सिनेट बैठक राखि सच्याउनु पर्ने ।
उपनिर्वाचनका लागि दल दर्ता आह्वान
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै २०८१ मङ्सीर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा भाग लिनका लागि राजनीतिक दलहरूलाई भोलिदेखि दर्ताका लागि आह्वान गरेको हो । आयोगले आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई नेपालको संविधानको धारा २१७ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम असोज १० गतेदेखि असोज १६ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निर्वाचन आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन भनेको हो ।
शर्माको स्मृतिमा श्रद्धाञ्जलीसभा
दाङ । दाङका वरिष्ठ साहित्यकार गिरिराज शर्माको सातौं दिनको पुण्यतिथि पारेर जिल्लाका आठ बढी साहित्यिक संस्थाहरुले संयुक्त रुपमा घोराही–१८ मसिनामा श्रद्धाञ्जलीसभा गरेका छन्। राप्ती साहित्य परिषद् केन्द्र तथा जिल्ला समिति, सर्वोदय पुस्तकालय तथा वाचनालय, प्रगतिशील लेखक संघ, लेखक संघ, नेपाली लेखक संघ, विश्व नेपाली साहित्य प्रतिष्ठान दाङ शाखा र सिस्नोपानी नेपाल दाङ शाखालगायतका संस्थाहरुले दिवंगत शर्माप्रति श्रद्धाञ्जली दिन कार्यक्रम आयोजना गरेका हुन् । राप्ती साहित्य परिषद् केन्द्रीय समितिका अध्यक्ष टीकाराम उदासीको अध्यक्षता तथा संस्थापक अध्यक्ष नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने सबैजसो वक्ताहरुले स्वर्गीय गिरिराज शर्माको व्यक्तित्व, कृतित्व तथा उहाँसँगका व्यक्तिगत अनुभूति सुनाएका थिए । श्रद्धाञ्जलीसभामा गिरिराज शर्मासँगको २०१० सालदेखिको सामिप्यताबारे बोल्दै प्रमुख अतिथि शर्माले सरल र सबैसँग मिल्ने स्वभाव, सिर्जनशीलता तथा चोखो मनका धनीजस्ता उहाँका राम्रा कुराको अनुसरण गर्नसके उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने धारणा राख्नुभयो । कार्यक्रममा राप्ती साहित्य परिषद्का केन्द्रीय सल्लाहकार पुरुषोत्तम खनाल, परिवारका तर्फबाट छोरी रेखा शर्मा, सर्वोदय पुस्तकालय तथा वाचनालयका कार्यवाहक अध्यक्ष चन्द्रराज पन्त, प्रगतिशील लेखक संघ केन्द्रीय सल्लाहकार पद्मप्रसाद शर्मा, सञ्चारकर्मीका तर्फबाट प्रेस काउन्सिल सदस्य शरद अधिकारी, राप्ती साहित्य परिषद् जिल्ला अध्यक्ष यम रेग्मी, लेखक संघका जिल्ला अध्यक्ष खगराज न्यौपाने, सिस्नोपानी नेपालका जिल्ला अध्यक्ष लोकराज पराजुलीले श्रद्धाञ्जली मन्तव्य राख्नुभएको थियो । सभाको सहजीकरण राप्ती साहित्य परिषद्का केन्द्रीय उपाध्यक्ष कमलमणि देवकोटाले गर्नुभएको थियो ।
दशैंका लागि टिकट बुकिङ आगामी शनिवारदेखि
काठमाडौं । दशैंका लागि सार्वजनिक यातायातको टिकट बुकिङ शनिबारबाट खुला हुने भएको छ । यातायात व्यवस्था विभागमा सरोकारवाला निकायहरूको उपस्थितिमा भएको छलफलले टिकट बुकिङ खुलाउने निर्णय गरेको हो । यात्रुवाहक सवारीसाधनका लागि घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलका अनुसार अग्रिम टिकट अनलाइनबाट समेत बुक गर्न मिल्ने व्यवस्था व्यवसायीले मिलाउनेछन् । सकेसम्म टिकट बुकिङ अनलाइनबाटै गर्ने व्यवस्था मिलाउने र काउन्टरमा जाने यात्रुले पोसाक र परिचयपत्र लगाएका आधिकारिक कर्मचारीसँग मात्र टिकट लिने व्यवस्था मिलाउन भनिएको उहाँले जानकारी दिनुभयो । यातायात व्यवसायीका अनुसार दसैंका बेला उपत्यकाबाट करिब २० लाख यात्रु बाहिरिने गर्छन् । उपत्यकाबाट बाहिरिने सवारीको चाप बढ्ने हुनाले खाद्यान्नलगायत अत्यावश्यक वस्तु ढुवानी गर्नेबाहेकका ट्रेलर र ठूला सवारीसाधनलाई नारायणगढ हुँदै काठमाडौंसम्म आउन घटस्थापनादेखि कात्तिक १ सम्म रोक लगाउने निर्णय भएको छ ।
कोशी, मधेश र लुम्बिनी प्रदेशका केही स्थानमा आज भारी वर्षाको संभावना
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। नेपालमा अहिले देशभर मनसुनी वायुको प्रभावसँगै बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीकोसमेत आंशिक प्रभाव रहेको छ। जसको प्रभावस्वरुप अहिले काठमाडौँ उपत्यकामा पनि मौसम बदली छ। आकाशमा बादल लागेको छ भने उपत्यकाका केही ठाउँमा सिमसिम वर्षासमेत भैरहेको छ। यतिबेला (बुधबार बिहान) देशभरको मौसम आंशिकदेखि साधारणतया बदली छ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा अहिले मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो पनि देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, बाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा दिउँसो भारी वर्षाको पनि सम्भावना रहेको छ। कोसी प्रदेशका तराई तथा मधेश प्रदेशका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा राति पनि मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोसी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराई तथा मधेश प्रदेशका केही स्थानमा राति हावाहुरीकोसमेत सम्भावना रहेको महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ। कस्तो होला बिहीबार र शुक्रबारको मौसम? २०८१ असोज १० गते बिहीबार दिउँसोː देशभर साधारण बदलीदेखि पूर्णतया बदली रहने छ। सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी प्रदेशका थोरै तथा बाग्मती, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका तराई भूभागका केही स्थानमा हावाहुरीकोसमेत सम्भावना रहेको छ। रातिː देशभर साधारणदेखि पूर्णतया बदली रहने छ। कोशी, बाग्मती, मधेश,गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, मधेस र लुम्बिनी प्रदेशका थोरै तथा बाग्मती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोसी, मधेस र लुम्बिनी प्रदेशका केही स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ। २०८१ असोज ११ गते शुक्रबार दिउँसोː देशभर साधारणदेखि पूर्णतया बदली रहने छ। कोसी, मधेस र बाग्मती प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।कोसी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै तथा कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोसी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका तराई भूभागका केही स्थानमा हावाहुरीकोसमेत सम्भावना रहेको छ। रातिː देशभर साधारणदेखि पूर्णतया बदली रहने छ। कोसी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोसी र लुम्बिनी प्रदेशका एक दुइ स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ।

