ज्ञानदीप कलेजमा कानुनी परामर्श

तुलसीपुर । तुलसीपुरमा रहेको ज्ञानदीप कलेजका विद्यार्थीहरुलाई कानुनी विषयमा जानकारी दिइएको छ ।

कानूनका विषयमा आम विद्यार्थीहरुले जानकारी पाउन भन्नका लागि उच्च अदालत तुलसीपुरले आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले कानूनको परिपालनामा हरेक नागरिकले सजगता अपनाउनुपर्ने कुरामा जोड दिएका थिए ।

कानूनभन्दा माथि कोही पनि नहुने भएकाले कसैले पनि कानुनको उपेक्षा गर्न नहुने उनीहरुको तर्क थियो।

सर्वोच्च अदालतका न्यायधिश बमकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै श्रेष्ठले नागरिक र अदालतका विचमा रहेको दुरी अन्त्य गर्नुपर्ने बताए । उनले नागरिहरुले कानुनी प्रक्रिया र मौलिक हकका वारेमा जानकारी पाउन नसक्दा सास्ती पाउनु परेको समेत बताए । ‘अदालतका काम कारवाही सधै जनताका पक्षमा हुन्छ, अदालतले समाजमा रहेका अपराधिहरुलाई कारवाही गरेर शान्ती स्थापना गर्ने हो’ श्रेष्ठले भने ।

कार्यक्रममा संविधानमा उल्लेख गरिएका मौलिक हक र अधिकार, अदालती प्रक्रिया, कानुनमा भएका विभिन्न व्यवस्था र अदालतको सेवा प्रवाहका वारेमा न्यायधिस महेश शर्मा पौडेल, नित्यानन्द पाण्डे, सुदर्शनदेव भट्ट, रामवहादुर थापा, वैतानिक कानुन व्यवसायी सुनील धिताल उच्च अदालत वार इकार्इ तुलसीपुरका प्रतिनिधि अधिवक्ता मोहन धिताल लगायतले जानकारी दिएका थिएका थिए ।

कार्यक्रममा ज्ञानदीप कलेजका सहायक कलेज प्रमुख मनोजकुमार केसीले स्वागत गर्नुभएको थियो ।

उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीस नहकुल सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन निमित्त रजिष्टार दिलप्रसाद सापकोटाले गरेका थिए ।

डा केसीको नेतृत्वमा निषेघित क्षेत्र माइतीघरमा प्रदर्शन

काठमाडौं, वैशाख ८। सरकारले केही समय अघि राजधानीको माइतीघर लगायतका स्थानलाई निषेघित क्षेत्र घोषणा गरेको विरोधमा सत्याग्रही चिकित्सक गोविन्द केसीको नेतृत्वमा शनिबार प्रदेशन गरिएको छ । राजधानीको माइतीघर मण्डला लगायतका स्थानलाई प्रर्दशनका लागि निषेधित क्षेत्र घोषणा गरिएको छ । सरकारले प्रर्दशन, सभा लगायत कार्यक्रमका लागि अन्य विभिन्न ७ स्थान तोकेपछि उक्त निर्णयको विरोध गर्दै माईतीघर मण्डलामा प्रर्दशन गरेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले वैशाख १६ गतेदेखि लागू हुने गरी २ गते सूचना जारी गर्दै खुल्लामञ्च, तीनकुने खुल्ला चौर कोटेश्वर, भुईखेल चौर भगवान पाउ, पेप्सीकोला खेल मैदान, सानो गौचरण फुटबल, लैनचौर समाजकल्याण परिषद् अगाडिको खुल्ला स्थान र सिफल चौर गौशाला बाहेकका स्थानमा सभा, प्रर्दशन गर्न रोक लगाईएका हुन। डा केसीको नेतृत्वमा शनिबार राजधानीको माईतीघर मण्डलामा विरोध प्रर्दशन भएको हो । ओली सरकार खबरदार, मौलिक हकमा किन प्रहार, नागरिक स्वतन्त्रतामा अतिक्रमण बन्द गर’ लगायत नारा सहितका प्लेकार्ड बोकेका प्रर्दशनकारीले मण्डला परिसरमा केही समय सरकार विरोधी नारा पनि लगाएका थिए। प्ले कार्ड सहित प्रर्दशनको नेतृत्व गरेका डाक्टर केसीले सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रता हनन गर्ने काम गरेकोमा आपत्ती जनाएका छन् ।

नेपालमा रेल कुन स्टाण्डर्डमा बन्दै छ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका बेला भारतको रक्सौलदेखि काठमाडौंसम्म रेलमार्ग बनाउने सम्झौता भएको थियो । त्यसलगत्तै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको चीन भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्रीसँग चीनको केरुङदेखि काठमाडौंसम्म रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सहमति भयो । राजनीतिकस्तरमा भएका यी दुई सहमति सँगसँगै ग्राउन्ड लेभलमा केरुङ–काठमाडौं र रक्सौल–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन सँगसँगै सुरु हुँदै छ । युरापियन र चीन तथा जापानमा स्टाण्र्डर्ड गेजमा रेलमार्ग निर्माण र सञ्चालन भइरहेको छ भने भारतमा ब्रोड गेजमा रेलमार्ग सञ्चालन भइरहेको छ । नेपालले पूर्व–पश्चिम विद्युतीय रेल पनि स्टाण्डर्ड गेजमै निर्माण गर्दै छ । चीनमा स्टाण्डर्ड गेज प्रचलनमा रहेकाले केरुङ–काठमाडौं रेलमार्ग स्वभाविक रुपमा स्टाण्डर्ड गेजमा निर्माण हुनेछ । भारतले पनि आफ्नो सम्पूर्ण रेलमार्गलाई स्टाण्डर्ड गेजमा स्तरोन्नति गरिरहेकाले काठमाडौं–रक्सौल रेल पनि सोही मापदण्डमा बन्ने सम्भावना छ । नेपालमा बन्ने सबै रेलमार्ग स्टाण्डर्ड गेजमा नै निर्माण हुनुपर्ने रेल विभागले बताएको छ ।

वैशाख ७ देखि १३ गतेसम्मको राशिफल

मेष नयाँ वर्षसँगै विशेष उपलब्धि हात पार्न सकिनेछ । विदेशी साथीभाइसँगको सम्बन्ध थप प्रगाढ हुनेछ । लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । फाइदामूलक व्यवसाय सञ्चालनमा आउन सक्छ । खराब आचरण हुनेहरूले जालझेल गर्न सक्छन्, सचेत रहनुहोला । प्रलोभन देखाउनेहरूबाट टाढै रहनुमा भलो छ । वृष परिश्रम मुताबिक राम्रै फल पाइनेछ । पुरुषार्थ अनुरूप नाम र दाम स्वतस् बढ्नेछ । अरूलाई वचन दिने बानीले अप्ठ्यारोमा पार्न सक्छ । जीवनशैलीमा परिवर्तन ल्याउन दृढ संकल्पको खाँचो छ । बोलीको मधुरताको बलमा आर्थिक संकटलाई परास्त तुल्याउन गर्न सकिनेछ । पहिलेदेखिको योजना कार्यान्वयनमा ढिलाइ गर्दा पछि परिएला । मिथुन परिणाममुखी कार्य सम्पन्न गर्न अझ केही समय कुर्नुपर्ने हुन्छ । हरियो रंगको प्रयोगले विशेष फाइदा दिलाउनेछ । परिस्थिति विचार गरी भावना मिल्ने साथीहरूसँग संयुक्त लगानीमा काम गर्न ढिला नगर्नुहोला । प्रेम प्रस्ताव प्राप्त हुनसक्छ । परिवारको सुझावअनुरूप निर्णय गर्नुहोला । कर्कट मित्रहरूले विभिन्न जिम्मेवारी दिलाउनेछन् । दुविधापूर्वक गरिएको काममा अपजस आइलाग्ने हुनाले सरोकार नभएका विषयमा ध्यान दिनु उचित हुँदैन । आफ्ना गोप्य सूचनाहरू बाहिरिनाले मर्यादामा आँच आउन सक्छ । प्रेममा अविश्वासको वातावरण सिर्जना हुनसक्छ । सिंह टाढा भ‘एका मित्रहरूले विश्वास गर्ने वातावरण बन्दैछ । केही नम्र भएर कार्य सम्पन्न गर्नुहोला । पूर्व योजनाबिना आकस्मिक यात्रा गर्नाले अतिरिक्त खर्च गराउनेछ । प्रेमिकाले उपहार प्रदान गर्दै थप प्रस्ताव राख्न सक्छिन्, छिट्टै निर्णय गर्नुमै आफ्नो भलो छ । कन्या आलोचना गर्नेहरूले स–साना त्रुटि औल्याइदिँदा आफू अझ उचाइमा पुगिनेछ । भाग्यले साथ दिए पनि मनमा उत्पन्न शंका तथा डरले बनिसकेको काममा दुविधा उत्पन्न गराउन सक्छ । सूर्य देवको आराधनाले भयमुक्त हुन सहयोग पुर्‍याउनेछ । बाहिरी खानपान एवं भोजभतेरमा संयम अपनाउनुहोला । तुला प्रयास दोहोर्‍याउन सके अप्ठ्यारो कार्य पनि सम्पन्न हुनेछ । प्रेमी–प्रेमीकाबीचको ठाकठुक विश्वासमा परिणत होला । समयलाई बेवास्ता गर्दा पछि परिनेछ । साझेदारी व्यवसायमा उथलपुथल देखा परे पनि विहीबारपछि स्वतस् उचाइमा पुगिनेछ । मेहनत गर्न सके षड््यन्त्रकारीहरूलाई परास्त गर्न सकिनेछ । वृश्चिक भ्रमणका क्रममा अपेक्षाभन्दा बढी खर्च गर्नुपर्ने बाध्यता आइलाग्न सक्छ, जसले आर्थिक संकट सिर्जना गर्न सक्छ । स्वास्थ्यको ख्याल नगरी खानपानमा रमाउँदा पेटसम्बन्धी समस्याले पिरोल्ने सम्भावना छ । रातो रंग प्रयोग गर्दा आफ्नो मेहनत खेर जानेछैन । काममा सफलता प्राप्त गर्न केही ढिलाइ हुनसक्छ । धनु व्यवसाय आरम्भ गर्न पारिवारिक मत मिल्नेछ । लगानी सही ठाउँमा होला । प्रेमिकाले विभिन्न दोषारोपण गर्दै गुनासो गर्ने छिन्, भावना बुझ्ने प्रयत्न गर्नुहोला । साताको अन्त्यमा शारीरिक थकान महसुस हुनेछ । जुस तथा फलफूलको सेवनमा जोड दिनुहोला । मकर लक्ष्य प्राप्त गर्न थप मेहनतको आवश्यकता छ । परिवारजनको भावनालाई बेवास्ता गर्दा समस्या सिर्जना हुनसक्छ । गल्ती सच्याउनाले सामाजिक क्षेत्रमा महत्वपूर्ण अवसर प्राप्त भै टाढिएका साथीभाइहरू नजिकिनेछन् । नयाँ अवसरका लागि शक्तिशाली व्यक्तिसँग प्रतिस्पर्धा गर्नुपर्ने हुनसक्छ । कुम्भ तपाईंको सामाजिक सक्रियताले परिवारकै प्रतिष्ठा वृद्धि गराउनेछ । स्वरोजगार हुँदा हर्षले गद्गद भइनेछ । चियोचर्चा गर्नेहरूबाट सावधान रहनुमै आफ्नो भलो छ । आफन्त तथा प्रशंसकहरूलाई फरक अनुभूति प्रदान गर्न सकिनेछ । केही दिनको अन्तरमा अन्य अवसर समेत फेला पर्ने छन् । मीन प्रेमिकाले मठ–मन्दिरमा भेट्ने प्रस्ताव राख्न सकिन्छ, उनको अनुरोधलाई स्वीकार गर्दा दुवैको भलो हुनेछ । मर्यादा पालन नगर्दा अफिसियल कार्यमा अवरोध सिर्जना हुनसक्छ । नाफामूलक व्यवसाय सुरुवात गर्न साझेदारहरूबीच मत मिल्नेछ । चियोचर्चा गर्नेहरूबाट सावधान रहनुहोला । रामप्रसाद सिटौला

दिउँसो १२ बजेसम्म उडान हुन नसक्दा यात्रुहरु अलपत्र

काठमाडौं । देशको एकमात्रै अन्तर्राष्ट्रिय विमानस्थल १३ घण्टासम्म अवरुद्ध भयो। राति १० बजे काठमाडौंबाट मलेसिया उड्न लागेको मालिन्दो एयरको जहाज धावनमार्गमा चिप्लिएपछि त्रिभुवन विमानस्थलको उडान र अवतरण ठप्प भएको हो । शुक्रबार दिउँसो १२ बजेसम्म उडान नहुँदा हजारौं यात्रु अलपत्र परे । विदेशका बिभिन्न ठाउँबाट काठमाडौं आउँदै गरेका विमानलाई उतै फर्काइयो । उड्न ठिक्क परेका अरु उडान रोकिए । काठमाडौंबाट विदेश जान लागेका स्वदेशी र विदेशी यात्रु विमानस्थलमै अलपत्र परे । रातिदेखि खान र सुत्न समेत नपाएको उनीहरुको गुनासो छ । उडान नियमित भए पनि व्यवस्थित हुन समय लाग्ने विमानस्थल कार्यालयले जनाएको छ ।

सडक बनेसँगै दुर्घटना पनि बढ्यो

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड सहज बन्दै जाँदा दुर्घटना पनि बढेर गएका छन् । विगतका केही वर्ष यात्रुले हैरानी व्यहोर्दै आएको सो सडकको नारायणगढबाट १६ किलोमिटरसम्म ११ मिटर चांैडा र त्यस उता मुग्लिनसम्म नौ मिटर चांैडा सडक अहिले बनेको छ । खाल्डाखुल्डी हुँदा सवारीको गति कम हुने भए पनि अहिले तीव्रगतिमा सवारी गुडेपछि दुर्घटना बढ्दै गएका हुन् । नारायणगढ मुग्लिन सडकखण्डमा यस आर्थिक वर्षको साउन महिनामा एक सवारी दुर्घटना हुँदा एकजनाको ज्यान गएको थियो । भदौ महिनामा दुर्घटना भएको थिएन भने असोजमा एक दुर्घटनामा एकको मृत्यु भएको थियो । कात्तिक महिनामा ६ दुर्घटना हुँदा एकको मृत्यु र एकजना घाइते भएका थिए । मंसिरमा दुई दुर्घटनामा परी एकको मृत्यु र एकजना घाइते भएका थिए । पुसमा दुई दुर्घटनामा एकको मृत्यु र एक घाइते भएका थिए । पछिल्ला समय सडक सहज बनेसँगै दुर्घटनाको संख्या र मृत्यु हुनेको संख्या बढ्दै गएको छ । माघ महिनामा सो सडक खण्डमा चार वटा दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको थियो भने, एकजना घाइते भएका थिए । फागुन महिनामा ६ वटा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो । भने ३० जना घाइते भएका थिए । चैत महिनामा आठवटा दुर्घटनामा परी चार जनाको मृत्यु भएको थियो भने छ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तकाअनुसार जब सडकयात्रा सहज हुँदै गयो तब दुर्घटना बढेको देखिन्छ । सो सडक खण्डमा कालोपत्रे गर्ने काम माघ महिनाबाट तीव्र गतिमा अगाडि बढेको थियो । त्यही महिनाबाट सवारी दुर्घटनाको संख्या बढ्दै गएको छ । सडक निर्माणको क्रममा सडकमा संकेत कम भएको र सवारी चालकले तीव्र गतिमा सवारी चलाएका कारण दुर्घटना बढेको ट्राफिक प्रमुख पन्तले बताउनुभयो । ‘सडक र सडक किनारामा हुनुपर्ने ट्राफिक संकेत नहुँदा जथाभावी सवारी चलाउँदा पनि दुर्घटना बढेको पाइन्छ,’ उहाँले भन्नुभयो । बाटो सहज बन्दै जाँदा दुर्घटना बढेको देखिन्छ, नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालले भन्नुभयो, “बाटो सहज छ भन्दैमा हतारमा सवारी चलाइदिने गर्नाले दुर्घटना बढेको हो ।” पछिल्ला दुई महिनामा सडक दुर्घटना बढेपछि आयोजनाले जिल्ला ट्राफिक प्रहरी कार्यालयसँग समन्वय गरेर सचेतनाको कार्यक्रम सञ्चालन गर्न लागेको खनालले जानकारी दिनुभयो । “पहिला सडकमा खाल्डाखुल्डी हुँदा कम दुर्घटना भएको थियो, अहिले ३३ दशमलव २ किलोमिटरमध्ये ३० किलोमिटर कालोपत्रे भएकाले सडकमा सवारी चालकले अनियन्त्रित रुपमा सवारी चलाई दिँदा दुर्घटना बढ्ेको पाईन्छ,” खनालले भन्नुभयो । आयोजनाले नियन्त्रित रुपमा र लाइनमा सवारी चलाउन सचेतना कार्यक्रम चलाउन शुुरु गरेको उहाँले बताउनुभयो । सडक बने पनि पुल नबन्दा सवारी जाम हुने र दुर्घटना बढ्ने समस्या देखिएको छ । रासस

नेपाल टेलिकमको ल्याण्डलाइनमा पनि प्रिपेड सिष्टम लागु

काठमाडौं, वैशाख ६। नेपाल टेलिकमले ल्याण्डलाइनमा नयाँ विलिङ सिस्टम ल्याएको छ । जुन प्रिपेड मोबाइल जस्तै हो। हरेक १५ दिनमा महशुल नबुझाए ल्याण्डलाइन सेवा स्वतः काटिने विलिङ प्रणाली टेलिकमले ल्याएको छ। तीन महिना अघि टेलिकमले पिएसटिएन सेवामा नयाँ विलिङ प्रणाली ल्याएको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले बतार्इन्। उनले भनिन्, ‘प्रिपेड सेवामा ब्यालेन्स सकिनेवित्तिकै रिचार्ज तुरुन्तै गरिहाल्नुपर्छ। अब ल्याण्डलाइन सेवामा लागू भएको नयाँ विलीङ सिस्टम अन्तर्गत सेवाग्राहीले राखेको धरौटी रकम बराबरको सेवा लिन सक्छन्। बिल सकिएपछि फोन काटिन्छ।’ टेलिकमका अनुसार अब टेलिफोन सेवाग्राहीले आफ्नो क्रेडिट लिमिट अवधिसम्म मात्र सेवा लिन सक्नेछन्। उनका अनुसार अब लाइन जोड्दा धरौटी रकमलार्इ क्रेडिट लिमिट कायम गरिनेछ। टेलिकमको बिल तयार हुँदा अगाडिको महिनाको बाँकी रकम र बिल आउने महिनाको बिल रकम जोडिने जनाएको छ। कम्पनीका अनुसार प्रत्येक महिनाको बिल अंग्रेजी महिनाको १५ तारिखमा तयार हुनेछ।

व्यवसायकाे रूपमा ठूलीभेरीमा जलयात्रा सुरू

जाजरकोट । ठूलीभेरीमा व्यावसायिक रुपमा जलयात्रा शुरु भएको छ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले नलगाड नगरपालिका–८ बगरामा जलयात्राको उद्घाटन गर्नुभएको हो । मन्त्री बस्नेतले जलयात्राको माध्यमबाट पर्यटन क्षेत्रको विकास गर्न मद्यत पुग्ने बताउनुभयो । उहाँले जलाशययुक्त नलसिङगाड जलविद्युत आयोजनाको निर्माण पाँच वर्ष भित्रै पुरा गर्ने गरी अगाडि बढाउने प्रतिबद्धता व्यक्त गनुभयो । बारेकोट गाउँपालिकास्थित फलाम खानी र नलगाड नगरपालिकामा रहेको सिसा खानी आगामी आर्थिक वर्षमै उत्खनन र प्रशोधन गरिने बताउनुभयो । नगलगाड नगरपालिकालाई नमूना नगरपालिकाका रुपमा विकसित गर्ने मन्त्री बस्नेतको भनाइ थियो । नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले लगानी प्रवद्र्धनका लागि निजी कम्पनीलाई जलयात्रा सञ्चालन गर्न लगाउनुका साथै ३४ जनालाई साना होटल तथा लज व्यवस्थापन सम्बन्धि तालीम प्रदान गरिएको बताउनुभयो । रासस

चार वर्षको प्रेम, ४ मिनेटमै अन्त्य

काठमाडौं । १० कक्षासम्म पढेका रुपन्देही ओमसतियाका प्रेमसागर केवट र स्थानीय १५ वर्षे युवती विगत ४ वर्षदेखि प्रेम–सम्बन्ध राख्दै आएका थिए । ज्याला मजदुरी गरेरै भएपनि प्रेमसागर युवतीका लागि कोसेली ल्याईदिन्थे । गाउँमा दुवैको प्रेम सम्बन्धको चर्चा चल्न थालेको थियो । दुवैले नजिकैको खेतलाई आफ्नो भेटघाट स्थल बनाएका थिए । दुवैका लागि रातको अँध्यारोले भेटघाटलाई गोप्य बनाउन पर्दाको काम गरिरहेको हुन्थ्यो। तर मंगलबार (४ बैशाख) बिहान प्रेमसागरकी प्रेमिकाको शव त्यहीँ उनीहरुको सधैँ भेटने स्थानमा फेला पर्‍यो । इलाका प्रहरी कार्यालय धकधकेबाट खटिएको टोलीले करिब ३६ घण्टा लामो अनुसन्धानमा युवतीको हत्या उनैका प्रेमी प्रेमसागरले गरेको पत्ता लगाएको छ। अभियुक्त प्रेमसागर रुपन्देही प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीका अनुसार ३ बैशाख मा राति सँगै बसेका उनीहरु बीच विहान छुट्टिने समयमा भएको ४ मिनेटको विवादमा युवतीको हत्या भएको थियो। ‘रातिसँगै बसेको र शारीरिक सम्बन्ध समेत भएको खुलेको छ’ एसपी ज्ञवालीले भने, ‘बिहान छुट्टिने समयमा विवाद भएपछि युवतीकै कपालले घाटी थिचेर हत्या भएको हो ।’

साँझ ४ देखि ७ बजेसम्म ललितपुर क्षेत्रमा यातायात आवागमन बन्द

ललितपुर । बुधबार ललितपुरमा साँझ ३ घण्टा याता अवरुद्ध भएको छ । रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रम पुल्चोक, जावलाखेल र मंगलबजार क्षेत्रमा यातायातमा अवरुद्ध भएको ललितपुर ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीका अनुसार रथ तान्ने कार्यक्रममा हजारौँ सर्वसाधारण सहभागी हुने भएकाले बिहीबार साँझ ४ बजेदेखि ७ बजेसम्म सो क्षेत्रमा यातायात आवागमन बन्द रहने छ । बिहीबार पुल्चोकबाट गाबाहालसम्म मत्स्येन्द्रनाथको रथलाई तानिने बताइएको छ। कहाँ–कहाँ यातायात प्रभावित हुने छ ? जावलाखेल–दमकल–पुल्चोक : मंगलबार–पुल्चोक वैकल्पिक मार्ग : सो समयमा ट्राफिक प्रहरीले जामबाट बच्न वैकल्पिक बाटोको प्रयोग गर्न सुझाव दिएको छ । प्रहरीकाअनुसार यस्ता छन् वैकल्पिक मार्गः माइक्रो बस, मिनीबसलाई : जवलाखेल–चिडियाघर–झम्सीखेल–कानदेवता अन्यलाई : जावलाखेल–अल्का अस्पताल–सुमेरु अस्पताल–झम्सीखेल–कानदेवता पुल्चोकतर्फ आउनेलाई : पुलचोक–सुजुकी मोड–झम्सीखेल–भनिमण्डल–एकान्तकुना वा जावलाखेल

मिटरमा हिँड्न नमाने तीनदेखि पाँच हजारसम्म जरिवाना

  काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा मिटरमा हिँड्न नमान्ने ट्याक्सी कारबाहीलाई तीव्रता दिएको छ । महाशाखाले ट्याक्सी मिटरमा हिँड्न नमानेको व्यापक जनगुनासो कार्यालयमा आएपछि अनुगमनलाई तीव्रता दिएको हो । महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले मिटरमा हिँड्न नमान्ने दैनिक ५० देखि ७० ट्याक्सीलाई कारबाही गर्ने गरिएको बताउनुभयो । “पहिले दैनिक १५÷२० ट्याक्सी कारबाहीमा पर्थे, अहिले कारबाही बढेको छ,” – उहाँले भन्नुभयो । उहाँले ट्याक्सी मिटरमा हिँड्न नमाने हटलाइन १०३ मा खबर गर्नसमेत आग्रह गर्नुभएको छ । मिटरमा हिँड्न नमान्ने ट्याक्सीलाई महाशाखाले रु तीन हजारदेखि पाँच हजारसम्म जरिवानासमेत गर्ने गरेको छ । सहप्रवक्ता मरासिनीले मिटरमा हिँड्न नमान्ने ट्याक्सी अनुगमनका लागि दैनिक ३० जनाको जनशक्ति परिचालन गरिएको स्पष्ट पार्नुभयो । महाशाखाले चालू आर्थिक वर्षमा मिटरमा हिँड्न नमान्ने झण्डै चार हजार ट्याक्सीलाई कारबाही गरिसकेको छ । रासस

बेलायतबाट आदिम थलो खोज्दै क्होलासोंथर

लमजुङ । बेलायतबाट आएको एक टोली गुरुङ जातिको आदिम तथा ऐतिहासिक थलो क्होलासोंथर पुगेका छन् । तमु धीं युकेको नेतृत्वमा हाल बेलायतमा रहेका ४७ जनाको समूह बुधबार लमजुङको क्होलासोँथर पुगेको हो । क्होलासोंथरको ऐतिहासिक पहिचान खोज्न र यसको यथार्थ जानकारीका लागि क्व्होलासोंथरको अध्ययन भ्रमण गरिएको तमु धीं युकेका अध्यक्ष ज्ञाम गुरुङले बताउनुभयो । यस भ्रमणले गुरुङ जातिको पैत्रिक थलो र ऐतिहासिकस्थलबारे थप जानकारी हुने र इतिहासको अनुसन्धानका लागि थप सहज हुने उहाँको भनाइ छ । “हाम्रो पैत्रिक थलो, आदिम थलो, ऐतिहासिक थलो हेर्न र यसबारे केही गर्न सकिन्छ कि भनेर हामीले भ्रमण गरेका हौँ” गुरुङले भन्नुभयो । टोलीमा लमजुङ, कास्की, स्याङ्जा, पर्वत, गोरखालगायत पुख्र्यौली गाउँ घर भई हाल बेलायत बस्दै आएका गुरुङ समुदायको सहभागिता रहेको छ । क्होलासोंथरमा पुगेर गुरुङ जातिको आदिम तथा ऐतिहासिक थलोको अवलोकन तथा अध्ययन गर्ने तमु धीं युकेका अध्यक्ष ज्ञाम गुरुङले बताउनुभयो । क्होलासोंथरलाई सरकारले विश्व सम्पदा सूचीमा राखेर यसको संरक्षण र सम्वद्र्धनमा जोड दिनुपर्ने उनीहरुले बताएका छन् । यस्ता ऐतिहासिकस्थलको संरक्षण सम्वद्र्धन हुनसके यहा“को पर्यटन प्रवद्र्धन र विकासमा सहयोग पुग्ने उनीहरुको धारणा छ । उनीहरु पोखराबाट बेँशीशहर हु“दै घलेगाउँ, घनपोखरा, भुजुङ हुँदै क्होलासोँथर पुगेका हुन् । भुजुङसम्म जीप चढेर यात्रा गरेको टोलीले भुजुङबाट भने लेकको बाटो हुँदै चार दिन पैदलयात्रा गरेको थियो । क्होलासोंथरबाट कास्कीको सिक्लेस, ताङतिङ भएर आठौँ दिनमा पोखरा पुगेर यात्रा टुंगिने भ्रमण टोलीका संयोजक एवं तमु धीं युकेका सल्लाहकार एकेन्द्र गुरुङले बताउनुभयो । टोलीलाई तमु ह्यूला छोंज धीं, गुरुङ राष्ट्रिय परिषद् लमजुङ, दक्षिण एशियाकै नमूना घलेगाउँ, तमु प्ये ल्हु संघ, पोंचुकों, भुजुङस्थित युम्पो विकास आमा समूह र लालीगुराँस युवा क्लबले छुट्टाछुट्टै स्वागत गरेका थिए । रासस

मन्दिरमा चरम लुट

गोरखा, वैशाख २ । मनदेखिको आस्थाले पूजाआजा एवं दर्शनका लागि लाखौँ मानिस ओइरिने मन्दिर क्षेत्रलाई लुटी खाने भाँडो बनाएको देख्दा जोसुकैलाई नरमाइलो लाग्छ । गोरखास्थित प्रसिद्ध मनकामना मन्दिरमा यस्तै भइरहेको स्थानीय भक्तजनको गुनासो छ । सँधियारले मन्दिरको जग्गासमेत मिचेका छन् । मनकामना क्षेत्रको विकास निर्माण एवं व्यवस्थापनका लागि विसं २०५३ मा मनकामना क्षेत्र विकास समिति गठन भयो । समितिले मन्दिर क्षेत्रलाई व्यवस्थित बनाउन गरेका प्रयास सफल हुन नसकेको कार्यकारी निर्देशक गिरिधारी सापकोटा बताउनुहुन्छ । “सरकारअन्तर्गतको समितिभन्दा यहाँका व्यापारी बलिया छन्, समितिभन्दा पुजारी बलिया छन्, मन्दिरको भेटीघाटी पारदर्शी हुन सकेको छैन, मन्दिर जीर्णोद्धारका लागि विसं २०६८ मा गठन भएको समितिले स्थानीयवासीको सहयोग नपाउँदा अहिलेसम्म काम सम्पन्न हुन सकेको छैन, मन्दिर जीर्णोद्धार अलपत्र छ”, उहाँ भन्नुहुन्छ । मन्दिर प्रवेश गर्दा लाग्छ यो कुनै देवस्थलभन्दा पनि व्यापारिक केन्द्र हो । मन्दिरको जग्गासमेत कब्जा गरेर स्थानीयवासीले होटल एवं पसल चलाएका छन् । मन्दिर वरपर अग्ला अग्ला भवन निर्माण भएका छन् । पुरातात्विक, धार्मिक एवं ऐतिहासिक दृष्टिले महत्वपूर्ण मन्दिर रहेको स्थान वरपर मापदण्ड विपरीत घर बनेको समितिले जनाएको छ । मन्दिर व्यवस्थित बनाउनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगअदालत र सम्बद्ध मन्त्रालयका पदाधिकारीसम्म पुग्दा पनि केही हुन नसकेको कार्यकारी निर्देशक सापकोटाको गुनासो छ । मन्त्रालयका पूर्वसचिव प्रेमकुमार राईले केही गर्न खोजे पनि सरुवा भएकाले काम हुन नसकेको उहाँको भनाइ छ । मनकामना क्षेत्र वरपर धेरै होटल एवं लज खुलेका छन् । मन्दिर क्षेत्रमा आउने भक्तजनलाई सेवा पु¥याउने उद्देश्यले खुलेका अधिकांश होटल दर्ता भएका छैनन् । दर्ता नभएका व्यवसायीले स्थायी लेखा (प्यान) नम्बरसमेत लिएका छैनन् । राज्यलाई करसमेत नतिरी व्यवसायीले आफूखुशी गरेको भक्तजनको गुनासो छ । व्यवसायीले भक्तजन होटलभित्र पस्दा एउटा मूल्य भन्ने र खाएर निस्कँदा अर्को मूल्य भनेर बढी पैसा असुल्ने गरेका छन् । चैत २९ गते बिहीबार रामायण होटल एण्ड लजका सञ्चालकले झापाका राघवेन्द्र शर्मालाई रोटी वा भात भरपेट खाएको मूल्य रु १५० बताए । खाएर पैसा तिर्न खोज्दा रु ३०० का दरले हिसाब गरेर पैसा मागे । पाँचजनाको समूहमा रहेका शर्माले कसरी भयो बिल पाउँ भनेपछि साहुले बिल छैन भन्ने जवाफ फर्काए । मनकामना क्षेत्रमा कसैले पनि बिल नदिने गरेको सम्बद्ध व्यवसायीको भनाइ छ । रामायण शुद्ध शाकाहारी भोजनालय भनी लेखिएको होटलअघिका व्यवसायी सानु थापा भने जिल्ला प्रशासन कार्यालय र उद्योग वाणिज्य संघको मिलेमतोमा मनकामना क्षेत्रका व्यवसायीले मनपरी मूल्य असुल्ने गरेको बताउनुहुन्छ । कुरिनटारबाट केबुलकारमा गएका यात्रु झरेर मन्दिरतर्फ उकालो लाग्ने बेलामा व्यवसायीले ‘पूजापछि भुजा खान आउनुस् रु १०मा’ भनेर दर्शनार्थीलाई बोलाउँछन् । सिँढीको दायाँबायाँ बस्ने होटलका कामदार ग्राहक तान्न तँछाडमछाड गरिरहेको भेटिन्छ । ‘मनकामना मन्दिरसमेत आउने तस्वीर पाँच मिनेटमा रु १०० मात्र’ फोटो स्टुडियो चलाएका व्यवसायीको आवाज यसरी घन्किन्छ मनकामना क्षेत्रमा । नेपाल उद्योग वाणिज्य संघ मनकामना एकाइका सचिव हरिकुमार श्रेष्ठ व्यवसायीले ग्राहक तानातान गर्ने गरेको स्वीकार्नुहुन्छ । “संघका तर्फबाट तानातान रोक्न, मूल्यसूची राख्न, सम्बन्धित सरकारी निकायमा दर्ता भई स्थायी लेखा नं लिएर व्यापार गर्न व्यवसायीलाई पटक–पटक पत्राचार गर्दा पनि अटेर गरेका छन् जस्का कारण कति व्यवसायीसँग मुठभेड पनि भएको छ । ” उहाँ भन्नुहुन्छ । मनकामना मन्दिरअघि पुगेर हेर्दा लाग्छ अव्यवस्था हटेर व्यवस्थित हुने कहिले हो ? वीरगञ्जबाट आउनुभएका दर्शनार्थी मृत्युञ्जकुमार वर्णवाल मनकामना क्षेत्रलाई व्यवस्थित बनाउन सरकारले ध्यान नदिएको गुनासो गर्नुुहुन्छ । मुलुक संघीय संरचनामा गएपछि केन्द्रका धेरै अधिकार स्थानीय सरकारमै गएको छ । मनकामना मन्दिरस्थित शहीद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापा सिसी क्यामरा राखेर मन्दिर क्षेत्रलाई व्यवस्थित गर्न लागिएको बताउनुहुन्छ । “मनकामना मन्दिर क्षेत्रलाई व्यवस्थित गर्न साविकको मनकामना गाउँ विकास समितिले गरेका सबै निर्णय कार्यान्वयन गर्न लागेका छौँ, केबुलकारदेखि मन्दिरसम्मको बाटोलाई चार मिटरको बनाउँछौँ, दर्ता गरेर नियमसम्मत रुपमा व्यापार गर्न लगाउँछौँ”, उहाँ भन्नुहुन्छ । केबलकारको भाडा महँगो मनकामना दर्शन प्रालिले कुरिनटारबाट मनकामनासम्म ३।२ किलोमिटर केबलकार चढेको भाडा मूल्य अभिवृद्धि कर (भ्याट) सहित रु ६७५ लिने गरेको छ । यो भाडा कुनै सरकारी निकायले तोकेको होइन । मनकामना दर्शन प्रालिले नै यो भाडा तोकेको नायब महाप्रबन्धक वीरेन्द्र श्रेष्ठको भनाइ छ । मनकामना दर्शन गरेर फर्कनुभएका पुरानो बानेश्वरका विमल लामिछाने केबलकारको लागतका आधारमा भाडा बढी भएको गुनासो गर्नुहुन्छ । नेपालमै पहिलो पटक २०५५ मंसिर ८ गतेदेखि कुरिनटारबाट मनकामनासम्म केबुलकार सञ्चालनमा आएको थियो । त्यो बेलादेखि नै प्रालिले नै भाडा निर्धारण गर्दै आएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विगत दुई वर्षदेखि केबुलकार सञ्चालन निर्देशिका ल्याउने तयारी गरे पनि व्यवसायीको दबाबका कारण सफल हुन सकेको छैन । काठमाडौँको चन्द्रागिरीमा केबुलकार सञ्चालन हुने भएपछि सरकारले केबुलकार सञ्चालन निर्देशिका ल्याउने तयारी गरेको थियो । चन्द्रागिरिको केबुलकारको भाडा पनि महँगो भएको यात्रुको गुनासो छ । मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्मा निर्देशिका ल्याउने तयारी गरेका बेला केबुलकारको अनुमति दिने अधिकार स्थानीय तहलाई दिएकाले रोकिएको बताउनुहुन्छ । “तर पछि मन्त्रालयबाटै अनुमति लिनुपर्ने र सञ्चालन भने स्थानीय तहले गर्ने व्यवस्था भएकाले केबुलकारलाई व्यवस्थित गर्ने निर्देशिका ल्याउने तयारी हुँदैछ, यो निर्देशिकामा केबुलकारको भाडा निर्धारणको व्यवस्था पनि हुनेछ”, उहाँको भनाइ छ । गोरखाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत केबुलकार चितवनबाट शुरु भई गोरखामा टुङ्गिने भएकाले व्यवस्थित गर्न नसकिएको स्वीकार्नुहुन्छ । “मनकामना क्षेत्रलाई व्यवस्थित बनाउने प्रयास गरेका छौँ, अहिले अधिकार स्थानीय सरकारमै गएकाले गाउँपालिकाले व्यवस्थित बनाउन गर्ने काममा प्रशासनले सहयोग गर्छ, आन्तरिक राजश्व कार्यालय र करदाता सेवा कार्यालय गोरखामा नभएकाले पनि व्यवसाय दर्ता भएर कर नतिर्ने समस्या छ,”, उहाँ भन्नुुहन्छ । प्रशासनले अनुगमन गरेका बेला व्यवसायी सुध्रने र फर्केपछि मनपरी गर्ने गरेको प्रमुख जिल्ला अधिकारी बस्नेत बताउनुहुन्छ ।

विद्यालय तहमा पढाउने जिम्मेवारी राज्यले लिन्छ : शिक्षामन्त्री पोखरेल

काठमाडौं, वैशाख २ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले भर्ना अभियानलाई सफल पार्ने बताएका छन्। वैशाखदेखि असारसम्मको मन्त्रालयको कार्ययोजना सार्वजनिक गर्न आईतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पोखरेलले विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण अभियानलाई सफल बनाउने गरी दिवसको रुपमा मनाउने तयारी गरिएको जानकारी दिएका हुन्। सरकारले आगामी वैशाख ५ गते बुधबारका दिन विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण दिवस मनाउने तयारी गरेको छ। मन्त्री पोखरेलले यस वर्ष भर्ना गरिएको बालबालिकालाई विद्यालय तहमा पढाउने जिम्मेवारी राज्यले लिने घोषणा पनि गरे। उनले अभियानलाई सफल बनाउन सबैलाई साथ दिन पनि आग्रह गरे। मन्त्री पोखरेलले १ वर्षभित्र अनिवार्य शिक्षा ऐन ल्याउने योजना पनि सार्वजनिक गरे। उनले विद्यालय बाहिर रहेका सबै बालबालिकालाई विद्यालयमा ल्याउने राज्यको दायित्व पूरा गराउन एक वर्षभित्र अनिवार्य शिक्षा ऐन ल्याउन लागिएको पनि स्पष्ट पारे। मन्त्री पोखरेलले अनिवार्य शिक्षा ऐन आएपछि सबै बालबालिकालाई विद्यालय तहको शिक्षा दिने दायित्व राज्यको हुने पनि स्मरण गराए। सरकारले विद्यालय बाहिर रहेका सबै बालबालिकालाई विद्यालयमा ल्याउन भर्ना अभियान संचालनमा ल्याएको हो। भर्ना अभियानलाई सफल बनाउन सरकारले स्वेच्छिक अभिभावकत्व ग्रहण गर्दै भर्ना अभियानमा साथ दिन सबै जनप्रतिनिधिहरु र उनीहरुमार्फत् नागरिक समाजका अगुवाहरुलाई समेत आग्रह गरिसकेको छ। शिक्षा मन्त्री पोखरेलले भर्ना गरिएका सबै बालबालिकाहरुलाई विद्यालय तहको शिक्षा दिने जिम्मेवारी राज्यले लिने पनि बताए। सरकारले घोषणा गरेको असारसम्मको ३ महिने कार्ययोजनामा पनि विद्यालय भर्ना तथा पाठ्यपुस्तक वितरण अभियानलाई मुख्य प्राथमिकता दिइएको छ । त्यसैगरी यो ३ महिनाभित्र संघीय शिक्षा विधेयक र अधिकारमा आधारित शिक्षा विधेयकको मस्यौदा तयार पार्ने, मानव संशाधन प्रक्षेपण र जनशक्ति विकास योजनाका प्राविधिक कार्यदल गठन गर्नेलगायतका योजना अघि सारिएको छ। थाहाखबर

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

दोलखा, वैशाख २ । नयाँ वर्षका अवसरमा शैलुङ घुम्न आएका दुई जनाको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ। दोलखाको तामाकोशी गाउँपालिका–१ मा तीव्र गतिमा रहेको मोटरसाइकल गए राति दुर्घटना हुँदा चालक रामेछाप, मन्थली नगरपालिका–१ का १८ वर्षीय सागर श्रेष्ठ र मोटरसाइकलमा सवार सिन्धुपाल्चोक, साँगाचोकगढी नगरपालिका–४ का २५ वर्षीय राजकुमार मोक्तानको मृत्यु भएको हो। दोलखाको शैलुङ गाउँपालिकाबाट रामेछापतर्फ जाँदै गरेको बा९२प ७२१४ नम्बरको मोटरसाइकल गएराति जिल्लाको तामाकोशी गाउँपालिका–१ भीरकोट, माझीगाउँस्थित मोडमा दुर्घटनामा परेको दोलखा प्रहरीले जनाएको छ। दुर्घटनामा परी उनीहरुको घटनास्थलमै मृत्यु भएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए। प्रहरीका अनुसार नयाँ वर्षमा उनीहरु साथीसँग घुम्न आएको र तीव्र गतिमा मोटरसाइकल दौडाएकाले दुर्घटना भएको हो। मोटरसाइकल सडकबाट करीब १ सय ५० मिटर तल खसेको थियो। रासस

संकटमा अन्ध गल्छी : सडकका ढुंगा गल्छीमा

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा अवस्थित विश्वकै सबैभन्दा गहिरो गल्छी ‘अन्धगल्छी’को चर्चा विश्वभरि हुन् । लोकसेवा आयोगको परीक्षा र हाजिरीजवाफमा पनि संसारकै गहिरो गल्छीको नाम के हो र यो कहाँ पर्छ भनेर सोधिन्छ यही गल्छीलाई । विश्वभर चासो र चर्चा हुने अन्धगल्छीको अवस्था भने दयनीय छ । सांसरकै गहिरो गल्छी बेनी–जोमसोम–कोरला सडक आयोजनाको स्तरोन्नतिका क्रममा मुख्य आकर्षक मानिएको गल्छीको आधा भाग पुरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुने बेलामा दानाको काभ्रेमा सडक विस्तार गर्दा ठूला ढुंगा गल्छीमा खसाल्ने गरिएको छ । उत्तर–दक्षिण अन्तरदेशीय व्यापारिक महत्व तथा प्रदेश नं ४कै मुख्य मार्ग मानिएको सडकखण्डमा काम गरिरहेको शर्मा गजुरमुखी जेभीका मजदूरले सडकबाट गल्छीमा ढुंगा माटो खसाल्न थालेपछि गल्छीको अस्तित्व संकटमा परेको हो । “गल्छी हेर्न गएका पर्यटक निराश भएर फर्कछन् । सडकले गल्छी नै संकटमा परेको कसैलाई मतलव छैन”, अन्नपूर्ण–३ का वडासदस्य हस्तबहादुर पुनले भन्नुभयो । “साँघुरो गल्छी भएकाले खसालिएका ठूला ढुंगा बर्खाको समयमा समेत बगाउन मुस्किल हुने भएकाले समयमै संरक्षणका लागि पहल आवश्यक छ”, उहाँले जोड दिनुभयो । स्थानीयवासीले सीमित सरकारी बजेटमा लामो समयसम्म जनश्रमदान गरी रुप्से झरनाबाट अन्धगल्छीसम्म पुग्ने पूर्वाधार, प्रतीक्षालय, पदमार्ग बनाइए पनि बजेट अभावमा यसको मर्मत हुन सकेको छैन । विश्वभरबाट गल्छीको खोज तथा अनुसन्धानमा आउनेले अन्धगल्छीलाई संसारकै सुन्दर र लुकेको गल्छीका रूपमा समेत व्याख्या गर्ने गरेका छन् । छिमेकी देश चीनको तिब्बतबाट मुस्ताङका विभिन्न खोला मिसिएर बग्ने कालीगण्डकीको खोचलाई विश्वमै गहिरो मानिन्छ । “पूर्वाधारको अभावका कारण धेरै समस्या भइरहेको छ । अझै गल्छी नै संकटमा परेको अवस्थामा सबैको चासो पुग्नुपर्छ” धौलागिरि पर्यटन परिषद्का अध्यक्ष अमर बानियाँले भन्नुभयो । उहाँले रुप्से झरना र अन्धगल्छी विश्वकै नमूना पर्यटकीय गन्तव्य बनाउनुपर्नेमा उल्टो जलविद्युत् आयोजना बनाउने र सडक विस्तारका नाममा गल्छीको नाश गर्न खोजिएको आरोप लगाउनुभयो । पर्यटकीय गन्तव्य–भकिम्ली म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली गाउँदेखि केही माथि रहेको स्वर्गाश्रम मन्दिर र बेलढुंगामा सामान्य पूर्वाधार निर्माण र प्रचारप्रसार गर्न सक्ने हो भने भकिम्ली सदरमुकाम बेनीदेखि छोटो दूरीको सुन्दर पर्यटकीय गन्तव्य बन्न सक्ने सरोकारवालाले बताएका छन् । प्रदेश नं ४ का सांसद विनोद केसी, बेनी नगरपालिकाका पदाधिकारी, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखलगायत सरोकारवालाहरुले हालै अवलोकन भ्रमणपछि सो कुरामा जोड दिएका हुन् । सांसद केसीले जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार र विकासमा ध्यान दिनुपर्ने र यहाँका ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रको दिगो विकास गरी आन्तरिक एवं बाह्य पर्यटक भित्र्याउन सकिने हुँदा यसका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले स्वर्गाश्रम तथा बेलढुंगाको विकासका लागि स्थानीय र जनप्रतिनिधिले ध्यान दिनुपर्ने र जिल्लामा रहेका पर्यटकीय र धार्मिक क्षेत्रको विकास गरी म्याग्दीलाई पर्यटन गन्तव्यका रुपमा विकास गर्न सकिने बताउनुभयो । प्राचिन कालमा स्वर्गाश्रम मन्दिरमा ऋषि एवं माताहरु आएर तपस्या गर्ने गरेको स्थानीय बासिन्दा बताउँछन् । स्वर्गाश्रम र बेलढुंगाबाट म्याग्दीको पर्यटकीय तथा धार्मिक क्षेत्र, विभिन्न जिल्लाका साथै डाँडाकाँडा र धौलागिरि एवं अन्नपूर्ण रेञ्जका हिमशृङ्खलाको मनोरम दृश्यावलोकन गर्न पाइन्छ । रासस