अपाङ्गता भएकालाई बाख्रा वितरण

तलसीपुर, १८ वैशाख । तुलसीपुर उपमहानगरपालिका वडा नं ४ ले अपाङ्ग लक्षित कार्यक्रम अन्तर्गत वाख्रा वितरण गरेको छ । अपाङ्गहरुलाई आयआर्जनका लागि भनेर वडाले वाख्रा वितरण गरेको वडाध्यक्ष वालकृष्ण रानाले वताए ।

उनले अपाङ्गता भएका ३४ जनालाई वाख्रा वितरण गरिएको पनि जानकारी दिए । वडाध्यक्ष रानाले अपाङ्ग परिचय पत्र भएकालाई वितरण गरिएको र नपुगेको ठाउँमा अहिलेका वाख्रावाट आएका पाठा वितरण गरिने पनि जानकारी दिए ।

‘हामीले सबैलाई वितरण गर्ने प्रयास गरिहेका छौ विस्तारै वितरण गर्दै जानेछौ ’ उनले भने । व्यावसायिक रुपमा वाख्रापालनका लागि २ दिने तालिम पश्चात वाख्रा वितरण गरिएको पनि उनले वताए ।

वाख्रा वितरण कार्यक्रमका प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले विपन्न वर्गलाई लक्षित गरेर आधुनीक र उन्नत जातका बोका समेत उपलब्ध गराइने वताए ।

उनले निर्वाचनमा गरेको प्रतिवद्धता अनुसार आफुले काम गरिरहेको वताउदै गरिव र विपन्न वर्गका लागि सुरक्षित आवास कार्यक्रम अन्तर्गत जस्तापाता वितरण गरिरहेको पनि वताए ।

कार्यक्रमका नगर अपाङ्ग सञ्जालका संयोजक दोलक वहादुर खत्री, वडानम्वर १८ का वडाध्यक्ष माधव वली लगायतले मन्तव्य राखेका थिए । वडा सदस्य डिला परियारका स्वागत मन्तव्यबाट आरम्भ भएको कार्यक्रमको सहजिकरण सामाजिक परिचालिका गायत्रा पोख्रेलले गरेकी थिइन् ।

निर्वस्त्र सफाइ गर्ने कर्मचारीको माग

काठमाडौं । युरोपका केही मुलुकमा निर्वस्त्र भएर घरको सफाइ गर्ने कर्मचारीहरूको माग बढिरहेको छ । कतिपय कम्पनीहरूले निर्वस्त्र भएर सफाइ गर्न चाहने कर्मचारीहरूको आह्वान पनि गर्न थालेका छन् । गत वर्षको तुलनामा घर सफा गर्न लगाउने घरधनीहरूको स्वभावमा परिवर्तन समेत आउन थालेको छ । विगतका वर्षमा पातला युवतीहरू निर्वस्त्र भएर घर सफाइमा लागेकोमा अहिले घरधनीहरूले मोटाघाटा महिलाहरूको माग गर्न थालेका छन् । घरधनीहरू यस्ता सफाइ कर्मचारीलाई घण्टाको साढे ४ हजारदेखि साढे ६ हजार रुपैयाँसम्म तिर्न राजी छन् । पुरुष घरधनीहरू महिला कर्मचारी तथा महिला घरधनी पुरुष कर्मचारीलाई प्राथमिकता दिइरहेका छन् । एजेन्सी

समयमै तलब नदिने संचार संस्था अब बन्द गरिन्छः पत्रकार महासंघ

काठमाडौँ । कर्मचारी तथा पत्रकारहरुलाई समयमै तलब नदिएको भन्दै नेपाल पत्रकार महासंघले नेपाल एफएममा माग पत्रसहित कालो ब्यानर टाँगेको छ । विश्वभर १२९ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाँउदै गर्दा नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्ट नेतृत्वको टोलीले कालो ब्यानर टाँगेको हो । नियमित तलब र लामो समयसम्मको बक्यौताको भुक्तानीका लागि व्यवस्थापनलाई दबाब दिन आन्दोलनमा उत्रनुको विकल्प नरहेको महासचिव बिष्टले बताए । उनले भने– ‘श्रमजीविको हकहितका लागि महासंघले को कसैसँग सम्झौता नगर्ने र परिआए सञ्चार संस्थामा तालाबन्दी गरिन्छ ।’ विगतमा संचारसंस्था बन्द हुँदा जनताको सूचनाको हक कुण्ठित हुने बाहनामा श्रमजीवीलाई अन्याय हुँदा बन्द गर्न पाइन्न भन्ने रहेको भएपनि अहिले सूचना पाउने अन्य धेरै माध्यमहरु भएकाले तत्काल माग पूरा गर्न व्यवस्थापन तयार नभए वा महासंघको आन्दोलनलाई फितलो ठानिए तालाबन्दीसम्म गर्न पछि नपर्ने बताए । घोषित आन्दोलनका चरणबद्ध कार्यक्रम अन्तर्गत मंगलबार कालो ब्यानर टाँगिएको हो र यही वैशाख २० गते बुधबार एकघण्टा धर्नासहित थप कार्यक्रम गर्ने उल्लेख छ ।

महानगरले मजदूरमैत्री नीति ल्याउने

विराटनगर । एक सय २९ औंँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज यहाँ पदयात्रा निकालिएको छ । ट्रेड युनियन काँग्रेस मोरङ जिल्ला कार्यसमितिको आयोजनामा हाटखोला चोकबाट निस्केको पदयात्रा नगरका विभिन्न भागको परिक्रमा गर्दै बुुधहाट चोकमा आएर कोणसभामा परिणत भएको थियो । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुुलीले महानगरपालिकाले श्रमिक वर्गको हकहितका लागि मजदुुरमैत्री नीति तथा कार्यक्रम ल्याउने जानकारी दिनुभयो । सभामा नेपाल ट्रेड युनियन काँग्रेस १ नं प्रदेशका सचिव सुुनिता घिमिरे, मोरङ व्यापार संघका उपाध्यक्ष प्रकाश मुुन्दडा, कारखाना श्रमिक संघका अध्यक्ष श्रीप्रसाद साह तथा नेपाल शिक्षक संघका अध्यक्ष शिवराज कोइरालाले श्रमिकको हकहितका विषयमा बोल्नुभएको थियो । रासस

डबल लिफ्ट प्रविधिबाट खानेपानी समस्यालाई समाधान गर्न सफल

तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिका–३ जलजलेका बासिन्दाको खानेपानी समस्यालाई समाधानका लागि डबल लिफ्ट प्रविधिको सफल परीक्षण गरिएको छ । जलजलेको चापाबोटे पँधेरे मुहानबाट दुईवटा विद्युतीय मोटरको प्रयोग गरी तलको पानी माथिल्लो भूभागमा तानेर वितरण गर्न थालिएको हो । मोटरको प्रयोगबाट सोमबार पानी तानिएको र अब ट्यांकीमा संकलन गरी आवश्यक खानेपानी वितरण शुरु गर्ने उपभोक्ता समितिले जनाएको छ । ग्रामीण खानेपानी तथा कोष विकास समिति फनबोर्डको सहयोगमा देउराली सोसाइटीको सहजीकरणमा खानेपानी तथा सरसफाइ कार्यक्रमअन्तर्गत चापाबोटे पँधेरे लिफ्टिङ खानेपानी तथा सरसफाइ समितिले निर्माण गरिरहेको छ । योजना निर्माणको काम अन्तिम चरणमा पुगेकाले अब पानी वितरणको तयारी भइरहेको देउराली सोसाइटीका सामाजिक परिचालक सन्जु तुम्बाहाम्फेले बताउनुभयो । तत्कालीन जलजले गाविसको रु पाँच लाख, फनबोर्डको ५० लाख र स्थानीयवासीको नगद तथा श्रमदान रु १७ लाख गरी कूल रु ७३ लाखको लगानीमा निर्माण भएको योजनाबाट पानी जडान भएपछि जलजलेका १०२ घरधुरीका ६५४ जनाले स्वच्छ पिउने पानीको सेवा प्राप्त गर्नेछन् । लिफ्ट गरिएको पानी तानेर जम्मा गर्नका लागि गाउँको सिरानमा १६ घन मिटरको ट्यांकी निर्माण गरिएको छ भने मुहान नजिकै आठ÷आठ घनमिटरका ट्यांकी निर्माण गरिएको उपभोक्ता समितिले जनाएको छ । रासस

मोदी भारतबाट सिधै जनकपुर आउने, उतै रेड कार्पेट अाेछ्याउने तयारीमा सरकार

जनकपुर, बैशाख १८ । यहि बैशाख २८ गते नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सिधै जनकपुर आउने भएका छन् । उनी भारतीय वायुसेवाको जहाजमा पटना आउने र त्यसपछि मोदी लगायत उनको टीम हेलिकप्टरबाट जनकपुर आउने छ । गृहमन्त्री रामबहादुर थापाले बैशाख २८ गते मोदी सिधै जनकपुर अवतरण गर्ने पुष्टि गरेका हुन् । पटनाबाट तीनवटा हेलिकोप्टरमा जनकपुर अवतरण गर्ने भारतीय प्रधानमन्त्रीलाई जनकपुरमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत र नागरिक अभिनन्दन गर्ने कुरा गृहमन्त्री थापाले बताए। प्रधानमन्त्री मोदी यहाँ जानकी मन्दिरमा पूजापाठ गरेपछि त्यही दिन मुस्ताङ पुग्न कार्यक्रम छ। मुक्तिनाथ मन्दिरमा पुजा गरेपछि मोदी अपरान्ह काठमाण्डौं जानेछन्। गृहमन्त्री थापाले मंगलबार बिहान हेलिकोप्टरबाट जनकपुर आएर मोदीको स्वागतको तयारी र सुरक्षा व्यवस्थाका बारे जानकारी लिएका छन्। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल पनि सोमबार साँझ नै जनकपुर आइपुगेका छन्। गृहमन्त्री थापासंगै गृहसचिव देवकुमार राई, गृह प्रवक्ता रामकुष्ण सुवेदी र तीनवटै सुरक्षा निकायका प्रमुखले सुरक्षा बन्दोबस्तबारे जानकारी लिएका छन्।प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले गृहमन्त्री थापा र सुरक्षानिकायका उच्च अधिकारीलाई मोदीको स्वागत र सुरक्षाका लागि गरिएको तयारी बारे जानकारी दिए। गृहमन्त्री थापाले भारतीय प्रधानमन्त्री मोदीको यो भ्रमण धार्मिक मात्र रहेको बताए। ‘उहाँ (मोदी) को नेपाल भ्रमण बिल्कुल धार्मिक हो। राजनीतिक होइन,’ गृहमन्त्री थापाले सञ्चारकर्मीसित भने, ‘मोदीको भ्रमणले नेपाल–भारतबिच सदियौंदेखिको समाजिक र धार्मिक सम्बन्धलाई थप उचाइँमा पुर्‍याउनेछ।’ मोदी जनकपुर आउँदा उनलाई नागरिक अभिनन्दन गरिने रंगभूमि मैदान र पूजापाठ गर्ने जानकी मन्दिरको गृहमन्त्री थापासहितको उच्च सुरक्षा टिमले नीरिक्षण गरेको छ। गृहमन्त्री थापाले मोदीको जनकपुर भ्रमणको सबै तयारी र सुरक्षाको बन्दोबस्त प्रदेश सरकारले गर्ने र संघिय सरकारले समन्वय गर्ने बताए। बैशाख २८ गते भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण तालिका सरकारले बल्ल सार्वजनिक गरेको हो।

ज्यालामा विभेद भोग्दै रोल्पाका महिला मजदूर

रोल्पा । श्रीमानले रेखदेख नगरेपछि नौ वर्षअघि दुई शिशु च्यापेर सदरमुकाम लिवाङ आएकी रोल्पा गुम्चालकी ५० वर्षीया रुपसरी विष्ट ज्याला मजदूरी गरेर दैनिकी चलाइरहेकी छिन् । बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म काम गरेबापत उनले दैनिक रु ४५० ज्याला पाउँछिन् । जोखिमपूर्ण शारीरिक श्रम गरेपनि उनलाई दैनिक ज्यालाबाहेक अन्य सुविधा केही छैन । ज्यालाको रकम दुई छोराछोरी पढाउने, डेरा भाडा तिर्ने तथा साँझ बिहानको जोहो गर्नमा खर्च गर्छिन् । श्रीमान्ले अर्को विवाह गरेर हिँडेपछि दुईवर्ष अघि सदरमुकाम लिवाङ आई ज्याला मजदूरी गरिरहेकी रोल्पा माडीचौरकी जुनकुमारी बुढाको दैनिक ज्याला रु ५०० छ । छोराछोरी पढाउने, डेरा भाडा तिर्ने तथा साँझ बिहानको छाक टार्ने माध्यम बनेको छ उनको दैनिक ज्याला । १५ वर्षअघि रोल्पा मिरुलबाट सदरमुकाम आएकी जुनसरा बुढाले निरन्तर ज्याला मजदूरी गरिरहेकी छिन् । शुरुवातमा रु १२० ज्याला लिने उनले अचेल दैनिक रु ५०० बुझ्ने गर्छिन् । तीन छोराछोरीकी आमा जुनसराले कमाएको पैसा छोराछोरीको पढाइ तथा साँझ बिहानको छाक टार्नमै सकिन्छ । श्रीमान् वैदेशिक रोजगारीमा रहेपनि राम्रो कमाइ नहुँदा उनकै ज्याला मजदूरीको भरमा चलेको छ उनको परिवार । १५ वर्ष अघि सदरमुकाम लिवाङ आएकी उनी अहिलेसम्म निरन्तर ज्याला मजदूरी गरिरहेकी छिन् । रोल्पामा यसरी जोखिमपूर्ण शारीरिक श्रम गर्ने महिलाको संख्या अधिक छ । ढुंगा, इँटा ओसारपसार गर्ने, गिट्टी बालुवा बोक्नेजस्ता कठिन शारीरिक श्रम गरे पनि उनीहरुको ज्याला भने नाम मात्रको छ । पुरुषसरह काम गरे पनि ज्यालामा भने विभेद गरिन्छ रोल्पा गुम्चालकी रुपसरी विष्टले भन्नुभयो । काम गर्दाको दिन ज्याला पाउनेबाहेक अन्य कुनै सुविधा नभएको मजदूरले गुनासो गरेका छन् । काम गर्दा पटकपटक दुर्घटनासमेत हुने भएकाले दुर्घटना बीमाको मागसमेत गरेका छन् । गतवर्ष कामकै सिलसिलामा ढुंगा पल्टेर टाउकोमा ठूलो घाउ भई लामो समय नेपालगञ्ज अस्पताल पुगेर उपचार गरेको भए पनि उपचारमा आफैँले खर्च गर्नु परेको मजदूर रुपसरी विष्टले बताइन् । आफूहरुले जोखिम मोलेर काम गरे पनि ठेकेदार तथा मालिकले काम र ज्यालामा समेत विभेद गर्ने गरेको महिला श्रमिकले गुनासो गरेका छन् । बजार महँगी अधिकतम भएपनि आफूहरुको ज्याला निकै कम हुँदा दैनिकी चलाउन निकै धौधौ परेको मजदूर जुनकुमारी बुढाले बताउनुभयो । लामो समय बिरामी पर्दा त भोकभोकै बस्नुपर्ने बाध्यता हुन्छ बुढाले भन्नुभयो । कि ऋण गरेर खाने की त भोकै बस्ने दुईमध्ये एक विकल्प रोज्नुपर्छ, बुढाले भन्नुभयो । सीपको काम गर्ने महिला र पुरुष मजदूरमा समेत ज्यालामा विभेद गरिएको बुढाको भनाइ छ । संविधानले कुनैपनि नाममा विभेद गर्न नपाइने भने पनि मजदूरमा भने लैंगिक विभेदको कम नहुनु दुःखद् भएको महिला अधिकारकर्मी श्रीकुमारी रोकाको भनाइ छ । पुरुषसरह श्रम गरेपनि महिलाको ज्याला भने कम दिइनु ठूलो विभेद हो रोकाले भन्नुभयो । दशौँ वर्ष काम गरे पनि महिला भएकै कारण दक्षता अभिवृद्धि गर्न कसैको ध्यान पुगेको देखिँदैन रोकाले भन्नुभयो । सरकारी तथा गैरसरकारी निकायले प्रदान गर्ने मजदूरको सीप विकास तालीममा महिला कामदारलाई पनि अवसर दिनुपर्ने उहाँले बताउनुभयो । ज्याला निर्धारण समितिले दक्ष कामदारको दैनिक रु ८०० र अदक्ष कामदारको रु ४२० निर्धारण गरे पनि आफूहरुले त्योभन्दा बढी ज्याला दिँदै आएको निर्माण व्यवसायी संघ, रोल्पाका अध्यक्ष मानबहादुर खत्रीले जानकारी दिनुभयो । नियमानुसार हरेक वर्ष दश प्रतिशतभन्दा बढी ज्याला वृद्धि गर्न नपाइने भएकाले बजार मूल्यअनुसार मजदूरको ज्याला नभएको अध्यक्ष खत्रीले भन्नुभयो । सरकारी ठेक्कापट्टामा मात्र बीमा हुने भए पनि प्राइभेट काम गर्दासमेत मजदूरको बीमा गरेर सुरक्षाको ग्यारेन्टी हुनुपर्ने खत्रीको भनाइ छ । भवन डिभिजन कार्यालयले हरेक वर्ष सञ्चालन गर्ने दक्ष कामदार तालीममा समेत अहिलेसम्म महिलाले अवसर नपाउँदा जिल्लामा दक्ष महिला कामदारको संख्या न्यून रहेको अध्यक्ष खत्रीले जानकारी दिनुभयो । आगामी दिनमा सञ्चालन गरिने दक्ष कामदार तालीममा आफूले महिला कामदारलाई सहभागी गराउन भूमिका खेल्ने खत्रीले बताउनुभयो । दक्ष महिला कामदारलाई रु ७५० र पुरुषलाई रु ८०० ज्याला दिँदै आएको निर्माण व्यवसायी वसन्तराज शर्माले भन्नुभयो । अदक्ष कामदारका रुपमा काम गर्ने महिला पुरुष मजदूरमा भने कुनै विभेद गरिएको छैन व्यवसायी शर्माले भन्नुभयो । जिल्लामा अदक्ष कामदारको रुपमा महिलाको संख्या धेरै रहेपनि उनीहरुले पाउँदै आएको ज्याला न्यायोचित नहुँदा उनीहरु मारमा परेका छन् । रोजगारीका अन्य विकल्प नहुँदा ज्याला मजदूरी गर्न बाध्य उनीहरुको पेशागत तथा भौतिक सुरक्षामा ध्यान दिनुपर्ने अधिकारकर्मीको भनाइ छ । रासस

चिया दिवसमा भोजपुरको चिया

काठमाडौँ । राष्ट्रिय चिया दिवसको उपलक्ष्यमा थाम डाँडा टेम्के सिलिचुङ चिया कृषि सहकारी संस्था (टिटिएस) ले शनिवार यहाँ एक कार्यक्रम गरी चिया दिवस मनायो । कार्यक्रममा संस्थाका अध्यक्ष गणेश राईले भोजपुरमा प्रधान कार्यालय भएको संस्थाले भोजपुर, खोटाङ, सोलुखुम्बु र संखुवासभा गरी चार जिल्लालाई कार्यक्षेत्र बनाएको र हालसम्म ३५० शेयर सदस्य भइसकेको तथा ५०० सदस्य पु¥याउने लक्ष्य रहेको जानकारी दिनुभयो । पूर्व प्रजिअ समेत रहनुभएका राईले संस्थाले हाल भोजपुरमा १० वटा बगानमा चिया खेती शुरु गरेको र चिराइतो, लोठसल्लाजस्ता बहुमूल्य जडीबुटीको समेत खेती गर्ने योजना रहेको बताउनुभयो । उहाँले संस्थाले भोजपुरका थामडाँडा, टेम्केदेखि सिलिचुङ डाँडासम्मका पर्ती तथा बाँझो रहेका जमिनमा कृषकबाट जग्गा लिजमा लिई उनीहरुलाई समेत सहभागी गराई चिया तथा जडीबुटी खेतीमार्फत किसानको जीवनस्तर उकास्न प्रयास गरिरहेको बताउनुभयो । यसै सन्दर्भमा हालसम्म संस्थाले एक हजार रोपनी जग्गा प्राप्त गरिसकेको उहाँले बताउनुभयो । संस्थाबाट उत्पादित चिया प्रशोधन गर्न डेनिस सरकारको उन्नति कार्यक्रममार्फत रु ८५ लाखको लागतमा भोजपुरको कटुञ्जेस्थित बतासे मुलाबारीमा चिया प्रशोधन कारखाना निर्माण भइसकेको पनि उहाँले जानकारी दिनुभयो । कार्यक्रममा समाजसेवी हिमाल राई, शिक्षक देवी घिमिरे, कृष्ण तिम्सिना, भक्तबहादुर राई, गणेश दाहाललगायतले संस्थामार्फत चिया खेती विस्तार गर्न हरसम्भव सहयोग गर्ने वचनबद्धता प्रकट गर्नुभयो । सो अवसरमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलगायत २१ जनालाई सल्लाहकारमा मनोनयन गरिएको जानकारी दिइयो । कार्यक्रममा नयाँ शेयर सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो भने चिया दिवस परेको सन्दर्भमा भोजपुरस्थित संस्थाका बगानमा उत्पादित चिया उपस्थित आगन्तुकलाई प्रथम पटक खुवाइएको थियो । भोजपुरका बतासे, लहरेमाने लगायत स्थानमा चिया रोपिएको तीनबर्ष पुगेपछि यसपटक चियापत्ती टिप्न लायक भएकाले प्रशोधित गर्नुपर्ने अवस्था भएको हो । संस्थाका व्यवस्थापन संयोजक लक्ष्मीप्रसाद घिमिरेले संस्थाका कार्यक्रमबारे जानकारी दिनुभएको थियो भने संस्थाका गतिविधिबारेको वृत्तचित्र पनि प्रस्तुत गरिएको थियो । रासस

देवताका पुजारी खड्काले छाउगोठ भत्कायो

बाजुरा । बाजुराको बडिमालिका नगरपालिका–३ पीपल गाउँस्थित दह घटाल देवताका पुजारी रामबहादुर खड्काले छाउगोठ भत्काउनुभएको छ । धार्मिक आस्था र विश्वासलाई बढावा दिने पुजारीले नै छाउगोठ भत्काएका हुन् । छाउगोठ भत्काएपछि खड्काको श्रीमती छोरी र बुहारी छाउ भएका बखत पनि एकै घरमै बस्न थालेका छन् । छाउ कुप्रथाविरुद्धको अभियानमा साथ दिन छाउगोठ भत्काएर घरमै बसाउने गरेको खड्काको भनाइ छ । वडा कार्यालय र संघसंस्थाले दबाब दिएकाले भत्काउन बाध्य भएको खड्काले बताउनुभएको छ । नजिकै देवताको मन्दिर र घरमै पनि देवता राखिएकाले शुरुमा डर लाग्यो तर सबैतिरबाट दबाब आउन थालेपछि एक्लै बाधक भएर बस्नु उचित होइन भनेर आफैँले भत्काएको पुजारी खड्को भनार्इ छ । पीपलगाउँमा सात परिवार बस्छन् । गाउँको साझा छाउगोठ भत्काएपछि सबैजना घरमै बस्न थालेका हुन् । खान पकाउन र देवताको नजिक जान भने नदिएको उहाँले बताउनुभएकोे छ । सफा सुग्धर भएमा केही हुँदैन भन्ने थाहा पाएपछि वडा कार्यालय, निगरानी समूह, महिला समूहसहित सबैले गोठ भत्काउन संयुक्त आन्दोलन गर्ने बताएपछि वडाका सबै छाउगोठ भत्काइएको वडा सदस्य विमला खड्काको भनाइ छ । छाउगोठ धामी, झाँक्री र पुजारी भएको घरमा बढी देखिएको पिसविन आस्था परियोजनाका अधिकृत तुलाराम जैशी बताउनुहुन्छ। पुजारी स्वयंले गोठ भत्काएर घरमा बसाउन तयार भएपछि स्थानीयवासी पनि त्यसै गर्न मञ्जुर भएका छन् । महिनावारी भएको बेला काम गर्नसमेत जान नपाइने अवस्थामा पनि सुधार आएको नगर उपप्रमुख कविता विष्ट जानकारी दिनुहुन्छ । नगरपालिकाका नौवटै वडामा महिलासँग उपप्रमुख कार्यक्रमले छाउ, बाल विवाहलगायतका सामाजिक कुप्रथाको विरुद्धमा सचेतनामुलक अभियान सञ्चालन भइरहेको छ । धामीझाँक्री पुजारी तथा ब्राह्मण सबैलाई एकैठाउँ राख्ने, गोठ भत्काउन लगाउने र छाउजस्ता कुप्रथा नमान्न शपथ गराउने गरिएको छ । आजै छाउगोठको अवस्थाबारे नगरपालिकास्तरीय संयन्त्रले अनुगमन गरेको छ । छाउगोठको अवस्था, स्थानीयवासीको धारणा र महिला सुरक्षाबारे जानकारी लिन सर्वपक्षीय संयन्त्रबाट अनुगमन गरिएको हो । नगर उपप्रमुख विष्टको नेतृत्वमा रहेको टोलीले गोठ भत्काइएपछि महिनावारी भएका महिला बस्ने स्थान र गोठको अवस्थाबारे शुक्रबार जानकारी लिएको छ । गोठ देखावटी रुपमा भत्काउने र अवस्था पुरानै देखिए नगरपालिका र वडा कार्यालयले दिने सुविधा रोक्ने निर्णय गरेको छ । शुक्रबार अनुगमनका क्रममा महिला, सासू–ससुरा, धामीझाँक्री, पुजारीलगायतका व्यक्तिसँग प्रत्यक्ष छलफल तथा अन्तक्र्रिया गरिएको टोलीमा सहभागी सहास नेपालका कार्यक्रम संयोजक रामबहादुर खत्रीले बताउनुभएको छ । टोलीमा नगर उपप्रमुख विष्ट, वडाध्यक्ष वीरबहादुर रावलसहित वडा सदस्य, सरोकारवाला निकायका प्रतिनिधि, स्थानीय धामीसहितको सहभागिता थियो । वडाका धामी-झाँक्रीलाई अभिमुखीकरण बडीमालिका नगरपालिका–३ का वडामा रहेका विभिन्न देवताका धामीझाँक्री र पुजारीका लागि शनिबार अभिमुखीकरण गोष्ठी आयोजना गरियो। नगरपालिका–३का स्थानीय धामीझाँक्री, पुजारी र पुरोहितहरु छाउपडी प्रथाको विभेद हटाउन लाग्ने प्रतिबद्धता जनाएका छन् । बडीमालिका नगरपालिका महिलासँग उपप्रमुख कार्यक्रमको वडास्तरीय धामीझाँक्रीसँगको एकदिने अभिमुखीकरण कार्यक्रममा उनीहरुले छाउपडी गोठ मुक्त अभियानलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । वडामा भएका छाउगोठलाई अन्त्य गर्देै छाउ भएका महिलालाई घरभित्र राख्न सहमत भएको धामी बलबहादुर रावलले बताउनुभएको छ । उहाँका अनुसार छाउ हुनु कुनै पाप नभएकाले सरसफाइ भएर घरभित्र बस्दा कुनै समस्या नहुने हुँदा आगामी दिनमा छाउ भएका महिलालाई गोठमा नराख्ने बचन दिनुभएको छ । वडामा रहेका प्रत्येक टोलमा छाउगोठ निर्माण गरिएकाको वडाको निगरानी समूह र वडाका महिला, धामीझाँक्री र वडा कार्यालयको सक्रियतामा भत्काएर वडालाई स्थानीय तहको पहिलो छाउपडी गोठमुक्त घोषणा अभियानलाई सहयोग गर्ने धामी जयलाल ल्वारले बताउनुभएको छ । वडामा छाउगोठ भएको पाइएमा वडा कार्यालयबाट दिने सेवा सुविधा, नागरिकता, जन्मदर्ता, सिफारिसलगायतका सुविधा रोक्ने वडाध्यक्ष वीरबहादुर रावलको भनाइ छ । २० गते घोषणाको तयारी बडिमालिका नगरपालिका–३ रजालीलाई यही वैशाख २० गते छाउपडी गोठ मुक्त वडा घोषणा गरिने भएको छ । गाउँमा भएका सबै छाउगोठ भत्काएर स्थानीय घरमै बस्न थालेपछि यो घोषणा गर्न लागिएको हो । बडिमालिका–३ रजालीलाई नगरपालिकाकै पहिलो वडाका रुपमा घोषणा गर्न लागिएको नगरउपप्रमुख विष्टले जानकारी दिनुभएको छ । नगरपालिका र वडा कार्यालयको अगुवाइ पिसविन आस्था कार्यक्रम र सहयोगी हातहरुको समूह सहास नेपालको सहजीकरणमा सो घोषणा गर्न लागिएको विष्टको भनाइ छ । रासस

एक दर्जनभन्दा बढी गीतसहित एकल साँझमा थकाली

पोखरा । पोखराका पुराना लोकप्रिय लोकदोहोेरी गायक वसन्त थकाली वसन्त रुविना फाउण्डेशनको आयोजनामा शनिबार पहिलो पटक एकल साँझमा झुल्किनुभएको छ । रत्न रेकर्डिङ संस्थानबाट प्रथम पटक रेकर्ड गरिएको गीत ‘घर त घर त पोखरा, तिम्रो पो सबै छन् मेरो को छर’ भन्ने गीतबाट साङ्गीतिक यात्रामा आफूलाई अगाडि बढाउनुभएका थकालीले एकल साँझमा उक्त गीतसँगै ‘जोमसोममाथिको ठिनी गाउँ’, ‘गाउँघरको झिल्के मत’, ‘बाँचुन्जेल जे छ हजुर’, ‘झल्को उही दिनको’, ‘मेरो देश नेपाल’ लगायत १३ वटा गीत गाउनुभयो । एकल साँझमा उभिइरहँदा पोखरा उद्योग वाणिज्य संघको सभाहलमा ५०० जनाको हाराहारीमा दर्शक एवं स्रोताले उहाँलाई साथ दिएका थिए । कार्यक्रमबाट संकलित रकमले फाउण्डेशनमार्फत सङ्गीत एकेडेमी सञ्चालन गरी यस क्षेत्रमा रुचि भएर पनि आर्थिक अभावका कारण अवसरबाट वञ्चित असहाय बालबालिकालाई सहयोग गरिने लक्ष्य लिइएको छ । पोखराको चर्चित साहारा क्लबका संस्थापक अध्यक्ष रहनुभएका थकाली खेल विधाका साथै विभिन्न सामाजिक संघसंस्थामा क्रियाशील हुनुहुन्छ । रासस

नेपालगञ्जको मेडिकलमा आगलागी

बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं २ स्थित धम्बोझीचोक नजिक स्वास्थ्यकर्मी जीवन शर्माको स्वास्थ्य क्लिनिकमा आगलागी भएको छ । विद्युत् तार सर्ट भएर गएराति आगलागी हुँदा लाखौंको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीय, प्रहरी र दमकलको सहयोगमा दुई घण्टा लगाएर आज बिहान आगो नियन्त्रणमा लिइएको थियो । आगलागीले मेडिकल पसलमा रहेका सम्पूर्ण औषधि, फर्निचर लगायतका सामग्री जलेर नष्ट भएको छ । प्रहरीका अनुसार क्षतिको पूर्ण विवरण अझै आएको छैन । शर्माले आफ्नै घरमा पसल सञ्चालन गर्दै आउनुभएको थियो । रासस

रेडियोलाई समाजमा प्रभाव जमाउनुपर्ने

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका सामुदायिक रेडियोमा कार्यरत पत्रकारहरुका लागि आयोजना गरिएको दुई दिने कार्यशालाको समापन गरिएको छ । सामुदायिक रेडियोकर्मीको क्षमता अभिवृद्धि र रेडियो कार्यक्रमको गुणस्तर विकासका लागि आयोजना गरिएको कार्यक्रममा बोल्दै कार्यक्रममा प्रमुख अतिथि एवम् तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपेन्द्रबहादुर केसीले रेडियोले सामाजिक दायित्व बहन गर्नुपर्ने कुरामा जोड दिए । कार्यक्रमका विशिष्ट अतिथि सामुदायिक रेडियो प्रसारक संघका वरिष्ठ उपाध्यक्ष अर्जुन गिरीले स्थानीय तहहरुले सामुदायिक रेडियोलाई विकासमा साझेदारी गराउँदै लैजानुपर्ने कुरामा जोड दिएका छन् । प्रमुख प्रशिक्षक सामुदायिक सूचना नेटवर्कका वरिष्ठ कार्यक्रम उत्पादक लिलप्रकाश चन्दले रेडियोले समाजमा प्रभाव देखिने गरी कार्यक्रम सञ्चालन गर्नुपर्ने कुरामा जोड दिएका थिए । कार्यक्रममा प्रशिक्षार्थीका तर्फबाट शारदा धिताल र पूर्ण केसीले तालिम उपलब्धिमुलक भएको वताएका थिए । तालिम संयोजक एवम् तुलसीपुर उपमहानगरपालिका प्रेस संयोजक वसन्त विवश आचार्यको अध्यक्षतमा भएको कार्यक्रमको सहजीकरण बसन्त पौडेले गरेका थिए । तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा भएको तालिममा सामुदायिक रेडियोमा कार्यरत ३० जनाको सहभागिता रहेका थिए ।

ट्रक र माइक्रो ठोक्किँदा एकको मृत्यु

राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–६ स्थित मिलन चोकमा गएराति मोइक्रोबस र भारतीय ट्रक एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । काभ्रेपलाञ्चोक नमोबुध नगरपालिका–२ फूलबारी बस्ने मोइक्रोबस चालक ३५ वर्षीय रामशरण गौतमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । काठमाडौँबाट सप्तरीको फतेपुर आउँदै गरेको बा४ख ८२४८ नम्बरको मोइक्रोबस (हायस) र विपरीत दिशाबाट जाँदै गरेको बीआर ०६ जीसी ७६६६ नम्बरको भारतीय ट्रक एकापसमा ठोकिएको थियो । ठक्कर दिने ट्रकको चालक फरार रहेकाले उनको खोजी कार्य भइरहेको इलाका प्रकरी कार्यालय कल्याणपुरले जनाएको छ । रासस

नेपालमा मात्र ३१२ प्रजातिका फूल वनस्पति पाइने

काठमाडौँ । विभिन्न प्रजातिका फूल फुल्ने वनस्पतिमध्ये ३१२ प्रजाति नेपालमा मात्र पाइने गरेको छ । वनस्पति विभागले दिएको जानकारीअनुसार पाँच हजार ३०९ फूल फुल्ने वनस्पतिमध्ये नेपालमा मात्र ३१२ प्रजाति पाइने गरेको हो । जसमध्ये गुराँस ३१ किसिमका छन् । यसैगरी लेउ एक हजार एक, झ्याउ ढुसी दुई हजार ४६७, लाइकेन्स ७९२, झ्याउ एक हजार २१३, उनीउ ५८०, फूल नफुल्ने छ हजार ५३ र सल्लो ३३ रहेका छन् । विभागका सूचना अधिकारी शिशिर पन्थीले नेपालमा पाइने वनस्पतिमध्ये ८१९ वनस्पतिलाई औषधिका रुपमा प्रयोग गर्न सकिने बताउनुभयो । “औषधि तथा तेल उत्पादन गर्न सकिने वनस्पतिलाई विभागले विशेष प्राथमिकता दिएको छ,”– उहाँले भन्नुभयो । नेपालमा रहेका वनस्पतिमध्ये ६० वनस्पति संकटापन्न अवस्थामा रहेको र १६ प्रजातिका वनस्पतिको संरक्षण र संवद्र्धनमा विभाग लागेको उहाँको भनाइ छ । रासस

अाइतबारदेखि संसारीमाई महापूजा शुरु

गौशाला । महोत्तरीको सदरमुकाम जलेश्वरमा प्रत्येक पाँच वर्षमा मनाउँदै आएको संसारीमाईको महापूजा आजबाट शुरु भएको छ । छ दिने यो महापूजाको आइतबार पहिलो दिन संसारीमाईको मन्दिर (गहवर) को विशेष सरसफाइ गरिएको छ । साथै जिल्ला सदरमुकाम जलेश्वर नगरको प्रत्येक भागको सरसफाइसमेत गरिएको छ । यस महापूजाको दोस्रो दिन सोमबार कलश शोभायात्रा, मंगलबार लखराम पूजा र हनुमान आराधना, बुधबार अस्टजाम, बिहीबार विडी सलामी हुने कार्यक्रम रहेको पूजा समितिका अध्यक्ष अनिलकुमार झाले बताउनुभयो । महापूजाको अन्तिम दिन अर्थात् मुख्य दिन आउँदो शुक्रबार वैशाख २१ गतेका दिन बिहान ३ बजेदेखि दिउँसो १ बजेसम्म खोइछ भराइ कार्यक्रम हुनेछ भने सोही दिन दिउँसो ३ बजेदेखि संसारीमातालाई बलि प्रदान गर्ने कार्यक्रम छ । जलेश्वर नगरपालिकाको प्रत्येक घरबाट अनिवार्य बलि दिइने तथा अन्य विभिन्न गाउँठाउँ, विभिन्न जिल्ला र भारतबाट समेत यस महापूजामा बोका, हाँस, कुखुरा, परेवा, सुँगुर र राँगासहित करीब १० हजार बलि प्रदान हुने जनाइएको छ । महापूजामा पाँच लाख श्रद्धालुले मेला भर्न आउने अनुमान गरिएको महापूजा समितिले जनाएको छ । अनादीकालमा जलेश्वरमा महामारी आएर दर्जनौँ व्यक्तिको मृत्यु भइरहेको बेला स्थानीयले संसारीमाईलाई आह्वान गरी माहामारी रोके पूजा गर्ने वचनबद्धता प्रकट गरेपछि माता संसारीले महामारी रोकिदिएको र सोही बेलादेखि स्थानीयले माता संसारीको पूजा गर्दै आएको किम्बदन्ती छ । तर यो पूजा कहिले र कसले शुरु गरेको भन्ने बारेमा कसैलाई थाहा छैन । पहिला–पहिला प्रत्येक १२ वर्षमा यो महापूजा हुँदै आएको थियो । त्यसपछि सात वर्ष र विगत दुई वटा महापूजा पाँच÷पाँच वर्षको अन्तरालमा भएको थियो । त्यस्तै पाँच वर्षको अन्तरालमा हुने यो महापूजा तेस्रो रहेको महापूजा समितिका अध्यक्ष झाले बताउनुभयो । महापूजाका लागि पूरै जलेश्वरलाई दुलहीझैँ सिंगारिएको छ भने यो महापूजामा रु ३५ देखि ४० लाख खर्च हुने अनुमान गरिएको छ । रासस

खरको छानोको घर भएकालार्इ निःशुल्क जस्तापाता वितरण शुरु

तुलसीपुर, वैशाख १५ । तुलसीपुर उपमहानगरपालिकाले आजदेखि उपमहानगरभित्र खरको छानो भएका घरमा बस्ने अतिविपन्न परिवारहरुलाई निःशुल्क जस्तापाता वितरण गर्न शुरु गरेको छ । तुलसीपुर उपमनपा–१ को भ्युडर सोनपुर गाउँबाट आज जस्तापाता वितरण शुरु गरिएको हो । आज तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेय र उपप्रमुख माया आचार्यले संयुक्तरुपमा सो वडाका खरको छानो भएका गरिब तथा अतिविपन्न परिवारलाई जस्तापाता वितरण गरेर अभियानको शुरुवात गर्नुभएको हो । सो कार्यक्रममा प्रमुख पाण्डेयले आफुले निर्वाचनको समयमा खरको छानो भएका अतिविपन्न परिवारको घरमा जस्तापाता दिने प्रतिबद्धता गरेको र सोहीअनुसार वितरण गर्न शुरु गरेको बताउनुभयो । उहाँले यस वर्ष नगरपालिकाका विभिन्न वडामा रहेका ५०० अतिविपन्न घरपरिवारलाई जस्तापाता वितरण गर्ने लक्ष्य रहेको बताउनुभयो । आज सो वडाका अतिविपन्न २० घरलाई जस्तापाता निःशुल्क रुपमा प्रदान गरिएको थियो । (फाइल फोटो)