शिक्षक नै विद्यालय बन्द गरि यार्चागुम्बा टिप्न

रुकुम पूर्व, जेठ २१ । शिक्षक र विद्यार्थी यार्चागुम्बा टिप्न गएपछि जिल्लाको लेकाली भेगका विद्यालय बन्द भएका छन् । बन्द हुनेमा यार्चा पाइने वन क्षेत्र नजिकका विद्यालय छन् ।

यार्चा सिजन लागेसँगै पुथाउत्तरगंगा गाउँपालिकाका एक मावि र ६ आधारभूत विद्यालय गतसाता नै बन्द भएका हुन् । यहाँ पुथा हिमालय माविका अतिरिक्त पुसर, पेल्मा, गुइवाङ, तिञ्ज्याङ, हर्दिवाङ र रन्मा आधारभूत विद्यालय छन् ।

अघिल्ला सिजनमा जस्तै यसपालि पनि बर्खे बिदा कटौती गर्ने गरी शिक्षक र विद्यार्थी बुकीतिर लागेका हुन् । ‘गाउँका र केही बाहिरका शिक्षक बुकी पुग्नुभएको छ, विद्यार्थी भने लगभग सबैजसो बुकीतिरै छन्,’ स्थानीय कर्म घर्तीले भने ।

पुथा हिमालय माविका प्रधानाध्यापक हस्तिमान पुन पनि बुकीमै छन् । उनले यार्चा टिप्न सबै विद्यार्थी जाने भएकाले विद्यालय बन्द गरिएको बताए । ‘अभिभावकसँगै सबै विद्यार्थी बुकी उक्लिन्छन्, हामी शिक्षक मात्रै गएर भएन, त्यसैले हरेक सिजनजस्तै यसपालि पनि विद्यालय बन्द गरेका हौं,’ पुनले भने । कान्तिपुरमा समाचार छ ।

मुग्लिन–नारायणगढ सडक अवरुद्ध

चितवन जेठ २० । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चार किलो भन्ने स्थानमा आज अपराह्न पहिरो खसेर सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो भन्ने स्थानमा आज अपराह्न ४ बजेको समयमा पहिरो खसेर सडक अवरुद्ध भएको चितवनका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिनुभयो । सडक निर्माण कार्य हुँदै गर्दा एक्कासि सडकमाथिबाट सुख्खा पहिरो खसेको हो । उक्त स्थानमा तीन स्काभेटरको प्रयोग गरेर पहिरो हटाउने काम जारी छ । शुरुमा पहिरो खस्ने क्रम नरोकिएकाले केही समय पहिरो हटाउने कार्य सञ्चालन गर्न नसकिएपनि अहिले भने पहिरो हटाउने काम जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरोका कारण चितवनबाट काठमाडौँ, पोखरालगायत ठाउँमा जाने र चितवन आउने सवारी अहिलेबीच बाटो मै रोकिएका छन् । बिहान १० बजेदेखि रोकिएका सवारीसमेत जान पाएका छैनन् । यहाँ सडक निर्माण कार्य जारी रहेकाले विहान १० देखि अपराह्न ४ बजेसम्म सवारी रोकिँदै आएको छ ।

नेपालको वाम एकताले संसार भरका कम्युनिष्ट उत्साही : नेपाल

दोहा, जेठ २० । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं पूर्ब प्रधानमन्त्री माधवकुमार नेपालले अहिलेको सरकारको प्रमुख काम देशमै रोजगारीको सिर्जना गरि जनतालाई परिबर्तनको अनुभूति दिलाउने रहेको बताउनु भएको छ । कम्युनिष्ट पार्टीका निमन्त्रणामा ब्राजिल जाने क्रममा कतारको दोहामा शनिबार राती प्रवासी कार्यकर्तासङ्ग कुरा गर्दै नेता नेपालले सरकार सुशासन कायम गरि भ्रष्टाचार मुत्त नेपाल निर्माण गर्न लागेकोले केही समयमा नै जनताले यसको अनुभुति गर्ने बताउनु भयो । पूर्व माओवादी र एमालेका संगठन नेपाली जनप्रगतिशिल मञ्च र प्राबासी नेपाली मञ्चका कार्यकर्तासङ्ग राजदूतावासमा कुराकानी गर्दै नेता नेपालले देशमा रोजगारीको सिर्जना गर्न बिदेशी पूँजी भित्र्याउन आवश्यक रहेको भन्दै नेपालमा लगानी गर्न इच्छुक कतार जस्ता समृद्ध देशलार्इ दूतावास र नेपाली समाजले हाइड्रोपावर लगाएतका क्षेत्रमा लगानीका लागि प्रोत्साहन गर्न आवश्यक रहेको बताउनु भयो । देशको सुखदुःखमा सधै प्रबासी नेपालीको महत्त्वपूर्ण साथ रहेको भन्दै बिदेशमा आएर कोही नेपाली समस्या पर्दछ भने दूतावाससङ्ग समन्वय गरि तत्काल उद्दारमा लाग्न आग्रह गर्नु भयो । नेपालका दुई ठूलो कम्युनिष्ट पार्टीबीचको एकताले संसार भरका कम्युनिस्टहरुमा उत्साह थपिएकोले कम्युनिस्ट प्रणालीबाट समृद्धि हासिल गरेका देशले प्रयोग गरेको मोडल अध्ययन गर्नको लागि ढोका खोलेको बताउनु भयो । नेता नेपालसंगै सोही कार्यक्रममा सहभागीता जनाउन जान लाग्नु भएका नेकपाका प्रबक्ता नारायणकाजी श्रेष्ठले दुई पार्टी बिचको एकता केबल बहुमतको सरकार निर्माण गर्न नभइ समृद्ध नेपाल बनाउनको लागि भएको बताउनु भयो । पार्टी एकता आफैमा एतिहासिक र चुनैतिपूर्ण भए पनि कार्यदलले काम गरिरहेकोले सम्पूर्ण तहको एकीकरण प्रक्रिया तीन महिनाभित्र सक्ने गरी काम भइरहेको प्रवक्ता श्रेष्ठले बताउनु भयो । प्रबक्ता श्रेष्ठले संविधानको भावना पनि समाजबाद उन्मुख नेपाल निर्माण गर्ने भएकोले तत्काल समाजबादमा पुग्न नसके पनि नेकपाले समाजबादको मार्ग निर्माण गर्ने बताउनु भयो ।

प्रदीप गिरीको अर्थमन्त्रीलाई आग्रह: संसदको पीडा बुझ्न एक पटक चुनाव लड्नुस्

काठमाडौँ, जेठ २० । नेपाली काँग्रेसका नेता प्रदीप गिरीले अर्थमन्त्री डा. युवराज खतिवडाले निमुखा सांसदहरुको पीडा नबुझेको भन्दै एक पटक प्रत्यक्ष चुनाव लड्न सल्लाह दिएका छन् । आइतबार बजेट छलफलमा भाग लिँदै नेता गिरिले अर्थमन्त्रीले धेरैजसो सांसदलाई बजेट नदिएर ठीक जवाफ दिए पनि निमु्खा सांसदको समस्या नबुझेको धारणा राखेका छन् । नेता गिरीले भने “सांसद पनि कस्ता भोकानाङ्गा भने भूकम्प पीडितको ५ सय रुपैयाँ पनि लिएर जाने, कुनै सुविधा पनि नछोड्ने । एक दुई जना होलान् सुविधा नलिने, बाँकीलाई त सारा सुविधा चाहिने । तिनलाई तपाईले ठीक जवाफ दिनुभयो, सांसदहरुले यही जवाफ खोजेका थिए” गिरीले भने “एक पटक विनम्रतापूर्वक भन्न चाहन्छु् अर्थमन्त्रीजीले प्रत्यक्ष चुनाव चाहिँ लड्नैपर्छ । अनि सांसदको कुरा बुझ्नुहुन्छ ।” नेता गिरीले सांसद जत्तिको अपमानित र निरीह नेपालमा अरु कोही नभएकाले उनीहरूले अर्थमन्त्रीलाई ट्रयापमा पार्न नसक्ने दाबी गरे । “सांसदहरुको के ट्रयापमा पर्नुपर्छ रु सांसदहरुको जति अपमान यो मुलुकमा अरु कसैको छ?” उनले प्रश्न गरे । नेताहरुले बिजुलीबाट रेल चलाउने, चन्द्रमा पुर्‍याउने सपना देखाए पनि हिसाब किताब गर्दा र आफ्नो विवेक प्रयोग गर्दा त्यो सम्भव नदेखिएपछि अर्थमन्त्री समस्यामा परेको समेत नेता गिरीले बताए ।  

कारवाहीको माग गर्दै राजमार्ग बन्द

भक्तपुर । बसको ठक्करबाट ज्यान गएका पीडित परिवार र आफन्तले आज मध्यपुरथिमि–४ राधेराधेस्थित अरनिको राजमार्गखण्ड बन्द गराएका छन् । शनिबार दिउँसो सोही स्थानमा भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा३ख २७२२ नं को बसले निकोसेराबाट आउँदै गरेको बा४०प २०९४ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मध्यपुरथिमि–९ निकोसेरा थिमि बस्ने २४ वर्षीय दीपक ख्याजुको मृत्यु भएको थियो । चालकलाई ज्यान मुद्दा लगाएर कारवाही गर्नुपर्ने र पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै स्थानीय बासिन्दाले सडक अवरुद्ध पारेका हुन् । पीडित परिवार, आफन्त र स्थानीय बासिन्दाले महानगरीय प्रहरी वृत्त घेराउ गरी कारवाहीको माग गरेका छन् । बसका चालक सिन्धुपाल्चोक घर भई हाल भक्तपुर च्यामासिंह बस्ने २८ वर्षीय दीपबहादुर प्रधानलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरी कारवाही प्रक्रिया अगाडि बढाएको प्रहरी वृत्त थिमिका प्रमुख एवं प्रहरी नायब उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिनुभयो । रासस

ज्योतिलाई मेयर कान्तिकाले दिइन गुन्यूचोलो

गायिका ज्योति मगरलाई एकातिर स्टेज क्विनको उपाधि प्राप्त छ भने अर्कातिर समाजमा विकृति फैलाएको आरोप पनि लाग्दै आएको छ । ज्योति स्टेज कार्यक्रममा छोटा पहिरनमा प्रस्तुत भएर संवेदनशील अंग प्रदर्शन गरेको आरोप लाग्छ । यही कुरालाई मध्यनजर गर्दै जुम्लामा आयोजित एउटा कार्यक्रममा चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवालले ज्योतिलाई परम्परा झल्काउने गुन्यूचोलो उपहार प्रदान गरिन् । गायिका मगरलाई सामाजिक सद्भाव फैलाउन प्रेरणा मिलोस् भन्ने उद्देश्यले उपहार दिएको मेयर सेजुवालको भनाइ छ । गायिका मगरले पनि आफूले नेपाली संस्कृतिलाई पहिलेदेखि नै माया गर्दै आएको बताइन् ।

पूर्वगृहमन्त्री शाहीको निधन

काठमाडौं, जेठ २० । पूर्व गृहमन्त्री दानबहादुर शाहीको ७६ वर्षको उमेरमा आज बिहान निधन भएको छ । मिर्गौला रोगबाट पीडित शाहीको उपचारका क्रममा आज बिहान ग्राण्डी अस्पतालमा निधन भएको अस्पतालले जनाएको छ । उहाँ करीब दुई महिनादेखि सोही अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । डोटीको केआई सिंह गाउँपालिका तिखार, डुम्राकोट स्थायी घर भएका शाहीले पूर्व प्रशासक, सचिवको समेत जिम्मेवारी पूरा गर्नुभएको थियो । उहाँका दुई श्रीमती, दुई छोरा र तीन छोरी हुनुहुन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा उहाँलाई श्रद्धाञ्जलि दिनका लागि नयाँ बानेश्वरस्थित निवासमा जानुभएको प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो । उहाँको आजै अन्त्येष्टि गरिने जनाइएको छ ।

सरकारले बाढीपीडितलाई राहत स्वरुप ६ करोड २६ लाख वितरण

गौशाला । महोत्तरी जिल्लामा गतवर्ष साउनमा आएको भीषण बाढीबाट आफ्ना घरबार गुमाएका पीडितलाई सरकारले झण्डै एक वर्षपछि राहतस्वरुप रु ६ करोड २६ लाख वितरण गरेको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीका अनुसार सरकारले यसै महिनामा महोत्तरी जिल्लाका दुई हजार पाँच सय ४ घरपरिवारलाई जनही रु २५ हजारका दरले राहत उपलब्ध गराएको हो । सो रकममध्ये बाढीबाट क्षति भएका घरको मर्मतको लागि रु १५ हजार र न्यानो कपडाको लागि रु १० हजार गरी जम्मा २५ हजार प्रति परिवार वितरण गरिएको प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले बताउनुभयो । महोत्तरीका बाढीपीडितले झण्डै एक वर्षपछि राहत पाएका छन् भने उनीहरुले विगत एक वर्षमा रु २५ हजार भन्दा बढी ऋण, कर्जा गरिसकेकाले सरकारसँग पुनः थप राहतको माग गरेका छन् । महोत्तरीमा गतवर्ष साउनमा आएका भीषण बाढीले नौ जनाको मृत्यु हुनुका साथै हजारांै घरवार विहीन भएका थिए । साथै जिल्लामा कडोरांै मूल्यको क्षति भएको थियो । रासस

पाल्पा–बुटवल सडक बन्द

पाल्पा, जेठ १९ । सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने पाल्पा–बुटवल सडक बन्द गरिएको छ । सिद्धबाबामा पटक–पटक पहिरो खसेका कारण सडक मर्मत गर्नका लागि बिहान १० देखि दिउँसो ४ बजेसम्मका लागि सडक बन्द गरिएको सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी पवित्रमणि आचार्यले बताउनुभयो । सामान्य वर्षाद्को समयमा पनि सो सडकमा पटक–पटक पहिरो खस्ने गरेका कारण सडक सञ्चालनमा समस्या आएको छ । सडक बन्द हुँदा पाल्पाबाट बुटवल र बुटवलबाट पाल्पा, गुल्मी, अर्घाखाँची, पर्वत, पोखरा, स्याङ्जा जाने सयौँ सवारी साधन सडकमै अलपत्र परेका छन् । सो सडक उत्तर दक्षिण जोड्ने प्रदेश नं ५ को मुख्य राजमार्ग हो । सडक अवरुद्ध हुदा साविक पश्चिमान्चल विकास क्षेत्रका १२ जिल्लाका यात्रुहरुलाई आवतजावत गर्न कठिनाई परेको छ ।

थप उपचारका लागि महिला प्रहरीलार्इ काठमाडौँ लगियो

सोलुखुम्बु । दमकल अभ्यास गर्ने क्रममा घाइते हुनुभएकी नगर प्रहरी पशीमाया तामाङलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ । अभ्यास गर्ने क्रममा नगरपालिकाको दमकलमाथिबाट लडेर शुक्रबार घाइते हुनुभएकी तामाङलाई थप उपचारका लागि आज हेलिकप्टरबाट काठमाडौँ लगिएको हो । घाँटीको हड्डीमा समस्या देखिएपछि तामाङकोे वीर अस्पताल ट्रमा सेन्टरमा उपचार भइरहेको नगरपालिकाका लेखा अधिकृत योग्यप्रसाद राईले जानकारी दिनुभयो । जिल्लाको एकमात्र नगरपालिका सोलुदूधकुण्ड नगरपालिकामा अहिले ११ जना नगर प्रहरी छन् । नगर प्रहरी सहायक निरीक्षकको कामाण्डमा उनीहरुले काम गरिरहेका छन् । रासस

विप्लव समूहले चुनाखानीको एक्साभेटर जलायो

चितवन । पूर्वी चितवनको कालिका नगरपालिकास्थित शक्तिखोरको कोलारमा सञ्चालित चुनाखानीमा प्रयोग हुँदै आएको एउटा एक्साभेटरमा एक समूहले आगो लगाएको छ । शक्तिखोर बजार नजिकै सम्फ¥याङमा राखिएको एक्साभेटरमा आज बिहान करीब ४ बजेतिर आगो लगाइएको चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार विप्लव समूहको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले आगो लगाएका हुन् । गाडीमा केही जल्ने वस्तु राखेर चालक बस्ने भागमा आगो लगाएको र आगलागीबाट मेसिनको भाग जलेको छ । घटनास्थलमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको पर्चा फेला परेको समेत उहाँले जानकारी दिनुभयो । स्टार लाइम कम्पनीले यहाँको कोलारबाट चुनाखानी उत्खनन गरी सो ठाउँमा ल्याएर राख्ने र त्यहाँबाट एक्साभेटरको सहयोगमा गाडीमा लोड गरेर पठाउँथ्यो । घटनास्थलमा जिल्ला जनपरिषद् चितवनको नाममा पर्चा फेला परेको र सो पर्चामा कम्पनीले शक्तिखोरका जनतासँग गरेको सहमति कार्यान्वयन नभएकाले कारवाही गरिएको उल्लेख छ । यहाँको खानेपानी व्यवस्थापन, खोलाको तटबन्ध, सडक निर्माण, चुनाखानी माथिको बस्ती संरक्षण र उपरदाङगढीको संरक्षण नगरेको आरोप लगाएको पाँचबुँदे पर्चा भेटिएको ढकालले बताउनुभयो । रासस

कोरियन भाषा परीक्षाको केन्द्र कहाँ-कहाँ तोकियो ? (हेनुहोस् तालिका)

काठमाडौं, जेठ १९ । कोरियन भाषाको परीक्षा केन्द्र र मिति तोकिएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाले यही जेठ २६ र २७ गते परिक्षा हुने गरी मिति तोकेको हो । इपीएस कोरिया शाखाका अनुसार बिहान ८ बजेदेखि १० बजेसम्म र दिउँसो १२ बजेदेखि ४ बजेसम्म गरी दुई सिफ्टमा परीक्षा हुनेछ । परिक्षाका लागि देश भर २८ ओटा केन्द्र तोकिएको छ ।

उपचारपछि राष्ट्रकवि घिमिरे आज स्वदेश फर्किदै

काठमाडौँ, जेठ १९ । भारतमा उपचारपछि राष्ट्रकवि माधवप्रसाद घिमिरे आज स्वदेश आउँदै छन् । नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार गराइ रहेका घिमिरेको स्वास्थ्य अवस्थामा सुधार आएपछि आज उनी स्वदेश आउन लागेका हुन् । घिमिरे दिउँसो १२ बजे काठमाडौँ आइपुग्ने छोरी उषा अधिकारीले जानकारी दिइन् । उनलाई सानो आन्द्राबाट आउने रक्तस्राव नरोकिएपछि उपचारका लागि जेठ ९ गते नयाँदिल्लीस्थित मेदान्त अस्पताल लगिएको थियो । राष्ट्र कवि घिमिरेको स्वास्थ्यमा सुधार आएपछि गत सोमबार उच्च हेरविचार एकाइ (हाइकेयर युनिट) बाट क्याबिनमा सारिएको थियो । नयाँदिल्ली जानुअघि उनको वैशाख २८ गते धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भएको थियो । सरकारले ९९ वर्षीय घिमिरेको उपचारमा लाग्ने खर्च सबै व्यहोर्ने घोषणा गरेको छ ।

मापदण्डविना सञ्चालित संस्थागत विद्यालयलाई धमाधम कारवाही

नेपालगञ्ज, जेठ १९ । बाँकेको डुडुवा गाउँपालिकामा मापदण्ड विपरीत सञ्चालित दुईसंस्थागत (निजी) विद्यालयलाई कारवाही गरिएको छ । वडा नं २ बेताहनीको राप्ती इंग्लिस मिडियम बोर्डिङ स्कूल नौरीगौडी र एकेडेमी इंग्लिस मिडियम बोर्डिङ स्कूलले अनुमतिविना सञ्चालन गरेको कक्षा खारेज गरिएको हो । अनुमतिविना राप्तीले कक्षा ३, ४ र ५ तथा एकेडेमीले कक्षा २, ३, ४ र ५ लाई खारेज गरी बन्द गर्ने निर्णय गरेका छन् । गाउँ शिक्षा समितिको शुक्रबार बसेको बैठकले अनुमतिविना सञ्चालित स्कूललाई कक्षा सञ्चालन बन्द गर्ने निर्णय गरेको हो । शुरुमा स्पष्टीकरण माग गरिएको र पछि अनुमतिविना सञ्चालन भइरहेकाले नियमन गर्न कारवाही गरिएको गाउँपालिका अध्यक्ष तथा समितिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । गाउँपालिकामा अहिले १० संस्थागत विद्यालय छन् । गाउँपालिकाअन्तर्गत सञ्चालित विद्यालयको अनुगमनका क्रममा नियम तथा मापदण्ड विपरीत सञ्चालित विद्यालयलाई नियमन गर्न शुरु गरिएको गाउँपालिका शिक्षा शाखा अधिकृत खगेन्द्र मल्लले बताउनुभयो । उहाँले ती विद्यालयलाई एक वर्षसम्म अनुमतिसमेत नदिने निर्णय भएको बताउनुभयो । गाउँपालिकाका सम्पूर्ण विद्यालयको शिक्षाको गुणस्तर, शैक्षिक व्यवस्थापन तथा प्रभावकारितालगायत विषयमा नियमित अनुगमन गरी कडाइका साथ अघि बढिरहेको गाउँपालिकाले जनाएकोे छ । गाउँपालिकाले शिक्षक नियमितता तथा शिक्षाको गुणस्तरीयताका लागि सामुदायिक विद्यालयमा इ–हाजिरी मेशिनसमेत जडान गरिसकेको छ । रासस

 कोरिया जान अब सीप परीक्षण पनि अनिवार्य

काठमाडौं, जेठ १९ । रोजगार अनुमति (इपीएस) प्रणालीमार्फत दक्षीण कोरियामा काम गर्न जानेहरुको अब सीप दक्षता परीक्षण पनि गरिने भएको छ । यस अघि कोरियन भाषा क्षमताका आधारमा मात्रै कामदार छनोट हुँदै आएका थिए । कोरियन भाषा परीक्षाको छनोट प्रक्रियामा अंक प्रणाली भनिने नयाँ प्रणाली लागू गर्ने योजना रहेको मानव संशोधन विकास (एचआरडी) कोरियाले जनाएको छ । अंक प्रणाली तीन चरणमा लिइने छ । पहिलो चरणमा कोरियन भाषा परीक्षा, दोस्रो चरणमा सीप परीक्षण एवं कार्य दक्षताको मूल्यांकन गरिनेछ । दुवै चरणबाट आएको अंकलाई जोडेर सबैभन्दा धेरै कुल प्राप्तांक ल्याउनेलाई प्राथमिकताका आधारमा अन्तिम छनोट गरिने छ । समाचारमा लेखिएको छ, अब कामदारको शारीरिक अवस्था, सीपको स्तर, सम्बन्धित कामको अनुभवजस्ता विषयमा पनि मूल्यांकन गरिनेछ । कान्तिपुरमा समाचार छापिएको छ ।

फोरम सात वर्षपछि सत्तामा

काठमाडौं, जेठ १९ । सात वर्षदेखि सत्ताबाहिर रहेर आन्दोलनमा बिताएको संघीय समाजवादी फोरमले शुक्रबार पुनः सत्तारोहण गरेको छ । २०६८ मा झलनाथ खनालको सरकारयता बनेका कुनै पनि सरकारमा ऊ सामेल भएन । यसपालि भने अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा केपी ओली सरकारमा आएको छ । यादव उपप्रधानसहित स्वास्थ्यमन्त्री र मोहम्मद इस्तियाक राई सहरी विकासमन्त्री बनेका छन् । यादव यसअघि दुई पटक परराष्ट्रमन्त्री र राई एक पटक श्रममन्त्री भएका थिए । फोरमको संलग्नतासँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । कान्तिपुरमा समाचार छ ।