समाजको रुपान्तरणमा स्थानीय सञ्चारमाध्यमको अग्रणी भूमिका : मन्त्री शर्मा
पाल्पा । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाली समाजको अग्रगामी रुपान्तरणका लागि स्थानीय सञ्चारमाध्यमको अग्रणी भूमिका रहेको बताएकी छिन् ।
सामुदायिक रेडियो मदनपोखरा पाल्पाको रजत महोत्सवलाई सम्बोधन गर्दै उनले राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका सञ्चारमाध्यम समग्रतामा केन्द्रित रहने भए पनि स्थानीय सञ्चारमाध्यम स्थानीय समुदायको सचेतनामा केन्द्रित हुने भएकाले समाज रुपान्तरणमा उनीहरुको बढी भूमिका रहने बताएकी हुन्।

मन्त्री शर्माले भनिन्– ‘सेवा र सचेतनालाई मूल अभिष्ट बनाएर गरिने ग्रामीण पत्रकारिताले गाउँमा बस्ने नागरिकको बोली बोल्ने, विकासमा पछाडि पारिएका, आफ्ना दुःखपीडा व्यक्त गर्न नसक्ने आम नागरिकलाई सुसूचित गर्ने मात्र नभई उनीहरुका भावना राज्यका जिम्मेवार निकायसम्म पुर्याउने भएकाले पनि समुदायस्तरमा सञ्चालित सञ्चारमाध्यमको सामाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका छ ।’
उनले स्थानीय सञ्चारमाध्यमहरु स्थानीय विषयवस्तुमा थप केन्द्रित हुने हो भने आकर्षण पनि अझै बढेर जाने बताइन् । सञ्चारमाध्यमको बढ्दो संख्या र सूचना प्रविधिमा आएको परिवर्तन कारण स्थानीय सञ्चारमाध्यममा चुनौती थपिएको उल्लेख गर्दै स्थानीय विषयवस्तुमा केन्द्रित भएर जानुपर्ने सुझाव दिइन्।
‘बढ्दो प्रतिष्पर्धा र सूचना प्रविधिको तीब्र प्रयोगका बीच अब सामुदायिक रेडियोहरु अझ बढी समुदायको हितमा केन्द्रित रहनुपर्ने बेला आएको छ। देश विदेशका सूचना क्षणक्षणमा प्रवाह गर्ने सञ्चारमाध्यमको अभाव छैन तर समुदायका आवाज र भावना समुदायकै भाषा शैलीमा प्रस्तुत गर्ने दायित्व भने सामुदायिक रेडियोलगायत स्थानीय सञ्चारमाध्यमहरुले मात्र निर्वाह गर्नसक्छन्’–उनले भनिन्– ‘त्यसैले चुनौती हुँदाहुँदै पनि स्थानीय सञ्चारमाध्यम र त्यसमा पनि अझ सामुदायिक रेडियोहरुको समुदायमा अझ बढी आकर्षण बढेर जाने अवस्था छ, त्यसका लागि यस्ता सञ्चारमाध्यमहरुलाई बढीभन्दा बढी समुदायकेन्द्रित बनाउँदै समुदायकै सहयोगमा सबल बनाउन सकिने छ ।’
सूचना प्रविधिको बढ्दो प्रयोगले भूमण्डलीकरणको अवस्थालाई बढाइदिएको उल्लेख गर्दै मन्त्री शर्माले यसले नेपालका ऐतिहासिक तथा सांस्कृतिक मूल्य मान्यताको संरक्षणमा चुनौती थपिएकाले पूर्खाले हस्तान्तरण गरेको अमूल्य निधि मौलिक संस्कृतिको जगेर्नामा सञ्चारमाध्यमले ध्यान दिनुपर्ने बताइन् । स्थानीय सञ्चारमाध्यमहरुको प्रवर्धनका लागि सरकार प्रतिबद्ध उल्लेख गर्दै उहाँले सञ्चारमाध्यमको सबलीकरण तथा पत्रकारहरुको भौतिक र पेशागत सुरक्षाका लागि तीनै तहका सरकार उत्तिकै गम्भीर र प्रतिबद्ध भएर लाग्न आवश्यक रहेको बताइन्।
संविधानले आम सञ्चार क्षेत्रको निमयमनको पाटोलाई संघीय सरकारको दायित्वभित्र राखे पनि प्रबर्धनको सवालमा तीनै तहका सरकारको अधिकारसूचिमा राखेको उल्लेख गर्दै मन्त्री शर्माले प्रदेश र स्थानीय तहहरुले विज्ञापन कानुन बनाएर स्थानीय विज्ञापनको प्रकाशन÷प्रसारणमा स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिने नीति ल्याउनुपर्ने बताइन्।
संविधान बनेको लामो समयसम्म आम सञ्चार क्षेत्रलाई व्यवस्थित गर्ने संघीय कानुन नबन्दा केही अन्योल पनि देखिएको उल्लेख गर्दै उनले यसलाई चिर्दै जतिसक्यो चाँडो आम सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न कानुन बनाउने गृहकार्यमा सरकार रहेको जानकारी दिइन्। मन्त्री शर्माले थपिन– ‘सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आम सञ्चार क्षेत्रको छाताको कानुनको रुपमा आम सञ्चार ऐनको मस्यौदा तयार गरेर मन्त्रिपरिषद्मा लैजाने तयारी गरेको छ भने मिडिया काउन्सिल विधेयक मन्त्रिपरिषदबाट पारित गरेर संघीय संसदमा दर्ता गर्ने अन्तिम तयारीमा छौं । यी कानुनहरु पारित भएपछि संघीयताको मर्मअनुरुप आम सञ्चार क्षेत्रको पुनःसंरचरचना हुने सरकारको विश्वास रहेको छ ।’
यसबाहेक प्रचलित कानुनभित्रै रहेर पनि सञ्चारमाध्यम र पत्रकारहरुलाई सहज बनाउन सरकारले बेलाबेला आवश्यक निर्णय लिने गरेको जानकारी दिंदै उनले विज्ञापन क्षेत्रमा देखिएको बेथिति कम गर्न विज्ञापन नियमावली संशोधन गरेर संघीय सरकार मातहतका विज्ञापनरु व्यवस्थित गर्ने काम गरिएको बताइन् । रेडियोहरुको लाइसेन्स तथा इजाजत नवीकरणमा समस्या देखिएको गुनासो आएपछि सबै क्षमताका रेडियोहरुले अनलाइनबाट अभिलेखीकरण गरी जिल्ला हुलाकबाट नवीकरण अद्यावधिक गर्ने व्यवस्था मिलाइएको जानकारी दिंदै उहाँले सूचना विभागले जारी गर्ने प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि एक वर्षबाट बढाएर तीन वर्ष पुर्याइएको र यी सुधारका कार्यले जिल्लास्तरमा रहेका सञ्चारमाध्यम र पत्रकारहरुलाई थप सहज हुने विश्वास व्यक्त गरिन्।
मन्त्री शर्माले सरकार सरकार सुशासन, सामाजिक न्याय र समृद्धिलाई मुख्य सोंच बनाएर अघि बढिरहेको उल्लेख गर्दै सबै क्षेत्रमा महत्वपूर्ण सुरुवात भए पनि सरकारले चाहे जस्तो काम हुन नसकेको गहिरो अनूभूतिसहित प्रधानमन्त्रीले राजनीतिक समीकरण परिवर्तन गरेरै भए पनि सरकारलाई गति दिने नयाँ अध्यायको थालनी गरेको बताइन्। उनले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा धेरै भन्दा धेरै जनमुखी कार्यक्रम समेट्ने तयारीमा सरकार रहेको जानकारी दिइन्।
ताइवानको भुकम्पमा परेका १९ जना अझै बेपत्ता
ताइपेइ । ताइवानका उद्धारकर्ताहरूले टापुको दुर्गम पूर्वी तटमा ७.२ म्याग्निच्युडको भूकम्पपछि बेपत्ता भएका १८ व्यक्तिको खोजी जारी राखेका छन् । पहाडी र कम जनसङ्ख्या भएको पूर्वी काउन्टी हुआलियनमा बुधबारको भूकम्पले १० जनाको ज्यान गएको थियो भने १ हजार भन्दा बढी घाइते भएका थिए। सो भूकम्प पछि सयौँलाई राष्ट्रिय निकुञ्जमा अलपत्र परेको कारण पहिरोले सडक अवरुद्ध गरेको थियो । शुक्रबार ताइवानको फायर डिपार्टमेन्टले भने कि १९ व्यक्ति अझै बेपत्ता छन् । जसमा ६ हाइकिङ ट्रेलमा छन् भने चार विदेशीहरूमा पहिले भारतीय, क्यानाडाली र अष्ट्रेलियाका बासिन्दा रहेका छन् । उद्धारकर्ताहरूले पुष्टि गरे कि रमणीय तारोको राष्ट्रिय निकुञ्जको रिसोर्टमा काटिएका करिब ४०० व्यक्तिहरू सुरक्षित छन् । हेलिकप्टरहरूले आपूर्तिहरू लिएर घाइतेहरूलाई बाहिर निकालेका छन् । ‘हामी आज वर्षाको सम्भावनाको मूल्याङ्कन गर्दैछौँ, त्यसैले हाम्रा खोज र उद्धार सहकर्मीहरू वर्षासँग जुध्न सक्ने ड्रेसअपले सुसज्जित भएका छन्। यद्यपि, वर्षाले चट्टान र पहिरोको जोखिम बढाउँछ, जुन अहिले हामीले सामना गर्ने सबैभन्दा ठूलो चुनौती हो,’ काओसिङ शहर खोज तथा उद्धार टोलीका कप्तान सु यु मिङले भने ।
उपनिर्वाचनका लागि मतदान स्थल तोकियो
काठमाडौं । निर्वाचन आयोगले इलाम २ को प्रतिनिधिसभा र बझाङ १ को प्रदेश सभामा हुने उपनिर्वाचनका लागि मतदानस्थल तोकेको छ । निर्वाचन आयोगको बिहीबार बसेको बैठकले मतदान स्थल र मतदान केन्द्रहरुलाई अन्तिम रुप दिएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार इलाम २ मा ७९ मतदान स्थल र १४९ मतदान केन्द्र रहेका छन् भने बझाङ १ को प्रदेशसभा निर्वाचन क्षेत्रमा ७४ मतदान स्थल र ९३ मतदान केन्द्र तोकिएको छ ।
आयरल्यान्डलाई जित्न नेपाल ए सामु १७५ रनको चुनौति
काठमाडौं । आयरल्यान्ड ए ले दोस्रो एकदिवसीय खेलमा नेपाल ए लाई १७५ रनको चुनौति पेश गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ३८.४ ओभरमा १७४ रनमा अल आउट भयो । आयरल्यान्डका गेभिन होईले ५९ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ५० रन बनाए । २०.३ ओभरमा ९४ रन बनाउँदा ७ विकेट गुमाइसकेको अवस्थामा आयरल्यान्डलाई आठौं विकेटका लागि गेभिन र लियाम म्याकार्थीले ५४ रनको साझेदारी गरेका थिए । कप्तान निल रक ३८ बलमा ३ चौका र ३ छक्कासहित ४५ रनमा आउट भए । अन्तिम विकेटको रुपमा लियाम म्याकार्थी ५४ बलमा ३ चौकासहित ३५ रनमा आउट भए । पिटर मुर १७ रनमा आउट भए । नेपालका स्पिनर साहब आलमले १० ओभरमा १ मेडनसहित ३५ रन खर्चेर ३ विकेट लिए । रिजन ढकालले ८ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । मौसम ढकालले २ र कमलसिंह ऐरीले १ विकेट लिए ।
स्याङ्जाको एमाले अधिबेशनः लडाइ पृथ्वी, पद्मा र खगराजको
पोखरा । नेकपा एमाले स्याङ्जाको जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै छ । नवौँ अधिवेशनको उद्घाटन पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने छन् । अधिवेशनमा नेताहरूले आफू अनुकूलको जिल्ला नेतृत्व बनाउने प्रयासमा जुटेका छन् । एमाले नेताहरु पृथ्वीसुब्बा गुरुङ, पद्मा कुमारी अर्याल खगराज अधिकारी लगायतका नेताहरूले आफ्नो पक्षमा पार्ने प्रयास गरिरहेका छन् । आफ्नो गृहजिल्ला भएकोले एमाले सचिव पद्माकुमारी अर्यालको प्रयास बढ्दो देखिएको छ । अगिल्लो अधिबेशनमा नारायण मरासिनी विरुद्ध चर्को मोर्चा कसेर सुर्यप्रसाद गैरे ‘पारस’ लाई अध्यक्ष बनाएकी अर्यालले यो पटक मरासिनीको सहयोगमा सचिव राजेन्द्र डुम्रेलाई अध्यक्ष बनाउने योजनामा छन् । अगिल्लो पटक पारस विरुद्ध लागेका पृथ्वीसुब्बा भने पटक पारसलाई अध्यक्ष बनाउने कसरतमा छन् । पूर्व माओवादी नेता रहेका पारसलाई अध्यक्ष बनाउने अभियानमा स्याङ्जा एमालेको ठुलो समूह सक्रिय छ । मीन प्रसाद गुरुङ, मोहन रेग्मी, सिमाकुमारी क्षेत्री, विश्व पौडेल, सुर्य कुवर, विश्वनाथ अर्याल, खिम बहादुर थापा, राजु कोईराला, याम बहादुर कुंवर, उदय श्रेष्ठ, आनन्द पाठक लगायत जिल्लाका प्रभावशाली नेताहरू गैरेको पक्षमा देखिएका छन् । राजेन्द्रको पक्षमा सिता सुन्दास, कृष्ण खांण, घनश्याम सुवेदी, लक्ष्मिपति पौडेल, मोहन खनाल लगायतका नेताहरू देखिएका छन् । हरिनास गाउँपालिकाका अध्यक्ष खिम बहादुर मानन्धर, गल्याङ नगरपालिकाका पुर्व मेयर भुपराज अधिकारी, पुन्य अर्याल, शोभाकान्त पौडेल लगायतका नेताहरू भने सकेसम्म मिलाएर जाने नत्र अन्तिम सम्म किता सोझ्याउने रणनीतिमा छन् । यस अगाडि अध्यक्ष र सचिवका लागि एउटै टिमबाट चुनाव जितेका पारस र राजेन्द्र यो पटक फरकफरक टिमबाट चुनाव लड्ने परिस्थिति बनेको छ । यस्तो परिस्थिति बनाउन केन्द्रीय सचिवहरु पृथ्वीसुब्बा र पद्मा कुमारीको हात रहेको स्थानीय एमाले नेताहरुको गुनासो छ । आफ्नो व्यक्तिगत उपस्थिति कमजोर देखिएको स्याङ्जामा खगराज अधिकारीले अर्याललाई सहयोग गर्ने तयारीमा छन् । स्याङ्जा एमालेका कुनै बेलाका हस्तीहरु चक्र बहादुर पराजुली, मोहन रेग्मी र नारायण मरासिनीहरु भने निर्विरोध अध्यक्ष बने नेतृत्व गर्ने मनसायमा देखिन्छन् । यी ३ जनालाई पृथ्वीसुब्बा, खगराज र पद्मा कुमारीले नेतृत्व सुम्पिने सम्भावना नदेखिएको स्थानीय एमालेका जानकारहरु बताउँछन् । खगराज समुहले राजेन्द्र लाई जिताउने सुनिश्चित नदेखेमा नारायण मरासिनीलाई अगाडि सारेर पुर्व मरासिनी समुहको मत खिच्ने र पारस गैरेलाई कमजोर बनाउने मनस्थितिमा रहेको छ । यद्यपि स्याङ्जा एमालेमा पारस र राजेन्द्र दुवै अध्यक्ष र सचिव रहदा कार्यकर्ता पंक्तिमा भने नेतृत्व दिन नसकेको, फोन नउठाएको, समस्या पर्दा नआएको गुनासो पनि चर्को रहेको छ । एमालेका पुराना नेताहरु पारस र राजेन्द्र दुबै एउटै टिमबाट अध्यक्ष सचिव बनेका आशालाग्दा युवाहरूबाट समेत स्याङ्जा एमाले अपेक्षित ढंगले सुधार्न नसकेको टिप्पणी गर्छन् । स्याङ्जा एमालेमा नेताहरु पुतलीबजारका अनन्त कुमार श्रेष्ठ, अमृत श्रेष्ठ र भिरकोटका विश्वनाथ अर्यालले सचिव बन्ने तयारीमा देखिन्छन् । हरिनास गाउँपालिकाका अध्यक्ष समेत रहेका खिमनारायण मानन्धर भने उपसचिवको दाउमा छन् । कालिगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापा गण्डकी प्रदेशमा पृथ्वीसुब्बाका प्रिय मान्छे हुदा पारसलाई जिताउने पक्षमा छन् । एमालेको जिल्ला अधिवेशनमा निर्णायक भुमिका आँधिखोलाका गाउँपालिकाका अध्यक्ष सुधिर पौडेलले राख्ने धेरैको विश्वास छ । जनप्रतिनिधि पार्टी नेतृत्वमा आउन नपाउने रणनीति भएका कारण सुधिर पौडेल, विश्व पौडेल, खिम बहादुर थापा, घनश्याम सुवेदी, कृष्ण खाण लगायत जनप्रतिनिधिलाई पार्टी नेतृत्वको बन्देज छ । आज एमाले अध्यक्ष केपी शर्मा ओलीले अधिबेशन उद्घाटन गरे पछि चुनावी तयारीमा स्याङ्जा एमाले लाग्नेछ् । गण्डकीको सबै जसो जिल्लामा एमालेको गुटगत प्रतिस्पर्धा देखिन्छ । हालसम्म एमालेको म्याग्दी, गोरखा, कास्की र लमजुङको अधिवेशन सकिएको छ । स्याङ्जाको अधिवेशनले ५ पदाधिकारी सहित १ सय ५ सदस्यीय जिल्ला कमिटी चयन गर्नेछ । अधिवेशनमा जिल्लाका ११ पालिका सहित ९७ वडाका ६ सय ९ जना प्रतिनिधि चयन भएका छन्।
आयरल्यान्ड ‘ए’विरुद्ध टस जितेर पहिला फिल्डिङ नेपाल
काठमाडौं । नेपाल ‘ए’ले दोस्रो एकदिवसीय क्रिकेट आज आयरल्यान्ड ‘ए’सँग टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ ।त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालका कप्तान विनोद भण्डारीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । पहिलो खेलबाट नेपालले एक परिवर्तन गरेको छ । यू(१९ का ओपनर अर्जुन कुमाललाई बेन्चमा राखेको छ भने अर्का युवा ब्याटर नरेन भट्टलाई मौका दिएको छ । नेपाल पहिलो खेलमा २१ रनले पराजित भएको थियो । तीव्र गतिका बलर कमलसिंह ऐरीले ह्याट्रिकसहित चार विकेट लिएपछि आयरल्यान्ड १५७ रनमा अल आउट भएको थियो । तर म्याथ्यु हम्फ्रेजले ५ र लियाम म्याकार्थीले ४ विकेट लिएपछि नेपाल १३६ रनमा अलआउट भएको थियो । ओडीआईका प्रमुख दुई ब्याटर भीम सार्की र आरिफ शेख शून्य रनमा आउट भएका थिए । देव खनाल र अर्जुन साउद पनि टोलीमा छन् । सिनियर टोलीका यी चार खेलाडी मध्य दुईले आज ठूलो इनिङ खेल्नुपर्ने छ । नेपाल ‘ए’को प्लेइङ ११ : विनोद भण्डारी (कप्तान), देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमलसिंह ऐरी, शाहब आलम, रिजन ढकाल र मौसम ढकाल । नेपालको बेन्च : रञ्जित कुमार, रुपेशसिंह, अर्जुन कुमाल र विकाश आग्री ।
संसदका पाँचवटा समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । संघीय संसद्अन्तर्गतका पाँचवटा संसदीय समितिको बैठक बस्दै छ । आज बिहान ११ बजे कानुन, न्याय तथा संसदीय मामिला समितिको बैठक बस्दै छ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा वन तथा वातावरण मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय, खानेपानी मन्त्रालय र गृह मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुनेछ । बिहान ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० मा विज्ञसँग छलफल हुनेछ । दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा संशोधनकर्ता सदस्यहरूसँग छलफल हुनेछ । बिहान १० बजे बस्ने महिला तथा समाजिक मामिला समितिको बैठकमा बाल सुधार गृहहरूको व्यवस्थापन र सुधारसँग सम्बन्धित विषयमा मन्त्रालयले गरिरहेको काम कारबाहीका बारेमा छलफल हुनेछ । बिहान ८ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल हुनेछ ।
बाइडेनको फोनपछि गाजामा राहत सामग्री पुर्याउन सीमासहित यी तीन मार्ग खोल्दै इजरायल
इजरायल । गाजामा थप राहत सामग्री पुर्याउन इजरायलले तीनवटा मानवीय मार्ग खोल्न तयार भएको छ ।युद्ध सुरु भएयता पहिलो पटक उत्तरी गाजामा इरेज गेट अस्थायी रूपमा खोलिनेछ । मानवीय सहायता सामग्री आगमन सहज बनाउन अस्दोद बन्दरगाह पनि खोलिनेछ । यसबाहेक, जोर्डनबाट गाजामा राहत सामग्री प्रवेश गराउन केरेम शालोम क्रसिङ पनि खोलिनेछ । हालै गाजामा राहत सामग्री वितरण गर्ने सात जना सहायता कामदारको मृत्यु भएपछि प्रधानमन्त्री नेतन्याहुलाई अमेरिकी राष्ट्रपति जो बाइडेनसँगले फोन गरी गाजाको संकट अन्त्य गर्ने कदम नचाले इजरायल प्रतिको अमेरिकी नीति परिर्वतन गरिने र त्यसको परिणाम राम्रो नहुने चेतावनी दिएका थिए ।
एक दिवसीय सिरिज: आयरल्यान्डविरुद्ध दोस्रो खेल खेल्दै नेपाल ‘ए’
काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ले शुक्रबार एक दिवसीय सिरिजको दोस्रो खेल खेल्दैछन्। यो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानममा शुक्रबार बिहान ९ः३० बजे सुरु हुनेछ। बुधबार भएको पहिलो खेलमा नेपाल ‘ए’ आयरल्यान्ड ‘ए’ सँग २१ रनले पराजित भएको थियो। आज नेपाल घरेलु मैदानमा पहिलो जितको खोजीमा हुनेछ।
नेतान्याहुलाई बाइडेनको फोन -'नागरिकको रक्षा गर्नुहोस्, नत्र....'
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई गाजाको मानवीय संकट अस्वीकार्य भएको बताएका छन् ।उनले इजरायललाई उक्त संकटलाई छिटो सम्बोधन गर्न वा परिणामहरूको सामना गर्न समेत चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई गरी ३० मिनेट यीनै विषयमा कुरा गरेको सिएनएनले जनाएको छ । इजरायली हमलामा गाजाको वर्ल्ड सेन्ट्रल किचेनका सात जना अमेरिकी सहायता कार्यकर्ता मारिएपछि दुई नेताबीचको पहिलो फोन संवाद भएको थियो। सो घटनालाई ह्वाइट हाउसले हत्याको रुपमा लिएको छ भने सो घटनाले अमेरिकालाई क्रोध पैदा गरेको अमेरिकी अधिकारीहरु बताउँछन् । इजरायलले नागरिक क्षति, मानवीय पीडा र सहायताकर्मीहरूको सुरक्षालाई सम्बोधन गर्न विशिष्ट, ठोस र मापनयोग्य कदम घोषणा र कार्यान्वयन गर्न आवश्यक रहेको बाइडेनले बताएका छन् । अमेरिकी अधिकारीहरुका अनुसार अमेरिकाले भने जस्तै इजरायलले तत्काल कदम नचाले इजरायलाई हेर्ने अमेरिकी नीति परिर्वतन गरिने बताइएको छ । परिर्वतित नीति कस्तो लिइनेछ भन्नेबारे भने स्पष्ट केही भनिएको छैन् ।
फ्रेन्डसिप कप : आज भारतको बरोडा क्लबसँग खेल्दै नेपाल
काठमाडौं । भारतमा जारी त्रिकोणात्मक टी(२० फ्रेन्डसिप कपमा लगातार तीन जीत निकालेको नेपालले आज चौथो खेल खेल्दैछ । एक खेल अगाडि नै फाइनल पुगेको नेपालले शुक्रबार बरोडा क्लबसँग खेल्दै छ । यो खेल दिउँसो २ः ४५ बजे गुजरातको वापीस्थित साई मेघपन स्पोर्ट्स लाइफ मैदानमा सुरु हुनेछ । पहिलो खेलमा आइतबार गुजरातमाथि ८ विकेटको शानदार जित निकालेको नेपालले मंगलबार भएको दोस्रो खेलमा बरोडामाथि २७ रनको जित दर्ता गरेको थियो ।बुधबार सम्पन्न तेस्रो खेलमा नेपालले गुजरातलाई ८ रनले पराजित गर्दै फाइनल पुगेको थियो । नेपालको भारत भ्रमणलाई आगामी जुन १ तारिखदेखि अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी–२० विश्वकपको तयारीका रुपमा लिइएको छ। विश्वकपमा नेपाल समूह ‘डी’मा छ। विश्वकपमा नेपालको समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्ड्स छन्।
पश्चिमी र स्थानीय वायुको प्रभाव, यस्तो रहनेछ आजको मौसम
काठमाडौं । पश्चिमी र स्थानीय वायुको प्रभाव रहँदा आज बिहान देशभर आंशिक बदलीदेखि साधारणतया बदली रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा साथै बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा र बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा साथै बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । विभागले उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताएको छ ।
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन्। उनले बिहीबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामा पेस गरेका हुन् । सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीका सांसद विभाजित भएर विश्वासको मत नपाउने देखिएपछि राजीनामा बुझाएका हुन् । आज विश्वासको मत लिने तयारी समेत गरेका थिए । शाह ०७९ माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका थिए।
गायक राजेश पायलले घर घडेरी दिएर गरे ‘डिभोर्स’
काठमाडौं । गएराति मादक पदार्थ सेवन गरी हल्ला गरेको भन्दै छिमेकीले प्रहरीलाई जानकारी गराएपछि पक्राउ परेका चर्चित गायक राजेशपायल राईले डिभोर्स गरेका छन् । गायक राईले यही साता काठमाडौं जिल्ला अदालतमा श्रीमती साङबुङ राईसँग औपचारिक रुपमा डिर्भोस गरेका हुन् ।स्रोतका अनुसार अदालतमा दुई पक्षबीच मिलापत्र गरी डिभोर्स भएको हो । अदालतमा गायक राई आफैले डिभोर्सको मुद्दा दायर गरेका थिए ।डिर्भोसपछि उनले हिजो मादक पदार्थ सेवन गरी हल्ला गरेको बुझिएको छ । उनीहरूबीच सहमतिमा डिर्भोस भएको हो । यस क्रममा गायक राईले श्रीमतीलाई झण्डै पाँच करोड रुपैयाँ पर्ने तीन तले घर दिने भएका छन् । नक्सालमा रहेको उक्त घरसहित राईले श्रीमती साङबुङलाई थप नगद दिने सहमति गरेका छन् । साथै, थप एक करोड रूपैयाँ र काठमाडौंभित्रै रहेको एउटा घडेरी पनि लिने दिने लिखित सहमति भएको बुझिएको छ । उनीहरूको दुई वर्षीय छोरा छन् । छोराको सबै पालन पोषणसहित शिक्षाको जिम्मेवारी गायक राईले लिने भएका छन् । उनीहरुले छोरा जन्मिएपछि विं.सं.२०७८ असोजमा बिहे दर्ता गरेका थिए । गायक राईकी श्रीमतीले आफ्नो सामाजिक सञ्जालमा डिर्भोसको विषयलाई पुष्टि गर्ने गरी आफ्नो अभिव्यक्ति दिँदै आएकी छन् । उनले यस क्रममा केही दिनअघि ‘तिम्रो खुशी नै मेरो खुशी, चाहे तिमीलाई पाउ या गुमाउ’ भन्दै लेखेकी छन् ।
लुम्बिनीका मुख्यमन्त्री चौधरीद्धारा राजीनामा
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएका छन् । अल्पमतमा परेपछि बिहीबार प्रदेश सभाको चौथो अधिवेशनमा उनले राजीनामा दिएका हुन् । चौधरी ११ महिनाअघि वैशाख १४ गते मुख्यमन्त्री बनेका थिए । चौधरीले संघमा भएको गठबन्धन फेरबदलसँगै राजीनामा दिएको बताए ।
सुदूरपश्चिम प्रदेश सभाको बैठक सारियो
धनगढी । सुदूरपश्चिम प्रदेश सभाको आह्वान गरिएको बैठक सारिएको छ । ३ बजेका लागि तोकिएको बैठक ५ बजे बस्ने गरी सारिएको प्रदेशसभा सचिवालयका कानुन अधिकृत तेजप्रकाश जोशीले जानकारी दिए । मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिनको लागि बिहीबार प्रदेशसभाको बैठक आह्वान गरिएको हो ।

