आर्थिक रुपमा कमजोर वायुसेवा निगमको अवस्था अध्ययन गर्न समिति गठन

काठमाडौं । सरकारले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को संरचनागत र व्यवस्थापकिय पक्षको अध्ययन गर्न समिति गठन गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीका अनुसार नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दिपेन्द्रवहादुर क्षेत्रीको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गरिएको हो ।

समितिमा ओम गुरुङ्ग (क्याप्टेन) टिकाराम राई (सञ्चारकर्मी), पियस आनन्द (वरिष्ठ चार्टड एकाउन्टेन्ट) र सहारा न्यौपाने रहेका छन् । निगमको संरचनागत र व्यवस्थापकीय पक्षको अध्ययन गरी सिफारिस गर्न अध्ययन समितिले अध्ययन प्रतिवेदन तयार गरी मन्त्रालयमा पेश गर्नेछ ।

आर्थिक रुपमा निक्कै कमजोर रहेको निगमले जहाज खरिदबापतको करिब ५० अर्ब ऋणभार बहन गरिरहेको छ ।

प्रधानमन्त्रीले चुस्त टिम बनाएर न्युनतम साझा कार्यक्रमका विषय एकएक गर्दै जानुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधामन्त्रीको टिम चुस्त हुनुपर्ने बताएका छन् । आजको प्रतिनिधिसभा बैठकमा रिजल्ट दिने गरी काम गर्न प्रधानमन्त्रीलाई चुस्त टिम बनाएर न्युनतम साझा कार्यक्रममा समेटिएका काम दिनकै एकएक गरी गर्दै जानुपर्ने बताए । “प्रधामन्त्रीले यो बेलामा चुस्त टिम बनाउनुपर्छ । गठबन्धनको नेता भएर बस्ने समय छोट्याउनुस् । एक महिनामा एक–दुई दिन बसे हुन्छ,” गगनले भने, “आफ्नो दलको अध्यक्ष बन्ने कुरा केही दिन बिर्सिएपनि हुन्छ । प्रधानमन्त्रीले प्रधानमन्त्रीजस्तो भएर दिनरात समय त्यसमा लगाउनुपर्छ ।” उनले जनप्रतिनिधिसँग जनता निराश भएको बताए । यतिबेला चुनाव भएर नयाँ सरकार आएकोमा उत्साह हुनुपर्ने बेलामा त्यस्तो हुन नसकेको बताए । प्रधानमन्त्रीले ६ महिनाको समय छ भन्ने सोचेर काम गर्न आग्रह गरे । सरकारको न्यूनतम साझा कार्यक्रममा ६ महिनामा नागरिकता ऐन ल्याउने उल्लेख छ । थापाले न्यूनतम साझा कार्यक्रममा असोजसम्मको समय लिएर त्यसमा केके भयो भन्ने संसद्मा जानकारी गराउन आग्रह पनि गरे । न्यूनतम साझा कार्यक्रममा समेटिएका विषयहरू दिनकै एउटा गर्दैजानुपर्ने उनको भनाइ छ ।

यस्तो छ सांसद चन्द्र भण्डारीको स्वास्थ्य अवस्था

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक रूपमा सुधार आएको छ। गत फागुन ३ गते बुद्धनगरस्थित निवासमा ग्यास लिक भई आगलागी हुँदा भण्डारी गम्भीर घाइते भएका थिए। उनीसँगै गम्भीर घाइते भएकी उनकी आमा हरिकलाको भने कीर्तिपुर अस्पतालमा उपचारका क्रममा फागुन ४ गते निधन भएको थियो। सुरूमा भण्डारीको पनि कीर्तिपुरस्थित अस्पतालमा उपचार गरिएकोमा उनलाई थप उपचारका लागि फागुन ४ मा भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लगिएको थियो। सांसद भण्डारीको स्वास्थ्यमा क्रमिक रूपमा सुधार आएको चिकित्सकहरूलाई उद्धृत गर्दै भण्डारीनिकट माधव न्यौपानेले जानकारी दिए। उनको अनुहारको छाला राम्रो हुँदै आएको र बायाँ हातको पट्टी खोलिइसकिएको उनले जानकारी दिए। कलमी गरिएको छालाले पनि राम्रो काम गरिरहेको चिकित्सकहरूले जानकारी दिएको न्यौपानेले बताए। दिनहुँ सांसद भण्डारीलाई फिजियोथेरापी गराइन्छ भने हिँडाउन पनि सुरू गरिएको छ। दिनमा तीनचार पटक हिँडाउन थालिएको र उनी अरूको सहयोगमा हिँड्न थालेको न्यौपानेले जानकारी दिए।

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं । सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर एक लाख १० हजार रुपैयाँ कायम भएको छ । महासंघका अनुसार चाँदीको मूल्य भने बढेको छ । तेजाबी सुनको मूल्य एक लाख ९ हजार ५ सय र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १४ सय ४० रुपैयाँको कायम भएको छ । बिहीबार छापावाला सुनको मूल्य एक लाख १० हजार २ सय, तेजाबी सुनको मूल्य एक लाख ९ हजर ६ सय ५० र चाँदी १४ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

मन्त्रालयको मूलगेटमै एकजोडी कृत्रिम फोक्सो जडान

काठमाडौं । विश्व स्वास्थ्य दिवसको अवसरमा आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एकजोडी कृत्रिम फोक्सो जडान गरिएको छ । मन्त्रालयले यूएसएआइडी स्वच्छ, हावा परियोजनासँगको सहकार्यमा मन्त्रालयको मूलगेटमा एक जोडी कृत्रिम फोक्सो जडान गरिएको हो । धेरै देशहरूले वायु प्रदूषणको सामना गरिरहेको सन्दर्भमा आईक्यु एअरले सन् २०२२ मार्च ४ मा देखाएको वायु गुणस्तरसम्बन्धी तथ्याङ्क अनुसार विश्वका १३१ देशहरूमध्ये धेरै वायुप्रदुषण हुने देशहरूमा नेपाल १६ औं स्थानमा रहेको छ । नेपालमा सन् २०१९ मा वायु प्रदूषणका कारण ४२ हजार १ सयको मृत्यु भएको थियो भने त्यसमध्ये ५ हजार ८० जनाको मृत्यु काठमाडौँमा मात्र भएको थियो । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा दीर्घकालीन फोक्सोको रोग नेपालमा हुने मृत्युको ठूलो कारण मध्ये एक हो र यसको लगभग ६६ प्रतिशत मृत्यु वायु प्रदूषणको कारणबाट हने उल्लेख गरिएको छ । वायु गुणस्तर खस्कदै गएकाले वायु प्रदूषण कम गर्न चेतना अभिवृद्दि एवं सरोकारवाला निकायहरूसँग समन्वय र वकालत भैरहेको छ।

नेपाली सेनामा जागिरको अवसर (सूचनासहित)

काठमाडौँ । नेपाली सेनाले विभिन्न पदका लागि आवेदन आह्वान गरेको छ । भर्ना छनोट निर्देशनालयले प्राड, प्राविधिक, हवाई तथा विविध सेवातर्फका अधिकृत पदहरूको लागि दरखास्त आह्वान गरेको हो । खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको लागि दरखास्त माग गरिएको भर्ना सूचनामा उल्लेख छ । योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेबसाइटमा गएर वैशाख ३० गतेसम्म अनलाइन दरखास्त दिन सक्नेछन् ।

कोशी आन्दोलनमा ज्यान गुमाएका लिम्बु शहीद घोषणा

काठमाडौं । सरकारले कोशी प्रदेश नामकरणको विरोधका क्रममा मृत्यु भएका पदम लिम्बु (लाजिहाङ) लाई शहीद घोषणा गरेको छ। सिंहदरबारमा आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले लिम्बुलाई शहीद घोषणा गर्ने निर्णय गरेको हो । लिम्बुको परिवारलाई राज्यबाट सहयोग गर्ने निर्णय भएको छ । पहिचानको आधारमा नामकरणको माग गर्दै चैत ५ गते विराटनगरमा भएको आन्दोलनका क्रममा घाइते भएका पदम लिम्बुको चैत १० मा मृत्यु भएको थियो। प्रहरीको कुटाईबाट घाइते भएका लिम्बुको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा निधन भएको थियो।

विश्व स्वास्थ्य दिवस मनाइदै

काठमाडौं । आज अप्रिल ७ तारिख विश्व स्वास्थ्य दिवस । विश्व स्वास्थ्य संगठनको स्थापना दिवसको अवसरमा हरेक वर्ष अप्रिल ७ तारिखमा यो दिवस मनाउने गरिएको छ । विश्व स्वास्थ्य दिवस यस वर्ष नेपालमा सबैका लागि स्वास्थ्य भन्ने नाराका साथ मनाइँदैछ। स्वास्थ्य प्रवद्र्धन गर्न, विश्वलाई सुरक्षित राख्न र जोखिममा परेकाहरूलाई स्वास्थ्य सेवा प्रदान गरी सबैका लागि गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवाका विषयमा ध्यानाकर्षण गर्ने मुख्य उद्देश्यसहित यो दिवस मनाउने गरिन्छ। सन् १९४८ मा विश्व स्वास्थ्य संगठनको स्थापना भएको पाँच वर्षपछि सन् १९५३ मा नेपाल सदस्य राष्ट्र बनेको थियो। नेपालले स्वास्थ्यका क्षेत्रमा तय गरेका लक्ष्यहासिल गर्न र अन्तर्राष्ट्रिय मञ्चमा स्वास्थ्यसम्बन्धी गरेका प्रतिबद्धता पुरा गर्न स्वास्थ्यका नीति, कार्यक्रम र सेवालाई व्यापक बनाउँदै लगिएको छ।

ओली भन्छन : सभामुखविरुद्ध महाअभियोग प्रस्ताव आउनसक्छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले सभामुखविरुद्ध महाअभियोग प्रस्ताव ल्याउन सक्ने आंशका व्यक्त गरेका छन् । पार्टी निकट पेशागत महासंघको कार्यक्रममा अध्यक्ष ओलीले विगतमा प्रधानन्यायाशीहरुमाथि पनि यही गठबन्धनले महाभियोग लगाएको उल्लेख गर्दै अहिलेको सभामुखविरुद्ध पनि कनै पनि बेला महाअभियोग प्रस्ताव ल्याउन सक्ने बताएका हुन । तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि महाभियोग लगाउन खोजेको स्मरण गर्दै ओलीले भने ‘अहिलेका सभामुखलाई पनि कुन दिन महाभियोग लगाउन बेर लाउँदैनन्।’ प्रतिनिधिसभामा २५ प्रतिशत सांसदले सभामुखले पद अनुसार आचरण नगरेको भनी प्रस्ताव पेश गर्न सकिने व्यवस्था प्रतिनिधिसभा नियमावलीमा छ ।

सरकार नयाँ बजेटको तयारीमा : मन्त्री महत

काठमाडौं । मुलकको अर्थतन्त्रलाई बलियो बनाउन सरकार नयाँ बजेटको तयारीमा जुटेको छ । मुलकको अर्थतन्त्रलाई बलियो बनाउने सरकारको उद्धेश्यअनुरुप नै सरकार अहिले नयाँ बजेटको तयारीमा लागेको अर्थमन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए । सम्पादक समाजका पदाधिकारीसँग आज भएको भेटमा अर्थमन्त्री महतले बजेटको मुख्य उद्देश्य नै अर्थतन्त्रलाई बलियो बनाउने रहेको बताए । भेटमा अर्थमन्त्री महतले सत्तागठबन्धन दलबीचको सहमतिमा सरकारको न्युनतम साझा कार्यक्रम आउने बताए ।   भेटमा समाजका पदाधिकारीले अर्थमन्त्री डा महतलाई बधाई दिनुको साथै सफल कार्यकालको शभकामना दिएका थिए ।

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं, चैत २२ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो ४ बजे पार्टी पदाधिकारीसहित विभागीय प्रमखहरुको बैठक बस्न लागेको हो । वैठकमा पार्टीले सञ्चालन गरेको २ महिने अभियानको समीक्षा लगायत पार्टी गतिविधिका विषयमा छलफल हुने माओवादी केन्द्रका सचिव गणेश शाहले एभरेष्ट दैनिकलाई जानकारी दिए । साथै पछिल्ला राजनीतिक एवम् समसामयिक विषयहरुमा पनि बैठकमा छलफल हुने छ ।

हिमपहिरोमा परी तीन नेपाली सहित सात जनाको मृत्यु

काडमाडौं चैत २२ । सिक्किमको गान्तोक नाथुला जेएनएम सडकमा हिमपहिरोमा परी नेपाली सहित सात जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । हिमपहिरोमा परी ज्यान गुमाउनेमा चितवनका शिवप्रसाद लामिछाने, आशिका ढकाल र रुपन्देहीका मुना शाह श्रेष्ठ र अन्य चार जना भारतीय नागरिक रहेका छन्। घाइते १३ जना मध्य तीन जना नेपाली रहेका छन्। नेपालबाट घुम्न गएका उनीहरु अचानक आएको हिमपहिरोमा परेका हुन्। तीनै जना नेपालीको शव ल्याउने तयारी भइरहेको छ । स्थानीय समय अनुसार मंगलबार दिउँसो सवा १२ बजे र गान्तोक–नाथुलापास जोड्ने जवाहरलाल नेहरु सडकमा हिमपहिरो गएको बताइएको छ । हिमपहिरोमा सवारी साधनहित केहि पर्यटक पुरिएको हुन सक्ने आशंका गरिएको छ । घटनास्थलबाट १४ जनालाई उद्धार गरेर नजिकैको आर्मी क्याम्पमा लगिएको भारतीय सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

लामिछानेको बलात्कार मुद्दामा अन्तिम सुनुवाइका लागि आज पेसी

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको जबरजस्तीकरणी मुद्दामा अन्तिम सुनुवाइका लागि आजका लागि पेसी तोकिएको छ । चैत १३ गते पनि अन्तिम सुनुवाइका लागि पेसी तोकिएको थियो । तर, पेसी लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेपछि लामिछानेकै कानुन व्यवसायीले स्थगित गराएका थिए । त्यसपछि आजका लागि सुनुवाइ पेसी तोकिएको हो । सर्वोच्च अदालतले लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा ‘फास्ट ट्रयाक’बाट सकाउन आदेश दिए पनि हालसम्म अन्तिम सुनुवाइ सुरु भएको छैन ।

पत्रकार भण्डारीलाई मातृशोक

काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्ष तथा प्रेस सेन्टर नेपालका वरिष्ठ नेता खिलबहादुर भण्डारीलाई मातृशोक परेको छ । भण्डारीकी आमा दुदकुमारी भण्डारीको ७६ वर्षको उमेरमा मङ्गलवार साँझ काठमाडौं स्थित निवासमै निधन भएको हो । केही समययता मिर्गौलासम्बन्धी समस्याबाट पीडित स्वर्गीय भण्डारीका दुई छोरा, १ छोरी र श्रीमान रहेका छन् । खिलबहादुर जेठा छोरा हुन् । स्वर्गीय भण्डारीको मङ्गलवार राति नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिँदैछ । रातोपाटी डटकमका संस्थापक सम्पादक ओम शर्माले स्वर्गीय भण्डारीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गरेका छन् ।

गणतन्त्र पक्षधर शक्तिबीचमा राष्ट्रिय सहमति कायम गरेर अघि बढनुपर्नेमा सांसदको जोड

काठमाडौं । राष्ट्रियसभाका सांसद नारायणप्रसाद दाहालले संघीयता, गणतन्त्र पक्षधर शक्तिबीचमा राष्ट्रिय सहमति कायम गरेर अघि बढनुपर्नेमा जोड दिनु भएको छ । मुलुकमा देखा परेको आर्थिक जटिलता, शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन र जनताको अपेक्षा अनुसार विकास र समृद्धिको कामलाई अघि बढाउन सरकारले राष्ट्रिय सहमतिको बाटोबाटै अघि बढनुपर्ने उहाँको भनाइ थियो । सांसद दाहालले वर्तमान सरकारले पनि सोही कुरालाई आत्मासात गरेर अघि बढिरहेको बताए । सांसद दाहालले शान्ति प्रक्रियाका बाँकी कामलाई तार्किक निष्कर्षमा पुर्याउन ढिलाई नगर्न पनि सरकारलाई सचेत गराए ।

काठमाडौंका मेयर वालेनसँग धरानका मेयर हर्कको भेट

काठमाडौं । काठमाडौंका मेयर वालेन शाह र धरानका मेय हर्क साम्पाङबीच भेट भएको छ । हिजो काठमाडौं आएका हर्क साम्पाङ र वालेनबीच भेट भएको बालेको सचिवालयले जनाएको छ ।