बुद्धको जन्मस्थलबारे भ्रम चिर्न समन्वयको खाँचो

काठमाडौँ, वैशाख २ । बुद्धको जन्थलोबारे अन्तर्राष्ट्रिय तहमा फैलिरहेको भ्रमपूर्ण सुचनाबारे सम्बन्धित देशका दुतावास र परराष्ट्र मन्त्रालयबीच मुख हेराहेरको स्थिति आउनु खेदजनक रहेको लुम्बिनी कपिलवस्तु दिवस अभियानले जानाएको छ ।

अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठले सोमवार एक प्रस विज्ञप्ति जारी गर्दै यस्ता सुचनाहरू सच्याउन सम्बन्धित देशको दूतावास र परराष्ट्र मन्त्रालयले एक अर्काको मुख ताक्ने गरेको बताएका छन् ।

प्रेस विज्ञप्तिमा कान्तिपुर दैनिकमा २०७५ वैशाख १ गते प्रकाशित “बुद्धको जन्मथलोबारे भ्रमपूर्ण प्रचार” शीर्षकको समाचारलाई सन्दर्भ मान्दै दुवै निकायबीच बुद्ध जन्म्स्थाल्कोबारेमा व्याप्त भ्रमहरु चिर्न परस्पर समन्वयात्मक प्रतिष्पर्धा हुनुपर्ने उल्लेख छ ।

कान्तिपुरले वैशाख १ गते प्रकाशित गरेको उक्त समाचारमा श्रीलंकाको क्यान्डीस्थित भारतीय म्युजियममा बुद्धको जन्म भारतमा भएको भन्ने गलत सूचना राखिएको तथ्य उल्लेख भएको छ । सोको बारेमा श्रीलंकाका लागि नेपालका राजदूत विश्वम्भर प्याकुरेलसँग बुझ्न खोज्दा, यसबारे केही महिना अघि परराष्ट्र मन्त्रालयलाई पत्राचार गरिसकेको र गलत तथ्य सच्याउन परराष्ट्रले कूटनीतिक पहल गर्नुपर्ने उत्तर आएको थियो।

उता परराष्ट्र मन्त्रालयका प्रवक्ता भरत पौड्यालले त्यस्तो भ्रमपूर्ण सूचना छ भने त्यसलाई सच्याउन कोलम्बोस्थित दूतावासले नै पहल गर्नुपर्ने बताएकोले दुतावास र मन्त्रालयबीच एक अर्काको मुख ताक्ने प्रवृत्तिको विकास हुनु खेदपूर्ण रहेको विज्ञप्तिमा उल्लेख छ ।

अभियानले ११ अगस्ट २०१० मा तात्कालिन प्रधानमन्त्री माधवकुमार नेपाललाई पूर्व मन्त्रीद्वय राजेन्द्र श्रेष्ठ र दीप कुमार उपाध्याय, डा आरजु देउवा, डा कविताराम श्रेष्ठ लगायतको सहभागिता सहित अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठद्धारा हस्ताक्षरित ज्ञापन पत्र बुझाएको थियो।

उक्त ज्ञापनपत्रमा विभिन्न देशका पाठ्यपुस्तकमा भएका बुद्धको जन्मस्थल बारेमा गलत जानकारी राखिएकोले त्यस किसिमका दिग्भ्रम निस्तेज गर्न कुटनीतिक नियोगहरु मार्फत सम्बन्धित देशका सम्बन्धित निकायसँग कुराकानी गर्न अविलम्ब कदम चालियोस भनी आग्रह गरिएको थियो।

अभियानकै पहलमा २०१५ मा नै नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले विभिन्न देशको पाठ्यक्रममा बुद्धको जन्म भारतमा भएको भन्ने उल्लेख भएकाले ती देशहरूलाई पत्राचार गर्न निर्णय अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत ती सात देशमा पत्राचार गरिसकेको विज्ञप्तिमा जनाइएको छ ।

यस अघि जनस्तरबाट संचालित विश्वव्यापी अभियानको पहलमा वुद्ध जन्मस्थल बिषयमा भएको गलत जानकारी गुगल र राष्ट्रिय र अन्तराष्ट्रिय महत्वका बुद्धिस्ट मन्दिरहरुले र स्वीडेनका पुस्तकहरुमा सच्याउने, ब्रिटिश म्युजियमले सच्याउने निर्णय गर्ने जस्ता महत्वपूर्ण काम भैसकेको समेत विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपति भण्डारीद्वारा त्रि–दिवसीय साधना उद्घाटन

भक्तपुर, वैशाख १ । राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यपुरथिमि नगरपालिकास्थित श्यामाश्यामा धाममा आयोजना गरिएको त्रि–दिवसीय साधना एवं राष्ट्रिय साधक भेलाको आज उद्घाटन गरेकी छन् । कार्यक्रममा उनले राधाकृष्ण मन्दिरमा पूजा गरी प्रसाद ग्रहण गरेकी थिइन् । राष्ट्रपति विद्यादेवी भण्डारीले धामका विभिन्न धार्मिक संरचना र धामले तयार पारेको वृत्तचित्र अवलोकन गरेकी थिइन् । कार्यक्रममा संगीता दिदीले धामको अवस्था र साधनाको महत्व माथि प्रकाश पारेकी थिइन् । राष्ट्रपति भण्डारीलाई मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, धामका स्वामी हरिदास, प्रतिनिधिसभा सदस्य महेश बस्नेत, ३ नं प्रदेशसभा सदस्य शशीजंग थापा, प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालगायतले स्वागत गरेका थिए । तीन दिनसम्म चल्ने साधना एवं भेलामा देशभरबाट साधक तथा साधिकाको उपस्थिति रहेको छ ।

गगन थापाले शुरु गरे सरसफाई अभियान

काठमाडौं, १ वैशाख । नयाँ वर्षको अवसर पारेर नेपाली का‌ग्रेस नेता एवं काठमाडौ क्षेत्र नं ४ का सांसद गगनकुमार थापाले आफ्नो क्षेत्रमा सरसफाई अभियान शुरु गरेका छन् । ‘म बन्छु जिम्मेवारः कर्तव्यसंगै अधिकार’ नामक अभियानको शताब्दी पुरुष एवं संस्कृतिविद सत्यमोहन जोशीले शनिबार काठमाडौं क्षेत्र नं ४ मा सांसद थापाले स्थापना गरेको सम्पर्क कार्यालयमा आयोजित एक कार्यक्रमका बीच प्रारम्भ भएको घोषणा गरे । कार्यक्रममा शताब्दीपुरुष जोशीले ४ नं क्षेत्रमा शुरु गरिएको अभियान मेचीदेखि महाकालीसम्मका गाँउपालिकादेखि केन्द्रीय सरकारसम्मले अनुकरण गर्न अत्यावश्यक रहेको बताए । कर्तव्यमा जाड दिने कर्तव्यसहितको अधिकार बोध गराउने अभियानलाई सवैले मनन गरियो भने देश बनी छाड्ने जोशीले विश्वास व्यक्त गरे । कार्यक्रममा सांसद थापाले नयाँ बर्षलाई कर्तव्यको बर्ष बनाउन आह्वान गर्दै बर्षभरी आफ्ना गतिविधिलाई अधिकार भन्दा कर्तव्यको दृष्टीकोणबाट हेर्न आग्रह गरे । हाम्रा कुनै पनि धर्मले कर्तव्य विनाको अधिकारलाई नमान्ने चर्चा गर्दै उनले कर्तव्य पुरा गर्ने मात्रै अधिकारको भागीदार हुने तर्क गर्नुभयो । अधिकार प्रति म जति सचेत रहन्छु कर्तव्य प्रति पनि त्यती नै सचेत रहने छु भन्ने सोच र अठोट नयाँ बर्षका अवसरमा लिन उहाँले आग्रह गर्नुभयो । अभियानलाई कुनै राजनीतिक दल, संस्थाको मात्र नभई संपुर्ण जिम्मेबार नागरिकको अभियानका रुपमा लिन थापाले आह्वान गरे । यो बर्षभरी ‘हरेक महिना एक विहान, समुदायको लागि श्रमदान” कार्यक्रम संचालन गरिने थापाले जानकारी र्दिए । अभियान अन्तर्गत पहिलो कार्यक्रम शनिबार ज्ञानेश्वरदेखि चावहिलसम्म बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

ठमेल र बसपार्क क्षेत्रलाई जोड्न माग

काठमाडौं, चैत ३० । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नयाँ बसपार्क क्षेत्रमा रोजगारीका लागि व्यवस्थित बनाउनुपर्ने बताउनुभएको छ । ‘प्रथम नयाँ बसपार्क सडक महोत्सव’को आज उद्घाटन गर्दै उहाँले नयाँ बसपार्कलाई सफा राखेर स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षण गर्नुपर्छ भन्नुभयो । नेकपा माओवादी केन्द्रका नेता हिमाल शर्माले बसपार्कलाई ‘स्मार्ट बसपार्क’ बनाउन गुरुयोजना निर्माण गरेर सरकारलाई बुझाइसकिएको बताउनुभयो । काठमाडौँ महानगरपालिका वडा नं २६ का वडाध्यक्ष ख्यामराज तिवारीले मुलुकको आर्थिक मेरुदण्डका रुपमा रहेको ठमेल क्षेत्र र बसपार्क क्षेत्रलाई एकआपसमा जोड्न सके मात्र बसपार्कलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउने बताउनुभयो । “ठमेलमा आउने पर्यटकलाई बसपार्क ल्याउन गरी बसपार्क क्षेत्रलाई राम्रो बनाउन जरुरी छ,”, उहाँले भन्नुभयो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले राष्ट्रिय बसपार्कलाई नमूना बसपार्कका रुपमा चिनाउनका लागि महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । महोत्सवका संयोजक विष्णु पोखरेलले विसं २०७२ को भूकम्पले क्षति पुगेको नयाँ बसपार्क क्षेत्र सुरक्षित क्षेत्रका रुपमा रहेको सन्देश दिन महोत्सव आयोजना गरिएको बताउनुभयो ।

नारायणगढ मुग्लिन सडकखण्ड बन्द नहुने

काठमाडौं, चैत्र ३० । नयाँ वर्षका दिन नारायणगढ मुग्लिन सडकखण्ड बन्द नहुने भएको छ । दैनिक ६ घण्टा बन्द गरेर निर्माणको काम भइरहेको नारायणगढ मुग्लिन सडक भोलि नयाँ वर्षका दिन भने खुला रहने छ । जिल्ला ट्राफिक कार्यालय भरतपुरका प्रमुख, प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार नारायणगढ मुग्लिन सडक आयोजनाले बैशाख १ गते शनिबारका दिन सडक बन्द नगर्ने जनाएको छ । अरु बेला बिहान १० बजेदेखि दिउँसो चार बजेसम्म बन्द गरेर निर्माणको काम हुँदै आएको नारायणगढ मुग्लिन सडक, नयाँ वर्षको दिन खुल्ला रहने प्रहरी निरीक्षक पन्तले बताए । नारायागढ मुग्लिन सडकलाई एसियाली मापदण्ड अनुरुपको दुई लेनको फराकिलो सडक बनाउन निर्माणको काम भइरहेको छ । तीन वर्षअघि सुरु भएको काम अब अन्तिम चरणमा छ । नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार अहिलेसम्म निर्माणको ८८ प्रतिशत काम पूरा भएको छ । जेठको अन्तिमसम्म काम सक्ने लक्ष्य राखिएको आयोजनाले जनाएको छ । आइतबार देखि सो सडक पहिलेको जस्तै ६ घण्टा नै बन्द हुने छ ।

वर्षाले ३५ करोडको इँटा क्षति

विराटनगर, चैत ३० । केही दिनदेखि दैनिक रुपमा भइरहेको वर्षाका कारण मोरङ र सुुनसरीमा सञ्चालित इँटा भट्टामा रु ३५ करोड मूल्य बराबरको काँचो इँटा क्षति भएको छ । वर्षाका कारण इँटा भट्टामा पोल्नका लागि ठिक पारिएको काँचो इँटामा क्षति पुगेको हो । कोशी इँटा व्यवसायी संघका अध्यक्ष महेन्द्र साहले पानीले काँचो इँटा काम नलाग्ने भएर क्षति पुुगेको बताउनुभयो । आनन्द इँटा उद्योग मोरङका सञ्चालक दिलीप वगडियाले वर्षाका कारण आफ्ना छ वटा इँटा उद्योगमा रु १० करोडभन्दा बढी क्षति पुुगेको बताउनुभयो । सुुनसरी र मोरङमा हाल ५३ वटा इँटा भट्टा सञ्चालनमा छन् ।

नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित

बाजुरा । बाजुराको बूढीगंगा नगरपालिका– ७ सिमलकोटमा सडक छेउमै एउटा सानो खरले छाएको छाप्रो छ । जस्ता पाताले छाएको जीर्ण घरमा तीन जनाको गन्धर्व परिवार बस्ने गरेका छन् । सडकको छेउमा स्थानीय दीपक सुनारले बनाएको टिनको टहरामा सपना गन्धर्वसहित उनका दुई छोरा बेसहारा जीवन बितारहेका छन् । सपनाका गन्धर्वका श्रीमान्को मुत्यु भएको तीन वर्ष भएको छ । उहाँका श्रीमान् धन गन्धर्वले पैसाको अभावमा उपचार नपाएरै त्यही छाप्रोमा ज्यान गुमाएको सपना गन्धर्वले गुनासोे सुनाउनुभएको छ । उहाँले भन्नुभयो, “अर्काको छाप्रोमा बस्दै आएकी छु, मसँग जग्गा जमिन मात्र हैन, नागरिकतासमेत छैन ।” नागरिकता नभएकै कारण सामाजिक सुरक्षा भत्ताबापतको एकल भत्ता पाउनबाट समेत वञ्चित भएको बताउनुभयो । उहाँको नागरिकता बनाउन सनाखत बस्ने आफन्त नभएको र माइती सबैको मृत्यु भइसकेकाले आफूले अहिलेसम्म नागरिकता पाउन नसकेको राससलाई बताउनुभयो । नागरिकता बनाउनका लागि स्थानीय जान्नेबुझ्नेलाई पटक÷पटक आग्रह गरिन् । तर कसैले सनाखत नगरिदिएको र नागरिकता बनाउन के–के चाहिन्छ भन्ने जानकारी नभएका कारण नागरिकताबाट वञ्चित भएको सपनाको भनाइ छ । नागरिकता बनाउन कर्मचारीले माइतीको नागरिकता ल्याउन भन्छन् तर कालिकोटमा रहेका माइतीका सबै जनाको मृत्यु भइसकेकाले समस्या परेको सपनाको गुनासो गर्नुभयो । छोरालाई पढाउनका लागि आर्थिक अभावमा झोला किन्ने पैसा नभएर हातमा नै किताब बोकेर विद्यालय जाने गर्दछन् । सपना सिमलकोटमा बस्न थालेको १५ वर्ष जति भयो । पहिले अरुको गोरु गोठमा आश्रय लिएको उनको परिवारलाई दीपक सुनारले आफ्नो सानो छाप्रो दिएपछि पाँच वर्षदेखि यही घरमा बस्ने गरेको बताउनुभयो । श्रीमानको मृत्युपछि सपनाको काँधमा दुई छोरा पालनपोषण गर्ने एकल जिम्मेवारी थपियो । श्रीमान् हुँदा गीत गाएर, माटोका भाँडा बनाएर परिवारको गुजारा चल्थ्यो । श्रीमान्को मृत्युपछि मागेर नै छोरा र आफ्नो गुजारा चलिरहेको सपनाले बताउनुभयो । सपनाको जेठो छोरा सागर कक्षा ५ र कान्छो छोरा राजेश गाउँकै शारदा माविमा कक्षा २ मा पढिरहेका छन् । हातमा पैसा नहुँदा कपी, कलम र विद्यालय लग्ने झोलासमेत छोरालाई किन्न नसकेको उहाँको भनाइ छ । बूढीगंगा नगरपालिकाका नगर प्रमुख दीपकविक्रम शाहले अल्पसंख्यकमा रहेका गन्धर्व समुदायका मानिसको जीवनस्तर सुधार र नागरिकता बनाउन पहल गर्ने बताउनुभयो । रासस

नयाँवर्ष २०७५ मनाउन अान्तरिक पर्यटकहरु सौराहातर्फ अाकर्षित

चितवन । पर्यटकीय क्षेत्रमा नयाँ वर्ष भन्नेबित्तिकै अंग्रेजी नयाँ वर्षलाई लिने गरिन्थ्यो । अंग्रेजी नयाँ वर्षमा अन्तरिक र बाह्य पर्यटकले यहाँका होटल तथा रिसोर्ट भरिभराउ हुन्थे । पर्यटन व्यवसायीलाई पनि पर्यटक भनेपछि विदेशीमात्रै लाग्ने गथ्र्याे । अहिले अवस्था त्यस्तो छैन । पछिल्ला वर्षहरुमा विसंको पहिलो दिन वैशाख १ गते नयाँ वर्ष मनाउनेहरु आन्तरिक र बाह्य दुवै हुने गरेका छन् । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार विसंको पहिलो दिन वैशाख १ गते नयाँ वर्ष मनाउन आउनेहरुको संख्या वर्षेनी बढ्दो छ । उहाँले भन्नुभयो, “तीन वर्षयता नयाँ वर्ष मनाउन यहाँ आउने संख्या वर्षेनी बढ्दै गएको छ ।” त्यसअघिका वर्षहरुमा अंग्रेजी नयाँ वर्ष मनाउन पर्यटक आउने भए पनि नेपाली नयाँ वर्षमा पर्यटकीय क्षेत्र प्रायः सुनसान जस्तो हुन्थे । पछिल्ला वर्षहरुमा नेपाली नयाँ वर्षमा आन्तरिक र बाह्य पर्यटकले होटल भरिभराउ हुने गरेका छन् । गतवर्ष नेपाली नयाँ वर्षमा ८० प्रतिशत सौराहाका होटल बुकिङ भएका थिए । यसवर्ष ९० प्रतिशत होटल बुकिङ भइसकेको घिमिरेले बताउनुभयो । उहाँका अनुसार ६० देखि ७० प्रतिशत आन्तरिक तथा बाँकी बाह्य पर्यटक सौराहामा छन् । अंग्रेजी नयाँ वर्षमा शतप्रतिशत होटल बुकिङ हुने गर्छ । सौराहाका ११० होटलमा पाँच हजार ५०० पर्यटक राख्न सकिन्छ । धेरै आन्तरिक पर्यटक आज आएर भोलि फर्किने गर्छन् । बाह्य पर्यटक दुई-तीन दिनसम्म बस्न सक्छन् । रेष्टुरेण्ट एण्ड बार एशोसिएसन (रेवान) सौराहाका अध्यक्ष गोकर्ण गिरी सौराहाका होटल रेष्टुरेण्टहरु पर्यटकले भरिएको बताउनुहुन्छ । उहाँका अनुसार बिहीबारदेखि नै पर्यटकको चहलपहल बढेको छ । त्यसो त विदेशीले भन्दा नेपाली पर्यटकले बढी खर्च गर्ने उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “नेपालीको गोजीमा रु एक हजार भयो भने रु ९०० खर्च गर्छन् विदेशले रु एक हजार भयो भने रु ३०० सम्म मात्रै खर्च गर्छन् ।” आम्दानीको हिसाबले स्वदेशी पर्यटक फाइदाजनक हुने उहाँले बताउनुभयो । यस वर्ष नयाँ वर्षको अघिल्लो दिन शुक्रबार तथा नयाँ वर्षको दिन शनिबार परेकाले पनि नयाँ वर्ष मनाउन आउनेको संख्या बढी भएको उहाँको भनाइ छ । पछिल्ला वर्षहरुमा नेपालीहरुमा भ्रमण र खर्च गर्ने प्रचलन बढ्दो छ । यतिबेला विद्यालयको परीक्षा सकिएर नयाँ कक्षा सञ्चालन भइनसकेकाले पारिवारिक भ्रमण पनि बढी हुने गर्छ । रेवानले नयाँ वर्षको अवसरमा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । सौराहाकै केही होटलले पनि सांस्कृतिक कार्यक्रम राखेका छन् । सौराहा आउने पर्यटक राप्ती किनारको बगरमा बसेर निकुञ्ज नियाल्दै रमाउँछन् । पर्यटकले हात्ती, डुंगा र जिप सफारी पनि गर्छन् । देशको तेस्रो पर्यटकीय गन्तव्य मानिने चितवन राष्ट्रिय निकुञ्जमा पाइने दुर्लभ एकसिंगे गैँडा, बाघलगायत जंगली जनावर हेर्न आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छन् । रासस

ट्याक्टरबाट खस्दा बालकको मृत्यु

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका–१ मा बुबाले चलाएको ट्र्याक्टरबाट खस्दा घाइते भएका छोराको आज बिहान उपचारका क्रममा मृत्यु भएको छ । भीमदत्तनगरपालिका–१ का चालक टेक साउद खेत जोतिरहेका बेला ट्र्याक्टरमा सवार ६ वर्षीय विकास साउद लडेर घाइते भई उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । बुबा टेक साउदले चलाएको ट्र्याक्टरबाट लडेर ६ वर्षीय विकास घाइते भएको प्रहरीले जनाएको छ । बालकको उपचारका क्रममा महाकाली अञ्चल अस्पतालमा मृत्यु भएको हो । रासस

नयाँवर्ष मनाउन पर्यटकको राेजार्इमा परे तिलिचो ताल

मनाङ । नयाँ वर्ष मनाउन केही वर्षयता आन्तरिक पर्यटकको रोजाइमा मनाङ पर्न थालेको छ । नयाँ वर्ष मनाउन यहाँ आउनेमध्ये सबैभन्दा धेरैको रोजाइमा तिलिचो ताल पर्ने गरेको छ । यहाँ नयाँ वर्ष मनाउनका लागि आउने आन्तरिक पर्यटकको चाप बढेको छ । दशैँ तिहारको छुट्टीमा जस्तै नयाँ वर्ष मनाउन आफूहरुको रोजाइमा मनाङ परेको पर्यटक स्नेह कार्की बताउनुहुन्छ । विश्वको सर्वाधिक उचाइमा रहेको तिलिचो ताल, मनाङ गाउँको काखमा रहेको गंगापूर्ण ताल र पिसाङमा रहेको पिसाङ ताल आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेका छन् । हिमशृंखलाबाट बनेका तालतलैया र यहाँको मौलिक परम्पराले जो कसैलाई पनि मोहित बनाउँछ । यहाँको सौन्दर्यमा रमाउन स्वदेशी तथा विदेशी पर्यटकको घुइँचो लाग्छ । गत वर्ष नयाँ वर्षको दिन यहाँ करिब पाँच सयभन्दा बढी आन्तरीक पर्यटक आएका अन्नपूर्ण संरक्षण क्षेत्र मनाङले जनाएको छ । यसपटक उक्त संख्या दोब्बरले बढ्ने मनाङ जिल्ला पर्यटन व्यवसायी संघका अध्यक्ष विनोद गुरुङले बताउनुभयो । “मनाङ घुम्न आउने आन्तरिक पर्यटकका कारण यहाँका होटल भरीभराउ हुने गरेका छन्,” उहाँले भन्नुभयो । रासस

गाँजा उखेलेर जनचेतना जगाउँदै विद्यार्थी

काठमाडौँ । टोल शहर सफाइका लागि जनचेतना जगाउने उद्देश्यले काठमाडौँ महानगरपालिका–३१ आलोकनगरमा विद्यार्थीको सहभागितामा सफाइ गरिएको छ । आलोकनगरस्थित मातृशक्ति सरसफाइ अभियानले सान्त्वना कलेजका विद्यार्थी, नेपाल प्रहरी र अभियानकर्मीको सहयोगमा जनचेतनामूलक सफाइ गरेका हुन् । सफाइसँगै वडा नं ३१ मा रहेका खाली जग्गामा उम्रिएको गाँजाको बिरुवा पनि उखेलिएको सफाइ संयोजक प्रमिला पौडेलले जानकारी दिनुभयो । खाली ठाउँमा युवायुवती जम्मा भएर गाँजा माडेर खाँदा उम्रिएका बिरुवा उखेलिएको उहाँले सुनाउनुभयो । सफाइबाट दुई ट्र्याक्टर फोहरसमेत व्यवस्थापन भयो । सफाइमा कलेजका ४० जना छात्रछात्राको सक्रियता थियो । प्रत्येक हप्ताको शनिबार सफाइ गर्ने गरिएकामा विद्यार्थी नआउने भएकाले शुक्रबार नै सफाइ गरिएको हो । मातृशक्ति सफाइ अभियानले ५३ हप्ता पार गरेको छ । सफाइ अभियानले टोल सरसफाइमा जागरण ल्याएको जनाइएको छ । रासस

महिला र ऊर्जाको सवालमा जोड

बारा । महिलालाई स्वच्छ ऊर्जामा पहुँच अभिवृद्धि, ऊर्जा अधिकारको सुनिश्चितता र ऊर्जा दक्षता वृद्धि गर्न सकिएमा वातावरण संरक्षण र जनस्वास्थ्यमा सुधार ल्याउन र मुलुकलाई ऊर्जामा आत्मनिर्भरता गर्न सकिनेमा जोड दिइएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा नेपाल ऊर्जा फाउण्डेशन तथा ऊर्जा र वातावरणका लागि महिला सञ्जाल नेपाल(ओनी)द्वारा यहाँ आयोजित महिलाका लागि नवीकरणीय ऊर्जा दक्षतासम्बन्धी क्षमता विकास प्रशिक्षण कार्यक्रमका सहभागीले सो कुरामा जोड दिएका हुन् । खाना पकाउने, दाउरा संकलन गर्ने, विद्युतीय उपकरणको प्रयोगदेखि विद्युत् महसुल तिर्नेलगायतका कार्यमा महिलाको सहभागिता बढी रहने भएपनि त्यसको सही उपयोग, किफायती तथा सुरक्षित रुपमा प्रयोगसम्बन्धी ज्ञानको अभाव र नीति निर्माण तहमा महिलाको सहभागिता नहुँदा ऊर्जा क्षेत्रमा अनेक समस्या आएको वक्ताहरुको भनाइ थियो । प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै निजगढ नगरपालिकाकी उपप्रमुख लीलादेवी लामिछानेले महिला र ऊर्जाबीच अन्योन्याश्रित सम्बन्ध रहे पनि अहिलेसम्म राज्यको ध्यान जान नसकेको बताउँदै नगरपालिकाले यसतर्फ विशेष पहल गर्ने बताउनुभयो । प्रशिक्षणमा नेपाल ऊर्जा फाउण्डेशनका निर्देशक डिल्ली घिमिरेले ‘ऊर्जा सुरक्षा र ऊर्जामा नागरिकको अधिकार’, पत्रकार कृष्ण अधिकारीले ‘ऊर्जा दक्षता र नवीकरणीय ऊर्जा’ तथा ओनीकी अध्यक्ष कला तिमिल्सिनाले ‘महिला र ऊर्जाका सवाल’सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । प्रशिक्षणमा निजगढ र कोल्हवी नगरपालिकामा ३५ जना महिलाको सहभागिता रहेको थियो । सहभागी महिलाले महिला र ऊर्जाको विषयलाई स्थानीयस्तरसम्म विस्तार गर्ने उद्देश्यले निजगढमा दुर्गा कोइराला र कोल्हवीमा कोपिला पौडेलको संयोजकत्वमा ओनीको शाखासमेत गठन गरेका छन् । रासस

विपद् व्यवस्थापनमा रेडक्रस झापा देशमै सर्वोत्कृष्ट

बिर्तामोड । नेपाल रेडक्रस सोसाइटी झापा विपद् व्यवस्थापनका लागि देशमै सर्वोत्कृष्ट भएको छ । रेडक्रसको ४७ औं केन्द्रीय महाधिवेशनमा रेडक्रस झापालाई सर्वोत्कृष्ट जिल्ला घोषणा गर्दै आपदा प्रबन्ध पुरस्कार प्रदान गरिएको थियो । यसअघि सिन्धुलीमा सम्पन्न ४६औं महाधिवेशनमा दोस्रो र हेटौडामा सम्पन्न ४५औं महाधिवेशनमा झापा पहिलो भएको थियो । रेडक्रस सोसाइटी झापाले विपद् व्यवस्थापनमा उत्कृष्ट हुँदै आपदा प्रबन्ध पुरस्कारसँगै रडक्रसका विभिन्न गतिविधिमा पनि देशकै सर्वोत्कृष्ट दोस्रो भएको छ । योसँगै नगद १० हजारसहित शिल्ड र प्रमाणपत्र समेत नेपाल रेडक्रस सोसाइटी झापाले हात पारेको छ । पुरस्कार नेपाल रेडक्रसका केन्द्रीय सदस्य भक्त खवास, जिल्ला सभापति लोकराज ढकाल, मन्त्री चन्द्रप्रसाद चुडाल, कोषाध्यक्ष ओमप्रकाश गौतम, उपकोषाध्यक्ष हेम खड्का, नेपाल रेडक्रस सोसाइटी बिर्तामोड शाखा सभापति सजेश शिवाकोटी र सचिव मनोज अग्रवालले संयुक्त रुपमा ग्रहण गरेका थिए ।

क्रान्तिकारीको अध्यक्षमा मैनाली

सर्लाही । अखिल क्रान्तिकारीको सर्लाही जिल्ला अध्यक्षमा विवेक मैनाली निर्वाचित भएका छन् । बिहीबार भएको सम्मेलनबाट उनी निर्वाचित भएको प्रदेश २ का इन्चार्ज समेत रहेका उपमहासचिव गणेशप्रसाद मैनालीले जानकारी दिए । सम्मेलनको उद्घाटन केन्द्रिय अध्यक्ष रञ्जित तामाङले गरेका थिए । यसअघि नवनिर्वाचित अध्यक्ष मैनाली त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पत्रकारीताको केन्द्रिय क्याम्पस रत्न राज्यलक्ष्मी क्याम्पसको इन्चार्ज थिए ।् क्रान्तिकारी माओवादी केन्द्र निकटको विद्यार्थी संगठन हो । एमाले र माओवादीबीच पार्टी एकताको अन्तिम मिति नजिकिइरहेको बेला क्रान्तिकारीले देशभर सम्मेलन गरिरहेको छ ।

झुलाघाटमा बालकको उद्धार

बैतडी । हुम्ला घर भएका एक बालकको बैतडीस्थित नेपाल–भारत सीमानाका झुलाघाटबाट उद्धार गरिएको छ । घरमा थाहा नदिई भागेर भारत जाँदै गरेका हुम्लाको सर्केगाड गाउँपालिका–८ का १४ वर्षीय गजेन्द्र बोहरालाई प्रहरीले बिहीबार उद्धार गरेको हो । गजेन्द्रको घरमा फोन सम्पर्क गर्दा भागेर गएको थाहा पाएपछि बालकको उद्धार गरी आफन्तलाई बुझाउने तयारी गरिएको सिमानाका प्रहरी चौकीका प्रमुख चक्रदेव पाण्डेले जानकारी दिनुभयो । प्रदेश नं ७ सुदूरपश्चिमका सात वटा पहाडी जिल्लालगायत जुम्ला, कालीकोट, हुम्लाका नागरिक सीमानाका झुलाघाट हुँदै भारत जाने गर्दछन् । रासस

रारा आउने पर्यटकलाई गाउँमै बास

मुगु, चैत २९ । आगामी वैशाख १ गते उद्घाटन हुने रारा कर्णाली पर्यटन वर्षको कार्यक्रममा सहभागी हुने आन्तरिक तथा बाह्य पर्यटकलाई गाउँमै बासको व्यवस्था गरिएको छ । रारा तालको नजिक रारा राष्ट्रिय निकुन्जको चमेना गृह (डाँफे होटल) र अर्को पाहुना घर (भिलेज हेरिटेज रिसोर्ट) ले रारा आउने पर्यटकलाई खाने बस्नेलगायत व्यवस्था धान्न नसक्ने भएकाले उनीहरुलाई जिल्ला समन्वय समितिले गाउँमै बासको व्यवस्था मिलाउने भएको छ । रारा वरिपरि रहेका झघट्ट, मुर्मा, झयारी, सल्लेरी, पिना, टोप्ला, ताल्च, माथीतुम, तलितुम र लामाचौरमा घरबासको व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताउनुभयो । ती गाउँमा वर्षभरि आउने पर्यटकलाई गाउँमै बास र स्थानीय खाना खुवाउने गरी घरबास (होमस्टे) सञ्चालन गर्ने गाउँलेले सहमति जनाएको र शुल्क पर्यटकको इच्छाअनुसार लिने समझदारी भएको उहाँले बताउनुभयो । प्रजिअ अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर रोकाया, छायाँनाथ रारा नगरपलिकाका प्रमुख हरिजंग शाही, उपप्रमुख सुल्तला रोकाया र पत्रकार महासंघको टोलीले १० वटै गाउँमा पर्यटकको बासका लागि पहल गरेका हुन् । गाउँलेकै सक्रियतामा प्रत्येक गाउँमा युवा समिति गठन गरिएको छ । ती समितिमा रहेका युवाले गाउँमा आउने पर्यटकलाई रारा घुमाउने, गाउँघरमा मदिरा नियन्त्रण गर्नेलगायत सामाजिक कार्य गर्नेछन् । वैशाख १ गते रारा तालबाट रारा कर्णाली पर्यटन वर्षको प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गरी उद्घाटन गर्ने कार्यकक्रम रहेको छ । प्रधानमन्त्रीले उद्घाटन गरेपछि कर्णाली प्रदेशमा वर्षभरी विभिन्न कार्यक्रम गरेर पर्यटन वर्ष मनाइनेछ । पर्यटन वर्ष उद्घाटन कार्यक्रममा आउने आन्तरिक तथा बाह्य पर्यटकको चापको आँकलन गरी व्यवस्था मिलाइएको छ । उक्त दिन सञ्चार सेवा नियमित र इन्टरनेट सेवा तीव्र गतिको दिने नेपाल टेलिकम र वल्डलिंकले प्राविधिकलाई तयारी अवस्थामा राखेका छन् । प्राकृतिक सौन्दर्यको खानी रारामा फोहोरमैला व्यवस्थापनका लागि नेपाल टेलिकमले प्लास्टिक डस्बिन राखिसकेको छ, भने फोहर उठाउन तथा व्यवस्थापन गर्न सरसफाइ युवा स्वयंसेवक तयार पारेको छ । उद्घाटन कार्यक्रमको तयारीका लागि विभिन्न उपसमिति गठन गरी कार्य भइरहेको र सबै काम अन्तिमचरणमा पुगेको जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर रोकायाले बताउनुभयो । वैशाख १ गते रारामा जिल्लामा रहेका चार स्थानीय तहले स्थानीय लोक झाँकी, देउडा, ढाल नाच, चुम्फा नाच, झोडा र बालो प्रदर्शन गर्ने कार्यक्रम छ । उक्त दिन पर्यटकलाई तालमा डुङ्गगामा घुमाउन डुङ्गा र ताल वरिपरी घुमाउन घोडाको व्यवस्था मिलाइएको छ । रारा आउने पर्यटकलाई सहजताका लागि सडक डिभिजन कार्यालय जुम्लाले मुगुको सिमाना बुलबुलेदेखि सल्लेरी र रारा विमानस्थलसम्म सडक बनाउन थालेको छ । हवाई यात्राका लागि नेपालगञ्ज र सुर्खेतबाट नियमित उडान गर्न सबै विमान कम्पनी सहमत भएका छन् । पर्यटन वर्षको उद्घाटनसँगै देशवासीको नाममा प्रधानमन्त्रीले सम्बोधन गर्ने भएकाले मुगु जिल्लावासीले प्रधानमन्त्रीको सम्बोधनमा मुगु नाग्चेलाग्ना तिब्बत् सडक, कणाली राजमार्ग, छायाँनाथ रारा पर्यटकीय पदमार्ग, रारा हिल्सा पदमार्ग, रारा सेफोक्सुण्डो पदमार्ग तथा रारा खप्तड पदमार्गबारे विषेश सम्बोधन हुने आशा गरेका छन् ।