संसद् बन्धक हुन दिँदैनौँ  : उपाध्यक्ष पौडेल

भरतपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले संसद्को अवरोध चाँडै हट्ने बताएका छन्। एमाले चितवनको ११औँ अधिवेशनको शनिबार भरतपुरमा उद्घाटन गर्दै उनले नेपाली कांग्रेसले संसद्को बहुमतलाई बन्धक बनाएकाले त्यसलाई पन्छाएर अगाडि बढ्ने उल्लेख गरे।

“कांग्रेसको अवरोधलाई हटाएर भए पनि संसद् बन्धक हुन दिँदैनौँ,” उपाध्यक्ष पौडेलले भने।

वि.सं.२०८४ को चुनावसम्म यही गठबन्धन रहने उनले बताए। “कांग्रेससँग प्रतिपक्षमा बसेर निर्वाचन लडेको अनुभव धेरै छैन,” उनले भने, “आगामी निर्वाचनमा हामी बहुमत ल्याउँछौँ।” वर्तमान समीकरण तोड्न अनेक प्रयास भइरहेको उनले बताए ।

एमालेका अर्का उपाध्यक्ष सुरेन्द्र पाण्डेले संसद् अवरोधले बजेट ल्याउन समस्या हुने बताए । देश आर्थिक संकटमा रहेका बेला मिलेर बजेट ल्याउनुपर्ने उनको भनाइ थियो ।

“नाराबाजीका बीचबाट बजेट ल्याउनुपर्ने हुनसक्छ । अध्यादेशमार्फत भएर पनि बजेट ल्याउनुपर्ने हुनसक्छ । नत्र संवैधानिक संकट आउँछ,” उनले भने । रासस

संसदीय समितिको कार्यादेश टुंग्याउन शीर्ष नेताको बैठक भोलि बिहान बस्ने

काठमाडौं । संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन बस्ने भनिएको शीर्ष नेताको बैठक शनिबार(आज) बस्न सकेन  शनिबार नै बसेको कार्यदलको बैठकले गोर्खा मिडिया प्रालि र उसले रकम लगेको सहकारीका विषयमा छानबिन गर्ने गरी कार्यादेश (टीओआर) बनाउने समझदारी गरे पनि यसलाई अन्तिम रुप शीर्ष नेताले दिने भनिएको थियो। तर कांग्रेस सभापति शेरबहादुर देउवा स्वास्थ्यमा समस्या देखिएको भन्दै नआएपछि प्रधानमन्त्री निवास बालुवाटारमा राखिएको शीर्ष नेताको बैठक बस्न नसकेको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा कार्यदल सदस्य शिशिर खनालले बताए । उनका अनुसार अब अर्को बैठक आइतबार विहान ९ बजे बस्नेछ । शनिबार बसेको कार्यदलको बैठकले कार्यादेशको विषयमा लगभग सहमति जुटाएको र अन्तिम रुप शीर्ष नेताको बैठकले दिने कार्यदलको संयोजन गरेका कानुनमन्त्री पदम गिरीले बताएका थिए ।

प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्थामा जाऔँ : सीके राउत

कास्की । जनमत पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सांसद डा.सीके राउतले राजनीतिक स्थायित्वका निम्ति प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गरिनुपर्ने बताएका छन्। मधेस–कास्की सम्पर्क समाज पोखराको प्रथम अधिवेशनको शनिबार उद्घाटन गर्दै उनले समाजवादउन्मुख भनेर संविधानमा व्यवस्था गरिए पनि राजनीतिक प्रणालीका कारण स्थायित्व कायम हुन नसकेको बताए। “वर्तमान संवैधानिक व्यवस्थाबाट मुलुकले राजनीतिक स्थिरता पाउने देखिँदैन। स्थायी सरकारका लागि प्रधानमन्त्री, सातै प्रदेशका मुख्यमन्त्री र न्यायालयसम्म प्रत्यक्ष निर्वाचित नेतृत्वको व्यवस्था हुनुपर्छ, तब स्थायित्व र परिवर्तनको अनुभूति गराउने गरी विकास गर्न सकिएला,” उनले भने। अध्यक्ष डा.राउतले राजनीतिक अस्थिरताकै कारण नेपालमा विदेशी लगानी भित्रन नसकेको र वैदेशिक लगानीबिना ठूला आयोजना विकास गर्न नेपालको स्रोतले भ्याउने अवस्था नभएको बताए। उनले समाजवादी प्रणालीबाट मात्र देशलाई निकास दिन नसकिने निष्कर्षसहित आफ्नो पार्टीले नौलो गणतन्त्रका रूपमा सामाजिक लोकतन्त्रको विषय उठाएको उल्लेख गरे । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तेजकुमारी पौडेलले माओवादी आन्दोलनबाट स्थापित व्यवस्थाले जातीय तथा लैंगिक विभेद न्यूनीकरण भएको जिकिर गरिन् । उनले अब हरेक नेपालीलाई समान अधिकार दिने गरी पार्टी अगाडि बढेको बताइन् । नेपाली कांग्रेस कास्कीका नेता बाबुराम गिरीले देशमा देखिएको आर्थिक संकटलाई समाधान र नेपालको युवा जनशक्तिलाई नेपालमा नै परिचालन गर्नेतर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिए। रासस

सहमतिका लागि जुटे कार्यदल सदस्य

काठमाडौं । सहकारीको बचत अपचलनबारे छानबिन गर्न बनाउने भनिएको संसदीय समितिको कार्यादेश तयार गर्न गठित कार्यदलको बैठक सुरु भएको छ। सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बैठक बसेको हो। कार्यदलको बैठक यसअघि पनि पटक–पटक बसेको थियो । तर, सदस्यहरूले आफ्नो दलीय अडान कायमै राख्न सहमति हुन सकेको छैन। 

सगरमाथा आरोही प्रहरी निरीक्षक पौडेललाई सम्मान

काठमाडौं । सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेललाई सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हलचोकमा स्वागत तथा सम्मान गरिएको छ । शुक्रबार दिउँसो सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालय तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र बंशीराज दाहाललगायत बरिष्ठ अधिकृतहरुले निरीक्षक पौडेललाई  प्रहरी प्रधान कार्यालयमा स्वागत गरेका हुन् ।  सशस्त्र प्रहरी बल, नेपालको इतिहासमा पहिलोपटक संगठनको प्रतिनिधित्व गर्दै सशस्त्र प्रहरी निरीक्षक पौडेलले जेठ ७ गते सोमबार बिहान १०ः२० बजेको समयमा सगरमाथाको सफल आरोहण गरेका थिए । आरोहणपछि उनलाई  सोलुखुम्बुको लुक्ला विमानस्थलबाट हेलिकोप्टरमार्फत प्रधान कार्यालयमा फिर्ता हुने व्यवस्था मिलाइएको थियो । 

हेटौंडामा बसको ठक्करबाट एक जनाको मृत्यु

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङस्थित पूर्व(पश्चिम सडकखण्डमा शुक्रबार राति बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुका प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको ना७ख १६७५ नंको बसले ठक्कर दिँदा अन्दाजी ४० वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको हो। उनका अनुसार मृतक पुरुषको हाल नामथर वतन खुलेको र मृतक पुरुषको शव हेटौंडा अस्पतालमा राखिएको छ। उक्त घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

सूचना अधिकारी तोक्न सामुदायिक विद्यालयलाई काठमाडौं महानगरको निर्देशन

काठमाडौं ।  काठमाडौँ महानगरपालिकाले यही जेठ १४ गतेभित्र काठमाडौँ उपत्यकामा सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई सूचना अधिकारी तोक्न आग्रह निर्देशन दिएको छ । महानगरपालिकाको सञ्चार तथा सूचना ऐन, २०८० बमोजिम कामपाले यही जेठ १४ गतेभित्र सूचना अधिकारी तोकेर महानगरपालकालाई जानकारी गराउन निर्देशन पनि दिएको छ । महानगरपालिकाको शिक्षा विभागप्रमुख गोविन्दप्रसाद शर्माका अनुसार कामपाले यसअघि पनि शैक्षिक सङ्घसंस्थालाई सूचना अधिकारी तोकेर विभागका पठाउन आग्रह गरेको तर कामपाको आग्रहअनुसार केही विद्यालयले मात्र सूचना अधिकारी तोकेको जानकारी प्राप्त भएकाले पुनः निर्देशन दिइएको हो । सूचना अधिकारी तोक्दा संस्थाको दोस्रो जिम्मेवारीमा रहेको व्यक्ति हुनुपर्नेछ । हाल महानगरपालिकामा ८७ सामुदायिक विद्यालय सञ्चालनमा छन्भने छ सय संस्थागत विद्यालय छन् । यसअघि महानगरपालिका क्षेत्रमा सञ्चालित सहकारीहरूले सूचना अधिकारीको व्यवस्था गरी सहकारी विभागमा जानकारी गराएका छन् ।

स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीको सरुवा, को–कहाँ ?

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले स्वास्थ्य माताहतका निकायमा कर्मचारीको सरुवा गरेका छन्। मन्त्रालयका उच्च कर्मचारीका अनुसार स्वास्थ्यमन्त्री यादवले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) प्रमुख डा. रुद्र मरासिनीलाई ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा सरुवा गरेका छन्। यसअघिका स्वास्थ्यमन्त्री उपेन्द्र यादवले नियुक्त गरेका डा.प्रमोद यादवलाई हटाउँदै मरासिनीलाई जिम्मेवारी दिइएको हो। तर, इपिडिमियोलोजी महाशाखामा भने हालका लागि कसैललाई पनि जिम्मेवारी दिइएको छैन । यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डा. रोशन न्यौपानेलाई निर्देशकको जिम्मेवारी दिइएको छ। अस्पतालमा निर्देशक रहेका डा. युवानिधि बसौलालाई कान्ति अस्पतालमा फिर्ता पठाइएको उच्च अधिकारीले बताए ।

रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

बुटवल। रूपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बुटवलको जितगढी र तिलोत्तमाको ड्राइभरटोलमा गएराति भएको मोटरसाइकल दुर्घटनामा दुईजना युवाको मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार तिलोत्तमा नगरपालिका–४ ड्राइभरटोलमा भएको मोटरसाइकल दुर्घटनामा २४ वर्षीय विवेक डुम्रेको मृत्यु भएको छ। तिलोत्तमा नगरपालिका ६ का डुम्रेले चलाएको लु ३१ प १६४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडकमै पल्टिएको थियो। घटनामा गम्भीर घाइते भएका डुम्रेको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै, बुटवल उपमहानगरपालिका–२ जितगढीमा भएको मोटरसाइकल दुर्घटनामा रुपन्देहीको सैनामैना नगरपालिका ४ का ४२ वर्षीय गोविन्द अर्यालको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार अर्यालले चलाएको प्रदेश नं. ३–२००२ प २०३६ नम्बरको मोटरसाइकल शुक्रबार राति १०ः३० बजे जितगढीमा दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका अर्याललाई उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यृ भएको थियो ।

बँदेलको आक्रमणबाट एक घाइते

बँदेलको आक्रमणबाट एक घाइतेहेटौँडा । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका –८ गुरुटोलमा बँदेलको आक्रमणमा परी शुक्रबार दिउँसो एक जना घाइते भएका छन्।  स्थानीय २४ बर्षीय सौगात गुरुङ बँदेलको आक्रमणमा परी घाइते भएका हुन। गुरुङ घरनजिक रहेको सिम्पानी देवकोट सामुदायिक वनमा बाख्रा चराउन गएको बेला जंगली जनावर बँदेलको आक्रमणमा परी घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।  घाइते गुरुङको आफन्तले उपचारका लागि मनकामना अस्पताल चितवन लगेको र उहाँको बाया खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए। घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।  मनहरी क्षेत्रमा यसअघि हात्ति, बाघलगायतका जंगली जनावरले घरमा क्षति गर्नुका साथैं मानवीय क्षति पनि गरिरहेका छन् ।

काठमाडौँका यी स्थानमा भोलिबाट विद्युत् अवरुद्ध हुने

काठमाडौं। भोलीबाट काठमाडौँका यी स्थानमा विद्युत् लाइन अवरुद्ध हुने भएको छ । बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने विद्युत् प्राधिकरणले जनाएको छ ।  प्राधिकरणका अनुसार कीर्तिपुर, बानेश्वर, कुलेश्वर र जोरपाटी वितरण केन्द्रहरू अन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि सेवा अवरुद्ध हुने जनाएको हो। 

किसानबाट अण्डाको लागत मूल्य खोजी

चितवन । पछिल्ला वर्षहरुमा कुखुरा पालक किसानले अण्डाको लागत मूल्य पाउन नसकेपछि विज्ञ समूह बनाएर अण्डाको वैज्ञानिक लागत मूल्य खोजी गरेका छन् । न्यून मूल्यमा अण्डा बिक्री गर्नु परेपछि अधिकांश किसान विस्थापित हुन थालेसँगै लागत मूल्यको खोजी गरिएको हो । नेपाल कुखुरा व्यवसायी मञ्चको अग्रसरतामा पोल्ट्री विज्ञ डा.तिलचन्द्र भट्टराई, कृषि तथा वन विज्ञान विश्व विद्यालयका सहप्राध्यापकहरु डा। रेवन्त भट्टराई, डा. सुविर सिंह, उपप्राध्यापक डा. अनन्त दाहाल र डा.विष्णु पोखरेल समूहले अण्डाको वैज्ञानिक लागत मूल्य निकालेको हो । मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेका अनुसार अण्डा प्रतिगोटा १६ दशमलव ५६ किसानको लागत मूल्य विज्ञ समूहले निकालेको छ । हाल फार्म मूल्य किसानले सरदर १५ दशमलव ३३ पाउने गरेका छन् । अहिले पाएको मूल्य हालसम्मकै बढी हो । एक वर्ष छ महिना अघि प्रतिगोटा आठमा समेत बिक्री गर्न किसान बाध्य थिए । मञ्चले लागत मूल्यका बारेमा स्थानीयस्तरमा सरकारी र निजी क्षेत्रसँग छलफल गरेर समर्थन मूल्य निर्धारणका लागि सरकारलाई अनुरोध गर्ने निर्णय गरेको लामिछानेले जानकारी दिए । उनका अनुसार उद्योग वाणिज्य सङ्घ, उद्योग सङ्घ, च्याम्बर अफ कमर्स, स्थानीय जनप्रतिनिधि, पशु सेवा कार्यालय, राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशाला लगायत सरोकारवालासँग छलफल गरेर कम्तीमा लागत मूल्य धान्ने गरी समर्थन मूल्य तोक्न सरकारलाई आग्रह गर्ने निर्णय गरिएको हो । डा.अनन्त दाहालका अनुसार फार्म निर्माण, चल्ला खरिद, दानाको खपत, बैंक ब्याज, औषधि, मजदुरलगायतको खर्च समेटेर लागत मूल्य तय गरिएको हो । नेपाल लेयर्स कुखुरा पालक सङ्घका अध्यक्ष विनोद पोखरेलले यसअघि धेरै उत्पादन भएको तुलनामा अहिले अण्डाको उत्पादन आधा घटेको छ । नेपालमा धेरै उत्पादन हुँदा दैनिक ६० लाखसम्म अण्डा उत्पादन भएको अनुमान गरिन्छ। हाल दैनिक २८ लाख मात्रै अण्डा उत्पादन हुँदै आएको उनले जानकारी दिए । पोखरेलले ७५ प्रतिशत किसान लागत मूल्यमा उत्पादन बिक्री गर्न नपाएपछि विस्थापित हुनु परेको बताए । टिकेकाहरुले पनि बैंकको ऋण थप गरेर व्यवसाय धानेको उनको भनाइ छ ।

हुरिकेन्समाथि नेपाल ६ रनले विजयी

काठमाडौं । पहिलो अभ्यास खेलमा ह्युस्टन हुरिकेन्समाथि नेपालले ६ रनको जित निकालेको छ।टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४६ रन बनाएको थियो। १४७ रनको लक्ष्य पछ्याएको हुरिकेन्स ८ विकेटको क्षतिमा १४० रनमा समेटिएको हो। अन्तिम ओभरमा करण केसीले कसिलो बलिङ गर्दा नेपालले ६ रनको जित निकालेको हो । हुरिकेन्सलाई सस्तैमा समेट्न नेपालका सोमपाल कामी र करण केसीले समान दुईदुई विकेट लिए। कप्तान रोहित पौडेल, अविनास बोहरा, सागर ढकाल र कुशल भुर्तेलले समान एकएक विकेट हात पारे। सुरुमा ब्याटिङ गरेको नेपालका लागि अनिलकुमार साहले सर्वाधिक ४७ रन बनाए। कप्तान रोहितकुमार पौडेल २३, गुल्शनकुमार झा २० र सन्दीप जोरा २१ रनमा आउट हुँदा करण केसी १० रनमा अविजित रहे। होरिकेन्सँग नेपालले अर्को खेल शनिबार राति खेल्नेछ। विश्वकप अगाडिको अभ्यास खेलका रुपमा नेपालले दुई खेल खेल्न लागेको हो।

सहकारी प्रकरण  कार्यदल बैठक बस्दै, सहमतिको सम्भावना के छ ?

काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) तय गर्न गठित कार्यदलको बैठक आज पनि बस्दैछ।बैठक दिउँसो ३ बजे कानून, न्याय र संसदीय मामिला मन्त्रालयमा बस्ने कार्यदल सदस्य तथा एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् । समिति गठनको क्षेत्राधिकारका बारेमा कार्यदलमा पटक पटक छलफल भए पनि सत्ता पक्ष र प्रतिपक्षबीच उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने लगायतको नाम उल्लेख गर्ने वा नगर्ने विषयमा सहमति हुन सकेको छैन। यसअघि हिजो अपराह्न बालुवाटारमा भएको शीर्ष नेताहरु सम्मिलित बैठकले आजको कार्यदल बैठकमा सत्तापक्ष र प्रतिपक्षबाट आ–आफ्ना प्रस्ताव पेस गर्ने सहमति भएको छ ।शीर्ष नेताहरु सम्मिलित बैठकमा कार्यदलको तर्फबाट अहिलेसम्म भएका छलफल र प्रगतिका बारेमा एमाले मुख्य सचेतक महेश बर्तौलाले ब्रिफिङ गरेका थिए । प्रमुख प्रतिपक्ष दल सहकारी प्रकरणमा गृहमन्त्री लामिछाने संलग्न रहेकाले उनको नामै किटेर उनी संलग्न सहकारी तथा संस्थामा छानबिन हुनेपर्ने माग राख्दै आएको छ भने सत्ता पक्ष व्यक्ति केन्द्रित समिति बन्न नसक्ने अडानमा छ।यद्यपी कानुन मन्त्री पदम गरीले कांग्रेस लचिलो भएको र छिट्टै सहमतिमा पुगिने विश्वास व्यक्त गरेका छन् । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उक्त प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म संघीय संसदका दुवै सदन चल्न नदिने अडान राख्दै बैठक अवरुद्ध गर्दै आएको छ ।

ओली र एम्नेस्टी इन्टरनेसनलका महासचिवबीच भेटवार्ता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका एम्नेस्टी इन्टरनेसनलका महासचिव डा.अग्नेज कल्लामार्डले भेटवार्ता गरेका छन् । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज भएको भेटमा मानवअधिकार, सङ्क्रमणकालीन न्याय र प्रेस स्वतन्त्रतालगायत विषयमा छलफल भएको पार्टीका कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए। अधिकारीका अनुसार अध्यक्ष ओलीले नेपालमा राजतन्त्रको अन्त्य र लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि मानवअधिकार र सुशासनको सुनिश्चित गरिएको बताएका थिए। साथै उनले सङ्क्रमणकालीन न्यायको विषय टुङ्गो लगाउँदा पीडितले न्याय पाउने कुरा, अन्तर्राष्ट्रिय मान्यता र अदालतको आदेशलाई ध्यान दिनुपर्ने र गम्भीर अपराधका घटनालाई माफी दिन नसकिने पार्टीको धारणा रहेकाबारे समेत स्पष्ट पार्नुभएको कार्यालय सचिव डा.अधिकारीले जानकारी दिए। भेटमा महासचिव डा.कल्लामार्डले नेपालमा सङ्क्रमणकालीन न्याय टुङ्गो लगाउने विषय, प्रेस स्वतन्त्रता र सामाजिक तथा लैङ्गिक विभेद्जस्ता विषयमा जिज्ञासा राखेका थिए ।  

खोटाङ सेवा समाज कतारको १२औं अधिवेशन ३१ मे मा हुँदै

कतार । खोटाङ सेवा समाज कतारको १२औं अधिवेशन ३१ मे २०२४ मा हुने भएको छ । कतारको नेपाली सामाजिक सस्थाहरु मध्ये जेठो सस्थाको रुपमा स्थापित खोटाङ सेवा समाज कतारको एघारौ कार्यकाल सफलतापुर्वक सम्पन्न गर्दै १२औं अधिवेशनको लागि सस्थाका पदाधिकारिहरु तिब्र तयारीमा जुटेका हुन्। प्रवासको पसिना स्वदेशको साकार सपना भन्ने मुल नारा सहित सन १९९८ जनवरी ३१ तारिक मा स्थापना भएको सस्थाले विभिन्न आरोहअवरोहहरु पार गर्दै १२औ अधिवेशनको सम्मुखमा आइपुगेको छ । गृह जिल्ला खोटाङ र कतारमा सामाजिक कार्यमा सकृय सस्थाले शिक्षा स्वास्थ्य र खेलकुदको क्षेत्रमा उल्लेख्य सहयोग गरिसकेको सस्थाका प्रमुख सल्लाहकार रुद्र शर्माले बताएकाछन । विभिन्न पेशा ब्याबसायमा आवद्ध खोटाङेहरुको भब्य उपस्थिति रहने अपेक्षा सहित सस्थाको १२औ अधिवेशन प्लाजा मलको वेल्फेयर रेष्टुरेन्टको सभाहलमा सम्पन्न हुने  महासचिव पर्शुराम श्रेष्ठ पवनले बताएकाछन साथै अन्य ब्याबस्थापकिय तयारी अन्तिम चरणमा पुगेको हुदा कतारमा रहेका सम्पुर्ण नेपालिहरुलाइ कार्यक्रममा उपस्थित भएर भब्य रुपले सफल बनाइदिन अध्यक्ष कैलाश श्रेष्ठले अनुरोध गरेका छन्। सस्थाको अधिवेशनलाइ मध्यनजर गर्दै साधारण सदस्यता खुल्ला गरिएको हुदा कतारमा रहेका सम्पुर्ण खोटाङेहरुलाइ यथाशीघ्र सदस्य बन्न तथा सदस्यता नविकरण गर्न सबैलाइ सस्थाको फेसबुक पेज मार्फत सुचित गरिएको हुँदा स्वतस्फूर्त ढङ्गले सस्थाका पदाधिकारीहरुलाई सम्पर्क गर्न उपाध्यक्ष डिल्लिशेर खड्काले अनुरोध गरेका छन्। सांस्कृतिक तथा साहित्यक रुपमा आफ्नो छुट्टै पहिचान बनाएको खोटाङ जिल्लालाइ कतारमा पनि प्रबर्द्धन गर्ने उदेश्य सहित कार्यक्रममा सांस्कृतिक प्रस्तुतीको साथमा साहित्यको उच्च  संयोजन रहने उपाध्यक्ष बलराम लोप्चनले बताएका छन्।