सभामुखद्वारा इद पर्वको शुभकामना
काठमाडौँ। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरले मुस्लिम समुदायको धार्मिक पर्व इद–उल फित्र (इद)को अवसरमा स्वदेश तथा विदेशमा रहेएका इस्लाम धर्मावलम्बीको सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका साथै उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।
सभामुख घिमिरेले आज जारी गर्नुभएको शुभकामना सन्देशमा भाइचारा र पारिवारिक मिलनको रुपमा मनाइने इद पर्वले राष्ट्र निर्माण, राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी मित्रतालाई सुदृढ गर्न मद्दत पुगेको उल्लेख छ ।
“विभिन्न जातजातिले आ–आफ्ना चाडपर्वमा सबै जाति र समुदायको उपस्थितिमा मनाएर धार्मिक–सांस्कृतिक एकतामा अभूतपूर्व नमूना पेस गरेका छन्”, सभामुख घिमिरेको शुभकामना सन्देशमा उल्लेख छ, “यसले एक अर्काको सद्भावलाई बढाएको छ, इतिहासदेखि कै नेपाली एकता र विश्वास आगामी दिनमा अझै उचाइमा पुग्ने विश्वास लिएको छु ।”
देश बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधतायुक्त मुलुक भएको र नेपालको संविधानले प्रत्येक व्यक्तिलाई आफ्नो धर्मको अवलम्बन र अभ्यास गर्ने अधिकारको व्यवस्था गरेको शुभकामना सन्देशमा भनिएको छ । “कुनै पनि नागरिकलाई उसको धर्म वा आस्थाका आधारमा विभेद नगर्ने र राज्यका सबै नीतिमा समानता कायम गर्ने संविधानको लक्ष्य छ”, सभामुख घिमिरेको शुभकामना सन्देशमा भनिएको छ ।
नेपाली मुस्लिम समुदायले राजनीतिक आन्दोलन र मुलुक निर्माणमा ठूलो योगदान गर्दै आएको र त्यसकै प्रतिफलस्वरुप मुस्लिम समुदायलाई अगाडि बढाउन संवैधानिक आयोगको व्यवस्था गरिएको सभामुख घिमिरेद्धारा जारी सुभकामना सन्देशमा भनिएको छ ।
१६औँ योजनाका लागि गठबन्धन दलसँग आयोगको छलफल
काठमाडौं। १६औँ योजनाका लागि राष्ट्रिय योजना आयोगले सत्ता साझेदार दलहरुसँग छलफल गरेको छ । प्रधानमन्त्री एव। आयोगका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा आयोगले दलका प्रमुख एवं प्रतिनिधिहरुसँग छलफल गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको अन्तरक्रिया कार्यक्रममा सत्ताको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रबाट प्रधानमन्त्री प्रचण्डसँगै पार्टीका वरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्व प्रधानमन्त्री एवं नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा एमालेका तर्फबाट उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा, जनता समाजवादी पार्टीबाट अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णिम वाग्ले लगायतका नेताहरुको सहभागिता थियो। आयोगका उपाध्यक्षले १६ औँ योजनाको तयारीका बारेमा जानकारी गराएका थिए भने आयोगका सहसचिव महेश भट्टराईले प्रस्तुति राखेका थिए । उपाध्यक्ष डा। श्रेष्ठका अनुसार राजनीतिक दलहरुबाट प्राप्त सुझावहरु समेटेर मस्यौदालाई अन्तिम रुप दिइनेछ । आयोगले यसअघि विज्ञहरुसँग सुझाव लिइसकेको छ । आयोगले पहिलो पटक आवधिक योजनाका लागि सबै प्रदेशमा पुगेर प्रदेश सरकार र स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुसँग सुझाव समेत लिइसकेको छ ।
ईपीएस भाषा परीक्षामा सहभागी ४० हजार ५८० मध्ये ६ हजार ३२१ जना उत्तीर्ण
काठमाडौं । पहिलो चरणको ईपीएस भाषा परीक्षामा ६ हजार ३२१ जना परीक्षार्थी उत्तीर्ण भएका छन्। गत ७ फागुनदेखि २४ चैतसम्म भएको भाषा परीक्षामा उत्पादनमुलकतर्फ सहभागी ४० हजार ५८० मध्येबाट ६ हजार ३२१ जना परीक्षार्थी उत्तीर्ण भएका हुन्। वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखाका अनुसार उत्तीर्ण भएकाहरूले अब सीप परीक्षा दिनु पर्नेछ। ‘स्किल र कम्पिटेन्सी टेस्ट’ पास भएपछि मात्रै उनीहरू कोरिया जान पाउने श्रमिकको सूची (रोस्टर)मा सूचीकृत हुने विभागले जनाएको छ।उनीहरुको सिप परिक्षण आगामी ९ वैशाखदेखि १५ वैशाखसम्म तय गरेको छ । उत्पादनमूलकतर्फको दोस्रो चरणको परीक्षा ३१ वैशाखदेखि १६ साउन २०८१ सम्म हुँदैछ। त्यस्तै तेस्रो चरणको परीक्षा २६ कात्तिकदेखि २ पुस २०८१ सम्म हुने तालिका छ।
भारतको नैनीताल दुर्घटना : शव आज नेपाल ल्याइँदै
कञ्चनपुर। भारतको उत्तराखण्डस्थित नैनीताल जिल्लाको बेतालघाटमा सोमबार राति सवारी दुर्घटनामा परी मृत्यु भएका सात नेपालीको शव आज नेपाल ल्याइँदै छ । दुर्घटनाको खबरपछि बुवाको शव बुझ्न नैनीताल पुगेका बाँके बैजनाथ गाउँपालिका–८ का प्रमोद थारुले मृतक सबैको शव परीक्षण अस्पतालले गरिसकेको जानकारी दिए । दुर्घटनामा मृत्यु भएका विश्राम थारुका छोरा प्रमोदले मृतकका केही आफन्तहरू शव लिन नैनीताल पुगेका बताए । “अस्पतालमा परीक्षणको सबै काम सकेर शव गाडीमा हाल्दैँ छौँ”, नैनीतालबाट प्रमोदले भने, “शवका लागि बरफको व्यवस्था नहुँदा हल्द्धानी पुगेर हाल्ने सल्लाह भएको छ ।” सवारी दुर्घटनामा परी मृत्यु हुनेमा बाँकेको बैजनाथ–८ का धिरज थारु, उदयराम थारु, विश्राम थारु, तिलकराम थारु, अन्तराम थारु र विनोद थारु र बर्दियाको बाँसगढी नगरपालिका–१, चेपाङका टोपबहादुर बस्नेत रहेका छन् । त्यसैगरी बैजनाथ गाउँपालिका–८ का वडाध्यक्ष भगन थारुले मृतकको शव ल्याउने विषयमा समस्या परे वडा कार्यालयले विपद् व्यवस्थापन कोषबाट रकम खर्च गर्ने व्यवस्था गरिने बताए । “मृतकका आफन्तहरू नैनीताल पुगेर हामीसँग नियमित सम्पर्क गरिरहनुभएको छ”, उनले भने, “नयाँ वर्ष मनाउन घर फर्किरहेका उनीहरू दुर्घटनामा परेपछि सिंगो वडा नै शोकमा छ ।” वडाध्यक्ष थारुका अनुसार दुर्घटनामा परी सोही वडाका स्थानीय दशरथ थारु र शान्ति थारु घाइते भएका छन् । उनीहरूको भारतमै उपचार भइरहेको छ । सो दुर्घटनामा परी सात नेपाली नागरिकसहित जीप चालक भारतीय नागरिकसहित आठजनाको मृत्यु भएको थियो । घटनास्थल वरपर नै उनीहरू सडक छेउमा खानेपानीको पाइप विछ्याउने काम गर्दथे । सोमबार काम सकिएपछि जीप भाडामा लिएर टकनपुर आउने तयारीमा रहेका उनीहरू चढेको केही बेरमै दुर्घटना भएको थियो । रासस
सुनसरीका ५ पालिकामा हट्यो कर्फ्यु, भेला र जुलुसमा भने कडाइ
सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँच वटा पालिकामा लगाएको कर्फ्यु हटाएको छ । मङ्गलवार राति १२ बजेबाट कर्फ्यु हटेको हो । दुई समूहबिचको विवादले उग्र रूप लिएपछि प्रशासनले गत शुक्रवारदेखि कर्फ्यु लगाएको थियो । हरिनगर र देवानगञ्ज गाउँपालिकामा पूर्णरुपमा कर्फ्यु र इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका र कोशी गाउँपालिकामा आंशिक रूपमा कर्फ्यु थियो । कर्फ्यु खुकुलो गर्दै गएको प्रशासनले मङ्गलवार रातिबाट पूर्णरुपमा कर्फ्यु हटाएको हो । कर्फ्यु हटे पनि भेला जुलुस गर्न प्रतिबन्ध लगाइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए । उनले भने, ‘सबै पालिकाहरूमा धार्मिक सहिष्णुता बिग्रने गरी संघर्ष समिति गठन गर्ने, सामाजिक सञ्जालको दुरुपयोग गरी विभिन्न पोस्टहरू हाल्ने वा सेयर गर्ने, भेला, जुलुस लगायतका शान्ति सुरक्षामा अवरोध गर्ने किसिमका कार्य नगर्न नगराउन स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम निषेध गरिएको छ ।’
पर्यटन क्षेत्रमा लगानी भित्र्याउन पर्यटनमन्त्री तामाङको आग्रह
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले विदेशी लगानीकर्ताहरूलाई नेपालको पर्यटन क्षेत्रमा लगानी गर्न उद्योगी व्यवसायीहरूे जोड दिनुपर्ने बताएका छन् । मंगलबार नेपाल उद्योग परिसंघको पर्यटन समितिले काठमाडौंमा आयोजना गरेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिसँगको अन्तर्क्रियामा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले वैशाख तेस्रो हप्तामा सुरु हुने लगानी सम्मेलनलाई सफल बनाउन उद्योगी, व्यवसायीहरूको भूमिका महत्त्वपूर्ण हुने र अन्तर्राष्ट्रिय स्तरका लगानीकर्ताहरूलाई आह्वान गर्न आग्रह समेत गरे । उनले सबैले मिलेर नेपालमा लगानी गर्ने वातावरण बनेको छ भन्ने महशुस गराउनसके लगानी सम्मेलन सफल हुने बताए । नेपालको पर्यटन क्षेत्रमा दीर्घकालीन र तत्कालीन समस्या रहेको भन्दै साझा मुद्दा बनाएर अघि बढ्ने हो भने समस्याको समाधान हुने बताए ।
भोलि इद पर्वको सार्वजनिक बिदा
भोलि इद पर्वको सार्वजनिक बिदा काठमाडौं । सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितले जारी गरेको सूचनामा भोलि इस्लाम धर्मावलम्बीहरुको पर्व ईद–उल–फित्र (ईद)को अवसरमा सार्वजनिक बिदा दिइएको उल्लेख छ । “मिति २०७९ चैत २ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्बीहरुको पर्व ईद-उल-फित्र (ईद)का दिन सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त पर्वको अवसरमा मिति २०८० साल चैत २९ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,” सूचनामा भनिएको छ ।
सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन ५०० रुपैयाँ बढेको छ । आज छापावाल सुन तोलामा एक लाख ३६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन उक्त सुन तोलामा एक लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन तोलामा एक लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढेको छ । चाँदी तोलामा एक हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
हाम्रा युवाको सपना खाडीमा खेर जान नदिऔँ : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले मुलुकको अर्थतन्त्र बाह्य भन्दा पनि आन्तरिक कारणले कमजोर बनेको टिप्पणी गरेका छन् ।नेपाल उद्योग वाणिज्य महासंघको ५८औँ वार्षिक साधारणसभामा उनले सो कुरा बताएका हुन् । “किनभने यस अवधिमा भारत बंगलादेशलगायतका मुलुकको वृद्धिदर उच्च छ । विश्व बैंकले नेपालको आर्थिक वृद्धि चालु वर्षमा ३।३ प्रतिशतमात्र हुने अनुमान सार्वजनिक गरेको छ । जब कि बंगलादेशको ५.६ प्रतिशत र भारतको ७.५ प्रतिशत वृद्धि हुने प्रक्षेपण छ,” उनले भनेका छन् । उनले नेपालका युवाहरुका सपना खाडीमा खेर जान नदिन प्रतिवद्ध हुनुपर्ने, उद्यमीको मोहरलाई रुपैयाँ बनाउन अवसर दिनुपर्ने, रित्तिएका पहाड हराभरा बनाउन नेपालको निजी क्षेत्रलाइ थप हौसला थप्नुपर्ने बताए । सम्बोधनको पूर्णपाठ उद्योग वाणिज्य दिवस एवं नेपाल उद्योग वाणिज्य महासंघको यस ५८ औं बार्षिक साधारणसभाको उदघाटन कार्यक्रममा यहाँहरु सबैलाई हार्दिक स्वागत गर्दै उपस्थितिका लागि आभार व्यक्त गर्दछु । म लगायत नयाँ कार्यकारिणी समितिले कार्यभार सम्हालेको एक बर्ष पूरा भएको छ । म र यो कार्यसमिति मुलुकको निजी क्षेत्रेको यो छाता संस्थाको नेतृत्वमा आइरहँदा मुलुकको अर्थतन्त्र अप्ठेरो अवस्थामा थियो । मैले महासंघको नेतृत्व गर्नुपूर्व म एक्लै, अरु एकदुइ जना साथीभाइ र परिवारबाट शुरु भएको मेरो व्यवसायमा करिब २० हजारको परिवार बनेकोे छ । महासंघमा जोडिएसंगै करिब ६ लाख व्यवसायी सहितको परिवार बन्यो । हामीसंग विविध कारणले सदस्य नभएका वा हुन नपाएका व्यवसायी पनि यो परिवारका सदस्य हुन् । यसको अर्थ महासंघ परिवार सम्पूर्ण निजी क्षेत्रका सदस्यहरुको हो । हाम्रो वृहत परिवार यो सिंगो मुलुक हो । निजी क्षेत्र यो वृहद परिवारको आय आर्जन गर्ने सदस्यहरु हुन् । हामी निजी क्षेत्र र सर्वसाधारणलाई आवश्यक सेवा र सुरक्षा दिन निर्माण भएको संरचना सरकार हो । सरकारले दिने सेवा र सुरक्षा विना हामी काम गर्न सक्दैनौ । हामीलाई सेवा र सुरक्षा दिए वापत हामी राज्यलाई कर बुझाउँछौं । अहिले परिवारमा आम्दानी र खर्चबीच तालमेल मिलेको छैन । मुलुकको खर्च धान्ने निजी क्षेत्र पंखेटा पिंmजाएर थप आर्जन गर्न खोजिरहेको छ तर त्यसका लागि आवश्यक सेवा र सुरक्षा पाउन सकेको छैन । यो क्षेत्रले अहिले सरकारबाट थोरै मात्र भए पनि प्रोत्साहन चाहेको छ । म युवाहरुको सपनाको बारेमा कुरा गर्न चाहन्छु । म उद्यमशीलताको कुरा गर्न चाहन्छु । उद्यमशीलता एउटा कठीन तपस्या हो । कुनै पनि नयाँ काम गर्न नवीन सोच र आइडिया चाहिन्छ । त्यसलाई कार्यान्वयन गर्न रकम चाहिन्छ । यस्तो रकमको जोहो घरवार धितो राखेर नै गर्नुपर्छ । अब त्यो आइडियालाई समाजले स्वीकार गर्ने गरि तयार पार्नुपर्यो । राजनीतिक तहबाट त्यसलाई अपनत्व ग्रहण गरिदिनुपर्यो । कानुनी अडचन हुनु भएन र वातावरणीय रुपमा दिगो हुनुपर्यो । यी सबै आधारभूत बिषय पुरा गरेपछिमात्रै एउटा परियोजना वा व्यवसाय बन्छ । यति मिहिनेत गरेर तयार पारेको व्यवसाय वा परियोजना एउटा सरकारी नीति, एउटा अधिकारीको लहड अनि भीडले एकैछिनमा भताभुंग पारिदिन सक्छ । तर यति हुँदा हुँदै पनि म आज यहाँ निराशामात्र व्यक्त गर्न चाहन्न । म यो सम्भावना नै सम्भावना भएको मुलुकको रुपमा देख्छु । यी सम्भावनालाई यथार्थमा परिणत गर्न राजनीतिक नेतृत्वको भूमिकाको बारेमा पनि कुरा गर्छु । सम्भावना पहिल्याउन अहिलेको वास्तविक चित्रण आवश्यक छ । अहिले विदेशी मुद्राको संचिति हालसम्मकै उच्च छ । अर्थात करिब साढे १२ महिनाको वस्तु तथा सेवा आयात गर्न पर्याप्त छ । बैंकहरुमा पनि तत्काल कर्जाका रुपमा दिन सकिने करिब ६ खर्ब रुपैया छ । उद्यमी व्यवसायीले व्यवसाय विस्तार गर्न नसक्दा कर्जाको माग न्युन छ । भुक्तानी सन्तुलन र चालु खाता समेत बचतमा हुँदा सकारात्मक सन्देश जान्छ । तर यस अवधिमा एक खर्ब रुपैयाको निर्यात हुँदा ८० अर्ब रुपैया त विद्यार्थीहरु विदेश जाँदा बाहिरिएको छ । नेपाल विश्व व्यापार संगठनको सदस्य बने यता निर्यात तीन गुणासम्म बढेको छ भने आयात १० गुणा बढेको छ । वैदेशिक लगानी कुल गार्हस्थ्य उत्पादनको शुन्य दशमलब २ प्रतिशत हाराहारीमात्रै छ । वैदेशिक अनुदान निरन्तर घट्दो छ । वित्तीय व्यवस्थापन खर्च पूँजीगत खर्च भन्दा झण्डै दोब्बर भएको छ । आन्तरिक स्रोत बढाउन सकिएन भने नेपाल अतिकम बिकसित मुलुकबाट स्तरोन्नति हुँदै जाने क्रममा ऋणको भार थप बढने सम्भावना देखिएको छ । निर्यात लगानी, सहायता सबै कम हुँदा पनि वाह्य क्षेत्र सबल हुनुको कारण रेमिट्यान्स हो । रेमिट्यान्स मात्रै मुलुक धान्न आधार बनेको दशकौँ भैसकेको त हामीलाई विदितै छ । रेमिट्यान्सले मात्रै निरन्तर अर्थतन्त्र धान्न सक्ने सम्भावना न्युन हुन्छ । विगतमा बढदो रेमिट्यान्सले माग बढाउँदा सरकारको राजश्व पनि बढेको थियो । राजश्व अपेक्षित रुपमा बढन सकेको छैन् । न्युन पूँजीगत खर्च हुँदा पनि सरकार घाटामा रहनुले आगामी दिन थप जटिल हुने देखिन्छ । सम्माननीय प्रधानमन्त्रीज्यू, पूर्व प्रधानमन्त्रीज्यूहरु यी माथिका तथ्यांकहरु मैले हाम्रो अर्थतन्त्रको वर्तमान अवस्थाका बारेमा जानकारीका लागि प्रस्तुत गरेको हुँ । किनभने अर्थतन्त्रमा अझै समस्या छ भन्ने तथ्यलाई स्वीकारेर मात्र यसको निकास खोज्न सजिलो हुन्छ भन्ने मलाई लाग्दछ । करिब दुइ बर्षदेखि सुस्ताएको अर्थतन्त्रको रोग पहिचान गरेर त्यसको निदान नगर्दा समस्या झन् बल्झिँदै गएको हो । निजी क्षेत्रले त रोगको पहिचान गरेरै बारम्बार औषधि सिफारिस गरेकै हो । यसमा राज्यको सम्बद्ध पक्षले ध्यान दिन नसक्दा हामी आज यो मोडमा आइपुगेका छौँ । यसपटकको बजेट र मौद्रिक नीतिमा निजी क्षेत्रको साझा सुझाव पेश हुदा पनि सुधारका उपाय अवलम्बन हुन सकेनन् । श्रीलंका बन्न सक्ने भयले यहाँ नियन्त्रणमुखी नीतिगत व्यवस्था गरिए । यसबाट हाम्रो आर्थिक वृद्धि ६ प्रतिशतबाट २ प्रतिशतमा झरेको छ । भने यसै अवधिमा श्रीलंकाको आर्थिक वृद्धि माइनस ७।८ प्रतिशतबाट करिब दुइ प्रतिशत सकारात्मक भएको छ । नेपालको अर्थतन्त्र कमजोर हुनुमा वाह्य भन्दा आन्तरिक कारण नै प्रमुख हुन । किनभने यस अवधिमा भारत बंगलादेश लगायतका मुलुकको वृद्धिदर उच्च छ । विश्व बैंकले नेपालको आर्थिक वृद्धि चालु वर्षमा ३.३ प्रतिशत मात्र हुने अनुमान सार्वजनिक गरेको छ । जब कि बंगालादेशको ५.६ प्रतिशत र भारतको ७.५ प्रतिशत वृद्धि हुने प्रक्षेपण छ । गत बर्ष पनि नेपालको वृद्धि दुइ प्रतिशत भन्दा कम हुँदा भारत र बंगलादेशको अर्थतन्त्र ६ प्रतिशत भन्दा बढिले विस्तार भएको थियो । भारतमात्रै होइन हाल निक्कै उच्च दरमा वृद्धि हासिल गरिरहेका बंगलादेश, क्याम्बोडिया, लाओस, रुवाण्डा र इथियोपिया जस्ता मुलुकको बिकासको मुख्य आधार निजी क्षेत्रले डोर्याएको वृद्धि नै हो । कुनै समयका द्धन्दग्रस्त र निक्कै गरिब मुलुकहरुको पछिल्लो एक दशकको औसत वृद्धिदर ६ प्रतिशत माथि छ । नेपालको भने औसत ४ प्रतिशत छ । पछिल्लो दुइ बर्षमा न्युन आर्थिक वृद्धि हुनुको कारण निजी क्षेत्रले काम गर्न नपाउँदा हो । यस बर्ष पनि उत्पादनमुलक क्षेत्रको वृद्धिदर शुन्य दशमलब ४ प्रतिशतले ऋणात्मक छ । सम्माननीय प्रधानमन्त्रीज्यू, दलका प्रमुखज्यू लगायत उच्च नेतृत्व वर्ग । म व्यक्तिगत रुपमा हरेक क्षेत्र र प्रयासलाई सकारात्मक रुपमा हेर्ने व्यक्ति हुँ । मैले सकेसम्म होइन, छैन र हुँदैन भन्ने शब्द प्रयोग पनि गर्दिन । हामी आफैँमा सम्पन्न र सक्षम छौँ । हाम्रो अर्थतन्त्र सानो भएकाले रिकभर हुन सजिलो पनि छ । त्यसैले हाम्रा रणनीतिहरु कुनै बाहिरी प्रभाव भन्दा पनि हाम्रो माटो र हाम्रो स्थिति परिस्थिति सुहाउँदो हुनुपर्छ भन्ने मेरो धारणा हो । त्यसैले आज पनि म भन्छु, हामीले लिने साना तर सकारात्मक प्रयासहरुले पनि हामीलाई ठूलो प्रतिफल दिनेछन् । यसका लागि सबैको सकारात्मक सोच र सत्प्रयास आवश्यक छ । हाम्रा युवाहरुका सपना खाडीमा खेर जान नदिऔँ । उद्यमीको मोहरलाई रुपैया बनाउने अवसर दियौँ । रित्तिएका पहाड र बस्तीको माटो हराभरा बन्न सक्छ । यसका लागि पनि नेपालको निजी क्षेत्रलाई थप हौसला प्रदान गर्नुपर्छ । हामी भुकम्पपछि कसरी उठ्यौं रु अनि कोभिड पछि कसरी तंग्रियौं रु यी दुख बाट पनि हामीले प्रेरणा लिन सक्छौँ । मुलुकको निजी क्षेत्र बिकास र समृद्धिको नेतृत्व लिन तयार छ, मात्र वातावरणको खाँचो छ । सबै मिलेर यही वातावरण निर्माण गरौँ र आजैदेखि अर्थतन्त्रलाई सबल बनाऔँ भनेर हामीले आजको यस गरिमामय सभामा यहाँहरु सामु पाँच बुँदे प्रतिवद्धतापत्र पेश गरेका छौ । यसमा हामी यहाँहरुको प्रतिबद्धताको अपेक्षा गरेका छौँ । अहिले निराशा र अविस्वास बढेका बेला यहाँहरुले यी प्रतिवद्धता जनाइदिनुभएमात्रै पनि सकारात्मक सन्देश जाने मैले अपेक्षा गरेको छु । यहाँहरु समक्ष यसका लागि हार्दिक अनुरोध गर्दछु । नेपाल उद्योग वाणिज्य महासंघले राख्दै आएको द्धिपक्षीय लगानी सम्झौता बीआईए को खाका मन्त्रीपरिषदबाट पारित भएको छ । म यसका लागि सम्माननीय प्रधानमन्त्रीज्यु प्रति आभार व्यक्त गर्दछु । अब छिट्टै नै हामीले सुधारका लागि तयार पारेको १२ कानुन एवं नियमावली पनि पारित हुने अपेक्षा गरेका छौ । आजको यस कार्यक्रममा मुलुकभरबाट करिब एक हजार भन्दा बढि उद्यमी व्यवसायी भेला भएका छौं । व्यवसायी र आम सर्वसाधारणको मुहारमा मुस्कान छर्न राजनीतिक नेतृत्व र हामीले धेरै काम गर्नुछ । यो निराशालाई आशामा परिणत गर्नुछ । अबको दुइ दिनपछि नयाँ बर्ष २०८१ शुरु हुँदैछ । सम्माननीय प्रधानमन्त्रीज्यू, पूर्व प्रधानमन्त्रीज्यूहरु, नेतृत्व वर्ग नयाँ बर्षमा हामी व्यवसायीहरुले यहाँहरुबाट के सन्देश लिएर जाने अब यो यहाँहरुको हातमा छ । नयाँ वर्ष २०८१ को शुभकामना ।
डढेलो निभाउन जाँदा ३ जना नेपाली सैनिकको निधन
काठमाडौँ । डढेलो निभाउन जाँदा ३ जना नेपाली सैनिकको मृत्यु भएको छ । डोल्पाको दुनैस्थित ठुलीभेरी नगरपालिका–४, तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो नियन्त्रण लिन परिचालित ३ जना नेपाली सैनिकको मृत्यु भएको हो । डडेलोले टिप्दा घाइते भएका ४ जना सैनिकमध्ये ३ जना नेपाली सैनिकको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार एक जनाको जिल्ला अस्पताल डोल्पामा उपचारका क्रममा मृत्यु भएको छ भने थप २ जनाको कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको हो । एक जनाको भने सोही अस्पतालमा उपचार भइरहेको छ । देशका विभिन्न स्थानहरूमा भइरहेका आगलागी नियन्त्रणका निमित्त करिब ८ सय स्थानमा १२ हजार ५ सय जना सकलदर्जा परिचालित भएको जनाइएको छ ।
साझामा १.१ मेगावाटको चार्जिङ स्टेसन, गुड्छन् ४० विद्युतीय बस
काठमाडौं । साझा यातायात सहकारी संस्था लिमिटेडको १.१ मेगावाटको चार्जिङ स्टेसन उद्घाटन भएको छ ।मंगलबार उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले १.१ मेगावाटको चार्जिङ स्टेसन उद्घाटन गरेका हुन्। साझा यातायातले पहिलो पटक ललितपुरको पुल्चोकमा नेपालकै सबैभन्दा बढी पावर भएको चार्जिङ स्टेसनको शुरुवात गरेको हो । चार्जिङ स्टेसनसहित मंगलवार नै ४० वटा विद्युतीय बस पनि औपचारिक रुपमा सञ्चालनमा आएका छन् । साझा यातायातले आउँदो दिनमा डिजेल गाडीलाई रूपान्तरित बिजुली गाडी बनाएर परीक्षण गर्न लागेको साझा यातायातका अध्यक्ष कनकमणि दिक्षितले जानकारी दिए । उनले अहिले सञ्चालनमा आउने बसमा २६ सिट रहेको र ४५ मिनेटमा बस पूर्ण चार्ज (फुल चार्ज) हुने बताए। अध्यक्ष दिक्षितले एक पटक फुल चार्ज गरेपछि साझा यातायातका विद्युतीय सवारी २ सय किलोमिटरसम्म गुड्नसक्ने बताए । उनले १.१ मेगावाट क्षमताका २४ वटा समानान्तर चार्जिङ पोइन्ट रहेको बताए । उनले अब आउने विद्युतीय साझा बसको लागि साझासँग स्थान नभएको बताए। कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले साझा यातायातमा काठमाडौं महानगरपछि ललितपुर महानगरपालिकाको धेरै लगानी भएको बताए। उनले ललितपुर महानगरको बाहिर क्षेत्रमा साझाका बस चल्ने र भित्रि कोर क्षेत्रमा सटलबस चलाउन साझालाई रकम दिइसकेको बताए। उनले ४५ सिट भएका सटलबस पुल्चोक, पाटनदबार, महाबौद्ध र लगनखेल क्षेत्रमा चलाउन गइरहेको बताए। सटलबस सञ्चालनमा लाग्ने खर्च बिइपीमा हुनुपर्ने नभए ललितपुर महानगरपालिकाले सहयोग गर्ने उनको भनाई छ । साझाले २०७९ असोज २२ गते चीनको सिएचटिसी किनविङ (नानजिन) अटोमोबाइल कम्पनी लिमिटेडसँग ४० वटा बस खरिदका लागि सम्झौता गरेर बस नेपालमा ल्याएको थियो । साझा यातायातले आफ्नै जग्गामा चार्जिङ स्टेसन बनाएको हो ।
सार्कलाई निरन्तर सहयोग गर्ने महासचिव गुटेरेसको प्रतिबद्धता
काठमाडौं । संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहेका दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का महासचिव गोलाम सरवारले संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेससँग राष्ट्रसंघीय मुख्यालय न्युयोर्कमा शिष्टाचार भेट गरेका छन् । सार्कका महसचिवलाई आफ्नो कार्यकक्षमा स्वागत गर्दै महासचिव गुटेरेसले विश्व जनसंख्याको ठूलो हिस्सा ओगटेको सार्क क्षेत्रसँग संयुक्त राष्ट्रसंघले सहकार्य गर्न चाहेको बताए । उनले सार्कसँग साझेदारी गर्न आफू तयार रहेको बताउँदै निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । सार्क सचिवालयका अनुसार महासचिव सरवारले राष्ट्रसंघबाट सार्कलाई निरन्तर सहयोग एवं समर्थनप्रति प्राप्त भएकामा कृतज्ञता व्यक्त गरेका थिए । सार्क संयुक्त राष्ट्रसंघको पर्यवेक्षक संस्था हो । सन् २००४ मा राष्ट्रसंघले सार्कलाई उक्त दर्जा प्रदान गरेको हो । राष्ट्रसंघका महासचिव गुटेरेससँगको भेटमा महासचिव सरवारले दुवै संस्थाबीच सम्बन्ध विस्तारका साथै जलवायु परिवर्तन, खाद्य सुरक्षा, नवीकरणीय ऊर्जाका क्षेत्रमा सहयोग बढाउनेबारेमा छलफल गरेको सार्क सचिवालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । सार्कले राष्ट्रसंघीय विकास कार्यक्रम, खाद्य संगठन, शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन ९युनेस्को०, स्वास्थ्य संगठन, जनसंख्या कोषलगायत १२ वटा राष्ट्रसंघीय निकायसँग समझदारीपत्रमा हस्ताक्षर गरेको जानकारी दिँदै महासचिव सरवारले बदलिँदो परिवेशमा ती निकायसँग गरिएका समझदारीलाई अद्यावधिक गर्न आवश्यक भएको बताए । राष्ट्रसंघ र सार्कबीचको साझेदारीलाई परियोजनामा आधारित गराउन काठमाडौंस्थित सार्क सचिवालयमा राष्ट्रसंघ र सार्कले संयुक्त बैठक गर्नुपर्नेमा जोड दिए । उनले पारस्परिक सहयोगका नयाँ परियोजना पहिचान गर्नुपर्ने बताए । उनले सचिवालयका पदाधिकारीलाई क्षमता अभिवृद्धिलगायत अवसरको व्यवस्थाका लागि महासचिव गुटेरेससँग अनुरोध गरे । महासचिव गुटेरेसले सार्क महासचिवको प्रस्तावको स्वागत गर्दै राष्ट्रसंघ र सार्कबीचको सहकार्य अभिवृद्धिमा जोड दिए । सार्कसँगको क्षेत्रगत साझेदारीका लागि उनले सम्बद्ध निकायका अधिकारीलाई सार्क सचिवालयका पदाधिकारीसँग तत्काल सम्पर्क एवं समन्वय गर्न निर्देशन दिए । उनले दुई संस्थाबीचको विद्यमान सम्बन्धलाई अझ सुदृढ बनाउन र निकट सम्पर्कमा रहेर काम गर्दै सार्कलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । रासस
हिजो स्थगित प्रतिनिधिसभा आज बस्दै , यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले जवाफ दिने, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका माननीय सभापति अम्मरबहादुर थापाले ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८०’ पेस गर्ने सम्भावित कार्यसूची छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौं वार्षिक प्रतिवेदन २०८०’ पेस गर्ने तथा अर्थमन्त्री वर्षमान पुनले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘विधायन सम्बन्धी विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । मंगलबार (हिजो)को प्रतिनिधिसभा बैठक नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै अवरोध गरेको थियो । संसद् बैठक सुरु भएलगत्तै कांग्रेस सांसदहरूले बैठक अवरुद्ध गरेका थिए । त्यसपछि सभामुखले १५ मिनेटपछि बस्ने गरी बैठक स्थगन गरेका थिए । तर, दलहरूबीच सहमति नहुँदा बुधबार (आज) बस्ने गरी बैठक स्थगन गरिएको थियो । सहकारीको रकम ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम मुछिएको विषयमा कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ । त्यसमा सहमति हुन नसक्दा संसद् बैठक अवरुद्ध भएको हो । गृहमन्त्री रवि लामिछानेले संसदमा आफुले धारणा राख्न पाउनुपर्ने बताउँदै आएका छन् भने कांग्रेसले आफुहरुले प्रधानमन्त्रीलाई सुनिसकेकोले अब कसैलाई नसुन्ने संसदीय छानबिन समिति गठन आफ्नो बटमलाईन भएको बताएको छ । सत्ता पक्षले भने सहकारीको रकम ठगीमा रवि लामिछानेको संलग्नता नरहेकोले संसदीय छानबिन समिति गठन आवश्यक नरहेको बताउदै आएको छ । दलहरुबीच सहमतिको वातावरण नबने आज पनि संसद अवरुद्ध हुने सम्भावना रहेको छ ।
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मिति २०८० चैत २८ गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६१ पैसा कायम गरिएको छ। त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४४ रुपैयाँ ५६ पैसा र बिक्रीमा १४५ रुपैयाँ २१ पैसा पाइन्छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६८ रुपैयाँ ७४ पैसा र बिक्रीदर १६९ रुपैयाँ ५० पैसा तोकिएको छ। यस्तो छ विनिमय दर
राष्ट्रियसभा उपाध्यक्ष निर्वाचन आज: घिमिरे र पुडासैनी मैदानमा
काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्ष पदका आज निर्वाचन हुँदै छ । उपाध्यक्षका लागि दुईजनाले मंगलबार उमेदवारी दर्ता गराएका हुन् । सत्ता गठनबन्धनको तर्फबाट नेकपा (एमाले)की विमला घिमिरे र नेपाली कांग्रेसको तर्फबाट विष्णुदेवी पुडासैनीले उमेदवारी दर्ता गराएका हुन् । सत्ता गठबन्धनका तर्फबाट उमेदवारी दिएकी घिमिरेको प्रस्तावकमा राष्ट्रियसभामा एमालेका प्रमुख सचेतक भगवती न्यौपाने छिन् । समर्थकमा नेकपा (माओवादी केन्द्र)का गोपीबहादुर सार्की अछामी रहेका छन् । उनी ०७६ माघ ९ गते राष्ट्रियसभा सदस्य बनेकी हुन् । उनको कार्यकाल दुई वर्ष बाँकी छ ।राष्ट्रियसभाको उपाध्यक्ष उनी नै निर्वाचित हुने पक्कापक्कि नै रहेको छ । कांग्रेसकी उमेदवार पुडासैनीको प्रस्तावकमा दुर्गा गुरुङ र समर्थकमा नारायणदत्त भट्ट छन् । पुडासैनी गएको माघमा भएको निर्वाचनबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी हुन् । महिला क्लस्टरका सातजनामध्ये वाग्मती प्रदेशबाट उनी निर्वाचित भएकी हुन् । पुडासैनी ७३ वर्षीया सांसद हुन् ।
यस्तो हुनेछ आजको मौसम
काठमाडौं । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेका कारण आज बिहान पहाडी भू–भागमा आंशिक बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बाँकी भागमा मौसम मुख्यतया सफा छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थान साथै बाँकी पहाडी भू–भागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । विभागले राति कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोसी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

