जंगलमा लागेको आगो बस्तीमा पसेर जलायो १२ घरगोठ, एक जना घाईते

पूर्वी नवलपरासी । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नं १४ को चनौटे र सुर्खा जंगलमा लागेको आगो बस्तीमा पसेर ठूलो क्षति पुर्याएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल परियारका अनुसार आगलागीबाट चनौटेका ७ र सुर्खाका ५ घरगोठ जलेर नष्ट भएको छ ।

आगो निभाउने क्रममा मध्यविन्दु १४ चनौटेमा रहेको जनज्योति प्राविका शिक्षक देवचुली १३ प्रगतिनगर निवासी ५९ बर्षीय गंगा प्रसाद घिमिरे घाइते भएका छन् । उनको दुवै हात जलेको र अवस्था समान्य रहेको प्रहरीले जनाएको छ । आगो स्थानीय बासिन्दा, नगर प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायतको टोलीले नियन्त्रणमा लिएको थियो ।

आगलागीमा परी मध्यविन्दु १४ का नवलसिंह ढेंगाको घरगोठ, लत्ताकपडा, भाडावर्तन र नगद १ लाख ६० हजार, भोगीराम ढेंगाको घरगोठ, लत्ताकपडा, भाडावर्तन, ४ वटा कुखुरा, टेकबहादुर क्षेत्रीको घरगोठ, लत्ताकपडा भाडा वर्तन, ३ वटा बाख्रा, कर्मसिंह सोमैको घरगोठ लत्ताकपडा, भाडावर्तन पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

त्यसैगरी, खमबहादुर बारघरेको बाख्राको गोठ, लत्ताकपडा अन्नपात, हस्तबहादुर ढेंगाको बाख्रा गोठ, लत्ताकपडा अन्नपात र श्रीलाल सोमैको बाख्रागोठ लत्ताकपडा अन्नपात पूर्णरुपमा जलेर नष्ट भएको छ ।

त्यसैगरी मध्यविन्दु १४ सुर्खामा टेकबहादुर सोमै मगरको गोठ, लत्ताकपडा, कमानसिंह सोमै मगरको गाइगोरुको गोठ, लत्ताकपडाअन्नपात, थेबेल सिसंह लम्कामगरको गाईबाख्राको गोठ, गोरु एउटा, बाख्रा ३ वटा, भैसी १ वटा, रणबहादुर सोतीको गोठ र आइतसिंह सोमैको गोठ जलेर नष्ट भएको छ ।

यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं ।आज २०८१ साल वैशाख ११ गते मंगलबार सन् २०२४ अप्रिल २३ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०९ पैसा र बिक्री दर १३३ रुपैयाँ ६९ पैसा पुगेको छ।युरो एकको खरिद दर १४१ रुपैयाँ ५७ पैसा र बिक्री दर १४२ रुपैयाँ २१ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ९३ पैसा र बिक्री दर १६४ रुपैयाँ ६७ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४९ पैसा र बिक्री दर ३६ रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर 

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको हो ।  जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मुख्यतया सफा छ । विभागले दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली हुनेछ । देशका बाँकी भू–भागमा आंशिकदेखि मुख्यतया मौसम सफा रहनेछ ।  गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा कोसी र वाग्मती प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।  लुम्बिनी प्रदेशलगायत कोसी, मधेस, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका तराइका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ । विभागका अनुसार आज राति कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।  लुम्बिनी प्रदेशको तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना छ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

रूसी सेनाका परिवार दुतावास नजिकै सामूहिक अनशनमा

काठमाडौं। अनशनरत रूसी सेनामा कार्यरत नेपालीका आफन्तहरुले रुसको दूतावास नजिकै सामूहिक अनशन बसेका छन् । रुसमा रहेका नागरिकको जीवन रक्षाको माग गर्दै परिवार र आफन्तहरुले सोमबार बालुवाटारस्थित रुसको राजदूतावास नजिकै सामूहिक अनसन बसेका हुन् । परिवारहरुले दूतावासअघि अनशन बस्‍न खोजे पनि रोक लगाइए पछी उनीहरु दूतावासको नजिकै बसेका छन् । अनसन बसेकाहरुले रुसी सेनामा गएका सबै नेपालीको अवस्था सार्वजनिक, रुसी सेनामा गएर सम्पर्कविहीन भएकाहरुको खोजी, मृत्यु भएकाहरुको शव फिर्ता, रूसी सेनामा भर्ती भएकाहरु र युक्रेनको कब्जामा रहेकाहरुको सकुशल उद्धारको माग राख्दै प्लेकार्ड प्रदशन पनि गरेका छन् ।

केपीजीलाई विश्वास गर्छु : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति विश्वास रहेको बताएका छन्। नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा ललितपुरस्थित गोदावरीको सनराईज हलमा आयोजित हीरक महोत्सवलाई सम्बोधन गर्दै एकता र सहमतिबाट मात्रै देशमा ठूला राजनीतिक परिवर्तन भएको बताए। उनले भने, ‘क्याबिनेट बैठक लम्बिएपछि म समयमा आउन पाइन, यहाँ जुन भिडियो क्लिप प्रस्तुत भयो सबै त मैले हेर्न पाइनँ।त्यो समीक्षात्मक रिपोर्ट हेरे । मलाई त्यहाँ बस्दै गर्दा कमरेड केपी ओलीले त्यस्तो नकारात्मक टिप्पणी माओवादीको बारेमा खासै गरिएको छैन भन्नुभयो म केपीजीलाई विश्वास गर्न चाहन्छु ।’

एमालेलाई देउवाको प्रश्नः मदनको हत्यारा खोज्न कसले रोकेको छ ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जननेता मदन भण्डारीको हत्यारा पत्ता लगाउन एमालेलाई चुनौति दिएका छन् । उनले भण्डारीको हत्यारा पत्ता लगाउनुको साटो नेपाली कांग्रेसलाई गाली गर्नमात्र लागेको टिप्पणी समेत गरे । नेकपा एमालेको आयोजनामा जारी हीरक महोत्सव कार्यक्रममा विशेष सम्बोधन गर्न गोदावरीमा उपस्थित भएका पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले आफू मदन भण्डारीको बारेमा राम्रै बोल्नेगरी आएपनि कार्यक्रमको बिचमै कांग्रेसलाई गाली गरेको भन्दै झोक्किन पुगे ।  देउवाले भने, ‘गाली गरेपछि जवाफ त दिनुपर्‍यो, मदन भण्डारी किन मरे भनेर किन भन्न सक्दैन एमाले ? मदन भण्डारीको रहस्यमय मृत्यु खोज्न कसले रोकेको छ ?’  पछि ड्राइभर पनि मारिएको भन्दै उनले मदन भण्डारीलाई आफूले राम्रो नेताका रूपमा चिन्ने बताए ।  उनले प्रश्न गरे ‘मार्ने को हो अहिलेसम्म किन पत्ता लागेन ?’ उनले मदनको हत्यारा पत्ता लगाउन कांग्रेसले नरोकेको भन्दै प्रश्न गरे,  ‘कांग्रेसले रोकेको हो ? खोइ पत्ता लागेको हो ? मलाई विरोध र गाली गरेर केही हुँदैन । तपाईहरुले पत्ता लगाउनुपर्‍यो ।’

गण्डकीको मुख्यमन्त्री नियुक्तिसम्बन्धी रिट न्यायाधीश मल्ल र सुवेदीको इजलासमा

पोखरा । गण्डकी प्रदेशमा मुख्यमन्त्री नियुक्तिसम्बन्धी रिट सर्वोच्च अदालतमा न्यायाधीश सपना मल्ल प्रधान र शारंगा सुवेदीको संयुक्त इजलासमा सुनुवाइ भइरहेको छ । सभामुखको समेत समर्थन लिएर एमाले संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएको र यो संविधान विपरीत हुने भन्दै कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले २९ चैतमा सर्वोच्चमा रिट दायर गरेका थिए । रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले खगराज नेतृत्वको सरकारलाई दीर्घकालीन महत्वको निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो । त्यसपछि यो मुद्दामा विपक्षीहरुसँग ७ वैशाखभित्र लिखित जवाफ माग्दै सर्वोच्चले १० वैशाखदेखि नियमित सुनुवाइ गर्ने आदेश दिएको थियो । सोही अनुसार सोमबारदेखि यो मुद्दामा सुनुवाइ सुरु भएको हो । चैत २५ गते एमाले संसदीय दलका नेता अधिकारीले मुख्यमन्त्रीमा दाबी पेश गर्दा आफ्नो दल र माओवादी संसदीय दलको नेताको समर्थन पेश गरेका थिए । माओवादी संसदीय दलमा हाल सभामुख रहेका धितालको समेत गणना गरिएको र यो संविधान विपरीत हुने कांग्रेसको दावी छ ।

गुल्मीमा आगलागीबाट लाखौँको क्षति,इस्मामा मात्रै जले १५ भन्दा बढि घर गोठ जले

तम्घास । आगलागीबाट गुल्मीमा लाखौँ रुपैयाँ बराबरको क्षति भएको छ ।विभिन्न ठाउँमा आगलागी हुँदा लाखौं रुपयाँको धनमालको क्षति भएको छ । गुल्मीको इस्मा गाउँपालिका –२ सिदुङ्खा, मैनडाँडा क्षेत्र आसपासमा भिषण आगलागी भइरहेको छ । प्रहरीका अनुसार उक्त आगलागीबाट हालसम्म निम्न व्यक्तिहरुको घर गोठ चौपाय क्षेती भएको छ । १.गुल्मी जिल्ला ईश्मा गा.पा.२ सिदुङ्खा बस्ने बसुन्धार कुवरको घर बङ्गालो पुर्णरुपमा जली क्षेति भएको,निजको बङ्गालोमा रहेको ८ बोका ,५ बाख्रा ,२ भैसि जली मृत्यु  २.गुल्मी जिल्ला ईश्मा गा.पा.२ सिदुङ्खा बस्ने चन्द्र बहादुर कुवरको घर, कुटानि पिसानि मिल, किराना पसल,बङ्गालो जली पुर्णरुपमा क्षेती भएको, ३.गुल्मी जिल्ला ईश्मा गा.पा.२ सिदुङ्खा बस्ने सुर्य बहादुर कुवरको घर बङ्गालो जली पुर्ण रुपमा क्षेती भएको, ४.गुल्मी जिल्ला ईश्मा गा.पा.२ सिदुङ्खा बस्ने गन बहादुर कुवरको घर ,२ बङ्गालो १ भैसि,१ पाडो , ४ बाख्रा जली मृत्यु भएको  ५.गुल्मी जिल्ला ईश्मा गा.पा.२ सिदुङ्खा बस्ने ऋषि राम कुवरको घर जली पुर्ण रुपमा क्षेती भएको, ६.गुल्मी जिल्ला ईश्मा गा.पा.२ सिदुङ्खा बस्ने रमेश थापाको घर गोठ जली पुर्णरुपमा क्षेती भएको, ७.गुल्मी जिल्ला ईश्मा गा.पा.२ सिदुङ्खा बस्ने होम बहादुर मल्लको बङ्गालो जली पुर्ण रुपमा क्षेती भएको। ८.गुल्मी जिल्ला ईश्मा गा.पा.२ सिदुङ्खा बस्ने लिला बहादुर थापाको घर कटेरो जली पुर्णरुपमा क्षेती भएको , ९.गुल्मी जिल्ला ईश्मा गा.पा.२ सिदुङ्खा बस्ने टिका बहादुर रायामाझीको घर ,बङ्गालो ,१ बाख्रा जली मृत्यु भएको १०.गुल्मी जिल्ला ईश्मा गा.पा.२ सिदुङ्खा बस्ने गोल बहादुर थापाको किराना पसल ,२ बङ्गालो  ११.गुल्मी जिल्ला ईश्मा गा.पा.२ सिदुङ्खा बस्ने धर्मराज थापाको घर, गोठ, कुटानि पिसानि मिल २ भैसि ,२ बाख्रा जली मृत्यु १२.गुल्मी जिल्ला ईश्मा गा.पा.२ सिदुङ्खा बस्ने ईन्द्र बहादुर थापाको किराना पसल ,३ गोठ जली क्षेती  १३.गुल्मी जिल्ला ईश्मा गा.पा.२ सिदुङ्खा बस्ने राम बहादुर थापाको घर,गोठ जली पुर्णरुपमा क्षेती भएको   १४.गुल्मी जिल्ला ईश्मा गा.पा.२ सिदुङ्खा बस्ने गिता थापाको १ गोठ, १ भैसि जली मृत्यु  १५.गुल्मी जिल्ला ईश्मा गा.पा.२ सिदुङ्खा बस्ने सरिता मल्लको १ घर, १ बङ्गालो जली क्षेती  प्रहरीका अनुसार थप विवरण आउन बाँकी रहेको छ ।

एकैदिन प्रतितोला ११ सय रूपैयाँ घट्यो सुनको मूल्य

काठमाडौं । आज सोमबार सुन–चाँदीको मूल्य घटेको छ।आइतबार स्थिर रहेको सुनको भाउ यसदिन प्रतितोला एक हजार एक सय रूपैयाँ घटेको हो। शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। उक्त दिन सुनको भाउ प्रतितोला एक लाख ३९ हजार तीन सय रूपैयाँमा किनबेच भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३८ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।  आइतबार छापावाल सुन प्रतितोला एक लाख ३९ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार छ सय ५० रूपैयाँमा कारोबार भएको थियो।   त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ।आइतबार प्रतितोला १७ सय ४० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १७ सय ५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रूपैयाँ घटेको हो।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ६९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

उपनिर्वाचनमा करिब १७ सय कर्मचारी खटिने

काठमाडौं । वैशाख १५ मा इलाम र बझाङमा हुन लागेको उपनिर्वाचनमा करिब एक हजार सात सय कर्मचारी खटिने भएका छन् ।  निर्वाचन आयोगले उपनिर्वाचनलाई स्वच्छ, निश्पक्ष र भयरहित ढंगले सम्पन्न गर्न भन्दै उपनिर्वाचनमा खटिने कर्मचारीको नियुक्ति प्रक्रिया अघि बढाउन निर्वाचन अधिकृतको कार्यालयहरूलाई निर्देशन दिइसकेको छ ।  आयोगले प्रत्येक मतदान केन्द्रमा सात जना कर्मचारी रहने गरी कर्मचारीको प्रबन्ध मिलाइएको जनाएको छ । उपनिर्वाचनमा इलाम–२ मा १४९ मतदान केन्द्र तोकिएका छन् । यस्तै, बझाङमा ९३ वटा मतदान केन्द्र तोकिएका छन् । मतदान केन्द्र अनुसार इलाममा एक हजार ४३ र बझाङमा ६५१ गरी कुल एक हजार ६९४ जनशक्ति परिचालन गरिने भएको छ । प्रत्येक केन्द्रमा एक–एक जना मतदान अधिकृत र सहायक मतदान अधिकृत तथा पाँच जना सहयोगी कर्मचारी रहने व्यवस्था गरिएको छ ।  उपनिर्वाचनमा परिचालन हुने जनशक्तिको नियुक्ति निर्वाचन अधिकृतको कार्यालयले गर्ने कानुनी व्यवस्था छ । 

शिक्षक महासंघको महाधिवेशन आज सुरु हुँदै

काठमाडौं। नेपाल शिक्षक महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन आज सुरु हुँदै छ । महाधिवेशनबारे आपसी सहमति हुन नसेपछि महासंघको एक मुख्य घटक नेपाल राष्ट्रिय शिक्षक संगठनले भने भाग नलिने घोषणा गरेको छ । महासंघको विधानविपरीत एक पक्षीय ढंगले जिल्ला समितिहरू घोषणा गरिएकाले महाधिवेशन रोक्न आफूहरुले राष्ट्रिय समितिको बैठकमा राखेको प्रस्ताव स्वीकार नगरिएको भन्दै संगठनले महाधिवेशनमा भाग नलिने घोषणा गरेको हो । महासंघको सदस्यता नवीकरण, विद्यालयमा नयाँ नियुक्त भएका शिक्षक, प्राविधिक धारका शिक्षक सदस्यताबाट वञ्चित भएका, लोकतान्त्रिक विधिलाई निषेध गरिएको सङ्गठनका महासचिव हंशबहादुर शाहीले आरोप लगाए । महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले भने विभिन्न चरणमा वार्ता र संवाद गर्दा पनि संगठन आफूसमेत सहभागी बैठकका निर्णयबाट पछि हटेको जिकिर गरे ।

सम्पर्कविहिन १६ प्रहरीबारे आयो यस्तो सूचना

काठमाडौं । प्रहरी प्रधान कार्यालयले सम्पर्क विहीन भएका १६ जना प्रहरीलाई एक साताभित्र सम्पर्कमा आउन सूचित गरेको छ।  सोमबार सार्वजनिक सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले आफूखुसी गैरहाजिर रहेका प्रहरी नायव निरीक्षक, हवल्दार, जवानदेखि कार्यालय सहयोगीसम्म १६ जनालाई सम्पर्कमा आउन भएको हो।  सूचनामा आफूखुसी गैर हाजिरीमा रहनुको स्पष्ट र सन्तोषजनक स्पष्टीकरणसहित प्रहरी प्रधान कार्यालयमा हाजिर हुन भनिएको छ। अन्यथा सेवाबाट हटाएर कारवाही गरिने चेतावनी समेत प्रहरी प्रधान कार्यालयले दिएको छ। 

नेपाल पौडी संघको अध्यक्षमा जगतमान श्रेष्ठ, उपाध्यक्षमा गंगालाल सिंगार निर्विरोध निर्वाचित

काठमाडौं । नेपाल पौडी संघको ५औँ राष्ट्रिय अधिवेशनबाट जगतमान श्रेष्ठको प्यानल विजयी भएको छ । शनिबार भएको अधिवेशबाट पौडीले नयाँ कार्यसमिति पाएको हो । यो सँगै पौडीमा अशोकरत्न बज्राचार्यको कार्यसमितिको ४२ वर्षदेखिको विरासत तोडिएको छ । नयाँ कार्यसमितिमा अध्यक्षमा श्रेष्ठ निर्विरोध हुँदा वरिष्ठ उपाध्यक्षमा जयप्रकाश भट्टराई, तीन उपाध्यक्षमा गंगालाल सिंगार,जुनाकुमारी कठायत र चित्रराज भट्ट निर्वाचित भएका हुन् । महासचिवमा ईश्वर कार्की, सचिवमा क्रमशः रञ्जन भट्टराई र गंगालाल गोले, कोषाध्यक्षमा दिलीप वैद्य, सहकोषाध्यक्षमा योगेन्द्रमान श्रेष्ठ रहे । सदस्यता दीपकसागर सिंह, विकास शर्मा, कुमार गिरी, उमेश प्रधान, डम्बरबहादुर तामाङ, भरत तामाङ, बिष्णुप्रसाद न्यौपाने, पञ्चा सिंह, टेकबहादुर थापा, जनक थापा, रूपेशमान सिंह, हरेन्द्र यादव, अनिश महर्जन तथा शिरीष गुरुङ रहेका छन् ।

प्रहरी महानिरीक्षक कुँवर फ्रान्स प्रस्थान

काठमाडौँ । नेसनल सेन्ट्रल ब्युरो (एनसीबी)काठमाडौं नेपालका प्रमुख प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर फ्रान्स प्रस्थान गरेका छन् । उनी इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा संचालन हुने १९औं ‘हेड अफ एनसिबी कन्फरेन्स’मा सहभागी हुन सोमबार त्यसतर्फ प्रस्थान गरेका छन् । महानिरीक्षक कुँवरलाई प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई, प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकाल लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका छन् । हेड अफ एनसिबी कन्फरेन्समा इन्टरपोलका सम्पूर्ण १९६ सदस्य राष्ट्रहरूका एनसीबी प्रमुखहरू, इन्टरपोल महासचिव तथा पदाधिकारी बिच समन्वय एवम् सहकार्यको विषयहरूमा छलफल हुनेछ। साथै सहभागिताको क्रममा समसामयिक घटना, अपराध अनुसन्धानको विषय तथा सम्बद्ध प्रहरी कर्मचारीको क्षमता अभिवृद्धिका विषयहरूमा छलफलको लागि मित्रराष्ट्रहरू भारत, चीन, जापान र मलेसियाका प्रतिनिधिहरूसँग द्विपक्षीय बैठक गर्ने कार्यक्रम समेत रहेको छ।  हरेक वर्ष हुने हेड अफ एनसिबी कन्फरेन्स यस वर्ष वैशाख ११ देखि १३ गते सम्म फ्रान्सको लियोनमा सम्पन्न हुनेछ। कन्फरेन्समा प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंह समेत सहभागी हुनेछन्। प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नेछन्।

सेनाका तालिमरत अधिकृतहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण

काठमाडौं । नेपाली सैनिक वार कलेज नगरकोटमा संचालित सि.सं.१२ हायर कमाण्ड तथा म्यानेजमेन्टका तालिमरत ३५ जना अधिकृतहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको आइतबार अवलोकन भ्रमण सम्पन्न भएको छ।अवलोकन भ्रमणमा सहभागीहरूलाई प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्कीले स्वागत गर्दै भम्रण कार्यक्रम सम्बन्धी जानकारी गराए।  सो क्रममा सहभागी सैनिक अधिकृतहरूले नेपाल प्रहरी प्रधान कार्यालयस्थित डाटा सेन्टर, पोलिग्राफ शाखा, डिजिटल फरेन्सिक ल्याब र सङ्ग्राहलय समेतको अवलोकन गरे। अवलोकन पश्चात आयोजित अन्तरक्रिया कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले तालिमरत अधिकृतहरूले नेपाल प्रहरी सम्बन्धी विविध विषयमा राखेका जिज्ञासाहरूको निरूपण गर्दै नेपाली सेनासँग नेपाल प्रहरीको आत्मीय सम्बन्ध रहेको उल्लेख गरे। विभिन्न कालखण्डमा नेपाल प्रहरीले नेपाली सेनासँग सहकार्य गर्दै आएको चर्चा गर्दै उनले समाजमा शान्ति सुरक्षा कायम गर्न दुवै संगठन बिच सूचनाको आदान प्रदान, आपसी सहयोग र समन्वय भइरहेको एवम् आउँदा दिनमा समेत अझ प्रभावकारी ढंगले यसको निरन्तरता हुने बताए। सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई र नेपाली सेनाका सहायक रथी दिपेश जंग शाहले कृतज्ञताको चिनो आदान प्रदान गरे। कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरीको परिचय, विकासक्रम, काम, कर्तव्य र वर्तमान अवस्था, नेपाली सेना र नेपाल प्रहरी बिचको समन्वय र सहकार्यको क्षेत्र, प्रदेश समायोजनाका समस्या लगायतका विषयमा प्रस्तुतीकरण गरेका।  साथै उनले अन्तरक्रियाको क्रममा तालिमरत अधिकृतहरूले नेपाल प्रहरी सम्बन्धी विविध विषयमा राखेका जिज्ञासाहरुको निरूपण समेत गरेका थिए। उक्त कार्यक्रममा महासेनानी सूर्य बहादुर थापाले भ्रमणमा सहभागी तालिमरत अधिकृतहरूको तर्फबाट धन्यवाद सहितको मन्तव्य व्यक्त गरे।  तालिमरत अधिकृतहरूमा ३ जना महिला र ३२ जना पुरूषको साथै ६ जना प्रशिक्षक अधिकृतहरूको सहभागिताको रहेको थियो ।

क्रिकेटर लामिछानेको पुनरावेदनमाथि आज सुनुवाइ हुँदै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले जिल्ला अदालतको फैसलाप्रति गरेको पुनरावेदनमा आज उच्च अदालत पाटनमा सुनुवाइ हुँदैछ । यसअघि वैशाख ३ गते न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुङ्गेलको इजलासले तादी गाउँपालिकाको वडा नम्बर २ गौशाला २६ ले जन्मदर्तामा जन्ममिति सच्याउन दिएको निवेदन झिकाउन आदेश गरेको थियो। साथै, जन्ममिति सम्बन्धी स्पष्ट हुने कागजात पनि माग्ने आदेश समेत गरेको थियो । उच्च अदालतको आदेशपछि तादी गाउँपालिकाको वडा नम्बर २ ले विवरण पठाइसकेको छ।जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका लामिछाने पुनरावेदनका लागि उच्च अदालत गएका थिए। लामिछानेले नेपाल सरकारलाई विपक्षी बनाई गत फागुन १० गते उच्च अदालत पाटनमा पुनरावेदन गरेका हुन्।जिल्ला अदालतले जबर्जस्ती करणी मुद्दामा उनलाई दोषी ठहर गर्दै आठ वर्षको कैद सजाय सुनाएको छ।सो आदेश बदर गर्न लामिछानेले माग गरेका छन् ।