छिन्नमस्तामा डिजिटल एग्रीकल्चर रूम स्थापना गरिने

राजविराज । कृषिलाई आधुनिकीकरण गरि उत्पादन बढाउने उदेश्यले छिन्नमस्ता गाउँपालिकाले कृषि सुचना तथा प्रशिक्षण केन्द्रको सहकार्यमा पालिकामा डिजिटल एग्रीकल्चर रूम स्थापना गर्ने भएको छ । 

कृषकहरूको समस्या समाधानको लागि डिजिटल भिलेज इन्टिएटिभ कार्यक्रम अन्तर्गत पालिकामा डिजिटल एग्रीकल्चर रुमको स्थापना गर्न लागेको पालिका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए । 

’यस रूममा पालिकाको कृषि विज्ञ, पशु विज्ञ तथा कार्यक्रम विज्ञ रहने छन्, उनीहरूले कृषकको बालीमा आइपरेको रोग, समस्याको समाधान गर्नेछन्,’ अध्यक्ष चौधरीले भने । 
यस कार्यक्रम अन्तर्गत किसानहरूको मोबाइल फोनमा टेली प्वाइन्ट डाक्टर नामको एप राखिने उनले बताए । 

’कृषकहरूको मोबाइलमा यो एप राखिनेछ, जसबाट उनीहरूले आफ्नो बालीको फोटो खिचेर त्यसमा कुन किरा लागेको, के रोग हो थाहा पाउँछन् र त्यसको समाधान पाउँछन्, यो चौबिसै घण्टा प्रयोग गर्न सकिन्छ,’ अध्यक्ष चौधरीले भने, ’फोटो खिचेर एग्रीकल्चर रूममा रहेको विज्ञसँग समेत समाधान पाउन सक्छन् ।’

उनले पालिकामा कृषकहरुको सूचिकरण गरिने तथा सोलार वाटर पम्प समेत जडान गर्ने बताए । यसले कृषिमा कम लागतमा उत्पादन बढ्ने विश्वास व्यक्त गरे । 

त्यस्तै यसअघि पालिकाले डिजिटिल सोइल म्यापिङ्ग (कम्प्युटरमा आधारित माटो नक्सांकन) कार्यक्रम गर्न लागेको छ । जसले जग्गाहरूको फोसफोरस, पोटास, नाइट्रोजन, ओरगेनिङ्ग मेटर, टेक्सटल, जमिनहरुको किसिम लगायतको विषयबस्तुको डाटा पाउनेछन् । 

यसले जग्गाको अवस्था, जग्गामा मल खाद्यको लागि रणनिती बनाउन मदत गर्नेछ । जसले संतुलित मलखाद्यको प्रयोग र कृषि उत्पादन बढाउन तथा विषादीरहित उत्पादनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास पालिकाले लिएको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

काठमाडौं । जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । छुट्टाछुट्टै स्थानबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । बर्दियामा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका ८ भगतपुर बस्ने २३ वर्षीय सन्तोष न्यौपानेलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सन्तोषले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय जयनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस्तै, दैलेखमा २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गुराँस गाउँपालिका ४ मुङग्रा बस्ने २१ वर्षीय धन बहादुर खड्कालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । खड्काले ती महिलालाई डुङ्गेश्वर गाउँपालिका ६ लटालीस्थित बाटो मुनी लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट घोडाबासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।  

बुवाको हत्या गरेको अभियोगमा पक्राउ

तनहुँ । आफ्नै बुवाको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ७६ वर्षीय बुवा राप बहादुर बिकलाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा तनहुँको म्याग्दे गाउँपालिका ६ बस्ने २६ वर्षीय दिपक बिकलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । तनहुँ शुक्लागण्डकी नगरपालिका ९ घारीस्थित छोरी रस्मी बिकको घरमा बस्दै आएका राप बहादुरलाई दिपकले चक्कु प्रहार गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलचौतराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको  हो । यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।  

म कसैको दाश बन्ने व्यक्ति होइनः माधव नेपाल

रौतहट। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफू कसैको दास बन्ने व्यक्ति नभएको बताएका छन् । गृह जिल्ला रौतहटमा रहेका नेपालले आफूहरूलाई कसैले कमजोर ठान्ने कुचेष्टा गरे देशमा फेरि अर्को उथलपुथल गर्न बेर नलगाउने चेतावनी समेत दिए । पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले आफू देशका ठुला हस्ती राजा वीरेन्द्रदेखि  ज्ञानेन्द्र, गणेशमान, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालादेखि  प्रचण्डसम्मलाई सामना गरेर आएको नेता भएकोले आफू र आफ्ना पार्टीलाई कसैले कमजोर नठान्न चेतावनी दिए । गौर नगरपालिका–२ महादेवपट्टि स्थित लालबकैया नदीमा नवनिर्मित मधेस प्रदेशकै सबभन्दा दोस्रो लामो झोलुङ्गे पुलको उद्घाटन गर्न अध्यक्ष माधव नेपालले त्यता गएका थिए । त्यस क्रममा उनले आफूहरूको आफ्नै स्वाभिमान, पहिचान, मूल्यमान्यता र महत्त्व रहेकोले हल्का नलिन सुझाव दिए ।

६ नेपालीले मलेसिया सुपर वुमन्स कप खेल्ने

काठमाडौं । ६ जना नेपाली महिला खेलाडीले मलेसिया सुपर वुमन्स कप खेल्ने भएका छन् । राष्ट्रिय महिला क्रिकेट टीमका कप्तान इन्दु बर्मासहित ६ जनाले मलेसिया क्रिकेट एसोसिएसनले आयोजना गर्ने मलेसिया सुपर वुमन्स कप खेल्ने निश्चित भएको हो । बर्मा सहित रुबिना क्षेत्री, सीता राना मगर, पूजा महतो, कविता कुँवर र अश्मिना कर्माचार्यले मलेसिया सुपर वुमन्स कप खेल्न लागेका बताइएको छ । मलेसिया सुपर वुमन्स कप अप्रिल २४ देखि मे ५ सम्म मलेसियामा सञ्चालन हुनेछ ।

तामाकोसीमा नुहाउन गएका दोलखाका २ युवा बेपत्ता

काठमाडौं । दोलखाको तामाकोसी नदीमा डुबेर दुई युवा बेपत्ता भएका छन् । स्थानीय गौरीशंकर गाउँपालिका ८ का २७ वर्षीय जयबहादुर तामाङ र २५ वर्षीय सिमबहादुर तामाङ तामाकोशी नदीमा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।  प्रहरीका अनुसार उनीहरु शुक्रबार दिउँसो ३ बजे नै नुहाउने क्रममा नदीमा बेपत्ता भएका हुन् । प्रहरीलाई भने यो खबर आज बिहान नौ बजे मात्रै दिइएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक शरण महर्जनले बताए ।  खबर पाए लगत्तै प्रहरी टोली बेपत्ता युवाको खोजीमा परिचालन भएको उनले जानकारी दिए । स्थानीय मेलामा गएका उनीहरु नुहाउन भन्दै नदीमा गएका थिए। तर उनीहरु साँझसम्म पनि घर नफर्किएपछि आफन्तले खोजी सुरु गरेका थिए । खोजी गर्ने क्रममा दुबैले लगाउने कपडा नदीको डिलमा फेला परेको छ ।

गण्डकीमा चुमानलाई अर्थ र मनाङेलाई भौतिक मन्त्रालय

पोखरा । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषद्‌मा जिम्मेवारी बाँडफाट गरेका छन्। उनले चैत २५ गते बिनाविभागीय मन्त्री बनाएका माओवादी केन्द्रमा हरिबहादुर चुमान अर्थ र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई भौतिक योजना मन्त्रालयको जिम्मेवारी दिएका हुन्। शनिबार बिहान बसेको गण्डकी मन्त्रिपरिषद्‌को बैठकले यो निर्णय गरेको हो ।  शुक्रबारलाई डाकिएको संसद बैठक कांग्रेसले बहिष्कार गरेपछि मुख्यमन्त्री अधिकारीले यो निर्णय लिएका हुन् । सभामुख कृष्ण धिताललाई समेत जोडेर बहुमत पुर्‍याएका मुख्यमन्त्रीको नियुक्ति नै अवैधानिक भएको भन्दै कांग्रेसले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो ।  हाललाई दीर्घकालीन महत्त्वका निर्णय नगर्न भनेको सर्वोच्च अदालतले मुख्यमन्त्री अधिकारीविरुद्धको मुद्दा सुनुवाइ गर्ने यही वैशाख १० गतेलाई पेसी तोकेको छ ।

धनकुटामा माइक्रोबस पल्टियो, १९ जना घाइते

काठमाडौं । काठमाडौँबाट संखुवासभा जाँदै गरेको माइक्रोबस धनकुटामा दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। धनकुटा नगरपालिका–९ मूलघाट रुद्रबारी सडकखण्डमा गएराति २ बजे माइक्रोबस सडकबाट तल खस्दा यात्रुहरु घाइते भएका हुन् । घाइतेमध्ये ९ जनाको उपचार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकाउ उपचार भइरहेको छ।सामान्य घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । तीव्र गतिको कारण माइक्रो दुर्घटनामा परेको अनुमान प्रहरीले गरेको छ। तर, चालकले भने साँधुरो सडकमा ट्रकले च्यापेका कारण माइक्रो पल्टिएको बताएका छन्। दुर्घटनापछि माइक्रोबसका चालक भक्तपुर सूर्यबिनायकका ४६ वर्षीय हरिशरण आलेमगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

काठमाडौँ महानगरले माग्यो कृषि विज्ञ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको स्वर्णिम योजना अन्तर्गत एग्रो पुलिङ कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि दुई जना कृषि विज्ञ माग गरेको छ।  आज एक सूचना जारी गर्दै महानगरले इच्छुक विज्ञलाई सात दिनभित्र महानगरपालिकाको श्रम बैङ्कमा आबद्ध भई कृषि तथा पशुपन्छी विभागमा जानकारी गराउनुहुन आग्रह गरिएको छ।  कृषि विज्ञको सेवा सुविधा सरकारले तोकिए बमोजिम हुने कृषि तथा पशुपन्छी विभागद्वारा जारी सूचनामा उल्लेख छ। 

काठमाडौंको अनामनगर लगायतका यी क्षेत्रमा आज हुनेछ विद्युत सेवा अवरुद्ध

काठमाडौं । आज काठमाडौंका विभिन्न ठाउँमा विद्युत सेवा अवरुद्ध हुने भएको छ ।विभिन्न ठाउँका फिडरहरू सटडाउन गरेर मर्मत कार्य गर्नु पर्ने भएकोले विद्युत सेवा बन्द हुने नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ । रत्नपार्कको वितरण केन्द्रको अनामनगर, जोरपाटी वितरण केन्द्रको मुलपानी र डांछी फिडरअन्तर्गत पर्ने ठाउँमा विद्युत सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । लोकसेवा कार्यालयको पानी ट्याङ्की, सिंहदरबारको पूर्वी गेट अनामनगर हुँदै न्यरो हस्पिटल, प्रभु बैंकका साथै धोबीखोलादेखि मैतीदेवी, घट्टेकुलो क्षेत्रमा साँझ ५ बजेसम्म विद्युत अवरुद्ध हुनेछ । यस्तै, मूलपानी फिडरअन्तर्गत बाबाचोक, मूलपानी चउर, मिलन चोक, फुयाल गाउँ, तिवारी टोल, गोकर्ण फरेस्ट रिसोर्ट, थलीलगायतका स्थानमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार डांछी फिडरअन्तर्गत शिवचोक, अर्याल गाउँ, दक्षिणढोका, होटल नोर्लिङ,ग्रिनहिल सिटी क्षेत्रमा बिहान १० बजेदेखि मध्याह्न साढे १२ बजेसम्म विद्युत अवरूद्ध हुनेछ । प्राधिकरणका अनुसार आज नुवाकोट र सुर्खेतका विभिन्न ठाउँमा पनि केही समय विद्युत सेवा अवरुद्ध हुनेछ ।

भारतले रोक्यो नेपाली चियाको निर्यात, नेपाली उद्यमीलाई के पर्छ असर ?

झापा। भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको निर्यात रोकेको छ। नेपालका चिया उद्यमीहरुले यसबाट गम्भीर सङ्कट निम्तिने बताएका छन् । पूर्वीनाका काँकडभिट्टाबाट जाँचपास भएर भारतीय सीमावर्ती पानीटङ्की नाका पुगेको १७ ट्रक तयारी चिया आज भारतले रोकेको हो ।  चिया निर्यातको अनुमति नपाएर रोकिएका ती ट्रकहरु पानीटङ्कीको सडकमा असुरक्षित अवस्थामा रहेको चिया व्यवसायी एवम् भन्सार प्रतिनिधि रोशन अग्रवालले जानकारी दिए। मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख रामप्रसाद रेग्मीले भारतीय भन्सारमा नेपाली चिया रोकिएको स्वीकार गर्दै त्यसलाई खुलाउन स्थानीय र केन्द्रीय तहबाट प्रयास भइरहेको बताए।  भारतीय नाकामा नेपाली चिया रोकिएको जानकारी आएपछि पानीटङ्कीस्थल भन्सार कार्यालयका समकक्षीसँग आज भेटेर समस्या समाधानका लागि आग्रह गरेको भन्सार प्रमुख रेग्मीले बताए। मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष खेमराज प्रसाईले नेपाली चियाको निर्यात रोक्न भारत सरकारले गुणस्तर परीक्षणको नयाँ बखेडा झिकेको प्रतिक्रिया दिए। तत्काल यसको समाधान नखोजिए नेपाली चिया उद्योग सङ्कटमा फस्ने उनको भनाइ छ । चिया व्यवसायी एवम् भन्सार प्रतिनिधि अग्रवालका अनुसार पानीटङ्कीस्थित भारतीयस्थल भन्सार कार्यालयले हरेक ट्रकमा नेपाली चियाको अलग–अलग गुणस्तर परीक्षण गरिनुपर्ने नयाँ नियम लगाएर निर्यातमा रोक लगाएको हो । “यसअघि एउटा कम्पनीले एउटा नमूनाको गुणस्तर जाँचपास गराएको ‘रिपोर्ट’ले १५ दिनसम्म चिया निर्यात गर्दा पनि मान्यता पाउँथ्यो,” व्यवसायी अग्रवालले भने, “अहिले पानीटङ्कीको भारतीय भन्सारले हरेक गाडीको छुट्टाछुट्टै नमूनाको गुणस्तर जाँचपास रिपोर्ट ल्याउनुपर्ने अड्को थापेको छ ।” पानीटङ्की भन्सारमा गोदामको सुविधा नभएकाले नेपालबाट चिया ‘लोड’ भएर गएका १७ वटा ट्रक खुला सडकमा अलपत्र परेको उनले बताए। त्रिपालले छोपेर सडकमा अलपत्र अवस्थामा चिया राखिएको ट्रकमा राति चोरी  हुनसक्ने जोखिम छ । अलपत्र ट्रकहरुमध्ये नेपाल चिया विकास निगमको छवटा ट्रक छन् भने अन्य सामान हिमालयन रेञ्जलगायत चिया उद्योगका हुन् । सिटिसी र अर्थोडक्स गरी दुवै प्रकारका चिया भारत निर्यात हुँदैआएको छ। नेपाली चियाको ९० प्रतिशत निर्यात भारतमै हुने गरेको छ। निर्यात हुने चियाको ९२ प्रतिशत काँकडभिट्टा नाका भएर भारत जाने गरेको छ। चिया व्यवसायीका अनुसार भारतले नेपालमा गरिएको गुणस्तर जाँचको रिपोर्टलाई मान्यता दिएको छैन ।  भारतको पानीटङ्की भन्सारमा समेत गुणस्तर जाँच्ने प्रयोगशाला छैन । भारतको कोलकाता, दिल्ली, पटनालगायत स्थानका प्रयोगशालामा गरिएको गुणस्तर जाँचपासलाई भारतीय भन्सारले मान्यता दिने हुँदा यसबाट नेपाली चिया निर्यातमा संलग्न व्यवसायीले झन्झट भोग्दैआएका छन् । रासस

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि

काठमाडौं।नेकपा एमालेको दुई दिने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शनिबार(आज)देखि सुरु हुँदैछ। बैठकमा केन्द्रीय कमिटी, केन्द्रीय निकायका सदस्य, आयोजक र परिषद् सदस्य गरी दुई हजार ४५४ जना सहभागी हुनेछन्।  पार्टी कार्यालय च्यासलमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महासचिव शङ्कर पोखरेलले परिषद् बैठकको औचित्यबारे जानकारी गराए। उनले बैठकबाट पार्टीको समग्र कामको समीक्षा र आगामी कामको दिशानिर्देश लिइने बताए।  आगामी दिनमा पार्टीलाई विकसित एमालेका रूपमा अघि बढाउन स्पष्ट मार्गनिर्देश गर्नका साथै राष्ट्रिय राजनीतिलाई पनि सही दिशामा अघि बढाउन परिषद् बैठक महत्त्वपूर्ण हुने उनको भनाई थियो । बैठकमा ६ वटा प्रतिवेदनमाथि छलफल हुनेछ । परिषद् बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गर्नेछन् भने महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । यो बाहेक केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्ले पनि प्रतिवेदन प्रस्तुत गर्ने छन् । ती सबै दस्ताबेज मोबाइल एपबाट सहभागीहरूले अध्ययन गर्न सक्नेछन् । बैठकमा एमालेले २०८० मा चलाएको मिसन ग्रासरुट र झुलाघाट चिवाभन्ज्याङ संकल्पयात्राको समीक्षा समेत गर्ने बताइएको छ।त्यसैगरी पार्टीका केन्द्रीय सदस्यहरूको कार्यविभाजन अनसारको कामको मुल्याङ्कन समेत बैठकमा हुनेछ ।  दुई राष्ट्रिय महाधिवेशनको बिचमा आवश्यकताअनुसार परिषद् बैठक बस्ने एमालेको विधानमा उल्लेख छ । एमालेको महाधिवेशन २०७८ साल मङ्सिरमा सम्पन्न भएको थियो । पाँच पाँच वर्षमा हुने एमाले महाधिवेशन आउन अव २ वर्षमात्र बाँकी छ ।

परासीको पाल्हीनन्दनमा आगलागी हुँदा जले १० घर

परासी । पश्चिमनवलपरासीको पडरी गाउँमा आगलागी भएको छ । पाल्हीनन्दन गाउँपालिका–६ स्थित पडरी गाउँमा आगलागी हुँदा १० घर जलेर नष्ट भएका हुन् । आगलागीमा ८ वटा बाख्रा पनि मरेको परासीका डिएसपी रेशम बोहोराले जानकारी दिएका छन्।आगलागीबाट मानवीय क्षति भने नभएको र अन्य क्षतिको एकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । दिउँसो ४ बजेतिर लागेको आगो प्रहरी, नेपाली सेना, स्थानीय, रामग्राम र बर्दघाट नगरपालिकाको दमकलको सहयोगमा साँझ पौने ६ बजेतिर नियन्त्रणमा आएको थियो । गर्मी लागेसँगै पछिल्लो समय आगलागीका घटना बढेको छ ।

पाँचवटा प्रदेशका केही भू-भागमा वर्षाको सम्भावना

काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहे पनि भारी वर्षाको सम्भावना भने नभएकाे जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ।                                               पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ।  जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।  कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा वर्षा र हिमपातको सम्भावना छ। विभागले राति कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ।कोसी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।  

विद्युत प्राधिकरण तम्घास शाखा कार्यालयमा आगलागी

काठमाडौं । तम्घासमा रहेको विद्युत प्राधिकरणको शाखा कार्यालयमा आगलागी भएको छ ।विद्युत प्राधिकरणको सव स्टेसन र गोदाममा आगलागी भएको हो। गुल्मी जिल्लाको तम्घास नजिकै रहेको सल्लाघारीको जंगलमा लागेको डडेलो विद्युत प्राधिकरणको जिल्ला कार्यायलमा पसेको हो । अहिलेसम्म क्षतीको विवरण आएको छैन्।  आगो भने भखर्रै निणन्त्रणमा आएको प्राधिकरणका कर्मचारी विष्णु न्यौपानेले जानकारी दिए।आगो निभाउन नेपाली सेना, नेपाल प्रहरी लगायत स्थानीय समेत जुटेका थिए ।

'४ लाख धरौटी जुटाउन सकेनौँ, कसैले ऋण पत्याए हुन्थ्यो'

काठमाडौँ । सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुनलाई रुपन्देही अदालतले ४ लाख धरौटीमा छाड्न आदेश दिएको छ । शुक्रबार अदालतले धरौटीमा रिहा गर्न  आदेश दिएपनि दीपेश भने कारागार चलान भएका छन् ।दीपेश पुनलाई साथी एंव ज्वाँइ भन्दै मनोज घर्तिले अर्ब ठगीको आरोप लागेको भए पनि आफुहरुसँग ४ लाख तिर्नसक्ने पैसा नभएका कारण खुल्ला आकाशमा स्वागत गर्न नसकेको बताएका छन् । मनोजले यस्तो लखेका छन् मेरो बाल्यकालको साथी, नाताले जेठान, जनक्रान्तिका सहयोद्धा दीपेश पुनलाई हामीले रुपन्देही जिल्ला अदालतबाट कारागारतर्फ बिदा गर्यौँ। उहाँलाई सुप्रिप सहकारी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले चार लाख धरौटी माग गर्‍यो। हामीले उक्त रकम जुटाउन सकेनौँ। आरोप अर्ब ठगी, धरौटी माग चार लाख, हामी त्यो पनि तिर्न सकेनौँ। एक साथी, आफन्तको नाताले पश्चात्ताप पनि लागिरहेको छ। कसैले पत्याए भने हामी ऋण, सापट गरेर धरौटी बुझाउने छौँ । र, खुल्ला आकाशमा स्वागत गर्नेछौँ ।