महिलामाथि हिँसा गर्ने महिला कारवाहीमा

दाङ, असार १४। सार्वजनिक स्थलमा एक महिलालाई निर्वस्त्र पारी कुटपिट गर्ने दुई महिलालाई ६महिना कैद र २५ हजार जरिवाना तोकिएको छ।

गत जेठ २५ गते शीतगंगानगरपालिका ९ ठारखोला अर्घाखाँचीकी ३९ बर्षीया दिलमाया पुनमाथि निर्घात कुटपिट गर्ने राप्ती गाउपालिका १ निवासी ३५ बर्षीया रेखा गुप्ता र २९ बर्षीया अनिता गुप्तालाई जिल्ला प्रशासन कार्यालय दाङले उक्त सजाय तोकेको हो ।

प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले उक्त घटनाका दोषीहरूलाई बुधबार उक्त सजायको फैसला गरेका हुन् ।

दोशीद्वयलाई जनही ७ हजार ८ सय २० रुपयाँ उपचार खर्च भराउने आदेश पनि भएको श्रेष्ठले जानकारी दिए । गुप्ताद्वयले आफूले भनेको मूल्यमा जग्गा बिक्री गर्न नमानेको भन्दै पुनलाई गत जेठ २५ गते भालुबाङमा कपडा च्यात्दै कुटपिट गरेका थिए ।
स्थानीय प्रहरीले घटना भएकै दिन ‘सामान्य झैझगडा’ दुवै पक्षमा मिलापत्र गराए पनि उक्त घटनाको भिडियो सामाजिक संजालमा भाइरल भएपछि प्रहरीले गुप्ताद्वयलाई जेठ २७ गते पक्राउ गरेको थियो ।
यस फैसलाले सार्वजनिक स्थलमा महिलामाथि हुने हिँसा निरुत्साहित हुने विश्वास लिन सकिने प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए। समाजमा कानून हातमा लिएर कुटपिट गर्ने, हिंसा गर्ने जस्ता घटना बढिरहेको बेला पीडितलाई न्यायको अनुभूति गराउन र थप घटना हुन नदिन सजायको आदेश गरेको उनले बताए ।
उक्त घटनाको भिडियो भालुबाङ निवासी ऋतु रानाले फेसबुकमा पोस्ट गरेपछि रातारात भाइरल बनेको थियो ।

 

१३ वर्षीया बालिकाको सामूहिक बलात्कार

गौशाला । महोत्तरी जिल्लाको औरही नगरपालिका–२ फुलबरिया गाउँकी एक बालिका घर नजिकै रहेको खोलामा भाँडा धुन गएका बेला बलात्कृत भएकी छिन् । इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक भोला भट्टका अनुसार आइतबार साँझ स्थानीयवासी एक १३ वर्षीया बालिका घर नजिकै भएर बग्ने जंघा खोलामा भाँडा धुन गएका बेला दुईजना युवकले सामूहिक बलात्कार गरेको आरोप लगाइएको छ । प्रहरी निरीक्षक भट्टका अनुसार स्थानीय १५ वर्षीय दुई युवा राकेश सदा र ऋतिक सदाले ती बालिकालाई बलात्कार गरेको पीडित पक्षले आरोप लगाएका छन्। बालिका बलात्कार गरेको आरोपमा प्रहरीले ऋतिक सदालाई पक्राउ गरेको छ भने अर्का युवा राकेश फरार छन् । साथै, घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ । रासस

‘हाम्रो तुलसीपुर–राम्रो तुलसीपुर, खुसी जनता–समृद्ध तुलसीपुर’

दाङ । तुलसीपुर उपमहानगरपालिकाले शुक्रबार नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेयले ‘हाम्रो तुलसीपुर–राम्रो तुलसीपुर, खुसी जनता–समृद्ध तुलसीपुर’ भन्ने नारालाई प्राथमिकतामा राखेर तेस्रो नगरसभासमक्ष नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । यसपटक नीति तथा कार्यक्रममा सडक, कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखिएको छ । उपमहानगरपालिकाले ल्याएको नीति तथा कार्यक्रममा कृषि क्षेत्रको प्रवद्र्धनका लागि शीतभण्डार निर्माणदेखि एनिमल एम्बुलेन्ससम्मको विषयलाई प्राथमिकता दिइएको छ । त्यसैगरी केन्द्र र प्रदेश सरकारको नीतिलाई मध्यनजर गरेर कार्यक्रमलाई प्राथमिकता दिएको पनि नगरप्रमुख पाण्डेयले बताउनुभयो । “उद्यमशीलताको विकासबिना हाम्रो समृद्धिको यात्रा सम्भव छैन त्यसैले युवालाई उद्यमशील बनाउने कार्यलाई हामीले प्राथमिकतामा राखेका छौँ”, । त्यसैगरी खानेपानी तथा सरसफाइ ः कृषि, पर्यटन, उद्योग तथा वाणिज्य, सहकारी र वित्तीय, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, सडक तथा पुल, सिँचाइ, भवन तथा शहरी विकास, ऊर्जा, लघु तथा साना जलविद्युत्, सञ्चारलाई समेटिएको छ । यसैगरी उपमहानगरपालिकाबाट दिइने सेवालाई चुस्त, दुरुस्त, पारदर्शी र प्रविधिमैत्री बनाउनका लागि इ–गभर्नेन्सको नीतिलाई अवलम्बन गर्ने कुरालाई पनि नीति तथा कार्यक्रममा प्राथमिकता दिइएको छ । रासस

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

झापा । झापाको शिवसताक्षी नगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम चुलाचुली नगरपालिका–१ निवासी ३५ वर्षीय इन्द्रकुमार राई रहेका छन् । शुक्रबार साँझ राईले चलाउँदै गरेको मे६प ७६०५ नंको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिँदा उनी गम्भीर घाइते भएका थिए । घाइते राईलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिए पनि उनको उपचारकै क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । चट्याङ लाग्दा हल गोरु र गाई मर्यो यसैगरी आज बिहान वर्षासँगै परेको चट्याङ लागेर भद्रपुर नगरपालिकामा एक हल गोरु र एक माउ गाईको मृत्यु भएको छ । भद्रपुर–१० निवासी धनबहादुर काफ्लेले पालेका हल गोरु र गाईको चट्याङका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । रासस

स्विमिङ पुलमा डुबेर एकको मृत्यु

चितवन । चितवनको कुरिनटारस्थित सिद्धार्थ होटलको स्विमिङ पुलमा डुबेर मनकामना दर्शनका लागि आएका एक जनाको मृत्यु भएको छ । होटलमा पौडी खेल्ने क्रममा डुबेर काठमाडौँ जिल्लाको तारकेश्वर नगरपालिका–११ नेपालटारका २६ वर्षीय रामबहादुर बस्नेतको मृत्यु भएको चितवनका प्रहरी नायब उपरीक्षक शिव शर्मा, आचार्यले जानकारी दिनुभयो । गएराति करीब ९ बजे नुहाउने क्रममा पानीमा डुबेर बेहोस भएका उनको कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भरतपुरमा उपचारका क्रममा करीब ११ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । परिवारसहित मनकामना दर्शनका लागि आएका उनीहरु साँझ होटलमा बसेर पौडी खेल्न थालेका थिए । उनीहरुको आज बिहान मनकामना दर्शन गर्ने योजना रहेको परिवारलाई उद्धृत गर्दै आचार्यले जानकारी दिनुभयो । रासस

हत्या गरी फरार रहेका अभियुक्त पक्राउ

नवलपरासी । स्याङ्जामा एक महिलालाई हत्या गरी फरार रहेका एक जनालाई शुक्रबार पूर्वी नवलपरासीबाट प्रहरीले पक्राउ गरेको छ । गत जेठ २६ गते एक महिलाको हत्या गरी फरार रहेका स्याङ्जा पुतलीबजार नपा वडा नं २ चिरुवा बस्ने ४६ वर्षीय राजु भन्ने टेकबहादुर विकलाई प्रहरीले पक्राउ गरेको हो । स्याङ्जा पुतलीबजार नपा वडा नं २ चिरुवा बस्ने ५५ वर्षीया माइली भन्ने दिलमाया विकलाई हत्या गरी फरार भई यस क्षेत्रमा लुकीछिपी बसिरहेको विशेष सुराकीका आधारमा विकलाई प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ । लागुऔषध कारोवारी पक्राउ पूर्वी नवलपरासीको गैँडाकोटबाट शुक्रबार एकजना युवालाई प्रहरीले प्रतिबधिन्त लागुऔषधसहित पक्राउ गरेको छ । पूर्वी नवलपरासी गैँडाकोट नपा वडा नं ७ बस्ने २४ वर्षीय सुजन विकको घरमा खानतलासी गर्दा प्रहरीले प्रतिबन्धित लागुऔषध फेला परेको हो । विकको घरबाट प्रहरीले लागुऔषध सेरिजेक ५० एम्पुल, फेनारगन ४० एम्पुल, नुर्फिन ४३ एम्पुल गरी जम्मा १३३ एम्पुल र लागुऔषधका फुटेका केही टुक्रासमेत फेला पारेको जनाएको छ । रासस

गैरकानूनी मिर्गौला प्रत्यारोपण गरिएका बस्नेत कारागार चलान

भक्तपुर, असार ९ । गैरकानूनी तरिकाले मिर्गौला प्रत्यारोपण गरेको अभियोगमा पक्राउ परेका एक व्यक्तिलाई शुक्रबार साँझ भक्तपुर जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । अदालतले मोरङ कानेपोखरी गाउँपालिका वडा नं १ स्थायी घर भई हाल भक्तपुर नगरपालिका–१ मा डेरा गरी बस्ने ५१ वर्षीय थर्कबहादुर बस्नेतलाई थुनामा पठाएको हो । गत वैशाख १० गते भक्तपुरस्थित सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा काभ्रेपलाञ्चोक साविक टुकुचा गाविस वडा नं ९ घर भई हाल बनेपा नपा–२ बस्ने २९ वर्षीय कुमार गिरीलाई लोभ, लालच, किर्ते कागज बनाएर छोरा हो भन्दै गिरीको मिर्गौला झिकेर बस्नेतले आफूलाई प्रत्यारोपण गरेको अभियोगमा प्रहरीले पक्राउ गरी मुद्दा दायर गरेको थियो । भक्तपुर जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले बस्नेतलाई मुलुकी ऐन अदालती बन्दोबस्त ११८ को देहाय (२) अनुसार कानूनबमोजिम सिधा खान पाउने गरी थुनामा राख्न पठाइदिनु भनी मुलुकी ऐन अव १२४ नं बमोजिम कारागार चलानको आदेश दिएको इजलास अधिकृत कमल महतले जानकारी दिनुभयो । जीवन रक्षाको अधिकारलाई प्रत्याभूति गर्दै बस्नेतलाई थुनामा छुट्टै राख्ने प्रबन्ध मिलाई कारागारमा रहँदा नियमित स्वास्थ्य जाँच गराउने, अस्पताल भर्ना गराउनुपर्ने अवस्थामा भर्ना गराउने, निजको जीवन रक्षाको सम्पूर्ण प्रबन्ध मिलाई निजले आर्थिक अवस्थाले उपचार गर्न सक्ने अवस्था नभए राज्यको तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले व्यहोर्ने गरी आदेश जारी भएको हो । मिर्गौला झिकिएका गिरीलाई भने साधारण तारिखमा छाड्ने आदेश भएको छ । गिरीको हकमा मिर्गौला झिकिएका पीडित व्यक्ति भएको, अस्पतालको नियमित निगरानीमा रहनुपर्ने, मानसिक रोगी भएको, तत्कालै फरार हुन सक्ने वा प्रमाण मेटिने काम गर्न नसक्ने र निजको मानसिक, शारीरिक, आर्थिक तथा पारिवारिक अवस्थालाई मध्यनजर गर्दै थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी गिरीलाई मुलुकी ऐन अव ४७ बमोजिम साधारण तारेखमा राख्ने आदेश दिएको महतले जानकारी दिनुभयो । बस्नेतले गिरीलाई आफ्नै छोरा बनाउँछु भन्दै फकाउँदै, किर्ते कागजात तयार पारी गिरीको मिर्गौला झिकेर प्रत्यारोपण गरेको अभियोगमा बस्नेत पक्राउ परेका हुन् । बस्नेतलाई डिल्लीबजार कारागार चलान गरिएको छ भने अन्य आरोपीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । -रासस

मासु अड्किदा मृत्यु

नुवाकोट, असार ८ । बिहेको भोजमा मासु चाख्ने क्रममा अड्किएर विदुर नगरपालिका–१३ का ६० वर्षीय होमबहादुर कोइरालाको आज मृत्यु भएको छ । आफन्तको बिहेको भोजमा मासु खाँदा अड्किएर उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले जानकारी दिनुभयो । हाड घाँटीमा अड्किएपछि उपचारका लागि त्रिशूली जिल्ला अस्पतालमा ल्याउने क्रममा कोइरालाको बाटामै मृत्यु भएको प्रहरीले जनाएको छ ।

करोडौँ रुपैयाँ लिएर व्यापारी फरार

वीरगञ्ज । बैंक तथा व्यापारीहरुको करोडौँ रुपैयाँ लिएर फरार भएका वीरगञ्ज घण्टाघरका व्यापारी मुकेश साह तेली फरार भएपछि पर्सा प्रहरीले उनको खोजी गरिरहेका छन । मीनाबजार छेउमा रहेको नेपाल टेलिकम कार्यालयको पूर्वतर्फ शम्भु केशरीको घरमा किराना सामानको थोक पसल सञ्चालन गर्दै आएका मुकेश गत जेठ २० गतेदेखि बैंक तथा व्यापारीको करोडौँ रुपैयाँ लिएर परिवारसहित फरार भएका छन् । मुकेशले वीरगञ्जको ग्लोवल आइएमई बंैकको रु एक करोड ३० लाख र अन्य थुप्रै व्यापारीको रु तीन करोड गरी रु चार करोड रुपैयाँ लिएर फरार भएको पर्सा प्रहरीले जनाएको छ । ग्लोवल आइएमई बैंकले मुकेशले सञ्चालन गरेको पसलको सटर तथा निजको घरमा सिलबन्दी गरी सेक्युरिटी गार्ड खटाइएको छ । फरार रहेका मुकेशको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस

भूमिहीनको लगत संकलन गरिँदै

दमक । झापाको दमक नगरपालिकाले गठन गरेको भूमि व्यवस्थापन आयोगले नगरका दुईवटा वडाका भूमिहीनको लगत संकलन थालेको छ । दमक–९ र १० बाट आयोगमा एक हजार २५ भूमिहीनले निवेदन दिएका छन् । दमकमा अव्यवस्थित बसोबास तथा भूमि समस्या समाधानका लागि गठित आयोगले ती दुईवटा वडामा लगत लिने काम सिकिएको जनाएको छ । दमक– ३ र ८ बाट लगत संकलनको माग थाल्ने निर्णय भएको आयोगका अध्यक्ष अम्बिका खनालले जानकारी दिनुभयो । अध्यक्ष खनालका अनुसार आयोगमा दमक–९ का ४०० तथा दमक–१० का ६२५ जनाले निवेदन दिएका छन् । उहाँले नगरका १० वटै वडामा भूमिहीनको लगत लिइने बताउनुभयो । “सबै निवेदनको अध्ययन गरी छानविन शुरु गछौँ,” खनालले भन्नुभयो । आयोगमा नगरपालिकासहित राजनीतिक दल, मालपोत र नापी कार्यालयका प्रतिनिधि समावेश गरिएको छ । दमक नगरपालिकाका नगरप्रमुख रोमनाथ ओली दुई वर्षभित्रमा आयोगले नगरभित्रको भूमि समस्या समाधान गर्ने लक्ष्य लिएको बताउनुभयो । रासस

युवकमाथि खुकुरी प्रहार

लहान । सिरहाको मिर्चैया नगरपालिका– ११ गदहवा निवासी एक युवकमाथि आज बिहान खुकुरी प्रहार गरी हत्या प्रयास भएको छ । मिर्चैया नगरपालिका–११ गदहवा निवासी २१ वर्षीय धीरज यादवमाथि पाँच÷छ जनाको समूहले खुकुरी प्रहार गरी हत्या प्रयास गरेका थिए । ती समूहको आक्रमणमा परी गम्भीर घाइते भएका यादवको मिर्चैयास्थित मंगलम हेल्थकेयरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यादवको टाउकोमा २१ वटा टाँका लगाइएको छ भने शरीरभरि नीलडाम रहेको प्रहरीको भनाइ छ । आफ्नै घरमा सुतिरहेका बेला बिहान करिब २ बजेतिर आएका समूहले ढोका खोल्न लगाएर बाहिर बोलाई छोरामाथि आक्रमण गरेको घाइतेका बुबा हरि यादवले बताउनुभयो । सो घटनामा संलग्न रहेको आरोपमा स्थानीय तीन जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक दीपक खड्काले जानकारी दिनुभयो । रासस

८० हजार गाँजा र ७०० लिटर घरेलु मदिरा नष्ट

काठमाडौँ । लागुऔषध सेवन तथा बिक्री वितरण रोकथाम गर्ने उद्देश्यले महानगरीय प्रहरी प्रभाग साँखुले २०० रोपनी जग्गामा उम्रेको ८० हजार बोट गाँजा नष्ट गरेको छ । प्रभागकी कार्यालय प्रमुख प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालको नेतृत्वमा खटिएको ९७ जनाको प्रहरी टोलीले कागेश्वरी मनोहरा नगरपालिका– १ गागलफेदी र शंखरापुर नगरपालिका– १, २ र ३ को नाङ्लेभारे तथा बोझिनीमा पर्ने बारी एवं सार्वजनिक जग्गामा उम्रेको गाँजा नष्ट गरिएको हो । बरामद भएको ७०० लिटर अवैध घरेलु मदिरा र मदिरा बनाउन प्रयोग हुने कच्चापदार्थ (मर्चा) ३० किलोग्राम शंखरापुर नगरपालिकाका नौ वटै वडा अध्यक्षको रोहवरमा नष्ट गरिएको प्रहरी निरीक्षक खनालले राससलाई जानकारी दिनुभयो । रासस

१६ जना विद्युत् चोर पक्राउ

राजविराज, असार ८। जिल्लामा जारी रहेको विद्युत् हुकिङ अभियानअन्तर्गत सप्तरीको विभिन्न ठाउँबाट बिहीबार १६ जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रको संयुक्त अनुगमन टोलीले जिल्लाको विभिन्न नगरपालिका र गाउँपालिकाबाट पोलमा विद्युत् हुकिङ गरिरहेका १६ जनालाई पक्राउ गरेको प्राधिकरणका प्रमुख चन्द्रनारायण साहले बताउनुभयो । पक्राउ परेका साथबाट एक थान विद्युत् मिटर, दुई थान पानी तान्ने मोटर र एउटा, टिभीलगायतका सामान बरामद गरिएको प्राधिकरणका प्रमुख साहले जानकारी दिनुभयो । पक्राउ परेका १६ जनासँग प्रत्येक व्यक्तिबाट विद्युत् ऐनअनुसार रु १५ हजार ५०२ का दरले जरिवाना उपरअसुल गरेको विद्युत् प्राधिकरण सप्तरीले जनाएको छ । -रासस

टिपर ठक्करबाट स्कुटर चालकको मृत्यु

भक्तपुर, असार ८ । आज बिहान मध्यपुरथिमि नगरपालिका सानोठिमी क्याम्पस अगाडि ५ः३० बजे टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । पेप्सिकोलाबाट सानोठिमीतर्फ आइरहेको बा ६६प ८५५३ नम्बरको स्कुटरलाई सोही दिशाबाट आइरहेको बा २ क ३९३४ नम्बरको टिपरले ठक्कर दिँदा स्कुटर चालक सिन्धुपाल्चोक चेलाङ घर भई हाल मध्यपुरथिमि नगरपालिका-६ बस्दै आएका ४८ वर्षीय चेतबहादुर थापाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । तीव्र गतिमा आएको टिपरले अगाडि गइरहेको स्कुटरलाई पछाडिबाट ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको र टिपर फरार भएको प्रत्यक्षदर्शीले बताएका छन् । घटनास्थलबाट फरार टिपरलाई प्रहरीले जगातीबाट नियन्त्रणमा लिएको जानकारी दिएको छ । प्रहरीले टिपर चालक ललितपुर बस्ने ३० वर्षीय राजन खड्गी र टिपरलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख एवं प्रहरी उपरीक्षक प्रज्जवल महर्जनले जानकारी दिनुभयो । -रासस

चालिसे डिल्लीबजार कारागार चलान

काठमाडौँ, असार ८ । नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले भ्रष्टाचार मुद्दामा फरार रहेका शम्भुप्रसाद चालिसेलाई पक्राउ गरी जेल चलान गरेको छ। ब्यूरोको टोलीले सर्वोच्च अदालतको २०७४ चैत २० को फैसलाअनुसार एक वर्ष छ महिना कैद र रु १० लाख जरिवाना हुने ठहर भई फरार धादिङ घर भई हाल कामनपा-१४ कंलकी बस्ने चालिसेलाई बिहीबार पक्राउ गरी जेल चलान गरेको हो । तत्कालीन समयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा अनुसन्धान अधिकृत रहेका चालिसेले विसं २०७१ साउन ११ मा सम्पत्ति शुद्धीकरणको मुद्दा मिलाइदिन्छु भनी रु १० लाख लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको थियो । चालिसेलाई काठमाडौँ जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानका लागि डिल्लीबजार कारागार पठाएको ब्यूरोले जनाएको छ । -रासस

छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

इनरुवा, असार ८ । सुनसरीमा बिहीबार भएको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका-३ मा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तेजनारायण मेहताका ११ वर्षीय छोरा प्रसान्तकुमार मेहता रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । गाउँपालिकाको भित्री सडकमा को ९ प २२९३ नम्बरको मोटरसाइकलले साइकलयात्री प्रसान्तलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएकाले उपचारका लागि न्यूरो अस्पताल विराटनगर लगेकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालक स्थानीय प्रदीप मेहता, उनको ६ वर्षीय छोरा आयुष मेहता र ९ वर्षीया छोरी नेहा मेहतासमेत सामान्य घाइते भएको प्रहरीले जनाएको छ । यसैगरी सुनसरीको बर्जु गाउँपालिका–१ मा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । स्थानीय ठूलोबुबाको घरमा बस्ने सिरहाका ८ वर्षीय एलिष श्रेष्ठको बिहीबार करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । टेलिभिजन हेर्ने क्रममा सेटअप बक्समा हातले छुँदा करेन्ट लागेका एलिषको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । -रासस