यी नदीमा आउनसक्छ आकस्मिक बाढी
काठमाडौं । गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा भएको छ। गएरातिदेखि नै यी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा मापन भएको छ।
थप वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। तिनाउ नदी, पश्चिम राप्ती, कोइली नदी, डुम्रे खोला, बडिगाड, बबई नदीलगायतमा बाढीको जोखिम रहेको छ।
उक्त क्षेत्र भएर बग्ने नदीहरूमा आकस्मिक बाढीको जोखिम रहेकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा स्थानमा रहनेहरूले उच्च सतर्कता अपनाउन विभागको आग्रह छ।
सशस्त्र प्रहरीमा दरखास्त आह्वान
काठमाडौँ । सशस्त्र प्रहरी बलले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालय मावन श्रोत विभाग, भर्ना तथा छनोट शाखा हलचोकले शुक्रबार एक सूचना जारी गर्दै अधिकृत स्तरका ४८ जनाका लागि दरखास्त आह्वान गरेको हो । सशस्त्र प्रहरीको रिक्त रहेको साधारण समूह, कानुन समूह, लेखा उपसमूह र प्राविधिक समूह (सञ्चार तथा इन्जिनियरिङ) तर्फका पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागिएको सूचनामा उल्लेख छ। जसमा कानुन उपसमूहतर्फ प्रहरी निरीक्षक ८ जना, लेखा उपसमूहतर्फ प्रहरी निरीक्षक २९ जना, प्राविधिक तर्फ प्रहरी निरीक्षक ११ जना माग भएको छ। योग्यता पुगेका इच्छुक व्यक्तिले आजदेखि आगामी साउन २० गतेसम्म दरखास्त दिन सक्ने सशस्त्र प्रहरीले जनाएको छ ।
मेलम्चीमा जलसतहले पार गर्यो सतर्कतातह
काठमाडौं । सिन्धुपाल्चोकमा भारी वर्षा भएको छ । मेलम्ची नदी नाकोटेको जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । जलसतह बढ्दो क्रममा रहेका कारण नदीको तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । दाङमा मध्यम वर्षा भएको छ। कोइलाबास वर्षामापन केन्द्रमा मध्यम वर्षा मापन भएको हो। थप वर्षा हुनसक्ने सम्भावना रहेकाले सो क्षेत्र भएर बग्ने स–साना नदीहरूमा आकस्मिक बाढीको जोखिम छ। यसैले कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
राष्ट्रियसभा बैठक बस्दै, के छ कार्यसूची ?
काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ स् १५ बजेका लागि बोलाइएको छ । बैठकको कार्यसूची भने संसद् सचिवालयले सार्वजनिक गरेको छैन ।
आज धेरै स्थानमा हुनेछ भारी वर्षा
काठमाडौं । केही प्रदेशमा बिहानैदेखि वर्षा भइरहेको छ। कोसी, मधेस र वाग्मती प्रदेशका एकदुई स्थानमा वर्षा भइरहेको छ। बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग पूवानूमान महाशाखाले जनाएको छ । देशभर साधारणदेखि पूर्ण बदली रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । विभागले राति देशभर साधारणदेखि पूर्णतया बदली रहनेछ । सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानको उत्तरमा रहेको विभागले जनाएको छ । जसका कारण भारी र धेरै भारी वर्षाको सम्भावना रहेको हो ।
बीआरआई परियोजनालाई अघि बढाउने सरकारको नीति हो : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौँ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले चीनसँगको बीआरआई परियोजनालाई अघि बढाउने सरकारको नीति रहेको बताएका छन् । उपप्रधानमन्त्री श्रेष्ठले सो परियोजना दुवै देशको हित हुनेगरी अघि बढाउने व्यवस्था पनि समझदारी पत्रमा उल्लेख गरिएको बताए । बिहीबार राष्ट्रिय सभा बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो परियोजनामा अनुदान र ऋण दुवै हुनेगरी योजनाहरु अघि बढाउने व्यवस्था गरिएको बताए । दुवै देशको हितमा हुनेगरी बीआरआई परियोजना अघि बढाउने विषयमा नेपाल–चीनबीच समझदारी भईसकेको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ थियो । उनले भने, ‘बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनामा २०१७ मा समझदारी पत्रमा हस्ताक्षर गर्यौ। त्यस पछाडि त्यसको व्याख्यात्मक रुप त्यस विषयमा लगातार छलफल हुँदै आयो । र त्यसको मस्यौदा तयार भयो। त्यो मस्यौदा तयार भईसकेपछि त्यो मस्यौदा करिवकरिव अन्तिम स्थितिमा पुगेको अवस्था हो । र त्यसलाई हस्ताक्षर गर्ने हाम्रो नीति छ ।’
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक बस्दै छ । बैठक मध्याह्न सवा १२ बजेबाट सुरु हुनेछ । बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शहरी विकास मन्त्रालयका विनियोजित शिर्षकहरूमध्ये छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विनियोजित शिर्षकहरूमा छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र परराष्ट्र मन्त्रालयका विनियोजित शिर्षकहरूमा छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
राष्ट्रियसभाको बैठक बस्दै
काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो सवा १ बजे बस्नेछ । बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन शिर्षकमाथि छलफल हुनेछ । कृषि तथा पशुपक्षी विकास मन्त्रालय, गृह मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगसम्बन्धी विनियोजन शिर्षकमाथि छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
बाढीले कालीगण्डकी करिडोर अवरुद्ध
बागलुङ । वर्षाका कारण ठेउलेखोलामा आएको बाढीले सडक बगाउँदा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । बागलुङको जैमिनी नगरपालिका–१ स्थित ठेउलेखोलामा आएको बाढीले सडक बगाउँदा बुटवल, भैरवाह, कपिलवस्तु, दाङ, मुक्तिनाथ जाने सवारी साधन आवतजावत ठप्प भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले करिडोर अवरुद्ध हुँदा जैमिनी नगरपालिकाको वाइनकुना, जैदी, छिस्ती, जैदी, अर्जेवा, बिनामारे र बरेङ गाउँपालिकाका विभिन्न ठाउँबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउने सवारी साधान समेत रोकिएका बताए । वर्षा रोकिएपछि कोरिडोर आयोजनाले खुलाउने प्रयास गरिने उनले जानकारी दिए । केही दिनदेखि परेको वर्षाले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा क्षति पुर्याएको छ । गलकोट नगरपालिका–३ हटियादेखि बडिगाड गाउँपालिका–२ हाँडीखोलासम्मको करिब १५ किलोमिटर सडकमा क्षति पुगेको छ । यद्यपि, पहिरो पन्छाएर लोकमार्ग भने सञ्चालनमा आएको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले जानकारी दिए । रासस
रास्वपा केन्द्रीय समिति बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दै छ। पार्टी केन्द्रीय कार्यालयमा बिहान ८ बजेपछि बैठक बस्न लागेको हो। बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम, सरकारमा रहँदाको समीक्षा, महामन्त्री मुकुल ढकालको राजनीतिक प्रतिवेदनलगायत विषयमा छलफल हुने बताइएको छ। कांग्रेस र एमालेबीच नयाँ सरकार गठन गर्ने सहमति भएपछि रास्वपाले केही दिनमा आफ्ना मन्त्रीले राजीनामा दिने निर्णय गरिसकेको छ। रास्वपाले अर्को सरकारको प्रक्रिया अघि बढाइएपछि आफूहरू मन्त्रिपरिषद्बाट बाहिरिने निर्णय गरिसकेको छ। मंगलबार सिंहदरबारमा बसेको रास्वपाको सचिवालय बैठकले नयाँ गठबन्धनमा सामेल नहुने निर्णय गरेको थियो। आजको बैठकमा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा पनि छलफल हुनेछ।
यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । आज २०८१ साल असार १९ गते बुधबार सन् २०२४ जुलाई ३ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।बुधबार यूरो र बेलायती पाउण्डको मूल्य घट्दा अमेरिकी डलर र कतारी रियालको विनिमयदर सामान्य अंकमा बढेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३२ पैसा र बिक्री दर १३३ रुपैयाँ ९२ पैसा पुगेको छ।युरो एकको खरिद दर १४२ रुपैयाँ ९० पैसा र बिक्री दर १४३ रुपैयाँ ५४ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ५८ पैसा र बिक्री दर १६९ रुपैयाँ ३४ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५७ पैसा र बिक्री दर ३६ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर
यी क्षेत्रमा भारी वर्षाको सम्भावना
काठमाडौं । देशका केही भू–भागमा बिहानैदेखि वर्षा सुरु भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ । वाग्मती र मधेस प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना छ । विभागले राति देशभर साधारणदेखि पूर्ण बदली रहनेछ । देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ । हाल देशभर मनसुनी वायुको प्रभाव छ ।
प्रतिनिधिसभाको सचिवमा अधिकारी नियुक्त
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभामा रिक्त सचिव पदमा सुरेश अधिकारी नियुक्त भएका छन्। मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले अधिकारीलाई सचिव पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिइन्। अधिकारीलाई सभामुख देवराज घिमिरेले संविधानको धारा १०६ को उपधारा १ बमोजिम नियुक्त गर्न सिफारिस गरेका हुन्।प्रतिनिधिसभा सचिव पद्मप्रसाद पाण्डेय संघीय संसद्को महासचिव नियुक्त भएपछि २०८०माघ २३ देखि सो पद रिक्त थियो ।
जीपी कोइरालाको जन्म जयन्ती : प्रधानमन्त्रीद्धारा फोटो प्रदर्शनी अवलोकन
काठमाडौं ।गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्म जयन्तीको उपलक्ष्यमा आयोजित क्रान्ति देखि शान्ति सम्म ऐतिहसिक फोटो प्रदर्शनी अवलोकन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका नेताहरु।
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। बैठक २०८१ असार १९ गते बुधबार बिहान ९ बजे बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका हुन्। बैठक पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्ने भएको छ। बैठकमा नेकपा एमालेसँग गरिएको सहमतिको विषयमा छलफल हुने बताइएको छ। उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ।
सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं । स्थानीय बजारमा मंगलबार सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको छ। यस दिन छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भएको छ।चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ८०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

