बालकृष्ण ढुङ्गेल आममाफी दिने विरुद्धको मुद्दाको सुनुवाइ भोलि

काठमाडौं, जेठ १३ । कर्तव्यज्यान मुद्दामा सजाय भोगिरहेका बालकृष्ण ढुङ्गेललाई आममाफी दिने गरी सरकारले गरेको भनिएको निर्णयविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतमा सोमबार सुनुवाइ हुने भएको छ ।

न्यायाधीश चोलेन्द्र शम्शेर राणा र हरिकृष्ण कार्कीको संंयुक्त इजलासमा आज सुनुवाइ तय भएपनि न्यायाधीश कार्कीले पीडितको पक्षबाट यसअघि नै मुद्दा हेरेको हुनाले सो मुद्दामा फैसला गर्न नमिल्ने उल्लेख गरेपछि मुद्दामाथि सुनुवाइ सोमबारका लागि पेशी तोकिएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले ढुंगेललाई गणतन्त्र दिवसका अवसरमा आममाफी दिने सरकारी निर्णयलाई रोक्न माग गर्दै सर्वोच्च अदालतमा बिहीबार रिट निवेदन दायर गर्नुभएको थियो ।

न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले शुक्रबार ढुंगेललाई माफी दिनुको कारणसहित २४ घन्टाभित्र दुवै पक्षलाई छलफलका लागि आज बोलाएको थियो ।

विद्यालय भवन पुनःनिर्माणका लागि रु एक करोड सहयोगमा

म्याग्दी, जेठ २ । आगलागीबाट क्षतिग्रस्त भएका एक विद्यालयको पुनःनिर्माणका लागि कोरियाली संस्थाले रु एक करोड आर्थिक सहयोग प्रदान गरेको छ । एक वर्ष अघि आगलागीबाट क्षतिग्रस्त भएका म्याग्दी बेनी नगरपालिका–४ डाँडाखेतस्थित बालमन्दिर आधारभूत विद्यालयको भवन पुनःनिर्माणका लागि दक्षिण कोरियाका ग्लोबल एजुकेशन फर रिपब्लिक अल फाउण्डेशनले सो रकम सहयोग गरेको हो । कोरियामा रहेका म्याग्देलीको सक्रियतामा फाउण्डेशनले उक्त विद्यालयको दश कोठे भवन निर्माणका लागि सो रकम सहयोग गरेका हुन् । फाउण्डेशनका अध्यक्ष छो थे याङ र वडाध्यक्ष गोविन्दप्रसाद पौडेलले मंगलबार एक समारोहमा विद्यालय भवनको शिलान्यास गर्नुभयो । सो अवसरमा फाउण्डेशनका अध्यक्ष याङले विद्यालय भवन जलेर नष्ट भएपछि विद्यार्थीहरु खुल्लाचौरमा पढ्दै गरेको तस्वीरले आफू स्तब्ध भएको उल्लेख गर्दै “विद्यालयका लागि समुदायले पनि धेरै गर्नुभएको छ, हामीले पनि आफ्नो क्षेत्रबाट सहयोग गर्नेछौँ” भन्नुभयो । विद्युत् सर्ट भएर आगलागी भएपछि विद्यालय भवन पुनःनिर्माणका लागि आर्थिक सहयोग संकलन अभियानमा सक्रिय रहनुभएका विद्यालयका पूर्वविद्यार्थी एंव एनआरएनए एशिया प्यासिफिक क्षेत्रीय उपसंयोजक विनोद कुँवर र उहाँकी भाइबुहारी संगीता कार्की कुँवरको पहलमा फाउण्डेशनले सो रकम सहयोग गरेको विद्यालयका प्रधानाध्यापक रामप्रसाद पौडेलले बताउनुभयो । आगलागीबाट कक्षा कोठा, कार्यालय, कम्प्यूटर ल्याब र पुस्तकालयसहित आठ कोठे दुई तले भवन पूर्णरुपमा जलेर नष्ट हुँदा रु ९२ लाख मूल्य बराबरको क्षति भएको थियो ।

२ किलोग्राम सुनसहित दुई भारतीय पक्राउ

भीमदत्तनगर । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीको टोलीले आज बिहान पश्चिमी नाकामा ४९६ ग्राम सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको हरियाणाका जीतेन्द्र सैनी र सुरेशकुमार रहेको कञ्चनपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कञ्चनपुर भन्सार कार्यालयका प्रमुख मदन दाहालले भन्सारको टोलीले सुनसहित भारतीय नागरिक पक्राउ गरेको र ती अभियुक्तलाई भन्सार ऐन–२०६४ अनुसार कारबाही गरिने बताउनुभयो । काठमाडौँबाट गड्डाचौकी हुँदै भारतीय नम्बर प्लेटको एच आर १२ एच ०००६ नं को जिपमा भारततर्फ जाँदै गर्दा भन्सार टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियोे । प्रहरीका अनुसार पक्राउ परेका अभियुक्तले सुन काठमाडौँंबाट खरिद गरेर ल्याएको प्रारम्भिक बयान दिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ । रासस

दुर्घटनाग्रस्त भेटियो मकालु कार्गो विमान

सुर्खेत । सुर्खेतबाट हुम्लाको सिमीकोटका लागि उडेपछि सम्पर्कविहिन भएको मकालु एयरको कार्गो विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । सुर्खेत विमानस्थलबाट हुम्लाको सिमीकोटका लागि आज बिहान ६ः१६ बजे उडेको मकालु एयरको ढल् ब्ग्व् कार्गो विमान हुम्लाको खार्बुनाथ गाउँपालिकाको बाहुनखर्कमा दुर्घटना भएको हो । विमान टुक्राटुक्रा भएको र विमानमा सवार चालक दलका दुई सदस्यको निधन भएको कर्णाली प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुरेशविक्रम शाहले जानकारी दिनुभयो । विमानमा चालक दलका दुई सदस्यमध्ये एकजना किरण भट्टराई रहेका र अर्का सदस्यको नाम नखुलेको उहाँले बताउनुभयो । रासस

कर्णाली राजमार्गबाट डोल्पामा गाडी पुग्दा…

डोल्पा, वैशाख ३१ । जगदुल्ला गाउँपालिका कर्णाली राजमार्गसँग जोडिएको छ । छिमेकी जिल्ला जुम्लासम्म पुगेको कर्णाली राजमार्गबाट जगदुल्ला गाँउपालिकामा पहिलो पटक जीप पुगेको छ । जुम्लाको सिमानामा पर्ने जगदुल्ला गाउँपालिकामा पहिलो पटक छिमेकी जिल्ला जुम्लाबाट बा १९ च १६६८ नंको जिप पुगेपछि स्थानीयवासीले खुशी हुँदै स्वागत गरेको र जीप हेर्नेहरुको भीड लागेको स्थानीयवासी हरिबहादुर शाहीले बताउनुभयो । साविकको रिमी र काइगाउँ गाविस मिलेर बनेको जगदुल्ला गाउँपालिकामा कर्णाली राजमार्गमा जोडिने डोल्पाको पहिलो स्थानीयतह भएको जगदुल्ला गाउँपालिकाका अध्यक्ष नारासिंह रोकायालेले बताउनुभयो । “ठूलो प्रयासबाट जगदुल्ला गाउँपालिकालाई जीप सञ्चालन कर्णाली राजमार्गमा जोड्न सफल भयौँ, अबको केही महीनामा साना मालवाहक गाडी पनि सञ्चालनमा आउने छन्” अध्यक्ष रोकायले भन्नुभयो । जुम्ला र डोल्पाको सिमानामा पर्ने मौरे लेकबाट त्रिपुरासुन्दरीसम्मको ७२ किलोमिटर सडकखण्ड हाल निर्माणाधीन छ । नेपालगञ्जबाट लामो दूरीमा पर्ने भए पनि कर्णाली राजमार्गमा जगदुल्ला गाउँपालिका जोडिएपछि स्थानीयवासीलाई दैनिक उपभोग्य सामान सस्तो हुने र यात्राका लागि पनि सहज हुनेछ ।

आँधीबेहरीबाट धनजनमा ठूलो क्षति

धनगढी, वैशाख ३१ । आइतबार राति कैलालीमा चलेको भीषण आँधीबेहरीका कारण धनमालको ठूलो क्षति पुगेको छ । झन्डै आधा घन्टासम्म चलेको आँधीबेहरीका कारण कच्ची घरको धुरी ९बल्ली० खस्दा त्यसमा च्यापिएर गौरीगङ्गा नगरपालिकाकी ५६ वर्षीया चारुमति बुढाको मृत्यु भएको हो । यसैगरी आँधीबेहरीका कारण कैलारी गाउँपालिका हसुलियाकी २१ वर्षीया बेदनिया चौधरी र ४० वर्षीया शोभा चौधरी घाइते भएकी छिन् । घाइतेलाई सेती अञ्चल अस्पतालमा उपचारार्थ भर्ना गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेको स्वास्थ्य अवस्था खतरामुक्त रहेको जनाएको छ । प्रहरीले दिएको क्षतिको विवरणअनुसार गौरीगंगा नगरपालिकाको एक घरगोठमा भएको आगलागीमा जलेर एक चौपाया र मसुरियामा अर्को एक चौपाया मरेको छ । आँधीबेहरीका कारण चुरेपहाडी क्षेत्र सुगरखालमा २१ कच्ची घर र चार विद्यालयको छाना उडाएको छ । यस्तै मालाखेतीमा २० घर र तीन विद्यालय, टीकापुरमा आठ, मोहन्यालमा १००, मसुरियामा १३, वर्दगोरिया र भजनीमा एक÷एक घर तथा एक विद्यालय, धनगढीमा ३८ घर र एक विद्यालयको छाना उडाइ क्षति पु¥याएको छ । यस्तै धनगढीको विशालनगर र मोहनपुर क्षेत्रका तीन वटा कुखुरा फार्मका सात हजारभन्दा बढी कुखुराका चल्ला र ठूलो संंख्याका ब्रोइलर कुखुरा नष्ट भएका छन् । आँधीले रुख ढलाएपछि आन्तरिक मामिला तथा कानून मन्त्रालय परिसरका फलामे बारमा क्षति पु¥याएको छ । वर्षासहितको आँधीबेहरीले धनगढीमा रहेको धनगढी एफएम र जनआवाजको टावर ढलेर क्षति पुगेपछि एफएमको प्रशारण बन्द भएको छ । नेपाल विद्युत् प्राधिकरण धनगढीका अनुसार, आँधीबेहरीले धनगढी र आसपासका क्षेत्रमा झण्डै ४० लाख मूल्य बराबरका १८० वटा बिजुलीका खम्बा र तार चुँडिएर क्षति पुगेको जानकारी दिनुभयो । विद्युत्मा पुगेको क्षतिसँगै जिल्लामा गए रातिदेखि नै विद्युत आपूर्ति बन्द भएको छ । यस्तै गएरातिदेखि नै अवरुद्ध टेलिफोन र मोबाइल फोन सेवा अझैसम्म पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन । आँधीबेहरीले रुख र हाँगा खसेरअवरुद्ध भएका केही क्षेत्रका सडकमा दिउँसोसम्म आवागमन नियमित बनाइएको छ । आँधीबेहरीले आँप लिची केरा खेती पनि नष्ट भएको छ । तीन दशकयताको सबैभन्दा ठूलो आँधीबेहरी भएको महसुस गरिएको स्थानीय चेतराज जोशीले बताउनुभयो । क्षतिको विस्तृत विवरण आउन भने बाँकी रहेको छ ।

मुग्लिन–नारायणगढको काम अझै सकिएन, समय थप्न निर्माण कम्पनीको माग

चितवन, वैशाख ३१ । नारायणगढ–मुग्लिन सडक आयोजनाको काम चौथोपटक मिति थप गर्दा पनि सम्पन्न हुन सकेको छैन । निर्माण कम्पनीहरुले पुनः मिति थपका लागि माग गरेका छन् । चौथो पटकको मिति थपअनुसार पहिलो खण्डको १० मे २०१८ मा मिति सकिएको छ भने दोस्रो खण्डको ६ दिन र तेस्रो खण्डको १६ दिन बाँकी रहेको छ । यसअघि मिति थप हुँदा दोस्रो खण्डका लागि २० मे २०१८ र तेस्रो खण्डका लागि ३० मे २०१८ सम्मको समय दिइएको थियो । सो आयोजनाको परामर्शदाता कम्पनीका आवासीय इञ्जिनियर पुष्कर रेग्मीका अनुसार हालसम्म समग्रमा ८६.३८ प्रतिशत काम सम्पन्न भएको छ । पहिलो खण्डको ८३.३ प्रतिशत, दोस्रो खण्डको ९५.७३ प्रतिशत र तेस्रो खण्डको ८०.१३ प्रतिशतमात्रै काम सम्पन्न भएको छ । सो सडकको पहिलो खण्डको कालोपत्रे ४०० मिटर बाँकी छ भने दोस्रो खण्डको कालोपत्रेको पहिलो तह सम्पन्न भइसकेको छ । तेस्रो खण्डको एक हजार ८०० मिटर कालोपत्रे गर्न बाँकी रहेको रेग्मीले बताए । पहिलो खण्ड बिएलए–श्रेष्ठ जेभीले थप ४०० दिन समय माग गरेको छ । समय सकिनु एक साताअघि थप मिति चाहिएमा माग गर्नुपर्ने हुन्छ । दोस्रो खण्ड उड हिल–लामा जेभीले थप ४० दिन अर्थात् जुन मसान्तसम्मको समय माग गरेको छ । तेस्रो खण्ड सुप्रिम–रौताहा जेभीले मिति थप मागिसकेको छैन । सो खण्डको मिति ३० मेमा सम्पन्न हुँदैछ । पहिलो र दोस्रोले थपिएको समयमा पनि पानी परेको, बन्द भएको, सडक जामका कारण काम गर्न नपाएको, काम थपिएको र पहिले थप मागेअनुरुप समय नपाएकाले मिति थप गर्नुपर्ने कारण देखाएको रेग्मीले बताए । उनका अनुसार यही गतिमा काम भएमा जुन अन्त्यसम्ममा सडक सुरक्षाबाहेकका काम सकिने देखिएको छ । सडक सुरक्षाका लागि बढीमा १५ दिन समय लाग्ने उनले बताए । यद्यपि उनीहरुले कति समय थप पाउँछन् सम्झौतामा उल्लेख भएअनुसार सिफारिस गरिने उनले बताए । नारायणगढ–मुग्लिन सडक आयोजनाका डिभिजनल इञ्जिनियर गोविन्द खनालले चौथो पटकको मिति सम्पन्न भएको भन्दै सम्झौताअनुरुप के कति समय थप पाउने वा नपाउने परामर्शदाता कम्पनीबाट आएपछि भन्न सकिने बताए । सम्झौताभन्दा बढी समय उनीहरुले नपाउने बताउँदै उनले पछिल्लो समय कामले भने गति लिएको बताए । सन् २०१५ को अप्रिलमा २४ महिनामा सक्ने गरी ठेक्का दिइएको थियो । लगत्तै गएको भूकम्प, नाकाबन्दी र दुई वर्षसम्म वर्षात् बढी भएका कारण समय थप गरिँदै आएको छ ।

केशवनारायण चोकको पुनःनिर्माण असारसम्म सकिने

ललितपुर । पाटन दरबार क्षेत्रमा रहेको केशवनारायण चोकको पुनःनिर्माण आगामी असारसम्म गरिसक्ने तयारी भएको छ । काम धमाधम अघि बढेकाले अब दुई÷तीन महिनासम्ममा सकिने पाटन सङ्ग्रहालयले जनाएको छ । सङ्ग्रहालयका कार्यकारी निर्देशक सुरेश लाखेले पश्चिम गाह्रोको काम सकिन लागेको बताउनुभयो । निरन्तर वर्षाका कारण छानाको काम भने रोकिएको छ । उहाँले भन्नुभयो, “वर्षा रोकिनासाथ छानाको काम गरिनेछ ।” दुई÷तीनदिनपछि उत्तर र दक्षिण गाह्रोको काम शुरु हुनेछ । सङ्ग्रहालय रहेको यो चोकको पुनःनिर्माणका लागि पहिले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले झण्डै रु ६३ लाख सहयोग गरेको थियो । उत्तर र दक्षिण भागको गाह्रो निर्माणका लागि रु ४२ लाखमा केही समय पहिलेमात्रै ठेक्का भएको छ । यसमा अष्ट्रेलीयाको युनिभर्सिटी अफ एप्लाइड साइन्सले आर्थिक सहयोग गरेको छ । अपुग पैसा भने सङ्ग्रहालय आफैँले पनि हाल्दैछ । कार्यकारी निर्देशक लाखेले भन्नुभयो, “हामी जसरी पनि चाँडो काम सकाउने तयारीमा छौँ ।” केशवनारायण चोकमा रहेको सङ्ग्रहालयलाई अहिले अस्थायी प्रदर्शनी कक्षमा राखिएको छ । चाँडो पुनःनिर्माण सकेर सङ्ग्रहालय पुरानै ठाउँमा सारिने जानकारी दिंदै उहाँले भन्नुभयो, “पुनःनिर्माण सकिएपछि दुई÷तीन महिनामित्र सजावट गर्नुपर्छ र त्यो सकाएर सङ्ग्रहालय सारिनेछ ।” गत पुस महिनाबाट यो चोकमा पुनःनिर्माण शुरु भएको हो । दरबार क्षेत्रकै मूल चोकमा पनि अहिले पुनःनिर्माणको काम भइरहेको छ । रासस

काठमाडौँमा ‘हिमालयन ट्राभल मार्ट’

काठमाडौँ । नेपाललाई हिमालय क्षेत्रको प्रवेश मार्गका रुपमा स्थापित गराई साहसिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले दोस्रो ‘हिमालयन ट्राभल मार्ट–२०१८’ आयोजना हुने भएको छ । हिमाली क्षेत्रको पर्यटकीय सम्भावनालाई उजागर गर्दै विश्व बजारमा प्रवद्र्धनार्थ आगामी जेठ १८ देखि २० (जुन १–३) सम्म काठमाडौँमा मार्ट हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । मार्टको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको होस्ट तथा नेपाल वायु सेवा निगमको साझेदारीमा नेपाल पर्यटन बोर्ड मुख्य आयोजक रहेको छ । मार्टको कार्यकारी आयोजक प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टर रहेको छ। मार्टमा विभिन्न २८ मुलुकका ५६ वटा बायर्सको सहभागिता रहनेछ । अन्तर्राष्ट्रिय सहभागिता १५० रहने र नेपालका व्यवसायीको उल्लेख्य सहभागिता रहने आयोजकले जनाएको छ । पहिलो पटक गतवर्ष आयोजना गरिएको मार्टमा ६० भन्दा बढी बिदेशी क्रेता र ५० भन्दा बढी क्षेत्रीय बिक्रेताको सहभागिता थियो। पत्रकार सम्मेलनमा बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपाललाई हिमालय क्षेत्रको मुख्य प्रवेश मार्गका रुपमा स्थापित गराउनाका साथै विश्वचर्चित ब्लगर्स, बायर्स र मिडियालाई जमघट गराई नेपाल प्रवद्र्धन गर्नु मार्टको मुख्य उद्देश्य भएको उल्लेख गर्नुभयो । अन्तरदेशीय व्यावसायिक जमघटले व्यवसाय प्रवद्र्धनका लागि सम्पर्क सञ्जाल विस्तार र पर्यटकको संख्या बढाउन तथा गन्तव्यको छविलाई सकारात्मक योगदान दिन मार्टले महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ छ । पाटा नेपाल च्याप्टरका अध्यक्ष सुनिल शाक्यले आगामी सन् २०३० सम्ममा ५० लाख पर्यटक पु¥याउने योजनालाई सार्थक तुल्याउन आगामी रणनीति तय गर्न पनि मार्ट सहयोगी सिद्ध हुने उल्लेख गर्नुभयो । उक्त मार्टका लागि करीब रु सात करोड खर्च हुने बताइएको छ । यसमा ४० प्रतिशत निजी क्षेत्रको साझेदारिता रहेको छ । सरकारी नीति नियम कार्यान्वयनमा सहजता र निजी क्षेत्रको साझेदारितालाई फराकिलो बनाई प्रभावकारी योजनाका साथ पर्यटकीय पूर्वाधार विस्तार र प्रवद्र्धनात्मक गतिविधि बढाउन सके लक्ष्य हासिल गर्न सम्भव हुने अध्यक्ष शाक्यले बताउनुभयो । मार्टको सम्पूर्ण तयारी पूरा भएको र यस पटक मार्टलाई विषय केन्द्रित बनाएर गुणस्तरीय बनाइने पाटा नेपालका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुढालले जानकारी दिनुभयो । उहाँका अनुसार मार्टको पहिलो दिन ‘द सस्टेनेवल रोड टू फाइभ मिलियन भिजिटर’ अवधारणाका साथ हिमालयन ट्राभल मार्ट कन्फरेन्स आयोजना गरिनेछ । दोस्रो दिन इन्टरनेश्नल ट्राभल ब्लगर्स एण्ड मिडिया कन्फरेन्स आयोजना गरिनेछ जहाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यावसायिक ब्लगर तथा मिडियाको सहभागिता रहनेछ । विधुतीय बजार, व्यापार प्रवद्र्धन लगायतबारे छलफल हुनेछ । मार्टको तेस्रो दिन बिटुबी सेसनमा विश्वका स्थापित बायर्ससँग नेपाली व्यवसायीको जमघटमा व्यावसायिक प्रवद्र्धनको अवसर मिल्नेछ । मार्टमा विश्व पर्यटन बजारका नयाँ तथा पुराना सशक्त टुर अपरेटरहरुलाई क्रेताका रुपमा आमन्त्रण गरी हिमालय क्षेत्रका टुर अपरेटर, ट्राभल एजेन्सी, होटल, एयरलायन्सलगायत अन्य पर्यटकीय सेवा प्रदायक बिक्रेता कम्पनीहरुसँग व्यावसायिक भेटघाटका साथै बिटुबी मिटिङको अवसर प्रदान गरिने आयोजकले जनाएको छ । रासस

अझै दुई दिन लगातार पानी पर्ने

काठमाडौँ । मनसुनी गतिविधि सक्रिय भएसँगै बाहिरी वायुको प्रभावका कारण आज देशैभर बदली र वर्षा भएको छ । पूर्व मनसुन (प्रि–मनसुन) गतिविधिसँगै बाहिरबाट आएको वायुले बदली र वर्षा गराएको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार भारतको उत्तर प्रदेश र विहार क्षेत्रमा न्यूनचापीय क्षेत्रको विकास तथा देशको पूर्वी क्षेत्रमा प्रवेश गरेको बंगालको खाडीको जलवाष्पयुक्त हावा र पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभावले समग्र भू–भागमा असर पुगेको छ । जसका कारण गएरातिदेखि आज दिउँसोसम्म बदली र वर्षा भएको हो । अहिले वर्षा रोकिए पनि मध्य र पूर्वी भेगमा बदली रहेको तथा आज राति र भोलि मंगलबार खासगरी पहाडी भेगमा वर्षा हुने मौसमविद् पौडेलको भनाइ छ । रातिदेखि शुरु भएको मौसमी प्रणाली बुधबारबाट क्रमिक सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार काठमाडौँमा २१ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा बढी नेपालगञ्जमा ३९, वीरेन्द्रनगरमा ३७, दाङमा ३५, सिमरामा ३२, पोखरामा ३५ मिलिमिटर वर्षा भएको छ । यस्तै, विराटनगरमा २२, ओखलढुंगामा २० र सबैभन्दा कम दिपायलमा दुई मिलिमिटर वर्षा भएको छ । आज काठमाडौँको न्यूनतम १५ र अधिकतम तापक्रम २६ डिग्रिसेल्सियस रहेको छ । रासस

औद्योगिक क्षेत्र विद्युत भार कटौती मुक्त : उद्योग व्यवसायी हर्षित

काठमाडौँ । घरायसी ग्राहकले गत वर्षको असोजदेखि नै नियमित रुपमा विद्युत् पाएपनि औद्योगिक क्षेत्रका ग्राहकले दैनिक तीन घण्टा विद्युत भार कटौतीको समस्या व्यहोर्दै आएका थिए । विद्युत्को मागको तुलनामा आपूर्ति कम भएपछि औद्योगिक क्षेत्रका ग्राहकलाई प्राधिकरणले नियमित रुपमा विद्युत् उपलब्ध गराउन सकेको थिएन । पछिल्लो पटक ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले विद्युत्भार प्रेषण केन्द्रको स्थलगत निरीक्षण गर्नुभयो र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतका अधिकारीलाई नयाँ सरकार आएको अनुभूति दिन तत्काल औद्योगिक क्षेत्रमा विद्युत्भार कटौती अन्त्य गर्न निर्देशन दिनुभयो । मन्त्री पुनको निर्देशन थियो, नयाँ सरकार, नयाँ व्यवस्था र नयाँ अपेक्षालाई पूरा गर्न नै भए पनि वैशाखको एकै दिन बाँकी रहँदासमेत औद्योगिक क्षेत्रमा विद्युत्भार कटौतीको अन्त्य गर्नुप¥यो । मन्त्री पुनको निर्देशनलगत्तै प्राधिकरणले आन्तरिक तयारी ग¥यो । कार्यकारी निर्देशक घिसिङका शब्दमा “औद्योगिक क्षेत्रलाई नियमित विद्युत् आपूर्ति गर्न सक्छौ कि सक्दैनौँ भनेर हामीले विभिन्न परीक्षण ग¥याँै । सोही परीक्षणको फलस्वरुप आज हामीले सफलता हासिल गरेका छौँ ।” प्राधिकरणले बढी विद्युत् माग हुने साँझको समयमा दैनिक तीन घण्टा औद्योगिक क्षेत्रमा विद्युत् कटौती गर्दै आएको थियो । कार्यकारी निर्देशक घिसिङका अनुसार आजदेखि औद्योगिक क्षेत्रले पनि नियमति चौबिसै घण्टा विद्युत् पाएका छन् । बढी विद्युत् माग हुने औद्योगिक क्षेत्रमा वीरगञ्ज र हेटाँैडा रहेका छन् । यस्तै, विराटनगर, भैरहवा र नेपालगञ्जमा समेत नियमित विद्युत् आपूर्ति गरिएको छ । वैशाखमा नै नियमित वर्षा भएकाले नदीमा पानीको मात्रा बढेको छ । पानीको मात्रामा भएको बढोत्तरीका कारण पनि विद्युत् उत्पादनमा वृद्धि भएको प्राधिकरणको भार प्रेषण केन्द्रले जनाएको छ । प्राधिकरणले हालसम्म ७६ जिल्लामा विद्युत् सेवा उपलब्ध गराएको छ । गत फागुन मसान्तसम्ममा प्राधिकरणको ग्राहक संख्या ३४ लाख ६५ हजार ८२२ पुगेको छ । कूल ग्राहकमध्ये ९४ प्रतिशत गार्हस्थ्य ग्राहकले ४१.८५ प्रतिशत विद्युत् उपभोग गरेका छन् । यस्तै, १.४ प्रतिशत औद्योगिक ग्राहकले ३५.६१ प्रतिशत विद्युत् उपभोग र ४.६ प्रतिशत अन्य ग्राहकले २२.५४ प्रतिशत विद्युत् उपभोग गरिरहेका छन् । प्राधिकरणका अनुसार हाल एक मेगावाट भन्दा माथिका ७३ परियोजनाले ९९५ मेगावाट विद्युत् उत्पादन गर्ने क्षमता राख्दछन् । यस्तै एक मेगावाट भन्दा कम क्षमताका १५ आयोजनाबाट ११ मेगावाट विद्युत् उत्पादन हुने क्षमता रहेको छ । यस्तै भारतबाट हाल ४५० मेगावाटको हाराहारीमा विद्युत् आयात भइरहेको छ । प्राधिकरणको एक मात्र जलाशययुक्त आयोजना कुलेखानी पहिलो र दोस्रोबाट नियमित रुपमा ९२ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । यस्तै प्राधिकरणको अर्ध जलाशयुक्त आयोजनाका रुपमा रहेको कालीगण्डकी ‘ए’बाट १४४ मेगावाट, मध्यमस्र्याङदीबाट ७० र चमेलियाबाट ३० मेगावाट विद्युत् उत्पादन भइरहेको छ । “नदीमा पानीको मात्रा बढ्दै गएका कारण हामीलाई औद्योगिक क्षेत्रको विद्युत्भार कटौतीका लागि सहज भएको हो”, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो । खोला तथा नदीमा वृद्धि भएको पानीको बहावका कारण नदी प्रवाही आयोजनाबाट विद्युत् उत्पादनमा भएको वृद्धि, अर्धजलाशययुक्त आयोजनाको कुशलतापूर्वक सञ्चालन, कुलेखानी जलाशययुक्त आयोजनाको उपयोग, संरचनागत सुधार र अपुग भारतबाट आयात गरी विद्युत्भार पूर्ण रुपमा अन्त्य गरिएको छ । उहाँले भन्नुभयो, “आजदेखि देशभरको विद्युत्भार कटौती इतिहास भएको छ ।” अहिले औद्योगिक ग्राहकको माग ३०० मेगावाटको हाराहारीमा रहेको घिसिङले जानकारी दिनुभयो । प्राधिकरणले २०७३ को तिहारको लक्ष्मीपूजाका दिनबाट परीक्षणका रुपमा काठमाडौँ उपत्यकालगायत मुलुकका प्रमुख शहरलाई विद्युत्भार कटौतीमुक्त गरेको थियो । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पुनले आफूहरुको सकारात्मक पहलका कारण औद्योगिक क्षेत्रका ग्राहकलाई पनि नियमित विद्युत् दिन सकिएको बताउनुभयो । “सरकारको घोषणा सफल भएको छ । यस अवसरमा अब प्रणालीको सुधार तथा अन्य प्राविधिक कामलाई समेत सँगसँगै लैजानुपर्ने आवश्यकता देखिएको छ । त्यसलाई पनि हामी सुधार गर्छौं ।” प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले मौजुदा प्रसारण तथा वितरण संरचनाको क्षमता र अवस्था, उत्पादन केन्द्र तथा प्रसारण÷वितरण प्रणालीमा आउनसक्ने प्राविधिक समस्या, मर्मत सम्भार एवं विकास निर्माणका कारण समय समयमा हुन सक्ने विद्युत् आपूर्तिको अवरोधलाई लोडसेडिङ नभनिदिन आग्रह गर्नुभयो । कम विद्युत् खपत गर्ने उपकरण चलाउन आग्रह प्राधिकरणले देशभर नै विद्युत्भार कटौतीको अन्त्य गरे पनि परम्परागत प्रसारण प्रणाली तथा बढी विद्युत् माग हुने समयमा प्राविधिक कठिनाइ तथा जटिलताका कारण समस्या आउने भन्दै त्यसमा सचेतता अपनाइदिन आग्रह गरेको छ । प्राधिकरणले ‘बिहान र बेलुकाको बढी विद्युत् माग हुने समयमा अधिकतम विद्युत् खपत हुने विद्युतीय उपकरण प्रयोग नगरिदिन र अन्य समयमा पनि ऊर्जा कम खपत गर्ने उपकरण प्रयोग गरी ऊर्जा बचतमा सहयोग गर्न अनुरोध गरेको छ । उद्योगी–व्यवसायी खुशी प्राधिकरणले औद्योगिक क्षेत्रमा समेत विद्युत्भार कटौतीमुक्त घोषणा गरेपछि उद्योगी व्यवसायी खुशी भएका छन् । उनीहरुले आगामी दिनमा औद्योगिक उत्पादन बढ्ने र रोजगारीको अवसरमा बढोत्तरी हुने तथा उत्पादकत्वमा वृद्धि हुने भन्दै हर्षित भएको प्रक्रिया दिएका छन् । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले उद्योगी व्यवसायीले लामो समयदेखि राख्दै आएको माग पूरा भएको बताउनुभयो । “हामीले राजनीतिक स्थिरता र विद्युत्भार कटौतीको अन्त्य गर्न लामो समयदेखि माग गर्दै आएका थियौ । ती दुवै माग पूरा भएका छन् । अब औद्योगिक वातावरण बन्छ र आर्थिक विकासको युग पनि प्रारम्भ हुन्छ,” उहाँले भन्नुभयो । उहाँले प्रसारण तथा वितरण प्रणालीमा सुधार, तथा प्राधिकरणका तर्फबाट गर्नुपर्ने अन्य प्राविधिक कामसमेत समयमै गरिदिए सुनमा सुगन्ध हुने प्रतिक्रिया दिनुभयो । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका औद्योगिक क्षेत्रमा पनि विद्युत् कटौती नहुने व्यवस्था लागू भएकामा खुशी व्यक्त गर्नुहुन्छ । उहाँले नियमित विद्युत् आपूर्ति तथा प्राविधिक रुपमा देखिएका कमी कमजोरीसमेत समयमै सुधार गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । पूर्वअध्यक्ष मुरारकाले विद्युत् जाँदैन भनेर गराइएको विश्वास नै आफैँमा महत्वपूर्ण रहेको बताउनुभयो । हावाहुरीले दियो तनाव प्राधिकरणले औद्योगिक क्षेत्रको विद्युत्भार कटौती अन्त्य गरेको आइतबार साँझ नै हावाहुरीका कारण तराई मधेशका केही स्थानमा वितरण प्रणालीमा समस्या पैदा भएको छ । हावाहुरीका कारण तराइ क्षेत्रमा मात्रै १०० मेगावाट विद्युत्को माग छ । प्राधिकरणका अनुसार महेन्द्रनगरबाट शुरु भएको समस्या कोहलपुर हुँदै पूर्वमा दुहबी र अनारमनीसम्म पुगेको छ । हुरीबतासले बिगारेको विद्युत् प्रणाली मर्मतसम्भार तथा सुधार गर्न सबै क्षेत्रमा प्राधिकरणले प्राविधिक टोली परिचालन गरेको र केही स्थानमा समस्यासमेत समाधान भइसकेको जनाएको छ । रासस

पहिरोले अवरुद्ध पृथ‍्बी राजमार्ग सुचारु

मलेखु, वैशाख ३१ । केही दिनदेखिको वर्षाका कारण राजमार्गमा बाढी र पहिरोसमेत बगेर अवरुद्ध हुने क्रम बढेको छ । सोमबार बिहान गजुरी गाउँपालिकाअन्तर्गत जरेखेतमा सडक माथिबाट पहिरो र लेदो माटो आउँदा राजमार्ग अवरुद्ध भयो । पूर्वपश्चिम जान लागेका यातायातका साधन बाटोमा ३ घण्टा रोकियो । गजुरीबाट डोजर लगेर सडक सफा गरेपछि राजमार्ग सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाले जानकारी दिनुभयो । राजमार्गबाट शाखा सडक खन्दा आधारभूत मापदण्ड पूरा नगरेका कारण शाखा बाटोमा निकालिएको माटो पहिरोका रुपमा परिणत भई राजमार्गमासमेत क्षति पु¥याएकाले शाखा सडक निर्माण गर्दा ध्यान पु¥याउनुपर्ने भएकाले गाउँपालिकाले योजना सञ्चालनमा समेत विशेष ध्यान दिने गजुरी गाउँपालिका उपाध्यक्ष सीता ढुंगानाले बताउनुभयो । सो क्षेत्रमा केही दिनअघि पनि सडक माथिबाट आएको लेदो पहिरोले राजमार्ग अवरुद्ध भएको थियो । राजमार्गमाथि खनिएका शाखा सडक पहिरो नजाने गरी निर्माण गर्नुपर्ने र वातावरणीय पक्षलाई समेत ध्यान दिनुपर्ने जरेखेतबासीको भनाइ थियो । रागमार्ग क्षेत्रमा रहेको धुनीबेशी नगरपालिका, गल्छी, थाक्रे, गजुरी र बेनिघाटरोराङ गाउँपालिका क्षेत्रबाट २०० भन्दा बढी शाखा सडक खनिएको देखिन्छ । शाखा सडक निर्माण गरिएको हरेक स्थानमा राजमार्ग भत्किएको छ ।

भारतीय पाठ्यपुस्तक पढाउने स्कूललाई कारबाही

दमक, वैशाख ३१ । सरकारी स्वीकृतबिनाका भारतीय पाठ्यपुस्तक पठनपाठन गराएको अभियोगमा झापा दमकको एक विद्यालयसंग स्पष्टीकरण मागिएको छ । दमक–६ स्थित सूर्योदय अंग्रेजी बोर्डिङ स्कूलले आफूखुशी भारतीय पाठ्यपुस्तक पठनपाठन गराएको भन्दै नगरपालिकाको शिक्षा समितिले सो स्कूललाई कारवाहीको प्रक्रिया अगाडि बढाएको हो । नेपाली राष्ट्रियतामाथि आँच हुनेखालका भारतीय पाठ्यपुस्तक पठनपाठन गराउँदै आएको गुनासो आएपछि समितिले आज स्कूल अनुगमन गरेको थियो । अनुगमनपछि समितिले स्कूललाई २४ घण्टे स्पष्टीकरण सोधेकोे शिक्षा अधिकृत शालिग्राम काफ्लेले जानकारी दिनुभयो । स्कूलले १ देखि कक्षा १० सम्म अधिकांश भारतीय पब्लिकेशनका पुस्तक पढाउँदै आएको छ । स्कूलले आफूले पढाउने पुस्तकको विषयमा शिक्षा कार्यालयमा जानकारी गराउनु पर्ने भए पनि हालसम्म त्यसो नगरेको उहाँले काफ्लेले बताउनुभयो । तोकिएको समयभित्रमा स्पष्टीकरण चित्तबुझ्दो नदिए विद्यालय बन्द गर्नेसम्मको कारवाही हुन सक्ने जानकारी दिंदै शिक्षा अधिकृत काफ्ले उक्त स्कूलले आधारभूत तहमा भारतको दिल्लीस्थित इडुहेरल्स पब्लिकेशनका ‘इङ्लिस कन्भरसेसन’का पुस्तकमा राष्ट्रियतामाथि नै आँच आउने किसिमका शैक्षिक सामग्री फेला परेको उल्लेख गर्नुभयो । त्यस पुस्तकमा भारतको झण्डा, आफ्नो जन्मभूमि भारत हो, हाम्रो राष्ट्रिय झण्डाजस्ता पाठ्यसामग्री समावेश गरिएको पाइएको जानकारी दिंदै उहाँले भन्नुभयो, “स्वीकृतबिनाका पाठ्यपुस्तक पढाएको स्कूल प्रशासनले स्वीकार गरेको र त्यस्ता पुस्तक आजदेखि हटाउने प्रतिबद्धता जनाएको छ।” अनुगमनमा नगरपालिकाकी उपप्रमुख गीता अधिकारीसहितका शिक्षा समितिको एक टोली खटिएको थियो । दमक नगरभित्र २१ वटा सामुदायिक र ५९ वटा संस्थागत विद्यालय छन् ।

प्रहरीको स्कर्टिङ टोलीमाथि आक्रमण गरी विप्लव समूहले आफ्ना कार्यकर्ता छुटायो

डोल्पा । नेपाल बन्दको सिलसिलामा आइतबार पक्राउ परेका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वका नेकपा डोल्पाका कार्यकर्तालाई लैजनान लागेको प्रहरीको स्कर्टिङ टोलीमाथि सोही दलका अन्य कार्यकर्ताले आक्रमण गरी आज छुटाएर लगेका छन् । नेपाल बन्दका क्रममा बजार बन्द गराउँदै हिँडेको अवस्थामा त्रिपुरासुन्दरी नगरपालिकाअन्तर्गत पर्ने त्रिपुराकोट बगरबजारबाट डोल्पा मुड्केचुला गाउँपालिका–९ घर भएका उक्त दलका जिल्ला सदस्य सागर शाहीलाई त्रिपुराकोट प्रहरीले पक्राउ गरेर राखेको थियो । आज बिहानै त्रिपुराकोट प्रहरी चौकीबाट स्कर्टिङ गरेर सदस्य शाहीलाई जिल्ला प्रहरी कार्यालय दुनैतर्फ लैजाँदै गर्दा ठूलीभेरी नगरपालिका–९ अन्तर्गत पर्ने भेत्तिडाँडोमा उक्त दलका जिल्ला इन्चार्ज अजित विष्टको नेतृत्वमा आएको पाँचजनाको समूहले प्रहरी हवल्दार धनसिं कठायत र प्रज जयलाल बस्नेतमाथि आक्रमण गरी छुटाएर लगेको प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले बताउनुभयो । आक्रमणबाट प्रहरी हवल्दार कठायत र प्रज बस्नेतलाई सामान्य चोट लागेको बताइएको छ । छिटोभन्दा छिटो आक्रमणकारीलाई पक्राउ गर्नका लागि त्रिपुराकोट जुफाल, कालागौडा र दुनैबाट ३५ प्रहरी परिचालन गरिएको पनि प्रहरी नायब उपरीक्षक शर्माले जानकारी दिनुभयो । सागर शाहीसहित बन्दका क्रममा पक्राउ परेका नेकपाका विवश शाही र दिनेश सिंहलाई भने प्रहरीले आइतबार साँझ नै छाडिसकेको थियो । रासस

सेनाद्वारा बम निष्क्रिय

दमौली, वैशाख ३० । तनहुँको व्यास नगरपालिका–३ मादी नदीको पुलमा आज राखिएको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । बिहान ५ बजे पुलमा फेला परेको बम नेपाली सेनाको श्री नं ३ बाहिनी खैरेनीटारबाट आएको बम निष्क्रिय टोलीले ९ बजे निष्क्रिय पारेको हो । सेनाको उक्त टोली निकै ढिला गरी त्यहाँ पुग्दा धेरै समय त्यस क्षेत्रको जनजीवन त्रसित बनेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी सुनिल मल्लले पे्रसर कुकर बम सेनाले निष्क्रिय पारेको बताउनुभयो । बम निष्क्रिय पार्दा ठूलो आवाज आएको थियो । प्रेसर कुकरभित्र डेटोनेटर ३३ र बम पड्काउन सजिलो हुने सेतो पाउडर हालेर राखिएको जानकारी उहाँले दिनुभयो । पृथ्वी राजमार्ग भएर चल्ने सवारी साधनका यात्रुसमेत पुलमा बम भेटिएपछि त्रसित भएर आवतजावत गरेका थिए । नेपाली सेनाले बैरेनी जाने बाटामा लगेर उक्त बम निष्क्रिय पारेको हो । प्रहरीले कडा सुरक्षाबीच एकतर्फी यातायातलाई निरन्तरता दिएको थियो । नेकपाका कार्यकर्ताले शनिबार राति नै सो ठाउँमा बम राखेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

बिहान करीब ५ बजे बम विस्फोट हुँदा स्थानीय त्रसित

पाल्पा । यहाँ अाइबार बिहानै बम विस्फोट भएको छ । सदरमुकाम तानसेन नगरपालिका–५ कैलाश नगरस्थित श्रीनगरडाँडाको तल्लो भाग र बस्ती भन्दामाथि करीब ५ बजे बम विस्फोट हुँदा आएको ठूलो आवाजाबट स्थानीयवासी त्रसित भएका छन् । विस्फोटक पदार्थ के भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक विनोद घिमिरेले बताउनुभयो । नजिकै भेटिएका टुक्रालाई आधार मान्दा प्रेसर कुकर बम हुनुपर्ने उहाँको अनुमान छ । यसैबीच नेकपाले आह्वान गरेको बन्दले जनजीवन बिहानैदेखि प्रभावित भएको छ । बन्दका कारण जिल्लाबाट छुट्ने लामो तथा छोटो सवारी साधन छुटेका छैनन् । शैक्षिक संस्था, बजार पसल सबै ठप्प छन् । रासस