लिवाङसँग जोड्ने रोल्पाको माडीखोला पुल निर्माण अलपत्र

रोल्पा । पश्चिम रोल्पालाई जिल्ला सदरमुकाम लिवाङसँग जोड्ने रोल्पाको माडीखोला पुल निर्माण आरम्भ भएको १० वर्षमा मात्रै दुईवटा पिलर ठड्याएपछि बेवारिसे बनेको छ ।

पुल निर्माण नहँुदा जिल्ला सदरमुकाम आवतजावतमा लामो समयदेखि कष्ट व्यहोर्दै आएपछि तत्कालीन समस्या समाधानका लागि अस्थायी बेलीब्रीज निर्माण गरिएको थियो । बेलीब्रीज निर्माणसँगै पक्की पुल निर्माणमा बेवास्ता बढ्दै जान थालेको भन्दै स्थानीयले गुनासो गर्न थालेका छन् ।

०६५ सालमा सडक विभागमार्फत गरिएको टेण्डरबाट काठमाडौँमा रहेको लामा÷एडी÷धर्मेन्द्र जेभी निर्माण कम्पनीले सो पुल निर्माण गर्ने जिम्मा पाएको थियो । शुरुवाती चरणमा निर्माणको केही काम गरे पनि राजनीतिक पहुँचका आधारमा निर्माण व्यवसायी वसन्त दशौदीले निर्माण कार्यमा आलटाल गरेसँगै पुल निर्माण कार्य अनिश्चित बनेको स्थानीयले आरोप लगाएका छन् ।

निर्माण कार्यलाई तीव्रता दिने उद्देश्यले रोल्पाका स्थानीय राजनीतिक दल र सामाजिक संघ संस्थाको टोली संघर्ष समिति बनाएर सडक डिभिजन कार्यालय प्यूठानसमेत पुगेको थियो ।

पक्की पुल निर्माण कार्यलाई सरोकारवालाले जोड दिनुपर्ने स्थानीय युवा ध्रुवचन्द्र पुनले प्रतिक्रिया दिनुभयो । राज्यका महत्वपूर्ण जिम्मेवारीमा रहेका रोल्पाली नेताको ध्यान जान जरुरी रहेको पुनले बताउनुभयो । बेलीब्रीज बनेसँगै जनतामा शिथिलता देखिँदा दबाब कम भएको उहाँको भनाइ छ । पुल निर्माणका लागि जनताको निरन्तर दबाब खबरदारी जरुरी रहेको पुनको भनाइ छ ।

प्यूठानको स्थानीय प्रशासन, सडक डिभिजन कार्यालय, रोल्पाको सर्वपक्षीय टिम र निर्माण व्यवसायीबीच अविलम्व निर्माण कार्य सम्पन्न गर्ने सहमति भएपनि निर्माण व्यवसायीले सहमति कार्यान्वयन नगरेको राष्ट्रिय जनमोर्चा रोल्पाका अध्यक्ष मेघनाथ विष्टले जानकारी दिनुभयो ।

अविलम्व काम शुरु गर्ने सहमति भएपछि ठेकेदारले अर्को एउटा पिलर ठड्याउने बाहेक थप काम गरेनन्, विष्टले भन्नुभयो । पुल निर्माणका क्रममा आफ्नो विभिन्न निर्माण सामग्री हराएको तथा लागत इष्टमेटभन्दा बढी काम थपिएको भन्दै निर्माण व्यवसायी डिसी फाइल बोकेर क्षतिपूर्ति माग गर्दै हिँडिरहेको भन्ने आफूले सुनेको विष्टले बताउनुभयो ।

तीन वर्षका लागि टेण्डर आह्वान भए पनि राजनीतिक शक्तिको संरक्षणका कारण समयमा १० वर्षसम्म निर्माण हुन नसकेको नेपाली काँग्रेस रोल्पाका सभापति अमरसिं पुनले बताउनुभयो । अर्को टेण्डरका लागि प्रक्रिया अगाडि बढिरहेको हुँदा अबको एक÷दुई वर्षमा निर्माण कार्य सम्पन्न गर्ने गरी आफूहरुले दबाब दिइरहेको सभापति पुनले बताउनुभयो ।

पुल निर्माणमा उदासीनता देखिएको भन्दै जनताले आवाज उठाउँदै आइरहेको नेकपा (एमाले) रोल्पाका अध्यक्ष हरिप्रसाद घर्तीमगरले बताउनुभयो । जनताको मागका आधारमा सम्बन्धित निकायमा आफूहरुले दबाब दिइरहेको घर्तीले प्रतिक्रिया दिनुभयो । ठेक्का रद्द गरेर अर्को टेण्डर गर्ने तयारी भइरहेकाले निकट भविष्यमै पक्की पुल बन्नेमा आफू आशावादी रहेको घर्तीले बताउनुभयो ।

पुरानो टेण्डर रद्द भएको हँुदा अविलम्व नयाँ टेण्डर खोली काम सुचारु गर्न सडक डिभिजन कार्यालय, प्यूठानसँग कुराकानी भइरहेको रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले प्रतिक्रिया दिनुभयो । पुल निर्माण कार्यलाई तदारुकताका साथ अगाडि बढाइने प्रमुख केसीले बताउनुभयो ।

सो नदीमा वैकल्पिक व्यवस्थाका लागि भन्दै हाल बेलीब्रीज राखिएको भए पनि आवतजावतमा निकै समस्या हुने गरेको यातायात व्यवसायी रामचन्द्र थापाले बताउनुभयो । बेलीब्रीज निर्माण गरिएको स्थान निकै साँगुरो भएकाले जुनसुकै बेला दुर्घटना हुनसक्ने सम्भावना छ थापाले भन्नुभयो । साँघुरो बेलीब्रीज कच्ची सडक र अत्यन्तै अप्ठेरो घुम्तीका कारण समयमै सावधानी अपनाउन नसके सो स्थानमा धनजनको ठूलो क्षति हुने सम्भावना रहेको यात्रुले गुनासो गरेका छन् ।

पुल निर्माणसँगै पश्चिम रोल्पामा उत्पादन भएका तरकारी, फलफूल, घिउ, दाल, जडीबुटी, खसी बोका सदरमुकाम लिवाङ ल्याउन किसानलाई सहज हुने भएको छ ।

सदरमुकाम लिवाङ, सुलिचौरजस्ता बजार क्षेत्रमा खपत हुने अधिकांश तरकारी पश्चिम रोल्पाबाट सल्यान, दाङ हुँदै पुनः रोल्पा आउँदा लागत मूल्य पनि अधिक हुने भएकाले पुल निर्माणपछि बजार मूल्य पनि कम हुने उपभोक्ताले आशा व्यक्त गरेका छन् ।

सो पुल बनेसँगै रोल्पाका साविक दुई दर्जनभन्दा बढी गाविस तथा दाङ र सल्यानसम्मको यातायात सेवासमेत सहज हुने बताइएको छ ।रासस

बाघ नियन्त्रणका लागि टोली परिचालन

चितवन । मान्छे खाने बाघ नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्जले हात्तीसहित पशु चिकित्सक र वन प्राविधिज्ञको टोली परिचालन गरेको छ । मकवानपुर जिल्लाको मनहरी गाउँपालिका–७ रमौली प्रतापपुरस्थित पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्रमा सोमबार बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको थियो । शव उठाउने क्रममा पुनः बाघले आक्रमण गर्दा अन्य दुईजना घाइते भएका थिए । बाघले यसरी मान्छेलाई आक्रमण गरेपछि अन्य मानवीय क्षति हुन नदिन नियन्त्रणका लागि हात्तीसहित टोली खटाइएको चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिनुभयो । डाटगनसहित टोली परिचालन भएको चितवन निकुञ्जले जनाएको छ । सम्भव भए डार्टगनमार्फत नियन्त्रणमा लिइनेछ । बाघ नियन्त्रणमा पर्सा र चितवन निकुञ्जको संयुक्त टोली परिचालन भएको चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले जानकारी दिनुभयो । चितवन राष्ट्रिय निकुञ्जका दुईवटा हात्ती र राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाको दुईवटा गरी चार हात्तीसहित पशु चिकित्सक, वन प्राविधिज्ञसहितको टोली बाघ नियन्त्रणका लागि प्रतापपुर पुगेको निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा कमल गैरेले जानकारी दिनुभयो । “टोलीले आसपास नै बाघ छ भन्ने अनुमान गरेको छ, डा गैंरेले भन्नुभयो, बाघलाई नियन्त्रणको प्रयास भइरहेको छ ।” सोमबार दिउँसो देखिनै टोली परिचालन भएको भन्दै पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले राति ११ बजेदेखि दोस्रो अपरेशन शुरु भएको जानकारी दिनुभयो । सो टोलीमा प्राविधिज्ञ, चिकित्सक र डार्ट टोलीसहित करीव ५० जना परिचालन भएको आचार्यले जानकारी दिनुभयो । आज पनि बिहानैदेखि टोलीले बाघको खोजी गरिरहेको जनाइएको छ । रासस

मुख्य न्यायाधिवक्ता आचार्यद्वारा शपथ

विराटनगर, चैत १२ । प्रदेश नं १ का मुख्य न्यायाधिवक्ता चुँडामणि आचार्यले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो । प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश डा कुलरत्न भूर्तेलले उहाँलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । समारोहमा प्रदेश प्रमुख प्रा डा गोविन्द तुम्बाहाङ, मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की, सामाजिक विकासमन्त्री जीवन घिमिरेलगायत सुरक्षा निकायका प्रमुख, कानून व्यवसायी, प्राध्यापक र सञ्चारकर्मीको उपस्थिति थियो । नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम आचार्यलाई प्रदेश नं १ को मुख्य न्यायाधिवक्तामा नियुक्तिको सिफारिश गरिएको थियो । वरिष्ठ अधिवक्ता आचार्यले २०४४ सालदेखि जनता ल क्याम्पसमा प्राध्यापक रहनुभएको थियो । २०४६ सालमा अधिवक्ता हुनुभएका आचार्य नेपाल बार एसोसिएसनका केन्द्रीय उपाध्यक्ष र मोरङ बारका अध्यक्षसमेत भइसक्नुभएको छ ।

खुमबहादुर खड्काको स्वास्थ्य अवस्था बुझ्न कांग्रेसले दुई नेतालाई भारत पठाउने

काठमाडौं, चैत्र १२ । नेपाली कांग्रेसले नेता खुमबहादुर खड्काको स्वास्थ्य अवस्था बुझ्न दुई नेतालाई भारत पठाउने भएको छ । उपचारका क्रममा दिल्ली रहेको नेता खड्काको स्वास्थ्य जटिल बन्दै गएपछि कांग्रेसले केन्द्रीय सदस्यद्वय शंकर भण्डारी र रमेश लेखकलाई मंगलबार (भोलि) भारत पठाउने निर्णय गरेको हो । सोमबारको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो । मिर्गौला प्रत्यारोपण गरेका खड्काको स्वास्थ्यमा समस्या देखिएपछि केही समय अघि उनलाई नयाँदिल्ली लगिएको थियो । मिर्गौला, छाती र नसाको समस्याबाट पीडित खड्काको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचार भइरहेको छ । स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको बताइएको छ ।

प्रतिनिधि र राष्ट्रियसभाको संयुक्त बैठक चैत १५ गते

काठमाडौं, चैत १२ । प्रतिनिधिसभा र राष्ट्रियसभाको पहिलो संयुक्त बैठक यही चैत १५ गते अपराह्न ४ बजे बस्ने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले दुवै सदनको बैठक चैत १५ गते बस्ने र उक्त बैठकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्ने जानकारी दिनुभयो । दुवै सदनको संयुक्त रुप संघीय संसद् हो । प्रतिनिधिसभाको निर्वाचन गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न भएको थियो भने राष्ट्रियसभाको निर्वाचन गत माघ २४ गते भएको थियो । दुवै सदनको पहिलो बैठक छुट्टाछट्टै रुपमा गत फागुन २१ गते बसेका थिए । प्रतिनिधिसभामा अध्यादेश पेश प्रतिनिधिसभाको आजको बैठकमा “बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश, २०७४ पेश भयो । संसद्को आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले उक्त अध्यादेश पेश गर्नुभएको हो । बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिमा सांसद रवीन्द्र अधिकारीको सट्टामा रामवीर मानन्धरलाई राखिएको छ । सभामुख महराले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिमा सदस्यको नाम हेरफेरका लागि प्रस्ताव गर्नुभएको थियो । उक्त प्रस्तावमा बैठकले सहमति जनाएको थियो । बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् विस्तारसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो ।

प्राविधिक रुपमा सिट संख्या कम आउँदा आत्तिहाल्नु पर्दैन : नेका नेताहरु

काठमाडौं, चैत १२ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा नेपाली काँँग्रेसको लोकप्रिय मतमा अग्रस्थान नै आएको तर प्राविधिक रुपमा सिट संख्या कम आउँदा आत्तिहाल्नु पर्ने अवस्था नआएको काँग्रेसका केन्द्रीय सदस्यहरुले चुनावी विश्लेषण गर्नुभएको छ । तीनै तहका निर्वाचनको चुनावी समीक्षा र अगामी दिनमा नेकाले लिने रणनीतिका बारेमा शुक्रबारदेखि शुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा आज बोल्ने केन्द्रीय सदस्यले निर्वाचनपछिको परिस्थितिका बारेमा आ–आफ्नो धारणा राख्नुभएको थियो । उहाँहरुले आगामी दिनमा पार्टीभित्र मौलाउँदै गएको गुटबन्दीलाई अन्त्य गर्दै पार्टी व्यक्तिबाट भन्दा सिद्धान्त, निष्ठा र आदर्शबाट सञ्चालन गर्नुपर्ने सुझाव नेतृत्वलाई दिनुभएको थियो । विशेषगरी प्रतिनिधिसभा र प्रदेशभसभा सदस्य निर्वाचनमा पार्टीले आन्तरिक कारणले धेरै सिट गुमाउनुपरेको धारणा बैठकमा राख्दै आगामी दिनमा पार्टीलाई जीवन्त बनाइराख्न संगठन र कार्यशैली परिवर्तन गर्नुपर्ने खाँचोसमेत औँल्याउनुभएको थियो । बैठकमा आफ्नो धारणा राख्दै केन्द्रीय सदस्य रमेश लेखकले निर्वाचनमा प्राविधिक रुपमा पार्टीले पराजय भोगे पनि लोकप्रिय मतमा अग्रस्थानमै रहेको धारणा राख्नुभएको थियो । पार्टीका मुख्यसचिव कृष्ण पौडेलका अनुसार उहाँले आगामी दिनमा पार्टी संगठनलाई चुस्त बनाउन खाँचो रहेको कुरामा जोड दिनुभएको थियो । अर्का केन्द्रीय सदस्य गोविन्द भट्टराईले पार्टीभित्रको एकतालाई अझ बलियो बनाउँदै पार्टीको सिद्धान्त र व्यवहारमा फरक हुन हुनु हुँदैन भन्नुभएको थियो । बैठकमा लक्ष्मी परियार र डिला सङ्ग्रौलाले अगामी दिनमा पार्टीलाई गतिशील बनाउन नेतृत्वको ध्यानाकर्षण गराउनुभएको थियो । नेका पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री देउवाको अध्यक्षतामा पार्टी कार्यालय सानेपामा शुरु भएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, संसदीय दलका उपनेता विजयकुमार गच्छदारलगायत नेता तथा केन्द्रीय सदस्य सहभागी हुनुहुन्छ । बैठकको शुरुको दिन शुक्रबार पार्टीका पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलले निर्वाचनमा पराजयको प्रमुख कारण सभापति देउवाका कार्यशैली भएको आरोप लगाउनुभएको थियो भने अर्का नेता डा नारायण खड्काले यसको बचावट गर्नुभएको थियो । शनिबारको बैठकमा केन्द्रीय सदस्यहरु नरहरि आचार्य, दिलेन्द्रप्रसाद बडू, जीवनबहादुर शाही, नवीन्द्रराज जोशी, गुरुराज घिमिरे, कल्याण गुरुङ, वीरबहादुर बलायर र हरिप्रसाद नेपालले आ–आफ्नो धारणा राख्नुभएको थियो । बैठक अहिले पनि जारी रहेको छ ।

नेटवर्किङ व्यवसायको नाममा ठग्ने दुई विदेशी पक्राउ

काठमाडौं । सोमबार अनलाइन नेटवर्किङ व्यापारको नाममा ठगी गर्ने दुई विदेशी गिरोह नेपालमा सक्रिय भएको खुलेको छ । काठमाडौं प्रहरी परिसरले फोरक्स अनलाइन मनी मार्केट कम्पनमा रहेको वेस्टर्न एफएक्स कम्पनीको नेपाली एजेन्ट भएको भन्दै ठगीमा सक्रिय दुई जनालाई पक्राउ गरेको गरेसँगै नेटवर्किङ व्यापारको नाममा ठगी गर्ने विदेशी गिरोह सक्रिय रहेको खुलेको हो । पक्राउ पर्नेमा ३२ वर्षीय बंगलादेशी नागरिक राहत हसन राणा र भारतीय नागरिक तरसेम शर्मा छन् । उनीहरु ४–५ महिनाअघि नेपाल प्रवेश गरेर कम्पनीमा लगानी गरे २० देखि ६० प्रतिशतसम्म फाइदा हुने भन्दै ठगी गरेका थिए । उनीबाट २५ जना ठगिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । थप अनुसन्धान भइरहेको परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेल बताउँछन् । ‘नेपालमा दर्ता समेत नभइ पीडितलाई जति लगानी गर्‍यो त्यति धेरै नाफा हुने भन्दै ठगी गरेको पाइएको छ’, पोखरेलले भने, ‘कारोबार गर्ने व्यक्तिलाई कुनै प्रमाणसम्म पनि दिइएको छैन ।’

संघीय संसदको आठौं बैठक शुरु, यस्तो छ कार्यसूची

काठमाडौं, चैत्र १२ । संघीय संसदको आठौं बैठक संसद भवन नयाँ बानेश्वरमा शुरु भएको छ । सोमबार दिउँसो १ बजे शुरु भएको बैठकमा तीनवटा कार्यसूची रहेको संसद सचिवालयल जनाएको छ । आजको संसद बैठकमा सभामुख कृष्णबहादुर महराले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद विस्तार सम्बन्धी पत्र पढेर सुनाउनु हुनेछ । त्यसपछि सभामुखले प्रतिनिधिसभा नियामावली मस्यौदा समितिमा रहने संसद सदस्यको नाम हेरफेरका जानकारी गराउनु हुने छ । त्यसैगरी,कानून, न्याय तथा संसदीय मामिला मन्त्र िशेरबहादुर तामाङले बेपत्ता पारिएका व्यक्तिका धानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग(पहिलो संशोधन) २०७४ पेश कार्यसूची रहेको संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिनु भयो ।

मोटरसाइकल र ट्याक्टरको ठक्कर हुँदा युवकको मृत्यु

पर्सा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गएराति भएको सवारी दुर्घटनामा परी १७ वर्षीय युवकको मृत्यु भएको छ । गाउँपालिका वडा नं ५ महुवन नजिकै ना१त ८८३६ नंको ट्र्याक्टरले ठक्कर दिँदा ना५१प २७७ नंको मोटरसाइकलमा सवार रहेका स्थानीय रत्न साह कलवारको मृत्यु भएको हो । बालुवा ढुवानी गर्ने ट्र्याक्टले विपरीत दिशाबाट आएको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक कलवारलाई वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शव परीक्षणका लागि उपक्षेत्रीय अस्पतालमा राखिएको छ भने ट्र्याक्टर र विन्दवासिनी गाउँपालिका–३ निवासी ट्र्याक्टर चालक दिनेश चौरसियालाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिनुभयो । रासस

दुर्घटनामा दुईजनाको मृत्यु

लहान । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–५ कुसाहामा भएको दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक सिरहाको सुखीपुर नगरपालिका–४ महादेवका ३५ वर्षीय राजीवकुमार चौधरी र साइकलयात्री सुरुङ्गा नगरपालिका–८ का ३० वर्षीय महेश ठाकुर रहेको प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स९प १९७७ नंको मोटरसाइकलले गएराति साइकललाई ठक्कर दिएको थियो । चौधरी र ठाकुरको लहानस्थित डिभाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ । मोटरसाइकलमा पछाडि सवार सप्तरी बोदेबर्साइन नगरपालिका–८ का ३० वर्षीय भुनेश्वर चौधरी गम्भीर घाइते भएका छन् । उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । रासस

सुनचाँदी व्यवसायी महासंघ र सुनचाँदी रत्न तथा आभूषण महासंघ एक हुने

काठमाडौं, चैत्र १२। नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघबीच एकताका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । राजधानीमा एक कार्यक्रमकाबीच दुवै महासंघका अध्यक्षहरु मोहनकुमार सुनार र रमेश महर्जनले हस्ताक्षर गरेका छन् । दुई महासंघका उच्चस्तरीय कार्यदलको बैठकले एकीकरण अपरिहार्य रहेको भन्दै देशैभरीका मातहतका व्यवसायी संघसंस्थाहरुलाई समेट्र अगाडि बढ्ने बताइएको छ । सुनचाँदी व्यावसायमा देखिएका समस्याहरुलाई दीर्घकालिन रुपमा समाधान गर्नका लागि पनि एकीकरण आवश्यक रहेको उनीहरुको ठहर छ । व्यवसायलाई उद्यमव्यवसायको रुपमा विस्तार एवं निर्यात प्रवद्र्धन, व्यवसायको स्तरोन्नती, राजश्वमा योगदान गर्दै अर्थतन्त्रको सुदृढ र दिगो विकासको लागि अब दुवै महासंघले एकीकृतरुपमा काम गर्ने पनि बताइएको छ । अगामी दिनमा दुवै महासंघले जुनकुनै काम पनि संयुक्तरुपमा संचालन गर्ने जनाएका छन् । एकीकरण गर्ने समझदारी पत्रमा हस्ताक्षर भएपनि कहिलेदेखि एक भएर काम गर्ने भने खुलाइएको छैन र।

आगलागीबाट पन्ध्र लाखको क्षति

झापा । कनकाई नगरपालिका–३ स्थित सुरुङ्गा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको कार्यालयमा आगलागी हुँदा रु १५ लाख बराबरको क्षति भएको छ । आइतबार राति शुरु भएको आगलागी आज बिहान मात्रै सो संस्थाका सञ्चालक समितिका पदाधिकारी, कर्मचारी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो । आगलागीबाट सभाकक्षका झ्याल, ढोका र सभाकक्षमा रहेका सम्पूर्ण फर्निचर नष्ट भएको संस्थाका अध्यक्ष प्रेमप्रसाद दाहालले जानकारी दिनुभयो । आगलागीको कारण भने खुल्न सकेको छैन । रासस

भाडाका ३२५ सवारी साधन प्रतिबन्ध

भीमदत्तनगर । चैत १ गतेदेखि सरकारले देशभर २० वर्ष नाघेका भाडाका सवारी साधन गुड्न प्रतिबन्ध लगाएसँगै महाकाली अञ्चल यातायात व्यवस्था कार्यालयले पनि पुराना गाडी प्रतिबन्ध लगाउन थालेको छ । यातायातमा दर्ता भएका ३२५ सवारी साधन प्रतिबन्ध लगाएको यातायात व्यवस्था कार्यालय महाकाली अञ्चल महेन्द्रनगरका नायब सुब्बा नन्दराज भट्टले जानकारी दिनुभयो । उहाँले २० वर्ष नाघेका सवारी साधन चलाउन रोक लगाएसँगै कार्यालयमा दर्ता भएका सो संख्याका सवारी गुडाउन बन्देज लगाइएको बताउनुभयो । प्रतिबन्धित सवारी साधनमाथि निगरानी बढाउन अनुगमन टोलीसमेत गठन गरिएको छ । गत फागुन मसान्तसम्ममा २० वर्ष पुराना सार्वजनिक सवारी साधनको इन्जिन नम्बर कार्यालयमा बुझाउन सवारीधनीलाई निर्देशनसमेत दिइएको थियो । “ट्राफिक प्रहरीसित प्रतिबन्ध लगाउन समन्वय गरेका छौँ,” भट्टले भन्नुभयो, “अनुगमन समितिले पनि जाँच गर्दैछ ।” पुराना सवारी साधनले वायु प्रदूषण र सवारी दुर्घटनासमेत बढ्न थालेपछि यातायात व्यवस्था विभागले गत चैत १ गतेदेखि हटाउने निर्णय गरेको हो । विभागले सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ संशोधन गरी देशभरबाट २० वर्ष पुराना सवारी साधन हटाउन लागेको यातायात कार्यालयले जनाएको छ । प्रतिबन्धमा परेका भाडाका सवारी साधनमध्ये बस १२४, ट्रक १०६, मिनीबस तीन, टिपर १० र एक÷एक वटा कन्टेनर तथा मिनीट्रक रहेका छन् । त्यस्तै ट्र्याक्टर १३, जिप ५२ र १५ टेम्पो गुड्न नपाउने भएका छन् । बीस वर्ष पुराना सवारी साधन गुडाएको पाइए कारवाहीको दायरामा ल्याइने भट्टले बताउनुभयो । दुई हजार १०१ सवारी साधन दर्ता यातायात व्यवस्था कार्यालय महाकाली अञ्चल महेन्द्रनगरमा ११ महिनामा दुई हजार १०१ सवारी साधन दर्ता भएका छन् । यातायात व्यवस्था कार्यालय महाकाली अञ्चल कार्यालयका नायब सुब्बा नन्दराज भट्टका अनुसार चालू आर्थिक वर्षको फागुन मसान्त सम्ममा विभिन्न सवारी साधन दर्ताका भएका हुन् । कार्यालयका अनुसार नयाँ दर्ता भएका सावरी साधनमा सबैभन्दा बढी एक हजार ५६२ मोटरसाइकल, सात वटा बस, मिनीबस÷ट्रक चार, एक्साभेटर ४३, जिप÷कार ३२ र माइक्रो १९ रहेका छन् । सरकारी मोटरसाइकल ३७ र ट्र्याक्टर तथा इ–रिक्सा चार गरी ८४ वटा दर्ता भएका छन् । महाकाली अञ्चल यातायात व्यवस्था कार्यालयका लेखापाल अनिल चन्दका अनुसार चालू आवको फागुनसम्ममा रु आठ करोड ७४ लाख ९२ हजार राजश्व संकलन भएको छ । रासस

सत्तल बनाउन एउटै परिवारद्वारा रु दुई लाख बढी सहयोग

पर्वत । पर्वतको फलेवास नगरपालिका–३ शंकर पोखरीमा निर्माणाधीन राधाकृष्ण मन्दिरको सत्तल निर्माणमा एक युवाले सहयोग गरेका छन् । साविकको शंकरपोखरी–४ राहालेपानी घर भई हाल नेपालगञ्जमा व्यवसाय गर्दैआएका राजुप्रसाद काफ्ले र उहाँकी पत्नी सीमा काफ्लेले दिवंगत बाबुआमा अनिरुद्र÷मोतीकुमारी काफ्लेको स्मृतिमा रु दुई लाख एक हजार १११ सहयोग गर्नुभएको हो । रामनवमीको अवसरमा मन्दिरमा आयोजित कार्यक्रममा उहाँका आफन्त सन्तोष रिमालले काफ्लेले पठाएको रकम मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नुभएको समितिका सचिव हरिप्रसाद तिवारीले बताउनुभयो । सत्तल निर्माणको काम अहिले चलिरहेको छ । सत्संग समाजले मन्दिरको सत्तल निर्माण गर्न लागेको हो । केही वर्ष पहिले राधाकृष्ण मन्दिर बनाइएको थियो । सोही मन्दिर परिसरमा सत्तल बनाउन लागिएको हो । सत्तल बनाउन सहयोगको खोजी भैरहेको तिवारीले बताउनुभयो । राधाकृष्ण मन्दिरले विपन्न परिवारलाई सघाउन ‘धर्म भकारी’ सञ्चालन गर्दै आइरहेको छ । गाउँमा आगलागी पीडित, विपन्न परिवार तथा खाद्यान्न अभाव झेलेको परिवारलाई हरेक वर्ष खाद्यान्न वितरण गर्दै आएको सत्संग तथा राधाकृष्ण मन्दिर व्यवस्थापन समितिले मन्दिर परिसरमा निर्माणाधीन सत्तलमा आर्थिक अभाव भएको बताएपछि आफूले सहयोग गरेको काफ्लेले बताउनुभयो । रासस

एयरपोर्टमा झरेपछि कता हराए कतारबाट फर्केका गोविन्द घिमिरे ?

नवलपरासी, १२ चैत (रासस) ः वैदेशिक रोजगारीका लागि कतार पुगेर फर्केका पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–१५ प्रसौनीका २५ वर्षीय गोविन्द घिमिरे नेपाल उत्रिएपछि सम्पर्कविहीन भएका छन् । कतारबाट गत फागुन ११ गते हिमालय एयरलाइन्सको जहाजबाट काठमाडौँ विमानस्थलमा उत्रिएका घिमिरे अहिले एक महिनासम्म पनि परिवारको सम्पर्कमा नआएको परिवारिक स्रोतले जनाएको छ । घिमिरे एउटै कम्पनीमा काम गर्ने सर्लाहीका साथी सोनेलाल दाससँग काठमाडाँैसम्म आएको घिमिरेका बुबा मोहोनीलालले बताउनुभयो । उनले तीन वर्षदेखि कमाएको रकम एकमुष्ट बोकेर फर्किएका थिए । चार वर्षअघि वैदेशिक रोजगारीका लागि कतार गएका घिमिरे कतारको अल बैयाद कम्पनीमा काम गर्थे । कम्पनीमा रहँदासमेत घिमिरे परिवारको सम्पर्कमा आएका थिएनन् । रोजगारीमा रहँदा सम्पर्कमा नआएपछि परिवारले खोजी गर्दै कम्पनीमा सम्पर्क गरेको र कम्पनीले परिवारको आग्रहमा घर पठाएको घिमिरेका बुुबाले जानकारी दिनुभयो । घिमिरे कतारबाट नेपाल आएको १३ दिनपछि मात्र परिवारले उनी नेपाल आएको जानकारी पाएका थिए । छोरो लामो समयसम्म घर नआएपछि कम्पनीमा सम्पर्क गर्दा नेपाल फर्किएको जानकारी पाएपछि कम्पनीले उपलब्ध गराएको पासपोर्ट, हवाई टिकटको प्रतिलिपी लिएर विमानस्थल पुगेर सिसिटिभी फुटेज हेर्दा छोरो नेपाल आएको र साथीको बीचमा ठूलो लगेज घिसार्दै बाहिर निस्केको देखिएको मोहोनीलालले बताउनुभयो । बाबु मोहोनीलालले छोराले रकम नेपाल नपठाइ एकैपटक बोकेर आउँदा समस्यामा परेको हुनसक्ने अनुमान गर्नुभएको छ । मेरो छोरालाई सँगै आउने साथीहरुले अपहरण गरेको आशंका छ घिमिरेले भन्नुभयो । उसलाई साथीले नै अपहरण गरेको हुनसक्ने भन्दै प्रहरीमा निवेदन दिएको मोहोनीलालले बताउनुभयो । उनी नेपाल उत्रिएर पनि घर नपुगेपछि परिवारले खोजीका लागि अरुणखोला र चोरमारा प्रहरी चौकीमा खोजीका लागि निवेदन दिएका छन् । तर त्यहाँबाट खासै कुनै उपलब्धि नभएपछि परिवारले काठमाडौँ गएर गौशालामा प्रहरीलाई निवेदन दिएका छन् । फ़ोटो सांकेतिक –––

नयाँ शिक्षा ऐन पारित, मापसे गरे जागिर चट

सुर्खेत, चैत ११। विरेन्द्रनगर नगरपालिकाको दोस्रो नगरसभाले  मादक पदार्थ सेवन गरेर विद्यालयमा जाने शिक्षक तथा कर्मचारीको जागिर ‘चट’ हुने कानुन निर्माण गरेको छ । शनिबार सम्पन्न दोस्रो नगरसभाले  शिक्षा ऐन–२०७४ पारित गर्दै मा मादक पदार्थ सेवन गरेर विद्यालयमा आएको प्रमाणित भएमा विद्यालय व्यवस्थापन समितिको सिफारिसमा नगर शिक्षा समितिले त्यस्ता शिक्षक तथा कार्यरत कर्मचारीलाई जागिरबाट हटाउने व्यवस्था गरेको हो । विद्यालयमा पादक पदार्थ सेवन गरेर आएको प्रमाणित भएमा विद्यालय व्यवस्थापन समितिले कार्यरत पदबाट हटाएर वडा शिक्षा समितिमार्फत नगर शिक्षा समितिलाई जानकारी गराइने उल्लेख गरिएको पारित शिक्षा ऐनमा , ‘हटाउनु अघि एक पटक स्पष्टीकरणको मौका भने दिइने छ ।’ भन्ने वाक्यांश राखिएको छ। यस्तै वीरेन्द्रनगर नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरु कुनै पनि राजनीतिक दल र संघ–संस्थामा आवद्ध हुन नपाउने भएका छन् । ‘सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक र कर्मचारी कुनै पनि संघ–संस्था वा राजनीतिक दलको कुनै पनि तहको कार्य समितिको सदस्य रहेको पाइएमा विद्यालय व्यवस्थापन समितिको सिफारिसमा नगर शिक्षा समितिले हटाउने छ’ उपमेयर मोहनमाया ढकालले भनिन्, ‘ऐनलाई नगरभित्र कडाईका साथ कार्यान्वयन गछौं ।’ बिना सूचना १५ दिन भन्दाबढी समय विद्यालयमा अनुपस्थित हुने शिक्षक र कर्मचारीको पनि जागिर जाने भएको छ। शिक्षा ऐनको परिच्छेद–३ को २० (ख) मा यो व्यवस्था गरिएको छ। यस्तै अध्यापन गरिरहेको विषयमा तीन वर्षभित्रको औसत शैक्षिक उपलब्धी राष्ट्रिय र प्रदेशको औसत स्तरभन्दा कम भएमा पनि शिक्षकलाई हटाउन सकिने ऐनमा उल्लेख छ। ‘शिक्षालाई गुणस्तरीय र प्रतिष्पर्धी बनाउनका लागि कार्यरत शिक्षक र कर्मचारीलाई जवाफदेही बनाउन आवश्यक छ’ उपमेयर ढकालले भनिन्, ‘पारित ऐनलाई अक्षरस कार्यान्वयन गरेर शिक्षामा आमूल सुधार गछौं।’ यस्तै नियमानुसार विदा स्वीकृत नगराएर अनुपस्थित भएका शिक्षक कर्मचारीलाई सो अवधिको तलव, भत्ता नपाउने व्यवस्था ऐनमा छ। यस्तै सो अवधिलाई सेवामा पनि गणना गरिने छैन्। यस्तै सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षक र कर्मचारीले कुनै पनि देशको स्थायी आवासीय अनुमति लिन नपाउने भएका छन्। वीरेन्द्रनगर नगरपालिकाको शिक्षा ऐनमा वीरेन्द्रनगरका १६ वटै वडामा एक–एक प्राविधिक शिक्षालय सञ्चालन गर्ने उल्लेख छ। ‘दक्ष जनशक्ति उत्पादन गर्न र स्वरोजगार बनाउनका लागि हामीले एक वडा, एक प्राविधिक शिक्षालय स्थापना गरिने छ’ उपमेयर ढकालले भनिन्, ‘हाल रहेका सामुदायिक विद्यालयहरुलाई नै माध्यामिक तहमा प्राविधिक शिक्षा अध्ययन गराउने व्यवस्था मिलाउँछौं।’ शिक्षा ऐनमा माध्यमिक शिक्षालाई तीन तहमा वर्गिकरण गरिएको छ । साधारण माध्यमिक शिक्षा, संस्कृत माध्यमिक शिक्षा र प्राविधिक तथा व्यावसायिक माध्यमिक शिक्षामा वर्गिकरण गरिएको छ । अव आधारभूत तहमा मातृभाषामा पनि शिक्षा दिन सकिने भएको छ । यस्तै सामुदायिक, संस्थागत, गुठी र सहकारी गरेर चार तहमा विद्यालयलाई बर्गिकरण गरिएको छ। यस्तै विद्यालय खोल्ने अनुमति दिंदा विद्यालय सञ्चालनको सुरक्षणवापत सामुदायिक विद्यालयको आधारभूत तह निःशुल्क र माध्यमिक तह भए तीन लाख र संस्थागत विद्यालयको आधारभूत १–५ भए तीन लाख, एकदेखि आठ कक्षासम्म भए चार लाख र माध्यमिक भए पाँच लाख रुपियाँ धरौटी राख्नुपर्ने छ । यस्तै अनुमति दिएको पाँच वर्षभित्र संस्थागत विद्यालयहरुले आफ्नो घर जग्गा नबनाए अनुमति रद्घ गर्न सकिने ऐनमा उल्लेख छ । शिक्षा ऐनसँगै सहकारी ऐन, प्रशासनिक कार्यविधि ऐन, कृषि व्यवस्थापन ऐन र न्यायिक समिति ऐन पनि नगरसभाबाट पारित भएको छ।   नागरिकबाट साभार