रसिया विश्वकममा बियरको चरम संकट

काठमाडौं । गर्मी मौसममा बियर नरुचाउने सायदै होलान त्यसमा पनि फुटबलको महाकुम्भ विश्वकपको चलिरहेको अवस्था । ठूलो स्क्रीनको टेलिभिजन होस वा पर्दामा बियरको चुस्की सँगै विश्वकप हुर्नुको मज्जा नै बेग्लै ।

तर विश्वको २१ औं संस्करण आयोजना भइरहेका रसियामा भने अवस्था विल्कुलै फरक छ । र हुँदै छ । गएको जुन १४ वाट रसियामा शुरु भएको विश्वकपमा आउने फुटबलका फ्यानले दिल खोलेर बियर पिउन नपाउने भएका छन् । सरकारको नीतिका कारण नभइ बियर अभावका कारण ।

विश्वकप चलिरहेको अवस्थामा रुसमा वियरको संकट देखिएको छ । अत्यधिक मागको कारण अबको केही दिनमा नै रुसमा वियरको ठुलो संकट आउनसक्ने बताइएको छ ।

रुसको राजधानी सहरका आपूर्तिहरुसँग अब केही दिनका लागि मात्र पुग्ने वियर रहेको छ भने केही भागहरुमा पूर्णरुपमा वियर सकिइसकेको समाचारमा बताइएको छ ।

बेलायती अनलाइन पत्रिका द सनका अनुसार गर्मी मौसमको कारण फ्यानहरुको लागि वियरको माग अत्यधिक रहेको देखिएको हो । विश्वकपलाई मध्यनजर गर्दै धेरै मानिसहरु अहिले रुसमा रहेको र उनीहरुको अत्यधिक माग वियर पिउनु रहेको कारण यो समस्या समाधान गर्नेमा अहिले रुसको ध्यान केन्द्रित रहेको अधिकारीहरुले बताएका छन् ।

फुटबल हुनु र गर्मीको मौसम पनि हुनु यसको महत्वपूर्ण कारण रहेको अधिकारीहरुको भनाइ छ । पछिल्लो एक दशकयता रुसको वियरको व्यापारमा एक तिहाइ गिरावट आइसकेको थियो । मुलुकमा गरिएको कडाइको कारण रुसको वियरको व्यापारमा व्यापक गिरावट आएको देखिएको थियो । यस वर्ष भने वियरको व्यापारमा व्यापक सुधार आउनसक्ने बताइएको छ ।

यद्यपि रुसका केही आपूर्तिकर्ताहरुले भने आफूहरुको व्यापारमा भने कुनै किसिमको नकारात्मक प्रभाव नपर्ने दाबी गरेका छन् । उनीहरुले पछिल्लो समय वियरको माग अत्यधिक रहेको कारण केही समस्या हुने संकेत देखिए पनि आफूहरु मागअनुसारको आपूर्तिको लागि तयार रहेको बताएका छन् ।

यस विषयमा फिफाको आधिकारिक आपूर्तिकर्ता कम्पनी एन्हेयुजर–बुस्क इन्बेभले भने यस विषयमा कुनै जानकारी दिएको छैन । विश्वकपको सुरुवाती तीन दिनमा नै आठ सय लिटर वियरको खपत भएको बताइएको छ । जसमा निकै सस्तोदेखि सबैभन्दा महँगो वियरहरु पनि रहेका छन् ।

अहिले वियर आपूर्तिकर्ता कम्पनीका कर्मचारीहरु वियर आपूर्तिको समय मिलाउनमा नै व्यस्त देखिन्छन् ।

धौलागिरिको फेदमा होटल व्यवसाय

म्याग्दी । वरिपरि हिमालले घेरिएको छ । बीचमा रहेको टापु जस्तै डाँडोमा सानो घर बनाइको छ । पहाडको पाखो सम्याएर हेलिप्याड बनाइएको छ । राति यही मैदानमा पर्यटक टेण्ट टाँगेर बास बस्छन् । धौलागिरि गाउँपालिका–४ बगराका हरिप्रसाद तिलिजाले विगत २५ वर्षदेखि मुदीस्थित धौलागिरि हिमालको आधार शिविर जाने पदमार्गमा होटल सञ्चालन गर्दै आउनुभएको छ । तिलिजाले आफ्नो जीवनको महत्वपूर्ण समय यही होटलमा खर्चिनुभएको छ । यहाँबाट धौलागिरि हिमालको आधार शिविर पुग्न एक दिनको पदयात्रा गर्नुपर्छ । मुदीको अन्तिम मावनबस्ती जेल्टुङदेखि दुई दिनको पैदलदुरीमा रहेको ‘इटाली क्याम्प’मा धौलागिरि पदमार्ग हुदै आधार शिविर, चक्रिय धौलागिरि र धौलागिरि हिमालको आरोहणको लागि आउने पर्यटक बास बस्छन् । “पर्यटककै सुविधाका लागि होटल सञ्चालन गरेको हुँ,” उहाँले भन्नुभयो । उहाँले पर्यटकको लागि खाना र बास बस्ने बन्दोबस्त मिलाउनुभएको छ । समुद्री सतहदेखि करीब तीन हजार ६०० मिटर उचाइमा अवस्थित इटाली आधार शिविरमा तिलिजाले सञ्चालन गरेको होटलको क्षमता ४० जना अटाउने रहेको छ । उहाँले निर्माण गर्नुभएको पाँचवटा मैदानमा तीनसय जना अटाउन सक्छन् । दिउँसो यिनै मैदानमा हेलिकप्टर अवतरण गरिन्छ । यहाँ मुदी, बगरा, दोभान हुँदै पदयात्रा गरी पुग्न सकिन्छ । कतिपय पर्यटक हेलिकप्टरमार्फत पुग्छन् । यो पर्यटक बास बस्न मिल्ने एउटा मात्रै होटल हो । पदमार्ग सहज नभएका कारण धेरैजसो पर्यटक म्याग्दीको ताकमसम्म यातायातका साधनमार्फत तथा त्यहाँबाट हेलिकप्टर चढी इटाली क्याम्प पुगेर धौलागिरि हिमालको आधार शिविरतर्फ लाग्छन् । होटल वरपरको क्षेत्रमा धौलागिरि १, मानापाथि, धौलागिरि २, धौलागिरि पाँच, छेउवन पिकलगायतका हिमशृंखला रहेका छन् । संसारको सातांैँ अग्लो धौलागिरि हिमाल (८,१६७ मिटर)को आधार शिविर हुँदै धौलागिरिको फन्को मार्न तथा हिमाल आरोहण गर्ने पर्यटकका सुविधाका लागि होटल सञ्चालन गरेको तिलिजाले बताउनुभयो । होटल क्षेत्रबाट वरिपरिका हिमालबाट बग्ने आइसफलको दृश्य हेर्न त्यहाँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गर्छन् । ‘‘यहाँ आउन कठिन छ, जति दुख हुन्छ, आइसकेपछि सबै थकान यहाँको प्राकृतिक सौन्दर्यताले मेटाइदिँदो रहेछ’’ आन्तरिक पर्यटक युवराज पौडेलले भन्नुभयो । इटाली क्याम्पबाट हिमशृंखलाको साथै विभिन्न झरना, डाँफे, मुनाल, मृग लगायतका जंगली जनावर र पशुपक्षी नजिकबाट अवलोकन गर्न सकिन्छ । बेनीका बालकृष्ण सुवेदी लोपउन्मुख जनावरलाई नजिकबाट अवलोकन गर्न पाउँदा खुशीको सीमा नरहेको बताउनुहुन्छ । “यस ठाउँलाई केन्द्रित गरी पूर्वाधार निर्माण र प्रचारप्रसार आवश्यक छ,” उहाँले भन्नुभयो । होटल सञ्चालन गर्न तिलिजाले रु ४० लाखभन्दा बढी लगानी गरिसक्नुभएको छ । उहाँले शुरुमा चौरवनमा खाजा पसल सञ्चालन गर्नुभएको थियो । पछि छाप्रो हालेर होटल शुरु गर्नुभएको हो । होटल गरेदेखि अहिलेसम्म भएको सबै आम्दानी त्यसकै क्षमता विस्तारमा खर्चिएको उहाँले भनाइ छ । धौलागिरि पदमार्गमा वर्षमा ४० देखि ५० वटा समूहमा पर्यटक पुग्ने गरेका छन् । उहाँले सोलारमार्फत बिजुली बाल्नुभएको छ । “खानेपानीको समस्या छ, एक किलोमिटर टाढाको मुहानबाट पानी ल्याउने योजना छ,” उहाले भन्नुभयो । उहाँले स्याटेलाइट फोन सेवासमेत सञ्चालन गर्नुभएको छ । पर्यटनको सम्भावना भएपनि पदमार्ग, ठाउँ ठाउँमा होटल, सञ्चार सुविधा अभाव तथा प्रसारप्रसारको कमीले यहाँ पर्याप्त पर्यटक भित्र्न नसकेका राउण्ड धौलागिरि युवाक्लब बगराका अध्यक्ष डिल पुनले बताउनुभयो । अन्तिम मानवबस्ती बगरगाउँदेखिमाथि पर्यटकको सुविधाका लागि दोबानमा रुपा पुन र कृतबहादुर घर्तीले होटल चलाएका छन्, भने सल्लाघारीमा समलाल पुन र अमलाल पुनले चिया पसल सञ्चालन गरेका छन् । देशका अन्य पदमार्ग सडक सुविधाका कारण विस्थापित बनिरहेको अवस्थामा धौलागिरि चक्रिय पदमार्ग सडकबाट टाढा रहेकाले साहसिक यात्राका लागि गन्तव्य स्थलको रुपमा विकास गर्ने योजना बनाएको धौलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताउनुभयो । उहाँले यस वर्षदेखि धौलागिरिको आधार शिविरमा थुप्रिएको फोहोर हटाउन बजेट विनियोजन गरेको बताउनुभयो । रासस

चप्पल उद्योग सङ्कटमा

वीरगन्ज । भारतीय चप्पलसँग प्रतिस्पर्धा गर्न नसक्दा यहाँका आधा दर्जन चप्पल उद्योग सङ्कटमा परेका छन् । सस्तो मूल्य र गुणस्तरहीन भारतीय चप्पल अवैधरूपमा भित्रिने क्रममा वृद्धि भएपछि नेपाली चप्पल उद्योगले प्रतिस्पर्धा गर्न नसकेका हुन् । यसका साथै सस्तो मूल्य र आकर्षक देखिने चिनियाँ चप्पल भित्रिने क्रममा समेत वृद्धि भएपछि स्वदेशी चप्पल उद्योग थप सङ्कटमा परेका हुन् । चप्पल उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थ (रबरजन्य पदार्थ) को चर्को मूल्य र बढ्दो भन्सार महसुललाई जोडेर पुराना प्रविधिबाट आफ्नो उत्पादन बजारमा ल्याउँदा भारतीय र चिनियाँ चप्पल उद्योगसँग मूल्य र आकर्षणमा प्रतिस्पर्धा गर्न नसकेको उद्योगी व्यवसायीको भनाइ छ । चप्पल उद्योगको संरक्षणका लागि भारतकै हाराहारीमा नेपालमा पनि भन्सार महसुल कायम गर्न उद्योगीले सरकारसँग आग्रहसमेत गरेका छन् । “सरकारले लगानीमैत्री वातावरण दिने प्रतिबद्धता देखाउँदै आएपनि व्यवहारमा त्यसो देखिएको छैन्”, उद्योगी भन्छन् — सरकारी नीतिका कारण बारा र पर्साका आधा दर्जनभन्दा बढी चप्पल उत्पादन गर्ने उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । चप्पल व्यवसायी अनबर हकले भन्नुभयो– स्वदेशी चप्पल उद्योगको संरक्षणका लागि अवैध आयात नियन्त्रण र चप्पल उत्पादनका लागि चाहिने कच्चा पदार्थ आयातमा लाग्ने भन्सार महसुललाई न्यून गर्नुपर्दछ । चप्पल उत्पादनका लागि चाहिने कच्चा पदार्थ (रवरजन्य पदार्थ) भारत र तेस्रो मुलुकबाट आयात गर्नुपर्दछ । आयात गर्दा यातायात खर्च बढी लाग्ने र मौज्दात नियन्त्रणमा कठिनाइ उत्पन्न हुने भएकाले उत्पादन लागतसमेत बढ्ने दाबी उनको छ । त्यसैले यी उद्योगको प्रवद्र्धनका लागि सरकारले यस्ता कच्चा पदार्थको आयातमा भन्सार महसुल छुट वा अत्यन्त न्यून गर्नुपर्ने र अन्तःशुल्क खारेजी गर्नुपर्ने माग निजी क्षेत्रको छ । खुल्ला सिमानाका कारण अवैधरूपमा भित्रिने भारतीय चप्पलका कारण पनि मूल्यमा प्रतिस्पर्धा गर्न नसकेको दाबी सम्बन्धित उद्योगी र व्यवसायीको छ । स्वदेशी चप्पल उद्योग सङ्कटग्रस्त बन्दै गएपछि अहिले बजारमा गुणस्तरहीन चप्पल भारतीय बजारबाट चोरी पैठारी भई नेपाल भित्रिने गरेका छन् । सीमावर्ती भारतीय बजारसँग प्रतिस्पर्धा गर्न स्थानीय चप्पल व्यापारीले मासिक करोडौँ मूल्य बराबरका चप्पल अवैधरूपमा भित्र्याउने गरेका छन् । वैध तरिकाबाट चप्पल आयात गर्दा भारतीय सीमावर्ती बजारको तुलनामा यहाँ २५ देखि ३० प्रतिशत मूल्य बढी पर्न जान्छ । यसले गर्दा सीमावर्ती क्षेत्रका ग्राहकले नेपाली बजारमा भन्दा भारतीय बजारमा सामान खरिद गर्छन् । “हामीले भारतीय बजारसँग प्रतिस्पर्धा गर्न अवैध आयात गर्नैपर्छ”, एक व्यवसायीले भने – खुल्ला सिमाना भएका कारण अवैध आयात गर्न त्यत्ति अप्ठ्यारो छैन । चप्पललाई १० प्रतिशत क्यारिड खर्च दिँदा भारतीय बजारबाट भनेको ठाउँमा पु¥याइदिने गर्छन् । त्यसो गर्दा पक्राउ परेको खण्डमा आयातकर्ताले नै व्यहोर्नु पर्ने हुन्छ । चप्पलको अवैध आयात नियन्त्रण गर्नेतर्फ भने राजस्व गस्ती, प्रहरी प्रशासन र राजस्व अनुसन्धान कार्यालयलगायतका जिम्मेवार निकाय मौन छन् । अवैध आयात नियन्त्रण गर्ने जिम्मेवार निकायकै संरक्षणमा अवैध कारोबारले प्रोत्साहन पाएको हो, वीरगन्जका एक व्यापारीले रासससँग भने – व्यपारीसँग उनीहरूको मिलोमतो भएकाले नै अवैध चप्पल नेपाल भित्रिरहेका छन् । भारतबाट चप्पल ओसार्ने व्यतिmले भन्सार क्षेत्रमा जाँच गर्ने जनपद र सशस्त्र प्रहरीलाई परिमाणको आधारमा केही निश्चित रकम बुझाउँछन् । चप्पलका ठूला व्यापारीले भने प्रहरीलाई महिनावारी दिएर कारोबार गर्ने गरेको स्रोतले जनाएको छ । यसरी अवैधरूपमा भित्रिएको चप्पल वीरगन्जका केही व्यापारीले देशका विभिन्न क्षेत्रमा पु¥याउँदै आएको दाबी स्रोतको छ । दुई दशक अघिसम्म यहाँका चप्पल उद्योगले आन्तरिक माग पूरा गर्नुका साथै भारतमा समेत निर्यात गर्दै आएका थिए । तर चप्पल उत्पादनका लागि चाहिने कच्चा पदार्थको भन्सार महसुलमा भएको वृद्धिका कारण अहिले भारतीय उद्योगको उत्पादनभन्दा नेपाली उत्पादनमा झन्डै २० देखि ३० प्रतिशत मूल्य बढी पर्न जान्छ । यसले गर्दा नेपाली उत्पादनको बिक्री कम भई उद्योग सङ्कटमा पर्न थालेका छन् । वीरगन्ज–पथलैया औद्योगिक कोरिडोरमा आधा दर्जन भन्दा बढी साना तथा मझौला चप्पल उद्योग छन् । ती उद्योग सङ्कटग्रस्त बन्दै गएपछि झन्डै रु एक अर्बको लगानी प्रभावित भएको छ भने त्यसमा कार्यरत एक हजार मजदुरको प्रत्यक्ष रोजगारी गुम्न सक्ने खतरा पनि बढेको छ । रासस

नेपाल र चीनका व्यवसायीबीच व्यापारिक सम्झौतामा हस्ताक्षर

चीन, असार ६ । नेपाल र चीनका व्यवसायीबीच व्यापारिक सम्झौतामा हस्ताक्षर भएको छ । ६ दिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितीमा बुधबार बेइजिङस्थित नेपाली दूताबासमा सो सम्झौतामा हस्ताक्षर गरिएको हो । सम्झौतामा हाइड्रोपावर र पर्यटनमा चिनियाँ पक्षले लगानी गर्ने र नेपालको पस्मिना चीन निर्यात गर्ने विषय उल्लेख छ । प्रधानमन्त्रीको स्वागतको लागि दूताबासले कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा प्रधानमन्त्रीले छोटो सम्बोधन गरेका छन् । स्थानीय समय अनुसार उनी मंगलबार अपराह्न ५ः१५ बजे बेइजिङ पुगेका थिए । प्रधानमन्त्री ओलीलाई चिनियाँ सहायक विदेशमन्त्री चाङ हानहुईले स्वागत गरेका थिए ।

रेडियो, एफएम र टेलिभिजन विधेयक पारित

विराटनगर, असार ५ । प्रदेश नं १ को प्रदेशसभा बैठकले रेडियो, एफएम र टेलिभिजन प्रसारणसम्बन्धी विधेयक सर्वसम्मत रुपमा पारित गरेको छ । विधेयक पारित भएपछि अब नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता वा संघीय इकाइबीचको सम्बन्ध वा विभिन्न जातजाति, धर्म सम्प्रदायबीचको सम्बन्धमा खलल पर्ने गरी कार्यक्रम प्रसारण गर्न रोक लगाइएको छ । विधेयकमा राज्यद्रोह, गाली बेइज्जती वा अदालतको अवहेलना हुने जस्ता कार्यक्रम प्रसारण गरे रु १० हजारदेखि एक लाखसम्म जरिवाना गर्ने प्रावधान राखिएको छ । पछिल्लो समय प्रेस स्वतन्त्रताका नाममा स्वच्छन्दता र अराजकता बढ्दै गएको सन्दर्भमा प्रदेश सरकारले सो विधेयक ल्याएको आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले जानकारी दिनुभयो । बैठकमा आजै आन्तरिक मामिलामन्त्री कार्कीले जिल्लासभाको काम कर्तव्य र अधिकारसम्बन्धी विधेयक टेबुल गर्नुभएको छ ।

युनिसेफको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा युवक घाइते

काठमाडौं, असार ५ । राजधानीको लाजिम्पाटमा राष्ट्रसंघीय नियोग युनिसेफको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक युवक घाइते भएका छन् । मंगलबार अपरान्ह भएको दर्घटनामा काठमाडौंको चंगोल बस्ने १८ वर्षीय ट्रपिस नेपाल घाइते भएका हुन । नेपालको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको रहेको बताइएको छ । युनिसेफको ६६–०–००८२ नम्बरको कारले मोटरसाइकलाई ठक्कर दिँदा चालक नेपाल घाइते भएका थिए । दुर्घटनाबाट मोटरसाइकलको अगाडि पट्टीको भाग टुक्राटुक्रा भएको छ । कार चालक नेदरल्याण्डका नागरिक भएको प्रहरीको भनाइ छ । थप अनुसन्धान जारी रहेको बताइएको छ ।

डा. उपेन्द्रको निधन शोकमा विद्यालयमा पढाई वन्द

गोरखा, असार ५ । वरिष्ठ न्यूरो सर्जन डाक्टर उपेन्द्र देवकोटाको निधनको शोकमा गोरखा पालुङटार नगरपालिका–४ को अमरज्योति जनता माविमा मंगलबार विदा दिइएको छ । पित्तनलीको क्यान्सबारवाट पीडित ६५ वर्षीय देवकोटाको उपचारको क्रममा सोमबार बेलुका ५.३५ बजे राजधानीको बाँसबारीस्थित न्यूरो अस्प्तालमा निधन भएको थियो । देवकोटाको शोकमा एक मिनेट मौन धारण गरेर विद्यालयको पठन पाठन वन्द गरिएको प्रध्यानाध्यापक गोविन्द खनालले जानकारी दिए । सोही विद्यालयबाट २०२६ सालमा प्रवेशिका परीक्षा दिएका देबकोटा देशैभरबाट १० औं स्थानमा परेका थिए ।

डान्स पार्टीमा लडेकी पत्रकार राजबंशीको निधन

नेपालगञ्ज, असार ५ । नेपालगञ्जको सिंग्नेट कृष्णा होटलमा गएराति पत्रकार अनुपासिंह राजवंशीको निधन भएको छ ।  होटलले आयोजना गरेको स्विमिङ पुल डान्स पार्टीमा साथीहरुसँग डान्स गर्ने क्रममा लड्नु भएकी पत्रकार राजवंशी स्थानीय नेपालगञ्ज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले मृतक पत्रकार सिंहको शव आजै परीक्षण गर्न भेरी अञ्चल अस्पताल पठाएको छ भने घटनाबारे अनुसन्धान पनि शुरु गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर तामाङले घटनाबारे अनुसन्धान भइरहेको र परीक्षणपछि पत्रकार राजवंशीको शव आफन्तलाई बुझाइने छ भन्नुभयो । स्थानीय खजुरा गाउँपालिका निवासी २४ वर्षीया पत्रकार राजवंशी नेपालगञ्जस्थित बागेश्वरी केबल टेलिभिजन र बागेश्वरी एफ एममा समाचार वाचन गर्नुहुन्थ्यो । केही महिनाअघि मात्र उहाँले सोही होटलमा कार्यरत सञ्जय श्रेष्ठसँग विवाह गर्नुभएको थियो ।

प्रेमिका र प्रेमीबीच यो रमाइलो चु्ट्किला

प्रेमीका – तिमी बिहेपछि चुरोट पिउन छोड्छौ ? प्रेमी– किन नछोड्नु अवश्य पनि छोड्छु । प्रेमीका– रक्सी र तास नि ! प्रेमी– त्यो पनि छोड्छु । प्रेमीका– बिहेअघि चाँहि के के छोड्ने विचार गरेको छौ नि ! प्रेमी– तिमीलाई ! प्रेमीका– तिमी नभएमा म बाँच्न सक्दिन तिमी मसंग कहिले बिहे गर्छौ ? प्रेमी– प्रिय म तिमीसंग अवश्य विहे गर्छु तर पहिले मलाई अफ्नो परिवारसंग सोध्नुपर्छ । प्रेमीका– के तिम्रो बुवा–आमाले मान्नु हुन्छ त ? प्रेमी– किन नमान्नु मेरो बुवा– आमाले मेरो निजी जिवनमा चासो गर्नुहुन्न । मलाई त मेरो श्रीमती र छोराको पो डर छ त !

वडाध्यक्षमाथि हातपात गर्नेविरुद्ध मुद्दा

सोलुखुम्बु, असार ५ । वडाध्यक्षमाथि हातपात गर्ने महिलाविरुद्ध सार्वजनिक मुद्दा दर्ता गरिएको छ । जिल्लाको थुलुङ दूधकोशी गाउँपालिका–९ का वडाध्यक्ष भुपालसिंह राईमाथि हातपात गरेको आरोपमा ३५ वर्षीया लेखापढी व्यवसायीसमेत रहनुभएकी निरकुमारी राईविरुद्ध मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । वडाध्यक्ष राईलाई सल्लेरीको एक होटलमा हातपात भएको किटानी जाहेरीको आधारमा उनलाई सोमबारनै पक्राउ गरी सार्वजनिक मुद्दा दर्ता गरिएको प्रहरी नायब उपरीक्षक रेशमबहादुर पराजुलीले जानकारी दिनुभयो । सेवाग्राहीको काम गर्ने सिलसिलामा सल्लेरी बजारमा वडाध्यक्ष राईलाई लेखापढी व्यवसायीसमेत रहेकी महिलाले बिनाकारण एक्कासि हातपात गरेको वडाध्यक्ष राईको भनाइ छ । उहाँले भन्नुभयो, “स्थानीय जनताको जग्गा नामसारीका लागि सिफारिस गर्दा सामान्य त्रुटि भएछ, सेवाग्राहीको फाइल मगाएर सच्याउने क्रममा आफूमाथि एक्कासि हातपात भयो ।” जग्गा नामसारीका लागि सहयोग गरिरहनुभएकी लेखापढी व्यवसायी निरकुमारीले अब सच्याउँदा आफूले काम गर्न नभ्याउने प्रतिक्रिया दिनुभयो । प्रत्यक्षदर्शी लालबहादुर बस्नेतले भन्नुभयो, “वडाध्यक्षज्यूले त समय मिलाएर काम गरिदिनु भन्दै हुनुहुन्थ्यो, एक्कासि आक्रमण भयो ।” बस्नेतले भन्नुभयो, “प्रकृति हेर्दा नियतवश जनप्रतिनिधिमाथि बिनाकारण आक्रमण भएको बुझिन्छ ।” “हामी वडाध्यक्षसँगै काठमाडौँबाट सोलुखुम्बु आएका हौँ, बाटोमा आउँदै गर्दा पटकपटक फोन आयो,” बस्नेतले भन्नुभयो, “उनको प्रस्तुति नियतवश जस्तै लाग्यो ।” यता गाउँपालिका अध्यक्ष असिम राईले जनप्रनितिधिमाथि सार्वजनिक स्थानमा भएको आक्रमणमा गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । सेवाग्राहीले केही प्रतिक्रिया नदिई लेखापढी व्यवसायीले जनप्रतिनिधिमाथि आक्रमण गर्नु निन्दनीय कार्य भएको भन्दै अध्यक्ष राईले यो विषय सबै जनप्रतिनिधिको लागि चुनौतीको विषय बनेको बताउनुभयो । यता निरकुमारी राईले भने आफूलाई गाली बेइज्जती गरेकाले एक झापड हानेको स्वीकार गरेको प्रहरीले जनाएको छ । रासस

व्यवस्थित शहर बनाउने नीतिसहित भीमदत्त नगरपालिकाले ल्यायो एक अर्ब बजेट

कञ्चनपुर, असार ५ । जिल्लाको भीमदत्त नगरपालिकाले नमूना सहर बनाउने नीति र कार्यक्रमसहित आगामी आव २०७५÷०७६ का लागि बजेट ल्याएको छ । भीमदत्त नगरपालिकाको तेस्रो नगर सभाबाट सोमबार रु एक अर्ब १० करोड ६४ लाखको बजेट पारित गरिएको हो । चालू आर्थिक वर्षका लागि गतवर्ष रु एक अर्ब ६४ लाख बजेट विनियोजन गरिएको थियो । बजेटमा केही पुरानालाई निरन्तरता दिएर नयाँ नीति तथा कार्यक्रम समावेश गरिएका छन् । आगामी आवका लागि आन्तरिक आम्दानी रु १२ करोड २७ लाख प्रस्ताव गरिएको छ । वित्तीय समानीकरणबाट रु २५ करोड ५६ लाख, सशर्त अनुदान रु ३१ करोड ९५ लाख, राजश्व बाँडफाँट रु १४ करोड ३३ लाख, सामाजिक सुरक्षातर्फ रु १८ करोड, लागत सहभागितातर्फ रु एक करोड, क्षेत्रीय शहरी विकास आयोजना रु चार करोड ३५ लाख, सडक बोर्ड रु ७२ लाख र सीमाक्षेत्र विकास कार्यक्रमबाट रु ४५ लाख आम्दानी अनुमान गरिएको छ । आन्तरिक आम्दानीको रु छ करोड ४९ लाख साधारणतर्फ रु १८ लाख पूँजीगत, म्याचिङ फण्ड रु ७५ लाख, आय फिर्ता रु एक करोड २५ लाख र रु ५८ लाख विभिन्न कोषका लागि विनियोजन गरिएको छ । वित्तीय समानीकरणको बजेट वडा कार्यालयका लागि रु एक करोड ४८ लाख, नगरपालिका कार्यालयका लागि रु नौ करोड र पूँजीगतमा रु १४ करोड ५६ लाख विनियोजन गरिएको छ । राजश्व बाँडफाँडको अनुमानित आम्दानीलाई पूँजीगत खर्चमा विनियोजन गरिएको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको अध्यक्षतामा बसेको नगरसभामा उपप्रमुख सुशीलाचन्द सिंहले आगामी वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभयो । बजेटमा नगर सभासद्ले आफ्नो धारणा राखेपछि नगर सभाबाट पारित गरिएको भीमदत्त नगरपालिका नगर कार्यपालिकाका प्रवक्ता राजेन्द्र पाण्डेयले जानकारी दिनुभयो । नगरपालिकाका प्रमुख विष्टले स्थानीय सरकार सञ्चालन ऐन २०७४ का आधारमा स्थानीय स्रोतसाधनको प्रयोग र जनशक्ति परिचालनबाट नगरपालिकालाई प्रदेश नं ७ को नमूना र व्यवस्थित शहर बनाउने नीतिसहित अल्पकालीन र दीर्घकालीन योजनासहित आगामी वर्षको नीति तथा कार्यक्रम बजेट ल्याइएको बताउनुभयो । रासस

तस्करी नियन्त्रण गर्न सीमामा कडाइ

नवलपरासी, असार ५ । पश्चिम नवलपरासीमा बढ्दै गएको अवैध तस्करी नियन्त्रण गर्न स्थानीय प्रशासनले नेपाल भारत सीमा क्षेत्रमा सुरक्षा चेकजाँच कडा पारेको छ । भारतीय बजारबाट अवैधरुपमा बिना भन्सार विभिन्न मालसामान भित्रिने गरेपछि यतिबेला स्थानीय प्रशासनले सशस्त्र प्रहरी, नेपाल प्रहरीसँग समन्वय गरी सीमा क्षेत्रमा कडा गरेको पाइएको हो । पछिल्लो पटक नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को महेशपुर नाकामा तस्करीमा कडाइ भएको छ । पछिल्लो समय बढ्दै गएको तस्करीलाई रोक्नका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा गस्ती र चेकजाँच बढाएपछि तस्करी सामान समातिँदै गएको छ । सोही क्रममा करीब रु पाँच लाख बराबरको अवैध सामान बरामद गरी सशस्त्र प्रहरीले भैरहवा भन्सार कार्यालय पठाउने तयारी गरेको छ । सोमबार बरामद सो मूल्य बराबरकोे फेयर एण्ड लब्ली, मरिच तथा कपडालाई आवश्यक कारबाहीका लागि भैरहवा भन्सार पठाउने तयारी गरिएको विओपी सशस्त्र प्रहरी बल हरपुरका सशस्त्र प्रहरी निरीक्षक प्रकाश ढकालले बताउनुभयो । बरामद गरिएको सामानमा रु ५२ हजारको ४३१ पत्ता फेयर लब्ली, रु एक लाखको दुई बोरा मरिच, रु एक लाखको ५० रोल थान कपडा, रु एक लाख ५० हजारको १०२ पिस जयपुरी र १०८ पिस कठाइ साडी रहेका छन् । सडकजन्य अवरोध हटाउने अभियान यसैबीच, पश्चिम नवलपरासीको सुनबल नगरपालिकाले राजमार्ग आसपासका क्षेत्रमा रहँदै आएको विविध सडकजन्य अवरोध हटाउने अभियान चलाएको छ । सरसफाइ अभियानअन्तर्गत पूर्व–पश्चिम राजमार्गको ८२ फिट क्षेत्रभित्र सम्म व्यापक सरसफाइ अभियान सञ्चालन गरी सबैखाले अवरोधलाई हटाई अभियान चलाइएको हो । सुनबल, वडा नं १२ रामनगरदेखि वडा नं ७ ज्यामिरेसम्मको राजमार्ग रहेको क्षेत्रसम्मका सबैखाले अवरोधलाई हटाई स्वच्छ नगर निर्माणको अभियान चलाएको सुनबल नगरपालिका नगर प्रमुख भीमबहादुर थापाले बताउनुभयो । विशेष गरी सुनबल बजार क्षेत्र, बनकट्टी बजार क्षेत्र र रामनगर बजार क्षेत्रमा अव्यवस्थित तवरले भण्डारण गरिएका निर्माण सामग्री, सवारीसाधन पार्किङ, पार्किङ गरिएका पुराना थोत्रा सवारीसाधन हटाउन थालिएको छ । सडक सुरक्षामा खतरापूर्ण र नगरको शोभा बिगार्ने सामग्री अटेर गरी नहटाइए प्रहरी बजार व्यवस्थापन समितिले आफैँ हटाई दिने र त्यसको कुनै क्षतिपूर्ति प्राप्त नहुने कानूनी व्यवस्था रहेको समेत नगरपालिकाले जानकारी दिएको छ । रासस

डा. देवकोटाको निधनबाट प्रधानमन्त्री स्तब्ध

काठमाडौै, असार ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधनको खबरले आफू स्तब्ध भएको बताउनुभएको छ । उहाँले हिजो साँझ ट्वीट गर्दै नेपालको स्वास्थ्य विज्ञान क्षेत्रमा डा. देवकोटाले पु¥याउनुभएको योगदानलाई राष्ट्रले सदा स्मरण गरिरहने उल्लेख गर्नुभएको छ । यस दुःखद् घडीमा दिवंगत डा देवकोटाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै प्रधानमन्त्री ओलीले शोकाकुल परिवारमा समवेदना व्यक्त गर्नुभएको छ ।

एआईजीको बढुवा किन रोकियो ?

काठमाडौं, असार ५ । गृह मन्त्रालयले नेपाल प्रहरीमा वरिष्ठ डीआईजीहरुलाई अवकास दिने मनसायले अतिरिक्त महानिरीक्षक (एआईजी) को बढुवा रोकेको छ । एक महिनाको अवधिमा प्रहरी जवानदेखि डीआईजीसम्म रिक्त सबै पदमा बढुवा भएपनि सेवा प्रवेश र वरियताका आधारमा अगाडी रहेका ६ जना डीआईजीलाई अवकास दिएर मात्रै एआईजी बढुवा प्रक्रिया अघि बढाउने गृह मन्त्रालयको नियत देखिएको हो । बढुवाका लागि पुष्कर कार्की, उत्तम कार्की, पवनप्रसाद खरेल, छविलाल जोशी, ज्ञानविक्रक शाह, शरद चन्द, ठुले राई, धिरु बस्नयात, मनोज न्यौपाने, सुरेशविक्रम शाहलगायत डीआईजी प्रतिस्पर्धामा छन् । कारोवार दैनिकमा खबर छ ।

मन्त्री यादवको निर्देशन अवज्ञा, किसान सिंहदरबार धाइरहन बाध्य

काठमाडौं, असार ५ । गत चैतको दोस्रो साता उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले चिनी उद्योगीलाई बोलाएर उखु किसानको बक्यौता रकम तत्काल भुक्तानी दिन निर्देशन दिए । उद्योगीले पनि चैतको दोस्रो साताबाट रकम भुक्तानी दिने प्रतिबद्धता जनाए । मन्त्री यादवले भुक्तानी नदिए थुन्ने धम्की दिए पनि उखु किसानले अहिलेसम्म रकम भुक्तानी पाएका छैनन् । मन्त्री यादवको निर्देशन बेकामे भएको छ । उखु बेचेको सात अर्ब रुपैयाँ रकम चिनी उद्योगीबाट भुक्तानी दिलइदिने व्यवस्था मिलाउन विभिन्न जिल्लाका किसान सिंहदरबार धाइरहेका छन् । महोत्तरी, धनुषा, सर्लाही, रौतहट, बारा, नवलपरासीलगायतका जिल्लाका किसानले रकम नपाएका हुन् । नागरिक दैनिकमा खबर छ ।

सरकार सहभागीबारे राजपामा छलफल सुरु

काठमाडौ‌, असार ५ । राष्ट्रिय जनता पार्टी (राजपा) भित्र सरकारमा सहभागी हुने नहुनेबारे छलफल सुरु भएको छ । राजपाको सोमबार सुरु राजनीतिक समिति बैठकमा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर र सदस्य राजेन्द्र महतोले यसबारे प्रस्ट धारणा दिन सदस्यहरूलाई आग्रह गरेका छन् । ‘सरकारले हामीलाई सामेल हुन बारम्बार भनिरहेको छ,’ ठाकुरले बैठकमा भने, ‘एउटा राजनीतिक दल सरकारमा नजाने भन्ने त हुँदैन तर गएदेखि किन र के सर्तमा जाने भन्ने प्रश्न उठ्छ । त्यसैले यसबारे साथीहरूको धारणा बाहिर आओस् ।’ त्यसलगत्तै महतोले संविधान संशोधनको विषयमा सरकारको धारणा, थुनामा परेका कार्यकर्ताको मुद्दा फिर्ता र सांसद रेशम चौधरीको शपथग्रहण गराउनुपर्ने माग पूरा नभएसम्म सरकारमा जान नहुने धारणा राखे । बैठकमा ठाकुर र महतोले मात्रै बोलेका थिए । ठाकुरले पार्टीको विधान बनाउने, महाधिवेशन गर्ने र पार्टीको वैधानिकता बचाउने सन्दर्भमा पनि समितिका सदस्यको धारणा मागेका थिए । ६ वटा दलको एकीकरणपछि गत वर्ष असार ३० गते गठन भएको राजपाले निर्वाचन आयोगसमक्ष एक वर्षभित्र महाधिवेशन गरेर नयाँ नेतृत्व चुन्ने वाचा गरेको थियो । तर तोकिएको समयमा निर्वाचन हुन नसकेपछि आयोगले राजपालाई गत साता पत्र लेख्दै एक महिनाभित्र महाधिवेशन गरेको जानकारी दिन भनेको थियो । यसरी आफ्नो वैधानिकतामै प्रश्न उठेपछि त्यसबारे छलफल गर्न राजनीतिक समिति बैठक बसेको हो । ‘हामीले एक महिनाभन्दा कम समयमा महाधिवेशन गर्न सक्ने अवस्था छैन,’ महतोले बैठकमा भनेका थिए, ‘त्यसै हुनाले निर्वाचन आयोगलाई पत्र लेखेर थप ६ महिनाभित्र महाधिवेशन गर्ने समय माग्ने एक मात्रै विकल्प छ । होइन भने पार्टी बचाउन सकिँदैन ।’ महतोले निर्वाचन भएको यतिका समयसम्म संसदीय दलको नेता चुन्न नसक्नुले पार्टीको अकर्मण्यता सिद्ध भएको भन्दै त्यसलाई चिर्न शीघ्र कसै न कसैलाई नेता चुन्नुपर्ने बताए । कान्तिपुरमा खबर छ ।