भन्सार कर्मचारी-व्यापारी मिलोमतो: दैनिक ३५ करोड राजस्वको हिनामिना

काठमाडौं, फागुन १९ । भन्सारका कर्माचारी र आयातित व्यापारमा संलग्न उद्योगी-व्यापारीबिचको मिलोमतोमा राज्यले दैनिक करोडौं राजस्व गुमाउँदै आएको खुलेको छ।

नागरिक दैनिकका लागि बालकृष्ण ज्ञवालीले लेखेका छन्, ‘ चारदिन अघि अर्थमन्त्री बनेका युवराज खतिवडाले विभिन्न स्थानामा रहेका भन्सार कार्यालयका प्रमुखहरूलाई काठमाडौं बोलाएर कडा निर्देशन दिएकै दिन (शुक्रबार) मुलुकभरका भन्सार नाकाबाट करिब ३५ करोड रूपैयाँ राजश्व बढी उठेकाले मिलेमतोमा करोडौं राजश्व गुमिरहेको खुलेको हो।’

मेलापर्वबाहेक अन्य सामान्य दिनमा मुलुकभरका भन्सार कार्यालायबाट औषतमा ८५ करोड राजश्व उठाउने गरेका थिए।

नयाँ अर्थमन्त्रीले कडा निर्देशन दिएकै दिन भने एक अर्व २० करोड रूपयाँ भन्दा बढि राजश्व उठ्यो। अन्य दिनको तुलनामा असुली कम्ती पनि ३५ करोड बढि हो। यो तथ्याङ्कले भन्सार कर्मचारी र व्यापारीको मिलोमतोमा राज्यको दैनिक ३०-३५ करोड रूपैयाँ राजश्वको हिनामिना हुने गरेको आशंका गरिएको छ।

सात महिनामा तीन अर्बका चेक बाउन्स

काठमाडौं, फागुन १९ । गम्भीर प्रकृतिका अपराध अनुसन्धानमा खटिनुपर्ने काठमाडौं प्रहरीको अधिकांश समय पछिल्ला दिन ‘चेक बाउन्स’का उजुरी छानबिनमा बित्ने गरेको छ । चेक बाउन्सका उजुरी बढेपछि प्रहरीको ठूलो शक्ति छानबिनमा लाग्नुपरेको हो । अाजको नयाँ पत्रिकामा खबर छ-महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले चेक बाउन्सका उजुरी छानबिन गर्न परिसर मातहतको ४० प्रतिशत शक्ति लागेको बताए । उनले भने, ‘पछिल्ला दिन चेक बाउन्सका उजुरी बढेका छन् । अनुसन्धानमा प्रहरीको ठूलो शक्ति खर्च भइरहेको छ । यसले गम्भीर प्रकृतिका अपराध अनुसन्धानलाई समेत प्रभावित गरेको छ ।’ प्रहरीको तथ्यांकअनुसार काठमाडौं परिसरमा मात्रै प्रत्येक दिन २० भन्दा धेरै चेक बाउन्सका उजुरी पर्ने गरेका छन् । एक लाखदेखि पाँच करोड रुपैयाँसम्मका चेक बाउन्स भएका उजुरी छन् । दैनिक सरदर एक करोड ५० लाख रुपैयाँका चेक बाउन्स भएको मुद्दा महानगरीय प्रहरी परिसर काठमाडौंमा मात्रै दर्ता हुने गरेका छन् । परिसरका मुद्दा शाखा प्रमुख डिएसपी मोहन थापाले प्रत्येक दिन २०–२५ वटा मुद्दा चेक बाउन्सका मात्रै दर्ता हुने गरेको बताए । ‘पछिल्ला दिन परिसरमा दर्ता भएकामध्ये अधिकांश मुद्दा चेक बाउन्सकै छन् । प्रत्येक दिन २०–२५ वटा चेक बाउन्सकै मुद्दा आउँछन् । दैनिक सरदरमा डेढ करोड रुपैयाँको चेक बाउन्सका मुद्दा दर्ता हुने गरेका छन्,’उनले भने । सात महिनामा ३ अर्बको चेक बाउन्स दैनिक सरदर एक करोड ५० लाख रुपैयाँका चेक बाउन्सको मुद्दा पर्दा महिनामा ४५ करोड रुपैयाँको मुद्दा प्रहरी कार्यालयमा आउने गरेको छ । आर्थिक वर्ष ०७४-७५ को माघसम्म महानगरीय प्रहरी परिसर काठमाडौंमा मात्रै चेक बाउन्ससम्बन्धी १ सय ३० मुद्दा दर्ता भएका छन् । यस आधारमा चालू आर्थिक वर्षको पछिल्ला सात महिनामा महानगरीय प्रहरी परिसरमा मात्रै तीन अर्ब १५ करोड रुपैयाँको चेक बाउन्सको उजुरी परेको देखिन्छ । ‘पछिल्ला दिन चेक बाउन्सका उजुरी ह्वात्तै बढेका छन् । अहिलेसम्म कति रुपैयाँको चेक बाउन्स भयो ठ्याक्कै तथ्यांक निकाल्न सकिएको छैन । तर, सरदर हिसाब गर्दा अर्बौँ रुपैयाँ देखिन्छ,’ परिसरका डिएसपी थापाले भने । केही मुद्दा थप कारबाहीका लागि अदालत पुगेका छन् । प्रहरी कार्यालयमा आएका अधिकांश मुद्दा अदालत नपुगी आपसी छलफलमै टुंगिने गरेका छन् । बाउन्सको अवधि वर्ष दिन मात्रै चेक बाउन्ससम्बन्धी मुद्दाको अनुसन्धान गर्ने अधिकार प्रहरीलाई दिइएपछि बाउन्सको अवधि घटाइएको छ । जसअनुसार पीडितले चेक जारी भएको मितिले वर्ष दिनभित्र बाउन्स गरिसक्नुपर्छ । र, लगत्तै प्रहरी कार्यलयमा उजुरी पेस गरिसक्नुपर्छ । वर्ष दिन नाघेको उजुरी भने प्रहरीलाई हेर्ने अधिकार छैन । त्यसअघि भने चेक बाउन्स अवधि पाँच वर्ष तोकिएको थियो । त्यसवेला सम्बन्धित जिल्ला अदालतले यो मुद्दा हेर्ने गथ्र्यो । एउटै व्यक्तिको ३८ लाख ६० हजारको चेक बाउन्स नेपाल जब प्लेसमेन्टका सञ्चालक रोशन कार्कीले अस्ट्रेलियामा आकर्षक रोजगार मिलाइदिने भन्दै विभिन्न व्यक्तिसँग लाखौँ रकम उठाए । टोवा–५ का २५ वर्षीय रोशनले पवन भण्डारीसँग २० लाख ५० हजार, मिङमार शेर्पासँग २२ लाख ५० हजार, रवीन्द्र श्रेष्ठसँग १८ लाख, राजकुमार मगरसँग २४ लाख, सन्दीप गुरुङसँग २५ लाख, कुमार मगरसँग २५ लाख र ज्ञानकुमार लामासँग १९ लाख रुपैयाँ लिए । भारतको दिल्ली हुँदै अस्ट्रेलिया पठाउँछु भनेका थिए, उनीहरूलाई । दिएको आश्वासनअनुसार उनले सबैलाई दिल्ली पनि पुर्‍याए । तर, अस्ट्रेलिया पठाउन सकेनन् । रन्थनिएका पीडित नेपाल फर्किए । तत्काल प्रहरी कार्यालयमा उजुरी दिए । त्यसपछि रोशनले सबैलाई चेक काटे । तर, चेक कुनै पनि साटिएन । किनभने खातामा रकम नै थिएन । प्रहरीका अनुसार रोशनले रवीन्द्रलाई ८ लाख रुपैयाँको चेक दिएका थिए । पवनलाई २४ लाख ५० हजार तथा मिङमारलाई ४ लाख ४० हजार र १७ लाख रुपैयाँका दुईवटा चेक दिएका थिए । पाँच करोडको एउटै चेक बाउन्स परिसरमा पाँच करोडको एउटै चेक बाउन्सको उजुरी पनि परेको छ । मुद्दा शाखाका प्रमुख डिएसपी मोहन थापाले उजुरीमाथि छानबिन भइरहेको बताए । यो मुद्दामा ठूलै घराना मुछिएको बताउँदै थप खुलाउन चाहेनन् । ‘पाँच करोड रुपैयाँसम्मका चेक बाउन्स भएको उजुरी हामीकहाँ दर्ता भएका छन् । हिजोआज हामीकहाँ दर्ता हुने उजुरी सबैभन्दा धेरै चेक बाउन्सकै छन्,’ उनले भने । यसरी फसे सुकुमान काभ्रे तेमाल–४ का ५० वर्षीय सुकुमान तामाङले काठमाडौं भोटेबहालकी ४५ वर्षीया सोफिन रन्जितलाई विद्यालय सञ्चालनका लागि भन्दै ३७ लाख १० हजार रुपैयाँ क्यास दिए । पछि पैसाको खाँचो परेपछि सोफिनसँग आफ्नो पैसा फिर्ता मागे । तर, सोफिनले आलटाल गरिन् । दबाबपछि सोफिनले १० लाख ६० हजार, ४ लाख, ८ लाख, ७ लाख पचास हजार र सात लाख रुपैयाँका पाँचवटा चेक दिइन् । सुकुमान बैंक पुग्दा खातामा रकम थिएन । रन्थनिएका सुकुमान फेरि सोफिनकहाँ पुगे । तर, सोफिनले वास्ता नगरेपछि १० लाख ६० हजारको चेक बाउन्स गरी महानगरीय प्रहरी परिसरमा उजुरी दिन गए । शुक्रबार परिसरको मुद्दा फाँटमा भेटिएका उनले भने, ‘विश्वासमा ऋण दिएँ । तर, अहिले फन्दामा परेँ । पाँचवटा चेक छन् । कुनै पनि साटिएको छैन ।’ के छ कारबाहीको व्यवस्था ? बैंक खातामा पर्याप्त रकम छैन भन्ने जान्दाजान्दै चेकमा रकम भरेर कसैलाई दिनुलाई नै ‘चेक बाउन्स’ भनिन्छ । बैंकिङ कसुरअन्तर्गत यो मुद्दा पहिला प्रहरीलाई हेर्ने छुट थिएन । सीधै अदालतमा मुद्दा पेस हुन्थ्यो । तर, झन्झटिलो न्याय प्रणालीका कारण निकै कमले मात्र न्याय पाउँथे । १८ असोज ०७३ देखि भने यो मुद्दा प्रहरीलाई हेर्न अनुमति दिइएको छ । उजुरी परेको व्यक्तिलाई प्रहरीले ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ । त्यसपछि मुद्दा अदालतमा पेस हुन्छ । अदालतले दोषी प्रमाणित भएको व्यक्तिलाई बिगो र बिगोबमोजिमको जरिवाना भराई तीन महिनासम्मको जेल सजाय तोक्न सक्छ ।

कर्मचारी र व्यापारी मिलेर लुट्छन् दैनिक ३५ करोड

काठमाडौं, फागुन १९ । भन्सारका कर्मचारी र आयातित व्यापारमा संलग्न उद्योगी–व्यापारीबीचको मिलेमतोमा राज्यले दैनिक करोडौं रुपैयाँ राजस्व गुमाउँदै आएको खलेको छ । चार दिनअघि अर्थमन्त्री बनेका युवराज खतिडवडाले विभिन्न स्थानमा रहेका भन्सार कार्यालयका प्रमुखहरूलाई काठमाडौंमा बोलाएर कडा निर्देशन दिएकै दिन (शुक्रबार) मुलुकभरका भन्सार नाकाबाट करिव ३५ करोड रुपैयाँ राजस्व बढी उठेकाले मिलेमतोमा दैनिक करोडौं रुपैयाँ राजस्व गुमिरहेको खुलेको हो । मेलापर्वबाहेक अन्य सामान्य दिनमा मुलुकभरका भन्सार कार्यालयले औसतमा ८५ करोड रुपैयाँ राजस्व उठाउँदै आएका थिए । आजको नागरिक दैनिकमा खबर छ । नयाँ अर्थमन्त्रीले भन्सार प्रमुखहरूलाई निर्देशन दिएकै दिन भने राजस्व एक अर्ब २० करोडभन्दा बढी असुली भएको छ । अन्य दिनको तुलनामा शुक्रबार भएको असुली कम्तीमा ३५ करोड रुपैयाँ बढी हो । यो तथ्यांकको आधारमा भन्सारमा व्यापारी र कर्मचारीको मिलेमतोमा राज्यले दैनिक ३०–३५ करोड रुपैयाँ राजस्व हिनामिना हुँदै आएको आशंका गरिएको छ । यो तथ्यांकलाई मान्ने हो भने वर्षमा एक खर्ब २२ अर्ब रुपैयाँ राजस्व अपचलन भएको देखिन्छ। एक वर्षमा ३६५ दिन हुने भए पनि भन्सार कार्यालय ३५० दिन खुल्छन्।

पाराग्लाइडिङ खस्दा दुई जना घाइते

पोखरा, फागुन १८ । कास्कीको खपौंदीमा पाराग्लाइडिङ खस्दा दुईजना घाइते भएका छन् । दुर्घटनामा जापानी नागरिक यामाजकी नामोदोकी र पाइलट कास्की, खहरेका ३४ वर्षीय राजबहादुर जिसी घाइते भएका हुन् । हावाहुरीका कारण अवतरण गर्नेक्रममा अनियन्त्रित भइ पाराग्लाइडिङ भुइँमा खसेको थियो । घाइतेमध्ये जापानी नागरिकको सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ । अर्का घाइतेको ढाडमा चोट लागेका कारण फेवासिटी अस्पतालमा उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ ।

वैदेशिक रोजगारीमा पठाउने भन्दै २६ लाख ठगी गर्ने पक्राउ

काठमाडौं, फागुन १८ । महानगरीय अपराध महाशाखाले वैदेशिक रोजगारीमा अमेरिका पठाउने भन्दै रु २६ लाख ठगी गरेको आरोपमा ४१ वर्षीय छविलाल चौधरी र ४६ वर्षीय सुभद्रा कर्माचार्यलाई आज पक्राउ गरेको छ । अभियुक्त दुवैको स्थायी घर दाङ भई हाल काठमाडौँमा अस्थायी बसोबास गर्दै आएका छन् । अमेरिका जानका लागि पीडितलाई विभिन्न मितिमा फ्लाइट गराइदिन्छु भनी सम्पर्कविहीन उनीहरुलाई सात जनाको उजुरीका आधारमा पक्राउ गरी आजै महाशाखामा पठाइएको प्रहरीले जनाएको छ । रासस

उपत्यकामा हलका वर्षा

काठमाडौं, फागुन १८ । स्थानीय वायुको प्रभावका कारण काठमाडौं उपत्यकामा शुक्रबार साँझ मेघगर्जनसहित वर्षा भएको छ । स्थानीय वायुको प्रभावले बदली भई उपत्यकाको उत्तरपश्चिम भेगमा असिनासहितको वर्षा भएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । उहाँका अनुसार देशको पश्चिमी भेगमा विकसित भएको उक्त वायु अहिले क्रमशः पूर्वतर्फ सर्दैछ । पूर्वी पहाडी भेगका केही स्थानमा समेत वर्षाको सम्भावना छ । अहिले पश्चिमका केही स्थान तथा मध्य र पूर्वी भेगमा बदली भएको छ । उपत्यकामा हुरी बताससहित वर्षा भइरहेको छ । स्थानीय वायुको सक्रियताले केही दिनयता बिहान मौसम सफा रहे पनि मध्याह्नपछि बदली हुने गरेको छ । पूर्वमनसुनको याम पनि भएकाले यस्तो गतिविधि जारी रहने मौसमविद् प्रधानाङ्गले बताउनुभयो । सामान्यतः ‘मार्च, अप्रिल र मे’ पूर्व मनसुनी याम मानिन्छ । तापक्रम पनि क्रमशः बढ्दै गएकाले मध्याह्नपछि बदली र वर्षा गराउने सम्भावना हुन्छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँको अधिकतम २५.८ र न्यूनतम तापक्रम ११ डिग्री सेल्सियस छ ।

जनताको सेवा र सुरक्षामा तटस्थ र निष्पक्ष भइ काम गर्न सशस्त्रलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, फागुन १८ । गृहमन्त्री रामबहादुर थापाले जनताको सेवा र सुरक्षामा तटस्थ र निष्पक्ष ढंगबाट प्रभावकारी रुपमा कार्यसम्पादन गर्न सशस्त्र प्रहरी बललाई निर्देशन दिनुभएको छ । गृहमन्त्री थापाले हलचोकस्थित सशस्त्र प्रहरीबल प्रधान कार्यालयको आज निरीक्षणपछि निर्देशन दिने क्रममा सबैले आफ्नो तहगत संरचनाबमोजिमको जिम्मेवारीलाई अक्षरशः पूरा गर्नुपर्ने बताउँदै प्रहरी बललाई आवश्यक पर्ने स्रोतसाधनको उपलब्धताका लागि मन्त्रालयको प्रतिबद्धता जनाउनुभयो । उहाँले देश र जनताको हितमा समर्पित रहँदै उत्कृष्ट कार्य गरी आफूलाई नमूनाका रुपमा प्रस्तुत गर्न बललाई आग्रह गर्नुभयो । सो अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले प्रहरी बलबाट भएगरेका कामकारबाही तथा संगठनले हासिल गरेका उपलब्धिबारे जानकारी दिँदै आफ्नो संगठनलाई भरपर्दो केन्द्रीय सुरक्षा निकायका रुपमा अगाडि बढाई हरपल चलायमान फौजका रुपमा विकास गर्न लागिपरेको उल्लेख गर्नुभयो ।

मधेशी र पहाडी समुदायको एकैठाउँ होली

भद्रपुर, फागुन १८ । झापाको बिर्तामोडमा मधेशी समुदाय र पहाडी समुदायले एकैथलोमा आज होली पर्व उल्लासमय वातावरणमा मनाएका छन् । सहभागीहरूले होलीको रङसँगै आपसी सद्भाव, भाइचारा र वन्धुत्वको भावना वृद्धि गर्न महत्वपूर्ण अवसर प्राप्त हुने विश्वास व्यक्त गरेका छन् । वीरता जेसिज र वीरता लेडी जेसिजले फागु पूर्णिमा पर्वको अवसर पारी बिर्तामोडको अतिथि सदनमा होली मिलन समारोह आयोजना गरेका थिए । कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, बिर्तामोड नगरपालिका–१ का अध्यक्ष अग्निप्रसाद पाण्डे, ब्राम्हण समाज झापाका उपाध्यक्ष हरि भण्डारी, मारवाडी सेवा समिति, बिर्तामोडका अध्यक्ष सुरेशकुमार अग्रवाल ‘भद्रपुरे’, वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजाल, रौनियार सेवा समाज, झापाकी अध्यक्ष संगीता रौनियार लगायतले सबै समुदायबीच त्यस्तै सद्भाव र मेलमिलाप आजको आवश्यकता रहेको र जेसिजले संयोजन गरेको होलीले त्यही सन्देश दिएको बताउनुभयो । सहभागीले अबिर र रङसँगै उत्सवका साथ सामूहिक नृत्य गरेर होली मनाएका थिए ।

ब्लड बैंकको भवन प्रदर्शनी मार्गमै बन्ने

काठमाडौं, फागुन १८ । रक्तदाता र रगत आवश्यक पर्ने बिरामीका आफन्तलाई सहज पहुँचको स्थान यहाँस्थित प्रदर्शनी मार्गमा नै केन्द्रीय रक्तसञ्चार केन्द्रको अत्याधुनिक भवन निर्माण हुने भएको छ । विसं २०२३ देखि सुरक्षित र स्वच्छ रक्तसञ्चार सेवा तथा रगतको अनुसन्धानसमेत गर्दै आएको सो केन्द्रको भवन विसं २०७२ वैशाख १२ को भूकम्पले पूर्णरुपमा क्षति पु¥याएको थियो । नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित सो केन्द्र हाल अस्थायी रुपमा ललितपुरको ग्वार्कोबाट सञ्चालित हुँदै आएको छ । विश्व स्वास्थ्य संगठनको भवन मापदण्ड एवं केन्द्रका लागि आवश्यक उपकरणका लागि नेपाल रेडक्रसलाई थाइल्याण्ड (थाई) रेडक्रसले करीव रु ४५ करोड आर्थिक सहयोग प्रदान गरेको छ । सोसाइटीका अध्यक्ष सञ्जीव थापा, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र नेपालका लागि थाई राजदूत भागवत तान्स्कुलले संयुक्त रुपमा भवनको आज शिलान्यास गर्नुभयो । सोसाइटीका प्रबन्ध निर्देशक एवं भूकम्प प्रतिकार्य कार्यक्रमका संयोजक उमेश ढकालका अनुसार पाँचतले अत्याधुनिक सो भवन १८ महिनाभित्र बन्नेछ । भवनमा रक्त सेवालगायत अनुसन्धान कक्षसमेत रहनेछ । भवन निर्माणको जिम्मा लामा कन्ट्रक्सन कम्पनीले पाएको छ । सर्वोच्च मानवीय संस्था नेपाल रेडक्रसका विभिन्न मानवीय कार्यक्रममध्ये रक्तसञ्चार सेवा उच्च प्राथमिकतामा छ । हाल यसले करीव सबै जिल्लामा रक्तसञ्चार सेवा पु¥याएको छ । केन्द्रीय रक्तसञ्चार केन्द्रमा दैनिक ४०० युनिटभन्दा बढीको रगत माग हुने गरेको र सोही अनुपातमा आपूर्तिसमेत हुने गरेको सोसाइटीका सञ्चार विभाग प्रमुख दिव्यराज पौडेलले जानकारी दिनुभयो । गत वर्ष मात्र केन्द्रले करीव तीन लाख ३७ हजार ३२१ युनिट रगतको सेवा दिएको थियो । कार्यक्रममा सांसद जीपछिरिङ शेर्पाले मापदण्डअनुसारको भवन समयभित्र गुणस्तरीय र सुरक्षित रुपमा बन्ने जानकारी दिनुभयो । कामपाका प्रमुख शाक्यले सामाजिक संघसंस्थाको भवन निर्माण गर्दा नक्शा पासमा करको छुटको व्यवस्था गरिएको जानकारी दिनुभयो । सोसाइटीका अध्यक्ष थापा र महामन्त्री देवरत्न धाख्वाले रगतको सुरक्षा र स्वच्छतामा कमी आउन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । थाई राजदूत तान्स्कुलले आगामी दिनमा नेपाल रेडक्रसलाई थप सहयोग गरिने जानकारी दिनुभयो । रक्तसञ्चार केन्द्रका निर्देशक डा रेखा मानन्धर तथा थाई रेडक्रसका निर्देशक डा उबोनवोन चारुवाङग्रीटले रक्तसञ्चार सेवाको महत्वबारेमा बोल्नुभएको थियो । रासस

टिपर भीरबाट खस्दा एकजनाको मृत्यु, पाँच घाइते

चितवन, फागुन १८ । चितवनको राप्ती नगरपालिका–१ परेवाकोटमा शुक्रबार टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । पाँचजना घाइते भएका छन् । ना७ख २९८४ नम्बरको टिपर भीरबाट खस्दा मकवानपुर, मनहरीका २१ वर्षीय सुनिल मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइतेको भरतपुरस्थित अलाइभ अस्पतालमा उपचार भइरहेको छ । ग्राभेल झारेर फर्कनेक्रममा टिपर सडकबाट करिब ७० मिटर तल खसेको थियो । रासस

प्रहरी प्रवक्ताको जिम्मा थापालार्इ

काठमाडौं, फागुन १८ । महानगरीय प्रहरी परिसर काठमाडौंको प्रवक्ताको जिम्मेवारी डिएसपी मोहनकुमार थापालाई दिइएको छ। डिएसपी थापा केही साता अघि मात्र महानगरीय प्रहरी बृत जनसेवाबाट सरुवा भएर प्रहरी परिसर काठमाडौंमा आएका थिए । यसअघि परिसरमा रामदत्त जोशीले प्रहरी प्रवक्ताको रुपमा काम गर्दै आएका थिए।

अनाथ बालबालिकासँग पत्रकारको होली

मोरङ । होली पर्वको अवसरमा सञ्चार क्लब नेपाल, उर्लाबारीले आज स्थानीय नमूना बालगृहमा होली मिलन कार्यक्रम गरेको छ। क्लबमा आवद्ध पत्रकारहरुले गृृहमा आश्रित अनाथ बालबालिकासँग होली मनाएका हुन् । क्लबले गृहमा आश्रित ४३ जना अनाथ बालबालिकासँग होली खेल्दै उनीहरुलाई मिष्ठान्न भोजनसमेत खुवाएका थिए । सो अवसरमा मोरङ क्षेत्र नंं १ (क) का प्रदेशसभा सदस्य कुशल साम्बाले वाम गठबन्धनको वर्तमान सरकारले मुलुकको समृद्धि अभियानमा लाग्ने बताउनुभयो । रासस

कञ्चनपुरमा छाउपडी प्रथा अझै हट्न सकेन

कञ्चनपुर । परम्परागत सोचमा परिवर्तन आउन नसक्दा कञ्चनपुरमा अझै छाउपडी प्रथाले प्रश्रय पाउँदै आएको छ । रजस्वला भएका महिलालाई अलग्गै गोठमा राख्ने चलनले निरन्तता पाउँदै आएको छ । समाजमा महिलालाई हेर्ने सकारात्मक सोचको विकास नहुनु नै परम्परादेखि चल्दै आएको ‘क’ु प्रथालाई महिलाले नै छाड्न सकेका छैनन् । महिनाबारी भएको समयमा घरपरिवारमा छोइहालेमा घरमा अनिष्ट हुने, देवीदेवता रिसाउँछन्, पाप लाग्छ भन्नेजस्ता रुढीबादी र अन्धविश्वासबाट महिला प्रताडनामा पर्ने गरेका छन् । महिनाबारी वा सुत्केरी भएको समयमा घरमा प्रवेश गर्न नहुने अन्धविश्वासका कारण घरभन्दा टाढा रहेको गोठमा बस्ने गर्दछन् । त्यहाँ महिला पूरैभित्र सुत्न नसक्ने, ढोका नभएको छाप्रो हुने शुक्लाफाँटा महिला तथा बालबालिका विषयगत शाखाका प्रमुख राधिका पन्तले बताउनुभयो । छाउपडी भएका बेला घरभित्र नपस्न नदिने, घरभित्रको काम गर्न नदिने, दूध दहीजस्ता पोषणयुक्त खानेकुरा खान नदिनेजस्ता अमानवीय व्यवहार गर्ने गरिन्छ उहाँले भन्नुभयो, “आराम गर्नुपर्ने बेला गह्रुंगो भारी बोक्न लगाउने तथा पोषणयुक्त खानेकुराबाट वञ्चित गरिन्छ ।” यहाँको समाजमा छाउपडी प्रथा ठूलो समस्याका रुपमा रहेकाले यसलाई जरैदेखि उन्मूलन गर्नका लागि सहकार्यको आवश्यकता रहेको उहाँले बताउनुभयो । युवतीहरु एक निश्चित उमेर पुगिसकेपछि महिनाबारी हुनु भनेको प्राकृतिक प्रक्रियाको स्वाभाविक नियम भएपनि महिनाबारी हुनुलाई धर्म र धार्मिक ग्रन्थसँग जोडी पाप तथा अभिशापका रुपमा परिभाषित गर्दा यसले समाजमा प्रश्रय पाउँदै आएको छ । महिलालाई धार्मिक स्थलमा जान र पूजापाठ गर्नबाट समेत यसबेला वञ्चित गरिँदै आएको छ । परम्परागत सामाजिक मूल्य र मान्यता, रुढीबादी सोच, धार्मिक अन्धविश्वास, जनचेतनाको कमी, लैंगिक विभेद्, अशिक्षा, उपयुक्त नीति नियमको अभावका कारण छाउपडी प्रथाले निरन्तरता पाउँदै आएको शुक्लाफाँटा नगरपालिकाका उपप्रमुख तुलसी हमालले बताउनु्भयो । छाउपडी प्रथा हाम्रै घरबाट शुरु भएको छ, उहाँले भन्नुभयो, “पहिले आफैँबाट यसलाई हटाऔं ।” पहिला घरका बुढापाकाले घरनजिकै आउँदा नाइनास्ती गर्थे, चार दिनसम्म त घरको दैलोमै छिर्न पाइँदैनथ्यो उहाँले भन्नुभयो, “हाल घरको कोठामा बस्दै आएका छौँ, बेडमा सुत्छौँ, घरमा सम्झाउँदा बुझाउँदा बुढापाकाले पनि यतिसम्म मानेका छन् ।” छाउपडी भएका महिलाले मोबाइल छँुदासमेत छोइछिटो हाल्नुपर्ने र आगनमा हिँड्नका लागिसमेत सिमाना निर्धारण गरिने अवस्था रहेको स्थानीयवासी मनकला सुनारले बताउनुभयो । “सिमानाभन्दा पर आँगनमै भुलेर गइहाले अनेकन प्रकारका गाली सुन्नुपर्ने हुन्छ, पानी धारा छुन नपाइने भएकाले कठ्याङ्ग्रिदो जाडोमा नदीमा नुहाउनुपर्ने त बाध्यता नै हो” उहाँले भन्नुभयो । टाढाको छाउगोठमा सुत्नुपर्ने हँुदा बाह्य जनावर र मानिसको आक्रमणमा पर्ने डर त हुन्छ नै, प्रयाप्त ओछ्याउने बिछ्याउने कपडाको अभावमा समेत जाग्राम बसेर रात काट्नुपर्ने अर्को बाध्यता रहेको जवादेवी कामीले बताउनुभयो । ससुरा, श्रीमान, जेठाजुभन्दा घरका सासु, जेठानीलगायतबाट बुहारीले छाउपडीको पीडा खेप्नुपरेको छ । स्कूल जाने बालिकाहरु स्कूल जानबाट वञ्चित पुरानो मान्यताअनुसार तीन दिनसम्म त नुहाउन, कपाल कोर्न र सिन्दुर टीकासमेत लगाउन नहुने धार्मिक कार्य, सामाजिक कार्य गर्न सरिक हुन नहुने, मन्दिर र सो वरपरको बाटोसमेत जान नहुने मानिसलाई छुन नहुने मान्यता छ । महिलाका आश्रित बालबालिकाहरुलाई जस्तोसुकै बिरामी वा चिसो भएपनि बिहान शुद्ध पार्ने नाममा नुहाउनुपर्ने र गहँुत तथा सुनपानी छर्नुपर्नेलगायतका कुरीति छाउपडीका नाममा चल्दै आएको शुक्लाफाँटाका नगरपालिका–११ का वडा अध्यक्ष दिलबहादुर बुढाले बताउनुभयो । गाउँमा सामाजिक क्षेत्रका अगुवा महिलाले छाउगोठ भत्काए पनि पुनः पुरानै तरिकाले निर्माण गरेर बुहारीमाथि प्रताडना दिने कार्य जारी रहेको उहाँले बताउनुभयो । छाउपडी प्रथा विस्तारै शहरी क्षेत्रमा कम हुँदै गए पनि ग्रामीण क्षेत्रमा यसले अझै जरा गाडेको अबस्था छ नगरपालिकाका प्रशासकीय अधिकृत शेरबहादुर बुढाले भन्नुभयो, “समाजमा सकारात्मक सोचको विकास गर्न सके यस प्रथालाई हटाउन बल पुग्नेछ ।” छाउपडी प्रथा हटाउनका लागि शिक्षा र स्वास्थ्यका कार्यक्रम सञ्चालन गर्नु आवश्यक भएको नगरपालिकाका नगर प्रमुख दिलबहादुर ऐरले बताउनुभयो । छाउपडीका कारण दोश्रो दर्जाका रुपमा बाच्न विवश महिलालाई न्याय दिनका लागि दबाबमूलक कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो । जनचेतनासँगै छाउकुडी भत्काउने कार्यलाई सँगसँगै लैजाने कार्यक्रम तय गरिएको उहाँले बताउनुभयो । छाउपडी, मासिकश्राव र सुत्केरीका समयमा गरिने विभेदजन्य व्यवहारलाई छाउपडी प्रथा कानुनीरूपमा अपराधका रूपमा परिभाषित गरी कैद र जरिवाना हुने ऐन प्रस्ताव गरिए पनि जारी भने भएको छैन् । मुलुकी ऐन प्रतिस्थापनका लागि बनाइएको ऐनमा कसैले छाउपडी प्रथालाई मान्यता दिएमा तीन महिनासम्म कैद, तीन हजार रुपियाँ जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था गरेको छ । घरेलु हिंसा कसुर र सजाय ऐन २०६६ ले पनि कुनै पनि व्यक्तिलाई घरेलु सम्बन्ध भएका कुनै पनि व्यक्तिले शारीरिक, मानसिक, आर्थिक र यौनजन्य हिसा गर्न पाइने छैन भन्ने कानूनी व्यवस्था गरेपनि त्यसअन्र्तगत हालसम्म कारवाही भने कसैलाई पनि हुन सकेको छैन् । छाउपडी प्रथा उन्मूलन निर्देशिका २०६४ को उद्देश्यमै छाउपडी कुप्रथा उन्मुलन गरी समतामूलक समाज निर्माण स्थापना गर्नुपर्ने उल्लेख गरिएको छ । रासस

सात वर्षीया बालिका बलात्कार गरेको आरोपमा ६५ वर्षीय बृद्ध पक्राउ

काठमाडौं, फागुन १८ । सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धरान उपमहानगर–६ का ६५ वर्षीय बृद्ध पक्राउ परेका छन् । पानबारीको रायचौरीस्थित सुकुम्बासी बस्तीमा बसोबास गर्दै आएका रत्नबहादुर परियारले छिमेकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । आरोपित परियारले गत बुधबार साढे १२ बजे दिउँसो घरमा कोही नभएको मौका पारेर बलात्कार गरेको उजुरी परेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक रामेश्वर पौडेललले बताए । –कान्तिपुर दैनिकबाट

होलीमा अवाञ्छित गतिविधि गरेको आरोपमा २१ महिलासहित ४२५ पक्राउ

काठमाडौं, फागुन १७ । फागु पुर्णिमाको दिन ट्राफिक नियम उल्लघन गर्ने ११ सय ३ मोटरसाइकललाई महानगरिय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिएको छ । त्यस्तै प्रहरी परिसर काठमाडौंले शान्ति सुरक्षामा खलल पुऱ्याउने र अवान्छित गतिविधिमा संग्लन २१ महिला सहित ४ सय २५ लाई पक्राउ गरेको छ । परिसरका प्रमुख एसएसपी विश्वराज पोख्रेलका अनुसार काठमाडौंका विभिन्न स्थानमा होलीको नाममा शान्ति सुरक्षामा खलल पुऱ्याउने र अवाञ्छित गतिविधिमा संग्लन भएकाहरुलाई पक्राउ गरिएको हो । होलीका दिनभर काठमाडौंको सुरक्षा कडा पारिएका कारण कुनै ठुलो घटना भएन । प्रहरी परिसर काठमाडौंले मात्रै ३५ सय भन्दा धेरै प्रहरी र २५ वटा मोबाईल टोली होलीको सुरक्षाका निम्ती परिचालन गरेको थियो । महानगरिय ट्राफिक प्रहरी महाशाखाका सहायक प्रवक्ता मुकुन्द मरासिनीका अनुसार धेरैजसोले कागजपत्र विना नै सवारी चलाएका कारण मोटरसाईकल नियन्त्रणमा लिनुपरेको थियो । साँझ ६ बजेसम्म महाशाखाले मदिरा सेवन गरी चलाइएको ८३ मोटरसाईकल, तीन जना सवार १ सय २५ मोटरसाईकल, तिव्र गतिमा सवारी हाँक्ने ३२, हेल्मेट विना सवारी चलाउने ७५ र बाङ्गो टिङ्गो गरी हाँकेका ३२ मोटरसाईकल नियन्त्रणमा लिइएको छ । होलीको दिन ट्राफिक नियम उल्लघन हुने सम्भावना देखेर उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा ट्राफिक महाशाखाले नियमित एक सय स्थानमा हुने चेकजाँचका अलवा अन्य ८५ स्थानमा थप चेकजाँच गरेको थियो । सहायक प्रवक्ता मुकुन्द मरासिनीका अनुसार ट्राफिक नियमको पालना गराउन महाशाखाले तीनै जिल्ला समेटने गरी मोबाईल टोली समेत परिचालन गरेको थियो ।कान्तिपुरबाट

हाेलीकाे दिन ११ सय सवारी साधन प्रहरीको नियन्त्रणमा

काठमाडा‌ैं । होलीको अवसरमा ट्राफिक नियम विपरित चलाउने एक हजार एक सय तीनवटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यसमध्ये ८३ वटा सवारी साधन मादक पदार्थ सेवन गरेर चलाइएको पाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मुकुन्द मरासिनीले जानकारी दिए । नियन्त्रणमा लिइएको सवारी साधनलाई साँझ ६ बजेबाट फिर्ता गर्न थालिएको छ । यस वर्ष होलीमा अप्रिय घटना भने नभएको पनि प्रहरीले जनाएको छ । एक जना गम्भीर घाइते हुनेबाहेक अन्य कुनै अप्रिय घटना नभएको प्रवक्ता मरासिनीले जानकारी दिए । नियन्त्रणमा लिएका सवारी धनीलाई भने यातायात व्यवस्था ऐन अनुसार कारबाही हुनेछ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बेलुका पनि अप्रिय घटना हुनसक्ने भन्दै सवारी साधन चेकजाँचको कामलाई कडाई गरेको छ । बेलुका मादक पदार्थ सेवन गरेर हुन सक्ने दुर्घटनालाई मध्यनजर राखेर चेकजाँचमा कडार्इं गरिएको पनि प्रवक्ता मरासिनीले स्पष्ट पारे । गत वर्ष भन्दा यस वर्ष होलीमा सवारी दुर्घटना कम भएको महाशाखाले जनाएको छ । महाशाखाले होलीमा सवारी दुर्घटना हुन नदिन विहान ६ बजेबाटै देशभर सवारी साधनको चेकजाँचलाई कडा पारेको थियो ।