गहना र जग्गा बन्धकी राखेर सडक निर्माण

बझाङ, जेठ १९ । जिल्लाको तलकोट गाउँपालिकाका स्थानीयले सुनका गहना बिक्री र कमाइखाने जग्गा बन्धकी राखेर ६ किलोमिटर सडक निर्माण गरेका छन् ।

तलकोट–५ का खौला, बेतकाला, भण्डारी र कोट गाउँका स्थानीयले यसरी ६ किलोमिटर सडक निर्माण गरी गाउँमै गाडी पुर्याएका हुन् ।

सडक निर्माण खर्च जुटाउन सात तोला सुनका गहना बिक्री र जग्गा बन्धकी समेत राख्नुपरेको स्थानीयले बताए ।

एक सातादेखि सो सडकमा जिप गुड्न थालेका छन् । आजको नागरिक दैनिकमा समाचार छ ।

राजपा प्रदेश सरकारबाट नबाहिरिने

काठमाडौं, जेठ १९ । राष्ट्रिय जनता पार्टी (राजपा) ले संघीय समाजवादी फोरम संघर्षको मैदान छाडेर सत्तामा गएको आरोप लगाएको छ । राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले आफ्नो पार्टी प्रदेश सरकारबाट नबाहिरिने बताए । यादवले भने, ‘उपेन्द्रजीले संविधान संशोधन गर्ने संघर्षको मैदान छाडेर सत्तामा जानुभएको छ । यसैका कारण हामी २ नम्बर प्रदेशबाट बाहिरिने कुनै कुरा छैन । जननताको म्यान्डेटअनुसार गठबन्धन निर्माण गरेका हौं । तर, फोरमको निर्णय र गतिविधिमा धेरै भर पर्छ ।’ यो समाचार कान्तिपुरमा छापिएको छ ।

नापीको टोलीसहित राज्यमन्त्री चौधरी मेची सिमानामा

झापा। कृषि ,भुमि व्यवस्था तथा सहकारी राज्य मन्त्री रामकुमारी चौधरी दलबल सहित मेची सिमानामा पुगेकि छिन। भारतीय पक्षले झापाको मेची सिमानामा नेपाली भु – भाग पटकपटक मिचेको जनगुनासो आएपछि झापा नापी कार्यलयका केही कर्मचारीहरुलाइ लिएर चौधरी शुक्रबार नेपाल भारतको मेची सिमानामा पुगेकी हुन। मेची नदि पुर्व सम्म नेपाली भुमी रहेको र नेपालीहरुको बसोबास संगै नक्सा र लालपुर्जा भएता पनि उक्त जमिन हाल भारतले दाबी गरेकाले बेला बेलामा उक्त ठाउँमा दुई पक्षिय बिवाद भइरहने स्थानीय बासिन्दा हरुको गुनासो छ । संसदिय टोली र नापि बिभागको टोलि एकै पटक अध्यनको लागि पुगेता पनि हाल सम्म समस्याको समाधान नभएको प्रति राज्य मन्त्रीलाई स्थानीयहरुले गुनासो व्यक्त गर्दै समस्या समाधानको लागि पहल गरिदिन अनुरोध गरेका छन्। सिमाको निरीक्षण पछि स्थानीय बासिन्दाहरु संगको भेटेमा राज्य मन्त्री चौधरीले सिमा बिवादको समस्या बारे केन्द्रमा छ्लफल गर्ने र छिट्टै बस्ने नेपाल भारत मन्त्री स्तरीय बैठकमा सिमा विवाद बारे कुरा उठाउदै समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेकि छिन ।

वैकल्पिक राजमार्ग निर्माणको काम तीव्र

लहान । राष्ट्रिय गौरवको योजना मानिएको सुनसरीको धरान– चतरा, गाईघाट– कटारी, सिन्धुली–हेटाँैडा सडक आयोजनाको पूर्वी खण्ड निर्माणको काम तीव्र रुपमा अघि बढेको छ । भित्री मधेसलाई राजधानीसँग जोड्ने सबै भन्दा छोटो उक्त राजमार्गको सुनसरी, उदयपुर र सिन्धुली खण्डमा सडक संरचना र पुल निर्माण गर्ने काम धमाधम अघि बढ्ेको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका–४ वीरेन्द्र चोकदेखि सिन्धुलीको भिमानसम्मका विभिन्न भागमा कलभर्ट, कज्वे र पुलपुलेसा निर्माण भइरहेको छ । डेढवर्ष अघि निर्माण कार्य शुरु भएको वैकल्पिक उक्त राजमार्गको करिब ३५ प्रतिशत भन्दा बढी काम पूरा भइसकेको आयोजना कार्यालय गाईघाट उदयपुरले जनाएको छ । धरान चतरा गाईघाट कटारी सिन्धुली हेटाँैडा सडक आयोजना पूर्वी खण्डमा १३४ किलो मिटर सडक पर्दछ । सडक ११ मिटर फर्मेशन चौडाइ भएको कालोपत्रेयुक्त हुने आयोजना कार्यालयले जनाएको छ । घरटहराको मुआब्जा निर्धारण, वन क्षेत्रका रूख हटाउने कार्य र पुल निमार्ण हुने स्थानमा हुने विवाद मिलान भएसँगै सडक निमार्णको कार्यले गति लिएको निमार्णाधिन धरान चतरा गाईघाट कटारी सिन्धुली हेटाँैडा सडक आयोजना पूर्वी खण्ड गाईघाटका आयोजना प्रमुख उमेश विन्दु श्रेष्ठले जानकारी दिनुभयो । आर्थिक प्रगति लक्ष्यअनुसार भएका कारण आयोजनाको कामले तीव्रता लिएको आयोजना प्रमुख श्रेष्ठको कथन छ । मुआब्जाको निवेदन दिन छुटेकाको लागि निवेदन दिन र लगत कट्टा गर्न शुरु भइसकेको छ र केही दिनभित्रै मुआब्जाको विषय टुंगिने उहाँले बताउनुभयो । उदयपुर तर्फ निर्माण कार्यमा खासै अवरोध नभए पनि सिन्धुली तर्फ भने विद्युत् प्राधिकरणले विद्युत्का पोल हटाउन ढिला भएको छ । सडक योजना तीन वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण गरिसक्ने लक्ष्य राखी २०७३ साल कात्तिक २२ गते निर्माण व्यवसायी जेडआइईसी शर्मा लामा जोइन्ट भेञ्चरले रु सात अर्ब ३६ करोड ९९ लाख ८४ हजारमा ठेक्का सम्झौता भएको थियो । राजमार्गले उदयपुरको बेलका नगरपालिका, चौदण्डीगढी नगरपालिका, त्रियुगा नगरपालिका, उदयपुर गढीगाउँपालिका र कटारी नगरपालिका स्थानीयलाई प्रत्यक्ष फाइदा पुग्ने जनाएको छ भने सिन्धुली तर्फ दूधौली नगरपालिका र कमलामाई नगरपालिका हुँदै हेटौडासम्म पुग्ने छ । वैकल्पिक मार्गको निर्माण कार्यमा कुनै अवरोध नआए निर्धारित समयमै निर्माण सम्पन्न हुने स्थानयवासीको कथन छ । आफ्नै घर आगनमा राजमार्ग निर्माण शुरु भएसगै स्थानीयवासी हर्षित भएका छन् । रासस

सडकको माग गर्दै ७८ वर्षीय वृद्ध अनशनमा

बैतडी । गाउँमा सडकको माग गर्दै बैतडीका एक वृद्ध चार दिनदेखि अनशनमा बस्नुभएको छ । दशरथचन्द नगरपालिका–१ खालका ७८ वर्षीय वृद्ध हरिजीत सिंह टेर यही जेठ १४ गतेदेखि गुरुखोलामा अनशनमा बस्नुभएको हो । गाउँमा गाडी पुगेको हेर्ने धोको भएकाले आफू सडकको माग गर्दै अनशन बसेको अनशनरत वृद्ध टेरको भनाइ रहेको छ । विगतमा गुरुखोलादेखि खालसम्म सडकको सर्वे भएको र त्यतिबेला सर्वे भएका अरु ठाउँमा सडक पुगे पनि आफ्नो गाउँमा सडक नपुग्दा अनशन बसेको उहाँले भन्नुभयो । “सडकका लागि विनियोजन भएको रकम अन्यत्रै रकमान्तरण गरिन लागेको सुन्नमा आएकाले अनशन बसेको हुँ”, उहाँले बताउनुभयो । उता गुरुखोलादेखि खालसम्मको सडक निर्माण गर्न रु १४ लाख ५० हजार विनियोजन गरिएको र स्थानीयले जग्गा दिन नमानेपछि सडक खन्न शुरु नभएको दशरथचन्द नगरपालिका–१ का वडाध्यक्ष भुवनप्रसाद भट्टले बताउनुभयो । रकम विनियोजन भएको १० महिना बितिसकेको र पटकपटक जग्गावालासँग छलफल गर्दासमेत उनीहरु सडक खन्न सहमत नभएका कारण सडक निर्माण कार्य अगाडि बढ्न नसकेको हो, उहाँले भन्नुभयो । “अझै पनि जग्गावाला जग्गा दिन सहमत भएमा सडक निर्माण कार्य अगाडि बढाइनेछ”, उहाँ भन्नुहुन्छ । यता अनशनरत वृद्धले भने सडक निर्माण कार्य शुरु नहुँदासम्म अनशन जारी राख्ने बताउनुभएको छ । राजमार्ग भत्काएर सडक बनाउँदा समस्या यसैबीच, स्थानीय तहले मनलाग्दी हिसाबले शाखा सडक निर्माण गर्न थालेपछि राष्ट्रिय राजमार्गमा समस्या देखिएको डिभिजन सडक कार्यालय, पाटन बैतडीले जनाएको छ । अहिले सबै ठाउँमा राष्ट्रिय राजमार्गलाई जोडेर शाखा सडकको ट्रयाक खोल्ने कार्य भइरहेको र धेरै ठाउँमा सडक नै जोखिममा पार्ने गरेर शाखा सडक निर्माण भइरहेको डिभिजन कार्यालयका प्रमुख अमित श्रेष्ठले जानकारी दिनुभयो । दोगडाकेदार गाउँपालिकाले सिल्लेगडा–काँडा–सुनखोला–कपडा सडक निर्माण गर्दा महाकाली राजमार्गको केही भाग भत्काएर ट्रयाक खोलेको उहाँले आरोप लगाउनुभएको छ । यो विषयमा गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले भने आफूहरुले सडकलाई क्षति पु¥याउने नियतले सडक निर्माण नगरेको तर ट्रयाक खोल्दा केही प्राविधिक समस्या भएको हुनसक्ने बताउनुभयो । आफूहरुले वाल लगाएर सडकमा पुगेको क्षतिलाई कम गर्ने उहाँले दाबी गर्नुभयो । सार्वजनिक सडक ऐन २०३१ ले राष्ट्रिय राजमार्गबाट शाखा सडक निर्माण गर्दा सडक कार्यालयको अनुमति लिनुपर्ने, सडक भत्काएर निर्माण गर्नुपरे धरौटी राखेर मात्रै निर्माण गर्नुपर्ने भएपनि बैतडीमा मनोमानी हिसाबले सडक निर्माण भइरहेको डिभिजन सडक कार्यालयका प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “बिना स्टमेट बनेका सडकले भोलिका दिनमा समस्या निम्त्याउनेछ” यसरी राजमार्ग नै क्षति गरेर शाखा सडकले राजमार्ग क्षेत्रमा दुर्घटनाको जोखिमसमेत बढ्दै गएको छ । बैतडीका अधिकांश स्थानीय तहहरुले सडकलाई प्राथमिकतामा राखेर ग्रामीण सडक निर्माण गरिरहेका छन् । रासस

तेह्रथुमलाई प्रदेश नं १ कै कम बजेट

तेह्रथुम, जेठ १७ । तेह्रथुमका लागि आगामी आर्थिक बर्ष २०७५÷७६ मा एक अर्ब २५ करोड ५८ लाख विनियोजन भएको छ । सरकारले मंगलबार सार्वजनिक गरेको बजेटमा उल्लेख भएअनुसार आठराई गाउँपालिकामा सबैभन्दा बढी रु२७ करोड ४७ लाख र मेन्छ्यायेम गाउँपालिकाका लागि सबैभन्दा कम रु १२ करोड ८१ लाख बजेट विनियोजन गरेको छ । आठराई जिल्लाकै ठूलो स्थानीय तह हो भने मेन्छ्यायेम सबैभन्दा सानो स्थानीय तह हो । यस्तै, सरकारले म्याङलुङ नगरपालिकाका लागि रु २३ करोड ३६ लाख, लालीगुराँस नगरपालिकामा रु २१ करोड २७ लाख, छथर गाउँपालिकामा रु २० करोड ३२ लाख र फेदाप गाउँपालिकामा रु २० करोड ३५ लाख बजेट विनियोजन गरेको छ । सरकारले छुट्याएको बजेटमा प्रदेश नं १ का १४ वटा जिल्लामध्ये सबैभन्दा कम बजेट प्राप्त गर्ने जिल्लामा तेह्रथुम परेकोे छ । सबैभन्दा बढी बजेट भने मोरङ जिल्लाका लागि छुट्याइएको छ । प्रदेश नं १ का जिल्लामध्ये ताप्लेजुङका लागि रु एक अर्ब ९६ करोड ५७ लाख, पाँचथरमा रु एक अर्ब ९० करोड २८ लाख, इलाममा रु दुई अर्ब ४८ करोड ९३ लाख, झापामा रु चार अर्ब ८० करोड २४ लाख र संखुवासभाका लागि रु दुई अर्ब १७ करोड ५६ लाख बजेट विनियोजन गरिएको छ । यस्तै, धनकुटाका लागि रु एक अर्ब ६४ करोड ६३ लाख, भोजपुरमा रु एक अर्ब ९१ करोड ३३ लाख, सुनसरीमा रु तीन अर्ब ९५ करोड ९२ लाख र मोरङमा रु पाँच अर्ब ३० करोड ८२ लाख विनियोजन गरेको छ । प्रदेश नं १ कै सोलुखुम्बुमा रु एक अर्ब ६१ करोड ९८ लाख, खोटाङमा रु दुई अर्ब २७ करोड २९ लाख, उदयपुरमा रु दुई अर्ब ४३ करोड तीनलाख र ओखलढुंगामा रु एक अर्ब ७२ करोड २५ लाख विनियोजन भएको छ । रासस

आँधीहुरीले छाना उडाएपछि स्थानीय अन्धकारमा

बाँके, जेठ १७ । बाँकेको डुडुवा र राप्तीसोनारी गाउँपालिकामा आँधीहुरीले ढलेका विद्युत पोल मर्मत नहुदा स्थानीयबासीले अझै बत्ती बाल्न पाएका छैनन् । एक हप्ता अघि आएको आँधीहुरीले गाउँपालिकाको वडा नं ४ र ५ मा ३० वटा विद्युत् पोल ढलेका छन् भने केही भाँचिएका छन् । विद्युत् कार्यालयले सुस्तगतिमा पोल गाड्ने तथा मर्मत कार्य गर्नाले बत्ती बाल्न नपाएको भन्दै स्थानीय आक्रोसित भएका छन् । अत्यधिक गर्मीको मौसममा लामो समयसम्म विद्युत् आपूर्ति बन्द भएपछि स्थानीयलाई हैरानी भएको छ । विद्युत् कार्यालयले मुख्य सडकका पोल गाडिसकिएको र गाउँभित्रका पोल केहीदिनमै गाड्ने बताएको छ । आँधीहुरीले गाउँपालिकाको वडा नं ४ र ५ मा बढी क्षति पु¥याएको छ । आँधी हुरीले वडा नं ५ गोहनाका १२ वर्षीया गीता कुमाई घरको छानाले च्यापिएर गम्भीर घाइते हुनुभएको छ । उहाँको अहिले शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । गाउँपालिकाको दुईवटै वडामा टिन, टायल र फाइबरले छाएको करीब ७० जनाको घरको छाना उडाएको छ भने एक दर्जनभन्दा बढी रुख ढलेका छन् । हुरीले छाना उडाएपछि नागरिकलाई तत्काल बस्न समेत समस्या भएको छ । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले क्षतिबारेमा तथ्यांक संकलन भइरहेको भन्दै राहतका लागि सम्बन्धित निकायमा पहल गर्ने बताउनुभयो । रासस

चर्चित खोज पत्रकार अर्काडी हत्या खबर झुठ

काठमाडौं । रुसका चर्चित खोज पत्रकार अर्काडी बबचेन्कोको हत्या भएको खबर झुठ साबित भएको छ । पछिल्लो जानकारी अनुसार युक्रेनले एक योजना अन्तर्गत मंगलबार पत्रकार अर्काडी बबचेन्को हत्या भएको सम्बन्धी झुठो खबर फैलाएको थियो । मंगलबार अबेर ४१ वर्षका पत्रकार अर्काडी बबचेन्को युक्रेनको राजधानी किएभमा गोली हानी हत्या भएको खबर आएको थियो । त्यसमा भनिएको थियो कि उनी श्रीमतीले गोलीको आवाज सुनेर जब आफ्नो फ्ल्याटबाट बाहिर आइन् अर्काडी बबचेन्को रक्तामे अवस्था थिए । र एम्बुलेन्समा अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भयो । युक्रेनले रुसले उनको हत्या गरेको आरोप लगाएको थियो । तर हत्या भएको २४ घण्टापछि पत्रकार अर्काडी बबचेन्को एक पत्रकार सम्मेलन मार्फत सार्वजनिक भए, त्यसपछि हत्या भएको खबर झुठो रहेको खुल्यो । रुसी एजेन्टहरुको भण्डाफोर गर्नका लागि अर्काडी बबचेन्को हत्या भएको झुठो खबर फैलाएको युक्रेनले दाबी गरेको छ । अर्काडी बबचेन्कोे हत्याका लागि तैनाथ रहेका आक्रमणकारीलाई पक्राउ गर्नका लागि आफूहरुले चलाएको यो ठूलो स्टिंग अपरेशन रहेको युक्रेनको सुरक्षा सेवाका प्रमुख वसिल ह्ट्सेकले बताएका छन् । रुसी सुरक्षाबलले अर्काडी बबचेन्कोे हत्याका लागि युक्रेनका एक व्यक्तिलाई तयारी अवस्थामा राखेको उनको भनाई छ । सन् २०१६ मा दुर्घटनाग्रस्त रुसी विमानको बारेमा लेखेपछि आफूले ज्यान मार्ने धम्की पाएको र त्यसपछि रुस छोडेको अर्काडी बबचेन्को बताएका थिए । उनी पहिले चेक गणतन्त्रको प्राग गएका थिए, त्यसपछि मात्रै किएभ आएका हुन् । उनले रुस सरकारको आलोचना गर्दै आएका छन् । पूर्व युद्ध रिपोर्टर बबचेन्कोले किएभमा युक्रेनको टेलिभिजन च्यानल एटिआर टिभीमा प्रस्तोताको रुपमा काम गर्दै आएका छन् । एजेन्सीको सहयोगमा

प्रदेश ७ राजधानीमा डोजर लगाएर होर्डिङ बोर्ड हटाउने अभियान शुरु

धनगढी, जेठ १७ । कैलालीको धनगढी उप–महानगरपालिकाले कुरुप नै हुने गरी राखिएका ठेलाछाप्रा र होर्डिङ बोर्ड हटाउने अभियान शुरु गरेको छ । उपमहानगरपालिका मेयर, वडा अध्यक्षलगायतका जनप्रतिनिधिको सहभागितामा आजदेखि अभियान शुरु गरिएको हो । बजार क्षेत्रमा अव्यवस्थित तरिकाले राखिएका ठेलाछाप्रा र होर्डिङ बोर्ड आज उपमहानगरपालिकाले डोजर लगाएर हटाउन शुरु गरेको छ । तत्कालका लागि धनगढी चौराहादेखि क्याम्सप चौकसम्ममा राखिएका होडिङ वोर्ड तथा खोकाछाप्रा हटाईने अभियानका सयोजक तथा वडा नम्बर ३ का अध्यक्ष वल बहादुर ऐरले बताए । जथाभावी रुपमा होर्डिङ बोर्ड र ठेलाछाप्रा राख्दा धनगढी बजारको सौन्दर्यतामा नै ह्रास आएको छ ।

नेपालमा सुर्तीजन्य पदार्थकै कारण बर्सेनि २५ हजारको ज्यान जान्छ

काठमाडौं, जेठ १७ । सुर्तीजन्य पदार्थको सेवन र हृदयरोगको सम्भावना भन्ने नाराका साथ आज विश्व धूमपान तथा सुर्ती रहित दिवस मनाइँदैछ । धूमपानका कारण हुने क्षति न्यूनिकरण र सुर्तीजन्य पदार्थको नियन्त्रण गर्ने उद्धेश्यले विश्व स्वास्थ्य संगठनको आह्वानमा मे ३१ तारिखमा यो दिवस मनाउने गरिन्छ । सुर्तीजन्य पदार्थको प्रयोग घटाउन सके ११ प्रतिशत मृत्यु घटाउन सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा सुर्तीजन्य पदार्थकै कारण बर्सेनि २५ हजारभन्दा बढी मानिसको ज्यान जाने गरेको सरकारी तथ्याङ्क छ । चुरोट सुर्तीले खानेलाई मात्र नभएर यसको आसपासमा बस्नेलाई पनि असर गर्छ । धूमपान गर्ने धेरैजसोलाई फोक्सो र मुखको क्यान्सर हुने गरेको छ भने पछिल्लो तथ्याङले कलेजोमा पनि असर पर्ने देखाएको छ । गर्भवती भएका बेला सूर्ती तथा चुरोट खाँदा पेटमा भएको बच्चाको कलेजो बिगार्ने अनुसन्धानकर्ताले बताएका छन् । सुर्तीजन्य पदार्थको प्रयोगले बर्सेनि हजारौँ मानिसले क्यान्सर, मुटु, हृदयाघात, स्ट्रोकजस्ता समस्याबाट ज्यान गुमाउने पनि सरकारले जनाएको छ ।

११ बजे संसद बैठक बस्दै

काठमाडौं, जेठ १७ । सरकारले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष ०७५–७६ को बजेटबारे छलफल गर्न व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । बैठक अहिले ११ बजे बस्न लागेको हो । सरकारले ल्याएको बजेटबारे संसदमा छलफल गरेर पारित गर्ने संवैधानिक प्रचलन छ । यही परम्परा अनुसार आजबाट संसद बैठक शुरु हुने र यो क्रम केही दिन चल्ने संसद् सचिवालयले जनाएको छ ।

विषालु सर्पको टोकाइबाट किशोरीको मृत्यु

लहान, जेठ १७ । विषालु सर्पको टोकाइबाट सिरहाको कल्याणपुर नगरपालिका–६, भोक्राहामा एक किशोरीको मृत्यु भएको छ । कमला नदीको बगरमा तारबुजा टिप्न गएको बेला विषालु सर्पले टोक्दा स्थानीय ततरा मियाँकी १६ वर्षीया छोरी अमिदा खातुनको मृत्यु भएको कल्याणपुर नगरपालिका–६ का वडाध्यक्ष मोतिबुल राइले जानकारी दिनुभयो । विषालु सर्पको टोकाइबाट सिकिस्त भएकी अमिदालाई उपचारका लागि अस्पताल लैजान खोजिए पनि तत्कालै एम्बुलेन्सको व्यवस्था नहुँदा उपचारको अभावमा मृत्यु भएको वडाध्यक्ष राइनले बताउनुभयो । रासस

वडाध्यक्ष नै पानीका लागि साँझ-बिहान भारतमा !

दाङ, जेठ १७ । गढवा गाउँपालिका ८ का वडाध्यक्ष सद्धाम सिद्दीकी खानेपानीका लागि दैनिक साँझ बिहान भारतीय भूमिमा पुग्छन् । उनीमात्र होइन, यस क्षेत्रका सबै स्थानीय खानेपानीका लागि भारतीय भूमिमा पुग्नुपर्छ । खानेपानीको समस्या छ त्यसैले म आफैं भारत गएर पानी ल्याउने गरेको छु वडाध्यक्ष सिद्दीकीले भने भारतमा गएर पानी ल्याउनुपर्दा अप्ठ्यारो लाग्ने गरेको छ । कोइलावासका स्थानीयलाई खानेपानीका लागि हिउँदको समयमा भारतको भर पर्नुपर्ने बाध्यता छ । अहिले कोइलावासमा रहेका कुवा तथा खोलासमेत सुकेको कोइलावास भन्सारका प्रमुख ओमप्रकाश केसीले बताए । खबर आजको कारोबार दैनिकमा छ ।

शारीरिक सम्पर्क गर्दा महिलाको ज्यान गयो

रुकुम, जेठ १७ । मुसिकोट शहीद मैदानमा मंगलबार बिहान फेला परेको एक महिलाको शवको परीक्षण गर्दा शारीरिक सम्पर्क गर्ने क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर–६, घर भएकी ३८ वर्षीया एक महिलाको यौन सम्पर्क गर्ने क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले बताएको हो । प्रहरीले हत्याको अभियोगमा मुसिकोट नगरपालिका–१, निवासी १९ वर्षीय अमरबहादुर बादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार पक्राउ परेका बादीले राति आफ्नै डेरामा ल्याई शारीरिक सम्पर्क गर्ने क्रममा महिलाको ज्यान गएको र मृत्यु पश्चात शव बोकेर नजिकैको नालामा फालेको स्वीकार गरेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषिकुमार ढुँगानाको नेतृत्वमा गएको प्रहरी टोलीले अनुसन्धानपछि अमरबहादुर बादीलाई पक्राउ गरेको थियो । उनलार्ई कर्तव्य ज्यान अन्तर्गत मुद्धा चलाइएको प्रहरीले जनाएको छ । नेपाल समाचारपत्रमा खबर छ ।

राष्ट्रपति भण्डारीसँग बिम्स्टेक महासचिवको भेट

काठमाडौं, जेठ १६ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग दक्षिण एशिया तथा दक्षिण पूर्वी एशियाका सात सदस्य राष्ट्रको संगठन ९बिम्स्टेक० का महासचिव सहिदुल इस्लामले आज शिष्टाचार भेट गर्नुभयो । राष्ट्रपति भवन शीतल निवासमा भएको उक्त भेटवार्तामा बिम्स्टेक प्रक्रियालाई प्रभावकारी बनाई सदस्य राष्ट्रबीच क्षेत्रीय सहयोग अभिवृद्धि गर्ने विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले जानकारी दिनुभयो । उक्त भेटमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको थियो ।

सम्वन्ध विच्छेद गरेको एक महिना नवित्दै फेरि उहि श्रीमान चाहिएपछि…

गुल्मी, जेठ १६ । कतिपयले महिला अधिकारको दुरुपयोग गर्दै आफैले आफूलाई विचलित पार्दै गएका छन् । गुल्मीकी एक महिलाले अघिल्लो महिना आफू श्रीमानको ज्यादती सहन नसकेको भन्दै जिल्ला अदालत गुल्मीबाट सम्वन्ध विच्छेद गरेकी थिइन । फेरि अहिले एक महिना नपुग्दै उनै महिलाले श्रीमान संग पुनः नाता कायम गरी पाउँ भनि फिराद जाहेरी दिएको जिल्ला अदालतका श्रेस्तेदार दुर्गाप्रसाद वस्यालले जानकाकारी दिए । ‘उनका वालवालिकामा नकरात्मक असर नपरोस भनि उनिहरु श्रीमान श्रीमतिको नाम गोप्य राखिएको छ,– श्रेस्तेदार बस्यालले भने–‘ प्रवेशिका परिक्षा दिएका एक छोरा सहित उनि दुई सन्तानकी आमा हुन ।’ हामीले र उनका श्रीमानसहितका परिवारले सम्वन्ध विच्देद नगर भनेर निकै सम्झाईयो तर पनि उनले उति वेला मानिन , अहिले एक महिना नपुग्दै पुनः उसै श्रीमान संग नाता कायम गरी पाउँ भनि फिराद दिएकी छन्’– बस्यालले भने । बैशाख ७ गते उनिहरु विच मेलमिलापमा सम्वन्ध विच्छेद भएको थियो भने जेठ ११ गतेका दिन फेरि उनै महिलाले नाता कायम गरी पाउँ भनि फिराद दिएको त्यस अदालत प्रशासन तथा रजिष्टेशन शाखा प्रमुख ना।सु। सिता घिमिरेले जानकारी दिईन । घर परिवारको सहमति विना केहि वर्ष देखि अर्को जिल्लामा वसेर एक व्यापार–व्यवसाय समूहमा वसेको बताउँने उनले त्यहाँबाट फर्केपछि आफू श्रीमानसंग सम्वन्ध विच्छेद गरी स्वतन्त्र रुपमा उक्त ब्यवसाय चलाउने भन्दै एक पैसा नलिई सम्वन्ध विच्छेद गर्छु भनेर मुद्धा दायर गरेकी थिईन । उनी ३५ वर्षीया शिक्षित महिला हुन । श्रेस्तेदार बस्याल भन्छन् अंश नलिई सम्वन्ध विच्छेद गरिदैन भनेर हामीले अर्को मुद्धा लेख्न लगायौं, उनका श्रीमानले सम्वन्ध विच्छेद नगर , हिड घर जाउँ भनेर धेरै पटक कर गरे । छोराहरु रोएर आमा त्यसो नगर्नुस भनेर हात जोडे । फोनमा हामीले उनकी आमालाई समेत सम्झाउन लगाऔं । तर कसैको केहि सिप लागेन अन्ततः विना पैसा सम्वन्ध विच्छेद गरेकी हुन् । सम्वन्ध विच्छेद नगर्न सम्झाउनेहरु मध्येकी एक अधिकारकर्मीले भनिन्–‘ महिलालाई अधिकार अलि बढि नै भएको हो कि भन्ने महशुस पनि गरेका छौं । आफू खुशी अन्यत्रै गएर आत्मानिर्भर पनि हुन पाउनु पर्छ भन्ने र फेरि उता तालमेल निमिलेपछि उहि श्रीमानसंग नाता कायम गरी पाउँ भन्नु महिलालाई प्राप्त अधिकार आफु खुशी प्रयोग गर्न खोज्नु हो ।’ सम्वन्ध विच्छेद गरेको केहि दिनपछि वकिल र अदालतले आफुलाई झुक्काएर सम्वन्ध विच्छेद गराएको आरोप लगाउँदै आफु विक्षिप्त भएर न्याय खोज्न आएको अधिकारकर्मी ती महिलाहरुले भनेकी थिईन । अधिकारकर्मीहरुले सञ्चारकर्मीहरुलाई समेत बेलाएर उनिसंग साक्षत्कार गराएका थिए । उक्त समयमा महिलाले रुदै गलाअवरुद्ध पारेकी थिईन । श्रीमानले आफुसंग पशुतुल्य यौनहिंसा गर्ने गरेकोले आफु विक्षिप्त भएको समेत बताएकी थिईन । पछि अधिकारकर्मीसहित अदालतमा बुझ्न जाँदा अदालतले उनका लागि निकै प्रयास गर्दा पनि उनले बरु आफु जोगी भएर हिड्छु , एक पैसा नलिई सम्वन्ध विच्छेद गर्छु भनेर ढिपी नछाडेको पाईयो । ती महिला बढि महत्वकांक्षी बनेर कसैको लहडमा लागेर आवेशमा आई सम्वन्ध विच्छेद गरेको तर जव सम्वन्ध विच्छेद भयो तव उनि न यता नउताको अवस्थामा पुगेपछि फिराद दायर गरेकी जानकारहरु बताउँछन् । साझा सबालबाट