बझाङका गाउँमा पाइने रैथाने र गड्डी जातका भैंसी लोप हुने अवस्थामा

बझाङ, फागुन २२ । बझाङका ग्रामीण बस्तीमा पाईने रैथाने र गड्डी जातका भैंसी लोप हुने अवस्थामा पुगेका छन् ।

केही वर्षअघिसम्म प्रायः सबैका घर पालिने यस्ता जातका भैंसी अहिले लोप हुन थालेका हुन् ।

कैलाली, बाँके, काठमाडौंलगायतका जिल्लाबाट भैंसी खरिद गर्न पुग्नेहरुले विभिन्न प्रलोभन देखाएर बझाङबाट ठूलो संख्यामा भैंसी खरिद गरेपछि अहिले गाउँमा यी जातका भैंसी लोप हुने अवस्थामा पुगेका हुन् ।

पछिल्लो समयमा सुदूरपश्चिमका पहाडी जिल्ला बझाङ, बाजुरा, दार्चुला, अछाम र डोटीबाट दुहुना र ब्याउने भैंसीसमेत काट्नका लागी तस्करी गर्ने क्रम बढ्न थालेको छ ।

पहाडी जिल्लाबाट सस्तो मुल्यमा खरिद गरिएका भैंसी कैलाली, कञ्चनपुर, बाँके, काठमाडौं र भारतसम्म पु¥याएर बेच्ने गरिएको स्थानीय बताउँछन् ।

बझाङमा तीन वर्ष अघि ३६ हजारको हाराहारीमा रहेका भैंसीको संख्या अहिले घटेर १९ हजार पुगेको जिल्ला पशु सेवा कार्यलयले जनाएको छ ।

त्यसमा पनि गड्डी जातका भैंसीको संख्या मात्र २ हजारको हाराहारीमा सिमित भएको कार्यालयले जनाएको छ ।

सामाजिक सञ्जालमा ठगी – ५१ लाख गुमाएको यो कथाले प्रहरी नै अचम्ममा !

काठमाडौं, फागुन २२ । कुनै अपरिचितले फेसबुकमार्फत उपहार परेको भनी पठाएको सूचना पत्याउँदै त्यसको लोभमा मान्छेले कति रुपैयाँसम्म खर्च गर्ला ? पैसाको जोहो गर्न कतिसम्म दौडधुप गर्ला र अपरिचितलाई कति पटकसम्म पैसा पठाइरहला ? सोमबार सार्वजनिक भएको एउटा घटनाले प्रहरीलाई नै अचम्ममा मात्र पारेन, ठगीमा प्रविधि र हुन्डी कारोबारीको प्रयोग कसरी भइरहेको छ भन्ने तथ्यसमेत उजागर गरेको छ । स्नातक सकेका २५ वर्षीया दुई युवतीले फेसबुके साथीको फन्दामा परेर ५१ लाख रुपैयाँ गुमाएको यो प्रतिनिधि कथाले ‘डिजिटल डिभाइस’ मार्फत ठगीधन्दा बढिरहेको देखाउँछ । त्यस्ता पासोमा पढेलेखेकै व्यक्तिसमेत कसरी फसिरहेका छन् भन्ने पनि बुझाउँछ । पर्वत, कुर्घा स्थायी घर भई काठमाडौंको तीनकुनेमा बस्दै आएका पबी क्षत्री र लक्ष्मीदेवी चपार्इं छिमेकी र सहपाठी थिए । उनीहरू दुवै खुब मिल्थे । करिब दुई महिनाअघि एक दिन पबी बेलायती नागरिक बताउने ब्रायन लुसिया बकार नामको फेसबुक अकाउन्टसँग जोडिइन् । सामान्य कुराकानीबाट सुरु भएको उनीहरूको संवाद केही दिनमै मित्रतामा बदलियो । ब्रायनले एक दिन पबीलाई भने, ‘तिमीलाई उपहारस्वरूप ४४ हजार पाउन्डसहित केही सुन र हीराको हार पठाउँदै छु ।’ यस्तो खबर पाएको केही दिनमै पबीलाई हवाट्स एपमार्फत भारतबाट खबर आयो, ‘तिम्रो साथीले करिब एक करोड मूल्यबराबरको बहुमूल्य उपहार पठाएको छ । भन्सार क्लियरेन्स गर्न केही रकम चाहिने भयो ।’ उपहार आएको विश्वासमा पबीले भारतीय नागरिक बताउने ती व्यक्तिले भनेअनुसार रकम पठाउन थालिन् । तर भन्सारबाट उपहार छुटाउन धेरै पैसा लाग्ने थाहा पाएपछि पबीले साथी लक्ष्मीसँग साझेदारी गरिन्, उपहार ल्याउन दुवै मिलेर रकम खर्चिने र उपहार हात परेपछि बाँडेर लिने। प्रहरीका अनुसार यी दुवैले विभिन्न ९ पटक गरी ५१ लाख रुपैयाँ पठाएका थिए । पछिल्लो पटक भारतबाट फोन गर्नेले अब अन्तिम पटक थप ५ लाख भारु पठाइदिए उपहार भन्सारबाट छुटाउन सकिने बताएपछि युवतीहरू आफूहरू ठगिएको निष्कर्षमा पुग्दै महानगरीय प्रहरी परिसर, काठमाडौं पुगेका थिए ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

प्रदेश ५ : निवासविहीन बने मन्त्री

काठमाडौं, फागुन २२ । प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी पदभार ग्रहणपछि निवासको जोहोमा लागे । तर सरकारी भवन अभावका कारण उनको निवासको टुंगो भएन। त्यसपछि उनी बुटवलस्थित एक होटलमा बस्न थाले । अहिलेसम्म उनका लागि सरकारी निवासको व्यवस्थापन हुन सकेको छैन । उनका लागि होटलको बसाइ सहज छैन । महत्वपूर्ण भेटघाटका लागि निकै असहज भएको उनी बताउँछन् । ‘कतिपय कुराहरु गोप्य र महत्वपूर्ण हुन्छन्, सोअनुसारको भेटघाट र छलफल होटलमा हुने कुरै भएन,’ मन्त्री केसीले भने, ‘सरकारी भवन अभाव रहँदा बसाइ निकै सकसपूर्ण बनेको छ।’ मन्त्री केसीको आवासका लागि भैरहवास्थित एक सानो सरकारी भवनको प्रस्ताव आयो । मन्त्रालयदेखि आधा घन्टा दुरीमा रहेको नेपाल–भारत सीमा क्षेत्र भैरहवा जान उनले मानेनन् । ‘मन्त्रालय र मन्त्री निवासको दुरीको बारेमा हेक्का राख्नुपर्दैन ?’ उनले भने, ‘बुटवलमा मन्त्रालय अनि भैरहवामा मन्त्री निवास कसरी सम्भव हुन्छ ?’ प्रस्ताव गरिएको भवन बसोबासका लागि उपयुक्त नभएकाले पनि आफू नगएको उनी बताउँछन् । ‘सरकारी भन्दैमा जस्तो पायो त्यस्तै भवनमा गएर बस्ने ?’ उनले भने, ‘भैरहवामा प्रस्ताव गरिएको भवन उपयुक्त नभएपछि मैले अस्वीकार गरिदिएको हुँ । मेरा लागि प्रस्ताव गरिएको भवनभन्दा होटल नै ठिक छ।’, आजको नागरिक दैनिकमा यो खबर छ ।

फेरिँदैछ १७ वटै मन्त्रालयको संरचना

काठमाडौं, फागुन २२ । सरकारले १७ वटै मन्त्रालय र मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यलयको प्रशासनिक संरचना फेरबदल गर्ने तयारी गरेको छ। मन्त्रालय तथा मन्त्रिपरिषद्को कार्यालयको प्रशासनिक संरचना फेरबदल गर्न मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालका सचिव दिनहुँ बैठक हुने गरेको छ। प्रधानमन्त्री कार्यालका एक कर्मचारीका अनुसार कुन मन्त्रालयमा कति कर्मचारी राख्ने, शाखा, महाशाखा कति राख्ने, विभागहरू कति राख्ने भन्नेबारेमा विषयगत रुपमा छलफल भइरको छ। बैठक अझै केही दिन जारी रहने ती कर्मचारीले बताए। बैठकमा सबै मन्त्रालयबाट प्रतिनिधित्व गराइएको छ। संगठन व्यवस्थापन ुसर्भेु तयार गर्न छुट्टाछुट्टै समूह बनाएर छलफल भइरहेको प्रधानमन्त्री कार्यालयका कर्मचारी बताउँछन्। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयमा सल्लाहकार समूह तथा विज्ञ समूहको दरबन्दी स्थायीरूपमै राख्ने तयारी भएको छ। स्थायी दरबन्दी कायम भएमा प्रधानमन्त्री फेरिनेबित्तिकै व्यक्ति फेरिन्छन् तर दरबन्दी भने कायमै रहन्छ ।, यो खबर आजको नागरिक दैनिकमा छ ।

यस कारण बहालवाला मन्त्रीकै मन्त्रालय गायब

काठमाडौं, फागुन २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले शपथग्रहण गरेकै दिन एमालेका लोकप्रिय नेता लालबाबु पण्डित जनसंख्या तथा वातावरण मन्त्री नियुक्त भए । कार्यभार सम्हालेलगत्तै उनले उपत्यकामा मुख छोपेर हिँड्ने दिनको अन्त्य गर्ने घोषणा गरे । लगत्तै वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) नगरेको भन्दै विभिन्न उद्योग र कम्पनीलाई जरिवाना पनि तिराए । अाजको राजधानी दैनिकमा खबर छ-पदभार ग्रहणलगत्तै सकारात्मक चर्चा बटुलेका मन्त्री पण्डित सोमबार पनि मन्त्रालयकै काममा व्यस्त थिए । तर उनी व्यस्त रहेको मन्त्रालय भने अहिले अस्तित्वमा नै छैन । सरकारले मन्त्रालयको संख्या ३१ बाट घटाएर १७ मा झारेपछि उनले सम्हालिरहेको मन्त्रालयको अस्तित्व नै सकिएको छ । वातावरण वन मन्त्रालयमा र जनसंख्या स्वास्थ्य मन्त्रालयमा गाभिएर उनको कार्यकक्ष छेउकै भवनमा नयाँ बोर्ड आइसकेको छ । तर पण्डित भने सरकारले आफ्ना लागि मन्त्रालय नतोकेपछि अस्तित्वमै नरहेको मन्त्रालयको बोर्ड भएको भवनमा पुरानै मन्त्रालयको नेमप्लेट राखेर काम गरिरहेका छन् । अहिलेसम्म मन्त्री पण्डितको कार्यविभाजनअनुसारको मन्त्रालय तोकिएको छैन । पण्डितले सम्हालिरहेको जनसंख्या तथा वातावरण मन्त्रालयको भवनमा पुरानै मन्त्रालयको नाम छ । तर उनको मन्त्रालय दुईतिर परिसकेको छ । मन्त्रालय नभए पनि उनी सोमबार लामो समय कार्यकक्षमै बसेर काम गरिरहेको राजधानीमा समाचार छ ।

मन्त्री सरकारी भाडाको गाडीमा सरर, मान्दैनन् सरकारी चढ्न !

हेटौंडा,फागुन २२ । फागुन २२ । प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यलयले उपलब्ध गराएको बा.२.झ २१४० नम्बरको टाटा जिपको साटो भाडामा लिइएको बा १८ च नम्बरको हुन्डाईको क्रेटा एसएक्स गाडी प्रयोग गरिरहेका छन् । महिला तथा बालबालिका कार्यलय सिन्धुलीबाट मगाएर उपलव्ध गराएको गाडी ‘पुरानो’ भन्दै मन्त्रीले चढ्न नमानेपछि भाडामा लिइएको हो। ‘उकालोमा तान्दै नतानेपछि अर्को गाडी भाडामा लिएर व्यवस्था गरेका छौं,’ मन्त्रालयका सचिव बसन्त अधिकारीले भने, ‘हप्ता/१० दिनको लागि हो, अर्को व्यवस्था भएपछि भाडाको गाडी फिर्ता गर्छौं। ’ नीजि सवारी साधन भाडामा लिएपनि दैनिक कति शुल्क तिर्ने भन्ने अझै सम्झौता भएको छैन। ‘उपलव्ध भएमध्येको राम्रो गाडी’ मन्त्रीले चढ्न नमानेपछि मन्त्रालयलाई थप ब्ययभार परेको हो। आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेलले पनि बा २ झ १६०३ नम्बरको बोलेरो जिप नचढी धादिङको बेनिघाट गाउँपालिकाको बा २ झ ३३८० नम्बरको स्कारपियो चढै आएका छन्। भौतिक पुर्वाधार विकास मन्त्री केशव स्थापितले सरकारले उपलब्ध गराएको सुमो छोडेर क्षेत्रीय शिक्षा निर्देशनालयको टाटा सफारी चढ्छन्। सामाजिक विकास मन्त्री युवराज दुलालले राष्ट्रिय मकैवाली अनुसन्धान कार्यक्रमको स्करपियो जिप र भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा महिला तथा बालबालिका कार्यालय हेटौंडाको गाडी चढिरहेका छन्।,यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

रसुवागढी नाका हुँदै १८ हजार चिनियाँ पर्यटक नेपाल भित्रिए

रसुवा, फागुन २२ । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी हुँदै नेपाल भित्रने चिनियाँ तथा विदेशी पर्यटकको संख्यामा वृद्धि भएको छ । चीनको केरुङबाट रसुवागढी नाका हुँदै एक वर्षमा करिब १८ हजार पर्यटक नेपाल भित्रिएका छन् । सन् २०१७ मा १७ हजार ६२० चिनियाँ र ८२ जना अरु देशका नागरिक नेपाल भित्रिएको अध्यागमन कार्यालय टिमुरेले जनाएको छ । सो नाकाबाट सबैभन्दा धेरै चिनियाँ पयटक भित्रने गरेका छन् भने दोस्रोमा स्वीडेन, तेस्रोमा अमेरिकाका नागरिक भित्रिएका छन् । चीन सरकारले केही महिनाअघि अन्तर्राष्ट्रिय नाका घोषणा गरेपछि तेस्रो मुलुकका नागरिक पनि यो नाका हुँदै नेपाल आउनेक्रम बढेको छ । रसुवागढी नाका हुँदै तेस्रो मुलुकबाट आउने पर्यटकमा स्वीडेनका २३, अमेरिकाका १८, डेनमार्कका १७, अष्ट्रेलियाका ८, स्वीट्जरल्यान्डका ६, जर्मनीका ५ र अरु मुलुकका ६ जना नागरिक रहेको तथ्यांक छ । चिनियाँ पर्यटकले ग्रेटिस (शुल्क नलाग्ने) भिसा पाउँदै आएका छन् । रसुवागढीस्थित अध्यागमन कार्यालयले चिनियाँ पर्यटकलाई सुरुमा एक महिनाको आगमन भिसा दिँदै आएको रसुवागढी अध्यागमन कार्यालय प्रमुख मनोजकुमार पोखरेलले बताए । नेपाल आउने चिनियाँ पर्यटक काठमाडौं, पोखरा तथा लुम्बिनी जाने गरेका छन् । रसुवागढी नाका हुँदै दैनिक २० देखि १०० जनासम्म चिनियाँ पर्यटक नेपाल भित्रने गरेको कार्यालयको तथ्यांक छ ।

म्याग्दीमा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

म्याग्दी, फागुुन २१ । म्याग्दीको बेनी नगरपालिका ९ गलेश्वरमा ट्रयाक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। सोमबार अपरान्ह भएको दुर्घटनामा चालक रघुगंगा गाउँपालिका ३ का राम विश्वकर्मा र ट्रयाक्टरमा सवार बेनी नगरपालिका ९ गलेश्वरका गणेश कार्कीको मृत्यु भएको हो। दुवै जनाको उपचारको क्रममा जिल्ला अस्पताल बेनीमा मृत्यु भएको प्रहरीले जनाएको छ। गलेश्वरदेखि बेनीतर्फ आउँदै गरेको ग१त २५५८ नम्बरको ट्रयाक्टर गलेश्वरमा निर्माणधीन बसपार्क नजिकैबाट कालिगण्डकी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय म्याग्दीकी प्रमुख प्रहरी नायव उपरीक्षक बसुन्धारा खड्काले जानकारी दिइन्।

टिकट अनिवार्य गर्दै साझा यातायात

ललितपुर, फागुन २१ । साझा यातायातले आफ्ना यात्रुका लागि टिकट अनिवार्य लिनुपर्ने नियम बनाउने भएको छ। टिकट नलिने यात्रु र नदिने कर्मचारीलाई कारवाही गर्ने तयारी गरिएको कामु प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताए। साझा यातायातमा चढ्दा कतिपय यात्रुले टिकट बेवास्ता गरेकाले टिकट नलिनेरनदिनेलाई कारवाहीको व्यवस्था गर्न लागिएको हो। “यात्रुले टिकट लिन गाह्रो मान्ने गरेका छन्”, उनी भन्छन्, “यात्रुमा टिकट लिएर मात्र यात्रा गर्नुपर्छ भन्ने धारणा भइसकेको छैन।” यात्रुले टिकट नलिँदा चुहावटको सम्भावना रहने पाण्डेय बताउँछन्। “टिकट नलिँदा र नदिँदा यात्रुले भाडा नै तिरेरनतिरेको थाहा हुँदैन। टिकट नलिएको भाडा कार्यालयसम्म नआउन सक्छ”, उनी भन्छन्, “भाडा तिरेपछि टिकट लिनु यात्रु र साझा यातायात दुवैका लागि राम्रो हो। पैसा तिरेपछि रसिद माग्नु यात्रुको अधिकार हो।” काठमाडौँ महानगरपालिकाले पाँच करोड रुपैयाँ र ललितपुर महानगरपालिकाले एक करोड रुपैयाँको साझा यातायातको शेयर किनेका छन्। यी दुवै महानगरपालिकासँग मिलेर नीति निर्माण हुने पाण्डेय बताउँछन्। दुई महानगरपालिकासहित अरु सरकारी निकाय गरेर ९७ प्रतिशत सरकारी लगानीमा साझा यातायात सञ्चालनमा छ। साझा यातायातले नेपाल बैंक लिमिटेड र नेपाल टेलिकमसँगको सहकार्यमा विद्युतिय टिकट प्रणाली (इटिकेटिङ) समेत शुरु गर्ने तयारी गरेको छ।

मन्त्रिपरिषद् विस्तारमा ढिलाई

बुटवल, फागुन २१ । प्रदेश नं ५ को सरकारले पूर्णता पाउन अझै केही समय लाग्ने भएको छ । मन्त्रिपरिषद् विस्तारपछि कार्यालय तथा निजी आवास व्यवस्थापनको काम पर्ने भएकाले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको सरकारका प्रवक्ता वैजनाथ थारुले आजको मन्त्रिपरिषद्को बैठकपछि जानकारी दिनुभयो । भौतिक योजना तथा निर्माणमन्त्री थारुले मन्त्रालय र निजी निवासको व्यवस्थापन भइरहेकाले अझै १० दिन समय लाग्न सक्ने बताउनुभयो । उहाँका अनुसार प्रदेश सरकारले यही फागुन २७ गते प्रदेशसभा बैठकमा विश्वासको मत लिइने छ । नेपालको संविधान धारा १६८९४० मा प्रदेश सरकार गठन भएको ३० दिनभित्र प्रदेशसभासँग मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्नुपर्ने व्यवस्था छ । बैठकले प्रदेशमा स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सेवासुविधाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई स्वीकृत गरेको छ । बैठकले प्रदेश नं ५ को आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक र प्रदेश आर्थिक कार्यविधि ऐन २०७४ समेत स्वीकृत गरेको छ । यस्तै प्रदेशअन्तर्गतका मुख्य नाकामा ५ नं प्रदेशका मुख्य पहिचान झल्कने महत्वपूर्ण क्षेत्रका विज्ञापनपाटी राख्न मन्त्रिपरिषद् सचिवालयलाई निर्देशन दिइएको छ । यस्तै प्रदेशको मुख्य न्यायाधिवक्ताको शपथको ढाँचासमेत मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको छ । यसअघि मुख्यमन्त्री शंकर पोखरेलले सरकारको कानूनी सल्लाहकारमा दाङका ठाकुरप्रसाद डिसीलाई नियुक्तिका लागि सिफारिस गर्नुभएको जनाइएको छ ।

कांग्रेस संसदीय दलको उपनेता विजयकुमार

काठमाडौं, फागुन २१ । नेपाली कांग्रेस संसदीय दलको उपनेतामा विजयकुमार गच्छदारलाई चयन गरिएको छ । पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले गच्छदारलाई उपनेता चयन गरेका हुन् । दलको नेतामानिर्वाचित भए लगतै देउवाले आफ्ना प्रस्तावक गच्छदारलाई संसदीय दलको उपनेतामा मनोनय गरेका हुन । पौडेल समूहलाई बेवास्ता गर्दै देउवाले गच्छदारलाई उपनेता बनाए । संसदीय दलको नेतामा सभापति देउवासँग पौडेल समुहबाट पूर्वमहामन्त्री प्रकाशमान सिंंहले प्रतिस्पर्धा गरेका थिए । प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको केही समय अघि मात्रै गच्छदारले फोरम लोकतान्त्रिकलाई कांग्रेसमा विलय गराएका थिए ।

संघीय संसदको पहिलो बैठक सकियो, अर्काे बैठक भोलि ११ बजे

काठमाडौं, फागुन २१ । ‘प्रतिनिधिसभाको अन्तरिम कार्यविधि, २०७४’ पारित गर्दै प्रतिनिधिसभाको पहिलो बैठक सोमबार सकिएको छ । प्रतिनिधिसभाका जेष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा बसेको बैठकले संसद सञ्चालनका लागि तयार पारिएको अन्तरिम कार्यविधि सर्वसम्मतिले पारित गरेको हो । बैठकको शुरुमा जेष्ठ सदस्य ठाकुरले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति विद्यादेवी भण्डारीको पत्र पढेर सुनाएका थिए । अर्को बैठक मंगलबार (भोलि) बिहान ११ बजे बस्नेछ ।

मानवअधिकार अन्तराष्ट्रिय चलचित्र महोत्सवको छैठौं संस्करण २३ फागुनदेखि

काठमाडौं, फागुन २१ । मानवअधिकार अन्तराष्ट्रिय चलचित्र महोत्सवको छैठौं संस्करण यहि फागुन २३ गतेदेखि २६ गतेसम्म नेपाल पर्यटन बोर्ड भृकुटी मण्डप काठमाडौंमा हुने भएको हो। सामाजिक न्याय र मानवअधिकारलाई थप मजबुत बनाउने उद्देश्यले आयोजना गर्न लागिएको भनिएको महोत्सवको उद्घाटन २३ गते सांगीतिक कार्यक्रमको आयोजना गरी शुरु हुन छ । महोत्सवको राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले उद्घाटन गर्नै छन् । महोत्सवको सुरुवातमा फिल्म ‘जब म खस्छु’ प्रदर्शनबाट हुने छ । जुन फिल्मलाई बेलायती फिल्मकर्मी स्काई नेयलले निर्देशन गरेका हुन्। फिल्मले महिला अधिकारको वकालत गर्छ। विश्वभरिबाट खुला आवेदनबाट संकलन गरिएकामध्ये ७० भन्दा बढी वृत्तचित्र, छोटा चलचित्र, एनिमेटेड फिल्म लागयत प्रदर्शन हुने छन्। नेपालबाट २० वटा फिल्म महोत्सवमा समावेश भएका छन् । चलचित्र महोत्सवमा राष्ट्रिय मानव अधिकार आयोग, चलचित्र बिकास बोर्ड, नेपाल पर्यटन बोर्ड तथा संयुक्त राष्ट्र संघ, गुड गर्भनेन्स, जर्मनी दूतावाससँग सहकार्यको रहेको छ । महोत्सवमा फिल्म प्रदर्शनसँगै विविध विषयमाथि अन्तक्रिया समेत हुने आयोजक पाण्डव खत्रीले बताए।

चर्चित पाेर्नाेस्टार सन्नी लियोनी बनिन् जुम्ल्याहा बच्चाकी आमा

नयाँ दिल्ली । बलिउड अभिनेत्री सन्नी लियोनी जुम्ल्याहा बच्चाको आमा बनेकी छिन् ।सन्नीका पति डेनियलले जुम्ल्याहा बच्चा सहित परिवारको तस्विर ट्विटर मार्फत सार्वजनिक गरेपछि सोको खुलासा भएको हो । जुम्ल्याहा बच्चाको नाम अशर सिंह र नोहा सिंह वेबर रहेको छ । अघिल्लो वर्ष सन्नी र उनका पतिले निशा कौरलाई आफ्नो धर्मसन्तानको रुपमा राखेका थिए । जुम्ल्याहा बच्चा सन्नी आफैले जन्माएकी हुन् भन्ने विषयमा मिडियाले प्रश्न गरेको केही समयपछि सन्नीले बच्चा आफ्नै सन्तान रहेको बताएकी छिन् । उनले जुम्ल्याहा बच्चाबारे कोही भ्रममा नपर्न आग्रह गर्दै पुरा परिवार निर्माणका लागि केही वर्षअघिबाटै सरोगेसीको विकल्प लिएको बताइन् ।

असला माछा मारे तीस हजार जरिवाना

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी र वडा नं १० पाथेकाका स्थानीय समुदायले स्थानीय खोलामा पाइने माछा मार्न रोक लगाएका छन् । पछिल्लो समय स्थानीय खोलामा करेन्ट तथा विष लगाएर माछा मार्नेक्रम बढेसँगै संसारकै दुर्लभ मानिने असला माछा लोप हुने अवस्थामा पुगेपछि समुदायले यस्तो कदम चालेको हो । रुपाकोट शिर भएर बग्ने देखुमखोला, कालुपातेखोला, आइतबारेखोला र बगरेभञ्ज्याङ शिर भएर बग्ने भुत्याखोलामा माछा मार्न रोक लगाइएको स्थानीय सर्वधन राईले जानकारी दिनुभयो । “लोप हुन लागेको असला माछा संरक्षणका लागि समितिसमेत बनाएका छौँ,” उहाँले भन्नुभयो – “संरक्षण समितिले पहिलो पटक माछा मारेको भेटे रु पाँचदेखि १० हजार, दोस्रो पटक रु १० देखि २० हजार र तेस्रो पटक रु २० देखि तीस हजार नगद जरिवानासहित कानूनी कारबाही गर्ने निर्णय गरेको छ ।” संरक्षण समितिमा आबद्ध स्थानीयवासीले माछा पाइने खोलाहरुको नियमित अनुगमन गर्नसमेत शुरु गरेका छन् । माछा संरक्षणका लागि खार्मी र पाथेका प्रवेश गर्ने मुख्यद्वारहरुमा असला माछासहितको होर्डिङबोर्ड राखिएको समितिले जनाएको छ। माछा संरक्षण समितिलाई वडाको तर्फबाट समेत आवश्यक सहयोग हुने वडाध्यक्ष रामचन्द्र राईले बताउनुभयो । स्थानीय लक्षिणाप्रसाद राईको संयोजकत्वमा ११ सदस्यीय संरक्षण समिति गठन गरिएको छ । यसअघि, ती खोलाहरुमा पाइने असला माछा स्थानीयवासीले मारेर दिक्तेल र बाक्सिलाबजारमा बिक्री गर्ने गरेका थिए । सानो खोलामा पनि प्रशस्त पाइने असला माछा प्रतिकेजी रु ७०० मा बिक्री हुने गरेको छ । रासस

पहिचान र अस्तित्वसहितको समावेशीता हुनुपर्नेमा जोड

नगरकोट । वरिष्ठ पत्रकारहरुले पहिचान र अस्तित्वसहितको समावेशीता हुनुपर्नेमा जोड दिएका छन् । पत्रकारिता क्षेत्रले पनि यसैलाई आत्मसात् गरेर समाचार उत्पादन, प्रशोधन तथा प्रसारण र प्रकाशनमा ल्याउनुपर्ने उनीहरुको सुझाव छ । नेवाः पत्रकार राष्ट्रिय दबू र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ भक्तपुरको संयुक्त संयोजनमा भएको तीनदिने तालीमका सहभागीले नेपाली पत्रकारितामा समावेशी विषयको एक अन्तक्र्रियामा समाचार उत्पादनमा समावेशी भए पनि प्रशोधन गर्ने डेस्कमा समावेशी नहुँदा प्रसारण तथा प्रकाशनमा समावेशीताले ठाउँ नपाएको औँल्याए । कार्यक्रमका सहभागीलाई आइतबार प्रमाणपत्र वितरण गर्दै सूचना विभागका महानिर्देशक वीरबहादुर राईले नेपाली सञ्चार क्षेत्रलाई समावेशी बनाउन विभागले पहल गर्ने बताउनुभयो । तालीमका प्रमुख सहजकर्ता डा सुरेश आचार्यले समावेशीता एउटा आन्दोलन भएर आएकाले त्यसलाई सम्बोधन गर्न सबै पक्ष तयार हुनुपर्ने बताउनुभयो । कार्यक्रममा सञ्चार विज्ञहरु डा विजय मिश्र, डा राजेश अहिराज, खिम घले र मीरा राजभण्डारीले नेपाली पत्रकारितालाई समावेशी बनाउन देखिएका समस्या र त्यसको निराकरणका उपायसँगै समावेशी पत्रकारिता के र कसरी गर्ने भन्नेबारे सहजीकरण गर्नुभएको थियो । स्थानीय संयोजनकर्ता नेवाः पत्रकार राष्ट्रिय दबू भक्तपुरका अध्यक्ष ईश्वरकाजी खाइजूले समावेशीताका विषयमा धेरै चर्चा भए पनि सञ्चार क्षेत्रमा यसले प्रवेश नपाएको सन्दर्भमा भक्तपुरमा उक्त कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । तीन दिनसम्म चलेको तालीममा भक्तपुरका ४० जना क्रियाशील पत्रकारको सहभागिता थियो । रासस