नालीको अभावमा सडक योजनाको दिगोपनामा चुनौती

म्यादी । म्याग्दीका ग्रामीण सडकको स्तरोन्नतिका क्रममा नाली नबनाउँदा योजनाको दिगोपनामा चुनौती देखिएको छ । भिरालो जमिनमा निर्माण भएका सडकको भल व्यवस्थापन गर्ने नाली प्रमुख पूर्वाधार हो।

सडकसँग जोडिएका जग्गाधनीको विरोध, अवरोध, बजेटको कमी र उपभोक्तामा प्राविधिक ज्ञानको अभावका कारण सडक स्तरोन्नतिसम्बन्धी योजनामा नाली निर्माणले प्राथमिकता पाउन सकेको छैन ।

नाली नहुँदा हिउँदभरि खनिएका तथा स्तरोन्नति भएका सडक एक, दुई दिन वर्षा हुनेबित्तिकै सवारी साधन आवतजावतमा समस्या हुने गरेको बेनपा– १० पात्लेखेतका कार्यवाहक वडाध्यक्ष लोकबहादुर पुनले बताउनुभयो ।

बेनी नगरपालिका कार्यालयले ९ नं वडाको सिमाना अलवाङ पात्लेखेतको ओखले हुँदै रघुगंगा गाउँपालिकाको सिमाना घट्टेखोलासम्म जोड्ने दुई किलोमिटर सडक स्तरोन्नतिका लागि चालू आर्थिक वर्षमा रु २१ लाख ५० हजार विनियोजन भएकामा ३१ प्रतिशत घटेर भगवती मालिका कन्स्ट्रक्सनले ठेक्का लिएको छ ।

निर्माण कम्पनीले डोजर लगाएर साढे तीन मिटर चाक्लो सडकलाई कम्तीमा छ मिटर फराकिलो बनाए पनि नाली बनाउने र हिलो जम्ने ठाउँमा ढुङ्गाको सोलिङ गर्नेजस्ता काम नगर्दा लगानी खेर जाने खतरा हुने कार्यवाहक वडाध्यक्ष पुनले चिन्ता व्यक्त गर्नुभयो ।

यसैगरी बेनपा–९ को गिठेनीदेखि पात्लेखेत हुँदै झिँको सिमानासम्म साढे तीन किलोमिटर सडक चक्लाउने, ग्रेड र मोड सुधार गरिए पनि नाली बनेको छैन । उपभोक्ता समितिका अध्यक्ष मसवीर रोकाले नगरपालिकाको रु चार लाख, स्थानीयवासी, वन, युवा क्लब, आमा समूहको सहयोग तथा ऋण गरी रु १३ लाखको लगानीमा सडक फराकिलो बनाए पनि बजेट अभावमा नाली बनाउन नसकिएको बताउनुभयो ।

नगरपालिकाले रु १० लाख विनियोजन गरेको गलेश्वर काउलेगौडा पात्लेखेत सडक स्तरोन्नति योजनामार्फत भने धेरैजसो ठाउँमा नाली बनेको छ । रु १० लाख विनियोजित अर्थुङ्गे थाकनपोखरी भिरमुखी सडक स्तरोन्नति योजनाका लागि उपभोक्ता समितिका अध्यक्ष गोविन्द बानियाँले प्रभावित क्षेत्रका बासिन्दको घर अगाडिबाट सडक बनोस् र जग्गा नपरोस् भन्ने विरोधाभाषपूर्ण भावनाले समस्या भएको बताउनुभयो ।

बेनी नगरपालिकाका इञ्जिनियर विमलरञ्जन कार्कीले पहाडी क्षेत्रको सडकमा नाली अनिवार्य भएको बताउनुभयो । इञ्जिनियर कार्कीले सडकलाई मापदण्डअनुसार फराकिलोसँगै टेवा पर्खाल, कजवे, सोलिङ, ढलान गरेर स्तरोन्नति गरेमा सहज रुपमा नियमित सवारी सञ्चालन गर्ने वातावरण बनाउनुपर्छ भन्नुभयोे ।

स्वास्थ्य चौकी निर्माणमा ढिलाइ

अठार महिनामा सकिनुपर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेमा रहेको स्वास्थ्य चौकीको निर्माण कार्य चार वर्षमा समेत पूरा भएको छैन । भवन निर्माणमा ढिलाइ हुँदा सेवा समेत प्रभावित भएको छ ।

वडा कार्यालयको दुई वटा कोठाबाट स्वास्थ्य चौकीले सेवा प्रवाह गर्दै आएको छ । स्वास्थ्य चौकीका प्रमुख चाँदनी घलेले साँघुरो सीमित कोठामा बसेर काम गर्दा बिरामीको स्वास्थ्य परीक्षण, समस्या पहिचान, औषधि भण्डारी, प्रसूति गृह सञ्चालनमा समस्या भएको बताउनुभयो ।

जिल्ला शहरी विकास तथा भवन डिभिजन कार्यालयले विसं २०७१ मा करीब रु दुई करोडको लागतमा राम्चे स्वास्थ्य चौकीको भवन निर्माण शुरु गरेको थियो । अठार महिनामा सम्पन्न गर्ने लक्ष्यसहित ठेक्का सम्झौता भएको भवनको प्लाष्टर, घेराबार, रङ्गरोगन, विद्युत् र पानी जडान गर्नेलगायतको काम अझै बाँकी छ ।

निर्माण व्यवसायीको लापरबाही र ढिलासुस्तीसँगै सम्बन्धित निकायको बेवास्ताका कारण भवन निर्माणमा लापरबाही भएको स्वास्थ्य चौकी व्यवस्थापन समितिका सदस्य यामबहादुर पुर्जाले बताउनुभयो । उक्त भवन निर्माणका लागि भगवती निर्माण सेवाले ठेक्का सम्झौता गरेको थियो ।

भवन डिभिजनका इञ्जिनियर गणेश महर्जनले भौगोलिक विकटता र व्यवसायीले समयमै काम नगर्दा ढिलाइ भएको र भवन निर्माणको कामलाई तीव्रता दिन ताकेता गरिरहेको बताउनुभयो ।

भौगोलिक विकटताका कारण निर्माण सामग्रीको ढुवानी गर्न समस्या, दक्ष कामदारको अभाव, उच्च पहाडी भूगोलका कारण हिउँदमा चिसो र बर्खामा पानीले काम गर्न समस्या भएको निर्माण व्यवसायी गोपाल भट्टचनको गुनासो थियो ।

चालू आर्थिक वर्षभित्र नै भवन निर्माण गर्ने व्यवसायी भट्टचनले दाबी गर्नुभयो । सो स्वास्थ्य चौकीबाट राम्चे, काफलडाँडा र नाँगीका ५०० भन्दा बढी घरधुरीले सेवा लिदै आएका छन् । रासस

मुसहर बस्तीमा घर निर्माण गरी हस्तान्तरण

नवलपरासी । बर्दघाट नगरपालिकास्थित विपन्न मुसहर बस्तीमा घर निर्माण गरी हस्तान्तरण गरिएको छ ।

नगरपालिका–५ स्थित जीतपुर डण्डा खोलामा बस्दै आएका १० घर विपन्न मुसहर समुदायलाई घर निर्माण गरी हस्तान्तरण गरिएको हो ।

नेपाल विद्युत् प्राधिकरण भरतपुर–बर्दघाट २२० केभिए प्रसारण लाइनको आर्थिक सहयोगमा आयोजना प्रभावित विपन्न समुदायलाई घर निर्माण गरिएको हो ।

रु ३० लाखको लागतमा एसके निर्माण सेवाले घर निर्माण गरी हस्तान्तरण गरेको नगरपालिकाका प्रमुख धीरज शर्मा बस्यालले बताउनुभयो । चार महिना लगाएर तयार गरिएको सो बस्तीमा सामूहिक शौचालय तीन र एक धारा पनि जडान गरिएको छ । घर निर्माण गरेसँगै १० घरपरिवारका ६० जना लाभान्वित भएका छन् ।

यसअघि जीर्णावस्थामा रहेका कच्ची घरमा बस्दै आएकामा नया“ घर प्राप्त गर्दा स्थानीयवासी खुशी भएका छन् । “धेरै समस्या थियो, बर्खामा पानीले गर्दा बस्नै सकिँदैनथियो, नया“ घर पाएका छांैँ, निकै खुशी लागेको छ”, स्थानीयवासी बुद्ध मुसहरले भन्नुभयो ।

प्राधिकरणको हाइटेन्सन लाइन प्रभावित व्यक्तिलाई सहयोग प्रदान गर्ने कार्यक्रमअन्तर्गत वातावरण तथा सामाजिक अध्यन केन्द्रको संयोजनमा घर निर्माण गरी हस्तान्तरण गरिएको विभागका इञ्जिनीयर हर्ष श्रेष्ठले बताउनुभयो । रासस

दुर्घटनामा वडाध्यक्षसहित पाँच गम्भीर घाइते

दैलेख । दैलेखको आठबीस नगरपालिका–८ स्याउलीकाँधबाट वडा नं ९ छेपाडीतर्फ जाँदै गरेको भे १ च २१४८ नम्बरको बोलेरो जिप दुर्घटना भएको छ । जिप सोमबार राति करिब ८ः३० बजे दुर्घटना भई सडकबाट २५० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ । जिप दुर्घटनामा परी आठबीस नगरपालिका–९ का वडाध्यक्ष धनबहादुर सिँजापती गम्भीर घाइते भएका छन् । जिपमा सवार वडा नं ९ का लालबहादुर बडुवाल, नवीन बडुवाल, सूर्यबहादुर बडुवाल र कमल बडुवाल घाइते भएका छन् । उनीहरुको टाउको, आँखा र मुखमा गम्भीर चोट लागेको छ । चालक सामान्य रहेको प्रहरीले जानकारी दिएको छ । सडकबाट जिप धेरै तल खसेकाले घाइतेको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानरकारी दिएको छ । घाइतेको उपचारका लागि प्रदेश राजधानी सुर्खेततर्फ ल्याउँदै गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

मदनकृष्ण श्रेष्ठकि पत्नी यसोदाको निधन

मदनकष्ण श्रेष्ठलाई पत्नीशोक परेको छ । उनकी श्रीमती यसोदा श्रेष्ठको आज बिहान निधन भएको हो । उनको निधन भएको उनका आफन्तले पुष्टी गरेका छन् । मदनकृष्ण श्रेष्ठलाई पत्नीशोक परेपछि श्रेष्ठ निवास तथा अस्पतालमा कलाकारहरुको समेत घुईँचो लागेको छ । उनी लामो समयदेखि विरामी थिइन ।

अवैध कलेजमा पाँच वर्षदेखि पढाइ: अन्योलमा विद्यार्थीको भविष्य

काठमाडौं – चितवनस्थित ओएसिस मेडिकल कलेज तथा टिचिङ हस्पिटलले मापदण्ड नै नपुर्‍याई स्नातक तहको नर्सिङ कक्षा सञ्चालन गरेको पाइएको छ। कलेजले पाँच वर्षदेखि अवैध ढंगले अध्यापन गराएको खुलेपछि विद्यार्थीको भविष्य अन्योलमा परेको छ। आजको अन्नपूर्ण पोस्टको पहिलो पृष्ठमा मुख्य खबर छ । पूर्वाञ्चल विश्वविद्यालयसँगको मिलेमतोमा कलेजले अध्यापन सुरु गर्दै आएको हो। कलेजले चारबर्से बीएससी नर्सिङ र तीनबर्र्से बिएन विषयको पठनपाठन गर्दै आएको छ। नर्सिङ शिक्षण संस्था सञ्चालन गर्न नेपाल नर्सिङ परिषद्बाट मान्यता लिनुपर्ने कानुनी व्यवस्था छ। तर, कलेजले मान्यता नै नपाएको काउन्सिलका रजिस्ट्रार लक्ष्मी राईले खुलाइन्। उक्त कलेजबाट चारबर्से बीएससी नर्सिङ अध्ययन पूरा गरी नाम दर्ता परीक्षामा सामेल हुन दुई विद्यार्थीले अनलाइनबाट फर्म भरेपछि अवैध भएको खुलेको हो। काउन्सिलले बीएससी नर्सिङ गरेका शोभा अर्याल र तनुजा श्रेष्ठलाई कलेज अवैध भएको जनाउँदै परीक्षामा सामेल गर्न रोकेको छ। रजिस्ट्रार राईले प्रश्न गरिन्, ‘मान्यता नै नदिएको कलेजबाट पढेकालाई कसरी परीक्षामा सामेल गराउने ? ’ परीक्षामा सामेल हुन नपाएकोमा विद्यार्थीद्वयले उच्च अदालत पाटनमा मुद्दा दायरसमेत गरेका थिए। अदालतले परीक्षामा सामेल गराउन अन्तरिम आदेश दिए पनि मान्यता नै नपाएको कलेजमा अध्ययन गरेका विद्यार्थीलाई प्रवेश परीक्षामा सामेल गराउनु न्यायोचित नहुने ठहर परिषद्को बोर्ड बैठकले गरेको थियो। परिषद् ऐन, २०५२ को दफा ९ अनुसार शिक्षण संस्थालाई मान्यता दिने अधिकार काउन्सिललाई रहेको छ। पूर्वाञ्चल विश्वविद्यालयको मिलेमतो शिक्षण संस्था सञ्चालन गर्न स्वीकृति दिनुपूर्व सम्बन्धित निकायले नर्सिङ परिषद्सँग परामर्श माग गर्नुपर्ने कानुनी व्यवस्था छ। सम्बन्धित शिक्षण संस्थाले आवश्यक मापदण्ड तथा पूर्वाधार पूरा गरे-नगरेको जाँचबुझ गरी परिषद्ले परामर्श दिनुपर्छ। परिषद्को परामर्शको आधारमा मात्र सम्बन्धित निकायले शिक्षण संस्था स्थापना र सञ्चालन गर्ने स्वीकृति दिने वा नदिने सम्बन्धमा निर्णय गर्नुपर्ने कानुनी व्यवस्था छ। काउन्सिलले पूर्वाधार नपुगेको भन्दै परामर्श दिए पनि सम्बन्धन दिएको पूर्वाञ्चल विश्वविद्यालयले बेवास्ता गर्दै आएको छ। काउन्सिलकी रजिस्ट्रार राईले विश्वविद्यालयका उपकुलपतिलाई भेट्न जाँदा ‘रेस्पोन्स’ नगरेको बताइन्।

‘बलात्कारी’ लाई खाना लिएर प्रहरी चौकी पुग्ने पीडित महिलाकाे कहानी ….

काठमाडौं । अभियुक्तः रामबहादुर मोक्तान वर्षः ३१ मुद्दा नं.: ३७० कसुरः जबरजस्तीकरणी जिल्ला अदालत, काठमाडौं अपाङ्गता भएकी ३० वर्षीया महिलाले बलात्कारको उजुरी दिएपछि महानगरीय प्रहरी परिसर, काठमाडौंले हेटौंडाका रामबहादुर मोक्तानलाई पक्राउ गरेको थियो । जबरजस्तीकरणी मुद्दामा अदालतमा म्याद थपेर उनलाई परिसरको हिरासतमा राखेको छ । तर, ‘पीडित’ युवती नै आजभोलि हरेक दिन परिसरमा आउँछिन् र अभियुक्त मोक्तानलाई खाना खुवाएर फर्किने गरेकी छन् । यो दृश्यले प्रहरीहरुलाई आश्चर्यमा मात्र पारेको छैन, थप सोच्न बाध्य बनाएको छ । प्रहरीका अनुसार पछिल्लो समय लिभिङ टुगेदर, ‘प्रेम’ जस्ता अनेक नाममा सँगै बस्नेदेखि शारिरीक सम्वन्ध राख्ने गरेका जोडीहरु आपसमा झगडा भएपछि बलात्कारको उजुरी दिने र अभियुक्त पक्राउ परेपछि आफैं मिल्ने गरेका घटना थुप्रै छन् । यसले प्रहरीको समय बर्बाद पार्नुका साथै उसको अनुसन्धानमा प्रश्न त उठाएको छ नै वास्तविक बलात्कारका घटनालाई पनि ओझेलमा पार्ने खतरा बढाएको छ । ‘बिहे गर्ने भयो, जाहेरी फिर्ता लिन्छुुु’ पीडित महिलाको सुरुमा छोराहरुलाई अर्को कोठामा थुनेर आफूलाई बलात्कार गरेको बताएकी थिइन् । प्रहरीले यसबारे अनुसन्धान गरिरहेको छ । तर, पीडित युवती हरेक दिन अभियुक्तलाई खाना लिएर आउँछिन् र प्रहरीसामू जाहेरी फिर्ता गर्न माग गर्छिन् । ‘मसँगै बिहे पनि गर्ने भयो, अघिल्लो श्रीमानबाट जन्मिएका दुई बच्चा पनि हेर्ने भयो’, भन्दै उनले प्रहरीसँग जाहेरी फिर्ता गरिदिन पनि आग्रह गरेको पाइएको छ । प्रहरीले भने जबरजस्तीकरणी सम्बन्धी मुद्दा भएकाले मोक्तानविरुद्धको जाहेरी फिर्ता गर्न मानेको छैन । प्रहरीका अनुसार पीडित महिलाको श्रीमानको केही वर्षअघि सवारी दुर्घटनामा परेर मृत्यु भएको थियो । त्यसपछि उनको जीवनमा मोक्तान आएका रहेछन् । फिल्म डाइरेक्टर भन्दै पीडित युवतीसँग नजिकिएका उनले कहिले फिल्ममा रोल दिने त कहिले दक्षिण कोरिया पठाइदिने भन्दै प्रलोभनमा परे । हिमहिच बढ्दै गएपछि उनीहरु झण्डै २ वर्षदेखि लिभिङ टुगेदरमा बसेको पाइएको छ । बलात्कारका ‘शङ्कास्पद’ घटना सामान्यता कुनै पनि महिलाले आफू बलात्कृत भएको भनेर झुटो दाबी गर्न सक्दिनन् । बलात्कार आफैंमा जघन्य अपराध हो र बलात्कृत भएपछि पनि उसले सहजै न्याय पाउँदैनन् । अहिले पनि कयौं चेली आफ्नो अस्मिता लुट्नेमाथि कारबाही होस् भनेर न्यायलय धाइहेका छन्, न्यायको पर्खाइमा छन् । कतिले त ज्यान नै गुमाएका छन् । साथै, समाजले उल्टै उनीहरुलाई राम्रो व्यवहार गर्दैन । तर, कतिपय यस्ता घटना पनि भेटिएका छन्, जसले जघन्य अपराधको विषयलाई हल्काफुल्का बनाउने गरेको छ । करिब ८ महिना अघि पनि यस्तै भएको थियो । न्यूरोड क्षेत्रमा ट्राभल एजेन्सी सञ्चालन गरिरहेका एक भारतीय नागरिकले आफूलाई बलात्कार गरकोे भन्दै २० वर्षीय युवतीले प्रहरीमा जाहेरी दिइन् । बलात्कारको आरोप लागेपछि भारतीय नागरिक फरार भए । तर, अनुसन्धानको क्रममा खुल्यो, युवतीले तलब नबढाएको झोँकमा बलात्कारको जाहेरी दिएकी रहिछिन् । टिकट बेच्ने काम गर्दै आएकी उनले महिनाको १२ हजार पाउने गरेकी थिइन् । उनले साहुसँग २० हजार रुपैयाँ माग गरिन् । तर, तलब नबढाएपछि उनले बलात्कारको मुद्दा हालेको प्रहरी अनुसन्धानबाट खुल्यो । ‘बलात्कार गरेको हो होइन भन्ने कुराको वैज्ञानिक परीक्षण गर्ने उपकरणको पनि अभाव छ’, एक प्रहरी अधिकारी भन्छन्, ‘कस्तो अवस्थामा बलात्कार भन्ने ? छुट्टाउने स्पष्ट आधार के के हुन् ? कतिपय घटनामा युवतीलाई घाउ, चोट लागेको, भाग्नलाई गरेको संघर्ष लगायत देखिने एउटा पनि प्रमाण हुँदैन ।’ यसले जाहेरीकै भरमा तुरुन्तै अभियोग लगाउँदा निर्दोष समेत पर्न सक्ने देखिएको छ भने अनुसन्धान पुरा गरेर मात्र पक्राउ गर्दा अभियुक्त भाग्ने र बास्तविक पीडितले लामो समयसम्म न्याय नपाउने अवस्था आउन आउन सक्छ । ‘पछिल्लो समय पार्टनरसीपमा काम गर्ने र शारीरिक सम्बन्ध पनि राख्ने, तर, सम्बन्ध टुटेपछि प्रहरीमा जाहेरी हाल्ने किसिमका घटना पनि देखिएका छन्’, एक प्रहरी निरीक्षक भन्छन्, ‘लामो समयसम्म अफेयरमा बसेर केटाले अर्की केटीलाई विहे गर्दा पनि बलात्कारको अभियोग लगाइएको घटनासम्म प्रहरी कहाँ आएका छन् ।’ अधिवक्ता टीपी शर्मा पनि यस्तो घटना हुने गरेको स्वीकार गर्छन् । ‘सुरुमा समस्या होला भनेर हेर्छौ तर, पछि अर्कै अवस्था भेटिन्छ’, उनले भने, ‘यसले महिलाले पाएको अधिकार मिसयूज मात्र भएको छैन, कुनै न कुनै रुपमा वास्तविक पीडितले पाउने न्यायमा ढिलाई पनि गरेको छ ।’ काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेल भने महिलाले आफू बलात्कृत भएको भन्दै उजुरी दिएपछि मुद्दा चलाइने बताउँछन् । ‘केही समयसँगै जीवन विताएर सम्बन्ध विग्रिँदा प्रहरी समक्ष उजुरी पर्ने गरेको पनि पाइन्छ’, पोखरेल भन्छन्, ‘तर, पीडितले आफू बलात्कृत भएको भनेर उजुरी दिएपछि सरकारीवादी मुद्दा पनि हो, प्रहरीले मुद्दा चलाउँछ ।’

आम्मै ! सिन्धुपाल्चोकमा मेवा भन्दा ठूलो असिना

काठमाडौं, चैत्र १९ । मौसममा अचानक आएको बदलीले यति बेला काठमाडौ उपत्यकासहित धेरै जिल्लामा असिनासहित वर्षा भइरहेको छ । सोमबार साँझ सिन्धुपाल्चोकमा मेवा आकारको असिना परेपछि गहुँ, तरकारी, फलफूललगायत सबै प्रकारका बालीमा ठूलो क्षति पुर्याएको कृषकहरुले बताएका छन् । भित्र्याउनका लागि तयार भएको बाली नष्ट हुँदा ठूलो नोक्सानी भएको छ । सामान्यतस्ः यति बेला सबै प्रकारका फलफूलमा दाना लाग्ने समय हो । असिनासहितको पानी र हावाहुरीले गर्दा कृषकलाई ठूलो क्षति भएको बताइएको छ । तर बढ्दो गर्मीसँगै परेको पानीले नयाँ खेती लगाउनका लागि राम्रो हुनका साथै वर्षापछि राजधानीसहित देशैभर पानीको आपूर्तीमा भने केही राहत हुने भएको छ ।

सिन्डिकेट अन्त्य गर्न जारी यातायात निर्देशिकाको स्वागत

काठमाडौं, चैत १९ । गोगो फाउण्डेसनले यातायात व्यवसायीको एकाधिकारबाट आक्रान्त यात्रुलाई राहत दिने उद्देश्यसहित यातायात व्यवस्था विभागले आइतबार सार्वजनिक गरेको सात वटा निर्देशिकाको स्वागत गरेको छ । फाउन्डेसनले सरकारले कुनै सुधार गर्न खोज्नेबित्तिकै विरोधमा उत्रने, जथाभावी गाडी तेर्साएर सडक अवरुद्ध गर्नेजस्ता एकाधिकारवादबाट सञ्चालित हुँदै आएका व्यवसायीलाई निरुत्साहित गर्नुपर्ने जनाएको छ । फाउन्डेसनका कार्यकारी निर्देशक केदार खड्काले आज विज्ञप्तिमार्फत यात्रुलाई सुविधाजनक सेवा दिएर यातायात क्षेत्रमा काम गर्न चाहने नयाँ व्यवसायीलाई निरुत्साही गर्ने एकाधिकार शैलीप्रति विरोध जनाएको छ । सरकारले यातायात व्यवस्थापनसँग सम्बन्धित सात वटा निर्देशिका (मझौला तथा साना सवारी निरीक्षण निर्देशिका, मझौला तथा साना सवारी परीक्षण निर्देशिका, सवारी प्रदूषण परीक्षण निर्देशिका, स्कुल बस निर्देशिका, बस बडी विल्डिङ मापदण्ड र कारखाना तथा वर्कशप दर्ता सञ्चालन मापदण्ड, २०७४) कार्यान्वयनमा ल्याएको छ । केही वर्षअघि सर्वोच्च अदालतले उपभोक्ताको प्रतिस्पिर्धी सेवा छनोट गर्ने अवसरबाट वञ्चित गर्ने उद्देश्यले यातायात क्षेत्रमा लादिएको एकाधिकार अन्त्य गर्न सरकारका नाउँमा निर्देशात्मक आदेश दिएको थियो । अब सबै यातायात व्यवसायीले कानूनी सर्वोच्चताको सम्मान गर्दै सरकारले ल्याएका निर्देशिकाअनुसार व्यवसाय सञ्चालन गर्न गराउन गोगो फाउन्डेशनले आह्वान गरेको छ ।

प्रधानमन्त्रीसँग महानायक हमालसहित काे काे जादैं छन भारत भ्रमणमा ?

प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा अभिनेता राजेश हमाल पनि सामेल हुने भएका छन् । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपाली प्रतिनिधि मण्डलमा मन्त्री, सांसद, सरकारी कर्मचारीका अलावा केही कलाकारहरु पनि रहने भएका छन् । कलाकार मध्ये राजेश हमाल त्यो टोलीमा रहने बताइएको छ । नयाँ दिल्लीमा रहादा प्रधानमन्त्रीको बलिउडका प्रतिष्ठित कलाकारसँग भेटघाट र अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ । सोही कार्यक्रमलाई मध्येनजर गर्दै अभिनेता हमाल र अन्य कलाकारलाई पनि भ्रमण टोलीमा समावेश गरिएको बताइएको छ । प्रधानमन्त्री कार्यालयका स्रोतका अनुसार प्रम ओलीले भेट गर्ने भारतीय कलाकारहरुको अन्तिम टुंगो भने आज सााझसम्म लाग्नेछ । गत साता राजधानीमा सम्पन्न फान अवार्ड उद्धघाटनका क्रममा प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमणमा कलाकारलाई पनि समावेश गर्ने बताएका थिए ।

मूढाले हिर्काएर आफ्नै श्रीमतीको हत्या

दमक । काठको मुढाले टाउकामा हिर्काएर झापाको गौरीगञ्जमा श्रीमान्ले आफ्नै श्रीमतीको हत्या गरेका छन् । गौरीगञ्ज गाउँपालिका–३ दन्तकालीका ३० वर्षीय पासाङ शेर्पाले २८ वर्षीया श्रीमती निमथोकी शेर्पाको मुढाले हिर्काएर हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । गएराति घरायसी विवाद हुँदा पासाङले श्रीमतीलाई कुटपिट गर्दै काठको मुढाले टाउकामा प्रहार गरी गम्भीर घाइते बनाएका थिए । घाइते निमाथोकीको उपचारका क्रममा दमकस्थित लाइफलाइन अस्पतालमा गएराति नै मृत्यु भएको प्रहरीले जनाएको छ । पासाङलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जले नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाएको छ । रासस

यूनाइटेड स्प्रिट्स नेपाल अब नेपाली युवाहरुको पूर्ण स्वामित्वमा

काठमाडौं । भारतको युनाइटेड स्प्रिट्स् इण्डिया लिमिटेड अन्तर्गतको युनाइटेड स्प्रिट्स नेपाल प्रालि नेपाली युवाको पूर्ण स्वामित्वमा आएको छ । नेपालका युवा उद्यमी राजेशवीर सिंह तुलाधारले उक्त कम्पनीको पूर्ण स्वामित्वमा लिएका हुन । तुलाधारको स्वामित्वमा आएसँगै उक्त कम्पनी नेपाल लिकर्स प्रालिको नामबाट सञ्चालन भएको जानकारी कम्पनीले दिएको छ । नेपालीको स्वामित्वमा कम्पनी आएपछि यसबाट राष्ट्रिय पूँजी र लगानीका क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने कम्पनीले जनाएको छ । मोरङको टंकिसिनबारीमा अवस्थित यस कम्पनीले एन्टिक्विटी, सिग्नेचर, म्याकड्वेल्स नम्बर वान ह्विस्की, गोल्डेन ग्रेप ब्रान्डी, ब्लु रिबान्ड जिन लगायतका विभिन्न १७ ब्रान्डका मदिराको उत्पादन गर्दै आएको छ । युवा उद्यमी तुलाधर स्व. भक्तवीर सिंह तुलाधरका सुपुत्र हुनु । उनका बुवाले भारतको युनाइटेड स्प्रिट्स् इण्डिया लिमिटेडसँगको व्यवसायिक साझेदारको रुपमा ४० बर्षअघि उक्त व्यवसाय शुरु गरेका थिए ।

सभामुख महराद्वारा खड्कालाई श्रद्धाञ्जली

काठमाडौं, चैत्र १८ । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले नेपाली कांग्रेसका नेता स्वर्गीय खुमबहादुर खड्कालाई श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । आइतबार बिहान सानेपास्थित निवासमा पुगेर खड्काको पार्थिव शरीरमाथि फूलमाला अर्पण गरी सभामुख महराले श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । महराले खड्काको अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको शोकपुस्तिकामा पनि हस्ताक्षर गर्नुभएको छ । श्रद्धाञ्जलीपछि परिवारजनसँग कुरा गर्दै सभामुख महराले पछिल्लो पटक एक महिनाअघि मात्रै खड्कासँग भेट भएको बताउनुभयो । केही समययता खड्कासँग नियमित भेटघाट र कुराकानी भएको उल्लेख गर्दै महराले खड्काको निधनले आफूलाई निकै दुःखी बनाएको बताउनुभयो । खड्काकी श्रीमती, छोरी र आफन्तजनलाई सम्हालिन आग्रह गर्दै सभामुख महराले आत्मबल बलियो बनाउनुको विकल्प नभएको बताउनुभयो । श्रद्धाञ्जली दिन निवास पुगेका कांग्रेस नेताहरु विमलेन्द्र निधि, शशांक कोइराला, शंकर भण्डारीलगायतलाई पार्टीका तर्फबाट परिवारजनलाई विशेष सहयोग गर्न र ख्याल पु¥याउन आग्रहसमेत गर्नुभएको थियो ।

द्वन्द्वमा सुरक्षा फौजले बेपत्ता पारेकाको शव खोतल्दै आफन्त, १४ वर्षपछि दाहसंस्कार

दैलेख, चैत्र १८ । माओवादी सशस्त्र द्वन्द्वको समयमा हत्या गरेर गाडिएका व्यक्तिका आफन्तले शव खोज्न थालेका छन् । उनीहरू गाडिएको सम्भावित ठाउँमा आफैँ उत्खनन गर्न थालेका हुन् । शनिबार दैलेखको महाबु गाउँपालिका–६ का ऐनबहादुर शाहीका आफन्तले शव उत्खनन गरेका छन् । द्वन्द्वको समयमा संयुक्त सुरक्षा फौजले पक्राउ गरेको थियो । बेपत्ता पारिएका उनका विषयमा कुनै जानकारी दिइएको थिएन । सुरक्षा फौजले मारेर शवसमेत दिएको थिएन । त्यसको १४ वर्षपछि आफन्तजनले शनिबार शव उत्खनन गरेका हुन् । काजकिरिया गर्न उत्खनन वैदेशिक रोजगारीबाट फर्किएका दुई छोराले काजकिरिया गर्न शव उत्खनन गरेका हुन् । ऐनबहादुरकी आमा तुलसी शाहीले नातिलाई काजकिरिया गर्न बारम्बार आग्रह गर्न थालेपछि उत्खनन गरिएको हो । ‘बज्यैले जोड गर्नुभयो, त्यसैले उत्खनन गर्न बाध्य भयौँ,’ ऐनबहादुरका माइला छोरा बृखबहादुरले भने । शव उत्खननपछि शनिबार नै दाहसंस्कार पनि गरिएको छ । ऐनबहादुरको हत्यापछि परिवारको आर्थिक अवस्था नाजुक भएपछि विदेश जानुपरेको बृखबहादुरले बताए । यसअघि दैलेखकै नारायण नगरपालिका–३ का उदय रेग्मी र सुकुल सिंहको शव पनि आफन्तजनले उत्खनन गरेका थिए । दुवैलाई ०६२ मा सुरक्षा फौजले नियन्त्रणमा लिएर मारेको थियो । उनीहरूको शव आफन्तलाई नबुझाएर जंगलमा गाडिएको थियो । दैलेखमा राज्य र विद्रोही पक्षबाट हत्या गरेर शव नदिएकाहरूको संख्या तीन सयभन्दा बढी छ । यस्तो थियो घटना १७ साउन ०६० मा दैलेखको धरमपोखराबाट ऐनबहादुरसहित १२ जनालाई सेनाले पक्राउ गरेको थियो । ११ लाई छाडेको थियो भने उनलाई चरम यातना दिएर हत्या गरेको थियो । त्यसपछि उनको शव धरमपोखरा जंगलमा गाडेको थियो । उनको हत्यापछि परिवार विस्थापित भएको थियो । गाउँमा बस्ने अवस्था नभएपछि तीनै छोराले गाउँ छाडेका थिए । उनीहरूमध्ये एक नेपाली सेनामै कार्यरत छन् भने दुई वैदेशिक रोजगारीमा गएका थिए । नयाँपत्रिकाबाट

अनुदान लिएका २० हजारले अझै घर बनाएनन्

नुवाकोट / रासस– विनाशकारी भूकम्पले क्षति पुगेको आवासमध्ये यहाँका दुई तिहाइ प्रभावितले मात्र घर निर्माण गरिरहेका छन् । अनुदान लिएकामध्ये २० हजार भूकम्पपीडितले घर बनाएका छैनन् । जिल्ला आयोजना कार्यान्वय एकाइका अनुसार प्रभावितमध्ये गत शुक्रबारसम्म ४४ हजार ४८५ परिवारले जग बसालेर घर निर्माण सुरु गरेका छन् । जिल्लाका ६९ हजार २८९ परिवार लाभग्राहीमध्ये सरकारी अनुदान प्रक्रियामा समावेश हुन प्राविधिक सहयोग लिएर घर निर्माण गर्ने लाभग्राहीको संख्या दुई तिहाइभन्दा बढी पुगेको इकाइ प्रमुख विदुर खड्काले जानकारी दिएका छन् । प्रमुख खड्काका अनुसार ४१ हजार २२५ परिवारले घरको जग तहसम्म निर्माण गरी दोस्रो किस्ता अनुदान लिन निवेदन दिएकामध्ये ४१ हजार ७९४ योग्य ठहरिएका छन् । ‘६४ हजार ५३ लाभग्राहीले भूकम्प प्रतिरोधात्मक आवास निर्माण गर्ने सम्झौता गरी पहिलो किस्ताबापत ५० हजार अनुदान लिएका छन्,’ उनले भने, ‘घर बनाउन भनी पहिलो किस्ता लिएकामध्ये अझै २० हजार परिवारले घर बनाउन सुरु गरेको देखिन्न ।’ पुनर्निर्माण प्राधिकरणले यही चैत मसान्तभित्र घरको जग तह निर्माण गर्नेलाई मात्र अनुदान उपलब्ध गराउने जनाएको छ । ‘सरकारी निर्णयका आधारमा २० हजार परिवार अनुदान सुविधाबाट वञ्चित हुन सक्ने जोखिम छ,’ उनले भने । आवास निर्माणका लागि निर्माण सामग्री सहज नहुनु, दक्ष कामदारको अभाव, प्राविधिक जानकारी पाउन भन्झटिलो व्यवस्था, बजार क्षेत्रमा सडकले दायाँबायाँ ओगट्ने क्षेत्र स्पष्ट नहँुदा निजी आवास निर्माणमा अपेक्षाभन्दा ढिला भएको पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयका निमित्त प्रमुख वेदप्रसाद गौडेलले बताए । ‘४१ हजार ७९४ परिवार दोस्रो किस्ता अनुदानका लागि सिफारिस भएका छन्,’ गौडेलले भने, ‘आवास निर्माण सम्पन्न गरी तेस्रो किस्ताका लागि ५ हजार ४०८ परिवार मात्रै योग्य देखिएका छन् ।’ सरकारी तथ्यांकअनुसार कूल लाभग्राहीमध्ये तोकिएको मापदण्डअनुसार दोस्रो किस्ता पाउने लाभग्राही ६५ दशमलव १६ प्रतिशत छ भने तेस्रो किस्ता पाउने ८ दशमलव ४३ प्रतिशत मात्र छ । निर्माण सम्पन्न भएका १२ हजार ६५२ घरले तोकिएको मापदण्ड पूरा नगर्दा अनुदान सिफारिस रोकिएको एकाइले जनाएको छ ।

पेट्रोलियम पदार्थमा फेरी १० प्रतिशत भन्दा बढी बृद्धि हुन सक्ने

काठमाडौं, यतिखेर पेट्रोल र डीजलको मूल्य उच्चतम अवस्थामा भएपनि यसमा फेरी बृद्धि हुने देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बृद्धि भइरहेको अवस्थामा नेपालमा पनि मूल्य बृद्धि हुने सम्भावना रहेको हो । अन्तर्राष्ट्रिय बजारमा गत जून २०१७ देखि कच्चा तेलको मूल्यमा ५० प्रतिशत भन्दा बढीले बृद्धि भएको छ । हालै भएका कतिपय सर्वेक्षणहरुले कच्चा तेलको मूल्यमा फेरी बृद्धि हुने बताएका छन् । यसो भएको खण्डमा नेपालमा मूल्य बृद्धि हुने सम्भावनालाई नकार्न सकिन्न ।

कांग्रेस नेता खुमबहादुर खड्काको अन्त्यष्टि आज

काठमाडौं । दिवंगत नेता खुमबहादुर खड्काको आज अन्त्यष्टि हुने भएको छ । उपचारका क्रममा नयाँ दिल्लीमा निधन भएका खड्काको शव शनिबार राति काठमाडौं ल्याइएको छ । उनको शवलाई अहिले बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी कार्यालय सानेपामा राखिने भएको छ । खड्काको निधनपछि कांग्रेसको आज बोलाइएको केन्द्रीय समितिको बैठक पनि स्थगित गरिएको छ । कांग्रेसले अर्को सूचना नभएसम्मका लागि भन्दै केन्द्रीय समितिको बैठक स्थगित गरेको छ ।

भारतका वेश्यालयमा नेपाली किशोरीकाे मुल्य ५० हजारसम्म

नयाँदिल्ली – भारतमा बेचिने नेपाली किशोरीको संख्या सन् २०१३ यता पाँच सय प्रतिशतले बढेको एक अध्ययनले देखाएको छ । आजको नयाँ पत्रिकामा यो समाचार छापिएको छ । सन् २०१३ मा नेपाल–भारत सीमाबाट १ सय ८ किशोरी तथा बालबालिकाको उद्धार गरिएकोमा २०१७ मा ६ सय ७ किशोरीको उद्धार गरिएको तथ्य भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले सार्वजनिक गरेको हो । एसएसबीले ‘भारत–नेपाल सीमामा मानव तस्करी’ विषयमा गरेको अध्ययनले नेपालबाट भारतमा किशोरीको तस्करी भयावह देखाएको हो । तस्करीमा परेका नेपाली किशोरी दिल्ली, मुम्बई, कोलकातालगायत सहरका वेश्यालयमा भारु ५० हजारसम्ममा बेचिने गरेको एसएसबीको रिपोर्टलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले समाचार लेखेको छ । भारतमा हुने अधिकांश बालबालिका तथा महिला तस्करीको मुख्य स्रोत नेपाल नै बनेको छ । एसएसबीले जनाएअनुसार तस्करीमा परेका उनीहरूलाई वेश्यावृत्ति, घरेलु काम तथा अन्य प्रकारका शोषणयुक्त श्रममा जबर्जस्ती लगाइने गरेको छ । कतिपय अवस्थामा उनीहरूको शरीरका विभिन्न अंग निकालेर गैरकानुनी रूपमा बिक्री गर्ने गरेको डरलाग्दो तथ्यसमेत एसएसबीले प्रस्तुत गरेको छ । नेपालको महिला तथा समाज कल्याण मन्त्रालयको तथ्यांकअनुसार नेपालका २६ जिल्ला मानव तस्किरीको मुख्य निसानामा छन् । यही तथ्यांकलाई उद्धृत गर्दै एसएसबीले पहाडी क्षेत्र तथा दलित समुदायका महिला तथा बालबालिकाहरू मानव तस्करीको ठूलो जोखिममा परेको जनाएको छ । कथित माथिल्लो जातिमा पर्ने महिला तथा बालबालिकासमेत तस्करीमा पर्ने गरेको जानकारी एसएसबीले दिएको छ । दलालहरूले ९ देखि १६ वर्षसम्मका किशोरीलाई सीमा क्षेत्रका सहरहरूमा पुर्‍याउने र बसमा राखेर भारत पुर्‍याउने गर्छन् । किशोरीहरूलाई वेश्यालयसम्म पुर्‍याउन सीमाआसपास बस्ने व्यावसायिक दलालहरू सक्रिय हुन्छन् । उनीहरूले यो कामबापत भारु ६ हजारसम्म लिन्छन् । दिदी भनेर चिनिने महिला तस्करका अलावा आफ्नै परिवारका सदस्यहरूले समेत भूमिका खेल्ने गरेको एसएसबीले जनाएको छ । प्रहरीले सीमामा रोकेर सोधपुछ गर्दा आफ्नो वास्तविक उमेर लुकाउन किशोरीहरूलाई दलालले सिकाएका हुन्छन् ।