ट्रक दुर्घटना अपडेटः मृतक बालकको सनाखत, घाइते ८ जनाको पहिचान

काठमाडौं । धादिङको निलकण्ठमा आइतबार ट्रक दुर्घटनामा मृत्यु भएका बालकको सनाखत भएको छ। 

दुर्घटनामा मृत्यु हुनेमा १० बर्षका  बालक सन्तोष रम्तेल रहेका छन् । दुर्घटनामा गम्भीर घाइते उनलाई उपचारका लागि अस्पताल पुर्याउँदा डाक्टरले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ। 

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका अन्य सबैको पहिचान भएको छ । घाइते हुनेहरुमध्ये ट्रक चालक ३५ वर्षीय विष्णु सिर्मल तथा ट्रकमा सवार १३ बर्षीय कृष्ण रम्तेल र १४ बर्षीय सुदीप मजरकोटीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए।

दुर्घटनामा मृतक सन्तोष रम्तेलका बुवा ४० बर्षीय राम रम्तेल, ३५ बर्षीय हिरा रम्तेल, ११ बर्षीय सुजन रम्तेल, १० बर्षिय प्रितम मजरकोटी र १० बर्षीय बिमल मजरकोटीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

सामान्य घाइतेहरुको जिल्ला अस्पताल धादिङमा उपचार भैरहेको छ । गम्भीर घाइतेहरुलाई काठमाडौं रिफर गरिएको छ। 

उनीहरु एकै परिवारको सदस्य रहेको प्रहरीले जानकारी दिएको छ । आइतबार बिहान सवा ९ बजेतिर निलकण्ठ नगरपालिका–५ खाल्टेको पतेनीबाट बेँसीतर्फ जाँदै गरेको बा ३ ख ८९४७ नम्बरको ट्रक दुर्घटनामा परेको थियो ।

सुदूरपश्चिमको मुख्यमन्त्री नागरिक उन्मुक्ति पार्टीलाई

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नागरिक उन्मुक्ति पार्टीले पाउने भएको छ । बालुवाटारमा आज भएको शीर्ष नेता बीचको छलफलमा आफ्नो पार्टीलाई मुख्यमन्त्री दिने औपचारिक सहमति भएको नाउपा अध्यक्ष रन्जिता श्रेष्ठले जानकारी दिइन् । बैठकमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रहेका थिए । सुदूरपश्चिम प्रदेशमा सरकार गठनका लागि दाबी पेश गर्ने अन्तिम दिन यस्तो सहमति भएको हो । नाउपा अध्यक्ष श्रेष्ठले कैलाश चौधरीलाई मुख्यमन्त्रीका लागि दावी पेश गरिने जानकारी दिइन् । चौधरी कैलाली क्षेत्र नम्बर १ (१) बाट निर्वाचित प्रदेश सांसद हुन् ।

सरकार गैरजिम्मेवार भएको कांग्रेसको आरोप

काठमाडौं । नेपाली कांग्रेसले सरकार जवाफदेहिताबाट भागेर गैरजिम्मेवारीपूर्वक प्रस्तुत भएको निष्कर्ष निकालेको छ ।  आज आइतबार बसेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलको बैठकले सरकारले संसद अधिबेशन अन्त्य गरेर गैर जिम्मेवार बनेको आरोप लगाएको हो । सहकारी संस्थाको रकम हिनामिनाको आरोप लागेका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग सम्बोधन गर्नुको साटो संसद अधिवेशन अन्त्य गरेर सरकार भागेको काङ्ग्रेसको आरोप छ । बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सरकार जवाफदेही बन्नुको साटो तानाशाही बन्न खोजेको बैठकको निश्कर्ष रहेको सुनाए । लेखकले भने, ‘सरकारले सदनमा बहुसंख्यक सदस्यहरुले उठाएको विषयबारे गम्भीर, सार्थक गरी निष्कर्षमा पुग्नुपर्नेमा जनताको सरोकारको विषयमा बेवास्ता गर्दै संसदबाट भाग्ने काम गरेको छ ।’ संघीय संसदमा  विपक्षी दलहरुले सहकारीमा बचत भएको रकम हिनामिना, अपचलन, दुरुपयोग र ठगी भएको विषय उठाउँदै आएका छन् ।  कांग्रेसले उपप्रधान तथा गृहमन्त्री लामिछानेमाथि छानबिन माग गर्दै संसद अवरुद्ध गरेको थियो । गत शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले आइतबार मध्यराति १२ बजेदेखि संसदको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । त्यसबारे छलफल गर्न आइतबार बिहान संसद भवनको ल्होत्से हलमा बसेको कांग्रेस संसदीय दलको बैठक बसेको हो ।  काङ्ग्रेस बैठकले, सरकारले बजेट अधिवेशनका लागि पर्याप्त समय हुँदाहुँदै अप्रत्यासित र असामयिक रुपले संघीय संसदको चालु अधिवेशन अन्त्यको सिफारिस गरेको आरोप लगाएको छ ।

अत्यावश्यक नपरी घरबाहिर ननिस्किन इजरायलमा रहेका नेपालीलाई दूतावासको आग्रह

काठमाडौँ । इजरायलस्थित नेपाली राजदूतावासले इरानले गरेको आक्रमणलाई लक्षित गर्दै अतिआवश्यक नपरी घरबाहिर ननिस्कन नेपालीहरूलाई आग्रह गरेको छ । दूतावासले आज एक सूचना जारी इजरायलमाथि ईरानी हमला सुरु भएको सन्दर्भमा हालै इजरायली होम फ्रन्ट कमान्डद्वारा सर्वसाधारणका लागि नयाँ निर्देशनहरू जारी भएको उल्लेख गरेको छ ।   'आगामी सोमबार राती ११ बजे सम्म लागु हुने गरी शैक्षिक क्रियाकलाप बन्द गर्ने र ठुलो स्तरको सभा-भेल नगर्ने भनी निर्देशन जारी भएको हुँदा आवश्यक सुरक्षाकारलागि नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलहरूको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचना बारेमा जानकार रहन र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रय स्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत हार्दिक अनुरोध गर्दछ,' सूचनामा भनिएको छ । कुनै समस्या परेमा दूतावासका  कुमारबहादुर श्रेष्ठ, द्वितीय सचिव (0528289300) र सञ्जयकुमार साह, सहचारी (054-5582077) लाई सम्पर्क गर्न पनि आग्रह गरिएको छ । 

इलाम चुनावमा समाजवादीको चुनावी कमाण्डर खनाल, बझाङमा शाह

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले यही वैशाख १५ गते हुने उपनिर्वाचनलाई लक्षित गरी पार्टीका उमेदवारलाई सघाउन निर्वाचन ‘कमान्डर’ तोकेको छ ।   प्रतिनिधिसभा निर्वाचन इलाम क्षेत्र नं–२ मा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र सुदूरपश्चिम प्रदेशको बझाङ–१ (क) मा प्रदेशसभा सदस्यको निर्वाचका लागि पार्टी सचिव गरिमा शाहलाई जिम्मेवारी तोकिएको हो । चुनावमा सम्बन्धित जिल्ला तथा प्रदेशका नेता तथा कार्यकर्तालाई परिचालन गर्ने जिम्मेवारीसहित उनीहरूलाई खटाइएको पोलिटब्युरो सदस्य दिलु पन्तले जानकारी दिए । पार्टीले निर्वाचन क्षेत्रमा आवश्यक सहजीकरण गर्न पार्टीका उपाध्यक्ष प्रमेश हमालको संयोजकत्वमा महासचिव घनश्याम भुसाल र सचिव जीवनराम श्रेष्ठ रहेको कार्यदल पनि गठन गरेको छ । रासस 

वायु प्रदूषणमा काठमाडौँ विश्वमा तेस्रो नम्बरमा, यस्तो छ १० प्रदूषित सहरको सूची

काठमाडौं । काठमाडौँ उपत्यका आज वायु प्रदूषणमा विश्वमै तेस्रो स्थानमा परेको छ। ‘एयर क्वालिटी इन्डेक्स’ ले आज काठमाडौँ उपत्यका वायु प्रदूषणमा विश्वकै तेस्रो स्थानमा छ ।  केही दिनयता मुलुकभर लागेको डढेलो र पर्याप्त वर्ष नभएका कारण काठमाडौँ उपत्यकामा अहिले उच्च वायु प्रदूषण छ। विश्वकै प्रदूषित सहरको पहिलो सूचीमा भने आज भारतको राजधानी नयाँ दिल्ली परेको छ भने दोश्रोमा बंगलादेशको राजधानी ढाका रहेको छ।  इन्डेक्सका अनुसार आज काठमाडौँको समग्र वायु गुणस्तर सूचकाङ्क एक्यूआई १७४ रहेको छ । प्रदूषणमा पहिलो स्थानमा रहेको नयाँ दिल्लीको २१० पुगेको छ भने बंगलादेशको राजधानी ढाकाको एक्यूआई आज १८१ रहेको छ । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार मानव स्वास्थ्यको लागि एक्यूआई ३५ भन्दा कम हुनुपर्ने मान्यता छ । तर ५० सम्मको एक्यूआई सम्मलाई सामान्य नै मान्ने गरिन्छ । त्यसभन्दा माथिको गुणस्तर एक्यूआई क्रमशः बढि अस्वस्थकर मानिन्छ।  ५१ देखि एक सयसम्मको गुणस्तर एक्यूआइलाई होसियार रहुँ अथवा पहेँलो सङ्केत दिइन्छ। एक सय एकदेखि एक सय ५० सम्मको गुणस्तर एक्यूआईलाई श्वाशप्रश्वास र  मुटु रोगीका बिरामीलाई असर गर्छ भन्ने बुझिन्छ भने एक सय ५१ देखि दुई सयसम्मको एक्यूआइलाई बढि अस्वस्थकर मानिन्छ। दुई सय एकदेखि तीन सय सयसम्मको गुणस्तर एक्यूआईलाई अति अस्वथ्य अवस्थाको वायू भनेर बुझिन्छ भने तीन सय एकदेखि चार सयसम्मको एक्यूआइलाई खतरनाक र चार सय एकदेखि चार सय ५० सम्मलाई अति खतरा मानिन्छ।  काठमाडौँ उपत्यकाको लागि वायुगुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ मा एक्यूआईको गुणस्तर मान तीन सयभन्दा बढी भएको अवस्थालाई मात्रै विपद्को रुपमा लिने बताइएको छ। यस्तो छ १० प्रदूषित सहरको सूची

मधेस प्रदेशमा आज सार्वजनिक बिदा

जनकपुर । तराई मधेस तथा मिथिलाञ्चल क्षेत्रमा आज जुडशीतल पर्व मनाइँदै छ । यो पर्वमा मान्यजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्य र दीर्घजीवनको आशीर्वाद दिने प्रचलन रहेको छ ।   विशेष गरी आज खेतबारीमा पनि पानी हाल्ने गरिन्छ । सूर्यको तापले पानी खोजिरहेका मानवलगायत बिरुवालाई शीतलता प्रदान गर्नु यस पर्वको मूल उद्देश्य भएको संस्कृतिविद्हरू बताउँछन् । आज मीठा परिकार भोजन गर्ने परम्परा पनि छ । यसै अवसरमा मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान ८ बजे नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्ने जनाइएको छ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेकका नेताहरुले बताएका छन् । यस्तै, सरकारले संसद्को चालु अधिवेशन आज रातिबाट अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सन्दर्भमा छलफल हुने बताइएको छ ।

एमालेले सचिवालय बैठक आज बस्दै

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ । बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्नेछ । एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी, नेकपाको ७५औँ स्थापना दिवस, यही वैशाख १५ गते हुने उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्ने नेताहरुले बताएका छन् । एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक यही वैशाख ८ र ९ गते ललितपुरको गोदावरीमा बस्दैछ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौं ।आज पनि नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । लुम्बिनी  प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागको थोरै र बाँकी पहाडी भू–भागको एक–दुई स्थानहरूमा  हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । राति सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ विभागले जनाएको छ । आज सूर्योदय बिहान ५ बजेर ४० मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर २८ मिनेटमा हुनेछ ।

तेस्रो त्रैमासकसम्म पुँजीगत खर्च ३२ प्रतिशत मात्र

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासक अवधिसम्ममा पुँजीगत खर्च निकै कम देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चैत मसान्तसम्ममा ३२.२४ प्रतिशत मात्र पुँजीगत खर्च भएको छ । चालु आवका लागि पुँजीगत शीर्षकमा तीन खर्ब दुई अर्ब सात करोड ४४ लाख रुपैयाँ विनियोजन भएकामा चैत मसान्तसम्मको नौ महिनामा ९७ अर्ब ३७ करोड ७४ लाख रुपैयाँबराबर खर्च भएको छ । चालु आवका निम्ति सरकारले कुल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँबराबरको बजेट विनियोजन गरेको थियो । हालसम्मको कुल बजेट खर्च वार्षिक विनियोजनको ५१।९३ प्रतिशत अर्थात् नौ खर्ब नौ अर्ब ३९ करोड १४ लाख रुपैयाँबराबर रहेको छ । चालुगत शीर्षकमा ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख रुपैयाँबराबर विनियोजन भएकामा हालसम्म ५६.४१ प्रतिशत अर्थात् ६ खर्ब ४४ अर्ब दुई करोड ५४ लाख रुपैयाँबराबर खर्च भएको छ । यस्तै, वित्तीय व्यवस्था शीर्षकमा तीन खर्ब सात अर्ब ४५ करोड ३६ लाख रुपैयाँबराबर विनियोजन भएकामा ५४.६४ अर्थात् एक खर्ब ६७ अर्ब ९८ करोड ८६ लाख रुपैयाँ खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । बजेट खर्चमा मात्र नभई राजस्व संकलनको अवस्था पनि कमजोर देखिएको छ । चालु आवका लागि कुल १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख रुपैयाँबराबर राजस्व संकलन गर्ने सरकारी लक्ष्य छ । चैत मसान्तसम्ममा वार्षिक लक्ष्यको ५२.५ प्रतिशत अर्थात् सात खर्ब ७३ अर्ब तीन करोड ६६ लाख रुपैयाँ असुली भएको छ । जसमध्ये कर राजस्वतर्फ वार्षिक लक्ष्यको ५१.४१ प्रतिशत अर्थात् ६ खर्ब ७१ अर्ब ११ करोड ५६ लाख र गैरकरतर्फ ६५.७१ प्रतिशत अर्थात् ७६ अर्ब ९२ करोड ५६ लाख रुपैयाँबराबर संकलन भएको छ । चालु आवका निम्ति सरकारले ४९ अर्ब ९४ करोड ३० लाख रुपैयाँबराबरको वैदेशिक अनुदान लिने लक्ष्य राखेकामा हालसम्म लक्ष्यको ५.५२ प्रतिशत अर्थात् दुई अर्ब ७५ करोड ८० लाख रुपैयाँबराबर अनुदान लिइएको छ । रासस

किसानलाई ऋणमा डुब्न दिन हुँदैन : कृषिमन्त्री साह

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले किसानलाई ऋणमा डुब्न दिन नहुने बताएकी छन्। शनिबार काठमाडौंमा देशभक्त युवा नेपालले आयोजना गरेको कार्यक्रममा उनले किसानलाई कुनै पनि हालतमा मर्कामा पर्न दिन नहुनेमा जोड दिएकी हुन् । सरकार ऋणमा डुबे पनि किसानलाई समस्या पर्न दिन नहुने उनले उल्लेख गरिन्। ऋण खोजेरै भए पनि दुग्ध किसानको बक्यौक्ता भुक्तानीका निम्ति पहल गरेको उनको भनाइ छ। सरकारले आउँदो बजेटमा कृषि क्षेत्रलाई प्राथमिकता दिने उनले बताइन्। मन्त्री साहले एक लाख हेक्टर जमिनमा चैते धान उत्पादन गर्न सके धानको आयात गर्नुपर्ने अवस्थाको अन्त्य हुने सुनाइन् । त्यसतर्फ सरकारले आवश्यक योजना बनाइरहेको उनले जानकारी दिइन्। विदेश पलायन हुनबाट रोकेर देशमै रोजगारी सिर्जना गर्न सरकार योजना बनाउने काममा लागेको र त्यसले मुलुक आत्मनिर्भर हुन मद्दत पुग्ने उनले विश्वास व्यक्त गरिन् ।कार्यक्रममा विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो । 

एसीसी प्रिमियर कप : नेपालको लगातार दोस्रो जित

काठमाडौं । नेपालले एसीसी प्रिमियर कपमा लगातार दोस्रो जित हात पारेको छ । शनिबार सम्पन्न खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको हो । नेपालले दिएको २११ रनको लक्ष्य पछाएको कतारले २० ओभरमा ९ विकेट गुमाउँदै १७८ रन बनायो। यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनाएको थियो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले आक्रामक ब्याटिङ गर्दै अविजित ६४ रन बनाए। दिपेन्द्रले १९ बलमा अर्धशतक पुरा गरे । दिपेन्द्रले अन्तिम ओभरमा ६ बलमा ६ छक्का प्रहार गरे।  त्यस्तै असिफ सेखले ५२ रन बनाए भने कुशल मल्लले ३५, कप्तान रोहित पौडेलले १८, कुशल भुर्तेलले १२ सन्दीप जोराले ७ र गुलशन झाले ५ रन बनाए। त्यसैगरी कतारका बलर हिमांशु राथोड र मुसावर शाहले ३/३ विकेट लिए। यो जितपछि समुह ए मा रहेको नेपालको २ खेलमा ४ अंक जोडेको छ ।अब अर्को खेल नेपालले आगामी सोमबार हङकङसँग खेल्ने छ ।

विज्ञापनमा व्यस्त बनिरहेका बेला महानायक हमाल बने गोरेटोको ब्रान्ड एम्बास्डर

काठमाडौँ । अभिनेता राजेश हमाल पछिल्ला दिनमा देश विदेशमा हुने विभिन्न कार्यक्रम तथा म्यूजिक भिडियो र विज्ञापनहरुमा व्यस्त छन् । नयाँ वर्ष २०८४ मा फिल्ममा देख्न पाउने बताएका हमालले बुधबार बबरमहलमा घोडामा चढेर एउटा  ट्राफिक सचेतना मुलक टीभी बिज्ञापनमा अभिनय गरे ।   अभिनेता हमाल क्यानाडा अध्ध्ययनको लागि  गोरेटो कन्सल्ट्यान्सीको ब्राण्ड एम्बसेडर बनेसँगै उनले १ वर्षसम्म  गोरेटो कन्सल्ट्यान्सीका विभिन्न पेजेक्टमा काम गर्ने  प्रबन्ध निर्देशक धिरज कंडेलले जानकारी दिए । सामाजिक उत्तरदायित्व अन्तर्गत यो बिज्ञापन ट्राफिक सचेतनाका निम्ति निक्कै नै प्रभाकारी हुनेमा राजेश स्वयम विश्वस्त देखिएका छन् ।  सामाजिक उत्तरदायित्व अन्तर्गत यो बिज्ञापन ट्राफिक सचेतनाका निम्ति निक्कै नै प्रभाकारी हुनेमा आँफु विश्वस्त रहेको कंडेलले राजेश हमाललाई अहिलेसम्मकै उत्कृष्ट अवतारमा उतारेको पनि जनाएका छन्।   अभिनेता हमाल स्वयम पनि उच्च शिक्षाका लागि विदेशमा पढेका एक वौद्धिक व्यक्तित्व भएका कारण  उनको यो विज्ञापन प्रभावकारी बन्ने अर्का एड्भाइजर राम खड्काले बताए । खड्काले क्यानाडा अध्ययन गर्न नेपालमा भरपर्दो शैक्षिक परामर्शदाताकोरुपमा परिचित भएको गोरेटो कन्सल्ट्यान्सीले बेलाबेलामा यस्ता सामाजिक सचेतनाका लागि विभिन्न कार्यहरु गर्ने बताए ।   त्यस्तै, गोरेटोका  चर्चित काउन्सेलर प्रकाश रेग्मी पनि निक्कै नै उत्साहित देखिएका छन्।क्यानाडाले हालसालै अन्तर्रराष्ट्रिय विद्धयार्थी लक्षित केहि  नीतिमा परिमार्जन गरेको र उक्त नीति विद्यार्थीहरुको क्यानाडा बसाइ राम्रो बनोस् भन्नको लागि नै बनाएको बताएका छन्, आँफु डेनमार्कमा अध्ययन गरेका रेग्मी अन्तर्रराष्ट्रिय अनुभव लिन र बदलिँदो विश्व परिवेशमा क्यानाडा जस्तो उत्कृष्ट गन्तव्यमा पढ्न र सकभर नेपाल फर्किएर देशको लागि केहि गर्नका लागि युवाहरुलाई अनुरोध गरेका छन्। महानायक हमालले १ वर्षसम्म  गोरेटोसँग जोडिएर काम गर्नेछन् ।

सिड्नीको सपिङ मलमा छुरा प्रहार गरी पाँच जनाको हत्या

काठमाडौँ । अष्ट्रेलियाको सिड्नीस्थित एक सपिङ मलमा अन्धाधुन्ध छुरा प्रहारबाट पाँच जनाको हत्या गरिएको छ। चक्कु प्रहार गर्ने एक आक्रमणकारीलाई शनिबार सिड्नीको समुन्द्री किनारमा प्रहरीले गोली हानी मारेको प्रहरीले जनाएको छ । व्यस्त वेस्टफिल्ड बोन्डी जंक्शन शपिङ सेन्टरमा एक जना व्यक्तिले धमाधम नौ जनालाई आक्रमण गरेका थिए । आक्रमणकारीलाई एक प्रहरी अधिकारीले गोली हानेको प्रहरीले जनाएको छ। ‘त्यहाँ नौं जना पीडित मध्ये पाँच जना मरेका छन्,’ न्यू साउथ वेल्सका प्रहरी सहायक एन्थोनी कुकले पत्रकार सम्मेलनमा भनेका छन् । स्थानीय सञ्चारमाध्यमहरुका अनुसार, व्यस्त मलमा किनमेलमा मग्नरहेका मानिसहरुमाथि चक्कु आक्रमण गरिएको थियो । यसअघि कसैले धम्कि नदिएको प्रहरीले बताएको छ ।  प्रहरीका अनुसार आक्रमण किन गरियो भन्नेबारे अनुसन्धान जारी रहेको छ । आक्रमणबाट घाइते भएका एक बालकसहित अन्यलाई अस्पताल लागिएको  छ।

स्मिता दाहाल र दिव्य कुमारको स्वरमा 'लुकाउने ठावै छैन्' सार्वजिनक (भिडियोसहित)

काठमाडौं । नयाँ वर्ष २०८१ को अवसर पारेर भारतीय गायक दिव्य कुमार र गायिका स्मिता दाहालको स्वरमा रहेको नयाँ गीत लुकाउने ठावै छैन जाली रुमाल सार्वजनिक भएको छ।गीतमा सरोज ओलीको शब्द, दिपक शर्माको संगीत र रिकेश गुरुङ्गको एरेन्ज रहेको छ।   गम्भीर विष्टको निर्देशनमा तयार भएको भिडियोमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी र सरोज ओलीले अभिनय गरेका छन् ।  नवराज उप्रेतीले खिचेको भिडियोलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन्।  रेनिश फागोले कलर गरेको भिडियो आर टि इन्टरटेन्मेन्ट युटुब मार्फत अपलोड गरिएको छ।