प्रेस जगतलाई प्रधानमन्त्रीको आग्रह -'मिथ्या सूचनाको बाढीलाई रोक्ने काम गरौँ'
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिथ्या र भ्रामक सूचना बाढिलाई रोक्दै तेस्ता सूचना मार्फत समाजलाई भ्रमित तुल्याउने कामलाई प्रेस जगतले रोक्नुपर्ने बताएका छन् ।
नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आसञ्चार माध्यम मिथ्या र भ्रामक सूचनाको प्रकाशन प्रसारणमा सचेत हुनुपर्ने र स्वनियमनमा बस्नुपर्ने बताएका हुन्।

उनले प्रेस स्वतन्त्रतामाथि कुनै पनि किसिमको नियन्त्रण वा संकुचन हुन नदिने बताएका छन् । 'प्रेस जगतसँग मेरो आग्रह छ, प्रेस स्वतन्त्रताको रक्षा गरौँ र उपभोगको सहज वातावरण पनि बनाऔँ' प्रधानमन्त्री प्रचण्डले भने , 'सँगसँगै मिथ्या सूचनाको बाढीलाई रोक्ने काम पनि गरौँ । असत्य, भ्रामक र मिथ्या सूचनाका कारण नेपाली समाजलाई भ्रमित तुल्याउने, नकारात्मक मानसकिताको विकास गराउने, सामाजिक सद्भाव विथोल्ने वा नेपाली सभ्यता र संस्कृतिमाथि हमला गर्ने किसिमका सामग्रीहरूको प्रकाशन प्रसारणका लागि स्वनियमन प्रणाली विकास गर्न आमसञ्चार माध्यमहरूलाई मेरो आग्रह छ।'
महासङ्घले प्रेस स्वतन्त्रतालाई प्रमुख सवालका रूपमा लिने गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले राजनीतिक स्वतन्त्रता स्वयं पत्रकारिता क्षेत्रको सहभागितामा समेत प्राप्त भएकाले प्रेस स्वतन्त्रता यसको अनिवार्य पक्ष बन्न पुगेको बताए ।
'कुनै पनि व्यवस्था जनपक्षीय र लोकतान्त्रिक हो वा होइन भनेर मापन गर्ने बलियो आधार त्यो व्यवस्थामा प्रेस स्वतन्त्रता र पत्रकारको अधिकारको सुनिश्चितता छ वा छैन भन्ने पनि हो,' प्रधानमन्त्री प्रचण्डले भने, 'हिजोको राजतन्त्रात्मक व्यवस्थामा समाचार लेखेकै कारण पत्रकार जेल जानुपर्ने, मारिनुपर्ने, समाचार सामग्री सेन्सरसीप गराउनुपर्ने तथा संचार साधन अवरुद्ध गरिने अवस्था अन्त्य भएको छ ।'
नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रतालाई आफ्नो प्रस्तावनामै उल्लेख गरेर संस्थागत गरिसकेकाले प्रेस स्वतन्त्रता सङ्घीय लोकतान्त्रिक गणतन्त्रकै एउटा अंग रहेकोले अब कसैले पनि प्रेस स्वतन्त्रता कुण्ठित गर्न नसक्ने प्रधानमन्त्रीको भनाई थियो ।
'हामीले प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको प्रमुख हिस्सेदार नेपाली पत्रकारिता क्षेत्र पनि हो, जसको संलग्नताबिना देशमा यति ठूलो राजनीतिक उपलब्धि प्राप्त गर्न सम्भव थिएन,' प्रधानमन्त्री प्रचण्डले भने,'अब पत्रकारिता क्षेत्रसमेत सहभागी भएर प्राप्त भएका उपलब्धीको रक्षा गर्दै राज्यमाथि निरन्तर खबरदारी र निगरानी गर्ने मिसन बनाउनुपर्छ ।'
चारवटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छ। महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्ने भएको हो। महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे बस्ने छ। बैठकमा ज्येष्ठ नागरिक सम्बन्धी विद्यमान कानुन, उनीहरूका लागि राज्यका तर्फबाट भएका व्यवस्था, बुढ्यौली जनसंख्या तथा वृद्धाश्रम र ज्येष्ठ नागरिक मिलन केन्द्रको वर्तमान अवस्था सम्बन्धमा छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकमा विपद् व्यवस्थापन सम्बन्धमा गृह मन्त्रालयबाट भएका काम कारबाही, विपद् जोखिम न्यूनीकरणका लागि तयारी तथा भावी कार्ययोजनाबारे छलफल हुनेछ। यस्तै बैठकमा विपद् व्यवस्थापन सम्बन्धमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट भएका काम कारबाही, तयारी तथा भावी कार्ययोजनाबारे छलफल गर्ने कार्यसूची छ। विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक दिउँसो १ बजे बस्दै छ। अर्थमन्त्री वर्षमान पुनलाई बोलाइएको बैठकको कार्यसूची आगामी बजेट २०८१/०८२ का सम्बन्धमा पूर्वबजेट छलफल र विविध विषय रहेको छ। राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि आज बस्दै छ। दिउँसो २ बजे बस्ने बैठकमा समितिबाट हुने अनुगमनका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
यसरी पुनर्स्थापित भयो इन्टरनेट सेवा
काठमाडौं । बिहीबार अवरुद्ध भएको इन्टरनेट सेवा सञ्चालनमा आएको छ । वर्ल्डलिंक, सुबिसु, भायानेट सहितका सेवा प्रदायकहरुले इन्टरनेट सेवा पुनर्स्थापित भएको जनाएका छन् । उनीहरुले जारी गरेको सूचनामा यो स्थायी हो वा अस्थायी समाधान हो भन्ने खुलाइएको छैन । विहीबार दिउँसोदेखि अन्तर्राष्ट्रिय ब्याण्डविथ प्रदायकले इन्टरनेट सेवा बन्द गरेका थिए । त्यसबाट नेपालका सेवाग्राहीहरु मर्कामा परेका थिए । वर्ल्ड लिंक नेपालका सीईओ केशव नेपालका अनुसार इन्टरनेट सेवा अवरुद्ध नगर्न आग्रह गर्दै पत्र पठाएपछि सेवा पुनर्स्थापित भएको हो । उनका अनुसार ‘तिमीहरुले यसरी इन्टरनेट बन्द गर्न पाउँदैनौं’ भन्ने चेतावनीयुक्त पत्र पठाएपछि सेवा सञ्चालन भएको हो । भायानेटका अर्का एक प्रतिनिधिले पनि एयरटेललाई संयुक्त रुपमा आग्रह गरेपछि नेट चल्न थालेको बताए । उनका अनुसार सबै आईएसपी प्रभावितहरुले हामी छिट्टै समस्याको समाधान गर्न प्रतिबद्ध छौं तर नेपाली सेवाग्राहीलाई अप्ठेरोमा नपरुन् भनेर संयुक्त रुपमा आग्रह गरे पछि सेवा पुनर्स्थापित भएको हो । विहीबार बेलुका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञप्ति जारी गरी नियमानुसार शुल्क तथा रोयल्टी बुझाउन र इन्टरनेट जस्तो अत्यावश्यक सेवा अवरुद्ध नगर्न सेवा प्रदायकलाई अनुरोध पनि गरेको थियो । मन्त्रालयले कानुनी व्यवस्था सम्झाउँदै यस्तो अनुरोध गरेको केही घण्टापछि नै इन्टरनेट चल्न थालेको थियो । नेपालमा प्रमुख ब्याण्डविथ प्रदायकले एयरटेल, टाटा, रिलायन्स लगायत कम्पनीबाट ब्याण्डविथ आयात गर्ने गरेका छन् । त्यसमार्फत उनीहरुले नेपालमा इन्टरनेट सेवा उपलब्ध गराउँछन् । नेपालमा इन्टरनेट सेवा प्रदायक कतिपय कम्पनीहरुले सरकारलाई सेवा शुल्क र रोयल्टी वापतको रकम नबुझाएको अवस्था छ ।
यस्तो हुनेछ आजको मौसम
काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ । विभागका अनुसार आज दिउँसो लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली भई बाँकी भागमा आंशिक मौसम सफा रहने छ भने राति सुदूरपश्चिम , कर्णाली र गण्डकी प्रदेशका पहाडी भागमा साधारणतया बदली भई बाँकी क्षेत्रमा मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना रहेको जनाउँदै विभागले क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
राष्ट्रसंघकी सहायक महासचिवद्वारा अर्थमन्त्रीसँग भेट
काठमाडौं । संयुक्त राष्ट्रसंघकी सहायक महासचिव एवं राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी)की एसिया प्रशान्त क्षेत्रका लागि क्षेत्रीय निर्देशक कान्नी विगनाराजाले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग शिष्टाचार भेट गरेकी छन्। यूएनडिपीको एसिया प्रशान्त क्षेत्रका ३५ देशका आवासीय प्रतिनिधिहरूको बैठकमा सहभागी हुन नेपाल आएकी उनले बिहीबार मन्त्री पुनलाई भेटेकी हुन् । युएनडिपीका तर्फबाट नेपालका लागि आवासीय प्रतिनिधि आयशानी मेडागाङ्गोडा लाबे विग्नाराजाले आफूसहितको टोलीले सोलुखुम्बु हिमालय क्षेत्रको भ्रमणमा गरेको र त्यहाँस्थित इम्जा ताल निरीक्षण गरेको जानकारी दिइन् । यूएनडिपीको आर्थिक तथा प्राविधिक सहयोगमा इम्जा हिमतालमा जमेको हिउँ बाहिर निकालेर ताल फुट्न सक्ने जोखिम घटाइएको थियो । युएनडिपीले दोलखाको उत्तरी क्षेत्रस्थित रोल्वालिङ उपत्यकामा रहेको नेपालको सबैभन्दा ठूलो हिमताल च्छोरोल्पाको फुट्न सक्ने जोखिम पनि घटाएको थियो । आगामी दिनमा त्यस्तै जोखिममा रहेकाका सुनकोशी बेसिनका तीन र गण्डकी बेसिनका एक तालको जोखिम घटाउने योजना रहेको यूएनडिपीले जनाएको छ । भेटमा उनले युएनडिपीले नेपालका ग्रामीण क्षेत्रमा स्वास्थ्य, शिक्षा र गरिबी निवारणको क्षेत्रमा काम गरिरहेको बताइन् । आफूले भ्रमणका क्रममा वातावरणीय परिवर्तनका कारण नेपालले भोगेका समस्याबारे जानकारी पाएको भन्दै ‘ग्लोबल ग्रिन क्लाइमेट फन्ड’ को कार्यक्रम नेपालमा लागू गरिने बताइन्। भेटमा मन्त्री पुनले यूएनडिपीको एसिया प्रशान्त क्षेत्रका ३५ देशका आवासीय प्रतिनिधिहरूको बैठक नेपालमा राखेकामा धन्यवाद दिए । जलवायु परिवर्तनका कारण नेपाल जस्ता अल्पविकसित मुलुकहरूले भोग्नुपरेका विकराल समस्याबारे संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले समेत नेपालको भ्रमण गरी जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेका विकराल समस्याबारे विश्वव्यापी जानकारी गराएको स्मरण गरे । यस्तै यूएनडिपीले नेपालसहित हिन्दकुश हिमालय क्षेत्रका देशहरूका पक्षमा संयुक्त रूपमा काम गर्न अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)सँग सम्झौता गरेकामा पनि खुसी व्यक्त गरे । नेपाल र यूएडिपीबीच लामो सहकार्य रहँदै आएको चर्चा गर्दै मन्त्री पुनले नेपालको आर्थिक तथा सामाजिक विकासमा पुर्याएको योगदानको प्रशंसा गरे । आगामी दिनमा समेत द्विपक्षीय सहकार्यले निरन्तरता पाउने विश्वास व्यक्त गरे। भेटमा यूएनडिपीका तर्फबाट नेपालका लागि आवासीय प्रतिनिधि आयशानी मेडागाङ्गोडा लाबे पनि सहभागी थिइन्।
पर्यटन क्षेत्रको विकास अपरिहार्य : मन्त्री तामाङ
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले पर्यटन क्षेत्रको विकासबाट मुलुकलाई आर्थिक रूपमा समृद्ध बनाउन सकिने बताएका छन् । बिहीबार काठमाडौंमा जाउँ हिँड रेसुंगा अभियानको उद्घाटन कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले मुलुकलाई अहिलेको स्थितिबाट माथि उठाउन पनि पर्यटन क्षेत्रको विकास अपरिहार्य भएको बताए । उनले मुलुकलाई समुन्नत बनाउने आर्थिक आधारहरूमध्ये पर्यटनको क्षेत्र पनि एक भएको बताए । पर्यटन क्षेत्रको विकासद्वारा नै रोजगारी सिर्जना र मुलुक समृद्ध बनाउनसक्ने उनको भनाइ थियो । बसाइँसराइको प्रक्रियालाई पनि पर्यटकीय क्षेत्रको विकासद्वारा रोक्न सकिने बताए । उनले भने, 'हाम्रो मुलुक अहिले जुन स्थितिबाट गुज्रिरहेको छ, हामीले मुलुकलाई समुन्नत बनाउनको निमित्त आर्थिक आधारहरूमध्ये पर्यटनको क्षेत्रलाई पनि एउटा महत्त्वपूर्ण आधारको रूपमा लिएका छौँ । पर्यटन क्षेत्रको विकासद्वारा नै हामीले रोजगारी सिर्जना गर्नसक्छौँ र मुलुकलाई आर्थिक रुपबाट समृद्ध बनाउन सक्छौँ । अहिले जुन हिसाबले जनसमुदायको स्थानान्तरण जसरी हुने गरेको छ, त्यो स्थानान्तरणको प्रक्रियालाई पनि यस्तै पर्यटकीय क्षेत्रको विकासद्वारा मात्रै रोक्न सकिन्छ ।'
१६ जना डीआईजीको सरुवा, हेर्नुहोस् सूची
काठमाडौँ । गृह मन्त्रालयले १६ जना सशस्त्र प्रहरी नायब महानिरीक्षक९डीआईजी० को सरुवा गरेको छ । उपप्रधान एवं गृहमन्त्रीस्तरीय निर्णयबाट मंगलवार सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी नायब महानिरीक्षकहरुको सरुवा गरिएको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३५ को उपनियम १ को ९ख० अनुसार डीआईजीहरूको सरुवा गरिएको सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले जनाएको छ । हेनुहोस् सूची
४८ जना उपसचिवको सरुवा, को कहाँ ? हेर्नुहोस् सूची
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक ४८ उपसचिवको पदस्थापन तथा सरुवा गरेको छ। मन्त्रालयका अनुसार अतिरिक्त समूहमा रहेका २० जना उपसचिवलाई प्रशासकीय अधिकृत र जिल्ला समन्वय अधिकृतमा सरुवा गरिएको छ। हालै शाखा अधिकृतबाट उपसचिव भएका ३४ जनालाई पदस्थापन गरिएको हो। उनीहरूलाई पदस्थापन गर्नुपर्दा त्यहाँ कार्यरत १४ जनालाई सरुवा गर्नुपरेको मन्त्रालयका एक उच्च अधिकृतले जानकारी दिए। को कहाँ
गल्याङका सिनिय अहेबविरुद्ध नक्कली प्रमाणपत्र लिएको आरोपपत्र दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको गल्याङ नगरपालिकाका सिनियर अहेव दुर्गा प्रसाद भट्टराईविरुद्ध नक्कली प्रमाणपत्र सम्बन्धी आरोप पत्र दायर गरेको छ । अख्तियारले अहेव भट्टराईको एसएलसीको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरीको आधारमा छानबिन गर्दा सो प्रमाण पत्र नक्कली रहेको भेटिएपछि मुद्दा दायर गरेको जनाएको छ । अख्तियारले सो कार्य भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६(१) बमोजिमको कसुर भएको हुँदा भट्टराईलाई सोही ऐनको दफा १६(१) बमोजिम कैद र जरिवाना हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरेको जनाएको छ ।उनी हाल अवकाश प्राप्त गरी आफ्नै मेडिकल सञ्चालन गर्छन ।
भारतीय प्रधानन्यायाधीश चन्द्रचुड शुक्रबार काठमाडौं आउँदै
काठमाडौं । भारतीय प्रधानन्यायाधीश धनन्जय यशवन्त चन्द्रचुड शुक्रबार नेपाल आउने भएका छन् । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् । उनी एक गोष्ठीमा सहभागी हुन नेपालको तीनदिने भ्रमणमा आउने भएका हुन् । उनी शुक्रबार काठमाडौं अवतरण हुनेछन् । उनले शनिबार प्रधानन्यायाधीश श्रेष्ठसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भारतीय प्रधानन्यायाधीश आइतबार स्वदेश फर्कने छन् ।
चीनले हिल्सामा मितेरी पुल बनाइदिने
काठमाडौं । नेपाल र चीनको सीमा क्षेत्र हिल्सामा कर्णाली नदीमाथि चीनले मितेरी पुल निर्माण गर्ने भएको छ। हिल्सामा आवतजावत सहजताका लागि चिनियाँ पक्षले एक वर्षमा निर्माण सम्पन्न गर्ने गरी पक्की मितेरी पुल निर्माण गर्न लागेको हो। प्रमुख जिल्ला अधिकारी विनोद पोखरेलले दुई देशको सिमाना हिल्सामा रहेको कर्णाली नदीमाथि पक्की मितेरी पुल चीन सरकारले निर्माण गर्ने भएको बताए। सोबारे जानकारी गराउन चिनियाँ पक्षले नेपाली पक्षलाई हिल्सामा बोलाएको थियो। प्रमुख जिल्ला अधिकारी पोखरेलसहितको नेपाली टोली हिल्सामा गएको थियो। हिल्साबाट फर्केपछि उनले दुई देशका अधिकारीबिच भएको बैठकमा मितेरी पुल निर्माणबारे जानकारी चिनियाँ पक्षले दिएको बताए। उनले पुलको निर्माण कार्य आगामी मेबाट सुरु गर्ने तयारी चिनियाँ पक्षले रहेको छ। पुल निर्माण कार्य सुरु भएको एक वर्षभित्र सम्पन्न गर्ने योजना रहेको छ। हिल्सामा पुल निर्माण गर्दा नेपालपट्टिको क्षेत्रमा चिनियाँ कामदार र प्राविधिक आउनुपर्ने भएकाले काम गर्ने वातावरण मिलाइदिन आग्रह गरिएको पनि उनले बताए।
समयमा काम नगर्ने ठेकदारलाई कारबाहि गर्न मन्त्रीसँग सांसद सापकोटाको माग
काठमाडौं। माओवादी केन्द्रका सांसद माधव सापकोटाले सडक पुल आयोजनाको ठेक्का लिएर काम नगर्ने कति ठेकेदारलाई कारबाही गरियो भन्दै प्रश्न गरेका छन्। बिहीबार प्रतिनिधिसभा अन्तर्गत पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद सापकोटाले जिम्मेवारी लिएका ठेकेदारले समयमा काम नगर्दा आयोजना पछि परेको बताउँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको ध्यानाकर्षण गराएका हुन्। उनले चीनसँग सिमा जोडिएको तातोपानी नाका पुग्ने र वार्षिक हजारौं पर्यटक हिँड्ने अरनिको राजमार्गमा वर्षातको बेला गाडी गुड्न नसक्ने अवस्था रहेको भन्दै ध्यानाकर्षण समेत गराए। उनले अरनिको राजमार्ग स्तरोन्नती गर्नुपर्ने बताए। यस्तै, निर्वाचन क्षेत्र रणनीतिक सडक आयोजनालाई ध्यान दिन पनि आग्रह गरे।
विरेन्द्रतालमा हिमपहिरो खस्दा साम्दो जाने काठेपुल बगायो
गोरखा । जिल्लाको चुमनुब्री गाउँपालिका वडा नम्बर १ सामागाउँ स्थित विरेन्द्रतालमा हिमपहिरो जाँदा विरेन्द्र तालखोला स्थित काठेपुल बगाएको छ। आज विहान ८ बजे आएको हिमपहिरो पछि तालमा पानीको मात्रा बढ्न जाँदा सामागाउँ हुँदै साम्दो जाने विरेन्द्र तालखोला स्थित काठेपुल बगाएको हो। खोलामा पानीको मात्रा बढी हुँदा पुल बगाएको स्थानीय चोखे लामाले बताए। पानीको मात्रा त्यति धेरै नभएपनि वर्षातको जस्तो अवस्था देखिएको उनले बताए । तल्ला तटिय क्षेत्रका मानिसहरुलाई सावधानी अपनाउन सञ्चार गरिएको चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाले बताए।
प्रहरी महानिरीक्षक र इन्डोनेसियन प्रहरीका डिभिजन प्रमुखबीच भेटवार्ता
काठमाडौँ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र इन्डोनेसियन नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजन प्रमुख आइजिपी कृष्ण मुर्तीबीच बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयमा शिष्टाचार भेटघाट भएको छ। भेटघाटको क्रममा उनीहरू बिच आपसी सहयोग, सूचनाको आदान प्रदान तथा समन्वय लगायतका विषयमा छलफल समेत भएको हो। यसअघि आइजिपी कृष्ण मुर्ती समेत ६ सदस्यीय टोलीको उपस्थितिमा आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरीको साङ्गठनिक परिचय, इतिहास, संरचना, काम कर्तव्य, संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा नेपाल प्रहरीको सहभागिता एवम् अन्तर्राष्ट्रिय समन्वय तथा सहकार्यसम्बन्धी विषयमा प्रस्तुतीकरण गरेका थिए। सो अवसरमा आइजिपी कृष्ण मूर्तिले इन्डोनेसियन नेशनल प्रहरीको काम, कर्तव्य बारेमा विस्तृत रूपमा जानकारी दिँदै सूचना आदान प्रदान, अन्तरदेशीय अपराध, साइबर अपराध, संयुक्त राष्ट्र संघीय मिसनमा सहभागिता लगायतमा नेपाल प्रहरीसँग सहकार्य गरिने बताए। सो क्रममा इन्डोनेसियन नेशनल प्रहरीका वरिष्ठ उपरीक्षक लियो एण्डी गुनावानले संयुक्त राष्ट्र संघीय मिसनमा इन्डोनेसियन नेशनल प्रहरीको सहभागिताबारे प्रस्तुतीकरण गरेका थिए।
ठोरी छोटी भन्सार पुनः सञ्चालनमा, अस्थायी सवारी पास सहजै पाइने
चितवन । ठोरी छोटी भन्सार बुधबारदेखि पुनः सञ्चालनमा आएको छ। एक समारोहका बिच प्रदेश सासंद ठाकुर ढकाल, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, माडी नगरपालिकाका प्रमुख ताराकाजी कुमारी महतो, ठोरी गाँउपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले संयुक्त रूपमा रिबन काटेर कार्यालयको उद्घाटन गरे। त्रिदेशीय नाकाका हिसाबले नेपालकै छोटो मानिने ठोरी–माडी–भरतपुर–रसुवागढी (केरुङ)को प्रवेश बिन्दु ठोरी नाका रहेको छ । भरतपुर भ्रमण वर्ष २०२४ का सन्दर्भमा भरतपुर महानगरपालिकाले नाका सञ्चालनमा पहल गरेसँगै लामो समय बन्द रहेको नाका सञ्चालनमा आएको हो । भरतपुरबाट सबैभन्दा छोटो दुरीमा भारत जोडिएको स्थान ठोरी हो । भरतपुरबाट ठोरी ७० किमी दुरीमा रहेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भन्सारलाई सहज, व्यवस्थित र नियमित रुपमा सञ्चालनमा ल्याउन ठोरी गाँउपालिकाको मुख्य भूमिका रहने उल्लेख गर्नुभयो । लामो समयको पहलपछि नाकालाई पुनः सञ्चालनमा ल्याउन सकिएको उनले प्रष्ट पारिन्। नाका सञ्चालनमा आएपछि भारतबाट ठोरी हुँदै नेपाल प्रवेश गर्ने पर्यटकलाई वीरगञ्ज र भौरवहा नाकाबाट लिने अस्थायी पासको झन्झट हटेर गएको बताए। भन्सार विभागका महानिर्देशक डुण्डी प्रसाद निरौलाका अनुसार भारतीय नम्बर प्लेटको एउटा सवारीले एक वर्षभित्र ३० दिन नेपालमा अस्थायी पास लिएर सवारी चलाउन पाइने छ । भन्सारलाई थप स्तरोन्ती गर्न अहिले अध्ययन भइरहेकाले प्रतिवेदन आएपछि थप निक्र्यौल निस्किने उनको भनाइ थियो। भन्सार सञ्चालनमा आएपछि ठोरीवासी हर्षित देखिएका छन् । भन्सार नहुँदा सवारी चढेर नेपाल आउने पर्यटक सिमानाबाट फिर्ता हुने गरेका थिए। अब अस्थायी पासको व्यवस्था भएसँगै निर्वाध रुपमा नेपाल आउन सक्ने छन् । ठोरीका पर्यटन व्यवसायी सुदिप थापाले भन्सार सञ्चालनमा आएसँगै राहत मिलेको बताउनुभयो । यसले भरतपुर भ्रमण वर्षलाई पनि टेवा पुग्ने विश्वास गरे। विदेशी पर्यटक नेपाल आउँदा समग्र राष्ट्रको आर्थिक विकासमा सहयोग पुग्ने भएकाले नाकाले सहज सेवा दिनुपर्ने उल्लेख गरे। भन्सार स्तरोन्नति गरी सञ्चालनमा ल्याउने सन्दर्भमा हालै संघीय मन्त्रीपरिषद् (क्याबिनेट)ले निर्णय गरेको थियो । पर्साको छोटी नाका मध्ये सबैभन्दा बढी चल्ती अवस्थामा रहेको ठोरीस्थित छोटी भन्सार कार्यालयको भवन करिब २ वर्ष अगाडी निर्माण गरी तयारी अवस्थामा थियो । यसअघि, गतबर्ष माघ २७ मै सो भन्सारको सेवा सुरुवात हुने भएपनि कतिपय प्रक्रिया पुरा नभएको भन्दै अन्तिम समयमा राकिएको थियो ।
आईटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरूरी छ : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आईटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरूरी रहेको बताएका छन् । बिहीबार काठमाडौंमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले कारोबारहरूलाई अनलाइनमाध्यमबाट गर्न सके कारोबार पारदर्शी हुने र सहज हिसाबले काम गर्ने वातावरण बन्ने बताए । उनले आईटी क्षेत्रलाई लगानी सम्मेलनमा प्राथमिकताका साथ लिइएको भन्दै नेपालमा लगानीको सम्भावना भएका क्षेत्रहरुमा आइटी पनि मुख्य लगानीको क्षेत्र बनेको बताए । उनले भने, “भर्खरै सम्पन्न लगानी सम्मेलनमा प्रधानमन्त्रीज्यूबाट र मान्य मन्त्रीज्यूबाट नेपालकै तर्फबाट जुन एउटा आईटी क्षेत्रलाई एकदमै प्राथमिकताका साथ राखिएको र नेपालमा लगानीको सम्भावना भएका क्षेत्रहरूमा आईटी पनि मुख्य लगानीको क्षेत्र हो भनेर प्राथमिकताका साथ राखिइएको छ यो महत्वपूर्ण छ। आइटीको क्षेत्रमा हेर्दा हामी कतिपय पूर्वाधार, ठूलो लगानी नभइकन विदेशी मुद्रा भित्र्याउनसक्ने सम्भावना रहेको छ । यसलाई सरकारले अझै प्राथमिकतामा राखेर यो क्षेत्रमा लाग्नुपर्छ । हामीले जति पनि कारोबारहरू हुन्छ, कारोबारहरु पारदर्शी गर्ने हिसावमा पनि निजी क्षेत्रको तर्फबाट एउटा फेसलेस भनौँ, डिजिटल माध्यमबाट जानसक्यो भने पारदर्शिता हुन्छ । सहज हिसावले काम गर्ने वातावरण बन्छ। डिजिटल सिग्नेचरको कुरा हामीले उठाइरहेका छौं, केही यसलाई अझै कार्यान्वनममा ल्याउन त्यत्तिकै महत्वपूर्ण छ ।” अध्यक्ष ढकालले डिजिटल हस्ताक्षरलाई कार्यान्वनममा ल्याउन आवश्यक रहेको बताए ।

