अर्थमन्त्री पुन र विश्व बैंक उपाध्यक्ष रेजरबीच भेट
काठमाडौं । अर्थमन्त्री वर्षमान पुन र विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरबीच भेटवार्ता भएको छ । विश्व बैंक समूहको नेतृत्व गर्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा आएका रेजरले मन्त्री पुनसँग भेटेका हुन् । भेटमा विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)को २१औं बैठकबारे छलफल भएको छ । उक्त बैठक आगामी असार ४ देखि ७ गतेसम्म काठमाडौंमा हुँदै छ ।
बैठकमा विश्व बैंक समूहका अध्यक्ष अजय बंगा सहभागी हुनेछन् । बैठकपछि उच्च अधिकारीहरुले विश्व बैंकको लगानीमा निर्माणाधीन विभिन्न आयोजनाको स्थलगत अध्ययन गर्ने जानकारी उपाध्यक्ष मार्टिनले दिए । मन्त्री पुनले स्थलगत अध्ययनको व्यवस्था मिलाइने बताए ।
आईडीएको २१औं बैठक आगामी असारमा काठमाडौँमा हुँदै छ । मन्त्री पुनले आईडीए बैठकको राम्रो तयारी भइरहेको जानकारी दिए ।
बैठक तयारीका लागि अर्थसचिव मधुकुमार मरासिनीको नेतृत्वमा आयोजक समिति र मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपालको संयोजकत्वमा व्यवस्थापन तथा समन्वय समिति गठन गरिएको र ती दुवै समितिले तयारीका काम अघि बढाएको जानकारी मन्त्री पुनले दिए ।
यस्तै बैठक तयारीबारे काठमाडौंस्थित विश्व बैंकको देशीय कार्यालयसँग समन्वय भइरहेको उनको भनाइ छ । विकास साझेदारहरूको अन्तर्राष्ट्रिय गठबन्धनको भूमिकामा रहेको आईडीए बैठकमा विश्व बैंकका अध्यक्ष अजय बंगासहित विश्वका ९२ देशका प्रतिनिधि सहभागी हुनेछन् । आईडीए विश्व बैंकको सहुलितपूर्ण ऋण प्रवाह गर्ने निकाय हो ।
नेपालजस्ता विकासोन्मुख मुलुकको आर्थिक विकासमा कसरी थप सहयोग गर्ने भन्ने आईडीए बैठकको प्रमुख एजेण्डा छ । आईडीएको २१औं बैठक आयोजना गर्न नेपालसहित विभिन्न देशले प्रस्ताव राखेकामा विश्व बैंक समूहले नेपाल रोजेको हो । विश्व बैंक समूहको यो स्तरको बैठक नेपालमा यसअघि भएको थिएन । हरेक तीन वर्षमा हुने आईडीएको २०औं बैठक सन् २०२१ को डिसेम्बर १४ र १५ मा जापानले आयोजना गरेको थियो ।
शैक्षिक भ्रमणमा गएको लिबर्टी कलेजका विद्यार्थी सवार बस दुर्घटना
म्याग्दी । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४, कागबेनीमा पर्ने मुक्तिनाथ सडकखण्डको सेल्फिडाँडामुनि घुम्तीमा बस सडकमा पल्टिँदा २१ जना यात्रु घाइते भएका छन् । काठमाडौंको अनामनगरस्थित लिबर्टी कलेजबाट शैक्षिक भ्रमणमा गएका विद्यार्थी सवार बस दुर्घटनामा परेको हो ।
सुदूरपश्चिममा नागरिक उन्मुक्तिका टीका थापा मन्त्री नियुक्त
धनगढी । सुदूरपश्चिम सरकार आज विस्तार गरेको छ।मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सांसद टीका थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरेका हुन्। आजै १ बजे थापाको शपथ ग्रहणको तयारी गरिएको छ। वैशाख ६ गते मुख्यमन्त्रीमा सोडारी नियुक्त भएका थिए। सोही दिन मुख्यमन्त्री सोडारीले भौतिक पूर्वाधार विकास मन्त्रीमा नागरिक उन्मुक्तिका कैलाश चौधरीलाई नियुक्त गरेका थिए। आज बिहान मुख्यमन्त्री तथा मन्त्रपरिषद् कार्यालयमा बसेको सत्ता गठबन्धनको बैठकमा मुख्यमन्त्री सोडारीले २१ गते विश्वासको मत लिने विषयमा पनि समझदारी भएको छ।
कर्णाली सरकारले आजै पूर्णता पाउँछ मुख्यमन्त्री कँडेल
कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सरकारले आजै पूर्णता पाउने बताएका छन्। मुख्यमन्त्रीसहित सबै मन्त्रालयको जिम्मेवारी आफैँले सम्हालेका उनले सत्ता साझेदार दलहरुसँगको समन्वयमा मंगलबार मन्त्रिपरिषद्लाई पूर्णता दिन थालेका हुन् । उनले यही वैशाख १२ गते विनाविभागीयमन्त्रीका रूपमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक रनसिंह परियारलाई नियुक्त गरेका थिए। मंगलबार नेकपा (एमाले)को भागमा परेका भौतिक पूर्वाधार तथा सहरी विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी र आन्तरिक मामिला तथा कानुनमन्त्री नियुक्त गरिने मुख्यमन्त्री कँडेलले बताए । माओवादीको भागमा परेका आर्थिक मामिला तथा योजना, सामाजिक विकास, उद्योग, पर्यटन, वन तथा वातावरण, जलस्रोत तथा ऊर्जा विकासमन्त्री नियुक्त हुने जनाइएको छ । नियुक्त हुने मन्त्रीहरूको नाम मुख्यमन्त्री कँडेललाई दिइसकिएको माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलका नेता राजकुमार शर्माले जानकारी दिए । दुवै दलबाट को–को मन्त्री हुने भन्नेबारे भने खुलाइएको छैन । मन्त्रीहरु नियुक्त गरेर पद तथा गोपनीयताको शपथ मंगलबार नै खुवाउने गरी गृहकार्य भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयले जनाएको छ। मुख्यमन्त्री कँडेलले गत चैत २७ गते कर्णाली प्रदेश सरकारको नेतृत्व ग्रहण गरेका थिए । रासस
सुदूरपश्चिमका मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार विश्वासको मत लिने भएका छन् । मंगलबार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुको संयुक्त बैठकले मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने सहमति गरेको हो । बैठकमा सहभागी माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता मानबहादुर धामीले मुख्यमन्त्रीले प्रदेश सभामा २१ गते विश्वासको मत लिने समझदारी भएको जानकारी दिए । उनकाअनुसार नागरिक उन्मुक्ति पार्टीलाई थप एउटा मन्त्रालय दिने सहमति पनि भएको छ । सहमतिअनुसार नाउपाकाले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पाउनेछ । नाउपा प्रदेश सभा सदस्य टीका थापालाई मंगलबार नै मन्त्रीमा नियुक्त गरेर सपथ लिनेछन् । बैठकमा एमालेका तर्फबाट प्रमुख सचेतक सुरेन्द्र पाल, भौतिक पूर्वाधार विकासमन्त्री समेत रहेका नाउपाका कैलाश चौधरी, प्रदेश सभा सदस्य टीका थापा, स्वतन्त्र प्रदेश सभा सदस्य डा.ताराप्रसाद जोशी सहभागी थिए । एकीकृत समाजवादीसहित एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र प्रदेश सभा सदस्य जोशीको समर्थनमा सोडारी ६ वैशाखमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नाउपाका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्री बनाएका सोडारीले अरु मन्त्रालय आफैंसँग राखेका छन् । एमाले र माओवादी केन्द्रलाई समेत सरकारमा सहभागी हुन सोडारीले आग्रह गरेका छन् । तर, उनीहरु दुवै दलले विश्वासको मत पछि मात्र सरकारमा सहभागी हुने जनाएका छन् ।
उपप्रधानमन्त्री यादव र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ।संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या तथा विकास आयोगको न्युयोर्कमा जारी ५७औँ बैठकमा भाग लिने सिलसिलामा उपप्रधानमन्त्री यादव र संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच आज भेटवार्ता भएको उनको सचिवालयले जनाएका छन् । संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालयमा भएको भेटवार्तामा उपप्रधानमन्त्री यादवले संयुक्त राष्ट्रसङ्घको बडापत्र एवं सिद्धान्तप्रति नेपाल प्रतिबद्ध रहेको बताउँदै देशको सामाजिक–आर्थिक विकासमा राष्ट्रसङ्घले गरेको योगदानको सराहना गरेको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ। भेटवार्ताका क्रममा मन्त्री यादवले जलवायु परिवर्तन र विश्वमा बढ्दो द्वन्द्वका कारण नेपालले दिगो विकासका लक्ष्यहरूका साथै स्वास्थ्य क्षेत्रमा हासिल गरेका उपलब्धि जोगाइराख्न चुनौतीपूर्ण भएकाले राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय विकास सहायता अपरिहार्य भएकामा जोड दिए। नेपालले गरिबी निवारण, स्वास्थ्य सेवाको विकास, प्रजनन दर र मातृ मृत्युदर घटाउनेलगायत जनस्वास्थ्यका क्षेत्रमा प्रगति गरेको जानकारी दिँदै भूवरिवेष्टित एवं अतिकमविकसित राष्ट्र नेपाललाई विकासका निम्ति बाह्य सहायता आवश्यक भएको उपप्रधानमन्त्री यादवले बताए। महासचिव गुटेरेसले नेपाल र संयुक्त राष्ट्रसङ्घबीचको सम्बन्ध र सहयोग प्रगाढ रहेकामा प्रशन्नता व्यक्त गर्दै हालैको आफ्नो नेपाल भ्रमणको स्मरण गरेका थिए । उनले मानवअधिकार, विश्व शान्ति र सुरक्षा एवं दिगो विकासका लक्ष्यहरू प्राप्तिमा नेपालले गरेको योगदानको मुक्तकण्ठले प्रशंसा गरे। महासचिव गुटेरेसले शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसङ्घअन्तर्गत शान्ति सेना परिचालन गर्ने मुलुकहरूमा नेपाल अग्रस्थानमा रहेको बताउँदै नेपाली शान्ति सेनाले निर्वाह गरेको भूमिकाको सराहना गरे। साथै उनले स्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धिको पनि प्रशंसा गरे । स्वास्थ्य क्षेत्रका निम्ति राष्ट्रसङ्घीय निकायहरूमार्फत थप सहयोग प्रदान गर्ने उनको प्रतिबद्धता छ। उक्त नियोगका अनुसार महासचिव गुटेरेसले नेपालले जलवायु परिवर्तनका असर भोग्नुपरेकाले त्यसलाई सम्बोधन गर्न सम्बद्ध पक्षबाट सहयोग हुनुपर्नेमा जोड दिँदै नेपालले सहायता पाउनु उसको अधिकार रहेको बताए। हरित ग्यास उत्सर्जनमा नगण्य गोयदान गरेको नेपाललाई ‘जलवायु न्याय’का आधारमा न्यूनीकरण तथा अनुकूलन सहायता प्रदान गर्नुपर्नेमा उनले जोड दिए। त्यस अवसरमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापासहित नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरूको उपस्थिति थियो ।
योजना आयोगका उपाध्यक्ष श्रेष्ठ थिम्पु प्रस्थान
काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठ भुटानको थिम्पु प्रस्थान गरेका छन्।अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को ५५औं बोर्ड अफ गभर्नर बैठकमा सहभागी हुन नेपालका तर्फबाट उपाध्यक्ष डा. श्रेष्ठ थिम्पु प्रस्थान गरेका हुन्। इसिमोडको बोर्ड सदस्यमा नेपालसहित चीन, अफगानिस्तान, बंगलादेश, भुटान, भारत, म्यानमार र पाकिस्तान छन् । बोर्ड अफ गभर्नर बैठकले २०२३ को वार्षिक प्रगति समीक्षा र २०२५/२६ को बजेट तथा कार्यक्रमलाई अन्तिम रुप दिनेछ । बोर्ड बैठक पश्चात् पर्यावरणीय संरक्षणसँग सम्बन्धित विभिन्न आयोजना अवलोकन गर्ने कार्यक्रम समेत छ। ८ वटा देश सदस्य भएको इसिमोडको प्रधान कार्यालय काठमाडौंमा छ। बोर्ड बैठकमा सहभागी भएर उपाध्यक्ष श्रेष्ठ मे ५ मा स्वदेश फर्कने कार्यक्रम छ।
उत्तराखण्डमा पतन्जलीको १४ लाइसेन्स रद्ध
उत्तराखण्ड । भारतको उत्तराखण्ड सरकारले यही अप्रिल १५मा एक आदेश जारी गरेर पतन्जलीका १४ उत्पादनका लाइसेन्स रद्ध गरेको सर्वोच्च अदालतलाई जानकारी दिएको छ। ‘ड्रग्स एण्ड म्याजिक रेमेडिज एक्ट’को उल्लंघन गरेका कारण रामदेव, आचार्य बालकृष्ण र पतन्जलीविरुद्ध आपराधिक गतिविधिमा उजुरीसमेत दर्ता गरिएको जनाइएको छ। उत्पादन रद्ध गरिएका सामग्रीमा स्वासारी गोल्ड, स्वासारी वटी, ब्रोंकोम, स्वासारी प्रवाही, स्वासारी अवलेह, मुक्ता वटी एक्स्ट्रा पावर, लिपिडोम, बीपी ग्रिट, मधुग्रिट, मधुनाशिनी वटी एक्स्ट्रा पावर, लिवामृत एडवांस, लिवोग्रिट, आइग्रिट गोल्ड र पतन्जली दृष्टि आइड्रप रहेको जनाइएको छ। भारतको सर्वोच्च अदालतको जिज्ञासामा स्थानीय सरकारले सो जवाफ दिएको हो। रामदेव र बालकृष्णमाथि सर्वोच्चको आदेशको अवहेलना गरेको बारेमा सुनुवाई भइरहेको बेलामा राज्य सरकारले पनि उत्पादन रद्ध गरेको हो। केही अघि पतन्जलीका तर्फबाट अखबारमा बिना शर्त क्षमायाचना प्रकाशित भएको थियो। सर्वोच्च अदालत इन्डियन मेडिकल एशोसिएसनको २०२२ को एक याचिकामा सुनुवाई गरिरहेको जनाइएको छ। जसमा कोभिड टीकाकरण अभियान र चिकित्साको आधुनिक प्रणालीको बदनाम गरिएको आरोप लगाइएको छ। गएको हप्ता सुनुवाइका क्रममा न्यायाधीश हिमा कोहली र अहसानुद्धिन अमानुल्लाहको बेन्चले पतन्जलीसँग अदालतको आदेशको अवहेलनामा जवाफ मागेको थियो। सर्वोच्चले पतन्जलीसँग जोडिएको दिब्य फार्मेसीको बारेमा पनि सुनुवाइ गरिरहेको छ। जसले विज्ञापन निकालेर थाइराइड, कलेजो र छालाका बिरामीको समस्या पुरै ठीक हुने जनाएको थियो।त्यसमा आधुनिक चिकित्सा विज्ञानलाई पनि आलोचना गरिएको थियो।यसबारेमा रामदेव र आचार्य बालकृष्णले अदालत समक्ष बिना शर्त माफी मागिसकेका छन्। बीबीसीबाट
शिक्षासहित तीन समितिका बैठक बस्दै
काठमाडौं । संघीय संसदका तीनवटा समितिका बैठक आज बस्दैछन् । आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र महिला तथा सामाजिक मामिला समतिको बैठक बस्ने भएका हुन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो साढे १२ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा सार्वजनिक सेवा प्रशारण विधेयकमाथि छलफल हुने कार्यसूची रहेको छ । यस्तै, दिउँसो साढे १२ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको आगामी कार्यक्रमका बारेमा छलफल हुने संसद सचिवालयले जनाएको छ । यसैगरी, महिला तथा सामाजिक मामिला समितिको बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा नेपालमा ज्येष्ठ नागरिक सम्बन्धी विद्यमान कानुन, उनीहरूका लागि राज्यका तर्फबाट भएका व्यवस्था, बुढ्यौली जनसंख्या तथा वृद्धाश्रम/ज्येष्ठ नागरिक मिलन केन्द्रको वर्तमान अवस्था सम्बन्धमा छलफल हुने संसद सचिवालयले जारी गरेको कार्यसूचीमा उल्लेख छ ।
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी पहाडी भूभागमा आंशिक बदली र देशका अन्य भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। देशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। लुम्बिनी, मधेश, सुदूरपश्चिम र कोशी प्रदेशका केही स्थानहरू र बाँकी भूभागको थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ। त्यसैगरी, आज राती कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
सूचना प्रविधि आर्थिक समृद्धिको नयाँ र उदीयमान क्षेत्रः मन्त्री शर्मा
काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालमा आर्थिक समृद्धिको आधारको रुपमा लामो समयदेखि कृषि, जलस्रोत र पर्यटनलाई लिंइदै आएकोमा अब नयाँ आधारको रुपमा सूचना प्रविधि थप भएको बताएकी छिन् । तेस्रो लगानी सम्मेलनअन्तर्गत सोमवार भएको ‘आईसिटीः भाइव्रेसन इन्भेष्टमेन्ट प्लेटफर्म’ विषयक सत्रलाई सम्वोधन गर्दै उनले अब सूचना प्रविधि आर्थिक समृद्धिको नवीनतम र उदीयमान आधारको रुपमा स्थापित भएको बताएकी हुन्। ‘हामीले लामो समयदेखि नेपालमा कृषि, जलस्रोत र पर्यटनलाई आर्थिक समृद्धिको आधार मान्दै आएका छौं र यसकै आधारमा गरिने उत्पादन र उत्पादकत्व वृद्धिलाई आर्थिक विकासको सूचकको रुपमा हेर्दै आएका छौं’– मन्त्री शर्माले भनिन्– ‘अब हामीले आर्थिक विकासको थप आधारको रुपमा सूचना प्रविधिलाई जोडेर लैजाने नीति अख्तियार गर्नु जरुरी छ । सरकार डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनमार्फत कृषि, उर्जा, पर्यटन, शिक्षा, स्वास्थ्य, वित्त, सहरी पूर्वाधारलगायत सबै क्षेत्रलाई डिजिटलाइजेसन गर्दै डिजिटल रुपान्तरणमार्फत आर्थिक समृद्धि हासिल गर्न चाहन्छ ।’ उनले संसारकै उच्च हिमाली मलुक नेपाललाई सूचना प्रविधिको अन्तर्राष्ट्रिय हब बनाउने महाअभियानमा साथ दिन आव्हान गरिन् । ‘मुनाफा आर्जनको वातावरण बनाएर लगानी र लगानीकर्ताको सुरक्षा गदै संसारकै उँचो हिमाली मुलुक नेपाललाई सूचना प्रविधिको अन्तर्राष्ट्रिय हब बनाउन सरकार दृढ संकल्पित र प्रतिबद्ध छ’– उनले भनिन्– ‘सूचना प्रविधि क्षेत्रको लगानीमार्फत हुने डिजिटल रुपान्तरण र समृद्धिको यो महाअभियानमा सहभागी हुन र यसबाट मनग्य लाभ लिन म देशभित्र तथा बाहिरका सम्पूर्ण लगानीकर्ताहरुलाई आह्वान गर्न चाहन्छु ।’ सूचना प्रविधि क्षेत्रमा भएको विकास र विस्तारसँगै नेपालमा पनि यसको प्रयोगमा उल्लेख्य रुपमा बढोत्तरी आएको उल्लेख गर्दै उनले सरकारले यो क्षेत्रलाई आधारभूत आवश्यकता र राष्ट्रिय प्राथमिकताको रुपमा स्वीकार गरेर सबै विकास नीतिलाई तद्अनुकूल अघि बढाउने संकल्प गरेको स्पष्ट गरिन्। मन्त्री शर्माले भनिन्– ‘सूचना प्रविधि उद्योगमा लगानी गर्न नेपाली मात्र होइन, बिदेशी लगानीकर्ताका लागि पनि नेपाल धेरै हिसाबले उपयुक्त स्थल हो । हामीसँग सूचना प्रविधि उद्योगका लागि अनुकूल भौगोलिक हावापानी त छँदैछ, दक्ष जनशक्तिको उपलब्धताका कारण कम लागतमा आइटी उद्योगहरु सञ्चालन गर्न सकिने प्रचुर संभावना रहेको छ ।’ प्रत्येक वर्ष १० हजारभन्दा बढी नेपाली युवा सूचना प्रविधिको क्षेत्रमा थप भइरहेको र अहिले पनि झण्डै एक लाख युवाहरु सूचना प्रविधि सेवा निर्यात क्षेत्रमा क्रियाशील रहेकाले यहाँ दक्ष जनशक्तिको अभाव नभएको स्पष्ट गर्दै मन्त्री शर्माले सूचना प्रविधिको क्षेत्रमा लगानी वृद्धि गर्ने गरी आवश्यक नीति, कानुन र पूर्वाधार विकासका लागि सरकार लागिरहेको बताइन्। सोहीअनुसार पहिलोपटक राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी गरिएको, राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गरिएको, सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक तर्जुमाको काम अघि बढेको र दूरसञ्चार क्षेत्रलाई समयानुकूल व्यवस्थित गर्न दूरसञ्चार ऐनको पुनरावलोकन गर्ने काम भइरहेको पनि जानकारी दिइन्। दूरसञ्चार पूर्वाधारको क्षेत्रमा भइरहेको दोहोरो लगानीको अन्त्य गर्न पूर्वाधार सहप्रयोगको नीतिलाई आवश्यक पुनरावलोकन गरी प्रभावकारी कार्यान्वयन ल्याइने उल्लेख गर्दै उनले दूरसञ्चार क्षेत्रमा फाइभजी लगायत नवीतम प्रविधि र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने गरी दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी नीति लागु गरिएको जानकारी दिइन्। निजी क्षेत्रबाट डाटा सेन्टर सञ्चालन गर्न उपयुक्त वातवारण सिर्जना गर्न कानुन तथा मापदण्डको तत्काल तर्जुमा गरिने प्रतिबद्धता पनि उनले व्यक्त गरिन् । नेपालमा बढ्दै गइरहेको सूचना प्रविधि सम्बन्धी सेवा निर्यातलाई प्रवर्धन गर्न सूचना प्रविधि उद्योग र स्टार्टअपहरुलाई एकै थलोबाट सञ्चालन गर्ने गरी आवश्यक पूर्वाधारको अभाव रहेकाले चाँडो भन्दा चाँडो आइटी हब स्थापना गरिने पनि मन्त्री शर्माले स्पष्ट गरिन् । त्यसका साथ विश्वस्तरमा भएका एआई, क्लाउड कम्प्युटिङ, आइओटी, ब्लकचेन जस्ता नयाँ तथा परिवर्तनकारी प्रविधिहरुको विकास र विस्तारबाट नेपालले कसरी लाभ लिने भनेर पनि हामीले तयारी गरिरहेका पनि उनले जानकारी दिइन्। लगानी सम्मेलनमार्फत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको तर्फबाट डाटा सेन्टर, आईटी÷टेक्नोपार्क, कम्प्युटर हार्डवेयर एसेम्बली प्लान्ट, आइसिटी ट्रेनिङ सेन्टर, डिजिटल सर्भिस सेन्टर, स्मार्ट फोन म्यानुफ्याक्चर तथा एसेम्बली प्लान्ट, इन्कुवेशन सेन्टर र फिल्म सिटी गरी महत्वपूर्ण आठ वटा परियोजना अघि सारेको उल्लेख गर्दै उनले सोकेस गरिएकाबाहेक डिजिटल रुपान्तरणका लागि सहयोग हुने अन्य कुनै आवश्यक परियोजना पहिचान गरेर लगानी गर्न सकिने स्पष्ट गरिन् । बैदेशिक लगानीकर्ताहरुलाई आकर्षित गर्न आवश्यक परियोजनाहरुको पहिचान र लगानीका नयाँ मोडलहरुको खोजीमा पनि सरकारले ध्यान दिने प्रतिबद्धता व्यक्त गर्दै उनले नेपालले अंगिकार गरेको सार्वजनिक–निजी साझेदारीलाई प्राथमिकतामा राखेर अन्य देशहरुले गरेका सफल प्रयोगबाट समेत लाभ लिने गरी लगानीका मोडलहरु तयार गर्दै लैजान सकिने बताइन् ।
आगलागी र डढेलोबाट नागरिकलाई जोगाऊः मानव अधिकार आयोग
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले आगलागी र डढेलोबाट नागरिकको जीउधनको सुरक्षा गर्न सरकारलाई आग्रह गरेको छ । आयोगले सोमबार विज्ञप्ति जारी गरी देशका विभिन्न ठाउँमा आगलागी र डढेलोबाट मानवीय क्षतिसमेत भएकाले सचेत हुन सरकारलाई आग्रह गरेको हो । विज्ञप्तिमा आगलागी तथा डढेलोको जोखिम न्यूनीकरण गर्नका लागि प्रभावकारी कदम चाल्न, आगलागी नियन्त्रणमा प्रयोग हुने सामग्री तथा सुरक्षा उपकरण, तालिम, पूर्व तयारी, सुरक्षा, प्रतिकार्यलगायतका विषयमा उचित व्यवस्था गर्न पनि आग्रह गरिएको छ । पछिल्लो चौबीस घण्टामा देशका विभिन्न जिल्लाका ४९ स्थानमा आगलागी र ४८ स्थानमा डढेलो लाग्दा १ जनाको मृत्यु हुनुका साथै ४ जना नागरिक घाइते भएका छन् । घटनापछि तत्कालै राहत पाउन नसक्दा प्रभावितहरु थप समस्यामा परेको देखिएको आयोगका सहसचिव टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पछिल्लो एक वर्षमा आगलागी तथा डढेलोबाट ११४ जना नागरिकको मृत्यु भएको, पछिल्लो एक महिनामा आगलागीमा परेर १४ जना र डढेलोबाट ८ जनाको मृत्यु भएको जानकारी पाएको पनि मानव अधिकार आयोगले जानकारी दिएको छ । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका– ६, जरलहवा टोलमा १२ वैशाख २०८१ मा आगलागीबाट ९१ कच्ची र ९ वटा अर्धपक्की गरी १०० वटा घर जलेका घटनाबाट ४५५ जना प्रभावित भएका थिए । सुरक्षाकर्मी, स्थानीयबासी पूर्वतयारी तथा पर्याप्त सुरक्षा उपकरणबिना आगलागी नियन्त्रणमा परिचालित हुँदा थप मानवीय क्षति भएको आयोगले जनाएको छ ।
लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो
काठमाडौं। मुगुको रारा ताल क्षेत्रमा सुविधा सम्पन्न रिसोर्ट खोल्नका लागि अष्ट्रेलियन लगानी भित्रिएको छ । आइतबारबाट सुरुभएको तेस्रो लगानी सम्मेलनको दोस्रो दिन आज रिसोर्टमा लगानीका लागि अष्ट्रेलियाको एक्सपर्ट ग्रुपसँग सम्झौता भएको हो । लगानीसम्बन्धी सहकार्यका लागि एक्सपर्ट ग्रुपका तर्फबाट बद्रि अर्याल र सञ्जीव शर्मा तथा रारा होल्डिङ्स रिसोर्ट प्राईभेट लिमिटेडका तर्फबाट अभिषेकविक्रम शाहले हस्ताक्षर गरे। मुगु जिल्लाको छायानाथ रारा नगरपालिका वडा नम्बर ९, मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा बन्ने यो रिसोर्टमा पहिलो चरणमा करिब ७० करोड र दोस्रो चरणमा ४० करोड बराबर लगानी गरिने शाहले जानकारी दिए । डेढ वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको रिसोर्ट स्थानीय स्रोत साधनको प्रयोग र त्यहाँको संस्कृति झल्किने गरी निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदनसमेत बनिसकेको शाहले बताए। रासस
विराटनगरमा विद्युतीय गाडी उत्पादन गर्न चीनमा सम्झौता
विराटनगर । चिनिया कम्पनीसँगको साझेदारीमा विराटनगरमा कोशी एनके मोटर्सले विद्युतीय गाडी उत्पादन गर्ने तयारी गरेको छ।चिनियाँ कम्पनी स्यामन गोल्डेन ड्रागन अटो बडी कम्पनीसँगको सहकार्यमा कोशी एन के मोटर्स प्रालिले विद्युतीय गाडी उत्पादन गर्ने भएको हो । नेपालमा आइतबारबाट तेस्रो लगानी सम्मेलन सुरु भएको छ। लगानी सम्मेलन चलिरहेको समयमा सोमबार चीनको फुजियन प्रान्तमा रहेको स्यामन गोल्डेन ड्रागन अटोबडी कम्पनी र कोशी एन के मोटर्स प्रालिले चार पाङ्ग्रे सबै किसिमका गाडी नेपालमा उत्पादन गर्ने सम्झौता गरेका हुन् । दुई कम्पनीले पहिलो चरणमा तीन अर्ब लगानी गर्नेछन् । एक वर्षभित्र विराटनगरमा चार पाङ्ग्रे गाडीको उत्पादन सुरु गर्ने लक्ष्य रहेको छ ।कोशी मोटर्सले चिनिया कम्पनीसँगको सहकार्यमा बस उत्पादन गर्ने लक्ष्य लिएको छ । सम्झौता अनुसार उत्पादन सुरु भए कोशी मोटर्स ठूला सवारी उत्पादन गर्ने पहिलो कम्पनी हुनेछ ।
मुलुकको आवश्यकताअनुसार १६ औँ योजनाको लक्ष्य निर्धारण गरिएको छ : उपाध्यक्ष श्रेष्ठ
काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठले मुलुकको आवश्यकतालाई पहिचान गरेर १६ औँ योजनाको लक्ष्य र कार्यक्रम निर्धारण गरिएको बताएका छन्। लगानी सम्मेलनको दोस्रो दिन आयोजित ‘हार्नेसिङ ग्रीन फाइनान्स फर सस्टेनेबल इन्भेस्टमेन्ट’ सत्रलाई सम्बोधन गर्दै उनले आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा रहेको ऊर्जा क्षेत्रको विकास र विस्तारमा उत्तिकै प्राथमिकता दिइएको बताए। लगानीका विभिन्न सम्भाव्य क्षेत्रमध्ये ऊर्जा क्षेत्र सरकारको विशेष प्राथमिकतामा रहेको र सोहीअनुसारको कार्यक्रमसमेत तय गरिएको उनको भनाइ थियो। लगानी विस्तार गर्नुपर्ने प्रमुख क्षेत्रका रूपमा कृषि रहेको र त्यसलाई आधुनिकीकरण गर्नु जरुरी रहेको उल्लेख गर्दै उनले आधुनिक खेती प्रणालीका लागि आवश्यक स्रोत र साधनको प्रबन्ध जरुरी रहेको बताए। वन क्षेत्रलाई बहुआयामिकरुपमा संरक्षण गर्ने र आर्थिकोपार्जनका लागि प्रयोग गर्ने सोचका साथ सरकारले कार्यक्रम तय गरेको जानकारी दिँदै उपाध्यक्ष डा.श्रेष्ठले वनलाई समृद्धिको आधार बनाइएको तथ्य पेस गरे। लगानीको क्षेत्रको चर्चा गर्ने क्रममा उपाध्यक्ष श्रेष्ठले खानेपानी क्षेत्र पनि उल्लेख गरे। उनले नेपालको कञ्चन पानीमा लगानीका लागि विदेशी लगानीकर्तालाई आह्वान गरे। हिमनदीको पानी प्रशोधन गरेर बिक्री गर्न सकिने जानकारी दिँदै उहाँले पानी पनि निर्यातयोग्य वस्तुकारुपमा हो भन्दै चर्चा गरे। वातावरण संरक्षणका क्षेत्रमा नेपालले गरेको प्रगतिका आधारमा ग्रीन फाइनान्स तथा कार्बन न्यूनीकरणमा पुर्याएको योगदानबापत थप सहुलियत पाउनुपर्ने बताए। दिगो विकासका लागि नेपालले गरेको सार्थक प्रयासको लाभ नेपालले मात्रै प्राप्त गर्ने नभई संसारभरले नै उपभोग गर्न पाउने र समग्र पृथ्वीको हितका लागि नै हुने मर्मलाई आत्मसात् गर्न पनि उपाध्यक्ष श्रेष्ठले आग्रह गरे। सो सत्रमा अर्थसचिव मधुकुमार मरासिनी, नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष आशिष् गर्गलगायतले हरित अर्थतन्त्र र त्यसका आयामबारे धारणा राखेका थिए ।
सुहाङको अग्रता ४ हजार, दोस्रो स्थानमा रुख र मुढाको टक्कर
काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा सुहाङ नेम्वाङले ४ हजार मतको अग्रता लिएका छन् । पछिल्लो परिणाम अनुसार सुहाङको मत ११ हजार ६१९ पुगेको छ । यस्तै दोस्रो स्थानका लागि नेपाली कांग्रेसका डम्बर खड्का र पहिचानवादी उम्मेदवार डकेन्द्र थेगिमको कडा टक्कर देखिएको छ । खड्काले ७ हजार ६५९ मत पाउँदा डकेन्द्रले ७ हजार ४५२ मत पाएका छन् । रास्वपाका मिलन लिम्बुले १५९६ मत पाएका छन् ।

