सुशासनका पक्षमा उभिएकाले राजश्व बढाउन सफल भयौं : मन्त्री शर्मा

काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सुशासनका पक्षमा दृढतापूर्वक उभिएकाले आफ्नो मन्त्रालयले अघिल्लो आर्थिक वर्षको भन्दा चालु आर्थिक वर्षमा राजश्व वृद्धि गरेको बताएकी छन् । 

मन्त्रालयले आयोजना गरेको आर्थिक वर्ष २०८०/८१ को तेस्रो प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री शर्माले पूँजीगत खर्च बढाउने चुनौती भने कायमै रहेको बताइन्। 

चालु आर्थिक वर्षको अझै दुई महिना बाँकी रहे पनि गत आर्थिक वर्षको कूल राजश्वको हाराहारीमा अहिले दश महिनाकै अवधिमा राजश्व संकलन भएको मन्त्रालयले जनाएको छ । ‘अहिले सबैतिर आर्थिक सङ्कुचन हुँदाहुँदै पनि हाम्रो मन्त्रालयमा गत आर्थिक वर्षको तुलनामा राजश्व वृद्धि भएको छ, यो हामीले सुशासनका पक्षमा लिएको दृढ अडानको परिणाम हो’– मन्त्री शर्माले भनिन्– ‘यो क्रम अझै बढेर जाने छ।’

व्यक्तिगत जीवनमा खर्चभन्दा बढी आम्दानी राम्रो हुने भए पनि सरकारले भने पूँजीगत खर्च नबढाएर समृद्धि हासिल गर्न नसकिने उल्लेख गर्दै उनले पूँजीगत खर्च बढाउने चुनौती कायमै रहेकाले अब आर्थिक वर्षको बाँकी समयमा दिन रात काम गरेर भए पनि लक्ष्य पूरा गर्न निर्देशन दिइन्। विश्व बैंकको सहयोगमा प्राप्त गर्ने भनिएको डिजिटल नेपाल एक्सलेरेसन (डिएनए) परियोजनाको रकमले पूँजीगत बजेटको ३८ प्रतिशत ओगटेको र सो रकम प्राप्त हुने वातावरण नबन्दा मन्त्रालयले गर्ने पूँजीगत खर्चको प्रतिशत घटेको जानकारी दिंदै मन्त्री शर्माले बाँकी बजेट खर्च गर्न माताहतका निकायलाई दृढतापूर्वक लाग्न निर्देशन दिइन्।

पू्ँजीगत खर्च बढाउन कर्मचारीतन्त्रको काम गर्ने शैलीमा सुधार ल्याउन आवश्यक रहेको उल्लेख गर्दै उनले कानुनअनुसारका काम गर्न डराउन नहुने बताए। ‘पछिल्लो समय सूचना प्रविधि क्षेत्रमा पुराना बेथितिहरु धमाधम बाहिर आएकाले पनि कर्मचारीमा केही त्रास बढेको देखिन्छ’– मन्त्री शर्माले भनिन्– ‘मैले मन्त्रालयको नेतृत्व सम्हालेपछि कहिल्यै पनि नियम तोडेर काम गर भनेको छैन र भन्ने पनि छैन तर कानुन अनुसार किन काम भइरहेको छैन ? कार्यान्वयन निकायले गहिरो समीक्षा गरेर काम अघि बढाउनुपर्छ।’

सम्बन्धित निकायले आफैले छनौट गरेका माइनस्टोन पूरा गर्नैपर्ने उल्लेख गर्दै उनले सहजीकरणका लागि माताहतका निकायबाट मन्त्रालयबाट आउने कुनै पनि काम नरोक्न निर्देशन दिइन्। आफूले माथिल्लो निकायसँग गरेका कार्य सम्पादन सम्झौताका पाना पल्टाएर हरेक निकायले प्रगति मूल्याङ्कन गर्नुपर्ने पनि उनले स्पष्ट गरिन् ।

राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयालले १६ औं राष्ट्रिय योजनामार्फत सूचना प्रवधियुक्त राष्ट्र निर्माणको विकास मोडल अघि सारिएकाले यो भूमिका निर्वाह गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको महत्वपूर्ण भूमिका रहने बताइन्। डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वायनमार्फत १५ औं योजनाले एक लाख बढी रोजगारी सिर्जना गर्ने उद्देश्य राखेको भए पनि अपेक्षित प्रगति हुन नसकेको स्पष्ट गर्दै उनले १६ औं योजनामार्फत डिजिटल अर्थतन्त्र निर्माणमा मन्त्रालयले अगुवाई गर्नुपर्ने बताइन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले मन्त्रालयमा राजश्व वृद्धि हुनु राम्रो भए पनि खर्च नबढ्नु दुःखद भएकाले यसमा गहिरो समीक्षा गरेर अघि बढ्नुपर्ने बताए। मन्त्रालय र माताहतका निकायहरु रक्षात्मक भएर होइन, काम कारवाही सुधारेर अघि बढ्नुपर्ने उनले स्पष्ट गरे। चालु आर्थिक वर्षको बचेको ५० दिनको समयलाई सातै दिन चौबीसै घण्टा काम गरेर भए पनि लक्ष्य प्राप्त गर्नुपर्ने र खर्च क्षमता बढाउनुपर्ने उनले स्पष्ट गरे  ।कार्यक्रम सहजीकरण सहसचिव योजना महाशाखा प्रमुख बाबुराम भण्डारीले गरेका थिए ।

घट्यो सुन–चाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा सोमबार सुन–चाँदीको मूल्य घटेको छ।आइतबार प्रतितोला पाँच सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला तीन सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३८ हजार एक सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।  आइतबार छापावाल सुन प्रतितोला एक लाख ३८ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार सात सय ५० रूपैयाँमा कारोबार भएको थियो।   त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आइतबार प्रतितोला १७ सय २५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १७ सय १५ रूपैयाँमा किनबेच भइरहेको छ।  यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

मुख्यमन्त्री सोडारीले जेठ ३ गते विश्वासको मत लिने

काठमाडौँ ।सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आगामी जेठ ३ गते विश्वासको मत लिने भएका छन। प्रदेशसभा सचिवालयले त्यसदिन बिहान सवा १० बजेका लागि बैठक आह्वान गरेको छ।  मुख्य समर्थक दल एमाले प्रदेश संसदीय दलले विश्वासको मत दिने नदिनेमा अझै स्पष्ट गरेको छैन । एकीकृत समाजवादीबाट मुख्यमन्त्री भएका सोडीरीले यसअघि वैशाख २१ र २२ गते विश्वासको मत लिने तयारी गरेका थिए।

करका दर हेरफेरमा मनोमानी हुँदैन : अर्थमन्त्री पुन

 काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटबाट मनोमानी रुपमा करका दर हेरफेर नहुने स्पष्ट पारेका छन्।  आज यहाँ आयोजित पूर्वबजेट छलफलका क्रममा उनले आर्थिक शिथिलता अन्त्य गरेर अर्थतन्त्र चलायमान बनाउनुपर्ने अवस्था रहेको बताउँदै कसैका स्वार्थ हेरर नभई मुलुक हेरेर करका दर हेरफेर गरिने बताएका हुन्। “कोही चिनेका, मेरो पार्टी निकटका, वा सरकार निकटका व्यवसायीलाई हेरेर करका दरहरुमा आफूखुशी जे मन लाग्यो त्यही गर्दिनँ। करसम्बन्धी व्यवस्था पहिला के थियो, अहिले के छ र के कारणले हेरफेर भएको कारणसहित तीन महलेसहित आर्थिक ऐन आउँछ”, अर्थमन्त्री पुनले भने, “एउटा अर्थमन्त्रीको सनकले निजीको वर्षौंसम्म गरेको लगानी डुबाउन मिल्दैन। जनताले र राज्यले विश्वासपूर्वक दिएको जिम्मेवारी विश्वासपूर्वक निर्वाह गर्नुपर्छ। त्यसमा हाम्रो प्रतिबद्धता छ।” अर्थमन्त्री पुनले नेपालले लोकतान्त्रिक र खुला तथा प्रतिस्पर्धात्मक व्यवस्थाको अभ्यास गरिरहेकाले उद्योग व्यवसायसम्बन्धी नीति पनि खुला र पारदर्शी हुनुपर्नेमा सरकार स्पष्ट रहेको बताए। विकास तथा समृद्धि यात्रामा सरकार निजी क्षेत्रलाई अघि लगाएर हिँड्न चाहेको उनको भनाइ छ।  आर्थिक विकासका लागि नीतिगत निरन्तरता जरुरी रहेको उल्लेख गर्दै उनले  सरकारका नीति तथा कानुनमा रहेका कमजोर पक्ष हटाउने र राम्रा सिकाइलाई दीगो बनाउँदै लगिने प्रतिबद्धता व्यक्त गरे। अहिले निर्माण क्षेत्र चलायमान हुन नसकेकोबारे आफू जानकार रहेको भन्दै अर्थमन्त्री पुनले ती अप्ठ्यारा फुकाउन लागि परेको बताए। आफूले मन्त्रालयको नेतृत्व सम्हाल्दा अघिल्ला ४ आर्थिक वर्षदेखिका ६ खर्ब रुपैयाँभन्दा बढीको आर्थिक दायित्व सिर्जना गरिएको अवस्था रहेको भन्दै उनले पुराना दायित्व बोक्नुपर्दा धेरै स्वतन्त्र नरहेको पनि उल्लेख गरे।  “अर्थमन्त्रीका रुपमा बजेट बनाइराख्दा ३र४ वर्षअघिका अर्थमन्त्रीका पालादेखिको ६ खर्ब रुपैयाँ बराबरको दायित्व बोक्नेपर्ने अवस्थामा छु। एक वर्षको बजेट बनाउनुपर्ने अर्थमन्त्री ४ वर्षदेखिको दायित्व बोक्नुपर्ने अवस्थाले म त्यति स्वतन्त्र छैन‚” उनले भने।

डुबेर दुई किशोरीको मृत्यु

काठमाडौं । डडेल्धुरामा नुहाउने क्रममा  डुबेर दुई किशोरीको मृत्यु भएको छ। आइतबार अपराह्न गन्यापधुरा गाउँपालिका–२ कुँवर गाउँकी १७ वर्षीया लक्ष्मी सार्की र १४ वर्षीया दिपा मल्लको खोलामा डुबेर मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख डीएसपी दीपक पाठकले जानकारी दिए।  मृतक दुवै जनाको शव पोस्टमर्टमका लागि जिल्ला अस्पताल डडेलधुरामा राखिएको पाठकको भनाइ छ। 

त्रिभुवन विमानस्थलबाट पाँच किलो सुनसहित २ व्यक्ति पक्राउ

काठमाडौं । पाँच किलो एक सय ग्राम सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ३३ वर्षका सुरेश कुमार र ३४ वर्षका मोहन कुमार गणेशन रहेका छन्। उनीहरु भारतीय नागरिक हुन् । गएराति विमानस्थल प्रहरीले चेक गर्ने क्रममा उनीहरुलाई सुनसहित पक्राउ गरिएको हो।

सुँगुरको मिर्गौला प्रत्यारोपण गर्ने पहिलो व्यक्तिको मृत्यु

न्युयोर्क । आनुवंशिक रूपमा परिमार्जित सुँगुरको मिर्गौला प्रत्यारोपण गर्ने पहिलो व्यक्तिको शल्यक्रिया भएको दुई महिनापछि मृत्यु भएको छ। ६२ वर्षीय रिचर्ड रिक स्लेम्यान मार्चमा शल्यक्रिया गर्नुअघि अन्तिम चरणको मिर्गौला रोगसँग लडिरहेका थिए।  म्यासाचुसेट्स जनरल अस्पताल (एमजीएच)ले एक विज्ञप्तिमा रिचर्डको मृत्यु प्रत्यारोपणसँग सम्बन्धित छ भन्ने कुनै सङ्केत नभएको बताएको छ। सुँगुरबाट अन्य अङ्गहरू प्रत्यारोपण गर्ने धेरै प्रयासहरू असफल भइसकेका छन्। यद्यपि, रिचर्डको शल्यक्रियालाई ऐतिहासिक कोसेढुङ्गाको रूपमा वर्णन गरिएको थियो। मिर्गौला रोगका अलावा रिचर्ड टाइप–२ मधुमेह र उच्च रक्तचापबाट पनि पीडित थिए। बीबीसी

भरतपुर मेयर कप फुटबल : गौरीगन्ज र विश्वप्रकाशको विजयी सुरुवात

भरतपुर मेयर कप फुटबल : गौरीगन्ज र विश्वप्रकाशको विजयी सुरुवात   भरतपुर । भरतपुर महानगरपालिकाको आयोजना र सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा जारी भरतपुर मेयर कप अन्तर विद्यालय फुटबल लिगमा आज दुई खेल सम्पन्न भएको छ। कृष्णपुरको मैदानमा भएको समूह ए को खेलमा गौरीगन्ज माविले ढड्डाघारी माविलाई पराजित गर्दै सुखद सुरुवात गरेको छ । प्रतिस्पर्धात्मक खेलमा गौरीगन्ज १-० ले विजयी भएको हो।  गौरीगन्जको जितमा रोहन गुरुङले निर्णायक गोल गरे । उनी नै म्यान अफ दि म्याच भए । यो जितपछि गौरीगन्ज तालिकामा ३ अंंकसहित शिर्ष स्थानमा छ।लिग अन्तर्गत शारदानगर माविको मैदानमा भएको समूह सी को खेलमा विश्वप्रकाश माविले जित हात पारेको छ। विश्वप्रकाशले ईडेन गार्डेनलाई २-० ले हरायो।  विश्वप्रकाशको जितमा कप्तान साहिल परियार र आदित्य बरामले एक-एक गोल गरे। साहिलले खेलको तेस्रो मिनेटमा नै गोल गर्दै अग्रता दिलाए। २५ औं मिनेटमा आदित्यले गोल गरेपछि विश्वप्रकाशले २-० को जित हात पार्‍यो। विश्वप्रकाशका अभय कुमाल म्यान अफ दि म्याच घोषित भए। यो जितपछि समूह सी मा रहेको विश्वप्रकाशले स्पष्ट ३ अंंक बटुलेको छ।  उता वर्षाका कारण समूह बी को ग्रीनल्याण्ड पब्लिक स्कुल र सिद्धार्थ माविबीचको खेल भने स्थगित भएको छ। अमर मावि पटिहानीमा हुने भनिएको खेल वर्षाले मैदान हिलाम्य भएपछि स्थगित गरिएको सह आयोजक चितवन जिल्ला फुटबल संघका महासचिव रामहरि ढकालले जानकारी दिए। यो खेल सोमबार दिउँसो ४ः३० बजे कृष्णपुरमा हुनेछ।  सोमबार नै अन्य दुई खेल पनि हुनेछ। समूह बी पारिजात इङलिस बोर्डिङ र आदिकवि भानु मावि भिड्नेछन्। यो खेल दिउँसो ४ः३० बजे अमर मावि पटिहानीमा हुनेछ। यस्तै सोही समयमा शारदानगरमा जनप्रिय इङलिस बोर्डिङ र लक्ष्मी माविबीच खेल हुनेछ।लिग जेष्ठ १९ गतेसम्म चल्नेछ। प्रतियोगितामा भरतपुर महानगरपालिका भित्र १२ सामुदायिक तथा १२ संस्थागत गरी २४ विद्यालय सहभागी छन्। सहभागी २४ विद्यालयलाई छ समूहमा विभाजन गरिएको छ।

वाग्मती प्रदेशसभाको अधिवेशन आजदेखि

काठमाडौं । वाग्मती प्रदेश सरकारले प्रदेशसभाको अधिवेशन आजका लागि आह्वान गरिएको छ।  प्रदेश सरकार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रदेशसभाको अधिवेशन वैशाख ३१ गते -आज_का लागि आह्वान गर्ने निर्णय गरेको थियो।  बैठक दिउँसो १ बजे बस्नेछ। 

चितवनका ५२ विपन्न परिवारलाई सुरक्षित घर

चितवन । चितवनमा ५२ विपन्न परिवारका लागि सुरक्षित आवास निर्माण गरिएको छ । ‘सपना भिलेज सोसल इम्प्याक्ट’ले स्थानीय सरकारसँग सहकार्य गरी उनीहरुका लागि घर निर्माण गरिदिएको हो ।  ‘विपन्नलाई सपनाको घर’ कार्यक्रमअन्तर्गत घर बनाउनै नसक्ने आर्थिक अवस्था कमजोर भएका परिवारको पहिचान गरी सुरक्षित आवास निर्माण गरिएको सपना भिलेजका अध्यक्ष ध्रुव गिरीले बताए । उनका अनुसार रत्ननगर, खैरहनी र राप्तीमा घर निर्माण गरिएको हो ।   रत्ननगर–७ राउत टोलमा चार घर निर्माण गरी आइतबार चार परिवारलाई हस्तान्तरण गरिएको अध्यक्ष गिरीले बताए । वडा कार्यालय र सपना भिलेजको संयुक्त लगानीमा घर निर्माण गरिएको हो । झुप्रोमा बस्दै आएका सुदमिया राउत, केसिया महतो, इतोरिया महतो र सुष्मा राउतलाई घर हस्तान्तरण गरिएको हो । वडाध्यक्ष सजना महतो र सपना भिलेजका अध्यक्ष गिरीले चार जनालाई घरको चाबी हस्तान्तरण गरेका हुन् ।   प्रतिघर निर्माण गर्न सात लाख ५० हजार खर्च भएको सपना भिलेजका कार्यक्रम निर्देशक सुजन बस्नेतले जानकारी दिए । भिलेजले प्रतिघर सात लाख र वडा कार्यालयले प्रतिघर रु ५० हजार लगानी गरेका छन् ।  सपना भिलेजका अध्यक्ष गिरीका अनुसार २०६९ सालदेखि विपन्नका लागि आवास निर्माण थालिएको हो । सीमान्तकृत मुसहर समुदायका लागि २१ घर पुनःनिर्माणसहित जिल्लाका विभिन्न पालिकाका अतिविपन्न परिवारको पहिचान गरी सुरक्षित आवास निर्माण गरिएको उनको भनाइ छ ।  सपना भिलेजले अहिले इच्छाकामना गाउँपालिका–१ का चेपाङ समुदायका लागि काम गरिरहेको छ । चेपाङ समुदायका लागि जीविकोपार्जनको आधार तयार गर्न, विद्यालय खाजा कार्यक्रम, विद्यालय भवन निर्माण, चेपाङ समुदायकै सहभागितामा कफी खेती, तरकारी खेतीलगायत काम भइरहेको छ । इच्छाकामना–१ स्थित  राष्ट्रिय आधारभूत विद्यालय भाराङ्मा आवाससहितको पक्की भवन निर्माण भइरहेको अध्यक्ष गिरीले जानकारी दिए । रासस

यस्तो छ सोमबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल वैशाख ३१ गते सोमबार सन् २०२४ मे १३ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३१ पैसा र बिक्री दर १३३ रुपैयाँ ९१ पैसा पुगेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ ५९ पैसा र बिक्री दर १४४ रुपैयाँ २३ पैसा रहेको छ।बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ९४ पैसा र बिक्री दर १६७ रुपैयाँ ७० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५६ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर 

कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक बस्दै

काठमाडौं । आज प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक बस्न लागेको छ । कांग्रेसले दिउँसो १ बजेका लागि संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ । त्यस लगत्तै आजै दिउँसो २ बजे संसदीय दलको बैठक पनि बस्ने कांग्रेस।।ले जनाएको छ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने छ ।बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रममा छलफल हुने बताइएको छ । 

संसदका चार समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्न लागेको छ । अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, महिला तथा सामाजिक मामिला समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको हो ।  अर्थ समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा आर्थिक २०८१/०८२ को बजेट तर्जुमा सम्बन्धमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, नेपाल राष्ट्र बैंक, लगानी बोर्ड नेपाल र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबीच छलफल तथा अन्तरक्रिया हुने कार्यसूची छ ।  उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट हालसम्म भए तथा गरेका काम तथा आगामी कार्ययोजना सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । बैठक बिहान ११ बजे बस्नेछ ।  शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक साढे १२ बजे बस्दै छ । बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।  महिला तथा सामाजिक मामिला समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा अन्तर–धार्मिक सहिष्णुता सम्बन्धमा मुस्लिम आयोगले खेल्दै आएको भूमिका तथा नेपाल हज व्यवस्थापनबारे छलफल गर्ने कार्यसूची छ । 

यस्तो हुनेछ आजको मौसम

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय र पश्चिमी वायुका साथै भारतको बिहार आसपास बनेको न्यूनचापीय प्रणालीको समेत प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले बागमती, सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भूभागमा आंशिक बदली छ । गण्डकी प्रदेशका थोरै स्थानमा साथै कोसी र वाग्मती प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित हल्का वर्षा भइरहेको छ । महाशाखाले आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । पहाडी भूभागका थोरै स्थानमा साथै तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै, उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । आज राति कोशी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ । देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशलगायत वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

एमालेले भन्यो-'कांग्रेसले समितिका नाममा सरकार माग्यो'

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले नेपाली कांग्रेसले संसदीय समितिका नाममा सरकार मागेको टिप्पणी गरेका छन्। आइतबार सभामुख देवराज घिमिरे र दलका प्रमुख सचेतकबीचको बैठकपछि उनले कांग्रेसको माग सम्बोधन नहुने बताए। “उहाँहरूले समिति माग गर्नुभएको होइन, सरकार माग गर्नुभएको हो । त्यो सम्भव छैन,” उनले भने । कांग्रेसले उठाएको विषय कानुनसम्मत नरहेको उनले जिकिर गरे । हरेक विषयमा छानबिन समिति बनाउँदै जाँदा सांसद समितिमा मात्र रहनुपर्ने अवस्था आउने उनको भनाइ छ । बर्तौलाले समितिका नाममा कानुन निर्माणको दायित्वबाट सांसद च्युत हुन नसक्ने बताए । उनले कांग्रेसले संसद्लाई बेकामे बनाउन खोजेको आरोप समेत लगाए ।

नेप्सेमा ८.२६ अंकको वृद्धि, तीन अर्ब १५ करोडको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार मापक परिसूचक नेप्से ८.२६ अंकले बढेको छ। नेप्से ०.४२ प्रतिशतले बढेर १९७४.५० को विन्दुमा पुगेको छ। यस दिन ३११ धितोपत्र (कम्पनीलगायत)का ७८ लाख ५७ हजार ३१ कित्ता सेयर तीन अर्ब १५ करोड ५१ लाख ४२ हजार १६८.४३ रुपैयाँमा कारोबार  भयो। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार, १२७ कम्पनीको सेयर मूल्य बढेको छ । १११ कम्पनीको सेयर मूल्य घटेको छ। सात कम्पनीको सेयर मूल्य स्थिर छ। आइतबार सबैभन्दा धेरै सिर्जनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ। मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ५.४४ प्रतिशतले घटेको छ। कारोबारमा रहेका १३ उपसमूहमध्ये १० वटाको समूहगत परिसूचक बढेको छ । तीनवटाको परिसूचक घटेको छ।