दुई उद्योगलाई कारबाही

राजविराज, भदौ २५ । गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा २० वर्षदेखि स्थान ओगटेर बन्द अवस्थामा रहेका दुई उद्योगको सम्झौता खारेज गरिएको छ । सप्तरीको रुपनी गाउँपालिका–५ बसबिटीस्थित औद्योगिक क्षेत्रमा एस एण्ड को इलेक्ट्रोड्स प्रालि र महालक्ष्मी खाद्य उद्योगको सम्झौता खारेज गरिएको कार्यालयका प्रमुख दिपक आचार्यले बताए ।

एस एण्ड को प्रालिको रु करीब ११ लाख २२ हजार २९२ र महालक्ष्मी खाद्य उद्योगको रु करीब नौ लाख ४३ हजार ४१५ बाँकी बक्यौतासमेत रहेकाले सम्झौता खारेज गरिएको प्रमख आचार्यले जानकारी दिए ।

यी दुईवटा उद्योग लामो समयदेखि बन्द अवस्थामा रहेको र सम्झौता, नवीकरणसमेत समाप्त भइसकेको कारण बाध्य भएर बन्द गर्नुपरेको प्रमुख आचार्यको भनाइ छ । उनले अब ती दुई स्थानमा नयाँ उद्योगका लागि सूचना प्रकाशन गरी राष्ट्रको सेवा गर्ने उद्देश्यले रोजगारमूलक उद्योग स्थापना गर्नेलाई पहिलो प्राथमिकता दिइने बताए ।

औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयको नेतृत्वमा रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव, सप्तरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष अरुण प्रधान, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, राजविराज नगरपालिकाका अधिकृत प्रफुल्ल श्रेष्ठलगायत, स्थानीयवासीको रोहबरमा निजी ताला फुटाई सरकारी ताला लगाइएको हो ।

विसं २०४४ मा भारत सरकारको सहयोगमा साढे २२ विगाहा जग्गामा निर्माण गरिएको उक्त औद्योगिक क्षेत्रलाई २०५२ सालमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो । सो औद्योगिक क्षेत्रभित्र १० वटा उद्योग सञ्चालन गर्न सकिने सेड९टहरा० निर्माण गरिएको छ ।

तर, औद्योगिक क्षेत्रमा आवश्यक सेवा सुविधा नहुँदासमेत हाल कोशी पोलिमर्श इण्डष्ट्रिज, मिलन डेरी उद्योग, महालक्ष्मी पेट इण्डष्ट्रिज र पदम ज्योति प्लाष्टिक उद्योग गरी चार उद्योग मात्र सञ्चालनमा छन् । जसमध्ये कोशी पोलिमर्श इण्डष्ट्रिजले भवन नपाउँदासमेत आफ्नै लगानीमा टहरा निर्माण गरी उद्योग सञ्चालन गर्दै आएका छन् ।

यस्तै अल नेप्लिज टी एण्ड कफी सेन्टर प्रालि, कृष्णा खाद्य उद्योग र माग भगवती कृषि टमाटो फुड्स इण्डष्ट्रिज बन्द अवस्थामा रहेका छन् भने कान्तिपुर प्लाष्टिक उद्योग र उषा जल उद्योग निर्माणाधीन अवस्थामा रहेको कार्यालय प्रमुख आचार्यले जानकारी दिए । रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले उद्योग स्थापनाका लागि वातावरण निर्माण भइसकेको बताउदै औद्योगिक क्षेत्रलाई पूर्णरुपले सञ्चालनमा ल्याउन सक्दो प्रयास गर्ने बताए । रासस

एक सातामा ६ बलात्कार, अधिकांश आफन्तबाटै !

बाँके, भदौ १७ । एक साताभित्रै प्रदेश ५ मा आधा दर्जन बलात्कारका घटना सार्वजनिक भएका छन् । तीमध्ये तीन जना बालिका छन् । मंगलबार बाँकेको कोहलपुरमा पाँच वर्षीया बालिकामाथि काकाले बलात्कार गरेको मुद्दा प्रहरीकहाँ पुगेको खबर नसेलाउँदै शुक्रबार १३ वर्षीया बालिका आफ्नै हजुरबुवाबाट बलात्कृत भएकी छन् ।   कोहलपुर नगरपालिका-३ निवासी ७० बर्से वृद्धले नातिनीलाई तीन वर्षदेखि यौन शोषण गर्दै आइरहेको रहस्य खुलेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका सूचना अधिकारी मानबहादुर बिसीका अनुसार पीडित बालिकाले शुक्रबार प्रहरीमा हजुरबुवाविरुद्व उजुरी दिएकी छन् ।   आरोपी वृद्धलाई शुक्रबारै पक्राउ गरी प्रहरीले आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ । शुक्रबारै पीडित बालिकाको स्वास्थ्य परीक्षण गराइएको प्रहरीले जनाएको छ । आरोपीलाई पक्राउ गरिए पनि शनिबार बिदा भएकाले आइतबार मात्रै जाहेरी दर्ता गरिने कोहलपुर प्रहरीले जनाएको छ । अन्नपूर्ण पोष्टमा खबर छ ।   त्यस्तै मंगलबार कोहलपुर नगरपालिका-३ मैटहवामा पाँच वर्षीया बालिका बलात्कृत भएकी थिइन् । नाताले काका पर्ने भारत उत्तरप्रदेश डिन्नी रहेली घर भई कोहलपुर-४ बस्ने १५ बर्से किशोर हरूण खाँले घर पु¥याइदिने भन्दै आफ्नो कोठामा लगेर जबर्जस्ती करणी गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको छ ।   बुधबार पनि रूपन्देहीमा ६ वर्षीया बालिका बलात्कारको सिकार भइन् । कञ्चन गाउँपालिकाकी उनलाई २० बर्से विकल भन्ने खेमबहादुर पुनले बलात्कार गरेका थिए । मावली घर आएकी उनलाई राति चकलेट दिन्छु भन्दै उनले बलात्कार गरेका हुन् ।

एउटै बेडमा ३ गर्भवती, चाप थेग्न नसक्दा चिकित्सक हैरान

काठमाडौं, भदौ १७ । पर्याप्त बेड नहुँदा पनि कोइराला स्वास्थ्य विज्ञान पतिष्ठानमा प्रसुतीका बिरामीको बिजोग भएको छ । दैनिक चाप थेग्न नसक्दा एकै बेडमा ३ जनासम्म बिरामी राख्नुपर्ने र कतिपयलाई भुइँमै उपचार गराउनुपर्ने बाध्यता छ ।   प्रतिष्ठानमा मातृशिशु स्याहार केन्द्र थप्न २ बर्षअघि भवन निर्माण सुरु भए पनि बीचमै रोकिँदा बिरामी मारमा परेका हुन् । प्रतिष्ठानको प्रसुती बिभागमा दैनिक क्षमता ३० जनाको मात्र छ । तर चौबीस घण्टामा ६० देखि ८० जना प्रसुतीका लागि आउने गरेका विभागका प्रमुख डा।मोहनचन्द्र रेग्मीले जानकारी दिए । कान्तिपुरमा खबर छ ।

वरिष्ठ नेता पौडेलको आरोप- सरकारले हल्ला मात्रै गर्यो काम गरेन

दमौली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई विकासको प्रत्याभूति दिन सक्नुपर्ने बताएका छन् । आदिकवि भानुभक्त क्याम्पसको ३२औं वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित बृहत् सामुदायिक स्वास्थ्य शिविरको केशवटारमा उद्घाटन गर्दै वरिष्ठ नेता पौडेलले यस्तो बताएका हुन् ।   वर्तमान सरकारले विकासभन्दा पनि हल्लामात्र बढी गरेको धारणा राख्दै नेता पौडेलले काङ्ग्रेसले प्रतिपक्षमा रहेर सरकारको गलत क्रियाकलापको खबरदारी गर्दै आएको दाबी गरे ।आदिकवि भानुभक्त क्याम्पस प्राध्यापक सङ्घ क्याम्पस इकाइ, व्यास नपा वडा नं १४ र केशवटार माविको संयुक्त आयोजना र तथा नेपाल स्वास्थ्यकर्मी सङ्घ गण्डकी प्रदेश र कास्की सेवा हस्पिटल प्रालिको प्राविधिक सहयोगमा सो बृहत् स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।   शिविरमा ७०० जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरमा वालरोग, दन्तरोग, महिला तथा प्रसूतिसम्बन्धी रोग, हाडजोर्नी तथा नशा रोग, नाक, कान घाँटी, पेट र छाती मुटुसम्बन्धी रोगको परीक्षण गरिएको थियो । -रासस

सिर्जनशिल पत्रकारिता पुरस्कार घर्तीलाई

बागलुङ, भदो १६ । यस वर्षको सृजनशिल पत्रकारिता पुरस्कार बागलुङमा रहेर सक्रिय पत्रकारिता गर्दे आएका संगम घर्ती मगरलाई प्रदान गरिएको छ । पत्रकारद्धय सन्तोष क्षत्री र सिर्जना पन्तले आफ्नो विवाहमा हुने खर्च कटाएर आदर्श सञ्चार सहकारी संस्था बागलुङमा स्थापना गरेको सो कोषबाट नागरिककर्मी घर्तीलाई पुरस्कृत गरिएको हो । आदर्श सञ्चार सहकारीको १२ औ स्थापना दिवसको अवसरमा भुमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्यमा अर्यालले पत्रकार घर्तीलाई नगद पाच हजार सहित दोसल्ला ओढाएर सम्मान प्रदान गरेकी थिइन् । क्रियाशिलता, सिर्जनशिलता तथा निरन्तरता लगाएका आधारमा पुरस्कार छनोट समितिले यस बर्षको लागि करिब एक दशक देखि पत्रकारितामा सक्रिय घर्तिलाई प्रदान गर्ने निर्णय गरेको संस्थापक एवं नेपाल पत्रकार महासंघ बागलुङ शाखा कार्यसमिति सदस्य सिर्जना पन्तले बताइन । पुरस्कार ग्रहणपछि घर्तिले कुनै पनि पुरस्कारको अपेक्षाले आफू पत्रकारतिामा नलागेको भएपनि यसले थप उत्साह र जिम्मेबारीबोध भएको बताए । पत्रकार क्षत्री र पन्तले बिहेमा भोजभतेर नगरी आदर्श सञ्चार सहकारीको संयोजन औपचारिक कार्यक्रमका बिच २०७१ साल बैशाख १९ गते प्रगतिशिल विवाह गरेका थिए । कोषबाट प्रत्यक बर्ष धौलागिरि अञ्चलमा कार्यरत एक पत्रकारलाई नगद सहित सम्मान गरिन्छ । नागरिक राष्ट्रिय दैनिमा बागलुङबाट रिपोटिङ गर्दे आएका घर्ती बिएफबिएस रेडियोमा पनि आवद्ध रहेका छन् ।

भारतीय रुपैयामा तीव्रदरमा लगातार अवमूल्यन किन ?

नयाँदिल्ली, भदौ १६ । गत दुई वर्षयताकै सबभन्दा तीव्रगतिमा भारतीय अर्थतन्त्र वृद्धि भइरहेको छ। तर यति नै वेला भारतीय रुपियाँ भने तीव्र दरमा अवमूल्यन भइरहेको छ। जुन महिनासम्मको त्रैमासिक आर्थिक आंकडा बमोजिम भारतको कुल गार्हस्थ उत्पादन ८.२ प्रतिशतले वृद्धि भएको छ। सो आँकडा अघिल्लो वर्ष उही अवधिमा केबल ५.५ प्रतिशत थियो। तीव्र आर्थिक वृद्धि दरसहित भारत विश्वकै सबभन्दा द्रूत गतिमा अर्थतन्त्र बृद्धि हुने मुलुकमध्ये एक हो । भारतीय अर्थतन्त्रको आकार २.६ ट्रिलियन डलर भएकोको मानिन्छ। आर्थिक वृद्धिका कारणमा उपभोक्ताले गर्ने खर्चमा भएको वृद्धि तथा उत्पादन क्षेत्रको प्रगति देखिएका छन्। तर भारतीय रुपियाँको कुरा गर्ने हो भने यो अवधिमा भारतीय रुपैयाँ अमेरिकी डलरको तुलनामा निकै घटेको छ। लगातार पाँच महिनादेखि अवमूल्यन भइरहेको भारुको भाउ अगस्ट महिनामा मात्रै ३.६ प्रतिशतले घट्यो। अन्य उदाउँदा अर्थतन्त्रहरूमा जस्तै भारतमा मुद्राको अवमूल्यन खासगरी अमेरिकाले चिनियाँ वस्तुहरूमा थप शुल्क लगाउने अनुमानका कारण भएको ठानिन्छ। सन् २०१८ को सुरुदेखि यता मात्रै भारुले १० प्रतिशत अवमूल्यन बेहोरिसक्यो। यसका अन्य कारणमा बढ्दो व्यापार घाटाप्रतिको चिन्ता अनि बढ्दो इन्धन तथा उपभोग्य सामग्रीको मूल्य रहेका छन्। कुल गार्हस्थ उत्पादनको वृद्धि दर राम्रो मानिए पनि कतिपय जानकार भन्छन्, यो वृद्धि दर लामो समय नजान सक्छ। बीबीसी

निर्मलाका सहपाटीको प्रधानमन्त्री पत्र, निर्मलाका हत्यारालाई कारबाही कहिले हुन्छ ?

भीमदत्तनगर, भदौ १५ । कञ्चनपुर भीमदत्त नगरपालिका २ उल्टाखाममा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तका सहपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिठ्ठी लेखेका छन् । उनीहरुले निर्मलाका हत्यारालाई कहिले कारबाही हुन्छ भनी प्रधानमन्त्रीलाई सोधेका छन् । शुक्रबार निर्मलाका साथीहरु जानकी भट्ट, लक्ष्मी बडू, पूजा चन्द र गीता जोशीले प्रधानमन्त्रीलाई चिठ्ठी लेख्दै हत्यारा कहिले पक्राउ पर्छन भनी प्रश्न गरेका छन् । साथै उनीहरुले निर्मलाका हत्यारालाई कारबाही गरिए मात्र उनीमाथि न्याय हुने र उनकाे आत्मले शान्ति पाउने स्मरण गराएका छन् ।

सम्झौताको २२ वर्षपछि नहर बनाउन भारत अग्रसर

भीमदत्तनगर । नेपाल–भारत एकीकृत महाकाली सन्धि भएको २२ वर्षपछि भारतीय पक्ष महाकाली सिँचाइ तेस्रो चरणको मूल नहर निर्माण गर्न अग्रसर देखिएको छ । टनकपुर ब्यारेजदेखि भीमदत्त नगरपालिका–९ मटेनास्थित नेपाल–भारत सीमासम्म भारतले १२ सय मिटर नहर र हेड रेगुलेटरलगायतका संरचना निर्माण गर्ने उल्लेख छ । लामो समय विविध पक्षमा देखिएको विभेदका कारण नहर निर्माण ढिलाइ भएपनि गत साउन १६ गते भारतको टनकपुरस्थित एनएचपिसीले १२ सय मिटर नहरसहित रेगुलेटरलगायतका संरचना निर्माणका लागि बोलपत्र आह्वान गरेको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको कार्यालय भीमदत्तनगरमा सिनियर डिभिजनल (सिडिई) वीरसिंह धामीले जानकारी दिए । उक्त नहर निर्माणका लागि भारतीय पक्षले आह्वान गरेको बोलपत्र सूचनाको म्याद बिहीबार सकिएको छ । “सीमा क्षेत्रको नहर नबन्दा हामीले आफ्नो क्षेत्रमा निर्माण गरेको नहरमा पानी बग्छ कि बग्दैन भन्नेमा आशङ्का अब रहेन” सिडिई धामीले भने, “भारतले १८ महिनाभित्र नहर निर्माण गरिसक्ने गरी ठेक्का सूचना जारी गरेको छ ।” भारतीय पक्षले आगामी पुस महिनादेखि नहर निर्माणको काम थाल्ने महाकाली तेस्रो चरणको कार्यालयलाई जानकारी दिइसकेको छ । टनकपुर एनएचपिसीका अधिकारीले पनि भारतले बनाउनुपर्ने नहरलगायतका संरचना निर्माण दु्रत गतिमा हुने जानकारी दिएको धामीले बताए । सन् १९९६ को एकीकृत सन्धीमा कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित नेपालको सिमाक्षेत्र पर्ने मटेनासम्म १२ सय मिटर लामो मूल नहर निर्माणको काम भारतले गर्नुपर्ने उल्लेख छ । करीब १८ वर्षअघि नेपाल–भारत जलस्रोत मामिलासम्बन्धी समस्या समाधान छलफल गरी तार्किक निश्कर्षमा पु¥याउन सक्ने अधिकार प्राप्त संस्था (जेसिडब्लुआर) को पहिलो बैठक सन् २००० मै नहर निर्माणको विषयमा कुरो उठेको थियो । “करीब ११ वर्ष नेपाल–भारतबीच हेड रेगुलेटरको सिललेबलका विषयमा कुरो मिलेन” धामीले भने- “अब २४४ दशमलब २५ मिटर सिललेबलबाट पानी दिनेछ ।” उनले सन् २०११ र सन् १०१३ को गरी जेसिडब्लुआरको छैटौँ र सातौं बैठकबाट सिललेबलबारे टुङ्गो लागेको जानकारी दिए । यता सरकारले भने नेपालतर्फ हालसम्म झण्डै १३ किलोमिटर नहर निर्माण गरिसकेको छ । छ महिनाअघि तेस्रो चरणअन्तर्गत झण्डै थप १५ किलोमिटर मूल नहर निर्माणका लागि तीन वटा प्याकेजमा ठेक्का सम्झौतासमेत भइसकेको छ । “थप नहर निर्माणको प्राविधिक काम सकेर ठेकेदार कम्पनीहरु नहर निर्माणको सुरुवाती चरणमा छन् ।” महाकाली सिँचाइ तेस्रो चरणको कार्यालय सिनियर डिभिजनल (सिडिई) धामीले भने, “अब शुक्लाफाँटाको फुलेली गाउँसम्म मूल नहर केही वर्षभित्र पुग्नेछ ।” उक्त नहर निर्माणका लागि रु दुई अर्ब १० करोडको ठेक्का सम्झौता भएको छ । त्यसका साथै झण्डै १६ किलोमिटर नहर क्षेत्रमा करीब ३५ हेक्टर जमीनधनीलाई जग्गा अधिग्रहण गरेबापत मुआब्जा दिनुपर्ने छ । उक्त जग्गा अधिग्रहण प्रक्रियामा रहेको धामीले जानकारी दिनुभयो । महाकाली सिँचाइ तेस्रो चरणअन्तर्गत कैलालीको मालाखेतीसम्म १५१ किलोमिटर मूल नहर आगामी सन् २०२२ सम्म पूरा गरिसक्ने स्वीकृत लक्ष्य रहेपनि नहर निर्माणको काम भने कछुवा गतिमा छ । हाल निर्माण भएको १३ किलोमिटर मूल नहरको शाखा नहर विस्तार गरी केही वर्षपछि नहरमा आउने पानीले ब्रह्मदेव क्षेत्रको करीब तीन हजार हेक्टर क्षेत्रफल सिँचाइका लागि पहल हुनुपर्नेको धामीको जोड छ । “भारतले १८ महिनाभित्र नहर बनाइसक्दासम्म हामीले पनि बनाएको नहरको शाखा नहर तयार गरेर सिँचाइका लागि पहल गर्न सके लाभदायक हुन्छ ।” उहाँले भन्नुभयो, “अब भारतीय पक्षबाट उक्त नहर निर्माणमा ढिलाइ हुने देखिँदैन ।” आर्थिक वर्ष २०६३÷६४ देखि सिँचाइको नहर निर्माण शुरु भएको थियो । १५१ किलोमिटरको नहर निर्माणका लागि रु २७ अर्ब लागत अनुमान गरिएको छ । करीब एक दशक बित्दा एक अर्ब ६० करोड मात्रै खर्च भएको छ । जसमध्ये रु ६० करोड जग्गा मुआब्जामै खर्च भएको थियो । उक्त आयोजनाअन्तर्गतको नहर निर्माण भए कैलालीको मालाखेती र कञ्चनपुरको पुरै क्षेत्रफल गरी ३३ हजार ५२० हेक्टर सिँचाइ हुनेछ । पहिलो र दोस्रो चरणबाट कञ्चनपुरमा ११ हजार सात सय हेक्टर सिँचित भएको छ । तेस्रो चरणको मूल नहरमा वर्षातमा एक हजार र सुख्खायाममा तीन सय क्युसेक पानी बग्नेछ । मूल नहरको चौडाइ १३.६० मिटर रहेको छ । रासस

आमाले नै रोकिन् छोरीको बालविवाह

जाजरकोट । स्थानीय जनप्रतिनिधि र बाल सञ्जालको सक्रियतामा एउटी महिलाले छोरीको बालविवाह रोकेकी छिन् । शेराखहरे कालिका माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छेडागाड नगरपालिका–९ की १६ वर्षीया राधिका रोकायले कोहलपुर नगरपालिका–८ झरकट्टी निवासी १८ वर्षीय प्रेम बुढासँग भागेर कोहलपुरमा विवाह गरेका थिए । छोरीले यही भदौ १२ गते बालविवाह गरेको भन्दै रोकिदिन आमा कल्पना रोकायले सोही वडाका वडाध्यक्ष गोपाल नेपालीसमक्ष निवेदन दिएपछि सरोकारवाला निकायको सक्रियतामा बालविवाह रोकाइएको हो । घरायसी सामान खरिदका लागि थलह बजार पुगेकी राधिका रोकाय कोहलपुरका प्रेम बुढासँग भागेर विवाह गरेकी हुन् । निवेदन दिएलगत्तै वडाध्यक्ष गोपाल नेपाली, वडा बाल संरक्षण समिति, प्रहरीको सक्रियतामा सो विवाह रद्द गराइ आफन्तको जिम्मा लगाइएको थियो । विवाहित राधिकाले पनि गल्ती गरेको भन्दै बालविवाह रोक्ने अभियानमा आफू पनि लाग्ने बताइन् । यसअघि जिल्लामा एक दर्जन यस्तै खालका बालविवाह रोकिएका थिए। कानूनले दण्डनीय मानेको बालविवाह गर्ने र गराउनेलाई कुनै पनि हालतमा कानूनको दायरामा ल्याउने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्रबहादुर सिंहले बताए । हालैमात्र भदौ १ बाट कार्यान्वयनमा आएको मुलुकी अपराध संहिता २०७४ मा विवाह गर्ने व्यक्तिको उमेर २० वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन नहुने र उक्त संहिता विपरीत भएको विवाह स्वतः बदर र कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र रु ३० हजारसम्म जरिवाना तोकिएको छ । उक्त नगरपालिकाको ०७४ भदौ ५ को निर्णयअनुसार उक्त वडालाई बालविवाह मुक्त वडा घोषणाका लागि विभिन्न पहल भइरहेको छ । यसै क्षेत्रमा बाल संरक्षण तथा बालविवाह न्यूनीकरणका लागि सेभ द चिल्ड्र्न र पाँचतारा युवा संरक्षक मञ्चले पनि एकीकृत परियोजनामार्फत लामो समयदेखि काम गर्दै आएका छन् । केही समयअघि मात्र त्यहाँको अभिभावक, बालबालिका, सरोकारवाला निकायले बालविवाह नगर्न र नगराउन सार्वजनिक प्रतिबद्धता व्यक्त गरेका थिए । रासस

प्रदेश नं २ मा आइतबार सार्वजनिक विदा !

जनकपुर, भदौ १५ । प्रदेश नं २ को सरकारले आइतबार (भदौ १७) सार्वजनिक विदा दिने निर्णय गरेको छ । कृष्ण जन्माष्टमीमा सार्वजनिक बिदा दिने भएको हो । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले कृष्ण जन्माष्टमीको अवसरमा भदौ १७ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो। प्रदेश २ मा बहुसंख्यक हिन्दु धर्मावलम्बी रहेको र उनीहरुले धुमधामका साथ यो पर्व मनाउने भएकोले बिदा दिइएको जनाइएको छ।

पुलबाट कार खस्दा २ जना घाइते

चितवन, भदौ १५ । काठमाडौंबाट दाङ जाँदै गरेको कार शुक्रबार बिहान जुगेडी पुलबाट तल खस्दा दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयलका अनुसार बिहान ७ बजेतिर बा१७च २२१ नं को कार आफै अनियन्त्रित भई नारायणगढ मुग्लिन सडक खण्डको जुगेडी पुलबाट तल खसेको हो ।   कारका चालक रामेछाप निवासी २१ वर्षीय एकराज खत्री र कारमा सवार कञ्चनपुर जिल्लाको बेलौलीका ३४ वर्षीय दुर्गाप्रसाद चौधरी घाइते हुनुभएको छ । पुरानो मेडिकल कलेजमा उपचार भइरहेको उहाँहरूको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । -रासस

रानीपोखरीमा ३ करोड रुपैयाँ डुब्दै !

काठमाडौं, भदौ १५ । काठमाडौं महानगरपालिकाले रानीपोखरी निर्माणमा संलग्न ठेकेदारलाई भुक्तानी रकम दिएपछि सर्वोच्च अदालतमा मुद्धा दायर गरेका छन् । रानीपोखरीलाई प्रताप मल्ले बनाएको शैलीमा निर्माण गर्न हालका विभिन्न संरचना भत्काउनुपर्छ । मेयर विद्यासुन्दर शाक्यले आफ्नो चुनावी प्रतिबद्धता पालना गरे रोनीपोखरी बनाइएका संरचना भत्काउनुपर्ने हुन्छ । कान्तिपुर दैनिकमा यो खबर छ ।   संरचना भत्कउँदा ३ करोड रुपैयाँ बालुवामा पानी सरह हुने भएको छ । महानगरले ठेकेदारलाई निर्माणका लागि २० प्रतिशत रकम दिईसकेको छ । तयसबाहेक थप रकम माग गर्दै ठेकेदार अदालत गएका हुन् । महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीका अनुसार रानीपोखरी पुननिर्माणको लागत ६ करोड ३१ लाख रपैयाँमा ठेक्का दिएको हो ।

चिकित्सक एकमुष्ट लाइसेन्स बुझाउँदै

काठमाडौं, भदौ १५ । चिकित्सकसँग भएको मौखिक सहमति अनुरुप सरकारले कानुन संशोधनन प्रक्रिया अघि नबढाएको भन्दै नेपाल चिकित्सक संघले आफ्ना सदस्य चिकित्सकको लाइसेन्स नेपाल मेडिकल काउन्सिलमा एकमुष्ट बुझाउने तयारी गरेको छ ।   संघका महासचिव डा. लोचन कार्कीले चिकित्सकसँग गरेको सहमतिमा सरकार गम्भीर र इमानदार नदेखिएकाले लाइसेन्स बुझाउने निर्णय गर्नुपर्ने अवस्था आएको बताए । भदौ १ मै मेडिकल काउन्सिलमा लाइसेन्स बुझाउने तयारी गरेका चिकित्सकहरु कानुनमन्त्री भानुभक्त ढकालको आश्वासनपछि केही समयका लागि पर्खेका हुन् ।   उनीहरुले मुलुकी अपराध संहितामा संशोधन प्रक्रिया अघि बढाउन शुक्रबारसम्मको समय दिएका छन् । नागरिक दैनिकमा खबर छ ।

गोसाइँकुण्डमा भक्तजनले चढाएको भेटी सार्वजनिक

रसुवा । जनैपूर्णिमा पर्वमा गोसाइँकुण्डमा भक्तजनले चढाएको भेटी सार्वजनिक भएको छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार भक्तजनले चढाएको भेटी नेपाल प्रहरीको रोहवरमा गणना गर्दा रु एक लाख ४१ हजार ६०० सङ्कलन भएको र सो भेटी गोसाइँकुण्ड महादेवका नामबाट खोलिएको गोसाइँकुण्ड क्षेत्र विकास समितिको नाममा दाखिला गरिएको हो । गोसाइँकुण्ड मेला भर्न आएका सबै तीर्थयात्रु आफ्नो गन्तव्यतर्फ फर्किसकेको र कुण्डदेखि धुञ्चेसम्म मेला भर्ने सबै यात्रु गन्तव्यतर्फ गइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार गोसाइँकुण्ड मेला शान्त वातावरणमा सम्पन्न भएको हो । गोसाइँकुण्ड मेलामा लेक लागी जटिल अवस्थामा पुगेका नौजनालाई नेपाली सेनाले उद्धार गरेको थियो । रासस

बस दुर्घटना हुँदा १७ घाइते, ३ गम्भीर

राजविराज, भदौ १४ । सप्तरीमा बिहीबार बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । तीनको अवस्था गम्भीर छ । पोखराबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना५ख ६९४२ नंको बस पूर्व–पश्चिम राजमार्ग अन्तर्गत खडक नगरपालिकाको कल्याणपुरमा दुर्घटनामा परेको हो । बस अनियन्त्रित भई सडकमा पल्टेको हो । इलाका प्रहरी कार्यालय कल्याणपुरका अनुसार गम्भीर घाइतेलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । रासस

एकैरातमा तीन ठाउँमा चोरी

हेटौँडा, भदौ १४ । हेटौँडामा एकैरातमा तीन ठाउँमा चोरी भएका छन् । हेटौँडा उपमहानगरपालिका–१ को कार्यालय, हेटौँडा टिसिएनमा रहेको एसबिआई बैंक र हेटौँडा–१० मा रहेको साथीको मनी ट्रान्सफरमा चोरी भएको हो। हेटौँडा उपमहानगरपालिका–१ को चाइनाक्वाटरमा रहेको वडा कार्यालयबाट रु ६१ हजार ५० चोरी भएको वडाध्यक्ष सविन न्यौपानेले जानकारी दिए । उनका अनुसार कार्यालयमा रहेको दराज फोडिएको छ । कार्यालयका कागजपत्र भने दुरुस्त रहेको अध्यक्ष न्यौपानेले बताए । कार्यालय चोरी भएको उज्यालो भएपछि थाहा पाएर स्थानीयले प्रहरीलाई खबर गरेका थिए । यस्तै राति नै हेटौँडा–१० टिसिएनरोडमा रहेको एसबिआई बैंकको सटरको ताला मात्र फोडिएको र रकम भने चोरी नभएको प्रहरीले पुष्टि गरेको छ । बैंकको तीनवटा सटरमा लगाइएको ताला फोडिएको अवस्थामा पाइएको प्रहरीले जनाएको छ । सटर फोडिएको पाइएपछि चोरी भएको आशङ्कामा प्रहरीले अनुसन्धान गर्दा नगद भने चोरी नभएको पाइएको मकवापनुरका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए । यसैगरी हेटौँडा–१० मा रहेको साथीको मनी ट्रान्सफरमा पनि चोरी भएको छ । गए राति नै भएको चोरीमा नगद तथा रिचार्ज कार्ड चोरी भएको बताइएको छ । मनी ट्रान्सफरको सटर फोडेर चोरी भएको प्रहरीले जनाएको छ । मनी ट्रान्सफरबाट भएको चोरीको विवरण भने आई नसकेको प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिए । रासस