भुस्याहा कुकुर व्यवस्थापन : दुई बर्षमा दुई करोड सखाप

काठमाडौं, चैत ५ । काठमाडौं महानगरिपालिकाभित्र भुस्याहा कुकुर व्यवस्थापनका नाममा दुई बर्षमै करिव दुई करोड रकम खर्चभए पनि भुस्याहा कुकुर आतंक भने बढ्दो छ ।

पहिलेदेखि नै महानगरपालिकाले भुस्याहा कुकुर व्यवस्थापनका लागि बजेट छुट्याउने गरेको थियो ।

पुराना कार्यक्रम प्रभावकारी नभएको भन्दै र्दु बर्षअघि महनगरपालिकाले कुकुर व्यवस्थापन गर्न मनुमित्र कार्यक्रम सुरु गर्यो ।, अयो खबर आजको नागरिक दैनिकमा छ ।

कर्णाली प्रदेशको राजधानीमा खानेपानी समस्या

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खानेपानीको अभाव भएको छ । डेढ लाख जनसंख्या रहेको सुर्खेतको उपत्यका वीरेन्द्रनगरमा कर्णाली प्रदेशको राजधानी भएपछि बढ्दो शहरीकरण तथा जनसंख्याका कारण पानीको समस्या छ । राजधानी वीरेन्द्रनगरमा खानेपानी वितरण गर्दै आएको सुर्खेत उपत्यका खानेपानी संस्थाले पानी पु¥याउन सकेको छैन । विसं २०५७ मा स्थापित सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था (झुप्रा बृहत् खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था)ले वीरेन्द्रनगरमा खानेपानी आपूर्ति गर्दै आइरहेको छ । वीरेन्द्रनगरवासीले खानेपानीको अभाव हँुदा पुरानै मुहान बुलबुले र चिसापानीको ढुंगेधारामै निर्भर हुनुपरेको छ । आयोजनाले झुप्रा खोलाको पानीलाई शुद्ध गरेर उपत्यकामा पानी वितरण गरे पनि मागअनुसार पानी उपलब्ध हुन सकेको छैन । झुप्राको मुहान सुक्दै गएपछि खरीखोला र बोरी खोलाको मुहानलाई मुख्य वितरण लाममा राखेर आलोपालो प्रणालीबाट उपत्यकामा पानी वितरण गरिएको छ । उपत्यकामा पानीको अभाव कम गर्न भेरीको पानीलाई तानेर ल्याउने भन्दा अर्को विकल्प नभएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष कुलमणि देवकोटाले बताउनुभयो । सुर्खेतमा पानी अभाव हुन नदिन भेरीको पानी तानेर ल्याउनका लागि विस्तृत अध्ययनसमेत पूरा गरिसकिएको छ । पानीको समस्या समाधान गर्न खानेपानीको नयाँ स्रोत थपी नयाँ धारा जडानका लागि आवेदन मागिएकामा पाँच हजारभन्दा बढी फाराम वितरण भएको छ । उहाँका अनुसार यही चैत ७ गतेसम्म धारा जडानका लागि उपभोक्ताले शुल्क बुझाउनुपर्नेछ । अहिले आवेदन लिएर आउँदो असारदेखि मात्रै उपभोक्तालाई धारा जडानको काम शुरु गरिने आयोजनाको तयारी छ । आवेदन धेरै परे पनि प्राविधिक हिसाबले दुई हजारभन्दा बढी धारा वितरण गर्नसक्ने अवस्था छैन । अघिल्लो वर्ष उपभोक्ताले ९६ घण्टासम्म पानीको पालो कुर्नुपरे प िनयस पटक त्यस्तो अवस्था नआउने देवकोटाले बताउनुभयो । “यस वर्ष खडेरी नै परेमा पनि बढीमा ३६ घण्टासम्म पानीको पालो आउने छ”, उहाँले भन्नुभयो, “सबै काम गतिमा गरे अबको दुई वर्षभित्रमा कुनै पनि हालतमा भेरीको पानी उपत्यकामा ल्याइने छ ।” भेरीको पानी उपत्यकामा नल्याएसम्म खानेपानी संकट समाधान गर्न नसकिने उहाँको तर्क छ । यस कार्यमा वीरेन्द्रनगर नगरपालिका तथा प्रदेश र केन्द्र सरकारले सहयोग गर्नुपर्ने देवकोटाको भनाइ छ । प्रदेशको राजधानी तोकिएर जनसंख्या वृद्धि तथा बसोबासमा वृद्धि हँुदा समेत पनि पुरानो जनसंख्याका लागि व्यवस्था गरिएको एक करोड दश लाख लिटर पानी उपलब्ध छ । यही अवस्थामा सुर्खेतमा अहिले २७ लाख लिटर पानी प्रतिदिन नपुग छ । वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी बनेपछि अब दैनिक ४५ लाख लिटर पानी अपुग हुने सुर्खेत उपत्यका खानेपानी संस्था सुर्खेतले जनाएको छ । उपत्यका खानेपानी संस्थाले अहिले १५ हजार ६०० धारा वितरण गरिसकेको छ । दुई हजार २३ धारा वितरण गर्ने प्रक्रिया शुरु गरिएको देवकोटाले बताउनुभयो । सुर्खेतमा एक सय ४५ लिटर पानी प्रतिसेकेण्ड आवश्यक छ । हाल एक सय ३२ लिटर प्रतिसेकेण्ड पानी उपलब्ध छ । उजुरी पेटिकामा पर्दैनन् उजुरी नागरिकका गुनासा सुन्नका लागि विभिन्न सरकारी कार्यालयमा राखिएको उजुरी पेटिकामा उजुरी परेका छैनन् । कार्यालयमा राखिएका उजुरी पेटिकामा नागरिकका उजुरी नपर्दा माकुराले जालो लगाएको छ । जिल्ला प्रशासन कार्यालयमा नागरिकका गुनासा सुन्नका लागि राखिएको उजुरी पेटिकामा अहिलेसम्म एउटा पनि उजुरी परेको छैन । नागरिकका उजुरी तथा गुनासाको सुनुवाइ समयमा नहुने र भए पनि ढिलो हुने भएकाले उजुरी पेटिकाको विश्वास कम भएको नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीले बताउनुभयो । सूचनाको विकाससँगै कार्यालयमा पहिलाभन्दा अहिले नागरिकको सहज पहुँच हुनाले उजुरी तथा गुनासा सीधै कार्यालय प्रमुखसमक्ष प्रस्तुत गर्न सक्ने हुँदा उजुरी पेटिकामा उजुरी नपर्ने गरेको प्रजिअ सीताराम कार्कीले बताउनुहुन्छ । रासस

डा. केसीको अनशन स्थगित

काठमाडौं, चैत्र ४ । डा. गोविन्द केसीले आइतबारबाट शुरु गर्ने भनिएकोे आमरण अनशन स्थगति गरेका छन् । प्रधानन्यायाधीश गोपाल पराजुलीले राजीनामा दिएसँगै डा. केसीले पूर्व निर्धारित अनसन स्थगित गरेको बताएका हुन । आइतबार प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीले आजबाट शुरु गर्ने भनिएको अनसन स्थगित गरेको जानकारी दिए । प्रधानन्यायाघिश पराजुलीले राजीनामा दिए पनि उनीमाथि छानबिन गरी कारबाहीको दायरामा ल्याउनुपर्ने डा केसीको माग छ । विज्ञप्तिमा भनिएको छ, ‘गोपाल पराजुलीको पदमुक्तिले हाम्रो एउटा माग पुरा भएको छैन । किनकी उनका सबै भ्रष्ट फैसला र क्रियाकलापको छानबिन भएर उनी कारबाहीको दायरामा पुग्नुपर्छ ।’ चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवदेन तत्काल सार्वजनिक गर्दै दोषि पदाधिकारीलाई कारबाही गर्न र यही महिना भित्र चिकित्सा शिक्षा अध्यादेशलाई ऐनमा परिणत गर्न डा केसीले सरकारको ध्यानाकर्षण गराएका छन् । चिकित्सा शिक्षा र समग्र स्वास्थ्य क्षेत्रका सुधारको माग गर्दै आमरण शुरु गरेका डा केसी १४ पटक आमरण अनशन बसिसकेका छन् । पछिल्लो समय उनको निशाना भष्ट्राचारविरुद्ध पनि लक्षित छ । आफुले अघि सारेका मागहरु पुरा नभए सत्याग्रहसहितका कार्यक्रम ल्याउन बाध्य हुने विज्ञप्तिमा उल्लेख छ ।

रोबोटबाट चल्ने सिमेन्ट उद्योग हेटौंँडामा

हेटौँंडा, चैत ४ । पहिलो पटक हेटौंडामा रोबोटबाट सञ्चालन हुने ठूलो सिमेन्ट उद्योगले परीक्षण उत्पादन गर्ने तयारीमा छ । जगदम्बा र शंकर ग्रुपको संयुक्त लगानीमा निर्माण भइरहेको रिद्धिसिद्धि सिमेन्ट उद्योग प्रालि निर्माणको अन्तिमचरणमा पुगेको हो । दैनिक ५० केजी तौलको ५६ हजार बोरा सिमेन्ट उत्पादन गर्नसक्ने क्षमता भएको उद्योगमा सिमेन्ट उत्पादनका लागि उपकरण सञ्चालनमा रोबोट प्रयोग हुने भएकाले जनशक्ति कम लाग्ने उद्योगका परियोजना प्रमुख राजेश पिलाइ बताउनुहुन्छ । उहाँकाअनुसार उद्योगको व्यवस्थापकदेखि बजार व्यवस्थापन र पिएनसम्म गरेर जम्मा तीनसय जनशक्ति लाग्नेछ । उत्पादनको अनुपातमा जनशक्ति एकदमै कम भएको र यो उद्योग प्रविधिको हिसाबले हेर्दा नेपालमा पहिलो भएको परियोजना उहाँको भनाइ छ । उद्योगबाट धुलो बाहिर जान नदिनका लागि अत्याधुनिक उपकरण जडान गरिएकाले वातावरणमा प्रतिकूल असर नपार्ने प्रमुख पिलाइ उल्लेख गर्नुहुन्छ । रिद्धिसिद्धि सिमेन्टले मकवानपुरको राक्सिराङ र निबुवाटारको चुनढुंगा खानीबाट कच्चापदार्थ आपूर्ति गर्ने उद्योगका परियोजना प्रमुख पिलाइ जानकारी दिनुहुन्छ । यसबाहेक चितवनको शक्तिखोरमा रहेको खानीबाट पनि चुनढुंगा आपूर्ति गरिने भएको छ । उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आउँदा दैनिक १५ मेघावाट विद्युत् खपत गर्ने छ । यसका लागि प्राधिकरणले विद्युत् उपलब्ध गराउने प्रक्रिया जारी रहेको बताइएको छ । अम्बे र शंकरग्रुपको लगानीमा मिर्चैयामा पनि रिद्धिसिद्धि भन्दा ठूलो उद्योग स्थापना भइरहेको छ । नेपालमा सिमेन्टको बजार प्रशस्त रहेको र गुणस्तरीय उत्पादनको खोजीमा रहेका उपभोक्ताको मागलाई सम्बोधन गरिने भएको छ । नेपालमा सिमेन्टको माग बर्सेनि १५ देखि २० प्रतिशतका दरले वृद्धि भइरहेकाले लगानीकर्ताले सिमेन्ट उद्योगमा लगानी गरेको उद्योगका निर्देशक राजेश खरेल बताउनुहुन्छ । उहाँकाअनुसार स्वदेशी लगानीमा स्थापना भएका सिमेन्ट उद्योगमध्ये नेपालको हालसम्मको ठूलो उद्योग यो एउटा हो । उद्योगको भौतिक निर्माणकार्य अन्तिम चरणमा पुगेकाले तीन महिनाभित्र उत्पादन थाल्ने निर्देशक खरेल जानकारी दिनुहुन्छ । आफ्नै क्लिङकर उत्पादन गर्ने प्लान्ट जडानका लागि भने एक वर्षको समय लाग्ने भएकाले क्लिङकर उपकरण जडान नभएसम्म खरिद गरेर उत्पादन गर्ने उद्योगको योजना रहेको उहाँको भनाइ छ । ओपिसी र पिएससी दुई प्रकारका सिमेन्ट उत्पादन गर्ने उद्योगका निर्देशक खरेल बताउनुहुन्छ । सिमेन्ट उद्योगमा जर्मनी र डेनमार्कको अत्याधुनिक प्रविधिका उपकरण जडान गरिएको उद्योगले जनाएको छ । ४० बिगाहा क्षेत्रफलमा निर्माणाधीन उद्योगमा पूर्णतया स्वचालित उपकरण जडान भइरहेको छ ।

तीन सवारी ठोक्किदाँ अाठजना घाइते

चितवन । मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेका तीन सवारी साधन ठोक्किँदा आठ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान १०ः३० बजे भरतपुर महानगरपालिका–३ आँपटारी नजिक मुग्लिनतर्फबाट आउँदै गरेका सवारी ठोक्किएका थिए । प्रहरीका अनुसार बा १८च १३२२ नं को कारले ब्रेक लगाएपछि पछाडिबाट आउँदै गरेको बा १७ च५१३५ नं को स्कारपियो कारमा ठोक्किएको थियो । स्कारपियोको पछाडिबाट आउँदै गरेको ग १ ख ५९२५ नं को ट्रक स्कारपियोमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएका आठ जनामध्ये सात जनाको चितवन मेडिकल कलेज र एक जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । कार र स्कारपियोमा आउँदै गरेका यात्रु निजामती कर्मचारी युनियन (संघ)को महाधिवेशनमा सहभागी हुनआएका प्रतिनिधि हुन् । ट्रकका चालक र सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

टीयूको स्नातकोत्तर तह प्रथम वर्षको परीक्षा वैशाख २ गतेदेखि (परीक्षा तालिकासहित)

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (टीयू)ले स्नातकोत्तर तह प्रथम वर्षको परीक्षा आगामी बैशाख २ गतेदेखि गर्ने कार्यक्रम सार्वजनिक गरेको छ । विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा सार्वजनिक कार्यक्रम अनुसार स्नातकोत्तर तह प्रथम वर्षको शिक्षाशास्त्र, व्यवस्थापन, मानविकी र जनप्रशासन तर्फका नियमित तथा प्राइभेट र मौका परीक्षा बैशाख २ गतेदेखि सुरु हुने छन् । परीक्षा बैशाख २३ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा कार्यक्रम यसप्रकार छ :  

दिनानुदिन बढ्दैछ बलत्कारको घटना, किन चुपचाप छन् सम्बन्धित निकाय ?

राजविराज । सप्तरी जिल्लामा दिनानुदिन समाजमा बलात्कार जस्ता घटना बढिरहेको छ । एकपछि अर्काे महिला तथा किशोरीहरु बलात्कृत हुने गरेको घटना दोहोरिएका छन् । प्रहरीले बलात्कार घटनामा संलग्न अपराधीहरु पक्राउ गर्दै मुद्दा दर्ता गरिरहे पनि बलात्कारको श्रृंखला भने अझै रोकिएको छैन । फागुन पहिलो साता प्रहरीले खडक नगरपालिका ९ लालपत्ताका १८ वर्षीय राजदेव मण्डललाई पक्राउ गर्यो । १३ वर्षीया बालिका पार्वतीकुमारी मण्डललाई बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका उनी मृतक बालिकाकै ठुलोबुबाका छोरा हुन् । आफ्नै कोठामा सुतिरहेकी बहिनीलाई बलात्कार गरिसकेपछि कुर्ताको तुनाले घाँटी बाँधेर हत्या गरेको प्रहरीले जनाएको छ । ‘बालिका चिच्याएपछि घटना सार्वजनिक हुने डरले लुकाउन खोज्दा अर्को घटना घट्यो,’ एसपी मुकेशकुमार सिंहले घटना अनुसन्धानको स्मरण गर्दै भने, ‘त्यसपछि पनि परिवारका सबै मिलेर घटनालाई दबाउने प्रयास भइरहेको छ।’ सोही दिन तिलाठी–कोइलाडी गाउँपालिका ७ मन्सापुरकी ११ वर्षीया एक बालिका बलात्कारको शिकार भइन्। आरोपीलाई भोलिपल्टै पक्राउ गरी मुद्दा दर्ता गरिएको छ। यसैगरी, फागुन २७ मा १७ वर्षीया किशोरीको सामूहिक बलात्कार भयो। आरोपी शम्भुनाथ नगरपालिका ३ का २० वर्षीय एटलान्टिक चौधरी र सोही ठाउँका २० वर्षीय अजयकुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। अन्य आरोपितहरू सोही ठाउँका २२ वर्षीय अर्जुनकुमार साह, २१ वर्षीय मनोजकुमार साह, २० वर्षीय बबी चौधरी र नाम नखुलेका अन्य दुई जना फरार छन्। प्रहरीले उनीहरुको खोजी गरिरहेको छ। बलात्कारको आरोपमा पक्राउ परेका सबै पीडित युवतीका छिमेकी हुन्। त्यसको एकदिन अघिमात्रै २५ वर्षीया महिलाको सामूहिक बलात्कार भयो। आरोपीहरु विष्णुपुर गाउँपालिका ५ का ३५ वर्षीय जिवछ राम र ३ का २८ वर्षीय इसराइल मियाँ विरुद्ध प्रहरीले उजुरी दर्ता गरेको छ। फागुन २३ मा ९ वर्षीया बालिका बलात्कार गरेको आरोपमा १६ वर्षीय बालकविरुद्ध इलाका प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी दर्ता छ । फागुन २५ मा उजुरी दर्ता भएदेखि नै आरोपी फरार छन् । यस्तै, छिन्नमस्ता गाउँपालिकामा दुई वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा छिमेकी १२ वर्षीय बालक पनि प्रहरी नियन्त्रणमा छन्। पछिल्लो पटक गत शुक्रबार मात्रै लिफ्ट मागेर माइक्रोमा चढेकी एक युवतिलाई माईक्रोबसका चालक र सहचालकले नै सामूहिक बलात्कार गरे। छिन्नमस्ता–काठमाडौं चल्ने बा.५.प ३१४१ नम्बरको माइक्रो बसभित्रै १७ वर्षीय ती किशोरीको बलात्कार भएको प्रहरीले जनाएको छ। घटनाका आरोपी सिरहाको भगवानपुर ९ घर भएका चालक वैजनाथ दास र बाँकेको राप्ती सोनारी ५ का सहचालक खेमराज वैस्यलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार विगत एक महिनाभित्रै सप्तरीमा बलात्कारका ९ वटा घटना भएका छन्। अधिकांश घटनामा परिवारका सदस्य र छिमेकीहरु संलग्न पाइएको छ भने केही घटनामा मात्रै बाहिरी व्यक्तिहरु संलग्न भएको प्रहरीको भनाइ छ। एसपी सिंहका अनुसार चालु आर्थिक वर्षमा जिल्लामा २१ वटा बलात्कार र १० वटा बलात्कार उद्योगका घटना भएका छन्। जसमा १८ जनालाई पक्राउ गरिएको र अन्य आरोपीको खोजी भइरहेको छ। जिल्लामा बढ्दो बलात्कारका घटनालाई न्यूनीकरण गर्न सामाजिक सचेतना आवश्यक रहेको उनले बताए। ‘सुरक्षा व्यवस्था कडा पारेर मात्रै बलात्कार नियन्त्रण गर्न कठिन छ,’ एसपी सिंहले भने, ‘जनस्तरमै यस विषयमा जागरण ल्याउन नसके यसले अझै भयावह रुप लिन सक्छ ।’    

बिर्तामोडको फोहर व्यवस्थापन गर्न १४ हप्तादेखि सर्वेक्षण

बिर्तामोड, चैत ४ । फोहरमैलाको दिगो व्यवस्थापनका लागि बिर्तामोड नगरपालिकामा सर्वेक्षण शुरु गरिएको छ। नगरमा उत्पादित फोहरको दिगो व्यवस्थापनका लागि रणनीति तयार गर्न सर्वेक्षण शुरु गरिएको बिर्तामोड नगरपालिकाले जनाएको छ। वातावरण संरक्षण मञ्च नामक संस्थाले नगर क्षेत्रमा उत्पादित फोहरको तथ्यांक संकलन गरिरहेको नगरपालिकाले जनाएको छ। वातावरण मञ्चका अध्यक्ष हैकम घिसिङका अनुसार वातावरण विज्ञान अध्ययन गरिरहेका १२ जना विद्यार्थी तथ्यांक संकलनमा खटिएका छन्। ‘बिर्तामोडको वडा नम्बर ४ र ५ का १ सय घर छनोट गरेर दैनिक उत्पादित फोहरबाट अध्ययन भइरहेको छ’, उनले भने, ‘जसका लागि विद्यार्थीले हरेक दिन बिहान घरको फोहरलाई संकलन गर्ने गरेका छन्।’ ७ वटा समूहमा विभाजित सर्वेक्षण टोलीले कुहिने र नकुहिने फोहरको वर्गीकरणसमेत गर्ने गरेका छन् १ सय वटा घर, ३० वटा व्यापारिक प्रतिष्ठान र २० वटा संघसंस्थाबाट फोहर संकलन गरेको १४ हप्ता पूरा भएको मन्चका अध्यक्ष घिसिङले जानकारी दिए। सर्वेक्षकहरुले नकुहिने फोहरको व्यवस्थापनमा चुनौती रहेको जनाएका छन्। कुहिने फोहरलाई उत्पादकले नै व्यवस्थापन गर्न सक्ने अवस्था रहेको मञ्चका अध्यक्ष घिसिङको भनाइ छ। बिर्तामोड बजारमा दैनिक ६ ट्र्याक्टर फोहर उत्पादन हुने गरेको छ।

सुनसरीको मधुवनमा भिषण आगलागी, ६० लाख बढीको नोक्सानी

इटहरी, चैत ४ । सुनसरी जिल्लाको साविक मधुवन-९ अर्थात हालको बराहक्षेत्र नगरपालिका–११ इक्राही बस्तीमा शनिबार राति भिषण आगलागी हुँदा कम्तीमा रु ६० लाख बढीको नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीमा कम्तीमा बस्तीमा रहेका ६२ परिवारको झण्डै ८२ वटा कर्कटपाता र फुसका घर जलेर नष्ट भएको वडाध्यक्ष केदार विष्टले प्रारम्भिक जानकारी दिए । क्षतिको यकिन विवरण आउन अझै समय लाग्ने पनि उनको भनाइ रहेको छ । आगलागीमा बस्ती नै सखाप भएको तथा केही बालबालिका पनि सामान्य घाइते भएका छन् । उक्त आगलागीमा दुईवटा चौपाया पनि जलेर मरेको पनि पीडितले बताएको वडाध्यक्ष विष्टले जानकारी दिएका छन् । आगो कसको घरबाट निक्लिएको हो भन्ने यकीन नभएको पनि उनले जानकारी दिंदै क्षतिको अझै यकिन विवरण आई नसकेको बताए । बराहक्षेत्र नगरपालिकाका प्रमुख लिलम खनालले निकै ठूलो विपद् परेकाले नगरपालिकाले तत्काल आपत्कालीन राहतका विषयमा अहिले बिहानै स्थलगत अवलोकन गर्ने कार्य भइरहेको तथा आपत्कालीन सहयोग उपलब्ध गराउन नगरपालिकाले तयारी गरिरहेको जानकारी दिए । बस्ती नै सखाप हुने गरी भएको आगोलाई इटहरी, धरान, इनरुवा र राजविराजबाट आएका चार बारुणयन्त्र तथा नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी एवं स्थानीयवासीको सक्रियतामा राति १ बजेतिर आगोलाई पूर्ण नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमौरियाले जानकारी दिए । आगलागीमा परेर स्थानीयवासी सबैको घरमा भएका खाद्यान्न, लत्ताकपडा, बहुमूल्य सुनचाँदी, भाडावर्तनलगायत सबै नै खरानी भएकाले उनीहरुका लागि आपत्कालीन सबै प्रकारका राहतको आवश्यकता रहेको पनि प्रनाउ चिमौरियाले जानकारी दिएका छन् ।

संविधान बोकेर सगरमाथा पुगेका अनिष ऋण तिर्न नसकेर बोक्दैछन् स्काउटको लोगो

विर्तामोड, चैत ४ । चन्द्रगढी ३ का २४ बर्षीय अनिष लुइँटेलले यसअघि नेपालको सविधान बोकेर सगरमाथा आरोहण गरेका थिए । तर, त्यसबेला लागेको ऋण तिर्न नसकेर फेरि सगरमाथा आरोहण गर्न लागेको उनले बताएका छन् । आजको अन्नपूर्ण पोस्टको पृष्ठ ८ मा यो खबर छ । ऋण तिर्ने रकम संकलन होला कि भनेर २४ औं वल्र्ड रेकर्ड स्काउट जेम्बोरीको लोगो बोकेर यही महिना सगरमाथा आरोहण गर्न लागेको उनको भनाइ छ । २०७३ जेठ ८ गते सगरमाथा आरोहण गर्दा लागेको ऋण २० लाख रुपैयाँ उनले चुक्ता गर्न सकेका छैनन् । स्काउटको लोगो सगरमाथामा पुर्याएपछि अमेरिकामा हुने २४ औं वल्र्ड स्काउट जेम्बोरीमा आफूलाई सम्मान गर्दै केही रकम दिइने र त्यसले ऋण तिर्ने योजना बनाएको उनले सुनाए ।

एक लाख पनि ऋण दिन नसक्ने अवस्थामा बैंक

काठमाडौं, चैत ४ । करिव ६ महिनादेखि लगानी गर्ने पैसाको अभाव झेल्दै आएका अधिकांश वाणिज्य बैंकहरु अहिले एक लाख रुपैयाँ पिनि ऋण दिन नसक्ने अवस्थामा पुगेका छन् । सर्वसाधारणले बैंकमा पैसा जम्मागर्न नआएपछि पुँजी अभावमका कर्जा लिन आउनेहरु रित्तो हात फर्कन बाध्य भएका छन् । बैंकमा मिलेसम्मको कर्जा प्रवाह गरेको र दैनिक ऋणको माग पनि बढ्दै जाँदा त्यस अनुपातमा निक्षेप संकलन नभएपछि बैंकहरु यस्तो अवस्थामा आएका हुन् ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

सुन तस्कर गोरेले करेन्ट लगाएर गरे सहयोगीको हत्या

विराटनगर, चैत ४ । प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका सुन तस्कर गोरे एवं रुपेश भनेर चिनिने चूडामणि उप्रेतीले सहयोगीकै हत्या गरेको खुलेको छ । आफ्नो सहयोगीको रुपमा रहेका उर्लाबारी ७ का ३५ बर्षीय सनम शाक्यको हत्या उप्रेतीले गरेको प्रहरी अनुसन्धानले देखाएको छ । चीनको केरुङ नाका हुँदै तस्करी गरेर नेपाल भित्राएको उप्रेतीको साढे ३३ किलो सुन हराएको विषयमा विवाद भई हत्या गरेको खुलेको मोरङ प्रहरी प्रमुह एसपी अरुणकुमार बीसीले बताए । उनका अनुसार करेन्ट लगाएर यातना दिने क्रममा शाक्यको फागुन १८ गते उर्लाबारीको सोल्टी खोला किनारको जंगलमा मृत्यु भएको थियो । उनको शव गायब बनाउने प्रयास गरेको पनि प्रहरी अनुसन्धानमा देखिएको छ । आजको अन्नपूर्ण पोस्टको पृष्ठ ८ मा यो समाचार छापिएको छ ।

बोक्सी आरोपमा कुटपिट हुँदा रमिते बनेका गाउँलेले राधाको सम्मानमा ताली बजाए

कैलाली, चैत ४ । बोक्सी आरोपमा भोलेबाबा भनिने रामबहादुर चौधरी र उनका सहयोगी युवतीले १८ बर्षीया राधालाई कुटपिट गर्दा रमिते बनेर ताली बजाउने यहाँका गाउँलेले निर्दोष र निहत्था युवतीले क्रुर ढंगले कुटपिट गर्दा नबचाएकोमा गल्ती महसुश गरेका छन् । ‘बोक्सी भनेर राधालाई ६ घन्टासम्म कुटपिट गर्दा पनि नबचाउनु गल्ती भएको भन्दै सबै गाउँलेले महसुस गरेका छन्’, नवगठित शोषणरहित महिला संजाल देउकलियाकी सचिब रेनुका बोहोराले भनिन्‘यो घटनापछि अहिले सबैलाई पछुतो भएको छ ।’ बोक्सी भनेर कुटपिट हुँदा हामीले नरोकेर गाउँकै बेइज्जत भयो भनेर आपसमा कुराकानी हुने गरेको बताइन । अबदेखि गाउँमा बोक्सी आरोपमा यस्ता घटना हुन नदिने भनेर गाउँलेहरु सजग भएका छन् । पीडित राधालाई गाउँमा सम्मान बोक्सी आरोपमा कुटपिट गरिएकी राधा चौधरीलाई शुक्रबार घोडाघोडी नगरपालिका–५ देउकलियामा सयौं गाउँलेका अगाडी सम्मान गरिएको छ । स्थानीय राष्ट्रिय माबिमा शुक्रबार आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले उनलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । उनी यही विद्यालयमा अध्ययनरत छिन् । बोक्सी आरोपमा भोलेबाबा र उसका सहयोगीले कुटपिट गर्दा ताली बजाउने गाउँलेले बोक्सी कोही हुँदैन भन्दै पीडित भएकी राधालाई सम्मान गर्दा ताली बजाएरु समर्थन जनाएका थिए । राधालाई बोल्न भनेपछि उनले गाउँलेका अगाडि केही बोल्न सकिनन् । सम्मान भए पनि उनी हतास मुद्रामा देखिएकी थिइन । उनले गाउँमा सहज वातावरण बनेमा गाउँ फर्केर पढ्ने बताएकी छिन् । बैशाखमा आइरहेको परीक्षा विग्रने उनको चिन्ता छ । -नागरिक दैनिकबाट

एसइई परीक्षामा चिट चोर्ने चोराउनेलाई एक लाख जरिवाना

काठमाडौं, चैत ४ । केन्द्रबाट सञ्चालन हुने यो बर्षको अन्तिम माध्यमिक शिक्षा परीक्षा (इसइई) को तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । ४ लाख ८५ हजार ८ सय ८६ जना परीक्षार्थी सहभागी हअुने यो परीक्षामा नियमित र एक्जाम्टेडको छुट्टाछुट्टै प्रश्नपत्र छापिएको छ । प्रदेशअनुसार प्रश्नपत्र तयार हुन नसकेपछि चारवटा क्लस्टरका आधारमा प्रश्नपत्र छापिएका छन् । चैत ८ देखि १८ गतेसम्म सञ्चालन हुने परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा यो खबर छ । परीक्षामा चिट चोर्ने/चोराउनेलगायतका अमर्यादित गतिविधि भएमा एक लाख रुपैयाँ जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुने बोर्डले जनाएको छ । गत बर्षदेखि अक्षरांक प्रणालीबाट परीक्षाफल प्रकाशित हुँदै आएको छ । आगामी बर्षदेखि एसइई परीक्षा ७ वटै प्रदेशबाट सञ्चालन गरिँदै छ ।

एकीकृत कम्युनिस्ट पार्टी बनाएर भावी पुस्तालाई जिम्मा दिँदै छाैँ : वामदेव

काठमाडौं, चैत ४ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आगामी वैशाख ९ गते एकीकृत पार्टी घोषणा हुने जानकारी दिएका छन् । नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको दिनमा नै नेकपा एमाले र नेकपा माओवादी केन्द्रले एकीकृत पार्टी एकताको घोषणा गर्ने तयारी गरेको उनले बताए । एमाले धादिङ–काठमाडौं सम्पर्क मञ्चले तीनै तहका जनप्रतिनिधिलाई सम्मान गर्न शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी एकता प्रक्रिया अगाडि बढेको र नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको दिनमा नै एकताको घोषणा गर्ने तयारी गरिएको बताए । आफूले लामो समयदेखि दुई पार्टीलाई मिलाउन अधिकतम् प्रयास गरेको र सफलताको दिशामा पुर्‍याएको उल्लेख गर्दै उपाध्यक्ष गौतमले भने–‘२०६३ सालदेखि मैले एकताको प्रयास गरें । अहिले आएर सफल भएको छु । यसलाई अझ सार्थक बनाएर मुलुकलाई समृद्ध बनाउने लक्ष्य छ । त्यो लक्ष्यमासमेत सफलता हासिल गर्नेछ भन्ने विश्वास लिएको छु ।’ पार्टी एकता संयोजन समितिले एमालेका नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका नेता रामबहादुर थापाको संयोजत्वका दुई कार्यदल बनाएर सांगठनिक तथा एकीकृत पार्टीको विधान बनाउने काम अगाडि बढिरहेको उपाध्यक्ष गौतमको भनाइ थियो । सरकार विस्तार, राष्ट्रपति निर्वाचन, प्रधानमन्त्रीको विश्वासको मतलगायत राष्ट्रिय महत्वका काम गर्नुपर्ने भएकाले एकता प्रक्रियाका काममा केही समय लागेकोजस्तो भएपनि दुई कार्यदलले छिट्टै प्रतिवेदन बुझाउने उनले विश्वास व्यक्त गरे । एमाले र माओवादी केन्द्रबीचको एकता राष्ट्रिय आवश्यकताले अगाडि बढेको प्रस्टोक्ति दिँदै उपाध्यक्ष गौतमले विगतमा आफूलाई पार्टी फुटाएको आरोप लाग्ने गरेको र त्यसलाई परिपूर्ति गर्न पनि आफूले पार्टी एकताको प्रयास गरेको बताए । उनले आफूले बर्दियामा निर्वाचन हार्नुपर्ने कुनै कारण नभएपनि निर्वाचनमा पराजित भएको उल्लेख गरे । उपाध्यक्ष गौतमले भने–‘पार्टी एकताको पहल गर्ने र दिनरात नभनी खटिने मैले निर्वाचनमा पराजित हुनुपर्ने कुनै कारण थिएन । तर, प्राविधिकरुपमा मैले हारें । देशले जितेको छ ।’ उपाध्यक्ष गौतमले विचारसहितको एकीकृत कम्युनिस्ट पार्टी बनाएर भावी पुस्तालाई आफूहरुले जिम्मा दिन लागेको बताए । ‘हामीले विचार, कार्यक्रमसहितको शक्तिशाली कम्युनिस्ट पार्टी भावी पुस्तालाई दिन लागेका छौं । अब भावी पुस्ताले हामीलाई प्रश्न उठाउने ठाउँसमेत बाँकी रहने छैन’–उपाध्यक्ष गौतमले भने । वर्तमान सरकारले जनपक्षीय काम गर्ने विश्वास व्यक्त गर्दै उनले एकाध वर्षमा मुलुकले ठूलो फड्को हान्ने जिकिर गरे । कार्यक्रममा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरिएको थियो ।

अवैध एक किलो चाँदीसहित भारतीय नागरिक पक्राउ

धनुषा, चैत ३ । ट्राफिक प्रहरीले जनकपुरबाट एक किलो १० ग्राम अवैध चाँदीसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । शनिबार दिउँसो २ बजे जनकपुरबाट ढल्केबरतर्फ जाँदै गरेको को १ च ७११८ नम्बरको कारमा सुराकीको आधारमा चेक गर्दा अवैध चाँदी बरामद भएको ट्राफिक प्रहरी चेकपोष्ट मुजेलियाका प्रहरी नायव निरीक्षक शैलेन्द्र ठाकुरले जानकारी दिनुभयो । चाँदीसहित कारमा सवार भारत घर भै हाल सुनसरीको इटहरी बस्दै आएका ३५ वर्षका हरविन्द सिंह र जनकपुर उपमहानगरपालिका १० बस्ने ४५ वर्षका राजकुमार साहलाई पक्राउ गरेको छ । बरामद चाँदीको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।