सुरुङ निर्माणमा अवरोध, दशैंमा नआउने भयो मेलम्ची

सिन्धुपाल्चोक, जेठ ३१ ।  मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण कार्यमा अवरोध सिर्जना भएको छ ।
स्थानीयले आफूहरुसँग गरेको सहमति आयोजनाले लागू नगरेका कारण आफूहरु खानेपानीको समस्यामा परेको भन्दै सिन्धु अडिट मार्गमा सुरुङ निर्माण कार्य ठप्प पारेका हुन् ।
स्थानीयहरूले विगतमा भएका विभिन्न सहमति अनुसार आयोजनाले एउटा पनि काम नगरेको भन्दै बुधबारबाट माग पूरा नहुन्जेलसम्मका लागि सिन्धु साइटको काम ठप्प पारेका हुन् ।
बुधबारदेखि सुरु भएको विरोध आफूहरुको माग पूरा नभएसम्म स्थगित नहुने स्थानीयको भनाई छ । परियोजनाले पटक–पटक ताकेता गर्दा समेत आश्वासन मात्रै देखाउने र काम भने नगर्ने गरेको उनीहरूको आरोप छ ।
सुरुङ निमार्ण कार्यले खानेपानीको मुहान सुकेको छ । पहिला गाउँमा पर्याप्त मात्रामा पानी भएकोमा अहिले खानेपानी लिन समेत करिब आधाघण्टा टाढा हिँड्न पर्ने भन्दै स्थानीयले दुखेसो गरेका छन् ।
निर्माण कम्पनीलाई सम्झौता अनुसार काम गर्न पटक–पटक भने पनि हुन्छ र गछौँ भनेर मात्रै टार्ने गरेकोले यसपटक पनि फेरि आन्दोलनमा उत्रन परेको प्रभावित स्थानीयको भनाई छ  । यस्ता आन्दोलन र सम्झौता धेरै पटक गरेको र यो पटक भने सम्झौता अनुसार काम नभएसम्म आन्दोलन जारी राख्ने सिन्धु सरोकार समितिका अध्यक्ष कुमारी तामाङले  जानकारी दिए ।
योभन्दा अघि भएका सहमतिहरुमा स्थानीय युवालाई रोजगारीमा प्राथमिकता दिइने, काम गर्दा गर्दै मृत्यु हुनेहरुलाई उचित क्षतिपूर्ति दिनेलगायतको सहमति भए पनि अहिलेसम्म सहमति अनुसार कुनै काम नभएको थकनीका प्रभावित नेत्रबहादुर तामाङले गुनासो गरे ।
सुरुङ निमार्णले गर्दा हेलम्बुका विभिन्न स्थानका नागरिकरूमा पनि असर परेका छन् । खानेपानीको मुहान सुक्नुका साथै सुरुङ निमार्णमा प्रयोग हुने विभिन्न केमिकलहरुको कारणले गर्दा खोलामा रहेका जलचर प्राणीहरु समेत मर्ने गरेका छन् ।
सुरुङ निमार्ण कम्पनीले सम्झौता अनुसार काम नगरेको र यसले गर्दा करिब हेलम्बुका विभिन्न गाउँका ३५० भन्दा धेरै घरधूरीहरु प्रभावित भएको हेलम्बु गाँउपालिका ५ नम्बर वडाका वडा अध्यक्ष हर्कबहादुर तामाङले जानकारी दिएका छन् ।
यस अघि भूकम्प, नाकाबन्दीलगायत विविध कारणले समयमै काम गर्न नपाउँदा आफूलाई घाटा भएको भन्दै ठेकेदार कम्पनी इटालियन कोअपेरटिभ मुरातोरी एन्ड सिमेन्टिष्टि (सीएमसी) ले आयोजनासँग एक अर्ब ६५ करोड रुपैयाँ क्षतिपूर्ति दाबी गरेको थियो ।
त्यही दाबीअनुसार आयोजना र ठेकेदारबीचको विवाद टुंग्याउन गठित विवाद निरुपण समिति (डिस्प्यूट एड्जुडिकेसन बोर्ड–डिएबी) ले छलफल थालेको थियो । छलफलपछि समितिले मंगलबार ठेकेदारको म्याद थप र क्षतिपूर्ति भुक्तानी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको आयोजनाले जनाएको छ ।
आयोजनाका अनुसार दुई सय १२ दिन अर्थात सात महिना म्याद थप गरिएको छ भने क्षतिपूर्तिस्वरुप एक अर्ब तीन करोड रुपैयाँ दिने निर्णय समितिबाट भएको छ । समयमा काम सम्पन्न नगर्ने ठेकेदारलाई कारबाही गर्नुको सट्टा आयोजनादेखि मन्त्रालयसम्मका कर्मचारीको मिलेमतोमा म्याद थप र क्षतिपूर्ति दिने निर्णय भएको स्रोतको दाबी छ । तर ठेकेदार कम्पनी भने अदालत जाने तयारीमा रहेको पनि बताइएको छ ।
आउँदो दशैँमा काठमाडौंमा मेलम्चीको खानेपानी पुऱ्याउने भने पनि यस आयोजनाको काम हेर्दा यो वर्ष पनि खानेपानी काठमाडौं पुग्न नसक्ने देखिन्छ । निर्माण कम्पनीले पुरानै काम गर्ने शैलीका कारण समयमा काम सम्पन्न हुने सम्भावना न्यून रहेको हो ।

विमानस्थल निर्माणका लागि सामान आउन थाल्यो

पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणार्थ नेपाल र चीनबीचको सीमा नाका रसुवागढीबाट सामान आउने क्रम शुरु भएको छ । निर्माणका लागि हालै २६ वटा टिपर र दुईवटा पानी ट्याङ्कर रसुवागढी नाकामा आइसकेकामा १४ वटा टिपर चिनियाँ नाका पार गरी रसुवाको घट्टेखोला आइपुगेको चिनियाँ कम्पनी चाइना सिएएमसी इन्जिनियरिङतर्फबाट रसुवागढी भन्सार प्रतिनिधि दोर्जे तामाङले बताउनुभयो । उहाँका अनुसार अन्य १२ वटा टिपर र दुईवटा पानी ट्याङ्कर चिनियाँ भन्सार कार्यालयबाट नेपाल आउने प्रक्रियामा छन् । विमानस्थल निर्माणकै लागि अन्य ४० वटा निर्माणका सवारीसाधन केरुङ आइसकेको बताउँदै उहाँले ती सामग्री पनि केही दिनमा नै प्रक्रिया पु¥याएर नेपाल ल्याइने बताउनुभयो । चिनियाँ लगानीकर्ता एक्सपोर्ट–इम्पोर्ट (एक्जिम) बैंकले विमानस्थल निर्माणका लागि दिने सहुलियत दरको ऋण अनुमोदन गरेसँगै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया अघि बढेकामा सन् २०२१ जुलाई १० मा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिइएकोे छ । चिनियाँ निर्माण कम्पनीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको आठ प्रतिशत निर्माण कार्य सम्पन्न गरिसकेको विमानस्थल निर्माण आयोजना कार्यालयका प्रमुख विनेश मुनकर्मीले जानकारी दिनुभयो । चिनियाँ निर्माण कम्पनीमार्फत निर्माणको काम अघि बढिरहेको जानकारी दिँदै कम्पनीका इन्जिनियर अभिषेक उलकले निर्माण सामग्री नेपाल चीनबीचको नाका रसुवागढीबाट आउने क्रममा रहेको जानकारी दिँदै सामान केही दिनमा पोखरा आइसक्ने बताउनुभयो । राष्ट्रिय गौरवको आयोजनाका रुपमा सरकारको प्राथमिकतामा परेकोे विमानस्थल २०७३ वैशाख १ गते शिलान्यास गरिएको थियो। चिनियाँ कम्पनी चाइना सिएएमसी इन्जिनियरिङ र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बीचको सम्झौताअनुसार इपिसी (इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन) मोडलमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेसनको मापदण्डअनुसार ‘फोरडी’ मोडलमा विमानस्थल बनाउने उल्लेख छ । चार दशकअघि पोखरा लेखनाथ महानगरपालिकाको १४, १५ र १८ वडा को तीन हजार १०६ रोपनी जग्गा विमानस्थल बनाउन अधिग्रहण गरिएकामा त्यसले नपुगेपछि थप ५२१ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । पोखरेली जनताले लामो समयदेखि गरेको संघर्षको उपलब्धिस्वरुप निर्माण प्रक्रिया अघि बढेकामा विज्ञ समूहको नाममा पोखरा विमानस्थल निर्माणमा हालै जारी प्रतिवेदनले विमानस्थल निर्माण सम्बन्धमा अन्योल सिर्जना गरेको थियो । प्रतिवेदनका सम्बन्धमा पोखरा उद्योग वाणिज्य संघसहित विभिन्न राजनीतिक दलबाट त्यसको विरोध गरिएको थियो । विमानस्थल निर्माणको काम नै सञ्चालन भइरहेको बताउनुहुने पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखे सरकार आफैँले ऋण लिएर काम गरेको र धेरै काम बढिसकेका अवस्थामा निर्माण प्रभावित हुन्छ कि भनेर अलमलमा पर्न नहुने बताउनुभयो । निर्माणको काम बढिरहेको र निर्माण सामग्री आउने क्रम पनि बढिरहेको उल्लेख गर्दै उहाँले निर्माण कार्य समयमा नै सकिने धारणा व्यक्त गर्नुभयो । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई पोखरासहित समग्र प्रदेश नं ४ र राष्ट्रकै समृद्धिका लागि महत्वपूर्ण बन्ने विश्वास गरिएको छ ।रासस

बेलिब्रिज खोलेपछि उपभोग्य वस्तुको मूल्य दोब्बर

उदयपुर । गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत सुनकोशी नदीमा पानीको बहाव बढेपछि बेलिब्रिज खोलिएको छ । अठार दिनअघि बेलिब्रिज खोलेपछि अहिले जिल्लाको उत्तरी पहाडी क्षेत्र र खोटाङको तल्लो दक्षिणी क्षेत्रमा दैनिक उपभोग्य वस्तुको मूल्य दोब्बरले वृद्धि भएको छ । गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत सुनकोशी नदीको बेलिब्रिज खोलेसँगै यस क्षेत्रमा यातायातका साधन पूर्णरुपमा बन्द भएपछि व्यापारीले दैनिक उपभोग्य वस्तुको मूल्य दोब्बरले वृद्धि गरेका छन् । रौतामाई गाउँपालिका फोक्सिङ्टारका हर्कसेर राई व्यापारीले चाउचाउको मूल्य प्रति प्याकेट रु २० बाट बढाएर रु ३५ तथा प्रति प्याकेट तेलको मूल्य रु ७० बाट बढाएर रु ९० भन्दाबढी गरेको बताउनुहुन्छ । दिप्रुङ गाउँपालिका लिच्की राम्चेका सुदर्शन सापकोटा भन्नुहुन्छ, “सुनकोशीमा बेलिब्रिज खोलेपछि नून, चाउचाउ, तेल, चिनी, चिया, चामललगायत वस्तुको भाउ दोब्बरले वृद्धि भयो ।” बेलिब्रिज खोलेपछि ग्रामीण भेगका बासिन्दा महँगीको चपेटामा परेका लिच्की राम्चे प्राविका शिक्षक जगत खड्का बताउनुहुन्छ । बेलिब्रिज खोलिएसँगै यातायातका साधन सञ्चालन नहुँदा सामान ढुवानी गर्न बढी खर्च हुँदा दैनिक उपभोग्य वस्तु महँगो भएको हो । सुनकोशीमा अहिलेसम्म स्थायी पुल निर्माण हुन सकेको छैन । वर्षेनि वर्षायाममा बेलिब्रिज खोल्ने गरिएको छ । विसं २०५१ देखि निर्माण शुरु भएको गाईघाट–दिक्तेल सडकखण्डको सुनकोशी नदीमा २३ वर्ष बितिसक्दा पनि पक्की पुल निर्माण हुन सकेको छैन । रासस

खर्च घटाउन पाँच सांसदको आग्रह

काठमाडौँ । विनियोजन विधेयक, २०७५ को विभिन्न शीर्षकमाथिको छलफलमा छ जना सांसदले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा कार्यक्रमभन्दा बढी रकम विनियोजन भएको भन्दै उहाँहरुले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुभएको हो । पर्यटन मन्त्रालयको खर्च कटौती गर्नुपर्ने बताउँदै सांसद डा मीनेन्द्र रिजालले आगामी आवमा २० लाख पर्यटन भित्र्याउन पूर्वाधार विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले निर्माणाधीन विमानस्थलको समयावधि र खर्च विनियोजनको तादाम्यता नमिलेको भन्दै खर्च कटौतीको प्रस्ताव गरेको बताउनुभयो । सांसद प्रेम सुवालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युवा तथा खेलकूद मन्त्रालय र अर्थमन्त्रालय शीर्षकको खर्च रकमलाई घटाउन प्रस्ताव गर्नुभयो । उहाँले विश्व सम्पदासूचीमा सूचीकृत सांस्कृतिक सम्पदाको संरक्षणमा ध्यान नदिएको भन्दै खर्च कटौती गर्नुपर्ने प्रस्ताव पेश गरेको स्पष्ट पार्नुभयो । युवा तथा खेदकूद मन्त्रालयको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै सांसद प्रमिला राईले अनावश्यक रकम घटाउनुपर्ने बताउनुभयो भने अर्का सांसद प्रकाश रसाइलीले अर्थमन्त्रालय शीर्षकको खर्च रकम घटाउनुपर्ने प्रस्ताव प्रस्तुत गर्नुभयो । त्यसैगरी सांसद दुर्गा पौडेलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको खर्च रकममा ग्रामीण पर्यटनको विकासमा ध्यान नदिएको भन्दै उक्त मन्त्रालयको विनियोजित बजेट घटाउनुपर्नेमा जोड दिनुभयो । रासस

अवैधरुपमा काममा लगाइएको कमलरी बालिकाको उद्धार गर्न माग

कञ्चनपुर ।  कञ्चनपुरका मुक्त कमलरीहरुले अवैधरुपमा काममा लगाइएका कमलरीको उद्धार गर्न माग गरेका छन् । मुक्त कमलरी विकास मञ्चमा आबद्ध मुक्त कमलरीले अवैधरुपमा घरेलु कामदारका रुपमा राखिएका कमलरी बालिकाहरुको उद्धार गर्न माग गरेका हुन् । “सरकारले कमलरी प्रथाको अन्त्यको घोषणा गरेपनि केही मालिकहरुले अवैधरुपमा घरमा राखेका छन् ” मञ्चका उत्प्रेरक अञ्जु चौधरीले भन्नुभयो, “सरकारले घरमा कमलरी राख्न नपाउने गरी कानूनी व्यवस्था गरेको छ तर पनि अझै कमलरी बालिका मालिकको घरबाट मुक्त हुन सकेका छैनन् ।” मञ्चका अनुसार कञ्चनपुरमा हाल छजना मुक्त कमलरीले मालिकका घरमा काम गर्दै आएका छन् । मञ्चले उनीहरुलाई छिटोभन्दा छिटो उद्धार गर्न माग गरेको हो । गैर कानूनीरुपमा राखिएका मुक्त कमलरीलाई उद्धार गर्न प्रशासन कार्यालयमा समेत दबाब दिइएकामा प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले छिटो उद्धार गर्ने आश्वासन दिएको मुक्त कमलरी विकास मञ्चका उत्प्रेरक चौधरीले बताउनुभयो । मञ्चका अनुसार बेलौरी नगरपालिकामा ४ र बेदकोट नगरपालिकाको लालपुरबाट एकजना कमलरी उद्धारको सूचीमा छन् । केही दिनअघि मञ्चले भीमदत्त नगरपालिका वडा नं २ महोलियाबाट एक कमलरीको उद्धार गरेको थियो । उक्त मञ्चले सबै मुक्त कमलरीलाई छिटो परिचयपत्र उपलब्ध गराउनुपर्ने माग गर्दै भूमि सुधार कार्यालयमा ज्ञापनपत्र पनि दिएको छ । मञ्चले ९०० कमलरीलाई परिचयपत्र दिन माग गरेको हो । रासस

४० प्रतिशतले हवाई यात्रा गर्ने घटे

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएसँगै हवाई यात्रा गर्ने यात्रुको चाप घटेकोे छ । जेठ २३ गतेदेखि नारायणगढ–मुग्लिन सडकखण्ड चौबीसै घण्टा सञ्चालनमा आएसँगै भरतपुरबाट काठमाडौँ आवतजावत गर्ने यात्रुको चाप घट्दै गएको हो । भरतपुर विमानस्थलका प्रमुख पवनकुमार गौतमका अनुसार अहिले यात्रुको चाप ४० प्रतिशतले कमी आएको छ । एक महिनाअघि दैनिक १४ देखि १६ वटासम्म उडान भएको भरतपुर विमानस्थलबाट अहिले दैनिक आठ वटामा झरेको छ । बिहानको समयमा उडान नहुनु र सडक सहज हुनुका कारण हवाईजहाजको यात्रा गर्नेमा कमी आएको उहाँले बताउनुभयो । यस क्षेत्रका व्यवसायीसँग आफ्नै सवारीसाधन भएका कारण जहाजको यात्रा गर्नुभन्दा बिहानको समयमा गाडीमा नै यात्रा गर्ने गरेको प्रमुख गौतमले बताउनुभयो । सडक निर्माणका क्रममा दिनको समयमा सवारी आवागमन रोकिएको र त्यसको चाप बिहान बेलुका परेपछि धेरैको रोजाइ हवाई यात्रा भएको थियो । अहिले पर्यटक आउने समय पनि नभएकाले हवाई यात्रा गर्नेको संख्यामा कमी आएको बुद्ध एयरलाइन्सका शाखा प्रबन्धक भक्तबहादुर बस्नेतले बताउनुभयो । मौसममा आएको परिवर्तन र लामो समय कुर्नुपर्ने बाध्यताका कारण यात्रुले विकल्प खोजेको हुन सक्ने उहाँको भनाइ थियो । दिनभर विमानस्थलमा बसेर मौसम र काठमाडौँ विमानस्थलमा ट्राफिक जाम भन्दै उडान स्थगित भएपछि जानै नपाउने बाध्यता एकातर्फ छ भने भाडादर उच्च भएको र मितव्ययी टिकट नदिँदा पनि यात्रु रुष्ट थिए । कुनै समय दैनिक १२ वटासम्म उडान भरेको बुद्ध एयर अहिले दैनिक पाँचवटामा झरेको छ । जसमध्ये चारवटा काठमाडौँ–भरतपुर र एउटा भरतपुर–पोखरा उडान गर्दै आएको छ । एति एयरलाइन्सले भरतपुर–काठमाडौँ दैनिक पाँच वटासम्म उडान गर्दै आएकामा अहिले दुईवटा मात्रै उडान गर्दै आएको छ । सिम्रिक एयरले भरतपुर–काठमाडौँ पहिलेदेखि नै एउटामात्रै उडान गर्दै आएको छ । यति एयरलाइन्स भरतपुरका शाखा प्रमुख राजेश सिंहले सडक निर्माणसँगै यात्रुको चाप पहिलाको तुलनामा घटेको बताउनुभयो । पहिलेको तुलनामा यात्रुको चाप ४० देखि ५० प्रतिशतसम्म कमी आएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “नरायणगढ–मुग्लिन सडक सञ्चालनमा आएसँगै यात्रुको चापमा कमी आएको छ ।” भरतपुर विमानस्थलबाट पहिला दैनिक एक हजारको हाराहारीमा यात्रुले हवाई यात्रा गर्ने गरेको भए पनि अहिले सो संख्या घटेर ५७५ मा झरेको छ । रासस

छतबाट खसेर सहचालकको मृत्यु

विराटनगर । विराटनगर–८ स्थित हाटखोला बसपार्कमा पार्किङ गरी राखिएको बसको छतबाट खसेर आज बिहान एक सहचालकको मृत्यु भएको छ । मोरङको ग्रामथान–७ बस्ने २५ वर्षीय सजन ऋषिदेवको मृत्यु भएको हाटखोलास्थित वडा प्रहरी कार्यालयले जनाएको छ । को१ख २१०३ नंको बसको छतमा बुधबार राति सुतेका उनी अचानक छतबाट लडेर गम्भीर घाइते भएका थिए । विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा भर्ना गरिएपछि उनको उपचारका क्रममा मृत्यु भएको हो । रासस

ठेकेदार सम्पर्कविहीन भएपछि नगरपालिकाको भवन अलपत्र

बनेपा । निर्माण कार्यको सम्झौता गरेका निर्माण व्यवसायी सम्पर्कविहीन भएपछि काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकाको भवनको तला थप गर्ने काम अलपत्र अवस्थामा रहेको छ । निर्माण कम्पनीलाई जिम्मा दिएको वर्ष दिन हुन लाग्दा पनि कामको कुनै सुरसार नै नभएपछि काम हुने कि नहुने भन्ने विषयमा अन्योलता छाएको छ । नगरपालिकाले भवनको तला थप गर्नका लागि एसएमआर-इजी जेभी, काभ्रेका प्रोप्राइटर गणेश बाँस्कोटासँग गत २०७४ माघ २ गते सम्झौता भएको थियो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागार्इंले सम्झौता भएको समयदेखि काममा कुनै पनि चासो नदेखाएको बताउनुभयो । “काम थालनी नगरेपछि हामीले पटक–पटक सम्पर्क ग¥यौँ र चिठीसमेत पठायौँ, उहाँले त्यसमा पनि कुनै चासो नै गर्नुभएन ।” चापागाईंले भन्नुभयो, “असारको २४-२५ मा काम सम्पन्न गरी नगरपालिकालाई बुझाउनु पर्नेमा अहिलेसम्ममा दुई–तीन प्रतिशत पनि काम भएको छैन ।” सो निर्माण कम्पनीले नगरपालिकाको भवनको तला थप्नका लागि रु ९२ लाखमा ठेक्का सम्झौता गरेको र त्यससँगै नगरको अरु चारवटा वडा कार्यालय निर्माणका लागि करीब रु साढे चौध लाखका दरले सम्झौता गरेकामा अहिलेसम्ममा कुनै पनि काम अगाडि नबढाएको नगरपालिकाले जनाएको छ । सोही निर्माण कम्पनीले नगरपालिकाको वडा नं ५, ७, २ र १० का कार्यालय निर्माणका लागि जिम्मा लिएर सम्झौता गरी काम नगरेको हो । लो विडिङमा सम्झौता गर्ने र बैंक ग्यारेन्टी गर्ने र मोविलाइजेशनमा मात्रै लाग्ने भएका कारण पनि काम गर्न नआएको बुझिएको नगरपालिकाका प्रमुख महेश खरेलले बताउनुभयो । पटक–पटक सम्पर्क गर्दा पनि सम्पर्कमा नआएका कारण अब कानूनअनुसार कारवाहीको प्रक्रियामा जानुको विकल्प नभएको उहाँले बताउनुभयो । रासस

श्रीमानको हत्या गरी श्रीमती फरार

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपमा गएराति धारिलो हतियार प्रहार गरी श्रीमतीले श्रीमान्को हत्या गरेकी छन् । अन्दाजी २५ वर्षीय शर्मिला लिम्बूले २४ वर्षीय श्रीमान् दुर्गा लिम्बूको हत्या गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । हत्यापछि आफ्नी पाँच वर्षीया छोरीलाई समेत घरभित्रै थुनेर शर्मिला राति नै फरार भएको ताप्लेजुङका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले बताउनुभयोे । मृतक बाबुसँगै रातभर रहेकी पाँच वर्षीया छोरी बिहान रोएको र चिच्याएको आवाज सुनेपछि छरछिमेकीले थाहा पाएका थिए । त्यसलगत्तै प्रहरीलाई घटनाबारे जानकारी भएको थियो । बिहान प्रहरीको टोली घटनास्थलमा गएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यस्तै फरार शर्मिलाको खोजी भइरहेको छ । घटना कसरी भयो भन्ने यकिन भइसकेको छैन । रासस

गुड्दागुड्दै अटोरिक्सामा आगलागी

गौशाला, जेठ ३१ । महोत्तरीको गौशाला नगरपालिका क्षेत्रमा बुधबार साँझ गुड्दागुड्दै एउटा अटोरिक्सामा आगलागी हुँदा चार लाख रुपैयाँ बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुवेर कडायतका अनुसार बुधबार अबेर साँझ गौशाला नगरपालिका–११ लक्ष्मीनियाँ गाउँको हनुमानचोक नजिकै पूर्व पश्चिम राजमार्गबाट दक्षिणतर्फ आउँदै गरेको एउटा अटोरिक्सा गुड्दागुड्दै अचानक आफैँ आगलागी भएको थियो । अटोरिक्सामा मेशिनको गडबडी भएर गुडिरहेकै अवस्थामा आफैं आगलागी भएको र आगलागीबाट सो अटोरिक्सा पूर्ण जलेर रु चार लाख ४५ हजार मूल्यको क्षति भएको प्रहरी उपरीक्षक कडायतले बताउनुभयो । सो अटोरिक्सामा आगलागी हुँदा त्यसमा सवार चालकसहित सबै यात्रु हतारहतार ओर्लिन सफल भएका र एकछिनमै हेर्दाहेर्दै पूरै अटोरिक्सा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय, महोत्तरीले जनाएको छ । -रासस

ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्ति सम्मान

सोलुखुम्बु, जेठ ३१ । जिल्लाको सोलुदूधकुण्ड नगरपालिकाले ज्येष्ठ नागरिक र फरक क्षमता भएकालाई सम्मान गरेको छ । नगरपालिकाको वडा नम्बर ५ ले बुधबार एक कार्यक्रम गरी उनीहरुलाई सम्मान गरेको हो । ज्येष्ठ नागरिकको सम्मान गर्दै थर्मस र मग हस्तान्तरण गरिएको छ । वडा नम्बर ५ भित्रका ७० जना ज्येष्ठ नागरिकलाई एक÷एक वटा थर्मस र मग वितरण गरिएको वडाध्यक्ष मिङ्मार तामाङले जानकारी दिनुभयो । सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा ७५ जना बालबालिकालाई १६ वटाको दरले कापी वितरण गरिएको छ । यस्तै, १६ जना फरक क्षमता भएकालाई टनेला वितरण गरिएको वडाध्यक्ष तामाङले बताउनुभयो । लक्षित वर्गको बजेटबाट उनीहरुलाई उक्त सामग्री हस्तान्तरण गरिएको हो । वडा कार्यालयमार्फत विनियोजित ज्येष्ठ नागरिकका लागि रु एक लाख, फरक क्षमता भएकाका लागि रु ९० हजार र बालबालिकाका लागि रु एक लाख ७० हजार गरी जम्मा रु तीन लाख ६० हजारबाट उक्त कार्यक्रम गरिएको वडा कार्यालयले जनाएको छ । यस्तै, ४६ जना बालबालिकालाई छात्रवृत्तिअन्तर्गत स्कूलको पोशाक केही दिनमा वितरण गरिने वडाध्यक्ष तामाङले बताउनुभयो । कार्यक्रममा बोल्नुहुँदै नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले ज्येष्ठ नागरिक र फरक क्षमता भएकालाई सबैले सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकलाई सम्मान गर्ने संस्कृतिको सबैले सबैतिर विकास गर्नुपर्नेमा जोड दिनुभयो । रासस

दिलबहादुर घर्ती बचाउन बेलायत र पोर्चुगलबाट १० लाख सहयोग

काठमाडौं, जेठ ३१ । अदालतले तोकेको ब्लडमनी तिर्न नसकेर साउदी अरबको जेलमा रहेका रोल्पाका दिलबहादुर घर्तीमगरलाई मृत्यदण्डबाट बचाउन बेलायत र पोर्चुगलबाट दश लाख बढी रकम संकलन भएको छ । राप्ती समाज यूकेको नेतृत्वमा आठ लाख ७५ हजार पाँच सय ५५ रुपैयाँ र पोर्चुगलमा रहेका नेपालीबाट एक लाख ३९ हजार पाँच सय ४१ रुपैयाँ संकलन भएको हो । बेलायतबाट उठेको सहयोग रकम बुधबार राप्ती समाज यूकेका अध्यक्ष हिक्मतसिंह रोकाले दिलबहादुर घर्ती बचाउन ब्लड मनी संकलन मूल समिति र दिलबहादुरकी पत्नीलाई संयुक्त रुपमा हस्तान्तरण गरेका छन् । पोर्चुगलबाट उठेको रकम पनि बुधबार नै त्यहिँ निवासी सुवास पुनले अभियानलाई हस्तान्तरण गरेका छन् । बुधबार नै नन्द घर्तीमगरको पहलमा संकलित १६ हजार, अर्जुन तिवारी १० र गंगा राईको पहलमा संकलित सात हजार रुपैयाँ पनि समितिलाई हस्तान्तरण गरिएको छ । रोल्पा नगरपालिका–१०, घर भएका दिलबहादुर दुई वर्षदेखि साउदीको जेलमा छन् । उनले चलाएको ट्रकमा साउदी नागरिकले चलाइरहेको कार ठोक्किन जादा साउदी नागरिकको मृत्यु भएपछि अदालतले दिलबहादुरको ७५ प्रतिशत गल्ती देखाइ मृतकका परिवारलाई २ लाख २५ हजार रियाल करिब ६५ लाख रुपैयाँ क्षतिपूर्ति दिन फैसला गरेको छ । साउदीस्थित नेपाली दूतावासले गरेको पुनरावेदनमा अदालतले गत चैत २२ गते पुरानै फैसलालाई सदर गरेपछि दिलबहादुरले मृतकका परिवारलाई ६५ लाख तिर्नैपर्ने भएको हो । दिलबहादुरको जीवन रक्षा तथा जेल मुक्त गर्न उपराष्ट्रपति पुत्र दिपेश पुनको नेतृत्वमा गठित ‘दिलबहादुर घर्ती बचाउनको लागि ब्लडमनी संकलन अभियान–२०७५’ले अभियानलाई जारी राखेको छ । दिलबहादुरको जीवन रक्षाका लागि सहयोग रकम जम्मा गर्न अभियानका मूल समिति संयोजक दीपेश पुन, सचिव जीवन रोकामगर र दिलबहादुरकी पत्नी मनिका बुढामगरको नाममा नेपाल राष्ट्रिय बाणिज्य बैंक, बालाजु शाखामा ११९००२८६०७१० नं को खाता खोलिएको अभियानले जनाएको छ ।

आधुनिक दासता र गरिबीविरुद्ध नयाँ कार्यक्रम

नुवाकोट, जेठ ३१ । जोखिममा परेका तथा पर्नसक्ने महिला तथा बालबालिकाको संरक्षणमा केन्द्रित रहँदै आएको शक्ति समूहले प्रदेस नं ३ अन्तर्गत नुवाकोट र सिन्धुपाल्चोक जिल्लामा ‘धुनिक दासता र गरिबीविरुद्धको सामुदायिक नेतृत्व कार्यक्रम’ सञ्चालनमा ल्याएको छ । दुई जिल्लाको अतिविपन्नता, मानव बेचबिखन, घरेलु हिंसा, आर्थिक अवस्था कमजोर भएका एवं विद्यालयको पहुँच बाहिर रहेकाको जीवनस्तर सुधारगरी उनीहरुलाई प्रतिस्पर्धाको दायरामा सामावेश गर्न कार्ययोजनासहितको नयाँ कार्यक्रम शुरु गरेको शक्ति समूहका अध्यक्ष बलकुमारी रानाले जानकारी दिनुभयो । “दुई जिल्लाका साविक दश–दश वटा गाविसका १२ हजार ५०० भन्दा बढी लक्षित समुदायसमक्ष पुग्ने योजना बनाएका छौँ ।” रानाले भन्नुभयो, “यहाँको घ्याङफेदी, गाउँखर्क, राउतबँेशी, बेतिनी, बालकुमारी, समुन्द्रटार, शिखरबेँशी, रालुकादेवी, थप्रेक र तलाखु छनोटमा परेका छन् ।” उहाँका अनुसार सिन्धुपाल्चोकमा मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिका छनोटमा परेका छन् । अबको तीन वर्षसम्म चल्ने कार्यक्रमले अपांगता भएका व्यक्ति तथा बालबालिका, गरिबीको रेखामुनि रहेका समुदाय, जोखिम तथा बेचबिखन एवं हिंसाबाट प्रभावित बासिन्दा र सीमान्तकृत समुदायमा परिवर्तन ल्याउने लक्ष्य रहेको कार्यक्रम व्यवस्थापक सरला तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रमले शिक्षा, जीविकोपार्जन र समुदायमा आधारित संरक्षण संयन्त्रमार्फत उनीहरुको दैनिकीमा परिवर्तन, क्षमता अभिवृद्धि तथा कमजोर अवस्थाविरुद्ध प्रतिरोध गर्न दक्ष बनाउने उद्देश्य राखिएको छ । मानव बेचबिखन तथा बालबालिका संरक्षणका लागि पछिल्लो दश वर्षदेखि क्रियाशील शक्ति समूहले यहाँको सरकारी संयन्त्रलाई अभिभावकत्व र सरोकार राख्ने संस्थाको सहयोगमार्फत समुदाय परिवर्तन गराउन शुरु गरेको जिल्ला सम्पर्ककर्ता सम्झना प्रसाईले बताउनुभयो । कार्यक्रम सञ्चालनपूर्व कार्यक्षेत्रमा गरिएको अध्ययनमा बालबालिका आफ्नो हकअधिकार प्राप्त गर्नबाट कुनै न कुनै रुपमा वञ्चित भएको र महिला हिंसा पीडित भएको तथ्यांक शक्ति समूहले सार्वजनिक गरेको छ । रासस

घुस्याहा इञ्जिनियर र प्राविधिक बर्खास्त !

म्याग्दी, जेठ ३१ । सेवाग्राहीबाट घुस लिएको उजुरीको आधारमा छानबिनमा परेका शिक्षा विकास तथा समन्वय एकाइ, म्याग्दीका दुईजना प्राविधिक बर्खास्त भएका छन् । कक्षा कोठा भवन योजना छनोट, पेश्की निकासा र फरफारकका क्रममा डरधम्की देखाइ बाध्य बनाएर घुस लिएको आरोपमा इञ्जिनियर श्रीकृष्ण खनाल र प्राविधिक प्रमोद उप्रेतीविरुद्ध उजुरी परेपछि बर्खास्तीमा परेका हुन् । उनीहरुको करार सेवाको सम्झौता रद्द गरेर छानबिनका लागि प्रशासन कार्यालयमार्फत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय पोखरामा फाइल पठाइएको एकाइका प्रमुख रामकुमार श्रेष्ठले बताउनुभयो । धौलागिरि गाउँपालिका–३, दरको सूर्यज्योति आधारभूत विद्यालयको भवन निर्माण समिति, व्यवस्थापन समिति र अगुवाले जेठ ७ गते खनाल र उप्रेतीले घुस खाएको उजुरी दर्ता गरेका थिए । आव २०७२÷७३ मा शुरु भएको रु १९ लाख ५० हजार विनियोजित तीनकोठे भवनको नापजाँचका क्रममा २०७४ असोजमा रु २० हजार घुस लिएको उजुरीमा उल्लेख छ । यसैगरी, २०७४÷७५ मा रु ३१ लाख ५० हजार बजेटको तीनकोठे ट्रस भवन योजना पारिदिने भनेर रु दुई लाख ५० हजार माग गरेका खनालले प्राविधिक उप्रेतीमार्फत पहिलो किस्ता पेश्की निकालेपछि २०७४ मंसिर १३ गते बेलुकी रु ५० हजार लिएको आरोप लागेको छ । पुरानो योजनाको फरफारकका क्रममा थप रु ६३ हजार माग गरेका थिए । उनीहरुले मागेअनुसारको पैसा नदिए कार्यालयका प्रमुख, लेखापाल रिसाउने, योजना फरफारक नहुने र भएपनि पछि बेरुजु देखिने धम्की दिएर बाध्य बनाउने गरेको उजुरीमा उल्लेख छ । शिक्षामा परेको उजुरी र आरोपित कर्मचारीले पेश गरेको स्पष्टीकरणसहित थप छानबिनका लागि अख्तियारमा पठाइएको प्रजिअ लिलाधर अधिकारीले बताउनुभयो । आरोपित इञ्जिनियर र प्राविधिकले भवन निर्माण समितिले सम्झौता र नक्साअनुसारको काम नगरेको पाइएपछि पुनः नक्सा बनाउँदा परामर्शदाता कम्पनीलाई भुक्तानी दिने क्रममा घुस खाएको आरोप लगाइएको दाबी गर्दै आएका छन् । उजुरी परेपछि उनीहरुले घुस लिएको रकम फिर्ता गरेर उजुरी फिर्ता लिन दबाब दिँदै आएका विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र शिक्षकले बताएका छन् । रासस

धम्की आउन थालेपछि जनप्रतिनिधिद्धारा सुरक्षाको माग

नवलपरासी, जेठ ३१ । पश्चिम नवलपरासीका स्थानीय तहका प्रमुखले सरकारसमक्ष शान्ति सुरक्षाको माग गरेका छन् । स्वयं आफूहरुको शान्ति सुरक्षासहित जिल्लाको समग्रतामा शान्ति सुरक्षाको स्थिति थप बलियो हुनुपर्ने माग राख्दै स्थानीय तहका प्रमुखले यस्तो माग गरेका हुन् । केही दिनअघि सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेमाथि अभद्र व्यवहार र अमानवीय क्रियाकलाप भएपछि सबै स्थानीय तहका प्रमुखले सरकारको ध्यानाकर्षण गराएका हुन् । पर्याप्त शान्ति सुरक्षाको अभावमा स्थानीय तहमा प्रभावकारी कार्य सम्पादन हुन नसक्ने भएकाले यस विषयमा सरकार गम्भीर हुनुपर्ने रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्रकुमार गुप्ताले बताउनुभयो । केही समययता जिल्लाका विभिन्न स्थानीय तहका प्रमुख एवं अध्यक्षलाई आपराधिक मानसिकता बोकेका अराजक तत्वले टेलिफोनमार्फत धम्काउने, भय, डर र त्राश देखाउने तथा ज्यान मार्नेसम्मका धम्की आउने गरेकाले स्थानीय तहका प्रमुखले सरकारसमक्ष यस्तो माग गरेका पाल्हिनन्दन गाउँपालिकाका प्रमुख दीपक गुप्ताले बताउनुभयो । समग्र जिल्लाको शान्ति सुरक्षाको स्थितिमा प्रश्नचिह्न खडा भएको भन्दै स्थानीय तहका प्रमुखले जिल्ला प्रशासनसहित सरकारलाई पर्याप्त मात्रामा शान्ति सुरक्षा कायम गर्न माग गरिएको सरावल गाउँपालिकाका प्रमुख राधेश्याम चौधरीले बताउनुभयो । शान्ति सुरक्षा जस्तो संवेदनशील विषयमा गम्भीर भई आपराधिक तथा अराजक तत्वप्रति कडा कारबाही गर्न स्थानीय तहका प्रमुखले संयुक्तरुपमा प्रमुख जिल्ला अधिकारीसमक्ष अपिलसमेत गरेका छन् । पश्चिम नवलपरासीका सातवटै स्थानीय तहका प्रमुखले सरकारसँग प्रभावकारी शान्ति सुरक्षाको उचित व्यवस्थापन गर्नुपर्ने माग राखेका हुन् । रासस

नगर कार्यपालिकामा अख्तियारको छापा

कञ्चनपुर, जेठ ३१ । बेलौरी नगरपालिकामा सडक निर्माणका क्रममा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्बन्धित कागजात नियन्त्रणमा लिएको छ । दुईवटा सडक निर्माणमा अनियमितता भएको बेनामे उजुरी परेपछि अख्तियार टोलीले अनुसन्धान थालेको हो । ‘वडा नं ६ र २ मा ग्राभेल सडक निर्माणमा अनियमितता भएको उजुरी परेको छ,’ आयोगको महेन्द्रनगर कार्यालयका प्रमुख ज्ञानेन्द्र ढकालले भने,‘त्यही छानबिनका लागि नगरपालिका कार्यालयबाट कागजात नियन्त्रणमा लिइएको हो ।’ उनले सडक निर्माण प्रक्रियाका थप कागजातसमेत कार्यालयमा पेस गर्न निर्देशन दिइएको बताए । शाखा अधिकृत हरिशचन्द्र जोशी नेतृत्वको टोलीले मंगलबार सडक अनुगमनसँगै कागजात नियन्त्रणमा लिएको हो । उनका अनुसार उजुरीमा सामान खरिदको दर तथा निर्माण सामग्री कम राखेर बढी देखाइएको दाबी गरिएको छ । कान्तिपुरमा खबर