आमाबुबा नपाल्नेलाई सरकारी सेवासुविधा नदिइने

बाजुरा, चैत २४ । बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले आफ्ना आमाबुबा नपाल्ने र बुढेसकाल हुँदा बेवास्ता गर्ने नागरिकलाई नगरपालिकाबाट दिइने सेवा सुविधा रोक्ने बताउनुभएको छ ।

बडीमालिकाको नियमित कार्यक्रम महिलासँग उपप्रमुख कार्यक्रमको शुक्रबार प्रमुख बडुवालले शुरुवात गर्दै छाउपडी, लैङ्गिक हिंसा र मदिरा सेवन गरी समाज बिर्गाने क्रियाकलाप गर्नेलाई नगरपालिकाको जन्मदर्ता, सिफारिसलगायत सुविधाबाट वञ्चित गर्ने बताउनुभयो ।

नगर उपप्रमुख कविता विष्टले महिलालाई समान रुपले व्यवहार गर्दै सभ्य समाज निर्माण गर्न आग्रह गर्नुभयो । नगर प्रमुख बडुवालले जातीय विभेद्, महिला माथिहुने लैङ्गिक हिसां न्यूनीकरण गर्नका लागि पुरोहित र धामीझाँक्रीको महत्वपूर्ण भूमिका रहेको छ भन्नुभयो ।

महिलासँग उपप्रमुख कार्यक्रमले नगरपालिकाभित्र रहेका महिलालाई उद्यमशील बनाउने, महिला सशक्तिकरण र सवलीकरणका कार्यक्रमलाई प्राथमिकता प्रदान गर्ने, महिला हिंसा र लैङ्गिक असमानतालाई निरुत्साहित गर्ने, पहुँच स्थापना, समता/समानता/समविकास, सहकार्यत्मक वातावरण निर्माण गर्ने कार्यक्रमको उद्देश्य रहेको नगर उपप्रमुख विष्टले जानकारी दिनुभएको छ ।

महिलासँग उपप्रमुख कार्यक्रममा सहभागी धामीझाँक्री र पुरोहितलाई छाउपडी प्रथा, लैङ्गिक हिंसा र बाल विवाहमा गर्ने गराउनेलाई कानूनी प्रावधान र सजायका बारेमा सहजीकरण गरिएको बताइएको छ ।

लैङ्गिक हिंसा तथा छाउपडी गोठमुक्त अभियान सम्बन्धी एक दिने अन्तक्र्रिया कार्यक्रममा सात बुँदे प्रतिबद्धता पत्र जारी गरिएको छ । कार्यक्रममा सहभागी धामीझाँक्री र ब्राम्ह्मण महिलाले संयुक्त रुपमा हस्ताक्षर गर्दै प्रतिबद्धता जनाउनुभएको नगर प्रमुख बडूवालले बताउनुभयो ।

१६० किलो चरेशसहित भारतीय नागरिक पक्राउ

मलेखु । प्रतिबन्धित लागूऔषध चरेश लुकाइछिपाइ काठमाडौँबाट वीरगञ्जतर्फ लैजाँदै गरेको अवस्थामा शुक्रबार बिहान प्रहरीले बरामद गरी एक जनालाई पक्राउ गरेको छ । प्रहरीले एच आर ५५ एक्स २५४९ नं को भारतीय कण्टेनर गाडीमा १६० किलोग्राम ५०० ग्राम लागूऔषध चरेशसहित बरामद गरेको छ । चरेशसँगै गाडी चालक भारत मणिपुर निवासी २४ वर्षीय शचिकान्त कुशवाहलाई पक्राउ गरी हिरासतमा लिएर थप अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिए । लुकाइछिपाइ भारत निकासी गर्न लागिएको सो लागूऔषध जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय, गजुरीको संयुक्त प्रहरी टोलीले बरामद गरेको हो ।

एक करोड ठगी गरेको अभियोगमा पक्राउ

काठमाडौं, चैत २२ । महानगरीय प्रहरी परिसरले विभिन्न व्यक्तिलाई नेपाली सेनाको उपसेनानी र अनुसन्धान विभागको असई बनाइदिने भन्दै ठगी गरेको अभियोगमा आज चार जनालाई पक्राउ गरेको छ । परिसरले सेना तथा अनुसन्धानका विभिन्न पदमा जागीर लगाइदिने तथा शान्ति सेनामा विभिन्न देश पठाइदिने भन्दै रु एक करोड १५ लाख ठगी गरेको भनिएका लमजुङका मोहन दुरा र पशुपति अधिकारी, तनहुँका यमुना खड्का तथा कास्कीका रमेश कुमाललाई पक्राउ गरेको हो । अभियुक्तलाई अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसैबीच परिसरले जुवाको खालबाट करीब रु सात लाख सहित बुधबार एघार जनालाई पक्राउ गरेको छ । परिसरले महानगरीय प्रहरी कार्यालय रानीपोखरीको सहायतामा तास खेलिरहेका अवस्थामा छ थान तास र नगदसहित तिनलाई साँझ नियन्त्रणमा लिएको हो ।

विपदबाट हुने क्षति न्यूनीकरण गर्न सरकार गम्भीर : गृहमन्त्री थापा

काठमाडौं, चैत २२ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विपद्बाट हुने मानवीय र भौतिक क्षतिलाई न्यूनीकरण गर्न सरकार गम्भीर रहेको बताउनुभएको छ । विपद् जोखम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी कार्यकारी समितिको आजको बैठकमा गृहमन्त्री थापाले विपद् व्यवस्थापन सरकारको एक्लो प्रयासले मात्रै सम्भव नहुने भएकाले सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताउनुभयो । विपद् व्यवस्थापनमा नागरिक समाज र जनतालाई समेत जोड्नसक्ने गरी कार्यक्रम बनाउन उहाँले बैठकमा निर्देशन दिनुभयो । विद्यालयको पाठ्यक्रममै यो विषयलाई समावेश गर्न आवश्यक रहेको उहाँको भनाइ छ । पर्याप्त तालीम र स्रोतसधानको अभावमा मानवीय र भौतिक क्षति बढेको भन्दै त्यसलाई न्यूनीकरण गर्न आवश्यक तालीम र स्रोतसाधनलाई बढाउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डितले विपद् व्यवस्थापनमा युवा परिषद् र नेपाल स्काउटलाई समेत जोड्ने गरी कार्यक्रम ल्याउन आवश्यक रहेको सुझाव दिनुभयो । केन्द्रीय दैवी प्रकोप उद्धार कोषको नाम परिवर्तन विपद् जोखम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी ऐन २०७४ अनुसार आज बसेको प्रथम कार्यकारी समितिको बैठकले केन्द्रीय दैवी प्रकोप उद्धार कोषको नाम परिवर्तन गरी ‘राष्ट्रिय विपद् व्यवस्थापन कोष’ राख्ने निर्णय गरेको छ । गृह मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, संघिय मामिला तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डित, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्याल, विभिन्न मन्त्रालयमा पदाधिकारी र सुरक्षा निकायका प्रमुखलगायतको उपस्थितिमा बसेको कार्यकारी समितिको बैठकले कोषको नाम परिवर्तन गर्ने निर्णय गरेको हो । यसैगरी बैठकले क्षेत्रीय दैवी प्रकोप उद्धार कोष खारेज गरी सातै प्रदेशमा प्रदेश व्यवस्थापन कोष स्थापना गर्ने तथा जिल्लादैवी प्रकोप उद्धार कोषको नाम परिवर्तन गरी जिल्ला विपद् व्यवस्थापन कोष राख्ने निर्णय गरेको छ । बैठकले सुख्खा मौसम, हावाहुरी र पूर्व मनसुनलगायतको प्रकोप हुन नदिन यससँग सम्बन्धित सरकारी र गैरसरकारी निकायले आफ्नो स्रोतसाधन चालु अवस्थामा राख्ने र आवश्यक परेको अवस्थामा बिना कुनै विलम्ब परिचालित हुने निर्णय गरेको छ । विपद् जोखम न्यूनीकरण राष्ट्रिय नीति २०७४ तथा विपद् जोखिम न्यूनीकरण राष्ट्रिय रणनीतिक कार्ययोजना २०१७–३० को मस्यौदालाई विपद् जोखिम न्यूनीकरण राष्ट्रिय कार्यमञ्चको बैठकको राय सुझावलाई स्वीकृतिका लागि नेपाल सरकारसमक्ष पेश गर्ने निर्णयसमेत आजको बैठकले गरेको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा २३ अनुसार सबै स्थानीय तहमा विपद् व्यवस्थापन कोषको व्यवस्था गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत अनुरोध गर्ने निर्णय प्रथम बैठकले गरेको छ । आगामी मनसुनमा हुनसक्ने सम्भावित क्षतिलाई न्यूनीकरण गर्न केन्द्र, प्रदेश, जिल्ला तथा स्थानीय तहमा मनसुन पूर्वतयारी प्रतिकार्य योजना तयार पारी कार्यान्वयनमा ल्याउने तथा प्रदेश सरकारले आगामी दिनमा विपद्जन्य घटना रोकथाम, खोज तथा उद्धार जस्ता विषयमा तदारुकताका साथ परिचालन हुन अनुरोध गर्ने निर्णय बैठकले गरेको छ ।

कपडा पसलमा आगलागी लाखाैंकाे क्षति

राजविराज, चैत २२ । सप्तरीको सप्तकोशी नगरपालिका–१ स्थित कपडा पसलमा आज आगलागी भएको छ । स्थानीयवासी पर्शुराम खड्काको घरको दोस्रो तल्लामा रहेको घुम्ती कपडा पसलमा विद्युत् चुहावट भई आगलागी हुँदा करीब रु १० लाखको क्षति भएको बताइएको छ । आगलागीबाट पसलभित्र रहेका विभिन्न प्रकारको कपडा, नगद तथा जिन्सी गरी करीब रु १० लाख मूल्यबराबरको क्षति भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । आगोलाई स्थानीयवासी र इलाका प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

विकास र समृद्धि कायम गर्नु प्रदेश सरकारको जिम्मेवारी : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले संघीयताको अभ्याससँगै विकास र समृद्धि कायम गर्नु प्रदेश सरकारको जिम्मेवारी रहेको बताउनुभएको छ । जिल्ला समन्वय समिति महासंघद्वारा आज यहाँ आयोजित प्रदेश कानूनमा जिल्ला समन्वय समिति सम्बन्धित छलफल कार्यक्रमा बोल्दै उहाँले प्रदेश सरकारले समन्वय समितिको काम, अधिकार र भूमिका सम्बन्धमा प्रदेश सरकारले कानून मस्यौदा सुझाव समिति गठन गरेको बताउनुभयो । मुख्यमन्त्री राईले आगामी चैत २८ गते जिल्ला तहमा रहेका कार्यालयले प्रदेश वा जिल्ला समन्वय समिति कसको मातहत रहने सम्बन्धमा केन्द्र सरकारसँग छलफल गरेको र अगाडि नै परिपत्र आउनु जानकारी दिनुभयो । सामाजिक विकासमन्त्री जीवन घिमिरेले जिल्ला समन्वय समितिको भूमिका सम्बन्धमा प्रदेश सरकारले आफ्नो ल्याउने बताउनुभयो । महासंघका प्रदेश नं १ का अध्यक्ष बबि चाम्लिङको सभापतित्वमा भएको सो प्रदेश नं १ का मुख्य न्यायाधिवक्ता चुडामणि आचार्य, नेकपा एमाले प्रदेश सचेतक बुद्धिकुमार राजभण्डारी, नेपाली काँग्रेसका प्रदेश सदस्य सूर्यमाराज राई, महासंघका प्रवक्ता नवराज गेलाल, जिल्ला समन्वय समितिका मोरङका प्रमुख नरेश पोखेलले लगायतले समन्वय समितिले जिल्ला निकासी कर संलकन गर्न पाउनुपर्ने, जिल्लामा रहेका सबै सरकारी कार्यालय जिल्ला समन्वय समितिको मातहत रहने व्यवस्था हुनुपर्ने बताउनु भएको छ । छलफल कार्यक्रममा जिल्ला समन्वय समिति प्रदेश नं १ को १४ जिल्लाका प्रमुख र उपप्रमुखको सहभागिता रहेको छ । रासस

बैंकमा सुनका नक्कली गरगहना राखेर ठगी गरेको अारोपमा पक्राउ

झापा । राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक लिमिटेडमा सुनका नक्कली गरगहना राखेर रु २७ लाख २८ हजार ठगी गरेको आरोपमा पक्राउ परेकामध्ये तीन जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । विभिन्न मितिमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड बिर्तामोड, धुलाबारी शाखा र नेपाल बैंक लिमिटेडको धुलाबारी शाखामा सुनका नक्कली गरगहना राखेर बैंक ठगी कार्यमा छजना पक्राउ परेका थिए । पक्राउ परेकामध्ये तीनजना धरौटीमा छुटेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । झापा जिल्ला अदालतको आदेशमा बिर्तामोड– ५ डेरा गरी बस्ने ३८ वर्षीया मीनादेवी खड्का, मेचीनगर–७ इँटाभट्टा निवासी ३५ वर्षीय शम्भू खत्री, विर्तामोड–३ निवासी ४३ वर्षीय राजकुमार तामाङलाई पुर्पक्षका लागि कारागार पठाइएको हो। तामाङ राष्ट्रिय बाणिज्य बैंक बिर्तामोडका नगद सहायक (खजान्ची) हुन् । यता पक्राउ परेकामध्ये बिर्तामोड–५ निवासी ४५ वर्षीय राजकुमार श्रेष्ठ, मेनपा–१२ निवासी ४९ वर्षीय गणेश प्रधान र मेनपा–१० निवासी ३३ वर्षीय प्रवेश अधिकारी भने धरौटीमा छुटेका छन् । श्रेष्ठसंग रु तीन लाख ९८ हजार, प्रधान र अधिकारीसंग रु ७०÷७० हजार धरौटी माग भएकोमा उनीहरुले सो रकम बुझाएर छुटेका छन् । रासस

आगलागीबाट रु चालीस लाखको क्षति

विराटनगर । मोरङको रङ्गेली–८ मा गए राति आगलागी हुँदा दुई परिवारको रु ४० लाख बराबरको सम्पत्ति जलेर नष्ट भएको छ । सो वडाको झमनपुर बस्ने सेरु मियाँ र उहाँको भाइ बच्चु मियाँको टिनको छानो भएको दुईतले घरभित्र राखिएका सरसमान जलेर नष्ट हुँदा सो बराबरको क्षति भएको प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । उक्त आगलागी विद्युत् सर्टबाट भएको बताइएको छ ।स्थानीय जनता, प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको थियो । रासस

मह शिकारको याम : मह खोज्दै भिर-भिरमा

म्याग्दी । म्याग्दीका अक्करे भिरमा यतिबेला मह शिकारको याम शुरु भएको छ । मह शिकारी डोरीको सहायताले भिरमौरीको गोला भएको देख्दै डरलाग्दो भिरमा झुण्डिएर मह काटिरहेका छन् । तल बसेर हेर्दा रोमाञ्चक तर अत्यन्तै त्रास लाग्ने यो दृश्य देख्नेको मुटुको धड्कन बढ्छ । भिरमह खाँदा जति स्वादिलो र रसिलो हुन्छ, यसलाई निकाल्न भने अत्यन्तै जोखिम मोल्नुपर्ने हुन्छ । म्याग्दीको हिस्तान, चिमखोला, मुदी गुर्जा दोसल्ले, शिखलगायतका गाउँमा रहेका भिरमा भिरमौरीले लगाएका गोला काट्नका लागि मह शिकारी डोरी (परङ) मा झुण्डिएर मह शिकार गरिरहेका छन् । वसन्त र शरद ऋतु मह शिकारका लागि उपयुक्त समय मानिन्छ । वसन्त ऋतुमा बेँशी र शरदमा लेकमा पुगेर भिरमह निकाल्न उपयुक्त हुने मह शिकधारीरू बताउँछन् । मह निकाल्नका लागि भिरको माथिल्लो भाग र तल्लो भागमा दुई समूहमा शिकारी बाँढिएका हुन्छन् । एक समूहले भिरको माथिबाट तल भुइँसम्म डोरी (स्थानीय भाषामा परङ) झुण्डाउँछ भने भिरको तलपट्टि रहेको अर्को समूहले मह थाप्ने र स्याहार्ने गर्दछ । यसरी भिरमा आफ्नो ज्यानको बाजी लगाएर निकालिने महबाट शिकारीले आकर्षक आम्दानी पनि गरिरहेका छन् । स्वास्थ्यका लागि एकदमै फाइदाजनक मानिने भिरमहको माग जति स्थानीय बजारमा छ, त्योभन्दा दोब्बर अन्तर्राष्ट्रिय बजारमा छ । विभिन्न किसिमका औषधि बनाउन पनि यसको प्रयोग हुँदै आएको मह व्यापारीको भनाइ छ । “महको चाका वरिपरि माहुरी घेरिएर बसेका हुन्छन्, धुवाँ लगाइदिएपछि मौरी भाग्छन्, त्यतिबेला मह निकाल्ने विशेष ध्यान पु¥याउनुपर्छ ।” मह शिकारी अनिल घर्ती भन्नुहुन्छ । जब परङमार्फत गएका शिकारीले गोलामा धुँवा झोस्न शुरु गर्छ, माहुरीले टोक्ने डरले वरपरका सबै शिकारी रुख र ओडारमा लुक्छन् । माहुरी अन्यत्रै भागेपछि मात्र उनीहरु बाहिर आउँछ अनि मह निकाल्न सजिलो हुने उहाँ बताउनुहुन्छ मुख्य शिकारीले हतियार प्रयोग गरी निकालेको महको भाँडालाई डोरीको सहायताले भुइँसम्म ल्याउने गरिन्छ । “मह निकाल्न सकियो भने बजारको खासै समस्या हुँदैन, व्यापारी जंगलमै आइपुग्छन् । बजारमा महको प्रतिलिटर रु दुई हजारमा बिक्री हुुन्छ । अन्तर्राष्ट्रियस्तरमा यसको माग उच्च छ, यहाँबाट कोरियामा धेरै मह जाने गरेको छ, अब यसलाई थप व्यावसायिकरण बनाउँदै लैजानुपर्ने सो समूहका अगुवा समेत रहनुभएका अनिल घर्तीको सोच छ । हामी जिल्लाको अधिकांश ठाउँमा महको शिकार गर्न जान्छौँ, जहाँ मह निकाल्छौँ त्यहाँको आमा समूह वा क्लबलाई केही रकम दिन्छौँ अनि उहाँहरुको अनुमतिमा हामीले मह निकाल्छौँ ।अहिले हाम्रो पाँच जनाको टोली छ । हाम्रो आम्दानीको मुख्य स्रोत नै यही हो । उहाँको भनाइ छ । “सानो डोरीको सहायताले अडिनुपर्छ, पूरै हातले काम गर्ने हो, त्यसका लागि मुटु दह्रो र हात बलियो बनाउनुपर्छ” उहाँ भन्नुहुन्छ “हामी पनि पुर्खाले गरेको हेरेर सिकेका हौँ ।” यस्तो जोखिम मोलेर निकालेको मह बजारमा रु एक हजारदेखि एक हजार २०० प्रतिलिटर बिक्री हुने गर्दछ । स्वादिलो, स्वास्थ्यका लागि हितकर र शक्तिबद्र्धक हुनुका साथै धार्मिक कार्यका लागि पनि प्रयोग हुने भएकाले भिरमहको माग उच्च हुने गरेको मह व्यापारीले बताएका छन् । रासस

गराँस फुल्न कम भएपछि पर्यटकहरु निराश

तेह्रथुम । गुराँसको राजधानी भनेर चिनिने पूर्वी नेपालकै चर्चित पर्यटकीय गन्तव्य तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा आधा चैत बित्न लाग्दा पनि यस वर्ष पर्याप्त गुराँस फुलेको छैन । गुराँस हेर्नकै लागि आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने बेला कम मात्रै गुराँस फुल्दा पर्यटक निराश बन्न थालेका छन् । माघ अन्तिम साताबाटै फुल्न थाल्ने गुराँस यो वर्ष ढिला गरेर फुलेको हो । यतिबेला टिएमजेमा गुराँसका भर्खर फुल्न लागेका कोपिला मात्रै पाइन्छ । तेह्रथुमको तीनजुरे, ताप्लेजुङको मिल्के र संखुवासभाको जलजले मिलेर बनेको टिएमजे क्षेत्रको प्रवेशद्वार वसन्तपुरदेखि टुटेदेउराली, घुर्मिसे, पाथीभरा, पाँचपोखरी क्षेत्रमा कम मात्रै गुराँस फुलेको छ । मौसमअनुसार तलबाट क्रमशः माथितिर जेठ मसान्तसम्म नै गुराँस फुलिरहने गर्छ । तर यो वर्ष तल्लो क्षेत्रमै ढिलो र कम मात्रै गुराँस फुलेकाले माथिल्लो क्षेत्रमा अझै ढिलासम्म गुराँस फुल्ने टिएमजे पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष केदारनाथ लिम्बूले बताउनुभयो । यो क्षेत्रमा नेपालमा पाइने ३२ मध्ये २८ प्रजातिका गुराँस फुल्ने गरेको छ । यस क्षेत्रमा चैतको पहिलो सातादेखि नयाँ वर्षको दिन र वैशाख–जेठ महिनासम्म पनि आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुने गर्दछ । यो वर्ष पनि विगतभन्दा पर्यटकको चहल पहल बढेको तर गुराँस नै कम मात्रै फुलेकाले पर्यटक निराश भएर फर्किने गरेका स्थानीयवासीले बताए । गुराँस फुलेर ढकमक्क हुने यो बेला पर्यटकको आगमन भइरहेको छ । तर आउनेले गुराँसका कोपिला मात्रै देखेपछि नरमाइलो मान्दै फिर्ने गरेका टुटेदेउरालीका छिरिङ लामाले बताउनुभयो । विगतमा फागुनमै तीनजुरेका डाँडाकाँडा गुराँस फुलेर राताम्मे भइसक्थो । तर यो वर्ष भने चैतको दोस्रो सातासम्म पनि गुराँसका कोपिला मात्रै लाग्दैछन् । तीनजुरे, मिल्के र जलजले क्षेत्रका डाँडा यस वर्ष अहिलेसम्म खाली छन् । गुराँस नफुलेपछि पर्यटक पनि गुराँसमा रमाएका देखिँदैनन् । टाढादेखि गुराँसको सौन्दर्यमा रम्न आउने फूल नदेख्दा खल्लो मानेर फर्कने गरेका छन् । जलवायु परिवर्तनका कारण पछिल्ला वर्षमा गुराँस फुल्ने समयमा परिवर्तन आएको हुन सक्ने गुफाबजारकी हिमा खनालले बताउनुभयो । “बर्षेनि गुराँस फुल्ने समय ढिलो हुँदैछ,” उहाँले भन्नुभयो, “गत वर्ष धेरै कम फुलेको थियो, यो वर्ष अलिक त फुल्दैछ, तर राम्रो फुल्ने छाँटकाँट छैन ।” यो वर्ष असिनाले गुराँसका कोपिला झारेकाले राम्रो नफुलेको उहाँले भन्नुभयो । “धेरै दिनसम्म असिना पानी प¥योे”, उहाँले भन्नुभयो, “असिनाले गुराँसको फूल झार्छ । असिनाकै कारण कोपिला लागेको फूल नफुलेको होला ।” बिदाका दिन र शनिबार वनभोजका लागि आउनेको यहाँ भीड लाग्ने गरेको छ । कतिपय दिन खानका लागि ठाउँसमेत अभाव हुन्छ । केही दिनअघि मात्रै देशी–विदेशी ३८ बढी देशका पर्यटक गुराँस वनको अवलोकनका लागि आएका थिए । गुराँस पर्यटनको प्रवद्र्धनका लागि गुफाबजारमा चैतको अन्तिम साताबाट मेलासमेत आयोजना हुँदैछ । टिएमजे क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि मेलाको आयोजना गरिएको टिएमजे पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष लिम्बूले बताउनुभयो । “गुराँस पहिले फुल्ने गरेको समयमा फुलेको छैन, तर कोपिला लागेको छ,” उहाँले भन्नुभयो । विगत वर्षभन्दा केही ढिला गरेर पनि गुराँस फुल्ने आशा रहेको श्रीजुङका योगेश भट्टराईले बताउनुभयो । टिएमजे क्षेत्रमा घुम्न आउने गुराँस वनको अवलोकन गरेर फर्किन्छन् । त्यसो त गुराँसले मनोरञ्जन मात्र हैन, औषधिको पनि काम गर्छ । माछा खाँदा काँडाले अड्किए, गुराँसको फूल खानुपर्ने भनाइ छ । नपाए गुुराँसको नाम मात्रै लिए पनि अड्किएको काँडा निस्कने अधिकारी बताउँछन् । समयमै गुराँस नफूले पनि एकैसाथ फुल्ने चाप भने ढकमक्कै फुलिसकेको छ । गुफापोखरी आधारभूत विद्यालयका शिक्षक ज्वाला पोखरलका अनुसार गुराँसको फूल एक साल फुल्ने र अर्को साल त्यति राम्रो नफुल्ने गरेको छ । “राम्रोसँग गुराँस नफुल्ने हो भने टिएमजे क्षेत्रको परिचय ओझेल पर्छ, किन फुलेन भन्ने विषयमा सम्बन्धित क्षेत्रबाट यसको अध्ययन र निराकरणका उपाय पनि खोजिनुपर्छ,” चौकीबजारका होटल व्यवसायी उदय लोलेले बताउनुभयो । यस क्षेत्रका टुटे देउराली, पाँच पोखरी, चौकीबजार, मंगलबारे, गुफाबजार जस्ता साना बजारका बासिन्दाको मुख्य आयस्रोत यहाँ घुम्न आउने पर्यटक नै हुन् । यी बजारमा उनीहरुले चलाएका साना होटलमा घुम्न आएकाले गरेको खर्च नै टिएमजे क्षेत्रको मुख्य आम्दानी पनि हो । यहाँ आउने पर्यटकले कुनै शुल्क तिर्नु पर्दैन, न त यहाँ कति पर्यटक आउँछन् भन्ने तथ्यांक राख्ने कुनै पर्यटन कार्यालय नै खुलेको छ । गुराँस नफुल्दा यी बजारका बासिन्दा भने निकै चिन्तित छन् । गुराँस फुल्ने समयमा पछिल्लो आठ–दश वर्षयता एक रुपता नभएका र यो एउटा अनुसन्धानको विषयसमेत बनेको लालीगुराँस संरक्षण व्यवस्थापन समितिका सदस्य प्रकाश श्रेष्ठले बताउनुभयो । सम्बन्धित निकायले बेलैमा चासो दिएर टिएमजे क्षेत्रको पहिचानको जगेर्ना गर्नुपर्ने उहाँले बताउनुभयो । यो क्षेत्र सरकारको संरक्षण क्षेत्रका रुपमा प्रस्तावित क्षेत्रसमेत रहेको छ । जिल्ला वन कार्यालयले यी तीन जिल्लाका २५ भन्दा बढी गाउँलाई समुदायमा समेटेर समुदायमा आधारित तीनजुरे मिल्के जलजले संरक्षण क्षेत्रको रुपमा विभिन्न कार्यक्रमसमेत सञ्चालन गरिरहेको छ । पर्यटकको चहलपहलले बढेको बस्ती विकास र फोहोरको व्यवस्थापनका लागि यी क्षेत्रका बस्तीमा सचेतना फैलाउने काम वन कार्यालयले हरेक वर्ष गरिरहेको तेह्रथुमका जिल्ला वन अधिकृत देवीचन्द्र पोखरेलले बताउनुभयो । यो क्षेत्रमा तेह्रथुमका खाम्लालुङ, सम्दु, पौठाक, श्रीजुङ, मोराहाङ, आम्बुङ, जिरिखिम्ती, सोल्मा, सुङनाम र वसन्तपुर, संखुवासभाका जलजला, सिद्धपोखरी, नुनढाँकी, मावादिन, मादीमुल खर्क, तामाफोक र ताप्लेजुङका थिंलाबु, फाकुम्बा, साँघु, ढुंगेसाँघु, चाँगे र हाङपाङ गाउँहरु समेटिएका छन् । रासस

हिंसा र बेचबिखनमा परेका चेलीलाई छात्रवृत्ति

चितवन । मानव बेचबिखन तथा लैंगिक हिंसामा परेका छात्रालाई चेली नेपालले छात्रवृत्ति सहयोग गरेको छ । हिंसा र बेचबिखनविरुद्ध काम गर्दै आएको र प्रभावित चेलीलाई सहयोग गर्दै आएको चेली नेपालले भरतपुर महानगरपालिकाभित्रका ६० जना छात्रालाई छात्रवृत्ति सहयोग उपलब्ध गराएको संस्थाका कार्यक्रम निर्देशक सुरेन्द्र चापागाईले जानकारी दिनुभयो । संस्थाले चितवनका विभिन्न क्षेत्रमा मानव बेचबिखन तथा लैंगिक हिंसा प्रभावित तथा उच्च जोखिममा रहेका चेलीका लागि छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्दै आएको छ । बुधबार भरतपुर महानगरमा छात्रवृत्ति दिएको चेली नेपालले आज दिउँसो चितवनको कालिका नगरपालिका क्षेत्रका प्रभावित विद्यार्थीका लागि छात्रवृत्ति सहयोग गर्ने कार्यक्रम रहेको कार्यक्रम संयोजक सिन्धु ढकालले बताउनुभयो । समस्याको शुरुवात हुनुपुर्व नै रोकथाम गर्ने र चेलीलाई शिक्षासहित सवल बनाउनका लागि संस्थाले छात्रवृत्ति कार्यक्रम सञ्चालन गरेको चापागाईको भनाइ छ । छात्रवृत्ति प्राप्त गर्ने चेलीका अभिभावक विमला विकले आएको रकम सही सदुपयोग हुने बताउनुभयो । यस्तै छात्रवृत्ति पाएकी दिया लामाले प्राप्त सहयोगको शिक्षामा सदुपयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । रासस

कसले रोक्ने ज्ञवालीको ठगीधन्दा ?

काठमाडौँ । नयाँ बानेश्वरस्थित जि–शपका मालिक ध्रुव ज्ञवालीले सरकार, ग्राहक र कामदारलाई ठगी गर्दै आइरहेको खुलासा भएको छ । ब्राण्डेड सामग्री बिक्रीका नाममा उनले ग्राहकलाई ठगी गर्दै आएका छन् भने बिक्री भएका सामानको ग्राहकहरुलाई भ्याट बिल नदिने, पसल भाडा न्यूनतम देखाई राजश्व छल्ने गरेको एक कामदारले बताए । जि–शपका कामदारका अनुसार पसल सञ्चालक ज्ञवालीले कामदारलाई सरकारले तोकेबमोजिमको न्यूनतम पारिश्रमिक समेत दिएका छैनन् । आफूलाई धार्मिक प्रवृत्तिको देखाउन रुचाउने ज्ञवालीले देशको राजधानीमै बसेर लुट मच्याइरहँदा समेत सम्बन्धित निकायको कुनै ध्यान नपुगेकोमा उक्त पसलका कामदार चिन्ता व्यक्त गर्छन् । जि–शपका सञ्चालक ज्ञवालीले यसरी देशको मुटुमै बसेर लुटको धन्दा चलाइरहँदा सम्बन्धित निकायको ध्यान नपुग्नु लाजमर्दो भएको भन्दै उक्त पसलका एक कामदारले निकट भविष्यमै स–प्रमाण सम्बन्धित निकायमा उजुरी गर्ने समेत बताए ।

नेपालको पेट्रोल भारतमा तस्करी !

२२ चैत, काठमाडौं । पछिल्ला वर्षहरूमा नेपालमा पेट्रोलियम पदार्थको आयात ह्वात्तै बढेको छ । लोडसेडिङ हटेपछि पेट्रोलियम पदार्थको आयात घट्नुपर्नेमा झनै बढ्नुमा भारततर्फ हुने तेलको तस्करी मुख्य कारक रहेको नेपाल आयल निगमका अधिकारीहरुको विश्लेषण छ । पेट्रोलियम पदार्थ आयातको कारोबार गर्ने नेपाल आयल निगमलाई आयात अत्यधिक बढ्दा त्यसको व्यवस्थापन गर्न धौधौ परिरहेको छ । अहिले पेट्रोलियम आयात वार्षिक २० प्रतिशतका दरले बढेको छ । २/३ वर्ष पहिलेसम्म यस्तो वृद्धिदर करिब १०/१२ प्रतिशत मात्र थियो । निगमका कार्यवाहक कार्यकारी निर्देशक सुशील भट्टराई भन्छन्, ‘माग बढेको त छ, तर, यो स्वाभाविकचाहिँ देखिँदैन ।’ निगमका अधिकारीहरू आफैं पनि छक्क पर्छन्- कसरी बढेको छ आयात ? पेट्रोलियम पदार्थको आश्चर्यजनक रुपमा आयात किन र के कारणले बढेको हो भन्ने सम्बन्धमा हालसम्म निगमले कुनै ठोस अध्ययन अनुसन्धान गरेको छैन । तर, आयात बढ्नुमा केवल माग बढ्नुमात्रै भने जिम्मेवार देखिँदैन । पछिल्लो समय भारततर्फ हुने तेलको तस्करीलाई आयात बढ्नुको एउटा प्रमुख कारणका रुपमा लिइएको छ । यसरी बढ्दैछ नेपालमा आयात अहिले मासिक पेट्रोल आयात करिब ४० हजार किलोलिटर पुगेको निगमका कार्यकारी निर्देशक भट्टराई बताउँछन् । त्यस्तै, डिजेलको यस्तो आयात एक लाख ४० हजार किलोलिटर पुगेको छ । यसले पछिल्लो समय आयात कसरी बढिरहेको छ भन्ने देखाउँछ । आर्थिक वर्ष ०७०/७१ मा नेपालले दुई लाख १४ हजार ५१ किलोलिटर (एक किलोलिटरमा एक हजार लिटर हुन्छ) पेट्रोल आयात गर्‍यो । यसको मासिक हिसाव गर्दा औसत करिब २१ हजार किलोलिटर हुन आउँछ । उक्त आर्थिक वर्षमा आयात भएको ८ लाख ११ हजार एक सय किलोलिटर डिजेलको मासिक औसत आयात करिब साढे ६७ हजार किलोलिटर हुन आउँछ । आर्थिक वर्ष ०७१/७२ मा मासिक औसत २३ हजार किलोलिटर पेट्रोल आयात गथ्र्यो । उक्त आर्थिक वर्षमा डिजेलको मासिक औसत आयात करिब ७५ हजार देखिन्छ । आर्थिक वर्ष ०७२/७३ मा पेट्रोलको मासिक आयात करिब २० हजार किलोलिटरमा झर्‍यो, डिलेज करिब ६५ हजारमा । पाँच महिना लामो नाकाबन्दीका बावजुद पनि ठूलै परिमाणमा पेट्रोलियम आयात रोकिएन । गत आर्थिक वर्षमा नेपालमा मासिक साढे ३३ हजार किलोलिटर पेट्रोल आयात भयो भने डिजेल १ लाख आठ हजार किलोलिटर । ‘तस्करी गर्नेमाथि कारवाही गरिरहेका छौं’ निगमको पूर्वाञ्चल कार्यालय प्रमुख भानु खनाल तेल तस्करीका घटनामा पछिल्लो समय कमी आएको दावी गर्छन् । स्थानीय प्रहरी प्रशासन स्थानीय तह लगायतमार्फत सिमा नाकाबाट हुने तस्करीलाई कडाइ गरिएको निगम बताउँछ । ‘मोरङ र सुनसरीका केही पम्पमा त हामीले गाउँपालिका र नगरपालिकाको निगरानी र सिफारिसबिना पेट्रोलियम बिक्रीमा रोक लगाएका छौं,’ पूर्वाञ्चल क्षेत्रीय कार्यालय प्रमुख खनालले भने । नेपालबाट बाहिरीने ट्रक/ट्याङ्करलाई तेल बोकेर गए/नगएको परीक्षण सुरु गरिएको उनको भनाइ छ । नाकाबन्दीदेखि नै फस्टाएको तस्करी नेपालमा संविधान जारी भएसँगै असोज ०७२ सालमा भारतले नाकाबन्दी लगायो । त्यसक्रममा इन्धन आयात ठप्पप्रायः हुनपुग्यो, झण्डै पाँच महिना । उक्त समयमा तस्करीको मार्गबाट ठूलो परिमाणमा पेट्रोलियम आयात भयो । भारतसँग खुला सीमाना भएका कारण सीमानाका आसमासमा स-सानो परिमाणमा पेट्रोलियम यताउता हुनु स्वाभाविक भए पनि यो प्रवृत्ति पछिल्ला वर्षहरूमा झाँगिदै गएको छ । सीमानाकाबाट खुल्लमखुला नेपाल आयात भएको तेल भारत फर्किएर जान थालेको छ । उदाहरणका लागि अहिले दैनिक करिब चार सय ट्याङ्करले भारतबाट पेट्रोलियम ओसार्छन् । भारतबाट आयात गरेको तेल नेपालका डिपोमा खन्याएर जाने क्रममा पूरा ट्याङ्कर भरेर लाने र त्यसले ठूलो परिमाणमा नेपाल आएको तेल भारत नै फर्किएर जाने गरेका छन् । यसबाहेक एउटा नाकाबाटै दैनिक २/३ सय ट्रक/ट्याङ्कर सीमा नाकाबाट ओहोर-दोहोर गर्छन् । ठूला क्षमताका ती सवारीबाट पनि धेरै परिमाणमा तेल बाहिरिने गरेको छ । सीमानामा आवत-जावत गर्ने मानिसहरूबाट पनि अनौपचारिक रुपमा तेल बाहिरिने गरेको छ । नेपाल र भारतको मूल्यअन्तर अहिले भारतमा पेट्रोलियमको मूल्यले ऐतिहासिक रेकर्ड चुमेको छ । मंगलबारसम्म भारतको दिल्लीमा प्रतिलिटर पेट्रोलको मूल्य ७४ भारु र डिजेल करिब ६५ भारु (नेरु १०४) छ । अहिले भारतमा पेट्रोल ८२ भारु (नेरु १३०) र डिजेल ६५ भारु (नेरु १०४) सम्म पुगेको छ । जबकि नेपालमा अहिले प्रतिलिटर पेट्रोल १०५ र डिजेल ८५ रुपैयाँमा कारोबार हुन्छ । प्रतिलिटर मूल्यमै धेरै अन्तर हुँदा नेपालको तेल फर्केर भारत नै जाने गरेको निगमको भनाइ छ । अहिले नेपाल र भारतमा पेट्रोलियमको मूल्य अन्तर प्रतिलिटर २९ रुपैयाँसम्म पुगेको छ । निगमका अनुसार अहिले मोरङको जोगबनी नाकामा वारि-पारि (नेपाल-भारत) पेट्रोलियमको मूल्य अन्तर सबैभन्दा उच्च छ । जहाँ कारोबार हुने डिजेल भारतको भन्दा प्रतिलिटर २९ रुपैयाँ १० पैसा सस्तो छ । पेट्रोल २५ रुपैयाँ ३१ पैसा सस्तो छ । त्यस्तै, जनकपुरमा पाइने डिजेल भारतको भन्दा प्रतिलिटर २८ रुपैयाँ ९१ पैसा सस्तो छ भने पेट्रोल २५ रुपैयाँ ३१ पैसा सस्तो छ । नेपालको वीरगञ्जमा पेट्रोलपम्पले बेच्ने डिजेल भारतको रक्सौलको भन्दा २७ रुपैयाँ ५८ ले सस्तो छ भने पेट्रोल २३ रुपैयाँ ६४ पैसा सस्तो छ । झापाको काँकडभिट्टा किनेको त्यही डिजेल पारिपट्टि पानीट्याङ्कीमा किन्दा २७ रुपैयाँ ५८ पैसा महंगो पर्छ भने पेट्रोल नेपालको भन्दा १९ रुपैयाँ ९२ महंगो छ । नेपालगञ्ज र धनगढीमा पेट्रोलको मूल्य अन्तर करिब १७ रुपैयाँ र डिजेलको यस्तो अन्तर करिब २१ छ । सीमानाकाको वारि-पारि नै यतिको फराकिलो मूल्य अन्तर हुँदा त्यसले तस्करीलाई बढावा दिएको निगमका अधिकारीहरुको तर्क छ । सामञ्जस्य नहुँदा समस्या नेपालले पेट्रोलियममा स्वचालित मूल्य प्रणाली अंगालेको छ । यसको अर्थ भारतमा तेलको मूल्य तलमाथि हुँदा यहाँ पनि मूल्य घटबढ हुने हो । यही स्वचालित मूल्यप्रणाली अनुसार अहिले निगमले पाक्षिक रुपमा मूल्य समायोजन गर्छ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा छिटोछिटो उतारचढाव आउन थालेपछि भारतले पछिल्लो समय दैनिक मूल्य समायोजन गर्न थालेको छ । भारत गत जून १६ देखियता दैनिक मूल्य समायोजनमा गएको हो । त्यसअघि भारतले पनि १५/१५ दिनमा मूल्य समायोजन गथ्र्यो । करिब चार वर्षअघिसम्म नेपालमा पेट्रोलियमको मूल्य प्रतिलिटर १५/१६ रुपैयाँसम्म महंगो पथ्र्यो, भारतको भन्दा । नाकाबन्दीको समयसम्म नेपाल र भारतको मूल्य अन्तर झण्डै बराबरी थियो । माघ ०७२ ताका भारतमा डिजेलको मूल्य ४५ रुपैयाँ भारु (नेरु ७२) को हाराहारीमा थियो । त्यतिबेला भारतमा डिजेलको अधिकतम मूल्य ५१ भारु (नेरु ८२ सम्म) पुगेको देखिन्छ । त्यति नै बेला नेपालमा डिजेलको यस्तो मूल्य ७५ रुपैयाँ थियो । अर्थात उक्त समयमा नेपाल र भारतमा डिजेलको मूल्यमा खासै अन्तर थिएन । सोही समय भारतमा ६० भारु (नेरु ९६) देखि ६६.९ भारु (नेरु १०५) को बीचमा पेट्रोलको मूल्य रहँदा नेपालमा ९९ रुपैयाँ थियो । भारतले पेट्रोलियम पदार्थमा उच्च कर लगाउन थालेपछि पछिल्ला वर्षहरूमा त्यहाँ मूल्य उच्च हुन थालेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य आकाशिँदै जानु र उच्च करकै कारण पछिल्ला वर्षहरूमा भारतमा तेलको उकालो लाग्दैछ । माघ ०७३ मा नेपालमा पेट्रोलको प्रतिलिटर मूल्य १०१ रुपैयाँ ५० पैसा थियो, डिजेलको ७७ रुपैयाँ ५० पैसा थियो । जब कि सोही समय भारतमा पेट्रोल ७१.१४ भारु (नेरु ११४) देखि ७७.४६ भारु (नेरु १२४) र डिजेलको मूल्य न्यूनतम ५९.०२ भारु (नेरु ९४) देखि ६५ भारु (नेरु १०४)सम्म पुगेको देखिन्छ । ०७४ माघमा आइपुग्दा नेपालमा पेट्रोलको मूल्य १०३ रुपैयाँ छ भने डिजेलको मूल्य ८१ छ । सोही समयमा भारतमा डिजेल ६२.०६ भारु (नेरु ९९) देखि ६५.४२ भारु (नेरु १०४) र पेट्रोल ७१.३९ भारु (नेरु ११४) देखि ७९ भारु (नेरु १२७) सम्म पुगेको छ ।

भारी वर्षाले घर भत्किँदा भक्तपुरमा पाँच जना घाइते

भक्तपुर, चैत २२ । दुई दिन परेको अविरल वर्षाका कारण बुधबार साँझ सूर्यविनायक नगरपालिका–१० चित्तापोल खुलाल गाउँमा घर भत्किँदा पाँचजना घाइते भएका छन् । स्थानीयवासी विदुर थापाको इँटा माटोले बनेको कच्ची घर भत्किँदा सोही घरमा बस्ने पाँचजना घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । घटनामा ५० वर्षीया पशुपति थापा, २१ वर्षीया सरदा थापा, १८ वर्षीय उमेश थापा, २१ वर्षीय रोशन थापा र २० वर्षीया सरिना थापा घाइते भएको परिसरका सूचना अधिकृत प्रहरी निरीक्षक मदन केसीले जानकारी दिए । घाइतेको काभ्रेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । अहिले घाइतेको अवस्था सामान्य रहेको छ । घर भत्किँदा रु १३ लाख बराबरको धनमाल क्षति भएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक केसीले बताए ।

सभामुख महरा र स्वीट्जरल्याण्डका राजदूतबीच भेटवार्ता

काठमाडौं । सम्माननीय सभामुख कृष्णबहादुर महरासँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूतले शिष्टाचार भेट गर्नुभएको छ । बुधबार सभामुखको कार्यालय सिंहदरबारमा स्वीट्जरल्याण्डका राजदूत एलिजावेथ वोन क्यापेलरले शिष्टाचार भेटवार्ता गर्नुभएको हो । सभामुख महराले भेटमा संसदीय सम्बन्धलाई प्रगाढ बनाउन संसदबीच फ्रेन्डसीप ग्रुप स्थापना गर्ने बारेमा पहल बढाउनुपर्ने बताउनुभयो । भेटघाटका क्रममा राजदूत क्यापेलरले सभामुखमा निर्वाचित भएकोमा सभामुख कृष्णबहादुर महरालाई बधाई र शुभकामना व्यक्त गर्नुभएको थियो । सभामुख महराले लामो विद्रोहलाई शान्ति प्रक्रियामार्फत् टुङ्गोमा पुर्याइ देशको समृद्धिमा लागिरहेको बताउनुभयो । शान्ति प्रक्रियाका धेरै काम टुङ्गिएका छन्, नयाँ संविधानको निर्माण भएको छ, सभामुख महराले भन्नुभयो- ‘सबै तहका निर्वाचन सम्पन्न गरी देश विकासका लागि समृद्धिको यात्रामा छौं ।’ शान्ति प्रक्रियाको क्रममा स्वीट्जरल्याण्ड सरकारले राम्रो सहयोग गरेको भन्दै सभामुख महराले खुसी व्यक्त गर्नुभयो । सभामुखसँगको भेटमा राजदूत क्यापेलरले स्वीट्जरल्याण्ड र नेपालको सम्बन्ध राम्रो भएको बताउँदै सम्बन्धलाई अझैं सुमधुर बनाउन एकअर्कामा अनुभव आदानप्रदान गर्नुपर्नेमा जोड दिनुभयो । नेपालले शान्ति प्रक्रिया लगायत संविधान निर्माणसम्म सफलतापूर्वक पूरा गरेकोमा खुसी व्यक्त गर्नुभयो । भेटमा उपसभामुख डा। शिवमाया तुम्बाहाम्फे, संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराई, प्रवक्ता भरतराज गौतमलगायतको उपस्थिति रहेको थियो ।  

पूर्वसांसद भेटवालको निधन

चितवन । नेकपा एमालेका केन्द्रीय लेखा आयोगका सदस्य तथा पूर्व सांसद जागृतप्रसाद भेटवालको आज निधन भएको छ । क्यान्सर रोगबाट पीडित भेटवालको काठमाडौँको वीरअस्पतालमा उपचारका क्रममा केही बेरअघि निधन भएको नेकपा (एमाले) चितवनका पूर्व अध्यक्ष जगन्नाथ थपलियाले जानकारी दिनुभयो । उहाँ पिशावथैली नजिकैको प्रोष्टेट ग्रन्थीकोे क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । पछिल्लो समयमा शरीरका विभिन्न अंगमा क्यान्सर फैलिएपछि विगत डेढ महिनादेखि उहाँ अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । चितवन राप्ती नगरपालिका–४ भण्डारा निवासी भेटवालको श्रीमती, दुई छोरी र एक छोरा रहेको एमाले प्रदेश नं ३ का सदस्य कृष्ण खनालले जानकारी दिनुभयो । रासस