एमाले केन्द्रीय सचिवालय बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज (सोमबार) बस्ने भएको छ ।

बैठक एमाले केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा स्थानीय निर्वाचनको समीक्षा गरिने जनाइएको छ । उपमहासचिव विष्णु रिमालको संयोजकत्वमा तयार भएको चुनावी समीक्षा रिपोर्ट आजैको बैठकमा पेश गरिने भएको छ ।

आइतबार बसेको नेकपा एमालेको केन्द्रीय कार्यालयको बैठकले चुनावी समीक्षा लगायतका एजेन्डा तय गरेको हो। एमालेले चुनाव भएका ७ सय ५२ पालिकामध्ये २ सय ५ वटा पालिकामा प्रमुख जितेको थियो । बैठकमा एमालेको गठन हुन बाँकी विभागको विस्तार र नवनिर्वाचित जनप्रतिनिधिको प्रशिक्षण तथा समसामयिक विषयमा पनि छलफल गरिने जनाइएको छ।

आइतबारको केन्द्रीय कार्यालय बैठकमा एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई स्पष्टीकरण सोध्न अनुशासन आयोगको सिफारिसका विषयमा भने छलफल नभएको नेताहरूले बताएका छन् ।

सार्वजनिक ऋणको भार १८ खर्ब ४८ अर्ब, तपाईँको टाउकामा ऋणको भार कति छ ?

काठमाडौं । तपाईँको टाउकामा ऋणको भार कति छ ? उत्तर पनि तपाइसँगै छ । व्यक्तिगत कारोबारका लागि लिइएको ऋणको हिसाब व्यक्तिगत रुपमा नै हुन्छ । त्यसको जिम्मेवार पनि तपाई नै हो । तर, देशले लिएको ऋण तपाई हामी सबैको गन्तीमा हिसाब गर्दा के कति पुग्यो होला ? आम मानिसको चासो स्वाभाविक रुपमा रहन सक्छ नै । सरकारले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार हरेक नेपालीको टाउकामा रु ६३ हजार ३१० बराबरको ऋणको भार परेको छ । अर्थमन्त्री जनार्दन शर्माले यही जेठ १४ गते प्रतिनिधिसभामा पेश गर्नुभएको आर्थिक सर्वेक्षणअनुसार नेपालको कूल सार्वजनिक ऋण रु १८ खर्ब ४८ अर्ब १९ करोड बराबर पुगेको छ । यो नेपाली जनताले तिर्नुपर्ने ऋण भने होइन । तर, सरकारले तिर्ने ऋण भने अवश्य नै हो । आर्थिक सर्वेक्षण २०७८र७९ अनुसार गत फागुन मसान्तसम्म सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब १९ करोड पुगेको हो । कूल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋणको मात्रा कम छ भने बाह्य ऋणको मात्रा बढी छ । रु. आठ खर्ब ६३ अर्ब १९ करोड आन्तरिक हो भने रु नौ खर्ब ८४ अर्ब ९९ करोड भने विभिन्न दातृ निकाय र बहुपक्षीय निकायले नेपाललाई उपलब्ध गराएको ऋण हो । गत वर्षको असार मसान्तसम्म सार्वजनिक ऋण रु १७ खर्ब ३७ अर्ब ६४ करोड बराबर थियो । सरकारले फागुन मसान्तसम्म थप रु ८९ अर्ब ५० करोड आन्तरिक ऋण लिएको छ र यस्तै, अनुदान र ऋण गरी बाह्य सहायता रु ४७ अर्ब ९४ करोड लिएको छ । पछिल्लो तीन वर्षमा मुलुकको ऋणभार दोब्बरले बढेको देखिन्छ । विवरणअनुसार २०७४ को फागुनमा सरकारको कूल ऋण रु आठ खर्ब ४३ अर्ब रहेकोमा ०७७ फागुनसम्म त्यो बढेर रु १५ खर्ब ८९ अर्ब ४६ करोड बराबर पुगेको थियो । त्यसपछि पनि लगातार सार्वजनिक ऋणको मात्रामा वृद्धि भएको देखिन्छ । सरकारको सार्वजनिक ऋणको मात्रामा क्रमशः वृद्धि हुँदै गएपछि बजेटमा नै वित्तीय व्यवस्थाअन्तर्गतको शीर्षकमा समेत क्रमशः बजेट वृद्धि हुँदै गरेको विवरणबाट देखिन्छ । यही जेठ १५ गते सार्वजनिक भएको आगामी आर्थिक वर्षको बजेटमा वित्तीय व्यवस्थातर्फ रु दुई खर्ब ३० अर्ब २२ करोड अर्थात् १२ दशमलव ८ प्रतिशत बराबरको बजेट विनियोजन गरिएको छ । चालू आवमा रु एक खर्ब ८९ अर्ब ४३ करोड ७६ लाख बराबरको बजेट वित्तीय व्यवस्थाका लागि विनियोजन गरिएको थियो । त्यसमध्ये हालसम्म रु ८२ अर्ब ४८ करोड २३ लाख बराबरको रकम भुक्तानी गरिसकिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार कूल लक्ष्यका हालसम्म ४३ दशमलव ५४ प्रतिशत भुक्तानी गरिएको छ । सरकारको लक्ष्यअनुसार वित्तीय व्यवस्थातर्फ रु एक खर्ब ७५ अर्ब ५६ करोड अर्थात् ९२ दशमलव ७ प्रतिशत खर्च हुने संशोधित अनुमान छ । चालू आवमा कूल सरकारी खर्च रु १४ खर्ब ४७ अर्ब ५१ करोड अर्थात् ८८ दशमलव ६ प्रतिशत हुने संशोधित अनुमान सरकारको छ । कुल सरकारी खर्च मध्ये चालु खर्च रु नौ खर्ब ७१ अर्ब ८६ करोड अर्थात् ९१ दशमलव २ प्रतिशत, पुँजीगत खर्च रु तीन तीन खर्ब नौ करोड अर्थात् ७९ दशमलव ४ प्रतिशत हुने सरकारको अनुमान छ । सरकारले आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट रु १२ खर्ब ४० अर्ब ११ करोड र वैदेशिक अनुदानबाट रु ५५ अर्ब ४६ करोड व्यहोर्दा रु चार खर्ब ९८ अर्ब २६ करोड न्यून हुनेछ । सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट रु दुई खर्ब ४२ अर्ब २६ करोड जुटाइनेछ । राजस्व परिचालन र वैदेशिक अनुदान तथा ऋण सहायता परिचालन गर्दा नपुग हुने खुद रु दुई खर्ब ५६ अर्ब आन्तरिक ऋणबाट व्यहोर्ने गरी प्रबन्ध गरिएको छ । यसबाट पनि सार्वजनिक ऋणको मात्रामा बढोत्तरी हुने नै देखिन्छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार २०७६ मा रु एक खर्ब ५५ अर्ब ७१ करोड ६० लाख बराबर बजेट वित्तीय व्यवस्थाका लागि विनियोजन भएको थियो । त्यस्तै २०७७ मा रु एक खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख बराबरको जोहो गरिएको थियो । त्यस्तै २०७८ मा रु एक खर्ब ७२ अर्ब ७८ करोड बराबर वित्तीय व्यवस्थाका लागि राखिएपनि रु एक खर्ब ९७ करोड अर्थात् ५८ दशमलव ४४ प्रतिशत बराबरको दायित्व भुक्तानी गरेको थियो । सरकारले आन्तरिक तथा बाह्य क्षेत्रबाट लिएको ऋणको साँवा तथा व्याज भुक्तानी गर्ने समयसीमा निर्धारण गरिएको हुन्छ । सोही आधारमा नै सरकारले बजेटमा वित्तीय व्यवस्थाको शीर्षक नै राखेको हुन्छ । महालेखा नियन्त्रक सुमनराज अर्यालका अनुसार यो सरकारको नियमित काम भित्रै पर्ने विषय हो । “सरकारले आन्तरिक रुपमा उठाएको ऋण तथा बाह्य क्षेत्रसँग लिएको ऋणको साँवा वा ब्याजको भुक्तानीका लागि निर्धारण गरिएको समयभित्रै तिर्नुपर्ने भएकाले वित्तीय व्यवस्थामा यस खालको प्रबन्ध गरिएको हो । यो नियमित काम हो”, अर्यालले भने । व्यक्तिगत रुपमा लिइएको कर्जाको साँवा र ब्याज भुक्तानीका लागि समयसीमा निर्धारण भएजस्तै सरकारको पनि सोही आधारमा समय निर्धारण भएको हुन्छ । यद्यपि, यसले सरकारको दायित्व क्रमशः बढिरहेको देखिन्छ । देशको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) रु ४८ खर्ब माथि पुगेका सन्दर्भमा सार्वजनिक ऋणको दायित्व बढाउने वा नबढाउने भन्नेमा पनि जिज्ञासा छ । अर्थमन्त्री जनार्दन शर्माले चालू आवमा ३५ दशमलव ६४ प्रतिशत बराबरको वैदेशिक सहायता लिइएकामा आगामी आवमा ३० दशमलव ८७ मा झारेको यसअघि नै सार्वजनिक रुपमा जानकारी दिए । उनले आयोजनाका आधारमा मात्रै वैदेशिक सहायता र ऋण लिने प्रणालीको विकास गर्न खोजिएको समेत उल्लेख गरे । आमरुपमा विदेशी ऋण बढाउनेभन्दा पनि आयोजनालाई केन्द्रमा राखेर ऋण लिने र सोही आयोजनाले नै तिर्ने प्रबन्ध गर्न लागिएको उनको भनाइ छ । रासस

एकीकृत समाजवादीमा मन्त्री हेरफेरको छलफल, शीर्ष नेतालाई जिम्मेवारी

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्री हेरेफेर गर्ने विषयमा छलफल भएको छ । शनिबारदेखि चलिरहेको बैठकमा आइतबार यस विषयले प्रवेश पाएको हो । पार्टी उपमहासचिव गंगालाल तुलाधारले सरकारमा आफ्नो पार्टीबाट सहभागी मन्त्री परिवर्तनबारे छलफल भएको भन्दै त्यसको जिम्मा शीर्ष नेतालाई दिइएको जानकारी दिए । मन्त्रीहरूलाई ६ महिना भनेर पठाएको, त्योभन्दा बढी भएकाले शीर्ष नेताहरूले मन्त्रीहरुसँग बसेर छलफल गरी निर्णय लिने बताए । अहिले संघीय सरकारमा नेकपा एसबाट पाँच मन्त्री र एक राज्यमन्त्री सहभागि छन् । बाम गठबन्धनको विषयमा भने कुनै चर्चा नभएको तुलाधारले जानकारी दिए।

प्रेमिका खोसिएपछि शंखमुलमा खुकुरी प्रहार गरेर भाग्ने युवक पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–३१ स्थित शंखमुलमा दिनदहाडै खुकुरी प्रहार गरेर भागेका मुख्य योजनाकारलाई प्रहरीले पक्राउ गरेको छ । २०७८ चैत १० मा खुकुरी प्रहारबाट दोलखाको भीमेश्वर नगरपालिका घर भएका २५ वर्षीय सुरज खड्का घाइते भएका थिए । सुरजलाई खुकुरी प्रहार गर्ने मुख्य योजनाकार दोलखाको बैत्यश्वर घर भएका ३० वर्षीय विकास तामाङलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी वसन्त कुँवरले रातोपाटीलाई बताए । आरोपी विकास तामाङ जेठ १८ मा बौद्धबाट पक्राउ परेका हुन् । सो घटनामा संलग्न ५ जनालाई यसअघि नै प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्नेमा दोलखा नाम्दु घर भएका ३४ वर्षीय रोशन लामा, भक्तपुरको थिमीमा बस्ने २३ वर्षीय पुकार केसी र सिन्धुपाल्चोक घर भएका प्रवीण नेपाल छन् । रामेछापको मन्थली घर भएका राजेश बुढाथोकी र खाँडादेवी गाउँपालिका घर भएका २७ वर्षका सञ्जीव मोक्तानलाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रेमिका खोसेको निहुँमा सुरजमाथि खुकुरी प्रहार भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । शंखमुल स्थित भोटाहिटी फलफूल, जुस तथा जनपकुरी लस्सी पसल अगाडी वा।९३ प २२९ नम्बरको मोटरसाइकल, दुईओटा स्कुटर र ५५४२ नम्बरको मोटरसाइकलमा आएका युवाहरूले सुरजलाई खुकुरी हानेर भागेका थिए । खुकुरी प्रहारबाट उनको बायाँ खुट्टा र टाउकोमा गहिरो चोट लागेको थियो । खुकुरी प्रहारमा संलग्न अनिलराज गिरी अझै फरार छन् । आरोपीहरू विरुद्ध प्रहरी वृत्त बानेश्वरले ज्यान मार्ने उद्योग विरुद्धको कसुरमा मुद्दा चलाएको थियो ।

‘प्रेमगीत ३’ भारतमा ‘विश्वजितम’ नामबाट प्रदर्शन हुने

काठमाडौं । अभिनेता प्रदिप खड्कद्वारा अभिनित फिल्म ‘प्रेमगीत ३’ भारतमा ‘विश्वजितम’ नामबाट प्रदर्शन हुने भएको छ । सन्तोष सेनको निर्माण तथा निर्देशन रहेको फिल्मलाई हिन्दी संस्करणले ‘विश्वजितम’ नाममा भारतीय निर्माता संघमा दर्ता भएको निर्देशक सेनले जानकारी दिएका छन् । पहिलो पटक भारतमा हिन्दी भाषामा प्रदर्शन हुन लागेको यो पहिलो फिल्म हो । नेपालमा आशुसेन फिल्म्सको ब्यानरमा बनेको फिल्मलाई भारतमा अजय कपुर प्रोडक्सन र युएफओ वितरकले वितरण गर्दैछन् । फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय रहेको छ । ठूलो लगानीमा निर्माण गरिएको यस फिल्मलाई असोज ७ गतेदेखि नेपाल र भारतमा एकैसाथ प्रर्दशन हुने भएको छ । ‘प्रेमगीत ३’ ‘प्रेम गीत’ को तेस्रो श्रृङ्खला हो । ‘प्रेम गीत’ र ‘प्रेमगीत २’ बक्स अफिसमा सफल भएका फिल्महरू हुन् ।

आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सुदूरपश्चिम सरकार

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आइतबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । आइतबार दिउँसो ४ बजे बस्ने प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकमा मधेस प्रदेशका प्रमुख देवराज जोशीले प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु हुनेछ । प्रदेश सरकारले नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राखेको छ । प्रदेश सरकारले हरेक वर्ष असार १ गते बजेट प्रस्तुत गर्ने व्यवस्था छ ।

सवारी दुर्घटनामा घाइते भएका राप्रपाका नेताको उपचारका क्रममा मृत्यु

काठमाडौं । सवारी दुर्घटनामा घाइते भएका राप्रपा खोटाङका नेता जीवनकुमार श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको छ । उनको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको रत्नपार्क जिरोप्वइन्टबाट बजारभित्र जाँदै गरेको प्रदेश १–०५–००१ प ६८३७ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो । स्पिडमा पछाडिबाट आएको मोटरसाइकलले ठक्कर दिएपछि सडकमा ढलेका श्रेष्ठको टाउको र छातीमा गम्भीर चोट लागेको थियो । उनी भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मेयरका उम्मेदवार थिए । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले उनको निधनबाट पार्टीलाई ठूलो क्षति भएको जनाएका छन् । उनी राप्रपा खोटाङको झन्डै १५ वर्ष जिल्ला अध्यक्ष थिए ।

रुपन्देही दुर्घटनाका घाइतेको उपचारमा विशेष ध्यान दिन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले जनकपुरबाट भैरहवा जाँदै गरेको यात्रुबाहक बस आज बिहान रुपन्देहीको रोहिणी पुलबाट खसेर भएको दुर्घटनाका घाइतेको शीघ्र स्वास्थ्योपचारमा ध्यान दिन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । गृहमन्त्री खाणले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक नलप्रसाद उपाध्याय, रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीलाई टेलिफोन गरी घाइतेलाई भरपर्दो उपचारको व्यवस्था गर्न निर्देशन दिएका हुन् । गृहमन्त्री खाणले घाइतेहरूको उपचार भइरहेको भीम अस्पतालका अध्यक्ष कुलप्रसाद न्यौपाने र मेडिकल सुपरिटेन्डेण्ट डा शकुन्तला गुप्ता तथा युनिभर्सल मेडिकल कलेजका प्रशासन प्रमुख तेज केसीलाई सम्पर्क गरी घाइतेहरूको यथाशक्य उपचारको व्यवस्था गर्न आग्रह गर्नुभएको गृहमन्त्रीका प्रेस संयोजक मधुसुदन भट्टराईले जानकारी दिए । रुपन्देहीका प्रहरी प्रमुख उपरीक्षक रेग्मीका अनुसार बिहान ४ बजेर ४५ मिनेट जाँदा रोहीणी गाउँपालिका–३ मा पर्ने भैरहवा–परासी हुलाकी सडकखण्डमा पर्ने रोहीणी पुलमा जनकपुरबाट भैरहवा जाँदै गरेको लु२ख ३८४१ नंको बस दुर्घटना भएको थियो । उक्त दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र आठ पुरुष छन्। मृत्यु भएकामध्ये पाँच जनाको सनाखत भएको छ । सनाखत भएका मृतकमा रुपन्देही ओमसतियाका राजेन्द्र पाण्डे, रुपन्देही तिलोत्तमा–२ का विष्णु पौडेल, रौतहट चपुरका दिनेश दास, रुपन्देही कालिकानगरका कृष्णप्रसाद बस्याल र भारतका अरविन्द्र शर्मा छन् । प्रहरीले चालक निदाएर दुर्घटना भएको अनुमान गरेको छ ।

सत्ता गठबन्धनसँग एकीकृत समाजवादी असन्तुष्ट, वाम एकताको आवश्यकता रहेको निष्कर्ष

काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले स्थानीय तहको निर्वाचन परिणामपछि आफ्नो पार्टी सत्तारुढ गठबन्धनसँग धेरै असन्तुष्ट रहेको बताएका छन्। शनिबार पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूका जिज्ञासाको जवाफ दिने क्रममा सम्मानित नेता खनालले सम्मानजनक ढंगले गठबन्धन हुँदै नभएको बताए। स्थानीय तह निर्वाचनको परिणामबाट आफ्नो पार्टी धेरै असन्तुष्ट रहेको टिप्पणी खनालले गरेका छन्। उनले आफूहरुको असन्तुष्टि सत्तारुढ दलहरूको बैठकमा राखिएको बताउँदै आन्तरिक पनि छलफल गरेर एउटा निष्कर्षमा पुग्ने प्रतिक्रिया समेत दिए। फरक प्रशंगमा सम्मानित नेता खनालले तत्काल वामपन्थी दलहरुबीचको एकताको आवश्यक्ता औंल्याउँदै त्यो सम्भावना अहिलेलाई निकै कमजोर रहेको बताए। ‘वामपन्थीहरुबीच एकता हुनु वस्तुगत आवश्यकता हो। तर यतिबेला वामपन्थी आन्दोलनका मुख्य संगठनका नेताहरु एकताको पक्षमा देखिनु हुन्नु, उनले भने, “त्यसो हुनाले तत्काल वामपन्थी एकताको आवश्यकता भए पनि त्यो सम्भावना निकै कमजोर छ। हामी स्थानीय तह निर्वाचनबाट धेरै असन्तुष्ट छौँ। पाँच दलीय गठबन्धनभित्र सम्मानजनक ढंगले गठबन्धन हुँदै भएन ।” उनले गठबन्धनबाट निर्वाचनको परिणाम चित्त बुझ्दो नआएको पनि बताए। “त्यो असन्तुष्टि हामीले पाँच दलभित्र पनि राखेका छौं, हामी आफैँ पनि समीक्षा गर्दैछौं। अब हामी ठ्याक्कै यो समीक्षाको बीचमा छौं। समीक्षा गरिसकेपछि अब के के निस्कन्छ, त्यस आधारमा हामी तपाईंहरुसँग फेरि कुरा गर्दछौँ।” उनले थपे पूर्वप्रधानमन्त्री समेत रहेका खनालले वामपन्थी दलहरुबीचको एकता तत्कालका लागि आवश्यक भए पनि मुख्य दलका नेताहरुका कारण त्यो सम्भावना निकै कमजोर रहेको तर्क पनि गरे।

रुपन्देहीको रोहिणी खोलामा बस खस्दा ९ जनाको मृत्यु, २३ घाइते

भैरहवा । रुपन्देहीको भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी खोलामा यात्रु बोकेको बस खस्दा ९ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । आइतबार बिहान करिब साढे ४ बजे खोलामा बस खस्दा घाइते भएका ३२ जना यात्रु मध्ये ९ जनाको मृत्यु भएको हो । ५ जनाको भैरहवास्थित मेडिकल कलेज र ४ जनाको भिम अस्पतालमा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु२ख ३८४१ नम्बरको बस रोहिणी पुलको रेलिङ्ग तोड्दै खोलामा खसेको थियो । अन्य घाइतेहरुको भैरहवाको भिम अस्पताल र मेडिकल कलेजमा उपचार भइरहेको रुपन्देही ट्राफिक प्रहरी प्रमुख केशव केसीले जानकारी दिए । उनले प्रहरीले बसलाई निकालेको र घाइतेको उद्धार गरि अस्पताल पुर्याउने काम भएको बताए । भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी पुलबाट यस अघिपनि पटक–पटक गाडीहरु खोलामा खस्ने गरेका छन् । बिहानको समयमा चालक निदाएको हुन सक्ने कारणले बस दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

निजगढ बिमानस्थल बन्छ, यो मेरो प्रतिबद्धता भयो : अर्थमन्त्री

बीरगञ्ज । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले बाराको निजगढमा अन्तर्राष्ट्रिय बिमानस्थल बनाउने प्रतिबद्धता जनाउनुुभएको छ । बीरगञ्ज उद्योग बाणिज्य संघको ४६ औ साधारणसभालाई शनिबार दिउँसो सम्बोधन गर्दै मन्त्री शर्माले सो प्रतिबद्धता जनाउनुभएको हो । ‘निजगढ बिमानस्थल बनाउनुपर्छ, बन्छ । यो जनार्दन शर्माको प्रतिबद्धता भयो’ उहाँले भन्नुभयो, ‘यो सरकारले निजगढ बिमानस्थललाई उच्च प्राथमिकतामा राखेको छ ।’ उहाँले त्रिभुवन बिमानस्थलको बैकल्पिक रुपमा मात्र नभएर मधेश र मुलुकै सर्वाङ्गीण आर्थिक विकासका लागि निजगढ बिमानस्थल चाहिएको बताउनुभयो । उहाँले निजगढ बिमानस्थल र काठमाडौं–तराई द्रुत मार्गलाई सँगसँगै जोड्नु आवश्यक रहेको बताउनुभयो । ‘मधेशलाई काठमाडौंसँग छोटो दुरीमा जोड्ने द्रुत मार्ग बनिरहेको छ । यसमा केवल गाडी मात्र कुदाउने होइन, सो द्रुतमार्गमा राष्ट्रिय–अन्तराष्ट्रिय यात्रुहरुलाई पनि आवात जावत गराउने हो’ उहाँले भन्नुभयो । त्यस्तै बीरगञ्ज चिनी कारखाना संचालनका लागि आवश्यक प्रकृया अघि बढाउने पनि उहाँले जानकारी दिनुभयो । बीरगञ्ज उद्योग बाणिज्य संघको कार्यक्रममा पुग्नुअघि अर्थमन्त्री शर्मा, अर्थसचिव मधुकुमार मरासिनी, राजस्व व्यवस्थापन महाशाखा प्रमुख तथा सहसचिव भूपाल बराललगायतको टोलीले शनिबार बिहान बीरगञ्ज चिनी उद्योगको निरिक्षण गर्नुभएको थियो । सो अवसरमा कार्यरत कर्मचारीले चिनी मिल संचालनयोग्य रहेको जानकारी दिएका थिए । ‘बीरगञ्ज चिनी मिल चलाउने भनेर बजेटबाटै कुरा उठाइएको छ, यो कुनै मजाक गरेको होइन’ उहाँले भन्नुभयो, ‘६–७ महिनादेखी निरन्तर यसबारे गरेको अध्ययनबाट प्राप्त निष्कर्षका आधारमा कार्यक्रम राखिएको हो ।’ उहाँले चिनी मिल संचालनका लागि किसानलाई प्रोत्साहन गर्न र कच्चा पदार्थको उपलब्धता बढाउन बीरगञ्ज क्षेत्रकै उद्योगी व्यवसायीले पनि सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले बजेट तथा सरकारको नीति–कार्यक्रमबाट बीरगञ्ज क्षेत्रका उद्योगी व्यवसायीलाई धेरै सम्बोधन गरेको विश्वास दिलाउनुभयो । कार्यक्रममा सो क्षेत्रका व्यवसायी र जनप्रतिनिधिले बीरगञ्जलाई वेवास्ता गरेको गुनासो गर्नुभएको थियो । मन्त्री शर्माले पथलैया–बीरगञ्ज करिडोर, निजगढ बिमानस्थल र द्रुत मार्ग, चिनी कारखाना खोल्ने बिषय, सुख्खा बन्दरगाह, एकिकृत भन्सार जाँच चौकी निर्माणलगायतका माध्यमबाट बीरगञ्जका उद्योगीलाई सम्बोधन गरिरहेको बताउनुभयो । त्यस्तै आन्तरिक उत्पादन वृद्धिका माध्यमबाट दिगो अर्थतन्त्र निर्माण गर्ने, बिद्युतमा छुट दिएर स्वदेशी उद्योगको संरक्षण गर्ने, निर्यातमा ८ प्रतिशतसम्म प्रोत्साहन रकम दिने, तयारी र कच्चा बस्तुको आयातमा लाग्दै आएको भन्सार दरमा एक तहको अन्तर गर्नेलगायतका बिषयबस्तु राखेर देशभरका उद्योगीलाई सम्बोधन गर्नेक्रममा बीरगञ्जका व्यवसायी पनि समेटिएको बताउनुभयो । सो कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले बीरगञ्ज क्षेत्र उद्योग व्यापारमा ‘लाइफलाइन’ भएको बताउनुभयो । उहाँले कठिन आर्थिक अवस्थामा बजेट आएको बताउँदै दबाबमा रहेको अर्थव्यवस्थालाई सही दिशामा ल्याएर नेपाल र नेपालीको भाग्य बदल्ने प्रयत्न गरिएको बताउनुभयो । ‘बजेटको माध्यमबाट आत्मनिर्भर हुने र उद्योग व्यापारलाई औद्योगिकरण गर्न खोजिएको छ’ अर्थ सचिव मरासिनीले भन्नुभयो, ‘निजी क्षेत्रलाई आर्थिक वृद्धिको इन्जिनको रुपमा लिने संभवत सरकारको यो पहिलो दस्ताबेज हो ।’

माओवादी केन्द्रको पूर्व स्थायी कमिटीको बैठक आइतबार बस्ने

काठमाडौं । माओवादी केन्द्रको पूर्व स्थायी कमिटीको बैठक आइतबार बस्ने भएको छ । स्थानीय चुनावको समीक्षा, अगामी चुनाव एवं केन्द्रीय समितिको बैठकको एजेण्डा लगायतको विषयमा छलफल गर्नका लागि शनिबारका लागि पूर्व स्थायी कमिटीको बैठक बोलाइएको थियो । बैठक शीर्ष नेताको व्यस्तताका कारण स्थगित गरिएको माओवादी केन्द्रले जनाएको छ । बैठक आइतबार बिहान ८ बजे खुमलटारमा बस्नेछ ।

काठमाडौँको रेस्टुरेन्टमा २० वर्षीया युवती बलात्कृत

काठमाडौं । काठमाडौंमा २० वर्षीया युवती बलात्कृत भएकी छन् । युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं चाबहिल बस्ने दोलखा तामाकोशी गाउँपालिका–६ च्यामा घर भएका १९ वर्षीय जीवन केसीलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।   काठमाडौं महानगरपालिका(१ हात्तीसारस्थित रेस्टुरेन्टमा वेटर काम गर्ने जीवनले ती महिलालाई सोही रेस्टुरेन्टमा जबरजस्ती करणी गरेको भन्ने प्राप्त खबर प्राप्त हुनासाथ प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । त्यसैगरी, रुपन्देहीमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शुद्धोधन गाउँपालिका–१ बस्ने १९ वर्षीय सोनु मल्लाह, २१ वर्षीय टिकाराम दंगोरिया थारु र सोही गाउँपालिका–२ बस्ने २१ वर्षीय मनोज थारु रहेका छन् । बुटवल उपमहानगरपालिका–१६ बैठौलीस्थित दनाव नदीको किनारमा सोनु, टिकाराम, मनोज र शुद्धोधन गाउँपालिका–१ शीसै बस्ने प्रेम थारुले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले घटनामा संलग्न ३ जनालाई पक्राउ गरेको हो । साथै हाल फरार प्रेम थारूको प्रहरीले खोजी गरिरहेको छ । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रधानमन्त्री देउवासँग लोसपा अध्यक्ष ठाकुरको भेट

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले भेटेका छन् । शनिबार दिउँसो पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक सम्पन्न भएलगत्तै अध्यक्ष ठाकुर प्रधानमन्त्री देउवालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका थिए ।   दुई नेताबीच संघ र प्रदेशको आगामी निर्वाचनमा कसरी जाने भन्ने बारेमा छलफल केन्द्रीत हुने लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रिय कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए । प्रधानमन्त्री देउवाले पार्टी अध्यक्ष ठाकुरलाई मिटिङका लागि बोलाउनुभएको र त्यसमा आगामी संघ र प्रदेशको निर्वाचनमा हुने गठबन्धनबारे छलफल केन्द्रित भएको उनले बताए । प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव भएको झाले बताए । लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक भोलि (आइतबार) बिहान ११ बजे पनि बोलाइएको छ । स्थानीय तहको निर्वाचनको समीक्षा र आगामी संघ र प्रदेशको निर्वाचनको आन्तरिक तयारीको बारे बैठक बोलाइएको हो ।

गुल्मीमा खोलामा डुबेर एक पुरुषको मृत्यु

गुल्मी । गुल्मीमा खोलामा माछा मार्ने क्रममा डुबेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका–२ रातडाँडा निवासी ४१ वर्षीय झविलाल कुमालको छल्दीपनाह खोलामा डुबेर शनिबार मृत्यु भएको हो ।   खोलामा माछा मार्न लागेका बेला डुबेर बेपत्ता भएका उनलाई स्थानीयले मृत फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी माधवराज खरेलले जनानकारी दिए । घटनाबारे अनुसन्धान भैरहेको डिएसपी खरेलले बताए ।

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

काठमाडौं । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु भएको छ । काठमाडौंको तीनकुनेस्थित पार्टी केन्द्रीय कार्यालयमा शनिबार दिउँसो बैठक सुरु भएको हो । बैठक गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षामा केन्द्रित हुने नेताहरुले बताएका छन् । अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा पार्टीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल, महासचिव बेदुराम भुसाललगायतका नेताहरु सहभागी छन् ।