कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।
जिल्ला अदालत धनुषामा भएको बहसपछि आज सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न समय दिएको हो।
यसअघि प्रहरीले थप पाँचदिन हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने भएकाले समय माग गरेको थियो।
तीन सहसचिव सचिवमा बढुवा
काठमाडौँ । न्याय सेवा आयोगले न्याय सेवाका तीन जना सहसचिवहरूलाई सचिवमा बढुवा गरेको छ।आयोगको आइतबार बसेको बैठकले एक सरकारी वकिल र दुईजना न्याय प्रशासनका कर्मचारीहरूलाई सचिवमा बढुवा गरेको हो। कामु नायव महान्यायाधिवक्ता खेमराज ज्ञवाली महान्यायाधिवक्ता कार्यालयको सचिव सरहको पद नायव महान्यायाधिवक्ता बढुवा भएका हुन् । उनी सरकारी वकिल समूहका हुन् । आयोगले सर्वोच्च अदालतका सह–रजिष्ट्रार यमबहादुर बुढामगरलाई न्याय परिषद्को सचिवमा बढुवा गरेको छ। अनि न्यायपरिषदका कामु सचिव भद्रकाली पोखरेललाई सर्वोच्च अदालतको रजिष्ट्रारमा बढुवा गरेको हो।
सन्दीपको भिसा खुलाउन परराष्ट्रले थाल्यो पहल
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने अमेरिकाले भिसा नदिएपछि परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल थालेको छ । परराष्ट्रको अमेरिका हेर्ने डिभिजनमार्फत अमेरिकी दूतावासमा पहल सुरु भएको स्रोतले बताएको छ । टी–२० विश्वकप खेल्न अमेरिका जाने तयारीमा रहेका सन्दीपलाई अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको थियो ।
सहकारी पीडितको प्रदर्शनमा
काठमाडौं । सरकारले पटक-पटक सम्झौता गरेर पनि माग सम्बोधन नगरेको भन्दै सहकारी पीडितले पुनः आन्दोलन सुरु गरेका छन्।देशभरिका संकटग्रस्त सहकारी पीडित बचकर्तालाई संगठित गर्दै अगाडि बढेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको नेतृत्वमा शुक्रबार काठमाडौंकोमा प्रदर्शन भएको छ। शुक्रबार विभिन्न प्लेकार्ड बोकेर र्याली सहित माइतीघरमा सभा गरेका सहकारी पीडितले रिले अनशन समेत सुरु गरेका हुन्। विभिन्न सहकारीबाट पीडित भएको सहकरीका बचकर्ताले सहकराीको अधयक्ष र सञ्चालकलाई कारबाही र बचत फिर्ताको माग सहित आन्दोलनमा सहभागी भएका छन्। यसअघि भएका सम्झौता कार्यान्वयन नभएसम्म रिले अनशन सहितका आन्दोलनलाई जारी राख्ने सहकारी पीडित बचकर्ताले बताएका छन्।
जनअपेक्षा विपरीतका गतिविधि र सङ्गठनको हित प्रतिकूलका कार्य क्षम्य हुँदैन : गृहमन्त्री लामिछाने
काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनअपेक्षा विपरीतका गतिविधि र प्रहरी सङ्गठनको हित प्रतिकूलका कार्य कहिल्यै क्षम्य नहुने बताएका छन्। नेपाल प्रहरीको प्रहरी निरीक्षक आधारभूत तालिम १ १८२ औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले विधिको शासन र कानुनको सर्वोच्चतालाई शीरमा राखेर सरकारको नीति, तथा कार्यक्रम र योजनालाई अक्षरशः पालना गर्न निर्देशन दिए। उप्रधानमन्त्री लामिछानेले शान्ति सुरक्षा प्रवर्द्धन, अपराध नियन्त्रण र सार्वजनिक सेवा प्रवाहमा सङ्गठनको प्रतिबद्धता ख्याल गरेर नागरिकमैत्री सेवा दिन ध्यानाकर्षण गराए। सङ्गठनको लामो इतिहासको जगेर्ना गर्ने नवप्रवेशी अधिकृतको काँधमा रहेको उल्लेख गर्दै उनले आर्थिक तथा पदीय उन्नतिका लागि परिवारले दिने दबाब र प्रभावमा नपर्न निर्देशन दिए। “प्रहरी कर्मचारीको वृत्ति विकासलाई न्याय सङ्गत र सेवा सुविधालाई समयानुकूल बनाउन तथा सरुवा बढुवालाई स्वचालित प्रणालीमा लैजान गर्नुपर्ने नीतिगत सुधार र परिमार्जनमा सरकारले उच्च प्राथमिकता दिएको छ”, उनले भने । सीमित स्रोत साधनमा असीमित काम गर्नुपर्ने परिस्थितिलाई मनन् गरेर काम गर्न आग्रह गर्दै उपप्रधानमन्त्री लामिछानेले नीतिगत, कानूनी, व्यावसायिक र व्यवहारिक रूपमा प्राथमिकता निर्धारण गरी आवश्यक सुधार गर्न सरकार प्रतिबद्ध रहेको बताए। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले तथ्यपरक तथा प्रमाणमुखी अनुसन्धानका लागि प्रविधिको प्रयोग विधिसम्मत, वैज्ञानिक र कार्यविधिगत प्रक्रियाको पालना गरी सङ्कलित तथ्यको विश्लेषण गर्दै मानवअधिकारको अन्तर्राष्ट्रिय मापदण्डलाई शिरोधार्य गरी कार्यक्षेत्रमा खटिन निर्देशन दिए। उनले लैङ्गिक संवेदनशीलताको मर्मलाई मनन् गर्दै विशेष जोखिमपूर्ण, सीमान्तकृत र पीडित वर्गको रक्षकका रूपमा प्रहरी सङ्गठन खरो रूपमा उत्रिनुपर्ने बताए। समारोहमा प्रशिक्षणमा विभिन्न विधामा सर्वोत्कृष्ट हुने प्रहरी निरीक्षक पवनकुमार परियार, सगुन खड्का, आयुष ढुङ्गाना र गोकुलकुमार धानुकलाई पुरस्कार प्रदान गरिएको थियो। सो अवसरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदीप गिरीले दीक्षित भई कार्यक्षेत्रमा जाने प्रहरी अधिकृतलाई शपथ ग्रहण गराएका थिए। समारोहमा प्रशिक्षार्थीले प्रधानमन्त्री, उपप्रधानमन्त्री एवं गृहमन्त्री तथा प्रहरी महानिरीक्षकलगायतलाई राष्ट्रिय सलामी अर्पण गरेका थिए।
छानबिन समिति गठन नभएसम्म संसद् चल्न नदिने विपक्षी दलको निर्णय
काठमाडौं । विपक्षी दलहरूको बैठकले संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठक चल्न नदिने निर्णय गरेको छ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको आह्वानमा शुक्रबार बिहान संसद् भवनमा बसेको बैठकले उक्त निर्णय गरेको हो।यससँगै आज बोलाइएको संसद् बैठक पनि विपक्षी दलले अवरुद्ध गर्ने भएका हुन् ।
भरतपुर मेयर कप : लिग चरण सकियो, चार टोली सिधै क्वाटरफाइनलमा प्रवेश
भरतपुर । भरतपुर महानगरपालिकाको आयोजना र सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा जारी भरतपुर मेयर कप अन्तर विद्यालय फुटबलको लिग चरणका खेलहरु सम्पन्न भएका छन् । लिग चरणका खेलबाट ६ समूहका शिर्ष २-२ गरी १२ टोली नकआउट प्रवेश गरेका छन् । ६ समूहका विजेता मध्य उत्कृष्ट ४ टोली सिधै क्वाटरफाइनलमा प्रवेश गरेका छन् । बाँकी दुई समूह विजेता र ६ समूह उपविजेता टोली भने प्रि क्वाटरफाईनलमा प्रवेश गरेका छन् । सिधै क्वाटरफाइनलमा स्थान बनाउने उत्कृष्ट ४ टोलीहरुमा समूह बी बाट आदिकवि भानु मावि, सी बाट विश्व प्रकाश मावि, समूह डी बाट नारायनी नमूना मावि र ई बाट अमर मावि रहेका छन् । यी टोलीले लिग चरणका सबै तिनै खेल जितेका छन् । समूह ए को विजेता स्टेप बाई स्टेप र एफ बाट किरण अमरजंग भने प्रि-क्वाटरफाइनलमा प्रवेश गरेका छन् । यी दुबै टोलीले समूह चरणका तीन खेलमा दुई जित र एक बराबरी ७-७ अंक जोडेका छन् । यस्तै समूह ए बाट ओमशान्ति एकेडेमी, बी बाट ग्रीनल्याण्ड पब्लिक स्कुल, सी बाट लक्ष्मी मावि, डी बाट जनज्योति मावि, ई बाट दुर्गाशेषकान्त मावि र एफबाट ग्रामोदय इङ्लिस बोर्डिङ स्कुलले पनि उपविजेताको रुपमा प्रि-क्वाटरफाइनलमा स्थान बनाएका छन् । प्रि-क्वाटरफाइनलका खेलहरु शनिबारबाट सुरु हुनेछ । प्रि-क्वाटरफाइनलबाट ४ टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् । प्रि-क्वाटरफाइनलको खेल तालिका आजै सार्वजनिक गरिने सह आयोजक चितवन जिल्ला फुटबल संघले जनाएको छ ।
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १८०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य तोलामा १ लाख ३६ हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३६ हजार २५० रुपैयाँमा कारोबार भैइरहेको छ । यसअघि बिहिबार सुन तोलामा १ लाख ३८ हजार ७०० सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३८ हजार ५० रुपैयाँ थियो । त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार चाँदीको तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य तोलामा १८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । पाँच दिनमा तोलामा करिब पाँच हजारले घट्यो सुनको मूल्य पछिल्लो पाँच दिनमा छापावाल सुनको मूल्य तोलामा चार हजार ९०० रुपैयाँले घटेको छ। शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ३६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबारको तुलनामा यस दिन छापावाल सुनको मूल्य तोलामा एक हजार ८०० रुपैयाँले घटेको हो । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ३८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार, जेठ ८ गते छापावाल सुनको मूल्य तोलामा एक हजार २०० रुपैयाँले घटेर एक लाख ४० हजार ६०० मा कारोबार भएको थियो । जेठ ९ गते तोलामा १०० रुपैयाँले घटेर एक लाख ४० हजार ५०० मा कारोबार भएको थियो । शुक्रबार तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर एक हजार ८५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ८६५ रुपैयाँमा कारोबार भएको थियो ।
राष्ट्रिय अनुसन्धान विभागले माग्यो २५२ जना कर्मचारी
काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागले विभिन्न पदका लागि २५२ जना कर्मचारी मागेको छ ।विभागले आज एक सूचना जारी गर्दै विशेष सेवाको सहायक सूचक, सुरक्षा गार्ड र परिचर पदका लागि दरखास्त आह्वान गरेको हो। विभागले सहायक सूचक पदमा २३४ जना, १६ जना सुरक्षागार्ड र २ जना परिचर मागेको हो । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि एक महिनाभित्र दरखास्त दिन सकिने छ ।सहायक सूचक पदका लागि अनलाइनमार्फत फाराम भर्न सकिने छ। त्यसैगरी सुरक्षागार्ड र परिचरका लागि तोकिएकै स्थानमा पुगेर आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ।
पोर्चुगलमा पनि मनाइयो बुद्धजयन्ती
बार्सिलोना। शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको दुई हजार ५६८औँ जन्म जयन्ती पोर्चुगलमा पनि मनाइएको छ।अवैतनिक नेपाली महावाणिज्य दूतावासको कार्यालय लिस्वनको आयोजनामा बिहीबार बुद्धजयन्ती मनाइएको हो। मार्टिम मुनिज पार्कमा बुद्धको पूजा आराधना पछि लिस्वनका सडकहरुमा शान्ति र्याली निकालिएको थियो। ‘बुद्धम् शरणम् गच्छामि’भन्दै एनआरएनए पोर्चुगल,नेपाल आदिवासी जनजाति महासंघ,नेप्लिज वुमेन एसोसिएसन लगायत दर्जनौ संघसंस्थाका प्रतिनिधिहरु र्यालीमा सहभागी बनेका थिए। बाजागाजासहित सुरु भएको शान्ति र्यालीमा बुद्धको फोटो र बुद्ध उपदेश अंकित प्ले कार्ड, राष्ट्रिय झण्डा र आ(आफ्नो समुदायको भेषभूषासहित सामाजिक अभियन्ता, व्यवसायी, बुद्धिजीवी, पत्रकार लगायत नेपाली समुदाय सहभागी थिए। लिस्वनस्थित नेपाली कन्सुलेट कार्यलयका प्रतिनिधि छविलाल बगालेले बुद्ध नेपालमा नै जन्मिएको तथ्यलाई थप पुष्टि गर्न कार्यक्रम आयोजना गरिएको बताए।उनले लिस्वनमा खुल्ला सडकमा गरिने यस्ता कार्यक्रमले नेपालमा धार्मिक पर्यटक भित्राउन मद्दत पुग्नेमा आशावादी रहेको सुनाए। एनआरएनए पोर्चुगलका अध्यक्ष उमेश कुमार खड्काले लिस्वनमा भव्यताका साथ बुद्ध जयन्ती मनाएको प्रतिक्रिया दिए।नेपाली आदिवासी जनजाति महासंघ पोर्चुगलका अध्यक्ष चोपकुमार रानामगरले बुद्ध जन्मिएको स्थलबारे भम्र रहेको हुँदा पोर्चुगलमा मात्रै नभएर डायस्फोरामा रहेका नेपालीहरुले संसारभर कार्यक्रम गरेर बुद्धजयन्ती मनाइरहेको प्रतिक्रिया दिए। गैर आवासीय नेपाली संघ पोर्चुगलकी महिला संयोजक सरिता शर्माले बुद्ध र सगरमाथाको देशबाट शान्तिको सन्देश विश्वभर अझै पुग्नुपर्नेमा जोड दिइन्।
भारतको महाराष्ट्रमा केमिकल फ्याक्ट्रीमा आगलागी : ८ जनाको मृत्यु
काठमाडौं । भारतको महाराष्ट्रस्थित एक केमिकल फ्याक्ट्रीमा आगलागी हुँदा आठ जनाको जनाको मृत्यु भएको छ। ६० जना घाइते भएका छन्। मुख्यमन्त्री एकनाथ सिन्धेले यो घटनालाई दुर्भाग्यपूर्ण भन्दै मृतकका परिवारलाई पाँच–पाँच लाख रुपैयाँ राहत र घाइतेको निःशुल्क उपचार गर्ने बताएका छन्। भारतीय सञ्चार माध्यमहरुका अनुसार महाराष्ट्रको ठाणे जिल्लास्थित औद्योगिक विकास निगम क्षेत्रको अमुदान केमिकल्सबाट आगलागी सुरु भएको थियो।आगोले वरपरका अन्य ७ फ्याक्ट्रीमा पनि क्षति पुगेको छ। स्थानीयबासीलाई पनि आगोले क्षति पुर्याएको भन्दै त्यहाँबाट केमिकल फ्याक्ट्रीलाई स्थानान्तरण गर्ने मुख्यमन्त्री सिन्धेले बताएका छन्।
तारकेश्वरका १२ हजार बालबालिकालाई खोप लगाइने
काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकाका १२ हजार बालबालिकालाई पोलियोविरुद्ध आईपीभी खोप लगाइने भएको छ । तारकेश्वर नगरपालिकाका अनुसार नगरपालिकाभित्रका ११ वटै वडाका ५५ केन्द्रमा खोप कार्यक्रम सञ्चालन हुनेछ। खोपका लागि आवश्यक जनशक्ति, उनीहरूलाई तालिम तथा अभिमुखीकरण, स्वयंसेवकका परिचालनलगायत सम्पूर्ण तयारी पूरा भएको छ। कोरोना महामारीका कारण २०७३ वैशाखदेखि २०७५ असोजभित्र जन्मिएका बालबालिकालाई यो खोप लगाउन नसकिएकाले तिनै बालबालिकालाई लक्ष्य गरी खोप कार्यक्रम सञ्चालन हुन लागेको हो।रासस
बेइजिङमा बुद्धजयन्ती मनाइयो
काठमाडौं । बुद्धजयन्तीका अवसरमा चीनको राजधानी बेइजिङस्थित नेपाली राजदूतावासको आयोजनमा बिहीबार एक कार्यक्रम प्रार्थनासभा गरी बुद्धजयन्ती मनाइएको छ । बेइजिङस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, विभिन्न संस्थाका चिनियाँ नागरिक, नेपाली समुदाय र चिनियाँ सञ्चारमाध्यमका प्रतिनिधिसहित १२० जनाभन्दा बढीको सहभागितामा भएको कार्यक्रममा चीन बौद्ध संघका उपाध्यक्ष भिक्षु चाङ झाङले चीन र नेपालबीचको घनिष्ठ सम्बन्धका विविध पक्षबारे चर्चा गरेका थिए । विश्व समुदायका साथै चीन र नेपालको शान्ति र समृद्धिका लागि दुवै देशले निरन्तर सहकार्य गर्ने विश्वास उनले व्यक्त गरेको उक्त दूतावासले जनाएको छ। त्यस अवसरमा चीनका लागि नेपालका राजदूत विष्णुपुकार श्रेष्ठले बुद्धका शाश्वत शिक्षाले सम्पूर्ण मानवजातिलाई उदारता, करुणा, नैतिकताका साथै अर्थपूर्ण जीवन बिताउन प्रेरित गर्ने बताए । विश्वले सामना गरिरहेका चुनौतीहरूको सामना बुद्धका उपदेश प्रेरक छन् भन्दै उनले पञ्चशीलको सिद्धान्तमा निहित दुई देशबीचको लामो समयदेखिको सम्बन्ध बौद्ध आध्यात्मिकताको प्रतीकका रूपमा रहेको बताए । रासस
सम्पर्कविहीन १९ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन
काठमाडौं । नेपाल प्रहरीले गैरहाजिर रहेका आफ्ना १९ कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गरी दुई महिनाभन्दा बढी समयदेखि गैरहाजिर रहेका नेपाल प्रहरीका विभिन्न दर्जाका प्रहरीहरूलाई एक साताभित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन निर्देशन दिएको हो। खोजतलास गराउँदा र प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत सम्पर्कमा नआएको भन्दै कार्यालयले उनीहरूलाई बाटोको म्यादबाहेक गैरहाजिर हुनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित सात दिनभित्र हाजिर हुन आउन सूचनामा भनिएको छ । नभए प्रहरी नियमावलीअनुसार सेवाबाट हटाउने चेतावनी पनि कार्यालयले दिएको छ।
राष्ट्रियसभा बैठक आज बस्दै
काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दै छ।दिउँसो १ बजेका लागी बोलाइएको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने सम्भावित कार्यसूची छ। संसद्को बैठक आज बस्न लागेपनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोध भएन कायम रहेको छ।कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा सामेल रहेको भन्दै संसदीय समितिको गठनको माग गर्दै संसद अवरोध गर्दै आएको छ। संसदीय समिति गठन गर्न सहमति भएपनि समितिको कार्यादेशको विषयमा भने अझै सहमति हुन सकेको छैन । कार्यादेश बनाउन कार्यदल बनाए पनि पटक पटक भएका बैठक निष्कर्षमा पुगेको छैन। कार्यदलमा संसदीय छानबिन समितिले गृहमन्त्री रवि लामिछानेको नाम तोकेर छानबिन गर्ने विषयमा विवाद छ। कांग्रेसले लामिछानेको नाम तोकेर छानबिन गर्नुपर्ने अडान लिएको छ भने एमाले र रास्वपा व्यक्तिको नाम तोकेर संसदीय छानबिन नहुने अडानमा रहेका छन्।
यस्तो छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । आज २०८१ साल जेठ ११ गते शुक्रबार सन् २०२४ मे २४ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९६ पैसा र बिक्री दर १३३ रुपैयाँ ५६ पैसा पुगेको छ।युरो एकको खरिद दर १४४ रुपैयाँ १८ पैसा र बिक्री दर १४४ रुपैयाँ ८३ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ २९ पैसा र बिक्री दर १७० रुपैयाँ ०६ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४८ पैसा र बिक्री दर ३६ रुपैयाँ ६४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर

