सुर्खेतमा ट्र्याक्टर दुर्घटना, तीन जनाको मृत्यु

सुर्खेत, फागुन १५ । सुर्खेतको मालारानीको कोटखोला नजिक मंगलबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

खरिगैरा बजारबाट फलामे छल (सरिया) बोकेर सहारे जाँदै गरेको भे१ख ६१६८ नं ट्र्याक्टर कोटखोला नजिक अनियन्त्रित भई सड्कबाट तल खस्दाँ चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको र दुई जना घाइते भएको सुर्खेत जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृत्यु हुनेमा गुर्भाकोट–८ मेहेलकुना खटांगका फत्तबहादुर विक, शशीराम विक र नारायण खत्री रहेको प्रहरी जनाएको छ ।

घाइतेको मेहलकुना अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बिरामीका लागि निःशुल्क एसी बसको सेवा सुरु

बुटवल, फागुन १२ । रोट्यार्‍क्ट क्लब अफ सेन्ट्रल बुटवलले गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका लागि प्रदान गरेको निःशुल्क एसी बसले सेवा सुरु गरेको छ । बस सेवा शुभारम्भ गर्दै प्रदेश सरकारका भौतिक योजना तथा निर्माण मन्त्री बैजनाथ चौधरीले समुदायस्तरबाट सञ्चालित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले नागरिकलाई प्रदान गरेको सेवा अनुकरणीय रहेको बताए । अस्पतालमा सेवा लिन आउने विरामी र विरामीका आफन्तलाई निःशुल्क रुपमा सेवा दिने उद्देश्यले बस सेवा सञ्चालन गरिएको हो । पहिलो चरणमा बुटवलको गोलपार्कदेखि तिलोत्तमा मणिग्रामसम्मका सर्वसाधारणलाई अस्पतालसम्म ल्याउने र अस्पतालदेखि पुनः गोलपार्क हुँदै मणिग्रामसम्म पुर्‍याइने अस्पतालले जनाएको छ ।

प्रदेश–६ को संसद बैठक अाज, प्रदेशको नाम र स्थायी राजधानी तोक्ने तयारी

सुर्खेत, फागुन १२ । प्रदेश नम्बर–६ को प्रदेशसभा चौथो बैठक शनिबार बस्ने भएको छ । सो बैठकले प्रदेशको नाम र स्थायी राजधानी तोक्ने तयारी गरेको छ । शनिबार अपराह्न १ः०० बजे बस्ने बैठकले प्रदेश नम्बर–६ को नामकरण र प्रदेशको स्थायी राजधानी तोक्ने तयारी गरेको उपसभामुख पुष्पा घर्तीले जानकारी दिइन् ।

यसरी पाए समलिंगी जोडीले भिसा

काठमाडौं, फागुन १२ । सर्वोच्च अदालतको फैसलापछि एक समलिंगी जोडीले वैवाहिक सम्बन्धका आधारमा गैर पर्यटकीय भिसा पाएका छन् । अध्यागमन विभागले समलिंगी विवाह गरेकी कञ्चनपुर घर भई भक्तपुर अनन्तलिंगेश्वर बस्ने सुमन पन्त र अमेरिकी युवती लेस्ली लुइक मेल्निकलाई शुक्रबार ६ महिनाको गैरपर्यटकीय भिसा दिएको हो । भिसा लिन दुवै जना शुक्रबार अपराह्न अध्यागमन विभाग पुगेका थिए । सुमन र अमेरिकी नागरिक लुइकले २०१५ डिसेम्बर १८ मा अमेरिकाको क्यालिफोर्नियामा ‘कोर्ट म्यारिज’ गरेका थिए । अध्यागमनले भिसा दरखास्त फारममा पति वा पत्नी उल्लेख भएकाले समलिंगी जोडीलाई भिसा दिन नमिल्ने भनेको थियो । त्यसपछि उनीहरू न्यायका लागि भन्दै सर्वोच्च अदालत पुगेका थिए । लेस्लीले नेपालमा सुमनसँगै बस्न गैरपर्यटकीय अन्तर्गतको म्यारिज भिसाका लागि सन् २०१६ डिसेम्बर २९ अध्यागमन विभागमा निवेदन दिएकी थिइन् । भिसा लिने प्रक्रियामा गरिने सनाखतमा पति÷पत्नी शब्द प्रयोग नगरी अंग्रेजी भाषमा ‘स्पाउस’ शब्द प्रयोग गरिएको छ। सर्वोच्चको आदेशबमोजिम नै उनीहरूले भिसा पाएका हुन् । अध्यागमन विभागका निर्देशक कोषहरि निरौलाले गत कात्तिकको सर्वोच्चको आदेशबमोजिम पन्त र मेल्निकीलाई भिसा दिइएको बताए। निर्देशक निरौलाले अन्नपूर्णसँग भने, ‘उनीहरूलाई पहिलो पटकलाई ६ महिनाको भिसा दिएका छौं ।’ उनीहरूले भिसाका लागि अमेरिकामा दर्ता भएको विवाह प्रमाणपत्र, नेपालस्थित अमेरिकी दूतावासले दिएको प्रमाणपत्रलगायत कागजात पेस गरेका थिए। भिसा पाइसकेपछि उनीहरू निकै हर्षित मुद्रामा देखिन्थे । -अन्नपूर्ण पोस्टमा खबर छ ।

रंगशाला पुनर्निर्माण चीनले गर्ने: फेब्रुअरीभित्र हस्तान्तरण

काठमाडौं, फागुन १२ । भूकम्पबाट क्षति भएका दशरथ रंगशालाका भौतिक संरचना चीनले पुनर्निर्माण गरिदिने भएको छ । आठौँ सागका लागि सन् १९९८ मा आफूले निर्माण गरिदिएका रंगशालाका क्षतिग्रस्त संरचना पुनर्निर्माण गरिदिन चीन तयार भएको हो । यसबारे सरकारसँग सम्झौता भइसकेको छ । अहिले चिनियाँ टोली विगतमा आफूले निर्माण गरेका काठमाडौंका संरचनाको अवलोकन गरिरहेको छ । चीनले दशरथ रंगशालामा फ्रड लाइट, एथलेटिक ट्रयाक, स्कोर बोर्ड (पूरै नयाँ), दशरथ स्टेडियमको साउन्ड सिस्टम बनाइदिनेछ । ललितपुरको सातदोबाटोस्थित स्विमिङ पुल मर्मत, सुटिङ रेन्च सिस्टम पनि पूरै परिवर्तन गर्दै छ । काठमाडौंको लैनचौरस्थित कबर्डहलको साउन्ड सिस्टम परिवर्तनलगायत संरचना पुनर्निमाण गर्ने चीनले जनाएको छ । पुनर्निर्माण प्रक्रिया अहिले अध्ययनमै रहेकाले यकिन खर्च टुंगो लागेको छैन । यद्यपि, करिब १ अर्ब २० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको राष्ट्रिय खेलकूद परिषद् (राखेप)का वरिष्ठ इन्जिनियर अरुण उपाध्यायले बताए । निर्माण सामग्रीमा कर छुट पुनर्निर्माणका लागि लाग्ने सम्पूर्ण खर्च चीनले नै व्यहोर्नेछ । तर, निर्माणमा आवश्यक सामान चीनबाट आयात गर्दा लाग्ने कर भने नेपाल सरकारले छुट दिने सम्झौता भएको छ । संरचना निर्माणका लागि आवश्यक दक्ष जनशक्ति, कन्सल्ट्यान्ट तथा टेन्डर पनि आफैँले गर्ने गरी सम्झौता भएको छ । ६ महिनाभित्र दशरथ रंगशाला पुनर्निर्माण सक्ने योजना छ । त्यसपछि एथलेटिक ट्रयाक निर्माण सुरु हुनेछ । आवश्यक उपकरण तथा सामग्रीमा लाग्ने भन्सार छुटको सम्झौता भएसँगै चीनले पुनर्निर्माण जतिसक्दो चाँडो थाल्ने चीनले जनाएको छ ।

न्यायाधीशको परीक्षामा सबै कानुन व्यवसायी ‘फेल’

काठमाडौं, फागुन १२ । न्यायिक इतिहासमा पहिलोपटक जिल्ला न्यायाधीशको खुला परीक्षामा सामेल भएका सबै कानुन व्यवसायी असफल भएका छन् । ३० न्यायाधीशका लागि भएको परीक्षामा माग भएको भन्दा आधामात्र परीक्षार्थी सफल भएका हुन् । ३० पदका लागि चार सय २४ जनाले आवेदन दिएका थिए। तीमध्ये तीन सय ७३ परीक्षामा समोल भएका थिए । पहिलोपटक समानुपातिक समावेशी रूपमा लिखित परीक्षाबाट न्यायाधीश छनोट प्रक्रिया अघि बढाइएकामा ३० कोटाका लागि १६ मात्र उत्तीर्ण भएका हुन् । एकभन्दा बढी समूहमा परीक्षा उत्तीर्ण गर्ने १३ जना छन् । आन्तरिक खुलातर्फ मागभन्दा कम संख्या उत्तीर्ण भएका छन् । आन्तरिक खुलामा १५ जना माग गरिएकामा १३ जना मात्र उत्तीर्ण भएका छन् । यस्तै खुलातर्फ भने आठ जनाका लागि १५ जनाले लिखित परीक्षा पास गरेका छन् । महिलाको दुई कोटामा एक जनामात्र उत्तीर्ण भएका छन् । आदिवासी जनजातिका दुई कोटाका लागि दुई जनाले मात्र लिखित पास गरेका छन् । महिलाको दुई र दलितको एक कोटामा कुनै उम्मेदवारले पनि परीक्षा पास गर्न सकेनन् । न्यायसेवा आयोगका सचिव नृपध्वज निरौलाले मागभन्दा आधामात्र परीक्षर्थी उत्तीर्ण भएको बताए। ‘३० कोटाका लागि १६ जना उत्तीर्ण भएका छन्,’ उनले भने, ‘अब अन्तर्वार्तापछि एकमुष्ठ नतिजा न्यायपरिषद्लाई हस्तान्तरण गरिनेछ । -गोरखापत्रमा खबर छ ।

प्रधानमन्त्री केपी ओलीको गृहनगरमा मात्र साढे ३ खर्बको योजना !

झापा, फागुन १२ । प्रधानमन्त्री केपी ओलीको गृहनगर दमक नगरपालिकाभित्र साढे तीन खर्बभन्दा बढीका योजना परेका छन् । एमाले अध्यक्षसमेत रहेका ओलीको गृहनगर तथा निर्वाचन क्षेत्रमा पर्ने यस नगरपालिकामा प्रदेश नबर १ कै सबैभन्दा धेरै योजना परेका हुन् । नगरभित्र एक सय करोडभन्दा बढीका ६ योजना परेका छन् । करोडभन्दा माथिका डेढ दर्जन बढी योजना परेको नगरपालिकाका प्रशासकीय अधिकृत युवराज दाहालले जानकारी दिए । नगरपालिकाभित्र औद्योगिक पार्क, विश्वकै अग्लो बुद्ध मूर्ति, भ्यु टावर, विज्ञान पार्क, फाल्गुनन्द सभागृह, सपिङ कम्प्लेक्स्, नमुना बजार, रोज गार्डेन पार्क, रिङरोड, संग्रहालय, पुल निर्माण, कालोपत्रे, प्रज्ञा प्रतिष्ठान, पशु बजार निर्माणलगायतका योजना परेका हुन् । दाहालका अनुसार करोडभन्दा साना योजना दर्जनौं सञ्चालित छन् । वडा नम्बर १० मा चीन सरकारको लगानीमा औद्योगिक पार्क बन्ने भएको छ । चीनको वान बेल्ड वान रोड अन्तर्गत २२ सय बिघा क्षेत्रफलमा औद्योगिक पार्क निर्माण प्रक्रिया अघि बढाइएको छ । -कान्तिपुर दैनिकबाट

नेपालले आफ्नै भू-उपग्रह प्रक्षेपण गर्ने

काठमाडौं, फागुन १२ । नेपालले अर्को वर्षभित्र आफ्नै भू–उपग्रह प्रक्षेपण गर्न तयारी थालेको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले जापानको एक कम्पनीसँग सम्झौता गरी आफ्नै भू–उपग्रह स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको हो । भू-उपग्रहसम्बन्धी अध्ययन÷अनुसन्धान गर्न नास्टले माघ ३ गते जापानको क्युटेक (क्युस इन्स्टिच्युट अफ टेक्नोलोजी) सँग सम्झौता गरेको नास्टका उपकुलपति डा.जीवराज पोखरेलले जानकारी दिए । नास्टले यो इन्स्टिच्युटमा भू–उपग्रहसम्बन्धी अध्ययन गर्न दुई वर्षका लागि दुई जना इन्जिनियरलाई जापान पठाउने भएको छ । नास्टले इलेक्ट्रोनिक इन्जिनियर हरेराम श्रेष्ठलाई जापान पठाउन छनोट गरिसकेको छ भने अर्का एक प्राविधिकको छनोट कार्य जारी राखेको छ । नेपालमा भू–उपग्रहबारे जानकार जनशक्ति नभएका कारण अध्ययनका लागि प्राविधिकलाई जापान पठाउन लागिएको हो। दुई जनामध्ये एक जनालाई इन्स्टिच्युटले पूर्ण छात्रवृत्ति दिने भएको छ भने अर्का एक जनाको खर्च सरकारले नै व्यहोर्नु पर्नेछ । नास्टले यसका लागि अर्थ मन्त्रालयसँग करिब १ करोड ८० लाख बजेट माग गरेको छ । तर, अर्थले भने बजेट उपलब्ध गराउने स्वीकृति जनाए पनि अझै उपलब्ध भने भइनसकेको उपकुलपति पोखरेलले जनाए । उनले भने, ‘हामीले तीन महिनाअघि नै बजेट माग गरेका हौं, अर्थले दिन्छु पनि भनेको हो तर अझै हामीले बजेट पाएका छैनौं ।’ विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता सहसचिव सुरेन्द्र सुवेदीले बजेटका लागि अर्थसँग छलफल भइरहेको बताए। उनले भने, ‘भू–उपग्रहका लागि हार्डवेयरतर्फ सहयोग गर्छौं, अध्ययनका लागि करोडभन्दा बढी बजेट विनियोजन गर्न सहज हुँदैन कि भन्ने अर्थको मनसाय देखियो ।’ नास्टकै पहलमा जाइकाजस्ता संस्थासँग छात्रवृत्तिका लागि पहल गर्न अर्थ मन्त्रालयले जोड दिएको छ। यसका लागि अर्थले स्वीकृति दिने जनाएको छ । नास्टले भने अर्थले बजेट विनियोजनमा ढिलाइ गर्दा प्राविधिकलाई अध्ययनका लागि जापान पठाउन ढिलाइ भइरहेको गुनासो गरेको छ । -अन्नपूर्ण पोष्ट दैनिकबाट

मलेसियामा किन जेल पर्छन नेपाली ? यस्तो छ कारण

काठमाडौं, फागुन १२ । मुआरको एक फर्निचर कम्पनीमा कार्यरत सुजन श्रेष्ठ र होमबहादुर मगरबीच आफूहरु बस्दै आएको होस्टलमै सामान्य भनाबैरी भयो । झगडाले उग्र रुप लियो, अस्पतालमा उपचार गराउँदै गर्दा होमबहादुरको मृत्यु भयो। घटनालगत्तै १९ वर्षीय सुजन पक्राउ परे। २ वर्षअघि भएको उक्त घटनाबारे हालै अदालतले उनलाई २२ वर्षको जेल सजाय सुनाएको छ । उनी जेलको चिसोमा दिन कटाइरहेका छन् । सन् २००१ मा रोजगारीका लागि मलेसिया आएका तत्कालीन बर्सुचेत गाविस–१, नुवाकोटका हरिबहादुर घलेको ३ वर्षे करार सकेर घर फर्कनु केही दिनअघि चिनेजानेका नेपाली साथी गणेश तामाङसित भेट भयो । गणेशले आफू केहीबेरमा आउने बताउँदै एउटा झोला घलेको हातमा थमाए । झोला लिएर गणेशले भने अनुसारै उनी क्वालालम्पुरको एक होटलको कोठामा पुगे। नेपाली दूतावासका अनुसार कोठामा बस्दै गर्दा हरिबहादुर ८ सय ७५ ग्राम लागुपदार्थ (हिरोइन) सहित गत सन् २००३ मे ३० मा पक्राउ परे। गत २००९ नोभेम्बर २६ मा मलेसियाको उच्च अदालतले (हाइकोर्ट) ले उनीमाथि मृत्युदण्ड सजाय दिने फैसला सुनायो । हाल उनी मृत्यु कुर्दै जेलमै दिन बिताइरहेका छन् । रोजगारीका लागि मलेसिया आएकाको आ(आफ्नै कथाव्यथा छ, वर्णन गरिसाध्यै छैन । वैदेशिक रोजगारीभित्र जेलिएका त्यस्ता अनेक कथाव्यथा मध्ये सुजन र हरि दुई भिन्न प्रतिनिधिपात्र हुन् । सुन्दर भविष्यको सपना सजाउँदै आएकामध्ये कयौं राम्रै कमाएर सग्लै फर्किएका छन भने कतिपय अपाङ्ग भएर। त्यस्तै कोही मलेसियामै बेखबर त कयौं सर्वस्व गुमाएर कफिनमा फर्किएका छन् । त्यसबाहेक मलेसियाको मजदुरीका क्रममा कतिपयले भोग्ने गरेको बेग्लै व्यथा हो, जेल सजाय । मलेसियामा महिनैपिच्छे कुनै न कुनै अभियोगमा नेपालीहरु जेल परेका खबर आउने गरेको विषय नौलो रहेन । क्वालालम्पुरस्थित नेपाली दूतावासको पछिल्लो तथ्यांक हेर्ने हो भने हाल १९६ जना नेपाली विभिन्न अभियोगमा मलेसियाका विभिन्न जेलमा सजाय भोगिरहेका छन् । ती बाहेक गतवर्ष मात्र एकहजार ४० जना नेपालीहरु जेल सजाय भुक्तान गरेर स्वदेश फर्कीएका छन् । के कारणहरु जेल पर्छन् ? जेल पर्नुका अनेकन कारण छन्। जेल पर्नेहरुमाथि बिना भिसै काम गरेको, ओभरस्टे बसेको, चोरी डकैती, अपहरणमा संलग्न रहेको, गालीगलौज तथा अभद्र व्यवहार गरेको, लागूऔषध प्रयोगरसेवन, लागूऔषध कारोबार र हत्यासम्म लगायतका गतिविधिमा संलग्न रहेको अभियोग लगाइएको छ । त्यसरी जेल पर्नेमा साथीभाईको लहैलहैमा लागेर अनैतिकरगैरकानुनी गतिविधिमा लाग्नेदेखि रोजगारदाता कम्पनीसँगको सम्झौताअनुसारको तलबसुविधा नपाएपछि कम्पनी छाडी भागेर गैरकानुनी अवस्थामा काम गर्नेसम्मका छन् । त्यतिमात्र कहाँ हो र, कतिपय सामान्य जानकारीको अभावमा समेत भूलवशः जेल पर्ने गरेका उदाहरणहरु पनि नभएका होइनन् । कतिपय गम्भीर अभियोगमा कतिपय वर्षौंदेखि जेल जीवन बिताइरहेका छन् । अधिकांश गैरकानुनी अवस्थामा काम गर्दा पक्राउ परेकाहरु पाइएको छ । -कान्तिपुर दैनिकबाट

को को भए शाखा अधिकृतको प्रथम चरणमा उत्तीर्ण (नामवलीसहित)

काठमाडौं । लोकसेवा आयोगले माघ २९ गते लिएको शाखा अधिकृत पदको प्रथम चरणको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ । आयोगद्वारा प्रकाशित सूचना अनुसार विज्ञापन नम्बर १६५३०–१६५३६/२०७४–०७५ खुला तथा समावेशी समूहको अप्राविधिक तर्फको लिखित नतिजा प्रकाशन गरिएको हो । परीक्षामा २१ हजार २ सय २१ जनाले सहभागिता जनाएका थिए । (नतिजा हेर्न यहाँ क्लीक गर्नुहोला ।) अधिकृत परीक्षाको परीक्षाफल

राष्ट्रपतिले मनोनित नगरेका प्रस्तावित राष्ट्रियसभा सदस्यले सर्वाेच्च गुहारे

काठमाडौं । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रियसभाका लागि सिफारिस गरेर राष्ट्रपति विद्यादेवी भण्डारीले मनोनित नगरेका ३ जनाले आफूलाई मनोनयन गर्न आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । केपी ओलीको सरकारले राष्ट्रियसभाका लागि सिफारिस गरेका सदस्यहरुलाई सपथ नगराउन पनि रिटमा आदेश मागिएको छ। अघिल्लो सरकारले राष्ट्रियसभामा सिफारिस गरेका चाँदनी जोशी, कृष्णप्रसाद पौडेल र गोपाल बस्नेतले आफूलाई मनोनयन गर्न आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका हुन्। देउवा सरकारले पठाएको सिफारिस राष्ट्रपतिले अनुमोदन गरिनन् । ओली नेतृत्वको सरकार आएपछि उनीहरूको नाम फिर्ता गरेर रामनारायण विडारी, यूवराज खतिवडा र विमला पौडेललाई सिफारिस गरेको थियो। उक्त सिफारिस राष्ट्रपति भण्डारीले अनुमोदन गरेकी थिइन्। राष्ट्रपतिले २ वटा सरकारलाई फरक व्यवहार गरेको कांग्रेको आरोप छ। यसरी आफूले रुचाएको सरकारले गरेको सिफारिस कुरेर बस्ने अधिकार राष्ट्रपतिलाई नभएको भन्दै देउवा सरकारले सिफारिस गरेका तीनै जनाले दिएको रिटमा उल्लेख छ। ‘राष्ट्रपतिले आफूले रुचाएको सरकारको सिफारिस तत्काल कार्यान्वयन गर्ने र आफ्नो रुचि नभएको सरकारको सिफारिस कार्यान्वयन नगरी त्यसै थन्क्याएर राखी निष्फल बनाउने अधिकार छैन,’ रिटमा उल्लेख छ, ‘हामी निवेदकहरूको नाम फिर्ता लिई अरुको नाम सिफारिस गरेको केहि घण्टाभित्रै मनोनयन भएपनि हालसम्म सपथ लिइ नसकेको हुनाले यो मुद्दको अन्तिम टुंगो नलागुञ्जेलसम्म सपथ नगर्नु नगराउनु भनि अन्तरिम आदेश जारी गरिपाउँ।’ रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी ओली, मन्त्रिपरिषद् कार्यालयल लगायतलाई विपक्षी बनाइएको छ।

जन्मनुभन्दा तीन वर्षअघि नै अपराधी ठहर

नुवाकोट, फागुन ११ । यहाँका एक नागरिक जन्मनु भन्दा तीन वर्ष अघिनै चोरी मुद्दामा दोषी ठहरिएर जेल चलान भएका छन् । पञ्चकन्या गाउँपालिका–५ साविक भदु्रटार–३ का नौले भनिने सानुवीरे तामाङ जन्मनु भन्दा तीनवर्ष अघि नुवाकोट जिल्ला अदालतबाट चोरी मुद्दामा दोषी ठहर भई कारागार चलान भएको छ । चिरञ्जीवी भन्ने व्यक्तिको जाहेरीले सरकारवादी भएको चोरी मुद्दामा विसं २०१८ साल चैत ६ गते जन्मनुभएका तामाङ विरुद्ध नुवाकोट जिल्ला अदालतको विसं २०१५ साल जेठ १८ को फैसलाले ६ महिना कैद र रु दुई हजार ४२३.५० जरिवाना सुनाएको भन्दै फैसला कार्यान्वयनको क्रममा उनलाई बुधबार जेल चलान गरिएको छ । अदालतको फैसलाले दोषी ठहर भएका व्यक्ति खोजी गर्ने क्रममा तामाङलाई बुधबार प्रहरीले भदु्रटारस्थित घरबाट पक्राउ गरी सोही दिन अदालतमा उपस्थित गराएको थियो । उहाँसँग जरिवानाबापतको रकम असुल गरी कैद भुक्तानीका लागि नुवाकोट कारागार चलान गरेको अदालतका श्रेष्तेदार महिमानसिंह विष्टले जानकारी दिनुभयो । “दोषी ठहर भएका व्यक्ति यहीँ हो भनेर प्रहरीले उपस्थित गरायो” विष्टले भन्नुभयो “उहाँले पनि गल्ती स्वीकार गरेकाले कारागार पठाएका हौं ।” जन्मनु भन्दा तीन वर्ष अघिको मुद्दामा दोषी ठहरिएर जेल गएका सानुवीरेका छोरा प्रेमबहादुर तामाङले निर्दोष बुबालाई जेल पठाएको भन्दै प्रहरी र अदालतमा पुगे पनि न्यायिक प्रक्रियबाट अघि बढ्न सुझाव दिएका छन् । “राउतवँेशी गाविस–८ मा जन्मिएका बुबाले विसं २०४४ मा गाउँखर्क गाविस–३ बाट नागरिकता बनाउनुभएको छ ।” प्रेमबहादुरले भन्नुभयो “२०४६ देखि भदु्रटार आएर बसेका हौं । यता नयाँ मान्छे देखेर ‘नौले’ भन्ने गरेका थिए, अहिले नाम मिल्यो भनेर प्रहरीले जेल पठायो ।” निर्दोष व्यक्ति जेलमा जानु परेको भन्दै परिवारले रिहा गर्न आग्रह गरेपनि प्रहरी र अदालतले बन्दीप्रत्यक्षीकरण रिटमार्फत उच्च अदालतमा जान सुझाव दिएका छन् । कमजोर आर्थिक अवस्था र शिक्षाको ज्ञान नभएको तामाङ परिवार अहिले अन्यौलमा परेका छन् । न्यायिक निकायबाट दोषी ठहर भएका तथा अभियुक्त रहेर फरार भएकालाई पक्राउ गर्न नुवाकोट प्रहरीले माघ २८ देखि ‘विशेष अभियान’ चलाइरहेको छ । जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले फरार दोषी तथा अभियुक्तले समातिएपछि बच्न विभिन्न हर्कत अपनाउने गरेको बताउनुभयो ।

चिनियाँ र भारतीय राजदूत बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भने ‘ह्यापी बर्थ डे’

काठामाडौं । चिनियाँ राजदूत यु होङले बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई जन्मदिनको शुभकामना दिँएकी छन् । शुक्रबार बिहान चिनियाँ राजदूत होङ फूलको बुके लिएर बालुवाटार पुगी प्रधानमन्त्री ओलीलार्ई ६७ औं जन्मदिनको शुभकामना दिएकी छिन्। त्यसैगरी भारतीय राजदूत मञ्जिवसिंह पुरी पनि बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाइ जन्मदिनको शुभकामना दिएका छन्।

शुक्रबारदेखि बसन्तपुरमा चिर ठड्याई फागुपर्वको प्रारम्भ

काठमाडौँ । फागुन शुक्ल अष्टमीका दिनदेखि फागु पर्व विधिवत रुपमा प्रारम्भ भएको छ। वसन्तपुर अगाडि विधिवत् रुपमा शुक्रबार चिर उठाएपछि फागु शुरु भएको मानिन्छ।बिहानको शुभसाइतमा बाजागाजासहित रंगीचंगी ध्वजा र पताकाले सिँगारिएर चिर उठाइएको हो। चिर ठड्याउन नेपाली सेना, गुर्जुको पल्टनलगायतले सहयोग गरेको थियो। यही फागुन १७ गते काठमाडौँ उपत्यकालगायत पहाडी भेगमा होली खेलेर पर्व मनाइन्छ भने तराईका विभिन्न जिल्लामा भोलिपल्ट फागु पर्व मनाइन्छ। प्राचीन समयमा प्रल्हादले शिवशक्तिको आराधना गरेपछि त्यस्तो आध्यात्मिक गतिविधि मन नपराएर उनको सुनियोजितरूपले हत्या गर्ने उद्देश्यले होलिकाले उनलाई लिएर बलिरहेको आगोमा हाम फाल्दा प्रल्हादलाई केही नभएको तर आगोले नजल्ने बरदान पाएकी होलिका आफै जलेको कथा हिन्दू धर्मशास्त्रमा उल्लेख छ। अन्ततः सत्यको विजय हुने मान्यताका साथ सोही बेलादेखि फागू पूर्णिमाका दिन होली पर्व मनाइँदै आएको धार्मिक विश्वास छ।

तमोर नदीको मोटरेबल पुल निर्माणले गति लियो

ताप्लेजुङ । ताप्लेजुङका दुई निर्वाचन क्षेत्रलाई जोड्ने दोभानस्थित तमोर नदीमाथिको मोटरेबल पुल निर्माण कार्यले तीव्रता पाएको छ । सम्झौताअनुसार ठेकेदार कम्पनीले समयमा काम नगर्दा आठ वर्षदेखि अलपत्र अवस्थामा रहेको उक्त पुलको निर्माण कार्य अहिले तीव्रता पाएको हो । टेका लगाएर पुल जडान गर्ने कार्य भइरहेको छ । अहिलेसम्म करिब ७० प्रतिशत काम पूरा भएको छ भने बाँकी ३० प्रतिशत काम यो महिनाभित्रै सम्पन्न हुने निर्माणमा संलग्न हुलास कम्पनीका इन्जिनियर सुशील साहले जानकारी दिनुभयो । उहाँका अनुसार गएको माघ ४ गतेदेखि २५ जना कामदारले टेका लगाएर पुल जडान गरिरहेका छन् । जडानको कार्य सकिएपछि कन्काई मैनाचुली याक्थुङ्हाङले ढलाइको काम शुरु गर्ने जनाइएको छ । अढाइ वर्षभित्रै निर्माण सम्पन्न गर्ने गरी २०६६ सालमा कन्काई, मैनाचुली र याक्थुङ्हाङ गरी तीन वटा निर्माण कम्पनीले सडक डिभिजन कार्यालय इलामसँग करिब रु १० करोडको लागतमा पुलको निर्माण सम्झौता गरेका थिए । निर्माण सम्झौता भएको पाँच वर्षपछि बल्ल वर्षात्को समयमा काम थालिएकाले निर्माणकै क्रममा दुई वर्षअघि बाढीले पुल बगाएको थियो । बाढीले पुल बगाएर अझ निर्माण कार्य अलपत्र बनेपछि स्थानीयवासी, राजनीतिक दललगायतले चाँडो काम थाल्न दबाब दिएका थिए । तमोर करिडोरअन्तर्गत पर्ने यो पुल समयमा निर्माण नहुँदा जिल्लाका दुई निर्वाचन क्षेत्र सडक सञ्जालले जोडिन सकेका छैनन् । पुल बन्ने आशामा तमोरपारिका आधा दर्जन गाउँमा कच्ची सडक निर्माण गरिए पनि पुल नै नबनेपछि ती क्षेत्रमा सवारी साधन चल्न सकेका छैनन् भने त्यस क्षेत्रको विकासले समेत गति लिन सकेको छैन । अहिले दोभान बजारको वारिसम्म बस, ट्याक्सी, मालबाहकलगायतका सवारी साधन पुग्छन् । तर पुल नभएकाले त्यहाँसम्म गाडीमा पुगेका यात्रुलाई ओर्लेर कच्ची सडकमा हिँड्नु पर्ने बाध्यता छ भने महँगो मूल्य तिरेर सामान ढुवानी गराउनु पर्ने समस्या छ ।

सवारी दुर्घटना हुँदा ३० जना घाइते

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला सुनवलमा आज भएको सवारी दुर्घटनामा परी ३० जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । काठमाडौँबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख १६०५ नं को बसको पंग्रा (टायर) पड्केर विपरित दिशाबाट आउदै गरेको युपी ८३ एटि ३९६६ नं को भारतीय ट्रकमा ठोकिँएपछि सो दुर्घटना भएको हो । घाइतेको लुम्बिनी अञ्चल अस्पताल बुटवल र भूमहिको सामुदायिक अस्पतालमा उपचार भइरहेको सुनवल इलाका प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा अझै घाइते हुनसक्ने अनुमान प्रहरीकोे छ ।