यस्तो छ सोमबारको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । आज २०८० साल चैत २६ गते सोमबार सन् २०२४ अप्रिल ८ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।
अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९८ पैसा र बिक्री दर १३३ रुपैयाँ ५८ पैसा पुगेको छ।युरो एकको खरिद दर १४४ रुपैयाँ ११ पैसा र बिक्री दर १४४ रुपैयाँ ७६ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ०६ पैसा र बिक्री दर १६८ रुपैयाँ ८२ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
एमाले स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैरे सर्वसम्मत
स्याङ्जा । नेकपा एमाले स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैरे सर्वसम्मत निर्वाचित भएका छन् ।नवौं जिल्ला अधिवेशनबाट गैरेको अध्यक्षतामा नयाँ कमिटी बनेको हो।यसअघि पनि उनी अध्यक्ष नै थिए । अधिवेशनले उपाध्यक्षमा महेश पुरी, सचिवमा हालै नेकपा(एकिकृत समाजवादी) परित्याग गरी एमाले प्रवेश गरेका रामचन्द्र भट्टराई, उपसचिवहरुमा अमृत श्रेष्ठ र चिरमया गरुङ चयन भएका छन् । नवौँ अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उपसचिव र एक सय सदस्य गरी एक सय पाँचजनाको जिल्ला कमिटी चयन गरेको हो । एमाले स्याङ्जामा नौ हजार पाँच सय ४३ पार्टी सदस्य रहेका छन् । नवौँ अधिवेशनमा स्याङ्जाका ११ स्थानीय तहका ९७ वडा कमिटी, पार्टीका जनसङ्गठन सबैको प्रतिनिधित्व हुने गरी कूल ६ सय नौ प्रतिनिधि सहभागी रहेका थिए । २०७८ साल फागुन २३ को सर्वोच्चको फैसलासँगै माओवादी केन्द्रबाट नेकपा हुँदै एमाले बनेका गैरे नेकपा एमाले स्याङ्जामा दोस्रो कार्यकालका लागि सर्वसम्मत अध्यक्ष बनेका हुन् । यसअघि आठौं अधिवेसनमा गैह्रेले ४४० मत ल्याएर संघीय सांसद नारायण मरासिनीलाई पराजित गर्दै अध्यक्षमा विजयी भएका थिए ।त्यसबेला गैरेले ४ सय ४० मत ल्याउँदा मरासिनीले २ सय ५७ मत मात्रै पाएका थिए ।
नेपाल ‘ए’विरुद्ध आयरल्यान्ड वुल्भ्सको ‘क्लिन स्वीप’
काठमाडौं । नेपाल ‘ए’विरुद्धको एकदिवसीय शृंखलामा आयरल्यान्ड वुल्भ्सले ‘क्लिन स्वीप’ गरेको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा ६९ रनको सहज जित निकाल्दै वुल्भ्सले शृंखला क्लिन स्वीप गरेको हो। खेलमा वुल्भ्सले प्रस्तुत गरेको २८५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ३९.४ ओभरमा २१५ रनमा आलआउट भयो। नेपालका अर्जुन कुमालले शतक बनाए पनि टिमको हार टार्न सकेनन्। उनले ११८ बलमा १४ चौकासहित १०२ रनको योगदान गरे। अर्जुन साउदले ३६, नरेन भट्ट र रुपेश सिंहले समान १५ रन बनाए। देव खनाल ११ रन जोडेर आउट भए। भीम सार्की ‘गोल्डेन डक’ भएका थिए। नेपाललाई सस्तैमा समेट्न वुल्भ्सका बेन ह्वाइटले पाँच विकेट लिए। १० ओभर बलिङ गरेका ह्वाइटले एक मेडन फ्याँक्दै ६२ रन खर्चिए। गाभिन होइले चार र म्याथ्यु फोस्टरले एक विकेट हात पारे। त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको आयरल्यान्ड वुल्भ्सले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २८४ रन बनाएको थियो। आयरल्यान्डका ओपनर स्टेफन डोहेनीले १०७ रन जोडे । उनले १२९ बलमा आठ चौका र दुई छक्का प्रहार गरे । पेटर मुरले ४४, म्याथ्यु हम्फ्रेसले २३, मोर्गन टोपिङले २१, फियोन ह्यान्डले २० रन थपे । बेन ह्वाइटले १९ र गाभिन होइले १४ रन बनाए । नेपालका रिजन ढकाल र रञ्जीत कुमारले समान तीन विकेट लिए । विकास आग्री र साहब आलमले एकरएक विकेट हात पारे । घरेलु टिमविरुद्धको पहिलो एकदिवसीय खेलमा वुल्भ्स २१ र दोस्रो खेलमा ११४ रनले विजयी भएको थियो ।
मेरोभन्दा पनि हाम्रो भन्ने भावनाकासाथ काम गर्छु : मुख्यमन्त्री महरा
रुपन्देही । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले मेरोभन्दा पनि हाम्रो भन्ने सामूहिक विचारका साथ काम गर्ने बताएका छन्।शपथग्रहणपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले सो कुरा बताएका हुन् । ‘एकजनासँग सबै काम गर्ने आइडिया नहुनसक्छ, त्यसैले सामूहिकतामा अगाडि बढ्नेछौं, हचुवाको भरमा काम गर्दिनँ । सामूहिक योजना बनाएर काम गर्दा प्रतिफल पाउन सहज हुन्छ’, उनले भने । उनले चाहेजस्तो सानो आकारको मन्त्रिमण्डल बनाउन गार्हो पर्ने बताए । तर उनले जम्बो मन्त्रीमण्डल भने नबनाइने बताए । मन्त्रिपरिषदलाई पूर्णता र विश्वासको मत भने एक महिना अगाडि नै लिने गरी प्रक्रिया अघि बढाउने उनले बताए । नीति तथा कार्यक्रम र बजेटको तयारीमा लाग्नुपर्ने भएकाले पनि क्याविनेटलाई छिटो पूर्णता दिने जानकारी समेत दिए ।
आयरल्यान्ड वुल्भ्सविरुद्ध अर्जुन कुमालको शतक
काठमाडौं । आयरल्यान्ड वुल्भ्सविरुद्धको अन्तिम एकदिवसीय खेलमा नेपालका ओपनर अर्जुन कुमालले शतक प्रहार गरेका छन् । आइतबार आयरल्यान्ड वुल्भ्सले प्रस्तुत गरेको २८५ रनको लक्ष्य पछ्याइरहेको नेपालबाट कुमालले १०० रन पूरा गरेका हुन् । उनले ११४ बलमा १४ चौका प्रहार गरे । जारी खेलको ३३.३ ओभर सकिँदा नेपालले पाँच विकेट गुमाएर १९८ रन बनाएको छ । हाल क्रिजमा अर्जुनसँगै रहेका रुपेश कुमारले १० रन बनाएका छन् । त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको वुल्भ्सले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २८४ रन बनाएको थियो ।
नेपालद्धारा गुजरातलाई १७७ रनको लक्ष्य प्रस्तुत
काठमाडौं । कप्तान रोहितकुमार पौडेलको अर्धशतकप्रेरित नेपालले एसएमएस फ्रेन्डसिप कपको फाइनलमा गुजरात क्रिकेट एसोसिएसनसामु १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ। आइतबार भारतको वापीमा टस जितेर पहिले ब्याटिङ खेलेको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १७६ रन बनाउन सफल भयो। कप्तान रोहितले ४७ बलमा पाँच चौका र चार छक्कासहित ७४ रन बनाए। आसिफ शेखले ३४ र कुशल मल्लले ३१ रन थपे । कुशल भुर्तेलले १९ रन जोडे । दीपेन्द्रसिंह ऐरी र सन्दीप जोराले समान सात रन बनााए। गुजरातका जयमित पटेल, स्हेन पटेल, तेजस पटेल र जाला युभराजसिन्हले समान एक विकेट लिए । एसीसी प्रिमियर कप र ट्वान्टी–२० विश्वकपको तयारीका निम्ति भारत भ्रमणमा रहेको नेपाल लिग चरणका चारमध्ये तीन खेलमा जित निकाल्दै विजेताका रूपमा फाइनलमा पुगेको हो । गुजरातले भने लिग चरणबाट दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएको हो। त्रिकोणात्मक शृंखलामा नेपाल र गुजरातसँगै बरोडा क्रिकेट एसोसिएसनले प्रतिस्पर्धा गरेका थिए ।
हतियार देखाएर दिउँसै लुटियो मनि ट्रान्सफरको १५ लाख रुपैयाँ
सिरहा । सिराहामा आज दिउँसो हरियारधारीसमूहले ‘मनि ट्रान्सफर’को रकम लुटपाट गरेको छ । सदरमुकामबाट विष्णुपुर गाउँपालिकामा रहेको एक मनि ट्रान्सफरका लागि पुरुषोतम यादवले १५ लाख ५० हजार रुपैयाँ लैजाने क्रममा हरियाधारीले रकम लुटेका हुन् । जिल्ला प्रहरी कार्यालयदेखि करिब पाँच सय मिटर उत्तर महिसोथा जाने बाटो नजिकबाट लुटपाट गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका लुटेराहरुले स ९ प ६३१० नम्बरको मोटरसाइकलमा आउँदै गरेका यादवलाई रोकी लुटपाट गरेको प्रहरीको भनाइ छ । हरियारधारीहरुले यादवसँग भएका ग्लोबल आईएमई बैंकका दुई वटा र राष्ट्रिय वाणिज्य बैंकका तीन वटा खाली चेक तथा मोबाइल लुटेर लगेका छन् । सो रकम विष्णुपुर गाउँपालिका-१ का कुशेश्वर यादवले सञ्चालन गर्दै आएको मनी ट्रान्सफरको रहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मुक्तिनाथ सापकोटाले घटनाको पुष्टि गर्दै थप विवरण सङ्कलन भइरहको जानकारी दिए । उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ । -रासस
लागूऔषध सहित तीन जना पक्राउ
सिरहा । सिरहा प्रहरीले ठुलो परिमाणमा लागूऔषध सहित तिन जना युवालाई नियन्त्रणमा लिएको छ। सिरहाको छुट्टाछुट्टै स्थान गोलबजार नगरपालिका ६ वस्ने करिब ३८ वर्षको रामएकवाल गिरी , लाहान नगरपालिका १९ छर्रापट्टिको वर्ष २४ को संतोष कुमार साह र कटहा चौक वस्ने वर्ष २५ को शिवनाथ महतोलाई प्रहरीले ठुलो परिमाणमा लागूऔषध सहित नियन्त्रणमा लिएको हो। विशेष सुचनाको आधारमा घरमै।लुकाई छिपाई राखेको अवस्थामा गोलवजारका प्रहरी निरिक्षक शुनिल कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले घर भित्र रहेको साउण्ड बक्स भित्र प्लास्टिकको पोकामा ला.औ.ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद गरिएको छ। प्लाष्टिक प्याक सहित १२.८ सय ७० मिली ग्राम लागु पदार्थ ब्राउन सुगर सहित गिरीलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गोलजारका प्रहरी निरिक्षक शुनिल कार्कीले जनाएका छन् । पक्राउ गरेका गिरिलाई अन्य थप अनुसन्धानका लागी समान्ति जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान कार्य भइरहेको प्रहरी निरीक्षक कार्कीले बताए। त्यसैगरी, लहान नगरपालिका ३ पूर्व बसपार्कबाट गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लाहा र लागूऔषध नियन्त्रण ब्युरो शाखा गोलवजारको संयुक्त टोलीले ठुलो परिमाणमा दुई जना युवा सहित लागुऔषध नियन्त्रणमा लिएको जिल्ला प्रहरीले जनाएको छ। अस्पताल चौकदेखि लाहा वजारतिर आउने क्रममा प्रदेश २–०१–००१ प् ७३८० नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा फेनारगन–१३३ एम्पुल,बुपरेनोरफीन इन्जेक्सन एलपी –१३५ एम्पुल र डाइजिपाम इन्जेक्सन आइआर –१३४ सहित साह र महतोलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।
रास्वपाले बोलायो दलको बैठक
काठमाडौं । रास्वपा संसदीय दलको बैठक बोलाइएको छ । आज बेलुका ५ बजे बोलाइएको बैठकमा संसद्को कामकारबाहीमा पार्टीको प्रभावकारिता, विधेयकमा साझा धारणा र सरकारमा सहभागी मन्त्रीहरुले गरेका कामको सम्बन्धमा समीक्षा रास्वपाले जनाएको छ ।
एमाले केन्द्रीय कार्यालयको बैठक बस्दै
काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कार्यालयको बैठक आइतबार बस्दैछ। ललितपुर च्यासलस्थित पार्टी मुख्यालयमा मध्याह्न साढे १२ बजे बस्ने बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारीका बारेमा छलफल हुने सचिव पद्मा अर्यालले जानकारी दिइन्। एमालेले वैशाख ८ देखि १० गतेसम्म राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आयोजना गर्दैछ।करिब २२ सय जना सहभागी रहने उक्त बैठकको कार्यसूची तय गर्न लागिएको एमालेले बताएको छ। यसका अतिरिक्त एमालेले सचिवालयको बैठक पनि बोलाउने तयारी गरेको छ।इलाम र बझाङमा हुन लागेको उपनिर्वाचनका उम्मेदवारको प्रचार, संगठन परिचालनका विषयमा पनि छलफल हुने एमालेले बताएको छ। महासचिवको नेतृत्वमा हुने केन्द्र्रीय कार्यालयमा उपमहासचिव र सचिवहरू हुने व्यवस्था छ।
पाँचवटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । संघीय संसद्अन्तर्गत पाँच वटा संसदीय समितिको बैठक बस्दै छ । दिउँसो १ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्नेछ । बैठकमा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ४१ मा व्यवस्था भएबमोजिमको उपभोक्ता अदालत गठनका सम्बन्धमा पदाधिकारीसँग छलफल हुने कार्यसूचीमा उल्लेख छ । कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ भने महिला तथा सामाजिक मामिला समितिको बैठक मध्याह्न १२ बजे बस्नेछ । महिला समितिमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको वर्तमान अवस्था र अनुगमन सम्बन्धमा छलफल हुनेछ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे बस्नेछ । विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा संशोधनकर्तासँग छलफल गर्ने गर्ने कार्यसूचीमा छ । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो साढे १२ बजे बस्ने छ ।
आज सपथ लिंदै लुम्बिनीका मुख्यमन्त्री महरा
बुटवल । लुम्बिनी प्रदेशका नव नियुक्त मुख्यमन्त्री जोखबहादुर महराको शपथग्रहण आज हुने भएको छ। प्रदेश प्रमुखको कार्यालयमा दिउँसो पौने दुई बजे शपथग्रहणको कार्यक्रम राखिएको प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ। आजै सानो आकारको मन्त्रीमण्डल गठन गर्ने योजना मुख्यमन्त्री महराले बनाउने भएका छन्। केन्द्रीय राजनीतिमा आएको फेरवदलका कारण लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजिनामा दिएपछि पाँच राजनीतिक दलका ४७ र एक स्वतन्त्र सांसद गरी ४८ जना प्रदेश सभा सदस्यको समर्थनमा माओवादी संसदीय दलका नेता महरा मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। बहुमत पुर्याउन समर्थन गर्ने साना राजनीतिक दलसहित स्वतन्त्र सांसदलाई समेत सरकारमा सहभागी गराउने तयारी छ। जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी र स्वतन्त्र सांसद खड्ग बस्नेतलाई समेत मन्त्री बनाउने गरी दलहरुको वीचमा लिखित सहमती भएको खुलेको थियो । जनता समाजवादीलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालय सहित शहरी विकास तथा पर्यटन मन्त्रालयको नेतृत्व दिने सम्मको सहमति भएको छ। यसका साथै मुख्यमन्त्री बनाउन समर्थन गर्ने नागरिक उन्मुक्ति पार्टीलाई पनि सरकारमा सहभागी गराउन मन्त्रालय दिने योजना पनि छ। लुम्बिनीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् सहित दश वटा मन्त्रालय छन्। एमालेलाई चार, माओवादी केन्द्रलाई मुख्यमन्त्री सहित तीन र बाँकी अन्य मन्त्रालय साना राजनितिक दललाई दिने गरी तयारी गरेको बताइएको छ ।
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ। आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भूभागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहने छ ।कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थान र बाँकी पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका तराईका भूभाग लगायत लुम्बिनी प्रदेशको पूर्वी तराईका भूभागका केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ । राती भने देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भूभागमा मौसम सफा रहने छ ।कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। मधेश प्रदेश लगायत कोशी प्रदेशको तराई भूभागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ। आज बिहान सूर्योदय ५ बजेर ४७ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर २५ मिनेटमा हुनेछ ।
मानव समुदायको सेवा सबैको साझा उद्धेश्य हुनुपर्दछ : अध्यक्ष दाहाल
चितवन । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सबैको साझा लक्ष्य उद्धेश्य मानव समुदायको सेवा गर्नु रहेको बताएका छन्। चितवनको भरतपुरमा आज (शनिबार) लायन्स क्लव ३२५ आरको दोस्रो राष्ट्रिय महाधिवेशनलाई उद्घाटन गर्दै अध्यक्ष दाहालले सामाजिक, साँस्कृतिक अभियान होस् वा राजनीतिक आन्दोलन सबैको साझा लक्ष्य उद्धेश्य मानव सेवा हुनुपर्ने बताएका हुन्। “राजनीतिक आन्दोलन होस् वा सामाजिक, साँस्कृतिक आन्दोलनको लक्ष्य उन्नत, सभ्य, मानवीय सेवा भाव र विभेदरहित समुन्नत समाज निर्माण गर्नु नै हो,” अध्यक्ष दाहालले भने, “नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी व्यवस्था लगायतका राजनीतिक परिवर्तन र उपलब्धिको मूल उद्धेश्य समाज रुपान्तरण र मानवसेवा नै हो।” लायन्स क्लवले राजनीति, भूगोल र सम्प्रदायभन्दा माथि उठेर समाजसेवा गरिरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले प्राकृतिक प्रकोप, भूकम्प, विपद् र महामारीका बेला अग्रपंक्तिमा रहेर सक्रिय रहने लायन्सको कार्यप्रति खुसी व्यक्त गरे। “प्राकृतिक प्रकोप भूकम्प, बाढीपहिरो, कोरोना महामारी लगायतका कठिन अवस्थामा उद्धार, राहत र औषधी उपचार लगायतका मानव सेवाका काममा लायन्सहरुको सक्रियता प्रशंसनीय छ,” अध्यक्ष दाहालले भने, “व्यक्तिगत, राजनीतिक, भूगोल र सम्प्रदायबाट माथि उठेर सामाजिक क्षेत्रमा लायन्सले गरेको योगदान र एकताबद्ध कार्य प्रशंसनीय छ।” राज्यको सेवा सुविधा पुग्न नसकेका दूरदराजसम्म लायन्स क्लवको तर्फबाट मानव सेवा गर्न आग्रह गर्दै अध्यक्ष दाहालले समाजसेवा र मानवीय कार्यमा लाग्दा कानुनी व्यवधान र समस्याहरु आए कानुन निर्माण गरेर वा विद्यमान कानुन संशोधन गरेर पनि सहजीकरण गर्न संसद तयार रहेको बताए।उनले मानवीय सेवा, परोपकार र समाजसेवालाई अगाडि बढाउँदा आउने कानुनी समस्या समाधानका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिए।
बझाङ प्रदेशसभा १ मा माओवादी केन्द्रका बुढाले गरे उम्मेदवारी दर्ता
काठमाडौँ । प्रदेश सभाको उपनिर्वाचनका लागि नेकपा (माओवादी केन्द्र)का जनक बुढाले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा शनिबार दिउँसो ४ बजे उनले उम्मेदवारी दर्ता गराएका हुन् । नारा जुलुससहित माओवादी केन्द्रका नेता, कार्यकर्ता उम्मेदवारी दर्ता गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।
विचारको शून्यताले देश अराजकतातिर गइरहेको छ : उपाध्यक्ष सापकोटा
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले अहिले सिंगो राज्य रूपान्तरणका निम्ति आन्दोलनको शुद्धीकरण जरुरी रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । रूपान्तरणको प्रक्रियामा जाँदा विचारलाई अघि बढाउनुपर्ने भन्दै उनले अहिलेको मुख्य कार्यभार वैचारिक, राजनीतिक, सांगठनिक र सांस्कृतिक पुनर्गठन रहेको उल्लेख गरे । विचारको शून्यताले देश पूरै अराजकतातिर गइरहेको भन्दै उनले सुशासन र लोकतन्त्रको शक्तिशाली सन्देश दिनुपर्ने संघीय सांसदका शब्द चयन र वाक्यप्रति असन्तुष्टि व्यक्त गरे । उपाध्यक्ष सापकोटाले हरेक देशका सांसदहरू नै लोकतन्त्रको आत्मा भएको टिप्पणी गरे । उनले विचारअनुसारकै राजनीतिक दिशा हुने भएकाले जनताको विश्वास जित्दै हिजो ‘असाधारण युद्ध’मा सामेल भएकाहरू एकजुट हुन सके कसैले रोक्न नसक्ने धारणा व्यक्त गरे । उनले एकताबद्ध भएर समाजवादको विचारधारा तयार पार्न आजैदेखि लागिपर्नुपर्नेमा जोड दिए । नेपालको कषि, जलविद्युत् र प्रविधिमा आधुनिकीकरण गरी उद्योगधन्दाको विकास गर्न सके मुलुकले फड्को मार्ने उनले उल्लेख गरे । उनले मुलुकको राष्ट्रिय सुरक्षा संवेदनशील अवस्थामा रहेकाले त्यहीअनुसार तयारी गर्नुपर्ने बताए ।

