देश फेरि माफियाहरुको हातमा जान लाग्यो, जनता जाग्नुस् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुयष्पकमल दाहाल प्रचण्डले आफूले सुशासनका लागि काम गर्नु नै सरकार ढाल्ने आधार बनेको भन्दै देश माफियाको हातमा जान लागेको बताएका छन् ।

विश्वासको मत माग्ने प्रस्ताव राख्न उभिएका प्रधानमन्त्री प्रचण्डले देश माफियाको हातमा जान लागेको भन्दै जनता जाग्ने बेला भएको बताए । 

“जनता जाग्नुस्, अब जनता जाग्ने बेला भयो, होइन भने फेरि देश माफियाकै हातमा जान लाग्यो,” प्रधानमन्त्री प्रचण्डले भने, “यति धेरै हाइ प्रोफाइल कहिल्यै पक्राउ परेका छन् । अहिले पनि उपप्रधानमन्त्री भएका व्यक्ति प्रहरी हिरासतमै हुनुहुन्छ ।” 

उनले आफू सरकारमा नभए पनि नक्कली भूटानी शरणार्थी प्रकरणसहितका काण्डको कसरी पटाक्षेप हुन्छ भनेर निगरानी गरिरहने बताए ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । देशका विभिन्न भू–भागमा गएरातिदेखि नै वर्षा भइरहेको छ । दिउँसो र राति पनि वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशभर साधारणतया बदली छ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।  विभागले दिउँसो देशभर साधारणदेखि पूर्ण बदली रहने जनाएको छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।  कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा धेरै भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको विभागले बताएको छ ।  विभागले राति देशभर साधारणदेखि पूर्ण बदली रहने बताएको छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  कोसी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । कोसी, मधेस र गण्डकी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा धेरै भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयजस्ता प्रकोपको जोखिमबाट बच्न विभागको आग्रह छ ।  वर्षाले दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले सचेत गराएको छ।  हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ । त्यसैले अति धेरै वर्षाको सम्भावना रहेको हो। 

संविधान संशोधन कुनै एक पार्टीले मात्र चाहेर हुँदैन : महामन्त्री थापा

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै एक राजनीतिक पार्टीले चाहेर मात्र संविधान संशोधन नहुने बताएका छन् ।  विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै महामन्त्री थापाले संघीय  लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई असर पर्ने गरी संविधान संशोधन नहुने बताए । “दश वर्षको अवधिमा संविधान कार्यान्वयन गर्दै जाने क्रममा देखिएका त्रुटिलाई सच्याउन सबै राजनीतिक दलको साथ र समर्थन आवश्यक पर्छ,” उनले भने ।  महामन्त्री थापाले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसका शीर्ष नेताबीच भएको सात बुँदे समझदारी पालना गरिने उल्लेख गरे ।  पहिलो चरणमा एमालेकै नेतृत्वमा सरकार बन्ने उनको भनाइ थियो । महामन्त्री थापाले सात बुँदे समझदारीबारे पार्टीको कार्यसम्पादन समितिमा बृहत् छलफल भएको र यसलाई पार्टीले स्वीकार गरेको उल्लेख गर्दै लिखित समझदारीलाई कसैले पनि हलुका रूपमा लिन नहुने बताए । रासस

बढ्यो सुनचाँदीको मूल्य, यस्तो छ आजको मूल्य

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४४ हजार नौ सय र तेजावी सुन १ लाख ४४ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला १ लाख ४४ हजार एक सय र तेजावी सुन १ लाख ४३ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य १५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला १८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सञ्चारकर्मी धमलामाथिको दुर्व्यवहारप्रति महासंघको ध्यानाकर्षण

काठमाडौं । पूर्वेली न्यूज डटकममा कार्यरत सञ्चारकर्मी संजिता धमलामाथि भएको दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । धमलालाई सुनसरीस्थित धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले आफ्नै कार्यकक्षमा बोलाएर अपमानित ढंगबाट दुर्व्यवहार गर्दै नगर प्रहरी र नेपाल प्रहरी लगाएर पक्राउ गरिएको घटनाप्रति महासंघले आपत्ति जनाएको हो । असार २१ गते शुक्रबार आफ्नै कार्यकक्षमा बोलाएर नगर प्रमुख राईले सार्वजनिक सुनवाई कार्यक्रममा आफूअनुकूल प्रश्न नसोधेको तथा प्रश्न सोधेकै आधारमा सञ्चारकर्मी धमलालाई अपमानित ढंगले आफ्नो कार्यकक्षबाट बाहिर निकाल्दै नगर प्रहरी र नेपाल प्रहरी लगाएर लछारपछार गर्दै पक्राउ गराएका थिए । सो क्रममा नगर प्रमुख राईकै निर्देशनमा नगर प्रहरी र नेपाल प्रहरीले सत्यतथ्य नबुझी सञ्चारकर्मी धमलामाथि हमला गर्दा धमलाको चस्मा फुट्नुका साथै शरीरका विभिन्न भागमा चोटपटकसमेत लागेको नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिले जनाएको छ । ‘सार्वजनिक पदधारी प्रमुखजस्तो जिम्मेवार व्यक्ति र प्रहरीबाट सञ्चारकर्मीलाई गरिएको यो हर्कत अत्यन्त निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो’  महासंघको जारी विज्ञप्तिमा भनिएको छ । प्रेसविरोधी यस्ता हर्कतले पत्रकारलाई पेसाप्रति हतोत्साहित र त्रसित बनाउनुका साथै विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकारमा समेत आघात पुग्ने महासंघको ठहर छ ।

यस्तो छ बिहीबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल असार २७ गते बिहीबार सन् २०२४ जुलाई ११ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलर, युरो, बेलायती पाउण्ड र कतारी रियालको विनिमयदर बढेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३४ पैसा र बिक्री दर १३३ रुपैयाँ ९४ पैसा पुगेको छ।युरो एकको खरिद दर १४४ रुपैयाँ ३१ पैसा र बिक्री दर १४४ रुपैयाँ ९६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ८० पैसा र बिक्री दर १७१ रुपैयाँ ५७ पैसा पुगेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५७ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर 

संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो रहनेछ कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक आज बस्दै छ। प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजे र राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्नेछ।  प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आदिवासी जनजाति आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ।  राष्ट्रियसभाको बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण र मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको पत्रबारे जानकारी गराउने कार्यसूची छ।  अर्थमन्त्री वर्षमान पुनले आर्थिक विधेयक, २०८१ दफावार छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने र पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाउन प्रस्ताव गर्ने कार्यसूची छ।  अर्थमन्त्री पुनले नै राष्ट्र ऋण उठाउने विधेयक, २०८१ दफावार छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने र पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाउन प्रस्ताव गर्नेछन्।  भन्सार महसुल विधेयक, २०८१ दफावार छलफल गर्न र पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाउन प्रस्ताव गर्ने कार्यसूची छ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ मा प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफल गर्न र सहमतिका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। 

यस्तो रहनेछ आजको मौसम, यी ठाउँमा अति वर्षाको सम्भावना

काठमाडौं । देशका केही स्थानमा आज पुनः भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ । मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपालको दक्षिण भू–भाग सिमाना आसपास)रहेका कारण भारी वर्षाको सम्भावना रहेको हो।  बिहान देशभर साधारणतया बदली रहेको छ। वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। कोसी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।  जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणदेखि पूर्ण बदली रहनेछ।  कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।   कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान, सुदूरपश्चिम र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ।  विभागले राति देशभर साधारणदेखि पूर्ण बदली रहने बताएको छ। कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा वर्षाको सम्भावना छ।  कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही  स्थाना, सुदूरपश्चिम र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।  कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा धेरै भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

बिमस्टेक कार्यक्रममा भाग लिन परराष्ट्र सचिव भारत जाँदै

काठमाडौँ । परराष्ट्र मन्त्रालयका सचिवालय सेवा लम्साल आज भारत जाने भएकी छन्। भोलिदेखि सुरु हुने दोस्रो बिमस्टेक विदेशमन्त्रीहरुको निर्धारित रिट्रिटमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी त्यता जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ। कार्यक्रममा उपप्रधानमन्त्री समेत रहेका परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ जाने कार्यक्रम तय भएको थियो। तर राजनीतिक परिस्थितिका कारण उनले आफैँ नगएर सचिवलाई पठाएका हुन्।  उनको सचिवालयका अनुसार असार २८ गते प्रधानमन्त्रीले विश्वासका मत लिने कार्यक्रम रहेकाले मन्त्री श्रेष्ठ भारत नगएका हुन्। कार्यक्रममा बिमस्टेकभित्र पारस्परिक हितका विषयमा सहमति भएका क्षेत्रमा क्षेत्रीय सहयोग र साझेदारीलाई थप सुदृढ बनाउन छलफल हुने बताइएको छ। यसअघि भारतमै बिमस्टेक सम्मेलन भएको थियो । असार २८ गते सकिने सो कार्यक्रमपछि बिमस्टेक सदस्य राष्ट्रका विदेशमन्त्री तथा प्रतिनिधिमण्डलका प्रमुखहरूले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग संयुक्त भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र सचिव लम्साल असार २९ गते फर्किने कार्यक्रम रहेको छ । 

भरतपुरमा १ करोड अनुदानको कृषि उपकरण वितरण

चितवन । भरतपुर महानगरपालिकाले कृषि समूह, फर्म तथा सहकारीलाई ६६ थान कृषि उपकरण वितरण गरेको छ ।  एक कार्यक्रमका बीच भरतपुर महानगर प्रमुख रेनु दाहाल, उप–प्रमुख चित्रसेन अधिकारी तथा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले कृषकलाई उपकरणका चाबी हस्तान्तरण गरेका हुन् । महानरपालिकाले ५० प्रतिशत अनुदानमा रु २ करोडको उपकरण वितरण गरकोे कृषि महाशाखा प्रमुख तेजेन्द्र पौडेलले जानकारी दिए । उपकरण हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख दाहालले भरतपुर महानगरले कृषि उत्पादनलाई जोड दिएकाले वर्षेनी यस्ता यन्त्र उपकरण हस्तान्तरण गर्ने गरेको बताइन् । महानगरपालिकाले यसअघि कृषिमा आधुनिकीकरणलाई जोड दिने भन्दै आएपनि अहिले भने कार्यान्वयन गरेर अघि बढ्न थालिएको प्रमुख दाहालको भनाई छ । यन्त्र उपकरणको उच्चतम प्रयोग गरी उत्पादनलाई वृद्धि गर्दै भरतपुरलाई कृषिमा आत्मनिर्भर बनाउने गरी नीति तथा कार्यक्रमहरु अघि बढाइएको उनले बताइन् ।  नारायणी लिफ्ट सिँचाइलाई १२ महिना सञ्चालन गरी कृषिलाई ३ बाली खेती गर्न मिल्ने व्यवस्था मिलाउन लागेको उनले जानकारी दिइन् ।  महानगरले सो कार्यक्रममा ट्रयाक्टर ४ थान, हाते ट्रयाक्टर ६ थान, धान तथा गहुँ काट्ने रिपर १२ थान, थ्रेसर ३ थान, रोटाभेटर २ थान, मकै छोडाउने कर्न सेलर १७ थान, तेरी मिल ३ थान हस्तान्तरण गरेको छ ।  यस्तै मकै रोप्ने मेज प्लान्टर ३ थान, घाँस टुक्राउने च्याफ कटर १२ थान, राइस मिल १ थान, मिल्क एनालाइजर ६ थान, चिलिङ भ्याट २ थान, माछाको दान बनाउने मिशेन १ थान, बलेरो पिकअप २ थान र ३ पाङ्ग्रे अटो २ थान पनि हस्तान्तरण गरिएको छ । कार्यक्रममा महानगरपालिकाका उप–प्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, उप–सचिव उपेन्द्रराज पौडेलको उपस्थिति रहेको थियो ।

अवरुद्ध पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन

तनहुँ । अविरल वर्षाले अवरुद्ध बनेको पृथ्वीराजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । तनहुँ म्याग्दे गाउँपालिका–६ मौरीओढार पहिरो खस्दा बिहानैदेखि सडक पूर्ण रुपमा अवरुद्ध भएको थियो । बाटोमा लेदोसहितको पहिरो खस्दा राजमार्ग अवरुद्व भएको हो । पृथ्वीराजमार्ग अन्तर्गत पर्ने बन्दीपुर–५ याम्पा नजिक खसेको पहिरा पन्छाएर एकतर्फी सवारीसाधन सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । यसैबीच,  बाढीले बगाएर ल्याएको दाउरा सेतीनदीबाट निकाल्ने क्रममा बुधबार बिहान एक जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार व्यास नगरपालिका–१ भादगाउँ का ५५ वर्षका तालबहादुर थापा छाब्दीखोला दोभानमा बाढीले बगाएर ल्याएको दाउरा तान्दै गर्दा नदीमा बेपत्ता भएका हुन् । कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले थापाको खोजी भैरहेको जानकारी दिए । बाढी आउँदा नदि किनारमा नजान आग्रह गरिएपनि बाढीले बगाएर ल्याएको दाउरा निकाल्न नदी किनार आसपासमा मानिसको भीड लाग्ने गरेको उनले बताए ।

मौद्रिक नीति बैंक र व्यवसायी बचाउने सञ्जीवनी बुटी बन्नुपर्छ :  अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मौद्रिक नीति बैंक र व्यवसायी दुवै बचाउने सञ्जीवनी बुटी बन्नुपर्ने बताएका छन्। मंगलबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग महासंघले आयोजना गरेको मौद्रिक नीतिबारेको छलफलमा अध्यक्ष ढकालले आगामी आर्थिक वर्षको मौद्रिक नीति व्यवसायी तथा वित्तीय क्षेत्रलाई बचाउने गरी सञ्जीवनी बुटी बन्ने गरी आउनुपर्ने बताए । उनले उत्पादनमूलक उद्योगको क्षमता बढाउँदै बैंकको ब्याजदर विगतको भन्दा कम गर्ने विषय नीतिले बोल्नुपर्ने बताए । उनले मागमा आएको संकुचनका कारण उद्योगीहरूले ऋण तिर्ने नसकेको भन्दै मौद्रिक नीतिले त्यसलाई सम्बोधन गर्नुपर्ने बताए । 'पर्यटन पूर्वाधार र व्यवसायलाई प्रवर्धन गर्ने विषयमा मौद्रिक नीतिले केही सोच्नुपर्छ । कर्जा प्रवाह सहज र सुलभ गरिनुपर्छ । निक्षेपको तुलनामा कर्जा प्रवाह आधामात्रै बढेको छ । नगद प्रवाहमा भएको समस्या, न्यून उत्पादन र निजी क्षेत्रको गिर्दो मनोवलका कारण नयाँ लगानीका योजनासमेत स्थगन भइरहेका छन् । गाउँ र साना लगानीका क्षेत्रमा लगानी वृद्धि गर्न बैंकलाई प्रोत्साहन गरिनुपर्छ । सहकारी र लघुवित्तमा आएको समस्यापछि गाउँ–गाउँमा कर्जा प्रवाह साँघुरिएको अवस्था छ,' उनले भने । उनले सबै ऋणीले नियतवश कर्जा नतिरेको नभई वास्तविकरूपमै समस्यामा परेर बैंकको ऋण तिर्न नसकेको बताए । उनले कर्जा चुक्ता गरेलगत्तै व्यवसायी तथा कम्पनीलाई कालो सूचीबाट हटाउने व्यवस्था गर्न सुझाव पनि दिए ।

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुन स्थिर मूल्यमा कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।  तेजाबी सुन प्रतितोला एक लाख ४३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य १५ रुपैयाँ घटेर एक हजार ८७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। मंगलबार चाँदी प्रतितोला एक हजार ८८५ रुपैयाँमा कारोबार भएको थियो।

यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल असार २६ गते बुधबार सन् २०२४ जुलाई १० तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार बुधबार अमेरिकी डलर, युरो र बेलायती पाउण्डको मूल्य घटेको छ। कतारी रियालको खरिद दर स्थिर रहँदा बिक्रीदर भने घटेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २८ पैसा र बिक्री दर १३३ रुपैयाँ ८८ पैसा पुगेको छ।युरो एकको खरिद दर १४४ रुपैयाँ १७ पैसा र बिक्री दर १४४ रुपैयाँ ८२ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ६५ पैसा र बिक्री दर १७१ रुपैयाँ ४२ पैसा पुगेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५५ पैसा र बिक्री दर ३६ रुपैयाँ ७१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर 

यी स्थानमा धेरै भारी वर्षाको सम्भावना, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने

काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न भू–भागमा बिहानैबाट वर्षा भइरहेको छ। देशभर बदली रहेको छ भने विभिन्न स्थानमा वर्षा भइरहेको हो।  कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै  स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको हो ।  जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने जनाएको छ । कोसी, मधेस, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  कोसी, मधेस र गण्डकी प्रदेशका थोरै स्थानमा तथा वाग्मती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोसी र मधेस प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना छ । विभागले राति देशभर साधारणतया बदली रहने बताएको छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  कोसी, मधेस, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । भारी र धेरै भारी वर्षाको सम्भावना रहेकाले गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न सतर्क रहन विभागको आग्रह छ । दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन पनि विभागले सचेत गराएको छ ।  हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको विभागले बताएको छ ।

केशर पुस्तकालय छिटो सञ्चालन गर्न संसदीय समितिको निर्देशन

काठमाडौं । राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले केशर पुस्तकालय छिटो सञ्चालन गर्न निर्देशन दिएको छ।  समितिले आज निर्माणाधीन  पुस्तकालय भवनको निरीक्षण गरी यथासक्दो छिट्टो निर्माणकार्य पूरा गरी पुस्तकालय सञ्चालनका लागि पहल गर्न निर्देशन दिएको हो।  समितिका सभापति मायाप्रसाद शर्मासहितको टोलीले पुस्तकालयलाई सुरक्षित र व्यवस्थित गर्न पुस्तकालय प्रमुख सुरेशकुमार यादवलाई निर्देशन दिए। समितिले दोस्रोपटक पुस्तकालय भवनको निरीक्षण गरेको हो।  त्यसअवसरमा समितिलाई हालसम्म ८० प्रतिशत प्रगति भएको जानकारी गराइएको थियो। विसं २०७२ को गोरखा भूकम्पमा क्षतिग्रस्त केशर पुस्तकालयको भवन विसं २०७६ बाट प्रवलीकरण (रेट्रोफिटिङ) सुरू गरिएको थियो। दुई वर्षभित्र कार्यसम्पन्न गर्ने भनिए पनि छ वर्षसम्म पनि पूरा नभएकामा सांसदहरूले आपत्ति जनाएका थिए।  समितिका सभापति शर्माले निर्माणमा भएको ढिलाइ र बाँकी काम कहिले सकिन्छ भनेर प्रश्न गरेकामा पुस्तकालय प्रमुख यादवले भवनको सेलिङ राख्न केही ढिलाइ भएको जवाफ दिए।  यादवका अनुसार पुस्तकालयमा पुरातात्विक र नयाँ गरी ६५ हजार पुस्तक संरक्षित छन्। यहाँ एक हजार एक सय ५० वर्ष पुरानो हस्तलिखित ग्रन्थहरू छन्। यिनको ‘डिजिटलाइज’ गर्ने कार्य भइरहेको उनले जानकारी दिए।  पुस्तकालयका विषयमा सभापति शर्मा, सांसदहरू गोपाल भट्टराई, गोमादेवी तिमिल्सिना, गोपालकुमार बस्नेत, पदमबहादुर परियार, मदनकुमारी साह (गरिमा), युवराज शर्मा, रुक्मिणी कोइराला, रेणु चन्द, श्रीकृष्णप्रसाद अधिकारी र सुमित्रा विसी गरी १२ जनाले विभिन्न जिज्ञासा राखेका थिए।